December 28, 2011

यो जनताको फैसला हो!

संविधान सभासंग सम्बन्धित हालैका निर्णयहरुका कारण नेपालको सर्वोच्च अदालत यतिखेर चर्चामा छ। केहि समय पहिले सर्वोच्च अदालतबाट एउटा निर्णय भएको थियो, "संविधान सभाको अवधि अनन्तकालसम्म हुन सक्दैन, अब थपिएको म्याद जेठ १४ मा समाप्त हुँदासम्म पनि संविधान बनेन भने यो संविधानसभा भंग हुनेछ र नयाँ जनादेशमा जानुपर्नेछ।" भन्ने। त्यो निर्णयलाई एमाले, माओवादी लगायतका दल र नेताहरुले शुरुदेखिनै धारेहात लगाईसकेका थिए, कांग्रेस भने केहि समय मौन बसेको थियो।

अहिले आएर सबै दलहरु, कांग्रेस समेत, सर्वोच्चको उक्त निर्णयको पुनरावलोकन गर्न निवेदन दिने सहमतिमा पगे र त्यहि सहमति अनुरुप हिजो सरकार र संसद सर्वोच्चमा पुगेका थिए, उक्त निर्णय पुनरावलोकन गर्ने निवेदन दिन। सर्वोच्चले उनीहरुको पुनरावलोकन निवेदन दर्ता गर्न अस्वीकार गरिदियो।

यसैले अब नेताहरु अझ जोडले सर्वोच्चलाई गाली गर्न थालेका छन्, न्यायपालिका तानाशाही भयो आदि भनेर। निकम्मा संविधानसभाले आफ्नो म्याद आफैं बढाऊँदै राज्यकोष रित्याईरहँदा र तोकिएभन्दा दुई वर्ष बढीको म्याद थपिसक्दा समेत संविधान बन्न नसक्दा जनतामा यो संविधानसभा र यससंग जोडिएका सबै राजनीतिक दल र नेताहरुप्रति वितृष्णा जागिसकेको छ। त्यसैले यसपटकका यी दुई निर्णयले जनताको मनोभावनाको पूर्ण प्रतिनिधित्व गरेका छन्। अधिनायकवादी र तानाशाहहरु आफूभन्दा फरक सोच्ने अरुलाई उल्टो तानाशाह र अधिनायकवादीको दोष लगाऊँछन्। हाम्रा दल र नेताहरु आफूभन्दा अरु सबै गलत भन्ने कुसोचले ग्रस्त छन् र सर्वोच्च अदालतप्रतिको यिनीहरुको यतिखेरको विषवमनको कारण यहि हो कि सर्वोच्चले यिनीहरुको भ्रष्टता र निकम्मापनमा लगाम लगाउने जमर्को गरेको छ।

एउटा दैनिकमा आज छापिएको एउटा 'विश्लेषण'मा सर्वोच्चको यो कदमलाई लिएर "-------तर राजनीतिक अकर्मण्यताको जवाफ अदालतले होइन, जनताले दिनुपर्छ । लोकतान्त्रिक पद्धतिको सुन्दर पक्ष भनेको काम गर्न नसक्ने राजनीतिकर्मीहरूलाई आवधिक निर्वाचनमा पराजित गरी जनताले दण्डित गर्नु हो।" भनेर लेखिएको छ। पार्टी र तिनका पत्रु नेताको कुरै छोडौं, यतिखेर देशका स्वनामधन्य 'विश्लेषक' र 'कानूनजीवि'हरुले पनि नबुझेको कुरा के हो भने सर्वोच्च अदालत जनताको त्यहि "आवधिक निर्वाचन" मा भाग लिन पाउने अधिकारलाई सुनिश्चित गर्न खोज्दैछ। ऊ एकपटक चुनिएको कुनै पनि 'सभा'को निश्चित अवधि हुनुपर्छ र यो वा त्यो बहानामा अवधि लम्बिरहनु हुँदैन मात्र भनीरहेछ।

यो देशमा दल, नेता र संविधानसभाले जनताको आवाज सुन्न छोडेको धेरै भईसक्यो किनभने लम्बिँदो संविधानसभासंगै लम्बिने संक्रमणकालमा दलीय मिलोमतोबाट देश चुस्ने बानी उनीहरुलाई लागीसकेको छ, देश र जनताका समस्याप्रति उनीहरुमा कुनै संवेदना छैन। स्थानीय निकायको निर्वाचन नभएको एक जुग भईसक्यो, कथित संविधानसभाले संविधान नलेखुञ्जेल हुने छाँट पनि छैन। अनि संविधान लेखिने छाँट पनि छैन। फेरि केन्द्रमा म्याद गुज्रिसकेका र आफ्नो म्याद आफैं बढाऊँदै बसेकाहरुबाट आयोजन हुने स्थानीय चुनाव पनि कुन रंगको हुने हो, जनतालाई थाहा छैन। यसैले देशको समस्या भनेको अनिश्चित कालसम्म लम्बिँदै जान खोजेको संविधानसभा हो। जनताको धैर्यको बाँध टुटीसकेको छ र आगामी जेठ १४ सम्म संविधान बनेन भने ताजा जनादेशमा जानुको कुनै विकल्प छैन।

जतिपटक म्याद थपे पनि हाम्रा दल र नेताहरु गम्भिर हुने छाँट बिल्कुलै देखिँदैन। गम्भिर हुने हो भने सम्बिधान लेख्नका लागि अब बाँकी पाँच महिना पनि कम होईन। आफ्ना आग्रह-पूर्वाग्रहहरुलाई छोडेर देश र जनताका लागि सोचे भने यो अवधिमा पनि धेरै असहमतिहरु समाधान हुनेछन् र देशले संविधान पाउनेछ। यदि सबै विषयमा सहमति जुट्दैन भने, सहमति जुटेका विषयलाई मात्र समावेश गरेर संविधान लेख्ने र बाँकी मुद्दाहरुलाई भविष्यको संसदको दुई तिहाई वा तीन चौथाई वहुमतले समाधान गर्ने गरी अगाडि जान पनि सकिन्छ।

मुख्य कुरो, कुनै पनि निर्वाचित निकायको अवधि निश्चित हुन्छ, यसले आफ्नो म्याद आफैं थप्दै आफ्नो आयु अनन्तसम्म लम्ब्याईरहन पाऊँदैन।

जनताले आवधिक रुपमा आफ्नो जनादेश दिईरहन पाउनुपर्छ। यसैले सर्वोच्चको यो फैसला यतिखेर सम्पूर्ण नेपाली जनताको फैसला हो।

December 20, 2011

कांग्रेसले पोखेर रित्याएको पुँजी

यो देशमा आफूलाई सबैभन्दा ठूलो राष्ट्रवादी र जनताको सबैभन्दा शुभचिन्तक नठान्ने दल कुनै छैनन्। सबै आफूलाई एक से एक लोकतन्त्रवादी पनि ठान्छन्, भलै लोकतन्त्रको परिभाषा सबैका आ-आफ्नै हुन्छन्, देशभक्तिका परिभाषा र रुप पनि सबैका आ-आफ्नै हुन्छन्। 

देशका अरु दलहरु कोहि वामपन्थी/साम्यवादी खेमाका भएका र कोहि पूर्व पञ्चहरुको नेतृत्वमा रहेकाले आफूलाई खाँट्टी र अब्बल दर्जाको प्रजातन्त्रवादी (वा अहिलेको भाषामा लोकतन्त्रवादी) 'स्वघोषणा' गर्ने अधिकार केहि वर्षयता कांग्रेसले पाएको छ। हुनत, २०४६ सालपछि देखिएको कांग्रेसी दम्भ, असहिष्णुता र अहंलाई धेरै मान्छेले बिर्सिसकेका छैनन् तर द्वन्द्वकालमा माओवादीबाट सबैभन्दा बढी सताईएको कारणले पनि कांग्रेसप्रति जनतामा एक प्रकारको सहानुभूति जन्मन थालेको थियो। हो न हो, कांग्रेसचाहिँ सहिष्णु संस्कार बोकेर बसेको छ भन्ने भ्रम पर्न थालेको थियो मान्छेमा। यतिखेर त्यो भ्रम नराम्ररी चिरिएको छ। कांग्रेसको मन बदलिएको होईन रहेछ, यो पनि मौका पाउना साथ आफैंले तानाशाही र अधिनायकवादी भनेका दलहरु जस्तै असहिष्णु, बाहुबली र आतंकवादी रहेछ।

हिजोको बन्द र देशको सडकमा देखिएको गुण्डाराजले यहि प्रमाणित गरेको छ।

देश केहि वर्ष यता बन्द, हडताल र चक्काजामको चक्कामुनि नराम्ररी पिसिएको छ। कम्युनिष्ट दल र तिनका भातृसंगठनहरु अनि च्याऊझैं उम्रिएका अनगिन्ती संघसंस्थाको बन्दले देशको आर्थिक, सामाजिक र राजनीतिक जीवन रसातलतिरको बाटोमा हिँडिसकेको छ। यो परिश्थितिमा कांग्रेस देशमा एउटै मात्र 'बन्द' नगर्ने दल बनेको थियो। विगत केहि वर्षमा कांग्रेसले जम्मा पारेको यो एउटा ठूलो नैतिक पुँजी थियो। यो पुँजीलाई जोगाउन सकेको भए कांग्रेसले सही समयमा यसको उचित प्रतिफल पाउने थियो।

तर कांग्रेसीहरुले त्यो पुँजीलाई जोगाउन चाहेनन्, उनीहरु पनि क्षणिक आवेशमा क्षणिक हिसाबकिताबको लोभमा फँसे।

र उनीहरुले आफूले जम्मा गरेको पुँजीलाई हिजो दिनभरि सडकमा पोखेर भाँडो रित्याए।

 

December 13, 2011

झुम्कामा झुमौं है!


