February 01, 2012

मेरा बीपीमय दिनहरु-३

फेरि ‘फेरि सुन्दरीजल’कै कुरा। तर यसपटक पुस्तकका केहि भावुक अंशहरुको उद्धरण। यो ‘लोभ’लाई कसैगरी त्याग्न सकिन मैले।


आफ्नी जीवनसंगिनीलाई सम्झेर वीपी लेख्नुहुन्छ;

“मैले सुशीलालाई नसम्झेको कुनै दिन छैन।----उनीसंग वनारसमा बिताएका भावुक क्षणहरुको सम्झना आऊँछ। -----मैले उनलाई विना संरक्षण छोडेको छु। उनी सधैं एउटी कमजोर केटी हुन्। उनलाई अटूट ध्यान, दृष्टि र माया चाहिन्छ। नत्रभने बेमौसमको दुर्लभ सुनगाभा जस्तै उनी मुर्झाउनेछिन्। उनमा आत्मसम्मानको भाव पनि उत्तिकै धेरै छ। सम्मानको भाव र निरीह अवश्थाको यो सङ्गमको बेला म नहुँदा उनका लागि अत्यन्त दु:खदायी हुन्छ। अब उनी बढी आशक्त भएर आफ्नो भवगवानमाथि भर पर्नेछिन् र आफ्नो नृत्यको सहारा लिनेछिन्। साथमा म नभएसम्म उनीलाई उनका भगवान र नृत्यले बचाउन् भन्ने कामना गर्दछु। यहाँबाट छुटेपछि म उनको राम्रो हेरविचार गर्नेछु। म धेरै माया गर्दिँन भनेर उनी भन्ने गर्थिन्। विवेकशील मानिस भएकोले म उनको हेरविचार मात्र गर्छु रे! (पटनाबाट) प्रस्थान गर्ने दिन उनले मसिनो स्वरमा के भनेकी थिईन् भने; मैले उनलाई माया गरेको भए जेल जानका लागि म काठमाडौँ फर्किने निर्णय गर्दिँनथे होला। मेरी प्रिय सुशीला, तिमी गलत छौ। म तिमीलाई तिमीले भनेजति माया गर्दिँन होला, तिमीलाई पुग्ने गरी माया गर्दिँन होला, तर जे सुकै होस् म तिमीलाई माया गर्छु। यो मैले आफ्नो कर्तव्य पूरा गरेको मात्र हैन, तिम्रो हेरविचार गर्दा, तिमीसँग रहँदा, तिम्रो हात समाऊँदा मात्र पनि मलाई आनन्द आऊँछ। नेपाल फर्किने मेरो निर्णय तिमीप्रतिको माया प्रकट गर्ने उचित तरिका हो भनेर त म भन्दिँन। मेरो राजनीति मेरो मायाको थप अभिव्यक्ति होइन; नत यसको थप पुष्टि नै। यो एक किसिमले मेरो मायाको प्रतिद्वन्दी हो भन्ने म स्वीकार गर्छु। मेरी प्रिय, मेरा राजनीतिक प्रतिबद्धताहरु पूरा हुनुपर्छ। यो सम्पूर्ण जनताको भविष्य र मेरो प्रतिष्ठाको विषय हो। कृपया मलाई बुझीदेऊ।

फेरि अर्को ठाउँमा;

-----आज चार/पाँच दिनपछि मात्र नुहाउँदैछु क्यारे। यो कुरा सुनिन् भने सुशीलाले नाक खुम्च्याऊँछिन्। उनी मलाई हरेक दिन नुहाउन र लुगा फेर्न लगाऊँथिन्। यहाँ म आफूलाई जे मन लाग्यो त्यहि गर्छु, तर म सुशीलालाई सधैं सम्झिन्छु। यो डायरीको जिल्दामा आफैंले टाँसेको उनको फोटो नियाल्छु। यो सानो र अलि फुलिसकेको फोटोमा समेत उनी जीवन्त देखिन्छिन्। उनको आँखाले मसँग कुरा गरीरहेजस्तो लाग्छ। कहिलेकाहीँ फोटो ओल्टाऊँदै पल्टाऊँदै उनका बारे सोच्छु। कहिले उनी दु:खी देखिन्छिन् त कहिले अलि बूढी जस्ती र मलीन। कहिलेकाहीँ थकित जस्ती। तर अक्सर उनी मन्द मुस्काईरहेकी नै हुन्छिन्। मुस्कानको एउटा छनक जसले उनी धपक्क बलेकी छिन्। प्रत्येक पटक उनको तस्बिर हेर्दा भावुक बन्छु।कहिलेकाहीँ भावुक हुँदै मेरा आँखाहरु रसाऊँछन्। कस्तो हुँदो हो उनलेयो कुरो थाहा पाईन् भने कि म उनलाई कति माया गर्छु भनेर। उनी बेसै होलिन् र मेरा बारे बढी चिन्ता लिनन्न् भन्ने आशा र कामना गर्दछु।

