Showing posts with label बाल-मनोविज्ञान. Show all posts
Showing posts with label बाल-मनोविज्ञान. Show all posts

May 23, 2013

आज कति नम्बर आयो??

आर्यालाई हेर्ने कामको भाग लगाएका छौं हामीले। बच्चा एउटै भएपनि एकात्मक परिवारमा बसीरहेको र दुबैको आ-आफ्नो ब्यस्त 'क्यारीयर' भएकाले समय ब्यवश्थापन अलिक जटिल भईदिँदोरहेछ। यो जटिलताले हामीलाई दुःख भने कत्तिपनि लागेको छैन, एउटा सुखद् चुनौतीका रुपमा लिँदै छोरीलाई केन्द्रमा राखेर आफ्नो समयको ब्यवश्थापन गरीरहेका छौं हामी।

छोरी स्कूलबाट घर फर्कने बेलामा म हुन्छु घरमा। 'लचिलो' प्राध्यापन पेशामा भएकाले यतिखेर समय निकाल्न सक्छु म। मेरो त्यसपछिको पहिलो काम ऊसंग दश-पन्ध्र मिनेट बसेर स्कूलका कुरा सोध्नुहुन्छ। उसले हातमुख धुने, लुगा फेर्ने काम सकेपछि खाजा बनाएर बाऊ-छोरी गफ गर्दै खानुमा कम्ति मजा छैनः)

स्कूलको पोशाकको सेतो शर्टको भने बिजोग भैसकेको हुन्छ ऊ फर्केर आऊँदासम्म। बाहुलाको नाडीमुनिको भाग त रंगीचंगी बनीसकेको हुन्छ। खेल्दा-खेल्दै अलिअलि धूलोमैलो अनुहारतिरपनि पुगीसकेको हुन्छ। बच्चा हुनाले यो स्वाभाविक हो, तर यसैलाई एउटा रमाईलोमा बदल्न मन लाग्यो मलाई र दुई हप्ताजति पहिलाबाट 'नम्बर' दिन शुरु भयो। 

नम्बर दुईटा कुरामा। पहिलो, यहि शर्ट र अनुहारको फोहरलाई हेरेर दिने। कत्ति पनि फोहर नभए १०० हुने अनि फोहर देखिए अनुसार एक-एक नम्बर घटाऊँदै जाने। रमाईलोकै लागि यो 'सम्झौता' गरिएपनि यसले केहि न केहि असर भने देखाउन थालेको छ। सरसफाईमा आर्याले अझ बढी ध्यान दिन थालेको देखिईसकेको छ। नम्बर त ९८ भन्दा घटेको पनि छैन। रमाईलोको लागि गरेको कामलाई मैले पनि रमाईलै पाराले नम्बर दिन्छु, अस्ति एकदिन त १०० नै दिएँ, १-२ नम्बर घटाउन सक्ने ठाऊँ हुँदाहुँदै पनिः)

दोश्रोचाहिँ, लुगा फेर्ने, लुगा र जुत्ता मिलाएर राख्ने कुरा हेरेर नम्बर दिने। पहिलोमा भन्दा पनि धेरै सुधार आएको छ यसमा। पहिला 'लुगा फेर' भनेर पाँच-सातचोटि कराऊँदा पनि 'एकछिन क्या एकछिन! कस्तो थकाई लागीरा'छ आफ्लाई!' भनेर धेरै बेरसम्म अलमल गरीरहन्थी, उसका साथीहरु खाजा खाईवरी आईसक्दापनि उसले लुगा फेर्न थालेकै हुँदैनथ्यो। अहिलेचाहिँ दश-पन्ध्र मिनेटको 'भलाकुसारी'पछि "कौन बनेगा करोडपति"को स्टाईलमा "आर्या, तिम्रो समय शुरु भयो अब!" भनेर मैले भन्ने र उसले त्यसपछि फटाफट लुगा फेर्ने र आफ्ना सामान मिलाउने 'भद्र सहमति' पनि भएको छः)

दुबै 'विषय'का नम्बर घरको सेतो पाटीमा चढ्छन् हरेक दिन।

अब हामीलाई पनि नम्बर दिन थालेकी छे उसले, ऊ पनि के कम! ऊ भन्दा ढिला आउँदा दुबै विषयमा हाम्रो जाँच-पड्ताल हुन्छ र नम्बर चढ्छ सेतोपाटीमा।


April 23, 2013

किताबमा गाता

छोरीका किताबहरुमा गाता हाल्दिँदै थिएँ।

दुई कक्षाको अंग्रेजी किताब देख्दा मलाई डर लाग्यो। झण्डै मैले आईएस्सीमा पुगेपछि पढेको स्तरको अंग्रेजी छ। कुरो फेरि एउटा विषयको मात्रै होईन। Science, Social Studies र Math नामका जिनिसहरु पनि अंग्रेजीमै पढाईने हुँदा भाषिक कठिनाई मैले १७-१८ वर्षको उमेरमा भोगेको कठिनाई छोरीले अहिल्यै भोग्नुपर्ने भयो। पोहर एक कक्षाका किताबहरुमा गाता हाल्ने क्रममा पनि यहि 'डर'बाट गुज्रेको थिएँ।  फेरि यी किताबहरु कदका साना पनि छैनन्।

म सोच्छु, स्कूलमा यी किताबहरुबाट के-के कुरा कसरी निकालेर पढाईएला? किनभने यी किताबहरु पूरै त के आधा पनि पढाउन गाह्रो होला हरेक पाठ पढाऊँदै जाने हो भने। फेरि एउटा बालमष्तिष्कले एक वर्षमा सिक्नसक्ने कुराको आफ्नै सीमा त हुन्छ नै। यसो भएपछि बालबालिकालाई चाहिने-चाहिने कुरामात्रै राखेर अलिक मसिना कदका किताब निकालेका भएपनि हुँदो हो प्रकाशक-विद्यालय सिण्डिकेडटले। त्यो कुरो कलिला नानीहरुका लागि शारीरिक र मानसिक दुबै तवरले राम्रो हुन्थ्यो।  कद घटाऊँदा मोल घटाउनुपर्ने र त्यसो गर्दा सबैतिरको नाफा-कमिशन घट्ने हुनाले किताब मोटै राखिएको बुझ्न गाह्रो छैन। 

बच्चाहरुको शिक्षामा उनीहरुलाई धेरै कुरा रटाउनेभन्दा पनि रचनात्मक-सृजनात्मक बनाउने र उनीहरुको सम्वाद कला निखार्ने उद्देश्य हुनुपर्छ।

