Showing posts with label समसामयिक. Show all posts
Showing posts with label समसामयिक. Show all posts

December 23, 2019

सडक – खाल्टा छन्, पेटी छैन

साढे दुई वर्ष अघि स्थानीय चुनावको आफ्नो ‘घोषणापत्र’मा तत्कालीन एमालेले ‘पोखराका सडकका खाल्टाखुल्टी २४ घण्टाभित्र पुर्ने व्यवस्था मिलाइनेछ ।‘ भनेर वाचा गरेको थियो । एमाले चुनाव जितेर महानगरको नेतृत्वमा पनि पुग्यो । मलाई लागेको थियो महानगरको यो नेतृत्वले यत्ति एउटा काम गर्दियो भने पनि ठूलै 'क्रान्ति' हुन्छ नेतृत्व पोखराप्रति कत्तिको संवेदनशील छ भन्ने कुरा यहि एउटा 'सानो' घोषणालाई पूरा गर्छ कि गर्दैन भन्नेबाटै थाहा हुन्छ घोषणापत्रका घघडान कुराहरु गर्न समय लाग्न सक्छ तर सडकका खाल्डाखुल्डीलाई २४ घण्टाभन्दा बढी टिक्न नदिएर नेतृत्वले आफ्नो उपश्थिति देखाउन सक्छ र जनतासंग जोडिन सक्छ । चुनावी वाचामा तोकेरै २४ घण्टा किन भनियो त्यो थाहा भएन तर हप्ता दिनभित्रै गर्दिए पनि ‘क्रान्ति’नै हो । चुनाव सकिएको केहि दिनपछि २०७४, जेठ १४ गतेका दिन यहि कुरालाई व्यक्त गर्दै मैले फेसबुकमा स्टाटस लेखेको थिएँ, “ठुला-ठुला घोषणा त पूरा हुँदै गर्लान् तर ‘सडकका खाल्डाखुल्डी (pothole) २४ घण्टाभित्र टालिने’ भन्ने ‘सानो’ कुरा पनि चाँडैनै व्यवहारमा देखियो भने मात्र पोखरा महानगरपालिकाको नयाँ नेतृत्व वास्तवमै प्रतिबद्ध रहेछ भनेर विश्वाश लाग्नेछ ।“

चुनावी प्रचारका दौरान ‘स्मार्ट सिटी’ लगायतका अनेक ठूला सपनाहरु पनि देखाइएका थिए । कार्यकालको आधा समय बितिसक्दा पनि महानगरले कुनै देखाउन लायक ‘सिग्नेचर’ काम गरेको देखिँदैन । ‘स्मार्ट’ सिटीको कुरा कहाँ पुग्यो त्यो महानगरको नेतृत्वलाई थाहा होला, तर हामीले चाहिँ शहरको स्वरुप बिगारेर झुण्डिएका तारहरुको ‘इन्द्रजाल’समेत जस्ताको तस्तै रहेको तितो यथार्थ देखेका छौं र भवन निर्माणको मापदण्डलाई पहुँचवालाले ‘धोती लगाइदिएको’ र शहर झन्-झन् अव्यवश्थित हुँदै गएको देखेका छौं । पोखराको यातायात अत्यन्त अव्यवश्थित र अराजक बन्दै गएको छ । बिहान र साँझको कार्यालय समयको चापमा मात्र होइन, दिउँसै पनि भद्रगोल देखिन्छन् पोखराका मुख्य चोक र सडकहरु । ‘पोखरा अर्को काठमाण्डौं बन्ने हो कि?’ भन्ने हाम्रो चिन्ताको अब कुनै अर्थ छैन र पोखरा अर्को काठमाण्डौं बनीसक्यो जस्तो लाग्न थालीसकेको छ । काठमाण्डौंको अनुभवबाट सिकेर पोखराले आफूलाई जोगाउने र एउटा योजनाबद्ध सुन्दर शहरको रुपमा विकास गर्ने अवसर गुमिसकेकै त होइन भन्ने प्रश्नले मनलाई बारम्बार घोचिरहन्छ अचेल ।

अहिलेलाई सडकका खाल्डाखुल्डीतिरै फर्कौं । पोखराका सडक र खाल्डाखुल्डी पर्यायवाची लाग्छन् । पोखरामा सडक होस् तर खाल्डाखुल्डी नहोस् – यस्तो सम्भव लाग्दैन । तर ‘खाल्डाखुल्डी २४ घण्टाभित्र पुर्ने’ वाचा गरेकाहरु महानगरको ‘सत्ता’मा पुगेपछि केहि आशा जागेको भने हो ।

म आफू दैनिक हिँड्ने बाटोको एक भाग, के. आइ. सिंह पुलदेखि सुन्दर फिडसम्मको लगभग ४०० मी. को बाटोमा स्थानीय चुनाव हुनुभन्दा केहि महिना पहिलेबाटै धेरै खाल्डाखुल्डीहरु देख्दै आएको थिएँ मैले । स्थानीय चुनावपछिको एक वर्ष बित्यो, डेढ वर्ष बित्यो तर त्यो खण्ड जस्ताको तस्तै रहिरह्यो । यो एउटा उदाहरणमात्रै हो पोखराका सडकको स्थितिको । पोखराका अरु भेगका सडकमा पनि खाल्डाखुल्डी धेरै देखिन्छन् र कतिपय ठाउँमा सडकको पीचमा खाल्डा परेको होइन, खाल्डामा अलिअलि पीच परेको हो कि जस्तो लाग्छ ! सामान्यतया यस्ता खाल्डाहरुको टालटुल बेलैमा गरिँदैन र बजेट सिध्याउने ‘असारे विकास’नै कुरिन्छ ।

२०७५ साल, मंसिर २ गते मैले त्यो सडकखण्डका सात ठाउँको तस्बिरसहित महानगरको ’२४ घण्टे’ चुनावी वाचा सम्झाउँदै एउटा फेसबुक स्टाटस लेखें र महानगर प्रमुखका स्वकिय सचिवलाई ट्याग गरें । कुनै प्रतिकृयाको अपेक्षा गरेको थिइन, तर स्वकिय सचिवज्यूले फोनमा र भेटमा छिट्टै काम गराउने वचन दिनुभयो । केहि समयपछि ती खाल्डाहरु टालेको देखियो । यो द्रूत प्रतिकृया र कामका लागि महानगरलाई धन्यबाद दिइयो । यसरी सामाजिक संजालमा उठाइएका सबै समस्यामा महानगरले चासो दिन्छ वा स्वकिय सचिवज्यूसंगको व्यक्तिगत चिनजानका कारण यो घटनालेमात्रै चासो पाएको हो, त्यो थाहा भएन तर

तर त्यो टालटुलले एक वर्षायाम पनि धानेन । गत असार नसकिँदै फेरि खाल्डा पर्न थाले त्यो सडकखण्डमा र दशैंसम्ममा जस्ताको तस्तै भयो । दशैं अगाडि एक दिन त्यहाँका १-२ खाल्टामा हिलो हालेर पुरिएको देखिएको थियो, जुन त्यहि रातको झरीमा बग्यो । हिलो हालेर खाल्डा पुर्ने काम महानगरले पक्कै गरेन होला । तिहारताकाबाट त्यो सडक खण्डका खाल्डाखुल्डी फेरि पुर्न थालियो । संसदीय उपचुनावसम्म लामाचौर देखि बगरसम्मकै सडकखण्डमा खाल्डा टाल्ने काम नियमित भइरहेको देखिन्थ्यो, अचेल देखिएको छैन ।

नियमित रुपमा टालिरहँदा सडक सडक होइन ‘टालाटुली बटुली’ बन्न पुगेको छ। थोरै खाल्डा हुँदा टालेर काम चल्न सक्छ तर सडकैभरि खाल्डैखाल्डा हुनु भनेको हाम्रो सडक निर्माणको खत्तम गुणस्तरको प्रमाण हो । यस पटक पनि टालेको ठाउँमै फेरि प्वाल पर्ने वा नयाँ खाल्टाहरु देखिन शुरु भइसकेको छ । बारम्बारको यस्तो हविगतले हाम्रो सडक निर्माण र सम्भार प्रकृयामाथिनै गम्भिर प्रश्न उठाएको छ ।

नेपालको सार्वजनिक संरचना निर्माणको गुणस्तर खत्तम छ भन्ने दुनियाँलाई थाहा छ । तर यस्तै हो भनेर चुप लागेर बसीरहँदा सधैं यस्तै भइरहन्छ । महानगरले आफ्नो बजेटले हुने निर्माणकार्यको गुणस्तर राम्रो राख्न सक्छ, चाहेमा त्यो कुनै ठूलो कुरा होइन । महानगरका जिम्मेवार व्यक्तिहरु कमिशनको खेलबाट मुक्त हुनुबाहेक केहि गर्नुपर्देन त्यसका लागि ।

अर्कोतिर, पोखराको जमीनको बनावट खुकुलो छ र यहाँ अत्यधिक पानी पर्छ । सडकमा बढी खाल्डाखुल्डी हुनुको अर्को कारण यो पनि हुनसक्छ । यसको निराकरणका लगि हामीले अहिलेसम्म पछ्याउँदै आएको सडक निर्माण प्रविधिलाई छोडेर नयाँ प्रविधि अँगाल्नुपर्ने हुनसक्छ । काठमाण्डौं वा बिराटनगरमा पछ्याएको प्रविधि यहाँ उपयुक्त नहुनसक्छ । आधुनिक सडक र यातायात प्रणाली अँगालेको झण्डै ४ दशकको अनुभवबाट सिकेर पोखराले आफ्ना लागि उपयुक्त सडक निर्माण प्रविधि खोजीसक्नुपर्ने हो अहिलेसम्म तर दु:खको कुरा त्यो हुन सकेन । पोखराको जस्तै जमीन र हावापानी भएका अन्य ठाउँहरुमा पछ्याइएको प्रविधि हेरेर पनि सिक्न सकिन्थ्यो, त्यता पनि ध्यान गएको छैन ।

सडक पैदलयात्रीको पनि हो कि होइन ?

केहि समयपहिला मापदण्डभन्दा धेरै साँघुरो सडकपेटी राखिएको विरोधस्वरुप काठमाण्डौंमा जनताले सडकपेटी भत्काइदिएका थिए । सडकपेटीनै नभएपछि कस्तो विरोधको शैली अपनाउनुपर्ने होला, त्यो चाहिँ पोखराका जनताले सोच्नुपर्ने भएको छ । 
पोखरामा पछिल्लो समय बनाइएका वा पीच गरेका सडकमा कतै पनि पैदलयात्री हिँड्नका लागि सडकपेटी राखिएको देखिँदैन । मैले माथि उल्लेख गरेको के. आइ. सिंह पुलदेखि सुन्दर फिडसम्मको खण्डमा बाटो फराकिलै छ तर सडकपेटी छैन । सुन्दर फिडबाट फाटेर लामाचौर र महेन्द्रगुफासम्म पुग्ने दुइ बाटामा पनि सडकपेटी छँदैछैन । बस्तीको बीच हुँदै जाने यी सडक शहरी सडक हुन्, राजमार्ग होइनन् । यी  बाटोमा पैदलयात्रीहरुको संख्या पनि उल्लेख्य देखिन्छ । पैदलयात्रीको संख्या कम नै भएपनि सुरक्षाको दृष्टिकोणले सडकपेटी अनिवार्य हुन्छ । यो भेगमा मात्र यस्तो होला भन्ने लागेको थियो तर केहि समय पहिला आँखा अस्पताल जाँदा त्यताको बाटोको पनि यस्तै हालत देखियो । रामबजार क्षेत्रतिर पनि यस्तै देखिन्छ । अमरसिंह चोकबाट रानीपौवासम्मको सडकखण्डमा पनि सडकपेटी छैन । महेन्द्रपुल, चिप्लेढुङ्गा, पृथ्वीचोक आदि मुख्य बजार क्षेत्रबाट भित्र पस्ने धेरै जसो सडकमै पनि सडकपेटी देखिँदैन।

अचेल पैदलयात्रीका लागि आवश्यक सडकपेटी साह्रै साँघुरो राख्ने वा राख्दै नराखी सडक निर्माण गर्ने प्रवृत्ति मौलाएको छ हाम्रो राज्यमा । झ्वाट्ट हेर्दा यो सामान्य लापरवाहीजस्तो लाग्नसक्छ, तर यो राज्यले गरीरहेको अत्यन्त गम्भिर अपराध हो । सडकपेटी नराख्नु भनेको आफ्नै सवारी हुने मान्छेका लागि मात्र सडक बनाउनु हो र पैदलयात्रा गर्नेहरुको नागरिकका रुपमा कुनै अधिकार र कुनै हैसियत छैन भन्नु हो । यो देशमा आफ्नै सवारी हुनेभन्दा नहुने धेरै छन् । पैदलयात्रा गर्नेहरु सामान्यतया निम्न आर्थिक स्थितिका हुन्छन्, यसैले सडकपेटी नराखी सडक बनाउनु भनेको राज्यले गरेको गम्भिर वर्गविभेद हो । दृष्टिवीहिनहरु समेत सहजै हिँड्न सक्ने गरी आवश्यक व्यबश्थासहित बनाइनुपर्नेमा सडकपेटीनै नराख्नु चरम संवेदनहीनता हो ।

