January 31, 2009

लच्छिनको बिरालो




(Image Source)

यो कुरालाई कुनै दिन ब्लगमा ठाऊँ दिऊँला भन्ने विचार त थियो, तर आजैको योजना भने थिएन। लेख्नका लागि धेरै नयाँ विषयहरु फन्फन्ती घुमिरहेका छन् दिमागमा, भनेजति समयभने मरु! त्यसैले यसले आजै ठाऊँ पायो।

जापानका बिरालाहरु हाम्रो देशका बिरालाहरुभन्दा भाग्यमानी छन्:) एउटा सकारात्मक विश्वाशसंग बिरालो जोडिएको हुँदा बिरालोप्रति जापानीहरुले गर्ने ब्यबहार धेरै राम्रो छ। यो विश्वाशलाई अन्धविश्वाशनै भनिदिए पनि फरक पर्दैन, तर समाज जतिसुकै विकसित भएपनि कुनै न कुनै रुपमा यस्ता विश्वाशहरु जीवितै रहनेछन्। मानवजाति जतिसुकै विकसित र शक्तिशाली होओस्, उसको मनमा यो जगतको रहस्यप्रतिको कौतुहलता रहिरहनेछ र आफूभन्दा पनि शक्तिशाली अरु कोहि छ भन्ने उसलाई लागिरहनेछ। त्यो रहस्यसंग उसलाई सधैं एउटा त्रास पनि हुन्छ। मानवजातिको त्यहि सामुहिक त्रासको अस्थायी निकास हुन् यी विश्वाश-अन्धविश्वाशहरु।

दुई-तीन वर्ष पहिला कान्तिपुर दैनिकको 'कोपिला'मा छपाउन पठाएको थिएँ यसबारेको कथा। जहाँसम्म लाग्छ, छापिएन। वच्चाहरुका लागि लेखिएको त्यहि कथा जस्ताको तस्तै राख्दैछु यहाँ। कथाका एक-दुई भिन्नै संस्करण पनि छन्, मैले सबैभन्दा बढी चलेकोचाहिँ लेखेको हुँ। बिरालोको वनावटमा पनि केहि विविधता छन्। 'मानेकी नेको'को बारेमा धेरै कुरा जान्ने रहर पलायो भने गुगलमा 'Maneki Neko' खोज्नुहोला।


"मानेकी नेको"-जापानी विश्वासको कथा

जापान एशियाको पूर्वमा रहेको एउटा टापू देश हो। यसलाई "सूर्योदयको देश" पनि भनिन्छ। जापान अत्यन्त धनी र विकसित राष्ट्र हो। यहाँ पनि बिभिन्न लोककथा र पहिलेदेखि चलिआएका विश्वासहरु छन्। तीमध्ये एउटा आज भाइबहिनीहरुलाई सुनाउन चाहन्छु।

हाम्रो समाजमा बिरालोलाई त्यति माया गर्ने चलन छैन। बिरालोले बाटो काटेमा अलच्छिन हुन्छ भन्ने विश्वास पनि छ। तर जापानमा यसको ठिक उल्टो चलन छ। मानिसहरु बिरालोलाई असाध्यै माया गर्छन्। सबैजसो पसल र कार्यालयहरुमा एउटा हात (अगाडिको खुट्टा) उचालेर बोलाईरहेको जस्तो लाग्ने बिरालोको प्रतिमा राखिएको हुन्छ।यो बिरालोलाई जापानी भाषामा "मानेकी नेको" (अर्थात "बोलाईरहेको बिरालो") भनिन्छ। यसले राम्रो ब्यापार, नाफा र सफलता ल्याउँछ भन्ने विश्वास गरिन्छ।

यसबारेमा एउटा पुरानो कथा छ।

सत्रौं शताब्दीतिर जापानको राजधानी टोकियोको एक भागमा एउटा पुरानो बौद्ध मन्दिर थियो।त्यो मन्दिरको नाम "गो तोकु जी" थियो। एकजना गरीब बूढा पूजारी त्यो मन्दिरमा बस्दथे। उनले "तामा" नाम गरेको एउटा बिरालो पालेका थिए। आफू जति गरीब भएपनि पूजारीले बिरालोलाई असाध्यै माया गरेर पालेका थिए।

एकदिन एक महाजन शिकारबाट घर फर्कंदै थिए। आँधी चल्न र पानी पर्न थालेकोले उनी मन्दिरको छेवैमा रहेको ठूलो रुखमुनि ओत लाग्न गए। त्यतिखेरै उनले मन्दिरको बिरालोले एउटा हात उचालेर आफूलाई बोलाईरहेको देखे।अचम्म मान्दै उनी त्यो बिरालोलाई हेर्न भनेर मन्दिरतिर गए। उनी मन्दिरमा पुगेका मात्रै के थिए, रुखमा चट्याङ्ग प-यो र रुख खरानी भयो। यसरी महाजनको ज्यान जोगियो। 

महाजन आफूलाई बचाउने त्यो बिरालो र बिरालोलाई पाल्ने बूढा पुजारीप्रति अत्यन्त कृतज्ञ भए। उनले मन्दिरलाई धेरै धेरै दान दिए।

त्यो बिरालो मरेपछि उसलाई त्यहि मन्दिरमा गाडियो। बिरालोको सम्मानमा प्रतिमा बनाईयो र "मानेकी नेको" भन्ने नाम दिइयो। आजसम्म पनि जापानी जनताहरु "मानेकी नेको"ले सुख र सफलता ल्याउँछ भन्ने बिश्वास राख्दछन्।

<फेब्रुअरी ४, २००९ मा थप गरिएको>

पहिला अल्छी लागेर लेखिंन, अघि भर्खर प्रतिकृयाहरुको जवाफ दिने क्रममा लाग्यो यतिचाहिँ थप्दानै राम्रो होला। 'मानेकी नेको' को बनौट/रंगको कुरा हो।

देब्रे पञ्जा उठाएर बोलाईरहेको 'मानेकी नेको' ले ग्राहकहरु ल्याउने र ब्यापार बढाउने विश्वाश गरिन्छ। त्यसैले जापानका सबै पसलहरुमा यो देखिनु सामान्य हो। यो भन्दा अलि कम चल्तीमा छ, दाहिने पञ्जाले बोलाउने 'मानेकी नेको'। यसले चाहिं समृद्धि र राम्रो भाग्य ल्याउँछ रे! बिस्तारै यसको पनि लोकप्रियता बढ्दै छ।

रंगका हिसाबले सबैभन्दा चलेकोचाहिं calico (नेपालीमा के हुन्छ?) रंगको 'मानेकी नेको' हो। यो रंगको 'मानेकी नेको' सबैभन्दा भाग्यदायक मानिन्छ। दोश्रोमा सेतो रंगको 'मानेकी नेको' छ जुन पवित्रता र उज्यालो भविष्यको प्रतीक मानिन्छ। कालो रंगको 'मानेकी नेको' ले दुष्ट्याईँलाई नजिक आउन दिँदैन भन्ने मान्यता छ। त्यसैले लुच्चा-गुण्डाहरु आफ्नो छेउ नआईपुगुन् भनेर धेरै जापानी महिलाहरु कालो 'मानेकी नेको' साथमा राख्छन्। सुनौलो 'मानेकी नेको' ले समृद्धि ल्याउँछ भने गुलाबीले प्रेम र रोमान्स। हरियो 'मानेकी नेको' ले सुस्वास्थ्य र शैक्षिक सफलता दिलाउने विश्वाश छ; यसैले विद्यार्थीहरुमा यो लोकप्रिय छ।

January 27, 2009

हग्नेलाई भन्दा देख्नेलाई लाज!


(Image courtesy:Hamptons Real Estate Blog)

विदेशीका नजरमा हाम्रो मूल्य किन एकदम कम छ भन्ने कुरा बुझ्न अन्त कतै हेर्नुपर्दैन, हाम्रै नेताहरुलाई हेरेपुग्छ। सत्ता-प्राप्तिको तुच्छ खेलमा गोप्य कोठाहरुमा विदेशीहरुका अगाडि लम्पसार र 'त्वंशरणम्' गर्ने उनीहरुको बानी त हामीलाई थाहा भएकै हो। अब उनीहरुले यो चालालाई नयाँ उचाइमा पनि लगिसके!

