सत्ते-सत्ते! धरोधर्म! 'जन्मदिन' मै ब्लगको १००औं 'टाँसो' (पोष्टिङ) पार्ने मेरो नियत थिएन। कम्तिमा मे ११ को अघिल्लो टाँसोपछि अस्ति शुक्रवारसम्म थिएन। नयाँ केहि लेख्ने फुर्सद र मानसिकता दुबै थिएन, तर एउटा पूरानै कविता भएपनि घुसार्दिने सूर भने चलेको थियो। शुक्रवारदेखि भने नियतै राखेको हुँ। दुई दिन कुरेपछि 'जन्मदिन'मै ठ्याक्क १००औं टाँसो पर्छ भने किन नकुर्ने भन्ने लाग्न थाल्यो। खैर, छोडौं यो कुरा अहिलेलाई।
उसो त म जन्मदिन मनाउने कुरामा खासै चासो राख्दिन। मेरो आफ्नै जन्मदिन त झन नआइदिए हुन्थ्यो जस्तो लाग्छ:) जन्मेको दिन हुँदैमा महत्वपूर्ण हुन्छ भनेर कता लेखेको छ र? कुनै ब्यक्ति नमरी उ जन्मेको दिनको मूल्यांकन हुन सक्दैन। यो निरस र नरमाइलो कुरालाई पनि छोडिदिउँ यतै।
काठमाडौंको पश्चिमी भेगको काँठमा हुर्किने क्रममा खासै साहित्यिक वातावरण थिएन वरिपरि। गाउँमा केहि मान्छेहरु 'मधुपर्क' र पछि 'गरिमा' पढ्थे। कति किनेर ल्याए पनि वा कतैबाट पाएपनि नपढी राख्ने खालका थिए। पढेको विद्यालयमा पनि खासै थिएन त्यो वातावरण। सामान्यतया वर्षको एकपटक भानुजयन्तीको दिन कविता प्रतियोगिता हुन्थ्यो।
थाहा छैन कसरी साहित्य पढ्ने बानी लाग्यो। हाजिरजवाफहरुमा कहिलेकाहीँ जित्दा पाएका 'बालकोसेली'का केहि अंकहरुले हुनसक्छ अथवा रेडियो नेपालको 'बाल कार्यक्रम'ले पनि हुनसक्छ मलाई शुरुमा त्यतातिर डो-याएको। यी बाहेक प्रेमा शाह आदिले लेखेका बालकथाका पुस्तकहरु पनि हात पर्न थाले। अलि ठूलो भएपछि पढेको 'हमजाएगाको डायरी' को पनि ठूलो प्रभाव हुनसक्छ। गाउँमा पुस्तकालय नभएपनि हामी बालसखाहरुका बीचमा किताब आदान-प्रदान निकै चल्थ्यो र पुस्तकालयको अभावको अलिकति भएपनि पूर्ति गर्थ्यो यसले। पछि विस्तारै साथीहरुका घरमा भएका मधुपर्क र अरु पत्रिकाहरु पनि पढ्न थालियो। घरमै पनि थिए अलि-अलि, तर बढी धार्मिक पुस्तकहरु र त्यो पनि हिन्दीमा। गाउँका कुनै-कुनै घरका बुईंगलमा भेटेर पढेका कति किताबहरुले मनमा पारेको प्रभाव अझै ताजै छ। 'रत्नश्री' भन्ने पत्रिकाको 'दार्जलिङ् कथा विशेषांक' सबैभन्दा बढी सम्झनामा छ। २०३०को दशकका मधुपर्कका बिभिन्न अंकहरुका कथा-कविताहरु, शिकार कथाहरु सबै सम्झना नभएपनि तीनले मनमा पारेको प्रभाव भने अझै महशूश गर्न सक्छु म। गोरखापत्रको 'शनिवासरीय परिशिष्टांक' (अहिले 'शनिवारीय' भनिन्छ क्यारे!) पनि टूपीदेखि पैतालासम्म पूरै पढिन्थ्यो। त्यो जमानामा र त्यो पनि गाउँमा पढ्ने कुरा कमै थिए, भएकाको हामीले 'अधिकतम उपयोग' गरेका थियौं।
-२-
लेख्ने बानी पनि लाग्दै गयो। एक-दुई पटक भानुजयन्तीमा पुरस्कार हात परेपछि र बाल कार्यक्रमको 'को भन्दा को कम' मा एउटा कविता र एउटा निवन्ध प्रसारण भएपछि हौसला पनि बढ्यो। विद्यालय पढ्दै एकताका 'झण्डै-झण्डै साहित्यिक' दैनिकि पनि चलेको थियो केहि समय। तर रचनाहरु प्रकाशन गर्ने आत्मविश्वाश आईसकेको थिएन, चाहना भने विस्तारै बढ्दै थियो।