(आज एकजना सहयात्री ब्लगर भाईबाट प्राप्त समाचार, जस्ताको जस्तै। )

नेपालजस्तो विकासोन्मुख मुलुकमा ईण्टरनेटका प्रयोगकर्ताहरु दिन-प्रतिदिन बढ्दै गएका छन्। तिनै ईण्टरनेट प्रयोगकर्ताहरुलाई लक्षित गर्दै नयाँ समाचार वेवसाइट झुम्का डट कम शुरु भएको छ। अरु सामाजिक सञ्जालमा भन्दा थप नयाँ सुविधाहरु पाईने झुम्का डट कममा संसारको जुनसुकै कुनामा बसेर पनि समाचार, ब्लग, तस्बीर, अडियो, भिडियो यसमा अपलोड गर्न मिल्ने सुविधा छ।

झुम्का डट कमको साइटमा छिरेर आफ्नो एकाउण्ट खोलेपछि जो सुकैलाई यो सुविधा उपलब्ध हुनेछ। कसैलाई मोडेलिङ गर्न मन छ भने त्यो रहर पनि झुम्का डट कमले नि:शुल्क रुपमा पूरा गरिदिनेछ। साथै ठूला सञ्चार माध्यमहरुले समेट्न नसकेका, ध्यान नदिएका विषयहरु पनि यसले देश-विदेशका नेपालीहरुलाई जोड्न पनि मद्दत पुर्याउन सक्नेछ। अमेरिकामा सञ्चालित धेरैजसो  वेवसाइटहरुले बढीजसो नेपालको राजनीति, गरिबी, बेरोजगारीका बारेमा नकारात्मक कुराहरु लेखेकाले सकारात्मक समाचार दिन आफूले नयाँ वेवसाइट शुरु गरेको यसका सञ्चालक राम अधिकारीले बताए। 'संसारभर नेपालका बारेमा सकारात्मक खबर फैलाउन र सूचना, मनोरञ्जन दिन खोजेका छौं।' उनले भने।




November 26, 2011

भ्रमण र गडबड फर्मुला

आज फेरि दुई मुक्तकहरु। पहिलो मुक्तक फेसबुकमा राखिसेकेको छु, दोश्रो अघि भर्खर जन्मेको हो र पहिलो पाईला यहिँ सार्दैछ। 


भ्रमण

सबैभन्दा पहिले त्यता लागिन्छ
त्यताबाट फेरि उता लागिन्छ
धेरै माग्न सक्ने बहादुर कहलिन्छ यो देशमा
जता पुगिन्छ, हात पसारेर मागिन्छ। 

(अक्टोबर १९, २०११, पोखरा)
----------------------------- 

गडबड फर्मूला 

गुलिया नारा घोलेको चिया खल्लो निक्लियो
लोकतन्त्रको घाँटीमा पापको डल्लो निक्लियो
'फर्मूला' पक्कै गडबड छ यो 'फ्युजन'को 
क्रान्तिको अण्डाबाट जमिन्दार चल्लो निक्लियो। 

(नोभेम्बर २६, २०११, पोखरा)

November 21, 2011

‘रंग’ उत्रिएपछि बाबुराम

विश्वको तापमान बढेको खबर (global warming) अब नयाँ रहेन। जताततै यसकै चर्चा सुनिन्छ। अन्त के भयो कुन्नि तर यसपाला नेपालमा भने मौसमले अलि उल्टो बाटो हिँड्यो। तिहारपछि लगातार जसो दिनहरु अँध्यारा र चिसा रहे। एक महिनापछि आउनुपर्ने जाडो पहिल्यै ढिम्कियो भनेर कुरा गर्न थाले सबैले। पोखरामा पनि यस्तै भयो। बीचमा दुई दिन यस्सो खुल्नु बाहेक तिहार यता अस्तिसम्म जिन्दगी टम्म बादल र डम्म कुहिरोको भारमुनि निसास्सिएर बित्यो। हरेक दिन जसो दिऊँसोतिरबाट पानी पनि परिरह्यो, कहिलेकाहीँ त साउने झरीभन्दा ठूलो झरी पनि देख्न पाईयो। अरु एक हप्ता यहि स्थिति रहेको भए म ‘डिप्रेसन’ को रोगी हुने निश्चित थियो जस्तो लाग्छ मलाई:) धन्य खुल्दियो दिन:)

अस्तिबाट गज्जबले घाम लागेको छ र आकाश पूरा खुलेको छ। झलमल्ल हिमशृंखलालाई हेर्दै यी हरफहरु लेखिरहँदा बडो आनन्दको अनुभूति भईरहेछ। चारैतिर हरियाली ज्युँदै छ, यिनलाई हिऊँदले कठ्याङ्ग्र्याउन अझै पाएको रहेनछ। यस्तो लाग्छ, यी रुखपातहरु, यी पहाडहरु र यी हिमालहरुमा फेरि रंग चढेको छ र आकाश अझै गाढा भएको छ, अझै गहिरिएको छ।

देशको राजनीतिमा भने यस्तो छैन। यस्तो हुँदा पनि नहोला किनभने यो नेपालको राजनीति हो र निरन्तर खुईलिँदै जानु यसको नियति हो। हिन्दीमा ‘उतरना’ (उत्रनु) को प्रयोग हुन्छ यस्ता प्रसंगहरुमा, नेपालीमा त्यति नचलीसकेको जस्तो लाग्छ। मलाई यहि प्रयोग गर्न मन लागेको छ यतिखेर, नेपाली राजनीतिको नियति रंग चढ्नु होइन, निरन्तर रंग ‘उत्रनु’ मात्रै हो। एक से एक हस्तीहरु मैदानमा आउँछन, थरी-थरीका बाजा बजाऊँदै र ठूला-ठूला कुरा गर्दै, हुँकार भर्दै। उनीहरु सबै देशलाई स्विट्जर्ल्याण्ड बनाउने, दश वर्षमा सिंगापुर बनाउने आदि जस्ता थोत्रिसकेका उनै-उनै कुरा गर्दै आउँछन्, अनि हामी नेपालीहरु ‘हो, यल्ले त केहि गर्छ बा---‘ भन्दै ताली ठोकेर हात दुखाऊँछौं। जति धोखा पाएपनि हामी आशा गर्न छाड्दैनौं र कहिले कुन माइकालाल त कहिले कुन माइकालालमा आँखा टिकाईरहन्छौं।

तर माईकालालहरुको रंग उत्रिन खासै समय लाग्दैन। बाहिर बसुञ्जेल म आकाश र पाताल जोड्दिन्छु भन्नेहरु भित्र पसेर सुन जोड्न र अपराधी छोड्न थालेपछि रंग उत्रिहाल्दोरहेछ। जावेद अख्तरले लेखेको र जगजित सिंहले गाएको एउटा गजलको एक शेर सम्झिन्छु म; ‘नर्म आवाज, भली बातें, मुहज्जब लेहजें; पहली वारिशमें ही सब रंग उतर जाते हैं---‘। हाम्रा नेताहरुका हकमा रंग उत्रिन ठूलो ‘बारिश’ पनि चाहिँदैन, सिमसिम झरी भएपनि पुग्छ।

रंग उत्रने सिलसिलाको अर्को अध्यायको अन्त्यतिर आईपुगेका छौं हामी। सोझा नेपालीले असाध्यै आशा गरेका बाबुराम रंग उत्रिएर फिका-फिका भईसकेका छन्।

ब्यक्तिगत रुपमा मलाई बाबुरामप्रति पनि कहिल्यै भरोसा लागेन। झन् मलाई त यिनी माओवादीभित्र पनि अति कट्टर, अति असहिष्णु र अति छुद्र लाग्थे। कुराकानीमा आफ्नो यस्तो विचार राख्दा आफूलाई देशको राजनीतिको आन्द्राभुँडी चिनेको ठान्नेहरु, ‘बाबुरामले माओवादीभित्र टिक्नका लागि मात्रै आफूलाई त्यस्तो छुद्र देखाएका हुन् आफूलाई, उनको मन चाहिँ असल छ।’ भन्थे। धेरैजसो मान्छे उनका शैक्षिक उपलब्धिका कारण पनि उनीबाट धेरै आशा गर्थे। तर यसअघि पनि धेरै पटक देखिईसकेको हो, शैक्षिक उपलब्धिको महत्व आफ्नो ठाऊँमा हुँदा-हुँदै पनि राजनीतिमा त्यो सबैथोक होईन। नेताबाट राजनेता बन्न नेतामा संवेदना, राजनीतिक ईमान्दारिता, सुझबुझ र दृढ ईच्छाशक्ति चाहिन्छ, प्रमाणपत्रले केहि गर्ने होईन। अरु नेताहरु जस्तै बाबुराममा पनि यी गुणहरुको टड्कारो अभाव देखे जनताले यस पटक। नेताहरुको वर्तमान झुण्डमा पारिवारिक र दलीय स्वार्थभन्दा माथि उठेर देशका लागि केहि आँटन सक्ने नेताको रुपमा उनलाई हेरिन्थ्यो, नेपाली जनता यतिखेर विकल्पहीन बनेका छन्।

ज्यानमारालाई आममाफीको प्रयास, अपराधीहरुको ‘बहुमत’ हुने गरी बनेको इतिहासकै सबैभन्दा ठूलो मन्त्रीमण्डल र मितव्ययिताको ढोंगसंगै उनले उडाएको राज्यकोष-उनको कार्यकालका मानक बनेका छन्। हालै शुरु भएको लडाकू वर्गीकरण र समायोजन सफल हुँदा त्यसको श्रेय निश्चय पनि पाउनेछन् उनले तर यो नेपालको इतिहास यत्तिमै सिध्दिने होईन। यसपछिका दिनमा दण्डहीनता हटाउन उनले पहल गर्छन् कि गर्दैनन्, प्रशाशनमा निरन्तर हुने राजनीतिक हस्तक्षेप रोक्न पहल गर्छन् कि गर्दैनन् र आफ्ना उत्ताउला मन्त्रीहरुलाई तह लगाउन सक्छन् कि सक्दैनन्, यो मन्त्रीमण्डलको आकारलाई घटाएर सानो र चुस्त बनाउन सक्छन् कि सक्दैनन्, शान्ति-सुशाशन र महंगी नियन्त्रण जनतालाई दिन सक्छन् कि सक्दैनन्- त्यसैमा उनको छविको पुनर्निर्माण आधारित हुनेछ।

हिजो जुन कुराका लागि बाबुराम र माओवादीहरुले कांग्रेस र एमालेको उछित्तो काढ्थे; ठ्याक्कै तिनै कुराहरु आज उनीहरु स्वयं दोहोराऊँदै छन्। यस्तै हो भने, उनीहरुले एउटा पुस्ताको जिन्दगीलाई लडाईँमा होमिदिनुको कुनै तुक थियो? 

