December 30, 2009

यहि यामकै कुरा, फेरि पनि

चाडबाडको याम छ यहाँ। यसैले स्वाभाविक हो, यी चिसा दिनहरुमा पनि मस्ती र अलमस्ती भरिएको देखिन्छ, हावाले मादकता बोकेको देखिन्छ।

यसरी चाडबाडको यामले यी बस्तीहरु छोपिँदा घर र नेपालको याद आउँछ। अर्कोतिर, चाडबाडको यामले नेपाल छोपिँदा पनि नेपालको यादले पुरिन्छु म। यसरी वर्षको धेरै समय उदास हुने मेलो बन्छन्, दुईतिरका चाडबाडका यामहरु।

मेरो यो उदासी, मैले मनमनै कहिले रुँदै-कहिले हाँस्दै सम्झने नेपाल, देश बाहिर बसिरहेका लाखौं नेपालीहरुको साझा भावना हो।

देशबाहिर केहि वर्ष बस्नुमा म बाध्यतामात्रैलाई दोष दिन सक्दिन, अझ बाध्यताको अंश एकदम कम छ भनेपनि हुन्छ। म मेरो महत्वाकांक्षाले घिसारिएर परदेशिएको हुँ, यसमा अरु कुरा थपथाप भएका मात्रै हुन्। महत्वाकांक्षालाई ‘बाध्यता’ नामको खोल ओढाएर किन आफैंलाई ढाटौँ म? यसैले मैले ‘रोईरहनु’मा कुनै तुक भने देख्दिन म। मेरो पूर्ण ‘मानसिक’ भलाई चाँडै नेपाल फर्कनुमानै हुनेछ, जिन्दगीमा अरुखाले समस्याहरु थपिएलान् त्यो बेग्लै कुरा हो।

यो याम डिसेम्बर लाग्दैबाट शुरु भएको माने हुन्छ; मैले अलिक पहिला कुरा गरेको थिएँ बो-नेन-काइको, हो त्यहि बो-नेन-काइको हल्ला-खल्लाबाट। त्यसपछि क्रिशमश। जापानीहरु क्रिशमस मनाऊँछन् र जापानीहरु क्रिशमश मनाऊँदैनन्। क्रिशमस मनाऊँछन् यसकारण कि उनीहरु क्रिशमसको मनोरञ्जन (भौतिक/ब्यापारिक) पक्षहरु सबै पछ्याऊँछन्; मनाऊँदैनन् यसकारण कि क्रिशमसको धार्मिक पक्ष भने त्यति देखिँदैन उनीहरुको क्रिशमस उत्सवमा। अर्को शब्दमा भन्दा जापानको क्रिशमसमा सान्ता क्लज आऊँछन, जिसस क्राईष्ट भने आऊँदैनन्। क्रिशमश धर्म अँगालेका थोरै प्रतिशत जापानीहरुको कुरो होईन यो, बाँकी ‘गैर-क्रिश्चियन' जापानीहरुको हो। हुनत, जापानमात्रै किन, सबै ठाऊँहरु, हाम्रो समाज, पनि यस्तै-यस्तै हुँदै गईरहेका छन्। क्रिश्चियन समाजहरुको सम्पन्नता, उनीहरुका सञ्चार-माध्यमहरुको शक्ति र एक हदसम्म विगत केहि शताब्दीदेखि निरन्तर विश्वभाषाको रुपमा उपस्थित अंग्रेजी भाषाको प्रभावका कारण हुनुपर्छ यो।

पोहरबाट क्रिशमशको औपचारिकता अलि-अलि पूरा गर्नुपर्ने ‘बाध्यता’मा प-यौं हामीपनि। किण्डरगार्टेनमा क्रिशमशको कुरा सुनेर आएपछि आर्याले घरमा पनि कुरा गर्न थाली। यसैले उसका लागि केहि उपहारहरु ल्याईदिन सान्ता हजूरबालाई अनूरोध गर्नैप-यो:) यसपालि त एउटा सानो हरियो क्रिशमश ट्री (प्लाष्टिकको) र केहि झिलिमिली बत्तीहरुको समेत ब्यबश्था गर्नुप-यो। सान्ता हजूरबाले पनि राती आएर एक पोका उपहार त्यहि रुखमुनि राखेर हिँडेछन्:)

जापानको यो यामको अर्को एउटा चलन ‘ओ-सोउजी’ (ठूलो सरसफाई?) हो। सामान्यतया नयाँ वर्षको बिदा शुरु हुने अघिल्लो दिन आफ्नो कार्यस्थलमा सबै मिलेर गरिने सर-सफाईलाई ‘ओ-सोउजी’ भनिन्छ, मेरो अड्डामा हिजो थियो। मेरो विचारमा वर्षान्तमा यस्तो सर-सफाई गर्ने चलन सबैतिर हुन्छ। जापानमा यस्ता औपचारिकता, गतिबिधि आदिलाई अलिक गम्भिरतापूर्वक, अलिक दार्शनिक दृष्टिकोण (philosophical approach) का साथ सम्पन्न गरिन्छ, फरक भए त्यसमै होला।

जापानी भाषाका यस्ता ‘ओ-सोउजी’ जस्ता शब्दको भावानुवाद गर्न सकिन्छ तर ठ्याक्कै मिल्ने नेपाली शब्द खोज्न गाह्रो लाग्छ मलाई। मेरो सीमित नेपाली शब्द-भण्डार, त्यसमा पनि केहि वर्ष बानी परेपछि यस्ता शब्दहरु यतैका बढी आऊँदारहेछन्, मनमा-मुखमा। बो-नेन-काइसम्बन्धी टाँसो बारेमा प्रतिकृया दिँदै (फेसबुकमा) साथी गोविन्द रिजालजीले बो-नेन-काइसंग ठ्याक्कै मिल्ने नेपाली शब्द ‘मैजारो’ हो भन्नुभएको थियो। ‘ओ-सोउजी’ संग ठ्याक्कै मिल्ने शब्द पनि होला, तपाईँलाई थाहा भए जान्न पाउने आशा छ।

हस् त यहि कुराकानीका साथ आजलाई बिदा पाऊँ।

तपाईँहरु सबैलाई नववर्ष २०१० को हार्दिक मंगलमय शुभकामना!


December 24, 2009

नेपाली ब्लगरहरु:'सन्तान थरि-थरिका'!

चरो पनि उड्न नपाउने बन्दको दिन, तर केयू नफर्की नहुने! हिजो बेलुका काठमाण्डु पस्दासम्म बन्द हुने सूईँको सम्म थिएन। आकार भाइ असीनपसीन हुँदै हिँडिरहेका थिए। भोक र थकाईले लखतरान भएकोले कतिखेर होष्टेल पुगौंला भन्ने मात्रै ध्याउन्न थियो।

केयू पुग्ने-पुग्ने बेलामा तालुमा चिसो-चिसो केहि खस्यो र अलिकति बग्दै निधारसम्मै पुग्यो। यस्सो छोएर हेरेको, भर्खर भुर्र उडेको परेवाले 'घात' गरेर गएको रहेछ:) आकार भाइलाई साफ रिस् उठ्यो, तर अब रिस कसलाई पोख्ने????

परेवाको बिष्टा पुछ्दै आकार ब्रो सम्हालिएछन् र आफैसंग बोल्दै बाटो लागेछन्, "धन्न भगवान! गाई-भैंसी भने उड्दैनन्!"।
************************************************

"मलाई फेरि पियानो सिक्न मन लाग्यो यार।" राजेश भाइले आफ्नो साथीलाई गफ दिएछन्।
"गफ दिन्छ मुला! तैंले पहिला कहिले पियानो सिक्या' थिस् र?" साथीले समायो।
"होईन, दुई वर्ष पहिला पनि मन लाग्या' थ्यो। अहिले फेरि मन लाग्यो।"
************************************************

सोमबारे औंशीको बिहान थियो। सोमबारे औंशीको दिन एक पटक पनि नबोल्दै नुहाउनु भन्छन्।
अञ्जली, श्वेताअर्चना पनि नबोल्दै नुहाउन भनेर पँधेरातिर जाँदै थिए।
बाँसघारीतिर केहि छ्यास्स ग-यो।
अञ्जली: ऊ--- स्याल---!
श्वेता: लौ, यो त बोली!
अर्चना (एकछिनपछि): तँ पनि बोलिस् नि!
************************************************

सिकारु ब्रो, टाउकोमा पट्टी बाँधेर आईरहेका थिए।
"के भयो ओ सिकारु ब्रो? साथीले सोध्यो।
"के हुनु यार! सधैं बाटोको घरको कौसीमा एउटी च्वाँक देखिन्थी। हिजो मैले आँखा सन्काएँ---।"
"अनि के भो त?"
"मैले आँखा सन्काएँ, उसले पनि आँखा तन्काई।"
"अनि--?"
"त्यसपछि मैले 'आइ लप यू!' भन्दिएँ।"
"अनि, अनि---?" साथीको चासो बढ्दै थियो।
"त्यसपछि उसले फूलले हानी मलाई।"
"अनि---?"
"अनि टाउकोमा घाऊ भयो यी, पट्टी बाँध्नु प-यो---"
"धत्! फूलले लागेर पनि काहीँ घाऊ हुन्छ?" साथी जंगियो।
"पहिला पूरा कुरा त सुन् न यार!" सिकारु ब्रो बोले, "गमलैसहितको फूल भएपछि घाऊ हुन्न त?"
*****************************************************

"ब्लग गर्नु र हावा गफ दिनु बाहेक अरु के के रुचि छन् तपाईँका?" एउटा अलपत्रकारले हावा ब्रोलाई सोधेछ।
"धेरै छन् नि! जस्तो म्युजिकमा पनि विशेष रुचि छ मेरो।" हावा ब्रोले छाती तन्काएर जवाफ दिएछन्।
"ए हो र? अनि बाजागाजा पनि बजाउनुहुन्छ होला है। के के बजाउनुहुन्छ?"
"बजाउँछु नि तीन-चारवटा।" हावा ब्रोले जवाफ दिए, "रेडियो, क्यासेट, आइपोड---।"
हावा ब्रोको जवाफ सुनेर अलपत्रकार अलप भएछ:)
*******************************************************

नविनजी, दीपेन्द्रजी  र दूर्जेयजी पहाड घुम्दै रहेछन्। तल नजिकै एउटा खोला देखिएछ।

"म यो खोलाको गहिराई नापेर आउँछु।" नविनजीले खोलातिर एक 'डाइभ' दिएछन् र कता हराएछन्।

"म यो खोलाको Hydro-power potential चेक गरेर आऊँछु।" दीपेन्द्रजीले पनि खोलातिर एक 'डाइभ' दिएछन्।

धेरै बेर कुर्दा पनि दुईजना नफर्किएपछि दूर्जेयजी आफ्नो Conclusion भट्भट्याऊँदै बाटो लागेछन्; "I think both of them are soluble in water."

(Physicist, Engineer, Chemist)
*******************************************************

एकदिन साँझ सुजनजी र दिलिपजीको ठाक-ठुक परेछ र बोलचालै बन्द भएछ। हुनत बूढा-बूढीको झगडा परालको आगो भन्छन् तर कहिलेकाहीँ यहि परालको आगो निभ्न पनि एक-दुई दिन लागिहाल्छ।

अब दिलिप बूढालाई फसाद परेछ। भोलिपल्ट छ बजे नै अफिस बोला'को रहेछ बोसले, छ बजे अफिस पुग्न पाँच बजे नउठी भएन। बूढा परे भुस् भएर आठ बजेसम्म सुत्ने मान्छे। अलार्म पनि छोरीले कता फाल्दिछे।

केहि उपाय नदेखेर बूढाले यामानको सूचना लेखेर टाँसेछन् सिरानीमाथि; "मलाई भोलि बिहान पाँच बजे उठाईदिनु।"

बिहान उठ्दा झलमल्ल घाम लागिसकेको, पौने आठ भईसकेको रहेछ। रिसले भुन्भुनिँदै गर्दा बूढाका आँखा सिरानीमाथि परेछन्। हिजो बेलुका उनले टाँसेको सूचनासंगै अर्को सूचना पनि रहेछ; "पाँच बज्यो, उठे हुन्छ!"
*******************************************
भूलचूक लिनेदिने!
जय होस् नेपाली ब्लगरहरु र तिनका पाठकहरुको!
सबैलाई क्रिसमसको मंगलमय शुभकामना!

December 18, 2009

'बो-नेन-काइ'को याम

जापानमा डिसेम्बर महिना 'बो-नेन-काइ'को महिना भने पनि हुन्छ। बोनेनकाइ (忘年会) लाई सोझो शाब्दिक अर्थ लगाऊँदा "वर्ष बिर्सने पार्टी" भन्ने हुन्छ। अर्थ पनि त्यहि हो:) संगै काम गर्नेहरु, मिल्ने साथीहरु, संगै पढ्नेहरु भेला भएर बितेको वर्षका समस्याहरु, दु:ख र असफलताहरुलाई भुलेर रमाईलो गर्दै वर्षलाई बिदा गर्ने हो। त्यो रमाईलो भनेको मूलत: बेस्करी खाने र पिउनेनै हो:)

नयाँ वर्ष शुरु भएपछि 'सिन-नेन-काई' (नयाँ वर्षको पार्टी) हरु पनि आयोजित हुन्छन्, यसैगरी रमाईलो गर्दै उज्यालो र आशावादी मनले नयाँ वर्षलाई स्वागत गर्न। मेरो अनुभवले के बताऊँछ भने बो-नेन-काइ जस्तो धेरै सिन-नेन-काइ आयोजित हुँदैनन् र आयोजना भए नै पनि बो-नेन-काइमा जति उत्साह र लगन हुन्छ त्यो सिन-नेन-काइमा भेटिन्न। म गलत पनि हुनसक्छु, जापानवासी अरु साथीहरुले पनि आफ्नो अनुभव बताउनुहुनेछ भन्ने आशा राखेको छु।

डिसेम्बर ५ मा अड्डा (कम्पनी)को कार्यक्रम थियो। यो 'बो-नेन-काइ' थिएन, अड्डाको वार्षिक आन्तरिक सम्मेलन थियो। कम्पनीको सबैभन्दा ठूलो आन्तरिक कार्यक्रम यहि हो। कम्पनीको वर्षभरिको उपलब्धिको समीक्षा, बिभिन्न बिभागका गतिबिधिहरुबारेको प्रस्तुति र उत्कृष्टलाई पुरस्कार, यो एक वर्षभित्रका कम्पनीका नवप्रवेशीहरुको परिचय, समूहगत छलफल आदि गरेर दिन बित्छ। त्यसकारण एक हिसाबले यो पनि बो-नेन-काइनै हो। साँझ परेपछि भने 'साँच्चैको' बो-नेन-काइको रुप लिन्छ यसले; उहि क्या भुँडी फुट्ने गरी खाने र पिउने:)

