June 20, 2012

कोष्ठक माओवादी र अल्पविराम माओवादी-ड्याश माओवादी

नेपाली राजनीतिक दलहरुमा सल्केको फुटको रोगले माओवादीलाई पनि छोडेन, यो पनि अस्तिबाट दुई टुक्रा भएको छ; 'कोष्ठक माओवादी' र 'अल्पविराम माओवादी'। 'अल्पविराम' माओवादीले आफूलाई 'ड्याश' (-) माओवादीका रुपमा पनि प्रस्तुत गरेको छ हिजो पत्रकार सम्मेलनबाट। उसैपनि फुटको किर्तिमान कायम गर्न नेपालका साम्यवादी दलहरु 'प्रख्यात' छन्, उनीहरुको यो 'ख्याति'लाई यतिखेर 'मधेशवादी' दलहरुले पनि पछ्याईरहेका छन्। जब राजनीति सिद्धान्त र निष्ठाका बलमा नभई ब्यक्तिगत अहं र स्वार्थको लौरो टेकेर गरिन्छ, तब दलीय फुट स्वाभाविक बन्न जान्छ। हाम्रो राजनीतिमा भएको त्यहि हो।

नेपालमै र विदेशमै बसीरहेका नेपालीको माझमा हुने सांगठनिक गतिविधिहरुलाई नजिकबाट नियालीसकेपछि के निष्कर्ष निकाल्न सकिन्छ भने हामी 'जुट्न' र 'फुट्न' एकदम सिपालु छौं। हामीमा संगठित हुने चेत अवश्य छ तर हामीमा सहजै फुट्ने स्वभाव पनि छ। नेपालीहरुद्वारा सञ्चालित संघ-संगठनहरुमा छोटो अवधिमै नफुटेका र धेरैपटक नफुटेका कमैमात्र छन्। यो फुटको स्वभाव हाम्रो राष्ट्रिय मानसिकतामै गहिरो गरी बसीसकेको देखिन्छ। आमरुपमा हामीमा अरुलाई 'पेल्नु'पर्छ र अरुलाई 'टेर्नु' कमजोरी हो भन्ने भावना प्रवल छ। संघ-संगठनका नेतृत्वमा पुगेकाहरुले लोकतान्त्रिक आचरण देखाएर आफू र आफ्नो गुटबाहेककालाई पनि सम्मानजनक ब्यबहार गरेको विरलै देखिन्छ। जहाँपनि हामी हमेशा 'सत्तापक्ष' र 'प्रतिपक्ष'का रुपमा आफूलाई विभाजित गर्छौं। न हामी जितलाई सामान्य रुपमा लिन सक्छौं, न हारलाई। अपरिपक्व शैलीमा साना-साना कुराका लागि विवाद गर्नु हाम्रो स्वभाव बनीसकेको छ। हाम्रो यहि सामूहिक स्वभावको प्रतिबिम्ब हो दलहरुमा देखिने चरम गुटबन्दी र फुटको शृंखला।

भन्नलाई हाम्रा दलहरुले आफूलाई लोकतन्त्रवादी वा अरु जे 'वादी' भनेपनि दलहरुको सञ्चालनशैली अझै अत्यन्त सामन्ती देखिन्छ। विवादका विषयहरुमा स्वस्थ बहस गर्नुभन्दा पनि पर्दा पछाडिका खेलहरुमा बढी भर पर्ने चलन छ। नेतृत्वमा बस्नेले दललाई आफ्नो खल्तीको मोबाईलभन्दा बढी ठान्दैनन्। आवधिक (४-५ वर्ष) रुपमा महाधिवेशनबाट नेतृत्व छानिने, व्यक्तिगतभन्दा सामूहिक स्वभावको केन्द्रीय नेतृत्व, कोहिपनि एउटै पदमा दुई कार्यकालभन्दा बढी बस्न नपाउने, सांगठनिक र आर्थिक कृयाकलापमा पूर्ण पारदर्शीता जस्ता मान्यतालाई दलहरुले स्विकार्ने हो भने यस्ता फुटका शृंखला रोकिन समय लाग्दैन। 

केहि समय यता देशका केहि दलहरु आन्तरिक लोकतन्त्रलाई परिमार्जित गर्ने अभ्यासमा जुटेका देखिन्छन्। यस मामिलामा माओवादीले भने एक पाईला पनि चालेको छैन। एकपटक पनि महाधिवेशन नगरी दुई दशकसम्म चलेको अर्को दल नेपालमा त के संसारमै पनि नभेटिएला! फेरि सशस्त्र द्वन्द्वकालमा गरिएको प्रचण्डको देवत्वकरणलाई खुल्ला राजनीतिमा पनि जारी राख्न खोजियो, जसले धेरै विरोधाभाषहरु जन्मायो। आर्थिक र अन्य सांगठनिक मामिलामा देखिएको चरम अपारदर्शितालाई विरोधीभन्दा धेरै माओवादीकै नेता-कार्यकर्ताले आलोचना गरेका छन्। केहि समय यता माओवादीभित्र एउटा नवधनाढ्य वर्गको विकास भएको छ, यो वर्गमा नेतृत्व तहका केहि र माओवादी शहर पसेपछि यसमा प्रवेश गरेका अवसरवादीहरु छन्। देशलाई र अझ पूरै विश्वलाई वर्गवीहिन बनाउने गुड्डी हाँक्ने माओवादी आफैंभित्रको वर्गीय द्वन्द्वलाई थेग्न नसकेर टुक्रिएको छ।