हरेक वर्षको यो याममा प्रकाशक-विद्यालय सिण्डिकेटका बिभिन्न तमाशाहरु देख्न पाईन्छ, यी तमाशाहरुको आलोचना र विरोध पनि सुनिन्छन् तर तिनको सुनुवाई खासै हुँदैन, नेपाल न पर्यो। छोरी पढ्ने विद्यालयले विद्यालय प्रांगणबाटै किताब बेचेको भने थिएन (पोहर पनि थिएन)। किताबको सूचि उपलब्ध गराईएको थियो र किताब पाईने केहि पुस्तक पसलहरुको नाम पनि थियो सूचिमा। केहि 'छुट' पनि मिलेकाले किताब मैले पनि तिनै मध्येको एक पसलबाट किनें। बजार डुलेर किन्ने विचार पनि आएको थियो तर किताबहरु फरक-फरक प्रकाशनका हुनाले एउटा झ्याउलोनै हुने थियो त्यो, किनभने बजारका पसलेहरुले निश्चित प्रकाशकका किताबहरुमात्रै राख्छन् धेरैजसो। 

धेरै ठाऊँमा त अझै पनि विद्यालय प्रांगणबाटै किताबहरु भिडाईएका समाचारहरु आईरहेकै छन। केहि दिनमै हामीले ती कुराहरु पनि बिर्सिहाल्छौं अर्को चैतको अन्त्यसम्मका लागि। जनक शिक्षाले छाप्न ढिला गरेर कर्णालीमा पुस्तक नपुगेको समाचार भने वर्षैभरि आईनैरहनेछन् बेला-बेला। कतिपय विद्यार्थीहरु पाठ्यपुस्तकको मुखै नदेखी अन्तिम परीक्षासम्म पुग्ने छन्। 

यो देशमा धेरै बच्चाहरुले किताब पाऊँदैनन्, किताब पाएका बच्चाहरुका किताब पनि उनीहरुका उमेर सुहाऊँदा छैनन्। देशको भविष्य बच्चाहरुले पाउने शिक्षामा निर्भर हुन्छ। बच्चाहरुको शिक्षाको एउटा प्रमुख साधन किताब हो, जब किताब भेटिन्न वा गतिलो भेटिन्न तब असर पर्ने भनेको देशको भविष्यलाई हो। 

July 10, 2012

My पसिना is come---- र They बाँधे Their पूच्छर---

"आज क्लासमा कस्तो रमाईलो भयो भने! -----" एक साँझ खाना खाँदै गर्दा आर्याले खितखिताऊँदै भनी।
"के भयो?"
"शुभम भन्ने साथी एकदम चलिराखेको थियो। टिचरले 'किन चलेको?' भनेर अंग्रेजीमा सोध्नुभयो। शुभमले 'My पसिना is come.' भन्यो। अनि सप्पैजना हाँसे। कस्तो रमाईलो भयो----।"
"हा हा हा! विचरालाई पूरै अंग्रेजीमा भन्न आएन होला नि त।" आर्यालाई पनि आऊँदैन। एक कक्षामा पढ्ने बच्चाबाट ब्याकरण मिलेको अंग्रेजीको आशा गरिहाल्नुपनि हुन्न। तर शुभम भन्ने बच्चो बाठो र हकी भने रहेछ, उसले आफ्नो समस्यालाई नडराईकन राख्ने कोशिश त ग-यो।

विगत केहि समय यता छोरीको पढाईलाई नियालिरहँदा मैले के पाएको छु भने नेपालका 'राम्रा' भनिने विद्यालयहरुमा पूर्वप्राथमिक तहका कक्षाहरुबाटै नेपाली एकदम कम र अंग्रेजी एकदम धेरै पढाईन्छ। फेरि नर्सरीबाटै 'स्कूलमा अंग्रेजीमात्रै बोल्नुपर्छ, नेपाली बोल्नु हुन्न।' भन्ने मानसिक दबाब दिईन्छ। जीवनजगतका कतिपय चिजबिज-गतिबिधिसंग सम्बन्धित शब्द-वाक्यहरु बच्चाहरुले नेपालीभन्दा पहिले अंग्रेजीमा सिक्छन्। पछि तिनै कुरा नेपालीमा सुन्दा '---भनेको के हो?' भनेर सोध्छन् र उनीहरुलाई 'अंग्रेजी प्रयोग गरेर नेपाली बुझाउनु' पर्छ। अंक र संख्याको हकमा त शतप्रतिशत यहि स्थिति देखिन्छ। जति सचेत हुन खोजेपनि यस्तो स्थिति आफैंले पनि भोगिराखिएको छः) 'भोलि छब्बीस गते हो।' भनेर सुनाऊँदा आर्याले 'छब्बीस भनेको कति हो?' भनेर सोध्छे अझै पनि, र उसलाई 'छब्बीस भनेको ट्वेण्टी सिक्स हो।' भनेर बुझाउनुपर्छ। यो स्थितिलाई कम गर्ने कोशिश जारी छ घरमा अहिले, घरमा सकेसम्म नेपाली बढी सिकाएर; तर पूरा सफलता हात पर्नचाहिँ समय निकै लाग्ला जस्तो छः)

नेपालको शिक्षा प्रणालीका बारेमा धेरै कुरा लेख्नुपर्ने हुन आऊँछ, अहिलेलाई त्यता नलागौं। आर्याको कक्षाको यो घटनाले मलाई आफ्नो विद्यार्थी जीवनको यस्तै एउटा घटना सम्झायो, त्यहि कुरा गर्न लागेको आज।

म आठमा पढ्दाको कुरो हो, अंग्रेजीमा एउटा पाठ थियो The Clever Goat भन्ने। त्यसमा बाठो बाख्रोले बाघबाट जोगिन गरेको चलाखीको कथा छ। कथाको अन्त्यतिर स्याल र बाघ आफ्ना पूच्छर बाँधेर चलाख बाख्रो भएको ठाऊँमा आउने प्रसंग छ। हाम्रै कक्षाको अर्को सेक्सनमा अंग्रेजी पढाउने सरले एकदिन यहि पाठबाट प्रश्नहरु सोधीरहनुभएको रहेछ। पढाई त्यति राम्रो नभएको एउटा ‘हावा’ केटालाई उठाएर स्याल र बाघ कसरी बाख्रो भएको ठाऊँमा गए भनेर सोध्दा उसले एकछिन अकमकाएर ‘---They बाँधे their पूच्छर---‘ भनेर जवाफ दिएछ। अंग्रेजी सरले पछि हाम्रो कक्षामा र स्कूलभरिनै त्यहि कुरा सुनाऊँदै हिँड्नुभएको थियो। विद्यार्थीको आत्मसम्मानलाई चोट पु-याउने त्यो बेईजत्ती सरले नगर्दिनुभएको भए राम्रो हुन्थ्यो, तर छब्बीस वर्षअघि यस्तो सोच राख्ने शिक्षक पाउन मुश्किलै थियो। कमजोर विद्यार्थीको विवशतालाई बुझ्ने र उसलाई विशेष तरिकाले सिकाउने शिक्षक भेट्न अझै त मुश्किल छ।  

August 11, 2011

फ्यान 'बाल्ने' रे!