अड्डाको पोहरको भोजमा अलि एक्लो महशूश भएको थियो। यसपालि त्यस्तो भएन। यहाँ बिताएको समय लम्बिदै जाँदा चिनजान बढ्दै गएर पनि होला। फेरि एउटा प्रस्तुतिमा खोक्नेमा पनि परियो। विषय मसंग त्यति सम्बन्धित नभएपनि विभागीय हाकिमले कुन्नि किन हो जबर्जस्ती भिडाए मलाई। त्यहि प्रस्तुतिले  पनि बेला-बेलाका 'ब्रेक'हरुमा कुरा गर्ने बाटो दियो। नत्र चुरोट नखाने मान्छेले गफ गर्ने साथी पाउनै मुश्किल हुन्छ:)

११ तारीख, शुक्रवारका दिनचाहिँ आफ्नै 'टिम'को बो-नेन-काइ थियो।

यस्ता बो-नेन-काइहरु प्राय: दुई-तीन घण्टाका हुन्छन्। 'नोमिहोदाइ' (निश्चित पैसा तिरेपछि तोकिएको समयभित्र जति पिएपनि, जे पिएपनि पाईने) बो-नेन-काइको अभिन्न अंग हो। 'ताबेहोदाइ' (त्यसैगरी जतिखाएपनि पाईने) पनि संलग्न हुनसक्छ तर धेरैजसो, खाना भने 'सेट' तोकेर अर्डर गरिएको हुन्छ।

सधैं संगै काम गर्ने भएपनि यस्ता कार्यक्रममा अझ धेरै नीजि र आत्मीय कुराहरु जान्ने मौका मिल्छ सबैका बारेमा। हाम्रा टिम प्रमुख कोनोसानले आफ्नी श्रीमती र छोरीहरुको गुनासो गरे धेरै बेर। उनको बढी पिउने बानी र रातभरि हल्ला गर्दै बेसबल हेर्ने बानीले हैरान छन् जस्तो छ उनीहरु र बेला-बेला थर्काईरहँदा रहेछन्। कोनोसानलाई रिस उठ्ननै भयो:) दिऊँसो संगै खाना खाँदै गर्दा पनि कहिलेकाहीँ यो कुरा गर्छन् उनी। 'आइमाइको जातै कच्कचे!' यो उनको एउटा प्रिय 'थेगो' हो।

कोनोनै नाम गरेको तर मभन्दा एक दशक कान्छो अर्को अविवाहित केटो पनि छ। उसलाई भने त्यो दिनको नाबेको पिरोले सताएछ। नाबेमा कति पिरो हाल्ने भनेर रेष्टूरेण्टका वेट्रेसहरु सोध्न आएका थिए हरेक टेबलमा। पिरो पनि दश तहको रहेछ, अरु दुई टेबलकाले १ तह र ३ तहको पिरो रोजे। म पिरो त्यति खान सक्ने मान्छे त होईन तर जापानको 'पिरो' भने मलाई पिरो लाग्दैन, जापान गुलियो खानाको देश हो। मैले ७ वा ८ रोजौं भन्दा कोनो झण्डै बेहोश भ'को:) पछि ५ मा राजी भयो।

तर नाबे खाने बेलामा भने त्यहि पाँचले पनि उसको कानबाट धूवाँ निक्लेको थाहा हुन्थ्यो:) मलाई भने त्यति पिरो लागेको थिएन। अलिकति खाएपछि ऊ त्यहाँबाट हटेर ३ वाला टेबुलमा पुगेर खाँदैथियो। संगै बसेका कोनोसानले भने ५ वालानै 'पचाए'। यो 'पिरो' प्रसंगले पनि रमाईलै गरायो, कोनो हिजो पनि कुरा गर्दै थियो।

कोन्दोऊ, जसको बिहेमा 'जन्त' जाने अवसर मिलेको थियो पोहर, अर्को टेबुलमा थियो। एकछिन ऊसंग कुरा गर्न पुगेको थिएँ। उ बाउ बन्दै रहेछ, बच्चा मे मा जन्मने रे। उसलाई दुई-चार सल्लाह मिसिएका बधाई दिईयो:) कोन्दोऊ जापानमा लोप हुँदै गएको समूहमा पर्छ, तिस नहुँदै बिहे गर्ने र बच्चा जन्माउने युवायुवतीहरु साह्रै कम छन् जापानमा। त्यस्तो सोचाईनै 'आउटडेटेड' मानिन्छ जस्तो छ यहाँ।

त्यसो त जापानमा बिहेनै पनि एउटा 'आउटडेटेड' सोचाइ बनिसकेको लाग्छ।

यो पालिको बो-नेन-काइ रमाइलै रह्यो।
Image Source:Click Here
***************************************

कोन्दोऊको बिहे 
पोहरको कुरा
परारको कुरा

December 14, 2009

शिनोजिमा

[बितेका तीन सप्ताहान्तमा लगातार एउटा न एउटा कार्यक्रममा परियो। तिनैका बारेमा कुराकानी गर्ने विचारमा छु यो र आगामी टाँसोमा (बीचमा विशेष केहि नपरे)।]



नोभेम्बर २९, आइतबार एउटा सानो टूरमा गईयो। हरेक वर्ष सेप्टेम्बरको शुरुवातदेखि देखि नोभेम्बरको अन्त्यसम्ममा अड्डामा १०-१२ वटा यस्ता टूरहरु आयोजित हुन्छन्, कुनै एकदिने (बिहान गएर बेलुका फर्कने), कुनै एक रात बस्ने खालका। आयोजना कम्पनीको ट्रेड यूनियनले गर्छ र खर्चको दुई तिहाईजति कम्पनी ब्यबश्थापनले ब्यहोर्छ। एकदिनको टूरमा जाँदा आफ्नो खर्च लाग्दैन भने पनि हुन्छ, परिवारको पनि आधा मात्रै लाग्छ।

अड्डाका माथिदेखि तलसम्मका धेरैजसो सबै कुनै एउटा न एउटा टूरमा सम्मिलित हुन्छन।

परार, पोहर यस्ता टूरमा जाने मेसो मिलेको थिएन। यसपालि भएका एक दिने टूरहरुमध्ये एउटामा नागोया नजिकैको सानो टापू शिनोजिमा लगिने कार्यक्रम थियो, त्यहि रोजें मैले पनि सपरिवार जाने गरी।

नागोयाबाट ५० मिनेट रेल र त्यसपछि आधा घण्टा फेरी (ferry) चढेर जानुपर्ने रहेछ। दिन बिहानैदेखि बादलु  र अँध्यारो थियो, कतै घुम्न जानेजस्तो पटक्कै थिएन। शिनोजिमाका बारेमा त्यहि दिन बिहान ईण्टरनेटमा अलि-अलि पढे बाहेक खासै धेरै कुरा थाहा थिएन। टूरको ब्यबश्थापन गर्नेहरुले केहि भन्लान् जस्तो लागेको थियो, तर केहि पनि भनेनन्। हामीबाहेक अरु सबै जापानीहरु थिए र उनीहरुलाई नागोयाबाट खासै टाढा नरहेको त्यो सानो टापूको बारेमा सबै थाहा हुनु स्वाभाविक हो, त्यसैले हुनसक्छ। त्यहाँ जानेहरुको प्रमुख कारण भनेकै शिनोजिमाको खाना रहेछ। जापान समुद्री देश, यसै पनि माछा र अन्य समुद्री जीवहरुसंग सम्बन्धित परिकारका लागि प्रसिद्ध, त्यसमा पनि यस्ता साना-साना टापूहरुका परिकार झन् विशेष मानिँदा रहेछन्।

केहि (म काम गर्ने डिपार्टमेण्टका चारजनालगायत) भने माछा मार्नका लागि त्यहाँ जाँदै थिए र केहि दिनदेखि त्यसैबारेको चर्चा र तयारीमा थिए।  उनीहरु बिहान सबैरै टापूमा पुगेर खाना खाने बेलामा मात्रै समूहमा सम्मिलित हुन आईपुगेका थिए। शिनोजिमा माछा मार्नको लागि एकदम उपयुक्त स्थान मानिदो रहेछ। हाम्रो उद्देश्य भने नयाँ ठाऊँ घुम्ने र समुद्र सकेसम्म धेरै 'हेर्ने'  मात्रै थियो:)

कार्यक्रम सोचेजस्तो रमाईलो भने भएन। परिवार-बच्चासहित जाने असाध्यै कम थिए; यसैले आर्याले खेल्ने, कुरा गर्ने आफ्नै उमेरका साथी त्यति पाईन। खाना खाईसकेपछि जम्मा दुई घण्टा थियो, घुम्नको लागि। सबै आ-आफ्नै झुण्डमा रमाईरहेका थिए। नयाँ ठाऊँ-कता जाने, के गर्ने असमञ्जसमा नजिकैको समुद्री किनारमा अलमलिएर कट्यो दुई घण्टा। जाडो दिन भएपनि समुद्री छाल हेरेर र बालुवामा खेलेर आर्या खुब रमाई। यहि भयो यो यात्राको उपलब्धि।

खानामा माछा, अक्टोपस र प्राउनका परिकारबाहेक केहि पनि थिएनन्, ती पनि धेरैजसो काँचै खानुपर्ने। धेरै थरी माछा काँचै खाने चलन छ जापानमा, सोया सस लगायतमा चोभेर। जापान बसेको केहि वर्ष भईसकेकोले त्यति अप्ठेरो लाग्दैन अब। तर त्यहाँ अर्को अलिक अनौठो चलन पनि रहेछ। पन्ध्र से.मी. जति लामो जिऊँदो प्राउनको टाउको निमोठेर फालेर बाँकी भाग सोया र अर्को एकथरी ससमा चोभेर खानुपर्ने रहेछ। धेरैजसोले त्यसैगरी खाए तर हामीजस्तै नसक्नेहरु पनि थिए। नसक्नेहरुका लागि होटेलका कामदारहरुले नाबे (steamboat dish, hot pot) मा हालिदिए ती प्राउनहरुलाई। आफ्नै आँखा अगाडि सलबलाईरहेको देखिएका प्राउनहरुको निर्जीब शरीरमाथि झम्टिईयो एक छिनपछि।

यसरी आफ्नो 'माछा-मासु घटाऊँदै लाने र सकेसम्म छिटो पूरा शाकाहारी बन्ने' योजनामा एउटा ठूलो धक्का लगाईयो। 'रोममा रोमनझैं बन्नु' भनेर मनलाई थुम्थुम्याईयो।

जापानका यस्ता स-साना टापूहरुको हालत बिग्रिन थालेको धेरै भईसकेको रहेछ। घट्दो जनसंख्या र त्यसमा पनि युवाहरुको मूलभूमितिरको पलायनले गर्दा बिस्तारै रित्तिँदैछन् यी टापूहरु। छ किलोमिटरको परिधिमा उभिएको शिनोजिमाको जनसंख्या घटेर २००० जतिमा पुगिसकेछ। घट्दो जनसंख्यासंगै ब्यापारिक/आर्थिक गतिबिधि पनि घट्नेनै भए। यहाँको एउटै हाईस्कूल पनि बन्द भईसकेछ र विद्यार्थीहरु मूलभूमिका हाईस्कूलमा जाँदा रहेछन्। होटलमा खाना खाँदा कामदारहरु सबै ६० कटिसकेकाजस्ता लाग्थे। समुद्र किनारसंगै जोडिएको शिनोजिमाको सुनसान सडकमा हिँड्दा बिस्तारै जीर्ण हुँदै गईरहेका गेष्टहाउसहरु, रेष्टुरेण्टहरु र फर्निचर आदिका पसलहरु थुप्रै देखिन्थे।

यो टापू शहरको भित्री भागमा पस्ने र यहाँका बिशिष्ट बौद्ध मन्दिरहरु हेर्ने रहर भने मनको मनमै रह्यो। गर्मीयाममा मेसो मिले एकचोटि जाने बिचार छ।

   




December 08, 2009

एमालेको सातपुस्ते श्राद्ध

नेपालीमा एउटा Politically incorrect उखान छ; "लूटको धन, फुपुको श्राद्ध" भन्ने (आईमाई भएकै कारण फुपुलाई हेपिएको हो, नत्र फुपु र काका-ठूलाबामा केहि फरक छैन।)। यसलाई अलि मिलाएर "अपुतालीको धन, सात पुस्ताको श्राद्ध" बनाउने अनुमति चाहन्छु। "अपुतालीको धन, सात पुस्ताको श्राद्ध" अहिलेको माकुने सरकारलाई सबैभन्दा सुहाउने विशेषण र यसको समग्र मूल्यांकन हो।

दिल्ली, न्यू योर्क आदि पछि यस्तै सात पुस्ते श्राद्धहरुको अर्को चरण पूरा गर्न अहिले माकुने जम्बो-टोली लिएर कोपनहेगन पुगेका छन्। प्रधानमन्त्रीले जम्मा तीन मिनेट मात्र सम्बोधन गर्न पाउने 'जलवायु सम्मेलन' मा नेपालका धेरै भ्रष्ट नेता र कर्मचारीले देशको धनको श्राद्ध खाएर डकारेर र पाधेर 'वायु' फाल्न पाउने भए। मन्त्रीपरिषद सचिवालयकै एक वरिष्ठ अधिकारीले प्रम र पाँचजना सरकारी अधिकारी बाहेक अरुको काम छैन भनेर सल्लाह दिँदा-दिँदै पनि पाँच दर्जनभन्दा बढीको जन्ती लिएर कोपनहेगनमा के गर्ने हो कुन्नि? नेपालमा जस्तो नारा-जुलुश गर्न र टायर बाल्न त पाईन्न होला त्यहाँ! थुक्क माकुने सरकार!

तर्क पनि कस्तो काईते! जानु-नपर्ने जो-जो अन्मरिएका छन् तिनको खर्च दाताले हाल्दिने रे! 'हामीले हाल्दिने भनेको नेपाललाई सहयोग दिन भनेर छुट्याएको पैसाबाटै हो' भनेर दाताले भनिसकेका छन्। त्यो  त देशलाईनै दुहेको भएन र? त्यसमा पनि अनेक सुबिधाका नाममा चालू बजेटबाटै पनि कति पैसा निकाल्ने होलान्।

माकुने सरकारको चाला ससुरालीको अकूत सम्पत्ति अपुतालीमा आईलागेको कुनै निकम्मा स्वाँठको जस्तो छ, अपुतालीमै आईलागेको सरकार भएर होला।

गाऊँघरमा यस्तै अपुतालीमा आईलागेको सम्पत्तिका कारण मात्तिएर भैंमा न भाँडामा भएका मान्छे देखिन्छन् धेरै। कहिलेकाहीँ चाहिँ अपुतालीमै सम्पत्ति आईलागेपनि नमात्तिई त्यो सम्पत्तिको सदुपयोग गर्ने र अरु थप्ने पनि देखिन्छन्। सोझा एमाले समर्थक मित्रहरुले आफ्नो दलको नेतृत्वको सरकारले पछिल्लो बाटो लिने आशा गरेका थिए होलान्, तिनीहरुसंग अब आत्महत्याभन्दा राम्रो विकल्प छैन शायद।

आफूलाई जम्बो-जेटभन्दा घटी नठान्ने एमालेलाई संविधान-सभाको चुनावले तीस सिटे मिनिबस बनाईदियो। माओवादीले हतारिएर सरकार छोड्नाले र कांग्रेसले अप्रत्याशित रुपमा कथित 'उदारता'  देखाएर 'निगाह बक्स' गर्दिनाले एमालेको तालुमा आलु फल्यो। अवसर जसरी आएको भए पनि एमालेका लागि यो सुनौलो अवसर थियो, नेपाली समाजमा तिब्र गतिले स्खलित भईरहेको आफ्नो छविलाई सुधार्ने र भावी दिनका प्रतिष्पर्धाहरुमा आफ्ना लागि अलिक ठूलो आकारको निश्चितता गर्ने।

तर एमालेको सरकार लाग्यो सातपुस्ते श्राद्ध गर्न!

