Showing posts with label मुक्तक. Show all posts
Showing posts with label मुक्तक. Show all posts

April 02, 2020

कात्रो

जिउँदो छँदा त उसलाई पटक-पटक चिनिएको थियो
लाग्छ, मर्नुअघि पनि 'प्रतिशत'को कुरा छिनिएको थियो
चिताको लाश जुरुक्क उठेर कात्रोको कमिशन माग्यो
जुन कात्रो उसैका लागि देशको बजेटले किनिएको थियो ।

February 09, 2020

मासौं, सबैथोक नासौं

प्रकृति मासौं र संस्कृति मासौं
पुर्खाका पौरख यी सम्पदा नासौं
‘भ्रमण वर्ष’ मनाउन भने छोड्नुहुन्न
सबैले फेवा र रारा भित्तामा टाँसौं !

December 02, 2019

अपराध

प्रत्येक पल यहाँको कहर हो
यहाँको हावा आफैंमा जहर हो
ज्यूँदो हुनु अपराध हो यहाँ
यो मूर्दाहरुको शहर हो !
(२०७३, फाल्गुन २०)

November 17, 2019

--- घातक हुने रहेछ

अहंको सिँढी चढ्नुहुन्न, घातक हुने रहेछ
अति चाहले डढ्नुहुन्न, घातक हुने रहेछ
दुनियाँसंग लड्नुपर्ने लडाईँहरु धेरै छन्
आफैंसंग लड्नुहुन्न, घातक हुने रहेछ ।

(२०७६, मंसिर १; पोखरा)

March 11, 2019

मेरो पनि जमाना थियो -----

मेरो पनि जमाना थियो, जमाना क्या फुक्काफाल थियो
साथीहरु अझै डाहा गर्छन् ‘यार तेरो त मालामाल थियो!’
हरेक बिहान नराम्ररी झस्काएर सम्झाउँछ साला ऐनाले
जमानामा यो तालुमा पनि कालो बाक्लो कपाल थियो !

August 21, 2018

सरकारी भेटी

सरकारले गरीबलाई यस्तो दक्षिणा, यस्तो भेटी दियो
तालु देखि पैतालासम्म निचोर्‍यो र घाँटी रेटिदियो
गरीबलाई बाँड्ने भन्दै ठूलो होहल्ला गर्दै छापिएको
सरकारले गरिबीको परिचयपत्र धनीलाई बेचिदियो !

(साउन ३१, २०७५)

July 01, 2018

काउँरेडको बिहे

काउँरेड हावामा मुड्की बजारेर उभिनुभयो
जन्तीलाई कालो चिया र बिस्कुट दिनुभयो
बिहे त जनवादीनै गर्नु भएको हो काउँरेडले
दाइजोमा सय तोला सुन कसरी लिनुभयो ?

May 19, 2018


मलाई उज्यालो मन पर्छ, घामको भएपनि जूनको भएपनि
यात्रा आफ्नै उडान आफ्नै, धामको भएपनि धुनको भएपनि
यी कुनै पनि ‘दरबार’संग साट्न सक्दिन म मेरो स्वतन्त्रता
पिँजडा आखिर पिँजडानै हो, फलामको भएपनि-सुनको भएपनि

February 13, 2018

तीन मुक्तक

मान्छे हुँ- कतै खुल्ला छु र कतै थोरै रहस्य मेरो पनि छ
ज्युँदो छु- रहर मेरा पनि छन्, केहि उद्देश्य मेरो पनि छ
सन्तानका लागि, भविष्यका लागि! भन्दै भाइ बिदेशियो
म यहीँ छु- सन्तान मेरा पनि छन् र भविष्य मेरो पनि छ
--------------------------------------------------

राजधानी+पत्रकार+दारुपानीको पूर्वाधार जानिएन
मोफसल बसाई यो देशमा गतिलो आधार ठानिएन
कस्ता-कस्ता हिट भए र कस्ता-कस्ता सुपरहिट भए
हाम्ले लेखेको किन कहिल्यै हिट धुवाँदार मानिएन ?
-----------------------------------------------------------------

म हदैको सोझो र बाठो असाध्य - दुबै भईदिन सक्छु
तिम्रा हर रहरमा म राजी र बाध्य - दुबै भईदिन सक्छु
अराजक जिन्दगी जिउने तिम्रो घोषणाको जवाफ सुन
तिम्रो अराजकताको साधन र साध्य - दुबै भईदिन सक्छु।

December 27, 2014

हार-जीतका कुरा

हेरेरै जितिदिन्छ्यौ तिमी, छोएरै जितिदिन्छ्यौ
कहिले नजरले समेत नछोएरै जितिदिन्छ्यौ
हारमा अभ्यस्त म, जितमा अभ्यस्त तिमी
हाँसेरै जितिदिन्छ्यौ तिमी र रोएरै जितिदिन्छ्यौ ।

