Showing posts with label भाषा-साहित्य. Show all posts
Showing posts with label भाषा-साहित्य. Show all posts

May 02, 2019

भाषिक उपनिवेश नेपाल

हालैका समाचारहरु अनुसार चालू आर्थिक वर्षको आठ महिनाको व्यापार घाटा साढे आठ खर्ब पुगेको छ । यहि दर कायम रहेमा आर्थिक वर्षको अन्त्यसम्ममा यो घाटा १३ खर्बको नजिक पुग्नेछ ।  यो आर्थिक वर्षको बजेट १३ खर्ब हाराहारीको छ । यसरी वार्षिक बजेट बराबरकै ब्यापार घाटा छ देशको । हामी आफूलाई कहिल्यै उपनिवेश नबनेको, स्वतन्त्र देश भनेर नाक फुलाएर चिनाउन खुब रुचाउँछौं तर ब्यापार घाटाको यो तथ्याङ्कले के देखाउँछ भने हामी स्वतन्त्र छैनौं, हामी कसैको उपनिवेश बनीसकेका छौं । आधुनिक युगमा कसैलाई उपनिवेश बनाउन भौगोलिक नियन्त्रणको माध्यम भन्दा पनि आर्थिक नियन्त्रणको माध्यम बढी प्रभावकारी मानिन्छ । यसरी हामी कुनै एक वा केहि देशको उपनिवेश बनीसकेका छौं ।

आर्थिक उपनिवेशको यो दासताबाट मुक्ति पाउन गाह्रो भने छैन । कृषिको औद्योगिकीकरण र तुलनात्मक लाभका निर्यातमूलक उद्योगमा जोड दिएर केहि वर्षभित्रै आयात घटाउन सकिन्छ ।

तर हामी अर्को औपनिवेशिक जालोमा पनि फँसिसकेका छौं । हामी भाषिक र साँस्कृतिक उपनिवेश बनीसकेका छौं, र यो औपनिवेशिक दासता अरु कसैले हामीमाथि लादेको होइन, हामी आफैंले लादेका हौं । भाषिक र साँस्कृतिक दासताको यो जालो अझ खतरा छ र बेलैमा सचेत नहुने हो भने यसबाट मुक्त हुन हामीलाई धेरै समय लाग्न सक्छ, र धेरै ढिला गरियो भने सम्भवनै नहुन पनि सक्छ ।

हाम्रो यो भाषिक र साँस्कृतिक दासताका साङ्ग्लाहरु मुख्यत: दुई थरी छन् – हामीले अँगालेको शिक्षा प्रणालीको भाषा नीति र हाम्रा अत्यन्त कम आधुनिक साँस्कृतिक उत्पादनहरु । अहिले शिक्षा प्रणालीको भाषा नीतिको कुरा गरौं ।

नेपालको आधुनिकतातर्फको यात्रा २००७ साल (सन् १९५१) मा शुरु भएको हो । चीन, कोरीया लगायत एशियाका अरु धेरै देशहरु औपनिवेशिक नियन्त्रणबाट मुक्त भएको पनि यहि हाराहारीमा हो । आधुनिकतातर्फको यात्राको एउटा मुख्य माध्यम शिक्षालाई लिइनु स्वाभाविक हो । अरु देशले जस्तै हामीले पनि पश्चिमा शिक्षा प्रणाली अँगाल्यौं तर अरु देश र हाम्रो फरक के रह्यो भने अरुले प्रणाली पश्चिमा अँगालेपनि शिक्षाको माध्यम भने आफ्नै भाषालाई बनाए, पश्चिमा ज्ञानलाई अनुवाद गरेर आफ्नै भाषामा शिक्षण सामाग्रीहरु तयार पारे तर हामीले क्रमैसंग शिक्षाको माध्यमनै पूरै अङ्ग्रेजीलाई बनाउँदै ल्यायौं । अङ्ग्रेजी (वा कुनै पनि विदेशी भाषा) जान्नु नराम्रो हुँदै होइन, विश्वमा अरुसंग सम्वाद गर्न हामीलाई अङ्ग्रेजी चाहिन्छ तर हाम्रो मनमा “अङ्ग्रेजीमात्र ठिक” “ अङ्ग्रेजी भएपछि पुग्यो” भन्ने चिन्तनले घर बनायो र नेपाली (खस) वा देशभित्रका अरु भाषाका बारेमा हामीमा हीनताबोध भरिँदै आयो । हामीले शिक्षालाई ज्ञानप्राप्तिको बाटो होइन, आफ्ना भाषाहरु बिर्सने र अङ्ग्रेजीमात्र सिक्ने चिजका रुपमा अँगाल्यौं । देशका सबै जसो निजी विद्यालयहरुमा शुरु देखिनै अङ्ग्रेजी माध्यममा पठनपाठन हुने गरेको छ भने अहिले आएर धेरै सरकारी विद्यालयहरुले पनि विद्यार्थी बटुल्नकै लागि भएपनि अङ्ग्रेजी माध्यम अँगालेका छन् । आफ्नै भाषामा शैक्षिक सामाग्रीहरु उत्पादन गर्ने कुरामा न राज्य आफैं राम्रोसंग लागेको छ न उसले निजी र सार्वजनिक क्षेत्रलाई प्रोत्साहन नै गरेको छ ।

अहिले स्थिति कस्तो छ भने बच्चाहरुलाई आफ्नो मातृभाषा पनि राम्रोसंग नजान्दैको २-३ वर्षको उमेरबाटै अङ्ग्रेजी सिकाउन थालिन्छ । उनीहरुलाई दैनिक जीवनमा बढी प्रयोग हुने शब्दहरु सबै शुरुमै अङ्ग्रेजीमा सिकाइन्छ र उनीहरुलाई एक खाले नेपाङ्ग्रेजी सुगा बनाइन्छ । अङ्क र संख्याका कुरामा बच्चाहरुको स्थिति झन् खत्तम छ । हाम्रो आफ्नो परम्परामा चल्दै आएका ‘डेढ’, ‘अढाइ’, ‘सवा’ र ‘पौने’ जस्ता विशेष शब्दहरु बुझ्ने त कुरै छोडौं, बच्चाहरु नेपालीमा एकसरो एक देखि सयसम्म गन्न पनि सक्दैनन् ।

यो कथित अङ्ग्रेजी माध्यमको शिक्षणमा एउटा ‘नेपाली’ बाहेक अरु सबै विषय अङ्ग्रेजीमा पढाइन्छ । मातृभाषाको पढाइ त हुँदै हुँदैन भने पनि हुन्छ । त्यसैले अहिलेका विद्यार्थीहरु नेपाली वा आफ्नो मातृभाषामा अत्यन्त कमजोर हुन्छन् ।  यसले गर्दा उनीहरुमा स्थानीय परिवेश, समाज र देशप्रतिको बुझाई पनि अत्यन्त कम छ । पढाइ सबै अङ्ग्रेजीमा तर देशको सम्पर्क भाषा, सरकारी कामकाज, राजनीति र प्रशाशनको भाषा भने नेपाली हुँदा बच्चाहरु समाज बुझ्न नसक्ने हुने मात्र होइन देशको राजनीति र प्रशाशनबाट पनि अलग्गिन्छन् । अङ्ग्रेजी माध्यममा पढेका विद्यार्थीहरुको नगण्य संख्या मात्र राजनीति वा सरकारी जागिरमा जान्छ । यति ठूलो समूहलाई देशको राजनीति र प्रशाशनिक संयन्त्रबाट अलग्याएर, देशले उनीहरुको क्षमताको सदुपयोग गर्नसक्ने सम्भावनालाई गुमाएर हामीले राम्रो गरीरहेका छैनौं । सरकारी कार्यालयमा आवश्यक पर्ने सामान्य निवेदन पनि लेख्न नजान्ने भएपछि कतिपय स्थितिमा उनीहरु सजिलै ठगिने दर समेत बढ्छ ।

यो प्रणालीले सृजना गरेका समस्याहरु अरु पनि धेरै छन् । शुद्ध नेपाली लेख्न बोल्न जान्ने युवा संवाददाता र समाचारवाचक भेट्न गाह्रो हुन थालेको कुरा गर्छन् सञ्चारमाध्यमका साथीहरु । त्यसैले एफएम रेडियो र टिभीका धेरै कार्यक्रमहरु हाँस न कुखुराको चालका नेपाङ्ग्रेजी हुन्छन्, र कार्यक्रम कसका लागि चलाइएको हो छुट्याउन मुश्किल हुन्छ । अर्कोतिर, यतिखेर महाविद्यालय र विश्वविद्यालयमा मानविकी पढ्ने विद्यार्थीहरु छैनन् । हामीले उनीहरुमा मानविकीप्रति गम्भिर रुचि जगाउनै सकेनौं किनभने हामीले मानविकीसंग सम्बन्ध राख्ने सामाजिक शिक्षाजस्ता विषय उनीहरुले बुझ्न सक्ने र विश्लेषण गर्न सक्ने गरी पढाएनौं । सामाजिक शिक्षा अङ्ग्रेजीमा पढाउनु भनेको घोकाउनु, जाँचमा धेरै अङ्क ल्याउन लगाउनु र त्यसपछि बिर्सने बनाउनु हो, किनभने नबुझी घोकेको कुरा दिमागमा रहने अवधि लामो हुँदैन ।

आफ्नो भाषामाथि पकड नभएपछि, समाज र देश नबुझेपछि अपनत्व पनि स्वत: कम हुने नै भयो । १२ कक्षा सक्दा नसक्दै विदेशिने मोह जुन अहिलेका विद्यार्थीमा देखिएको छ, त्यसको एउटा मुख्य कारण हाम्रो शिक्षा प्रणालीले उनीहरुको नेपाली र मातृभाषा क्षमता मार्दिनु पनि हो ।

यस्तो स्थितिको अन्त्य हुनुपर्छ भनेर बिभिन्न व्यक्तित्वहरुले बोल्ने लेख्ने गरीरहनुभएको छ । यसलाई अभियानकै रुपमा लैजानुपर्ने आवश्यकता देख्यौं हामीले र पोखराबाट अभियान शुरु गर्यौं । वास्तवमा आधारभूत विद्यालय तहमा अङ्ग्रेजी भाषा सिकाउने विषय एउटा बाहेक अरु सबै नेपालीमै सिकाए पनि परक पर्दैन । अहिले तुरुन्तै त्यो स्थितिमा पुग्न गाह्रो हुने भएकाले कम्तिमा सामाजिक शिक्षालाई मात्रै पनि फेरि नेपालीमा पढाउन सकियो भने पनि माथि उल्लेख गरिएका समस्याहरु धेरै समाधान हुन सक्छन् भन्ने लागेर अभियानको नामाकरण ‘सामाजिक शिक्षा नेपालीमा अभियान’ भनेर गरियो । ‘नेपालीमा’ भन्ने शब्दले ‘नेपालीमा वा आवश्यक र सम्भव भएका ठाउँमा मातृभाषामा’ भन्ने जनाउँछ ।

गएको एक वर्ष हामीले विद्यालय सञ्चालक, अभिभावक, शिक्षक आदि सरोकारवाला पक्षहरुसंग छलफल-अन्तर्कृया गर्ने, शिक्षाविद् र विज्ञहरुका प्रवचन कार्यक्रम आयोजना गर्ने, सरकारी तथा संस्थागत निकायहरुमा ज्ञापनपत्र दिने र विद्यालयहरुलाई सामाजिक शिक्षा नेपालीमा पढाउने अनूरोध गर्ने जस्ता गतिविधिहरु अगाडि बढायौं । हामीले ‘सामाजिक शिक्षा नेपालीमा अभियान’का नामबाट विद्यालय तहका विद्यार्थीहरुको वक्तृत्वकला प्रतियोगिता जस्ता कार्यक्रमहरु पनि आयोजना गर्यौं । 