यो सरकारका कोहि मन्त्री त बिहारको आफ्नो सुसराली गएर आउन पनि राज्यकोषमा आँखा गाड्दा रहेछन्।

आफूलाई 'खाँट्टी' र 'कट्टर' एमाले भन्ने एक-दुई मित्रहरुसंग कुरा भएको थियो यस बीचमा। यस्तो कुरालाई आफ्ना नेताहरुजस्तै उनीहरु 'गठबन्धनको बाध्यता' भनेर टार्ने कोशिश गर्दा रहेछन्। सबैलाई थाहा छ यो गठबन्धन सरकार हो र गठबन्धनका आफ्नै सीमा हुन्छन्, तर त्यहि निहुँमा सीमाहीन ढंगले कुशाशन चलाउन पाईँदैन। अर्कोतिर, यो सरकारको नेतृत्व एमालेले गरेको छ त्यसकारण आम नेपालीको लागि यो 'एमाले सरकार' हो। अघिल्लो सरकार पनि गठबन्धन सरकार थियो र त्यसको नेतृत्व माओवादीले गरेको थियो, त्यसैले जनताको आँखामा त्यो 'माओवादी सरकार' थियो। अघिल्लो सरकारका कामहरुको जस-अपजस मूलत: माओवादीको भागमा गएजस्तै अहिलेको सरकारका कामहरुको जस-अपजस पनि मूलत: एमालेको हो। एमालेलाई आफ्नो भविष्यको चिन्ता छ भने गठबन्धनको निहुँमा थारो देशलाई दोहिरहनुभन्दा देशमा सुशाशन कायम गर्नेतिर लाग्नुपर्ने हो, तर के देखिन्छ भने भविष्यसंग एमालेवालाहरुलाई खासै चासो छैन।

गठबन्धन भन्दैमा सरकारमा सम्मिलित अरु दलले जे-जे भन्छन् त्यहि मान्नैपर्छ भन्ने छैन, तर यसका लागि नेतृत्व गर्ने दलमा पर्याप्त नैतिक बल हुनुपर्छ। कोपनहेगनकै प्रसंगमा पनि एमालेले आफ्ना हनुमानको संख्या आधा घटाएको भए अरु पनि त्यसै गर्न बाध्य हुन्थे। यसरी कोपनहेगनमा डकार्न र पाध्न जानेहरुको संख्या पाँच जनामै नझरेपनि बीस-पच्चीसमा सीमित हुन्थ्यो होला। यो कुरा मन्त्रीमण्डल बनाउने देखि लिएर सबै सरकारी कामकाजमा लागु हुन्छ, नेतृत्वले त्याग देखाउन सक्नुपर्छ पहिला, त्यसपछि अरुले पनि त्याग गर्छन्। तर विगतमा पञ्चहरुलाई टाउकामा चढाउने कुसंस्कारको शुरुवात गरेको र डलरखेतीवालाहरुको दबदबामा आफैं पूर्ण रुपमा एनजीओ बनिसकेको एमालेबाट गतिलो कुराको आशा गर्नु बेकार रहेछ।

हातका चुरा बजाएर माकुने सरकारलाई हल्लाउने सुजाता र करीमा अनि माकुने सरकारबाट 'राजकीय' सम्मान पाउने ऋषि धमलाका कुरा त मलाईभन्दा बढी तपाईँलाईनै थाहा होला:)

संविधान सभाको चुनावले के देखाईसकेको छ भने एमालेसंग टेक्ने भुईँ र समाउने हाँगा एकदम कम बाँकी  छ। माओवादीसंग नयाँ राजनीतिक शक्ति हुनुको लहर छ, मान्छेहरुमा उसप्रतिको आकर्षण अझै कम भईसकेको छैन। अर्कोतिर, कांग्रेसको आफ्नो बर्गीय आधार त्यति भत्किसकेको छैन। त्यसैले एमाले जति कुबुद्धिग्रस्त र गोल्खाडी हुँदै जान्छ, त्यति यसलाई छोडेर एकथरी माओवादीतिर लाग्नेछन्, अर्कोथरी कांग्रेसतिर।

एमाले सरकार सुशाशनभन्दा पनि यस्ता सातपुस्ते श्राद्धहरुमै रमाईरहेको देख्दा एउटा कुरा ठोकेर भन्ने स्थितिमा आईपुगेको छु म, आफूलाई जम्बोजेट ठान्ने एमालेलाई संविधान-सभाको चुनावले तीस सिटे मिनिबस बनाईदियो, अबको चुनावमा यो चार सिटे ट्याक्सी बन्नेछ।

बार-बार अवसर पाईरहने दलले सधैं उहि भ्रष्ट चाला देखाईरहने हो भने त्यो दलको पतन अनिवार्य छ। त्यस्ता दलको पतनपछिनै नयाँ राजनीतिक शक्तिको उदय हुन्छ।

एउटै चिन्ता के हो भने, दलहरुले यसरी बारम्बार आफूलाई बलात्कार गरिरहेपछि नेपाली जनतामा लोकतन्त्र, राजनीति र राजनीतिक प्रकृयाप्रतिनै मोहभंग हुनसक्छ। देश र समाजका लागि त्यो साह्रै दु:खलाग्दो सम्भावना हो। युवापुस्तामा "राजनीतिलाई घृणा गर्छु!" भन्नेहरु बढ्दै जानु त्यहि सम्भावनाको लक्षण हो।

December 04, 2009

एउटा अजम्बरी त्रिवेणी

यो गीत मलाई पहिलो पटक सुनेबाटै साह्रै मनपर्ने हो। त्यसो त एकचोटि सुनेपछि यो गीत मन नपराउने नेपाली को नै होला र!

भट्टजी जापानमै हुँदासम्म नागोयाका दशैं र नयाँ वर्षका कार्यक्रमहरु र अन्य केहि अवसरमा उहाँले गाउनुहुन्थ्यो यो गीत; हरेक पटकका भेलाहरुमा "अल्झेछ क्यारे पछ्यौरी----" हाम्रो फर्माईश र "वन्स मोर!" मा पर्थ्यो।

तर नेपाल छोडेपछिको यति लामो समयसम्म स्वर-सम्राटकै स्वरमा सुन्न भने मेसो परेन। हात परेका कुनै पनि संग्रहहरुमा यो गीत छैन, आफू पुगेका नेपाली गीतहरुको अनलाईन संग्रहमा पनि यो भेटिएन।

विगत डेढ महिना यता झन् यो गीत बिहान उठेदेखिनै मेरो मनमा गुञ्जिन थालेको छ, अनि दिनभरि गुञ्जिरहन्छ। यो गीतका पछिल्ला शब्दहरु बिर्सिसकेको थिए र मेरो मनको गुनगुनाहट 'सल्लाझैं आमा----' मा पुगेर रोकिन्थ्यो।

थाहा छैन किन हो, यो गीत सम्झेपछि मलाई एउटा अत्यासलाग्दो उदासी र बेचैनीले घेर्न थाल्यो र मेरा आँखाहरु डिलसम्मै भरिन थाले। मेरा जनम-जनमका पिडाबोध र उदासी खप्टिएर अचानक एकमुष्ठ ममा पसेजस्तो!

र मैले यो गीत खोज्न थालें गुगलमा, तर एम रानाजीको Imeem मा बाहेक अन्त भेट्न सकिन। धन्यबाद एम रानाजीलाई!






पूरा गीत यहाँ सुन्न सक्नुहुन्छ; aljhechha kyare pachhe.mp3 - narayen gopal

इण्टरनेटमा यो गीत खोज्ने क्रममानै थाहा पाएँ यो गीतका रचनाकार मेरा प्रिय कवि भूपि शेरचनज्यू हुनुहुँदोरहेछ, पहिला रचनाकारमा ध्याननै दिएको रहेनछु मैले।

कति भाग्यमानी यो गीत, जसले भूपिको कलमबाट जन्मिने, गोपाल योञ्जनको शिल्पमा सजिने र नारायण गोपालको स्वरमा आकाशमा उडने सौभाग्य पायो! तीन अमर नदीहरु! र तीनको संगम-एउटा अजम्मरी त्रिवेणी!

अचेल घरमा यो गीत धेरै-धेरै बज्न थालेको छ र मेरा आँखाहरु झन्-झन् भरिन थालेका छन्।

लाग्छ, एक दिन यो गीत सुन्दै म डाँको छोडेर रुनेछु धेरै बेरसम्म। धेरै कुरा आफूले चाहेर पनि गर्न नसक्दाको नीरिहतामाथि, कति कुरा गर्न सक्ने हुँदा-हुँदै पनि नगर्दाको पश्चात्तापमाथि र धेरै-धेरै आफ्ना विवशताहरुमाथि!
*********************************************************
आज स्वरसम्राटको पुण्यतिथि! उन्नाईस वर्ष अघि पूरै नेपाल रोएको दिन!

स्वरसम्राटमा हार्दिक श्रद्धाञ्जली!





*********************************************************
र यस्तै अजम्बरी कृतिहरु दिएर, हामीलाई नेपाली हुनुको अस्तित्वबोध-नेपाली हुनुको गर्वबोध दिनुहुने हिजो, आज र भोलिका समस्त श्रष्टाहरुमा सादर धन्यबाद!

November 29, 2009

चार चोईटा

जिन्दगी यतिखेर
अपरिचित शहरमा आईपुगेको छु,
मध्यरातको सूनसान छ,
बास मागेर निद्रा बिगारीदिने मन छैन मलाई;
म उज्यालोको खोजीमा सडकहरु नापीरहेछु।
(भदौ २७, २०५७; पोखरा)
-----------------------------------------
तिम्रो आकृति
लठ्ठिएको मोहक साँझ,
झ्यालबाहिरको मोहक संसार,
कुनै क्यानभासमा उत्रन तयार छ;
म मेरो मनको बुरुशले
स्मृति र कल्पनाका रंगहरु घोलेर
जताततै तिमीलाई सजाइरहेछु।
(मे २६, २००४)
----------------------------------------
फिका जिन्दगी
प्रत्येक दिन‍-
अघिल्लो भन्दा उदास लाग्छ,
यस्तो लाग्छ जिन्दगी
गिलासमा एक पोका चिया छ
म हिजो देखि पानी थप्दै पिईरहेछु
स्वाभाविक हो-
प्रत्येक घुट्की
अघिल्लो भन्दा फिका लाग्छ।
(अगष्ट २०, २००६)
--------------------------------------
समयसंग
मेरो इतिहासका
सडक, चोक र गल्लीहरुमा-
गजधम्म
बाटो छेकेर उभिएका छन्
युग-युगका खलनायकहरु,
के यो भिड अझै बढ्ने हो?!
खै, नायकहरु कहाँ छन्?
(जनवरी १२, २००६)

 Image Source: Click Here

[दैनिकी अलि भद्रगोल भएको छ अचेल। ब्यस्तताको बीचमा अलि-अलि फूर्सदका 'टापू'हरु नभएका होईनन्, तर 'टापू'हरुकै भरमा नयाँ रचना लेख्न भने नसकिने रहेछ, अलिक धेरैनै फूर्सदिलो मनस्थिति चाहिँदो रहेछ। मलाई 'इतिहासको ब्याज'कै भरमा ब्लग चलाईरहन पटक्कै मन छैन तर तपाईँहरुसंगको कुराकानीलाई निरन्तरता दिन यहि बाहेक अरु बाटो बाँकी देखिएन अहिलेलाई, क्षमाप्रार्थी छु। 
तपाईँका दिनहरु शुभ रहुन्!]

November 24, 2009

तिर्सना

धेरै भएछ-
मन्दिरका घण्टहरुसंगै ब्युँझिएर
ताजा घाम सिउरेर तालुमा

परेवाहरुको माझबाट

यो यात्रालाई अघि नबढाएको,

मध्यान्हको गाढा छायामा

दुनियासंग बेखवर भएर

आफैसंग बेखवर भएर

एउटा मिठो सपना नदेखेको,

दिन-रातको दोसाँधमा

हल्का सिन्दूर पोतिएको बादल

झोलाभरि बोकेर

आँगन नटेकेको,

धेरै भएछ-

धेरै भईसकेछ-

कतै लम्पसार परेर

आकाशका तारा नगनेको,

एउटा तारा रोजेर

'त्यो मेरो तारा’ नभनेको।



[यो कविता "तृष्णा" शिर्षकमा (र अलि फरक रुपमा) २००७ को अन्त्यताका 'साझा' को कविताको देशमा राखिएको थियो। ब्लगमा समसामयिक विषयमा लेख्ने मन हुँदा-हुँदै पनि नभ्याउनाले आजपनि यो 'इतिहासको ब्याज'ले काम टारें:)]

November 18, 2009

गौतम सर,फर्मुला छोरी र भाउजू

[आज 'पाहुनाको कोसेली' मा साथी पुरुषोत्तम गौतमजीको संस्मरण राख्न चाहन्छु। २०४५-४७ मा प्रमाणपत्र तहमा अध्ययनरत हुँदा पुरुषोत्तमजीसंग चिनजान भएको हो मेरो। प्रमाणपत्र तह सकिएपछि हाम्रो सम्पर्क टुट्यो र केहि समय पहिला यहि ब्लग र फेसबुकको माध्यमबाट फेरि भेट भयो। उहाँ अहिले पाठशाला नेपाल फाउण्डेशनमा अध्यापनरत हुनुहुन्छ।]
गौतम सर,फर्मुला छोरी र भाउजू
- पुरुषोत्तम गौतम