आजको कान्तिपुरको यो समाचार पढ्नुस् र हाम्रा नेताहरुले 'हग्नेलाई भन्दा देख्नेलाई लाज' चरितार्थ पारेको हेर्नुस्। भारतको गणतन्त्र दिवसको अवसरमा भारतकै राजदूतावासमा आयोजित कार्यक्रममा भोज मार्न पुगेका हाम्रा नेताहरु त्यहिँ एकापसमा तल्लो स्तरको आरोप-प्रत्यारोपमा उत्रिएपछि कस्तो तमाशा बन्यो होला? जम्मा भएका अरु पाहुनाहरु, विशेष गरी विदेशी कुटनीतिज्ञहरुका माझ हाम्रो देश र हामी नेपालीहरुको बारेमा कस्तो प्रभाव प-यो होला?! भारतीय राजदूतले त 'पत्रकार सम्मेलननै गर्ने' ब्यंग्यमिश्रित सुझाव कसेछन्। उनको केहि दोष छैन, उनको ठाऊँमा जो भएपनि गर्नसक्ने भनेको त्यत्ति हो।

हाम्रा दलहरुबीचमा धेरै झगडाहरु छन्। ती बारेमा बहस गर्ने ठाऊँ अरु छन्। भारतीय राजदूतावासभित्र पसेपछि भारतभित्रै पसेजस्तो हो। यो त आफ्नो घरको झगडालाई छिमेकीको मझेरीसम्म तन्काएजस्तो भयो। चाहे एउटा परिवार होस्, चाहे कुनै समुदाय होस् वा चाहे देश होस्, आन्तरिक विवादलाई अर्काको घरसम्मै तन्काउँदै लानु भनेको बिखण्डनको बाटोमा जानु हो। सोचाइमा अत्यन्त अपरिपक्व र ब्यबहारमा कच्चा हाम्रा नेताहरु यस्तै बाटोमा हिँडिरहेका छन्। एक-एक गर्दै कमजोर हुँदै-खुस्किँदै गएका हाम्रो राष्ट्रियताको चुकुलहरुमा अर्को एउटा पनि थपिएको छ यो घटनाले। हाम्रा नेताहरु र दलहरुको अपरिपक्वता र एकापसी 'छि: छि: दुर् दुर्' ले खडा गरेको यस्तो खाडलको धमिलो पानीमा जो सुकैले पनि सहजै माछा मार्नु कुन ठूलो कुरो भयो र अब!

यो घटनाले हाम्रो छिमेकी भारतको सबैभन्दा ठूलो दिनकै पनि अपमान गरेको छ। भारतसंग हाम्रो जतिसुकै असन्तुष्टि भएपनि उसको गणतन्त्र दिवसको कार्यक्रममा यति असभ्य देखिनु बिल्कूल गलत कुरा हो। पत्रकारहरुलाई 'यो त्यसबारेमा कुरा गर्ने ठाऊँ र बेला होईन' भन्ने सहज जवाफ दिएको भए हाम्रा नेताको उचाइ त बढ्नेनै थियो, भारतको गणतन्त्र दिवसको पनि अपमान हुने थिएन।

पत्रिकाले दुबैलाई उत्तिकै दोषी जस्तो देखाउन खोजेको छ तर माधव नेपालकै बढी दोष देख्छु मचाहिं। पत्रकारहरुले पहिला उनीसंगै प्रश्न गरेका हुन् जस्तो छ, उनी संयमित भएर उत्तर दिएका भए बाबुरामले पनि त्यहि गर्न कर लाग्थ्यो। अरु बेला, भाषण गर्दा जति छुद्र र असंयमी देखिने भएपनि यो घटनामाचाहिं बाबुरामले सक्दो संयमता अपनाएकै ठान्छु म।

थुक्क हाम्रो नियति!

January 23, 2009

नेपाली भाषाबारे केहि कुरा


(Image courtesy:Trekking World)
अर्कोचोटि ब्लगमा लेख्छु भनेर पहिल्यै तय गरेका विषयले लेखिने मौका कमै पाऊँछन्। एउटा टाँसोपछिको केहि दिनको अवधिमा केहि न केहि नयाँ घटना घटिरहन्छन् र मन त्यतैतिर मोडिन्छ। कहिलेकाहीँ कुनै विशेष घटना नघटेपनि बीचैमा अरु कुरा लेख्ने धून चल्छ। आज (जनवरी २०) मा लेख्न थालेको यो विषयलाई पनि बीचैबाट अरु कुनैले उछिन्ने हो कि थाहा छैन।

यो टाँसोमा कुरा गर्न लागेको नेपाली भाषाको बारेमा हो। आफ्नो मातृभाषा भएकोले, यसमै तोतेबोली बोल्न, सुस्केरा काढ्न, सपना देख्न र हाँस्न-रुन सिकेकोले मलाई नेपाली भाषाको असाध्यै माया लाग्छ। मलाईमात्रै किन, धेरैलाई आफ्नो मातृभाषा प्यारो लाग्छ। यहाँ 'सबै' नराखेर 'धेरै' राख्नुको कारणचाहिँ हाम्रो समाजमा, देशमा; आफनो मातृभाषालाई माया नगर्ने मान्छेहरुको संख्यापनि बढ्दै जानु हो । दैनिक ब्यबहारमा टाकन-टुकन बोल्दैमा माया गरेको मानिन्न भाषालाई, यसलाई इज्जत दिन पनि जान्नुपर्छ। नेपाली भाषा-साहित्यलाई हेय ठान्ने मान्छेहरुको जमात बढ्दैछ। हाम्रो समाजको तलदेखि माथिसम्म आफनो मातृभाषालाई कस्ता-कस्ता ब्यबहार गर्ने मान्छे छन् भन्ने हामी सबैलाई थाहै छ, त्यसकारण त्यतातिर धेरै नजाऔं। एउटा छुट्टै लेख बनाउनुपर्छ त्यसका लागि। नेपालमै हुर्केका र नेपालमै पढेका फररर-- अंग्रेजी पड्काउन सक्ने धेरै मान्छेहरु एक अनुच्छेद नेपाली लेख्नुप-यो वा दुई मिनेट नेपालीमा मन्तब्य दिनुप-यो भने पसिना छुटाऊँछन्। जापान बस्दा मैले देखेको एउटा राम्रो कुरा के हो भने सानैबाट मान्छेलाई जापानीमा पोख्त बनाईँदो रहेछ। अब जापानीनै भएपछि त्यो कुन ठूलो कुरा भयो र भन्ने कुरा पनि आउन सक्छ तर आफ्नो भाषामा पोख्त हुनु ठूलै कुरा हो। सानै उमेरबाट बच्चाहरुलाई आफ्नो भाषामा धाराप्रवाह बोल्न र लेख्न सिकाईन्छ। हामीकहाँ त्यस्तो खाले शिक्षाको अझै शुरुवात भएको छैन। शिक्षाको पहिलो खुड्किलोको रुपमा सृजनशील रुपमा सोच्न र उत्तिकै सृजनशील रुपमा बोलाई र लेखाईमा त्यसलाई उतार्न सिकाईनुपर्छ। मेरो विचारमा आफ्नो मातृभाषामा दक्ष मान्छेलाई अर्को नयाँ भाषा सिक्न झन् सजिलो हुन्छ।

एकचोटि यस्तै प्रसंगमा 'जापानमा बसेका शिक्षित नेपालीहरुमध्ये, कुनै विदेशीलाई सामान्य नेपाली भाषा सिकाउन सक्षम कति होलान्?' भन्ने कुरा निक्लेको थियो। उत्तर सहज छ, धेरैजसोले सक्दैनन्। यसो भनिरहँदा घमण्ड गन्हाएको लाग्न सक्छ कसैलाई, तर यो मेरो घमण्ड हैन, बिल्कूल यथार्थ कुरा हो। मेरो नेपाली भाषाको ज्ञान पनि एकदम अधूरो छ भन्ने मलाई थाहा छ। हामी नेपाली भाषामा, सामान्य नेपाली सिकाउन सक्नेगरी पनि दिक्षित छैनौं। यति हुँदा-हुँदैपनि आफ्नो भाषाको बारेमा चासो राख्नु कुनै नराम्रो कुरा होईन भन्ने सोचेर यो चर्चा गर्न खोजिएको हो।