अन्तर्कृया र छलफलबाट प्राप्त विचारहरु र सुझावहरु सकारात्मक छन् र तिनले हामीलाई अभियानलाई निरन्तरता दिन उर्जा दिएका छन् । शिक्षक, अभिभावक र विद्यालय सञ्चालकहरु सबै समस्याको गम्भिरताका बारेमा सहमत हुनुहुन्छ र समाजिक शिक्षालाई नेपाली भाषामा लानुपर्छ भन्ने मान्यता छ सबैको । धेरै अभिभावकहरु त सामाजिक शिक्षामात्र नभएर नैतिक शिक्षा र स्वास्थ्य शिक्षा समेत नेपालीमा भैदिए हुन्थ्यो भन्ने मान्यता राख्नुहुन्छ । हाम्रो समाजका, हाम्रो परम्पराका नैतिक मूल्य मान्यता सिकाउन आफ्नै भाषा उपयुक्त हुने कुरामा कुनै सन्देह छैन । यस्तै साना बालबालिकाहरुले शरीर र स्वास्थ्यको बारेमा आफ्नो घरमा बोल्ने भाषामै पढ्नुपर्छ, यसले उनीहरुलाई आफ्ना समस्याका बारेमा अभिभावकहरुसंग राम्ररी कुरा गर्न सक्ने क्षमता दिन्छ ।

यति हुँदा हुँदै पनि ‘बिरालोको घाँटीमा घण्टी बाँध्न” अघि सर्न भने गाह्रो छ सबैलाई । यसका दुई कारणहरु भेट्यौं हामीले । पहिलो, समाजको अङ्ग्रेजी मोहले विद्यालय सञ्चालकहरुमा सृजना गरेको ‘मैले मात्र नेपालीमा पढाएँ भने मेरो विद्यालयका बारेमा नराम्रो हल्ला चलेर विद्यार्थी घट्लान् कि !?’ भन्ने डर हो । दोश्रो, परीक्षाको उत्तरपुस्तिका मूल्याङ्कनकर्ताहरुको ‘अङ्ग्रेजीपक्षीय मानसिकता’ हो । सामाजिक शिक्षाको परीक्षामा  नेपालीमा राम्रोसंग लेखेपनि थोरै अङ्क आउने र अङ्ग्रेजीमा ठिकैसंग लेखे पनि धेरै अङ्क आउने अनुभव रहेछ सबैको । अङ्ग्रेजीमा लेखेपछि जे सुकै लेखोस्, सर्सर्ती हेरेर अङ्क धेरै दिइहाल्ने र नेपालीमा लेखेको छ भने रौं चिरा केलाएर ससाना गल्तीमा पनि अङ्क काट्ने चलनजस्तै भइसकेको छ उहाँहरुको अनुभवमा    त्यसैले सबैको कुरा कुनै सरकारी निकायले ‘सामाजिक शिक्षा नेपालीमा पढाउनुपर्ने’ भनेर निर्णय गर्दियो भने सबैले सजिलै समाजिक शिक्षा नेपालीमा पढाउने छन् भन्ने रह्यो । केन्द्रीय सरकारमा यो विषय अवधारणाका रुपमा आइसकेपनि निर्णयनै गर्न समय लाग्ने देखिन्छ तर अहिलेको संघीय संरचनामा प्रदेश वा स्थानीय तहले पनि आफ्नो क्षेत्रका विद्यालयका हकमा निर्णय गर्न सक्छन् । यसैले हामीले प्रदेश सरकारका सामाजिक विकास मन्त्रीज्यूसंग हाम्रा कुराहरु राख्यौं र अत्यन्त सकारात्मक प्रतिकृया पनि पायौं तर प्रदेश सरकारले यस बारेमा कुनै छलफल गरेको खबर आएको छैन । पोखरा महानगरमा पनि प्रमुखज्यूसंग कुराहरु राख्नुका साथै ज्ञापनपत्र दर्ता गरेर बुझाइएको थियो । महानगरले पनि कुनै निर्णय गरेको जानकारी आएको छैन । स्याङ्जाको एक गाउँपालिका र दुइ नगरपालिकाबाट पनि सकारात्मक प्रतिकृयाहरु प्राप्त भएका थिए तर ठोस निर्णय भएको खबर भने पाइएको छैन । हामी आशा गर्छौं, प्रदेश सरकार र स्थानीय तहहरुले अब यो विषयलाई महत्व दिनेछन् ।

विशेष उत्साहजनक खबर भने नवलपुरबाट आएको छ । त्यहाँका अभियन्ता साथीहरुको मेहनतको परिणामस्वरुप देवचुली नगरपालिका र हुप्से गाउँपालिकाले आफ्नो भूगोलभित्र भएका सबै विद्यालयहरुले सामाजिक शिक्षा नेपालीमा पढाउनुपर्ने भनी निर्णय गरेका छन् । यस बाहेक पनि, पोखरा र अन्यत्रका धेरै विद्यालयहरुले आफ्नै हिसाबले तल्लो तहबाट सामाजिक शिक्षा र नैतिक शिक्षालाई नेपालीमा पढाउन थालेका छन् त्यसलाई क्रमैसंग माथिल्ला तहसम्म लैजाने योजना बनाएका छन् ।

शिक्षा प्रणाली पेशेवरहरु उत्पादन गर्ने मेशीनमात्र होइन, यो हामीले हाम्रो देश र समाजलाई कुन दिशामा लैजान चाहन्छौं, हाम्रो आफ्नो अस्तित्वलाई कसरी जोगाउन र विकास गर्न चाहन्छौं भन्ने कुरासंग झन् धेरै सरोकार राख्ने कुरा हो । शिक्षा हाम्रो समाज, हाम्रो भाषा र हाम्रो संस्कृतिसंग पनि जोडिनुपर्छ । हामी आफैंले आफूमाथि लादेको भाषिक र सांस्कृतिक औपनिवेशिक दासताबाट माथि उठ्न नीति निर्माता, अभिभावक, शिक्षक, विद्यालय सञ्चालक, नागरिक समाज लगायत हामी सबैमा त्यहि स्तरको गम्भिरता चाहिएको छ । 

(गौतम ‘सामाजिक शिक्षा नेपालीमा अभियान’ का संयोजक हुन् ।)


(मिति २०७५, बैशाख १९ गते बिहीबार, पोखराबाट प्रकाशित हुने 'समाधान' राष्ट्रिय दैनिकमा प्रकाशित)


April 26, 2019

अङ्ग्रेजी – साधन कि साध्य ?


“हाम्रो ‘समर भ्याकेसन’ ‘फिफ्टीन डेज’ को छ ।“
मेरो ‘फेभरेट स्पोर्ट्स’ ‘स्विमिङ्ग’ हो ।“
“म ‘नेप्लीज सङ्’ सुन्दिन । ‘इङ्लिस सङ्’ मन पर्छ ।“
आजभोलिका बालबालिकाले बोल्ने ‘नेपाली’ यस्तै हुन्छ ।
“सत्सठ्ठी भनेको ‘सिक्स्टी टु’ हो ?” तपाईँले सत्सठ्ठी सालको कुनै घटनाको कुरा गर्दै हुनुहुन्छ भने सुनीरहेका बच्चाहरुबाट यो प्रश्न आउन सक्ने संभावना धेरै छ ।

अहिलेका बच्चाहरु स्याऊ खाँदैनन ‘एप्पल’ खान्छन्, भात खाँदैनन् ‘राइस’ खान्छन् । अंक र संख्यालाई त नेपालीमा भन्न जान्दै-जान्दैनन्। हाम्रा बच्चाहरु गतिलोसंग नेपाली बोल्न जान्दैनन्, खासमा गतिलो अङ्ग्रेजी पनि उनीहरु बोल्न सक्दैनन् । उनीहरुको नेपाली शब्द भण्डार अत्यन्त सानो छ र उनीहरुको बोली ‘नेपाङ्ग्रेजी’ छ । उनीहरुले गतिलो नेपाली नबोली टुटेफुटेको अङ्ग्रेजी ओकलेकोमा गर्वबोध गर्ने अभिभावकहरुको संख्या बढ्दै छ, त्यो प्रवृत्तिलाई शिक्षक र विद्यालय सञ्चालकहरुले सक्दो मलजल गरीरहेका छन् । अङ्ग्रेजी अहिले आएर बालबालिकामाथि थप सजाय दिइने कारण समेत बनेको छ । कतिपय विद्यालयमा अङ्ग्रेजी मात्रै बोल्ने उर्दी जारी गरिएको हुन्छ, कुनै विद्यार्थीले झुक्किएर नेपाली बोलिहाले उसलाई जरिबाना गरिन्छ वा शारीरिक सजाय दिइन्छ ।

प्रख्यात हास्यब्यङ्ग निबन्धकार स्व भैरव अर्यालको ‘महापुरुषको संगत’ भन्ने रचनामा एकजना पात्र छ ‘मिष्टर ड्याहाल बौ’ । त्यो पात्र आफ्ना छोराछोरीलाई नेपाली बोल्नै दिएन भने मात्र उनीहरुको अङ्ग्रेजी राम्रो हुन्छ भन्ने ठान्छ । हामी शिक्षक र अभिभावकहरु अहिले त्यहि मिष्टर ड्याहाल बौ बनेका छौं ।

यसरी हामी यस्तो पुस्ता हुर्काइरहेछौं जसले नेपाली साहित्य पढ्नेछैन, नेपाली सिनेमा हेर्नेछैन र नेपाली सन्दर्भको कला बुझ्नेछैन । यसको संकेत बुझ्न कुनै ठूलो किताब पसल वा कुनै पुस्तकालयमा पसेर एकाध घण्टा निरीक्षण गरे पुग्छ, २५ वर्ष मुनिका युवाहरु नेपाली पुस्तकहरु राखिएको खण्डतिर जाँदै-जाँदैनन, उनीहरु सोझै अङ्ग्रेजी पुस्तकपत्रिका भएतिर बत्तिन्छन् । आफ्नै भाषानै नबुझ्ने यस्तो पुस्तामा हाम्रो समाजको परम्परागत ज्ञान हस्तान्तरण हुने सम्भावना पनि छैन र यस्तो पुस्ताले हाम्रो समाजका सबलता र कमजोरीहरुको बिश्लेषण गर्ने कुरामा चासोपनि देखाउने छैन ।

अर्को एउटा प्रसङ्ग पनि । केहि समय पहिला पत्रपत्रिकाहरुमा कुसुण्डा भाषा लोप हुन लागेको विषयमा समाचारहरु छापिएका थिए । कुसुण्डा भाषा बोल्न जान्ने दुईजना दिदीबहिनीमात्र बाँकी रहेको र उनीहरुपछि त्यो भाषाको अस्तित्व सकिने चिन्ता व्यक्त गरिएको थियो उक्त आलेखमा । त्यसको केहि समयपछि भाषा आयोगले कुसुण्डा भाषा जोगाउन  ट्युशन कक्षाको योजना ल्यायो । कुसुण्डा भाषालाई पहिलेदेखिनै सञ्चार माध्यमहरु र देशको शिक्षानीतिसंग जोड्न सकेको भए यसरी ट्युशन कक्षानै चलाउनुपर्ने स्थिति आउने थिएन । देशका अरु थुप्रै भाषाहरु पनि लोप हुने संघारमा छन्, तिनको संरक्षणका लागि काम गर्न शुरु गरिएन भने कुसुण्डा भाषाकै जस्तो स्थिति आउनेछ ।   

