लामो समयदेखि प्रतिक्षित ब्लगर भेला आज सम्पन्न भयो।
नेपाली ब्लग जगतले केहि वर्ष लामो बाटो तय गरिसकेको छ। नेपाली ब्लग जगत संख्यात्मक र गुणात्मक दुबै हिसाबले समृद्ध पनि हुँदै गईरहेको छ। नेपाल भित्र र बाहिरबाट नेपाली, अंग्रेजी र अरु बिभिन्न भाषाहरुमा धेरै ब्लगहरु नियमित रुपमा सञ्चालित भईरहेका छन्। नेपाली ब्लग जगतको आगामी बाटो सकारात्मक संकेतहरुले भरिएको देखिन्छ, तर हामी सन्तुष्ट भएर नीच मारेर बस्ने स्थितिमा भने कदापि पनि छैनौं।
ब्लगकर्म आफैं एउटा अनलाईन गतिबिधि भएकाले ब्लगजगतमा आफ्नै खाले अन्तर्कृया र सम्वाद निरन्तर चलिरहेको हुन्छ। ब्लगपोष्ट र प्रतिकृयाका माध्यमबाट विचार आदानप्रदान र छलफल चलिरहेका हुन्छन्। अहिले आएर फेसबुक र ट्विटरजस्ता सामाजिक संजालका माध्यमबाट पनि ब्लगरहरु अन्तर्कृयारत छन्। ब्लग र सामाजिक संजालको संयोजनले एउटा नयाँ संचार-संस्कृतिलाई जन्म दिँदै गरेको भान हुन्छ।
ब्लग र सामाजिक संजालको मात्रै भर पर्दा सम्वाद पूर्ण नहुन सक्छ। ब्लगरहरुका अनुभव साट्न, कुनै विषयविशेषमा छलफल गर्न भने औपचारिक भेलाहरुकै जरुरत पर्नसक्छ, यो नै बढी प्रभावी हुनसक्छ।
'दौंतरी' ले संसारभरि रहेका नेपाली ब्लगरहरुबीच अनलाईन भेला गर्दै आईरहेको छ केहि समय यता। तर नेपाली ब्लगरहरुबीचको प्रत्यक्ष भेटघाट र अन्तर्कृया भने त्यति धेरै भएको छैन। निकट भूगोलमा बस्ने ब्लगरहरुबीच प्रत्यक्ष भेला सहजै सम्भव पनि हुन्छन्। काठमाण्डौंमा विगतमा हुने गरेका यस्तै प्रत्यक्ष भेटघाट, भेलाको क्रम टुटेको पनि तीन वर्षभन्दा बढी भईसकेको थियो। यिनै पृष्ठभूमिमा आजको यो ब्लगर भेलाको परिकल्पना गरिएको थियो।
कार्यक्रमको शुरुवाती परिकल्पना यसलाई अनौपचारिक राख्ने र प्रत्यक्ष चिनजान र केहि भलाकुसारीका माध्यमबाट सम्पन्न गर्ने थियो। सहभागी संख्या पनि त्यति धेरै अनुमान गरिएको थिएन। यस बारेमा Event बनाएर फेसबुकमा राख्दा र धेरै साथीहरुलाई सहभागिताको लागि निम्तो पठाईसक्दा पनि सम्भाव्य सहभागिता कमै देखिन्थ्यो। आज बिहानसम्म फेसबुकमा सहभागिता निश्चित गर्ने साथीहरुको संख्या ४४ पुगेको थियो, यो आधारमा हामीले कम्तिमा २५ जनाभने पक्का सहभागी हुने अनुमान गरेका थियौं।
कार्यक्रम परिचयको आदानप्रदानबाट शुरु भएको थियो। कार्यक्रममा सहभागी साथीहरुमध्ये दुईजनासंगमात्र मेरो प्रत्यक्ष चिनजान थियो। बाँकी सबैसंग आज पहिलोचोटि भेटघाट भएको भएपनि ब्लग र फेसबुकको सम्बन्धका कारण चीरपरिचितझैं लाग्नुभएको थियो:)
