April 23, 2013

किताबमा गाता

छोरीका किताबहरुमा गाता हाल्दिँदै थिएँ।

दुई कक्षाको अंग्रेजी किताब देख्दा मलाई डर लाग्यो। झण्डै मैले आईएस्सीमा पुगेपछि पढेको स्तरको अंग्रेजी छ। कुरो फेरि एउटा विषयको मात्रै होईन। Science, Social Studies र Math नामका जिनिसहरु पनि अंग्रेजीमै पढाईने हुँदा भाषिक कठिनाई मैले १७-१८ वर्षको उमेरमा भोगेको कठिनाई छोरीले अहिल्यै भोग्नुपर्ने भयो। पोहर एक कक्षाका किताबहरुमा गाता हाल्ने क्रममा पनि यहि 'डर'बाट गुज्रेको थिएँ।  फेरि यी किताबहरु कदका साना पनि छैनन्।

म सोच्छु, स्कूलमा यी किताबहरुबाट के-के कुरा कसरी निकालेर पढाईएला? किनभने यी किताबहरु पूरै त के आधा पनि पढाउन गाह्रो होला हरेक पाठ पढाऊँदै जाने हो भने। फेरि एउटा बालमष्तिष्कले एक वर्षमा सिक्नसक्ने कुराको आफ्नै सीमा त हुन्छ नै। यसो भएपछि बालबालिकालाई चाहिने-चाहिने कुरामात्रै राखेर अलिक मसिना कदका किताब निकालेका भएपनि हुँदो हो प्रकाशक-विद्यालय सिण्डिकेडटले। त्यो कुरो कलिला नानीहरुका लागि शारीरिक र मानसिक दुबै तवरले राम्रो हुन्थ्यो।  कद घटाऊँदा मोल घटाउनुपर्ने र त्यसो गर्दा सबैतिरको नाफा-कमिशन घट्ने हुनाले किताब मोटै राखिएको बुझ्न गाह्रो छैन। 

बच्चाहरुको शिक्षामा उनीहरुलाई धेरै कुरा रटाउनेभन्दा पनि रचनात्मक-सृजनात्मक बनाउने र उनीहरुको सम्वाद कला निखार्ने उद्देश्य हुनुपर्छ।

हरेक वर्षको यो याममा प्रकाशक-विद्यालय सिण्डिकेटका बिभिन्न तमाशाहरु देख्न पाईन्छ, यी तमाशाहरुको आलोचना र विरोध पनि सुनिन्छन् तर तिनको सुनुवाई खासै हुँदैन, नेपाल न पर्यो। छोरी पढ्ने विद्यालयले विद्यालय प्रांगणबाटै किताब बेचेको भने थिएन (पोहर पनि थिएन)। किताबको सूचि उपलब्ध गराईएको थियो र किताब पाईने केहि पुस्तक पसलहरुको नाम पनि थियो सूचिमा। केहि 'छुट' पनि मिलेकाले किताब मैले पनि तिनै मध्येको एक पसलबाट किनें। बजार डुलेर किन्ने विचार पनि आएको थियो तर किताबहरु फरक-फरक प्रकाशनका हुनाले एउटा झ्याउलोनै हुने थियो त्यो, किनभने बजारका पसलेहरुले निश्चित प्रकाशकका किताबहरुमात्रै राख्छन् धेरैजसो। 

धेरै ठाऊँमा त अझै पनि विद्यालय प्रांगणबाटै किताबहरु भिडाईएका समाचारहरु आईरहेकै छन। केहि दिनमै हामीले ती कुराहरु पनि बिर्सिहाल्छौं अर्को चैतको अन्त्यसम्मका लागि। जनक शिक्षाले छाप्न ढिला गरेर कर्णालीमा पुस्तक नपुगेको समाचार भने वर्षैभरि आईनैरहनेछन् बेला-बेला। कतिपय विद्यार्थीहरु पाठ्यपुस्तकको मुखै नदेखी अन्तिम परीक्षासम्म पुग्ने छन्। 

यो देशमा धेरै बच्चाहरुले किताब पाऊँदैनन्, किताब पाएका बच्चाहरुका किताब पनि उनीहरुका उमेर सुहाऊँदा छैनन्। देशको भविष्य बच्चाहरुले पाउने शिक्षामा निर्भर हुन्छ। बच्चाहरुको शिक्षाको एउटा प्रमुख साधन किताब हो, जब किताब भेटिन्न वा गतिलो भेटिन्न तब असर पर्ने भनेको देशको भविष्यलाई हो। 