फ्यान 'बाल्ने' भए आगो चाहिँ के गर्ने? 

तीन दिन पहिला बेलुका खाना खाँदा फेरि दोहरिएको कुरो हो। 
"म एकछिन फ्यान बालेर बस्छु है।" हामीभन्दा पहिले खाईसकेर बैठक कोठातिर लाग्दै आर्याले भनेकी थिई।

जेठको गर्मी लागेतिरको कुनै दिन हो, मैले पहिलो पटक आर्याले "गर्मी भयो, फ्यान बाल्छु है।" भनेको सुनेको।
धत्! फ्यान पनि बाल्छन् कहीँ? पङ्खा त चलाउने पो हो, चलाऊँछु भन न!" मैले उसलाई भनेको थिएँ।
"ल हुन्छ, म फ्यान चलाऊँछु।" उसले भनेकी थिई। 'बाल्ने' लाई 'चलाउने' भनेर 'सच्याए पनि फ्यानको सट्टा पङ्खा भन्न शायद उसलाई सजिलो लागेन।

ठ्याक्कै यहि संवाद धेरैचोटि दोहरिईसकेको छ। जति सम्झाएपनि ऊ 'फ्यान बाल्ने' भन्न छोड्दिन। दिनभर स्कूलमा त्यस्तै सुन्दी हो, त्यसैले हामीले बेला-बेलामा सिकाएको उसको दिमागमा बस्न नसकेको होला। स्कूलको वातावरणले साथ नदिएपछि यस्ता 'लडाईँ' सजिलै हारिने छाँट आऊँदो रहेछ।

बिजुलीबाट चल्ने पङ्खा भएकोले, र बिजुली बत्ती स्वीच अन गरेपछि बल्ने र पङ्खा पनि अन गरपेछि चल्ने भएकोले यस्तो प्रयोग हुन पुगेको होला। तर यस्तो नमिल्दो प्रयोग गरेर एउटै शब्दले काम चलाउने बुद्धि सबैभन्दा पहिले कसलाई आयो होला? बत्तीको हकमा ठिक छ, त्यो बल्छ र उज्यालो दिन्छ तर पङ्खा? बिजुली दिएपछि पङ्खा झलमल्ल हुने भए पो 'बाल्ने' भन्ने कुरा मिल्यो, नत्र त 'चलाउने' नै ठिक होईन र?

फेरि यो 'बाल्ने' रोग अन्त पनि सरेको छ। अचेलका किशोर-किशोरीहरु धेरैका मुखबाट "म्युजिक 'बाल्ने'" कुरा  सुनेको छु मैले। एउटा ब्लग कि पत्रिका कता पनि पढेको थिएँ मैले यस्तो 'उत्तरआधुनिक फ्युजन'। नयाँ पुस्ताले शायद वाशिङ्ग मेशीन र भ्याकुम क्लिनर पनि 'बाल्ने' होला, पम्प पनि 'बाल्ने' होला--------।

यो 'बाल्ने' रोगले अझ अरु के-के लाई डढाउने हो!

April 01, 2011

---लाई जाप्नीजमा के भन्छन्?

आर्याले आफ्नो पहिलो वाक्य शायद जापानीमै बोलेकी थिई। एक वर्षकी हुँदासम्म आफ्नी आमासंग घरै बस्दा उसले बढी नेपालीनै सुनेकीले केहि बोली/शब्द भने पक्कै सिकेकी थिई तर उसको बोली प्रस्टसंग 'फुटेको' भने जापानीमै हो। ऊ एक वर्षकी हुनेबित्तिकै किण्डरगार्टेन जानथाली र त्यसको केहि एक-दुई हप्ताबाटै जापानीमा अलि-अलि कुरा गर्न थाली हामीसंग। ऊ दिनको दशघण्टा भन्दा बढी त्यतै हुन्थी, हामीसंग हुने समय भनेको साँझ-बिहान र बिदाका दिनमात्रै हुन्थ्यो। यसैले उसले जापानीनै बढी सुनी र जापानीनै सिकी। हामीले बिस्तारै बोलेको 'घरेलु' नेपाली त केहि बुझ्थी तर हामीलाई पनि बिस्तारै ऊसंग जापानीमै कुरा गर्न सजिलो लाग्न थाल्यो। हामी बूढाबूढी एकापसमा भने नेपालीमै गफ गर्थ्यौं तर आर्याले हाम्रा नेपाली कुरामा खासै चासो दिन्नथी, कहिलेकाहीं उसलाई झर्को लागेका बेलामा "उरुसाई--!" (कति हल्ला गर्छौ तिमेरु?) भनेर थर्काउँथी। कहिलेकाहीँ हामीले ठूलो स्वरले नेपालीमा कुरा गर्दा उसलाई झगडा गरेजस्तो लाग्दो रहेछ र 'झगडा नगर!' पनि भन्थी।

यदाकदा हुने नेपाली भेलाहरुले पनि उसमा नेपाली भाषाप्रति खासै चाख जगाऊन सकेका थिएनन्। अझ त्यस्ता भेलामा भेट हुने 'अंकल', 'अण्टी' हरुले पनि उसंग जापानीमै कुरा गर्दिनुहुने हुँदा उसले नेपाली जान्नै परेन। त्यसपछिका दिनमा उसको जापानी भाषाको दक्षता बढ्दै जाँदा हामीले पनि जापानी भाषा सिक्न प्रशश्त मेहनत गर्नुपर्ने भयो, नत्र ऊसंग सम्वाद हुन गाह्रो हुने थियो। उसैबाट पनि धेरै नयाँ शब्द र अभिब्यक्ति सिकियो।

ऊ सवा चार वर्षकी भएपछि नेपाल फर्केपछि भने स्थिति उल्टो भयो। नेपाली भाषाको वातावरणमा उसलाई केहि दिन अप्ठेरो भयो। त्यसको एक वर्ष पहिला ५ हप्ता नेपाल बसेर गएकीले सोचेजस्तो धेरै अप्ठेरो भने भएन। उसले बिस्तारै नेपालीमा दक्षता बढाऊँदै लगी र स्कूल शुरु गरेपछि भने उसको नेपाली शब्दभण्डार बिष्फोट भएजसरी फैलियो। त्यतिखेरसम्म आफूले सिकेको र नबुझेको नेपाली शब्द  '--- के हो?' भनेर हामीसंग सोध्थी र हामीले जापानीमा बुझाईदिनुपर्थ्यो।

