January 11, 2015

राष्ट्रनिर्माताको जन्मघरमा



 (तस्बीर साभारः Border Nepal Buddhi)

२०७१ सालको को नौरथाको षष्ठीका दिन साँझ सपरिवार गोरखा पुगियो

१५ वर्ष जति पहिलाको एउटा झरीमय दिनमा पहिलोपटक गोरखा पुगेको थिएँ। गोरखा बजारबाट हतारमा दरबार उक्लेर हतारमा झरिएको थियो। झरी परीरहेको हुनाले दरबार परिसर पनि पूरा घुमिएन। गोरखनाथको प्रसादको रुपमा रोट खाएर फर्किएका थियौं हामी केहि। त्यै सीमित गोरखा दरबार घुमाईको मेरो सम्झना पनि अत्यन्त मधूरो भईसकेको थियो। यसपालि बजारमै रहेको संग्रहालय भने घुम्न पाईएन, फूलपातीको दिनबाट दशैंका लागि बन्द हुने रहेछ।

गोरखा दरबार हामी नेपालप्रेमी नेपालीको तीर्थस्थल। यसपालि गोरखा दरबार जानु एउटा तीर्थाटन थियो मेरो लागि। उनकै जन्मघरमा उभिएर फेरि एक पटक राष्ट्रनिर्माताप्रति श्रद्धासुमन चढाउन चाहन्थें म, र त्यहीँ बसेर केहि बेर यो देशका बारेमा घोत्लिन चाहन्थें।
साँझ सात बजेतिर बस पार्कमा ओर्लिएर बास र गाँसको खोजी गर्ने र केहि खित्रिङमित्रिङ किन्ने क्रममा गोरखा बजारले त्यति राम्रो प्रभावचाहिँ दिएन। गोरखा बजार पेशेवर बनीसकेको रहेनछ अझै र यसैले ब्यावसायिक विनम्रता पनि बिल्कुलै भेटिएन। एक साँझको मेरो सीमित अनुभव पूरै सत्य नहुन पनि सक्छ, समग्र गोरखा बजारलाई अनुभूत गर्ने हो भने औसत चरित्र यस्तो नहुन पनि सक्छ।

भोलिपल्ट फूलपातीको दिन बिहानै उठेर दरबारतर्फ उकालो लाग्यौं। दरबारसम्म पुने सिँढीको अवश्था राम्रै मान्नुपर्छ तर (शायद) बलि दिनका लगिँदै गरिएका रांगा, बोका आदिलाई त्यो ठाडो सिँढीमा घिच्याएको दृश्यले भने मनलाई अशान्त पारिरहे। दरबारको नजिक पुगेपछि भने सिँढीमा जताततै रगत लतपतिएको देखिन्छ। दरबार परिसरमा रहेका मन्दिरमा दिईने बलिलाई अलिक ब्यवश्थित पार्नुपर्ने देखिन्छ। बलि ल्याउने-लाने बाटोनै फरक पार्न सके राम्रो हुन्छ। 

गोरखा दरबारबाट लगेर काठमाण्डौंमा भित्र्याइने फूलपातीको बारेमा बच्चैदेखि सुने-पढेकाले त्यो फूलपाती कसरी तयार पारिँदो रहेछ र काठमाण्डौं पठाउनुअघि के-के विधिविधान गरिँदो रहेछ भनेर हेर्ने उत्सुकता पनि थियो मनमा। दरबारको सुरक्षार्थ बसेका एकजना सैनिक भाइलाई सोध्दा अल्मलिँदो उत्तर दिए। त्यसपछि दरबार घुम्ने र तस्बीरहरु खिच्ने क्रममा अरु कसैलाई पनि सोधिएन, दरबार परिसरको अव्यवश्था देख्दा त्यहाँ फर्याकफुरुक गरीरहेका कर्मचारीजस्ता मान्छेहरुलाई केहि सोध्ने जाँगर पनि त्यसै मरेर गयो। 

दरबार परिसरमा हाम्रो पछिपछि एकजना १०-११ वर्षकी नानी आईन् र हाम्रो ‘गाइड’ बनिदिने प्रस्ताव राखिन्। त्यस्तो आवश्यकता त केहि थिएन तैपनि हामीले सहर्ष स्विकार्यौं। एकछिन उनी उनले हामीलाई पृथ्वीनारायण शाहको सिंहासन, पृथ्वीनारायण शाहलाई उनकी आमाले तेल घसिदिने ठाऊँ आदि देखाईन्। उनको ‘सहयोग’का लागि उनलाई धन्यबाद दिँदै उनलाई केहि रकम पनि दियौं र उनी खुशी हुँदै कतै लागिन्। दरबारभित्रको स्थिति झन् दयनीय रहेछ। साह्रै फोहर थियो र ती नानीले पृथ्वीनारायण शाहलाई उनकी आमाले तेल घसिदिने ठाऊँ’ भनेर देखाएको स्थानमा बोकाहरु बँधिएका थिए र तीनका अघिल्तिर स्याउला झुण्ड्याइएको थियो। ‘सिँहासन’ धूलो र माकुराको जालोले ढाकिएको थियो। एउटा राष्ट्रिय तीर्थस्थलको यो दुर्गतिले मनलाई कटक्क काटयो। दरबार पछाडिबाट देखिने मनोरम हिमशृंखलाको दर्शनले पनि दुखेको मनलाई निको पार्न सकेन। 