अनि एक दिन साँझ एक्लै हुँदा वीपी आफ्नी दिवंगत माताको सम्झनामा यसरी पोखिनुहुन्छ;
-----साँझ एक्लै हुँदा आमाका बारे सोच्छु। कपुरको बोटको अँध्यारो छायाँ एकटकले हेरिरहन्छु। मूर्खता या अन्धविश्वासवश त्यो अँध्यारोबाट आमा आउनुहुनेछ भन्ने आशा गर्छु। म साने छँदा उहाँले कानमा खुसुक्क दीक्षा मन्त्र सुनाउनुभएको थियो। अनायास त्यो मन्त्र सम्झिन्छु। आफूसंगै ल्याएको उहाँको कपालको एक झुप्पा हातमा लिएर, उक्त मन्त्र धेरैपटक दोहो-याऊँछु। उहाँ जहाँ भएपनि सुनिरहनुभएको होला र जहाँ भए पनि दर्शन दिनुहोला भन्ने आशा गर्छु। यो सब वेवकूफी हो तर उहाँको सम्झनाले मलाई एकदम सताएको छ।

अर्को एक दिन उहाँको स्वास्थ्य परीक्षण गरेर डाक्टर फर्किसकेपछि उहाँ लेख्नुहुन्छ;

----उनी गएपछि धन्य हुँदै आमालाई सम्झेँ। मलाई बचाऊन उहाँ यहीँ कतै घुमिरहेजस्तो लाग्यो। मलाई उहाँसंग भेट्न मन लाग्यो।

त्यहि दिन उहाँ अघिल्लो दिनको बयानको बारेमा पनि लेख्नुहुन्छ;

-----तानाशाहीको सबभन्दा गम्भीर अपराध के हो भने यसले पूरै देशलाई दुर्बल बनाऊँछ। जनताको नैतिकतालाई भ्रष्ट तुल्याउँछ।------एक सय वर्षे राणा निरङ्कुशता र त्यसपछि शाह अधिनायकवाद अन्तर्गत नेपालीहरुले आफ्नो चरित्र गुमाएजस्तो छ। नेपालीहरुलाई चरित्र नभएका मानिसहरुको भीडमा झारिएको छ। पतन भएका यस्ता मानिसहरुको उत्थान गर्नु असम्भव हुनसक्छ। केहि समयपछि तिनीहरु बिखण्डित हुनेछन् र इतिहासबाटै बिलाएर जानेछन्। मलाई आफ्नो भविष्यको भन्दा पनि यही चिन्ताले सबभन्दा बढी पिरोलेको छ। मेरो भविष्य त यसै पनि ठगहरुको जमातको हातमा छ।

वीपीले कतै हाम्रो समयको भविष्यवाणी त गरीरहनुभएको छैन त्यहाँ???? हामी त्यहि बाटोमा जाँदैछौं तिब्र गतिमा।

शाह राजाहरुको दम्भका प्रति उहाँ यसरी पनि रोष् प्रकट गर्नुहुन्छ अर्को ठाऊँमा;

----रमाईलो त के छ भने भारतका सबभन्दा ठूला राजा अशोक आफूलाई राजा भन्नमा नै सन्तुष्ट थिए। उनलाई महाराजा समेत भनिनुपरेन। महाराजाधिराज भन्ने कुरा त उनले सपनामा पनि सोचेका थिएनन्, जबकि उनी सम्राट थिए।

January 26, 2012

मेरा बीपीमय दिनहरु-२


बीपीको 'जेल जर्नल' पढेपछिका कुरा लेखेको थिएँ अलि पहिलेनै यहि ब्लगको कतै। धेरै दिन लगाएर पढेको थिएँ त्यो पुस्तक। बीपीकै अर्को पुस्तक 'फेरि सुन्दरीजल' पढ्न झन् बढी समय लाग्यो। 

मलाई कुनै पनि किताब 'एक बसाई'मै पढ्न मन लाग्छ एउटा किताबै पढीभ्याउने 'एक बसाई'लाई बाल्यकाल र कैशोर्यले आफैंसंग लिएर गईसकेका छन् शायद। 'फेरि सुन्दरीजल' पनि अलि-अलि गर्दै पढियो, दैनिकीलाई दिनको एक-दुई पृष्ठका दरले या भनौं दैनिकीकै रुपमा पढियो:) फेरि चाँडै सकिएला भन्ने डरले मैले लगभग हरेक पृष्ठ दोहोराएर पढें।

