June 29, 2019

ट्राफिक लाइट कि ‘रेड लाइट’?

देहव्यापार वा चलनचल्तीको शब्द प्रयोग गर्दा वेश्यावृत्ति – यो पुरुष सत्ताको आविष्कार हो र पुरुषका लागि पुरुषले चलाएको उद्योग हो । हुनत सीमित रुपमा यदाकदा पुरुष वेश्यावृत्ति पनि देखिएको छ तर देहव्यापार संसारभरिनै मूलत: महिलाको शरीरको व्यापार हो । देहव्यापारलाई ‘संसारको सबैभन्दा पूरानो पेशा’को विशेषण दिएको पनि पुरुष सत्तालेनै हो । यदि देहव्यापार संसारको सबैभन्दा पूरानो पेशा हुन्थ्यो भने त्यसको प्रमाणका रुपमा अझै पनि बाँकी रहेका केहि आदिवासी समाजमा व्यापक रुपमा देहव्यापार देखिनुपर्थ्यो तर त्यो देखिन्न । देहव्यापार कथित ‘सभ्य’ र ‘विकसित’ समाजको उपज हो, त्यसकारण यो संसारको सबैभन्दा पूरानो पेशा होइन । महिलाको देहव्यापार जस्तो पुरुषको देहव्यापार कहिल्यै व्यापक हुँदा पनि हुँदैन किनभने अरु कसैको शरीरप्रतिको पुरुष र महिलाको सोचाइमा आकाश जमीनको अन्तर छ । पुरुषमा आक्रामकता छ, महिलाको शरीरमाथि शक्ति (शारीरिक बल वा पैसा जे पनि हुनसक्छ) का भरमा कब्जा जमाउनुलाई आफ्नो ‘सफलता’ मान्ने मनोविज्ञान छ तर महिलाको स्वभाव ठिक उल्टो छ । यौन पुरुषका लागि विशुद्ध शारीरिक कर्म हो भने महिलाका लागि यौन मूलत: मानसिक कर्म हो । पुरुषको यौन शारीरिक भएकाले उसलाई शरीर कब्जामा रस आउनु स्वाभाविक हो । महिलाको यौन मानसिक परितृप्तिका लागि हो, त्यो परितृप्ति कसैको शरीर कब्जा गरेर मात्रै मिल्ने कुरा होइन । यसैले मानव समाज कुनै दिन फेरि मातृसत्तातिर फर्कियो भनेपनि महिला सत्ताले पुरुषको देहव्यापारलाई ‘संसारको सबैभन्दा पुरानो पेशा’को रुपमा ‘आविष्कार’ गर्ने छैन । 

र यो देहव्यापारको बहस अहिले पोखराको पर्यटन उद्योगको गन्तब्यसंग जोडिन आइपुगेको छ । पोखरामा कथित रेड लाइट एरिया चाहिन्छ भनेर प्रदेश सरकारका मुख्यमन्त्रीले आफ्नो कार्यकालको शुरुवाती दिनमै बोलेपछि यसका बारेमा विवाद शुरु भयो । विरोधको स्वर ठूलो भएका कारण यो योजनाबाट प्रदेश सरकार पछि हटेको होला भन्ने आम विश्वाशका विपरीत यसलाई कथित ‘इन्जोय जोन’को छाता ओढाएर कार्यान्वयनमै लैजान खोजिएको छ अहिले । प्रदेश सरकार र यसको नेतृत्वलाई गण्डकी र विशेष गरी पोखराको पर्यटन उद्योगलाई विकास गर्नका लागि यौन धन्दा बाहेक अरु कुनै बाटो छैन भन्ने लागेको जस्तो महसुस हुन्छ सम्बन्धितहरुका कुरा सुन्दा । यो योजनाको ब्यापक विरोध भएको छ । केहि समर्थनका स्वरहरु पनि छन् । र के स्पष्ट देखिन्छ भने रेड लाइट एरिया (इन्जोय जोन) को विरोध गर्नेहरुमा महिला र पुरुष दुबै छन् भने समर्थन गर्नेमा केहि पुरुषहरु मात्र छन् ।