यस्तो परिश्थितिको जग भनेको हामीले अँगालेको कथित अङ्ग्रेजी माध्यमको शिक्षा हो । २००७ साल पछि हामीले पश्चिमी शिक्षा पद्धति अँगाल्यौं । त्यतिखेर उपनिवेशवादबाट मुक्ति पाएका अरु धेरै एशियाली, अफ्रिकी देशहरुले पनि पश्चिमा शिक्षा पद्धति अँगाले तर उनीहरुले पश्चिमा समाजमा उत्पादित ज्ञानलाई आफ्नो भाषामा अनुवाद गरे र आफ्नै भाषालाई पठनपाठनको माध्यम बनाए । हामीले भने वैज्ञानिक र प्राविधिक शिक्षाका लागि अङ्ग्रेजीलाईनै माध्यम बनायौं । यसका कारण हाम्रो भाषाको वैज्ञानिक र प्राविधिक शब्द भण्डार बढ्न सकेन । बिस्तारै गैर प्राविधिक विषयलाई पनि अङ्ग्रेजी माध्यममा पढाउने प्रचलन शुरु गर्‍यौं हामीले, अहिले लगभग सबै विषयको शिक्षण माध्यम अङ्ग्रेजी बनीसकेको छ ।

यतिखेर सबै निजी विद्यालयहरु र धेरै सामुदायिक विद्यालयहरुले अङ्ग्रेजी माध्यममा शिक्षा दिने भनेर विद्यार्थी बटुलेका छन् । यो कथित अङ्ग्रेजी माध्यमको शिक्षामा एउटा ‘नेपाली’लाइ छोडेर बाँकी सबै विषयहरु अङ्ग्रेजीमा पढाइन्छ, सामाजिक शिक्षाजस्तो प्रत्यक्षत: आफ्नो समाज र संस्कृतिसंग जोडिएको विषयलाइ समेत विद्रुप अनुवाद गरेर अङ्ग्रेजीमा पढाइन्छ । नेपाली पनि अत्यन्त कम महत्व दिएर पढाउनका लागि मात्रै पढाइन्छ । त्यसैले कतिपय ‘राम्रा’ भनिने विद्यालयका विद्यार्थीहरुको ‘नेपाली’ अत्यन्त कमजोर हुने र विद्यार्थीले नेपालीको ट्युशननै पढ्नु पर्ने बिडम्बनायुक्त स्थिति सृजना भएको छ । जनप्रतिनिधिहरुलेनै यो प्रवृत्तिलाई बढावा दिन थालेको पनि देखिएको छ। कास्की जिल्लाका सबै गाउँपालिकाहरुले अङ्ग्रेजी माध्यममा पढाउने सम्बन्धी सामूहिक घोषणानै गरेको समाचार आएको थियो केहि समय पहिला

विगत दुइ सय वर्ष यताको इतिहास अङ्ग्रेजी भाषाको दबदबाको इतिहास हो । प्रमुख शक्तिराष्ट्रको रुपमा बेलायतको उदय र उसको विश्वब्यापी उपनिवेश संजालका कारण अङ्ग्रेजी भाषा संसारभरि सजिलै फैलियो । फ्रेन्च, स्पेनिश र पुर्तगाली भाषाहरु पनि फैलिए । अङ्ग्रेजहरु सामरिक र आर्थिक दृष्टिले मात्र बलिया भएनन् यो अवधिमा । दर्शन, साहित्य, कला, संगीत, विज्ञान, इञ्जिनियरिङ्ग, राजनीतिक प्रणालीको आधुनिकीकरण, खेलकूद आदि सबै क्षेत्रमा पनि उनीहरु अब्बल भए । यसैले ज्ञानको उत्पादन र प्रयोगमा उनीहरु अगाडि भए र बाँकी विश्वले उनीहरुलाई पछ्याउनुपर्‍यो । दोश्रो विश्वयुद्धपछि पनि अङ्ग्रेजीभाषी राष्ट्र अमेरिका सर्वशक्तिमान र नेतृत्वदायी बन्यो । क्यानडा, अष्ट्रेलिया र न्युजिल्याण्डजस्ता देशहरु पनि धनी र शक्तिशाली बने । यिनै कारणहरुको जोड हो अहिलेको विश्वमा अङ्ग्रेजी भाषाको प्रभाव

तर यसको अर्थ संसारमा अङ्ग्रेजी मात्र बाँकी छ वा हुनुपर्छ भन्नेचाहिँ होइन । मातृभाषीको संख्याकै कुरा गर्ने हो अङ्ग्रेजी तेश्रो हो, संसारमा चिनियाँ र स्पेनी बोल्नेहरु अङ्ग्रेजी बोल्नेभन्दा धेरै छन् । हिन्दी र पोर्चुगाली भाषा बोल्नेको संख्या पनि कम छैन । अरबी बोल्नेहरुको संख्या पनि धेरै छ  र यसले ओगटेको भूगोल पनि ठूलो छ । बिश्वको सम्पर्क भाषा वा अन्तर्राष्ट्रिय भाषाको रुपमा सधैंभरि अङ्ग्रेजी नै रहन्छ भन्ने छैन । विगतमा अरु भाषा अन्तर्राष्ट्रिय भाषा थिए र भविष्यमा अर्को कुनै भाषाले अङ्ग्रेजीलाई विस्थापित गर्ने पनि निश्चित छ । विश्वका सबै प्रमुख भाषाहरुमा त्यो सामर्थ्य र सम्भावना छ ।

कुनै पनि भाषा मानव समाजको सम्पत्ति हो । समाजले हजारौं वर्ष लगाएर आर्जन गरेको अनुभव र ज्ञानको सङ्ग्रह हो भाषा । सभ्यता, संस्कृति र परम्परालाई बोली दिने भाषाले नै हो । हाम्रो देशभित्र बोलिने हरेक भाषाहरु यसैले हाम्रा अमूल्य निधि हुन्, हामीले तिनलाई लोप भएर जान दिनु हुँदैन । हामी विज्ञान र प्रविधिमा पछि परेको कारण भाषा होइन । आधुनिक विज्ञान र प्रविधिमा दक्ष हुन  आफ्नो भाषा र संस्कृतिलाई निमिट्यान्न पार्नुपर्दैन भन्ने कुरालाई जापान, कोरीया, चीन, सिंगापुर आदिले देखाइसकेका छन् । सही राजनीतिक र सामाजिक व्यबश्थापन हुने हो भने हाम्रो समाज पनि विज्ञान र प्रविधिमा अघि बढ्न सक्छ, भाषाकै कारणले रोकिने छैन । केहि प्राविधिक ज्ञान हाम्रो समाजले उत्पादन गर्दै नगरेको पनि होइन । हाम्रो शिक्षाको अधकल्चो अङ्ग्रेजीकरणका कारण हाम्रो विगतका यस्ता उपलब्धि पनि हामीले बिस्तारै गुमाउँदै छौं ।

जर्मनी, फ्रान्स, इटाली, स्पेन, पोर्चुगल, नर्वे, स्विडेन, डेनमार्क, फिनल्याण्ड आदि जस्ता यूरोपका धेरै विकसित देशको प्रमुख भाषा अङ्ग्रेजी होइन । यी देशहरुको शिक्षा प्रणालीको माध्यम पनि अङ्ग्रेजी होइन आफ्नै भाषा हो । अमेरिका लगायतका विकसित देशमा  विद्यार्थीहरुलाई बहुभाषामा दक्ष हुन प्रोत्साहित गरिन्छ । हामी भने अङ्ग्रेजीलाई नै साध्य मानेर दौडिरहेका छौं र यस क्रममा आफ्नै भाषाहरुलाई बिर्सन खोज्दैछौं ।

शिक्षाको माध्यमका रुपमा अङ्ग्रेजीलाई लादेर ‘ड्याहाल बौ’ शैलीमा बच्चालाई अङ्ग्रेजी रटाउँदैमा हाम्रो अङ्ग्रेजी राम्रो भएको पनि छैन । गैर अङ्ग्रेजी मातृभाषी देशहरुको अङग्रेजी भाषा क्षमताको मूल्याङ्कनमा स्विडेन, नेदरल्याण्ड, डेनमार्क, नर्वे जस्ता देशहरु उत्कृष्ट रहँदै आएका छन् । यी देशहरुको शिक्षा प्रणालीको माध्यमभाषा अङ्ग्रेजी होइन । त्यसैगरी, अङ्ग्रेजीलाई देशको शिक्षा प्रणालीको प्रमुख माध्यम नबनाउँदैमा कुनै देशको विज्ञान-प्रविधि क्षमता कमजोर बन्छ भन्ने पनि छैन । यतिखेर, संसारका सबैभन्दा ‘इन्नोभेटिभ’ देशहरुको सूचिको माथिल्ला स्थानमा कोरीया, स्विडेन, जर्मनी, स्वीजरल्याण्ड, जापान, इजरायल आदि छन् । यी सबै देशको शिक्षा प्रणालीको माध्यम भाषा अङ्ग्रेजी होइन । देशको विज्ञान प्रविधिको क्षमता अङ्ग्रेजीमा पढाएर मात्र बढ्ने होइन, यसका लागि राज्यको लगानी, दिर्घकालीन प्रतिबद्धता र अनुसन्धानको संस्कृति चाहिन्छ।

शिक्षा पेशेवरहरु उत्पादन गर्ने प्रकृयामात्र होइन, यो समाजको संस्कृति, परम्परागत ज्ञान र सीपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने प्रकृया पनि हो । हस्तान्तरणको यो प्रकृयाको सबैभन्दा ठूलो माध्यम भनेको भाषा नै हो । स्थानीय भाषालाई माध्यम नबनाउने मात्र होइन त्यसलाई अत्यन्त कम महत्व दिने हाम्रो शिक्षा प्रणालीका कारण हाम्रा सन्त्ततिले आफ्नो भाषा गतिलोसंग सिकिरहेका छैनन् । नयाँ पुस्ताले आफ्नो भाषा गतिलोसंग नसिकेपछि संस्कृति र परम्परागत ज्ञान र सीप पनि हस्तान्तरण नभई हराएर जान्छन् । के यो हाम्रो अस्तित्वमाथि हामीले नै गरीरहेको गम्भिर प्रहार होइन?