'कोष्ठक' माओवादीबाट छुट्टिएर बनेको 'अल्पविराम' माओवादीका कुरा पत्यारिला भने छैनन्। उनीहरुको अमूर्त कठमूल्लावादी रटान न नेपाली जनताको राजनीतिक चेतनालाई सम्मान गर्न सक्ने छ, न अहिलेको विश्वपरिवेश सुहाऊँदो छ। यस्तै रटानलाई निरन्तरता दिएमा 'अल्पविराम' माओवादी छिट्टैनै 'पूर्णविराम'मा पुगेर सिद्धिने छ। उतातिर, कोष्ठक माओवादी संस्थापन पक्षले पनि दल टुक्रनुमा आफ्ना कमजोरीको समीक्षा नगरी राजतन्त्रवादी र रिमलाई सरापेर बस्नु भनेको मूतको न्यानोमा रमाउनुमात्रै हो। सरापमा भारत भने छुट्ने छाँट छ यसपालि! जुन ढंगले माओवादी चल्दै आएको छ, त्यहि ढंगलाई निरन्तरता दिने हो भने अझ टुक्रने र कोष्ठकमात्र बाँकी रहने दिन पनि आउन सक्छ। 

र पाठ सबै दलले सिक्नैपर्छ। सबै दलले आफूलाई पूर्ण लोकतान्त्रिक र पारदर्शी बनाउने हो भने असन्तुष्टिहरु दलभित्रै समाधान हुन्छन् र चोईटिनुपर्दैन। दलहरु टुक्रनु देशको राजनीतिका लागि राम्रो कुरा होईन। फुट अराजकताको परिणाम हो र फेरि अराजकता अझै बढ्ने लक्षण पनि हो। 

आफूलाई कोष्ठक माओवादीभन्दा अब्बल दर्जाको 'क्रान्तिकारी' देखाउन अल्पविराम माओवादीले केहि विध्वंश गर्न सक्ने संभावना पनि धेरै छ यतिखेर। सरकार नभएको देशमा जे गरेपनि सजिलै जो छ  यतिखेर!

June 15, 2012

तानाशाह

छठका हुँदैनन्, दशैंका हुँदैनन्
तानाशाह कसैका हुँदैनन्

संवेदना भए पो मान्छे भन्नु!
मन र मुटु, नसैका हुँदैनन्

दूध पियाउनेलाई के थाहा
सर्पहरु उसैका हुँदैनन्

लेख्छन्-मेट्छन्, बोल्छन्-फेर्छन्
गोयवल्सका मुख वशैका हुँदैनन्

छठका हुँदैनन्, दशैंका हुँदैनन्
तानाशाह कसैका हुँदैनन्।


June 07, 2012

आयो-गयो जेठ १४

११ दिन भईसकेछ।

जेठ १४ आयो र गयो।

जेठ १४ आयो र संविधान नदिईकन गयो।

जेठ १४ आयो, गयो र जेठ १५ आयो। धेरै मानिसले सोचेभन्दा 'सहजै' जेठ १५ आयो। संविधानसभानै नरहेपछि र यसले केहि पनि 'नदिएपछि' सडकहरुको ज्वारो अचानक ओर्लियो। न रह्यो बाँस, न बज्यो बाँसुरी!

यसरी ओर्लिएको सडकको ज्वरोलाई अब शुरु हुने तीन-चार महिने झरीले झन् तल झारीदिनेछ। धेरै नेपाली खेतीपातीमा पनि ब्यस्त हुनेछन्। त्यसपछि दशैं-तिहार लगायतका पर्वमा झुम्नेछ नेपाल। मंसिर लाग्दा नयाँ चुनाव गर्ने भनेर खोकेको छ सरकारले, चुनाव होला-नहोला त्यो बेग्लै कुरो हो तर आन्दोलनको याम शुरु हुनेछ र अर्को जेठसम्म जारी रहनेछ। हामी नेपालीको उपलब्धि भनेकै निरन्तरको उपलब्धिहीन आन्दोलन हो र केवल आन्दोलन हो। हामी छ महिना 'सुत्छौं' र छ महिना आन्दोलन गर्छौं।

संविधान नआएकोमा दु:ख मनाऊभन्दा यतिखेर नआएकोमा खुशी मनाऊमा छन् धेरै मान्छेहरु। संविधान यदि आएकै भए पनि, सबैलाई चित्त बुझाऊन 'ऊँट'को आकार लिएर आएकै भएपनि त्यो कसैलाई पनि चित्त बुझ्ने थिएन र सबैले जलाउने थिए

हामी असफलहरुको जमातबाट शाशित छौं र यिनै नेताहरुको माझबाट कोहि प्रभावशाली राष्ट्रभक्त निक्लेला भनेर आशा गर्ने ठाऊँ पनि छैन। हरेक दलभित्रका दोश्रो-तेश्रो 'पुस्ता'का नेताहरुको जमातमा केहि आशालग्दा अनुहारहरु देखिएका छन् तर बूढा गोरुले गाई ओगट्न नछोड्ने संस्कार जब्बर बनेर बसेको हाम्रो देशमा तिनले चाँडै अवसर र चुनौतीसंग भिड्न पाऊलान् भन्ने कुरामा पनि शंकै लाग्छ।

अनिश्चितता र अराजकता नेपालको परिचय हो। यो परिचयबाट चाँडै उम्किन पाउने सम्भावना देखिन्न यतिखेर।

नेपाली ढंगको 'राजनीति'का लागि यो अनिश्चितता र अराजकता गज्जबको उर्वरभूमि हो। जुन मानसिकता हाम्रा दल र नेताहरुमा देखिन्छ, लाग्छ यो अनिश्चितता अराजकता हराए भने तिनको 'रोजगारी' पनि सिद्धिनेछ।