देहव्यापार महिलाको अस्मिता माथिको चरम अपमान हो । कुनै पनि समाजमा वेश्यावृत्ति बाध्यता हो, रहर हुनसक्दैन । हाम्रो समाजमा महिलाको स्थिति शोषित पीडित र अधिकारवीहिन छ । आफ्नै शरीरमाथि पनि उनीहरुको आफ्नो अधिकार नरहेको अवस्था छ । आर्थिक रुपले विपन्न र सामाजिक रुपले उत्पीडित समुदायमा  स्थिति अझ विकराल छ । यस्तो स्थितिमा देहव्यापारलाई कसैले जानीबुझी रहरले पेशा बनाउने कुरा हुँदैन । हरेक देहव्यापारी महिला कुनै न कुनै बाध्यताले वा कसैको धोका-धम्की-करबलका कारण यो पेशामा धकेलिएका हुन्छन्, उनीहरुलाई देहव्यापारमा धकेल्ने धेरैजसो नजिकका नातेदार पुरुषहरुनै हुन्छन् । त्यसकारण, राज्यको दायित्व भनेको ती बाध्यताहरुको पहिचान गर्नु, उनीहरुका लागि वैकल्पिक पेशाको व्यवस्था गर्नु र देहव्यापारबाट मुक्त पार्नु हो, न कि त्यहि बाध्यतालाई अझ दोहन गरेर कर उठाउनु ।

पश्चिमा विकसित देशमा देहव्यापार सहज र रहरको ‍पेशाजस्तो लाग्छ हामीलाई । ती समाजमा महिलाहरु हाम्रो समाजको दाँजोमा आफ्नो पेशाका बारेमा आफैं निर्णय गर्न सक्षम र स्वतन्त्र हुन्छन् । उनीहरुलाई देहव्यापारमा लाग्न कसैले बाध्य बनाउने सम्भावना धेरै कम हुन्छ । तर ती देशमै पनि देहव्यापारलाई कुनै इज्जतिलो कर्म मानिँदैन । कुनै देहव्यापारीसंग उभिएको तस्बीरमात्र बजारमा आयो भने ठूल्ठूला राजनीतिज्ञको सार्वजनिक जीवन समाप्त हुने गरेको देखिएको छ । यसैले हामीलाई ‘रेड लाइट’को प्रयोगको रहरै लागेको हो भने पनि कम्तिमा हाम्रो समाज एउटा निश्चित आयको तहमा पुगुञ्जेल र महिलाहरु आफ्ना बारेमा आफैं निर्णय गर्न सक्षम र स्वतन्त्र हुञ्जेलचाहिँ कुरौं ।

गण्डकी प्रदेश र पोखराको समग्र विकासका लागि पहिले गर्नुपर्ने अरु काम थुप्रै छन् । ट्राफिक लाइट समेत नभएको महानगर पोखराको प्राथमिकतालाई यसरी रेड लाइटतिर बहकाउनु गल्तीमात्र होइन गम्भिर अपराध हो ।  

पोखरामा ‘लाल बत्ती बजार’ ल्याउने तर्कमा सबैभन्दा जोडतोडले दिइने उदाहरण थाइल्याण्डको हो तर हाम्रा नीति निर्माताहरुले के बिर्सिएका छन् वा सम्झन चाहेका छैनन् भने थाइल्याण्डको पर्यटन उद्योग भनेको देहव्यापार मात्र होइन । थाइल्याण्ड ब्यापक भौगोलिक र साँस्कृतिक विशेषता र विविधता भएको देश हो । थाइल्याण्ड जाने पर्यटकहरु त्यहाँका प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाहरुले तानिएर जाने हुन् । थाइल्याण्डमा लामो समय बिताएका नेपालीहरु के भन्छन् भने अहिले थाइल्याण्डको रेड लाइट क्षेत्रमा सबैभन्दा धेरै जाने ग्राहक दक्षिण एशियाका पुरुषहरु हुन् । दक्षिण एशियाको पुरुष सत्ता दुई जना वयष्क व्यक्तिको आपसी सहमतिमा हुने स्वस्थ यौनसम्बन्धलाई बर्जित गर्ने तर भित्रभित्रै महिलाको शरीरको किनबेच गर्ने ढोंगी सत्ता हो । विश्वका विकसित र सभ्य देशमा त्यो ढोंग छैन र उनीहरुलाई सेक्सकै लागि नेपाल वा थाइल्याण्डजस्ता देशमा आइरहनुपर्ने बाध्यता र आवश्यकता पनि छैन ।