February 11, 2014

अराजक मुक्तक


हदैको सोझो र बाठो असाध्यै - दुबै भईदिन सक्छु
तिम्रा रहरमा म राजी र बाध्य - दुबै भईदिन सक्छु
साह्रै मन पर्छन् मलाई तिम्रा यी अराजक योजनाहरु
तिम्रो अराजकताको साधन र साध्य - दुबै भईदिन सक्छु। 

July 01, 2013

शेष-अशेष-विशेष

यहि शेष छ, र मेरा लागि अशेष छ
मुटुमै छ, मेरा लागि विशेष छ
दुई नाऊमा खुट्टा कहिल्यै हाल्नेछैन-
मसंग जे छ, केवल यहि देश छ।

(असार १७, २०७०; पोखरा)

June 16, 2013

फेरि चुनाव गर्दैछन्

प्रतिगमन कोच्याएर फेरि चुनाव गर्दैछन्
जनतालाई होच्या‍एर फेरि चुनाव गर्दैछन्
हिजोका गुलिया नारा झुटा साबित भएपछि
डनलाई पैसा ओच्छ्याएर फेरि चुनाव गर्दैछन्

December 30, 2012

तीन चोइटा


प्रकृति संगको नाता अब फेरि जोडिनुपर्छ
जो जहाँको हो, उसलाई त्यहीँ छोडिनुपर्छ
हरेक जीवन मुक्त हुनुपर्छ, यसैले अब
चिडियाखाना तोडिनुपर्छ, पिँजडा फोडिनुपर्छ।

(असोज २९, २०६९; पोखरा)

प्रत्येक दिन देशको जीवनमा एउटा धराप थपिन्छ
र लेण्डुप दोर्जेहरुको काँधमा एउटा धाप थपिन्छ
खै कसरी सोचौं उज्यालो भोलि? जब प्रत्येक दिन-
एउटा भिम मल्ल काटिन्छ र एउटा सराप थपिन्छ

(मंसिर २३, २०६९; पोखरा)


कामै चलाउन नसक्ने-काम चलाऊ सरकार
लखनौ लूट जारी छ-दाम चलाऊ सरकार
भाँचिनेछन् विदेशी वैशाखी-इतिहास साक्षी छ
कतिञ्जेल चल्ला तिम्रो-छलछाम चलाऊ सरकार!

 (पुस ११, २०६९; पोखरा)

August 23, 2012

चार नयाँ मुक्तकहरु


१. बुझिराख!

तिमीले फलाक्दैमा कुनै पनि क्षण लगन हुँदैन
तिम्रा थोत्रा ढड्डामा स्वतन्त्रताको  गगन हुँदैन
टाउको फनफनी घुमाऊँदै पछिल्तिर हिँड्दै छौ
जति हिँडेपनि त्यस्तो हिँडाई अग्रगमन हुँदैन।

२. 'नयाँ' नेपाल-नयाँ नारा!

बाटो मिच्न पाऊनुपर्छ, शालीक ढाल्न पाउनुपर्छ
मान्छे मार्न पाउनु पर्छ, हड्डी गाल्न पाउनुपर्छ
नयाँ नेपालको नयाँ नारा यहि हो हजुर-
छोरी बेच्न पाउनुपर्छ, बुहारी बाल्न पाउनुपर्छ। 

३. बिडम्बना!

पाठा रोज्दैछन्, जन्माउने माऊ पाईएको छैन
जगमै हानाहान छ, छानो छाईएको छैन
सबैलाई 'राज्य'को चिन्ता छ यहाँ-
विचरो देश! देश कसैलाई चाहिएको छैन।

४. फिर्ता देऊ!

यो देशको दिल, दिमाग र नाभी फिर्ता देऊ
यो पूरा देशमाथिको मेरो दाबी फिर्ता देऊ
जोगाऊँछौ भनी जिम्मा लगाएँ, अन्तै सुम्पेछौ
बाबुराम! मलाई मेरो देशको चाबी फिर्ता देऊ!


July 24, 2012

'सास धान्न' दुई मुक्तकहरु

ब्लगको 'सास धान्न' यतिखेर यी दुई मुक्तकको भर परेको छुः)

१.
चोर र ठग-को ठूलो? विवाद भएको छ
सरोकारवालाबाट भीषण प्रतिवाद भएको छ
बेईमानी मिसिएको छ यहाँ हरेक 'वाद'मा
'ईमान्दारी' बजारको अपवाद भएको छ।

२.
सुख्खा-सुख्खा नहर लाग्छ देश
बाढीपछिको बगर लाग्छ देश
भत्काउनेहरुको जमाना छ-
पराजित, खण्डहर लाग्छ देश।

May 29, 2012

देशलाई सजाय



१. धन्य देश!