नेपाली भाषाले आधुनिक रुप ग्रहण गरेको धेरै भएको छैन। भानुभक्तभन्दा अलि पहिल्यैबाट गनेर ल्याउने हो भनेपनि लगभग दुई-सवा दुई शताब्दीमात्रै भयो यसमा गम्भिर साहित्य लेखिन थालेको (मेरो बुझाई गलत पनि हुनसक्छ)। सरकारी ब्यबहारको कुरा गर्ने हो भने राणाकालसम्म यसलाई उर्दू, फारसी, हिन्दी आदिको दाँजोमा हीन ठानिन्थ्यो। एउटा भाषाको जीबनमा यो खासै लामो समय होईन, झन राणकालपछिको छ दशक त नगण्यनै हो। तर यहि छोटो अवधिमा पनि नेपाली भाषाले जुन प्रगति गरेको छ, त्यसलाई निश्चयपनि कम आँक्न सकिँदैन। यतिमै सन्तोष मानेर बस्ने अवश्था पनि छैन, यो भाषाले आफूलाई विकास गर्ने ठाऊँ अझै प्रशस्त छ, यसमा अझै प्रशस्त कालजयी कृतिहरु लेखिन बाँकी छन्।

नेपाली भाषाको सुधार, परिमार्जन र मानकीकरणका लागि बेला-बेला कुरा उठीरहन्छन। दश-बाह्र वर्ष पहिला 'नेपाली भाषा सुधार सुझाव कार्यदल' थियो, सिंहदरवारभित्रै अड्डा जमाएर बसेको थियो त्यो। बिभिन्न पत्र-पत्रिकाहरुमार्फत जनताबाट पनि सुझाव मागेको थियो त्यसले। मैले पनि केहि सुझावहरु हुलाकमार्फत पठाएको थिएँ। त्यो कार्यदल कहिलेसम्म रह्यो, त्यसले कस्ता-कस्ता सुझावहरु सरकार वा अन्य सम्बन्धित निकायहरु र ब्यक्तिहरुलाई दियो आदि थाहा छैन मलाई। त्यो कार्यदलले आफ्नो सुझाव सञ्चार-माध्यमहरुबाट पनि सार्वजनिक ग-यो होला, पढ्न पाईएन।

त्यतिखेर आफ्नो सुझाव पठाउनुअघि तयार पारेको खेस्रा भएको कापी कुनै पुरानो झोलाको पिँधमा ओसिएर बसेको छ होला। बुँदाहरु पाँच-सात कति थिए कुन्नि, सारमा भने मानकीकरण (Standardization) मै जोड दिएको थिएँ। नेपाली भाषाको सर्वसम्मत ब्याकरण समेत अझै छैन जस्तो लाग्छ (यी केहि वर्षमा भएका गतिबिधिबाट बेखवर रहेको हुनपनि सक्छु म)। ब्याकरणका पुस्तकपिच्छे फरक-फरक ब्याख्या देखिन्छन्। नेपाली भाषा नेपाल, भारत, भुटान, बर्मा हुँदै अब त विश्वब्यापी भईसकेको छ। पश्चिमी मुलुकहरुमा पनि उल्लेख्य संख्यामा नेपालीहरु पुगिसकेका छन। सबैतिरका नेपालीहरु साहित्यिक रुपमा सकृय पनि छन्। यसैले, भद्रगोलको स्थिति आउनुभन्दा पहिलेनै मानकीकरण र सर्वसम्मत ब्याकरणको आवश्यकता छ, विशेष गरी लेख्य भाषाको लागि।

हाम्रो आफ्नै लेखाईभित्रका केहि कुरालाई आधार मानेर हेर्दा पनि के स्पष्ट हुन्छ भने अहिले नेपाली मनपरी लेखिन थालेको छ। ह्रस्व-दीर्घका कुरा धेरै मान्छेलाई थाहा नहुनु सामान्य मानिन थालेको छ। सबैलाई ह्रस्व गर्दिए हुन्छ भन्नेहरु पनि धेरै छन्। गाह्रो लाग्यो भन्दैमा भाषालाई ताछेर दुब्लो बनाउने नियत मात्रै हो यो। बोलीचालीमा उस्तै गरी प्रयोग हुन थाले पनि ह्रस्व-दीर्घले लेख्य भाषाको सौन्दर्य बढाऊँछन् जस्तो लाग्छ मलाई। त्यस्तै गरी 'व' र 'ब', 'श', 'स' र 'ष' आदिमा भेद राखिन छोडेको छ। लेखाईमा त यस्तो भेदको आवश्यक छ नै, बोलाईमा पनि यी ध्वनिहरुको वास्तविक प्रयोग गर्न फेरि सिकाउन थालिनु पर्छ। त्यस्तै, 'ऋ' जस्ता अक्षरहरुको प्रयोग एकदम कम हुन थालेको छ। धेरैले 'रि' वा ' री' प्रयोग गर्छन् 'ऋ' लेखिनुपर्ने ठाऊँमा। छोरीलाई नेपाली सिकाउन सजिलो हुन्छ भनेर घरबाट पठाइदिएको दुईटा बाह्रखरीका पुस्तकमध्ये एउटामा 'ऋ' छँदैछैन।

नेपाली भाषामा संस्कृतबाट आएका शब्दहरु प्रशस्त छन्। तिनको प्रयोगका बारेमा पनि एउटा नियमको आवश्यकता छ। विज्ञान-प्रविधिसंग सम्बन्धित शब्दभण्डारमा भने विदेशी शब्दहरुकै रजाईँ चल्ला अब लामो समय। संस्कृतको सहारामा मौलिक शब्द खोज्न नसकिने होइन, भलै ब्यापक प्रयोग नहोस्। प्रयोग नभएपनि शब्द-भण्डारलाई समृद्ध राखिरहे केहि हानी हुँदैन।

अर्कोतिर ब्यक्तिका (र ठाऊँहरुका) नाम रोमनमा लेख्ने कुरामा पनि त्यत्तिकै भद्रगोल छ। मेरो नाम म 'वसन्त' लेख्छु तर रोमनमा 'Basanta' लेख्छु। बोलाईँदा 'बसन्त' हुने पुगेकाले मलाई 'Basanta' लेख्न सिकाईयो होला। 'सीता', 'गीता' का लागि Seeta, Geeta नलेखेर Sita, Gita लेखिन्छ। बोलीचालीलाई पछ्याएको हिसाबमा सामान्य लाग्न सक्छन् यस्ता कुराहरु, तर भाषाको शुद्धताको चासोभन्दा बाहिरै बसेर हेर्दा पनि यस्ता कुराले अन्यौल जन्माउने दिन आऊँदैछन्।

(प्रसंगवश, यस्ता कुराहरुका बारेमा सल्लाह गर्न भनेर साझा डट कममा एउटा धागो पनि शुरु भएको थियो अलिक पहिला। अहिले त्यति चल्तीमा छैन।)

अब आईपुग्दैछु म यो टाँसो जन्माउने प्रसंगमा। जनवरी २० को 'दैनिकी' को 'तर्क वितर्क' मा एमाले नेता प्रदिप नेपालको एउटा भनाइ (अघिल्लो दिनको 'नयाँ पत्रिका'मा छापिएको लेखको अंश) देखें, घतलाग्दो पनि लाग्यो;

"यो सरकार ढलेर भन्दा रहेरै मुलुकको अस्तित्व खतरामा परेको देख्छु म पशुपतिनाथका पुजारीको सन्दर्भ अध्ययन गर्दा। नेपालीको विरोधलाई वाईसीएल र प्रहरीको मारपिटबाट दबाउने, गरेको निर्णय बदर हुँदैन भन्दै नेपाली सर्वोच्च अदालतको तिरस्कार गर्ने कामरेड प्रचण्ड र महिनामा एक दिन मात्रै नुहाउने उहाँका मन्त्रीको भाषणलाई भारतीय जनता पार्टीको एउटा फोनले पर्लक्कै उल्ट्याइदियो।"

(एमाले नेता प्रदीप नेपाल नयाँ प्रत्रिकामा सोमबार ६ माघको लेखमार्फत् ।)


लेख पूरै पढ्न खोज्दा त्यो दिन किन हो कुन्नि, 'नयाँ पत्रिका' को गृहपृष्ठ खुलेन (भोलिपल्ट पढें)। पत्रिकाको पृष्ठ नखुलेपछि देवनागरीमै लेखेर खोज्दा प्रदिप नेपालको बारेमा गुगलले के देखाऊँदो रहेछ भनेर हेर्ने लहड चल्यो।

