April 28, 2019

हुने नहुने


हुने नहुने सबै सबै काम गरेको छु
यो प्यार जोगाउन खुब इन्तजाम गरेको छु
कस्सम आफैंलाई कहिल्यै ढाँटेको छैन
दुनियाँसंग जरुर थोरै छलछाम गरेको छु
कोहि हिँडेको थियो यो बाटोमा कुनै दिन
उसका पद चाप खोजी खोजी सलाम गरेको छु
बाँच्नु भन्नु भित्र भित्रै मर्नु हो रहेछ
पटक पटक यो मनको कत्लेआम गरेको छु

April 26, 2019

अङ्ग्रेजी – साधन कि साध्य ?


“हाम्रो ‘समर भ्याकेसन’ ‘फिफ्टीन डेज’ को छ ।“
मेरो ‘फेभरेट स्पोर्ट्स’ ‘स्विमिङ्ग’ हो ।“
“म ‘नेप्लीज सङ्’ सुन्दिन । ‘इङ्लिस सङ्’ मन पर्छ ।“
आजभोलिका बालबालिकाले बोल्ने ‘नेपाली’ यस्तै हुन्छ ।
“सत्सठ्ठी भनेको ‘सिक्स्टी टु’ हो ?” तपाईँले सत्सठ्ठी सालको कुनै घटनाको कुरा गर्दै हुनुहुन्छ भने सुनीरहेका बच्चाहरुबाट यो प्रश्न आउन सक्ने संभावना धेरै छ ।

अहिलेका बच्चाहरु स्याऊ खाँदैनन ‘एप्पल’ खान्छन्, भात खाँदैनन् ‘राइस’ खान्छन् । अंक र संख्यालाई त नेपालीमा भन्न जान्दै-जान्दैनन्। हाम्रा बच्चाहरु गतिलोसंग नेपाली बोल्न जान्दैनन्, खासमा गतिलो अङ्ग्रेजी पनि उनीहरु बोल्न सक्दैनन् । उनीहरुको नेपाली शब्द भण्डार अत्यन्त सानो छ र उनीहरुको बोली ‘नेपाङ्ग्रेजी’ छ । उनीहरुले गतिलो नेपाली नबोली टुटेफुटेको अङ्ग्रेजी ओकलेकोमा गर्वबोध गर्ने अभिभावकहरुको संख्या बढ्दै छ, त्यो प्रवृत्तिलाई शिक्षक र विद्यालय सञ्चालकहरुले सक्दो मलजल गरीरहेका छन् । अङ्ग्रेजी अहिले आएर बालबालिकामाथि थप सजाय दिइने कारण समेत बनेको छ । कतिपय विद्यालयमा अङ्ग्रेजी मात्रै बोल्ने उर्दी जारी गरिएको हुन्छ, कुनै विद्यार्थीले झुक्किएर नेपाली बोलिहाले उसलाई जरिबाना गरिन्छ वा शारीरिक सजाय दिइन्छ ।

प्रख्यात हास्यब्यङ्ग निबन्धकार स्व भैरव अर्यालको ‘महापुरुषको संगत’ भन्ने रचनामा एकजना पात्र छ ‘मिष्टर ड्याहाल बौ’ । त्यो पात्र आफ्ना छोराछोरीलाई नेपाली बोल्नै दिएन भने मात्र उनीहरुको अङ्ग्रेजी राम्रो हुन्छ भन्ने ठान्छ । हामी शिक्षक र अभिभावकहरु अहिले त्यहि मिष्टर ड्याहाल बौ बनेका छौं ।

यसरी हामी यस्तो पुस्ता हुर्काइरहेछौं जसले नेपाली साहित्य पढ्नेछैन, नेपाली सिनेमा हेर्नेछैन र नेपाली सन्दर्भको कला बुझ्नेछैन । यसको संकेत बुझ्न कुनै ठूलो किताब पसल वा कुनै पुस्तकालयमा पसेर एकाध घण्टा निरीक्षण गरे पुग्छ, २५ वर्ष मुनिका युवाहरु नेपाली पुस्तकहरु राखिएको खण्डतिर जाँदै-जाँदैनन, उनीहरु सोझै अङ्ग्रेजी पुस्तकपत्रिका भएतिर बत्तिन्छन् । आफ्नै भाषानै नबुझ्ने यस्तो पुस्तामा हाम्रो समाजको परम्परागत ज्ञान हस्तान्तरण हुने सम्भावना पनि छैन र यस्तो पुस्ताले हाम्रो समाजका सबलता र कमजोरीहरुको बिश्लेषण गर्ने कुरामा चासोपनि देखाउने छैन ।