२०१७ सालको काण्डपछिको लगत्तैको जेल बसाईलाई 'जेल जर्नल'ले समेटेको छ भने 'फेरि सुन्दरीजल'ले बीपी आफ्नो आठ वर्ष लामो प्रवास त्याग गरेर २०३३ सालको पुस १६ मा देश फर्केपछिको जेल जीवनको एक भागलाई समेटेको छ। नेपालीको भूमिमा टेक्नासाथ पंचायती सरकारले उहाँ र नेता गणेशमान (जीएम)लाई समातेर फेरि सुन्दरीजल जेलमै लैजान्छन्। यसैले किताबको नाम 'फेरि सुन्दरीजल' बन्न पुगेको निश्चित छ। बीपीले अंग्रेजीमा लेख्नुभएको दैनिकीको नेपाली अनुवाद हो यो किताब। अनुवादले बीपीको शैलीमाथि पूरा न्याय गरेको लागेको छ मलाई, किनभने 'फेरि सुन्दरीजल' पढ्दा 'जेल जर्नल'कै निरन्तरताको अनुभूति हुन्छ। 

ईन्दिरा गान्धीको कपटलाई आफूहरु नेपाल फर्किनुका कारणहरु मध्ये एक मानेर आलोचना गर्दै शुरु भएको छ दैनिकी। देश र राजनीतिका कुरा त बीपीको दैनिकीमा नपर्ने कुरै भएन, यस बाहेक बीपीलाई आफ्नो अनुपश्थितिमा आफ्नो परिवार कसरी चल्ला, 'गिरिजाले स्थिति कसरी सम्हाल्ला--?' भन्ने चिन्ताले गाँजरिहन्छ बेलाबेलामा। परिवारका सदस्यहरुको यादमा, प्रशंशामा उहाँ धेरै घोत्लिनुभएको छ, विशेष गरी सुशीलाजीप्रतिको अनुराग, प्रेम र आत्मीयतामा। सुशीलाजीको सम्झनामा धेरै भावुक बनेर, उहाँको फोटो हेरेर घोत्लिनुहुन्छ बीपी। आफ्नी मृत आमाको सम्झना र त्यो सम्झनाले उहाँलाई उर्जा दिने प्रसंगले पनि साह्रै प्रभावित पार्छ हामीलाई। 'जेल जर्नल'मा जस्तै उहाँको शैलजाजीसंगको आत्मीयता पनि ब्यक्त भएको देखिन्छ धेरै ठाऊँमा। शैलजालाई उहाँ अत्यन्त प्रशंशा गर्नुहुन्छ र 'उनी' पनि आफूसंगै भैदिएको भए जेल जीवन कठिन हुने थिएन भन्नुहुन्छ।  

जीएमले कोइराला परिवारको जीवन-चिन्तन शैलीको बहुतै प्रशंशा गर्नुहुँदोरहेछ भन्ने बुझिन्छ। बीपी आफैंपनि आफ्नो परिवारप्रतिको स्वाभिमानलाई खुल्ला उतार्नुहुन्छ, 'कोइराला कुनै परिवारको नाउँ होइन। यो एउटा मनोवैज्ञानिक, नैतिक र आध्यात्मिक चीज हो। यो जीवनको एउटा दृष्टिकोण हो।' भनेर। र उहाँ भन्नुहुन्छ, कोइराला परिवारसंगको लामो सहवासपछि '---जीएम---आफैं कोइरालाझैं बन्न पुग्नुभएको छ--'। बीपीले जीएमको स्वभाव र दैनिकीको पनि धेरै बयान गर्नुभएको छ आफ्ना दैनिकीका पानाहरुमा। जीएमको समय अनुसार चल्ने बानी र क्षमताको बयान बीपी यसरी गर्नुहुन्छ, 'सेकेण्ड सेकेण्डको हिसाब मिल्ने गरी चल्ने उहाँको क्रीयाकलापको आधारमा घडी समेत मिलाउन सकिन्छ।' जीएमका सबलता र कमजोरीहरुको बारेमा पनि विश्लेषण गर्नु भएको छ। विशेष गरी, बयान लिन र मुद्दा चलाउन उहाँ र जीएमलाई छुट्टाईएका दिनहरुमा उहाँले जीएमको उच्च मूल्यांकन गर्नुभएको छ। जीएमपनि नहुँदाको उहाँको एक्लोपनाले हामीलाई समेत सताऊँछ। 