सडकपेटी शहरी सडक डिजाइनको अनिवार्य भाग हो र यसका लागि निश्चित मापदण्ड तोकिएको हुन्छ । नेपालको शहरी सडक मापदण्डमा पैदलयात्रीको चाप हेरी न्यूनतम डेढ मीटर देखि अधिकतम तीन मीटर सम्मको सडकपेटी राख्नुपर्छ भनिएको छ । नेपालको कानूनले पनि यिनै मापदण्डलाई पछ्याएको छ । यसकारण सडकपेटी नराखी सडक निर्माण गर्नु भनेको कानूनको उल्लंघन हो, यो दण्डनीय छ । यो कुरामा महानगर र अन्य सरोकारवाला निकाय चाँडै ध्यान जाओस्, सडकपेटीकै लागि सडक प्रयोगकर्ता जनताले अदालतसम्म जानु नपरोस् ।

अर्को तिर, सडक पेटीले सडकलाई एक हदसम्म जोगाउने काम पनि गरेको देखिन्छ । सडक पेटी नभएको ठाउँमा सडक छेउछेउबाट पीच बिग्रने र झरीमा बग्ने गरेको धेरै देखिन्छ ।

केहि समय पहिलेमात्र चिप्लेडुङ्गा-महेन्द्रपुल वरिपरिको छँदाखाँदाको सडकपेटी भत्काएर ‘नयाँ’ बनाउने महानगर सडकपेटीनै नभएका ठाउँका लागिचाहिँ किन तात्दैन, अनौठो छ ।

(यो लेख केहि सम्पादन सहित २०७६, पुस ७ गतेको 'समाधान' राष्ट्रिय दैनिकमा प्रकाशित भएको छ।



September 30, 2019

शाकाहार - मानव चेतनाको गन्तव्य

पशुबलिलाई बेठिक भन्नु र शाकाहारको कुरा गर्नु भनेको राम्रै गाली खानु हो नेपालमा । झन् दशैंको बेलामा शाकाहारको कुरा गर्‍यो भने त मान्छेहरु उग्र भइहाल्छन् र ‘डलर खाएर’ हिन्दू धर्म ‘सिध्याउन’ लागेको आरोप लगाइदिन्छन् । उनीहरुका कुरा सुन्दा यस्तो लाग्छ, नेपालमा हिन्दू हुनु भनेको ‘जनावरको बलि दिनु’ र मासु लुछ्नु हो र त्यहि मात्र हो ।

बाल्यकालमा मैले अलि अलि मासु खाएँ । बाहुन परिवारमा जन्मे-हुर्केकाले खसी-बोकाको मासु मात्रै खान पाइन्थ्यो । नियमित खाने कुरा भने थिएन, मासु एउटा ‘विशेष’ खानेकुरा मानिन्थ्यो र चाडबाड, विशेष गरी दशैं, चैते दशैंमा यो अनिवार्य ठानिन्थ्यो । आक्कलझुक्कल अरु बेलामा पनि यो मुखमा पर्न आईपुग्थ्यो । यसरी हेर्दा मेरो बाल्यकाललाई म बढीमा १० प्रतिशत मात्रै मांसाहारी मान्न सक्छु । कुखुराको अण्डा समेत खान नहुने मानिन्थ्यो, तर गाउँका केहि ‘आँटिला’हरुले अण्डा र कुखुराकै मासु पनि खान थालीसकेका थिए । ती आँटिलामध्येमा पर्न आफूसंग भने गाँठ र आँट दुबै थिएन ।

शिक्षा र रोजगारीका लागि शहर पस्न थालेपछि काठमाण्डौंको काँठका बाहुनले खाने मासुको परिमाण पनि बढ्न थाल्यो । अत्यन्त ‘स्वादिष्ट’, ‘सम्मोहनकारी’ र ‘शक्तिशाली’ म:म लाई चिनेपछि त्यसबाट जोगिन को सकोस् ! खसी-बोकामात्रै खान पाउने भनेर तोकिएका बाहुनहरुले प्लेटका प्लेट ‘भैंसी’ पनि सखाप पार्न थाले । कलेज पढ्दाका तीन वर्षमा सय प्लेट चानचुन ‘भैंसी’ मेरा पेटमा पनि पसे हुनन् ।

स्नातक तहको अध्ययनका लागि २०४८ मा चीन पुगेपछि भने मासु धेरै खाइयो । चीनमा सागपातपनि धेरै प्रकारका पाईन्थे तर मासु धेरै सस्तो लाग्थ्यो। ‘चिनियाँहरुले उड्नेमा हवाईजहाज र हिँड्नेमा मोटर बाहेक जे पनि खान्छन् !’  भनेर हाँसो गर्थे त्यहाँ बस्ने विदेशीहरु । साँच्चै हो जस्तो लाग्थ्यो मलाई चिनियाँहरुको खानपीन हेर्दा । अहिलेको स्थिति कस्तो छ, थाहा भएन ।

चीनमा बस्दा कुखुरा र बुंगुरको मासु सबैभन्दा धेरै खाईयो । खसीको मासु महँगो पर्थ्यो । खसीको मासु सामान्यतया मुसलमानहरुले सञ्चालन गरेका पसलमा बढी पाइन्थ्यो । सेकुवा खान मन लागे हामी ती पसलहरुमा जान्थ्यौं । गाईको मासु खानबाट भने जोगिने सक्दो प्रयास गरियो । नेपालमा छँदा खाँदै नखाए बराबर थियो माछा, चीनमा त्यसको पनि परिमाण बढ्यो । नेपाल फर्केपछि कुखुरा र खसीको मासुलाई मात्रै निरन्तरता दिईयो ।

दोश्रो प्रवासका लागि २०५९ मा जापान पुगेपछि फेरि चीनकै जस्तो स्थिति दोहोरियो । त्यहाँ पनि माछा-मासु नखाई टिक्न नसकिने स्थिति छ । ‘शाकाहारी हुँ ।’ भनेर कसैले भन्दा धेरैजसो जापानीहरु छक्क पर्छन् र सोध्छन्; “अण्डा पनि खाँदैनस् ?” वा “माछा पनि चल्दैन ?” । कतिपय भोजनालयहरुमा मासु र आलु मिसाएर पकाएको तरकारीबाट आलुका टुक्राहरुमात्रै छानेर शाकाहारी व्यक्तिलाई दिईएका जस्ता कुराहरु पनि सुनिन्छन् । परम्परागत जापानी खानामा माछा र समुद्री जीवको प्राधान्यता छ तर गत शताब्दीबाट पश्चिमा खानाको प्रभावका कारण जापानमा मासुको खपत पनि धेरै बढी छ ।

जापानमा शाकाहारी खानाको अस्तित्वनै छैन होला भन्ने लागेको थियो मलाई तर नेपाल फर्कनुभन्दा केहि महिना अघि पुगेको एउटा बौद्ध मन्दिरले भने मेरो त्यो सोचाईलाई गलत साबित गरिदियो।एक शुभचिन्तक जापानी बृद्धाले लिएर गएकी थिईन् हामीलाई त्यो मन्दिरमा । आफूलाई कहाँ लगिँदैछ भन्ने बारेमा त्यति नबुझ्दा-नबुझ्दै पनि हामी उनको पछि लागेका थियौं, एउटा आईतवार बिताउनु थियो जसरी भएपनि ।

जापानी बौद्ध परम्पराका बिभिन्न सम्प्रदायहरुमध्ये कुनै एकद्वारा संचालित त्यो मन्दिर हँसमुख बुद्ध (Laughing Buddha) को रहेछ । प्रवचनकर्ताका अनुसार उनीहरु हँसमुख बुद्धलाई मैत्रेय बुद्ध मान्दा रहेछन् । पछि मैले ईण्टरनेटमा खोजेर पढेको थिएँ, यो मान्यता राख्ने बौद्धमार्गीहरु संसारका अरु केहि ठाउँमा पनि रहेछन् ।

मन्दिरमा भव्य र सुविधापूर्ण प्रार्थना र ध्यान कक्षहरु थिए। प्रवचनपछि  हामीलाई सामूहिक, व्यक्तिगत प्रार्थनामा सहभागी गराईयो र भोजनालायतिर लगियो । त्यहाँको भोजनालयमा पूर्ण शाकाहारी भोजन तयार हुँदो रहेछ । हामीकहाँ आफूलाई शाकाहारी भन्नेहरु गाईभैंसीको दूध भने खान्छन् तर त्यहाँ दूधसंग सम्बन्धित भोजन पनि छँदै थिएनन् । त्यो सम्प्रदायमा दूधलाई पनि मासुजस्तै मानिने रहेछ । खाना अत्यन्त सन्तुलित, पौष्टिक र स्वादिष्ट  थियो ।

त्यहाँको भोजनले मांसाहारलाई निरन्तरता दिन मेरो मनले बनाएका बहानाहरुलाई भने गतिलै धक्का दियो । त्यसको केहि वर्ष अघिबाट म मासु खानका लागि गरिने पशुपञ्छीको वध र तीनलाई दिईने यातनाका प्रति म संवेदनशील हुँदै गईरहेको थिएँ तर मासु छोड्न सकिरहेको थिईँन । मैले खोजेका बहानाहरु ‘माँसाहारजत्तिको पौष्टिक शाकाहार नहुन सक्छ’, ‘हामी शाकाहारी खानालाई मिलाएर बनाउन जान्दैनौं’, ‘जापानमा शाकाहारी हुनु असम्भव छ’ आदि प्रमुख थिए। तर उक्त मन्दिरमा पुग्ने संयोगले मलाई मेरो कमजोर ईच्छाशक्तिनै सबैभन्दा प्रमुख कारण हो मैले मासु छोड्न नसक्नुमा भन्ने बोध गराईदियो ।

केहि विशेष घटनाहरुले मान्छेको संवेदनालाई बढाईदिँदा रहेछन् । छोरीको जन्म एउटा यस्तै घटना बन्यो मेरा लागि । एउटा नयाँ मानवजीवनको शुरुवात र हुर्काईलाई नजिकबाट हेर्दाहेर्दै म सबै जीवनप्रति अझ संवेदनशील हुन थालें । मान्छे वा जनावर, सबैको जीवन उत्तिकै अद्वितिय, अनुपम सौन्दर्य हो भन्ने बोध गहिरो हुँदै गयो ममा । जीवनको हत्या घोर कुरुपता हो, यस्तो कुरुप कार्य जीवनप्रति कुनै संवेदनशीलता नभएको क्रुर मान्छेले मात्र गर्न सक्छ र कसैको हत्याबाट आफ्नो भोजन जुटाउनु मानवीय कर्म हुँदै होइन भन्ने मान्यता अब मेरो मनमा गहिरो गरी बस्यो ।

साउदी अरेबियामा कार्यरत एकजना भाइबाट एउटा ईमेल प्राप्त हुनु अर्को घटना बन्यो । त्यो ईमेल त्यहाँको एक बहुचर्चित नृशंश हत्याकाण्ड बारे थियो । केहि फिलिपिनोहरुले एकजना पाकिस्तानीको हत्या गरेर उसको मासु खाएका थिए र सम्पूर्ण गतिविधिहरुलाई क्यामेरामा कैद गरेका थिए । पछि ती नरभक्षीहरु समातिएपछि ती फोटोहरु बाहिर निक्लेका रहेछन् ।

भाइको ईमेलमा धेरै फोटाहरु थिए । मृत पाकिस्तानीको लाश काठको फलेकमा राखिएको, पहिला उसको घाँटी छिनालिएको, त्यसपछि क्रमैसंग हात खुट्टाहरु निकालिएको, उसको छाती फोरेर दुई भाग लगाईएको, भित्रका मुटु, कलेजा, फोक्सो आदि झिकिएको, आन्द्राभुँडी झिकिएको आदि अनेक फोटाहरु थिए। ती सबै राक्षसहरु अत्यन्त आनन्दित ‘पिकनिक’को मुडमा थिए, उनीहरुको अनुहारमा अलिकति पनि लज्जाबोध र डर थिएन । ती मध्येका केहि उक्त अभागी मान्छेको जननेन्द्रिय हातमा लिएर क्यामेरातिर फर्केर जिस्कँदै हाँसिरहेका पनि थिए । त्यहाँ आन्द्राभुँडी सफा गरिएका तस्बीरहरु पनि थिए, अनि केहि ठूला ड्रमजस्ता भाँडाहरुमा मासु पकाएको र अन्त्यमा गोलाकार बसेर सबैले मासु खाएका फोटाहरु पनि थिए । सबै घटनाक्रम खसी, बोका काटेर गरिनेजस्तै थिए।

एक-दुई दिनमा ती राक्षसहरुको पापको घैंटो फुटेछ । त्यो निर्दोष पाकिस्तानीको मासु खाने मध्येका केही, भोजन विषाक्तताको समस्याले गर्दा अस्पताल भर्ना भएछन् । त्यसपछि एक-एक गर्दै सबै कुरा बाहिर आएछ । साउदी सरकारले ती मध्ये धेरैलाई प्राणदण्ड दिएछ, बाँकीलाई लामो समयको कारावासको सजायँ दिएछ।