पङ्क्तिकारको आशय अङ्ग्रेजी पढाउँदै नपढाउने भन्ने कदापि होइन । बालबालिकालाई अङ्ग्रेजी पढाउनुपर्छ र उनीहरुलाई पोख्त बनाउनु पर्छ । सम्भव भएसम्म अरु विदेशी भाषा पनि सिकाउनुपर्छ । तर यो क्रममा हामीले नेपाली भाषा र देशका बिभिन्न भागमा बोलिने स्थानीय भाषाहरुलाई उपेक्षा गर्नु हुन्न ।

नेपाल एउटा बहुभाषिक देश हो । यति सानो भूगोलभित्र पनि सय भन्दा बढी जीवित भाषाहरु अस्तित्वमा रहनु हाम्रो सौभाग्य हो । हाम्रा सम्पत्ति यी भाषाहरुको संरक्षण र विकास जरूरी छ । कुनै पनि भाषाको संरक्षण र विकासका लागि त्यो भाषालाई पठनपाठनको माध्यम बनाउनु पनि महत्वपूर्ण हुन्छ, वक्ता थोरै भएको भाषाका हकमा त यो झन् अत्यावश्यक छ । यसैले पूर्व प्राथमिक तहको शिक्षालाई तुरुन्तै मातृभाषाको माध्यममा लैजानुपर्छ । अहिले बच्चाहरु कम्तिमा तीन वर्ष पूर्व प्राथमिक तहमा पढ्छन् । शिक्षाको पहिलो तीन वर्ष मातृभाषामा मात्रै पढाउनु पर्छ र त्यसपछि मात्र अरु भाषा सिकाउनुपर्छ भन्ने विश्वब्यापी अवधारणा बनीसकेको छ । अङ्ग्रेजी पढाउन कक्षा एक वा त्यसपछिबाट मात्रै शुरु गर्दा पनि फरक पर्दैन । प्राथमिक तहसम्म मातृभाषा र (खस) नेपालीलाई मुख्य रुपमा र अङ्ग्रेजीलाई एउटा विषयको रुपमा मात्र पढाउनुपर्छ । मातृभाषामा शिक्षा दिँदा पठनपाठन प्रभावकारी हुने र बालबालिकाको सिकाइ राम्रो हुने अनुसन्धानहरु र विगतका अनुभवबाट प्रमाणित भइसकेको छ । यस बारेमा यूनेस्कोका धेरै प्रकाशनहरु उपलब्ध छन् । । हाम्रै देशमा पनि अनुसन्धानहरु भएका छन् । मातृभाषामा शिक्षा उपलब्ध हुँदा बालबालिकाले बीचैमा पढाइ छोड्ने दरमा पनि धेरै कमी आएको देखिएको छ ।

अर्को तर्फ कुनै पनि ब्यक्ति आफ्नो मातृभाषामा जति धेरै दक्ष भयो, उसको अर्को भाषा सिक्ने क्षमता पनि उति नै बढ्ने कुरा पनि अनुसन्धानहरुबाट प्रमाणित भइसकेको छ । यसरी हामीले बच्चाहरुलाई उनीहरुको मातृभाषामा आधारभूत तहको शिक्षा दिन सक्यौं भने प्रकारान्तरमा त्यसले उनीहरुको अङ्ग्रेजी सिक्ने प्रकृयालाई पनि सघाउने छ ।

घरमा खस नेपालीनै बोल्ने बच्चाहरुलाई पनि आधारभूत तहसम्म एउटा विषयका रुपमा स्थानीय भाषा पढाउँदा सामाजिक अन्तर्कृया र सांस्कृतिक आदानप्रदानमा बृद्धि हुन्छ, जुन हाम्रो समाजमा विद्यमान कतिपय पूर्वाग्रहहरु हटाउन र सामाजिक सद्भाव बढाउन सहायकसिद्ध हुने छ ।

माध्यमिक तहमा कुन-कुन विषय नेपालीमा पढाउने, कुन-कुन विषय अङ्ग्रेजीमा पढाउने र कुन-कुन विषयको अध्यापनको माध्यम रोज्न विद्यालयहरु स्वतन्त्र हुने भन्ने बारेमा राज्यको स्पष्ट नीति हुनुपर्छ र यो नीतिलाई सरकारी र निजी सबै विद्यालयहरुले समान रुपमा पालन गर्नुपर्छ ।  स्नातक तहबाट भने रोजेको विषय अनुसारको भाषा निर्धारण गर्न सकिन्छ । धेरै जसो प्राविधिक विषयको स्नातक तहमा अहिले नेपाल र नेपाली समाजसम्बन्धी कुनै विषय पनि पढाइन्न । यस्ता धारमा पनि नेपालीमै पढाउने गरी कम्तिमा एउटा विषय नेपाल र नेपाली समाजसम्बन्धी हुनुपर्छ ।

विज्ञान र प्रविधि सिक्न र बाँकी विश्वसंग संवाद गर्नका लागि हामीलाई अङ्ग्रेजी भाषा चाहिन्छ तर यो क्रममा हामीले हाम्रा आफ्नै भाषाहरुको पनि संरक्षण र विकास गर्नैपर्छ ।

- यो लेख 'अनलाइन खबर' ( https://www.onlinekhabar.com/2019/04/756715 ) मा प्रकाशित भएको थियो  । 

May 06, 2013

कवि राजेन्द्र भण्डारीसंग एक साँझ

अस्ति (वैशाख २१गते) साँझ पोखरेली युवा साँस्कृतिक परिवार (पोयुसाँप) को 'अनुभव र अनुभूति' मा सिक्किमका कवि राजेन्द्र भण्डारीका कुराहरु-कविताहरु सुन्ने सौभाग्य मिल्यो।

 कवि भण्डारी गत वर्ष साहित्यतर्फको नोबेल पुरस्कारका १० संभावित बिजेताको सूचिमा परेर चर्चित हुनुभएको थियो। 

उहाँको आगमन एउटा अर्को प्रसंगमा पनि स्मरणयोग्य बन्यो। उहाँलाई कालिम्पोङ्गमा नेपाली साहित्य पढाउने गुरुआमा प्रा.डा. चन्द्रा पाण्डे र उहाँको चालीस वर्षपछिको भेटले हामी सबैपनि भावुक र आनन्दित बन्यौं। आफ्नी गुरुआमासंगको परिचयको नवीकरण हुनासाथ कवि भण्डारीले शिर झुकाएर गुरुआमालाई प्रणाम गर्नुभयो। त्यहाँ गुरु-शिष्यको चारपुस्ता उपश्थित थियो। गुरुआमा, कवि भण्डारी, कवि भण्डारीका शिष्य साहित्यकार पारसमणी दंगाल र साहित्यकार दंगालका युवा शिष्यहरु। 

पछि कवि भण्डारीको 'अनुभव र अनुभूति' सुन्दा र उहाँसंग कुराकानी गर्दा पनि कवि भण्डारीलाई अत्यन्त भद्र र शालीन ब्यक्तिको रुपमा पायौं हामी सबैले।

कार्यक्रममा साहित्यकार दंगाल (उहाँले आफ्नो साहित्यिक नाम 'पारसमणी शम' बताउनुभएको थियो।)ले आफ्नो परिचयका साथमा सिक्किमको नेपाली साहित्यको विगत र वर्तमानको बारेमा चर्चा गर्नुभयो। हाल उहाँ नेपाली साहित्य परिषद, सिक्किमको सचिव (साहित्य) हुनुहुन्छ। आफ्नो बक्तव्य र पछि कुराकानीका क्रममा उहाँले सिक्किममा नेपालबाट प्रकाशित हुने पत्रपत्रिका र पुस्तकहरुको अप्राप्यताका बारेमा पनि गुनासो गर्नुभयो। यसका लागि उहाँका विचारमा दुबै तिरको ब्यवस्थापकीय कमजोरी दोषी छन् र अलिकति ध्यान दिनासाथ यो समस्या समाधान हुनसक्छ। उहाँ एउटा ब्लगर पनि हुनुहुँदो रहेछ। उहाँ सिक्किम फर्केपछि एकापसका ब्लगहरुलाई जोड्ने कुरो भयो। 

त्यसपछि कवि राजेन्द्र भण्डारीले आफ्नो साहित्यिक यात्रामा लानुभयो हामी सबैलाई। आफ्नो वाल्यकाल, युवाकालबाट शुरु गरेर आफ्नो साहित्यिक रचनाकर्मको शुरुवात, आफूले गरेका प्रयोगहरु र आफूले जीवनका बिभिन्न कालखण्डमा पछ्याएका बिभिन्न दर्शनहरु आदिको सरस-सरल चर्चा गर्नुभयो उहाँले। र अन्त्यमा केहि 'स्याम्पल' कवितापनि सुनाउनुभयो। उहाँका अनुसार हाल उहाँ कवितामा जीवनको अर्थ खोज्नुहुन्छ र यसैले अचेलका कविता बढी आध्यात्मिक छन्। बिभिन्न दर्शनमा भौंतारिने क्रममा उहाँलाई बौद्ध दर्शन जीवनको सबैभन्दा नजिक र जीवनका धेरै प्रश्नहरुको जवाफ दिनसक्ने लागेको रहेछ।

अरु वक्ताले नोबेल पुरस्कारको प्रसंग उप्काएपनि उहाँले भने आफ्नो 'अनुभव र अनुभूति'मा त्यसबारेमा केहि कुरा गर्नुभएन। पछि प्रश्नोत्तरका क्रममा उहाँले केहि बोल्नुभयो यस बारेमा। २०११ र २०१२ दुबैमा उहाँको नाम चर्चामा रहेछ तर त्यो सूचि नोबेल पुरस्कार कमिटिको नभएर कुनै सट्टेबाजी (betting) कम्पनीको रहेछ। नोबेल पुरस्कार कमिटिले कहिल्यै पनि त्यस्तो सूचि सार्वजनिक गर्दैन रे।

प्रश्नोत्तरका क्रममा नेपालमा अति प्रयोग हुने 'लेण्डुप दोर्जे' र 'सिक्किमीकरण' को पनि चर्चा निक्लियो। नेपालमा अत्यन्त नकारात्मक बिम्बका रुपमा प्रयोग हुने यी छविहरुलाई सिक्किमकै जनताले भने कसरी लिन्छन् भनेर सोधियो उहाँलाई र यो पनि सोधियो कि लेण्डुप दोर्जे सिक्किमेलीका मनमा 'हिरो' का रुपमा छन् कि 'भिलेन'का रुपमा। कवि भण्डारी र सिक्किमबाट आएका सम्पूर्णले एक स्वरले गर्वका साथ 'हिरो' भने लेण्डुप दोर्जेलाई। कवि भण्डारीले अरु अर्थ्याउने क्रममा के पनि बुझियो भने सिक्किम कहिल्यै पनि नेपालजस्तो सार्वभौम-स्वतन्त्र राष्ट्र थिएन, १९७५ मा भारतमा 'गाभिनु' अघि पनि यो भारतको एउटा protectorate राज्यमात्रै थियो। त्यतिखेरको सिक्किममा सामाजिक-आर्थिक विभेद र नामग्याल वंशको अत्याचार सहिनसक्नु रहेछ। सिक्किमका आम जनताले सिक्किमको भारतमा विलयलाई मुक्तिको रुपमा लिएका छन् कवि भण्डारीका अनुसार। त्यसपछिको सिक्किमको उन्नतिले पनि यो कुरा प्रमाणित गर्छ। झन् त्यहाँका नेपालीका लागि त त्यो विलयले उन्मुक्ति, समानता र पहिचानको इज्जत दिलाएछ। 

साहित्यको सत्संगका साथमा नेपाली नेताहरुले नेपालमा निरन्तर फुकीरहने एउटा ऐतिहासिक-राजनितिक भ्रमबाट आंशिक रुपमै भएपनि मुक्त भएको भान भयो मलाई, यो कार्यक्रम सकेर घर फर्कँदै गर्दा।      

March 24, 2013

रोगहरु र 'भूपीकरण'को नयाँ रोग

विश्व साहित्यमा के कसो छ कुन्नि, तर नेपाली साहित्यमा भने कवितालाई 'सबैभन्दा धेरै लेखिने' र 'सबैभन्दा कम पढिने' बिधाको रुपमा लिईन्छ।

यतिखेर, यसले माथि उल्लेखित आफ्ना दुई उपाधिहरुमध्ये 'सबैभन्दा धेरै लेखिने'लाई भने गुमाउनै थालीसकेको हो कि जस्तो पनि लाग्छ मलाई त।