हामी नेपाली आफ्नो इतिहासको जगेर्ना गर्ने कुरामा बिल्कुलै ध्यान दिँदैनौं। इतिहासको जगेर्ना गर्न नजान्नाले नै वर्तमानमा हाम्रो यो दुर्गति भएको हो। इतिहासको जगेर्ना गर्नु, त्यसलाई वस्तुनिष्ठ ढंगले केलाउनु र त्यसबाट पाठ सिकेर अघि बढ्नु सभ्य राष्ट्रको विशेषता हो। हामी त्यो सभ्य स्वभावबाट अझै टाढै छौं। हामी हरेक कुरालाई भत्काउन, बिगार्न र माटोमुनि पुर्न उद्यत छौं। राष्ट्रनिर्माताको जन्मघरलाई त यस्तो वेवास्ता गरेका छौं हामीले भने अरु धरोहरलाई झन् सम्झिने कुरै भएन।

गोरखा दरबारलाई ऐतिहासिक पर्यटन गन्तब्यका रुपमा विकास गरिनुपर्छ। पर्यटक, विशेषगरी ऐतिहासिक रुपमा सचेत आन्तरिक पर्यटकहरु प्रशश्त तान्न सक्ने क्षमता छ यहाँ। अहिले कामै परेर बाहेक कोहि पनि गोरखा जाँदैन। पोखरा, चितवन वा लुम्बिनी जाने पर्यटकहरुको एकदम सानो अंशमात्रै गोरखा पस्छ, त्यो पनि चार-पाँच घण्टाभन्दा बढी समय नबिताई फर्कन्छ। पर्यटकहरुलाई एक दिन एक रात राख्न सक्ने पूर्वाधार र योजना पनि गोरखाले अझै बनाएको छैन। पर्यटकलाई पहिलो गन्तब्यकै रुपमा गोरखा तान्न सक्ने पूर्वाधार, योजना र पेशागत दक्षताको विकासमा गोरखा लाग्नुपर्छ।

गोरखा दरबारलाई सफा र ब्यवश्थित पार्ने काम पहिलो कदम हुनेछ त्यसका लागि। तत्पश्चात गोरखा दरबारमा राष्ट्रनिर्माताकै समयका पोशाकहरु लगाएर फोटो खिच्न सकिने सशुल्क ब्यवश्था गर्न सकिन्छ। राष्ट्रनिर्माताको जीवन, एकीकरण अभियान र तत्कालीन परिवेशसम्बन्धी केहि ऐतिहासिक चलचित्र र डकुमेण्ट्रीहरु दरबार परिसरमै देखाईने ब्यवश्था गर्न सकिन्छ। अर्को कदममा, गोरखा दरबार र वरिपरिका अरु ऐतिहासिक र धार्मिक स्थलहरु र प्राकृतिक सम्पदालाई जोडेर २-३ दिनको पर्यटन प्याकेज निर्माण गरिनुपर्छ।

अलिक ठूलो योजनाका रुपमा राष्ट्रनिर्माताको एकीकरण अभियानका बिभिन्न दिशाहरु पछ्याऊँदै अघि बढ्ने गरी गोरखा बजार-गोरखा दरबारबाट शुरु हुने (वा त्यहाँ आएर अन्त्य हुने) पदयात्रा मार्गहरुको पहिचान गर्न सकिन्छ। त्यस्ता पदयात्रा मार्गहरुमा थुप्रै ऐतिहासिक र प्राकृतिक सम्पदाहरु पर्ने कुरामा कुनै विवाद छैन र शुरु गर्न र ब्यवश्थित रुपमा सञ्चालन गर्न सकियो भने यस्ता पदयात्रा मार्गहरुले देशको ठूलो भूभागको आर्थिक गतिबिधिलाई गति दिन सक्नेछन्। अर्कोतिर लमजुङ, कास्की आदि ठाऊँमा रहेका शाहवंशीय वा त्यस अघिका दरबार र अन्य ऐतिहासिक संरचनाहरुलाई गोरखा दरबारसंग जोड्ने गरी एउटा परिपथ (सर्किट)को परिकल्पना पनि गर्न सकिन्छ। यी ठाऊँमा रहेका गोरखा दरबारभन्दापनि प्राचीन संरचनाहरु झन् संरक्षणवीहिन र बिजोग अवश्थामा छन्। यस्तो परिपथ बन्न सके ती संरचनाहरुको संरक्षणमा पनि केहि काम हुन सक्ने थियो। 

यिनै चिन्तनका साथ यो सानो लेखोटको बिट मार्न चाहन्छु।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहमा हार्दिक श्रद्धासुमन!