July 01, 2015

केहि घाऊ आलै रहुन्---

विनाशकारी भूकम्पले हामीलाई थुप्रै घाऊहरु छोडेर गएको छ। निर्दोष प्रियजनहरुको असामयिक र दर्दपूर्ण निधनको घाऊ कहिल्यै निको हुने छैन। भूकम्पमा परेर अशक्त भएकाहरुले कठिन जिन्दगी जिउनु छ। भूकम्पले थुप्रै बालबालिकहरुलाई अनाथ बनाएको छ र थुप्रै महिला र बृद्धबृद्धाहरुलाई असहाय बनाएको छ। यो भूकम्पले सिर्जेको मानसिक समस्याले हाम्रो समाजलाई लामो समयसम्म तर्साईरहनेछ। मानवीय पाटोको यी घाऊहरुको उपचारका लागि पूरै देश, राज्य र समाज एक भएर लाग्नुपर्छ।  

अर्कोतर्फ हाम्रा थुप्रै भौतिक संरचनाहरु नष्ट भएका छन्। मानवीय क्षतिको कारण तिनै भौतिक संरचनाहरुनै हुन्। केहि भौतिक संरचनाहरु पूराना र जीर्ण भएका कारण भत्किए र केहि हाम्रै लोभका कारण कमजोर बनाईएकाले ध्वस्त भए। हामी ठूल्ठूला भूकम्पमाथि बसेका छौं भनेर हामीलाई थाहा नभएको पनि होईन, सारा संसार हामीलाई त्यो कठोर सत्य सम्झाईरहेको थियो तर हामीले बुझ्न र गम्भिर हुन जानेनौं। हामीले न आफ्ना नयाँ संरचनाहरु बनाऊँदा सही ठाऊँको चयन गर्यौं, न ती संरचनाहरुलाई बलिया बनायौं र न आफ्ना पूराना एेतिहासिक निधिहरुको उचित जिर्णोद्धार गर्यौं। हाम्रो त्यहि 'कानमा तेल हालेर सुत्ने---' बानीका कारण यति धेरै मानवीय र भौतिक क्षति भएको हो। नत्र हामीले भूकम्प नबिर्सनु पर्ने हो किनभने १९९० सालको भूकम्प देख्ने-भोग्ने कति मान्छे अझै जिऊँदै छन्। त्यसको धेरै पछि जन्मेका हामीेल पनि नबिर्सनु पर्ने हो किनभने समाजको-देशको स्मृतिका लागि ८२ वर्ष लामो समय होईन। "नेपालको महाभूकम्प १९९० साल" नामको पुस्तकनै लेखिएको छ ब्रम्हशमशेर जबराद्वारा। उक्त पुस्तकमा उहाँले १९९० सालको भूकम्प र त्यतिखेर गरिएको राहत-उद्धार र पुनर्निर्माणबारे चर्चामात्रै गर्नुभएको छैन, हाम्रो भूगोलमा भविष्यमा पनि यस्ता भूकम्पहरु सृजना भईरहने कुराको पनि चर्चा गर्नुभएको छ। १९९० सालको भूकम्पको अनुभवमाथि उभिएर थुप्रै सुझावहरु पनि दिनुभएको छ। यो पुस्तक चोबीसै घण्टा हाम्रा सरकारहरु, स्थानीय सरकारहरु र योजनाविद्हरुका अगाडि हुनुपर्थ्यो तर यो पुस्तकले अलि-अलि प्राज्ञिक बहस बाहेक खासै सम्झना र चर्चा पाउन सकेन। यति राम्ररी लिपिबद्ध गरिएको यो निधिलाई हामीले गतिलोसंग पढ्दै पढेनछौं।

फेरि बीच-बीचमा साना-ठूला भुकम्पले हामीलाई नतर्साएका पनि होईनन्। २०४५ सालको भूकम्पले त हामीलाई राम्रैसंग झस्काएको थियो र हामीलाई सच्चिनका लागि शायद गतिलै चेतावनी दिएको थियो। तर दुःखको कुरो हामीले त्यो चेतावनीको पनि वास्ता गरेनौं, वास्तवमा अनियन्त्रित र अनियोजित शहरीकरण र कमजोर संरचना बनाएर भाडा खाने 'उद्योग'का रुपमा हाम्रो लापरवाही त्यसपछि झन् बढ्यो। 

अब पुनर्निर्माणमा जाँदा कतिपय बस्तीलाईनै सार्नुपर्ने निश्चित छ। भौगर्भिक रुपमै अयोग्य ठाऊँमा बस्ती बाँकी राखेर फेरि अर्को महाविपत्तिलाई निम्ता दिनु हुँदैन। तर यसरी बस्ती सार्ने क्रममा पूरानो बस्ती रहेका सबै ठाऊँलाई पूरै सम्याएर छोड्नु भन्दा २-३ ठूला बस्तीलाई यथास्थितिमै छोडेर र त्यसको संरक्षण गरेर भूकम्प संग्रहालयको रुपमा रहन दिनुपर्छ। यस्तै सार्न नपर्ने बस्तीलाई पुनर्निर्माण गर्ने क्रममा पनि केहि निश्चित घरहरुलाई 'भूकम्प स्मारक' को रुपमा जस्ताको तस्तै बाँकी रहन दिनुपर्छ।

