November 16, 2016

प्लाष्टिकका झोला:प्रतिबन्ध कि पुनर्प्रशोधन?

एक महिनाजति पहिले पोखराबाट प्रकाशित हुने एउटा दैनिकमा छापिएको एउटा समाचारको शीर्षक थियोपोखरामा प्लाष्टिकका झोला तथा गिलास मुक्त नगर घोषणाको तयारी पुन: शुरु उक्त समाचारको शिर्षकले मेरो मनमा दुईवटा वैकल्पिक अर्थ सुझाएको थियो पहिलो, पोखरामा यस्तो घोषणा पहिल्यै गरिसकिएको तर त्यो असफल भएको र यसैले फेरि घोषणा गर्न आवश्यक परेको। दोश्रो, पहिला तयारी गरेर पनि घोषणा गर्न नसकिएको अब फेरि घोषणाको तयारी हुँदै गरेको। दोश्रो अर्थले एउटा चल्तीको चुट्किला पनि सम्झाऊँछ। एउटा मान्छेले आफ्नो साथीलाई भनेछ-मलाई फेरि न्यूयोर्क जान मन लाग्यो यार! साथी छक्क परेर सोधेछ-पहिला कहिले गएको थिईस् ? अनि पहिलोले भनेछ- अहिलेसम्म गएको छैन तर पहिला एकचोटि पनि जान मन लागेको थियो।

चूट्किलाको रमाईलो छोडौं। अब त घोषणानै भईसक्यो, ‘प्लाष्टिक झोला बाईबाई’ शीर्षकको समाचारपनि पढिसकियो। ‘खुला दिशा मुक्त’ पछि पोखरालाई अर्को ‘मुक्त’को उपहार दिने यो चर्चा बीचमा चाडबाड र भारतीय राष्ट्रपतिको पोखरा भ्रमणको चर्चाको छायामा पर्यो। चाडबाड र लामा बिदाका दिनमा उपमहानगरपालिकाले तयारी कत्तिको गर्यो होला वा गर्न भ्यायो होला भन्ने कुरापनि आफ्नो ठाऊँमा छँदैछ।
समाचारहरुमा प्लाष्टिकका झोला र कपहरु भनेर आएको छ। प्लाष्टिक कप हटाउने सवालमा, यसका सहज र सरल विकल्पहरु उपलब्ध हुने भएकाले यो त्यति ठूलो समस्या होईन। झोलाहरुका हकमा कुरो फरक हुन्छ। फेरि घोषणासम्बन्धी समाचारहरुमा ठूलो-सानो साइज वा मोटाइका बारेमा केहि उल्लेख छैन। यसैले समाचारबाट हामीले बनाउन सकिने धारणा भनेको घोषणा अनुसार सबै साइजका-सबै मोटाइका काने प्लाष्टिक झोलाहरु प्रतिबन्धित गर्न खोजिँदै छ भन्ने हो।

यस्ता घोषणा गर्नु घोषणाको उपादेयता छ कि छैन घोषणा गरीसकेपछि घोषणा सफल हुन्छ कि  हुँदैन भन्ने विषयमा प्रशस्त सोचविचार हुनुपर्छ हप्ता दिन पनि टिक्न नसक्ने घोषणाको कुनै अर्थ छैन। प्लाष्टिकका झोलाको प्रयोग आफैंमा मात्र समस्या हो कि प्रयोगपछि उचित ब्यवश्थापन हुन नसक्नुचाहिँ समस्या हो भन्ने विषयमा यथेष्ट सघन छलफलनै हुन सकेको छैन अझै, हामीले भने हतारमा घोषणा गरीसक्यौं।

पहिलो पटक घोषणाको तयारी हुँदै गर्दा स्थानीय प्लाष्टिक उद्योगहरु यसका विरुद्ध अदालत पुगेका थिए। प्लाष्टिक उद्योगमा गरिएको करोडौंको लगानी र  यससंग जोडिने थुप्रै आर्थिक गतिविधिबारे कुनै सोचविचार नगरी हतारमा घोषणा नहोस् भन्ने माग थियो उद्योगहरुको। पंक्तिकारले स्थानीय प्लाष्टिक उद्योगीहरुसंग कुराकानी गर्दा यसपटकको तयारी र घोषणामा पनि उप-महानगरपालिकाले प्लाष्टिक उद्योग र यससंग जोडिएको आर्थिक पाटोमा कुनै संवेदनशीलता नदेखाएको गुनासो र निराशा भेटेको छ। पोखराका स्थानीय प्लाष्टिक उद्योगहरुले उत्पादनमा प्रयोग गरिने मेशीनरी र अन्य भौतिक पूर्वाधारहरुमा दश करोडभन्दा माथिको लगानी गरेका छन। यस्तै, ब्यवसायीहरुका अनुसार हाल बजारमा बिक्री हुन बाँकी प्लाष्टिकको मूल्यांकन गर्ने हो भने सहजै करोडभन्दा माथि जानसक्छ। यदि अहिलेका अहिल्यै प्रतिबन्ध लगाउने हो भने यी लगानीहरुको क्षतिपूर्ति दिनुपर्छ कि पर्दैन? अर्कोतिर, बजारमा थुप्रिएको प्लाष्टिकलाई त क्षतिपूर्ति  दिएर नष्ट गर्न सकिएला तर करोडौं मूल्यका मेशीन-उपकरणहरुलाई चाहिँ के गर्ने? राज्यको नीति र कानूनले प्लाष्टिक उद्योग खोल्न दिने तर स्थानीय निकायलेचाहिँ प्रयोगमा पूरै प्रतिबन्ध लगाउने, यो चरम विरोधाभाष भयो कि भएन? यदि प्रतिबन्ध लगाउनेनै हो भने आफ्ना उद्योगलाई अरु कुनै उपयोगमा लगाउने गरी क्रमिक तयारी गर्न उद्योगीहरुलाई ४-५ वर्षको समय दिनुपर्छ कि पर्दैन? अदालतले उद्योगीहरुको रिट खारेज गरिदिएकाले अब पेलेरै गए हुन्छ भन्ने मानसिकता हो भने त्यो बिडम्बनापूर्ण हो। उद्योगधन्दा र ब्यवसायीहरुले फेरि मुद्दा दायर गरेर कानूनी लडाईँ लड्न सक्ने बाटो सकिईसकेको पनि छैन होला।