राजनीतिक हस्तक्षेप दुई थरिका छन्, एउटा मन्त्री वा प्रधानमन्त्रीले गर्ने ठाडो हस्तक्षेप र अर्को कथित यूनियनहरुले देखाउने दादागिरि। पहिलो आफैंमा आलोच्य हुँदै हो, यो नेपालको 'सदाबहार' रोग पनि हो। यतिखेर यसको नेतृत्व 'स्वनामधन्य' उप-प्रम विजय गच्छदारले गरीरहेका छन्, र प्रमपत्नीपनि उत्तिकै 'सकृय' भएको खबर आईरहेका छन्। प्रमको सहमति बिना गच्छदार वा अरु कुनै मन्त्री वा स्वयं प्रमपत्नीनै पनि यतिबिधि 'छाडा' साँढे बनेका हुन् भन्ने कुरा बच्चाले पनि पत्याऊँदैन। जसले जे गरुन् यतिखेर भएका राम्रा कुराको जस बाबुरामलाईनै दिनेछ दुनियाँले र नराम्रा कुराको अपजस पनि उनैलाई दिनेछ। अर्कोतिर यतिखेर दोश्रो थरी हस्तक्षेप पनि झन् ठूलो महारोगको रुपमा देशभरिका सरकारी-अर्धसरकारी र निजि निकायहरुमा फैलेको छ। यो महारोगले देशका उद्योगधन्दा बन्द गराउने देखि सरकारी अड्डाहरुलाई यूनियनका नाममा बसी-बसी तलब खाने अखाडा बनाईरहेको छ। हालैमात्र यो रोगको आक्रमणमा परी खुल्ला प्रतिस्पर्धाबाट छानिएका र विद्युत प्राधिकरणलाई उकालो लगाउने लक्षण देखाईसकेका महाप्रबन्धकले राजिनामा दिएका छन्। अनुचित दबाबका लागि यूनियनको आलोचना गर्नुको साटो सरकारले उनको राजीनामा स्विकृत गरेको छ। भन्न त फेरि खुल्ला प्रतिस्पर्धाबाट ल्याउने भनिएको छ तर यो नेपाल हो र यहाँ जे पनि हुन सक्ने भएकाले पूरा प्रकृयानै उल्टाएर फेरि राजनीतिक हनुमानलाई नियुक्त गर्ने प्रथा ल्याउन पनि सक्नेछन् सरकार र दलहरुले।

यो एउटा उदाहरण मात्रै हो, काम गर्न खोज्नेलाई ‘हाम्रो’ नगरी ‘राम्रो’ गर्न खोज्नलाई यसै गरी घोक्रेठ्याक लगाउने चलन छ यो देशमा र बाबुराम पनि त्यहि चलनको साक्षी बसीरहेका छन्। बाबुरामले प्रणाली बदल्ने कसम खाएका थिए तर उनी पनि उहि थोत्रो कुहिएको प्रणालीमै घुलमिल भएर, त्यसैको एक अंग भएर बस्नुमै रमाउन थालेका छन्।  यहि प्रणालीकै अंग बन्दै गएर होला, उनले फेरि झूटो बोलेका छन् मिडियासंग; मन्त्रीपरिषदकै निर्णयबाट सरुवा भएका एकजना भ्रष्ट सरकारी अधिकृतका बारेमा 'ए हो र? मलाई त थाहै भएन!' भनेर।

आफ्नो उत्रिरहेको रंगप्रति बाबुराम स्वयं भने कत्तिको सजग छन् र फेरि आफूमा फेरि ‘रंग’ चढाउन सक्ने दृढ ईच्छाशक्ति र ईमान्दारिता कत्तिको छ उनमा, त्यो भने उनकै कुरा भयो। हामीले त लक्षणहरु हेर्ने मात्रै न हो। 

निश्चय पनि, परिणाम आउन भने बेर लाग्ने छैन।

November 14, 2011

कवि अल्पबिराम पोखरेलीका मुक्तकहरु

आज म चर्चित पोखरेली कवि अल्पबिराम पोखरेलीका मुक्तकहरु राख्दैछु। उहाँका क्रान्तिकारी हिऊँका फूलहरु (कविता संग्रह), ईश्वर छन्, ईश्वर छैनन् (कविता संग्रह) र टुकीको उज्यालो (मुक्तक संग्रह) प्रकाशित छन्।

कवि अल्पबिरामसंगको मेरो चिनजान म २०५४ सालमा पोखरा पसेताका देखिकै हो हाम्रो। हामी दुबैको कार्यस्थल एकै पनि हो। 






-१-
म हुँ प्रेम यात्री मेरो गन्तब्य तिमी नै हौ
मेरो सपनाको पनि परिदृश्य तिमी नै हौ
आऊ एउटा साझा गीत गाऔं मानव प्रेमको
अरु भन्नु नै के छ र मेरो मन्तब्य तिमी नै हौ।


-२-
आफु भित्र भ्रष्टाचारको सातु पिन्न मसंग जाँतो छैन
मानवताको दुनियाँमा प्रवेश गर्न मसंग साँचो छैन
मसंग फगत प्रेम छ ,प्रेमको बदला प्रेम देऊ मलाई
आफै नीरिह बन्ने भगवानको मलाई केहि खाँचो छैन।

-३-
जो तड्पिन्छ उसैलाई तड्पाउ
जो दच्किन्छ उसैलाई दच्काउ
म त नेताको मान्छे ,पुलिस दाई
जो थर्किन्छ उसैलाई थर्काउ।

-४-
आफन्तहरुको लासको संख्या गन्दै छु म
यो देशमा लोकतन्त्र आएकै छैन भन्दै छु म
नेपाल बन्द चक्काजामको मार मुन्ग्रिमा
सीमा हराएको देशको नागरीक बन्दै छु म।

November 06, 2011

पोखराको हालखबर

विगत ४-५ दिन यता पोखराको मौसम बिग्रेर खत्तम भएको छ। घामको मुख राम्ररी देख्न पाईएको छैन, दिनभरिजसो तुवाँलो/हुस्सु डम्म हुन्छ, बेला-बेलामा सिमसिम झरी पनि पर्छ, र यसैले गर्दा जाडो बढेको छ। यो बहुलाएको मौसमले यहाँका किसानहरुलाई ठूलो मर्का पारेको छ; कतिले धान काट्नै पाएका छैनन्, कतिले काटेर राखिएको धान उठाउन पाएका छैनन्। केहि समय पहिला पोखरा आसपासका केहि क्षेत्रमा असिनाले पाकिसकेको धान सखाप पारिदियो।

पोखराको मौसम यतिखेर यस्तो भैदिएको पटक्कै सुहाएको छैन। पर्यटनका हिसाबले पनि यतिखेर त पोखरामा 'सुनौलो' मौसम हुनुपर्ने हो। यो अँध्यारो-चिसो मौसमले पर्यटकहरु सबैलाई निराश बनाईरहेको होला।

काठमाण्डौंबाट आएको भतिजलाई घुमाउने क्रममा तिहारअघि एक चरण पोखरा घुमिएको थियो। त्यतिखेर पनि मौसम 'सुनौलो' नै भन्न मिल्ने गरी खुलिसकेको थिएन, तर अहिले भन्दा त राम्रै थियो। त्यहि घुमघामबाट केहि तस्बीरहरु राखेर यो ब्लगलाई अगाडि घिसार्ने जमर्को गर्दैछु आज। केहि फोटाहरु अनुपले खिचेको हो।

आवासक्षेत्रबाट देखिएको माछापूच्छ्रे। बडो खुलेको दिन थियो त्यो।

त्यहि दिन पाताले छाँगो (डेभिस फल) मा देखिएको भिड। पानी घटीसकेकोले डेभिस फल खासै केहि लाग्दैन यतिखेर।

गुप्तेश्वर महादेवको गुफाबाट देखिएको डेभिस फल।

त्यहि दिन विश्वशान्ति स्तूपबाट देखिएको फेवाताल र डाँडाकाँडा। विश्वशान्ति स्तूपमा रंगरोगन भईरहेको थियो, त्यसैले माथिल्लो तल्लामा प्रवेश निषेध थियो। स्तूप अगाडिको चौरको छेऊमा भने फेवाताल सबैभन्दा राम्ररी देखिने ठाऊँ अगाडि दृश्यलाई ढाकेर एउटा होटल बनेछ।

लक्ष्मीपूजाको दिन बिहान कलिलो घाममा नुहाऊँदै माछापूच्छ्रे र अन्नपूर्ण-१(?)। यसअघि २०५६-५७ सालतिरै एकपटक सराङ्गकोट पुगेपनि कुहिरोले गर्दा सू्र्योदयको यस्तो दर्शन पाईएको थिएन। यहि दिन पनि खासै खुलेको भने थिएन। एकपटक फेरि उक्लनुपर्ला, कुनै सफा बिहान पारेर।

उदाईरहेको सूर्य र उडिरहेको जहाज।

सूर्योदय पूर्ण भएपछि। सफा दिनमा यो दृश्य अलि चाँडै देखिन्छ होला शायद।

सराङ्गकोटबाट फेवाताल।


एउटा सामान्य ज्ञान, समुद्र सतहबाट सराङ्गकोट भ्यु टावरको उचाई।

बाटुलेचौरको चमेरे गुफाको प्रवेशद्वारमा। अरु कुरामा ध्यान पु-याएपनि यात्रुहरुको अनियन्त्रित भिड, तिनले बोकेर लाने टर्च, ईमर्जेन्सी लाईटको उज्यालो र क्यामेराको फ्ल्याशले चमेराहरुको जीवनचक्रमा पारेको असरबारे भने अहिलेसम्म कसैले पनि सोचेको छैन जस्तो छ। यस्ता कृतिम उज्यालोले पक्का पनि चमेराहरुको जीवनचक्रमा केहि गम्भिर असर परीरहेको हुनुपर्छ र पछि तिनको संख्या घट्दै जाने समस्या आउन सक्छ। कृतिम उज्यालोलाई बन्दै गर्नुपर्छ त्यहाँ भित्र र ठूलो भिडलाई एकैचोटि पस्न पनि दिनुहुँदैन। चमेरा हेर्न मन लाग्नेका लागि कुनै विशेष आधुनिक प्रविधिको ब्यबश्था गरिनुपर्छ।

र यो चाहिँ बिन्ध्यवासिनी मन्दिरमा। बिन्ध्यवासिनी परिसरको विकास र सरसफाईले जो कोहि प्रभावित हुन्छ। अहिले मन्दिर अगाडिनै बलि दिन पनि पाईँदो रहेनछ, बधशालालाई मन्दिर परिसर बाहिर सारिईसकेको रहेछ। बिन्ध्यवासिनी मन्दिर क्षेत्रको यस्तो लोभलाग्दो विकासका लागि मन्दिरको विकास समिति र स्थानीय जनसमुदाय साधुवादका पात्र छन्।

October 28, 2011

तिहार

आकाश पूरै खुलीरहेछु
पात-पातमा झुलीरहेछु
पुतलीसंगै डुलीरहेछु
फूलै-फूलमा फूलीरहेछु।

पात-पातमा झुलीरहेछु
यहाँ, त्यहाँ भुलीरहेछु
पुतलीसंगै डुलीरहेछु
फूलै-फूलमा फूलीरहेछु।

यहाँहरु सबैमा तिहारको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छु। यहाँहरुको जीवन सधैं शान्ति, आनन्द र समृद्धिको ज्योतिले उज्यालो बनोस्!