असफलता भन्ने शब्द मूर्खहरूको शब्दकोषमा मात्र पाइन्छ भन्ने नेपोलियनको उक्ति साह्रै मन पर्थ्यो मलाई । म पनि सोच्थेँ मान्छेले गरे नहुने के होला र दुनियाँमा । मन मेरो साह्रै उत्साही थियो । संसार बदल्ने आँट थियो होला त्यो बेला । विद्यार्थी थिएँ म साह्रै मेहेनती जुनसुकै विषयमा पनि । २०४५ सालको एस.एल.सी. पास गरेर पाटन क्याम्पस पढ्न आएँ म । मेरा गु्रूहरूमा फणिन्द्र नेपाल सरलाई अझसम्म भुलेको छैन मैले । माया गरेर सिकाउने जहिले पनि केही खोजी गर्न प्रोत्साहित गर्ने । तिमी गर है भविष्यमा गएर तिमीले नेपालीमा एम. ए . गर्नु पर्छ भनिरहनुहुन्थ्यो मलाई । सरसँग नजानेको कुरा सोधिहाल्ने बानी र नयाँ कुरा खोजी हाल्ने बानीले गर्दा पनि होला माया गरेको । म दुईतिर पढ्थेँ । ललितकलाको पनि म चित्रकला विषयको विद्यार्थी थिएँ । त्यहाँ पनि माया गरेर पढाउने गुरुहरू मनुजबाबु मिश्र, राधेश्याम मुल्मी, नवराज कार्की अरु अरु सरहरू पाएँ मैले । पढ्दा पढ्दै जीवन अलिक कष्टकर बन्यो अनि मैले बाध्यताले पनि र परिस्थितिले पनि एउटा सानो जागिर खानुपर्ने भयो । त्यसैक्रममा बाध्यताबश शिक्षण सम्बन्धी थाहै नपाइ, जान्दै नजानीकन म २०४८ सालमा ललितपुरको चापागाउँस्थित कञ्चन अंग्रेजी बोर्डिङ् स्कूलको प्राथमिक तहको स्थापनाकालको शिक्षक बनेँ थोरै समयका लागि भएपनि । पाटन क्याम्पसमा बि.ए. प्रथम वर्षमा अर्थशास्त्र र गणित मुख्य विषय लिएर पढ्थेँ म । साना केटाकेटीहरूसँग खेल्न रमाउन गाउँ जाँदा पनि मलाई हरहमेशा बाटो देखाइरहन्थे । साँच्चै भन्नुपर्दा साना नानीहरू मेरा अजश्र प्रेरणाका स्रोतहरू हुन् या नि मेरा गुरुहरू हुन् । जीवनले कोल्टे फेर्यो ।

२०४८ सालमा पाटन क्याम्पस पढ्दा पढ्दै म शारीरिक अस्वस्थताका कारणले म गाउँ फर्किएँ । झापा जिल्लाको सुदूर दक्षिणी भागको जुरोपानी गा.वि.स. को ग्वालडुब्बा बजारमा एउटा सानो बोर्डिङ्ग स्कूलको प्रिन्सिपल तथा शिक्षक भएर काम गर्न थालेँ । जीवनले एकोहोरो जीवनगति पायो । साना नानीहरूसँग रमायो दिनभरि अनि घर फर्कियो । सपनामा पनि तिनै अबोध अनुहारहरू । भिन्न भिन्न प्रकृतिका नानीहरू भिन्ना भिन्नै व्यवहारहरू । नेपालको एउटा कुनाको मधेशी बाहुल्य गाउँ थियो त्यो शहरको कुनै आलिशान महल होइन । गाउँकै भलाद्मी काइँला बाजेको घरको टाँढमुनी खर र बाँसले बारेको बन्द कोठा भित्रको त्यो स्कूल गाउँका मान्छेका लागि त एउटा अंग्रेजी माध्यमको स्कूल थियो के के न गर्लान् यी दुइटा ठिटाले भन्ने थियो होला । मसँगै केशब अधिकारी भन्ने साथी पनि हुनुहुन्थ्यो त्यो बेला । जे होस् अहिले सम्झँदा २०४९ सालको पुष महिना थियो, स्थापनाको पहिलो वर्ष जस्तो लाग्छ । स्कूल गौरादहमा रहेको माउन्ट एभरेष्ट मा.वि. को शाखा स्कूलको रुपमा खोलिएको भए पनि म नै प्रिन्सिपल नियुक्त गरिएको थिएँ त्यो बेला । तर हामी दुबैको लागि त्यो क्षेत्रमा चुनौती थियो संस्था चलाउन। २०४८ सालमा नै एउटा स्कूल चलाएर बन्द भइसकेको रहेछ त्यसले गर्दा पनि हामीले धेरै सम्झायौँ अभिभावकहरूलाई । हुन त हामीलाई कसैलाई ठग्नु पनि थिएन ,अर्को स्कूलको शाखा भए पनि हामीले त्यो स्कूललाई कहिल्यै पराया ठानेनौँ, बच्चाहरू अर्काका मानेनौँ । आफ्ना नानीहरू सम्झिएर पढायौँ बढायौँ । बिना तालिमका मास्टर भएपनि धेरै कुरा थाहा पाउँदा बच्चाको भलाइको लागि गरिएछ । शिक्षाको जानकारी थिएन पनि । हामी दुबैजना मानविकी संकायका विद्यार्थी थियौँ बि.ए. पढ्दै । सिकारु थियौँ हरेक कुराका लागि । न तालिम थियो न हामीलाई कसैले सिकाएको नै थियो यसो गर्ने उसो गर्ने भनेर । मेरो कल्पनामा म कुनै दिन शिक्षक बन्छु होला भन्ने थियो होला जस्तो मलाई त्यति लाग्दैन पनि । तर पनि समय सबैको गुरु रहेछ । समयको चक्र सँगसँगै म पनि फनफनी घुमेँ अनि मेरा लक्षहरू पनि घुमे आफैँ तय भए ।

म बोर्डिङ्को एक नम्बरको मास्टर भएँ गौतम सर भएँ । बास्तवमा म कुनै दिन चित्रकलामा बि.एफ.ए. गर्छु भन्ने एउटा झिनो लक्ष भने रहेकै थियो होला जस्ते लाग्छ । तर पनि यसै गर्छु भन्ने पूर्वकिटानी केही थिएन मेरो जीवनको । सानोछँदा भोलि गएर नानी के हुन्छ ? भन्दा मेरो जवाफ म त डाक्टर हुन्छु भन्ने थियो होला अहिले सम्झँदा । तर यो सबै समयको खेला वा भाग्यको खेल म के भनूँ? पढेर ठूलो मान्छे हुनू, मन्त्री हुनू अनि धेरै पैसा कमाउनु र बुबाआमालाई सुखले पाल्नू है भनेर दशैँमा टीका थाप्ने संस्कारमै हुर्किएको मान्छे हुँ म पनि । त्यसमा पनि दशैँमा दिइने आषीक सम्झन्छु म कहिलेकाहीँ —आयूद्रोणसुते श्रीयंचदशरथे सत्यम्च कुन्तीसुते, गतिश्च पवने ..........बलम्च हलधरे ....कीर्तिश्च नारायणे यस्तै यस्तै । संस्कृतको श्लोक त्यति मजाले बुझ्ने मान्छे होइन म । तर पनि सामान्य अर्थ ठम्याउन सक्छु भन्ने लाग्छ मलाई । आषिकले भनेजस्तो न अस्वस्थमाजस्तो अजम्बरी बन्न सकूँला , न यूधिष्टिर जस्तो सत्यवादी, न बलमा बलरामको जति ताकत नै, न कीर्ति नै राख्न सकूँला नारायणको जस्तो । तर पनि म अरु भएर होइन , म आफैँ भएर जिउन बल गर्ने मान्छे हुँ जहिल्यै पनि । आषिक जे जे थापेपनि आफ्नो चाहना जे जे भएपनि सबैले सोचेको पुग्दैन सधैँ । मन्त्री बन्न नसके पनि, अरुलाई गिराएर आफू ठूलो मान्छे हुन नसकेपनि म बोर्डिङ्ग स्कूलको न्यूनबेतनभोगी जागिरे छु म ।

ती दिनहरूतिर फर्किएर हेर्दा-खालखालका नानीहरू, खालखालका विशेषताहरू । साह्रै फोहोरी कुरा बोल्नेदेखि साहै्र भलाद्मीसम्म । कोही गाउँको दूध दही मजाले खाएका छुच्चा बच्चाहरू पनि थिए अरुलाई ठेलेर लडाइदिने खालका पनि । मैले धेरैलाई भन्नु पनि ती साना नानीहरूको बानी बेहोराका बारेमा । घरमा बोलिने भाषा र बानी बेहोराको असर परेको हो कि भन्ने लागेको थियो मलाई । गाउँमा केटाकेटीको फोहोरी बोलीले गर्दा नै बच्चाले फोहोरी बोलेको जवाफ पाएँ मैले । एउटा बच्चा साह्रै पुल्पुलिएको थियो, लुरे थियो तर ऊ साह्रै बल गथ्र्यो स्कुल छोडेर भाग्न । पहिलो दिन थियो उसलाई त्यो स्कुलमा ल्याइएको । जंगली थियो ऊ । छेउकै आँगनमा धान भरेर राखिएका धानका बोराहरू थिए । मान्छेहरूको बराम लागेको थियो हेर्ने । नयाँ नयाँ बोर्डिङ्ग स्कूल खालखालका बच्चा रुने कराउने । अनि ती बच्चाको चर्तिकला हेर्नेको ताँती । मैले सानो फुच्चेलाई आऊ सानो बाबु भनेर के भनेको मात्रै थिएँ ‘‘राँडीका छोरा किन समातिस् मलाई छोड्दे? तँलाई हरिया बाँसमा बाँधेर टुँ ऽऽ पार्दै लैजान्छु ” भन्न थाल्यो ऊ । फटाहा त्यसो भन्नुहुन्छ भन्दा ‘‘मैले तपाईंलाई भनेको होइन यसलाई भनेको ” भनेर मलाई देखाउँथ्यो । मान्छेको बराम लाग्थ्यो काईला बाजेको आँगन अघि । यस्तो लाग्थ्यो यो कुनै खालखालका जीवजन्तुहरू ल्याएर प्रदर्शनको लागि राखिएको एउटा चिडियाखाना हो । उपाय केही नलागे पछि भुईको धूलो उठाएर सबैलाई छरिदिन्थ्यो अनि आफ्नो टाउकोभरि धूलो हाल्थ्यो रिसले ।

कोही रुँदारुँदै प्राणै फुत्केलाजस्तो गर्थे बिचराहरू । जबर्दस्ती । जबर्दस्ती समाएर फुल्यायो , आँशु पुछिदियो अनि फकायो । बच्चा हो एकैछिन्मा फुल्याइहालिन्थ्यो । कोही पेन्टमै दिसा गरिदिने, कोही पेन्टमै पिशाब गरिदिने । यस्तै यस्तै बच्चाहरूको माझमा थिएँ म । साना नानीहरू कति आए कति गए मलाई सबैको ख्याल छैन पनि । सिँगाने नाकैभरि प्यात्त परेको पहेँलो सिँगान बोकेर आउनेदेखि साह्रै चिटिक्क परेर आउने सम्म । म बास्तवमा पुरुषोत्तम गौतम थिएँ कलेजको विद्यार्थी । यहाँ म भएँ गौतम सर । मेरो न्वारान भयो आफसे आफ ग्वालडुब्बाको बसाइ पछि । शायद दोस्रो वर्ष या तेस्रो वर्ष थियो होला स्कूल सुरु भएको । नर्सरीमा आउने बच्चा रुने, कराउने, लडिबुडी गर्ने नै हुन्थे प्रायजसो । आमाको काख छुटाएर , बाबुको साथ छुटाएर ल्याइएका नानीहरू थामिनसक्नुका हुन्थे धेरैजसो । आफ्नो घर र निश्चित छिमेकीको घर दलान ननाघेका नानीहरू ग्वालडुब्बा बजारको यो कुटीमा ल्याइपु-याउँदा बिचराहरूको सातै जान्थ्यो होला ।

तर एकदिन एउटी सानी नानी आई स्थानीय सरकारी स्कूलमा पढाउने शिक्षिका बिन्दु खनालसित । त्यो सानी नानी बेग्लै लाग्थी हेर्दै । बडो चंख थिई ऊ । चञ्चल, ठूलाठूला आँखा । उसको अनुहारमा निकै चमक थियो । मलाई नानीहरू हेर्ने बित्तिकै कस्तो खालको हुनसक्ला भन्ने सामान्य तबरमा थाहा हुन थालिसकेको थियो त्यो बेलासम्ममा । बिन्दु मिसले भन्नु भयो —“सर ! यो हाम्री दाइकी छोरी फर्मुला हो नर्सरीमा नाम लेखाउनु पर्ने ।” मैले फर्मुलालाई —“छोरी यता आऊ त ” भनेर बोलाएँ । ऊ सरासर म भएतिर आई । प्रायजसो पहिलो दिन स्कूल आउनेहरू रोएर, जोसँग आएका हुन्थे उनीहरूलाई नै च्याप्प समाएर छोड्दै नछोड्ने, बोलाउँदा आउँदै नआउने, जंगली स्वभावका हुन्थे । तर फर्मुला त अनौठो खालकी थिई मेरो लागि ।

साना साना नानीहरूलाई केही सिकाउनु ठट्टा होइन भन्ने लाग्छ मलाई । उनीहरूको शारीरिक तथा मानसिक अवस्थाको ख्याल राखेर उनीहरूसँग व्यवहार गर्नु पर्छ । म तालिम प्राप्त शिक्षक थिइँन । ललितपुर बस्दा चापागाउँमा खुलेको कन्चन अ्रग्रेजी बोर्डिङ्ग स्कुलमा केही समय काम गरेको अनुभव थियो थोरै । साना साना नानीहरूलाई पढाउने शिक्षक थिएँ म । पढाउन थालेको केही समय पछि मलाई ब्रोङ्काइटिसले समात्यो । मैले काम गर्न नै सकिँन राम्ररी । त्यही भएर झापा हानिएको थिएँ म । मलाई अरू शिक्षण सम्बन्धी केही ज्ञान नै थिएन । म जानेर वा नजानेर मेरै ढङ्गले व्यवहार गर्थेँ बच्चाहरूसँग । न मलाई शिक्षाको सिद्धान्त नै थाहा थियो न अन्य अनुभव नै । तर पनि बाल मनोविज्ञानको एउटा किताब पढ्थें भगवती बिष्टको हिन्दी भाषामा लेखिएको । आलोकाँचो थिएँ भन्ने स्वीकार्नु पर्छ मैले । तर एउटा सत्यता के थियो भने म पढाइमा अति उत्सुक थिएँ , त्यति नै उत्सुक थिएँ शिक्षण पेशामा पनि । के गर्दा नानी बाबुहरूलाई राम्ररी सिकाउन सकिन्छ भन्ने खूब चासो लाग्थ्यो अनि सकेसम्म कोशिष गर्थेँ म । हुन त त्यो बेला हाम्रोतिर स्वाध्याय सामाग्रीको प्राचुर्यता भएको बेला थिएन । जे भए पनि म लगनको साथ काम गर्थेँ । म कुनै स्कूलको तलबी शिक्षकभन्दा पनि साना साना नानीहरूको पथप्रदर्शक हुँ भन्ने लाग्थ्यो मलाई । उनीहरूका खराब आदतहरू हटाएर असल आदतहरू निर्माण गर्नु, नाकनिकेहरूलाई खाना खाने बेलामा सम्झाउनु त्यति मात्रै होइन बुबा आमाका चुरोट बिँडी, खैनी खाने तथा मद्यपान गर्ने आदि आदत हटाउन सहयोग पुर्याउनु पनि थियो । मलाई लाग्थ्यो पढाउनु भनेको मात्रै बाह्रखरी सिकाउनु र ए बी सी डी सिकाउनु मात्र होइन । बच्चालाई नैतिकवान बनाई समाजको एक दर्बिलो खम्बा बनाउनु पनि हो । किताबी ज्ञानको अथाह भण्डार भएर पनि बच्चा नैतिकवान बन्न सकेन भने उसले हासिल गरेको ज्ञानको केही अर्थ छैन भन्ने ठान्थ्यो मेरो अलिअलि पढेको दिमागले । पढाउनु भनेको बच्चाको शारीरिक,मानसिक , बौद्धिक तथा नैतिक बिकास गराउनु पनि हो भन्ने विचारले नै अघि बढ्थेँ । जीवन एक अनुभवकै रुपमा भोग्दै थिएँ म । साना साना नानीहरू तिनीहरूको आफ्नै दुनियाँ अनि मेरो पनि आफ्नै दुनियाँ थियो । तिनीहरूको माझमा समय बितेको पत्तै हुँदैनथ्यो मलाई ।

