December 31, 2008

नयाँ वर्ष २००९ को हार्दिक मंगलमय शुभकामना!!!!

यहाँहरु सबैमा नयाँ वर्ष २००९को हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छु!!

यही मेसोमा एउटा पुरानो एउटा टुक्रा (कविता?) राख्न चाहन्छु। नेपाली नयाँ वर्ष २०६४ ताका साझाको चौतारीमा गफ्फिँदा-गफ्फिँदै जन्मेको थियो यो टुक्रो। त्यहाँबाट सोझै यतै आऊँदैछ।
--------------------------------------------------------------------------------

                        "नयाँ वर्ष"

        भोलि फेरि-
        आफ्नो आलस्यको दोष
        मिले अरु कसैमाथि र नमिले
        'भाग्य' माथि थोपर्नु छ,
        पोहर गरेर जानी-जानी बिर्सिएका वाचाहरुको
        नवीकरण गर्नु छ
        (हुनत पोहर पनि परारकै नवीकरण थियो!),
        अपरिचित 'फोटोकपी' मेलहरुको राश पन्छाएपछि
        अपरिचित सयौं मान्छेहरुलाई-
        उस्तै 'फोटोकपी' मेलहरु पठाएपछि
        बाँकी रहेको समयमा हतार-हतार,
        नयाँ हुने दाउमा-
        एक अंक मात्रै हेरफेर गरेर जिन्दगीका पानाहरुमा
        पूरानै समीकरण भर्नु छ।

---------------------------------------------------

December 25, 2008

कविता- "इतिहासको यो कालो पाना"

(यो कविता अलिक पहिला जनआन्दोलन-२ को पृष्ठभूमिमा लेखिएको थियो र मेरो एउटा झिनो आशा के थियो भने इतिहासका 'काला' पानाहरु सकिनेछन्। मेरो आशा ब्यर्थको रहेछ भन्ने बोध हुन खासै समय लागेन। हाम्रो देशको इतिहासमा काला पानाहरुको एक खात अझै बाँकी रहेछ। मैले कविताको शिर्षक 'इतिहासको कालो अध्याय' वा अझ 'इतिहासको कालो पुस्तक' नै राखेको भए पनि हुने रहेछ।

खैर, छोडौं यी कुरालाई। आज, साझामा पहिल्यै टाँसिसकिएको यो कविता, मेरो 'इतिहासको ब्याज', पस्किँदैछु यहाँहरुका लागि।)


"इतिहासको यो कालो पाना"

एउटा ब्याधा-
मासु नखाने घोषणा गर्छ संसार सामु
र घरभित्र पसेर
त्यसै उपलक्षमा परेवा काट्छ,
एउटा जँड्याहा हाकिम-
कहिल्यै नपिउने प्रण गर्छ अड्डामा
र घर फर्किँदा
त्यसै उपलक्षमा भट्टी पस्छ,
एउटा लम्पट लोग्ने-
धोका नदिने कसम खान्छ दशौँ पटकको
र सोझी स्वास्नी मन्दिर गएको बेला
लुसुक्क बेश्यागमन गर्छ;

इतिहासको यो कालो पानामा-
ब्याधाको राज छाएको छ
जँड्याहाले काज पाएको छ
र लम्पटले पाठ पढाएको छ;

इतिहासको यो कालो पानामा-
'कटवाल' को मुख थुनेर
यन्त्रमानवहरु भजन ओकल्छन्
समाचारको नाममा,
बन्दूक बोकेका कातरहरु
बन्द शहरका सडकलाई बलात्कार गर्छन्
बहादुरीका नाममा,
र निधारबाटै देश मेटिसकेकाहरु
ढाका टोपी लगाऊँछन्
देशभक्तिको नाममा;

इतिहासको यो कालो पानामा-
एकै दिन एकै प्रहर
एक हातले सञ्चार सम्मेलनको रिबन
र अर्को हातले टेलिफोनको तार काटिन्छ,
एकै ठाऊँ एकै ठहर
मुखले रामराज्य घोषणा गरीरहँदा
हातले स्वतन्त्रताकी सीताको हरण गरिन्छ;

र म पनि सोधिरहेछु
इतिहासको यो कालो पानासंग-
ब्याधाको राज अब कति छ?
जँड्याहा संग इतिहास हाँक्ने के हुती छ?
र लम्पटसंग कुन नैतिक सम्पत्ति छ?
चुनौती हो यो मेरो
इतिहासको यो कालो पानालाई-
अब तँसंग
पाप लेखिन बाँकी
हरफनै कति पो छ?!