October 20, 2011

सुन्दर काभ्रे गाऊँ

दशैं मनाउने क्रममा काठमाण्डौंमा थिएँ। कोजाग्रत पूर्णिमातिर पोखराबाट (दगाम यात्राका) साथीहरुले फोन गर्नुभयो, 'हामी शुक्रबार (असोज २७) होम-स्टेका लागि भूर्जुङ्ग खोलातिर जाँदैछौं, तँ पनि आईपुग्।' भनेर। शुक्रबार बिहान ७:३० मा एउटा टुरिष्ट बसमा काठमाण्डौं छोडेको, बाटाका बेला-बेलाका जामले गर्दा पोखरा झर्दा साढे ३ भईसकेको थियो। दिनभरिको पसिना पखालेपछि भटभटेमा हुईँकिएँ म भुर्जुङ्गखोलातिर, साथीहरुले 'हामी बाटैमा तँलाई पर्खिरहेका हुन्छौं।' भन्नुभएको थियो। 

२०५४-५५ सालतिरै एकपटक कसैको पछाडि बसेर पुरुन्चौरमा एउटा बिहेमा पुगे बाहेक म यो बाटो हिँडेको थिईँन। हतारको आऊ-जाऊले गर्दा त्यो बेलाको दिगो स्मृति पनि छैन। लामाचौरको अलिक माथि रहेको अकला देबीको मन्दिरमा धेरै पटक पुगेपनि त्यहाँभन्दा माथि लाग्ने जाँगर कहिल्यै आएन। अकला कटेर अलिक माथि पुगेपछि फाँटको बीचबाट बाटो जाँदो रहेछ। बादलु दिन थियो, यसैले हिमालको भने दर्शन भएन, घमाईलो दिनमै पनि यो ठाऊँबाट शायद हिमाल देखिँदैन होला। सिमसिम पानी पनि परीरहेको थियो बाटाभरि। तर जे होस्, दुईतिर पहाड, बीचमा फाँट र फाँटको छातीबाट कुदेको पक्की बाटो-यात्रा रोमाञ्चक हुने रहेछ। मलाई यो भेकले पनि मोहनी लगायो।  

 पुरुञ्चौरतिरैबाट अन्नपूर्ण संरक्षण क्षेत्र शुरु हुने रहेछ, बाटामा ठडिएका बोर्डहरुले त्यसै भन्थे। 

१० किलोमीटरभन्दा बढी हुईँकिसकेपछि साथीहरुलाई बाटैमा भेटियो। समूहमा दुईजना (मेरा लागि) नयाँ साथीहरु पनि हुनुहुँदो रहेछ, दुबै पृथ्वीनारायण क्याम्पसका प्राध्यापक। एकजना स्थानीय दाईपनि संगै लाग्नुभयो हामीसंग। मैले कुरो पछि बुझें। हाम्रा साथीहरुले एउटा पसलमा नजिकको राम्रो होम-स्टे गन्तब्यका बारेमा सोधखोज गर्दाको कुराकानी सुनेर ती दाइले 'ल म लैजान्छु तपाईँहरुलाई!' भन्नुभएको रहेछ। हामी उहाँकै गाऊँतिर जाँदै रहेछौं। हट्टाकट्टा र 'फिट' शरीरका हँसिला ती दाइको नाम रहेछ उदय बहादुर गुरुङ्ग।

तातोपानीबाट अन्दाजी ३-४ किमीको कच्ची बाटो कटेपछि दुईतिरबाट पहाडहरुले च्यापिएको अर्को एउटा फाँटमा पुगियो। त्यो ठाऊँको नाम सोध्न बिर्सिएछ। त्यहीँको एउटा घरको आँगनमा सबैका भटभटे बिसाएर उकालो लागियो। साथीहरुले हाम्रो गन्तब्य गाऊँ काउरे हो भन्थे, तर पछि थाहा भयो गाऊँको वास्तविक नाम काभ्रे रहेछ। 'हाम्रो गाऊँको नाम बिगारिदिए मान्छेहरुले!' भनेर स्थानीयहरु दुखेसो गर्दै थिए। कृषिप्रधान यो सानो गाऊँमा जम्मा २१ घरधुरी रहेछन्, ४ घर विश्वकर्माहरुका रहेछन्, बाँकी सबै गुरुङ्गहरुका रहेछन्। 

साँझको पाहुना बनेर हामी गाऊँको एउटा घरमा पस्यौं। अग्लो पिँढीमा बसेर भलाकुसारी र 'खानपीन' शुरु भयो। एकछिनपछि एकजना हँसिली बहिनी देवी गुरुङ्ग आईपुग्नुभयो। पोखराकै कुनै उच्च माविबाट १२ कक्षासम्मको अध्ययन गर्नुभएकी देवी बहिनी काभ्रे गाऊँको होम-स्टे सम्बन्धी गतिबिधिहरुको संयोजक हुनुहुँदो रहेछ। उहाँसंग काभ्रे गाऊँ र होम-स्टे कार्यक्रमका कुराहरु भए। एउटा 'औपचारिक' परिचयात्मक कार्यक्रम पनि भयो देवी बहिनीकै आग्रहमा। सन् २००८ बाट शुरु भएको रहेछ काभ्रेमा होम-स्टे। पाहुनाहरुलाई राख्न पालो प्रथा लगाईएको रहेछ, एक पटकका पाहुनालाई एउटा घरमा राखेपछि अर्को पटककालाई अर्को घरमा राखिँदो रहेछ र यहि क्रममा गाऊँका सबै घरहरु सहभागी हुँदा रहेछन्। 

एउटा पहाडको फेदमा बसेको काभ्रे गाऊँबाट सामुन्नेको पहाडको फेदमा झुरुप्प बसेको अर्को गाऊँका बत्तीहरु देखिन्थे। त्यो अर्को गुरुङ्ग गाऊँ मिर्सा रहेछ। मिर्साको नजिकका पहाडहरुका माथि-माथि पनि फाट्टफुट्ट बिजुलीको उज्यालो देखिन्थ्यो। यो भेगका पहाडहरुमा सबैतिर केन्द्रीय प्रसारणको विद्युत जोडिएको रहेछ।

एकछिनको नाचगान पछि हामीलाई उदय दाईको घरमा खाना खुवाईयो। मेरो भागको शाकाहारी खाना त स्वादिष्ट थियो नै, अरु (सबै) मासु खाने साथीहरुले पनि जिब्रो पड्काई-पड्काई खाएकाले उनीहरुलाई पनि सन्तुष्टि भएको पक्का हो। खानापछि पनि नाचगान जारी रह्यो। नाचगान खासै राम्ररी संयोजित (coordinated) भने थिएन। स्थानीयहरुभन्दा हामीनै बढी नाच्यौं होला:) दगामकै समस्या यहाँ पनि रहेछ, युवाहरु कि शहरतिर कि विदेशतिर रहेछन्। उसैपनि २१ घरधुरीको सानो गाऊँ, त्यसमाथि पलायन; १७-१८ देखि ४०-४५ उमेरका मान्छे देख्नै गाह्रो। स्थानीय मौलिक साँस्कृतिक सम्पदा (लोकगीत, लोकनाच आदि) त थोरै देखियो नै, बरु एकछिनपछि स्पीकर ल्याएर स्थानीय भाइहरुले 'मुन्नी बदनाम हुई---' र 'डिङ्का चिका---' पनि पो बजाउन थाले! कठै नेपाली गाऊँहरुको नियति! मलाई लाग्छ काभ्रे गाऊँ साँस्कृतिक रुपले पक्का पनि सम्पन्न छ, तर युवा शक्तिको पलायनले गर्दा अब त्यो साँस्कृतिक सम्पन्नतालाई कायम राख्न मुश्किल हुँदै गईरहेको छ। यो कथा नेपालका सबै गाऊँहरुमा दोहोरिईरहेको छ निरन्तर।

तर समग्रमा काभ्रेमा कटेको एक रात निकै रमाईलो रह्यो। गाऊँलेहरुको न्यानो आत्मीयता अझै चोखै छ त्यहाँ र प्रकृति अझै सुन्दर छ त्यहाँ। यति भएपछि अरु कुरालाई दिमागको तपसीलमा पठाउन कुनै गाह्रो हुँदैन।

हिन्दी फिल्मी गीतका बारेमा भने भोलिपल्ट आगन्तुक पुस्तिकामा एउटा सुझाव लेखियो।

हामी ७ जना मध्ये ४जनालाई उदय दाइको घरमा सुताईयो, बाँकी तीनलाई संगैको (नाचगान गरिएको) घरमा। उदय दाइले आफ्नो घरमा दशजनासम्म पाहुनालाई सुताउन मिल्नेगरी कोठाहरु थप्दै गर्नुभएको रहेछ।

बिहान उठेपछि माछापूच्छ्रेको दर्शन गरियो। मिर्सा गाऊँ पनि देखियो। त्यहाँ पनि कुनै दिन पुग्ने योजना बन्यो हाम्रो। मिर्साभन्दा अलिक उचाईमा छ काभ्रे, तर काभ्रेबाट हेर्दा मिर्सा जस्तो देखिन्छ, मिर्साबाट काभ्रे त्यस्तै देखिँदो हो। २१ घरधुरीको काभ्रेभन्दा मिर्सा निकै ठूलो भने देखिन्छ।

बिहान एकछिन गाऊँ घुमियो। र खाना खाएर काभ्रेसंग बिदाबादी भईयो।

स्मरणीय पलहरुका लागि सुन्दर काभ्रेलाई हार्दिक धन्यबाद!

ऊ--- त्यो (दाहिनेतिरको) भिरमाथि बसेको छ काभ्रे गाऊँ। भोलिपल्ट फर्कने बेला खिचेको फोटो हो यो।

भान्सामा भाउज्यू।

नाचगानको एक क्षण।

भेला भएका मनकारी काभ्रेलीहरु। उभिईरहेकी यी नानीले खुब राम्रो नाच्दीरहिछन्।

नमस्ते माछापूच्छ्रे। पोखराबाट जस्तो देखिन्छ, यहाँबाट पनि ठ्याक्कै त्यस्तै देखिँदो रहेछ, र अलिकति छेकिँदो पनि रहेछ।

काभ्रेबाट हेर्दा मिर्सा गाऊँ। यहाँपनि एकदिन पुगिएला।

बिदाबादीको क्षण।

काभ्रेसंग बिदा भएर फर्कँदै मेरा सहयात्रीहरु।


October 11, 2011

अल बिदा गजल सम्राट!



आफ्नो स्वर र संगीतको जादूले हामीलाई एउटा अलग्गै दुनियाँमा लैजाने गजल सम्राट जगजीत सिंह अब हामीमाझ रहनुभएन।

जगजीत, अझ समग्रमा भन्दा जगजीत-चित्राको जादूको मोहनीजालमा कहिलेबाट परें, यकिन तिथिको याद छैन मलाई, तर जब परें सधैंका लागि परें। उहाँका गजलहरु जिन्दगीको एउटा ठूलो हिस्सा बनेर रहेका छन्, मेरा सुखी-दु:खी अनगिन्ती पलहरुका साथी बनेका छन्। जिन्दगीका दर्दपूर्ण क्षणहरुमा त उहाँको गम्भिर आवाज मेरो मनका लागि मल्हम हो। फेरि संयोग भनौं या एउटा स्वाभाविकता, मेरा घनिष्ट मित्रहरुमध्ये सबैजसो जगजीत-चित्राप्रेमी छन्।

सन् १९९१-१९९६ सम्मको आधा दशक चीनमा विद्यार्थीको रुपमा बस्दा उहाँका 'हम तो हैं परदेशमें---', 'वो कागजकी कस्ती---', 'सारे पिण्ड चुपवाडे---' जस्ता गजलहरु दिनदिनै जसो सुनिन्थ्यो। संगीतले भाषा र राष्ट्रियताको सिमानालाई अस्विकार गर्छ, यो मानवजातिलाई एककार बनाउन सक्षम हुन्छ। जगजीत सिंह संगीतको त्यहि शक्तिको एउटा शक्तिशाली प्रतीक हुनुहुन्छ।

उहाँका सबै गजलहरु प्रिय लाग्छन् मलाई। कहिलेकाहीँ कुनै अलि बढी प्रिय लाग्छन्, अलि बढी सुनिन्छन्। २००३ मा जापान पसेपछिको केहि समय "Someone, Somewhere" संग्रह एकदम सुनें। आफ्नो छोराको असामयिक मृत्युको पिडामा जगजीत-चित्राले गाउनुभएको यो संग्रहले जीवनका गहन दार्शनिक प्रश्नहरुलाई केलाएको छ। यो एल्बम आफैंमा एउटा उत्कृष्ट एल्बम हो, यसभित्र पनि मलाई 'आदमी आदमीको क्या देगा---' र 'मेरी जिन्दगी किसी औरकी---' अति प्रिय लाग्छन्।

उहाँका गजलहरुबाट सबैभन्दा मनपर्ने वा उत्कृष्ट छान्न खोज्नु एउटा दुस्साहस हो भन्ने जान्दा-जान्दै पनि अर्को एक गजल 'शायद मैं जिन्दगीकी----' पनि विशेष लाग्छ मलाई भन्ने लोभ त्याग्न सकिन। अचेल मैले सबैभन्दा बढी सुन्ने गजल यहि बनेको छ। उहाँका भजनहरुपनि सशक्त र आध्यात्मिक शक्तिले भरिएका लाग्छन् मलाई।

गजल सम्राटमा हार्दिक श्रद्धाञ्जली! वहाँको आत्माले चीरशान्ति पाओस्!