प्लाष्टिक आधुनिक मानव जीवनको एउटा अभिन्न अंग बनीसकेको छ। सन् १९०७ मा अमेरिकी वैज्ञानिक लिओ बेकल्याण्डले बेकेलाइट आविष्कार गरेपछि प्लाष्टिक युग शुरु भएको मानिन्छ। प्लाष्टिक शब्द सबैभन्दा पहिला प्रयोग गर्ने पनि उनै बेकल्याण्ड हुन्। विगतका पाषाण युग, लौह युग आदिजस्तै हाम्रो युगलाई प्लाष्टिक युग भन्दा कुनै अत्युक्ति हुँदैन। सजिलो उत्पादन, कम लागत, आवश्यकता अनुसारको आकार-प्रकार-रंग आदिमा उत्पादन गर्न सकिने र पानी नछिर्ने कारणले गर्दा प्लाष्टिक हाम्रो जीवनमा सबैभन्दा बढी प्रयोग हुने चीजमध्येमा पर्छ। प्लाष्टिकको प्रयोग कागज च्याप्ने क्लिप बनाउनदेखि लिएर अन्तरिक्षयानसम्ममा भएको छ। हामीले परम्परागत रुपमा प्रयोग गर्दै आएका काठ, छाला, कागत, धातु, ग्लास, सेरामिक आदिजस्ता सबै बस्तुलाई प्लाष्टिकजन्य सामाग्रीले तिब्र गतिमा विष्थापित गरीरहेका छन्। विकसित देशहरुमा प्लाष्टिकजन्य प्रयोगको एक तिहाइ प्याकेजिङ्गले लिएको छ भने अर्को एक तिहाइ प्लम्बिङ्गमा प्रयोग हुने पाइपहरुले ओगट्छन्। अटोमोबाइल उद्योग, फर्निचर उद्योग, खेलौना उद्योग र मेडिकल क्षेत्रले बाँकी हिस्सा ओगट्छन्। भारतमा ४२ प्रतिशत हिस्सा प्याकेजिङ्गको छ। हाम्रो देशमा यस्तो अध्ययन जहाँसम्म लाग्छ भईसकेको छैन।

प्लाष्टिकका झोलाले हाम्रो किनमेललाई सहज र छरितो बनाएका छन्। आजभोलि मान्छेले केहि दिनलाई पुग्ने गरी एकै पटक तरकारी, दाल-चामल, मासु, अण्डा आदि किन्छन्। यस्तो अवश्थामा सबै कुरा एउटै झोलामा खाँदखुँद गर्न मिल्दैन, एक-अर्कामा मिसाउन नहुने कुराहरु धेरै हुन्छन्। कतिपय चीजहरु चिसा र अर्ध तरल हुन्छन्, तिनलाई प्लाष्टिककै झोलामा राख्नुपर्ने हुन्छ। प्लाष्टिकका झोला आवश्यकता अनुसारका साइज र प्रकारमा पाईने हुँदा धेरै सजिलो भएको छ। अब प्लाष्टिकका काने झोलालाई हामीले विष्थापित गर्ने हो भने त्यत्तिकै  सुरक्षित र विविधतापूर्ण हुनसक्ने विकल्प दिन सक्नुपर्छ। कपडाको झोलाहरुलाई विकल्प मान्ने हो भने ती सबै साइज र प्रकारमा उपलब्ध गराउन सकिँदैन। सकिएछ भने पनि धेरै महंगो पर्नसक्छ। फेरि कपडा भिज्ने हुँदा माछा-मासुजस्ता चिज त्यसमा सिधै राख्न सकिँदैन, प्लाष्टिकको झोला चाहिन्छनै। अर्को एउटा विकल्प परम्परागत रुपमा प्रयोग गरिएजस्तो कागजका पोकाहरु हो। कागजका पोकाको ब्यापारिक उत्पादन त गर्न सकिएला तर प्लाष्टिकका झोलाको जस्तो सस्तो र ठूलो परिमाणमा सकिँदैन। कागजको पोका प्लाष्टिकजस्तो सबै अवश्थाका लागि उपयुक्त पनि हुनसक्दैन। विकसित देशमा दूध आदिलाई विशेष प्रकारका कागजका प्याकेटमा पनि बिक्री गरिन्छ, तर सबै चिजलाई हुने गरी कागजका पोकाहरु बनाउने प्रविधि तयार भैसकेको छैन। भएका प्रविधि भित्र्याउन पनि केहि वर्ष लाग्छ र ठूलो लगानीको कुरा पनि आऊँछ। फेरि विकसित देशमै पनि प्लाष्टिकका झोलाहरु पूर्ण रुपमा विष्थापित हुन सकेका छैनन्।

चर्चाको अर्को प्रमुख पाटो भनेको ‘प्लाष्टिकको काने झोला र कप मात्र किन?’  र ‘प्लाष्टिकजन्य सम्पूर्ण प्याकेजिङ्ग किन होईन?’ भन्ने हो।