December 22, 2008

'हिमाल' माथिको माओवादी आक्रमण-मूर्दाबाट!!!!!!!!


स्वतन्त्र प्रेसमाथिको माओवादी ज्यादती-मुर्दाबाद!!!!!


लोकतन्त्रमा विरोधी विचारको अस्तित्वलाई सहर्ष स्वीकार गरिन्छ। लोकतन्त्रमा 'लडाईँ' विचार, तथ्य र तर्कहरुका आधारमा लडिन्छ। कुनै विचार, तथ्य वा तर्क आफूलाई चित्त बुझ्दैन भने प्रतिकार पनि त्यहि ढंगले गरिन्छ। तर यो लोकतन्त्रको यो मूल्य-मान्यता माओवादीहरुको हकमा भने लागू नहुने जस्तो छ।

हिजो माओवादीहरुको एउटा जत्थाले हिमाल-मिडियाको कार्यालयमा भीषण आक्रमण ग-यो, यसबारेमा तपाईँहरु सबैले पढिसक्नुभएको छ। प्रकाशक, कर्मचारी र संवाददाताहरुसहित धेरै घाईते भए र धेरै भौतिक क्षति भयो।

नेपाल केहि वर्ष यता 'गधालाई गाई' बनाउने प्रयोग गरिरहेको छ र जति दिन बित्दैछ उति यो प्रयोग असफल हुने झन-झन निश्चित हुँदैछ। माओवादीहरु झन-झन अराजक, उद्दण्ड र अपराधी हुँदै गईरहेका छन्। नेपाली समाजको सहनशीलता र क्षमाशीलतालाई उनीहरु कमजोरी ठानिरहेछन् र आफ्नो अधिनायकबादी ब्यबहारलाई अझै बढाऊँदै लगिरहेका छन। उता उनीहरुको नेतृत्व भने 'माओवादी' नामधारी जसले जे गरेपनि बचाउ गर्न, अझ उक्साउन र देशलाई अझ अराजक बनाउन माहिर छ। अतिनै विरोध आयो भने माओवादी संलग्ननै छैन र उसलाई बदनाम गराउने सुनियोजित षडयन्त्र हो भन्दिने, अझ विरोध आए 'माफी' माग्दै संलग्नलाई पार्टी आफैंले कारवाही गर्छ भन्दिने र ती कथित कार्यकर्ताहरुलाई सुरक्षाका साथ 'फरार' गराउने काममा संसारमै सबैभन्दा निपुण भईसकेको छ माओवादी।

माओवादी देशमा विद्यमान विकराल गरीबि र विगतका शाशकहरुको अकर्मण्यताको कारण जनतामा उत्पन्न आक्रोशलाई भजाउँदै उदाएको हो तर उसको चिन्तन र ब्यबहारको आधार अधिनायकवादी चिन्तननै हो। दोश्रो जनआन्दोलन, शान्ति-सम्झौता र संविधानसभा चुनाव हुँदै यहाँसम्म आईपुग्दा, हामी धेरैले आशा गरेका थियौं कि उ एउटा जिम्मेवार लोकतान्त्रिक शक्तिमा रुपान्तरण हुनेछ। तर हाम्रो आशा निराशामा बदलिएको छ। अझ यतिखेर त उ सरकारको नेतृत्व गरिरहेको र देशको सबैभन्दा ठूलो दल हो, उसमा अरुभन्दा बढी गम्भिरताको खाँचो छ यतिखेर। तर यस्तो गम्भिरता माओवादीमा खोज्नु, 'चोरलाई भण्डारे बनाएपछि चोरी आफैं रोकिन्छ' भनेर सोच्नु हाम्रो मृगतृष्णा रहेछ। यता प्रचण्ड लगायतका माओवादी 'नेता'हरु गाँजा-भाङमा लठ्ठिएझैं दिनमै नौथरी मनपरी बोल्दै हिँड्छन् र उता उनीहरुका 'वानर सेना' देश अशान्त पार्दै हिँडछन्।