आङ्गनै सिरिङ्ग गर्ने तस्बीरहरु हेरेपछि मेरो मनस्थितिनै खल्बलिएको थियो केहि समय । त्यसपछिका दिनमा मासु खाँदा जहिलेपनि तिनै दृश्यहरु झल्झली आँखामा आउन थाले । मासु खान थालेपछि तिनै दृश्यहरु आँखामा आएर मनस्थिति खल्बलिने, एउटा एकदम अफ्ठेरो परिश्थितिमा बाँचें म धेरै दिन । ती तस्बीरहरु छउन्जेल बेला-बेला हेरिने र आफ्नो मनस्थिति खल्बलीइरहने भएकाले केहि समयपछि सबै तस्बीरहरु मेटें मैले । अरु कसैलाई पठाउँदा पनि पठाइँन मैले ती तस्बीरहरु, किनभने त्यस्ता तस्बीरहरु हेर्नु भनेकै पनि एउटा हिंसा आहार हो । फेरि कतिपय मान्छेमा ठूलो  मानसिक विचलननै ल्याइदिन सक्छन यस्ता तस्बीरहरुले । त्यसको केहि वर्ष पहिला इराकमा अन्सर-अल-सुन्नाका आतंककारीहरुले नेपाली दाजुभाईहरुको हत्या गरेको भिडियो पूरा हेर्ने आँट कहिल्यै गर्न सकिन मैले, जति हेरें त्यतिलेनै पनि धेरै दिन मानसिक विचलन भोगेको थिएँ ।

यी घटनाहरुले मलाई मानव र अरु जनावरको जीवनको समानता र महत्वप्रति संवेदनशील बनाए । ठाडो शब्दमा भन्दा मैले मान्छेको मासु र अरु जनावरको मासुमा भेद देख्न छोडें र मैले आफुलाई शाकाहारी बनाउने निधो गरें । दश वर्ष हुन लाग्यो, आफ्नो उक्त निर्णयमा म अडिग छु र शाकाहारबाट प्राप्त हुने शारीरिक, मानसिक र आध्यात्मिक लाभको प्रशश्त अनुभव गरीरहेछु । 

मानवजाति कहिलेदेखि मांसाहारी भयो अथवा यो मानवको रुपमा उभिएको शुरुवाती दिनदेखिनै मांसाहारी थियो वा थिएन भन्ने कुरा बहसको विषय हुन सक्छ । बौद्धिक विकास नभइसकेको आदिम मान्छेका लागि मांसाहार शायद बाध्यता पनि थियो किनभने उसले कृषिकर्म जानीसकेको थिएन र प्रकृतिमा उपलब्ध वनस्पतिहरुपनि चिनिसकेको थिएन । त्यो युगमा मान्छेले जनावरको मात्र होइन मान्छेकै पनि मासु खान्थ्यो । मासुकै कुरा भइसकेपछि जनावरको वा मान्छेको – खासै फरक नमान्दा हुन्छ । अहिले मान्छेले मान्छे खाने कुरा इतिहासको पानामा सीमित भईसकेको ठान्छौं हामी तर माथि उल्लेख गरिएको साउदी अरेबियाको घटनाले हामीलाई अर्कै सोच्न बाध्य बनाउँछ । तन्त्रका नाममा बच्चालाई बलि दिने घटना हाम्रै वरिपरि पनि यदाकदा देखिएकै छ । केहि समय अगाडिसम्म कुनै-कुनै समाजमा बच्चाको सालनालसमेत खाने गरिएको सुनिन्थ्यो । यस्ता कुरा अपवाद हुँदै गएपनि जनावहरुप्रतिको मानव व्यवहार भने अझै आमरुपमै अत्यन्त क्रूर र दानवीय छ । संसारभरि भोजनका लागि तुलनात्मक रुपमा सुधा र कमजोर जनावरहरुको यातनापूर्ण हत्या गरिन्छ, र धेरैजसो यस्ता हत्यालाई न्यायोचित ठहर्‍याउन धर्मको खोल ओढाउने गरिन्छ ।

गहनतम मानवीय संवेदनाले मांसाहारलाई कदापि स्विकार्न सक्दैन । प्रकृतिको सबैभन्दा चेतनशील प्राणीले अर्को चेतनाको हत्या गर्नु र आफ्नो भोजन बनाउनु यसै पनि विडम्बना हो । मानवीय चेतनाको लागि सुहाउने कुरा होइन यो । शारीरिक तहमै उभिएर हेर्दा पनि मांसाहार मानव शरीरका लागि आवश्यक छैन र यसले ठिक गर्दैन भन्ने प्रमाणित भइसकेको छ । जीववैज्ञानिकहरुका अनुसार मानव शरीरको बनावट, विशेष गरी मुख र पाचन प्रणालीको संरचना शाकाहारी भोजनका लागि उपयुक्त छ । प्रकृतिले मानिसलाई शाकाहारी जीवनको लागि तयार पारेको छ । मानिसले मासु खानुपर्ने कुरामा दिइने एउटा तर्क यसको पौष्टिकताको पनि हो तर अहिले मासुजत्तिकै वा त्यो भन्दा पनि बढी पौष्टिक शाकाहारी खानेकुराहरु जतिपनि भेटिन्छन् । त्यसैले पौष्टिकताकै लागि मासु खानुपर्ने र निर्दोष जनावरहरु मार्नु पर्ने कुरामा कुनै दम देखिँदैन ।

मान्छेले मान्छे खाने कुरा अपवादबाहेक नदेखिएपनि, नसुनिएपनि मान्छेले मान्छेसंग गर्ने व्यवहार भने झन्-झन् हिंसात्मक बन्दै गएको छ । चेतना माथिल्लो स्तरको हुँदै जाँदा र बुद्धिको विकास हुँदै जाँदा त समग्र मानवजाति अहिंस्रक बन्दै जानुपर्ने हो तर त्यो हुन सकेको छैन । मान्छेलाई मान्छे हुनबाट रोक्ने एउटा प्रमुख कारण मांसाहारनै हुनसक्छ । मासुको परिमाण बढाउन अचेल पशुपञ्छीलाई अनेक अप्राकृतिक खानेकुरा खुवाइन्छ र धेरै थरी एण्टिबायोटिक पनि दिइन्छ । मासु सेवनसंगै त्यस्ता तत्वहरु मानव शरीरमा प्रवेश गर्छन् । अर्कोतिर,  हत्या गरिँदाको क्षण पशुपञ्छीमा उब्जने भय र क्रोधभावका कारण तिनका शरीरमा थुप्रै विषाक्त रसायन निर्माण हुन्छन् । ती विषाक्त रसायन पनि मासु हुँदै मान्छेको शरीरमा प्रवेश गर्छन् । यस्ता रसायनहरुले मासुले मान्छेमा तनाव र चिन्ता बढाउँछन् र बिभिन्न रोगका कारण बन्छन्  । मासु खान पालिएका जनावरहरुका कारण संसारमा धेरै नयाँ-नयाँ रोगहरु पनि फैलिरहेका छन्। 

मांसाहारको पक्षमा दिईने अर्को एउटा तर्क हो, ‘मानवजातिले मांसाहार नगर्ने हो भने, पर्यावरणीय सन्तुलन (इकोसिष्टम) बिग्रन्छ। तर यो तर्कमा पनि कुनै दम छैन, किनभने जुन प्राकृतिक प्रणालीको सन्तुलनको कुरा गरिन्छ, त्यो प्राकृतिक प्रणालीबाट मानवजाति धेरै पहिले अलग भइसकेको छ । खेतीपाती गर्न जानेबाटै मानिस त्यसबाट अलग्गिएको हो । बाघभालूले मासु खान नपाउँदा तिनको अस्तित्वनै समाप्त हुन्छ, पर्यावरणीय सन्तुलन बिग्रने त्यो अवश्थामा हो, मान्छेले मासु नखाँदा पृथ्वीको पर्यावरणीय सन्तुलनको रौं पनि हल्लिँदैन ।

फेरि मान्छे जंगली जनावरहरुको शिकार गरेर पनि खाँदैन अचेल, ऊ त तुलनात्मक रुपमा सूधा र कमजोर जन्तुहरुलाई केहि समय पालेर, पछि धोकापूर्णतरिकाले मारेर खान्छ । यी जनावरहरुलाई तिनको प्राकृतिक जीवनशैलीबाट जबर्जस्ती तानेर घरपालुवा बनाएर उसले पृथ्वीको पर्यावरणीय सन्तुलनलाई पहिल्यै धेरै खल्बल्याईसकेको छ। उल्टो अब मासु खाने बहाना पनि त्यसैलाई बनाउन खोज्नु भनेको कुटिल चालबाजी मात्रै हो।

धेरैजसो धर्ममा देवताको नाममा पशुबली दिईन्छ, विगतमा देउताकै नाममा नरवलि पनि दिईन्थ्यो। ढुंगाको मूर्ति अगाडि निर्दोष र अबोध पशुहत्या गरेर धर्म कमाईन्छ भन्ने विडम्बनापूर्ण परम्परा छन् मान्छेका ! कतिपय मन्दिरहरुमा कुनै अबोध जनावरलाई जति धेरै यातना दिएर तड्पाई-तड्पाई मा-यो, त्यतिनै धर्म र पुण्य कमाईने विश्वाश गरिन्छ । के क्रूरता र हिंसा धर्म हो ? अनि हामीले आफ्नो क्रुरता र हिंसालाई छोप्न धर्म-परम्परा र कथित शास्त्रको गज्जबको खोलपनि तयार पारेका छौं । पशुबलिका विरुद्ध र शाकाहारका पक्षमा कसैले चुईँक्क बोल्यो कि शास्त्रको दुहाई दिँदै पाखुरा खैंचिदै आउनेहरु धेरै छन् । तर के कुनै पनि शास्त्र कुनै विषयको अन्तिम सत्य हुनसक्छ ? र अर्कोतिर, कुन शास्त्रको कुरा गर्ने ? शास्त्र त शाकाहारका पक्षमा पनि लेखिएका छन् । अझ खासमा भन्ने हो भने त इसाइ र इस्लामको दाँजोमा हिन्दू धर्ममा शाकाहारको दर्शन विस्तारित र व्यापक छ । हिन्दूहरुले कम्तिमा उपनिषदकालदेखिनै शाकाहारको गरिमाको चर्चा गर्दै आएका छन् । त्यसकारण, शाकाहारको कुरा गर्नु हिन्दूविरोधी हुनु होइन । संसारमा मासु नखाने हिन्दूहरु मासु खानेभन्दा बढी छन् । हिन्दूत्वको नाममा मासुप्रतिको आसक्ति नेपालमा बढी छ । नवरात्रलाई सात्विक पूजा आराधनाको समय मानिन्छ धेरैतिर । हामीले भने त्यसलाई जीवहत्याको पर्व बनाएका छौं र अहिले आएर त्यसमा जूवातास र रक्सीपनि थपेका छौं । दशैंलाई आफूभित्रको पशुभावलाई त्याग्ने (‘बलि दिने’) पर्व बनाउनुपर्ने हो तर हामी त्यहि भावलाई आफूभित्र अझ बढाइरहेछौं ।

बिभिन्न चाडपर्वहरुमा हाम्रो समाजले बलि दिने जनावरहरु तुलनात्मक रुपले निर्धा र सोझा हुन्छन् । राँगा, खसी, बोका, च्याङ्ग्रा आदिलाई महिषासुरको अवतार मानेर बलि दिने हामीले अझ सम्म किन नबुझेको होला, अरुलाई मारेर मासु खाने हिसाबले बाघ वा सिंह पो बरु महिषासुरका नातेदार हुनसक्छन् (गहिरिएर हेर्ने हो भने तिनले पनि आफ्नो प्राकृतिक स्वभावलाई पछ्याएका मात्र हुन्) । तर हामी बाघ वा सिंहलाई खसी-बोका-राँगोलाई जसरी यातना दिन र मार्न सक्दैनौं, हाम्रो शारीरिक क्षमताले पुग्दैन त्यसो गर्न, अनि हामी हाम्रो कुण्ठा र हीनताबोधलाई लगेर आफूभन्दा कमजोर र सूधा जनावरहरुमाथि खन्याउँछौं । हाम्रा कतिपय मन्दिरहरुमा मानसिक शान्ति पाइने र आध्यातिक तरङ्गहरु अनुभव गर्न सकिने ठाउँभन्दा पनि जनावरहरुका वधशाला मात्रै लाग्छन् । र हाम्रा पेट आईन्स्टाईनले कतै भनेझैं, हत्या गरिएका अबोध जनावरहरुका चिहानमात्रै हुन् ।

पशुबलि र शाकाहारको कुरा गर्दा मानव चेतना र विवेकलाई सर्वोपरि राखेर हेरिनुपर्छ र हामीले आफैंसंग सोध्न सक्नुपर्छ के खानको लागि अर्को कुनै जीवनको हत्या गर्नु उन्नत मानव चेतनाको गरिमालाई सुहाउने कुरा हो ? मानव चेतनाको गन्तव्य अझ हिँसात्मक बन्दै जानु हो कि समग्र जीवजगतप्रति करुणाभाव बढाउँदै जानु हो?  