प्लाष्टिकका झोलाहरु हटाउने कुराको पक्षमा प्रदूषण कम गर्ने उद्देश्य भन्ने तर्क राख्ने गरिन्छ। प्लाष्टिक निश्चित रुपमा वातावरणीय प्रदूषणको ठूलो स्रोत हो। सामान्यतया नकुहिने र बालेपनि हानिकारक ग्यासहरु उत्सर्जन गर्ने हुँदा यसको ब्यवष्थापन निश्चय पनि सजिलो छैन।  तर हामी दैनिक जीवनमा जति प्लाष्टिकको प्रयोग गर्छौं त्यसमा काने झोलाको रुपमा आउने प्लाष्टिकको अंश थोरै छ। यसबारेमा यकीन तथ्यांक निकाल्नका लागि केहि अनुसन्धान गर्नुपर्ने हुन्छ तर हामी हाम्रो दैनिक जीवनबाटै लगभगको निष्कर्ष निकाल्न सक्छौं। अहिले बजारमा पाइने हरेक चकलेट-चाऊचाऊ, दूध, दहीदेखि अरु अनेक खानेकुरा रंगीचंगी प्लाष्टिक प्याकेटमा आऊँछन्। स्थानीय स्तरमा उत्पादन भएका दाल, गेडागुडी आदिजस्ता चिजहरु समेत प्लाष्टिकका पोकामा राखेर बेचिन्छ। पूजामा प्रयोग गरिने अबीर, केसरी देखि चाडबाडका सजावटका सामान सबै प्लाष्टिक प्याकेटमै आऊँछन्। खेलौना र सजावटका अनेक सामाग्रीहरु प्लाष्टिकबाटै बनेका हुन्छन् यो सूचिलाई अनन्तसम्म तन्काउन सकिन्छ। बजारु पेय पदार्थहरु भरिएर आउने पेट बोटलहरुपनि प्लाष्टिककै एक रुप हुन्। यीनको उपभोग प्रतिशत अझ ठूलो हुनसक्छ।

यसैले हाम्रो दैनिक जीवनबाट उत्पादित हुने प्लाष्टिकजन्य फोहरमा काने झोलाको अंश हामीले सोचेभन्दा कमनै हुने देखिन्छ। अब काने झोला हटाईयो भनेपनि बजारमा माथि उल्लेख गरिएका अरु प्लाष्टिक त  बाँकी रहन्छन् नै। यसले प्लाष्टिकजन्य प्रदूषणमा कुनै तात्विक कमी ल्याउने देखिन्न। अरु प्लाष्टिकलाई नछुने तर काने झोलाका पछाडिमात्र हात धोएर लाग्ने कुरामा यसैले कुनै तुक छैन। स्थानीय र राष्ट्रिय प्लाष्टिक उद्योगलाई केहि समय अप्ठेरोमा पार्ने, आतंकित बनाउने बाहेक यसको कुनै परिणाम ‍पनि निस्कने छैन। बजारको थोरै हिस्सा भएपनि ओगटीरहेका यी नेपाली प्लाष्टिक उद्योगलाई धराशायी बनाउनु भनेको भारतीय प्लाष्टिक उद्योगलाई अझ पूरै बजार ओगट्न दिनु हो किनभने यो घोषणाले प्लाष्टिकको प्रयोगलाई रोक्न सक्दैन, स्वदेशी उत्पादनका प्लाष्टिक उपलब्ध नभए तस्करी भएर पनि भारतीय प्लाष्टिक आईपुग्छ।

यसरी यी पंक्तिहरु लेखिरहँदा, पंक्तिकारको आशय प्लाष्टिक झोलाहरुको प्रयोगलाई अझ बेपर्वाह बढाउनुपर्छ भन्नेचाहिँ कदापि होईन। वातावरणीय प्रदूषण र मानवीय स्वास्थ्यमा पर्नसक्ने प्रतिकूल असरका कारण प्लाष्टिकको प्रयोगलाई हामीले जति कम गर्न सक्यो त्यति राम्रो हो। यसका लागि काने झोला र कपमात्रै होईन अरु प्लाष्टिकहरुको प्रयोग पनि कम गर्दै जानुपर्छ। तर दैनिक जीवनमा गहिरोसंग गाँसिईसकेको प्लाष्टिकको झोलाजस्तो वस्तुलाई फ्याट्ट कुनै ‘छु मन्तर!’ घोषणा गरेर तुरुन्तै हटाऊँछु भन्नु गलत हो, ज्यादती हो र हटाउन सम्भव पनि छैन। डलर खेतीवालाहरुले गर्नेजस्तो ‘घोषणाका लगि घोषणा’ उपमहानगरपालिकाजस्तो निकायले गरेको सुहाऊँदैन।

प्लाष्टिकका झोलालाई प्रतिबन्ध लगाएर ‘प्लाष्टिक झोलामुक्त शहर’ घोषणा गर्ने केटौले ‘क्रान्तिकारिता’ को साटो जनचेतनामूलक कार्यक्रमहरु अघि बढाएर जनता आफैं प्लाष्टिकका झोला कम प्रयोग गर्न प्रेरित हुने स्थिति निर्माण गर्न सक्नुपर्छ यस्ता सरकारी निकायले। यहि घोषणाकै सन्दर्भमा पनि दु:खका साथ भन्नुपर्छ, नगरपालिकाले सचेतनाको पाटोमा भने केहि पनि गरेको देखिँदैन। प्लाष्टिक झोलाका प्रमुख सरोकारवालाहरु मध्येका सर्वसाधारण उपभोक्ता र खुद्रा ब्यापारीहरुलाई यो घोषणाका बारेमा केहि थाहा छैन। जसले पत्रिका वा अरु कुनै सञ्चारमाध्यमबाट थाहा पाएका छन्, उनीहरुले यसलाई ‘घोषणाका लगि घोषणा’ बाहेक केहि पनि मानेका छैनन्। प्लाष्टिकको अब्यवश्थित प्रयोगले वातावरणमा पुर्याउने हानिका बारेमा ब्यापक सचेतनामूलक कार्यक्रम सञ्चालन नगरी आवश्यक सामाजिक चेतना सृजना हुन सक्दैन। यसका लागि प्रभावशाली श्रब्य-दृश्य सामाग्रीहरु आवश्यक पर्न सक्छन्। सामाजिक सचेतना जगाउने र दिगो बनाउने अर्को प्रमुख बाटो भनेको प्राथमिक तहदेखिकै विद्यालय पाठ्यक्रममा प्रदूषण र प्लाष्टिकजन्य प्रदूषणसम्बन्धी विषयवस्तुहरु संलग्न गर्नु हो। सरकारले तोकेको पाठ्यक्रममा यस्ता कुरा छैनन् भने नगरपालिका आफैंले प्रदूषण सम्बन्धी शैक्षिक सामाग्रीहरु तयार पारेर प्रत्येक विद्यालयलाई दिनसक्छ। प्लाष्टिकले गर्ने प्रदूषण, प्लाष्टिकजन्य फोहरलाई अरु फोहरबाट छुट्याएर निश्चित ठाऊँमा जम्मा गर्नेजस्ता कुरा सानैदेखि सिकाउनु जरुरी छ। त्यस्तै, बाटाघाटा, नदीनालामा प्लाष्टिक फ्याँक्ने ब्यक्तिलाई दण्ड-जरिवाना गर्नुपर्छ। सचेतनाको अभाव र दण्ड जरिवानाको पनि डर नभएका करण अहिले साना देखि बूढासम्म हामी सबै शहरवासी बाटाघाटा, नदीनाला जताततै मनपरी प्लाष्टिक फ्याँक्छौं।