विद्यार्थी जीवनका भित्ते पत्रिका वा वार्षिक स्मारिका आदिबाहेक प्रकाशनकै लागि भनेर पठाउन थालेको भने बी.ई. सकेर नेपाल फर्केपछिमात्रै हो। 'कान्तिपुर साप्ताहिक' ले एउटा लघुकथा छापिदिएको थियो। पोखरा बस्दा त्यहाँका स्थानीय पत्रिकाहरुले केहि कविता र लेखहरु छापिदिएका थिए। तर लोभ भने राष्ट्रिय पत्रिकामै छपाउने थियो। मधुपर्क, गरिमा, तन्नेरी, गोरखापत्र, कान्तिपुर आदिले छाप्दै छापेनन्। म आफूलाई त्यस्तो 'खतरा' लेखक-कवि त ठान्दिनँ तर मेराभन्दा धेरै स्तरहीन रचनाहरु भने छापिएको देखिन्थ्यो यदाकदा। मेरो घमण्ड पनि हुनसक्थ्यो यो अथवा अरुका रचनालाई मैले नबुझेको पनि हुनसक्थ्यो तर यसपछि पत्रिकहरुमा छपाउने मन मर्दै गयो। सकिएछ भने पछि किताबै छपाउँला भन्ने विचार थियो।
मैले जानेको अर्को कुरो के हो भने नेपालमा लेख-रचना छपाउन पनि 'चिनजान-नातागोता' आदि सबैभन्दा भरपर्दा माध्यम हुन्। हाम्रो 'गज्जब' नेपालमा लेखन र प्रकाशनले अझै पेशेवर रुप नलिईसकेको स्थिति हो यो। विगतका केहि वर्षमा निश्चयपनि केहि परीवर्तन आयो होला यसमा।
एकचोटि नेपाल टेलिभिजनको 'अभिव्यक्ति' भन्ने कार्यक्रममा कविता वाचन गर्न भनेर पनि पुगेको थिएँ त्यसका संचालकलाई भेट्न। तीनले के-के कुरा गरेर अल्मलाए धेरै बेर; र पछि बोलाउँला भनेर फर्काए मलाई। त्यो 'पछि' आएन!
नछपाउने भनेर मन बनाएपछि लेखनको गति कम हुने रहेछ, रोकिनै त रोकिन्न। मान्छेले अरुले पढुन भनेरनै लेख्छ। अरुले नपढुन् भन्ने चाहना लेख्नेमा हुँदै-हुँदैन, ठोकेर भन्दिन्छु म यो। जीवनभरि लुकाएर दैनिकी लेख्नेहरुमा पनि आफू मरेपछि अरुले पढिदिउन् भन्ने चाहना हुन्छ। वस्तवमा अरुले नपढुन् भनेर आफ्नै लागि लेख्ने हो भने लेख्ने आवश्यकतै छैन।
त्यो अवधिमा मैले थोरै लेखें, त्यो पनि छोटा कविताहरु, लेख्न भनेर बसेर हैन कि भावनालाई आफैंभित्र धान्न नसक्ने भएपछि मात्रै। तर ती छोटा कविताहरुले असाध्यै सन्तुष्टि दिएका छन् मलाई।
-३-
जापान आएपछि पनि ताल त्यस्तै थियो। तर विघ्नै नराम्रा कुराहरुले पनि केहि राम्रो शुरुवात गरिदिँदा रहेछन्। अढाइ वर्ष जतिपछिको ज्ञानेन्द्र शाहको कथित 'रचनात्मक प्रजातन्त्र' मेरो लेखनीका लागि सानोतिनो 'वरदान'जस्तै हुनपुग्यो। नेपालसंग फोन र इण्टरनेट सम्बन्ध विच्छेद भएको बेला थियो। अमेरिका बस्ने एउटा साथीसंग च्याटमा कुरा हुँदा उसले मलाई साझाको बारेमा बताएको थियो। त्यसमा हुने केहि राजनीतिक कुराकानीहरुमा त सहभागी भईयोनै तर साझाभित्रको साहित्यले मलाई झन बढी आकर्षित ग-यो। एक-से-एक कवि, कथाकार र लेखकहरु छन् त्यहाँ। त्यतिबेलै नेपाली यूनिकोड पनि 'हात' प-यो र मेरो जीवनको सानोतिनो 'क्रान्ति'को शुरुवात भयो। मेरो मतलब, मैले 'फेरि' लेख्न थालें। यूनिकोडले 'कागजमा लेख्दै-केर्दै-अर्कोमा सार्दै---' को झञ्झटलाई मेटिदियो र साझाले तुरुन्तै प्रतिकृया दिने 'पाठक' पनि मिलाइदियो। 