आफनो जीवनको समीक्षा गर्नुभएको छ बीपीले ठाऊँ-ठाऊँमा र उहाँ आफूलाई जीवनसंग 'आत्मसन्तुष्ट' मान्नुहुन्छ। जीवनभरि कहिले राणाले र कहिले दरबारले सताएर अत्यन्त प्रतिकूल भौतिक र राजनैतिक परिश्थितिमा बस्नु परेपनि र खुल्ला राजनीतिमा आफ्नो क्षमताको पूरा उपयोग गर्न नपाएपनि परिश्थिति अनुसार आफूले गरेका धेरैजसो निर्णयहरु सही रहेको ठान्नुहुन्छ उहाँ। नैतिक रुपले आफू जहिलेपनि माथि रहेको लाग्छ उहाँलाई। टाढा पारएको परिवारप्रतिको आशक्तिको भावले अलिकति उदास र हठात् भएपनि राजनीतिक रुपमा आफू दृढ, मृत्यपर्यन्त दृढ रहने ईच्छाशक्ति देखिन्छ उहाँमा। धेरै ठाऊँमा उहाँले जीवन र मृत्युका बारेमा गम्भिर दार्शनिक चिन्तन पनि पोख्नुभएको छ। 

जेल जर्नलमा जस्तै बीपीको अध्ययनशीलता प्रचूर झल्किन्छ यसमा पनि। त्यस्तै लेख्नका लागि कागज यथेष्ट उपलब्ध नहुँदाका पीर पनि छन्। एक पटक त उहाँहरु कागत नपाएर पत्रिकाका छेऊ-छेऊका खाली भाग र ट्वाईलेट पेपरका चक्कामा समेत लेख्ने तयारीमा पुग्नु भएको रहेछ। पछि कागत उपलब्ध भएछ। 

यसमा जेल प्रशाशन, सेना, प्रहरी आदिका बारेमा कुरा त छँदैछ, तत्कालीन नेपाली राजनीतिका (राजा बाहेकका) अरु पात्रहरुका प्रसंग पनि धेरै आऊँछन्। सूर्य बहादुर थापा उहाँको विचारमा पहिले भारतीय एजेण्ट थिए र त्यतिखेर बिस्तारै राजासंग नजिक हुँदै थिए। भारतीय राजनीतिका पात्रहरुका प्रसंग पनि हुनेनै भए, भारत बाहेक अन्तका राजनीतिक पात्रहरुका कुरा पनि छन्। तत्कालीन नवनिर्वाचित अमेरिकी राष्ट्रपति जिम्मी कार्टरप्रति उहाँले निकै भरोसा राख्नुभएको देखिन्छ। 

तत्कालीन प्रशाशनले उहाँलाई उपचारका लागि अमेरिका जान दिएको थियो। अमेरिका बसाईका प्रसंग छैनन्, अमेरिकाबाट फर्केर आएपछि फेरि शुरु भएको जेल जीवनका दैनिकी भने छन्।  

ठाऊँ-ठाऊँमा भेटिने आफ्नो वरिपरिको प्रकृति वर्णन, चराहरुको वर्णन र मानवीय चरित्रको सुक्ष्म अवलोकनले पनि बीपीको संवेदनशील मन र कुशल साहित्य शिल्पको झलक दिन्छन्।
------------------------------------
पढीसक्नुभएको छैन भने पढिहाल्नुस्। ‘फेरि सुन्दरीजल’ एउटा छुटाउन नहुने कृति हो, नेपाली इतिहासको एउटा विशिष्ट कालखण्ड र त्यो कालखण्डका धेरै पात्रहरुको बारेमा बुझ्नका लागि यो दैनिकी अवश्य पनि सहायक सिद्ध हुनेछ। प्रजातन्त्र प्राप्तिका लागि बीपी र जीएमजस्ता नेताहरुले गरेको संघर्ष र त्यागलाई कहिल्यै नबिर्सनु र ती संघर्ष र त्यागका कथालाई आऊँदो पुस्तालाई पनि सुनाउनु हाम्रो दायित्व हो।  

January 18, 2012

शहर र देश

शहर 
जति  पस्यो उति फोहर 
जति  बस्यो उति फोहर 
यो फोहर काठमान्डौमा- 
जो फस्यो उहि फोहर


देश चलेको छ! 

सरकार गरीबीको कथा बाँडेर डलर फलाउँछ
एनजीओ गरीबको फोटो बेचेर डलर फलाउँछ
घर चलाउने-देश चलाउने जिम्मा चाहिँ सानेको-
अरबमा रगत-पसिना रोपेर डलर फलाउँछ 

January 08, 2012

शौचालयको कुरा, बानी बदल्ने कुरा

एघार दिन घर्केर गईसकेछ गाँठे पछिल्लो पोष्टपछि!