नेपालीको क्षमता बढ्ने क्रमसंगै जापानीको क्षमता घटने क्रमपनि शुरु भयो। घरमा हामीले ऊसंग जापानीमा बोलिदिने हो कि जस्तो पनि लाग्थ्यो तर बाहिर नेपाली-बाऊआमासंग जापानीले गर्दा उसलाई झन् अप्ठेरो पर्ला जस्तो लागेर त्यो बाटोमा लागिएन। हामीले जति कोशिश गरेपनि नियमित जापानी परिवेश उपलब्ध नहुँदासम्म उसको जापानी क्षमतालाई जोगाएर राख्न सम्भव पनि थिएन, एक दुई दिन बढीसम्म हुनसक्थ्यो होला।

नेपाल फर्केको पाँच महिनाजतिमा नेपाली-जापानी बराबर थियो होला, अहिले जापानी लगभग शून्यमा पुगीसकेको छ। बीचमा केहि समय कसैले जापानीमा बोल्न भन्दा झर्किन थालेकी पनि थिई। जापानका उसका साथीहरुका बारेमा भने खुब चासो राख्थी। जापानको हालैको भूकम्प र सुनामीको बारेमा थाहा भएपछि भने 'मेरो जापानको साथीहरुको घर पनि भत्क्यो?' भनेर सोधेकी थिई, हामीले 'छैन।' भनेपछि ढुक्क भएकी थिई।

अचेल दुई हप्ताजति यता भने फेरि जापानीमा स्वत: स्फूर्त रुचि देखाउन थालेकी छे। कुनै नयाँ शब्द सिकेपछि त्यो शब्दलाई 'जाप्नीजमा के भन्छन् नि?' भनेर सोधिहाल्छे।

उसको जिज्ञासा त राम्रै हो, तर समस्या पर्छ आफूलाई। अब 'नाम्लो', 'दाम्लो', 'नाङ्लो' र 'मस्यौरा' लाई जापानीमा के भन्छन् भनेर भन्नु:)

 Image Source: Masyauramaking

September 05, 2010

संक्रमणकाल

आफूले सुनेका/पढेका तर नभोगिएका परीवर्तनहरुसंग चिनजान गर्दैछु। सात वर्ष यसै पनि लामो समय हो, यो अवधिमा परीवर्तनको गति जतिसुकै मन्द हुने समाजमा पनि धेरै कुरा फेरिएको देखिन सक्छ। परीवर्तन भएका कति कुरा प्राकृतिक र स्वाभाविक हुन्छन्। धेरै चिनजानका ब्यक्तिहरुको निधन भईसकेको हुन्छ, धेरै नयाँ बच्चाहरु थपिईसकेका हुन्छन् समाजमा। आफू जाँदाका साना बच्चाहरु किशोर बनिसक्छन् र किशोरहरु बलिष्ट वयष्क बनिसकेका हुन्छन्। एउटा फरक परिवेश र स्थानमा बिताएपनि आफूले पनि यो अवधिमा बिताईएको उहि सात वर्ष हो, तर यो अवधिको परीवर्तनलाई प्रत्यक्ष देख्न नपाएको हुँदा कता-कता के-के अनौठो लाग्दो रहेछ। आफ्नो मनमा आफूले छोडेर जाँदाकै चित्र बाँकी हुँदो रहेछ र त्यहि चित्रका आधारमा सबै कुरा चिन्ने-खोज्ने निरर्थक चाहना पनि हुँदो रहेछ।

हाम्रो देशका लागि यो कालखण्ड अझ विशेष रह्यो। यहि अवधिमा धेरै ठूला राजनीतिक परीवर्तनहरु भए।

नयाँ परिवेशमा पुगेको आफ्नो समाज र देशसंग फेरि परिचय गाँस्ने क्रममा छु यतिखेर, अर्को शब्दमा अहिलेको ‘फेशनेवल’ वाक्यांश ‘नयाँ नेपाल’ संग चिनजान गर्दैछु। त्यो परिवेशमा आफ्नो ठाऊँ खोजिरहेछु र आफ्नो परिचय निर्माण गर्न खोजिरहेछु। भौतिक, मानसिक सबै हिसाबले एउटा संक्रमणबाट गुज्रिरहेछु।

नेपालको जिन्दगी अप्ठेराहरुले भरिएको छ। अप्ठेराहरु हिजोपनि थिए, र आज अप्ठेराहरु नघटेका बरु झन् बढेको पाएँ मैले। वर्षौंको अस्थिर राजनीति र सीमाहीन मौलाएका भ्रष्टाचार, नीतिहीनता र दण्डहीनताका कारण देश झन्-झन् जर्जर हुँदै गईरहेको छ। केहि मान्छेहरु “कत्रा-कत्रा परीवर्तन भए---“ भनेर घमण्डले खोक्छन् तर राजनीतिक परीवर्तन हुनुनै कुनै ठूलो कुरा होईन। राजनीतिक परीवर्तनसंगै प्रणालीबद्ध सामाजिक-आर्थिक विकास र समृद्धि जोडिएर आउन सक्यो भनेमात्रै त्यो राजनीतिक परीवर्तन गर्व गर्न लायक हुन्छ। यतिखेर, देशको राजनीतिक प्रणालीमा जति परीवर्तन भए पनि सत्तासंयन्त्रको काम गर्ने शैलीमा कुनै परीवर्तन देखिएको छैन। आफूलाई नयाँ भनाउने शक्तिहरु पनि पूरानै भ्रष्ट र असक्षम प्रणालीभित्रै आफ्नो भाग खोज्न र त्यसमै रमाउन अभ्यस्त हुन थालेका छन्। एउटा थोत्रो-बिग्रिएको गाडीमा चालक फेरिएजस्तै स्थिति छ अहिले। गाडी नयाँ नबनुञ्जेल थोत्रो-बिग्रिएको गाडीमा चालकमात्रै फेर्दैमा केहि हुनेवाला छैन।

नेपाली जिन्दगीका अप्ठेराहरु भोग्ने बानी पार्दैछु। शुद्ध सफा पानीको अभाव र वर्षैभरिको लोडशेडिङ्ग यतिखेरको नेपाली जिन्दगीलाई परिभाषित गर्न सकिने सबैभन्दा सटीक प्रतीक हुन्। हिजोदेखि आजसम्म देश चलाउनेहरुमा अलिकति मात्रै पनि सृजनात्मकता, अलिकति मात्रै पनि संवेदनशीलता भईदिएको भए हामीले पूरै देशमा विद्युतीकरण गरीसकेका हुन्थ्यौं यतिखेरसम्म, तर त्यो हुन सकेन, र अझै केहि समय हुने छाँट देखिँदैन। जबसम्म हाम्रो राजनीति समाजका सबैभन्दा धूर्त र कपटी मान्छेहरुको बन्दी बनीरहन्छ, तबसम्म यो अन्धकार हामीले भोगिरहने छौं।