कुनैपनि देशमा जबसम्म बलिया स्वतन्त्र संचारमाध्यमहरुको अस्तित्व रहिरहन्छ तबसम्म अधिनायकवादले जरा गाड्न पाऊँदैन। जसले जे भनेर जति जस लिन खोजेपनि (बोल्नबाट कसलाई कसले रोक्न सक्छ र!) पूर्वराजा ज्ञानेन्द्रको शाशकीय महत्वाकांक्षालाई धूलो चटाउने आधारभूमि तयार पारेको देशको स्वतन्त्र संचारमाध्यमलेनै हो। यसैले अधिनायकवादीहरु स्वतन्त्र संचारमाध्यमसंग असाध्यै डराऊँछन् र हरदम यसमाथि आक्रमण गर्ने र यसलाई सिध्याउने निहुँ खोजिरहन्छन्। समयक्रमले के देखाएको छ भने माओवादीहरुको अधिनायकवादी आकांक्षा ज्यूँ का त्यूँ छ र यसैले उनीहरु यो वा त्यो बहानामा नेपालको स्वतन्त्र संचारमाध्यममाथि खनिएका छन्।

यो निन्दनीय कार्यको जति कडा शब्दमा भर्त्सना गरेपनि कम हुन्छ। माओवादी ज्यादती-मुर्दाबाद! 'हिमाल' माथिको आक्रमण पूरै नेपालमाथिको आक्रमण हो।

र अर्को मुर्दाबाद! महन्थ ठाकुरका नाममा। नेपाल आमाको छातीमा यथेष्ट 'हाली-मुहाली' गर्ने अवसर पाएका महन्थ ठाकुर किन यति विघ्न कृतघ्न हुँदै गएका हुन् कुन्नि! कथित 'मधेशवादी' नेताहरुमध्ये धेरै 'धम्की'को राजनीति गरिरहेछन् र उनीहरु धम्कीकै भरमा आफूले चाहेजस्तो गरी अगाडि बढौंला भन्ने दिवास्वप्न देखिरहेछन्। महन्थ ठाकुरपनि त्यस्तै दिवास्वप्नमा बर्बराईरहेका हुन्!

मलाई महन्थ ठाकुरको यो धम्की माओवादीहरुको ज्यादतीको सामुन्ने केहि पनि लाग्दैन। जबसम्म माओवादी देशलाई झन-झन अराजकतातिर धकेलिरहन्छ तबसम्म यस्ता 'महन्थ ठाकुर'हरुले मुख बाउने अवसर पाइरहनेछन्। तराईका वास्तविक समस्याहरु समाधान गर्ने, कथित 'एक मधेश-एक प्रदेश' किन घोर गलत छ भन्ने कुरामा तराईका जनताहरुलाई सूसूचित गर्ने र तराईको अपराध-जञ्जाललाई निमिट्यान्न पार्ने कामलाई समानान्तर रुपमा लाने हो भने 'महन्थ ठाकुर' हरुका मुख बन्द हुन खासै समय लाग्दैन।

देशको सबैभन्दा ठूलो समस्या माओवादी र उसले खडा गरेको अराजकता हो। बिडम्बना, उ नै सरकारको नेतृत्वमा छ।


December 18, 2008

रमेश विकलज्यूमा हार्दिक श्रध्दाञ्जली!!!


नेपाली साहित्यका एक अथक सेवक महान कथा-शिल्पी रमेश विकलज्यूको निधनको खबरले अत्यन्त दु:खी बनाएको छ। उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोकाकूल परिवारजनमा हार्दिक समवेदना ब्यक्त गर्न चाहन्छु।
-------------------------------------------------------------------------------------
रमेश विकलज्यू केहि समय यताबाट थलिनु भएको छ भन्ने कुरा अस्तिमात्रै नरेन्द्र रौलेजीले उहाँसंग गर्नुभएको कुराकानी पढेर पनि थाहा भएको थियो तर यति चाँडै यो दुखद खबर सुनिएला जस्तो लागेको थिएन। नेपाली भाषा-साहित्य र समग्र नेपालले एक मूर्धन्य प्रतिभा र एउटा सपूत गुमाएको छ।