'गोतामेको गनगन' नाममा 'राजनीतिक हाइकू' लेख्थें शुरुमा। पछि 'कविताको देश' भन्ने धागो शुरु भयो। यसले धेरै नयाँ साथीहरु र प्रशंशकहरु दियो मलाई, मैलेपनि धेरै राम्रा कविहरुको संगत पाएँ। केहि कथाहरु पनि लेखें मैले यो ताका। साझा पसेबाटैको 'चौतारी'को सहभागिताले पनि धेरै लेखायो। गाउँले पाराको छेडखान, गफगाफ आदि खुब पढियो-लेखियो। त्यो बेलाको 'चौतारी'को हरेक अंक एकदमै रमाईलो नाटकजस्तो हुन्थ्यो। गजल लेख्ने कुराको आधारभूत जानकारी पाएको पनि साझाबाटै हो मैले, केहि लेखियो पनि। समयाभावले अचेल साझा 'पस्ने' समय एकदम कम भएको छ, नरमाईलो लाग्छ।
त्यो ताका एउटा ब्लग पनि शुरु गरेको थिएँ मैले, ब्लगस्पटमै हो। तीन-चार पोष्टिङसम्म लेखियो, 'राजनीतिक गाली' मात्रै र थन्कियो त्यो ब्लग। त्यसको पाठक पनि मैमात्र थिएँ होला। त्यसको पासवर्ड याद छैन अहिले।
विस्तारै इण्टरनेटमा 'आफनै' घर 'बसाउने' सूर चल्यो। लाग्यो किन फेरि ब्लगबाटै शुरु नगर्ने?! केहि महिनाको मन्थनपछि गत सालको मे १९मा यो ब्लग शुरु गरें मैले। शुरुका दुई पोष्टिङलाई धेरै परीवर्तन गरीरहें केहि समय। वास्तवमा शुरुवातमा के राख्दा राम्रो हुन्छ अथवा पहिलो पोष्टिङमा के लेख्ने भन्ने कुराले धेरै समय खाँदो रहेछ, बरु पछि-पछिका लामा-लामा पोष्टिङहरु सजिलै तयार हुन्थे।
अब बुझ्नुभयो होला, म मेरो यो ब्लगको 'जन्मदिन'को बारेमा कुरा गर्दैछु, मेरो आफ्नो हैन। आज यो एक वर्ष पूरा भयो। एक वर्षसम्म तन्काउन सकेकोमा म आफैंलाई पनि बधाई दिन्छु, किनभने कतिचोटि 'बेकारको बोझ थपिएछ जिन्दगीलाई----' भन्ने लागेको थियो। यो ब्लग मेटेर आनन्दले बस्छु र झुक्केर पनि अर्को ब्लग शुरु गर्दिन भन्ने विचार धेरै चोटि आएको थियो। ब्लगमा लेख्न थालेपछि एक किसिमको दायित्वबोधजस्तो अनुभव हुँदो रहेछ। केहि दिन लेख्ने समय नमिलेपछि छटपटी बढ्दै जाँदो रहेछ, आफैंलाई र अरु केहि मानिसलाई पनि धोका दिएजस्तो लाग्दो रहेछ।
-४-
ब्लगले धेरै नयाँ साथीहरु र पाठकहरु त दिएकै छ, 'केहि न केहि त लेखिएकै छ' भन्ने आत्मसन्तुष्टि पनि दिएको छ। पेशाको हिसाबले बिल्कूल फरक बाटोमा हिँडेको हुनाले 'लेख्ने' कुरालाई आफूले चाहेजति समय दिन सकेको छैन, लेख्न चाहेका धेरै कुराहरु मनमै छन्, कति मनमै बिलाईसके। वर्षौंदेखि दशौं कथा र निवन्धहरुको 'प्लट' मनमा बोकेर हिँडिरहेको छु। कुनैदिन 'पूर्णकालीन' लेखक बन्ने धोको छ मनमा।
सामन्यतया नेपालीमै लेख्ने मेरो शुरुदेखिकै विचार हुनाले मेरो सम्पर्क पनि प्राय: नेपाली ब्लगरहरुसंग मात्रै छ। मैले यो ब्लगमा सूत्र राखेका ब्लगहरु (FRIENDS) म नियमित रुपमा पढ्छु। अरु नेपाली ब्लगहरु पनि पढ्छु धेरैनै। एककिसिमले मेरो अध्ययन अहिले बिभिन्न ब्लगहरु (प्रायश: नेपालीका) र कान्तिपुरमा सीमित भएको छ।