अचेल मेरा धेरै शनिबारहरु पोखरामा नियमित भईरहने कुनै न कुनै साहित्यिक कार्यक्रमहरुमा सहभागी भएर बित्छन्। मुक्तक वा गजलकै लागि भनेर आयोजित कार्यक्रमहरुमा कविता वाचन हुने कुरो भएन तर मुक्तक, गजल, कविता, गीत आदि जे वाचन गरेपनि हुने 'साझा' कार्यक्रमहरुमा कविता अत्यन्त थोरै वाचन हुन्छन्। वाचन गरिएका रचनाहरुको उग्र बहुमतमा जहिले पनि गजल हुन्छ। हुनत, गजलमै पनि धेरैजसो क्षणिक वाहवाही र तालीका लागिमात्रै लेखिएका अल्पायु हुन्छन् तर कूल संख्या धेरै भएपछि गुणस्तरीय रचनाको पनि संख्या बढ्ने सम्भावना त हुन्छ नै।  नेपाली गजलको यतिखेरको आँधी र बाढीले कुन दिशा लिन्छ, त्यसलाई भविष्यकै जिम्मामा छोडौं अहिलेलाई र कुरा गरौं कविताकै। 

नेपाली कविताको एउटा प्रमुख समस्या भनेको जसले पनि कविता लेख्ने, जे विषयमा पनि कविता लेख्ने र जे लेखे पनि त्यसलाई कविता देख्ने हो। कसैले लेख्न पाउने अधिकारमाथिको हस्तक्षेप होईन यो, केवल मैले देखेको कुरालाई यहाँ लेखेको हुँ। लेख्न सबैले पाऊँछन्, त्यसमा सन्देह छैन तर 'जे पनि लेख्ने' धेरै हुँदै जाँदा मान्छेले त्यो विधालाई गम्भीरतापूर्वक लिन छोडिदिन्छन्। पद्य कवितामा यो समस्या धेरै देखिँदैन, त्यसमा एउटा स्पष्ट नियम र सीमामा बस्नुपर्ने हुन्छ तर गद्य कवितालाई भने मान्छेहरुले शैलीगत अराजकताको पर्याय बनाएका छन्। बिम्बहरुलाई घचेटघाचट-ठेलमठेल गराएर हरफहरुलाई लामो-छोटो बनाएपछि कविता बनिहाल्छ भन्ने मान्यताले जरा गाडेको छ, कतिपय 'कविता' त सामान्य कुराकानीका अंश जस्ता पनि लाग्छन्। मान्छेहरु के बुझ्दैनन् वा बुझेर पनि बुझ पचाऊँछन् भने जतिसुकै 'स्वच्छन्द' वा शैलीगत स्वतन्त्रता बोकेको भए पनि गद्य कविताले चिनिने 'आधुनिक' शैलीका हरेक 'सफल' कवितामा एउटा आन्तरिक शैली र लय स्पष्ट देख्न सकिन्छ। कविता 'प्राविधिक' विधा होईन, यो एउटा विशुद्ध भावनात्मक विधा हो र यस्तो विधालाई कुनै न कुनै स्पष्ट लय र शैलीबिना प्रस्तुत गर्नै सकिँदैन; कवितापिच्छे छुट्टै शैली र लय होला, त्यो बेग्लै कुरो हो। 

यसैले कवितामा भावनाको प्रधानता हुनुपर्छ, घटनाको होईन। कुनै घटनाले उब्जाएका भावलाई कविताले बोक्ने क्रममा घटनाहरु उल्लेख गर्नैपर्ने भएपनि सकेसम्म कम हुनुपर्छ। कवितामा घटनाक्रमहरु बढी ओईरिए भने त्यो कुनै निबन्ध वा कथाजस्तो बन्छ, अझ बिग्रेको स्थितिमा 'बिग्रेको समाचार' बन्छ। हुनत, निबन्ध वा कथापनि मानव भोगाई र भावनालाई ब्यक्त गर्ने बिधाहरु हुन् तर ती अलि बढी 'प्राविधिक' र घटनाप्रधान हुन्छन्। तिनको एउटा स्पष्ट उद्देश्य हुन्छ, आफ्नो सन्देशलाई जसरी हुन्छ आफूले चाहेजसरी ब्याख्या गरेर पेश गर्नका लागि ती काम लाग्छन्। उपन्यास तिनैको संयुक्त र विस्तारित रुप हो। तर कवितामा त्यस्तो ब्याख्या हुनुहुँदैन, कवितालाई आफूले चाहेजसरी ब्याख्या गर्न पाठकहरुले मात्र पाऊनुपर्छ, स्वयं कविले पनि पाउनुहुँदैन। कविले कविताको आत्मा सृजना गरेर छोडिदिनुपर्छ र त्यसमा शरीर भर्ने काम पाठकहरुले गर्न पाउनुपर्छ। कविको काम झिल्का फ्याँकिदिने हो, आगो बाल्ने काम कविताका पाठकहरुको हो। यसैले कविताहरु छोटा हुनुपर्छ। यो मेरो ब्यक्तिगत मान्यता हो, असहमति जनाउन यहाँहरु स्वतन्त्र हुनुहुन्छ।    
    
कविता लेखनमा नेपालका धेरै नेताहरु र प्रशाशकहरुको पनि अचम्मलाग्दो 'लोभ' देखिन्छ। तीमध्ये थोरैले मात्र राम्रो लेख्छन्, धेरैले चाहिँ कविताकै बेईज्जती लेख्छन्। यो कुरो बेग्लै हो कि आफ्नो पहुँच र चिनजान प्रयोग गरेर तिनीहरुले सजिलै प्रकाशित हुने अवसरहरु भने पाईरहन्छन्। कतिपय कार्यक्रमहरुमा यस्ता नेता र प्रशाशकहरुका पट्यारलाग्दा लामा टपर्टुईँया 'कविता'हरु सुन्न बाध्य भएको छु म। ती कुनै समाचारजस्ता लाग्छन्, कुनै 'बिग्रेका' कथाजस्ता लाग्छन् र कुनै त के हुन् पत्तै हुँदैन। यो लोभ कहिलेकाहिँ 'राम्रा' र 'स्थापित' कविहरुमा पनि पलाऊँदो रहेछ क्या र। २-३ शनिबार पहिलाको कान्तिपुर कोसेलीमा श्रवण मुकारुङ्गको 'शिवले पिसाब फेरेको---' कविता छापिएको थियो। उनको त्यो कविता उनका यस अघिका कविताहरुको उचाईलाई बिल्कूल नसुहाउनेगरी बाउन्ने थियो। उनले प्रयोग गरेका बिम्बहरु हामीले बुझ्दैनौं होला वा यो बिम्बहरुको नयाँ प्रयोग होला जो हामीजस्ताको दिमागको वशमा छैन होला-यो स्विकार्न पनि सकिन्छ, तर शैलीका हिसाबले पनि त्यो एउटा कविताजस्तो बिल्कूलै छैन। कुनै दन्त्यकथाका हरफहरुलाई लामोछोटो बनाएर पेश गरेजस्तो छ। उनले यसलाई दन्त्यकथा, नीतिकथा वा लघुकथाको रुप दिएको भए बरु बेश हुन्थ्यो होला। फेरि यो कविताले कविता कन्सर्टमा ब्यापक 'वाह! वाह!!' र ताली अनि पुरस्कार पनि पाएको हो रे। त्यो 'वाह! वाह!!' र ताली त्यो 'कविता'मा जम्मा गरिएका केहि उट्पट्याङ्ग शब्दहरुको उट्पट्याङ्ग प्रयोगले पाएका हुन् भन्ने मेरो ठहर छ, पुरस्कारचाहिँ कुन निर्णायकले किन दिए भेऊ पाउन सकेको छैन।

साहित्यिक रचना छाप्ने कुरामा कोसेली र नेपालका अरु धेरै पत्रिकाहरु रचनाभन्दा पनि रचनाकारको अनुहार र पहुँच-चिनजान हेरेर निर्णय लिने हुँदा कोसेलीमा कविता छापिनुपनि अर्को अनौठो भएन। 

नेपाली कवितामा थपिएको नयाँ रोगचाहिँ आपसी 'भूपीकरण' को हो। राजधानीका साहित्यिक सिण्डिकेटहरुमा ब्यापक रुपमा फैलिईरहेको यो रोगको लक्षण के हो भने 'क' ले 'ख' लाई 'तँ त आजभोलिको भूपी होस्।' भनिदिन्छ, 'ख' ले 'ग' लाई 'हाम्रो जमानाको भूपी तैं होस्।' भनिदिन्छ र फेरि 'ग' ले 'क'लाई 'भूपीको खास उत्तराधिकारी तैं होस्।' भनिदिन्छ। यसरी "तैं बाहुन, मै बाहुन---" को शृंखला चलीरहने क्रममा पाँच-सात जनाबाट 'भूपी'को उपाधि पाएपछि कुनै 'कवि' आफूलाई साँच्चिकै 'भूपी' ठान्नथाल्छ र आफैंपनि आफूलाई भूपी घोषणा गर्नथाल्छ। यसरी अहिले नेपाली कविताबजारको सिण्डिकेटमा दारुपानमित्रघोषित र स्वघोषित 'भूपी'हरुको बिगबिगी छ।

म भूपीलाई अत्यन्तै श्रद्धा गर्छु। उहाँले नेपाली कवितालाई एउटा नयाँ उचाई र एउटा सुन्दर आयाम दिनुभएको छ। उहाँका कविताहरु नेपाली भाषाको सौन्दर्य, मिठास र शक्तिका अनुपम उदाहरण हुन्। अब अर्को कवि भूपी हुनसक्दैन तर उहाँजत्तिकै प्रभावशाली भने बन्नसक्छ। कुनै कवि भूपीजत्तिकै प्रभावशाली होला, उसले त्यस्तै उचाई छोला तर ऊ भूपीकै 'फोटोकपी' बनेर हिँड्दा भने त्यो सम्भव छैन। हरेक कविको आफ्नै छुट्टै विशिष्टता हुन्छ, छुट्टै शैली-लय हुन्छ र ऊ फैलिने छुट्टै आयाम हुन्छ। आफूलाई आफ्ना समकालीनहरुभन्दा  'पृथक' र उम्दा देखाउन बलजफ्ती गरिने यस्ता 'भूपीकरण' हरुको हावादारीतामा कुनै शंका छैन। 

यसरी नयाँ-नयाँ रोगहरु थपिँदै गएपछि नेपाली कविता कसरी 'निरोगी' होस् तः)

December 16, 2012

आख्यान र मुक्तकका कुरा

यो चिसो यामका दुई शनिबारका केहि घण्टा साहित्यका 'न्याना' कार्यक्रममा बिते। 

मंसिर २३ को शनिबार पोखरेली युवा साँस्कृतिक परिवारले 'अनुभव र अनुभूति' का लागि आख्यानकार नारायण ढकाललाई पोखरा उतारेको थियो। पत्रिकाहरुमा प्रकाशित नारायण ढकालका कथाहरु पढेको छु मैले, र सिंगो कृतिको कुरा गर्दा 'शोकमग्न यात्रीहरु' मात्रै हो पढेको। एमाले टुक्रिँदाका बखतका एक-दुई पूर्वाग्रही लेख र कविता बाहेक म उहाँको लेखनशैलीलाई मन पराऊँछु। 'प्रेतकल्प' किनेर राखेको पनि एक वर्ष हुन आँटिसक्यो, अझै पढ्ने समय निकाल्न सकेको छैन।