(पोखराबाट प्रकाशित हुने 'समाधान' राष्ट्रिय दैनिकमा २०७६, असोज १२ गते, आइतबार, थोरै संशोधनसाथ छापिएको।)








August 01, 2019

'नीद हराम' गर्ने पढाइ

केहि समय पहिला म एउटा भतिजको बिहेका लागि हेटौंडामा थिएँ । बिहे भोजको साँझ सबै रमाइलो गरीरहेका थिए, तर ९ कक्षामा पढ्ने अर्को भतिज भने बेलुका ७ बजेबाटै तनावमा थियो र उ रमाइलोलाई छोडेर ९ बजे सुत्न गयो। उसको भोलिपल्टको स्कूल बिहान ६ बजेबाट शुरु हुने रहेछ र साढे ५ भित्र स्कूल बस उसलाइ लिन आइसक्ने रहेछ । यसका लागि बिहान ५ बजेनै उठेर तयार भइसक्नुपर्ने रहेछ । नभए केहि थप समय उ परिवारको रमाइलोमा सामेल हुन सक्थ्यो । अर्कोतिर, यो कुरो उसले गुमाएको पारिवारिक रमाइलोको कुरो मात्र निश्चय पनि होइन ।

पोखरामा पनि आफ्नो वरिपरिका थुप्रै बच्चाहरु यसरीनै झिसमिसेमै उठेर दौडिएको देखेको छु मैले । काठमाण्डौंमा पढ्ने भाञ्जीहरुसंग मैले बिहानको समयमा फोनमा कुरा गर्न शनिबारनै कुर्नुपर्छ । अरु दिन उनीहरु पौने ५ मै उठेर, सवा ५ नहुँदै आइपुग्ने स्कूल बस चढ्न तयार भइसक्नुपर्छ । दिदीहरुका लागि बिहानको खाना पछि साढे ८ बजेतिर बस चढ्ने ५ कक्षा पढ्ने भाञ्जाले बोकेर लान्छन् । भाञ्जीहरु बेलुका फर्कँदा अँध्यारो भइसकेको हुन्छ ।

अहिले सबैजसो निजी विद्यालयले कक्षा ८ देखि १० का विद्यार्थीलाई यस्तै ‘अँध्यारो ‍देखि अँध्यारो सम्म’को रटान शिक्षामा बाध्य बनाउँछन् । धेरै सामुदायिक विद्यालयले पनि यसको सिको गरीसकेका छन् । यो ‘सजाय’को एउटै उद्देश्य भनेको एसइइको ‘राम्रो’ लब्धाङ्क मात्रै हो । यसका लागि उनीहरुले मोटो अतिरिक्त शुल्क पनि असुल्छन् ।  यसरी ६ नबज्दैबाट शुरु हुने रटान-शिक्षा सामान्यतया बेलुका ६ बज्ने बेलामा मात्रै सकिन्छ । यो १२ घण्टा हामीले बच्चाहरुलाई पढाइरहेका हौं कि यातना दिइरहेका हौं ? बिहान कम्तिमा ६-७ बजेसम्म ढुक्कले सुत्न पाउनु उनीहरुको अधिकार हो कि होइन ? साढे ४ नबज्दै उठाएर विद्यालयतिर लखेट्नुले उनीहरुको शारीरिक र मानसिक विकासमा परीरहेको घातक असरहरुबारे हामीले कहिल्यै सोचेका छौं ? विद्यालय सञ्चालक, अभिभावक, शिक्षक आदि हामी के का लागि बच्चाहरुमाथि यस्तो अत्याचार गरीरहेका छौं ? यसरी निद्रा मारेर रटाउँदैमा विद्यार्थीको सिकाइको स्तर बढ्छ ?

र कुरो निद्राको मात्र होइन । बिहान आँखा मिच्दै विद्यालयतिर दौडने क्रममा उनीहरुले गतिलो केहि खान पनि भ्याउँदैनन् । घरबाट कसैका हातमा पठाइदिएको ‘खाना’ एक-डेढ घण्टा बन्द भाँडोमा गुम्सिसकेपछि मात्र उनीहरुले खान पाउँछन् । त्यो खानाको पोषण गुणस्तर पक्कै पनि घटीसकेको हुन्छ । विद्यालयकै खाना खाने विद्यार्थीका हकमा पनि त्यहाँ खुवाइने खानाको गुणस्तरका बारेमा नियमित अनुगमन गर्न न राज्यलाई फुर्सद छ न अभिभावकहरुलाई नै चासो छ ।

दिनभरिको रटान शिक्षाबाट थाकेर बेलुका घर फर्केपछि यस्ता बच्चाहरु गृहकार्य गर्छन् र एकछिन मोबाइल चलाएर सुत्छन् । यस्ता बच्चाहरुले खेल्ने र विशेष गरी ‘घर बाहिर खेल्ने’ भन्ने कुरा कल्पना गर्न पनि बिर्सिसकेका हुन्छन् । उनीहरुले दिउँसोको समयमा विद्यालयमै खेल्न पाए होलान् भन्ने कुरामा पनि सामन्यतया ढुक्क हुन सकिन्न किनभने, केहि अपवादलाई छोडेर, धेरैजसो कथित बोर्डिङ्ग स्कूलहरु थोरै जग्गामा बनेका साना साँघुरा भवनहरुमा चलेका हुन्छन् ।

विद्यालयहरुले चाहिनेभन्दा बढी किताबको भारी बोकाइदिनाले बच्चाहरुमा काँध र ढाडको समस्या देखिन थालेको बारेमा केहि चर्चा शुरु भएको छ तर बच्चाहरुलाई सबैभन्दा धेरै निद्रा चाहिने उमेरमै उनीहरुबाट त्यो निद्रा खोसेर र शारीरिक ब्यायाम, खेलकूद आदिको मौकै नदिएर हामीले उनीहरुमाथि गरीरहेको अपराध अझ गम्भिर र अक्षम्य छ ।

हामीले बच्चाहरुलाई साँच्चै पढाउने हो कि पढाउने नाममा यातना दिने हो ?

मानवको शारीरिक र मानसिक स्वास्थ्यका लागि व्यवधान रहित गाढा निद्रा अति आवश्यक छ । वयष्क मानिसकै लागि पनि ७-८ घण्टाको निद्रा आवश्यक मानिन्छ । निद्राको अभावमा थकान हुने र कार्य क्षमतामा ह्रास आउने मात्र होइन, मोटोपना, मुटु रोग, र बिभिन्न संक्रमणका जोखिमहरु बढ्ने कुरा प्रमाणित भइसकेको छ । बढ्दो उमेरका बालबालिकाहरु र किशोरकिशोरीहरुलाई निद्रा झन् धेरै आवश्यक पर्छ । नविनतम अनुसन्धानहरुबाट के प्रमाणित भएको छ भने १२-१८ वर्ष को उमेरमा ४-५ वर्षका साना बच्चाहरुलाई जस्तै निद्रा आवश्यक पर्छ । १२-१८ वर्षको यो उमेरमा बढी निद्रा आवश्यक पर्नुको कारण यो अवधि महिला पुरुष दुबैमा ब्यापक शारीरिक विकास र मानसिक परीवर्तन हुने र उनीहरु दुबै रुपमा अत्यन्त सकृय हुने अवधि हो । यो उमेरमा कम्तिमा ८-१० घण्टा निद्रा आवश्यक मानिन्छ । विश्वव्यापी अनुसन्धानहरुबाट निकालिएको यो उमेरको आवश्यक औसत दैनिक निद्रा अवधि सवा ९ घण्टा हो ।

आधुनिक जीवनशैलीका कारण विश्वभरिनै बालबालिका र किशोरकिशोरीहरुले पर्याप्त निद्रा पाएका छैनन् । यो समस्या किशोरकिशोरीहरुमा अझ बढी छ । यो उमेरमा पुगेपछि जैविक घडीमा केहि परीवर्तन हुन्छ र उनीहरुलाई निद्रा लाग्ने समय रातको एघार बजे भन्दा पछाडि पुग्छ । फेरि आजभोलिका किशोर किशोरीहरुका हात-हातमा मोबाइल छन्, इण्टरनेटको सहज उपलब्धता छ र अरु बिभिन्न प्रकारका ग्याजेटहरुमा पनि उनीहरुको पहुँच हुन्छ । यिनमा भुलेर राती अबेरमात्रै सुत्ने बानी बढ्दै गएको छ । र बिहान चाँडै विद्यालयहरु शुरु हुने कारण उनीहरुले ढिलासम्म सुत्न पनि पाउँदैनन् । विद्यालय चल्ने समयमा औसतमा उनीहरु ६ घण्टा भन्दा पनि कम मात्रै सुतीरहेको देखिन्छ । यो ६ घण्टाकै निद्राको गुणस्तरमा पनि प्रश्न उठाउनु पर्ने स्थिति छ, किनभने सुत्नु अगाडिसम्म ग्याजेटहरु चलाउँदा तिनको स्क्रीनको वीकिरणका कारण र इण्टरनेटबाट दिमागले संङ्ग्रह गरेका बिभिन्न तनावमूलक, उत्तेजनामूलक सूचनाहरुका कारण निद्राको गुणस्तरमा ह्रास आउने निश्चित छ ।

एसइइपछि ११, १२ कक्षाको पढाइ पनि सबैजसो कलेजमा बिहान ६ बजेबाटै शुरु हुन्छ । अहिलेका विद्यार्थी १२ कक्षा सक्दा बल्ल १८ वर्षका हुन्छन् । त्यसकारण, यथेष्ट निद्रा नपुग्दा हुने असरहरुको अध्ययन गर्दा हामीले उनीहरुलाई पनि समेट्नुपर्ने हुन्छ ।

यो अहिले विश्वब्यापी चिन्ताको विषय बनेको छ । संसारमा अहिले ५३ प्रतिशत किशोर किशोरीहरु विद्यालय जाने दिनमा ८ घण्टाभन्दा कम सुत्छन् । अमेरिकामा ५ प्रतिशत किशोरकिशोरीहरुमात्रै आवश्यक पर्ने ९ घण्टा सुत्छन् । भारतको महानगर मुम्बइमा गरिएको एक अध्ययनले त्यो क्षेत्रमा ८० प्रतिशत विद्यार्थीहरु आवश्यकताभन्दा कम सुत्ने देखाएको छ ।  यसको आधाभन्दा बढीको स्थिति अझ गम्भिर छ र उनीहरु दिनमा जम्मा ४-६ घण्टामात्रै सुतिरहेका छन् । स्पष्ट तथ्याङ्क त छैन तर नेपालमा पनि, विशेष गरी शहरी क्षेत्रमा यो भन्दा राम्रो स्थिति छ भनेर भन्न सकिन्न ।

अपर्याप्त निद्रा र बढी स्क्रीन समयको संयोजन किशोरकिशोरीहरुको शारीरिक-मानसिक स्वास्थ्यका लागि अत्यन्त घातक मानिन्छ ।   निद्रा नपुग्नाले किशोर विद्यार्थीहरुमा शारीरिक-मानसिक थकान हुन्छ र कुनै पनि कुरामा एकाग्र हुन नसक्ने तथा स्मरण शक्ति कम हुने समस्या देखिन्छ । उनीहरु बढी झर्किने, झगडा गर्ने र छिट्टै निराश हुने र अवसाद (डिप्रेसन) मा जाने जस्ता व्यवहार पनि देखाउँछन् । उनीहरुमा उमेरजन्य स्वाभाविक गतिविधिहरुभन्दा बढी उत्तेजनात्मक गतिविधिहरु गर्न खोज्ने र सवारी चलाउँछन् भने सकेसम्म खतरनाक तरिकाले चलाउन खोज्ने प्रवृत्ति पनि देखा पर्छ  । आवश्यक भन्दा कम समय सुत्ने किशोरकिशोरीहरु लागु पदार्थ वा रक्सीको कुलतमा फस्ने सम्भावना पनि बढी देखाएका छन् अनुसन्धानहरुले । पर्याप्त निद्रा नपुगेको अवश्थामा उनीहरुमा उच्च रक्तचाप, कोलेस्ट्रोल, मोटोपना आदिको सम्भावना पनि बढी हुन्छ ।

आफ्ना छोराछोरीहरुले पर्याप्त निद्रा पाइरहेका छन् कि छैनन् भन्ने कुरामा सबैभन्दा पहिला अभिभावकहरुनै सचेत हुनु आवश्यक छ । उनीहरुको सुत्ने-उठ्ने समयमा नियमितता ल्याउन सहयोग पुर्‍याउनुपर्छ । यस्तै सुत्नु १ घण्टा अगाडिबाट कम्प्युटर, मोबाइल, टिभी आदि बन्द गरेर किताब पढ्न वा राम्रो संगीत सुन्न प्रोत्साहित गरिनुपर्छ । यो समयलाई पारिवारिक गफगाफ र ससाना मनोरञ्जनात्मक गतिविधिहरुको रमाइलो वातावरणमा बदल्न सकिन्छ भने अझ राम्रो हुन्छ । उनीहरुलाई बिदाका दिनमा चाहिनेभन्दा धेरै सुत्न पनि दिनुहुँदैन, यसले अरु दिनको निद्राको तालिकालाई गडबड बनाइदिन सक्छ । निद्रा सम्बन्धी कुनै समस्या देखिए जतिसक्दो छिटो चिकित्सकसंग सम्पर्क गर्नुपर्छ ।

तर विद्यालयहरुले बच्चालाई सबेरैबाट पढाउन थाल्दिए भने अभिभावकले चाहेर पनि माथि भनिएजस्तो गर्न नसक्ने स्थिति बन्छ । त्यसकारण, विद्यालयहरुले कक्षा शुरु हुने समयलाई ढिलो गर्नैपर्छ । यसले विद्यार्थीहरुको शारीरिक मानसिक स्वास्थ्यमा सुधार आउँछ र त्यसले गर्दा उनीहरुको पढाइ पनि राम्रो हुन्छ ।