रमेश विकलज्यूका कथाहरु धेरै पढियो। तीमध्ये म सबैभन्दा बढी प्रभावित भएको कथा (र सम्भवत: मैले सबैभन्दा पहिला पढेको उहाँको कथापनि यहिनै हुनुपर्छ) 'मेरी सानी भतिजी प्रतिमा' हो। वि. सं. २०३९ सालतिरको कुरा हो, त्यतिखेरको १० कक्षाको 'महेन्द्रमाला'मा यो कथा थियो, दाइहरुका नेपाली किताबहरु पढ्ने क्रममा यो कथा पनि पढेको थिएँ। यो कथा, चिन्तनमा कहिल्यै आधुनिक हुन नसकेको कथित 'आधुनिक' नेपाली समाजको भयंकर शल्यकृया हो। छोरो जन्मेपछि छोरीलाई कसरी दुर्ब्यबहार गर्न थाल्छन् 'आधुनिक', 'शिक्षित' बाबु-आमाहरुले र आफूपनि एउटी नारीनै भएको बोधलाई गुमाएर, अबोध र निर्दोष छोरीलाई शारीरिक-मानसिक यातना दिन कसरी आमा स्वयं झन एक कदम अघि हुन्छिन् भन्ने कुराको सशक्त र यथार्थ चित्रण गर्नुभएको छ विकलज्यूले। कुनैपनि समस्याको 'दार्शनिक' समाधान दिनसक्ने तर ब्याबहारिक समाधानको दिशामा एउटा खुट्टो पनि उचाल्न नसक्ने/नचाहने हामीजस्ता 'नेपाली बुद्धिजीवी'हरुको प्रतिनिधिको रुपमा प्रतिमाको 'अंकल'को चित्रण पनि उत्तिकै सशक्त छ।

हाम्रो नेपाली समाजमा आजसम्म प्रतिमाका 'बाबु-आमा', 'भाइ' र 'अंकल'नै प्रचण्ड बहुमतमा छन् र अरु कुनै पात्रको सशक्त उदय हुनसकेकै छैन। त्यसैले अझैपनि 'बाबु-आमा'हरु 'भाइ'हरुलाई पुल्पुल्याईरहेका छन् र उद्दण्ड, घमण्डी र जिम्मेवारीवोधवीहिन 'पुरुष' मान्छेहरुको 'खेती' गरिरहेका छन्, दुई-चार 'दार्शनिक' 'महावाणी'हरुको वर्षा गराएर 'अंकल'हरु पलायन हुन्छन्, यो संसारका अन्यायका विरुद्ध लड्न 'प्रतिमा'हरुलाई एक्लै छाडेर, यो थाहा हुँदा-हुँदैपनि कि आफ्नो रक्षाको लागि निर्दोष-अबोध 'प्रतिमा'हरुसंग रुनुबाहेक अरु कुनै उपाय छैन। यो समस्याको अझ भयंकर पक्ष के हो भने ताडना पाऊँदा-पाऊँदै 'प्रतिमा'हरु यसैमा अभ्यस्त हुन्छन् र यसैलाई जिन्दगीको सत्यको रुपमा स्विकार गर्छन्। अनि भविष्यमा आफूले जन्माउने 'प्रतिमाहरु'माथि पनि त्यस्तै ब्यबहार गर्छन् र यो दुष्चक्रलाई निरन्तरता दिन्छन्।

यो मेरो मनगढन्ते मनोवाद होईन। छोरा र छोरीमा भेद र छोरीहरुमाथि माथि दुर्ब्यबहार गरिएका घटनाहरु मैले सैयौं देखेको छु, कति नजिकका नातेदारहरुमै। नेपाली समाजको सबै तहमा यो प्रवृत्ति कायमै छ अझै। मात्रामा घटबढ होला तर चूरो कत्ति फरक छैन। देशमा त देखियो-देखियो, विदेश आएपछि पनि वर्षौंदेखि यहीं बसिरहेका मान्छेहरुले पनि छोरा र छोरीलाई उस्तै भेदपूर्बक ब्यबहार गरेको देखेको छु। खैर, अहिलेलाई यी कुराहरु नकोट्याऊँ, यी सबैको बारेमा कुनै दिन एउटा छुट्टै लेख लेखौंला।

त्यसपछि मैले पढेको "नयाँ सडकको गीत" भन्ने कथा संग्रह हो। यो पनि एउटा सशक्त कृति हो। यसभित्रका केहि कथाहरु शहरको परिवेशमा पनि लेखिएका छन् तर समग्रमा यसलाई पहाडी ग्रामीण जीवनको एउटा जीवन्त चित्र भन्नुमा कुनै अत्युक्ति हुँदैन। त्यसपछि बिभिन्न तहका नेपाली पाठ्यक्रममा राखिएका र बिभिन्न साहित्यिक पत्रिकाहरुमा छापिएका उहाँका केहि कथाहरु पढियो। "अविरल बग्दछ ईन्द्रावती" नामक टेलि-सिरियलको केहि भागहरु हेरपनि कृतिनै भने पढेको छैन।