(ढिलै भएपनि) यहाँहरु सबैमा नव वर्ष २०१२ को हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु।

लेख्ने विषय कति मिलेका थिए कति, भ्याए पो! ति मध्ये पनि विशेष गरी उत्तर कोरीयाली तानाशाह किम जोङ्ग इलको मृत्यु र त्यहाँको मध्ययुगीन-सामन्ती सत्ता हस्तान्तरणका बारेमा केहि लेख्ने मन थियो। यसपछिका कुनै पोष्टमा भए पनि लेख्नेछु।

२०११ को अन्तिम दिन साँझ (पोखराको) लेकसाईडको सडक महोत्सब हेर्न पुगिएको थियो सपरिवार। सडक महोत्सब रमाईलै थियो, भिड पनि उल्कानै थियो र साँझ छिप्पिएर रातमा बदलिँदै जाँदा भिडको बाढी निरन्तर बढीरहेको थियो। पर्यटनमय पोखरा यतिखेर नि:सन्देह पर्यटकमय थियो। देशमा शान्ति-सुरक्षा बढ्दै जाँदा यो भिड बढ्ने निश्चित छ, र त्यसका लागि पर्यटन उद्योगलाई अझ सम्पन्न र व्यवश्थित बनाऊन जरुरी भईसकेको छ। पर्यटन उद्योगलाई कुनै छुट्टै चरीको नामजस्तो गरेर हेर्दा यसलाई विकसित र व्यवश्थित बनाउन सकिन्न, यसलाई प्रकृति संरक्षण, भौतिक पूर्वाधारहरुको विकास, आधुनिक सुविधाहरुको उपलब्धता र सुसंस्कृत मानवीय गुणको संयोजनका रुपमा समग्र रुपमा बुझ्नै पर्ने हुन्छ।

नेपालका शहरहरुको सबैभन्दा ठूला समस्याहरु मध्ये एक पर्याप्त सार्वजनिक शौचालयहरुको अभाव पनि हो भन्ने लाग्छ मलाई। यस्तै अभाव त्यो साँझ पनि अलि-अलि झेलियो। आफूले भए त केहि समय सहिन्थ्यो होला, तर छोरीलाई पनि त्यसै गर्न भन्न सकिएन। खाना खाने बेला भईसकेको पनि थिएन, नत्र त खान पसेकै रेष्टुरेण्टले काम चल्थ्यो होला। पिसाब गर्नकै लागि मात्रै कुनै रेष्टुरेण्ट पनि के पस्नु! 

लेकसाईडमा सार्वजनिक शौचालय (तालबाराही मन्दिरतिर जान) डुंगा चढ्ने घाटमा मात्रै छ। सडक महोत्सबमा लेकसाईडमा लोड शेडिङ्ग हुँदैन तर त्यो घाट भने अँध्यारै थियो, दुई-तीन मधुरा सडकबत्तीहरु मात्रै टिल्पिलाईरहेका थिए। त्यहाँ पुग्दा पुरुष शौचालयमात्रै खुला थियो र त्यहाँ बसेका भाइहरुले आफ्नै हिसाबले महिला र पुरुष दुबैका लागि त्यसको व्यवश्थापन गरिरहेका थिए। उनीहरु एकचोटि पुरुषहरुको मात्र समूहलाई भित्र पठाऊँथे, अर्को चोटि महिलाहरुको मात्र समूहलाई। यसरी 'पालो प्रथा' थियो शौचालय जाने:)

पछि घर फर्कने बेला फेरि छोरीले पिसाब गर्छु भनी। त्यतिखेर अलि परै पुगिसकिएकोले फरि भिड छिचोलेर घाटमै जाने आँट गर्न सकिएन र पछिल्तिरको चउरलाईनै बनाईयो शौचालय। यो 'खुल्ला आकाशमुनिको शौचालय' प्रयोग गर्ने भिड ठूलै थियो र त्यो भिडको आकार पनि बढीरहेकै थियो।

