January 27, 2010

खरानी खोस्रने राजनीति


Image Source: Click Here


माओवादी सुप्रिमो प्रचण्डलाई प्रतीकात्मक रुपमा एउटा बेलुनको रुपमा लिन मन लाग्छ मलाई। एक दशकको सशस्त्र द्वन्द्वको रहस्यमा त्यो बेलुन फुलेर बिशाल भएको थियो। प्रतिपक्षी राजनीति-त्यो पनि भूमिगत र सशस्त्र-मा भौतिक खतरा धेरै हुनु स्वाभाविक हो, तर यस्तो राजनीतिमा राजनीतिक पूँजी बढाउन भने खुब सजिलो हुन्छ किनभने अरु केहि नगरी सत्ताको बिरोध मात्रै गरे हुन्छ। यस्तो राजनीतिमा आफ्नो कमजोरी र गल्तीका लागि पनि सत्ताधारीलाई दोष देखाउन सकिन्छ।

खुल्ला राजनीति बिल्कुल फरक हुन्छ, त्यहाँ कुनै पनि नेताको भनाई र गराईको खाडललाई जनताले सजिलै देख्छन्। पहिला अरुमा पनि देखिएको थियो, अहिले माओवादी र प्रचण्डमा देखियो-खुल्ला राजनीतिमा आएपछि बेलुनको हावा खुस्केको। माओवादी र प्रचण्डको हकमा त्यो हावा खुस्काई-त्यो ‘स्खलन’ झन् तिब्र देखियो।

बेलुनको हावा किन फुस्कियो-मुखमा पारेको गाँठो खुकुलो हुन गयो अथवा बेलुनमा प्वाल प-यो, त्यो समयले बताउला। यतिखेर भने प्रचण्ड फेरि बेलुनमा हावा भर्न थरी-थरीका ‘पम्प’ हरु प्रयोग गरिरहेछन्। कहिले नागरिक सर्वोच्चताको पम्प र कहिले सुकुम्बासी-राजनीतिको पम्प प्रयोग गर्दा पनि बेलुन नभरिएपछि अहिले उनी ‘मदन भण्डारी’ र ‘राजा बीरेन्द्र’ नामका पम्पलाई जोडतोडले थिचिरहेछन्। कुनै तथ्य-प्रमाण र संवेदना बिना सतही रुपले र क्षणिक राजनीतिक स्वार्थको लागि उनीहरुको चिताको खरानी खोस्रेर हावामा उडाउने यो नयाँ काईदा पनि सफल हुने छाँट भने छैन।

मैले यति लेखिसक्दा केहि मान्छेलाई म मदन-आश्रितको रहस्यमय निधन र दरबार हत्याकाण्डको अनुसन्धान गर्ने काम र बास्तविक दोषी खोज्ने कामको बिरोधी लाग्न सक्छु। यसैले म पहिलेनै यो लेख पूरा पढिसकेर मात्रै आफ्नो धारणा बनाउन उहाँहरुलाई विनम्र अनूरोध गर्न चाहन्छु।

हाम्रो इतिहासमा अनगिन्ती हत्याकाण्ड र रहस्यमय दुर्घटनाहरु घटेका छन्, लगभग सबै अझै रहस्यकै कुहिरोमा छन् वा रहेको भान पारिएका छन्। माथवरसिंहलाई कसले मा-यो देखि पिष्कर-छिन्ताङ्ग हुँदै, नमिता-सुनिता काण्ड हुँदै, मदन-आश्रित काण्ड र दरबार काण्ड हुँदै, बीरेन्द्र शाह, उमा सिंह हुँदै अस्ति भर्खर हत्या गरिएका सन्तोष कार्की भाइसम्मको हत्याकाण्डको श्रृंखला जारी छ। यसरी नसुल्झिएका काण्डमाथि काण्डको चाङ्ग लागेको छ हाम्रो इतिहासमा र त्यो चाङ्गले भूत बनेर हाम्रो राष्ट्रिय मानसिकतालाई निरन्तर झस्काईरहेछ, हामीलाई त्रसित र आतंकित बनाईरहेछ। ती सम्पूर्ण हत्याकाण्डहरुको बिस्तृत अनुसन्धान कहिल्यै भएन, बास्तविक अपराधीहरु कहिल्यै कानूनको पहुँचमा परेनन्। कतिपयका दोषीहरु रहस्यको कुहिरोमा सजिलै लुके भने कतिपयका दोषीहरुलाई समाजले-देशले चिनेको छ तर तिनलाई केहि गर्ने कसैको हिम्मत छैन किनभने ती कुनै बलियो राजनीतिक शक्तिको छातामुनि छन्। उल्टो ती अपराधीहरु दिनकै उज्यालोमा खुल्लमखुल्ला छाती तन्काएर सडकमा ढलीमली गरिरहेछन् र समाज उनीहरुका सामु टाउको झुकाएर बाँच्न बाध्य छ।