हिन्दी नै हिन्दी पो दिन्छ त गुगलले! अलि-अलिमात्रै नेपाली साईट देखिए! एकछिन छक्क परें म, त्यस्तो त नहुनुपर्ने। समाचारमूलक नेपाली साइटहरु पनि अब त धेरैनै भईसके। यस्सो ध्यान दिएर हेरेको, मैले 'प्रदिप' को सट्टा 'प्रदीप' लेखेको रहेछु। 'प्रदिप नेपाल' राखेर हेर्दा सबैजसो नेपाली साईट भएको सूचि हात लाग्यो। यो हाम्रो भाषाको मानकीकरण गर्ने सवालमा ध्यान दिनुपर्ने अर्को कुरा हो। अब भाषालाई मानकीकरण गर्दा यो भाषाको अरु भाषासंगको समानता र गुगलजस्ता सर्च इञ्जिनहरुको बारेमा पनि गम्भिर ध्यान दिनुपर्ने आवश्यकता भईसकेको रहेछ।

नेपाली र हिन्दी दुबै मूल रुपमा संस्कृतबाट विकसित भएकाले यिनमा धेरै समानता छन्, लिपि एउटै छ र धेरै शब्दहरु उहि छन्। अब नेपाली भाषाको मानकीकरण गर्दा नेपालीहरुमाझको प्रयोगलाई मात्रै हेरेर मात्रै नहुने रहेछ, दुई भाषाबीचको मानकीकरण पनि अनिवार्य भईसकेको रहेछ। लेखाईमा सानातिना भिन्नता हुँदा गुगलपूर्वको जमानामा खासै फरक पर्दैनथ्यो होला, तर गुगलको जमानामा भने धेरै फरक पर्दो रहेछ। यो माथिको 'प्रदीप' र 'प्रदिप' को प्रसंगबाट पनि स्पष्ट भयो। दुईटा भाषाका ज्ञान-भण्डारबाट एकापसले लाभ उठाउने हो भने दुबै भाषामा प्रयोग हुने शब्दहरुको लेख्य रुपमा एकरुपता ल्याउनु अत्यन्त जरुरी छ। हिन्दी मात्रै होईन, देवनागरी लिपि प्रयोग हुने र उस्तै शब्दहरु धेरै भएका देशभित्रैका र दक्षिण एशियाका अरु भाषाहरुसंग पनि समन्वयको आवश्यकता छ। संस्कृतबाट आएका शब्दहरु प्रयोग गर्ने सवालमा हिन्दी-भाषीहरु हामीभन्दा धेरै सचेत छन् (माथीकै उदाहरणमा पनि संस्कृतको 'दीप' शब्दमा प्रत्यय थपिएर बनेको हुँदा 'प्रदीप'नै सही हो मेरो विचारमा)। दुबै शब्दलाई एकै तरिकाले लेखियो भने खोज धेरै सजिलो हुन्छ, नत्र धेरै भद्रगोल हुने प्रष्ट छ। मानौं कि 'आयुर्वेद' लाई नेपालमा 'आयुर्बेद' लेखियो र त्यसबारेका धेरै जानकारी/साहित्यलाई ईण्टरनेटमा राखियो, हिन्दीमा 'आयुर्वेद' नै प्रयोगमा आयो र उनीहरुले पनि यससम्बन्धी धेरै जानकारी ईण्टरनेटमा राखे। अब गुगलमा खोज्दा के भनेर खोज्ने? कम्तिमा पनि खोज्ने समय दोब्बर हुन जान्छ, अरु झमेलाहरु पनि थपिने त छँदैछ। (यो लेख्दा-लेख्दै भर्खरै हेरें मैले, समस्या शुरु भईसकेको रहेछ। 'आयुर्वेद' खोज्यो भने हिन्दी साईटहरु बढी देखिन्छ, 'आयुर्बेद' खोज्यो भने नेपाली साईटहरु बढी देखिन्छ। यदाकदा 'आयुर्बेद' लेखिएका हिन्दी साईटहरु पनि नदेखिने हैनन्, तर ती अत्यन्त कम छन्। गलत लेखाई हाम्रो हो, उनीहरुको होइन।)

ईण्टरनेटमा हाम्रो उपस्थिति बढ्दै जाँदा भाषिक शुद्धतामा झन ध्यान दिनुपर्ने आवश्यकता छ। यसैले फेरि एकचोटि आधारभूत संस्कृतको उपस्थितिलाई विद्यालयमा अझ दह्रिलो बनाउनु नितान्त जरुरी छ। ब्यक्तिगत रुपमा मलाई कुनै दिन फेरि संस्कृतको अध्ययन शुरु गर्ने मन छ, त्यस्तो गम्भिर अध्ययन गर्ने समय नमिल्ला अब तर आफ्नो नेपाली भाषामा अलिकति निखार ल्याउनका लागि अलिअलि भएपनि नपढी भएको छैन। कक्षा ६ र ७ मा जाँच भ्याउने उद्देश्यलेमात्रै संस्कृत पढियो, त्यसपछि संस्कृतसंगको सम्बन्ध टुटेको छ।

अर्कोतिर सञ्चारकर्मी र पत्रकारहरुलाई त नेपाली संगसंगै संस्कृतमा पनि एउटा निश्चित तह पार गरेकै हुनुपर्ने गराउनु अति अनिवार्य छ।

'संस्कृति र संस्कृत' विरोधी 'भिल्ल'हरुको राज चलेको बेलामा यस्ता कुरामा राज्य आफैं पनि तत्कालै तात्ला भनेर सोच्नु बेकार छ। जे सकिन्छ, नेपाली भाषालाई माया गर्ने हामी सबैले आ-आफ्नै ठाऊँबाट गरौं।

January 19, 2009

कुरुप वर्तमान


झण्डै साढे आठ वर्षभन्दा पहिला लेखेका यी हरफहरुले भूतकाल बन्ने अवसर अझै पाएका छैनन्। जहिले हे-यो, नेपालको वर्तमान झन-झन कुरुपनै देखिन्छ।

"कुरुप वर्तमान"-१

जताततै हनुमानहरु दौडिरहेछन्
पूच्छरमा आगोको लप्का बोकेर चाकडीको
विनाकारण जलाउँदै सुनका लंकाहरु,
स्वचालित वेहोश हातमा बजिरहेछ डमरु
मस्त धङ्धङेमा रमाएर हेर्दैछन प्रभुहरु
र अनियन्त्रित नाचिरहेछन् बाँदर टुकडीहरु ;

रंगीचंगी नाराका खोल ओढेर
अवसरको खेती गरिरहेछन्
आत्माहीन दासहरु,
र एक बाली भित्र्याई डकारेर
नयाँ फसलको तयारीमा
रंग फेरिरहेछन् छेपाराहरु।

"कुरुप वर्तमान"-२

रगतको आहालमा डुबेका छन् हिमालहरु
डढेको जंगलबाट षडयन्त्रको गन्ध आईरहेछ
र ठाऊँ ठाऊँमा उम्रन थालेका छन्
तावेदारीका नयाँ झारहरु;

भित्र बैठकमा,
हिसाब नमिलेर होला भागबण्डाको-
लूटेराहरु एक आपसमा औँला ठड्याईरहेछन्
र बाहिर,
'जिन्दाबाद', 'मूर्दाबाद' उचालीरहेका सडकहरुमा
भविष्यको पदचाप सुनिदैन।

January 15, 2009

प्रचण्डको हावा भ्रमण

अपडेट (जनबरी १६): प्रम प्रचण्डको यो भ्रमण स्थगित भएको खबर आएको छ।


(Image courtesy:Dennis Holmes Designs)

माओवादीका नेता र नेपालका प्रधानमन्त्री प्रचण्ड पर्सि उत्तरी यूरोपको सयरमा निक्लँदैछन्।

उनको यो भ्रमणको पृष्ठभूमिका बारेमा हामी सबै जानकारनै छौं, तैपनि यसै विषयमा केहि कुरा गरौं।

सञ्चारमाध्यममा यो सरकारका पदाधिकारीले गरेका विदेश भ्रमणका खर्चका बारेमा धेरै कुरा आएका छन्। कान्तिपुर दैनिकमा छापिएको समाचार यहाँ पढ्नुहोस्। विदेश भ्रमण शिर्षकमा यो आर्थिक वर्षको लागि छुट्याईएको ६ करोडमध्ये पाँच महिना नहुँदै पाँच करोड झ्वाम् भईसकेको छ। गएका सरकारले पनि तोकिएभन्दा बढी खर्च गर्थे होलान् तर यो सरकारले यो मामिलामा पनि पूराना रेकर्डलाई धेरै पछाडि पार्दै 'क्रमभंग' गर्ने लगभग पक्का छ। पाँच महिनामा सबैभन्दा बढी 'क्रमभंग' गरेका छन् प्रधानमन्त्री प्रचण्डले, २ करोड ५० लाख त उनकै भ्रमणमा सकिएको रहेछ। परराष्ट्र मन्त्रीको विदेश भ्रमणपनि देशलाई महंगै परेको रहेछ। बाबुराम भट्टराई एकजनामात्रै ईमान्दार बनेका रहेछन् यो मामिलामा, सकेसम्म बिदेशीलेनै खर्च हाल्दिने कार्यक्रममा मात्रै गएका रहेछन् ती र देशकै पैसा खर्चेर गएका बेलामा पनि नियमानुसार पाउने सुबिधा बाहेक अरु फिर्ता गरेका रहेछन्। मितव्ययिता निर्देशिकाको पालना गरेकामा तिनलाई सलाम र हार्दिक धन्यबाद!