सडक महोत्सवले सडकमै प्रशश्त फोहरपनि उत्पादन गरीरहेको थियो। फोहरहरु फ्याँक्नका लागि ढ्वाङ्गको व्यवश्था भने एकदम कम थियो। पोहरको सडक महोत्सव र  पोखराका अरु केहि महोत्सवहरु पनि हेरेको छु मैले तर यो फोहर फाल्ने ढ्वाङ्गहरुको अभाव भने जहाँ पनि देखिन्छ। यो 'सानो' कुरामा ध्यान दिन सके यस्ता रमाईला महोत्सवहरु सुन्दर पनि हुने थिए।
-------------------------------------------
शौचालयकै कुरा अर्को एक प्रसंगमा पनि। जापानबाट केहि पारिवारिक मित्रहरुको समूह आएको थियो। उनीहरुसंग भेटघाटका लागि ५ तारीख साँझ फेरि पुगियो लेक साईड। खानपीनको कार्यक्रम थियो एउटा नाम चलेको रेष्टुरेण्टमा। गान बजान सहितको रेष्टुरेण्ट, त्यहाँको खाना आदि कुरा सबै स्तरीय थिए, तर शौचालय भने खत्तम! कुन्नि कता हो पढेजस्तो लाग्थ्यो, समाजको सभ्यताको स्तर त्यहाँका शौचालयहरुले देखाऊँछन् भनेर।  यदि यस्तै हो भने, हामीचाहिँ ढुंगेयुगकै स्तरमा रहेको मान्नुपर्ने हुन्छ।
-------------------------------------------
अनि अस्ति शुक्रवार कोरीयाको पुसान विश्वविद्यालयका प्रोफेसरहरुको टोलीसंग एउटा अन्तर्कृया कार्यक्रम थियो। आयोजक थिए पोखरा विश्वविद्यालय र नेपाल ईञ्जिनियर्स एशोशिएसनको पोखरा केन्द्र। एकजना प्रोफेसरले आफ्नो वक्तव्यमा विकासको कोरीयाली अनुभवलाई समेट्दै 'पैसा नहुँदैमा केहि पनि गर्न नसकिने होईन, आफ्नो चिन्तनशैली र बानीलाई बदलेमात्रै पनि धेरै गर्न सकिन्छ।' भनेर भनेका थिए। पछि एकजना नेपाली श्रोता मित्रले 'ल मैले बानी त बदलें रे, देशभक्त र ईमान्दार त भएँ रे, तर पैसा नभई मैले के गर्न सक्छु त?' भन्ने सारको आफ्नो लम्बेतान प्रश्न राखे।

'अवश्य धेरै गर्न सक्नुहुन्छ। उदाहरणका लागि, सडकमा फोहर नफाल्न वा सडक मिचेर घर नबनाऊन तपाईँलाई पैसा आवश्यक पर्छ? अवश्य पर्दैन। त्यहि हो विकासको शुरुवात---।' आत्मविश्वाशी कोरियाली प्रोफेसरको जवाफ पछि ति मित्र र हामी सबै नाजवाफ भएर शिर निहुरायौं।
-------------------------------------------
२०११ र १०१२ को दोसाँधले मलाई सिकाएका पाठ यिनै हुन्। तपाईँलाई नि?

December 28, 2011

यो जनताको फैसला हो!

संविधान सभासंग सम्बन्धित हालैका निर्णयहरुका कारण नेपालको सर्वोच्च अदालत यतिखेर चर्चामा छ। केहि समय पहिले सर्वोच्च अदालतबाट एउटा निर्णय भएको थियो, "संविधान सभाको अवधि अनन्तकालसम्म हुन सक्दैन, अब थपिएको म्याद जेठ १४ मा समाप्त हुँदासम्म पनि संविधान बनेन भने यो संविधानसभा भंग हुनेछ र नयाँ जनादेशमा जानुपर्नेछ।" भन्ने। त्यो निर्णयलाई एमाले, माओवादी लगायतका दल र नेताहरुले शुरुदेखिनै धारेहात लगाईसकेका थिए, कांग्रेस भने केहि समय मौन बसेको थियो।

अहिले आएर सबै दलहरु, कांग्रेस समेत, सर्वोच्चको उक्त निर्णयको पुनरावलोकन गर्न निवेदन दिने सहमतिमा पगे र त्यहि सहमति अनुरुप हिजो सरकार र संसद सर्वोच्चमा पुगेका थिए, उक्त निर्णय पुनरावलोकन गर्ने निवेदन दिन। सर्वोच्चले उनीहरुको पुनरावलोकन निवेदन दर्ता गर्न अस्वीकार गरिदियो।

यसैले अब नेताहरु अझ जोडले सर्वोच्चलाई गाली गर्न थालेका छन्, न्यायपालिका तानाशाही भयो आदि भनेर। निकम्मा संविधानसभाले आफ्नो म्याद आफैं बढाऊँदै राज्यकोष रित्याईरहँदा र तोकिएभन्दा दुई वर्ष बढीको म्याद थपिसक्दा समेत संविधान बन्न नसक्दा जनतामा यो संविधानसभा र यससंग जोडिएका सबै राजनीतिक दल र नेताहरुप्रति वितृष्णा जागिसकेको छ। त्यसैले यसपटकका यी दुई निर्णयले जनताको मनोभावनाको पूर्ण प्रतिनिधित्व गरेका छन्। अधिनायकवादी र तानाशाहहरु आफूभन्दा फरक सोच्ने अरुलाई उल्टो तानाशाह र अधिनायकवादीको दोष लगाऊँछन्। हाम्रा दल र नेताहरु आफूभन्दा अरु सबै गलत भन्ने कुसोचले ग्रस्त छन् र सर्वोच्च अदालतप्रतिको यिनीहरुको यतिखेरको विषवमनको कारण यहि हो कि सर्वोच्चले यिनीहरुको भ्रष्टता र निकम्मापनमा लगाम लगाउने जमर्को गरेको छ।