मदन-आश्रितको रहस्यमय निधन र दरबार हत्याकाण्डले देशको राजनीतिमा दूरगामी असर पारे, यसैले तिनको चर्चा बढी हुनु स्वाभाबिक हो। यी दुई घटना नहुँदा, अथवा दुई मध्ये एकमात्रै नहुँदा पनि हाम्रो वर्तमान यसरी अगाडि नबढ्न सक्थ्यो।

मदन भण्डारी र जीवराज आश्रित धेरै सम्भावना बोकेका प्रखर युवा नेताहरु थिए। समयले उनीहरुलाई पूरै प्रमाणित गर्न त बाँकीनै थियो तर लक्षण राम्रै देखिईसकेको थियो। मदन भण्डारीमा बिना हतियार जनतालाई, कार्यकर्तालाई नयाँ दिशातिर डो-याउने क्षमता थियो, एउटा स्पष्ट दृष्टिकोण थियो; आश्रितमा संगठन-निर्माण र संचालनको कुशलता थियो। दिमाग र मेरुदण्ड दुबै गुमाएको एमाले आज कस्तो हालतमा पुगेको छ, हामीले देखेकै छौं।

तत्कालीन सरकारको आयोगसंग चित्त नबुझेर एमाले आफैंले बनाएको आयोगले के अनुसन्धान ग-यो, के निचोड निकाल्यो, जनतालाई थाहा छैन। एमालेहरु कहिले त्यतिखेरकी अमेरिकी राजदूत जुलिया चाङ्ग ब्लक र कहिले तत्कालीन रानी ऐश्वर्यलाई दोष लगाएर अल्मलिईरहे। दुबैको लाशमाथि राजनीति गरेर एमालेले सहानूभूति र सत्ता पनि प्राप्त ग-यो, अहिले पनि उनीहरुको चिताको खरानीको टिको लगाउन र ओठे-जप गर्न छोडेको छैन एमालेले। अरु धेरै कुरामा जस्तै एमालेले दासढुंगा काण्डको बारेमा पनि स्पष्ट दृष्टिकोण जनतालाई दिए हुन्थ्यो। दुर्घटनामात्रै हो भने दासढुंगामाथि गरिने राजनीति बन्द हुनुप-यो, यदि षड्यन्त्रनै हो भने त्यसका दोषीहरुलाई जनताको सामु नांगेझार पार्न र उचित कारबाही गर्न/गराउन सक्ने हैसियतमा एमाले धेरै समय थियो, अहिले पनि हुनसक्छ।

मदन-आश्रित एमालेका नेता होलान् तर उनीहरुलाई ‘राष्ट्रवादी भएकै कारण मारिए’ भन्दै मौसमी आँशु चुहाऊँदै राजनीतिक प्रयोग गर्ने सबैमा यहि कुरा लागु हुन्छ। माओवादी संग अहिले उसका प्रतिबद्ध कार्यकर्ता र समर्थकहरुको विशाल संयन्त्र छ, सरकारी संयन्त्रका धेरै अंगहरुमा पनि उसको पहुँच राम्रैसंग गडिसकेको छ। यो अबश्थामा ऊ आफैं एउटा गतिलो अनुसन्धान गर्न सक्षम छ। भारतलाई दोष लगाएर चर्को भाषण गर्नका लागि मसलाको रुपमा मात्रै यसलाई प्रयोग गरिएको भए कुरो बेग्लै हो। भारतको प्रत्यक्ष निर्देशन र सहभागितामा यो काण्ड घटाइएको हो र माओवादीसंग त्यसबारेमा यथेष्ट प्रमाण छ भने सबै कुरा जनताको अगाडि किन राखिँदैन? सत्तामा जाने गोटी मात्रै हो कि?

अर्कोतिर दासढुंगा काण्डका एक प्रमुख सूत्रधार ड्राइभर अमर लामालाई माओवादीहरुले हत्या गरे। कांग्रेस-एमाले दुबैले अमर लामालाई राजनीतिक गोटी नबनाएको भए यो दुर्घटनाको यथार्थ केहि समयपछिनै स्पष्ट हुन्थ्यो होला। उनी जिऊँदै छँदा त्यो सम्भावना अझै पनि बाँकी थियो। यो स्थितिमा माओवादीद्वारा भएको अमर लामाको हत्याले दुर्घटनालाई झन् रहस्यमय बनाएन र? र समाधानलाई झन् टाढा पु-याएन र? दासढुंगा काण्डको रहस्य बाहिर नआऊँदै अमर लामालाई मार्न माओवादी हतारिनु आफैं पनि झन् रहस्यमय छ।