यो पाली वर्षामा पनि दिनको दुई घण्टा लोडशेडिङ्ग कायमै छ। वर्षामै दुई घण्टा भएपछि हिऊँद लागेपछि स्थिति भयावह हुने निश्चित छ। यहाँ मान्छेहरुको मनमा अठाह्र घण्टे लोडशेडिङ्गको स्मृति आलै छ। यो पालि त्यति वा त्यो भन्दा पनि बढी हुने पक्काजस्तै छ। केहि समय पहिला कालीगण्डकीमा समस्या आउँदा एक हप्ताजति दैनिक आठ घण्टे लोडशेडिङ्ग खपियो। त्यसलाई मैले भावी ‘अठाह्र घण्टे’ खप्ने अभ्यासका रुपमा लिएको छु:) फेरि अहिलेको दैनिक दुई घण्टे पनि तालिकाबद्ध छैन। त्यो दुई घण्टा बाहेक पनि बत्ती कतिखेर जाने र कतिखेर आउने ठेगान हुँदैन। यसैले जिन्दगी तालिकामा चलाउन गाह्रो छ।

पहिला यहि कुराले त्यति घोच्दैनथ्यो होला, किनभने जिन्दगीको एउटा महत्वपूर्ण भागको रुपमा ईण्टरनेटको उपस्थिति थिएन। अहिले हेर्दा, जिन्दगीका महत्वपूर्ण सम्वादहरु, सम्पर्कहरु सबै ईण्टरनेट आश्रित भईसकेछन्। विशेष गरी पेशागत जीवनका लागि आवश्यक सम्पर्क र सम्वादका लागि अरु माध्यमहरुको प्रचलन लगभग पूरै घटीसकेको छ। फोन एउटा विकल्प हुनसक्छ यदाकदा तर यसका आफ्नै सीमा छन् र यो खर्चिलो पनि हुनसक्छ।

हाम्रो ‘संक्रमण’काल यसरी चल्दैछ भने आर्याको पनि आफ्नै संक्रमणकाल चल्दैछ। हामीभन्दा धेरै निश्चिन्त बाल-मनोदशामा बाँचीरहेकाले ऊ खुशीनै छे। शुरुवाती दिनका भाषिक समस्यामाथि बिस्तारै विजय पाउन थालेकी छे उसले, नेपाली राम्रैसंग बोल्ने भईसकी। उसको भाषिक संक्रमणकालको यतिखेरको चरण अनौठो देखिन्छ; उसले नेपाली बोलेको जापानीले नेपाली बोलेको जस्तो लाग्छ भने उसले जापानी बोलेको नेपालीले जापानी बोलेको जस्तो लाग्छ:) ध्वनिगत रुपमा उसको उच्चारण यतिखेर नेपाली र जापानीको ठीक मध्यमा छ। हामी दुईले घरमा कहिलेकाहीँ मात्रै भएपनि ऊसंग जापानी बोलेर उसको जापानी क्षमतालाई बिग्रने नदिने कोशिश गरेको हो, तर त्यो सम्भव हुने छाँट देखिन्न। स्कूल पनि जान थालीसकेकी छे, साथी धेरै बनाएपछि उसले तिब्र गतिमा जापानी बिर्सने निश्चित छ अब।

यतिखेर तीजको आगमन नजिकिएको छ र केहि नेपाली टिभी च्यानेलहरुमा तीजका गीत जतिखेरपनि बजिरहेका हुन्छन्। ती गीत हेर्दै नक्कल गरेर नाच्नु उसलाई सबैभन्दा मनपर्ने काम हो यतिखेर। आमाको कुर्थाको शललाई सारी मानेर जीऊमा बेर्न पनि सिपालु भईसकेकी छे ऊ।

लोडशेडिङ्ग उसका लागि भने रमाईलो कुरो भएको छ। बत्ती जाँदा “बत्ती गयो--!” भनेर कराउनु र आऊँदा “बत्ती आयो--!” भनेर रमाउनु उसको दिनचर्याका प्रिय गतिबिधिहरुमध्येका बनेका छन्। साँझमा बत्ती जाँदा जम्मा हुने भिडमा हिँड्न उसलाई खुब रमाईलो लाग्छ। सडकमा जताततै देखिने फोहरसंग भने अझै अभ्यस्त हुन सकेकी छैन ऊ। बाहिर निस्कँदा “कुसाई! कुसाई!” (गन्हायो! गन्हायो!) भनेर नाक छोपिरहन्छे। त्यसैगरी गाडीका हर्नको आवाजलाई सहने बानी पनि अझै लागिसकेको छैन।

हाम्रा सडकहरुमा देखिने छाडा कुकुरहरु र गाईहरु देखेर भने ऊ खुब खुशी हुन्छे। “ऊ कुकुर!” वा “गाई आयो!” भनेर दंग पर्छे ऊ सडकमा तीनलाई देख्दा।

हाम्रो ‘संक्रमण’काल लोडशेडिङ्ग र छाडा सडकले दु:खी छ, उसको संक्रमणकाल यिनैले गर्दा खुशी छ। बच्चा हुन पाउनुपनि गज्जबकै कुरो हो:)

October 01, 2009

नयाँ गुँडबाट

(Image Source:Click Here)

यसपालिको दशैं गुँड सर्ने र नयाँ गुँडमा ब्यवष्थित हुने मेसोमै सकियो।

नयाँ गुँड खोज्ने क्रममा पहिलो प्राथमिकता छोरीको किण्डरगार्टेनलाई दिनुपर्ने भयो, त्यस पछि भाडा, अनि आमा-बाउको कलेज/अड्डा जाने-आउने सजिलो। हामी छोरीलाई नयाँ किण्डरगार्टेन लगेर भएपनि बसिरहेभन्दा केहि पर जाने धूनमा थियौं शुरुमा। केहि हितैषीहरुले भने त्यसो नगर्न सल्लाह दिए। उनीहरुको सल्लाह अनुसार, नयाँ ठाऊँ-नयाँ किण्डरगार्टेनमा सर्दा आर्यालाई घूलमिल हुन लामो समय लाग्नेछ, साथी बनाउन पनि समय लाग्नेछ र गाह्रो हुनेछ किनभने सरेर गईने नयाँ किण्डरगार्टेनका बच्चाहरु सबैले आफ्ना मिल्ने साथीहरु बनाईसकेका हुन्छन्, यसको मानसिक प्रभाव राम्रो हुँदैन।