यो ब्लग शुरु गरुञ्जेलसम्म पनि मलाई ब्लगस्पटको बारेमा मात्रै जानकारी थियो। अहिले बुझ्दा लाग्छ, वर्डप्रेस धेरै राम्रो र प्रणालीबध्द' छ यो भन्दा। अब वर्डप्रेसमै लेखौंकि भन्ने पनि लाग्दैछ, तर यसमा यति लामो बाटो हिँडिसकियो, एक किसिमको 'आत्मीयता' बनिसकेको छ यो संग भनेर ब्लगस्पट छोड्न सकेको छैन अझै।
मैले माथि पनि भनें म आफ्नोलागि मात्रै नभएर अरुले पनि पढिदिउन् भन्ने चाहनाले लेख्छु। त्यसैले 'अमूर्त मनोवाद' लेख्ने रहर कहिल्यै पलाएन ममा। निश्चित रुपमा आफ्नो मान्यता र विचारमा सम्झौता कहिल्यै गरेको छैन, लेखनमा पनि। तर त्यहि आफ्नो मान्यता र विचारलाई अरुका सामुपनि राख्ने मेरो प्रयास हो। यसो गर्दा साथी पनि बन्छन्, शत्रु पनि बन्छन्। तर यो राम्रो हो, 'तिल' र 'चामल' छुट्टिएकै राम्रो।
अलिक ढिलै भएपनि ब्लगको दुनियाँमा प्रवेश गरेकोमा म खुशी छु, अरु कारणले पनि। ब्लग यो दुनियाँको वैकल्पिक सञ्चार माध्यमको रुपमा छ। ब्यक्तिगत रुपमा मेरो लागि यो आफूलाई अगाडि लाने सबैभन्दा भरपर्दो माध्यम बनेको छ र मैले धेरै सम्भावनाहरु देखिसकेको छु यसमा। मलाई लाग्छ ब्लग र सामाजिक सञ्जाल (Social Networking Sites) को राम्रोसंग संयोजन गर्न सक्ने हो भने धेरैजसो मूलधारका सञ्चारमाध्यमविनानै काम चलाउन सकिन्छ। दोश्रो, भर्खरै बामे सर्दै गरेको नेपाली ब्लग दुनियाँको एउटा सहयात्री बन्न पाउँदाको गर्व झन् अनमोल छ मेरा लागि।
मैले आफ्नो गफ राखें माथि। अब मलाई तौलिने काम तपाईँहरुको।
र अन्त्यमा तपाईँहरु सबैलाई मुटुदेखिको धन्यबाद!
May 19, 2008
जन्मदिन
October 18, 2007
मेरो मनको दशैँ
(यहि प्रसंगमा मेरो दुई वर्ष पुरानो एउटा रचना राख्न चाहन्छु। एक-दुई अनलाईन फोरममा राखिसकिएको पनि हो। नयाँ लेख्ने हुती छैन अचेल! एक किसिमले 'हुतीहारा'नै भन्दिए हुन्छ मेरो अहिलेको अवश्थालाई!:P)
मेरो मनको दशैँ
मेरो मनको दशैँ विद्यालयमा दशैँ बिदा शुरु हुने केहि दिन पहिलेबाट शुरु हुन्छ । वर्षात सकिएको छ, धानको फाँट हरियोबाट पहेँलो हुने सूरमा छ, भटमासका बोटहरु र मकैका ढोडहरु उखेलेको बारी अझै रसिलो र मलिलो देखिन्छ र बिहानको हल्का चिसोले दशैँले कतै नजिकै लुकेर जिस्काइरहेको छनक दिन्छ। विद्यालयमा शुभकामनाका शब्दहरु लेखिएका पोष्टकार्डहरुको आदानप्रदान भइरहेछ, मनपर्ने शिक्षकहरु र मनपर्ने साथीहरुको भागमा मात्र यी पर्छन् र कुनै कुनैमा प्रेमको उद्घोष पनि हुनसक्छ।
दशैँ बिदा लाग्नुअघिको दिनमा हाम्रो विद्यालयमा विद्यालयब्यापी कार्यक्रम भएको त याद छैन, तर सबै कक्षाले आफ्नै ढंगले रमाइलो गरेर एक अर्काबाट छुट्टिन्थे। त्यस्ता कार्यक्रमहरुमा म चूट्कीला सुनाऊँथेँ। गान, बजान र नृत्य मेरो वशका कुरा होइनन् (मलाई आफू निरस भएकोमा सधैँ हीनताबोध भइरहन्छ।) । धन्न बच्चैमा पढेको "हमजाएगाको डायरी" ले चूट्कीलामा रस बसाईदियो र भीडभाडमा अलि अलि गफ लाउन जान्ने भइएछ।