दरबार काण्डका त प्रत्यक्षदर्शी र संभावित दोषीहरु अझै जिऊँदै छन्। सेना पूरै आफ्नो नियन्त्रणमा राखेर बसेको राजपरिवार एकैचिहान हुने कारण ‘भित्री सनक’ वा बाहिरी हस्तक्षेप के हो भन्ने कुरा बिस्तारै झन्-झन् रहस्यमय हुँदैछ। हत्याकाण्डको लगत्तै गठन भएको नौटंकी ‘भ-ट-ट---र ट ट’ आयोग बाहेक यसको कुनै गम्भिर अनुसन्धान भएकै छैन। यो पनि सबैका लागि राजनीति गर्ने नयाँ मसला मात्रै बन्दै गईरहेको छ।

मदन भण्डारी र बीरेन्द्रको खरानी उडाएर आफूलाई कट्टर राष्ट्रवादी र अरुलाई घोर राष्ट्रघाती देखाउने प्रचण्डको प्रयासमा कुनै शक्ति देखिँदैन किनभने नेपालका अरु राजनीतिक शक्तिजस्तै माओवादी र प्रचण्डपनि घोर अवसरवादी र ‘माछा देखे दुला हात, सर्प देखे खोकिलामा हात' छन्। माओवादीको भारत नीति पेण्डुलम जस्तो छ, यो खाली एउटा अति र अर्को अतिको बीचमा झुलिरहेछ। भारत कहिले बिस्तारवादी-कहिले असल मित्र, कहिले रोटी-बेटीको सम्बन्ध भएको र नेपाली क्रान्तिकारीलाई काख दिने महान छिमेकी-कहिले सुरुङ्ग युद्ध लडिनुपर्ने दुश्मन बन्न पुग्छ। यी दुई अतिको चेपमा पारेर माओवादीले नेपालका लाखौं युवाहरुको सृजनात्मक उर्जाको दुरुपयोग गरिरहेको छ।

नेपाली राष्ट्रियतामा धेरै समस्याहरु छन्, भारतको हामीप्रतिको नीति मिचाहा छ। हो, भारतलाई दोष दिन सक्छौं हामी तर मूल दोष भने आफैंले लिन तयार हुनैपर्छ। हाम्रो राष्ट्रिय मानसिकतामा भारतलाई हाम्रा नेता र दलहरुले एउटा हाउगुजीको रुपमा स्थापित गरिदिएका छन्। तर भारतसंगको सम्बन्धबारे हाम्रो एउटा स्पष्ट राष्ट्रिय दृष्टिकोण बनाउने र त्यसलाई लागु गर्नका लागि एउटा प्रभावशाली कूटनीतिक संयन्त्र बनाउनेतिर कसैले सोचेको-पहल गरेको छैन। केहि समय पहिला मैले कान्तिपुरमा भारतीय जनता पार्टीका एकजना बरिष्ठ नेताको अन्तर्वार्ता पढेको थिएँ, तपाईँले पनि पढ्नुभयो होला। हामीलाई भारतको कांग्रेस आई र भाजपाको आपसी सम्बन्ध कस्तो छ थाहै छ, तर त्यहाँ उनले भारत सरकारको नेपाल नीति जे छ, हाम्रो दलको नेपाल नीति पनि त्यहि हो भनेका छन्। नेपालसंगको सम्बन्धबारे भारतीयहरुको स्पष्ट र समग्र धारणाको प्रमाण हो त्यो। हामीकहाँ त्यस्तो कुरा असम्भव लाग्छ! भारतबारे हरेक दल र उस्तै परे हरेक नेताका आफ्नै धारणाहरु छन्। यस्तो स्थितमा हाम्रो राजनीति र राष्ट्रिय जीवनका कुनै पनि अंगमा खेल्नु भारतका लागि साह्रै सजिलो काम हो।

हाम्रो राष्ट्रियताका मूलभूत समस्याहरुको समाधान त्यहि स्पष्ट र एकीकृत राष्ट्रिय दृष्टिकोण हो। दासढुंगा र दरबारकाण्डको खरानी खोस्रेर र अरुलाई दोष लगाएर मात्रै केहि हुनेछैन।

January 22, 2010

पूराना कुरामा केहि थपथाप

यो टाँसो "'माधवी' का कुरा" कै समकालीन टिपोटमा आधारित छ। कुरा अरु दुई किताबको हो, त्यहि बेला पढेको।

कुनै पनि किताब पढिसकेपछि टिपोट लेख्ने बानी होईन मेरो, त्यो बेला भने के भएर लेखिएछ। त्यो वर्षको दशैं-तिहार बिदाको बेला थियो जस्तो छ टिपोटहरुको मिति हेर्दा। त्यो बेला पढेका दुई भिन्दै खाले किताबहरुको बारेको यो टिपोट जस्ताको तस्तै राख्दैछु पहिला।

 

दुई भिन्न विचारका पुस्तकहरु
२०५५/६/२२
बिहान ७:५० बजे
(नैकाप)


हालसालै मात्र दुइटा कथासंग्रहहरु पढ्ने मौका पाइयो, दुइ बिल्कुलै भिन्दै पाराका संग्रहहरु। (यो विदामा मैले अलि धेरैनै पढें जस्तो लाग्दैछ।)