काठमाण्डौंको शहरी परिवेशमा लेखिएका उहाँका कथाहरुको अर्को संग्रह "शव, सालिक र सहस्र बुद्ध" (रचनाको हिसाबले "नयाँ सडकको गीत" कै समसामयिक हुनुपर्छ यो) पनि पढेको थिएँ केहि वर्ष पहिला। उहाँका विगत केहि वर्ष यताका कथा वा अरु कुनै पनि रचना भने पढ्न पाएको छैन।

रमेश विकलको नामसंग वामपन्थी राजनीति र यदाकदा एउटा निश्चित राजनीतिक दलको नामपनि जोडिएर आऊँछ। एउटा सचेत र संवेदनशील साहित्यकार/कलाकार समाजका अँध्यारा पक्षहरुलाई नदेखेको अभिनय गर्न सक्दैन, त्यसैले उसको रचना/कलामा समाजको सहि चित्रण र निमुखाहरुका पक्षमा आवाज हुनु अस्वाभाविक होईन। रमेश विकलज्यूले नेपाली समाजका निमुखाहरुका पक्षमा आफूलाई उभ्याउनुभएको छ, यसमा कुनै विवाद छैन। प्रगतिवादी साहित्यको नाममा साम्यवादी दलहरुका कोरा नाराहरुको विस्तारको 'खेती' गर्ने अरु धेरै 'प्रगतिवादी' साहित्यकारहरुभन्दा उहाँ धेरै फरक हुनुहुन्छ र उहाँका रचनाहरुले उच्च कलाचेत र सौन्दर्यबोधलाई कतै पनि मर्न दिएका छैनन्। तर उहाँले आफूलाई कुनै निश्चित राजनीतिक दर्शनसंग नजोडिदिएको भए अझ राम्रो हुन्थ्यो भन्नेचाहिँ लागिरहन्छ मलाई।

उहाँलाई एकपटक भेट्ने सौभाग्य मिलेको थियो। सन् १९९५ तिर होला, मदनमणि दिक्षितज्यूको नेतृत्वमा प्राज्ञहरुको एउटा टोली चीन भ्रमणमा गएको थियो, त्यतिखेर प्रज्ञा-प्रतिष्ठानको उप-कूलपति दिक्षितज्यूनै हुनुहुन्थ्यो शायद। उहाँहरु हामी बसिरहेको शहरमा पनि आउनुभएको थियो। त्यो शहरको स्थानीय संचार-माध्यमले उहाँहरुको भ्रमणलाई निकै महत्व दिएका थिए। हामी एकदिन साँझ उहाँहरुलाई भेट्न उहाँहरु बसिरहनुभएको होटेलमा पुगेका थियौं। दिक्षितज्यू, विकलज्यू, धुस्वाँ सायमीज्यू र ज्ञानमणि नेपालज्यूसंग तीन घण्टाजति कुरा गरेर बसेका थियौं हामी। उहाँहरुबाट नेपाली साहित्यका थुप्रै नवप्रकाशित किताबहरु पनि मिलेको थियो। भ्रमणदलमा कथाकार पद्मावती सिंह पनि हुनुहुन्थ्यो, तर चाँडै सुतिसक्नुभएकोले उहाँसंग भने भेट हुन पाएन।

हाम्रो नेपाली साहित्यमा कविता लेख्नेहरुको भिड छ, साहित्यका अरु विधाहरुमा बाँझो जमीन अझै धेरै बाँकी छ। कथाको एउटा पाटोलाई खनजोत गरेर नेपाली साहित्यको लागि धेरै बाली भित्र्याईदिएर रमेश विकलज्यू बिदा हुनुभएको छ। हामीले त्यो पाटोलाई जोगाऊँदै अरु पाटाहरु थप्दै जानसक्नुनै उहाँप्रति सच्चा श्रद्धाञ्जली हुनेछ।

December 15, 2008

र कमरेडले ‘क्रमभंग’ गर्नुभयो!

कमरेडले गाईलाई गधा, बाघलाई जरायो,
हात्तीलाई गोही र गैंडालाई खरायो भन्दिनुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो!

अरुले दौरा-सुरुवाल-कोट-टोपी लगाऊँथे
कमरेडले सूट-टोपी लगाउनुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो!

