Showing posts with label कोरोना लकडाउन. Show all posts
Showing posts with label कोरोना लकडाउन. Show all posts

April 20, 2020

सावधान, ययाति आइरहेछ !

तिम्रो आँखा थुत्न आइरहेछ
मुटु, कलेजो काट्न आइरहेछ
तिम्रो दिमाग थुन्न आइरहेछ
फोक्सो, मिर्गौला खोस्न आइरहेछ
तिम्रो आयु लुट्न आइरहेछ
तिमीलाई मार्न आइरहेछ
वर्तमानलाई मार्न आइरहेछ
भविष्यलाई मार्न आइरहेछ
सावधान, ययाति आइरहेछ !
'वर्तमान'को आयु खोसेर बाँच्ने ययाति
तिमीले उसमा अलिकति संवेदना खोजेछौ
उसंग अलिकति मानवीयता मागेछौ
'ययाति'पनि मान्छे हो भन्ने
यो कति ठूलो भ्रम रहेछ तिम्रो ???
'ययाति' केवल हत्या गर्दो रहेछ
'वर्तमान'को हत्या
र 'भविष्य'को हत्या
हत्या
केवल हत्या
तिम्रो आयु लुट्न आइरहेछ
तिमीलाई मार्न आइरहेछ
सावधान, ययाति आइरहेछ !

April 14, 2020

संसार ठप्प छ !

कोभिड-१९ नाम दिइएको कोरोना भाइरसका कारण संसार ठप्प छ ।

नेपाल पनि ठप्प छ । यो 'लकडाउन' आफू कार्यरत क्याम्पसको आवास क्षेत्रभित्र खुम्चिएर बितिरहेको छ। अन्यत्र हेरीकन यहाँ बस्ने हामीले खुम्चिएको भन्न पनि मिल्दैन वास्तवमा । ३१८ रोपनीको क्षेत्रफलमा बिहान बेलुका घुम्ने, खेल्ने खुल्ला ठाउँ जति भने पनि छ। क्याम्पस परिसरभन्दा बाहिर जान त्यति मिल्दैन। बिहान र बेलुका दुई-दुई घण्टा तोकिएको छ बाहिर निस्केर नजिकका पसलबाट सामान किन्न ।

लकडाउनका शुरुवाती दिनहरु नभ्याएर थाती रहेका अध्यापनसम्बन्धी काममा पनि लगाइयो । तीन जना मिलेर घरका काम गर्दै पकाउँदै, खाँदै, टिभी हेर्दै, चलचित्रहरु हेर्दै र किताबहरु पढ्दै गरेर लकडाउनका तीन हप्ता बितेको छ । संसारभरिको आतंकबाट नेपाल केहि न केहि अछूतोजस्तो देखिएको थियो तर कोरोना संक्रमितहरुको संख्या बढीरहेको आँकडा आउन थालेको छ। जताततै अब के हुने हो, यो स्थिति कति लम्बिने हो र संसार कता जाने हो भन्ने अनिश्चय र त्रास फैलिएको छ।

संयोगवश आज नेपाली नयाँ वर्ष २०७७ पनि परेको छ । म भने बिहानैबाट ढाड दुखेर बाङ्गिएर हिँडिरहेको छु :) आशा गरौं, भोलिको दिन ब्युँझदा मेरो ढाड दुखाईको अन्त्य भइसकेको हुनेछ र सबैतिरबाट सकारात्मक खबरहरु आउन थालेका हुनेछन् ।

तपाईँलाई, मलाई र संसारका सबैलाई हार्दिक शुभकामना !