एउटा कथासंग्रह भाऊपन्थीद्वारा लिखित "एउटा आकारको बारेमा" (०४१-४२ सालतिर प्रकाशित) र अर्को घनश्याम ढकालद्वारा लिखित र हालसालै प्रकाशित "आजको महाभारत" थियो। पछिल्लो कथासंग्रह माओवादीद्वारा संचालित जनयुद्धको बारेमा रहेछ, लेखकले पूर्ण रुपमा माओवादी जनयुद्धको समर्थनमा आवाज उठाएका छन्।

भाऊपन्थीका कथाहरुमा यथेष्ट साहित्यिक कलात्मकता छ, सामाजिक विसंगति र गरीबिको राम्रो चित्रण छ, तर उनीसंग यी समस्याहरुको समाधान छैन (उनलाई समाधानको त्यति चासो पनि छैन जस्तो छ।)। घनश्याम ढकालका कथाहरु भने केहिलाई छोडेर साहित्यिक कलात्मकतावीहिन छन, समस्याको स्पष्ट चित्रणभन्दा पनि माओवादी जनयुद्धलाई एउटै "कल्पवृक्ष समाधान" को रुपमा ब्याख्या गर्न तल्लीन छन्। आधीभन्दा बढी पढ्न सकिँन मैले। धेरैजसो नारा र वामपन्थीहरुले दोहोर्याउँदै आएका शब्दजालहरु बढी छन्।
-------------------------------------------------------------------------
अहिले आएर विचार गर्दैछु, साहित्यलाई हेर्ने मेरो दृष्टिकोणमा भने कुनै परीवर्तन भएको रहेनछ त्यो बेलादेखि अहिलेसम्म। साहित्य साहित्य हुन त्यसमा यथेष्ट कलात्मकता हुनैपर्छ भन्ने मेरो मान्यता जस्ताको तस्तै (सके अझ जब्बर भईसकेको) छ। जे नाम दिएर जसका लागि लेखेको भनेपनि नारा वा ठाडो राजनीतिक 'प्रेष्कृप्सन' साहित्य हुनसक्दैन। नेपालमा 'प्रगतिवाद' को नाम दिएर लेखिएका धेरैजसो रचनाहरु मलाई यस्तै नारा वा दलीय दस्तावेजजस्ता लाग्छन्, तिनको आयु क्षणिक हुन्छ। राजनैतिक सन्देश दिन चाहनेले त्यो सन्देशलाई यथेष्ट कलात्मकताले सिंगार्न सकेन भने त्यो कुनै राजनैतिक दस्तावेजभन्दा फरक हुन सक्दैन। यथार्थमा जति कलात्मक/साहित्यिक ढंगले राजनैतिक सन्देश पस्किन सक्यो, प्रस्तुति त्यत्तिकै बलियो हुन्छ।

माथि उल्लेख गरिएको घनश्याम पौडेलढकालजीको जस्तै अर्को एउटा कृति पढेको थिएँ मैले डेढ वर्ष पहिला। माओवादीका केन्द्रीय नेता सीपी गजुरेल जापान आएका थिए र तिनको स्वागतार्थ गरिएको एउटा कार्यक्रममा पुगेको थिएँ म (कार्यक्रम बारेको टाँसो पढ्न यहाँ क्लिक गर्नुहोस्)। गजुरेलजीले लेखेको "प्रतिरोध" नामक कथा-संग्रह किन्नेमा परियो। गजुरेलजीको बक्तव्य, उनीसंगको कुराकानी आदिबाट प्रभावितै भएको थिएँ म। तर कथा-संग्रहले भने मलाई घोर निराश बनायो। पौडेलढकालजीको उपन्यासमा जस्तै माओवादी जनयुद्धलाई महिमामण्डित गरिएको 'प्रतिरोध' का कथाहरु कतिपयमा त पृष्ठका पृष्ठ माओवादी दस्तावेज घुसेजस्ता लाग्छन्। उनले कथा लेख्ने दु:ख नगरेकै भए हुन्थ्यो जस्तो लाग्यो मलाई। उनका अरु कृतिहरु पढ्ने मौका पाएको छैन मैले, यो एउटाले दिएको प्रभाव भने यहि हो।

साहित्यले, विशेष गरी यथार्थवादी साहित्यले समाजको बिश्लेषण गर्ने हो कि सामाजिक समस्याहरुको समाधान दिने हो? अथवा दुबै काम गर्ने हो?