एउटा दैनिकमा आज छापिएको एउटा 'विश्लेषण'मा सर्वोच्चको यो कदमलाई लिएर "-------तर राजनीतिक अकर्मण्यताको जवाफ अदालतले होइन, जनताले दिनुपर्छ । लोकतान्त्रिक पद्धतिको सुन्दर पक्ष भनेको काम गर्न नसक्ने राजनीतिकर्मीहरूलाई आवधिक निर्वाचनमा पराजित गरी जनताले दण्डित गर्नु हो।" भनेर लेखिएको छ। पार्टी र तिनका पत्रु नेताको कुरै छोडौं, यतिखेर देशका स्वनामधन्य 'विश्लेषक' र 'कानूनजीवि'हरुले पनि नबुझेको कुरा के हो भने सर्वोच्च अदालत जनताको त्यहि "आवधिक निर्वाचन" मा भाग लिन पाउने अधिकारलाई सुनिश्चित गर्न खोज्दैछ। ऊ एकपटक चुनिएको कुनै पनि 'सभा'को निश्चित अवधि हुनुपर्छ र यो वा त्यो बहानामा अवधि लम्बिरहनु हुँदैन मात्र भनीरहेछ।

यो देशमा दल, नेता र संविधानसभाले जनताको आवाज सुन्न छोडेको धेरै भईसक्यो किनभने लम्बिँदो संविधानसभासंगै लम्बिने संक्रमणकालमा दलीय मिलोमतोबाट देश चुस्ने बानी उनीहरुलाई लागीसकेको छ, देश र जनताका समस्याप्रति उनीहरुमा कुनै संवेदना छैन। स्थानीय निकायको निर्वाचन नभएको एक जुग भईसक्यो, कथित संविधानसभाले संविधान नलेखुञ्जेल हुने छाँट पनि छैन। अनि संविधान लेखिने छाँट पनि छैन। फेरि केन्द्रमा म्याद गुज्रिसकेका र आफ्नो म्याद आफैं बढाऊँदै बसेकाहरुबाट आयोजन हुने स्थानीय चुनाव पनि कुन रंगको हुने हो, जनतालाई थाहा छैन। यसैले देशको समस्या भनेको अनिश्चित कालसम्म लम्बिँदै जान खोजेको संविधानसभा हो। जनताको धैर्यको बाँध टुटीसकेको छ र आगामी जेठ १४ सम्म संविधान बनेन भने ताजा जनादेशमा जानुको कुनै विकल्प छैन।

जतिपटक म्याद थपे पनि हाम्रा दल र नेताहरु गम्भिर हुने छाँट बिल्कुलै देखिँदैन। गम्भिर हुने हो भने सम्बिधान लेख्नका लागि अब बाँकी पाँच महिना पनि कम होईन। आफ्ना आग्रह-पूर्वाग्रहहरुलाई छोडेर देश र जनताका लागि सोचे भने यो अवधिमा पनि धेरै असहमतिहरु समाधान हुनेछन् र देशले संविधान पाउनेछ। यदि सबै विषयमा सहमति जुट्दैन भने, सहमति जुटेका विषयलाई मात्र समावेश गरेर संविधान लेख्ने र बाँकी मुद्दाहरुलाई भविष्यको संसदको दुई तिहाई वा तीन चौथाई वहुमतले समाधान गर्ने गरी अगाडि जान पनि सकिन्छ।

मुख्य कुरो, कुनै पनि निर्वाचित निकायको अवधि निश्चित हुन्छ, यसले आफ्नो म्याद आफैं थप्दै आफ्नो आयु अनन्तसम्म लम्ब्याईरहन पाऊँदैन।

जनताले आवधिक रुपमा आफ्नो जनादेश दिईरहन पाउनुपर्छ। यसैले सर्वोच्चको यो फैसला यतिखेर सम्पूर्ण नेपाली जनताको फैसला हो।

December 20, 2011

कांग्रेसले पोखेर रित्याएको पुँजी

यो देशमा आफूलाई सबैभन्दा ठूलो राष्ट्रवादी र जनताको सबैभन्दा शुभचिन्तक नठान्ने दल कुनै छैनन्। सबै आफूलाई एक से एक लोकतन्त्रवादी पनि ठान्छन्, भलै लोकतन्त्रको परिभाषा सबैका आ-आफ्नै हुन्छन्, देशभक्तिका परिभाषा र रुप पनि सबैका आ-आफ्नै हुन्छन्। 