पहिला नाताबादमात्रै थियो देशमा
कमरेडले ‘क्रान्तिकारी नाताबाद’को आविष्कार गर्नुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो!

अरुले साली लान्थे र ‘टाइप’ गराउँथे
कमरेडले छोरो लानुभयो र ‘टाइप’ गराउनुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो!

पहिला अरु हुन्थे मालपोत-यातायात-अदालतमा
अहिले कमरेडले आफ्नापनि हुल्दिनुभयो
र कमरेडले क्रमभंग गर्नुभयो!

जनयुध्द हुँदा ‘सफाया’ गर्नुहुन्थ्यो कमरेडले
आज जनयुध्द नभएपनि ‘सफाया’ गर्दिनुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो!

कमरेडले हिजो पत्रिका जलाउनुहुन्थ्यो
कमरेडले आजपनि पत्रिका जलाउनुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो!

पहिला बाढी आऊँदा अरुले हेलिकप्टर चढ्थे
अहिले कमरेड आफैंले चढ्नुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो!

कमरेड विदेश गएर "पूच्छर झिक्छु!" भन्नुभयो
र स्वदेश आएर "पूच्छर थप्छु!" भन्नुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो!

पहिला अरुलाई ‘हुतीहारा’, ‘भातमारा’ भन्नुहुन्थ्यो
आज “यो कुर्सी टेढो छ!” भन्दिनुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो!

बन्दुक कहिले पो छोड्नुभएको छ र कमरेडले!?
तर आज “फेरि बन्दूक बोक्छु!” भन्दिनुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो!





आज बिहान शब्दकोष हेर्दा ‘क्रमभंग’ शब्द कतैपनि देखिएन। कतै ‘क्रमभंग’ले आत्महत्या त गरेन?!

(सूचना:यो 'क्रमभंग' महिमाको प्रतिलिपि अधिकार खुल्ला छ। जोसुकैले कमरेडहरुका 'क्रमभंग'का उदाहरणहरु थप्न, अरुलाई पठाउन वा जे सकिन्छ त्यहि गरेर 'क्रमभंग' गर्न सक्नेछ:)

December 11, 2008

ओशोसंगको मेरो नाता


आज गत शताब्दीका अत्यन्त प्रभावशाली रहस्यदर्शी-दार्शनिक ओशोको जन्मदिन हो।
---------------------------------------
धेरैजसो मान्छेजस्तै मैले पनि ओशोको बारेमा अरुबाट सुनेर पाएको उनको शुरुको परिचय भनेको 'सेक्स-गुरु'कै हो। यो सन १९८६को जनवरी-फेब्रुअरीको कुरो हो। ओशो नेपाल आएर सोल्टी होटेलमा बसेका थिए र दिनको दुई पटक प्रवचन दिन्थे। त्यतिखेर ओशो अत्यन्त विवादास्पद मानिन्थे र नेपालमा पनि उनको र उनलाई देशमा 'राखेको' भनेर तत्कालीन पञ्चायती सरकारको ब्यापक विरोध हुन थालेको थियो। मेरो स्मरणअनुसार, यो विरोधमा नेपालका वामपन्थी विद्यार्थी संगठनहरु सबैभन्दा बढी सकृय थिए। हिऊँदे बिदा सकिएपछि, फागुन लाग्दा विद्यालय शुरु भयो (९ मा पढ्थें म त्यतिबेला) र ओशोका बारेमा नकारात्मक कुराहरु झन बढी सुन्ने मौका मिल्यो। ओशो 'सामान्य' सेक्स-गुरु मात्रै हैनन्, अत्यन्त अराजक, अनैतिक र असामाजिक मान्छे हुन्, यिनले आफ्नै आमासंगको यौन-सम्बन्धलाई पनि प्रोत्साहन् गर्छन् भन्नेजस्ता विचारले गहिरो जरा गाड्यो ममा विद्यालय जान थालेको केहि दिनमै।

एकदिन आफूभन्दा पाँच वर्ष जेठा दाइसंग यसै विषयमा कुरा हुँदै थियो। 'ओशो नेपालमा बसेको तँलाई किन मन नपरेको?' भनेर दाइले सोध्दा मैले आफ्नो दिमागमा कोचिएका त्यस्तै कुराहरु निकै उत्साहित हुँदै एकसासमै ओकलें।
"तैंले ओशोको प्रवचन सुनेको अथवा पढेको छस्?" मेरो कुरा सुनिसकेपछि दाइले फेरि सोध्नुभयो।
"छैन।"
"हेर् केटा, आफैंले नसुनी अथवा नपढी अर्काको हल्ला सुनेको भरमा यस्ता कुरा गर्दै हिँड्नु हुन्न। जा कम्तिमा एउटा प्रवचन सुन् अथवा पढ्, अनिमात्रै कुरा गर्।"