साहित्य समाजको एक भाग हो, तर यो सम्पूर्ण समाज भने होईन। साहित्यले समाजको बिश्लेषण गर्नसक्छ, सामजिक रोगहरु सबैले छर्लङ्ग देख्न सक्ने बनाउन सक्छ तर यसले समग्र समाधान दिन सक्दैन। सामाजिक र राष्ट्रिय समस्याको समाधान बहुपक्षीय हुन्छ। साहित्यले कुनै दल वा वादकै सीमामा आफूलाई कैदी बनाएर दिएको समाधान त झनै काम नलाग्ने हुन्छ। यसरी कैदी बनेको साहित्यले दिने बिश्लेषण शुरुदेखिनै दूषित हुन्छ।

मेरो विचारमा साहित्य र साहित्यकारको सबैभन्दा महत्वपूर्ण काम इमान्दारीपूर्बक समाजको बिश्लेषण गर्ने हो र यो बिश्लेषणमा कलापक्ष अलिकति पनि कमजोर हुनुहुँदैन। साहित्यको मूल दायित्व यहिँ समाप्त हुन्छ।  यसपछि समाधानको दिशातिर औंल्याउन सम्म सक्छ साहित्यले, त्यो पनि साहित्यकारको लेखन शैलीमा भर पर्ने कुरो हो।

"एउटा आकारको बारेमा" संग्रहका कतिपय कथाहरुमा बर्णित घटनाक्रमहरु अहिले पनि झल्झली छन् मेरो मनमा।  टिपोटमा मैले भाऊपन्थीजीलाई समस्याहरुको "----समाधानको त्यति चासो पनि छैन जस्तो छ!---" भनेर लेखेको रहेछु। मेरो त्यो सोच भने गल्ती लाग्छ अहिले मलाई। समाधान नचाहने मान्छेले समस्याहरुको त्यति जीवन्त चित्रण गर्नै सक्दैन। समस्याहरुले आफूलाई रुवाएपछि, आफ्नो मन लाई तरंगित बनाएपछि साहित्यकारले ती समस्याहरुको चित्रण गर्न र बिश्लेषण गर्न थाल्छ। उसको लेखाईमा समस्याहरुको समाधानको तिब्र लालसा भएमात्र उसको बिश्लेषण सार्थक हुन्छ। भाऊपन्थीजीका कथाहरुको महत्व यसैकारणले छ।

त्यो संग्रहबाहेक 'मधुपर्क', 'गरिमा' आदिमा पनि भाऊपन्थीजीका केहि कथाहरु पढेको छु। त्यो पनि एक दशक पहिलाकै कुरा भईसक्यो। ढुक्कले नेपाली पुस्तक-पत्रिकाहरु पढ्न नपाएको धेरै भयो। अब त कहाली लाग्न थालेको छ मलाई।

पूरानो टिपोटको प्रसंगमा यति कुराहरु भए। हात पर्दा तिनवटै किताबहरु पढ्न र आफैंले बिश्लेषण गर्न  नभुल्नुहोला। कथा लेखनमा रुचि छ भने भाऊपन्थीजीका कथाहरु लेखन शैली सिक्ने राम्रा सन्दर्भ स्रोत समेत बन्न सक्छन् भन्ने लाग्छ मलाई।

January 16, 2010

भूकम्प-अब हाम्रै पालो त होईन?


Image Source: Click Here

हाइटीमा बिध्वंशकारी भूकम्पले जनधनको अपार क्षति गराएको छ। खण्डहर बनेको राजधानी शहर, सडकमा छरिएका लाशहरु, चिच्याईरहेका घाईतेहरु र फेरि भूकम्प जाने संभावना देखेर भागिरहेका मान्छेहरुको लश्कर टेलिभिजनमा मात्रै देख्दा पनि हामीलाई यस्तो त्रासद लागिरहेछ भने पोर्ट अउ प्रिन्समा त्यो प्रकोप आफैंले भोगेका-देखेका लाई कस्तो भईरहेको होला?!

पहिले फ्रान्स र पछि अमेरिकाको औपनिवेशिक शाशनबाट मुक्ति पाएको हाइटीको निकट अतीतको इतिहास  पनि तानाशाही र भ्रष्ट शाशनले भरिएको छ।  १९५७-८६ सम्म दुभालिएर नाम गरेका सन्की तानाशाहले चरम आतंकको भरमा राज्य गरे हाइटीमा। उनको शाशन भ्रष्टाचारको लागि पनि उत्तिकै कुख्यात थियो। त्यसपछिका केहि दशकपनि राजनीतिक अस्थिरता, कमजोर सरकार, भ्रष्टाचार, सैनिक कू र विदेशी हस्तक्षेपको चक्रमै बितेका छन्। यसरी मानवीय कारणहरुले गर्दा कमजोर र जर्जर भईसकेको हाइटीको जगलाई यो भूकम्पले अर्को एउटा गम्भिर धक्का दिएको छ र एउटा बलियो देशको रुपमा उठ्न हाइटीलाई अझ लामो समय लाग्ने बनाईदिएको छ।