बिदाका दिनहरुमा मेरा साथीहरु किताबमात्रै हुन्थे। दशै तिहारमा जूवा-तास नखेल्ने मान्छेलाई अनौठो जनावर मान्ने समाज छ मेरो। अभावले गाँजिएको मेरो बाल्यकालले मलाई किताबको छेऊमा पुर्यायो, तासको छेऊमा जानै नदिई। हुनत किताबको सोख पनि सस्तो थिएन मेरो लागि ।
फूलपाती, अष्टमी र टिकाका औपचारिकताहरुभन्दापनि मलाई दशैँको समयको मादकताले सधैँ सधैँ लठ्याउँछ। सबेरै बिहानको हल्का झण्डै पारदर्शी कुहिरो र मिठोसंग चसक्क घोच्ने चिसो हावा, उज्यालो दिनमा पहेँलिएर दौडिरहेको वतास, चँगाबुट्टे निलो एकदम निलो आकाश, हावाका पखेटामा झुण्डिएर उडिरहेको साँझ - के छ यी सबमा कुन्नि, जसले जिन्दगीका कठोरताहरुको माझमा पनि मेरो मनको भित्र, भित्र कतै, आशाको उज्यालो भरिरहन्छ।
र मेरो मनको दशैँको मध्यचोकमा मेरो मामाघर पर्छ। घर र छिमेकमा टिका थापिसकेपछि, मामाघर जाने यात्रा शुरु हुन्थ्यो, टिकाकै दिन। भक्तपुरको अलिक भित्री भागमा पर्ने मेरो मामाघर गाऊँ कालीटार (अहिले दधिकोट गा. वि. स. मा पर्छ जस्तो लाग्छ।) पुग्न ठिमीमा बसबाट ओर्लेर एक घण्टा जति हिँड्नुपर्छ। हनुमन्ते खोला तरेर तरकारीका फाँटहरु कटेर एउटा सानो उकालो काटेपछि गाम्चा शुरु हुन्छ। गाम्चाको सीरी (श्री?)को पसलको रौनकनै बेग्लै हुन्थ्यो। लँगुरबुर्जाका थुप्रै खालहरुमा मान्छेहरु झुम्मेर चिच्याईरहेका हुन्थे । हामीपनि बढीमा एक मोहरसम्म त्यहाँ बुझाएरमात्रै बाटो लाग्थ्यौँ। चर्खण्डी (?) सम्मको चौडा बाटो छोडेर, एउटा सानो खोला तरेर गोरेटो समात्ने बेलासम्म झमक्क साँझ परिसक्थ्यो। त्यतिखेरसम्म त्यो गाऊँमा टिका थाप्न जाने छोरी, ज्वाईँ र भाञ्जाभाञ्जीहरुको ठूलै जमात पनि भेट भइसक्थ्यो। ठूलाहरुको सञ्चो-विसञ्चो र ब्याबहारिक गफमा हाम्रो हल्लालाई पनि मिसाऊँदै हामी सकेसम्म छिटो मामाघर पुग्ने धूनमा बत्तिन्थ्यौँ। माथिबाट उज्यालो चन्द्रमाले जीवन्त जूनको वर्षा गरिरहेछ र तल धानका बोटहरु हामीलाई लजालु स्पर्श गरिरहेछन्। आज लाग्छ ती क्षणहरु आनन्दको सागरमा पौडिएका क्षणहरु थिए, संसारका सब पिडाहरुबाट मुक्त भएका क्षणहरु थिए, शायद समाधिका क्षणहरु थिए।
त्यसपछिका हरेक दशैँहरु जिन्दगीमा कहिल्यै नपुरिने घाऊ बेस्सरी चहराएर बित्ने गरेका छन्। एक घटस्थापनाको दुई दिन पहिले मेरी आमा; शान्त, शुशील र सुन्दरी आमा हामीलाई छाडेर बैँशमै, आफ्नो सपनाको घर सजाउन भर्खरै थाल्दा थाल्दै, गुँडमा बचेराहरु जम्मा गरिमात्रै सकेर तिनका लागि आहारा खोज्दा खोज्दै, ताराहरुको संसारतिर जानुभयो।
त्यो चोटको दुई वर्षपछिको दशैँमा होला, मलाई र मेरो माईलो (भाइ शिशु)लाई निलो पाईण्ट र निलै शर्ट आएको थियो। बाले हामीलाई मामाघर लिएर जानुभएको थियो। कलंकीबाट बस चढ्ने संभावनै थिएन, मान्छेहरु झुण्डिएर यात्रा गरिरहेका थिए नैकापतिरबाटै।
"म तिमीहरुलाई कथा सुनाऊँछु, हिँडेर जाऊँ है त ?"