उत्तरी यूरोपको यो एकहप्ते सयरमा थोरैमा पनि ५०-६० लाख सिद्धिने पक्का छ, करोडमै जानसक्छ। आतिथ्य दिने देशहरुले खर्च दिनेजस्तो पनि होईन जस्तो छ, नत्र त थाहा भईहाल्थ्यो।

करोड वा पचास-साठी लाख रुपियाँ हाम्रो देशको परिप्रेक्षमा सानो रकम कदापि होईन। तैपनि देशको स्थिति सामान्य भएको बेला कुनै महत्वपूर्ण भ्रमण आवश्यक प-यो भने यो रकम देशले खर्च गर्न हिच्किचाउनुपनि हुँदैन। तर समस्या के हो भने यतिखेर न देशको अवश्था सामान्य छ, न त प्रमले गर्न आँटेको यो भ्रमणको कुनै तात्विक महत्व छ।

देशमा विकराल संकट छ आर्थिक-सामाजिक सबै क्षेत्रमा। माओवादी आफैंले शुरु गरेको र मलजल गरेको साम्प्रदायिकता र बिखण्डनको आगोमा देश हुर्हुरी जलिरहेको छ। यो संकटको घडीबाट देशलाई सकेसम्म चाँडै पार लगाउन हामीलाई ब्यक्तिगत, पारिवारिक र दलगत स्वार्थभन्दा धेरै माथि उठेको कर्मठ, साहसी, लोकप्रिय र लगनशील नेताको खाँचो छ। जिम्मेवारी सबैको हुँदा-हुँदैपनि सबभन्दा ठूलो दल र त्यो दलको नेता र देशका प्रधानमन्त्रीका रुपमा माओवादी र प्रचण्डको जिम्मेवारी सबैभन्दा ठूलो छ। उनीहरुले आफु सकेसम्म विनम्र भएर सबैलाई मनाउन र संविधान-निर्माण र देश विकासमा सहभागी बनाउन सक्नुपर्ने हो। विदेश भ्रमणको साटो यतिखेर सबै संकटहरुको समाधानमा प्रधानमन्त्री देशभित्रै रहेर नेतृत्वदायी रुपमा खटिनुपर्ने हो। वर्तमानसंग सन्त्रस्त र भविष्यप्रति निराश बनेका जनतामा आशा र आत्मविश्वाशको सृजना गर्न सबै नेपालीका प्रधानमन्त्रीको जस्तो बोली र ब्यबहार गर्नुपर्ने हो तर तिनले आफूलाई माओवादीको मात्रै प्रधानमन्त्रीको रुपमा प्रमाणित गरेका छन्। बोली र भाषणहरुमा पनि ती धम्की दिने र जनता तर्साउने कामबाहेक केहिपनि गर्दैनन्। अर्कोतिर साना-साना उद्घाटनमा आफूलाई ब्यस्त पारेर प्रचण्डले प्रधानमन्त्री पदकै गरिमामा आँच पु-याएका छन् र उनमा गम्भीरता र सूझबूझको अभाव रहेको प्रष्ट पारेका छन्।

देशमा बिजुली संकट आएपछि समाधानको एउटा पाटोको रुपमा वायु-शक्ति (Wind Energy) को प्रयोग गर्ने हल्ला चल्यो र वायु-प्रविधिमा अब्बल मानिएका उत्तरी यूरोपका देशहरुको भ्रमण गर्नेछु भनेर प्रमले त्यतिबेलै खोकेका थिए। यो त्यहि 'हावा-भ्रमण' हो।

यो 'हावा-भ्रमण'मा प्रमको सहभागिता अपरिहार्यनै थियो त? एक हप्तामा प्रधानमन्त्रीले कति 'पढ्लान्'? आजको कान्तिपुर दैनिकमा भ्रमण दलका बारेमा समाचार छ। प्रधानमन्त्रीलाई हटाएर भ्रमण-दलका अरु सदस्यहरुमात्रै गए हुन्छ। त्यहाँ उद्योग वाणिज्य संघका अध्यक्ष, एनआरएनका मान्छे र कर्मचारीहरु छन्। प्रविधि भित्र्याउने सवालमा बुझ्नुपर्ने र अध्ययन गर्नुपर्ने तिनीहरुलेनै हो, प्रधानमन्त्रीले रिपोर्टिङमात्रै सुने-पढे पुग्छ। प्रधानमन्त्री भ्रमण दलमा नहुनेबित्तिकै भ्रमण दलको खर्च स्वात्तै घट्नेमात्र होईन, अरु सम्बन्धित झमेलाहरु पनि धेरै कम हुन्छन्।

जति छिटो हुने भनिएपनि यो प्रविधिबाट विद्युत उत्पादन भई राष्ट्रिय प्रसारण लाईनमा जोडिन कम्तिमा पनि २-३ वर्ष त लाग्नेनै छ, प्रधानमन्त्रीले टर्बाईन बोकेर ल्याएर चन्द्रागिरि र शिवपुरीमा गाड्ने र तुरुन्तै 'बिजुली' निकाल्ने खेल हैन यो! त्यसकारण यसलाई पनि बिजुली संकट समाधानको दिर्घकालीन योजनामा मात्रै राख्न सकिन्छ। चाँडै गर्न सकिने र आर्थिक भार पनि कम पर्ने बाटो भनेको प्रसारण लाईनहरुको मर्मत र भारतबाट बिद्युत आयात हो। कोशीले क्षति पु-याएको प्रसारण लाईनको मर्मतमा भारतलाई झक्झक्याउन राजनीतिक-कूटनीतिक तहबाटै प्रयास जरुरी छ। अहिले मन्त्रीस्तरमा चिठ्ठी लेख्नेसम्मको काम भएको छ तर प्रचण्ड आफैं लागेमात्रै मर्मतले गति लिनसक्छ। यसबाहेक पनि देशका विद्युत-गृहहरुका अनियमितता हटाएर पूर्ण क्षमतामा विद्युत उत्पादन गर्ने र चुहावट हटाउने लगायतका कामतिर कोहि पनि गम्भिर बनेको छैन। 'सेतो हात्ती' प्राधिकरणकै संरचनामा पनि आमूल परीवर्तन आवश्यक छ। यसभित्रको वर्तमान कर्मचारीतन्त्र उर्जा-माफियाको कब्जामा नराम्ररी फँसिसकेको छ। तर सरकार यो कर्मचारीतन्त्र र उर्जा-माफियाले जे-जे भन्छन् त्यसैलाई ब्रम्हसत्य मानेर बसिरहेको छ।

फेरि यो जमानामा यस्ता कुरा बुझिरहन विदेशै घुम्नुपनि पर्दैन। वायु-प्रविधिका बारेमा जानकार जनशक्ति देशभित्रै प्रशस्त हुनसक्छ। लगानी गर्ने वातावरण भएमा देशभित्र र बाहिरका नेपालीहरुबाटै तुरुन्तै प्रशस्त पैसा पनि निक्लनेछ।

प्रचण्डले आफूलाई गम्भिर कूटनीतिक भ्रमणहरुमा मात्रै सीमित राख्नु अत्यन्त आवश्यक छ।

January 12, 2009

पत्रकार उमा सिंहमा हार्दिक श्रद्धाञ्जली!!!!