यो कुरालाई ध्यान दिँदै विद्यालयहरुले धेरै चाँडै कक्षा शुरु गर्न नपाउने गरी नीतिगत व्यवश्थानै गर्नुपर्ने आवश्यकता भएको बारेमा विश्वब्यापी बहस शुरु भएको छ ।

अमेरिकाको सिएटल शहरमा सन् २०१६ बाट कक्षा शुरु हुने समयलाई ७:५० बाट ८:४५ मा सारियो । यो कदमका कारण किशोर विद्यार्थीहरुको निद्रा समय ३४ मिनेटले बढेको छ । उनीहरु दिउँसो कक्षामा उँघ्ने प्रवृत्तिमा कमी आएको छ र सिकाइको स्तर बढेको छ । अमेरिकाकै क्यालिफोर्निया राज्यको संसदले सन् २०१८, अगष्ट ३१ मा विद्यालयहरुले साढे आठ बजेभन्दा पहिले कक्षाहरु शुरु गर्न नपाउने कानून पास गरेको छ । क्यालिफोर्नियाका सम्पूर्ण विद्यालयहरुले तीन वर्षभित्र यसलाई लागु गरीसक्नुपर्ने छ । अमेरिकाकै शिकागो, मिनियापोलिस, सेन्ट पल आदि अन्य शहरहरुमा गरिएका अध्ययनले पनि बिहान ढिलो कक्षा शुरु गर्दा विद्यार्थीहरुको सिकाइमा सुधार आउने कुरा प्रमाणित भएको छ । बिहान एक घण्टा ढिलो गरी (उदाहरणका लागि सात बजेको साटो आठ बजे) कक्षा शुरु गर्दा औसतमा एउटा कक्षाको सिकाइ उपलब्धिमा आउने सुधार बी ग्रेडबाट बी प्लसमा पुगे बराबरको हुने निष्कर्ष निकालिएको छ । सबै विद्यार्थीमा सकारात्मक असर देखिँदा देखिँदै पनि तुलनात्मक रुपमा कमजोर विद्यार्थीका हकमा अझ धेरै सुधार देखिएको छ । अमेरिकाको एअर फोर्स एकेडेमीमा गरिएको अध्ययनले त स्नातक तहका विद्यार्थीमा समेत कक्षा शुरु हुने समयको असर उस्तै हुने देखिएको छ । कक्षाहरु थोरै ढिलो गरेर शुरु गर्दा विद्यार्थीहरुको परीक्षाफलमा आउने सुधारको आफ्नै महत्व छ भने यो भन्दा पनि महत्वपूर्ण उनीहरुको शारीरिक र मानसिक स्वास्थ्यमा पर्ने सकारात्मक असर हो । यो सकारात्मक असरले पढाइ मात्र होइन जीवनमा आवश्यक पर्ने अन्य क्षमताहरुको अभिवृद्धिमा पनि सघाउँछ र उनीहरुलाई एक स्वस्थ र प्रतिष्पर्धी वयष्कका रुपमा विकसित हुन मद्दत पुग्छ । यिनै अध्ययनहरुका आधारमा अमेरिकामा, यथेष्ट निद्रा पुगेर हुर्किएका किशोर विद्यार्थीहरुको भविष्यको औसत आम्दानी निद्रा नपुगेकाहरुको दाँजोमा धेरै हुने प्रक्षेपण समेत गरिएको छ ।

अहिले फिनल्याण्डको शिक्षण पद्धति संसारकै उत्कृष्ट मानिन्छ । यो उत्कृष्टताका प्रमुख कारणहरुमध्येको एक अरु विकसित देशहरुको दाँजोमा त्यहाँ बिहान ढिलो कक्षा शुरु हुनुलाई पनि मानिन्छ । फिनल्याण्डमा कक्षाहरु ढिलो शुरु हुने मात्र होइन, दिउँसोपनि चाँडै सकिन्छन् । बिहान ९ बजे आसपासबाट शुरु हुने कक्षाहरु दिउँसो २ बजे आसपासमा समाप्त हुन्छन् । यसले बच्चाहरुलाइ पूरा निद्रा सुत्ने अवसर दिन्छ र खेलकुदका लागि पनि समय उपलब्ध हुन्छ ।

नेपालमा कक्षा ८ भन्दा पहिले भने यो समस्या नरहेको जिकिर पनि गर्न सकिन्छ, तर धेरै निजी विद्यालयहरुले ट्युशनका नाममा तल्ला कक्षाका विद्यार्थीहरुलाई समेत यो ‘यातना’ दिन शुरु गरीसकेका छन् । अर्कोतिर, अचेल धेरै बच्चाहरु आफ्नो घरबाट धेरै टाढा रहेका विद्यालयमा पढ्न जान्छन् । कक्षा दश बजेमात्रै शुरु हुने भएपनि उनीहरुले साढे सात-आठ बजेभित्र विद्यालय बस चढीसक्नुपर्छ । त्यसकारण, समस्या अब ८-१० का विद्यार्थीको मात्र वा ट्युशन पढ्ने विद्यार्थीको मात्र रहेन, आम समस्याका रुपमा विकास भइसकेको छ।  त्यसैले, हामीले पनि नीतिगत रुपमै हल गर्नुपर्ने समस्याका रुपमा यसलाई लिनुपर्छ र त्यसै अनुसारको बहस र नीति निर्माणलाई अघि बढाउनुपर्छ । राज्य आफ्ना बच्चाहरुमाथि हुनसक्ने यस्ता खाले दुर्व्यवहार रोक्न अनुगमन बढाउन पनि सकृय हुनुपर्छ ।  यस बारेमा विद्यालय सञ्चालक र शिक्षकहरु पनि बढी संवेदनशील हुनुपर्छ र  अभिभावकहरुले पनि केवल लब्धांकपत्रमात्र नहेरेर आफ्ना बच्चाहरुको शारीरिक र मानसिक विकासका बारेमा पनि सचेतता देखाउनु आवश्यक छ ।



(पोखराबाट प्रकाशित हुने 'समाधान' राष्ट्रिय दैनिकमा २०७६ साल साउन १५ गते प्रकाशित) 

June 29, 2019

ट्राफिक लाइट कि ‘रेड लाइट’?

देहव्यापार वा चलनचल्तीको शब्द प्रयोग गर्दा वेश्यावृत्ति – यो पुरुष सत्ताको आविष्कार हो र पुरुषका लागि पुरुषले चलाएको उद्योग हो । हुनत सीमित रुपमा यदाकदा पुरुष वेश्यावृत्ति पनि देखिएको छ तर देहव्यापार संसारभरिनै मूलत: महिलाको शरीरको व्यापार हो । देहव्यापारलाई ‘संसारको सबैभन्दा पूरानो पेशा’को विशेषण दिएको पनि पुरुष सत्तालेनै हो । यदि देहव्यापार संसारको सबैभन्दा पूरानो पेशा हुन्थ्यो भने त्यसको प्रमाणका रुपमा अझै पनि बाँकी रहेका केहि आदिवासी समाजमा व्यापक रुपमा देहव्यापार देखिनुपर्थ्यो तर त्यो देखिन्न । देहव्यापार कथित ‘सभ्य’ र ‘विकसित’ समाजको उपज हो, त्यसकारण यो संसारको सबैभन्दा पूरानो पेशा होइन । महिलाको देहव्यापार जस्तो पुरुषको देहव्यापार कहिल्यै व्यापक हुँदा पनि हुँदैन किनभने अरु कसैको शरीरप्रतिको पुरुष र महिलाको सोचाइमा आकाश जमीनको अन्तर छ । पुरुषमा आक्रामकता छ, महिलाको शरीरमाथि शक्ति (शारीरिक बल वा पैसा जे पनि हुनसक्छ) का भरमा कब्जा जमाउनुलाई आफ्नो ‘सफलता’ मान्ने मनोविज्ञान छ तर महिलाको स्वभाव ठिक उल्टो छ । यौन पुरुषका लागि विशुद्ध शारीरिक कर्म हो भने महिलाका लागि यौन मूलत: मानसिक कर्म हो । पुरुषको यौन शारीरिक भएकाले उसलाई शरीर कब्जामा रस आउनु स्वाभाविक हो । महिलाको यौन मानसिक परितृप्तिका लागि हो, त्यो परितृप्ति कसैको शरीर कब्जा गरेर मात्रै मिल्ने कुरा होइन । यसैले मानव समाज कुनै दिन फेरि मातृसत्तातिर फर्कियो भनेपनि महिला सत्ताले पुरुषको देहव्यापारलाई ‘संसारको सबैभन्दा पुरानो पेशा’को रुपमा ‘आविष्कार’ गर्ने छैन । 

र यो देहव्यापारको बहस अहिले पोखराको पर्यटन उद्योगको गन्तब्यसंग जोडिन आइपुगेको छ । पोखरामा कथित रेड लाइट एरिया चाहिन्छ भनेर प्रदेश सरकारका मुख्यमन्त्रीले आफ्नो कार्यकालको शुरुवाती दिनमै बोलेपछि यसका बारेमा विवाद शुरु भयो । विरोधको स्वर ठूलो भएका कारण यो योजनाबाट प्रदेश सरकार पछि हटेको होला भन्ने आम विश्वाशका विपरीत यसलाई कथित ‘इन्जोय जोन’को छाता ओढाएर कार्यान्वयनमै लैजान खोजिएको छ अहिले । प्रदेश सरकार र यसको नेतृत्वलाई गण्डकी र विशेष गरी पोखराको पर्यटन उद्योगलाई विकास गर्नका लागि यौन धन्दा बाहेक अरु कुनै बाटो छैन भन्ने लागेको जस्तो महसुस हुन्छ सम्बन्धितहरुका कुरा सुन्दा । यो योजनाको ब्यापक विरोध भएको छ । केहि समर्थनका स्वरहरु पनि छन् । र के स्पष्ट देखिन्छ भने रेड लाइट एरिया (इन्जोय जोन) को विरोध गर्नेहरुमा महिला र पुरुष दुबै छन् भने समर्थन गर्नेमा केहि पुरुषहरु मात्र छन् ।

देहव्यापार महिलाको अस्मिता माथिको चरम अपमान हो । कुनै पनि समाजमा वेश्यावृत्ति बाध्यता हो, रहर हुनसक्दैन । हाम्रो समाजमा महिलाको स्थिति शोषित पीडित र अधिकारवीहिन छ । आफ्नै शरीरमाथि पनि उनीहरुको आफ्नो अधिकार नरहेको अवस्था छ । आर्थिक रुपले विपन्न र सामाजिक रुपले उत्पीडित समुदायमा  स्थिति अझ विकराल छ । यस्तो स्थितिमा देहव्यापारलाई कसैले जानीबुझी रहरले पेशा बनाउने कुरा हुँदैन । हरेक देहव्यापारी महिला कुनै न कुनै बाध्यताले वा कसैको धोका-धम्की-करबलका कारण यो पेशामा धकेलिएका हुन्छन्, उनीहरुलाई देहव्यापारमा धकेल्ने धेरैजसो नजिकका नातेदार पुरुषहरुनै हुन्छन् । त्यसकारण, राज्यको दायित्व भनेको ती बाध्यताहरुको पहिचान गर्नु, उनीहरुका लागि वैकल्पिक पेशाको व्यवस्था गर्नु र देहव्यापारबाट मुक्त पार्नु हो, न कि त्यहि बाध्यतालाई अझ दोहन गरेर कर उठाउनु ।

पश्चिमा विकसित देशमा देहव्यापार सहज र रहरको ‍पेशाजस्तो लाग्छ हामीलाई । ती समाजमा महिलाहरु हाम्रो समाजको दाँजोमा आफ्नो पेशाका बारेमा आफैं निर्णय गर्न सक्षम र स्वतन्त्र हुन्छन् । उनीहरुलाई देहव्यापारमा लाग्न कसैले बाध्य बनाउने सम्भावना धेरै कम हुन्छ । तर ती देशमै पनि देहव्यापारलाई कुनै इज्जतिलो कर्म मानिँदैन । कुनै देहव्यापारीसंग उभिएको तस्बीरमात्र बजारमा आयो भने ठूल्ठूला राजनीतिज्ञको सार्वजनिक जीवन समाप्त हुने गरेको देखिएको छ । यसैले हामीलाई ‘रेड लाइट’को प्रयोगको रहरै लागेको हो भने पनि कम्तिमा हाम्रो समाज एउटा निश्चित आयको तहमा पुगुञ्जेल र महिलाहरु आफ्ना बारेमा आफैं निर्णय गर्न सक्षम र स्वतन्त्र हुञ्जेलचाहिँ कुरौं ।

गण्डकी प्रदेश र पोखराको समग्र विकासका लागि पहिले गर्नुपर्ने अरु काम थुप्रै छन् । ट्राफिक लाइट समेत नभएको महानगर पोखराको प्राथमिकतालाई यसरी रेड लाइटतिर बहकाउनु गल्तीमात्र होइन गम्भिर अपराध हो ।  