अर्को एउटा प्रसङ्ग पनि । केहि समय पहिला पत्रपत्रिकाहरुमा कुसुण्डा भाषा लोप हुन लागेको विषयमा समाचारहरु छापिएका थिए । कुसुण्डा भाषा बोल्न जान्ने दुईजना दिदीबहिनीमात्र बाँकी रहेको र उनीहरुपछि त्यो भाषाको अस्तित्व सकिने चिन्ता व्यक्त गरिएको थियो उक्त आलेखमा । त्यसको केहि समयपछि भाषा आयोगले कुसुण्डा भाषा जोगाउन  ट्युशन कक्षाको योजना ल्यायो । कुसुण्डा भाषालाई पहिलेदेखिनै सञ्चार माध्यमहरु र देशको शिक्षानीतिसंग जोड्न सकेको भए यसरी ट्युशन कक्षानै चलाउनुपर्ने स्थिति आउने थिएन । देशका अरु थुप्रै भाषाहरु पनि लोप हुने संघारमा छन्, तिनको संरक्षणका लागि काम गर्न शुरु गरिएन भने कुसुण्डा भाषाकै जस्तो स्थिति आउनेछ ।   

यस्तो परिश्थितिको जग भनेको हामीले अँगालेको कथित अङ्ग्रेजी माध्यमको शिक्षा हो । २००७ साल पछि हामीले पश्चिमी शिक्षा पद्धति अँगाल्यौं । त्यतिखेर उपनिवेशवादबाट मुक्ति पाएका अरु धेरै एशियाली, अफ्रिकी देशहरुले पनि पश्चिमा शिक्षा पद्धति अँगाले तर उनीहरुले पश्चिमा समाजमा उत्पादित ज्ञानलाई आफ्नो भाषामा अनुवाद गरे र आफ्नै भाषालाई पठनपाठनको माध्यम बनाए । हामीले भने वैज्ञानिक र प्राविधिक शिक्षाका लागि अङ्ग्रेजीलाईनै माध्यम बनायौं । यसका कारण हाम्रो भाषाको वैज्ञानिक र प्राविधिक शब्द भण्डार बढ्न सकेन । बिस्तारै गैर प्राविधिक विषयलाई पनि अङ्ग्रेजी माध्यममा पढाउने प्रचलन शुरु गर्‍यौं हामीले, अहिले लगभग सबै विषयको शिक्षण माध्यम अङ्ग्रेजी बनीसकेको छ ।

यतिखेर सबै निजी विद्यालयहरु र धेरै सामुदायिक विद्यालयहरुले अङ्ग्रेजी माध्यममा शिक्षा दिने भनेर विद्यार्थी बटुलेका छन् । यो कथित अङ्ग्रेजी माध्यमको शिक्षामा एउटा ‘नेपाली’लाइ छोडेर बाँकी सबै विषयहरु अङ्ग्रेजीमा पढाइन्छ, सामाजिक शिक्षाजस्तो प्रत्यक्षत: आफ्नो समाज र संस्कृतिसंग जोडिएको विषयलाइ समेत विद्रुप अनुवाद गरेर अङ्ग्रेजीमा पढाइन्छ । नेपाली पनि अत्यन्त कम महत्व दिएर पढाउनका लागि मात्रै पढाइन्छ । त्यसैले कतिपय ‘राम्रा’ भनिने विद्यालयका विद्यार्थीहरुको ‘नेपाली’ अत्यन्त कमजोर हुने र विद्यार्थीले नेपालीको ट्युशननै पढ्नु पर्ने बिडम्बनायुक्त स्थिति सृजना भएको छ । जनप्रतिनिधिहरुलेनै यो प्रवृत्तिलाई बढावा दिन थालेको पनि देखिएको छ। कास्की जिल्लाका सबै गाउँपालिकाहरुले अङ्ग्रेजी माध्यममा पढाउने सम्बन्धी सामूहिक घोषणानै गरेको समाचार आएको थियो केहि समय पहिला