देशका अरु दलहरु कोहि वामपन्थी/साम्यवादी खेमाका भएका र कोहि पूर्व पञ्चहरुको नेतृत्वमा रहेकाले आफूलाई खाँट्टी र अब्बल दर्जाको प्रजातन्त्रवादी (वा अहिलेको भाषामा लोकतन्त्रवादी) 'स्वघोषणा' गर्ने अधिकार केहि वर्षयता कांग्रेसले पाएको छ। हुनत, २०४६ सालपछि देखिएको कांग्रेसी दम्भ, असहिष्णुता र अहंलाई धेरै मान्छेले बिर्सिसकेका छैनन् तर द्वन्द्वकालमा माओवादीबाट सबैभन्दा बढी सताईएको कारणले पनि कांग्रेसप्रति जनतामा एक प्रकारको सहानुभूति जन्मन थालेको थियो। हो न हो, कांग्रेसचाहिँ सहिष्णु संस्कार बोकेर बसेको छ भन्ने भ्रम पर्न थालेको थियो मान्छेमा। यतिखेर त्यो भ्रम नराम्ररी चिरिएको छ। कांग्रेसको मन बदलिएको होईन रहेछ, यो पनि मौका पाउना साथ आफैंले तानाशाही र अधिनायकवादी भनेका दलहरु जस्तै असहिष्णु, बाहुबली र आतंकवादी रहेछ।

हिजोको बन्द र देशको सडकमा देखिएको गुण्डाराजले यहि प्रमाणित गरेको छ।

देश केहि वर्ष यता बन्द, हडताल र चक्काजामको चक्कामुनि नराम्ररी पिसिएको छ। कम्युनिष्ट दल र तिनका भातृसंगठनहरु अनि च्याऊझैं उम्रिएका अनगिन्ती संघसंस्थाको बन्दले देशको आर्थिक, सामाजिक र राजनीतिक जीवन रसातलतिरको बाटोमा हिँडिसकेको छ। यो परिश्थितिमा कांग्रेस देशमा एउटै मात्र 'बन्द' नगर्ने दल बनेको थियो। विगत केहि वर्षमा कांग्रेसले जम्मा पारेको यो एउटा ठूलो नैतिक पुँजी थियो। यो पुँजीलाई जोगाउन सकेको भए कांग्रेसले सही समयमा यसको उचित प्रतिफल पाउने थियो।

तर कांग्रेसीहरुले त्यो पुँजीलाई जोगाउन चाहेनन्, उनीहरु पनि क्षणिक आवेशमा क्षणिक हिसाबकिताबको लोभमा फँसे।

र उनीहरुले आफूले जम्मा गरेको पुँजीलाई हिजो दिनभरि सडकमा पोखेर भाँडो रित्याए।

 

December 13, 2011

झुम्कामा झुमौं है!


(आज एकजना सहयात्री ब्लगर भाईबाट प्राप्त समाचार, जस्ताको जस्तै। )

नेपालजस्तो विकासोन्मुख मुलुकमा ईण्टरनेटका प्रयोगकर्ताहरु दिन-प्रतिदिन बढ्दै गएका छन्। तिनै ईण्टरनेट प्रयोगकर्ताहरुलाई लक्षित गर्दै नयाँ समाचार वेवसाइट झुम्का डट कम शुरु भएको छ। अरु सामाजिक सञ्जालमा भन्दा थप नयाँ सुविधाहरु पाईने झुम्का डट कममा संसारको जुनसुकै कुनामा बसेर पनि समाचार, ब्लग, तस्बीर, अडियो, भिडियो यसमा अपलोड गर्न मिल्ने सुविधा छ।

झुम्का डट कमको साइटमा छिरेर आफ्नो एकाउण्ट खोलेपछि जो सुकैलाई यो सुविधा उपलब्ध हुनेछ। कसैलाई मोडेलिङ गर्न मन छ भने त्यो रहर पनि झुम्का डट कमले नि:शुल्क रुपमा पूरा गरिदिनेछ। साथै ठूला सञ्चार माध्यमहरुले समेट्न नसकेका, ध्यान नदिएका विषयहरु पनि यसले देश-विदेशका नेपालीहरुलाई जोड्न पनि मद्दत पुर्याउन सक्नेछ। अमेरिकामा सञ्चालित धेरैजसो  वेवसाइटहरुले बढीजसो नेपालको राजनीति, गरिबी, बेरोजगारीका बारेमा नकारात्मक कुराहरु लेखेकाले सकारात्मक समाचार दिन आफूले नयाँ वेवसाइट शुरु गरेको यसका सञ्चालक राम अधिकारीले बताए। 'संसारभर नेपालका बारेमा सकारात्मक खबर फैलाउन र सूचना, मनोरञ्जन दिन खोजेका छौं।' उनले भने।




December 04, 2011

एउटा रुख