रेड लाइट पर्यटनका कारण थाइल्याण्ड आफैं लज्जित हुन थालेको धेरै भइसक्यो र उनीहरु यसलाई नियन्त्रण गर्दै छन् । थाइल्याण्डको केहि वर्ष यताको विकास र समृद्धि आफ्ना छोरीहरुको यौनांग बेचेर आएको होइन, त्यो उनीहरुले शिक्षा, आधुनिक प्रविधि र औद्योगिकीकरणमा गरेको ब्यापक लगानी र मेहनतको प्रतिफल हो । यसैले हाम्रा नीति निर्माताहरुले थाइल्याण्डबाट ‘रेड लाइट एरिया’ मात्र सिकेको देख्दा ताज्जुब लाग्छ । यस्तो लाग्छ, उनीहरु थाइल्याण्डका एअरपोर्टमा झर्नासाथ अन्त नगई सिधै पटाया र फुकेटका ‘रेड लाइट एरिया’तिर जान्छन् ।

पोखरामा ‘लाल बत्ती बजार’ चाहिन्छ भन्नेहरुको अर्को तर्क के हो भने ‘अहिले लुकीछिपी चलिरहेकै छ, अब चलिरहेकै कुरालाई व्यवस्थापन गर्दा के बिग्रिन्छ त?’ । यो झन् हास्यास्पद तर्क हो । चलीरहेका विकृतिलाई अन्त्य गर्ने होइन ‘व्यवस्थापन’ गर्ने तर्कमा सहमत हुने हो यस्तै अरु विकृतिलाई पनि ‘व्यवस्थापन गरे भयो !’ भन्ने तर्क गर्न सकिन्छ । नेपालबाट वर्षेनि हजारौं चेलीहरु भारतका कोठीहरुमा बेचिन्छन्, यसलाई पनि किन रोक्ने,  ‘व्यवस्थापन’ गरे भयो ! हिजोसम्म हाम्रो समाजले निश्चित जातिविशेषका महिललाई जबर्जस्ती यौनधन्दामा लगाएको थियो, यसलाई पनि ‘व्यवस्थापन’ गरे भयो ! विगतमा सतीप्रता थियो हाम्रो समाजमा त्यसलाई पनि ‘व्यवस्थापन’ गरेर चलाएको भए हुन्थ्यो ! राज्यका निकायहरुमा र राजनीति-प्रशाशन जुन चरम भ्रष्टाचार छ त्यसलाई पनि ‘व्यवस्थापन’ गरे भयो ? क्यान्सरको उपचार खोज्ने कि त्यसको ‘व्यवस्थापन’ गर्ने महाशयहरु ! ‘इन्जोय जोन’ वा अरु जुनसुकै नाममा पनि तपाईँहरुले ल्याउन खोजेको त्यो रेड लाइट एरियामा गरीब जनताका चेलीहरु मात्र होइन जो सुकैका छोरीचेलीपनि पुग्न सक्छन् भन्ने पनि हेक्का रहोस् ! यसैले यो योजनामा अघि बढ्नु अघि आफ्नै छोरीचेलीहरु पनि त्यहाँ पुगेको कल्पना गरीहेर्नुस् एकपटक !

यो कथित ‘इन्जोय जोन’ले पोखरा र गण्डकी प्रदेशलाई पार्ने घातक प्रभावहरुको लामो सूचि बनाउन सकिन्छ । सबैभन्दा पहिले जहाँ यो कथित ‘इन्जोय जोन’ खडा गरिन्छ त्यो ठाउँ र आसपासको बदनामी चुलिनेछ । उनीहरुसंगको सम्बन्धबाट अन्यत्रका मान्छेहरु तर्कनेछन् र ती ठाउँमा बिहेबारीको सम्बन्ध गाँस्न समेत राजी हुने छैनन् । यसले ती ठाउँका मानिसलाई दिने मानसिक, व्यावहारिक असरका बारेमा राज्य गम्भिर हुनुपर्छ । कुनै ठाउँविशेषमा यो कथित ‘इन्जोय जोन’ २-४ वर्ष मात्रै चलेर बन्द भयो भने पनि त्यसको असर पुस्तौंसम्म देखिइरहनेछ भने राज्यले योजनाबद्ध रुपमा स्थायी संरचना बनाएर चलायो भने झन् के हुन्छ हामी अनुमान गर्न सक्छौं ।