पोखरामा ‘लाल बत्ती बजार’ ल्याउने तर्कमा सबैभन्दा जोडतोडले दिइने उदाहरण थाइल्याण्डको हो तर हाम्रा नीति निर्माताहरुले के बिर्सिएका छन् वा सम्झन चाहेका छैनन् भने थाइल्याण्डको पर्यटन उद्योग भनेको देहव्यापार मात्र होइन । थाइल्याण्ड ब्यापक भौगोलिक र साँस्कृतिक विशेषता र विविधता भएको देश हो । थाइल्याण्ड जाने पर्यटकहरु त्यहाँका प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाहरुले तानिएर जाने हुन् । थाइल्याण्डमा लामो समय बिताएका नेपालीहरु के भन्छन् भने अहिले थाइल्याण्डको रेड लाइट क्षेत्रमा सबैभन्दा धेरै जाने ग्राहक दक्षिण एशियाका पुरुषहरु हुन् । दक्षिण एशियाको पुरुष सत्ता दुई जना वयष्क व्यक्तिको आपसी सहमतिमा हुने स्वस्थ यौनसम्बन्धलाई बर्जित गर्ने तर भित्रभित्रै महिलाको शरीरको किनबेच गर्ने ढोंगी सत्ता हो । विश्वका विकसित र सभ्य देशमा त्यो ढोंग छैन र उनीहरुलाई सेक्सकै लागि नेपाल वा थाइल्याण्डजस्ता देशमा आइरहनुपर्ने बाध्यता र आवश्यकता पनि छैन ।

रेड लाइट पर्यटनका कारण थाइल्याण्ड आफैं लज्जित हुन थालेको धेरै भइसक्यो र उनीहरु यसलाई नियन्त्रण गर्दै छन् । थाइल्याण्डको केहि वर्ष यताको विकास र समृद्धि आफ्ना छोरीहरुको यौनांग बेचेर आएको होइन, त्यो उनीहरुले शिक्षा, आधुनिक प्रविधि र औद्योगिकीकरणमा गरेको ब्यापक लगानी र मेहनतको प्रतिफल हो । यसैले हाम्रा नीति निर्माताहरुले थाइल्याण्डबाट ‘रेड लाइट एरिया’ मात्र सिकेको देख्दा ताज्जुब लाग्छ । यस्तो लाग्छ, उनीहरु थाइल्याण्डका एअरपोर्टमा झर्नासाथ अन्त नगई सिधै पटाया र फुकेटका ‘रेड लाइट एरिया’तिर जान्छन् ।

पोखरामा ‘लाल बत्ती बजार’ चाहिन्छ भन्नेहरुको अर्को तर्क के हो भने ‘अहिले लुकीछिपी चलिरहेकै छ, अब चलिरहेकै कुरालाई व्यवस्थापन गर्दा के बिग्रिन्छ त?’ । यो झन् हास्यास्पद तर्क हो । चलीरहेका विकृतिलाई अन्त्य गर्ने होइन ‘व्यवस्थापन’ गर्ने तर्कमा सहमत हुने हो यस्तै अरु विकृतिलाई पनि ‘व्यवस्थापन गरे भयो !’ भन्ने तर्क गर्न सकिन्छ । नेपालबाट वर्षेनि हजारौं चेलीहरु भारतका कोठीहरुमा बेचिन्छन्, यसलाई पनि किन रोक्ने,  ‘व्यवस्थापन’ गरे भयो ! हिजोसम्म हाम्रो समाजले निश्चित जातिविशेषका महिललाई जबर्जस्ती यौनधन्दामा लगाएको थियो, यसलाई पनि ‘व्यवस्थापन’ गरे भयो ! विगतमा सतीप्रता थियो हाम्रो समाजमा त्यसलाई पनि ‘व्यवस्थापन’ गरेर चलाएको भए हुन्थ्यो ! राज्यका निकायहरुमा र राजनीति-प्रशाशन जुन चरम भ्रष्टाचार छ त्यसलाई पनि ‘व्यवस्थापन’ गरे भयो ? क्यान्सरको उपचार खोज्ने कि त्यसको ‘व्यवस्थापन’ गर्ने महाशयहरु ! ‘इन्जोय जोन’ वा अरु जुनसुकै नाममा पनि तपाईँहरुले ल्याउन खोजेको त्यो रेड लाइट एरियामा गरीब जनताका चेलीहरु मात्र होइन जो सुकैका छोरीचेलीपनि पुग्न सक्छन् भन्ने पनि हेक्का रहोस् ! यसैले यो योजनामा अघि बढ्नु अघि आफ्नै छोरीचेलीहरु पनि त्यहाँ पुगेको कल्पना गरीहेर्नुस् एकपटक !

यो कथित ‘इन्जोय जोन’ले पोखरा र गण्डकी प्रदेशलाई पार्ने घातक प्रभावहरुको लामो सूचि बनाउन सकिन्छ । सबैभन्दा पहिले जहाँ यो कथित ‘इन्जोय जोन’ खडा गरिन्छ त्यो ठाउँ र आसपासको बदनामी चुलिनेछ । उनीहरुसंगको सम्बन्धबाट अन्यत्रका मान्छेहरु तर्कनेछन् र ती ठाउँमा बिहेबारीको सम्बन्ध गाँस्न समेत राजी हुने छैनन् । यसले ती ठाउँका मानिसलाई दिने मानसिक, व्यावहारिक असरका बारेमा राज्य गम्भिर हुनुपर्छ । कुनै ठाउँविशेषमा यो कथित ‘इन्जोय जोन’ २-४ वर्ष मात्रै चलेर बन्द भयो भने पनि त्यसको असर पुस्तौंसम्म देखिइरहनेछ भने राज्यले योजनाबद्ध रुपमा स्थायी संरचना बनाएर चलायो भने झन् के हुन्छ हामी अनुमान गर्न सक्छौं ।

दोश्रो, यसले पोखराको आन्तरिक पर्यटनमा दिने अत्यन्त नकारात्मक धक्का हो । आन्तरिक पर्यटन पोखराको पर्यटन उद्योग र अर्थतन्त्रको एउटा खम्बा हो, र यसको हिस्सा दिनदिनै बढ्ने क्रममा छ । अहिले पोखरा हरेक नेपालीको लागि एउटा सुन्दर स्वप्न गन्तव्य हो । पोखरा बाहिरका हरेक नेपालीको कम्तिमा एकपटक पोखरा पुग्ने रहर हुन्छ । पोखराको सौन्दर्य र प्रदूषणमुक्त हावापानीले तानिएर वर्षैपिच्छे पटक पटक घुम्न आउने नेपालीहरु पनि लाखौं छन् । जब पोखरामा रेड लाइट एरिया शुरु गरिन्छ तब पोखराको भ्रमणलाई मान्छेहरुले सोझै रेड लाइट एरिया र देह व्यापारसंग जोड्नेछन् । त्यतिखेर पोखराको भ्रमण कुनै पनि व्यक्तिको बदनामीको कारण बन्नेछ । त्यो बदनामीबाट जोगिन पनि मान्छेहरु पोखरा आउनेछैनन् । 
  
र जहाँसम्म विदेशीचाहिँ यस्ता ‘इन्जोय जोन’मा ओइरिनेछन् भन्ने कुरा छ, त्यो पनि असम्भव हो । विकसित र धनी देशका मानिसहरु यौन र लागु पदार्थको खोजीमा हाम्रोजस्ता तन्नम देशमा आउँदैनन् । त्यसका लागि उनीहरुकै देशमा यथेष्ट इन्तजाम छ । हाम्रा नीति निर्माताहरु पश्चिममा लागु पदार्थ निषेधित भएको हिप्पी जमानाबाट ब्युँझिनु जरुरी छ । अहिले संसार डुल्ने पर्यटकहरु सेक्स होइन प्रकृति, संस्कृति, धर्म र अध्यात्म खोज्न हाम्रोजस्तो देशमा आउने हुन् । यसैले हामीले खोल्ने कथित ‘इन्जोय जोन’ अन्तिममा गएर नेपालकै धनी परिवारका बिग्रेका छोराहरु मडारिने ठाउँका रुपमा सीमित बन्नेछन् । यसले समाजलाई कता लान्छ भन्ने पनि सोचौं । नेपालीलाई प्रवेश निषेध गर्ने तर्क पनि आउन सक्ला तर हाम्रो जस्तो कमजोर नियमन प्रणाली भएको ठाउँमा यसको कुनै अर्थ हुँदैन भन्ने कुरा त क्यासिनोमा गरिएको नेपालीको प्रवेश निषेधको असफलताबाट छर्लङ्ग भइसकेको छ ।

‘इन्जोय जोन’ को अर्को अत्यन्त घातक असर भनेको यो नेपाली चेलीबेटी बेचबिखनको अर्को एउटा बजार बन्नेछ । भ्रष्ट राजनीति र प्रशाशनले त्यसलाई कमिसन र घूस खाने अर्को एउटा धन्दाको रुपमा विकास गर्नेछ र चेलीबेटी बेचबिखनको दर तिब्र गतिमा बढ्नेछ । बाध्यता, धम्की र आफ्नै नातेदारहरुको धोकाका कारण पोखराको रेड लाइट एरियामा आइपुग्ने छोरीचेलीहरुको कारुणिक कथा देश विदेशमा पढिँदा पोखराको कस्तो छवि निर्माण हुन्छ होला ? अर्कोतिर कथित ‘इन्जोय जोन’मा खुल्ला गरिने भनिएको लागू पदार्थको माध्यमबाट जोडिन आइपुग्ने विश्व माफियाले हाम्रो समाज र देशलाईनै तहसनहस पार्दिन सक्छ ।    

गण्डकी प्रदेश र पोखराको पर्यटन उद्योगको विकासका लागि यस्ता तुक न तालका योजनामा मन डुलाइरहनुपर्दैन । गण्डकी प्रदेश पर्यटन उद्योगका लागि स्वर्णभूमि हो । आफूसंग भएको सम्पत्तिको पहिचान गरिनुपर्यो र त्यसको प्रभावकारी परिचालन गरिनुपर्यो, समृद्धि हासिल हुने बाटो यहि हो । पोखराको पर्यटन उद्योग ‘प्रकृति, संस्कृति, धर्म र अध्यात्म’लाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ ।

सुन्दर प्रकृति गण्डकी प्रदेश र पोखराको पहिलो र सबैभन्दा महत्वपूर्ण सम्पत्ति हो । समथर तराइदेखि ८ हजार मीटरभन्दा अग्ला हिमालसम्म समेटेको यो प्रदेशका सामु अथाह सम्भावना छन् । यसैले प्राकृतिक संरक्षणसहितको पर्यटकीय गन्तव्यको विकास र प्रवर्धन पहिलो काम हुनुपर्छ । पोखरा आफैंमा एक दिनमा घुमिसकिने ठाउँ हो । विदेशीहरुका लागि यो मूलत: पदयात्रा र आरोहणमा जानु अघि र फर्केर आएपछिको विश्रामस्थल हो । यसैले नयाँ नयाँ पदयात्रा मार्गहरुको विकास गरिनुपर्छ र चलिरहेका पदयात्रा मार्गलाई डोजरले कोतरेर ध्वस्त पार्ने काम रोकिनुपर्छ । डोजरमात्रै विकास हो भन्ने घातक र भ्रष्ट मान्यताबाट प्रदेश सरकार र प्रदेशका पालिकाहरु मुक्त हुनु जरुरी छ । पोखराको बसाइ लम्ब्याउनका लागि यहाँ नयाँ नयाँ गन्तव्यहरु विकास गरिनुपर्छ । नजिकका गाउँहरुलाई पोखरासंग जोडेर बिहान हिँडेर बेलुका फर्कन सकिने छोटा पदयात्रा मार्गको खुलाउन पनि सकिन्छ । सडक यातायातका कारण कतिपय पूराना पदयात्रा मार्गहरु प्रयोगवीहिन भइसकेका छन्, तिनलाई पुनर्जागृत गरिनुपर्छ ।

सुन्दर प्रकृतिको उपयोग पदयात्रा मार्ग र आरोहरणका रुपमा मात्र होइन प्याराग्लाइडिङजस्ता साहसिक खेल गतिविधिसंग पनि जोड्न सकिन्छ । अहिले पोखरामा केन्द्रित यस्ता गतिविधिलाइ प्रदेशभरि विस्तारित गरिनुपर्छ । अर्कोतिर, प्राकृतिक सौन्दर्य र यो भेगको उत्कृष्ट हावापानीका कारण यहाँ फिल्म सिटी निर्माणको समेत धेरै सम्भावना छ । त्यो मात्रै होइन सुविधाजनक सभा-सम्मेलन केन्द्रहरु निर्माण गरेर पनि अन्तर्राष्ट्रिय समुदायलाई आकर्षण गर्न सकिन्छ । उच्च गतिको इण्टरनेट सुविधासहितका अनुसन्धान तथा विकास संस्था (टेक्नोलोजी पार्क)हरु खडा गर्ने हो भने अनुसन्धानकर्ताहरु पनि आकर्षित हुन्छन् । यति राम्रो मौसम भएको ठाउँमा बसेर अध्ययन अनुसन्धान गर्न मान्छेहरु लालायित हुन्छन् ।

जातिगत विविधताले भरिएको गण्डकी प्रदेशले आफ्नो समृद्ध संस्कृतिलाई पनि पर्यटनसंग सजिलै जोड्न सक्छ । गीतसंगीत,नाच, चाडबाड लगायतका साँस्कृतिक गतिविधिको प्रदर्शन मात्र होइन साँस्कृतिक अध्ययनका लागि समेत पर्यटकहरुलाई आकर्षित गर्न सकिन्छ । विन्ध्यवासिनी र मुक्तिनाथजस्ता पवित्र धार्मिक स्थलहरुमा यातायात, दर्शन र बसोबासको सुविधालाई स्तरोन्नति गरेर अझ धेरै पर्यटकहरु आकर्षित गर्न सकिन्छ । धार्मिक पर्यटकहरुका लगि अब हामीले भारतमात्र होइन, पाकिस्तानमा रहेका धनाढ्य हिन्दूहरु र इण्डोनेशियाको बाली टापूमा रहेका हिन्दूहरुसम्मलाई लक्ष गरेर अघि बढ्न सक्नुपर्छ ।