फर्मुला छोरी मेरी साह्रै मिल्ने साथी बनी, अलिदिन जति बसी । मसँग धेरै कुरा गर्थी ऊ । मलाई थाहा भइसकेको थियो उसको आदत । हँसिली थिई ऊ । रुनेहरूलाई फर्मुला देखाएर सम्झाउन थालेको थिएँ म । हेर ! फर्मुला त रोएकी छैन भनेर । फर्मुला अरुलाई पनि किन रोएको भन्थी, अनि म त रोएकी छैन त भन्दै मलाई नै सहयोग गर्थी । रुनु हुँदैन त भन्दै अरुलाई फकाइदिन्थी । रुँदा रुँदै नानीहरु हाँस्न थाल्थे आँशु झरेकै आँखाबाट पनि । मलाई आनन्द लाग्थ्यो । नाटक गर्नु पर्थ्यो केटाकेटीका खुशीका लागि । मलाई लाग्छ साना नानीहरूसँग रमाउँदाको आनन्द दुनियाँका अरु केहीले पनि दिन सक्दैन मलाई ।

मैले ग्वालडुब्बामा पैसा कमाएर ठूलो मान्छे बनौँला, धनी बनौँल भनेर पनि पढाउन सुरु गरको थिईन मैले । कञ्चन अंग्रेजी बोर्डिङ्गमा पढाउँदा रमाइलै लागेको थियो साना साना नानीहरूको साथ त्यसैले ग्वालडुब्बामा स्कूल चलाउने कुरालाई स्वीकारेर म झरेको थिएँ । काम अरुले के भन्ला र केही पाइएला भनेर गर्ने पनि होइन भन्ने लाग्थ्यो मलाई । आफूलाई के सही लाग्थ्यो त्यही गर्थेँ म । एकदिन नर्सरीलाई पढाउँदै गर्दा फर्मुला छोरीलाई छोरी राम्रो लेख है भनेको थिएँ मैले । उसले त उल्टै पेन्सिल डेस्कमा पो राखिदिई । छोरी पेन्सिल समात लेख्नु पर्छ भन्थेँ म । ऊ गफ गर्न थाली मसँग उल्टै । मलाई थाहा छ साना नानीहरू साह्रै जिज्ञासु हुन्छन् । यस्ता यस्ता अनौठा प्रश्नहरू गर्छन् म ती सबै प्रश्नहरूको जवाफ दिने सामर्थ्य राख्दिन । तिनीहरूको उत्सुकताको सीमै हुन्न जस्तो लाग्छ । म ठूला मान्छेको प्रश्नको जवाफ दिएर सन्तुष्ट पार्न सकूँला तर साना नानीहरूलाई सन्तुष्ट बनाउने ममा क्षमता, ताकत वा सामथ्र्य जे भनौ ममा छैन । एउटा पछि अर्को प्रश्नको ओइरो लगाउँछन् उनीहरू । त्यसैले मैले भनेको छु —“साना नानीहरूलाई सम्हाल्ने काम, पढाउने काम साह्रै कठिन हुन्छ । भविष्यमा जे जे बने पनि उसको यो बेला नै जग बस्ने बेला हो।“सर म त राम्रो लेख्छु । मैले राम्रो लेखेँ भनेँ नि मेरी आमा आउनुहुन्छ फर्केर । मेरी आमा ऊ माथि जानु भाको छ ” हातले इशारा गरेर उसले मलाई आकाशतिर देखाई । “अनि कि मेरी आमा त देउतीमाताको घर पो जानु भाको छ त थाहा छ तपाईंलाई? माथिबाट आमाले हेरिरहनु पो हुन्छ त मलाई सधैँ । मैले राम्रोसँग लेखेँ भने, पढेँ भने मेरी आमा खुशी भएर यहीँ आउनु हुन्छ रे ।"

मलाई थाहा भइसकेको छ फर्मुलाकी आमा यो दुनियाँमा हुनुहुन्न भनेर तर पनि कति अबोध छे फर्मुला छोरी । उसले मलाई भनिसकेकी छे आमा देउतीमाताको घर जानु भएको छ भनेर । म त ट्वाल्ल परेँछु । उसलाई हेरेको हेर्यै भएँछु । जब उसले भनी आमा फेरि फर्केर आउनुहुन्छ यहाँ, तब मैले सोधेको थिएँ फर्मुलालाई — “छोरी तिमीलाई कसले भनेको भनेर ?” “हाम्री हजुरआमाले सधैँ भन्नु हुन्छ सुत्नेबेलामा मलाई, थाहा छ सर?” कति अबोध छे ऊ!। आमा आउनुहोला भन्ने सम्झन्छे ऊ, उसले मतिर फर्किएर सोधीहाली, "आमा साँच्चै आउनु हन्छ सर?" भनेर।

म अक्क न बक्क भएँ । भक्कानो फुटेर आयो मेरो । मलाई तत्कालै डाँको छोडेर रुँ रुँ लाग्यो उसलाई अँगालेर । कति सरल छे ऊ । मानौँ उसले आफ्नी आमा गुमाएको महशुस नै छैन । मलाई खपिनसक्नु भयो । म अति भावुक बनेँछु । मेरा आँखा रसाएछन् फर्मुलाको अबोध चेहरा हेरेर अनि उसको कुरा सुनेर । मैले अर्कोतिर फर्किएर आँशु झारेँ अनि फेरि फर्किएँ फर्मुलातिर र हाँस्दै भनेँ —‘‘छोरी धेरै पढ्यौ , ज्ञानी बन्यौ भने तिम्री आमा पक्कै आउनुहुन्छ एकदिन फर्किएर । ” मैले फर्मुलालाई यसो भनिरहँदा आफैँलाई नराम्रो लाग्यो । मैले जानाजान झूटो बोल्नु प-यो उसको लागि । न म उसलाई सत्य भनेर उसको चित्त दुखाउन नै सक्थेँ, न चूप लागेर उसको चित्त बुझाउन नै सक्थेँ ।

ऊ कति खुशी थिई, उसको चेहराले बताइरहेको थियो । उसको अनुहारको त्यो प्राकृतिक खुशी सधै कायम रहोस् ,म चाहन्थेँ । तर फेरि म सम्झन्थेँ —एकदिन यस्तो पनि त आउला उसले आफैँले आमाको बारेमा बुझ्ली । आमा त कहिल्यै नफर्कने गरी सधैँका लागि उसलाई यहीँ छोडेर अर्कै लोकमा जानु भएको रहेछ भन्ने यथार्थ थाहा पाउली । त्यो दिन ऊ भन्ली—सारा संसार झुटैझुट रहेछ, सबै मान्छेहरू झुटा कुरामात्र गर्दारहेछन् । अनि उसको सम्झनामा रहेछ भने अझ भन्ली- अरु त अरु, त्यो बोर्डिङ्गको गौतम सर पनि एक नम्बरको झुट रहेछ । त्यसले त मैले राम्रो पढेर ज्ञानी भएँ भने फेरि आमा फर्किएर आउनुहुन्छ भनेको थियो नि भन्ली । अनि मलाई देखेर कसैले गौतम सर भनेको यही हो भनेर चिनाइदिएछ भने मलाई झुटो बोलेकोमा गर्नु गाली गर्ली ।

घर फिरेँ म स्कुल छुट्टी भएपछि । तर मेरो मन त्यसै त्यसै पोलिरह्यो । सबै आफ्ना धूनमा थिए अरु । तर म हराएको थिएँ कता कता । उही अबोध छोरी फर्मुलाको अबोध चेहरा, बिचित्र बिचित्रका प्रश्नहरू, अनौठा अनौठा कुराहरू, बोलिरहने उसको मृदु मुस्कान सहितको सजीव चेहरा आयो आँखा अघि बारबार । फर्मुला छोरीकी आमाको न अनुहार थाहा थियो मलाई न म चिन्थेँ नै । बस् वहाँको छोरीको एक समयको शिक्षकको नाताले फर्मुला छोरीको सफलताको कामना गर्न सक्छु अनि अपरिचित भाउजूको सम्झनामा श्रद्धाका दुईथोपा आँशु झार्दै वहाँको मृत आत्माले स्वर्गमा बास पाओस् भन्ने कामना गर्न सक्दछु ।

अनि अन्त्यमा फर्मुला छोरी ! जीवन यात्रामा तिमी कहाँ छ्यौ म भन्न सक्दिन । म जीवन यात्रा गर्दा गर्दै आज काठमाण्डूको पाठशाला नेपाल फाउण्डेशन भन्ने स्कुलमा दादा दिदीहरूलाई पढाइरहेको छु अझै पनि । छोरी, मान्छेको मन तिम्रो जस्तै कोमल, भावना तिम्रो जस्तै पवित्र, सोचाइ तिम्रो जस्तै निश्च्छल भए कस्तो हुन्थ्यो होला यो संसार ? मलाई त बाबा तिमी जस्तै नानीहरू मात्रै मन पर्छ । ठूलाहरूको स्वार्थीहरूको संगतबाट म अघाएँ बाबा । तिमी धेरै पढ है छोरी स्वर्ग जानु भएकी आमालाई खुशी राख्न पनि । आमा जतिखेरै चम्किलो तारा बनेर तिमीलाई नै हेरिरहनु भएको छ । देउताको घरबाट सबै स्पष्ट देख्न सकिन्छ छोरी । स्वार्थी मान्छेको धमिलो मनले मात्र केही छुट्याउन सक्दैन । म तिम्रो गौतम सर, तिमी नर्सरी पढ्दाको, सधैँ ईश्वरसँग प्रार्थना गरिरहन्छु तिम्रो खुशीका लागि, तिम्रो उत्तरोत्तर प्रगतिका लागि।


Image Source: Click Here

November 13, 2009

राग/बैराग-चार नयाँ मुक्तकहरु

"कानून"

नसोध भो-के बैध, के अबैध छ
छुट्याउने चेतना आफैं कैद छ
खोर जाने त टापटिपे मात्रै हुन्
भयंकर डकैती पूरै बैध छ!


"भिड"

जत्था माथि जत्था, 'खाने'हरुको
लत्ता देखि सत्ता 'खाने'हरुको
तलब लिँदै जन्मनेको ठाऊँ अब
मर्न पनि भत्ता खानेहरुको!
------------------------------
------------------------------

"प्रस्ताव"

यसै अल्झेर बिताइदिऊँ यो यामको पहिलो झरी
घाम पर्खेर बिताइदिऊँ यो यामको पहिलो झरी
भिज्ने-भिजाउने, बग्ने-बगाउने होडबाजी गरौं
आऊ! दर्केर बिताइदिऊँ यो यामको पहिलो झरी!


"अनूरोध"

उन्मत्त छ, बैंश फक्रेर गुलाब
बैंशालु हातमै टक्रेर गुलाब
अलिकति मात्तिऊँ कि मै पनि
तिम्रा हात हुँदै पक्रेर गुलाब!


Image Source: Click Here

November 07, 2009

संभावित ब्लगरहरुसंग


केहि दिन पहिला झापाका ओजोन सन्दीप भाइको मेल पाएँ। भाइ ब्लग-जगतमा प्रवेश गर्न उत्सुक र आतुर रहेछन् र सल्लाह/सुझावको लागि मलाई मेल गरेका रहेछन्। यसरी उत्सुक मान्छेहरुको मेल पाउनुले मलाई एकदमै खुशी बनाऊँछ। आफूसंगको जानकारी र अनुभव बाँड्न पाऊँदाको आनन्द र आत्मसन्तुष्टि बेग्लै हुन्छ। ब्लग-जगतमा पनि एकापसमा सिक्ने-सिकाउने कृया निरन्तर चलिरहेको हुन्छ, यथार्थमा ब्लग-जगतलाई जीवन्त बनाउने एउटा प्रमुख पक्ष हो यो।

सन्दीप भाइसंगको सम्पर्कले अर्को खुशीपनि थप्यो मेरो मनमा। आफूभन्दा २० वर्ष कान्छो नेपाली पुस्ताको सोचाई र आकांक्षाका बारेमा अलि-अलि जान्ने मौका मिल्यो। हुनत एउटा ब्यक्तिलाई हेरेर समग्र समूहको समग्र मूल्यांकन गर्न सकिँदैन तर सीमितनै भएपनि जान्न पाउनु राम्रै अवसर हो।

हामी बीच सात-आठ ईमेलहरु आदानप्रदान भए। सन्दीप भाइको जिज्ञासामा ब्लगमा के विषयमा कसरी लेख्दा राम्रो हुन्छ, डोमेन नेम किन लिने, कसरी लिने देखि 'ब्लग लेखेर कत्तिको शत्रु कमाउनुभएको छ?' भन्नेसम्मका जिज्ञासा थिए। 'शत्रु' वाला प्रसंग बाहेक अरु विषयमा सन्दीप भाइसंग भएका कुराकानीलाई संक्षेपमा लेख्न चाहन्छु आज। यो टाँसो मूलत: सन्दीप भाइजस्तै उत्साही संभावित ब्लगरहरुलाई लक्षित गरेर लेखिएको हो। नियमित ब्लग गरिरहेका साथीहरुलाई निरस लाग्न सक्छ, फेरि अरु ब्लगर साथीहरुले पनि यहि विषयमा लेखिसक्नुभएको छ। त्यसका लागि क्षमा चाहन्छु। नेपाली ब्लग-जगतमा सदस्यहरु बढाउनका लागि बेला-बखत यस्ता टाँसोहरु लेखिनु जरुरी छ भन्ने मेरो मान्यता हो।

सन्दीप भाइजस्तै उत्साही संभावित ब्लगरलाई मेरो सल्लाह हो यो।

१)ब्लग किन गर्ने? ब्लगमा के पस्किने?
ब्लग शुरु गर्नुभन्दा पहिले आफू किन ब्लग गर्न लाग्दैछु भन्ने कुरामा यथेष्ट चिन्तन हुनु जरुरी छ। लहडमा वा अरुले ब्लग गरेको देखेर शुरु भएका ब्लगहरु त्यति लामो समय टिक्दैनन्। यात्रा कि थाल्दै-नथाल्नु, थालिसकेपछि निरन्तरता दिनुनै राम्रो हो। त्यसकारण ब्लगको एउटा उद्देश्य, एउटा मिसन हुनैपर्छ। आफ्नैलागि मात्र लेख्ने हो भने बेग्लै कुरो।

ब्लग शुरु गरिसकेपछि निरन्तरता दिन गाह्रो छ। केहि टाँसोसम्म बास्तवमा त्यति आत्मविश्वाश पनि आऊँदैन। त्यसैले आफूले कुन विषयलाई ब्लगको प्रमुख स्रोत बनाउने हो भन्ने कुरामा स्पष्ट हुनु जरुरी छ। ब्लग धेरै विषयमा लेखिने संकलनजस्तो पनि हुनसक्छ अथवा कुनै एउटा निश्चित विषयवस्तुमा मात्रै केन्द्रित पनि हुनसक्छ। जसरी जाँदा निरन्तर हुन सकिन्छ, त्यहि बाटो रोज्नुपर्छ। आफूले लक्ष गर्न चाहेका पाठकहरुको रुचि कस्तो हुनसक्छ भन्ने विषयमा पनि चिन्तन आवश्यक छ।