विगत दुइ सय वर्ष यताको इतिहास अङ्ग्रेजी भाषाको दबदबाको इतिहास हो । प्रमुख शक्तिराष्ट्रको रुपमा बेलायतको उदय र उसको विश्वब्यापी उपनिवेश संजालका कारण अङ्ग्रेजी भाषा संसारभरि सजिलै फैलियो । फ्रेन्च, स्पेनिश र पुर्तगाली भाषाहरु पनि फैलिए । अङ्ग्रेजहरु सामरिक र आर्थिक दृष्टिले मात्र बलिया भएनन् यो अवधिमा । दर्शन, साहित्य, कला, संगीत, विज्ञान, इञ्जिनियरिङ्ग, राजनीतिक प्रणालीको आधुनिकीकरण, खेलकूद आदि सबै क्षेत्रमा पनि उनीहरु अब्बल भए । यसैले ज्ञानको उत्पादन र प्रयोगमा उनीहरु अगाडि भए र बाँकी विश्वले उनीहरुलाई पछ्याउनुपर्‍यो । दोश्रो विश्वयुद्धपछि पनि अङ्ग्रेजीभाषी राष्ट्र अमेरिका सर्वशक्तिमान र नेतृत्वदायी बन्यो । क्यानडा, अष्ट्रेलिया र न्युजिल्याण्डजस्ता देशहरु पनि धनी र शक्तिशाली बने । यिनै कारणहरुको जोड हो अहिलेको विश्वमा अङ्ग्रेजी भाषाको प्रभाव

तर यसको अर्थ संसारमा अङ्ग्रेजी मात्र बाँकी छ वा हुनुपर्छ भन्नेचाहिँ होइन । मातृभाषीको संख्याकै कुरा गर्ने हो अङ्ग्रेजी तेश्रो हो, संसारमा चिनियाँ र स्पेनी बोल्नेहरु अङ्ग्रेजी बोल्नेभन्दा धेरै छन् । हिन्दी र पोर्चुगाली भाषा बोल्नेको संख्या पनि कम छैन । अरबी बोल्नेहरुको संख्या पनि धेरै छ  र यसले ओगटेको भूगोल पनि ठूलो छ । बिश्वको सम्पर्क भाषा वा अन्तर्राष्ट्रिय भाषाको रुपमा सधैंभरि अङ्ग्रेजी नै रहन्छ भन्ने छैन । विगतमा अरु भाषा अन्तर्राष्ट्रिय भाषा थिए र भविष्यमा अर्को कुनै भाषाले अङ्ग्रेजीलाई विस्थापित गर्ने पनि निश्चित छ । विश्वका सबै प्रमुख भाषाहरुमा त्यो सामर्थ्य र सम्भावना छ ।

कुनै पनि भाषा मानव समाजको सम्पत्ति हो । समाजले हजारौं वर्ष लगाएर आर्जन गरेको अनुभव र ज्ञानको सङ्ग्रह हो भाषा । सभ्यता, संस्कृति र परम्परालाई बोली दिने भाषाले नै हो । हाम्रो देशभित्र बोलिने हरेक भाषाहरु यसैले हाम्रा अमूल्य निधि हुन्, हामीले तिनलाई लोप भएर जान दिनु हुँदैन । हामी विज्ञान र प्रविधिमा पछि परेको कारण भाषा होइन । आधुनिक विज्ञान र प्रविधिमा दक्ष हुन  आफ्नो भाषा र संस्कृतिलाई निमिट्यान्न पार्नुपर्दैन भन्ने कुरालाई जापान, कोरीया, चीन, सिंगापुर आदिले देखाइसकेका छन् । सही राजनीतिक र सामाजिक व्यबश्थापन हुने हो भने हाम्रो समाज पनि विज्ञान र प्रविधिमा अघि बढ्न सक्छ, भाषाकै कारणले रोकिने छैन । केहि प्राविधिक ज्ञान हाम्रो समाजले उत्पादन गर्दै नगरेको पनि होइन । हाम्रो शिक्षाको अधकल्चो अङ्ग्रेजीकरणका कारण हाम्रो विगतका यस्ता उपलब्धि पनि हामीले बिस्तारै गुमाउँदै छौं ।