कार्यक्रम शालीन र छरितो थियो। नारायण ढकालज्यूले आफ्नो जीवनका बिभिन्न चरणलाई सबैका सामु राख्नुभयो र ती चरणका बिभिन्न घटनाक्रमहरुले आफ्नो लेखनीमा पारेको प्रभावहरुको चर्चा गर्नुभयो। सुरुचिपूर्ण थियो उहाँको 'आत्मकथा' र उहाँका धेरै ईमान्दारीपूर्ण स्पष्टोक्तिहरुले भरिएको थियो त्यो।

प्रश्नोत्तर कार्यक्रममा केहि साथीहरुले पाँच मिनेटभन्दा पनि लामा 'प्रवचन प्रश्न'हरु राखे, केहि 'कमरेड' मित्रहरुले नारायण ढकालमाथि वैचारिक विचलनको आरोप पनि लगाए र एकजनाले त 'मदन भण्डारीलाई कसले मार्यो होला?' भन्ने समेत सोध्न भ्याए। यस्ता कुरालाई निफन्दा कार्यक्रम निकैनै उपयोगी, फलदायी भयो मेरा लागि।

हिजो (मंसिर ३०) मा मुक्तक मञ्च पोखराले प्रकाशन गरेको मुक्तक संग्रह 'मुक्तक यात्रा'को लोकार्पण थियो। प्रमुख अतिथि हुनुहुन्थ्यो गीतकार-मुक्तककार राजेन्द्र थापाज्यू। कार्यक्रमको दोश्रो चरण भने हरेक महिनको अन्तिम शनिबार हुने 'नियमित मुक्तक वाचन' कार्यक्रम थियो। पहिलो चरणको लोकार्पण कार्यक्रम अलि ब्यवश्थित हुन सकेन। भेला भएका सवासय भन्दा बढी मान्छेमध्ये आधाजतिलाई आसन ग्रहण गराऊँदा धेरै समय नाश भयो। 'आसन ग्रहण' नेपालका कार्यक्रमहरुको महारोग बनेको छ अहिले।

कार्यक्रमका वक्ताहरुबाट मुक्तक विधाका बारेमा केहि नयाँ कुरा पनि जान्ने मौका मिल्यो। 

पश्चिमाञ्चलका सर्जकहरुका मुक्तकहरु धेरै भएपनि मुक्तक यात्राले देशका सबै भागलाई समेट्ने कोशिश गरेको चोटिला मुक्तकहरुका माध्यमबाट। मेरा पनि दुई मुक्तक परेका छन्।

November 02, 2012

पत्रिकामा अर्थका अनर्थ

नेपाली पत्रपत्रिकाहरुमा केहि प्रचलित शब्दहरुको प्रयोगमा निरन्तर दोहोरिईरहेको गल्तीलाई लिएर एउटा यहि शीर्षकमा सानो लेख लेखेको थिएँ। 'कान्तिपुर' दैनिकको 'चौतारी' खण्डमा प्रकाशन हुने आशाले पठाएको थिएँ, अलिअलि छोट्टिएर 'पाठक मञ्च' खण्डमा आएको रहेछ आज।

मैले पठाएको यस्तो थियो; 

केहि समय पहिला एनसेलले प्रायोजन गरेको साहित्यिक महोत्सवमा मेडियासम्बन्धी एउटा छलफल सत्र पनि थियो। उक्त सत्रमा वरिष्ठ पत्रकार किशोर नेपालले सम्पादकीय कमजोरीहरुको चर्चा गर्ने क्रममा एउटा उदाहरणको रुपमा ‘कान्तिपुर’ दैनिक र यसका नेपाली भातृ प्रकाशनहरुमा महोत्सवकी अतिथि एक भारतीय लेखिकाको नामलाई ‘अद्भैता कला’ लेखिएकोलाई औंल्याएका थिए। त्यसपछि पनि कान्तिपुर र अरु प्रकाशनहरुमा ‘अद्भैता कला’ लेखिन छोडेन। कुनै प्रकाशनहरुले ‘अद्वैता कला’ लेखे, जुन सही उच्चारणको नजिक लाग्छ। किशोर नेपालकै सम्पादनको ‘नागरिक’ दैनिकको शनिबारे ‘अक्षर’मा पनि ‘अद्भैता’ नै लेख्दिए साथीहरुले। ती लेखिकाको नामको सही उच्चारण के हो भनेर आयोजकहरुलेनै पहिले भन्दिएको भए राम्रो हुन्थ्यो होला। विदेशतिर यस्तो चलन देखिन्छ पनि, किनभने सबै भाषामा रोमन वर्णहरुको ‘स्थानीय’ प्रयोग ठ्याक्कै उस्तै हुँदैन। हामीले पढेको “के ए-क, के एच ए-ख, जी ए-ग-----“ रोमन वर्णको हाम्रो स्थानीय प्रयोग हो। यो प्रयोगको कतिपय अंश भारतकै प्रयोगसंग पनि मिल्दैन। यस प्रसंगमा पनि लेखिकाको नाम रोमनमा लेख्दा देखिएको अंग्रेजी ‘भी’ अक्षर ‘भ’का लागि भन्दा ‘व’का लागि प्रयोग गरिएको बुझ्न गाह्रो छैन।
भाषिक दूरीका कारण चिनियाँ र जापानी जस्ता भाषाका शब्दका देवनागरी लेखाईमामा हुने अनगिन्ती गल्तीलाई क्षम्य मान्न सकिएला तर यो प्रसंगकी ती लेखिकाको नामको स्रोत संस्कृत भएको स्पष्ट छ र संस्कृत वा हिन्दीमा ‘अद्भैता’ भन्ने शब्द छैन। हाम्रा सञ्चारकर्मीहरुले यत्ति पनि ध्यान नदिएको देख्दा आश्चर्य लाग्छ।
विदेशी स्थान र ब्यक्तिका नाममा मात्र यस्तरी हेल्चेक्राईँ भईरहेको छैन। हाम्रा सञ्चारकर्मीहरु लामो समयदेखि कतिपय प्रचलित अंग्रेजी शब्दलाई देवनागरीमा लेख्ने क्रममा अर्कै शब्द लेखेर ‘अर्थको अनर्थ’ गरीरहेछन्। आधुनिक जीवनपद्धति र प्रविधिसंग जोडिएका यी अंग्रेजी शब्दहरु अचेल समाचार र लेखहरुमा प्रशश्त देखिन्छन् र पनि यिनको प्रयोगमा भईरहेको गल्तीमा ध्यान गएको देखिँदैन। सञ्चारकर्मी, सम्पादनकर्मी र हामी पाठकहरु सबै उत्तिकै जिम्मेवार छौं यसका लागि।
एउटा अंग्रेजी शब्द छ ‘होस्टेस’ भन्ने। यो शब्द विमानसंग जोडिएपछि बन्छ ‘एअर होस्टेस’, जसको अर्थ ‘विमान परिचारिका’ हो। तर हाम्रा सुन्दरीहरु आफ्नो लक्ष्य ‘एअर होस्टेज’ बन्नु हो भनिदिन्छन् र पत्रिकाले पनि त्यस्तै छापिदिन्छन्। ‘होस्टेस’ र ‘होस्टेज’ (अपहरणमा परेको मानिस) बीचको फरक छुट्टयाउन कुनै भाषाविद्नै हुनुपर्दैन। त्यस्तै अर्को प्रयोग छ ‘वेभ साइट’, ‘वेभ पेज’ आदि लेख्ने। इण्टरनेटसंग सम्बन्धित यी शब्दहरुका शुद्ध रुप ‘वेब साइट’ र ‘वेब पेज’ आदि हुनुपर्ने हो।  ‘वेब’ले जालोको अर्थ दिन्छ भने ‘वेभ’ले तरंग बुझाऊँछ।
दशैंभन्दा केहि अगाडि कान्तिपुरको ‘हेल्लो शुक्रबार’मा छापिएको अर्को ‘अनर्थ’मा पनि आँखा पर्यो। त्यहाँ कुनै युवा वैज्ञानिकको कार्यको चर्चा गर्ने क्रममा उनका ‘रोबर्ट’ सम्बन्धी योजना र शोधको कुरा गरिएको थियो। त्यो लेखमा प्रयुक्त ‘रोबर्ट’ यन्त्रमानवलाई जनाउन प्रयोग गरिएको थियो। यन्त्रमानवलाई त ‘रोबोट’ लेखिनु पर्ने होईन र? उच्चारणका भेदले ‘रोबट’ सम्मलाई ठिकै मान्न सकिएपनि यन्त्रमानवका लागि ‘रोबर्ट’ भने अंग्रेजीमा कतै पनि प्रयोग हुँदैन, यो त पश्चिममा प्रचलित एउटा ब्यक्तिवाचक नाम हो।
शुक्रवारमा पहिलो चोटि मेरो आँखा लागेपनि ‘रोबर्ट’को प्रयोग अरु पत्रिकाहरुमा पनि भईरहेको देखियो, एउटा छोटो खोजमा। ‘नेपाल’ साप्ताहिकले आफ्नो केहि पहिलाको एउटा अंकमा ‘रोग पत्ता लगाउन सूक्ष्म रोबर्ट’ छापेको रहेछ, एउटा राष्ट्रिय दैनिकमा ‘टोकियोको रेडलाइट एरियामा रोबर्ट नर्तकी‘ छापिएको छ। अनलाइन सञ्चारमाध्यमहरुमा यो गल्ती अझ धेरै देखिन्छ। केहि साहित्यकारहरुले पनि आफ्ना कथा, निबन्ध आदिमा यन्त्रमानवलाई संकेत गर्दै ‘रोबर्ट’ प्रयोग गरेका छन्।
यही क्रममा अस्ति शनिबार (कार्तिक ११) मा कान्तिपुरमै प्रकाशित एउटा समाचारभित्रको अर्को यस्तै गलत शब्द प्रयोगमा आँखा पुग्यो। समाचारका अरु भाषिक गल्ती नहेरी अहिलेको प्रसंगमै केन्द्रित हुन्छु। उक्त लेखमा ‘चालक र कन्ट्रक्टर‘ भनेर दुई ठाऊँमा लेखिएको छ भने एक ठाऊँमा ‘चालक एवं कन्ट्रक्टर’ लेखिएको छ। यात्रु बटुल्ने, उनीहरुसंग भाडा उठाउने लगायत अरु बिभिन्न कार्यमा गाडी चालकलाई सघाउने ब्यक्तिलाई ‘कण्डक्टर’ भनिन्छ र यो शब्द नेपालीमा सबैभन्दा धेरै प्रयोग हुने शब्दहरुमध्येको एक भईसकेको छ। समाचारले संकेत गरेको पनि यहि अर्थलाई हो, तर ‘कन्ट्रक्टर’ भन्ने शब्द कतैबाट पनि मिल्न आउने देखिँदैन। यसले समाचार लेख्नेको अज्ञानता र लापरवाहीमात्रै झल्काऊँछ। तीन ठाऊँमा उही लेखाई देखिएपछि यसलाई हतारको गल्तीमात्रै मान्न सकिँदैन।
यसरी गलत शब्दहरुले ‘अनर्थ’ गरीरहँदा पत्रकारहरुको भाषिक क्षमता र समान्य ज्ञानको स्तरमाथि त प्रश्न उठ्छ नै, पत्रिकाहरुमा जे आयो त्यहि छापिन्छ र सम्पादन भन्ने कर्म हुँदैहुँदैन कि जस्तो पनि देखिन्छ।
-------------------------------------------------------------------------------------------------- 

छापिएकोचाहिँ तलको तस्बीरमा पढ्न सक्नुहुन्छ;




July 31, 2012

'शुरु' र 'सुरु'