April 09, 2013

प्याराग्लाईडिङ्ग अनुभव

पोखरा देशको पर्यटकीय राजधानी। यहि परिचयमा हवाई खेलकूदको राजधानीरुपी परिचय थपिएको पनि धेरै भइसक्यो। प्याराग्लाइडिङ्ग, अल्ट्रालाईट, जिप फ्लाएर आदिमध्ये पनि प्याराग्लाइडिङ्गले लोभ्याएको धेरै भईसकेको थियो। हरेक दिन बिहान नौ-दश बजेबाट पोखराको आकाशमा तैरिने रंगीचंगी ग्लाईडरहरु हेरेर धेरै बसियो, जाने मेसो अस्ति शनिबार बल्ल जुर्यो। पोखरा वरिपरिका अरु डाँडाहरु र पर्वत जिल्लाका डाँडाहरुमा पनि शुरु भईसकेको छ यो खेल अहिले।      

सूर्योदय हेर्नका लागि लोकप्रिय गन्तब्य सराङकोटको टुप्पो अलिक नपुग्दैको एउटा पाखोमा रहेछ मलाई उडाउन लाने 'सराङकोट प्याराग्लाइडिङ्ग कम्पनी'को 'साइट'। फेवातालतिर फर्केको पाखोमा रहेछ यो साइट। १२ वर्ष अघि एकजना बेलायतीले भित्र्याएको प्याराग्लाईडिङ्गका लागि अहिले पोखरामा १२-१३ कम्पनीहरु तयार भईसकेछन्, प्याराग्लाइडिङ्ग लोकप्रिय हुँदै जाने क्रममा यी सबै कम्पनीहरु वर्षैभरि जसो ब्यस्त हुन्छन् रे मलाई उडाउने पाइलटका अनुसार। उनीचाहिँ एउटा बोर्डिङ्ग स्कूलको जागिर छोडेर त्यहि बेलायतीको कम्पनीमा काम गरेर यताको यात्रा शुरु गरेका छन्। अहिले उनी र अरु दुई साझेदार मिलेर यो कम्पनी चलाऊँदा रहेछन्। पाइलटहरुचाहिँ विदेशी र नेपाली दुबै रहेछन्। उनका अनुसार प्याराग्लाइडिङ्गमा झण्डै हवाइजहाजकै स्तरका नीति-नियमहरु छन् र नागरिक उड्डयन प्राधिकरणको अनुमति चाहिन्छ। पाइलटको रुपमा काम गर्न चाहनेले ग्लाइडरलाई उडाउन र नियन्त्रण गर्न जानेर मात्र पुग्दैन। ऊ शारीरिक रुपले स्वस्थ र 'फिट' हुनुपर्ने त छँदैछ, पौडीमा पनि पोख्त हुनुपर्दोरहेछ।

उड्ने बेलामा यात्रु अगाडि र पाइलट पछाडि बस्छन्। "मैले 'वाक्' भन्दा हिँड्न थाल्नुस् र 'रन्' भन्दा दौडन थाल्नुस्। 'टेक अफ'को बेलामा अलिक बल लगाएर मलाई तान्नुहोला।" भन्ने निर्देशन थियो मलाई। अलिक बढीनै बल लगाएछु, त्यसैले केहि सेकेण्डका लागि अघिल्तिर बढी झुकेछु तर त्यसले खासै फरक पारेन। ग्लाइडरले एकछिनमै उचाई लियो र म चरा बनेर पोखराको सौन्दर्यपान गर्न थालें।

उचाई लाग्नेहरुलाई वाकवाकी र बान्ता हुने पनि हुन्छ रे कहिलेकाहिँ।

आकाशमा ६०-७० को संख्यामा उडिरहेका थिए ग्लाइडरहरु, एकापसमा ठोक्किएलान् जस्तो गरी। फेरि गिद्धहरु पनि प्रशस्त उड्नेरहेछन्। पाइलटका अनुसार जहाँ गिद्धहरु कावा खाईरहेका हुन्छन्, त्यहाँ हावाको उर्ध्वगामी दबाब बढी हुने रहेछ र त्यहाँ ग्लाइडरलाई लगेपछि त्यसले थप उचाई लिँदो रहेछ। दुई हातले समातिएका दुई डोरीको भरमा पूरै नियन्त्रण गरिँदो रहेछ। फोटो र भिडियो खिच्ने ब्यवश्था पनि हुने रहेछ ग्लाइडरमै, एउटा लामो 'अंकुशे'को टुप्पामा फिट गरिएको क्यामेरको मद्दतले। 

३० मिनेटजतिको 'उडान'पछि फेवाको शिरतिर 'ल्याण्डिङ्ग' गरियो।

उड्नलाई रु.५,६५० र फोटो-भिडियोको लागि रु. १,७०० को रकम भने 'नेपाली खल्ती' का लागि 'डरलाग्दै' मान्नुपर्छ, तर यो 'चरा अनुभव' पनि कम मोलको चाहिँ अवश्य लाग्दैन।