दोश्रो, यसले पोखराको आन्तरिक पर्यटनमा दिने अत्यन्त नकारात्मक धक्का हो । आन्तरिक पर्यटन पोखराको पर्यटन उद्योग र अर्थतन्त्रको एउटा खम्बा हो, र यसको हिस्सा दिनदिनै बढ्ने क्रममा छ । अहिले पोखरा हरेक नेपालीको लागि एउटा सुन्दर स्वप्न गन्तव्य हो । पोखरा बाहिरका हरेक नेपालीको कम्तिमा एकपटक पोखरा पुग्ने रहर हुन्छ । पोखराको सौन्दर्य र प्रदूषणमुक्त हावापानीले तानिएर वर्षैपिच्छे पटक पटक घुम्न आउने नेपालीहरु पनि लाखौं छन् । जब पोखरामा रेड लाइट एरिया शुरु गरिन्छ तब पोखराको भ्रमणलाई मान्छेहरुले सोझै रेड लाइट एरिया र देह व्यापारसंग जोड्नेछन् । त्यतिखेर पोखराको भ्रमण कुनै पनि व्यक्तिको बदनामीको कारण बन्नेछ । त्यो बदनामीबाट जोगिन पनि मान्छेहरु पोखरा आउनेछैनन् । 
  
र जहाँसम्म विदेशीचाहिँ यस्ता ‘इन्जोय जोन’मा ओइरिनेछन् भन्ने कुरा छ, त्यो पनि असम्भव हो । विकसित र धनी देशका मानिसहरु यौन र लागु पदार्थको खोजीमा हाम्रोजस्ता तन्नम देशमा आउँदैनन् । त्यसका लागि उनीहरुकै देशमा यथेष्ट इन्तजाम छ । हाम्रा नीति निर्माताहरु पश्चिममा लागु पदार्थ निषेधित भएको हिप्पी जमानाबाट ब्युँझिनु जरुरी छ । अहिले संसार डुल्ने पर्यटकहरु सेक्स होइन प्रकृति, संस्कृति, धर्म र अध्यात्म खोज्न हाम्रोजस्तो देशमा आउने हुन् । यसैले हामीले खोल्ने कथित ‘इन्जोय जोन’ अन्तिममा गएर नेपालकै धनी परिवारका बिग्रेका छोराहरु मडारिने ठाउँका रुपमा सीमित बन्नेछन् । यसले समाजलाई कता लान्छ भन्ने पनि सोचौं । नेपालीलाई प्रवेश निषेध गर्ने तर्क पनि आउन सक्ला तर हाम्रो जस्तो कमजोर नियमन प्रणाली भएको ठाउँमा यसको कुनै अर्थ हुँदैन भन्ने कुरा त क्यासिनोमा गरिएको नेपालीको प्रवेश निषेधको असफलताबाट छर्लङ्ग भइसकेको छ ।

‘इन्जोय जोन’ को अर्को अत्यन्त घातक असर भनेको यो नेपाली चेलीबेटी बेचबिखनको अर्को एउटा बजार बन्नेछ । भ्रष्ट राजनीति र प्रशाशनले त्यसलाई कमिसन र घूस खाने अर्को एउटा धन्दाको रुपमा विकास गर्नेछ र चेलीबेटी बेचबिखनको दर तिब्र गतिमा बढ्नेछ । बाध्यता, धम्की र आफ्नै नातेदारहरुको धोकाका कारण पोखराको रेड लाइट एरियामा आइपुग्ने छोरीचेलीहरुको कारुणिक कथा देश विदेशमा पढिँदा पोखराको कस्तो छवि निर्माण हुन्छ होला ? अर्कोतिर कथित ‘इन्जोय जोन’मा खुल्ला गरिने भनिएको लागू पदार्थको माध्यमबाट जोडिन आइपुग्ने विश्व माफियाले हाम्रो समाज र देशलाईनै तहसनहस पार्दिन सक्छ ।    