अर्कोतिर, प्लाष्टिकको कम प्रयोग गर्न उपभोक्तालाई उत्प्रेरित गर्नका लागि प्लाष्टिकका झोलामै निश्चित मूल्य लगाउन पनि सकिन्छ। अहिले सामान किन्दा प्लाष्टिकका झोला सित्तैंमा पाईन्छ। प्रत्येक प्लाष्टिकको झोलाका लागि मूल्य तोक्दिने हो भने उपभोक्ता प्लाष्टिकका झोला अति आवश्यक बाहेक अरु बेलामा नलिनका लागि प्रोत्साहित हुन्छन् र लिनैपरे पनि न्यूनतम संख्यामा लिन प्रोत्साहित हुन्छन्।

अर्को कदम पुनर्प्रयोगको सचेतना जगाउनु हो। कम प्रयोग गर्नेमात्र नभई कुनै प्लाष्टिकको झोला एक पटकको प्रयोगपछिनै नफ्याँकी कम्तिमा अरु दुई-तीन पटकसम्म प्रयोग गर्न सकिन्छ। उदाहरणका लगि, कापी-किताब वा लुगा हालेर ल्याएको प्लाष्टिकको झोलालाई तरकारी किन्दा प्रयोग गर्न सकिन्छ।

चाल्न सकिने अर्को कदम भनेको सबै थरी प्लाष्टिकको पुनर्प्रशोधन (रिसाइक्लिङ) हो। प्लाष्टिक उच्च पुनर्प्रशोधनीय गुण भएको वस्तु हो। पूरानो प्लाष्टिक नयाँ प्लाष्टिकको कच्चा पदार्थ हो। पोखरा वा आसपासमै  प्लाष्टिक पुनर्प्रशोधन उद्योगलाई अगाडि बढाउन सक्ने हो भने प्रदूषणको ब्यवश्थापन हुनुका साथै यसले यो क्षेत्रका लागि धेरै प्रत्यक्ष-अप्रत्यक्ष रोजगारी सृजना गर्न सक्छ। यो पुनर्प्रशोधन प्लाष्टिक झोला वा प्लाष्टिक प्याकेजिङ्गको मात्र नभएर पेट बोटल र प्लाष्टिकका अन्य स्वरुपहरुका लागि पनि हुनुपर्छ। यसका लागि केहि नीतिगत पूर्वाधारको आवश्यकता पर्छ र शुरुवाती लगानीकर्ताका लागि केहि सुविधाहरु दिनुपर्ने हुनसक्छ।

प्लाष्टिकजन्य समस्याको समाधान यसैले ‘कमप्रयोग, पुनर्प्रयोग र पुनर्प्रशोधन’ हो, कुनै प्रतिबन्धात्मक ‘घोषणा’ होईन।

(यो लेख केहि सम्पादन सहित पोखराबाट प्रकाशित हुने 'समाधान राष्ट्रिय दैनिक' को २०७३, कार्तिक ३० मंगलबारको अंकमा प्रकाशित भएको छ।)

September 21, 2016

‘नाकाबन्दी’ भन्नुहुन्न, सम्बन्ध बिग्रन्छ!

कुट्यो भन्नुहुन्न, सम्बन्ध बिग्रन्छ
‘हामी राजीखुशीले कुटिएका हौं! भन्नुपर्छ
लुट्यो भन्नुहुन्न, सम्बन्ध बिग्रन्छ
‘हामीले राजीखुशी राजिनामा दिएका हौं! भन्नुपर्छ
उसका लागि हामीले-
‘रोटी-बेटी’को बुर्का ओढिदिईरहनुपर्छ
र उसले-
हाम्रो ढाडमा छुरा रोप्न पाईरहनुपर्छ
उसले ढाडमा छुरी रोपेको बेला-
हामीले ‘ऐया!’ भन्नुहुन्न, सम्बन्ध बिग्रन्छ
‘छुराले किन रोपिस्?’ भन्नुहुन्न, सम्बन्ध बिग्रन्छ
‘मेरो ढाड आफैं छुरा खोज्दै गएको हो।‘ भन्नुपर्छ
ढाडबाट भुल्भुली निस्केको- रगत होईन भन्नुपर्छ
त्यो उसको ‘महान मित्रता’को निशानी हो भन्नुपर्छ

हाम्रो आँगनमा उसले बुट बजारे ताली बजाइदिनुपर्छ
हाम्रो मझेरीमा उसले खुट्टा पसारे रमाईदिनुपर्छ
रमाउन मन नलागे आँखा चिम्लिनुपर्छ
उसको हात चिलाए हामीले गाला थापिदिनुपर्छ
उसको हात अझै चिलाए अर्को गाला थापिदिनुपर्छ
यसरी हामीले-
गालापछि गाला थापिदिईरहनुपर्छ