"हस्।" बस चढ्ने रहर त छँदैथियो तर कथाको लोभले जित्यो।
बाले रामायणको कथा शुरु गर्नुभयो, शायद दशैँको शुरुवातको प्रसंगबाट होला। हामी कथामा यस्तरी एकाकार भयौँ कि बाटो कटेको पत्तै भएन। त्रिपुरेश्वर पुगेपछि ट्रलीबस चढ्न पाईयो। ठिमीमा ट्रलीबसबाट झरेपछि कथाको क्रम फेरि शुरु भयो। त्यो दिनको त्यो एकाग्रता, त्यो तन्मयता आजसम्म कहिँ कतैपनि दोहोरिएको छैन।
"अब हजूरबाले सुनाउनुहुन्छ तिमीहरुलाई कथा।" मामाघर पुगेपछि बाले भन्नुभयो।
'ल आओ, म सुनाउँछु कथा।" हजूरबाले कथा शुरु गर्नुभयो बाले रोकेको ठाऊँबाट। त्यो रात सपनामा हामीले पूरै रामायण देख्यौँ होला।
दशैँमा हामीले पाएको दक्षिणा भोलिपल्ट फर्कँदा ठिमी पुगेर सकिन्थ्यो। सडक नपुग्दैको एउटा पुस्तक-पत्रिका पसलमा "बालकोसेली" भन्ने पत्रिका र नयाँ बालकथाका पुस्तकहरु किनेपछि हाम्रो दशैँ हामीबाट बिदा हुन्थ्यो।
अब दिनहरु उहि रहेनन्। हजूरबा हुनुहुन्न, हजूरआमा हुनुहुन्न। हनुमन्तेको फाँटमा तरकारीहरु कम झुल्छन्, त्यहाँ आजभोलि राक्षसजस्ता कुरुप र विशाल ईँटाभट्टाहरु मलिलो माटोलाई चपाएर, उग्राएर धूवाँ फालिरहेका हुन्छन्। गाऊँको वातावरण झन् बिग्रेको छ। चियापसलहरुले चियासँगै जाँड रक्सीपनि बेच्न थालेको धेरै भयो। तन्नेरीहरु उद्देश्यहीन झल्लीरहेछन्। पिङ्ग मच्चिन छोडेको छ गाऊँमा, किनकि दिदी-बहिनी र भाऊज्यू-बुहारीले पिङ्ग खेल्ने वातावरण रहेन अब, जताततै जँड्याहा र गुण्डाहरुको बिगबिगी बढेको छ। र रातभर कुन घर कुन गाऊँमा बन्दूक पड्कने हो पत्तो हुँदैन।
मेरा धेरै दशैँहरु घर र देशबाट टाढा परदेशमा एक्लै एक्लै बितेका छन्। तर मलाई मेरो मनको दशैँले कहिल्यै छोडेको छैन। दिनमा बतासलाई रोकेर झुल्ने हरिया फाँटहरु अनन्तसम्म फैलिएका छन् मेरो मनमा। साँझको बतास घर अगाडिको अग्ला अग्ला काईँयो फूलका रुखहरु वरिपरि चक्कर मार्छ र रुखहरुलाई काऊकुती लागाएर आफैँ खित्का छोड्दै भाग्छ। अनि चन्द्रमा उदाएपछि आकाश र धर्तीको रुपको जुहारी चल्छ।
मेरो मनको दशैँमा म स्मृतिका गोरेटाहरुमा दायाँबायाँका मभन्दा अग्ला बोटका धानका बालाहरुसंग गफ गर्दै मामाघर गईरहेको हुन्छु।
****************************************************************************
October 09, 2007
आमा
मैले सुनेअनुसार १४-१५ वर्षकै उमेरमा उहाँको विहे ३४ वर्षका मेरा पितासंग भएको थियो। म भन्दा माथी एउटी दिदी हुनुहुन्थ्यो रे। दिदी दुई वर्षकी नहुँदै कुनै रोगले बित्नुभएको रहेछ। म जन्मँदा आमा वीस वर्षकी हुनुहुन्थ्यो भनेपनि, उहाँले हामीलाई छाडेर जाँदा भर्खर २५-२६ मै हुनुहुन्थ्यो होला। त्यो उमेर मर्नुपर्ने उमेर होइन! त्यो एउटा अन्याय थियो-आमामाथि र हामीमाथि! हाम्री ममतामयी, यौवना, सुन्दरी आमाले धेरै वर्ष बाँच्न पाउनुपर्थ्यो, आफ्ना लालाबालाहरुको उन्नति र खुशी देखेर, नातीनातिनाहरुसंग खेलेर सन्तुष्ट हुँदै स्वाभाविक मृत्युवरण गर्न पाउनुपर्थ्यो! हामीले एउटा सुखद बाल्यकाल पाउनुपर्थ्यो!