October 05, 2011

दशैंको हार्दिक मंगलमय शुभकामना!

यहाँहरु सबैमा दशैं-२०६८ को हार्दिक मंगलमय शुभकामना!

तपाईँको जीवनमा स्वास्थ्य, आनन्द, सफलता र समृद्धिको निरन्तर वर्षा भईरहोस्!

 

September 28, 2011

त्यागको प्रतिस्पर्धा

लघुकथा
त्यागको प्रतिस्पर्धा
प्रधानमन्त्रीले महँगा गाडीको ‘त्याग’ गरेर र मुस्ताङ्ग चढेर वाहवाही लुटेकाले मन्त्रीहरुलाई पनि त्यस्तै वाहवाही लुट्ने लोभ लाग्यो। यसैले मन्त्रीहरु ‘त्याग’ का एक से एक रचनात्मक उदाहरणहरु देखाउन थाले। एक जना मन्त्रीले आफूले अब सरकारको केहि पनि नचढ्ने, चढ्नुपर्ने कुरा आफनै मात्र चढ्ने घोषणा गरे। यसपछि एक लालबुझक्कड मन्त्रीले आफू मोटरसाईकल मात्रै चढ्ने वाचा के गरेका थिए, शेरमाथिका सवा शेर अर्का निक्ले र घोषणा गर्दिईहाले, ‘म पनि अब मन्त्री छउञ्जेल साईकलमात्रै चढ्छु!”। यी त शेर माथिका सवा शेर मात्रै रहेछन्, अर्का साढे शेर निक्ले, “म त झन् केहि पनि चढ्दिन, पैदलै हिँड्छु!“।

यो त ‘त्याग’को पराकाष्ठानै भयो, अब त सकियो होला भनेर जनता गम्दै थिए, तर अर्का अझ 'महात्यागी' निक्ले र घोषणा गर्दिए, “म त अबदेखि चढ्ने-उड्ने कुरा त के हिँड्दा पनि हिँड्दिन ल। लौ मेरो भन्दा बढी त्याग गरेर देखाओस् त कसैले?!”

पढीसकेपछि लघुकथा जस्तो लागेन भने यसलाई एउटा जोकै मान्दिनुस्:)

September 18, 2011

दुई 'नाङ्गा' मुक्तकहरु

"हामी नेपाली"
झूटो-साँचो हावा थोरै बहिदिए पुग्छ
रेलिङ्ग भाँच्ने शक्ति थोरै रहिदिए पुग्छ
जस्को पनि जन्ती, जस्को पनि मलामी
हामीलाई बस् केहि भईदिए पुग्छ।


"राष्ट्रिय पोशाक नीति"
पाईण्टमाथि कट्टु लगाए पनि हुन्छ
रातो साडीको फेटा सजाए पनि हुन्छ
अबदेखि सभासद र मन्त्रीहरु
कार्यालय नाङ्गै आएपनि हुन्छ।

September 12, 2011

दगाममा एक रात-२

त्यसको एकछिनपछि हामीलाई भान्छाघरतिर लगियो। स्थानीय रक्सी र केहि खानेकुराहरु थिए। त्यस्तो विशेष केहि थिएन, सामान्य थिए परिकारहरु। शाकाहारी भएकाले मलाई भने अलि-अलि अप्ठेरै भयो, म भुटेको (तारेको) कालो बोडी बढी खानेमा परें। उकालो लाग्नु अगाडि खैरेनीटारमै किनेको स्याऊ पनि थियो अलिकति। समूहका अर्का एक सदस्यचाहिँ अरु बेला मासु खाए पनि रक्सीसंग भने मासु नखाने हुनुहुँदोरहेछ। त्यसैले हाम्रो जोडी मिल्यो:)

लोड-शेडिङ्ग रहेछ त्यो दिन। हामीले खाना खान थाल्दा-नथाल्दै भयंकर हुरीसंगै पानी बर्सिन पनि शुरु भयो। आधा घण्टाजतिमा रोकियो र एकछिनमा बत्ती पनि आयो। खानासंगै अलिअलि नाचगान पनि शुरु भएको थियो। वर्षायाम भएकोले सबै खेतीपातीमा ब्यस्त हुँदा साँस्कृतिक तयारी त्यति हुन नसकेको कुराको जानकारी गराउँदै हुनुहुन्थ्यो नन्द सर। हाम्रो समूह पनि सानै थियो, फेरि समूहका सबै नेपालीमात्रै। यो कारण पनि हुनसक्छ त्यति उत्साहित माहौल नदेखिनुमा। जे होस् रमाईलै भयो भन्नुपर्छ समग्रमा। दोहरी निकै रन्कियो एक छिन्। हाम्रो समूहका शिव सर खप्पीस हुनुहुँदोरहेछ दोहरीमा। उहाँको गायकीको बारेमा थाहा थियो, तर दोहरीमा पनि पोख्त हुनुहुन्छ भन्ने चाहिँ थाहा थिएन। बाँकी हामी अरुको काम भनेको थप्पडी बजाउने र नाच्नेमात्रै भयो। खाना खाईसकेपछि एकछिन स्थानीय कौडा नृत्य पनि हेर्ने अवसर पाईयो। 



 दोहरीको स्थानीय टिम
 


नृत्यमग्न क्षणहरु

कौडा गाऊँदै स्थानीयहरु 

कार्यक्रमको बीचतिर फिट्टान भएर ढल्पलिँदै एकजना युवा आईपुगे र उफ्री-उफ्री नाच्न थाले। ती बेला-बेलामा "तिमी टाढा, मैपनि टाढा; माछी काँडे डाँडैमा घर सार" भाकाको फर्माईश पनि गरीरहेका थिए। चालढालले ती भाइ स्थानीय होईनन् भन्ने सहजै थाहा हुन्थ्यो। उनी जुम्लाका रहेछन्। नेपाली सेनाका जवान ती भाइ यतिखेर भने दगामको छेवैको अर्को डाँडाको टुप्पोमा रहेको दूरसञ्चारको टावरको रक्षार्थ खटिएका रहेछन्।

तिनको चुरीफुरी 'साह्रै' भएपछि हामीमध्येकै एकजना साथी पोखराको फूलबारी ब्यारेकको क्याप्टेन बन्नुभयो। अर्को एकजना साथी ती भाइका गणपतिका साथी बन्नुभयो र आफ्नो गणपति 'साथी'संग मोबाईलमा 'कुरा गर्न' थाल्नुभयो। क्याप्टेनलाई नजिकै देखेपछि र गणपतिका कुरा सुनेपछि जुम्ली भाइलाई रक्सीले छोडेजस्तो भयो, ती  त्यसपछि शान्त भएर एक छेऊमा बसे। भोलिपल्ट बिहानै हामी नउठ्दै आईपुगेका थिए रे ती र नन्द सरसंग 'हिजो बेलुका सरहरुसंग नराम्रो गरें कि क्या हो?' भनेर पीर मान्दै थिए रे।

क्याप्टेन (ज्याकेटमा) र जवान। जवानले क्याप्टेनलाई 'चिन्नु' भन्दा पहिले:)

हामी त्यसपछि सुत्नका लागि संगै बनाईएको पाहुनाघरतिर लाग्यौं। स्थानीयहरुको घरमा एक-एक जनाको दरले सुत्ने ब्यवश्था पनि थियो तर हाम्रो सल्लाह पाँचजना एकै ठाऊँमा सुत्ने भन्ने भएकोले पाहुनाघरतिर लगिएको थियो।

बिहान छ बजेतिर उठेर बाहिर निस्कँदा चिसो तर मिठो हावा सर्सराईरहेको थियो र वरिपरि हरियालीको महासागर छचल्किरहेको थियो। वर्षातको याम अझै नसकिएकोले दिन पूरै खुलेको भने थिएन। बस्तीहरु बादलमुनि लुकिरहेझैं लाग्थे। त्यहाँबाट हिमश्रृंखलाको लामो भाग देख्न सकिने रहेछ। बिहान एफएममा कायाकैरन सुन्दै गर्नुभएका नन्द सरले ऊ 'ऊ त्यता लमजुङ्ग हिमाल पनि देखिन्छ, आज अलि खुलेको छैन।' भनेर देखाऊँदै हुनुहुन्थ्यो। त्यो बाहेक अरु हिमाल भने देखिएका थिए।

रुपाताल लगभग पूरै देखिन्थ्यो त्यहाँबाट। "ऊ त्यो देखिएको चाहिँ रुपाताल, नदेखिएको चाहिँ वेगनास ताल!" भनेर ठट्टा गर्दै हुनुहुन्थ्यो एकजना साथी।


बादलमुनिका बस्तीहरु र बादलमाथिका हिमालहरु

दगामसंग आँखा जुधाएर उभिएको यो पहाड थाप्रेक गाविसको एक भाग रहेछ। एउटा लामो बादलको टुक्रा धेरै बेर बिस्तारै हिँडिरहेको देखेपछि यो तस्बीर लिएको थिएँ मैले।