नदी दिनुपर्छ, पानी दिनुपर्छ
पहाड दिनुपर्छ, ढुंगा दिनुपर्छ
‘बगेर पनि उतै जाने त हो नि!’ भन्नुपर्छ
उस्का लागि हामी भेलमा बगिदिनुपर्छ
उस्का लागि हामी बाढीमा डुबिदिनुपर्छ
तर गुनासो गर्नुहुँदैन, सम्बन्ध बिग्रन्छ
यौवन दिनुपर्छ, जीवन दिनुपर्छ
ठाऊँ-ठाऊँमा उसको जयगान गर्दिनुपर्छ
खटाई-खटाई सास फेर्नुपर्छ
लुकेर सुस्केरा हाल्नुपर्छ
तर हामीले चित्त दुखाउनु हुँदैन
हामी चित्त नभएका ढुंगा-मूढा बनीदिनुपर्छ
हामीले चित्त दुखाए उसलाई रिस उठ्छ
यसैले चित्त दुखाउनु हुँदैन, सम्बन्ध बिग्रन्छ
हामीले लामो सास ताने उसलाई झर्को लाग्छ
यसैले लामो सास तान्नुहुन्न, सम्बन्ध बिग्रन्छ

नाकाबन्दी गर्यो भन्नुहुन्न
नाकाबन्दी शब्दै निकाल्नुहुन्न
नाकाबन्दी भन्नुहुन्न, सम्बन्ध बिग्रन्छ
‘हामी आफैंले आफूलाई थुनेका हौं!’ भन्नुपर्छ
‘सम्बन्ध ‘असहज’ भयो!’ सम्म भन्न पाईन्छ
त्यो पनि ‘असहज’ मानी-मानी भन्न पाईन्छ
टाउको झुकाई-झुकाई मात्र भन्न पाईन्छ
हामीले-
‘हामी नै खत्तम, ऊ त महान!’ भनीरहनुपर्छ
‘गल्ती भयो! माफ पाऊँ!’ भन्दै उठबस गरीरहनुपर्छ
ऊ बाहेक कसैसंग नबोल्ने कसम खाईरहनुपर्छ
उठबस गरीरहनुपर्छ
कसम खाईरहनुपर्छ

‘ऐया!’ भन्नुहुन्न, सम्बन्ध बिग्रन्छ
‘छुराले किन रोपिस्?’ भन्नुहुन्न, सम्बन्ध बिग्रन्छ
चित्त दुखाउनु हुँदैन, सम्बन्ध बिग्रन्छ
लामो सास तान्नुहुन्न, सम्बन्ध बिग्रन्छ
नाकाबन्दी भन्नुहुन्न, सम्बन्ध बिग्रन्छ
नाकाबन्दी भन्नुहुन्न, सम्बन्ध बिग्रन्छ ।

September 13, 2016

ईञ्जिनियर्स एसोसिएसनको चुनावी कर्मकाण्ड

नेपाली ईञ्जिनियरहरुको संस्था नेपाल ईञ्जिनियर्स एसोसिएसन (नेईए) मा चुनावी गर्मी छाएको छ यतिखेर। यहि भदौ ३१ मा हुने एकतीसौं कार्यकारीको चुनावका लागि पाँच समूह प्रतिष्पर्धामा छन्। चुनावबाट एसोसिएसनको कार्यसमिति र ईञ्जिनियरिङ्ग विधाको नियमनकारी सरकारी निकाय नेपाल इञ्जिनियरिङ्ग परिषदका पाँच सदस्यहरु चुनिने छन्। परिषदका बाँकी पदाधिकारीहरु सरकारद्वारा नियुक्त हुन्छन्, त्यसका लागि बिडम्बनापूर्ण राजनीतिक भागबण्डा गरिन्छ।

सबै विधाका नेपाली ईञ्जिनियरहरु र आर्किटेक्टहरुको प्रतिनिधित्व गर्ने दाबी छ नेपाल ईञ्जिनियर्स एसोसिएसनको। यो एक हिसाबले सहीनै हो तर आफ्नो यो दाबीलाई समयसापेक्ष बनाउन र समुदायको अधिकतम हिस्सालाई समेट्न कत्तिको सकेको छ नेईएले भन्ने प्रश्न उठेको पनि धेरै भईसकेको छ।

नेईए नेपाली ईञ्जिनियरहरुको ट्रेड यूनियन हो। अन्य पेशाका यस्ता संघ-संस्थाहरु आफ्ना सदस्यहरुको हकहितका सवालमा जति जागरुक र जुझारु देखिन्छन्, त्यति जुझारु नेईए छैन भन्ने आम बुझाई नेपाली ईञ्जिनियरहरुको छ। यो बुझाईलाई चिर्ने गरी नेईएले प्रभावशाली कामहरु गर्न नसकेको देखिन्छ। इञ्जिनियरहरु थोरै हुने र रोजगारीका लागि कुनै पनि समस्या झेल्नु नपर्ने जमानाका ईञ्जिनियरहरुद्वारा स्थापित संस्था अहिले पनि त्यहि जमानामै अड्किरहेको भान हुन्छ। यतिखेर ईञ्जिनियरहरुको बेरोजगारी एउटा ठूलो समस्या बनीसकेको छ। त्यो जमानाका ईञ्जिनियरहरु लगभग सबैले विदेशमा पढेका थिए भने अहिले देशभित्रै उत्पादन हुने  ईञ्जिनियरहरुको संख्या देश बाहिरबाट आउने भन्दा धेरै भईसकेको छ। समाजको जागरुकता बढेको छ, समाजले ईञ्जिनयरहरुलाई हिजोजस्तो सम्मानको आँखाले मात्र नहेरी आलोचनात्मक अध्ययन गर्न थालीसकेको छ। यो अवश्थामा नयाँ सोच, नयाँ योजना, नयाँ शैली र नयाँ सकृयताको आवश्यकता देखिन्छ। दु:खको कुरा, त्यो सम्भावना यो चुनावले पनि देखाएको छैन। कर्मकाण्डी चुनाव, कर्मकाण्डी गतिबिधिहरु र कर्मकाण्डी कार्यकालकै सम्भावना देखिन्छ।

