October 01, 2009

नयाँ गुँडबाट

(Image Source:Click Here)

यसपालिको दशैं गुँड सर्ने र नयाँ गुँडमा ब्यवष्थित हुने मेसोमै सकियो।

नयाँ गुँड खोज्ने क्रममा पहिलो प्राथमिकता छोरीको किण्डरगार्टेनलाई दिनुपर्ने भयो, त्यस पछि भाडा, अनि आमा-बाउको कलेज/अड्डा जाने-आउने सजिलो। हामी छोरीलाई नयाँ किण्डरगार्टेन लगेर भएपनि बसिरहेभन्दा केहि पर जाने धूनमा थियौं शुरुमा। केहि हितैषीहरुले भने त्यसो नगर्न सल्लाह दिए। उनीहरुको सल्लाह अनुसार, नयाँ ठाऊँ-नयाँ किण्डरगार्टेनमा सर्दा आर्यालाई घूलमिल हुन लामो समय लाग्नेछ, साथी बनाउन पनि समय लाग्नेछ र गाह्रो हुनेछ किनभने सरेर गईने नयाँ किण्डरगार्टेनका बच्चाहरु सबैले आफ्ना मिल्ने साथीहरु बनाईसकेका हुन्छन्, यसको मानसिक प्रभाव राम्रो हुँदैन।

अलिकति ठण्डा दिमागले सोच्दा कुरा ठिक लाग्यो। जापानमा बच्चाहरुलाई एक वर्षका पनि नहुँदैबाट किण्डरगार्टेन राखिन्छ। प्राय: जसो किण्डरगार्टेनले ६ महिना देखिका बच्चाहरुको स्याहार गर्छन्, ४५ दिनबाटै स्याहार गरिदिने किण्डरगार्टेनहरु पनि धेरै छन्। यसैले बच्चाहरु ३-४ वर्षका हुँदासम्म तिनले आफ्नै संसार-मिल्ने साथीहरु, नमिल्ने साथीहरु-बनाईसकेका हुन्छन्, पछि आउने बच्चाहरुलाई त्यहाँ आफ्नो ठाऊँ बनाउन-साथीहरु बनाउन निश्चय पनि लामै समय लाग्छ। शुरुबाटै बसेका बच्चाहरु पछि आएका भन्दा शिक्षकहरुसंग पनि बढी आत्मीय र निडर हुन्छन्।

आर्या एक वर्षकी भएबाट किण्डरगार्टेन जान थालेकी हो। अढाई वर्षमा पाँचवटा किण्डरगार्टेन गईसकी ऊ। शुरुका तीन किण्डरगार्टेनमा खासै लामो समय बिताईन। डेढ वर्षकी भएबाट डेढ वर्षको अवधि बिताएको चौथो किण्डरगार्टेनसंग उसको असाध्यै धेरै लगाव रह्यो। त्यहाँका शिक्षकहरुसंग आत्मीय सम्बन्ध बनिसकेको थियो उसको। उसले आफ्ना मिल्ने साथीहरु रोजिसकेकी थिई र ऊ साँझ घर फर्केपछि हामीसंग उनीहरुको बारेमा खुब कुरा गर्थी।

६ महिना पहिला, दैलैको (५० मिटरको दूरीमा रहेको) किण्डरगार्टेनमा स्थान मिलेको हुँदा उसलाई सारेका थियौं हामीले, तर त्यहाँ ऊ रमाउन र साथी बनाउन धेरै लामो समय लाग्यो। ऊ हरेक दिन बिहान पूरानै किण्डरगार्टेन जान्छु भनेर झगडा गर्थी पछि सम्म, कुरा पनि पूरानै शिक्षकहरु र पुरानै साथीहरुको मात्रै गर्थी। अचेल बल्ल ऊ नयाँमा रमाउन थालेकी छे।

अहिलेको किण्डरगार्टेनमा ठाऊँ मिलेको सूचना आएको केहि दिनपछिनै 'भवन भत्काईने हुँदा ६ महिनाभित्र  कोठा छोड्ने' सूचना पनि आयो र सबै झञ्झटको शुरुवात भयो।

