Showing posts with label बिदा. Show all posts
Showing posts with label बिदा. Show all posts

April 07, 2017

बिदामा के गर्ने?

यसपालिको माध्यमिक शिक्षा परीक्षा (एसइइ) चैत ११  मा सकिएको छ। एसएलसीबाट नाम फेरेर एसइइको नाममा सञ्चालन भएको पहिलो पटक हो। मूल्यांकन प्रणाली पोहरबाटै परीवर्तीत भईसकेको छ। नाम र मूल्यांकन प्रणाली बाहेक देशको शैक्षिक संक्रमणकालले बाँकी कुराहरुलाई मिलाउन र स्थायित्व दिन बाँकीनै छ। यसैले विगतको एसएलसी र एसइइमा कुनै अन्तर देख्न सकिएको छैन, परीक्षा ठ्याक्कै उहि ढंगले सञ्चालन भयो। विद्यालयहरु, विद्यार्थीहरु र अभिभावकहरुले यसलाई हेर्ने दृष्टिकोण पनि अझै उस्तै छ। कक्षा १२ लाई विद्यालय शिक्षाको अन्त्य मानिईसकेको अवश्थामा कक्षा १० पछिको एसइइलाई यति तामझामका साथ राष्ट्रिय स्तरमै सञ्चालन गरिनुनै आवश्यक छ कि छैन भनेर समेत प्रश्न उठाउन सकिने ठाऊँ छ। यसपछिका ११ र १२ कक्षाहरु कसरी सञ्चालन हुन्छन् भन्ने अष्पष्टताको पनि समाधान भईसकेको छैन।

यो एसइइपछि पनि विद्यार्थीहरुले झण्डै तीन महिनाको बिदा पाएका छन्। यो बिदालाई कसरी बिताउने, कसरी उपलब्धिमूलक बनाउने भन्ने कुरामा विद्यार्थीहरु र अभिभावकहरुको ध्यान जानु जरुरी छ।

आजका विद्यार्थीहरु सानैबाट विद्यालय जान थाल्छन्। शहरी क्षेत्रमा प्रि-नर्सरी, मोन्टेस्सरीका नाममा २ वर्ष वा त्यो भन्दा कम उमेरबाटै विद्यालय शिक्षा शुरु हुन्छ। ग्रामीण भेगमा पनि अचेल बच्चाहरु नर्सरीबाटै विद्यालय जान्छन्। नर्सरीबाट गन्ने हो भने पनि एसइइ सकिँदासम्म विद्यार्थीहरुले १३ वर्षको विद्यालय जीवन बिताईसकेका हुन्छन्।

हाम्रो शिक्षा प्रणालीमा रचनात्मकताको अभाव छ। किताब रटेर सकेसम्म धेरै नम्बर ल्याउनुपर्ने ‘नम्बरमुखी’ प्रवृत्तिले शिक्षालाइ रचनात्मक र बहसमूलक हुनबाट रोकेको  छ। जति-जति कक्षा चढ्दै गयो उति यो नम्बरमुखी प्रवृत्ति बढ्दै जाने र विद्यार्थीहरु किताबमै घोटिने समय पनि बढ्दै जाने हुने गरेको छ। यसले विद्यार्थीहरुलाई निरन्तर मानसिक रुपमा थकाउँछ। किताबकेन्द्रित शिक्षाले ब्यक्तित्वको चौतर्फी विकास हुन पनि दिँदैन। अर्कोतिर, विद्यार्थीहरुको समाजसंगको घुलमिल र चिनजानलाई पनि यसले सीमित गराईदिन्छ। हाम्रो समाज र राज्यले खेलकूदलाई खासै महत्व र इज्जत नदिने हुँदा विद्यालयहरुले पनि खेलकूदमा खासै लगानी गर्दैनन्। यसले गर्दा एसइइ दिएका हाम्रा विद्यार्थीहरु अरु देशका उहि उमेरका विद्यार्थीहरुको दाँजोमा शारीरिक रुपमा पनि कम तन्दुरुस्त  र कम छरिता हुन्छन्।

त्यसैले बिदाका यी तीन महिना विद्यार्थीहरुको शारीरिक र मानसिक पुनर्ताजगीमा लगाउनुपर्छ। यस कुरामा विद्यार्थी र अभिभावकहरु सचेत हुनैपर्छ। ब्रिज कोर्स वा अन्य कुनै नाममा फेरि किताबी रटानमै लगियो भने त्यो शारीरिक र मानसिक पुनर्ताजगी प्राप्त हुन सक्दैन।

यसैले यो बिदालाई सकेसम्म उपलब्धिमूलक बनाउने हो भने अभिभावकहरुले आफ्ना बच्चाबच्चीलाई फेरि किताबमुखी-रटानमुखी कृयाकलापबाट जोगाएर बिभिन्न अतिरिक्त कृयाकलापहरुमा लाग्न प्रेरित गर्नुपर्छ। तीन महिना बिदाको कम्तिमा दुई महिना उनीहरुमा शारीरिक र मानसिक पुनर्ताजगी हुनेगरी खेलकूद, संगीत, कला, रचनात्मक लेखन आदि सिक्न लगाउनुपर्छ। त्यस्तै शहरमा रहेका म्युजियमहरु र ग्यालरीहरु चहार्न पठाउनुपर्छ। शहरमा हुने प्रदर्शनी, मेला र कन्सर्टहरुमा दिनभरि घुम्न लगाउनुपर्छ। विश्वप्रसिद्ध साहित्यिक रचनाहरु पढ्ने बानी बसाल्न सकियो यहि बेलामा भने उनीहरुको सोच र ब्यबहारको क्षितिज फराकिलो हुन्छ। हलिउड र अन्य प्रसिद्ध चलचित्र उद्योगका अन्तर्राष्ट्रिय रुपमा पुरष्कृत चलचित्रहरु हेरे भनेपनि उनीहरुको फरक संस्कृतिको ज्ञान त बढ्छ नै, उनीहरुमा तुलनात्मक विश्लेषण-समीक्षाको समेत बानी लाग्छ।

यस्तै, आफ्नै शहर र गाऊँठाऊँको राजनीतिक-साँस्कृतिक इतिहासको खोजी गर्ने, पाकाहरुसंग सोधेर टिपोट बनाउने जस्ता काम गराउन सकिन्छ। फरक समाज र फरक संस्कृतिको अनुभव गराउनका लागि उनीहरुलाई अन्य शहरहरुतिर घुम्न पठाउन सकिन्छ र नेपालको सौन्दर्यमा गर्व गराउन उनीहरुलाई बिभिन्न पदयात्राहरुमा पठाउन सकिन्छ।

विद्यार्थीहरुको यो बिदालाई लक्षित गरेर खुल्ने र चल्ने बिभिन्न इन्स्टिच्युटहरुले पनि किताबी रटानको साटो यस्ता रचानात्मक र मनोरञ्जनात्मक कृयाकलापहरुको सहजीकरण गर्न सके भने समाजको लागि ठूलो गुन हुनेछ।