सांस्कृतिक र धार्मिक संगसंगै हामी आध्यात्मिक पर्यटनलाई पनि अघि बढाउन सक्छौं । अनादिकालदेखिनै ऋषिमुनिको तपोभूमि रहेको गण्डकी क्षेत्रमा अनुभूत गर्न सकिने आध्यात्मिक तरङ्गले धेरै सत्यका खोजीहरुलाई आकर्षित गर्न सक्छ । यसको पूर्वाधारका रुपमा प्रदेशका बिभिन्न स्थानमा सुविधायुक्त योग र ध्यानकेन्द्रहरुको स्थापना गरिनुपर्छ । यस्तै पूर्वीय ज्ञान र दर्शन अध्ययन गर्न चाहने विदेशीहरुलाई लामो समयसम्म संस्कृत, पाली र पूर्वीय दर्शन पढाउने सक्ने भौतिक र मानवीय पूर्वाधार शान्त हिमाली क्षेत्रमा व्यवस्था गर्न सक्ने हो भने त्यसले पनि प्रदेशको पर्यटन उद्योगलाई ठूलो टेवा दिनसक्छ ।
  
अर्थतन्त्र भनेको फेरि पर्यटन मात्र होइन । गण्डकी प्रदेशसंग जलविद्युत, कृषि, उद्योग आदिमा पनि प्रशस्त सम्भावना छन् । गण्डकी प्रदेश यतिखेर देशकै सबैभन्दा ठूलो जलविद्युत हब बनीसकेको छ, यसलाई कसरी प्रदेशको अधिकतम हितमा प्रयोग गर्न सकिन्छ भन्ने बारेमा सुविचारित योजना चाहिन्छ । बसाईँसराईका कारण प्रयोगमा नआएर बाँझिन थालेको ग्रामीण भूमिमा औद्योगिक रुपमै जडीबुटी, फलफूल र तरकारी खेतीलाइ अगाडि बढाउन सकिन्छ । प्रदेशमा रहेका जङ्गलहरुलाई काष्ठ उद्योगसंग जोड्न सकिन्छ ।

गण्डकी प्रदेश र पोखरासंग यस्ता निधिहरु अनगिन्ती छन् जसमा टेकेर केहि वर्षभित्रै समृद्धिको फड्को मार्न सकिन्छ । यति धेरै सम्पत्ति र सम्भावना भएको प्रदेशले कुनै उपाय नभएझैं देहव्यापार र लागु पदार्थ बेचबिखनको घृणित बाटो हिँड्न खोज्नु हास्यास्पद लाग्छ ।

गण्डकी प्रदेश र पोखराको अहिलेको प्राथमिकता ट्राफिक लाइट हो कि रेड लाइट एरिया ? अहिले यो प्रश्नको उत्तर सोचौं हामी सबैले । प्रदेशको आर्थिक सामाजिक विकास अलिक माथिल्लो चरणमा पुगेपछि आवश्यक परेछ भने रेड लाइट एरियासंगै जोडेर फेरि अर्को प्रश्नमाथि छलफल गरौंला ।



(२०७६, जेठ १५ गते बुधबार 'समाधान' राष्ट्रिय दैनिकमा प्रकाशित)

June 26, 2018

देशभक्त

दिनभरि अफिसको कम्प्युटरमा तास खेलेर थाकेपछि कर्मचारी कवि भट्टी छिरेछन्। धोक्नु धोकेर उडान भईसकेपछि अचानक देशको माया उर्लेर आएछ र धुरु-धुरु रोएछन्। अनि बेयरासंग डट्पेन मागेर न्याप्किन पेपरमा घघडान् देशप्रेमी कविता लेखेछन्। 
भोलि कुनचाहिँ पत्रिकामा आऊँदैछ रे 

April 05, 2018

महिलामाथि विकराल हिंसा

वर्ष २०७४ भरी हरेक दिन जसो महिलामाथि भएका जघन्य हिँसाका खबरहरु सञ्चारमाध्यमहरुमा आइरहे।

नारी दिवसकै दिन कैलालीमा राधा चौधरीमाथि भएको अत्यन्त बर्बर अत्याचार र त्यसलाई रमिता मानेर हेरीरहेको समाजलाई देखेपछि हामी एक्काइसौं शताब्दीको कुनै सभ्य देश हौं भन्ने कुरा असम्भव लाग्छ। एकजना रमिते ‘बुद्धिजीवि’ले उक्त घटनाको भिडियो युट्युबमा नराखेको भए शायद यो यातनाकाण्डले चर्चै पाउने थिएन र राधा चौधरीमाथि त्यस दिन भएको बर्बर यातना उनी स्वयं र अरुमाथि दोहोरिइरहने थियो। उक्त घटनापछि उजूरी लिन नमानेको प्रहरी प्रशाशनलाई पनि हाइसञ्चो हुने थियो। अर्कोतिर, यति जघन्य अपराधलाई देखेको नदेख्यै गर्न सक्ने ‘अति ब्यस्त’ मेयर ममताप्रसाद चौधरीले पनि राधा चौधरीलाई दुई चार हजार ‘दिलाईदिएर’ मिलापत्र गराउने थिए र एक्काईसौं शताब्दीको एक ‘प्रगतिशील’ नेपाली नेताको कर्तव्य पूरा गर्ने थिए। विगतमा यसै गरी यातना खपेका कैयन् राधा चौधरीहरुको वास्तविक कथा यहि हो।

प्रधानमन्त्रीसम्मले चासो राखीसकेपछि यस पटक राधा चौधरीलाई न्याय मिल्ला कि भन्ने आशा गर्न सकिन्छ। तर हाम्रो राज्य र राजनीतिको चरित्रलाई हेर्दा धेरै आशावादी हुने ठाउँ भने छैन। राधा चौधरीमाथिको क्रूर यातनालाई समाजको विस्मृतिमा जान नदिनका लागि र दोषीलाई सजाय दिलाउनका लागि निरन्तर खबरदारी आवश्यक छ।

जघन्य महिला हिँसाको सूचि घट्नुको साटो बढीरहेछ। यो एक्काइसौं शताब्दीको समाजवादतिर हिँडेको भनिएको देशमा बोक्सीको आरोपमा यातना दिइने घटनाहरु अझै नियमित छन्। अर्कोतिर, यो वर्ष शायदै कुनै दिन थियो जुन दिन बलात्कारका घटनाहरु नघटेको होस्।  यतिखेर, बलात्कार पछि हत्या गरिएकी एउटी अबोध छोरीको लाश अस्पतालमा सडीरहेछ, त्यस्तै अबोध अर्की छोरी अस्पतालको शैय्यामा जीवनमरणको दोसाँधमा छिन्, धेरै छोरीहरुमाथि पराइबाटमात्र होइन अत्यन्त निकटका नातेदारहरुबाटै दुर्व्यबहार र बलात्कार भइरहेछ, ४-६ महिनाका बच्चीहरु समेत सुरक्षित छैनन्। कामबाट फर्कीरहेका महिलाहरुलाई अपहरण गरेर सामूहिक बलात्कार गरिएको छ, छात्राहरु आफ्नै शिक्षकबाट असुरक्षित छन्, अशक्त किशोरीलाई हप्तौं बन्धक बनाएर बलात्कार गरिएको छ, केटा साथीले झुक्याएर सामूहिक बलात्कारमा पारेका छन्, खेतमा काम गर्न गएका छोरीबुहारीहरु सुरक्षित छैनन्, आफैंले अनाथाश्रम चलाएर त्यहिँका बालिकामाथि बलात्कार गरिएको छ, हजुरआमाको उमेरका महिलाहरुमाथि दुर्व्यबहार भएको छ। सञ्चार माध्यमका आँखा पुगेका यी केहि घटनाहरु प्रतिनिधिमूलक मात्रै हुन्, धेरै घटनाहरु बाहिर आउनै पाउँदैनन्, स्थिति वास्तवमै कहालीलाग्दो छ। यो स्थितिमा यो समाजको एक सदस्यको रुपमा आफ्नो अस्तित्वप्रतिनै धिक्कार भन्न मन लाग्छ। हाम्रो समाज कसरी यति पतित भयो र यति धेरै घटना घटीरहँदा पनि राज्य किन यस्तरी संवेदनहीन छ, हामी किन संवेदनहीन छौं?

सामाजिक रुपले उत्पीडित र आर्थिक रुपले विपन्न महिलाहरु जहिले पनि यातना र हिँसाको शिकार बन्ने गरेका छन्। बोक्सीको अभियोगमा यातना खप्ने समाजको सबैभन्दा तल्लो खुट्किलोमा रहेका यस्तै विपन्न महिलाहरु छन्। अहिले अचाक्ली बढीरहेको बलात्कारका घटनाहरुमा पनि यहि वर्गका महिला र बालिकाहरु बढी  परेका छन्। विशेष गरी, विपन्न परिवारका बालिकाहरु यतिखेर सबैभन्दा ठूलो जोखिममा देखिन्छन्। यिनीहरुको सुरक्षाको लागि राज्यसंग कुनै सोच र योजना भएको देखिँदैन।

यी सबै घटनाहरु पश्चात दोहोरिएको हाम्रो राज्यको प्रवृत्ति र समाजको प्रतिकृया हेर्‌यो भने झन् कहाली लाग्छ। महिलामाथि हुने विभेद र हिंसालाई गरिने ‘बौद्धिक समान्यीकरण’ ले पनि निराशा बाहेक केहि बढाउँदैन।

बलात्कारका घटना हुन् वा बोक्सीको अभियोगमा यातना दिइएका घटना हुन्, शुरुमा प्रहरीले उजूरी दर्ता गर्नै मान्दैन, जाहेरी लिँदै लिँदैन। सञ्चारमाध्यममा चर्चामा आएपछि वा ‘माथि’बाटै दबाब आएमात्र जाहेरी दर्ता हुन्छ। विगत केहि समय यताका हरेक घटनाहरुलाई हेर्दा प्रहरीभित्र यो प्रवृत्ति झाङ्गिईसकेको देखिन्छ। किन यस्तो हुन्छ? प्रहरी किन यति संवेदनाहीन छ? यस्ता घटनालाई दाम कमाउन सकिने ‘भन्सार’का रुपमा हेर्न थालिएको त होइन? हो भने त्यो भन्दा ठूलो बिडम्वना अरु के हुनसक्छ?

हालैको एक घटनामा, काममा गएकी आफ्नी श्रीमती घर नआइपुगेपछि खोजिदिनका लागि याचना गरीरहेको श्रीमानसंग ‘तेरी स्वास्नी राम्री थिई, कसैले लग्यो होला!’ भन्ने घटिया मजाक गर्ने प्रहरी जनताको रक्षक हुन्छ कि भक्षक? ती महिला सामूहिक बलात्कारको शिकार भइछन् र केहि दिनपछि झण्डै मृत अवश्थामा भेटिईन्। पुलिसको बोलीले उनीमाथि पुलिसकै कुदृष्टि रहेछ र कुनै दिन उनी पुलिसकै सामूहिक बलात्कारमा पर्न सक्ने थिइन् भन्ने सम्भावना देखाउँदैन।

दोश्रो, समाजका ठालू र दलीय नेताहरुको कथित ‘मेलमिलाप’कारी चरित्र हो। पीडितलाई केहि पैसा दिएर दबाब र धम्कीका भरमा उजूरी फिर्ता लिन बाध्य पारिन्छ। जघन्य अपराधका घटनाहरुलाई पैसाले छोपछाप पार्ने यो प्रवृत्तिले पीडकको मनोबल झन् बढ्छ र पीडित झन् असुरक्षित हुन्छन्। यस्तो दण्डहीनताले समाजलाई कता लाँदैछ भनेर सोच्नुपर्ने हो नेता भनाउनेहरुले, तर सोच्दैनन् किनभने उनीहरुलाई समाजको चरित्र बदल्नुभन्दा पनि दुर्गन्धित समाजलाई गिजोलेरै फाइदा लिन सजिलो लाग्छ।

ब्यापक रुपमा सञ्चारमाध्यममा छाएपछि राधा चौधरीमाथिको यातनाको घटनालाई लिएर प्रधानमन्त्रीसम्मले बोल्नुपर्ने अवश्था आयो तर सबै घटनाहरु यसरी सञ्चारमाध्यममा आउने संयोग मिल्दैन। यदि हाम्रो राज्ययन्त्र साँच्चै जनताको लागि हो भने यस्ता घटनाका दोषीलाई कारवाही गर्न प्रधानमन्त्रीको तहसमम पुग्नै पर्दैन, स्थानीय प्रशाशन र प्रहरीलेनै गर्न सक्छन्। राज्यका स्थानीय संयन्त्रहरु अलिकति चनाखो हुने हो र तिनले दण्डहीनतालाई काखी नच्याप्ने हो  भने यस्ता घटनाहरु दोहोरिने सम्भावना पनि न्यून हुँदै जान्छ। तर विविध कुत्सित स्वार्थका कारण यातना र बलात्कारका यस्ता घटनाहरुलाई हाम्रो देशको स्थानीय राजनीति र प्रशाशनले देखेको नदेख्यै गर्दिन्छ। दलका कथित भातृसंगठनहरुको वास्तविक चरित्र पनि यस्तै बेलामा देखिन्छ। राधा चौधरीलाई यातना दिइएको बारेमा केहि नबोलेका एमालेको भातृसंगठनहरुले मेयर चौधरीमाथि आक्रमण हुँदाचाहिँ जुलूशै निकाले। मेयरमाथिको आक्रमण ठिक भन्न खोजिएको होइन, तर मेयरलाई आक्रमण हुँदा बोल्न सक्ने यी भातृ संगठनहरुले राधा चौधरीमाथिको यातनाका बारेमा पनि बोल्नुपर्ने होइन? देशको प्रतिपक्षी दल काङ्ग्रेसका भातृ संगठनहरु पनि यो जघन्य अपराधका बारेमा मौन रहे तर त्यसको केहि दिनपछि पक्राउ परेका गुण्डा नाइके गणेश लामाको रिहाइ माग्दै बनेपा बजार तोडफोड गरे। दिनदिनै यति धेरै बलात्कारका घटनाहरु भइरहँदा पनि कुने पनि दलका कुनै पनि भातृ संगठनले एक शब्द बोल्नु पनि आवश्यक ठानेका छैनन्, दोषीलाई कारवाहीका लागि सरकारलाई दबाब दिने त कुरै छाडौं। कसका लागि राजनीति गर्छन् यी दलहरु?