छोरीको नेपाली विषयको गृहकार्यमा 'सुरु' शब्द देखियो एकदिन। यो 'सुरु' सुरुसुरुको 'सुरु' थिएन, शुरुवात जनाउने अर्थमा थियो। 
"'सुरु' होईन 'शुरु' हुनुपर्छ।" हामीले सच्याउन खोज्यौं।
"होईन, गुरुआमाले यस्तै लेख्नुहुन्छ।"
"गुरुआमा झुक्किनु भो होला।"
"किताबमा पनि यस्तै छ।" छोरीले किताब देखाई।
"कहिलेकाहीँ किताबमा पनि गल्ती छापिन्छ।"

त्यो दिन हामीले छोरीलाई कसैगरी मनाएर 'शुरु' लेख्न लगायौं। गृहकार्य जाँचिएर फर्केपछि हेरेको, 'शुरु'लाई 'सच्याएर' रातो 'सुरु' आएको रहेछ। छोरीले हामीलाई गाली गरी एकछिन।

 आफूले नेपाली लेख्न सिकेदेखि 'शुरु' लेखेकाले यो कुराले मलाई पछ्याईरह्यो। पछि बृहत् नेपाली शब्दकोष (२०६७ संस्करण) पल्टाएँ। त्यहाँ 'सुरु' नै रहेछ। यो संस्करणको 'संसोधन मण्डल' मा अहिले नेपाली भाषालाई ताछेर ठुटे बनाउन कन्दनी कसेर लागीपरेका त्रि. वि. का 'प्रा. डा.' हरुको बहुमत छ। तिनैको प्रभाव, आदेश वा उर्दी च्याऊसरी प्रकाशकले छाप्ने 'पाठ्यपुस्तक' र विद्यालयका शिक्षकसम्म आईपुगेको होला।

पछि, यतिखेरका छापाले के प्रयोग गर्छन् भनेर हेर्दा धेरैजसो 'शुरु' र कतै कतै मात्र 'सुरु' देखियो।

आफू ठूलो भाषाविज्ञ परिएन तैपनि नेपाली मायालाई माया गर्ने मान्छे, यस्ता अन्यौलले मन कटक्क दुखाऊँछन्। फेरि मनचाहिँ किन हो किन 'शुरु'मै जान्छ।

February 19, 2012

मुक्तकमय साढे दुई घण्टा

पोखरेली युवा सांस्कृतिक परिवार (पोयुसांप)ले आयोजना गरेको 'टिकटमा मुक्तक' कार्यक्रममा गतिला, चोटिला र फूर्तिला मुक्तकहरु सुनेर धन्य भईयो आज।

दुई बजे शुरु हुने भनिएको कार्यक्रम पौने तीनबाट शुरु भयो। पोखरा उद्योग वाणिज्य संघको हल लगभग भरिएको थियो, दर्शक/श्रोता सहभागिता उत्साहजनक मान्नुपर्छ। कार्यक्रमका प्रमुख अतिथि चर्चित गजल स्रष्टा तथा प्राज्ञ बूँद राना हुनुहुन्थ्यो। कार्यक्रमा पोखरेली प्राज्ञहरु सरुभक्त, तीर्थ श्रेष्ठ र हरिदेवी कोईराला पनि उपश्थित हुनुहुन्थ्यो, उहाँहरु त पोयुसांपलाई जन्माउने, हुर्काउने व्यक्तित्वहरुनै हुनुभयो। कवि/गीतकार प्रकट पगेनी 'शिव' र कविवर तेजनाथ घिमिरे पनि कार्यक्रमका आकर्षण हुनुहुन्थ्यो। कार्यक्रममा चितवन, भैरहवा र पर्वत लगायतबाट आउनुभएका कविहरुले पनि आफ्ना मुक्तकहरु सुनाउनुभएको थियो।

झण्डै साढे दुई घण्टा चोटिला मुक्तकहरुको वर्षामा नुहाउन पाऊँदा मन एउटा सार्थक अनुभूतिले भरिएको छ। युवा कविहरुका मुक्तकहरु बेजोड थिए। तिनले देशको माया बोकेका थिए र विकृति र विसंगतिलाई कठोरतापूर्वक मुक्का ठोकेका थिए। तिनमा गरीबि र पिडाप्रतिको समवेदना पनि थियो, अनि थियो जीवनप्रतिका दार्शनिक चिन्तनपनि। धेरै मुक्तकहरुले समसामयिक रमाईलो पनि बोकेका थिए।

अनि मैले देखेको अर्को कुरा, युवा पुस्ता (४० मुनिका) का मुक्तकमा जुन भाव, शैली र प्रवाह थियो, पाका साहित्यकारहरुका मुक्तकमा थिएन। सरुभक्तको आख्यानमा जुन सशक्तता पाईन्छ वा उहाँका आधुनिक कवितामा जुन भिन्दै प्रवाह पाईन्छ, त्यो आज उहाँले वाचन गरेका मुक्तकमा धेरै थिएन। प्रकट पगेनी 'शिव' पनि आज आफ्नो नाम अनुसार जम्न सक्नुभएजस्तो लागेन मलाई। बूँद रानाज्यूले त आफू लामो समय यता मुक्तकभन्दा फरक बाटो हिँडिरहेकोले आफ्ना मुक्तकमा स्तरीयता नखोज्न पहिल्यै हामीलाई भनीसक्नुभएको थियो। मलाई लाग्छ, मुक्तकमा नयाँ पुस्ता धेरै अघि बढीसकेको छ, र नेपाली साहित्यमा मुक्तक आफ्ना दरिला खुट्टामा उभिईसकेको छ; संख्यात्मक र गुणात्मक दुवै हिसाबले।

पोयुसांपले २०३५ सालको माघमा पहिलोपल्ट 'टिकटमा मुक्तक' कार्यक्रम गरेको रहेछ। त्यसयता निरन्तर गरीरहेको छ, सलाम पोयुसंपको यो लगन र निरन्तरतालाई। पोखराको सफलताबाट प्रेरित भएर 'टिकटमा मुक्तक' कार्यक्रम अब देशका धेरै ठाऊँमा हुन थालेका छन्।

यो सत्कर्मले सबैतिर, सधैंभरि निरन्तरता पाईरहोस्!

June 12, 2011

मुक्तक मञ्च-पोखराको मासिक कार्यक्रमबाट

हिजो म मुक्तक मञ्च-पोखराको नियमित मासिक मुक्तक वाचन कार्यक्रममा भाग लिन पुगेको थिएँ। कार्यक्रम नदीपुरस्थित बालमन्दिरको विद्यालय भवनको एउटा (कक्षा)कोठामा भएको थियो। यो कार्यक्रम हरेक महिनाको अन्तिम शनिबार आयोजना हुन्छ।

संयोगवश, हिजै मुक्तक मञ्चको अधिवेशन पनि परेको रहेछ। नयाँ कार्यसमिति चुन्ने प्रकृया जारी थियो म पुग्दा। मैले बुझेसम्म, बहुमतको चाहना रहेको सर्वसम्मत कार्यसमिति बन्न सकिरहेको थिएन। त्यति धेरै आर्थिक कारोबार नहुने सानो संस्था भएपनि विवादका विषयवस्तु भने निक्लिहाल्दा रहेछन भन्ने चर्चा चलिरहेको थियो। अन्त्यमा, प्राज्ञ तीर्थ श्रेष्ठ, कवि-गीतकार प्रकट पगेनी 'शिव', कवि विष्णु अल्पविराम लगायतका वरिष्ठ श्रष्टाहरुको सकारात्मक 'हस्तक्षेप' पछि नयाँ कार्यसमिति बन्यो।

नयाँ कार्यसमितिको पदस्थापन पछि मुक्तक मञ्चको ३७औं मुक्तक वाचन कार्यक्रम शुरु भयो। देशप्रम, राजनीतिक गतिहीनताप्रतिको आक्रोश र मायाप्रेमका विषय समेटिएका थुप्रै सटीक र सुरुचिपूर्ण मुक्तकहरु सुन्न पाईयो। कार्यक्रममा नियमित भाग लिने श्रष्टाहरुका ब्यक्तिगत जीवनका कुरालाई समेटेका मुक्तक समेत वाचन गरिएका थिए। 

मुक्तकका सवालमा पोखरा एउटा अग्रणी ठाऊँ हो। यहाँ पैंतीस वर्ष अगाडिनै 'टिकटमा मुक्तक' सुन्ने कार्यक्रम आयोजना भईसकेको रहेछ। प्राज्ञ तीर्थ श्रेष्ठ पैंतीस वर्ष अघि त्यस्ता कार्यक्रम गर्न गर्नुपरेको संघर्षका कुराहरु स्मरण गर्नुभएको थियो आफ्नो बक्तव्यमा। अहिले पनि बेलाबखत 'टिकटमा मुक्तक' कार्यक्रमहरु आयोजना भईरहन्छन्। आऊँदो असार १७ गते प्राज्ञ श्रेष्ठकै 'एकल मुक्तक कार्यक्रम' आयोजना हुँदै रहेछ।

मैले आफ्ना पूराना चार मुक्तकहरु वाचन गरेको थिएँ।

आज त्यसै कार्यक्रमका दुई स्रष्टाहरुका मुक्तकहरु यहाँहरु समक्ष पस्किने अनुमति चाहन्छु। मुक्तक उपलब्ध गराईदिनुभएकोमा श्रष्टाद्वयलाई हार्दिक धन्यबाद!

-एकदत्त लम्साल

‍-१-
जस्तो रोप्यो उस्तै फल्छ भन्ने था' छैन कि
आलटाल गर्दा समय टल्छ भन्ने था' छैन कि
संविधान बनाउन अझै ग-यौ भने ढिलासुस्ती
सडकमा फेरि मशाल बल्छ भन्ने था' छैन कि ।

-२-
दिनभरि काम गर्ने ज्यामी भोको छ यो अझै
निर्धन दुखारीलाई बेदनाको पोको छ यो अझै
जसले मह काढ्छ यहाँ उसैले हात चाट्छ
गरीब जनता न्याय नपाई रो'को छ यहाँ अझै।


-मन क्षेत्री (lash_alive@yahoo.com)
सचिव-गजल सन्ध्या, पोखरा

-१-
बडो धूमधामको रमिता हुनेछ
म लाश हुनेछु र मेरो चिता हुनेछ
जलाउनुअघि एकपटक तलाशी लिनुहोला
खल्तीमा कि गजल कि कविता हुनेछ ।

-२-
खल्तीभित्रै हात हालेर चोर्नेहरु छन्
दलालीमा कालो धन जोर्नेहरु छन्
अचेल यस्तै हालखबर सुन्छु पत्रकारको
कोहि भने भोकभोकै मर्नेहरु छन् ।

-३-
दिन होस् न रात होस्
प्रियसीको साथ होस्
त्यसपछि भने केहि नहोस्
कोहि किन बर्बाद होस् ।

January 09, 2011

स्पन्दन कविता पुरस्कार - २०१०

एउटा खुशीको खबर बाँड्न चाहन्छु आज।

मेरो कविता "परदेशी" ले "'स्पन्दन' कविता पुरस्कार - २०१०" प्राप्त गरेको छ। फेसबुक सन्देशका माध्यमबाट आदरणीय अग्रज होम बहादुर क्षेत्रीज्यूले यो खबर दिनुभएको हो मलाई। 'स्पन्दन' मासिकमा वर्षभरि छापिएका कविताहरुमध्येबाट सम्पादकमण्डलले उत्कृष्ट ठह-याएको कवितालाई दिईने रहेछ यो पुरस्कार।