यो कुरा सत्य हो कि प्राकृतिक प्रकोपहरुले धनी देश र गरीब देश भनेर छुटयाउँदैनन्, हाइटीको जस्तो महाविपत्तिकारी भूकम्पको घटना जहिले र जहाँपनि घट्न सक्छ। तर बढी धनजनको क्षति भने तेश्रो विश्वका गरीब देशहरुमै हुन्छ। विकसित देशहरुका बलिया आवासीय र सार्वजनिक संरचनाका कारण यसैपनि कम क्षति हुन्छ। भूकम्प (वा कुनै पनि प्राकृतिक विपत्ति) घटिसकेपछिको उद्धार कार्य र पुनर्निर्माणका उनीहरुको तयारी पनि राम्रो हुन्छ। उद्धार कार्यमा प्रभावशालीता हुने हुँदा धेरै घाइतेहरुलाई बचाउन सकिन्छ।

प्राकृतिक प्रकोप जहाँ घटेपनि ती दु:खदायी हुन्छन्। हाइटीको यो महाभूकम्पमा ज्यान गुमाउनेहरुको आत्माले चीरशान्ति पाओस्। हाइटी र हाइटीका जनता यो संकटबाट उठ्न सफल हुन्।

हाइटीले हामीलाई अझ झक्झक्याउनुपर्छ, हामी पनि यस्तै महाभूकम्पको संघारमै आईपुगेका हुनसक्छौं। नेपालमा विनाशकारी महाभूकम्पको संभावनाको बारेमा धेरै वर्षदेखि कुरा पनि हुँदै आईरहेको छ, जनताको चेतना पनि केहि हदसम्म बढेको छ र केहि कामहरु, सरकारी-गैरसरकारी दुबै क्षेत्रबाट- भएका पनि छन्। तर एउटा राष्ट्रिय अभियानकै रुपमा संयोजित र योजनाबद्ध नगरी गरिएका हुँदा यस्ता काम-गतिबिधिहरुको प्रभावकारिता धेरै हुन सकेको छैन। हाइटीजस्तै हामी पनि दशकौंदेखि राजनीतिक अस्थिरता र भ्रष्टाचार भोगिरहेका छौं र हाम्रो राज्ययन्त्र हाँक्नेहरुको ध्याउन्न ब्यक्तिगत-पारिवारिक 'शुभलाभ' र दलीय स्वार्थभन्दा माथि बिल्कूलै उठेको छैन। आसन्न महाविपत्तिले आफूलाई पनि माटोमुनि पु-याउन सक्छ भन्ने चेत तिनमा पनि आईदिए हुन्थ्यो।

भूकम्पको क्षेत्रमा काम गरिरहेको अन्तर्राष्ट्रिय संस्था GeoHazards International को अनुसन्धान परिणाममा आधारित एउटा लेख छापिएको छ प्रतिष्ठित अमेरिकी पत्रिका Forbes को अनलाईन संस्करणमा। पूरै लेख यहाँ पढ्न सक्नुहुन्छ; The World's Most Earthquake-Vulnerable Cities । संसारका २० अति भूकम्प-संवेदनशील शहरहरुको सूचिको १ नम्बरमा काठमाण्डौं रहेको छ र ६ रेक्टर स्केलको भूकम्प आएमा मर्ने मानिसहरुको संख्या ६९,००० अनुमान गरिएको छ (स्मरण रहोस, हाइटीको भूकम्प ७ रेक्टर स्केलको थियो)। काठमाण्डौंको योजनावीहिन र अनियन्त्रित शहरीकरण र जनसंख्या वृद्धि हेर्दा यो असम्भव बिल्कूलै लाग्दैन। नेपालमा भवन-निर्माण मापदण्ड एउटा देखाउने दाँतभन्दा बढी हुन सकेको छैन अझै भन्ने हामीलाई थाहै छ। अर्कोतिर शहरका धेरै भागमा दमकल त के एम्बुलेन्स जाने बाटो पनि छैन। केहि समय पहिला चक्रपथको छेऊछाऊमा भएको आगलागी नियन्त्रण गर्न जान दमकलहरुले बाटो भेटेनन्। शहरको बाहिरी भाग समेतको हालत यो भईसक्यो। अब त उद्धार कार्यका लागि आवश्यक पर्ने खुल्ला ठाऊँहरुको समेत अभाव हुन थालेको छ। देशका अरु शहरहरुमा पनि योजनावीहिनता र अनियन्त्रित बिस्तारको यो रोग सल्किसकेको छ र चाँडैनै केहि शहरहरु काठमाण्डौंका प्रतिस्पर्धी बन्दैछन्।

आवासीय र सार्वजनिक संरचनाको गुणस्तर र प्रभावशाली तयारीले कति फरक पार्छ भन्ने कुरा लेखमा सूत्र दिईएको अर्को एक स्लाईड शो The 20 Most Earthquake-Vulnerable Cities ले स्पष्ट पार्छ। ६ रेक्टर स्केलको भूकम्पमा जकार्ता र टोकियोमा मर्नसक्ने मानिसहरुको संभावित संख्या क्रमश: ११,००० र ९,००० मात्रै छ, जबकि ती शहरहरुको जनसंख्या काठमाण्डौंभन्दा धेरै गुना बढी छ।