पालुवा छैन जीवनमा, सधैं हिऊँदै छ
सबै मूल सुकेपनि कहाँबाट जीवन पिऊँदै छ
सहस्र गँगटाले घाँटी अँठ्याएकै छन् तैपनि-
धन्य छ मेरो देश! मेरो देश अझै जिऊँदै छ।


२. सजाय

सैयौं धोका खाएर पनि हाँसीरहेछु
थाहा छैन, के को आशमा अझै औंला भाँचिरहेछु?
जिन्दगीको सबैभन्दा ठूलो सजाय हो यो शायद
म 'यो' देशमा 'यतिखेर' बाँचीरहेछु।



April 30, 2012

भरतपोखरीको 'अक्षरयात्रा'

गजल सन्ध्या पोखरा र नवनीत साहित्य सागर पोखराले आयोजना गरेको 'अक्षरयात्रा' कार्यक्रममा भाग लिएर भरतपोखरी पुगियो अस्ति शनिवार। बडो सुन्दर ठाऊँ रहेछ भरतपोखरी। अक्षरयात्रा र भरतपोखरी-दुबै मेरा लागि पहिलोचोटि थिए। अक्षरयात्रामा कुनै ग्रामीण भेगमा पुगेर त्यहीँ कविता-गीत-गजल आदि सृजना गरेर त्यहीँका स्थानीयहरुसंग कार्यक्रम गरेर सुन्ने-सुनाउने गरिँदो रहेछ। अस्तिको कार्यक्रम 'अक्षरयात्रा' शृंखलाको ८७औं भाग रहेछ। कार्यक्रममा भरतपोखरीकै नवोदित साहित्य समाजको प्रकाशन 'सृजना लहर'को तेश्रो अंकको विमोचन पनि भएको थियो। प्रमुख अतिथिका रुपमा प्रख्यात गीतकार, गजलकार  प्रकट पगेनी 'शिव' हुनुहुन्थ्यो।

भरतपोखरीको यो अक्षरयात्रामा २५ जनाजति यात्रीहरु थियौं पोखराबाट। सहयात्री ब्लगर चैतन्यजीपनि हुनुहुन्थ्यो।

त्यहि कार्यक्रममा सुनाउनका लागि सुन्दर भरतपोखरीलाई हेरेर मैले लेखेका केहि टुक्राहरु राख्न चाहन्छु आज।

भरतपोखरी

पाईला-पाईलामा सौन्दर्य पस्किन्छ
गह्रा, पाटा र बाटाबाट पौरख मस्किन्छ
हाम्रो चिनारी पूरानै हो शायद-
हाँगा-हाँगाबाट कोईली मैसंग जिस्किन्छ।

भाग्यले जुराएछ आज लगन यस्तो
सधैं यतै बसुँ झैं मन मगन यस्तो
आकाश छुने पहाडहरुको काखमा-
भरतपोखरी-स्वर्गको आँगन जस्तो।

तिम्रा हस्तरेखाजस्ता बाटाहरु पछ्याउन
तिम्रो हरियो देहमा पूरै मन बिछ्याउन
तिमीसंग लामो मितेरीको मन छ अब-
तिमीसंग गाँसिएर आफैंलाई सच्याउन।

र अन्त्यमा एउटा कामना;

फाँटहरु निल्ने रहर नपसोस्
अमृत बसोस्-जहर नपसोस्
यो सुन्दर भरतपोखरीमा-
विकास पसोस्-शहर नपसोस्।

April 08, 2012

तीन समसामयिक मुक्तकहरु

१.  दुई खुट्टे प्राणी
एक टुक्रा कपडा, खादा हुन्छ, फेटा हुन्छ
मान्छे गलाउने रोग हुन्छ, ब्यथा हुन्छ
नेताजति चोर देख्दा-देख्दा यस्तो लाग्छ
दुईखुट्टे प्राणी कि मान्छे हुन्छ कि नेता हुन्छ!

२. योजना चाहिए
सूरसाको मुखलाई खाना, दाना, भूस-- दिनुस्
सात पुस्ताले मुख मिठ्याउने गुलियो जूस दिनुस्
पोष्टपेडमा लाईन लाग्ने जमाना गयो हजूर!
योजना चाहिए मन्त्रीलाई प्रिपेड घूस दिनुस्।

३. साला बाहुन मूर्दाबाद!
आज पानी धेरै प-यो, साला बाहुन मूर्दाबाद!
कस्तो हावा-हुरी चल्यो, साला बाहुन मूर्दाबाद!
हिजो रातभरि फिट्टान भईयो-उडान भईयो
आज कस्तो टाउको दुख्यो-साला बाहुन मूर्दाबाद!