अलिकति ठण्डा दिमागले सोच्दा कुरा ठिक लाग्यो। जापानमा बच्चाहरुलाई एक वर्षका पनि नहुँदैबाट किण्डरगार्टेन राखिन्छ। प्राय: जसो किण्डरगार्टेनले ६ महिना देखिका बच्चाहरुको स्याहार गर्छन्, ४५ दिनबाटै स्याहार गरिदिने किण्डरगार्टेनहरु पनि धेरै छन्। यसैले बच्चाहरु ३-४ वर्षका हुँदासम्म तिनले आफ्नै संसार-मिल्ने साथीहरु, नमिल्ने साथीहरु-बनाईसकेका हुन्छन्, पछि आउने बच्चाहरुलाई त्यहाँ आफ्नो ठाऊँ बनाउन-साथीहरु बनाउन निश्चय पनि लामै समय लाग्छ। शुरुबाटै बसेका बच्चाहरु पछि आएका भन्दा शिक्षकहरुसंग पनि बढी आत्मीय र निडर हुन्छन्।

आर्या एक वर्षकी भएबाट किण्डरगार्टेन जान थालेकी हो। अढाई वर्षमा पाँचवटा किण्डरगार्टेन गईसकी ऊ। शुरुका तीन किण्डरगार्टेनमा खासै लामो समय बिताईन। डेढ वर्षकी भएबाट डेढ वर्षको अवधि बिताएको चौथो किण्डरगार्टेनसंग उसको असाध्यै धेरै लगाव रह्यो। त्यहाँका शिक्षकहरुसंग आत्मीय सम्बन्ध बनिसकेको थियो उसको। उसले आफ्ना मिल्ने साथीहरु रोजिसकेकी थिई र ऊ साँझ घर फर्केपछि हामीसंग उनीहरुको बारेमा खुब कुरा गर्थी।

६ महिना पहिला, दैलैको (५० मिटरको दूरीमा रहेको) किण्डरगार्टेनमा स्थान मिलेको हुँदा उसलाई सारेका थियौं हामीले, तर त्यहाँ ऊ रमाउन र साथी बनाउन धेरै लामो समय लाग्यो। ऊ हरेक दिन बिहान पूरानै किण्डरगार्टेन जान्छु भनेर झगडा गर्थी पछि सम्म, कुरा पनि पूरानै शिक्षकहरु र पुरानै साथीहरुको मात्रै गर्थी। अचेल बल्ल ऊ नयाँमा रमाउन थालेकी छे।

अहिलेको किण्डरगार्टेनमा ठाऊँ मिलेको सूचना आएको केहि दिनपछिनै 'भवन भत्काईने हुँदा ६ महिनाभित्र  कोठा छोड्ने' सूचना पनि आयो र सबै झञ्झटको शुरुवात भयो।

अहिलेको गुँड पहिलाजस्तो दैलैमा किण्डरगार्टेन भएको-कहिलेकाहिँ घरै बसेर काम गरिरहेको बेलामा  किण्डरगार्टेनको प्रांगणमा आर्या आफ्ना साथीहरुसंग खेलिरहेको देखिने गरी नजिक त छैन तर उसलाई लाने-ल्याउने र आफ्नो काम/पढाई धान्न सकिने दूरीमा भने छ।।
-----------------------------------------------------------------------------
अब सधैं भरि कुनै पनि गुँडको कुरा गर्दा मेरो मानसपटलमा हाम्रो अघिल्लो गुँडको एक छेऊमा खडा परेवाको त्यो गुँड पनि आउनेछ। त्यसका पनि केहि कुरा गर्न बाँकी छन्।

मैले "गुँड" भन्ने टाँसो लेखेको तीन-चार दिनसम्म परेवाको बच्चा उडेको थिएन। ऊ आफू जन्मेको-हुर्केको गुँडकै वरिपरि ठाऊँ सरेर बसिरहेको देख्न सकिन्थ्यो। एक दिन दिऊँसो ऊ हिँडेर बरण्डा चहारिरहेको थियो। त्यहि दिन वा भोलिपल्ट उसले आफ्नो पहिलो उडान लिएको हुनुपर्छ।

उडेर गईसकेपछि पनि केहि दिनसम्म ऊ बरण्डामा आएको देख्न सकिन्थ्यो। आफू अरु कुनै परेवालाई ऊ भनेर झुक्किएको होईन भन्ने कुरामा म पक्का छु। ऊ यसरी कहिलेकाहिँ फर्केर आऊँदा म ऊसमा आफ्नो बाल्यकालको खोजीमा-अचेल सपनामा मात्रै सही-गाऊँ, पाखा-पखेरा चहारिरहेको आफैंलाई पनि देख्थें।
-----------------------------------------------------------------------------
यो दशैं यसरी गुँड सर्ने मेसोमै बित्यो।

जिन्दगीका बाह्र दशैंहरु विदेशमै बितेछन्। पहिलो विदेश बसाईका पाँच दशैंहरु लगातार बाहिरै बितेपछि ७ वटा दशैं नेपालमै मनाईएको थियो।  दोश्रो विदेश बसाईका सबै दशैंहरु पनि यतै बिते।

अब आउने दशैं र त्यसपछिका सबै दशैं नेपाल नाम गरेको आफनै गुँडमा बिताउने चाहनामा मन तड्पिएको छ!

April 19, 2009

'ताक्कान्-तुक्कान् पिमान्' र 'ज्याम्बाला मुसी'

एकचोटि संयोगवश बच्चाहरुले सागपात-फलफूल आदि खान नमान्दा अपनाउन सकिने रमाईलो तरिकाको बारेमा पढ्न पुगियो। छोरीले धेरैजसो सागपात नखाईदिएर हैरान भएको बेलामा त्यो पाऊँदा साह्रै खुशी लाग्यो। अर्को ब्लगमा हु-बहु टाँसेँ त्यो Kids Prefer Veggies With Cool Names भन्ने लेखलाई। र त्यसमा भनेअनुसार सागपातलाई रमाईला/अनौठा नाम दिएर खुवाऊँदा सधैं नभएपनि धेरैजसो प्रभावकारी हुँदोरहेछ। पहिला खान मन नगर्ने तरकारीहरु खान थाली छोरीले। 'गाजर' भन्दा नखाने तर 'ड्रागन गाजर' भन्दा खाने, 'ब्रोकोली' भन्दा नखाने तर 'डाइनोसर ब्रोकोली' भन्दा खाइदिने।

एउटै नाम धेरै भनिरहेपछि पूरानो हुँदो रहेछ, त्यसकारण हप्ता-दुई हप्तामा यी तरकारीहरुको नयाँ 'न्वारान' पनि गरीरहनुपर्दोरहेछ:)

पछिल्लो पटक न्वारान भएकोचाहिँ डल्ले खुर्सानी (bell pepper, sweet pepper) हो। यसलाई जापानीमा 'पीमान्'भन्छन्। 'पीमान्' भनेपछि मुण्टो बटार्ने छोरीको बानी हटाउन 'डल्ले खुर्सानी'ले पनि सकेन। 'डल्ले खुर्सानी' शब्दचाहिँ उसलाई मन परेको हो, 'डर्रे कुरुसानी!' भनेर हाँस्छे तर खान भने न 'पिमान्' खाईदिई न 'डर्रे कुरुसानी':)