Image Source: Click Here

January 10, 2010

"माधवी" का कुरा

मेरो एक वर्ष पहिलाको टाँसो नेपाली भाषाबारे केहि कुरा लाई फेसबुकमा नोटको रुपमा पनि राखेको छु मैले ( http://www.facebook.com/note.php?note_id=60028820333 )। त्यहाँको छलफलमा भाषाको सरलीकरण, मानकीकरण आदिका बारेमा आफ्ना प्रष्ट धारणाहरु दिने क्रममा साथी बिश्व पौडेलले "----भाषाको दीर्घजीवनको लागी यसको सरलीकरण खतरा नभै सहायक हो बरु चिन्तन रहित , हल्काफुल्का रचनाहरु र तिनका रचनाकारहरु (अझ मुख्य गरेर नेपालका नारावादी लेखकहरु जसले समाजको निरपेक्ष चित्रण गर्नु भन्दा दुराग्रही र गलत चित्रण गर्छन् ) खतरा हुन भन्दै कुनै दिन 'वार एंड पिस' जस्ता रचना नेपालीमै लेखियोस भन्ने---" कामना गर्नुभएको छ। त्यहि छलफलको अर्को एक ठाऊँमा उहाँले "--मैले नेपाली भाषाको अधोगती कहाँ पाएको छु भन्दा नयाँ रचनाहरुमा। किताबहरु छोटा र निरस छन। बसेर मेहनत गरेर, वर्षौ समय लगाएर लेखिएको किताब , माधवी जस्तो, पाइन्न।--" भनेर सबैलाई झक्झक्याउने, मननीय र अति सान्दर्भिक विचार पनि राख्नुभएको छ। उहाँको कुरा सुनेपछि आफूले धेरै वर्ष पहिला एक पटक पढेको, मदनमणी दिक्षितज्यूको अमर कृति "माधवी" को बारेमा ब्लगमा केहि कुरा लेख्न मन लाग्यो। सम्झाइदिनुभएकोमा बिश्वजीलाई धन्यबाद!

आजभन्दा तीन हजार वर्ष पहिलाको उत्तर भारतीय समाजका घटनाक्रमहरुलाई आधार बनाएर लेखिएको उपन्यास "माधवी" ले वि. सं. २०३९ सालको मदन पुरस्कार प्राप्त गरेको थियो।


तस्बिर साभार: Spiny Babler Museum 

'माधवी' संगको मेरो सानो ब्यक्तिगत 'चिनजान' बारे कुरा गर्नुभन्दा पहिला टोल्स्टोयको 'वार एण्ड पिस' को कुरा। यो किताब मैले अझै पढेको छैन। पढ्छु (र आफैसंग राख्छु) भनेर किनेपछि त्यसको भिमकाय आकार देखेर (र किताबको महत्वका कारण अलिक गम्भिरताका साथ पढ्नुपर्ला भन्ने सोचेर) कुनै लामो बिदा कुर्न थालें। किताब (अंग्रेजी अनुवाद) किनेको १६ वर्ष भयो होला, त्यो 'लामो बिदा' भने अझै जुरेको छैन:) टोल्सटोयकै अर्को अमर कृति 'आन्ना कारेनिना' भने कलेज जीवनको कुनै बिदामा एकचोटि पढेको थिएँ।

'माधवी' मैले वि. सं. २०५५ मा पढेको रहेछु। मलाई त्यो किताब पढ्दाको मेरो तन्मयताको अझै सम्झना छ, मेरो त्यस्तो तन्मयता अरु कमै किताबमा मात्र दोहोरिएको छ।

वैदिक कालका घटनाक्रमहरु र दर्शनको विषयमा जानकारी हुनेका लागि 'माधवी' बुझ्न अरुलाई भन्दा सहज हुने कुरामा कुनै सन्देह छैन। साहित्यका सबै पाठकहरुमा यस्तो जानकारी हुन्छ भन्ने चाहिँ छैन, यथार्थमा ज्यादै कममा मात्रै हुन्छ। तर 'माधवी' मेरो विचारमा सबैले पढ्नसक्ने र पढ्नैपर्ने कृति हो। वैदिक घटनाक्रमहरु र त्यो युगको दर्शनलाई दिक्षितज्यूले कत्तिको न्याय गर्नुभएको छ, त्यो अरु विज्ञ विद्वानहरुको चर्चा र समालोचनाको विषय हुनसक्छ तर एउटा आम पाठकले पनि यसमा वर्णित घटनाक्रमहरुको कथात्मकता, पात्रहरु र घटनाहरुको अन्तर्सम्बन्धले जन्माउने कौतूहलता र सबैभन्दा बढी त दिक्षितज्यूको कुशल शब्दशिल्पको आनन्द लिएर यो उपन्यास पढ्न सक्छ। वैदिक विषयमा कुनै ज्ञान नभएको मजस्तो स्वाँठको अनुभव यहि हो। मैले यसलाई अरु काल्पनिक उपन्यासजस्तै गरी पढेको हुँ। मजस्तो साधारण पाठकका लागि यो भन्दा अरु बाटो पनि छैन।