यस्ता केहि घाऊहरु आलै राखीरहनुपर्नुको कारण हाम्रो कमजोर सामूहिक स्मृति हो। हामी ठूला-ठूला विपत्ति र दुर्घटनाहरुलाई थोरै समयपछिनै सुकुलमुनि घुसार्दिन्छौं र फेरि पूरानै शैलीमा फर्किन्छौं। हाम्रो त्यो बानी यस पटक पनि पुनरावृत्ति हुने सम्भावना एकदमै धेरै छ। यस्तो नहोस् र यो भूकम्पको यादले हामीलाई चिमोटिरहोस्, झस्काईरहोस् र सजग बनाईरहोस् भन्नाका खातिर जतिखेर पनि देखिनेगरी यी आला घाऊहरु अस्तित्वमा रहनुपर्छ। यस्ता घाऊहरुले झस्काईरहेपछि हामी बस्ती बसाउने जमीन चयनमा र निर्माणको गुणस्तर कायम राख्ने कुरामा गम्भिर हुनेछौं, र हाम्रो पूरानो बानीले विश्राम पाउने छ।

यस्ता स्मारक र संग्रहालयरुपी 'आला घाऊ'हरुलाई शैक्षिक भ्रमण र अवलोकन भ्रमणहरुको मुख्य गन्तब्य बनाईनुपर्छ। त्यस्ता  स्मारक र संग्रहालयहरुमा ठूला-ठूला सूचना पाटीहरुमा ठूला-ठूला अक्षरमा भूकम्प के हो, के कारणले सृजना हुन्छ र कसरी यसले कमजोर गुणस्तरको निर्माणलाई धूलोमा मिलाऊँछ भन्ने बारेमा लेखिनुपर्छ। भूकम्पको भौगर्भिक ज्ञानका साथै त्यस्ता ठाऊँमा देश-विदेशका भूकम्पहरुका बारेमा चलचित्र र फोटोहरु पनि प्रदर्शन गरिनुपर्छ। त्यो स्थानमा भूकम्पमा परी निधन भएकाहरुको नाम, थर लेखिनुपर्छ र सम्भव भएसम्म उनीहरुको तस्बीर पनि राखिनुपर्छ। त्यस्तै बस्ती विकास र विभिन्न संरचना निर्माणका अन्तर्राष्ट्रिय मापदण्डहरुका मुख्य कुराहरुलाई सरल-संक्षिप्त भाषामा बुझ्ने-बुझाउने ब्यवश्था पनि गर्न सकिन्छ। नगरपालिका जस्ता हाम्रा राज्य-निकायले गर्ने लापरवाही, भ्रष्टाचार र घूसखोरीका कारण कसरी देशले अथाह क्षति भोग्नुपर्छ भन्ने कुरा सिधा भाषामा त्यहाँ पुग्ने जोसुकैलाई सम्झाईनुपर्छ।

धरहराको खण्डहर भएको ठाऊँलाई चाहिँ अलि बिस्तृत खालकै संग्रहालयको रुप दिन सकिन्छ। यहाँ धरहराको इतिहास र माथि उल्लेख गरिएजस्ता सामाग्रीहरुका साथमा धरहरा ढलेर निधन भएका सबैको नाम-थर र तस्बीर राखिनुपर्छ। कमजोर संरचनाको धरहरालाई बिना कुनै जाँच-परीक्षण किन र कसरी कसको स्वार्थमा खुल्ला गरियो र १५५ जनाको चिहान सृजना गरियो भन्ने कुराको नालीबेली पनि त्यहाँ आउनुपर्छ र जिम्मेवार ब्यक्तिहरुको नाम कालो अक्षरमा उल्लेख गरिनुपर्छ। धरहरालाई यत्तिकै खोल्नुहुन्न भनेर आवाज उठाउने सबैको नाम ससम्मान अंकित गरिनुपर्छ।  

धरहरासंग खासेै कुनै विशेष मौलिक कला-कौशल नजोडिएकोले त्यसलाई तुरुन्तै पुनर्निर्माण गरीरहनुपर्ने आवश्यकता छैन। पछि कुनै समय-देशले अलिक समृद्धि हासिल गरीसकेपछि अर्कै ठाऊँमा अर्कै धरहरा बनाउन सकिन्छ, जसमा भरपूर नेपाली शैलीको कला-कौशल होस्। त्यो ठाऊँ काठमाण्डौंभित्रनै हुनुपर्छ भन्ने पनि छैन।

यस्ता केहि घाऊहरु आलै रहे भने शायद हामीले यो भूकम्पलाई कहिल्यै बिर्सनेछैनौं र फेरि कहिल्यै लापरवाह हुनेछैनौं।