समसामयिक घटनामाथिको टिप्पणी, आफ्नो रुचिका कुरा-साहित्य, संगीत, यात्रा आदिको चर्चा, प्राविधिक विषय, साहित्य, बालसाहित्य, फोटोग्राफी, अडियो ब्लग, भिडियो ब्लग, पारिवारिक अनुभव, पाक-कला, ---विषय अनगिन्ती छन्। नेपाली ब्लग जगत एक हिसाबले 'साहित्य रोग'ले ग्रसित छ र यसमा अझै चाहिँदो विवधता आउन सकेको छैन।

२) ब्लगको भाषा
नेपाली, अंग्रेजी वा जुन भाषामा लेखेपनि पाठक सजिलै भेटिन्छन, मुख्य कुरा ब्लगको विषयवस्तुको स्तरीयताको हो। एउटै ब्लगमा कहिले नेपाली, कहिले अंग्रेजी नगर्ने सल्लाह दिन्छु म। यसले पाठकहरुलाई झिँजो लगाएको अनुभव छ मेरो (मेरो नितान्त ब्यक्तिगत अनुभव हो यो, अरु ब्लगर साथीहरुको अनुभव फरक हुनसक्छ)। दुबैमा लेख्ने मन छ भने बरु दुईटा ब्लग बनाए हुन्छ।

३) ब्लगर, वर्डप्रेस वा अरु
सबैमा आ-आफ्ना सबल र निर्बल पक्ष छन्। जुनबाट शुरु गरेपनि हुन्छ।

४)निरन्तरता
ब्लगको नाममा समाचार पस्किने ब्लगहरु बाहेक अरु ब्लगहरु, त्यसमा पनि ब्यक्तिगत रुपले चलाईएका ब्लगहरु, दैनिक अपडेट गर्न गाह्रो हुन्छ। दिनदिनै पस्किन सक्नेगरी खुराक जम्मा पार्न सकिन्छ भने धेरै राम्रो। ब्लगका दुई टाँसोहरुको बीचको अन्तराल सकेसम्म सधैं उत्तिकै राख्नु राम्रो हुन्छ। कहिले दिनदिनै नयाँ टाँसो राख्ने, कहिले भने १५-२० दिन हराउने गर्नुभन्दा हप्ताको एउटा टाँसो राख्ने तर नियमित रुपमा राख्ने गर्नु आवश्यक छ। त्यतिले पनि भ्याईन्न भने दुई हप्ता वा तीन हप्ताको अन्तराल पनि बनाउन सकिन्छ।

आफूसंग उपलब्ध समय र ब्लगको विषय हेरेर अन्तराल तय गरेपछि ब्लगको मूलमन्त्र "निरन्तरता, निरन्तरता र निरन्तरता"नै हो। ब्लगको स्तरीयताका लागि धेरै काम गर्नुपर्छ तर निरन्तरतामात्रैले पनि धेरै सपार्छ ब्लगलाई।

५)ब्लगको प्रचार-प्रसार
- 'प्रचार-प्रसार' ले राजनीतिक गन्ध दिनसक्छ तर मेरो ध्येय त्यो होईन। एउटा नियमित ब्लगरले आफ्नो ब्लगको सकेसम्म धेरै प्रचार गरेको राम्रो। पूराना पाठकलाई अड्याईराख्न पस्किने सामग्री स्तरीय हुनु त अनिवार्य छँदैछ, नयाँ पाठकहरु थप्न प्रचार-प्रसार जरुरी छ। झन् नयाँ ब्लगरले त युद्ध स्तरमा प्रचार-प्रसार गरेको राम्रो। आफ्नो मेलिङ्ग लिष्टमा भएका सबैलाई कम्तिमा एकचोटि "मैले ब्लग शुरु गरेको छु, फुर्सद हुँदा पढेर प्रतिकृया दिनुहोला" भनेर ब्लगको ठेगाना सहित मेल गर्ने, फेसबुक वा आफू संलग्न कुनैपनि  सामजिक संजालमा उपलब्ध सबै तरिका प्रयोग गर्ने, चिनजानका मान्छेसंग टेलिफोनमा कुराकानी हुँदा वा भेटमै पनि आफ्नो ब्लगको कुरा गर्ने-----कुनैपनि तरिका अपनाए हुन्छ। नितान्त नीजि मनोवाद बाहेक कुनै पनि विषयमा लेख्नु भनेको आफूबाहेक अरुले पनि पढुन् भनेरनै हो। हो, मान्छेलाई झर्को लाग्ने सीमासम्म  भने पुग्नु हुँदैन, त्यसमा सचेत हुनै पर्छ। 

- ब्लग लिष्टहरु ब्लगको प्रचार-प्रसारको अर्का महत्वपूर्ण माध्यम हुन्। Nepali Bloggers लगायत अरु केहि साइटहरुले नेपाली ब्लग र ब्लगरहरुलाई सूचिकृत गरिरहेका छन्। नियमति रुपमा अपडेट हुने नेपाली ब्लगहरु HAMRO CIRCLEनेपाली भाषाका ब्लगहरुमा पनि सूचिकृत छन्। नविनजीले Nepali Blog Updates भन्ने Google Widget विकास गर्नुभएको छ। ईण्टरनेटमा अरु सैयौं ब्लग लिष्टहरु, डाईरेक्ट्रीहरु छन् जहाँ आफ्नो ब्लग सूचिकृत गर्न सकिन्छ।

नेपाली ब्लगरहरुको एकापसी सम्पर्कलाई संगठित रुप दिनका लागि Nepali Bloggers भन्ने गुगल-ग्रुप पनि सकृय छ।

- ब्लगलाई परिचित र लोकप्रिय बनाउने अर्को महत्वपूर्ण माध्यम ब्लग आफैं हो, त्यसभित्रको अन्तर्कृया हो। अरुको ब्लग 'फलो' गर्ने, अरुको ब्लग पढेर प्रतिकृया दिने र लिंकहरु आदानप्रदान गर्ने काम साह्रै महत्वपूर्ण हुन्छ ब्लगलाई अगाडि बढाउन। अरुले आफ्नो ब्लग पढिदिउन् भन्ने चाहनेले आफूले पनि अरुको ब्लग पढ्नुपर्छ।

६)टेम्प्लेट
एउटा राम्रो टेम्प्लेटले निश्चयपनि ब्लगको सौन्दर्य बढाऊँछ तर टेम्प्लेटको झिलिमिलीका भरमै पाठकहरु बटुल्न र बाँधेर राख्न सकिन्न। ब्लगले पस्किने विषयवस्तुको स्तरीयतानै ब्लगको सबैभन्दा महत्वपूर्ण सम्पत्ति हो, टेम्प्लेटको साज-सज्जा त्यसपछिको कुरा हो।

बनिबनाऊ टेम्पलेटहरु पनि जतिपनि भेटिन्छन्, रुचि छ भने कुनै आधारभूत टेम्प्लेटबाट शुरु गरेर आफैं सिक्दै-त्यसलाई परिमार्जन गर्दै गएपनि हुन्छ।

७) डोमेन नेम
आफ्नै डोमेन नेममा ब्लग चलाऊँदा निश्चय पनि आनन्द आऊँछ। सबैभन्दा सजिलो बाटो भनेको Yahoo! Small Business वा Google बाट डोमेन नेम किनेर Blogger को Custom Domain Publishing सुविधा प्रयोग  गर्नु हो (Wordpress मा पनि यस्तै सुविधा छ होला पक्का पनि।)
-------------------------------------------------------

"हजारौं माईलको यात्रा एक पाईलोबाट शुरु हुन्छ।" भनेजस्तै शुरुवात आफैं महत्वपूर्ण कुरा हो, र निरन्तरता दिएका खण्डमा सिक्दै र सप्रिईँदै जानेमा कुनै शंका छैन।

आफ्नो ब्लग अनुभवका बारेमा अरु टाँसोहरुमा पनि केहि कुरा गरेको छु;
संगठन कि ई-मेल समूह
'कतै नजाने बाटो'को मेरो यात्रा
नेपाली ब्लगको वर्तमान र भविष्य
दोश्रो खोला तरेपछि
केहि कुरा, ब्लगकै
Some points from my-----
जन्मदिन

यस विषयमा दिलिपजीले "के तपाईँ पनि ब्लग चलाउन चाहनुहुन्छ?" भन्ने शिर्षकमा एउटा बिस्तृत टाँसो लेख्नुभएको छ र अरु सहयात्री ब्लगर साथीहरुले पनि धेरै कुरा लेख्नुभएको छ बेला-बेलामा। यहाँ प्राप्त हुने प्रतिकृयाहरुमा पनि अरु नयाँ जानकारी आउनेनै छ।
----------------------------------------------
सन्दीप भाइको ब्लग वर्षात बीचको सूर्योदय को सफलताको शुभकामना!

र अन्त्यमा, नेपाली ब्लग जगतमा नयाँ पुस्ताको उपस्थिति अझ सशक्त हुँदै जानेछ भन्ने आशा र शुभकामनाका साथ यो टाँसोको बिट मार्न चाहन्छु

तपाईँको सप्ताहान्त सुखद् रहोस्।

November 01, 2009

अगुल्टाहरु बस्ती पसेका छन्

आँखामा कालो पट्टी बाँधेका हुर्हुराऊँदा अगुल्टाहरु बस्ती पसेका छन्।
-------------------------------------------------------------------------
उनीहरु अब, सेता हात्तीलाई तर्साउने नाममा नाङ्ग्लाहरु प्वाल पार्नेछन्। राशका राश प्वाल परेका नाङ्ग्लाहरु थुप्रिनेछन् अब चोक-चोकमा। तर प्वाल परेका नाङ्ग्लाहरुको राश थुप्रिँदैमा सेता हात्तीहरुलाई केहि फरक पर्नेछैन, सेता हात्तीहरु उसै गरी ऊँघ्दै उग्राईरहनेछन्।
-------------------------------------------------------------------------
छिमेकीलाई तर्साउने नाममा उनीहरु अब खेलमा मग्न निर्दोष बच्चाहरुलाई सोत्तर बनाएर चुट्नेछन्। छिमेकीहरु कौशीमा बसेर राम-रमिता हेर्नेछन्। भाग्न सक्ने बच्चाहरु अब बस्ती छोडेर भाग्नेछन्, भाग्न नसक्नेहरु आतंकको सेपमा जिन्निएर हुर्किँदै-नहुर्की बूढा हुनेछन् र मर्नेछन्।

यसरी अब बस्तीमा स्वस्थ बच्चाहरुको खडेरी पर्नेछ।

यसरी अब बस्तीमा स्वस्थ मान्छेहरुको खडेरी पर्नेछ।
-----------------------------------------------------------------------
आँखामा कालो पट्टी बाँधेका हुर्हुराऊँदा अगुल्टाहरु बस्ती पसेका छन्। उनीहरुले बस्तीका सारा बाटाहरुमा, गोरेटो-डोरेटोमा ताल्चा लगाएको डकार छादेका छन्।

तर रातभरि बिरामी आमा कुरेर बसेकी सानीलाई त्यसको परवाह हुनेछैन। ऊ आफ्नी आमालाई खुवाउन बिहानको ताजा पानी भर्न गाग्री बोकेर पँधेरातिर जानेछे।

आफूले ठोकेको ताल्चा तोडेको निहुँमा अब उनीहरु सानीको टाउकोमा ढुंगा बजारेर सानीको टाउकोको अचार बनाउनेछन् र एकछिनपछि बस्तीतिर फर्केर भन्नेछन्; “सानीको टाउकोलाई हामीले अचार बनाएको होईन, घूसपैठ गरेको ढुंगाले हो। ढुंगा हाम्रो पार्टीको मान्छे होईन।"

बाटाघाटा, गोरेटो-डोरेटोमा ताल्चा लागेपनि सेता हात्तीहरुलाई फरक पर्नेछैन किनभने उनीहरुका आ-आफ्ना नीजि सुरुङ्ग छन्। तर हर्केसंग नीजि सुरुङ्ग छैन, ऊ आफ्नो र आफ्नाको भोक मार्ने जोहो गर्न, काम खोज्न निस्कनेछ।

आफूले ठोकेको ताल्चा तोडेको निहुँमा अब उनीहरु हर्केका हात-खुट्टामा खुँडा हान्नेछन् र उसलाई अधमरो बनाउने छन्। एकछिनपछि हर्केको रगतले रंगिएको खुँडा बस्तीलाई देखाऊँदै भन्नेछन्; “हर्केलाई हामीले काटेको होईन, खुँडाले काटेको हो। हामीले हाम्रो पार्टीबाट खुँडालाई निष्काशन गरिसकेका छौं।“

सन्तु खोलापरीको बस्तीमा मजदूरी गरेर घर फर्किरहेछ। आफ्नो बस्ती जाने बाटोमा ताल्चा लागेको देखेर छक्क पर्छ ऊ। तर त्यो उसकै बस्ती हो, यसैले ऊ आँट गरेर ताल्चा फोरेर अगाडि बढ्नेछ।

आँखामा कालो पट्टी बाँधेका अगुल्टाहरुले सन्तुलाई “अगाडि नबढ्! जताबाट आएको होस्, उतै जा!” भनेर हकार्नेछन्। सन्तु बिलखबन्दमा पर्नेछ, ऊ जताबाट आएको हो, त्यतै फर्किन सक्दैन किनभने त्यो उसको बस्ती होईन। ऊ “जे त पर्ला!” भनेर आफ्नै बस्तीतिर पाईला बढाउनेछ। आँखामा कालो पट्टी लगाएका अगुल्टाहरु सन्तुसंग रिसाउनेछन्, “हामीलाई अटेर गर्ने यो मु--- को हो?” भन्दै सन्तुलाई गोलीले उडाउनेछन्। यसरी उनीहरु सन्तुले बोकेर ल्याएको उसको परिवारको सपनाको पोकोको हत्या गर्नेछन्।

आँखामा कालो पट्टी बाँधेका अगुल्टाहरुले अनि बस्तीतिर फर्केर भन्नेछन्; “सन्तुलाई हामीले मारेको होईन। हाम्रो पार्टीको नीति त्यस्तो होईन। सन्तुलाई हाम्रो बन्दूकमा घूसपैठ गरेको गोलीले मारेको हो, गोली हाम्रो कार्यकर्ता होईन।“
------------------------------------------------------------------------------
आँखामा कालो पट्टी बाँधेका हुर्हुराऊँदा अगुल्टाहरु बस्ती पसेका छन्। उनीहरुले अब बस्तीलाई मर्ने आदेश दिनेछन्।

बस्तीले आफ्नो आदेश नमानेको झोंकमा उनीहरु अब पूरै बस्तीमा आगलागी गर्नेछन् र यन्त्रवत एकचोटि भन्दिनेछन्; “आगो हाम्रो नीति होईन, आगलागी हाम्रो नीति होईन, यो सब आगोले गरेको हो। आगो हाम्रो पार्टीको होईन।“

यसरी आँखामा कालो पट्टी बाँधेका हुर्हुराऊँदा अगुल्टाहरुले “आगलागी हाम्रो नीति होईन—“ भन्नेछन्।

र एकछिनपछि; बस्तीको लाशमाथि उभिएर, बस्तीको खरानीको राशमाथि उभिएर “क्रान्ति सम्पन्न भएको” भोज खानेछन्।

भोजको पृष्ठभूमिमा बज्न मूर्दा शान्तिको सन्नाटा बाहेक केहि पनि बाँकी हुनेछैन।
----------------------------------------------------------------------------------
मान्छेहरु हो, सावधान! आँखामा कालो पट्टी लगाएका हुर्हुराऊँदा अगुल्टाहरु बस्ती पसेका छन्।

 
Image Source: Click Here

October 27, 2009

हिमाल

रात नसकिँदै झुल्किन्छ हिमाल
कुन खुशिले टल्किन्छ हिमाल!