नन्द सरसंग एकछिन अरु कुरा पनि भए। दगामको सबैभन्दा ठूलो समस्या पानीको रहेछ। अनि अर्को समस्या गाऊँबाट युवा पलायनको पनि रहेछ। यथार्थमै, अघिल्लो रातको भेलामा पनि कि १७-१८ सम्मका युवाहरु थिए, कि ५० कटेकाहरु थिए, बीचका छँदै-थिएनन्। नन्द सरका आफ्नै छोराछोरी पनि काठमाण्डौंतिर रहेछन्। गाऊँका धेरै युवा अरबमा रहेछन्। अरबको कमाई पनि गाऊँमा खासै आईपुग्दो रहेनछ, सबैले काठमाण्डौं र खैरेनीटार वा दुलेगौंडा जस्ता चल्तीका बजारमा घरघडेरी जोड्दा रहेछन्। नन्द सरजस्ता केहि स्थानीय दगामलाई एउटा राष्ट्रिय-अन्तर्राष्ट्रिय पर्यटक गन्तब्य बनाउन कस्सिएर जति लागे पनि युवापुस्ताको सकृय सहभागिताविना त्यो असाध्यै गाह्रो हुने निश्चित छ। उहाँहरुको योजना अरु-अरु पनि रहेछन्, जस्तै प्रशश्त मात्रामा रहेको चरन क्षेत्रको सदुपयोग गर्दै ठूलो आयतनमा बाख्रापालन गर्ने। यस्ता योजनालाई सघाउन एउटा सहकारी पनि शुरु भईसकेको रहेछ। तर यहाँपनि नयाँ ढंग, नयाँ ब्यवश्थापनका लागि शिक्षित युवा रगतको जरुरत छ। कम्तिमा दशजना पढेलेखेका युवाले गाऊँमै बसेर केहि गर्ने कम्मर कसे भने नन्द सरजस्ता पाकाको अभियान धेरै अगाडि बढ्न सक्ने निश्चित छ। अलिकति सुझबुझपूर्ण योजना र लगानी पाउने हो भने २-३ वर्षमै दगामले स्थानीय रुपमै आत्मनिर्भर मौलिक पर्यटन उद्योगको विकास गर्ने छ र यो एउटा चर्चित गन्तब्य बन्ने छ।

एकछिनमा एकजना साथी उठेर आउनुभयो। अरु तीनजनालाई पाहुना घरमै छोडेर म र उहाँ नजिकैको अर्को डाँडातिर लाग्यौं। फेदीमा एउटा प्राथमिक विद्यालय रहेछ, २०११ सालमै स्थापना भएको। २०११ सालमै विद्यालय स्थापना भईसकेको कुराका आधारमा यहाँको शैक्षिक चेतना धेरै माथिल्लो स्तरको भईसक्नुपर्ने जस्तो लाग्छ, तर त्यस्तो हुन नसकेको स्पष्ट देखिन्थ्यो दगाममा। अलिकति भौगोलिक दुर्गमता, अलिकति राज्यको वेवास्ता र अलिकति शिक्षित दगामेलीहरुको पलायन सबै मिलेर यो स्थितिको निर्माण भएको हुनुपर्छ। 

त्यहि विद्यालयनै नन्द सरको कार्यस्थल पनि रहेछ। 

विद्यालय कटेर उकालो उक्लिसकेपछि दुईटा समथर भूभाग देखिए; एउटा त्यहाँको पूजाआजा गर्ने-बलि दिने कोट थियो, अर्को समथर भूभाग बनभोजस्थलका रुपमा प्रयोग गर्न मिल्दो देखिन्थ्यो। त्यहाँबाट पनि पोखरासम्मको दृश्य र हिमालहरु देखिन्थ्यो। 

दक्षिणतिर फर्किएर हेर्दा। बादलको समुद्रले छोपिएका छन् बस्तीहरु।

कोटबाट पोखरातिर फर्किएर हेर्दा।

कोट दगामभन्दा केहि अग्लो ठाऊँमा छ। तलको तस्बीर कोटबाट दगाम हेर्दाको हो। छेऊतिर दूरसंचारको टावर देखिएको छ। बीचतिर देखिएको हामी बास बसेको गाऊँ हो, जसको खास नाम 'माझ दगाम' रहेछ, अर्को दगामलाई पल्लो दगाम कि त्यस्तै के भनिन्छ भनेर कुरा भएको थियो।


फर्केर गएर हामीले कोदोको रोटी र स्थानीय महको नास्ता ग-यौं। दुई घण्टाजति अल्मलिएर कोदोको ढिँडोसहितको खाना खायौं र फूलका गुच्छा समातेर दगामसंग बिदाबारी भयौं।

फर्कँदा हामीले अर्को बाटो समात्यौं, जुन दुलेगौंडातिर जान्थ्यो। यो फराकिलो तर कच्ची मोटरबाटो थियो, बर्खामा भने त्यति प्रयोगमा आएको/आउनसक्ने देखिँदैनथ्यो। हिँडेको एक छिन पछि भिरालो बाटोमा हिजोका जुम्ली भाइ भेट्टिए, मध्यान्हमै ती आफूलाई सम्हाल्नै नसक्ने गरी फिट्टान थिए र अर्का एकजना भाइ उनलाई सम्हालेर बाटो हिँडाऊँदै थिए।

हामीलाई देखेपछि ती भाइ अलि सतर्क भए र 'क्याप्टेन' को नजिकै उभिएर जीऊ तनक्क तन्काएर स्यालुट गरे। 'क्याप्टेन साप' ले उनलाई 'ल राम्रोसंग ड्युटी गर्नु!' भनेपछि हामी हाँस्दै बाटो लाग्यौं।

ती भाइले सुरक्षा गरेको टावर कत्तिको सुरक्षित होला! धन्न अहिले द्वन्द्व छैन यो क्षेत्रमा!

दगाममा एक रात-१
(समाप्त)


September 06, 2011

दगाममा एक रात-१

गत शुक्रवार तनहुँ जिल्लाको एउटा सुन्दर गाऊँ दगाम जाने अवसर मिल्यो। दगाम तुलनात्मक रुपमा नयाँ पर्यटकीय गन्तब्य हो। यसको प्राकृतिक अवश्थितिका कारण यहाँबाट धेरै हिमशृंखला नियाल्न सकिन्छ र चारैतिरका भेगहरु, पोखराको केहि भाग सम्मपनि राम्ररी देख्न सकिन्छ। आफ्नो यो विशेषतामा 'होम स्टे' र सांस्कृतिक गतिबिधिहरु पनि जोडेर आफूलाई चिनाउने चिनाउने प्रयासमा छ दगाम।

समुद्र सतहबाट १६-१७ सय मीटरको उचाईमा हुनुपर्छ दगाम। यो मेरो अनुमान मात्र हो, दगाम त्यति नचिनिईसकेकोले यसका बारेमा धेरै पढ्न पनि पाईन्न। दगाम मगर जातिको बाहुल्य भएको गाऊँ हो, अलिकति गुरुङ्गहरु पनि रहेछन्।

पृथ्वी राजमार्गमा पर्ने एउटा बजार खैरेनीटारमा आफ्ना साधन राखेर हामी गाऊँ पसेका थियौं, पौने दुई भईसकेको थियो। सहयात्री साथीहरु (ईश्वर, गोपाल, शिव र महादेव) पहिले पनि गईसक्नुभएको रहेछ दगाम। उहाँहरु त्यसबेला अर्कै बाटो मोटरसाईकलमा जानुभएको रहेछ। यसपालि भने हिँडेरै जाने योजना थियो। खैरेनीटार र लगत्तैको दरगाम गाऊँमा सोधखोज गर्दा साढे-दुई तीन घण्टा लाग्ने जानकारी पाईयो। यो हिसाब दैनिकजसो ओहरदोहर गरीरहने, बानी परेका मानिसहरुका लागि हो। यसैले हाम्रा लागि ४-५ घण्टा लाग्ने कुरामा हामी ढुक्क भयौं। फेरि हामीलाई हतारिएर हिँड्नु थिएन, बाटामा पर्ने ग्रामीण भेग र जंगलहरुको अवलोकन गर्दै, आधा घण्टाको फरकमा केहि क्षण आराम गर्दै हिँड्न चाहन्थ्यौं, साँझ सात बजेसम्ममा दगाम पुगे हुन्छ भन्ने मानसिकतामा थियौं हामी। 

मैले नेपाल धेरै घुमेको छैन। जापानबाट फर्केपछि त झन् कतै पनि गएकै छैन। यसैले बाटाका हरेक दृश्य मेरा लागि नयाँजस्तै र ताजगीदायक (refreshing) भए। मलाई मेरो देशको सौन्दर्यले जहिलेपनि खुशीनै खुशी भरिएको भावुकता दिन्छ। र त्यो दिनको यात्राभरि पनि हरियो सौन्दर्यको खात लागेको थियो हाम्रो वरिपरि जतिखेरपनि।

घण्टौं हिँड्दा लागेको थकाई र तरतरी बगेको पसीनाको भने भो न कुरो गरम्:) एक-दुई ठाऊँमा नाक ठोक्किने उकालाहरु पनि थिए। थकाई, पसीना र उकालाहरुसंग जुध्न हाम्रा रमाईला गफ र जोकहरुले खुब साथ दिएको मान्नैपर्छ।

 बाटामा एक ठाऊँमा भेटिएका स्थानीय केटाकेटीहरु

 सहयात्रीहरु

 
 उकालीमा।
 विश्राममा सहयात्रीहरु

 चार घण्टा पछि बल्ल नजिक आईपुग्यो दगाम। (देख्न त यो खैरेनीटारबाटै पनि देखिन्छ।)

दगाम यो भिरालो डाँडाको टुप्पैमा बसेको छ। दगामलाई पाल्ने खेतीपातीले ढाकिएको छ पूरै डाँडो। 

 दगामको मलिलो ज्यानको एउटा हिस्सा

गाऊँ पसेर गाऊँका मसिना गोरेटा बाटाहरु छिचोल्दै हामी अलिक माथि रहेको गाऊँको मूलबाटोमा पुग्यौं। मूलबाटो किन भनेको भने दगाम एउटा फराकिलो (तर कच्ची बाटो)ले वरिपरिका शहरी भेगसंग जोडिईसकेको रहेछ। कच्ची हुनाले बर्खायाममा भने बाटो त्यति भरपर्दो नहुने रहेछ। 

अलिकति अगाडि बढेपछि हामीलाई स्वागत गर्न त्यो गाऊँका 'मुखिया' नन्द थापा मगर उभिईरहनुभएको थियो। उहाँसंग भलाकुसारी र परिचय (नयाँ त मै मात्र थिएँ)पछि हामी त्यहाँको पर्यटकीय प्रयोजनका लागि बनाईएको सामुदायिक भवनतिर लगियौं। त्यहाँ केहि किशोरी बहिनीहरुले माला र टिकाले हामीलाई स्वागत गरे।
 स्वागतपछि। हामी खैरेनीटारबाट हिँडेको लगभग पाँचघण्टा भईसकेको थियो।

शीतल बतास चलिरहेको थियो, त्यसले लखतरान भएर थाकेको हाम्रो ज्यानमा नयाँ ज्यानको संचार गरायो। त्यहाँबाट दुलेगौंडा, लेखनाथ नगरपालिकाको केहि भाग, रुपाताल र पोखराकै पनि केहि भाग देखियो। साँझ परीसकेकोले बत्तीहरु टिल्पिलाउन थालीसकेका थिए सबैतिर। दगामबाट देखिने दृश्य एकदम रोमाञ्चक थियो। हवाईजहाजले अलिकति उचाई लिएपछि देखिनेजस्तै थियो दृश्य। धोका दिन थालेको मेरो तीन वर्ष चानचुन पूरानो क्यामेरा त्यो दृश्यलाई कैद गर्न सफल भने भएन।