बाल्यकालमै बिछोडिनु परेकाले आमासंगका सम्झनाहरु त्यति धेरै छैनन् मसंग। एउटा सम्झनामा म गाउँको स्कूलमा पढ्न पठाइएको हुन्छु। अत्यन्त लजालु भएकोले दिनभरि कक्षाको एउटा कुनामा एक्लै बसेर छुट्टीको घण्टी बज्नासाथ हावासरी सोझै हाम्रो बोरेखेतमा पुग्छु जहाँ आमा घाँस काटिरहनुभएको छ। म घाँस बोकेकी आमाको पछिपछि घर फर्कन्छु अनि आमाले दिएको सेल-चिउरा खाजा खान्छु। अर्को सम्झनामा म नारनथान(बूढानीलकण्ठ)को मेलामा आमासंग गएको र साँझ परिसकेपछि घर फर्केको सम्झिन्छु। अर्को सम्झनामा हजुरआमाद्वारा तथानाम गाली गरिएको भाइ रुँदै आएर आमाको काखमा बसेको र आमाले मायाले उसलाई फकाएको सम्झन्छु।
अनि एउटा सम्झनामा आमा अगेनामा रोटी पकाइरहनुभएको छ। हामी नजिकै बसेर उहाँलाई पिरोलीरहेका छौं।
“तीमीहरु मलाई धेरै नपीर है! म मर्दिन्छु नि फेरि?!” आमा हामीलाई धम्की दिनुहुन्छ।
“मर्नी भन्या के? कसरी मर्नी?” हामीलाई के थाहा?
“यी यसरी!” आमा आफ्नो जिब्रो अलिकति निकालेर टोकेझैं गर्नुहुन्छ र दलिनतिर हेरेर आँखा पल्टाएझैं गर्नुहुन्छ। हामी खित-खित-खित हाँस्छौं, आमा पनि हाँस्नुहुन्छ।
आमाले त हामीलाई जिस्काउनुभएको मात्रै थियो, तर नियतिले उहाँलाई साँच्चै मा-यो! हाम्रो जिन्दगीमा, बाको जिन्दगीमा कुनै विशाल पहाड खस्यो। डेढ वर्षको अन्तरका चार छोराछोरी थिए मेरी आमाका। डेढ वर्षको भाइलाई मामाघर लगियो। बाँकी हामी बाको संघर्षका साक्षी बन्न घरै बस्यौं। हामीलाई हुर्काउन र आमाको अभाव पूरा गर्न बाले गर्नुभएको संघर्ष कुनै तपस्याभन्दा कम छैन।
हामीलाई आमाको निधनको कारणका बारेमा कहिल्यै कसैले केहि पनि भनेन। हाम्रो अगाडि कुरा चलेपनि एकदम अप्रत्यक्ष कुरा हुन्थ्यो। पछि मैले बुझेअनुसार, कुनै कच्चा सुडेनीको भर पर्दा अति रक्तश्राव भएर उहाँको निधन भएको थियो। प्रत्यक्ष देखिने कारण यो भएपनि अप्रत्यक्ष तर खास जिम्मेवार कारणहरु अरुनै छन्। तिब्र घृणा पालेर बाँचिरहेको छु म ती कारणका कारकहरुसंग! तर आमा, मेरी आमा फेरि फर्केर आउनुहुन्न!!