घाममै छल्छ बादलका आँखा,
आकाशसंग पल्किन्छ हिमाल!


चित्त बुझेन आकाशै पाएर?
किन अविराम् अल्किन्छ हिमाल


तन्केको छ हेर्दै कस्को बाटो?
गोधूली छाया ढल्किन्छ हिमाल


दुइटै यी आँखामा नेपाल छ
हरपल छचल्किन्छ हिमाल।

('अल्किनु' अग्लिनुको अर्थमा प्रयोग गरिएको हो।) 
- नोभेम्बेर २३, २००५


Image Source: Click Here

October 22, 2009

भुँडीले गति छोड्यो!!!

अहिले त्यस्तो चिन्तन अलिक कम भईसकेको हुनुपर्छ तर १५-२० वर्ष अगाडिसम्म भने नेपालमा 'ठूलो भुँडी' सम्पन्नताको आम प्रतीक जस्तै थियो। कुनै मान्छेको भुँडी जति ठूलो भयो, ऊ त्यत्तिकै 'खान्दानी' र 'खाएलाएको' मानिन्थ्यो। ठूलो भुँडीले ठूलाबडाको ब्यक्तित्वमा निखार ल्याएको मानिन्थ्यो। धेरै लाल-बुझक्कडहरु दौरा-सुरुवाल-कोट ठूलो भुँडी भएकालाई मात्रै सुहाउने गफ पनि दिन्थे। यो गफ मैले आफ्नै उमेरका साथीहरुबाट अचेल पनि सुनेको छु यदाकदा।

अरु कुनै विशेष 'रोग' नभएको अवश्थाको ठूलो भुँडी आफैं एउटा रोग हो, अस्वस्थ जीवनशैलीको प्रतिफल हो, धेरै रोगहरुको मुहान हो।  यो रोगका जिम्मेवार दुई भाइमा, एउटा खानपीनको गलत तरिका हो। शरीरभन्दा जिब्रोको कुरा धेरै सुन्नु मानवीय स्वभावनै हो, जो जति हुने-खाने भयो, उति जिब्रोतिर लहसिँदै जान्छ। हाम्रो समाज यस्तै छ, कोहि राम्ररी खान नपाएर रोगी छन्, कोहि धेरै र मनपरी खाएर रोगी छन्।

अर्को भाइचाहिँ, शारीरिक श्रमविनाको दिनचर्या। हाम्रो समाजमा श्रम र त्यसमा पनि शारीरिक श्रमलाई एकदमै तल्लो कोटिको मानिन्छ। अलिकति मात्रै भौतिक सम्पन्नता आउनसाथ मान्छेहरु शारीरिक श्रम गर्न चाहँदैनन्। शारीरिक श्रम गर्नु भनेर कारखानमा मजदूरी गर्नु वा खेतीपातीमा काम गर्नुमात्रैलाई भनेको होईन, सबै मान्छेले त्यस्तो काम गर्नु सम्भव र आवश्यक पनि छैन। शरीरका लागि आवश्यक पर्ने न्यूनतम 'शारीरिक' गतिबिधि थोरै खेलकूदले पनि पूरा गर्नसक्छ। खासमा नियमित खेलकूद स्वस्थ र सभ्य समाजको जीवनशैलीको, संस्कृतिको एउटा महत्वपूर्ण भाग हो। 

हाम्रो समाजको एउटा ठूलो समस्या पनि यहीँनेर छ। हाम्रो जीवनशैली र संस्कृतिमा खेलकूदलाई कुनै महत्व दिईएको छैन।

भुँडीबाट कुरा शुरु गरेर कता-कता लग्यो यसले भन्नुहोला। तर कुरो भुँडीकै हुनेवाला छ। भुँडीको कुरो- यो भुँडी पुराण मेरा मनमा पाक्नाको कारण पनि बताईदिईहालौं-आफ्नै भुँडीले गति छोड्नाले हो।

कुरो के भने केहि महिना यता भुँडी महाविष्फोट (Big Bang) पछिको ब्रम्हाण्डजस्तो अचम्मसंग बढ्न थालेको छ। हुनत पहिला पनि आफनो भुँडी सटक्क ताछिएको त कहाँ हो र तैपनि काम चलेको थियो। नेपालमा हुँदा त बिल्कूलै समस्या थिएन, अलि-अलि 'कमाएको', 'खाए-लाएको' र 'ईज्जतदार' देखाऊँथ्यो त्यसले:) तर  मोटा मान्छे देख्न सुमो कुश्तीबाजहरुको अखाडानै पुग्नुपर्ने जापान जस्तो 'फिटनेस फ्रीक' ठाऊँमा भने त्यै पनि ठूलो देखिने! कहिलेकाहिँ 'आवश्यक' पर्दा बलैले भित्रसम्म खिँचेर ताछिएकोजस्तो बनाउने कोशिश गरिन्थ्यो (गफै त हो!) तर जतिखेर पनि त्यसो गरिरहन सक्ने कुरो भएन।

यो 'महाविष्फोट'ले एकजना पुराना सहकर्मी साथीको याद दिलायो। उनको भुँडी निकै ठूलो थियो, कसैले उनको भुँडीको कुरो उप्कायो कि उनी "मेरो भुँडी के भुँडी? राधाकृष्ण मैनालीको भुँडी पो भुँडी!" भन्थे। तिनको भनाई अनुसार राधाकृष्ण मैनालीलाई आफ्नै खुट्टा हेर्न ऐना चाहिन थाल्या पनि ३०-३५ वर्ष भईसक्यो रे! राधाकृष्ण मैनालीले नुहाऊँदा टाउको अथवा जीऊमा खन्याएको पानी खुट्टातिर नगई सोझै भुईँमा खस्छ रे! (यो कुराका अरु फरक पात्र र केहि 'नन-भेज' संस्करण पनि नभएका होईनन्।) मैनालीजीलाई देखेका जो कोहिले पनि पत्याउने खालकै कुरो हो यो।

चाँडै 'राधाकृष्ण मैनाली क्लब'मा पुगिने पिरलोले पोल्न थाल्यो मलाई। मैनालीजीको त उचाई पनि धेरै छ, हातखुट्टा पनि उस्तै 'खाईलाग्दा' छन्। ठूलो भुँडि भयो भने मेरा मसिना हातखुट्टा त मुछेको पिठोको डल्लोमा सिन्का गाडेजस्ता देखिने भए! अजबको जन्तु देखिने भएँ म त!

त्यो क्लब जानु पर्ने स्थिति आउन नदिने निधो गरें। पहिला खानपीनको कुरोबाट हेर्न थालें। त्यस्तो गरिष्ठ 'खान' गर्ने मान्छे म होईन। 'पीन' पनि 'हप्तामा १-२ क्यान'मा सीमित छ; त्यो 'सोसियल ड्रिन्किङ' भन्छन् नि, हो त्यहि हो क्या:) त्यसैले 'खानपीन'मा जोड-घटाऊ गर्नुपर्ने कुरा खासै देखिएन। कुरो आयो उहि शारीरिक श्रमकै। यस्सो सम्झिल्याऊँदा, जीऊमा ताल्चा लगाएर बस्या कम्तिमा पनि एक दशक काटिसकेछ। मेरो भुँडीको महाविष्फोटको कारण यहि हुनुपर्छ। साँझ-बिहान अलिकति दौडधूप, खेलकूदनै एउटै उपाय देखियो।

साँझ समय निकाल्न सक्ने भन्या पनि त्यस्तै हो, त्यसैले बिहान अलिक चाँडै उठेर कुद्ने निर्णय भयो। निर्णय त भयो तर कार्यान्वयन भएन, नेपाली पारा क्या:) 'अल्छीको बात जैसीले जान्दैन' भन्याजस्तै' "नजिक त्यस्तो ठूलो चउर, पार्क पनि छैन, के कुद्नु खै?" भन्ने बहानाको बिर्को लगाईयो निर्णयमा र सकेसम्म ढिला उठ्ने 'शुभ' कामलाई निरन्तरता दिईयो। बहाना चाहिएको थियो, भेट्टाईयो, नत्र मध्य शहरमै पनि सडकपेटीमा स्वास्थ्य-सचेत मान्छेहरु कुदिरहेका नदेखिने होईनन्!

एक महिना पहिला अहिलेको गुँडमा सरेपछि मेरो त्यो बहानाको बिर्को जबर्जस्ती खुल्यो।

नजिकै TENPAKU-GAWA (थेनपाकु खोला) छ। त्यो खोलाको दुबैतिर बाढी नियन्त्रण गर्न बनाईएको तटबन्धमा कतै दुई-कतै तीन तहमा फराकिला समतल संरचना छन्। नदीको शहरभित्र  पर्ने लम्बाई पूरैमा निर्माण गरिएको छ यस्ता संरचना (सबैभन्दा माथिल्लो तह गाडीनै हिँड्न मिल्ने गरी पीच गरिएको छ, तर गाडी हिँडेको देखिँदैन।)। त्यहाँ जतिखेर पनि मान्छेहरु कुदिरहेका, हिँडिरहेका र जीऊ मर्काईरहेका देखिन्छन्। साँझ-बिहान त भिडै हुन्छ त्यहाँ। बिहान खोलाको किनारमा ध्यान गरेर बसिरहेकाहरु पनि देखिन्छन्।

अब पनि भुत्ते बहानालाई बोकेर बसिरहन मन लागेन र सबेरै खोलाको किनारमा पुग्न थालें।

तर जीऊका ताल्चाले चुँडिन मानेका भए पो!

दुई-चार दिन अलि-अलि हिँड्ने, अलि-अलि कुद्ने गरेपछि एक दिन झोंक चलेर आधा घण्टा कुद्देको, झण्डै थला परेको! बाफ रे बाफ!

वास्तवमा वर्षौं 'नखाई' बसेर यस्तरी एकैचोटि 'धेरै खाएर' आफैंलाई 'छेरौटी लगाऊनु' ठीक थिएन। त्यसैले हल्का हिँड्ने र बिस्तारै समय र गति बढाऊँदै लैजाने क्रममा छु।

'महाविष्फोट'लाई नियन्त्रण गरेर गतिछाडा भुँडीलाई तह लगाउन सकेपनि-नसकेपनि यो कुरा भने पछि पनि गर्दै गरौंला। 

बरु हजुरको भुँडी कत्तिको गतिछाडा छ कुन्नि:)


Image Source: Click Here

October 17, 2009

महाकवि देवकोटामा हार्दिक श्रद्धाञ्जली!!!


आज नेपालमाताका एक महान सुपुत्र लक्ष्मी प्रसाद देवकोटाको सैयौं जन्मतिथि हो। नेपाली साहित्यको लागि उहाँको योगदानको जति चर्चा गरेपनि कमै हुन्छ। नेपालमा उहाँको जन्म शतवार्षिकीका उपलक्षमा धेरै कार्यक्रमहरु भईरहेको हुनुपर्छ।

नागोयामा केहि उत्साही भाइबहिनीहरुले भोलि एउटा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गर्दैछन्।

महाकवि देवकोटामा हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछु!!

यसै प्रसंगमा यूट्युबको यो भिडियो यहाँ राख्न चाहन्छु, आफनो जीवनको अन्तिम घडीमा रहनुभएका महाकविको स्वर सुन्न सकिन्छ यसमा। बिबिसी नेपाली सेवा र भिडियो तयार पार्नुहुने महानुभावलाई धेरै-धेरै धन्यबाद!



हस् त, तपाईँ र परिवारमा दिपावली, नयाँ वर्ष (नेपाल सम्बत ) ११३० र छठको हार्दिक मंगलमय शुभकामना सहित बिदा हुन चाहन्छु। तपाईँका दिनहरु शुभ रहुन्!

October 13, 2009

बोले गजल, खोके हलचल!

चार वर्ष पहिला लक्ष्मी-जयन्तीको उपलक्षमा आयजित एउटा साहित्यिक कार्यक्रममा एकजना साथीले प्रस्तुत गर्नुभएको (ब्यंग्य) गजल पढेको थिएँ। मलाई रचनाकार साथीको नाम याद छैन, न त पूरै गजल र ठ्याक्कै शब्दहरु याद छ; तर सार भने यस्तो थियो- हामी साना-कमजोर मान्छेले जे बोलेपनि-जति बोलेपनि जे गरेपनि-जति गरेपनि के अर्थ हुन्छ र? कस्ले पूच्छ, कसले भाऊ दिन्छ र? ‘हजुर’ जस्ता ‘ठूलाबडा’ पो महान त! हजूरले त बोले पनि गजल बन्छ, खोके पनि दुनियाँमा हलचल हुन्छ।

अमेरिकी राष्ट्रपति ओबामालाई यस वर्षको शान्तिको लागि नोबेल पुरस्कार दिईएको समाचार सुनेपछि सबैभन्दा पहिला मेरो मनमा आएका शब्दहरु भने ठ्याक्कै यिनै हुन्; “बोले गजल, खोके हलचल!”। गजल रचना गर्ने महानुभावलाई पनि सादर र सधन्यबाद सम्झिएँ, उहाँले नेपाललाई मात्रै सुहाउने होईन पूरा विश्वलाईनै सुहाउने कृति सृजना गर्नुभएको रहेछ।

अमेरिकी राष्ट्रपति एउटा ब्यक्तिमात्रै नभएर एउटा संस्था-एउटा अत्यन्त जटिल कर्मचारीतन्त्र पनि हो। प्रागमा ओबामाले बोलेका सबै कुरा पूरा हुन्छ भन्ने ग्यारेण्टी ओबामाले पनि गर्न सक्दैनन्। ब्यक्तिगत रुपमा ओबामा असल र संवेदनशील हुन सक्छन्, अहिलेसम्म त्यस्तै देखिएका पनि छन्। उनको ब्यक्तिगत जीवन-कथा पनि जो कोहिलाई प्रभावित पार्ने खालको निश्चय पनि छ। म पनि उनलाई एकजना प्रेरणादायी ब्यक्तितवको रुपमा लिन्छु। तर अमेरिकी राष्ट्रपतिको रुपमा गत नौ महिनामा उनले कुनै उल्लेखनीय उपलब्धि दिन सकेका छैनन्। झन् विश्वशान्तिको लागि त एक हिसाबले उनी र उनको प्रशाशनले माखो पनि मारेको छैन। भित्र-भित्र केहि भईरहेका होलान् र तिनले भोलि राम्रै परिणाम ‘देलान्’, तर ‘देलान्’ र ‘दिए’ वा ‘दिईसके’ बिल्कूलै फरक कुरा हुन्। उनको पदावधिको तीन चौथाई भन्दा बढी अवधि बाँकीनै छ, त्यसैले उनी एउटा शान्तिप्रिय-विश्वशान्तिका लागि कटिबद्ध राष्ट्रपति हुने सम्भावना जति छ एउटा कट्टर युद्ध-पिपासु राष्ट्रपति बन्ने सम्भावना पनि उत्तिकै छ। कसै-कसैलाई ओबामा युद्ध-पिपासु हुने कुरा असम्भव लाग्न सक्छ तर राजनीतिमा र झन् विश्व-राजनीतिमा केहि पनि असम्भव हुँदैन।