दगाममा एक रात-२

August 28, 2011

मेरा बीपीमय दिनहरु-१



केहि समय यता बीपीप्रतिको आकर्षण तिब्र भएको छ ममा। बीपीका सृजनाहरु र स्वयं बीपीका बारेमा सकेसम्म धेरै पढ्ने चाहना बढीरहको छ। यहि ‘बीपी भोक’लाई केहि शान्त पार्न तीन पुस्तकहरु किनेको थिएँ केहि पहिला; ‘मोदीआईन’, जेल जर्नल’ र ‘फेरि सुन्दरीजल’। बीपीका सबै किताबहरु किन्ने छु, क्रमैसंग।

यी तिनमध्ये सानो कदको सुन्दर ‘मोदिआईन’ मैले पहिलेपनि पढिसकेको हो। यसको कथाको सरसता र सरलता र “ठूलो मान्छे होईन, असल मान्छे बन्नु।“ भन्ने अपरम्परागत तर शाश्वत सन्देशका कारण म बारम्बार ‘मोदिआईन’ तिर तानिईरहन्छु। जति पढेपनि यो पूरानो लाग्दैन। यसपटक पनि ‘एकै सास’ मा पढिसिध्याएँ यसलाई।

बीपीको ‘आत्मवृत्तान्त’ पढेपनि ‘जेल जर्नल’ भने पढेको थिईन। बिभिन्न ब्यस्तताकाबीच दिनदिनै अलि-अलि समय मिलाएर पढें, झण्डै महिनादिन लाग्यो पढिभ्याऊन। हरेक दिन जसो बीपीको दैनिकी अलि-अलि पढ्दा बीपीको तत्कालीन मानसिकताको असर परीरह्यो मलाई, म दैनिकीका पानाहरुसंगै उदास, खुशी, आक्रोशित र निराश भईरहें। म अझै त्यो असरमा बाँचीरहेको छु, र ‘फेरि सुन्दरीजल’ त पढ्नै बाँकी छ।

बीपीको बारेमा मैले पहिलोचोटि सचेत रुपमा सुन्दा उहाँको निधन भईसकेको थियो। वास्तवमा उहाँको निधन र त्यसपछिको शवयात्राका बारेमा ठूलाले कुरा गरेको सुनेकोनै उहाँसंगको मेरो पहिलो सचेत परिचय हुनुपर्छ। बहुदल-निर्दलको चुनावताकाका हल्ला र कानेखुशीहरुमा पनि उहाँको नाम सुनिएको थियो होला, तर याद छैन। पञ्चायत आफ्नो उग्रतामा मात्तीरहेको त्यो समयमा बीपीको निधनपश्चात पनि बीपीमाथि ‘प्रतिबन्ध’ जारीनै थियो देशमा र बीपीका बारेमा कांग्रेसी अखबारहरुमा मात्रै केहि भेट्न सकिन्थ्यो।

स्कूले जीवनको माध्यमिक तहदेखि प्रमाणपत्र तह पढुञ्जेल केहि बामपन्थी हावा बग्यो मेरो वरिपरि। जानी-नजानी म बामपन्थीहरुकाका यावत् प्रचारबाजीहरुलाई सत्य ठान्न थालें। बामपन्थीहरुको प्रचारबाजीको एउटा पक्षमा बीपी पनि हुनुहुन्थ्यो र उनीहरु लगभग सधैंजसो बीपीलाई भारतपरस्त र राष्ट्रघातीका रुपमा चित्रण गर्थे। यस्तै चित्रण पञ्चेहरुले पनि गर्थे। बीपीको मानमर्दनलाई एउटा प्रणालीको रुपमा स्थापित गरिदिएका थिए राजा महेन्द्रले र त्यो प्रणाली पञ्चायत छऊञ्जेल भर्भराऊँदो रह्यो। पञ्चायत र साम्यबादीहरु मिलेर बीपीलाई अपमानित गर्ने सिलसिला यसरी पञ्चायत छऊञ्जेल चलिरह्यो।

अर्कोतिर, कांग्रेसले पनि बीपीको यो अपमानको डटेर मुकाबिला कहिल्यै गर्न सकेन, बहुसंख्यक कांग्रेसीहरुले त्यतातिर बिल्कुलै चासो देखाएनन्। उनीहरु बीपीलाई खोपीको देऊता बनाएर बसे, तर बीपीको अपमानको प्रतिरोध गरेनन्। न त उनीहरु बीपीका विचारहरुलाई जनतामा अझ प्रचारित गर्ननै लागीपरे। कांग्रेस र कांग्रेसीहरु अझै पनि त्यस्तै छन्, बीपीलाई खोपीको देऊता बनाउने वर्षमा एक-दुई पटक उनका नाममा रुख रोप्ने स्थितिबाट अझै अगाडि गएका छैनन्।

स्वअध्ययन बढ्दै गएपछि बीपीलाई चिनिँदै गईयो क्रमिक रुपमा। उहाँको साहित्यिक व्यक्तित्वले पहिला मोहनी लगायो र पछि बिस्तारै उहाँको राजनीतिक ब्यक्तित्व पनि उत्तिकै सुन्दर भएको बोध भयो। र उहाँजत्तिको राष्ट्रवादी राजनेता नेपालले अर्को पाएको छैन भन्ने कुरामा विश्वाश दृढ भयो।

जेल जर्नल उहाँले आफ्नी जीवन संगिनी सुशीलालाई लाई सम्बोधन गरेर शुरु गर्नुभएको छ, र उहाँकै लागि लेख्न थालेको भन्नुभएको छ। धेरै ठाऊँमा आफ्नी जीवनसंगिनीका प्रतिको प्रेम र अनुरागको खोलो बगाउनुभएको छ पुस्तक भित्र।

राजनीतिमात्र नभएर जीवन-जगतका यावत कुराहरुका बारेमा आफ्नो बीपीले आफ्ना विचारहरु पोख्नुभएको छ यसभित्र र थुप्रै चिन्तनमनन गर्नुभएको छ। ‘कहिल्यै नियमित हुन नसकेको’ आफैंप्रतिको गुनासो पनि छ यसमा र आफूललाई सुधार्ने संकल्प र संकल्प पूरा हुन नसक्ने संभावनाको दोधारमा बसेर पनि कुरा गर्नुभएको छ। जर्नल (दैनिकी) लेखिएको दिनको उहाँको मानसिकता पढ्न सकिन्छ हरेक पृष्ठमा। आफ्नो मनमा जे छ त्यसैलाई खुल्ला हृदयले पोखिदिनुभएको छ। कुनै दिन थोरै लेख्नुभएको छ, कुनै दिन एकदम लामा दार्शनिक ब्याख्यानहरु लेख्नुभएको छ।

जर्नलभित्र धेरै ठाऊँमा उहाँले योग र अध्यात्मका बारेमा लेख्नुभएको छ र आफूले आफूलाई भौतिकवादी मानेपनि भित्री स्वभाव शायद अध्यात्मवादी छ कि भनेर आफैसंग प्रश्न गर्नुभएको छ। भौतिकवाद र अध्यात्मवादको तुलना गरेर ५ पेज लेख्नुभएको छ किताबको मध्यतिर। र एक ठाऊँमा आफूमा अध्यात्मवादतिर झुकाव बढ्नु बूढो हुनुको लक्षण त होईन भनेर झस्किनुभएको पनि छ। यस्तै गरी नैतिकता र सामाजिक मूल्य-मान्यताका बारेमा पनि धेरै ठाऊँमा लेख्नुभएको छ। हिन्दू दर्शन, निष्काम कर्म र सन्यासजस्ता विषयहरुमा अन्तर्नीहित विरोधाभाषहरुलाई केलाउनुभएको छ एक ठाऊँमा। समग्रमा हेर्दा, निष्काम कर्म र सन्यासप्रति उहाँमा अलिकति पनि विश्वाश देखिँदैन।

जीवनप्रतिको उहाँको संवेदनशीलता र उहाँको मनको कोमलता पनि हामीलाई अँगाल्न आईपुग्छन् धेरै ठाऊँमा। कहिलेकाहीँ दैनिक जीवनका स-साना घटनालाई पनि बडो सुक्ष्मतापूर्वक केलाएर धेरै निष्कर्ष निकाल्नुभएको छ। मानव बाहेकका अरु जीवजन्तुहरुप्रतिको उहाँको संवेदना पनि पोखिएको छ धेरै ठाऊँमा। दुईवटा प्रसंग विशेष लागे मलाई; एउटा उहाँको कोठाको झ्यालमा रहेका बारुला र अरिंगालका गुँडहरु जलाएर नष्ट गरिएपछिको उहाँको मनोदशा र अर्को आफ्नो भालेलाई मूसाले खाएपछिको पोथी गौंथलीको विरह र त्यसले त्यो ठाऊँ छोडेको प्रसंग। जेलभित्रका आफ्ना साथीहरु; गणेशमान, कृष्णप्रसाद, दिवानसिंह राई आदिका बानीहरु र विचारहरुको पनि धेरै निरिक्षण गर्नुभएको देखिन्छ। साथै जेल जीवनका भनाभन, झगडा आदि पनि छन्।

स्वाभाविक रुपमा, देशलाई प्रजातन्त्रवीहिन बनाउने र आफूलाई बन्दी बनाउने राजा महेन्द्रप्रतिको उहाँका आक्रोश छन् धेरै ठाऊँमा। महेन्द्रको मानसिकताको विश्लेषण गर्नुभएको छ धेरै ठाऊँमा र त्यसलाई देशको राजनीतिक परिश्थितिसंग गाँस्नुभएको छ। आफ्नो भोगाईका आधारमा नेपालजस्तो सानो मुलुकलाई सैनिक खतराबाट जोगाउने उपायहरु के हुनसक्छन् भन्ने चिन्तन पनि छ एक ठाऊँमा। तत्कालीन परिश्थितिको प्रसंगमा बौद्धिक अवसरवादिताको शल्यकृया र आलोचना गर्नुभएको छ। लिखित इतिहासप्रतिको उहाँको शंका र अविश्वाश पनि ब्यक्त गर्नुभएको छ एक ठाऊँमा। फेरि तुरुन्तै उहाँ एशिया र अफ्रिकाका प्रजातान्त्रिक आन्दोलनहरुको भविष्यको चिन्ता पनि गर्न पुग्नुहुन्छ।