हतियार बोकेका कातरहरुको जत्थाद्वारा निर्मम हत्या गरिएकी पत्रकार उमा सिंहप्रति हार्दिक श्रद्धाञ्जली र परिवारजनमा हार्दिक समवेदना ब्यक्त गर्न चाहन्छु!
-------------------------------------------------------------------------------
अरु कुनै विषयमा लेखौंला भन्ने विचार थियो तर एउटा उदाउँदो प्रतिभालाई यसरी पाशविक ढंगले निमोठिएको खबर पढेपछि मन नराम्ररी भाँडिएको छ। निर्दोषहरुको रगत बगिरहने र अपराधीहरुले उन्मिक्ति पाइरहने यो अन्तहीन शृंखलाबाट देशले कहिले मुक्ति पाउला? स्वतन्त्र र निष्पक्ष चिन्तन राख्ने मान्छेहरुले नडराई बाँच्न सक्ने दिन कहिले आउला?

उमा सिंहले भोगेका चुनौती र पिडाहरुको पहाडको कल्पना पनि डरलाग्दो छ। अहिले हाम्रो देशमा निष्पक्ष पत्रकारहरुको जिन्दगी सबैभन्दा कठिन छ। र सामन्ती सामाजिक-सांस्कृतिक संरचना भएको हाम्रो देशमा जहाँसुकैपनि एउटा महिला पत्रकारको जिन्दगी अझ असहज छ। त्यसमाथि पनि नेपालको तराई क्षेत्रको समाज महिलाहरुप्रति हदैसम्म अनुदार छ। त्यस्तो कट्टर समाजबाट माथि उठेर पत्रकारिता पेशा अंगाल्नुनै पनि कम्ता साहसको विषय होईन, त्यो पनि आफ्ना पिता र दाइलाई अपहरण र बेपत्ता पारिएको कठोर पिडासंग बाँच्दै। त्यसमाथि निरन्तर रुपमा तराईका सामाजिक-सांस्कृतिक विकृतिहरु र अपराधीकरणका विरोधमा सकृय हुनु कति गाह्रो थियो होला?! उनले कति धम्की बेहोरिन् होला?! यो मजस्ता विरोध, समर्थन, रिस, खुशी जे का लागि पनि कि-बोर्ड ठोकेर आफ्नो 'देशभक्ति' देखाउने मान्छेका लागि महशूश त के कल्पना भन्दा बाहिरको कुरो हो, तैपनि कोशिश गरिरहेछु, कि-बोर्ड ठोकेरै सही------

देशलाई उमा सिंहजस्ता निडर र चिन्तनशील, अनगिन्ती युवाहरुको आवश्यकता छ, तर प्रहार उनीहरुमाथिनै भइरहेछ, धम्की उनीहरुलेनै झेलिरहेछन् र नरपशुहरुले उनीहरुकै हत्या गरिरहेछन्----

हत्यारा नरपशुहरुलाई यथाशिघ्र कठघरामा उभ्याउन र फेरि यस्तो घटना नदोहोरिने प्रत्याभूति दिन सरकारसंग माग गर्दछु!

उमा बहिनी, तिम्रो आत्माले चीर शान्ति पाओस्! र भगवानले तिम्रो परिवारलाई एउटा अर्को कठोर बज्रपातको पिडा खप्ने र सम्हालिने शक्ति देओस्!


(फोटो साभार:दैनिकि डट कम)

January 07, 2009

जय शम्भो!!!!!


जय शम्भो!

हामी सबैको जय गर्ने शम्भो, शंकर, भोलेबाबा, पशुपतिनाथ, कैलाशपति, नीलकण्ठ अहिले आफैं संकटमा छन् र माओवादी उनलाई आफ्नो लाल-झण्डा बोकाउन हात धोएर लागेको छ। घोषित रुपमा नास्तिक र धर्म-संस्कृति-परम्पराका विरोधीहरु पशुपतिनाथका हर्ताकर्ता भएका छन् र अरुलाई पाठ पढाउन थालेका छन्। यो समस्यालाई 'भारतीय पूजारी' र 'नेपाली पूजारी' र अझ 'राष्ट्रघात' र 'राष्ट्रवाद' बीचको द्वन्द्वको रुपमा परिभाषित गर्ने उसको कुत्सित प्रयासले हावा खाने निश्चित छ।

यो (पशुपतिनाथ)काण्डको बारेमा यो ब्लगमा पनि (पशुपतिनाथमाथिको राजनीतिकरणको विरोध गर्दै) एउटा टाँसो राखौंला भन्ने सोचेको थिएँ तर अरु ब्लग पढ्दै र प्रतिकृया दिँदै समय गयो। अब तिनै कुराहरु फेरि यहाँ दोहोराएर छुट्टै लेखिरहनुभन्दा तीमध्ये दुईटा ब्लगमा मैले लेखेका प्रतिकृयाहरु यहाँ राख्दैछु। उतै पढिसक्नुभएकोभए क्षमा चाहन्छु। भविष्यमा खोज्न सजिलो होस् भनेर पनि यसो गरेको हुँ।

दौतरी मा 'ठरकी दादा'को एउटा ज्यादै चित्त बुझ्दो लेख छ, 'नयाँ पशुपति’ र माओवादीका दिमागी आयतन । भन्ने। त्यहाँ भएको कुराकानीमा मेरो कुरा राखेको छु। कुरा अझै अगाडि बढ्दै जानपनि सक्छ, दौतरीको यो धागोहेर्दै गर्नुहोला।

"अत्यन्त चित्त बुझ्दो कुरा गर्नुभयो ठरकी दादा! आफ्नो कुत्सित उद्देश्यलाई राष्ट्रवादको खोल ओढाएर ढाक्ने दाउ हो यो माओवादीको।

म पनि आफूलाई धार्मिक भन्दा बढी आध्यात्मिक भन्न रुचाऊँछु। मैले आफूलाई धार्मिक भन्न नरुचाउनुको कारण म नास्तिक भएर हैन, 'धर्म'शब्दसंग धेरै पाखण्डी परम्पराहरु पनि जोडिएर आउने भएर हो। सारमा सबै धर्म महान छन् जस्तो लाग्छ। धर्मको नाममा हुने यावत कुकृत्यहरुको विरोध गर्छु म। तर धर्मको सुधार र संरक्षणको विकल्प छैन।

पशुपतिनाथको धेरै महत्व छ। यो विश्वका अरब भन्दा बढी हिन्दूहरुको आस्थाको केन्द्र हो। विशुद्ध कलाप्रेमीको आँखाबाटमात्रै हेर्दापनि यो हाम्रा पुर्खाहरुले हामीलाई छोडेर गएको सुन्दर धरोहर हो, यसलाई जोगाउनु हाम्रो कर्तब्य र दायित्व हो।

नेपाली पूजारी राख्ने कुराको विरोध कसैले गरेको छैन। इतिहासको एउटा कालखण्ड विशेषमा कुनै कारण दक्षिण भारतको पूजारी ल्याएर पूजा गराउन थालियो। भारतले हामीलाई लादेको पनि होईन, हाम्रै तत्कालीन शाशक र धार्मिक नेताहरुले उनीहरुलाई अनुरोध गरेर ल्याएका हुन्। अहिले अर्को कालखण्डमा यो प्रथाको परीवर्तन हुनु जरुरी थियो र नेपाली पूजारीनै हुँदा सर्वसम्मत नै पनि हुनेथियो। यो नियुक्ति राष्ट्रिय एकताको एउटा सानो सूत्र बन्नसक्थ्यो। तर 'बाँदरको हातमा नरीवल' भनेजस्तो यस्तो राम्रो मौकालाई माओवादीले राष्ट्रिय विभाजनको हतियार बनाईदियो।

माओवादीहरु घोषित रुपमा नास्तिक र धर्म-संस्कृति-परम्पराविरोधी हुन्। उनीहरुले विगतमा धेरै मठ-मन्दिरहरु ध्वस्त पारेका छन्। संस्कृत शिक्षाको विरोध गरेका छन् र संस्कृत पढाएको निहुँमा मुक्तिनाथ अधिकारीजस्ता सोझा शिक्षकहरुको निर्मम र पाशविक हत्या गरेका छन्। माओवादी नेताहरु सगर्व गाईको मासु खाएको कुरा गर्छन्। यसैले उनीहरुलाई हिन्दू धर्म र हिन्दू धार्मिक मामिलामा बोल्ने कुनै नैतिक अधिकार छैन। तर देशको सरकारको नेतृत्वमा रहेकाले ब्याबहारिक रुपमा उसलाई ठ्याम्मै रोक्न सकिन्न। हाम्रो यहि 'ब्याबहारिक' अड्कोको चरम दुरुपयोग गरेको हो माओवादीले। सबैलाई थाहा छ विरोध नेपाली पूजारीको भएको हैन, विरोध जुन चोर-बाटोबाट आफ्नो कार्यकर्तालाई पूजारी बनाईयो, त्यहि चोर-बाटोको भएको हो। तर माओवादी यसलाई नेपाली पूजारी र भारतीय पूजारीको मुद्दा बनाउन हात धोएर लागेको छ। कुनै पनि समस्यालाई 'कालो' वा 'सेतो' भन्दा बढी केहि नदेख्ने लिँडे माओवादीहरु ठाऊँ-कुठाऊँ आफूबाहेक अरु सबैलाई राष्ट्रघाती र दलाल भन्दै गाली गर्दै हिँडेका छन। माओवादीको 'राष्ट्रवाद' र 'भारतविरोध'को रंग उहिल्यै खुईलिसकेको यिनलाई थाहा छैन। थाहा हुने कुरो पनि भएन किनभने माओवादीभित्र रचनात्मक चिन्तन कहिल्यै सिकाइन्न। त्यसकारण तपाईँले भनेजस्तै माओवादी दिमागको आयतन असाध्यै कम छ। चिन्तन-मनन र विचार खेल्ने भए पो दिमाग चाहिन्छ, सोझै हातखुट्टा र उस्तै परे बन्दुक चलाउनेलाई दिमागको कामै के र?