"स्पन्दन"मासिक अभि-जमान स्मृति ट्रस्टद्वारा प्रकाशित हुन्छ र संसारभरि नि:शुल्क वितरण गरिन्छ।  "स्पन्दन" को 'आर्थिक' मूल्य 'नि:शुल्क' हो तर यसको सांकेतिक मूल्य भने "हरेक दिन आधा घण्टा नेपाली साहित्यलाई" हो। तपाईँ पनि "स्पन्दन" प्राप्त गर्न चाहनुहुन्छ भने क्षेत्री सरलाई सम्पर्क गरेर अनुरोध गर्नसक्नुहुन्छ। उहाँको सम्पर्क ई-मेल चाहिएमा यो पोष्टमा प्रतिकृया दिँदा सो कुरा जनाउनुहोला। उहाँलाई फेसबुकमा पनि भेट्न सकिन्छ,  Hom Bahadur Chetri खोजी गरेर।

सामाजिक र साहित्यिक सेवाको पवित्र उद्देश्य राखी आफ्ना पूज्य माता-पिताको स्मृतिमा श्री होम बहादुर क्षेत्रीज्यूले अभि-जमान स्मृति ट्रस्टको स्थापना गर्नु भएको हो। "स्पन्दन" प्रकाशनका साथै यो ट्रस्ट अरु साहित्यिक प्रकाशन, छात्रवृत्ति वितरण, साहित्यिक पुरस्कार वितरण, साहित्यिक संघ-संस्थाहरुलाई सहयोग, कुवेतमा नेपाली साहित्य चर्चा आदि बिभिन्न गतिबिधिहरुमा सकृय रहेको छ। 

क्षेत्री सर पेशाले एक पेट्रोलियम ईञ्जिनियर हुनुहुन्छ र हाल कुवेतमा कार्यरत हुनुहुन्छ। उहाँ एक चर्चित साहित्यकार पनि हुनहुन्छ र केहि कृतिहरु प्रकाशित भईसकेका छन्। आफ्नै पसिनाको कमाईलाई नेपाली भाषा र साहित्यको सेवामा लगाएर र ब्यस्त पेशागत जीवनका बीचपनि लगनका साथ भाषा-साहित्यका लागि समय निकालेर उहाँले देखाउनुभएको उदाहरणले हामीजस्ता नेपाली भाषा-साहित्यका नयाँ सेवकहरुलाई ठूलो हौसला मिलेको छ।

म आफूलाई एउटा सिकारु लेखक/साहित्यकार मान्छु र कुनैपनि पुरस्कार प्राप्त गर्न सक्ने हैसियतको ठान्दिन। 'स्पन्दन' जस्तो मासिकले मेरा रचनाहरु छापिदिनुनै मेरा लागि ठूलो पुरस्कार भईसकेको थियो। यसैले होम सरको सन्देश मेरा लागि एक सुखद् आश्चर्य र हौसला बनेको छ अहिले:) 

पुरस्कार वितरण कार्यक्रम आगामी भानु-जयन्तीमा आसाममा हुनेछ।

  'स्पन्दन' को एक अंक (साभार: होम सरको फेसबुक पाना)

January 22, 2010

पूराना कुरामा केहि थपथाप

यो टाँसो "'माधवी' का कुरा" कै समकालीन टिपोटमा आधारित छ। कुरा अरु दुई किताबको हो, त्यहि बेला पढेको।

कुनै पनि किताब पढिसकेपछि टिपोट लेख्ने बानी होईन मेरो, त्यो बेला भने के भएर लेखिएछ। त्यो वर्षको दशैं-तिहार बिदाको बेला थियो जस्तो छ टिपोटहरुको मिति हेर्दा। त्यो बेला पढेका दुई भिन्दै खाले किताबहरुको बारेको यो टिपोट जस्ताको तस्तै राख्दैछु पहिला।

 

दुई भिन्न विचारका पुस्तकहरु
२०५५/६/२२
बिहान ७:५० बजे
(नैकाप)


हालसालै मात्र दुइटा कथासंग्रहहरु पढ्ने मौका पाइयो, दुइ बिल्कुलै भिन्दै पाराका संग्रहहरु। (यो विदामा मैले अलि धेरैनै पढें जस्तो लाग्दैछ।)

एउटा कथासंग्रह भाऊपन्थीद्वारा लिखित "एउटा आकारको बारेमा" (०४१-४२ सालतिर प्रकाशित) र अर्को घनश्याम ढकालद्वारा लिखित र हालसालै प्रकाशित "आजको महाभारत" थियो। पछिल्लो कथासंग्रह माओवादीद्वारा संचालित जनयुद्धको बारेमा रहेछ, लेखकले पूर्ण रुपमा माओवादी जनयुद्धको समर्थनमा आवाज उठाएका छन्।

भाऊपन्थीका कथाहरुमा यथेष्ट साहित्यिक कलात्मकता छ, सामाजिक विसंगति र गरीबिको राम्रो चित्रण छ, तर उनीसंग यी समस्याहरुको समाधान छैन (उनलाई समाधानको त्यति चासो पनि छैन जस्तो छ।)। घनश्याम ढकालका कथाहरु भने केहिलाई छोडेर साहित्यिक कलात्मकतावीहिन छन, समस्याको स्पष्ट चित्रणभन्दा पनि माओवादी जनयुद्धलाई एउटै "कल्पवृक्ष समाधान" को रुपमा ब्याख्या गर्न तल्लीन छन्। आधीभन्दा बढी पढ्न सकिँन मैले। धेरैजसो नारा र वामपन्थीहरुले दोहोर्याउँदै आएका शब्दजालहरु बढी छन्।
-------------------------------------------------------------------------
अहिले आएर विचार गर्दैछु, साहित्यलाई हेर्ने मेरो दृष्टिकोणमा भने कुनै परीवर्तन भएको रहेनछ त्यो बेलादेखि अहिलेसम्म। साहित्य साहित्य हुन त्यसमा यथेष्ट कलात्मकता हुनैपर्छ भन्ने मेरो मान्यता जस्ताको तस्तै (सके अझ जब्बर भईसकेको) छ। जे नाम दिएर जसका लागि लेखेको भनेपनि नारा वा ठाडो राजनीतिक 'प्रेष्कृप्सन' साहित्य हुनसक्दैन। नेपालमा 'प्रगतिवाद' को नाम दिएर लेखिएका धेरैजसो रचनाहरु मलाई यस्तै नारा वा दलीय दस्तावेजजस्ता लाग्छन्, तिनको आयु क्षणिक हुन्छ। राजनैतिक सन्देश दिन चाहनेले त्यो सन्देशलाई यथेष्ट कलात्मकताले सिंगार्न सकेन भने त्यो कुनै राजनैतिक दस्तावेजभन्दा फरक हुन सक्दैन। यथार्थमा जति कलात्मक/साहित्यिक ढंगले राजनैतिक सन्देश पस्किन सक्यो, प्रस्तुति त्यत्तिकै बलियो हुन्छ।

माथि उल्लेख गरिएको घनश्याम पौडेलढकालजीको जस्तै अर्को एउटा कृति पढेको थिएँ मैले डेढ वर्ष पहिला। माओवादीका केन्द्रीय नेता सीपी गजुरेल जापान आएका थिए र तिनको स्वागतार्थ गरिएको एउटा कार्यक्रममा पुगेको थिएँ म (कार्यक्रम बारेको टाँसो पढ्न यहाँ क्लिक गर्नुहोस्)। गजुरेलजीले लेखेको "प्रतिरोध" नामक कथा-संग्रह किन्नेमा परियो। गजुरेलजीको बक्तव्य, उनीसंगको कुराकानी आदिबाट प्रभावितै भएको थिएँ म। तर कथा-संग्रहले भने मलाई घोर निराश बनायो। पौडेलढकालजीको उपन्यासमा जस्तै माओवादी जनयुद्धलाई महिमामण्डित गरिएको 'प्रतिरोध' का कथाहरु कतिपयमा त पृष्ठका पृष्ठ माओवादी दस्तावेज घुसेजस्ता लाग्छन्। उनले कथा लेख्ने दु:ख नगरेकै भए हुन्थ्यो जस्तो लाग्यो मलाई। उनका अरु कृतिहरु पढ्ने मौका पाएको छैन मैले, यो एउटाले दिएको प्रभाव भने यहि हो।

साहित्यले, विशेष गरी यथार्थवादी साहित्यले समाजको बिश्लेषण गर्ने हो कि सामाजिक समस्याहरुको समाधान दिने हो? अथवा दुबै काम गर्ने हो?

साहित्य समाजको एक भाग हो, तर यो सम्पूर्ण समाज भने होईन। साहित्यले समाजको बिश्लेषण गर्नसक्छ, सामजिक रोगहरु सबैले छर्लङ्ग देख्न सक्ने बनाउन सक्छ तर यसले समग्र समाधान दिन सक्दैन। सामाजिक र राष्ट्रिय समस्याको समाधान बहुपक्षीय हुन्छ। साहित्यले कुनै दल वा वादकै सीमामा आफूलाई कैदी बनाएर दिएको समाधान त झनै काम नलाग्ने हुन्छ। यसरी कैदी बनेको साहित्यले दिने बिश्लेषण शुरुदेखिनै दूषित हुन्छ।

मेरो विचारमा साहित्य र साहित्यकारको सबैभन्दा महत्वपूर्ण काम इमान्दारीपूर्बक समाजको बिश्लेषण गर्ने हो र यो बिश्लेषणमा कलापक्ष अलिकति पनि कमजोर हुनुहुँदैन। साहित्यको मूल दायित्व यहिँ समाप्त हुन्छ।  यसपछि समाधानको दिशातिर औंल्याउन सम्म सक्छ साहित्यले, त्यो पनि साहित्यकारको लेखन शैलीमा भर पर्ने कुरो हो।

"एउटा आकारको बारेमा" संग्रहका कतिपय कथाहरुमा बर्णित घटनाक्रमहरु अहिले पनि झल्झली छन् मेरो मनमा।  टिपोटमा मैले भाऊपन्थीजीलाई समस्याहरुको "----समाधानको त्यति चासो पनि छैन जस्तो छ!---" भनेर लेखेको रहेछु। मेरो त्यो सोच भने गल्ती लाग्छ अहिले मलाई। समाधान नचाहने मान्छेले समस्याहरुको त्यति जीवन्त चित्रण गर्नै सक्दैन। समस्याहरुले आफूलाई रुवाएपछि, आफ्नो मन लाई तरंगित बनाएपछि साहित्यकारले ती समस्याहरुको चित्रण गर्न र बिश्लेषण गर्न थाल्छ। उसको लेखाईमा समस्याहरुको समाधानको तिब्र लालसा भएमात्र उसको बिश्लेषण सार्थक हुन्छ। भाऊपन्थीजीका कथाहरुको महत्व यसैकारणले छ।

त्यो संग्रहबाहेक 'मधुपर्क', 'गरिमा' आदिमा पनि भाऊपन्थीजीका केहि कथाहरु पढेको छु। त्यो पनि एक दशक पहिलाकै कुरा भईसक्यो। ढुक्कले नेपाली पुस्तक-पत्रिकाहरु पढ्न नपाएको धेरै भयो। अब त कहाली लाग्न थालेको छ मलाई।

पूरानो टिपोटको प्रसंगमा यति कुराहरु भए। हात पर्दा तिनवटै किताबहरु पढ्न र आफैंले बिश्लेषण गर्न  नभुल्नुहोला। कथा लेखनमा रुचि छ भने भाऊपन्थीजीका कथाहरु लेखन शैली सिक्ने राम्रा सन्दर्भ स्रोत समेत बन्न सक्छन् भन्ने लाग्छ मलाई।