तत्कालीन भारतका नीतिहरुको, यसका शाशकहरुको मानसिकताको र उनीहरुको नेपालप्रतिको ब्यबहारको सटीक विश्लेषण छ धेरै ठाऊँमा, भारतीय मानसिकतालाई उहाँ “bully or slave” ले संक्षिप्तीकरण गर्नुहुन्छ। उहाँको विश्लेषण अहिलेपनि उत्तिकै सान्दर्भिक लाग्छ, किनभने भारतको नेपालप्रतिको ब्यबहार अहिलेपनि उस्तै छ। उहाँ जहिले पनि पूर्ण रुपमा भारतआश्रित हुने मानसिकताको विरोधमा देखिनहुन्छ, र राजा महेन्द्रको प्रतिगामी कदमपछिको प्राजातान्त्रिक आन्दोलन सशक्त र सफल हुन नसक्नुको प्रमुख कारणका रुपमा त्यतिखेर जेल बाहिर रहेका नेताहरु बढी भारतआश्रित हुनु र सबै कुरा “भारतको डालोमा” हाल्नुलाई मान्नुहुन्छ। हाम्रा यतिखेरका नेताहरु पनि झन्-झन् भारतआश्रित हुँदै गएका छन्। हाम्रा नेताहरुमध्ये धेरैजसोले त यो जेल जर्नल पढे होलान् भन्ने कुरामा पनि शंका लाग्छ मलाई। पढेमा तिनले धेरै कुरा जान्ने थिए।

त्यतिखेरको चीन-भारत युद्धको प्रसंगमा पनि उहाँले भारतीय नीति र मानसिकताको विश्लेषण गर्नुभएको छ र भारतीयहरुको हारको कारण खोज्नु भएको छ। चीन-भारत युद्धको प्रसंगमात्रै होईन अरु धेरै ठाऊँमा उहाँले नेहरुको ब्यक्तित्व र उनका कमजोर पक्ष-सशक्त पक्षको तुलना गर्नुभएको छ र राष्ट्रिय-अन्तर्राष्ट्रिय रुपमा जति ठूलो ब्यक्तित्व प्राप्त गरे पनि नेहरुलाई “---- पूर्णांक दिन सकिन्न---“ भन्नुभएको छ। यहीँ उहाँले स्वाधीनतापछिका १५ वर्ष भारतमा एकछत्र राज गरेका नेहरुका मुख्य कमजोरीहरुलाई सूचिबद्ध पनि गर्नुभएको छ।

बीपीले अरुका कमजोरीको मात्र विश्लेषण गर्नुभएको वा अरुलाई मात्रै आलोचना गर्नुभएको होईन, यो किताबको मूल विशेषता र महानता त बीपीले आफ्नै कमीकमजोरीमाथि गर्नुभएको खुल्ला विवेचना हो। ब्यक्तिगत कमजोरीहरुदेखि लिएर एउटा दलका रुपमा कांग्रेसका कमजोरी र आफ्नो सरकारका कामजोरीसम्मलाई उहाँले केलाउनुभएको छ र कमजोरी र गल्तीहरुबाट सिक्ने प्रण गर्नुभएको छ। उहाँ दुनियाँले आफूलाई आफ्ना गुण र दोषका आधारमा सन्तुलित मूल्यांकन गरोस् भन्ने चाहनाबाट प्रेरित हुनुहुन्छ र केहि पनि लुकाउनुभएको छैन।

जेलभित्रै बसेर पनि उहाँले आफूलाई अन्तर्राष्ट्रिय घटनाक्रमहरुको बारेमा पनि सुसूचित पारीरहनुभएको देखिन्छ। तत्कालीन अमेरिकी राष्ट्रपति केनेडीको मृत्यु, भियतनाम युद्ध, क्युबाको संकट, युगाण्डाका घटनाहरु आदिका बारेमा चर्चा गर्नुभएको छ।

बीपीको पारिवारिक ब्यक्तित्वका बारेमा पनि धेरै बुझ्न सकिन्छ यहाँ। एउटा पुत्रको रुपमा बीपी, एउटा पतिको रुपमा बीपी र एउटा पिताको रुपमा बीपी; तिनै भूमिकाका बारेमा उहाँले धेरै लेख्नुभएको छ। लामो जेलजीवनका कारण आफूले तिनै भूमिका राम्रोसंग निभाउन नपाएको गहिरो पिडाबोधलाई ब्यक्त गर्नुभएको छ धेरै प्रसंगहरुमा। आफ्ना छोराछोरीहरु हुर्केको हेर्न नपाएको, तिनलाई यथोचित निर्देशन गर्न नपाएको पिडाले जो कोहि पितालाई भित्रैसम्म घोच्नु स्वाभाविक छ। साथै परिवारका धेरैजसो पुरुषहरु जेल परेपछि र बाहिर बाँकीलाई पनि राज्यले कडा निगरानीमा राखेपछि कोइराला परिवारमा आईपरेको आर्थिक संकटले पनि उहाँलाई धेरै चिन्तित बनाएको छ।

आफ्नी आमाको दृढता, धैर्य र साहसबाट उहाँ नतमस्तक हुनुहुन्छ। विशेष गरी, पृष्ठ १३२र १३५ मा उहाँ आफ्नी आमासंगको आफ्नो सम्बन्धलाई र समग्र रुपमा मातृत्वको महानता-कोमलतालाई सुन्दर शब्दचित्र दिनहुन्छ।

यस्तै सुन्दर शब्दचित्र बनेको छ, उहाँले आफ्नी धर्मपत्नी सुशीलालाई आफ्नो जेल जीवनको नीरसताका बारेमा लेखेको चिठ्ठी। यो चाहिँ जर्नलको अन्त्यतिर अंग्रेजीमा छ। चिठ्ठीजस्तो मात्रै लाग्दैन यो, अन्तर्मनको गहिराईबाट उब्जेको कुनै सुन्दर कविताजस्तो लाग्छ।

जेल जीवनमा उहाँले प्रशस्त पढ्नुभएको छ र आफूले पढेका धेरै किताबहरुको बारेमा लेख्नुभएको छ। साथै, आफ्नो लेखन वा लेखनका प्रति आफ्ना धारणा आदिलाई पनि हाम्रा सामु राख्नुहुन्छ। उहाँ साहित्यका बिभिन्न विधाहरुमध्ये कथामा धेरै खुल्न सक्ने पाउनुहुन्छ आफूलाई र लेख्नुहुन्छ “---कथा मेरो आफ्नो माध्यम हो क्यार      “। साथै जेल जीवनमा उहाँले किन राजनीतिक विषयमा कलम धेरै चलाउनुभएन/चलाउन सक्नुभएन भन्ने बारेमा पृष्ठ १९४-१९५ मा लेख्नुभएको छ। राजनीतिलाई उहाँ एउटा गतिशील र निरन्तर सम्झौताहरु गरीरहनुपर्ने पेशा/क्षेत्र मान्नुहुन्छ र कारावासको एकान्तमा यसका बारेमा लेख्न साहित्य वा दर्शनका बारेमा लेखेजस्तो सजिलो नहुने र लेखेपनि यथार्थको नजिक नहुने ठान्नुहुन्छ।

जेल जर्नलभरि तत्कालीन नेपालका, विशेषगरी राजनीतिमा संलग्न थुप्रै पात्रहरुको उल्लेख हुनु स्वाभाविक हो। बीपीले कतिलाई प्रशंशा गर्नुभएको छ र कतिको कटु आलोचना पनि गर्नुभएको छ। नोना कोइराला, रोशा कोइराला, शैलजाको धेरै प्रशंशा गर्नुभएको छ। बाहिरी संसारसंगको बीपीको प्रमुख सम्पर्क सूत्र रोशाजी हुनुहुँदोरहेछ र बीपीले उहाँको उच्च मूल्यांकन गर्नुभएको छ। जेल जर्नलभरि रमेशनाथ पाण्डे पनि छाएका छन्, जसलाई बीपीले रमेश भनेर सम्बोधन गर्नुभएको छ। उनी ज्वरोले थलिएर बर्बराऊँदा पनि बीपीकै नाम लिन्छन् भन्ने उल्लेख छ एक ठाऊँमा। उनी बीपी र राजा महेन्द्रका बीच संवाद गराउन र त्यसै माध्यमबाट बीपीलाई छुटाउन प्रयासरत देखिन्छन्। उनलाई निकै विश्वाश गर्नुभएको छ बीपीले। बाहिरबाट कसैले बीपीलाई पठाएको एउटा चिठ्ठीमा भने उनको ‘डबल रोल’ को बारेमा हल्ला चलेको कुरा उल्लेख छ। के आई सिंहलाई बीपीले मन पराऊनुहुँदो रहेनछ, उनलाई भारतीय एजेण्ट भन्नुभएको छ एक ठाऊँमा।

बीपी र जेल बाहिरका उहाँका सहयोगीहरुको सम्पर्कका क्रममा बनेको, तत्कालीन प्रशाशनलाई झुक्याएर बिभिन्न जानकारीहरु संग्रह गर्नका लागि प्रयोग गरिएको कोड प्रणालीको झलक पनि पाईन्छ संवादहरुमा   

दैनिक जीवनमा हामीले सहजतासाथ प्रयोग गर्न थालेका कतिपय शब्दहरुलाई शुद्ध नेपाली/संस्कृतमा लेख्ने कोशिश पनि छ उहाँको। जस्तो; breakfast लाई ‘प्रातराश: भोजन’, setback लाई ‘प्रगतिरोध’, evening talk लाई ‘सन्ध्यालाप’, manipulate लाई ‘हस्तचालन’ आदि। ‘नेपालमै हुर्कन र समाज बुझ्न, नेपाली भाषाको स्थानीय रंग र सुक्ष्मता बुझ्न नसकेको’ पिडा ब्यक्त गर्नुभएको छ एक ठाऊँमा र उहाँ आफ्नो नेपाली भाषा सुधार्न संस्कृत साहित्यको अध्ययन गर्ने, अझ संस्कृत श्लोकहरु घोक्ने विचार गर्नुहुन्छ।

अब उहाँका सटीक टिप्पणीका अरु केहि उदाहरणहरु।

लेखनका बारेमा- “भाषा र भावलाई लेखकले आफ्नो कलमको जूवामा जोख्न सक्नुपर्छ।“
जेलमा केहि नगरी बितेको एक दिनको आफ्नै स्थितिमाथिको ब्यङ्ग्य- It is a discovery to me that one can pass the day without work.”
स्वतन्त्रताको महत्वका बारेमा- "-----it is only in freedom that one acquires virtues of character. This applies to a nation also, a nation without liberty can't be a nation with character."
---------------------------------------------------------------
जेल जर्नलको समीक्षा होईन यो, म आफूलाई त्यो क्षमताको पनि मान्दिन। बीपीमय भएको मेरो मनका भावनालाई यहाँहरुसंग बाँड्न चाहेको मात्रै हुँ। जेल जर्नलको सुन्दर भूमिका गणेशराज शर्माज्यूले लेख्नुभएको छ । उहाँको भूमिकाबाट जेल जर्नल र बीपीसंग सम्बन्धित अरु धेरै कुरापनि तिनका पृष्ठभूमिसहित थाहा हुन्छन्, । यस्तै कमल दिक्षितज्यूले पनि अर्को समीक्षात्मक भूमिका लेख्नुभएको छ।  
--------------------------------------------------------------
तपाईँले पढ्नुभएको छैन भने पढिहाल्नुस्। यो एउटा छुटाउन नहुने, पढ्नैपर्ने र साथमा राख्नैपर्ने कृति हो।