आजभन्दा डेढ-दुई वर्ष पहिला कुनै साहित्यिक पत्रिका ('अभिब्यक्ति' वा 'रचना' मध्ये एउटा हो जस्तो लाग्छ) मा मदनमणि दिक्षितज्यू स्वयंले लेख्नुभएको 'माधवी' सम्बन्धी एउटा चर्चा पढेको थिएँ। त्यसमा उहाँले 'माधवी' माथि उहाँले आशा गरेभन्दा ज्यादै कम चर्चा, समालोचना आदि भए भनेर लेख्नुभएको छ। किन यस्तो भएको होला? नेपालमा गम्भिर साहित्यिक कृतिहरु पढ्ने, चर्चा गर्ने काम कम भएको हो कि? अथवा दिक्षितज्यूको विद्वतासंग दाँजिन सक्ने समालोचकहरु हुँदै नभएका हुन् कि? कारण जे र जति भएपनि हाम्रो भाषा र साहित्यको लागि त्यो राम्रो लक्षण भने होईन।

'माधवी' पढ्दाताकाका दिनहरुमा पढ्ने कुरामा थोर-बहुत जाँगर चलाएपनि लेख्ने कुरामा भने म महाअल्छी थिएँ। 'माधवी' पढेपछि त्यसबारेमा भने केहि हरफहरु लेखेको रहेछु। मेरो गञ्जागोल मनस्थिति झल्काउने हस्ताक्षरमै पढ्नुहोस् पहिला:)




केरमेट रहित गर्न सकेको भए यस्तो हुन्थ्यो होला:)

 "माधवी"

मदनमणि दिक्षितद्वारा रचित "माधवी" दुइ दिन लगाएर पढें। उत्तरवैदिक कालीन कथामा आधारित यो उपन्यास रोचक छ।

समीक्षा, आलोचना केहि गर्ने मन छैन मेरो यतिखेर। त्यतिखेरको जीवनचर्याका घटनाहरु धेरैजसो मेरो मनले स्विकार गर्न सक्ने पनि भएन।

"माधवी" भन्ने नारीप्रति भने म मा ज्यादै करुणा छ। एउटी नारीले आफूलाई घोडाको निम्ति साट्नुपर्ने बाध्यताको त्यो युगलाई धिक्कार छ।

म गालबलाई स्वयंवरमा उसले माधवीलाई लज्जित पारेको घटनालाई लिएर घृणा गर्छु। आफूप्रति त्यति धेरै त्याग गरेकी र त्यति धेरै ममतामयी नारीप्रति उसले अत्यन्तै अनादर गरेको हो। अत्याचारप्रति माधवीको विद्रोह शायद त्यै वनगमन होला।

र दार्शनिक पक्ष, माधवीमा त्यो युगको दर्शनका ब्याख्याहरु छन् ठाऊँ-ठाऊँमा। तर दार्शनिकतालाई कलात्मकताले जितेको हुनाले उपन्यास निरस हुनबाट जोगिएको छ।

जे होस् , उपन्यास हाम्रो नेपाली साहित्यको एउटा अमूल्य निधिनै बनेको छ।


२०५५/६/२८
(रात्री १०:०० बजे 
घर)


यो टाँसो लेख्ने क्रममा आफ्नो पूरानो टिप्पणी पढ्दा मलाई आफ्नो चिन्तनशैलीमा आएको परीवर्तन र आफ्नो फेरिएको मनोदशाको प्रष्ट अनुभूति पनि भयो। यतिखेर आएर मैले पहिलोपटक 'माधवी' पढेको भए माथि लेखिइने कुराहरु अवश्यपनि केहि फरक हुने थिए होलान्।

फेरि एकपटक माधवी पढ्छु र पहिलाभन्दा बढी समय लगाएर पढ्छु, यो निश्चय गरेको छु मनमा।

January 05, 2010

मेरो कविता

[आज फेरि तपाईँहरुलाई इतिहासको ब्याजबाट यो टुक्रो चखाउन चाहन्छु। मासिक साहित्यिक पत्रिका "रचना" को कुनै अंकमा प्रकाशित भईसकेको छ यो।
टुक्रोको स्वाद कस्तो छ, भन्न नभुल्नुहोला।]
------------------------------------------------


मेरो कविता


दिनभरि-
यन्त्रहरू, यान्त्रिक समीकरणहरू र रेखाहरूसँग
यन्त्रवत् चलेपछि,
साँझ पर्दासम्म-
मुटु यन्त्रवत् टुक्रिएर चोइटा चोइटा बनिसक्छ;
म थुपार्छु चोइटाहरू
र कलमको अगुल्टो झोसेर फुकिदिन्छु,
हुर्हुरी बल्छ मेरो कविताको आगो
र म एकपटक फेरि जन्मन्छु। 

-कार्तिक ४, २०५७
पोखरा

Image Source: Click Here