मूल कुरो त के हो भने हाम्रो समयले, इतिहासले ओबामाको परीक्षण गरिररहेको छ, परिणाम सुनाईसकेको छैन। नोबेल पुरस्कारका लागि 'पजनी' गर्नेहरुले भने समय र इतिहासभन्दा अगाडि बढेर फैसला सुनाईदिए! '

हामी विश्व शान्तिका लागि कटिबद्ध छौं। हामी सम्पूर्ण आणविक हतियार नष्ट गर्न चाहन्छौं, संसारलाई आणविक हतियार मुक्त बनाउन चाहन्छौं।‘ भनेर खोकेकै भरमा नोबेल शान्ति पुरस्कार दिने हो भने हरेक अमेरिकी राष्ट्रपतिलाई, त्यो पनि वर्षैपिच्छे नोबेल पुरस्कार दिनुपर्ने हुन्छ किनभने सबै अमेरिकी राष्ट्रपति त्यस्तै कुरा गर्छन्। भियतनाम ध्वस्त बनाउने जोन्सन र निक्सन वा हिजोसम्मका बुश सबैले भन्ने त्यहि हो। आणविक हतियार सबैभन्दा धेरै उनीहरुसंगै छ, त्यसैले ‘हामी आणविक हतियार नष्ट गर्छौं! गर्छौं-गर्छौं!’ भनेर खोक्न उनीहरु मात्रै सक्छन्। हुँदै-नहुनेले त खोक्ने कुरै भएन।

यो संसारको अहिलेको अशान्तिको एउटा मूल कारण अमेरिका आफैं हो, उसको महाशक्ति-दम्भ हो। त्यसैले संसारमा शान्ति ल्याउनका लागि उसले स्वाभाविक रुपले धेरै गर्नैपर्छ, दम्भ त्याग्नैपर्छ। ओबामाले अमेरिकालाई त्यो दिशामा लैजाउन्, संसारको आशा भने त्यहि हो।

शान्ति र साहित्यको लागि दिईने नोबेल पुरस्कार धेरैजसो विवादमा परेका छन्। शुद्ध विज्ञानका विधा वा अर्थशास्त्रमा पुरस्कार दिनका लागि योग्य ब्यक्ति छान्न शान्ति वा साहित्यका लागि छान्नुभन्दा सजिलो हुन्छ। विज्ञान वा अर्थशास्त्रमा कसैको अध्ययन-अनुसन्धानले पारेको दूरगामी असर सजिलै अनुभूत गर्न सकिन्छ। यदाकदा असन्तुष्टिका स्वर सुनिएपनि चिकित्साशास्त्र, भौतिकशास्त्र, रसायनशास्त्र र अर्थशास्त्रमा योगदान पु-याएबापत दिईएका नोबेल पुरस्कार गम्भिर विवादमा त्यति परेका छैनन्। शान्ति र साहित्यको हकमा भने नोबेल पुरस्कार धेरैजसो नोबेल पुरस्कार कमिटिका मान्छेहरुले आफ्नो मान्यतालाई प्रक्षेपण गर्ने-पुरस्कारको आवरणमा एक खाले राजनीतिक घोषणा गर्ने माध्यम बनेको छ।

विगतको साम्यवादी र पूँजीवादी प्रतिस्पर्धाकालमा प्रदान गरिएका शान्ति र साहित्यका नोबेल पुरस्कार विवादित भएका कैयौं उदाहरण छन्। साम्यवादी शाशन गोल्खाडी भएपछि नोबेल शान्ति पुरस्कार मानव-अधिकार र वातावरणको क्षेत्रमा काम गर्नेलाई पनि प्रदान गर्न थालिएको थियो, यो राम्रो कदम थियो। राजनीतिज्ञहरुको जमातमा योग्य कोहि नभए संसारभरि मानव अधिकार र वातावरणको क्षेत्रमा विना कुनै स्वार्थ काम गरिरहेका हजारौं मान्छेहरुबाट छान्न सकिन्थ्यो होला यस पटक पनि।

यूरोपीयनहरु अमेरिकाको डेमोक्रेट पार्टीका नेताहरुलाई विशेष मन पराऊँछन्। उनीहरुको त्यहि विशेष 'मन पराई' कै विस्तार हो ओबामालाई प्रदान गरिएको यो नोबेल शान्ति पुरस्कार पनि। अर्कोतिर, पहिलो 'अश्वेत' अमेरिकी राष्ट्रपतिलाई नोबेल पुरस्कार दिएको अर्को 'राजनीतिक घोषणा' पनि मिसिनेनै भयो यस पटक।

शक्तिमा हुनेले खोकेको भरमा पुरस्कार पाउने र अरुले जति योगदान दिएपनि नोबेल पुरस्कार दिनेहरुको आँखा नलाग्ने भएपछि यो शान्ति पुरस्कार खारेज गरे पनि हुन्छ अब।
-----------------------------------------------------------
टोकियोका साथीहरुसंग सम्पर्क गरेर त्यो गजल पूरै हात पारेर फेरि पढ्ने र रचनाकारज्यूलाई धन्यबाद दिने सूर छ अब:)

October 07, 2009

पाँच मुक्तकहरु

समय बाँझै छ!

बुख्याँचाले लडाईँ ओगटेका छन्
साला मूसाहरुले दाईँ ओगटेका छन्
बैंशालु समय अझै बाँझै छ
बूढा गोरुले गाई ओगटेका छन्!
                                                      (मे ८, २००७)

नेता 

बिहान रिबन काट्दै मसंग उल्टो कुरा छाँटे
दिऊँसो तिमीसंग कुराको अर्कै चुल्ठो बाटे
यसरी दिनभरि क-कस्को दिमाग चाटे कुन्नि
साँझ के परेथ्यो, आफैंलाई पनि ढाँटे!
                                                        (मे १८, २००७)

नेताले भोज खाए 

लोकले देख्यो, नेताले मजाले 'भोज' डकारे
बाहिर पो तेत्ति मात्रै, भित्र कुन्नि के के सकारे!
नयाँ 'क्रान्तिकारी' भाषणको 'अर्डर दिएर सुते नेताजी
बिहान उठ्नासाथ एक राउण्ड चर्को 'लालसलाम' खकारे!
                                                          (मे १८, २००७)

माग्नेहरु

'नहुने'हरु त नभएर मागिरहेछन्
तर, हुनेहरु चाहिँ के मागिरहेछन्?!
'माग्ने'हरुको हूल ठूलो, 'दिने' कल्ले?
'दिन' भनेर बसेकाहरु, आफैं मागिरहेछन्!
                                                           (मे २५, २००७)

कुकुर

दिऊँसै छिमेकीको पिँढी ढुक्दैथ्यो
अँध्यारोमा झन् के-के का लागि झुक्दैथ्यो
कुकुर चानचुने होईन जस्तो छ-
देशै खाईदिन्छु भनेर भुक्दैथ्यो!
                                                      (फेब्रुअरी १३, २००९)

October 01, 2009

नयाँ गुँडबाट

(Image Source:Click Here)

यसपालिको दशैं गुँड सर्ने र नयाँ गुँडमा ब्यवष्थित हुने मेसोमै सकियो।

नयाँ गुँड खोज्ने क्रममा पहिलो प्राथमिकता छोरीको किण्डरगार्टेनलाई दिनुपर्ने भयो, त्यस पछि भाडा, अनि आमा-बाउको कलेज/अड्डा जाने-आउने सजिलो। हामी छोरीलाई नयाँ किण्डरगार्टेन लगेर भएपनि बसिरहेभन्दा केहि पर जाने धूनमा थियौं शुरुमा। केहि हितैषीहरुले भने त्यसो नगर्न सल्लाह दिए। उनीहरुको सल्लाह अनुसार, नयाँ ठाऊँ-नयाँ किण्डरगार्टेनमा सर्दा आर्यालाई घूलमिल हुन लामो समय लाग्नेछ, साथी बनाउन पनि समय लाग्नेछ र गाह्रो हुनेछ किनभने सरेर गईने नयाँ किण्डरगार्टेनका बच्चाहरु सबैले आफ्ना मिल्ने साथीहरु बनाईसकेका हुन्छन्, यसको मानसिक प्रभाव राम्रो हुँदैन।

अलिकति ठण्डा दिमागले सोच्दा कुरा ठिक लाग्यो। जापानमा बच्चाहरुलाई एक वर्षका पनि नहुँदैबाट किण्डरगार्टेन राखिन्छ। प्राय: जसो किण्डरगार्टेनले ६ महिना देखिका बच्चाहरुको स्याहार गर्छन्, ४५ दिनबाटै स्याहार गरिदिने किण्डरगार्टेनहरु पनि धेरै छन्। यसैले बच्चाहरु ३-४ वर्षका हुँदासम्म तिनले आफ्नै संसार-मिल्ने साथीहरु, नमिल्ने साथीहरु-बनाईसकेका हुन्छन्, पछि आउने बच्चाहरुलाई त्यहाँ आफ्नो ठाऊँ बनाउन-साथीहरु बनाउन निश्चय पनि लामै समय लाग्छ। शुरुबाटै बसेका बच्चाहरु पछि आएका भन्दा शिक्षकहरुसंग पनि बढी आत्मीय र निडर हुन्छन्।

आर्या एक वर्षकी भएबाट किण्डरगार्टेन जान थालेकी हो। अढाई वर्षमा पाँचवटा किण्डरगार्टेन गईसकी ऊ। शुरुका तीन किण्डरगार्टेनमा खासै लामो समय बिताईन। डेढ वर्षकी भएबाट डेढ वर्षको अवधि बिताएको चौथो किण्डरगार्टेनसंग उसको असाध्यै धेरै लगाव रह्यो। त्यहाँका शिक्षकहरुसंग आत्मीय सम्बन्ध बनिसकेको थियो उसको। उसले आफ्ना मिल्ने साथीहरु रोजिसकेकी थिई र ऊ साँझ घर फर्केपछि हामीसंग उनीहरुको बारेमा खुब कुरा गर्थी।

६ महिना पहिला, दैलैको (५० मिटरको दूरीमा रहेको) किण्डरगार्टेनमा स्थान मिलेको हुँदा उसलाई सारेका थियौं हामीले, तर त्यहाँ ऊ रमाउन र साथी बनाउन धेरै लामो समय लाग्यो। ऊ हरेक दिन बिहान पूरानै किण्डरगार्टेन जान्छु भनेर झगडा गर्थी पछि सम्म, कुरा पनि पूरानै शिक्षकहरु र पुरानै साथीहरुको मात्रै गर्थी। अचेल बल्ल ऊ नयाँमा रमाउन थालेकी छे।

अहिलेको किण्डरगार्टेनमा ठाऊँ मिलेको सूचना आएको केहि दिनपछिनै 'भवन भत्काईने हुँदा ६ महिनाभित्र  कोठा छोड्ने' सूचना पनि आयो र सबै झञ्झटको शुरुवात भयो।

अहिलेको गुँड पहिलाजस्तो दैलैमा किण्डरगार्टेन भएको-कहिलेकाहिँ घरै बसेर काम गरिरहेको बेलामा  किण्डरगार्टेनको प्रांगणमा आर्या आफ्ना साथीहरुसंग खेलिरहेको देखिने गरी नजिक त छैन तर उसलाई लाने-ल्याउने र आफ्नो काम/पढाई धान्न सकिने दूरीमा भने छ।।
-----------------------------------------------------------------------------
अब सधैं भरि कुनै पनि गुँडको कुरा गर्दा मेरो मानसपटलमा हाम्रो अघिल्लो गुँडको एक छेऊमा खडा परेवाको त्यो गुँड पनि आउनेछ। त्यसका पनि केहि कुरा गर्न बाँकी छन्।

मैले "गुँड" भन्ने टाँसो लेखेको तीन-चार दिनसम्म परेवाको बच्चा उडेको थिएन। ऊ आफू जन्मेको-हुर्केको गुँडकै वरिपरि ठाऊँ सरेर बसिरहेको देख्न सकिन्थ्यो। एक दिन दिऊँसो ऊ हिँडेर बरण्डा चहारिरहेको थियो। त्यहि दिन वा भोलिपल्ट उसले आफ्नो पहिलो उडान लिएको हुनुपर्छ।

उडेर गईसकेपछि पनि केहि दिनसम्म ऊ बरण्डामा आएको देख्न सकिन्थ्यो। आफू अरु कुनै परेवालाई ऊ भनेर झुक्किएको होईन भन्ने कुरामा म पक्का छु। ऊ यसरी कहिलेकाहिँ फर्केर आऊँदा म ऊसमा आफ्नो बाल्यकालको खोजीमा-अचेल सपनामा मात्रै सही-गाऊँ, पाखा-पखेरा चहारिरहेको आफैंलाई पनि देख्थें।
-----------------------------------------------------------------------------
यो दशैं यसरी गुँड सर्ने मेसोमै बित्यो।

जिन्दगीका बाह्र दशैंहरु विदेशमै बितेछन्। पहिलो विदेश बसाईका पाँच दशैंहरु लगातार बाहिरै बितेपछि ७ वटा दशैं नेपालमै मनाईएको थियो।  दोश्रो विदेश बसाईका सबै दशैंहरु पनि यतै बिते।

अब आउने दशैं र त्यसपछिका सबै दशैं नेपाल नाम गरेको आफनै गुँडमा बिताउने चाहनामा मन तड्पिएको छ!

September 25, 2009

बडा दशैं-२०६६ को हार्दिक मंगलमय शुभकामना!!!


Image Sorce: Click here 

विजया-दशमी २०६६ को उपलक्षमा यो ब्लगमा पाल्नुहुने समस्त माहानुभावहरु र परिवारजनमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छु!!!


यहाँहरु सबैको जीवनमा सधैंभरी सुख, शान्ति, समृद्धि र सफलता छाईरहोस्!!!

 
Image source: Click Here

एउटा सानो कोसेलीको रुपमा, पोहरनै यो ब्लगमा टाँसिसकेको कविता "जब लुकी-लुकी चियाऊँछ रंगीन शरद" पाठ गर्दै बिदा हुन चाहन्छु यस पटक।

हस् त फेरि एक पटक तपाईँ र परिवारजनमा बडा दशैं-२०६६ को हार्दिक मंगलमय शुभकामना!!!







RANGEEN SHARAD - Basanta Gautam