केहि दिन पहिलाको कुरा हो, 'पिमान्' खुवाउन खोज्दा परक्क मुण्टो बटारी।
"हेर छोरी, आजको यो त 'पिमान्' होईन, अर्कै 'पिमान्' हो।"
"अर्कै 'पिमान्'?!"
"अँ अर्कै हो, यो त नि--------- 'टाक्कन-टुक्कन पिमान्' हो।"
"ए---! 'ताक्कान्-तुक्कान् पिमान्'---!" उसलाई 'टाक्कन-टुक्कन' शब्द साह्रै मन परे जस्तो छ।
"हो नि, यो 'ताक्कान्-तुक्कान् पिमान्' खायो भने चाँडै ठूलो भईन्छ।"
"'ताक्कान्-तुक्कान् पिमान्' ताबेताई! 'ताक्कान्-तुक्कान् पिमान्' ताबेताई!" (ताक्कान्-तुक्कान् पिमान्' खान्छु! ताक्कान्-तुक्कान् पिमान्' खान्छु!) ऊ कराउन थाली त्यसपछि।

'ताक्कान्-तुक्कान् पिमान्' पूरानो भईसकेको छैन अझै।


यो 'टिडिक' खानेकुरामा मात्रै होईन अन्त पनि काम लाग्दो रहेछ।

एक महिना जति पहिलाको कुरा हो। बिहान हातमुख धुने बेलामा सधैंजस्तो किचकिच गरीरहेकी थिई। म यताउता कुरा गरेर मनाउन खोज्दै थिएँ।
"पापाको यहाँ के भ'को?" उसका एउटा चोर औंलो मेरो नाकको दाहिनेपट्टीको कोठीमा थियो।
"यो नि--- ,पापा सानु हुँदा मुख नधोको भ'र 'मुसी'(किरा)ले टोकेर घाऊ भ'को।"
"ए---! कुन 'मुसी'ले टोकेको नि?" ऊ किरातिर लागी, मुख धुने कुरा छोडेर। कुन किरो भन्ने अब, म सोच्दै थिएँ।
"-- ज्यानमारा 'मुसी'ले टोकेको" मेरो मुखबाट निस्कियो। यो 'ज्यानमारा' शब्द कसरी मेरो मुखमा आयो त्यतिखेर, रामजाने।
"हँ---- ज्याम्बाला मुसी? ओमोशिरोई नामाए दा ने (कस्तो रमाईलो नाम रहेछ!)" ऊ हाँस्न थाली। 'ज्याम्बाला' शब्दलाई निकै जोड दिएर उच्चारण गर्दै थिई ऊ।
"मुख धोएन भने 'ज्याम्बाला मुसी' आएर टोक्छ, घाऊ हुन्छ।" म पनि पाएको मौका किन छोड्थेँ:)
त्यसपछि उसले सजिलै मानी मुख धुन। घाऊ हुने डर कति थियो कुन्नि, उसलाई 'सपारेको' मुख्यत: 'ज्याम्बाला'ले नै हो। फोहर भए घाऊ हुन्छ वा विरामी भईन्छ भनेर त पहिला पनि भनिएको हो।

यो गरे त्यो हुन्छ, यसो गरे भूत आऊँछ वा त्यसो गरे तँलाई वाघले लान्छ जस्ता कुरा गरेर बच्चाहरुलाई डरपोक बनाउने कुरा मलाई पटक्कै मन पर्दैन। तर सरसफाई नगर्दा किराले टोक्छ वा विरामी भईन्छ भन्नेसम्मको डर भने दिन अत्यावश्यक नै छ। त्यसकारण यो 'ज्याम्बाला' ले उसमा अलि-अलि डरनै उब्जाएको भएपनि मैले पछूतो नगरे हुन्छ जस्तो लाग्छ।

मेरो अनुहारमा भएका अरु ३ वटा अलिक फिका कोठीहरु पनि पत्ता लगाईसकी उसले।
"पापालाई यहाँ पनि 'ज्याम्बाला मुसी' ले टोकेको?" उसको प्रश्न।
"अँ, यो चाहिँ अर्को 'ज्याम्बाला मुसी' दाहिने तिर बाट उड्दै आएर टोकेको।" शुरुमा पत्ता लागेको गाढा कोठी अगाडिबाट सोझै उड्दै आएको 'ज्याम्बाला मुसी'ले टोकेको भनेर तोकिईसकेको छ, अरुचाहिँ कहिले दाहिने बाट आएकाको भागमा पर्छन् कहिले देब्रेबाट आएकाको:)

"पापाको टाउकोमा पनि 'ज्याम्बाला मुसी'ले टोकेछ!" मेरो टाउकोमा भएको सानो कोठी कि मूसो (यो चाहिँ नेपाली शब्द हो है!) पनि पत्ता लगाई एक दिन। टाउकोमा 'वन-विनाश' हुन थालेको लामै समय भईसकेकोले पत्ता लगाउन सजिलो पनि छ।
"हो, यो पनि 'ज्याम्बाला मुसी'ले टोक्या हो।"
"'ज्याम्बाला मुसी' कताबाट आएर टोकेको?"
"यो चाहिँ---- 'ज्याम्बाला मुसी' माथिबाट आएर टोकेको।"

उसलाई दिशाको बारेमा अलि-अलि जानकारी दिन पनि काम लाग्यो यो 'ज्याम्बाला मुसी':)

March 09, 2009

आर्याको संसारमा डुल्दै


आर्याको ६ महिने स्वास्थ्य-परिक्षणको लागि पालो कुरिरहेका थियौं हामी, दुईजना ६०-६५का महिलाहरु हाम्रो नजिक आए। चिनजानका दुई-चार औपचारिकताहरु पूरा गरियो एक छिन। त्यो शहरको कुनै एउटा 'बुक क्लब'का स्वयंसेविकाहरु रहेछन् उनीहरु।

"छोरीलाई ये-होन (चित्र-पुस्तक) पढाउने गरेको छ?" उनीहरुले सोधे।
"हँ--?! ६ महिनाकी बच्चीलाई पढाउने--?!" हामी छक्क प-यौं। सानै उमेरबाट पढ्ने बानी लगाउनुपर्छ भन्ने मान्यता त हाम्रो पनि हो, तर हाम्रो त्यो 'सानै उमेर' दुई-साढे दुईबाट शुरु हुन्थ्यो; ६ महिनाबाटै होइन।
"पढाउने भनेर अक्षरै चिनाउन थाल्ने होईन।" उनीहरुले भने, "किताबका चित्रहरु देखाएर उनीहरुसंग कुरा गर्ने मात्रै हो अहिले त। त्यसो गर्दा पछि सजिलै पढ्ने बानी लाग्छ।" उनीहरुले हामीलाई बाक्ला पृष्ठ भएका दुई साना रंगीचंगी किताबहरु दिए र "समय हुँदा हाम्रो 'बुक क्लब' पनि आउँदै गर्नु" भन्ने अनुरोध गरेर अरुतिर लागे।