अहिलेको गुँड पहिलाजस्तो दैलैमा किण्डरगार्टेन भएको-कहिलेकाहिँ घरै बसेर काम गरिरहेको बेलामा  किण्डरगार्टेनको प्रांगणमा आर्या आफ्ना साथीहरुसंग खेलिरहेको देखिने गरी नजिक त छैन तर उसलाई लाने-ल्याउने र आफ्नो काम/पढाई धान्न सकिने दूरीमा भने छ।।
-----------------------------------------------------------------------------
अब सधैं भरि कुनै पनि गुँडको कुरा गर्दा मेरो मानसपटलमा हाम्रो अघिल्लो गुँडको एक छेऊमा खडा परेवाको त्यो गुँड पनि आउनेछ। त्यसका पनि केहि कुरा गर्न बाँकी छन्।

मैले "गुँड" भन्ने टाँसो लेखेको तीन-चार दिनसम्म परेवाको बच्चा उडेको थिएन। ऊ आफू जन्मेको-हुर्केको गुँडकै वरिपरि ठाऊँ सरेर बसिरहेको देख्न सकिन्थ्यो। एक दिन दिऊँसो ऊ हिँडेर बरण्डा चहारिरहेको थियो। त्यहि दिन वा भोलिपल्ट उसले आफ्नो पहिलो उडान लिएको हुनुपर्छ।

उडेर गईसकेपछि पनि केहि दिनसम्म ऊ बरण्डामा आएको देख्न सकिन्थ्यो। आफू अरु कुनै परेवालाई ऊ भनेर झुक्किएको होईन भन्ने कुरामा म पक्का छु। ऊ यसरी कहिलेकाहिँ फर्केर आऊँदा म ऊसमा आफ्नो बाल्यकालको खोजीमा-अचेल सपनामा मात्रै सही-गाऊँ, पाखा-पखेरा चहारिरहेको आफैंलाई पनि देख्थें।
-----------------------------------------------------------------------------
यो दशैं यसरी गुँड सर्ने मेसोमै बित्यो।

जिन्दगीका बाह्र दशैंहरु विदेशमै बितेछन्। पहिलो विदेश बसाईका पाँच दशैंहरु लगातार बाहिरै बितेपछि ७ वटा दशैं नेपालमै मनाईएको थियो।  दोश्रो विदेश बसाईका सबै दशैंहरु पनि यतै बिते।

अब आउने दशैं र त्यसपछिका सबै दशैं नेपाल नाम गरेको आफनै गुँडमा बिताउने चाहनामा मन तड्पिएको छ!

7 comments:

  1. साँच्चै भन्ने हो भने मलाई पनि अति झन्झटिलो लाग्ने काम हो , यो गुँड सर्ने कुरा । के गर्नु , सर्नै पर्छ । कती पल्ट सरियो , गनेर पनि साध्य नै छैन । बच्चाकालागि तपाईंको पहल अति उत्तम हो । राम्रो लेख्नु भो , बसन्त जी !

    ReplyDelete
  2. smooth flow .... I enjoyed.. thx for sharing

    ReplyDelete
  3. यो डेरा सर्ने काम अत्यन्तै झन्झटिलो हो। अहिले सम्म कति पटक सरियो कुन्नि, गन्नै पर्छ। तपाई फेरि सर्नु भएछ। यो गुंडले स्थाइत्व पावस। शुभ् कामना।

    ReplyDelete
  4. I agree with the psychological statement about the transfer. It is good decision to keep her in her familiar environment. Transfer sometimes can create more messy mental picture as she would have to struggle to familiarize with the situation.

    Cheers!

    ReplyDelete
  5. I agree with the psychological effects that the frequent transfers may cause especially into a child's mindset. but, that's how it goes.. it's life!

    ReplyDelete
  6. Hmmm. I enjoyed the article a lot. thanks.

    ReplyDelete
  7. पढिदिनुहुने, प्रतिकृया दिनुहुने सबैलाई हार्दिक धन्यबाद!

    नयाँ गुँडमा ब्यबष्थित हुने काम राम्रैसंग गईरहेको छ,छोरीलाई नयाँ किण्डरगार्टेन सार्नु नपरेकोले पनि धेरै कुरा सजिलो भयो।
    यहाँहरुको शुभेच्छाको लागि आभारी छु।

    ReplyDelete