समाजको संवेदनहीनता झन् कहालीलाग्दो छ। कार्यस्थल र बस आदिमा महिलामाथि हुने दुर्ब्यवहारमात्र होइन, बलात्कारजस्ता जघन्य अपराधलाई समेत वास्तै नगर्ने प्रवृत्ति विकसित हुँदै गएको छ। यस्ता जघन्य अपराध जुन व्यक्तिमाथि भएपनि त्यो समाजमाथिकै हो, आफैंमाथिको हो भन्ने चेतना न्यूनतम पनि छैन। राधा चौधरीमाथिको यातनालाई सिनेमा जसरी हेरेर मनोरञ्जन लियो समाजले। यता राजधानीमा एउटी बलात्कृत बालिकालाई अस्पताल लैजानका लागि उनकी आमाले हारगुहार गर्दा समेत छिमेकीले सुनेको नसुन्यै गरे। किन यति बिघ्न स्वार्थी र संवेदनाहीन बनेको हो हाम्रो समाज? यतिको परपीडक र पतित समाज दुनियाँमा अन्त कतै छ होला?

बलात्कार र यातनाका घटना हुनासाथ ‘महिला अधिकारकर्मी कहाँ छन् खै?’ भन्दै औंला ठड्याउने अर्को प्रवृत्ति पनि मौलाएको छ यो देशमा। ट्विटर र फेसबुकमा डेरा जमाएर बसेका यस्ता धेरैको कुरा सुन्दा लाग्छ यी बलात्कार र यातनाका घटनाहरु महिला अधिकारकर्मीले गरे-गराएका हुन्। यो समूहमा यो समाजका बुद्धिजीवि, अष्पष्ट ‘नागरिक समाज’का केहि स्वघोषित सदस्यहरु र आफूलाई राजनीतिकर्मीका रुपमा चिनाउन चाहनेहरु समेत छन्। महिलामाथि हुने सबै प्रकारका हिँसा र अत्याचारको दोष थोपर्ने ‘बलिको बोको’को रुपमा यो समूहले महिला अधिकारकर्मीलाई पाएको छ। राधा चौधरीमाथिको यातना युट्युबमा हेरेपछि आफूजस्तै रमिते समाजलाई गाली गर्नुको सट्टा यो समूह महिला अधिकारकर्मीलाई सराप्न थाल्छ, जब बलात्कारीहरु खुलेआम बजारमा घुमेको समाचार आउँछ तब यो समूह ‘राज्य खै? प्रशाशन खै?’ भन्नुको सट्टा ‘महिला अधिकारकर्मी खै?’ भनेर चिच्याउँछ, आफ्नै आँखाअगाडि महिला हिंसाको घटना घटे पनि आफूले केहि गर्नुको सट्टा हतपत फेसबुक र ट्विटरमा पसेर ‘नारीवादी खै?’ भनेर कराउँछ। महिला अधिकारकर्मी आफैं राज्य होइनन्, प्रहरी-प्रशाशन होइनन्, उनीहरुले गर्न सक्ने भनेको सचेतना फैलाउने र पीडितलाई न्याय दिलाउन सहजीकरण गर्ने हो जुन उनीहरुले गरीरहेकै छन्। यति सामान्य कुरा यी मानिसहरुलाई थाहा नभएको अवश्य होइन तर कतै न कतै दोष थोपरेर आफू पानीमाथिको ओभानो देखिनु परेको छ उनीहरुलाई।

यो समूह महिला अधिकारकर्मीको छविलाई ‘डलर खेती गर्ने’ र ‘पाँचतारेमा डिनर खाने’का रुपमा स्थापित गर्न कस्सिएर लागेको छ। राधा चौधरीमाथिको यातनापछि ‘नारी दिवसको कार्यक्रम पाँचतारेमा गर्नुको सट्टा गाउँमा गरेको भए यस्तो हुँदैनथ्यो!’ भनेर उपदेश दिनेहरुको एक हूलनै निक्लियो। त्यो दिन पाँचतारेमा कार्यक्रमहरु भए-भएनन् मलाई थाहा भएन तर सञ्चार माध्यममा आएका समाचारहरुलाई आधार बनाएर हेर्ने हो भने त्यो दिनका अधिकांश कार्यक्रमहरु कतै शहरका सडकमा भएका देखिए, कतै गाउँका चौतारीमा भएका देखिए र कतै जीर्ण सामुदायिक भवनका कोठाहरुमा भएका देखिए। फेरि, कुनै कार्यक्रमविशेष पाँचतारेमै हुनु आफैं पनि ठूलो कुरो हुँदै होइन। यस्तो ‘इमेज’लाई मलजल गर्ने काममा मेडिया पनि पछि पर्दैन, ‘कतै नारी दिवस, कतै मलको भारी’ जस्ता शीर्षकमा समाचार पस्केर। समाचारको शीर्षक हेर्दा यस्तो लाग्छ कतै नारी दिवस मनाएकै कारण अन्त कतैका महिलाले मलको भारी बोक्नु परेको हो।

‘डलर खेती’कै कुरा गर्दा पनि, कसले गरेको छैन ‘डलर खेती’? सबैभन्दा ठूलो डलर खेती त यो देशमा सरकारलेनै गरेको छ? महिला अधिकारकर्मीहरुमाथि डलरखेतीको गाली बर्साउने महोदयहरुले सरकारको डलरखेतीको हिसाबकिताबमा कहिल्यै प्रश्न उठाएका होलान्? फेरि यो देशमा ‘डलर’ कसका नाममा आएको छैन? जातिका नाममा, क्षेत्रका नाममा, धर्मका नाममा सबै नाममा ‘डलर’ आएको छ। महिला अधिकारको क्षेत्रमा पनि विदेशबाट आएको पैसा लागेको होला तर त्यो नै पनि के कुनै जघन्य अपराध हो? त्यो ‘डलर’ लक्षित क्षेत्रमा प्रयोग नभई दुरुपयोग गरिएको छ भने छानबीन गर्न, कारवाही गर्न राज्यका निकायहरु छैनन्?

अर्को प्रवृत्ति छ सामान्यीकरणको। उच्च संवैधानिक ओहदामा बसीसकेका ‘व्यक्तित्व’हरु समेत ‘महिलाको शत्रु महिलानै हो।‘ भन्ने खाले बनिबनाउ निष्कर्ष दिएर यो समस्याको भद्दा सामान्यीकरण गर्दिन्छन् मानौं महिलाका समस्या भनेका सासु-बुहारीका झगडा मात्र हुन्। बुहारीले जिउँदै जल्नुपर्ने र छोरी भ्रुणको हत्या हुनेसम्मको स्थिति के महिलाकै कारणले मात्र आएको हो? दाइजो नल्याएको निहुँमा आफ्नो लोग्ने र छोरासंग मिलेर बुहारीको जिऊमा आगो झोस्ने कुनै अनपढ सासुले यो कुकृत्य आफ्नै लहडले मात्र गरेकी हुन्? वर्षैपिच्छे गर्भपतन गराएर आफ्नो शरीरलाई जीर्ण बनाउने यो देशका बुहारीहरुले रहरले, मनोरञ्जनका लागि त्यसो गरेका हुन्? के यो समाजमा एउटी महिलाको कुनै पनि निर्णय जानेर वा नजानेर, प्रत्यक्ष वा अप्रत्यक्ष- पुरुषसत्ताले निर्धारण गरेका नियमकानून र संस्कारको सीमाभन्दा बाहिर जानसक्छ? के हाम्रो समाजले महिलामाथि थोपरेका बाध्यताहरुको यति सजिलो सामान्यीकरण सम्भव छ? हजारौंमा एकाध अपवाद होलान् तर महिलाको वास्तविक स्थिति देखाउने ऐना ती अपवाद हुन् कि आम रुपमा जारी रहेका महिलामाथिका हिंसा र विभेदहरु हुन्?

सामान्यीकरणको अर्को ‘प्रगतिशील’ रुप छ, महिला हक अधिकारका कुरालाई सम्पत्ति पारपाचुकेको अधिकारमा लगेर टुङ्ग्याइदिने। ‘महिलाले सम्पत्ति पाइसके, सबथोक पाइसके, तैपनि किचकिच गर्न छोड्दैनन्!’ भन्न थालिएको छ र सम्पत्तिमाथिको कागजी हकलाई सबै विभेदको अन्त्यका रुपमा ब्याख्या गर्ने प्रयास भइरहेको छ। सम्पत्ति माथिको हकनै कागजबाट पूर्ण रुपमा ब्यवहारमा उत्रिन अझै लामै समय लाग्ने देखिन्छ भने बाँकी विभेद त जस्ताको तस्तै छन्। कानूनमा जातीय विभेद हटेको यति लामो समय भइसक्दा त हाम्रो समाज जातीय विभेद समाप्तिको दिशामा साह्रै थोरै मात्र अगाडि गएको उदाहरण हाम्रो आँखै अगाडि छ। यसैले, महिला समानता र सशक्तीकरणको मुद्दा सम्पत्तिमै मात्र सीमित हुन सक्दैन। आमाको गर्भमै हत्या छोरीकै हुन्छ-छोराको हुँदैन। स्याहारसुसारमा छोरा र छोरीमा विभेद हुन्छ। शिक्षादीक्षाको सवालमा पनि पहिलो प्राथमिकतामा छोराहरु पर्छन्, एकदम सम्पन्न र शिक्षित परिवारमा पनि सूक्ष्म तहमा यो चिन्तन अझै हावी छ। बाटोघाटो र कार्यस्थलमा पुरुषले महिलामाथि मानसिक र शारीरिक हिंसा गर्नु सामान्य छ। शिक्षित र सक्षम महिला पनि पुरुषको दाँजोमा विभेदमा पर्नैपर्ने सामजिक र राजनीतिक संयन्त्र छ हाम्रो। त्यो सामाजिक र राजनीतिक संयन्त्रले गाउँ-टोलका उपभोक्ता समितिदेखि नीतिनिर्माणका तह र उच्च राजनीतिक नियुक्तिसम्म पुरुषको अत्यधिक बहुमत सृजना गर्छ।

हालैका चुनावहरुपछि ठूलो संख्यामा स्थानीय तहमा पुगेका भनेका महिलाहरुको भूमिका कति प्रभावकारी हुन्छ हेर्न बाँकी छ तर यसमा पनि नेतृत्वदायी पदमा अत्यन्त थोरै मात्र महिलाहरु छन्। संसदमा ३३ प्रतिशत प्रतिनिधित्वको बाध्यकारी प्रावधानलाई षडयन्त्रपूर्वक प्रतिनिधिसभामा कम भएपनि हुने गरी तोडमोड गरिएको छ।  मन्त्रीमण्डलमा महिलाको सहभागिता अत्यन्त कम गराइएको छ, प्रदेश प्रमुख त एकजना पनि महिला छैनन्। यसैले नीतिनिर्माणमा महिलाको हस्तक्षेप चाहेजति सशक्त हुन नसक्ने स्थिति बनेको छ।

हजारौं वर्षको पुरुषप्रधान सत्ताले तोकेका संस्कार र अन्धविश्वाशलाई साथ दिनेगरी नयाँ नयाँ पूर्वाग्रह र भद्दा सामान्यीकरणपनि थपिएर महिला अधिकारको लडाईँ झन् जटिल हुन पुगेको छ। महिला अधिकारको सवाल सम्पत्तिको मात्र होइन मानवोचित सम्मानको हो, यो लडाइँ महिलाको मात्र होइन, पुरुषको पनि हो र समग्र समाजकै हो भन्ने मान्यता समाज र राज्यसंयन्त्रमा स्थापित नहुञ्जेल हिँसा र यातनाको यो विकराल स्थितिको अन्त हुने देखिँदैन।
---------------------------------------------------*-----------------------------------------------------------------


(यो लेख छापिदिने अनूरोधका साथ एउटा राष्ट्रिय दैनिकमा पठाएको थिएँ। कुनै जवाफ पनि आएन र छापिएजस्तो लागेको पनि छैन।)