गण्डकी प्रदेश र पोखराको पर्यटन उद्योगको विकासका लागि यस्ता तुक न तालका योजनामा मन डुलाइरहनुपर्दैन । गण्डकी प्रदेश पर्यटन उद्योगका लागि स्वर्णभूमि हो । आफूसंग भएको सम्पत्तिको पहिचान गरिनुपर्यो र त्यसको प्रभावकारी परिचालन गरिनुपर्यो, समृद्धि हासिल हुने बाटो यहि हो । पोखराको पर्यटन उद्योग ‘प्रकृति, संस्कृति, धर्म र अध्यात्म’लाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ ।

सुन्दर प्रकृति गण्डकी प्रदेश र पोखराको पहिलो र सबैभन्दा महत्वपूर्ण सम्पत्ति हो । समथर तराइदेखि ८ हजार मीटरभन्दा अग्ला हिमालसम्म समेटेको यो प्रदेशका सामु अथाह सम्भावना छन् । यसैले प्राकृतिक संरक्षणसहितको पर्यटकीय गन्तव्यको विकास र प्रवर्धन पहिलो काम हुनुपर्छ । पोखरा आफैंमा एक दिनमा घुमिसकिने ठाउँ हो । विदेशीहरुका लागि यो मूलत: पदयात्रा र आरोहणमा जानु अघि र फर्केर आएपछिको विश्रामस्थल हो । यसैले नयाँ नयाँ पदयात्रा मार्गहरुको विकास गरिनुपर्छ र चलिरहेका पदयात्रा मार्गलाई डोजरले कोतरेर ध्वस्त पार्ने काम रोकिनुपर्छ । डोजरमात्रै विकास हो भन्ने घातक र भ्रष्ट मान्यताबाट प्रदेश सरकार र प्रदेशका पालिकाहरु मुक्त हुनु जरुरी छ । पोखराको बसाइ लम्ब्याउनका लागि यहाँ नयाँ नयाँ गन्तव्यहरु विकास गरिनुपर्छ । नजिकका गाउँहरुलाई पोखरासंग जोडेर बिहान हिँडेर बेलुका फर्कन सकिने छोटा पदयात्रा मार्गको खुलाउन पनि सकिन्छ । सडक यातायातका कारण कतिपय पूराना पदयात्रा मार्गहरु प्रयोगवीहिन भइसकेका छन्, तिनलाई पुनर्जागृत गरिनुपर्छ ।

सुन्दर प्रकृतिको उपयोग पदयात्रा मार्ग र आरोहरणका रुपमा मात्र होइन प्याराग्लाइडिङजस्ता साहसिक खेल गतिविधिसंग पनि जोड्न सकिन्छ । अहिले पोखरामा केन्द्रित यस्ता गतिविधिलाइ प्रदेशभरि विस्तारित गरिनुपर्छ । अर्कोतिर, प्राकृतिक सौन्दर्य र यो भेगको उत्कृष्ट हावापानीका कारण यहाँ फिल्म सिटी निर्माणको समेत धेरै सम्भावना छ । त्यो मात्रै होइन सुविधाजनक सभा-सम्मेलन केन्द्रहरु निर्माण गरेर पनि अन्तर्राष्ट्रिय समुदायलाई आकर्षण गर्न सकिन्छ । उच्च गतिको इण्टरनेट सुविधासहितका अनुसन्धान तथा विकास संस्था (टेक्नोलोजी पार्क)हरु खडा गर्ने हो भने अनुसन्धानकर्ताहरु पनि आकर्षित हुन्छन् । यति राम्रो मौसम भएको ठाउँमा बसेर अध्ययन अनुसन्धान गर्न मान्छेहरु लालायित हुन्छन् ।