जर्मनी, फ्रान्स, इटाली, स्पेन, पोर्चुगल, नर्वे, स्विडेन, डेनमार्क, फिनल्याण्ड आदि जस्ता यूरोपका धेरै विकसित देशको प्रमुख भाषा अङ्ग्रेजी होइन । यी देशहरुको शिक्षा प्रणालीको माध्यम पनि अङ्ग्रेजी होइन आफ्नै भाषा हो । अमेरिका लगायतका विकसित देशमा  विद्यार्थीहरुलाई बहुभाषामा दक्ष हुन प्रोत्साहित गरिन्छ । हामी भने अङ्ग्रेजीलाई नै साध्य मानेर दौडिरहेका छौं र यस क्रममा आफ्नै भाषाहरुलाई बिर्सन खोज्दैछौं ।

शिक्षाको माध्यमका रुपमा अङ्ग्रेजीलाई लादेर ‘ड्याहाल बौ’ शैलीमा बच्चालाई अङ्ग्रेजी रटाउँदैमा हाम्रो अङ्ग्रेजी राम्रो भएको पनि छैन । गैर अङ्ग्रेजी मातृभाषी देशहरुको अङग्रेजी भाषा क्षमताको मूल्याङ्कनमा स्विडेन, नेदरल्याण्ड, डेनमार्क, नर्वे जस्ता देशहरु उत्कृष्ट रहँदै आएका छन् । यी देशहरुको शिक्षा प्रणालीको माध्यमभाषा अङ्ग्रेजी होइन । त्यसैगरी, अङ्ग्रेजीलाई देशको शिक्षा प्रणालीको प्रमुख माध्यम नबनाउँदैमा कुनै देशको विज्ञान-प्रविधि क्षमता कमजोर बन्छ भन्ने पनि छैन । यतिखेर, संसारका सबैभन्दा ‘इन्नोभेटिभ’ देशहरुको सूचिको माथिल्ला स्थानमा कोरीया, स्विडेन, जर्मनी, स्वीजरल्याण्ड, जापान, इजरायल आदि छन् । यी सबै देशको शिक्षा प्रणालीको माध्यम भाषा अङ्ग्रेजी होइन । देशको विज्ञान प्रविधिको क्षमता अङ्ग्रेजीमा पढाएर मात्र बढ्ने होइन, यसका लागि राज्यको लगानी, दिर्घकालीन प्रतिबद्धता र अनुसन्धानको संस्कृति चाहिन्छ।

शिक्षा पेशेवरहरु उत्पादन गर्ने प्रकृयामात्र होइन, यो समाजको संस्कृति, परम्परागत ज्ञान र सीपलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने प्रकृया पनि हो । हस्तान्तरणको यो प्रकृयाको सबैभन्दा ठूलो माध्यम भनेको भाषा नै हो । स्थानीय भाषालाई माध्यम नबनाउने मात्र होइन त्यसलाई अत्यन्त कम महत्व दिने हाम्रो शिक्षा प्रणालीका कारण हाम्रा सन्त्ततिले आफ्नो भाषा गतिलोसंग सिकिरहेका छैनन् । नयाँ पुस्ताले आफ्नो भाषा गतिलोसंग नसिकेपछि संस्कृति र परम्परागत ज्ञान र सीप पनि हस्तान्तरण नभई हराएर जान्छन् । के यो हाम्रो अस्तित्वमाथि हामीले नै गरीरहेको गम्भिर प्रहार होइन?

पङ्क्तिकारको आशय अङ्ग्रेजी पढाउँदै नपढाउने भन्ने कदापि होइन । बालबालिकालाई अङ्ग्रेजी पढाउनुपर्छ र उनीहरुलाई पोख्त बनाउनु पर्छ । सम्भव भएसम्म अरु विदेशी भाषा पनि सिकाउनुपर्छ । तर यो क्रममा हामीले नेपाली भाषा र देशका बिभिन्न भागमा बोलिने स्थानीय भाषाहरुलाई उपेक्षा गर्नु हुन्न ।