ती किताबमा चित्रहरु धेरै थिए र अक्षरहरु अत्यन्त कम थिए। धाराबाट पानी खसिरहेको चित्रसंगै 'ज्या--! ज्या---!ज्या---!' लेखिएको थियो भने भ्याकुम क्लिनरको चित्रसंगै 'हु--ईँ----!' लेखिएको थियो, चित्रहरुसंग यसरीनै सम्बन्धित अनुकरणात्मक शब्द (ध्वनि) लेखिएका थिए। हाम्रो काम आर्यालाई ती चित्रहरु देखाएर आफुले त्यस्तो आवाज निकाल्नु थियो। उसले असाध्यै मन पराई पनि।

यसबीचमा थुप्रै कृतिहरु लेखिएपनि नेपाली बाल-साहित्यको भण्डार अझै गरीबनै छ। जति लेखिएका छन् ती कम्तिमा पनि चार-पाँच वर्ष माथिका बच्चाहरुका लागि छन्। सबैभन्दा प्रारम्भिक बाल-साहित्य भनेको चित्रनै हो रहेछ। यस्ता चित्र पुस्तक बच्चाहरुले हतपति च्यात्न नसक्ने गरी बनाउनुपर्ने हुँदा प्रकाशन अलि महंगै हुन्छ र हामीकहाँ अलिक सम्पन्नले मात्रै आँट्न सक्लान्। तर सबै बच्चाहरुको पहुँचमा यस्ता किताबहरु पुग्नु जरुरी छ। मलाई लाग्छ केहि ठाऊँविशेषमा 'एक बच्चा-एक ल्यापटप' कार्यक्रम चलाउनुभन्दा देशैभरि 'एक बच्चा-धेरै किताब' कार्यक्रम चलाउनु हाम्रो जस्तो देशको लागि लाभदायक छ। यस्तो कार्यक्रममा ती साना-साना बच्चाहरुका लागि पनि चित्र-पुस्तकको परिकल्पना हुनुपर्छ र राज्यले सघाउनुपर्छ।

(एक वर्षकी भएपछि) आर्या किण्डरगार्टेन जान थालेपछि यस्ता चित्र-पुस्तकहरु थपिन थाले। हरेक महिनामा एउटा किण्डरगार्टेनले पठाऊँछ, कहिलेकाहीँ हामी पनि किनिदिन्छौं। उमेर अनुसारका किताब हुन्छन्, उमेर बढ्दै जाँदा चित्रहरुसंगै साना कथाहरु पनि जोड्दै लगेको हुन्छ। यी किताबहरुमा कि सम्बन्धित महिनाको मौसमसंग सम्बन्धित कुराहरु हुन्छन्, जस्तै गर्मीमा शीतल ठाऊँ खोज्दा-खोज्दै समुद्रमा पौडी खेल्न पुगेको वा हिऊँदमा हिऊँको मान्छे बनाएको आदि; अथवा खानेकुरासंग सम्बन्धित हुन्छन्, बच्चाहरुलाई सागपात खान प्रत्साहित गर्ने खालका। कथाहरुमा मानव पात्रहरु थोरै र जनाबर-चराचुरुङगी पात्रहरु धेरै हुन्छन्। कुनै पनि जनावरको बारेमा नराम्रो लेखिएको हुँदैन। अनि अर्को कुरा यी जनावरहरु एकआपसमा झगडा पनि गर्दैनन्।

जापानमा यस्ता चित्र-पुस्तकका प्रकाशन-संस्थाहरु धेरै रहेछन् र तीनका बीचमा निकै ठूलो प्रतिस्पर्धा पनि रहेछ।

हरेक दिन किण्डरगार्टेनमा यी किताबहरु देखाउने र त्यहाँका कथाहरु सुनाउने र हामीले पनि सुत्नुअगाडि त्यसै गर्नाले उसलाई पढ्ने बानी लाग्यो। यो 'पढ्ने बानी' लाग्यो भन्नु अलिक बढी हुनसक्छ, किनकि उसले अक्षर त अझै चिनेकी छैन, कथा सुन्ने बानी लाग्यो भन्दा ठिक होला। ऊ आफू जतिसुकै निद्राले चूर भएकी भएपनि कुनै किताबका चित्रहरु नहेरी र कथा नसुनी सुत्ने छाँट देखाऊँदिन। कहिलेकाहीं आफैं पनि थकाई र निद्राले चूर भईसकिएको हुन्छ, तर पढिदिनै पर्छ।

यो बानीले गर्दा ऊ टेलिभिजनबाट टाढै छे।

खासमा अचेल मेरो आफ्नै पढाइ पनि उसकै किताबहरुमा सीमित छ:) मपनि उसको दुनियाँका रमाईला-रमाईला पात्रहरुसंग रमाइरहेछु। म कहिले पेन्गुईन, Sea Lion, हिप्पोपोटामस र हात्तीसंग समुन्द्रमा पौडी खेल्न जान्छु; कहिले गाजर, मुला र 'गोबो'(burdock root) संग हिलोमा खेलेर हिलाम्य हुन्छु। कहिले झगडा गरिरहेका दुईदा ह्यामबर्गर मध्ये एउटा बन्छु; कहिले सागपातहरुको म्याराथनमा कुनै एउटा बनेर भाग लिन्छु, कहिले आफ्नी आमालाई खोज्दै हिँडेको सानो कछुवा बन्छु, कहिले ----।

बच्चाहरुलाई कथा सुनाउन साह्रै मनपर्छ मलाई। आफ्नो बच्चालाई आफैंले कल्पना गरेका कथाहरु सुनाऊँला भन्ने रहर थियो। अहिले समस्यामा परेको छु; आफ्नो कल्पनालाई जापानी भाषामा उतारेर सररर--- दौडाउने हुती छैन, नेपाली आर्याले खासै बुझ्दिन। सोझो कथा बुनेर जापानीमै सुनाएपनि बीच-बीचका उसका अनौठा बालसुलभ प्रश्नहरुको जवाफ दिन भने गाह्रै पर्छ। नेपाल फर्केपछिलाई साँचेर राख्नुपरेको छ यो रहरलाई। तर त्यतिखेरसम्म छोरी "पापाको story त क्या झुर्---!" भन्ने भैसक्ली कि भन्ने पिर:) एउटा कुरो क्या:)