जातिगत विविधताले भरिएको गण्डकी प्रदेशले आफ्नो समृद्ध संस्कृतिलाई पनि पर्यटनसंग सजिलै जोड्न सक्छ । गीतसंगीत,नाच, चाडबाड लगायतका साँस्कृतिक गतिविधिको प्रदर्शन मात्र होइन साँस्कृतिक अध्ययनका लागि समेत पर्यटकहरुलाई आकर्षित गर्न सकिन्छ । विन्ध्यवासिनी र मुक्तिनाथजस्ता पवित्र धार्मिक स्थलहरुमा यातायात, दर्शन र बसोबासको सुविधालाई स्तरोन्नति गरेर अझ धेरै पर्यटकहरु आकर्षित गर्न सकिन्छ । धार्मिक पर्यटकहरुका लगि अब हामीले भारतमात्र होइन, पाकिस्तानमा रहेका धनाढ्य हिन्दूहरु र इण्डोनेशियाको बाली टापूमा रहेका हिन्दूहरुसम्मलाई लक्ष गरेर अघि बढ्न सक्नुपर्छ ।

सांस्कृतिक र धार्मिक संगसंगै हामी आध्यात्मिक पर्यटनलाई पनि अघि बढाउन सक्छौं । अनादिकालदेखिनै ऋषिमुनिको तपोभूमि रहेको गण्डकी क्षेत्रमा अनुभूत गर्न सकिने आध्यात्मिक तरङ्गले धेरै सत्यका खोजीहरुलाई आकर्षित गर्न सक्छ । यसको पूर्वाधारका रुपमा प्रदेशका बिभिन्न स्थानमा सुविधायुक्त योग र ध्यानकेन्द्रहरुको स्थापना गरिनुपर्छ । यस्तै पूर्वीय ज्ञान र दर्शन अध्ययन गर्न चाहने विदेशीहरुलाई लामो समयसम्म संस्कृत, पाली र पूर्वीय दर्शन पढाउने सक्ने भौतिक र मानवीय पूर्वाधार शान्त हिमाली क्षेत्रमा व्यवस्था गर्न सक्ने हो भने त्यसले पनि प्रदेशको पर्यटन उद्योगलाई ठूलो टेवा दिनसक्छ ।
  
अर्थतन्त्र भनेको फेरि पर्यटन मात्र होइन । गण्डकी प्रदेशसंग जलविद्युत, कृषि, उद्योग आदिमा पनि प्रशस्त सम्भावना छन् । गण्डकी प्रदेश यतिखेर देशकै सबैभन्दा ठूलो जलविद्युत हब बनीसकेको छ, यसलाई कसरी प्रदेशको अधिकतम हितमा प्रयोग गर्न सकिन्छ भन्ने बारेमा सुविचारित योजना चाहिन्छ । बसाईँसराईका कारण प्रयोगमा नआएर बाँझिन थालेको ग्रामीण भूमिमा औद्योगिक रुपमै जडीबुटी, फलफूल र तरकारी खेतीलाइ अगाडि बढाउन सकिन्छ । प्रदेशमा रहेका जङ्गलहरुलाई काष्ठ उद्योगसंग जोड्न सकिन्छ ।

गण्डकी प्रदेश र पोखरासंग यस्ता निधिहरु अनगिन्ती छन् जसमा टेकेर केहि वर्षभित्रै समृद्धिको फड्को मार्न सकिन्छ । यति धेरै सम्पत्ति र सम्भावना भएको प्रदेशले कुनै उपाय नभएझैं देहव्यापार र लागु पदार्थ बेचबिखनको घृणित बाटो हिँड्न खोज्नु हास्यास्पद लाग्छ ।

गण्डकी प्रदेश र पोखराको अहिलेको प्राथमिकता ट्राफिक लाइट हो कि रेड लाइट एरिया ? अहिले यो प्रश्नको उत्तर सोचौं हामी सबैले । प्रदेशको आर्थिक सामाजिक विकास अलिक माथिल्लो चरणमा पुगेपछि आवश्यक परेछ भने रेड लाइट एरियासंगै जोडेर फेरि अर्को प्रश्नमाथि छलफल गरौंला ।



(२०७६, जेठ १५ गते बुधबार 'समाधान' राष्ट्रिय दैनिकमा प्रकाशित)