नेपाल एउटा बहुभाषिक देश हो । यति सानो भूगोलभित्र पनि सय भन्दा बढी जीवित भाषाहरु अस्तित्वमा रहनु हाम्रो सौभाग्य हो । हाम्रा सम्पत्ति यी भाषाहरुको संरक्षण र विकास जरूरी छ । कुनै पनि भाषाको संरक्षण र विकासका लागि त्यो भाषालाई पठनपाठनको माध्यम बनाउनु पनि महत्वपूर्ण हुन्छ, वक्ता थोरै भएको भाषाका हकमा त यो झन् अत्यावश्यक छ । यसैले पूर्व प्राथमिक तहको शिक्षालाई तुरुन्तै मातृभाषाको माध्यममा लैजानुपर्छ । अहिले बच्चाहरु कम्तिमा तीन वर्ष पूर्व प्राथमिक तहमा पढ्छन् । शिक्षाको पहिलो तीन वर्ष मातृभाषामा मात्रै पढाउनु पर्छ र त्यसपछि मात्र अरु भाषा सिकाउनुपर्छ भन्ने विश्वब्यापी अवधारणा बनीसकेको छ । अङ्ग्रेजी पढाउन कक्षा एक वा त्यसपछिबाट मात्रै शुरु गर्दा पनि फरक पर्दैन । प्राथमिक तहसम्म मातृभाषा र (खस) नेपालीलाई मुख्य रुपमा र अङ्ग्रेजीलाई एउटा विषयको रुपमा मात्र पढाउनुपर्छ । मातृभाषामा शिक्षा दिँदा पठनपाठन प्रभावकारी हुने र बालबालिकाको सिकाइ राम्रो हुने अनुसन्धानहरु र विगतका अनुभवबाट प्रमाणित भइसकेको छ । यस बारेमा यूनेस्कोका धेरै प्रकाशनहरु उपलब्ध छन् । । हाम्रै देशमा पनि अनुसन्धानहरु भएका छन् । मातृभाषामा शिक्षा उपलब्ध हुँदा बालबालिकाले बीचैमा पढाइ छोड्ने दरमा पनि धेरै कमी आएको देखिएको छ ।

अर्को तर्फ कुनै पनि ब्यक्ति आफ्नो मातृभाषामा जति धेरै दक्ष भयो, उसको अर्को भाषा सिक्ने क्षमता पनि उति नै बढ्ने कुरा पनि अनुसन्धानहरुबाट प्रमाणित भइसकेको छ । यसरी हामीले बच्चाहरुलाई उनीहरुको मातृभाषामा आधारभूत तहको शिक्षा दिन सक्यौं भने प्रकारान्तरमा त्यसले उनीहरुको अङ्ग्रेजी सिक्ने प्रकृयालाई पनि सघाउने छ ।

घरमा खस नेपालीनै बोल्ने बच्चाहरुलाई पनि आधारभूत तहसम्म एउटा विषयका रुपमा स्थानीय भाषा पढाउँदा सामाजिक अन्तर्कृया र सांस्कृतिक आदानप्रदानमा बृद्धि हुन्छ, जुन हाम्रो समाजमा विद्यमान कतिपय पूर्वाग्रहहरु हटाउन र सामाजिक सद्भाव बढाउन सहायकसिद्ध हुने छ ।

माध्यमिक तहमा कुन-कुन विषय नेपालीमा पढाउने, कुन-कुन विषय अङ्ग्रेजीमा पढाउने र कुन-कुन विषयको अध्यापनको माध्यम रोज्न विद्यालयहरु स्वतन्त्र हुने भन्ने बारेमा राज्यको स्पष्ट नीति हुनुपर्छ र यो नीतिलाई सरकारी र निजी सबै विद्यालयहरुले समान रुपमा पालन गर्नुपर्छ ।  स्नातक तहबाट भने रोजेको विषय अनुसारको भाषा निर्धारण गर्न सकिन्छ । धेरै जसो प्राविधिक विषयको स्नातक तहमा अहिले नेपाल र नेपाली समाजसम्बन्धी कुनै विषय पनि पढाइन्न । यस्ता धारमा पनि नेपालीमै पढाउने गरी कम्तिमा एउटा विषय नेपाल र नेपाली समाजसम्बन्धी हुनुपर्छ ।

विज्ञान र प्रविधि सिक्न र बाँकी विश्वसंग संवाद गर्नका लागि हामीलाई अङ्ग्रेजी भाषा चाहिन्छ तर यो क्रममा हामीले हाम्रा आफ्नै भाषाहरुको पनि संरक्षण र विकास गर्नैपर्छ ।

- यो लेख 'अनलाइन खबर' ( https://www.onlinekhabar.com/2019/04/756715 ) मा प्रकाशित भएको थियो  ।