युवा पुस्ता पूरै विकर्षित छ नेईएबाट। केहि संख्याहरु केलाऊँदा यो स्पष्ट हुन्छ। नियमनकारी निकाय नेपाल ईञ्जिनियरिङ्ग परिषदमा ३३ हजार भन्दा बढि ईञ्जिनियरहरु दर्ता भएका छन्। आफ्ना सदस्यको यकीन तथ्यांक नेईएले पनि दिन सक्दैन तर परिषदमा दर्ता भएकामध्ये आधा भन्दा केहि बढीमात्रै नेईएको सदस्य बनेको देखिन्छ। यस अघिको चुनावमा १७ हजारभन्दा बढीले आफ्नो सदस्यता नवीकरण गरेको आधारमा यो अनुमान गरिएको हो। नेईए स्रोतका अनुसार यसपालि लगभग १२ हजार सदस्यले मात्रै सदस्यता नवीकरण गरेका छन्। दुई वर्षको अन्तरालमै यति ठूलो संख्यामा मतदाता घट्नुले नेईएप्रति नेपाली ईञ्जिनियरहरु विशेष गरी युवा ईञ्जिनियरहरुको विकर्षण झन् तिब्र भएको देखिन्छ। नवीकरण भएकामा पनि कतिपय चुनावमा उठ्ने ब्यक्ति र समूहहरुले आफैंले पैसा तिरेर नवीकरण गरिदिएका समेत छन्। यो प्रवृत्ति जारी रहेमा अर्को चुनावसम्म नेईएको मतदाता संख्या ६-७ हजारसम्मै झर्न सक्छ। नेईए  यसरी ‘खातापिता’ बूढा ईञ्जिनियरहरुको क्लबमा सीमित हुनु गम्भिर विषय हो।

नेपालमै पढेका र विद्यार्थी जीवनमा कथित विद्यार्थी राजनीति गरेकाहरुमा भने एउटा आकर्षण देखिन्छ नेईएप्रति। नेईए पेशागत हक हितका रचनात्मक काम गर्ने नभई दलीय राजनीति गर्ने थलो हो भन्ने मान्यतालाई स्थापित गर्न सघाएको छ यसले। नेईएलाई प्रभावशाली नेता र मन्त्रीका नजरमा पर्नका लागि माध्यम बनाईन्छ। यसैले नेईएलाई कुनै गतिलो ‘कमाऊ’ परियोजनाको ठूलो पद वा कुनै राजनीतिक नियुक्ति पड्काउने ‘स्प्रिङबोर्ड’ भनेपनि हुन्छ।

युवा पुस्ताका ईञ्जिनियरहरु विकर्षित हुनुको कारण नेईए पेशागत गतिविधिमा न्यूनतम र राजनीतिक काममा अधिकतम लाग्नु हो। पढाई सकिने बित्तिकै युवा पुस्तालाई जागिरको चिन्ता हुन्छ। निरन्तरको राजनीतिक अस्थिरता र न्यून विकास-निर्माण गतिबिधिका कारण देशमा आवश्यक संख्यामा ईञ्जिनियरिङ्गसंग सम्बन्धित रोजगारीहरु सृजना हुन सकेका छैनन्। युवा पुस्ताका ईञ्जिनयरहरुको ठूलो संख्या यसैले विदेश पलायनको मनस्थितिमा हुन्छ। सरकारी क्षेत्रले नेपालभित्र सबैभन्दा धेरै ईञ्जिनियरहरु खपत गर्ने क्षेत्र हो तर उत्पादित ईञ्जिनियरहरुको संख्याको दाँजोमा उपलब्ध अवसर ज्यादै कम छन्। देशको औद्योगिक गतिबिधि खासै बलियो हुन नसकेको हुँदा नीजि क्षेत्रले झन् सीमित संख्यामा मात्र ईञ्जिनियरहरु खपत गर्न सकेको छ।