अब यो विषयमा मलाई लागेका तीन कुरा:
१) पहिलो कुरा त 'भारतको पूजारी' कुनै समस्यानै होइन (अब माओवादीहरुले यहाँभन्दा तल पढ्दै-नपढी मलाई राष्ट्रघाती र दलाल भन्दिनेछन्)। पशुपतिको आम्दानीको सही लेखा राख्ने र निश्चित रकममात्रै तलबको रुपमा पूजारीलाई दिने हो भने यति बिधि रडाको मच्चिनेनै थिएन। तलबमा चित्त बुझे उनीहरु बस्थे, नबुझे फर्केर जान्थे र अरुलाई ल्याउन सकिन्थ्यो। भारतका धेरै मन्दिरहरुमा नेपालीहरु पूजारीका रुपमा रहेका छन्, त्यहाँकै जस्तो ब्यबश्था यहाँ पनि गर्न सकिन्थ्यो।

२)माओवादीको नियत पनि पशुपतिनाथको सम्पत्ति हत्याउने बाहेक अरु केहि हैन। नत्र नियुक्तिमा यो अपारदर्शिता किन? दुई-चार दिन त्यहाँको भेटी गनेर देखाएपनि माओवादीको 'इमान्दारिता' दुनियाँले देखे-जानेको कुरा हो। एउटा दूरगामी असर पर्ने परम्पराको शुरुवात हुँदैछ, त्यसमा ब्यापक छलफल र विचार-विमर्श किन गरिएन? माओवादी लिँडेहरुले जे जे भनेर कराएपनि भण्डारीहरु पुस्तौं-पुस्तादेखि पशुपतिनाथको सेवामा छन्। उनीहरुसंग पनि राय लिँदा के हुन्थ्यो? देशमा धर्म-संस्कृतिका विज्ञहरु अब एकजना पनि छैनन् र पशुपतिनाथको बारेमा निर्णय गोपाल किराँती र शाक्यजस्ता नास्तिकले मात्रै गर्न सक्छन्? के देशमा पशुपतिनाथको पूजारी हुन विष्णु दहालमात्रै योग्य छन्? के कारणले, कुन-कुन योग्यता हुनाले उनी योग्य भए र अरु अयोग्य भए? यो सरकारले कहिले पशुपतिको पूजारी हुन आवश्यक पर्ने योग्यता, छान्ने प्रकृया सार्वजनिक ग-यो?

३)पशुपतिनाथलाई देशका अरु निकायजस्तै राजनीतिक भर्तीकेन्द्र बनाउने चाला हो यो। भोलि अर्को दलको सरकार हुँदा उसले माओवादीका हनुमानलाई लखेटेर आफ्ना हनुमान छिराउनेछ र यो अराजकतालाई निरन्तरता दिनेछ। परम्पराको शुरुवातनै गलत भएपछि पछिकाले सच्याउने सम्भावना झन कम हुन्छ।

यसपछि लुनाजीसंग केहि कुरा;
लुनाजी, माओवादीको दिमागको आयतन नाप्न देउबाको महलमै जानु पर्दैन, माओवादी नेताहरुको महलमा गएपनि हुन्छ। माओवादी नेताहरुले महललाई आफ्नो नभनेर पार्टीको अथवा साथी/नातेदारको भन्लान्, त्यसले केहि फरक पार्दैन। उनीहरुको जीवनशैली तपाईँले गाली गर्नुभएका मान्छेहरुको कम विलासी छैन। माओवादी दिमागको आयतन नाप्न हरेक छाक कुखुराको मासु चाहिने, हरेक रात 'रिल्याक्स'को लागि 'उपहारमा प्राप्त' विदेशी रक्सी चाहिने माओवादी नेताहरुलाई हेरे पनि हुन्छ। त्यतिमाथि पनि जानु पर्दैन, जिल्ला वा इलाका तहका नेताहरुको ठाँटबाँट हेरमात्रै पनि पुग्छ। त्यसकारण अन्धभक्त ढंगले एकोहोरो हेर्न छोडेर आफ्नो दिमागलाई अलि धेरै घुमाउनुहोस् र मात्रै कुनै पनि विषयमा आफ्नो धारणा बनाउनुहोस्।
यहाँ मैले विलासी जीबनशैलीको वकालत गरेको भन्ने नठानियोस्। म त्यसको विरोध गर्छु, मेरो अर्थ यो मामिलामा माओवादीसंग पनि कुनै नैतिक वल छैन भन्ने मात्रै हो।

आफूभन्दा फरक विचार राख्नेलाई 'राष्ट्रघाती' र 'प्रतिगामी' देख्ने 'महान माओवादी रोग' तपाईँमा पनि सल्केको रहेछ भन्ने थाहा पाऊँदा साह्रै दु:ख लागेको छ। बिभिन्न ब्लगहरुमा तपाईँका प्रतिकृयाहरु पढ्दा खुल्ला र निष्पक्ष चिन्तन राख्ने ब्यक्तिको छवि बनाएको थिएँ मैले। शायद म गलत थिएँ कि?
आफ्ना कार्यकर्तालाई जे जे भनेर भारत विरोधमा उचालेपनि अहिलेको सबैभन्दा भारतसमर्थक नेतृत्व माओवादी नेतृत्वनै हो भन्ने बिभिन्न घटनाहरुले बेला-बेला प्रष्ट पारेकै छन्। त्यसकारण माओवादीको राष्ट्रवादको धक्कू कसैले नलगाए हुन्छ। तानाशाही सोच हुनेहरु जहिले पनि राष्ट्रवादको खोल ओढ्छन्, मुगावे र किम जोङ इललेजस्तै।
अब रह्यो प्रतिगामी र अग्रगामीको कुरा। कुनै शब्दलाई च्यापेर बस्दैमा मात्रै कोहि अग्रगामी हुँदैन। निरकुंश एकदलीय अधिनायकवाद, बन्द समाज र वैचारिक-संस्कृतिक दमन हुने मध्ययुगीन शाशन ब्यबश्थामा देशलाई लैजान चाहने माओवादी सबैभन्दा प्रतिगामी हो।"


अनि यो चाहिँ माइसंसारको 'पशुपतिमा पिटापिट'मा मैले राखेको प्रतिकृया।

"पहिलो कुरा, यो टाँसो (पोष्टिङ)को शिर्षकनै गज्जब लाग्यो मलाई! कुनै केटाकेटीले केहि देखेर रमाएर बोलेजस्तो। के यो घटनाले माइसंसारलाई मनोरञ्जन दिएको हो? ‘वाइसीएलले पशुपतिका भण्डारी कुटे’ भनेर लेख्न माइसंसार किन डराएको हो। ‘पशुपतिमा पिटापिट’ लेख्नु र माओवादीले सधैं भन्नेजस्तो ‘छलफल गर्न बोलाएर भण्डारीले वाइसीएललाई कुटे’ लेख्नु उहि कुरा हो।