मलाई याद छ, आमाले मध्यरातमा हामीलाई छोड्नुभएको थियो। अलिअलि झरी पनि थियो। मस्त निद्रामा रहेका हामीलाई हतार-हतार काकाको घरतिर ओसारिएको थियो। बा डाँको छोडेर रोइरहनुभएको थियो। ‘लाशलाई ढोकाबाट निकाल्न हुन्न!’ भन्दै मेरी आमालाई झ्यालबाट निकालिएको थियो। अलि-अलि बुझ्ने मैमात्र थिएँ, तर म रुन सकिरहेको थिइन। मेरा अबोध भाइबहिनीहरुलाई त झन केहि थाहा थिएन, उनीहरु निद्राको संसारमै थिए रातभरि।
भोलिपल्ट बिहान भेला भएका काकीहरु, ठूलोआमाहरु हामीलाई अँगालेर खुब रोएका थिए। पछिसम्म पनि हाम्रो जिन्दगी शिशिर-वसन्तको कथाजस्तो भयो भन्दै हामीलाई अँगालेर रुनुहुन्थ्यो उहाँहरु (माइलो भाइको नाम शिशिर)। उहाँहरुमध्ये कति अहिलेपनि मलाई देख्दा रुनुहुन्छ मेरी आमालाई सम्झेर। आमा असाध्यै मिलनसार हुनहुन्थ्यो रे। अनि म मेरी आमाकै नाक-मुख-अनुहार र हातखुट्टा लिएर जन्मेको छु रे। त्यसकारण मलाई देखेपछि उहाँहरुलाई आमाको याद आउँछ रे असाध्यै।
आमाको निधनको असर हामी सबैलाई प-यो तर सबैभन्दा बढी मेरी बहिनीलाई प-यो। आमा बितेको दुई-तीन वर्षसम्म पनि आफ्नो बालसुलभ बोलीमा ‘भोलि थुली आउँछे, पापा ल्याउँछे।‘ भनेर भनीरहन्थी ऊ। कतिचोटि भित्तामा झुण्डिरहेका आमाका लुगाहरु देखाएर ‘थुलीको नाना’ भन्थी र बा भक्कानिएर रुनुहुन्थ्यो धेरै बेरसम्म।
ऊमात्रै हैन हामी पनि आमालाई ठुलीनै भन्थ्यौं। आमा मामाघरकी जेठी छोरी भएकोले ठुली भनेर बोलाउँथे सबैले। हामीले त्यहि नाम टिपेका थियौं।
तस्बीरहरुको चलन त्यति थिएन गाऊँमा त्यो बेला। आमाको एउटा तस्बीर थियो अर्धकदको र श्यामश्वेत, बाको संचयकोषको पुस्तिकामा टाँसिएको। त्यो बाहेक अरु कतै पनि देखेको थिइन धेरै वर्षसम्म। केहि वर्ष पहिले मुमाले (काकीलाई मुमा भन्न सिकाइएको हो सानैदेखि हामीलाई) अर्को एउटा सानो तस्बीर देखाउनुभएको थियो, आमा आफ्नी सासू र दुईटी देउरानीहरुसंग उभिनुभएको छ त्यसमा। एकदम कोमल अनुहारले त्यो तस्बीर आमाको बिहे लगत्तैको हो भन्ने बताउँछ। तस्बीर मुमाले मलाई दिन मान्नुभएन। अब नेपाल जाँदा खोसेर ल्याउँ जस्तो पनि लाग्छ। तर मुमाका पनि आफ्नै सम्झनाहरु जोडिएका छन् होला आमासंग, चित्त दुखाउनु भएन।
त्यसपछिका दिनहरु कहिले सुखमय भए, कहिले दुखमय भए, सबै दिनहरुको आ-आफ्नै कथा छ। आमाको अभावको नपुरिने घाउ त भित्र मुटुमा सधैं छँदैछ। मलाई आमाको यादले कहिल्यै-कहिल्यै छोडेको छैन। यस्तो कुनै दिन छैन जुन दिन उहाँको सम्झना नआएको होस्। छोरी जन्मेपछि झन बढी याद आउन थाल्यो। अचेल टुकुटुकु हिँड्ने छोरीको पछाडि कुदिरहँदा असाध्यै भावुक हुन्छु म। आमा कतै बसेर हेरिरहनुभएको छ होला जस्तो लाग्छ। सम्झिन्छु, आमा बाँचिरहनुभएको भए अहिले ५२-५३ की हुनुहुन्थ्यो। उहाँको कपाल आधी फुलिसकेको हुन्थ्यो होला। दशैंमा हामी सबैलाई टिका लगाइदिनुहुन्थ्यो होला। आफना नातीनीहरु आँगनमा खेलेको, उफ्रेको र नाचेको कति रमाएर हेर्नुहुन्थ्यो होला! बेलुका सुत्ने बेलामा उनीहरुलाई कति धेरै रमाइला कथाहरु सुनाउनुहुन्थ्यो होला!-----------------
लाग्छ कुनै विशाल मेलामा म आमासंगै हिँडिरहेको थिएँ। अचानक आमा कतै हराउनुभयो र म एक्लै भएँ। आमा खोज्दै रुँदै हिँडिरहेको बालकजस्तै छु म भित्र मनमा।
यो मेरो जिन्दगी मलाई आमाको खोजमा मैले गरिरहेको यात्राजस्तो लाग्छ।