उचित आम्दानी र सम्मानसहितको रोजगारीको सम्भावना देशमा नदेखेपछि नेपाली ईञ्जिनियरहरुको ठूलो संख्या विदेशिएको छ। विदेशमा नेपाली ईञ्जिनियरहरुले राम्रो छवि बनाएका छन् र तुलनात्मक रुपमा राम्रै कमाई पनि गरिरहेका छन्। यसरी देश बाहिर रहेका ईञ्जिनियरहरुको संख्या नेपालमै कार्यरत ईञ्जिनियरहरुको संख्याको हाराहारीमै पुगीसकेको वा बढी भैसकको सहजै अनुमान गर्न सकिन्छ। देशका बिभिन्न ईञ्जिनियरिङ्ग कलेजहरुबाट अब निक्लने नव ईञ्जिनियरहरुमा विदेश पलायनको दर अझ उच्च हुने देखिन्छ। विदेशमै पढेकाहरु पनि सकेसम्म फर्कने छैनन्। नेईएको अर्को बिडम्बना भनेको यसले बाहिर बसेका ईञ्जिनियरहरुलाई बिल्कूल समेट्न सकेको छैन्। केहि समय अघिसम्म कतार, थाइल्याण्ड, जापान आदिमा नेईएका शाखा समितिहरु थिए। ती देशमा बसेका सदस्यहरुले नेईएको चुनावमा मत समेत खसाल्न पाऊँथे। यसरी समितिहरु हुनु र चुनावमा समेत मत हाल्न पाउनुले विदेशमा रहेका नेपाली ईञ्जिनियरहरुलाई नेईएसंग जोडिईरहने अवसर दिएको थियो। अर्कोतिर, ती देशका ईञ्जिनियरिङ्ग पेशागत संस्थाहरुसंग नेईएलाई जोड्न पनि यस्ता समितिहरुले पुलको काम गरेका थिए। यसले नेईएको क्षितिज फराकिलो पारेको थियो र नेईएको ईज्जत बढाएको थियो। तर अहिले एउटा नियमावलीको कारण देखाऊँदै विदेशस्थित समितिहरुको अस्तित्वलाई समाप्त पारिएको छ र विदेशमा रहेका सदस्यहरुले चुनावमा मत दिन नपाउने गराईएको छ। यसले अर्को एउटा ठूलो समूहलाई नेईएसंग सम्बन्धविच्छेद गर्न भड्काएको छ। त्यो कथित नियमवालीलाई सच्याउन नसकिने थिएन, तर नेईएको संस्थापनका रुपमा रहेका ब्यक्तिहरुमा त्यो चाहना देखिएन। बरु उनीहरुको चाहना विदेशमा बसेका ईञ्जिनयरहरु सकेसम्म नेईएसंग जोडिँदै-नजोडिउन् भन्ने देखियो। यो प्रसंग उप्कायो भने त्यस्ता ‘संस्थापन’ मित्रहरु अनेक ठाडा-ठाडा हाकीमी शैलीका जवाफसमेत दिएर पन्छिन्छन्।
नेईएको चुनावमा विद्युतीय मतदान (ई-भोटिङ्ग) हुनुपर्छ भन्ने आवाज पनि उठ्यो तर नेईएका दिग्गजहरु तयार भएनन् र अनेक निहुँ पारेर ई-भोटिङ्गलाई रोकियो। सदस्यहरुको नवीकरण आफैंले गरिदिएर नवीकृत परिचयपत्र समेत आफैंले पोको पारेर राखेकाले मतदानका दिन थुप्रै चलखेल हुने स्पष्ट छ। ई-भोटिङ्गमा गएमा कतिपय चलखेल गर्न सजिलो नहुने अनुमान गरेका होलान् चुनाव जित्न कस्सिएका साथीहरुले। तर ईञ्जिनियरहरुलेनै प्रविधिलाई यसरी अस्विकार गरेपछि समाजमा के सन्देश गयो होला भनेर सोच्ने चेष्टा अलिकति पनि गरिएको छैन।

आधुनिक ईञ्जिनियरिङ्ग कोरा प्रविधिमात्र होईन, यो त प्रविधि, ब्यवश्थापन र अर्थतन्त्रको मिहिन संयोजन हो। यतिखेर नेपालका थुप्रै समस्याहरु, थुप्रै मुद्दाहरुमा ईञ्जिनियरिङ्ग प्रत्यक्ष जोडिएको देख्न सकिन्छ; चाहे त्यो भूकम्पपछिको पुनर्निर्माण होस् वा फाष्ट ट्र्याकको विवाद होस् वा उत्तरी नाकाहरुको सञ्चालन् होस् वा काठमाण्डौंको यातायात ब्यवश्थापन होस्। ईञ्जिनियरिङ्ग थिंक ट्यांकका रुपमा नेईएले यी मुद्दाहरुमा स्पष्ट विश्लेषण र समाधानमुखी दृष्टिकोण पेश गर्न सक्नुपर्छ। भूकम्प लगत्तै भूकम्पले गरेको क्षति मूल्यांकनमा नेईएको सकृयता नेपाली ईञ्जिनियरहरुले गर्व गर्न लायक थियो तर त्यसपछाडिका दिनमा नेईए निष्कृयजस्तै छ। नेईएले पुनर्निर्माणमा स्वयंसेवी अभियान अगाडि लान सक्थ्यो। पुनर्निर्माणमा सरकारको चरम सुस्तता र दलहरुको राजनीतिक खिचातानीका विरुद्ध खबरदारी गर्न सक्थ्यो। नेईएको थोरै सकृयताले पनि सरकारलाई धेरै दबाब दिन सक्थ्यो।

यो चुनावको डिलमा उभिएर विचार गर्दा पनि विगतकै चुनावझैं अर्को एक कर्मकाण्डी कार्यकाल भन्दा बढीको आशा गर्न सक्ने स्थिति छैन। तर कामना गर्छु, म गलत भएको प्रमाणित होस्।

August 18, 2016

यतिखेर

सेमेष्टर सकिन आँटेको छ। साथीहरु धेरैले आफ्नो 'कोर्स' सकिसकेका छन्। अलिक बढी बाँकी भएको मै अल्छी हुँला :) भोलि बिहान पढाउन बोला'को, विद्यार्थीहरुले जनैपूर्णिमा, मन्दिर, पूजाआजाको कुरा गरे। यसैले भोलि कक्षा नहुने भो।
चाडबाडको याम शुरु भएको छ। मौसम बिस्तारै खुल्दैछ। पोखरामा पनि झरी घटेको छ। दिऊँसो खासै पानी पर्दैन अहिले, साँझ र राति भने बेस्सरी दर्किन्छ।

आज दिऊँसो दिनकर नेपालजीसंग भेट भयो। हामी ब्लग र फेसबुकमा लामो समयदेखि सम्पर्कमा रहेका छौं, तर प्रत्यक्ष भेटघाट भने भएको थिएन अहिलेसम्म। पोखरा आएको बेला सम्झिएर सम्पर्क गर्नुभयो, भेटघाट भयो। उहाँलाई धन्यबाद!