राष्ट्रियताको खोल ओढाउँदैमा आफ्नो कुत्सित मनशाय सबैका नजरबाट छोपिने ठानेको थियो होला माओवादीले, तर हरेक घटनाले झन-झन उदाङ्गो पार्दै लगेको छ। यहि एउटा घटना पनि काफी छ यो पूजारी नियुक्तिमा माओवादीको नियत राम्रो छैन। पुस्तौं-पुस्ता देखि पशुपतिनाथको रेखदेख र पूजामा सहभागी हुँदै आएका भण्डारीहरुले शान्तिपूर्वक आफ्नो विरोध राख्नखोज्दा निर्घात-निर्मम आक्रमणमा ओर्लनुले के देखाऊँछ? यदि भण्डारीहरु सही थिएनन् भने माओवादीहरुले पनि पत्रकार सम्मेलननै गरेर प्रतिकार गर्न सक्दैनथे र? तर यो आशा गर्नु पनि माओवादीका हकमा बेकारनै हो भन्ने प्रमाणित भईसकेको छ धेरै पटक।

भण्डारीहरुको विरोध नेपाली पूजारप्रति लक्षित नभएर नियुक्ति गरिएको प्रकृयाप्रति हो भन्ने कुरा स्पष्ट छ। पूजारीका रुपमा माओवादीले आफ्नो हनुमान पसाएको त्यहाँ र अझ धेरै हनुमानहरु पसाउनेछ उसले। पशुपतिनाथको सम्पत्ति र आम्दानीमाथि उसको गिद्धे आँखा गडेको छ। माओवादीहरु घोषित रुपमा नास्तिक र धर्म-परम्परा-संस्कृति विरोधी हुन्। विगतमा उनीहरुले मन्दिर-मठ भत्काउँदै हिँडेका हुन्। संस्कृत पढाएको निहुँमा मुक्तिनाथ अधिकारी र अरु धेरैलाई चरम यातना दिएर मारेका हुन्। उनीहरुका नेताहरु खुल्लमखुल्ला गाईको मासु खाएको कुरा गर्दै हिँड्छन। यो गोपाल किराँती भन्नेलाई पशुपतिनाथसंग जोडिएको धर्म-संस्कृतिको कुरो के थाहा छ? उनीहरु रातो लुगा लगाएका तालेबान हुन्। अहिले कसरी यिनीहरु एकाएक धार्मिक र परम्पराप्रेमी भए? उनीहरुबाट पशुपतिनाथको संरक्षण हुन्छ भन्ने कसैले आशा नगरे हुन्छ।

भारतीय पूजारी हटाएर नेपाली पूजारी राख्ने कुराले पूरै नेपाललाई एकताबद्ध गर्न सक्थ्यो तर माओवादीजस्ता बाँदरका कारणले यो मौका राष्ट्रिय बिखण्डनकारीहरुले प्रयोग गर्न सक्ने खतरा भएको छ।

यो वामदेव भन्ने पनि माओवादीनै हो जस्तो छ। वाइसीएललाई छुन नसकेपनि कमसेकम भन्डारीहरुलाई त प्रहरी-सशस्त्र प्रहरीको सुरक्षित घेरामा त राख्न सक्थ्यो। थुक्क वामे"


यो प्रतिकृयामाथि आएका प्रतिकृयाहरु र मेरा जवाफहरु सबैभने नटाँसौं। अतिनै हुन्छ क्या त्यसो गर्दा त:)

अपडेट:यस विषयमा आजको 'कान्तिपुर'मा प्रकाशित लेख पढ्न पनि नभुल्नु होला।

January 05, 2009

पुरानो वर्षको कुरा, नयाँ वर्षको कुरा

नयाँ वर्षको हल्लाखल्ला पनि सकियो र सकियो मेरो छ दिने विदा पनि।

अर्चनाजीले सबै न्यू इअर मनाएर नि साध्य हुन्छ र? भनेर लेख्नुभएको छ आफ्नो ब्लगमा। कहिलेकाहीँ त मलाई पनि त्यस्तै लाग्छ। तर 'पीने वालोंको पीनेका बहाना चाहिए'को शैलीमै चलिरहेको छ अहिलेसम्म। विदेशमा बस्दा त्यसैपनि कम्तिमा दुईटा नयाँ वर्ष त मनाईँदो रहेछ। वैशाख १ को नेपाली नयाँ वर्षमा नेपालीहरुको जमघट बाक्लै गरेर रमाईलो गरिन्छ। ईस्वीको नयाँ वर्षमा यहाँको माहौलनै चाडमय हुन्छ र त्यो माहौलबाट अछूतो रहन गाह्रै हुन्छ। त्यसैले नेपालीहरुकै माझ पनि सानोतिनो जमघट भईहाल्छ। फेरि चिनजानका स्थानीयहरुको निम्तोमा परेपछि 'म मनाउन्न!' भन्ने कुरो पनि भएन।

जापानको औपचारिक/कामकाजी पात्रो ईस्वी सम्वतको भएकाले यहाँ जनवरी १ एउटा प्रमुख चाड हो। नयाँ वर्षको उपलक्षमा सबैतिर हप्ता-दशदिन विदा हुनु सामान्य हो। परम्परागत 'चन्द्रपात्रो'को नयाँ वर्ष फेब्रुअरीतिर पर्छ। त्यो बेला बिदा हुँदैन, तर परम्परागत विधिहरुभने पूरा गरिन्छन्।

नेपाल सम्वत मनाईएको भेलामा अहिलेसम्म पुगिएको छैन तर साथीहरुलाई शुभकामना ई-मेल भने पठाऊँछु। ल्होसार मनाउने मौका पनि मिलेको छैन अझै।

जापानमा नयाँ वर्षमा आफ्ना चिनजानका र सहकर्मी आदिलाई NENGA-JO (शुभकामना कार्ड) लेख्ने र हुलाकबाट पठाउने चलन छ। सन्देश लेखिसकिएका 'तयारी' नेन्गाज्यो हरु पनि पाईन्छन् नाम-ठेगाना मात्रै थपे पुग्ने। तर धेरैजसोले खाली कार्डमा आफैंले सन्देश, फोटो र चित्र आदि छापेर पठाऊँछन्। नेन्गाज्यो अत्यन्त महत्वपूर्ण र औपचारिक मानिन्छ जापानमा र ई-मेल र टेलिफोनबाटको शुभकामना आदानप्रदान कमै हुन्छ। कम्तिमा पनि ३०-४० नेन्गाज्यो नलेख्ने जापानी हुँदैनन् होला। फेरि हुलाकले पनि सकेसम्म ठीक जनवरी १ को बिहान पु-याईदिन्छ, जति चाँडै पठाएको भएपनि। पठाउन धेरै ढिला भयो भने ठ्याक्कै जनवरी १ मै नपुग्न पनि सक्छ। यसपाला पनि हुलाकले सूचना जारी गरेको थियो, डिसेम्बर २५ सम्म खसालिएका नेन्गाज्योमात्रै जनवरी १ मा पु‍-याईनेछ भनेर। करोडौं (अरबमै पुग्छ होला संख्या) नेन्गाज्योहरुका कारण जापानको हुलाक प्रणाली अति ब्यस्त हुन्छ यी केहि दिन।

पाँच-सात तयारी नेन्गाज्यो पठाईयो आफूले पनि तर २५ भित्रै पठाउन सकिएन। अर्को नयाँ वर्षका लागि भने अलिक पहिल्यै ध्यान दिनु पर्ला। जनवरी १ को बिहान पोष्ट बक्समा केहि नेनगाज्योहरु पनि थिए, हामीलाई शुभकामना दिन आईपुगेका।

नयाँ वर्षको नेपाली जमघट डिसेम्बर २८ मै थियो। र त्यसको 'वार्म-अप' जमघट पनि थियो २७ को राती:) 'वार्म-अप' जमघटमा पुगेपनि जीऊ ठिक नभएकाले तुरुन्त फर्किएँ। भोलिपल्टको जमघटमा सपरिवार सरीक भईयो, निकै रमाईलो भयो त्यो दिन। साथीहरुले धेरै नाचे। सबैका जोडी-जोडीले नाच्नैपर्ने क्रममा अलि-अलि जीऊ हल्लाउन बाध्य भईयो आफूपनि, नत्र भने जोगिईन्थ्यो होला:)

नयाँ वर्षको दिन दिऊँसो बजारतिर निक्लेको, गज्जबसंग सूनसान थियो पूरै शहर। विजयादशमीको दिन बिहान १० बजेतिर काठमाण्डौं त्यस्तै लाग्छ। जापान आएपछि नयाँ वर्षकै दिन पारेर शहर घुमिएको थिएन अहिलेसम्म। देखिएका मान्छेहरु सबैजसो विदेशी थिए। यो पनि नयाँनै अनुभव भयो जापानमा।