कार्यक्रममा नेपाली ब्लगजगतको वर्तमान स्थिति र समस्याहरुका बारेमा छलफल भएको थियो। हालै, अश्लील साईटहरुमाथि प्रतिबन्ध लगाउने नेपाल सरकारको एउटा निर्णयमा आधारित भएर केहि इण्टरनेट सेवा प्रदायक कम्पनीहरुले ब्लगस्पट डोमेनलाईनै ब्लक गरेको घटनामाथि विशेष चर्चा भएको थियो। यस्तो स्थिति फेरि दोहोरिएमा, वा ब्लगरहरुलाई अरु बिभिन्न अवरोध र समस्याहरु आईलागेको बेलामा एकीकृत र सशक्त ब्लगर आवाज कसरी सृजना गर्न सकिन्छ भन्ने बारेमा पनि साथीहरुले आ-आफ्ना धारणा राख्नुभएको थियो। सबै धारणाहरुको सारको रुपमा, ब्लगरहरुको आपसी संजाललाई इमेल समूहजस्ता संरचनाका माध्यमबाट नियमित राख्ने र कुनै समस्या र अवरोध आईपर्दा सम्पूर्ण ब्लग जगतले एउटै आवाज उठाउने बानी बसाल्नुपर्ने आवश्यकता बोध गरियो। देशको तरल राजनीतिक परिश्थितिका कारण कुनैपनि बेला अभिब्यक्ति स्वतन्त्रतामाथि कैंची चल्नसक्ने सम्भावना टड्कारो छ। त्यो स्थितिमा केहि ब्लगरहरु वा पूरै ब्लग जगतमाथि वैचारिक/भौतिक दबाब पर्नसक्छ। यसैले आवश्यक पर्दा तुरुन्त आन्दोलित हुन सक्ने गरी ब्लगजगत संगठित हुनुपर्छ। यो 'संगठित' हुने कामका लागि एउटा खुकुलो तर नियमित संरचना पर्याप्त हुन्छ, कुनै 'औपचारिक' र 'दर्तावाल' संगठनको आवश्यकता छैन। मुख्य कुरो, सामान्य स्थितिमा आफ्नै हिसाबले ब्लगलेखनलाई निरन्तरता दिने तर आवश्यकता पर्दा सबै एकै भएर लाग्ने गरी हामी ब्लगरहरुले आफैंलाई दिक्षित गर्ने, आत्मानुशाशित पार्ने हो।
सामाजिक मानसिकतामा नेपाली ब्लगजगतलाई सशक्त रुपले स्थापित गर्नका लागि मूलधारका संचारमाध्यमहरुबाट लिन सकिने सहयोगका बारेमा कुराकानी भएको थियो। मूलधारका मिडियामा कार्यरत केहि साथीहरुनै सकृय ब्लगरपनि रहनुभएकाले उहाँहरुले केहि बाटो निकाल्नुहुनेछ भन्न्ने कुरामा हामी विश्वस्त छौं। साथै, भेलामा विगतका भेलाहरुमा गरिएका छलफलहरुको बारेमा पनि चर्चा गरिएको थियो।
यस्ता ब्लगर भेला नियमित गर्नुपर्ने कुरामा सबैको सहमति रहेको थियो। यसै क्रममा अर्को ब्लगर भेला आजको भन्दा वृहद् र योजनाबद्ध रुपमा गर्ने निर्णय गरिएको छ। उक्त भेला आगामी पुस ३ गते शनिवार सम्पन्न गर्ने योजना रहेको छ।
आजको भेलाका सम्पूर्ण सहभागीहरुलाई हार्दिक धन्यबाद! र कार्यक्रमस्थलको ब्यबश्थाका लागि गर्नुभएको प्रयासका लागि रुपेशजीलाई विशेष धन्यबाद!
ब्लगर भेलाका सहभागीहरु
ब्लगर भेलाका बारेमा आज सहभागी सबै साथीहरुबाट पनि लेखिनेनै छ, नेपाली ब्लगहरु हेर्दै गर्नुहोला।
----------------
अन्त्यमा, यहाँहरु सबैमा तिहारको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छु। तपाईँहरुको जीवन उज्यालो र समृद्ध रहिरहोस् सधैंभरी।