दैनिकीकै रुपमा भएपनि यो ब्लगलाई निरन्तरता दिनुपर्ला अबबाट।

April 08, 2016

गलबन्दी

कहिल्यै-कतै नपरेको विपत्ति पर्यो त्यो साल गाऊँलाई।

भीरपाखामा खनीखोस्री बाँचिरहेका थिए गाऊँलेहरु। दु:खमा जन्मनु, दु:ख गर्नु र दु:खमै मर्नु- यहि नियति थियो गाऊँलेको।

कुनै-कुनै छाप्राले आफ्ना छोराछोरीहरुलाई शहरमा काम गर्न पठाएका थिए। तिनले अलि-अलि पैसा पठाऊँथे यदाकदा। अरुबेला हत्तपत्त नदेखिने सरकार त्यहि बेला देखिन्थ्यो-शहरबाट आएको रगत-पसिना लतपतिएको पैसामा कर काटेर लिन्थ्यो र हराऊँथ्यो।

हुनपनि कहिल्यै-कतै नपरेको विपत्ति पर्यो त्यो साल गाऊँलाई।

आधा गाऊँलाई एउटा विशाल भूकम्पले भूईँमा मिलाईदियो। त्यसपछि दिन तीन रात घनघोर झरी बर्षियो। गाऊँमा बाढी पस्यो। भूकम्पबाट बचेका धेरैजसो छाप्रालाई बाढीले बगाएर लग्यो, बचेका एक-दुई छाप्रामा पानी जमेर बस्न नसकिने भयो। गाऊँलेहरुले भोकभोकै रुखका हाँगामा दिनरात बिताए। झरी थामिएपछि तल झरेका गाऊँलेले एक-दुई रित्ता छाप्राबाहेक केहि देखेनन्। उनीहरुको आफ्नो शरीर बाहेक आफ्नो भन्नु जे थियो, सबै बाढीले लगेछ।

त्यसपछि हुरी चल्यो। भूकम्प र झरी-बाढीबाट बचे-खुचेको गाऊँलाई पनि हुरीले उडायो।

गाऊँलेका झुत्रा लुगा झरी र हुरीले गलाएर झन् झुत्रा भएछन्। तिनै झुत्रा लुगाले स-साना बच्चाहरुलाई छोपछाप पारेर न्यानो दिने कोशिश गरियो। 

यसरी गाऊँका मान्छे अब पूरै नांगै भए, अाधी नांगै त उनीहरु सधैं थिए नै। र उनीहरु नजिकैको गुफातिर बसाईँ सरे।

गाऊँलेलाई त थाहा भएन तर त्यो गाऊँको चर्चा संसारभरि भयो रे!

'यो गाऊँले गर्दा देशकै बेईज्जत भयो!' भनेर सरकारलाई पीर पर्यो रे!

सरकारले जनतालाई लुगा बाँड्ने योजना ल्यायो रे !

सरकारले गाऊँको नाममा विदेशी गुहार्यो रे! 

विदेशीले गाऊँले सबैलाई एक-एक जोर पुग्नेगरी लुगा सहायता दिए रे!

त्यहि सहायताबाट 'जोगाएर' सरकारले सबैलाई एक-एकवटा गलबन्दी बाँड्दै छ रे!

(महाभूकम्पपछिको एक वर्षलाई फर्किएर हेर्दा मेरो मनमा उब्जेको चित्र यहि हो।)

February 01, 2016

एउटा यात्रामा



एउटा यात्रामा 

“यस्तो ‘होपलेस्’ देशमा म बस्दै-बस्दिँन!
यस्तो ‘होपलेस्’ देश म फर्कँदै-फर्कन्न!”
देशसंग फन्केर हिँडेको छ छोरो
छोराले ‘होपलेस्’ भनेको देश कुर्नु छ-
‘होपलेस् देश’ को ‘होपलेस्’ गाऊँ कुर्नु छ
छोरालाई अमेरिका उडाएर फर्केका छन् बा-आमा,
चम्किईरहेका छन् नयाँ राता कुर्था-सुरुवाल र ज्याकेट
आँखामा सन्ताप बनेर ओर्लिएको छ
मधुमासको एक्लो आधा भाग
लोग्नेलाई कतार उडाएर फर्केकी छे नवविवाहिता,
ठूल्ठूला अक्षरमा छापिएका छ
‘साउदी र दुबईबाट माग भई आएको---‘ विज्ञापन
भित्र साना अक्षरमा छापिएको छ-
हाँस्दै सुतेको हट्टाकट्टा छोरो गाऊँको
काठको बाकसमा बद्लिएको नयाँ तथ्यांक
पखेटाझैं फिँजारिएको छ पत्रिका
'न्यानो कपडा'को पैसा बाँड्न गाऊँ जाँदैछ सचिव
र तत्कालका लागि-
हिऊँ ओढेर सुतेका भूकम्पपीडितहरुमाथि
हिजै मात्र-
एक डोज  ‘राष्ट्रवादी’ भाषण खापिदिएको छ सरकारले,
ड्राइभर र खलासी दोहरी बजाऊँछन्
‘नेपाली हामी---‘ पनि बजाऊँछन्
फेरि एकछिनमा ‘शिला—‘ बजाऊँछन्
र ‘मुन्नी----‘ पनि बजाऊँछन्,
गरीबिको फोटो खिच्नु छ र चिल्लो बनाएर छाप्नु छ
‘एङ्गल मिलाएर’ भग्नावशेषको दामी फोटो निकाल्नुछ
गरीबि र भग्नावशेष बेच्नु छ
डलर खेती गर्नु छ
लामो सुँड भएको क्यामेरा बोकेर
नयाँ फसल उमार्न जाँदै छ 'विकासे' जोडी,
एक थान ‘ब्याक अफ इण्डिया!’ हुत्याएर ट्विटाकाशमा
लामो सास फेरेर एक पटक-
फेरि मोबाईलमा पसेको छ
‘आई लभ नेपाल’ लगाएको मेरो युवा सहयात्री
र विपाशाका तिघ्रा चिमोट्न थालेको छ,
दुब्लो बच्चा बोकेकी दुब्ली आमालाई
खलासीले थचारिदिएको छ मूढामा
र मलाई अचानक निद्रा आएको छ,
म ऊँघ्दै-ऊँघ्दै सोचीरहेछु
एउटा धूवाँदार नयाँ कविताको ‘प्लट’
‘होपलेस्’ देशको होपलेस्’ गाऊँ फर्कीरहेको-
यो एउटा 'होपलेस्' यात्रा
यो यात्रामा म सोचीरहेछु
एउटा धूवाँदार नयाँ कविताको ‘प्लट’।