दाइको सल्लाहले मेरो मुख बुझो लगाईदियो। केहि खोजेर पढ्थें होला अथवा सम्भव भए सोल्टी होटेलै पनि पुग्थें होला ओशोको प्रवचन सुन्न, तर त्यसको केहि दिनपछिनै ओशोले नेपाल छाडे। उनको प्रस्थानसंगै यो प्रसंग सेलाएर गयो र मैले ओशोको कुनै पनि प्रवचन पढिँन। दाइको सल्लाहले मेरो मनमा रहेको ओशोको छविको नकारात्मकतालाई अलि-अलि मात्रै कम गर्न सकेको थियो। ओशो कम्तिमा पनि अत्यन्त अराजक र समाजविरोधी हुन् भन्ने मान्यतामा अडिग थिएँ म।

१९९४-९५तिर चीनमा बी.ई. अध्ययनरत हुँदा पत्रिका-पुस्तक पसलहरुमा ओशोका प्रवचनहरु संकलित पुस्तकहरु (चिनियाँ संस्करण) देखिन थाल्दा अनौठो लागेको थियो। विश्वविद्यालयको रेडियोमा पनि ओशो र उनको दर्शनको बारेमा चर्चा भइरहेको हुन्थ्यो बेला-बेलामा। पश्चिमको खुल्ला पूँजीवादी समाजले समेत पचाउन नसकेको ओशोलाई साम्यवादी चीनले भने सजिलै अँगालेको देख्दा अनौठो नलाग्ने कुरो पनि भएन।

तर पनि ओशोको बारेमा आफैंले पढेर बुझ्नेतिर मेरो पाइला चलेन।

बी.ई. सकेर नेपाल फर्केपछिका केहि महिना म बेरोजगार थिएँ। बेरोजगार हुँदा, स्वाभाविक हो, निराशा र कुण्ठाले मनमा सजिलै घर बनाऊँछन्। जे गरेपनि निराशा र कुण्ठाबाट फुत्किन असाध्यै गाह्रो भईरहेको थियो मलाई। यस्तैमा घरमा एक दिन ओशोका चार प्रवचनहरुको एउटा संग्रह देखें, कुनै भाइले ल्याएको होला। 'सम्भोगसे समाधि तक' भन्ने प्रवचन-श्रृंखलाको चारमध्येको दोस्रो (नै हुनुपर्छ) भाग थियो यो, 'नारी और क्रान्ति' भन्ने उप-श्रृंखला। भित्र 'नारी और क्रान्ति' शिर्षकको एउटा प्रवचन पनि थियो र बाँकी तीन अरुनै विषयमा थिए।

त्यो संग्रहको पहिलो प्रवचनको पहिलो अनुच्छेद पढिसक्दा ममा उत्पन्न भएको भावनाको बयान गर्न मसंग कुनै शब्द छैनन्! एकैपटक कुनै जादूमयी संसारमा प्रवेश गरजस्तो, वर्षौंसम्म अँध्यारो सुरुङ्गमा हिँडेपछि अचानक उज्यालोमा आईपुगेजस्तो, कुनै सुख्खा-उजाड स्थल अचानक सुन्दर बगैंचामा परिणत भएजस्तो; यस्तो लाग्छ त्यो क्षण म सम्मोहित अवश्थामा थिएँ। मेरो त्यतिखेरको मानसिक अवश्था कस्तो थियो कुन्नि, हरेक शब्द कुनै रहस्मय अज्ञात स्रोतबाट आईरहेजस्ता लाग्ने ती शब्दहरुले मलाई पूरै नियन्त्रणमा लिए र ओशोधारातिरको मेरो यात्राको शुरुवात भयो।

दिमागी हिसाबले हेर्दा त्यो हरफमा त्यस्तो नौलो केहि पनि छैन। ओशोले त्यहाँ पृथ्वीको उत्पत्ति र त्यसमा जीवजन्तुहरुको आगमनको अत्यन्त संक्षिप्त चर्चा गरेका छन्।

त्यो किताब एक बसाईमा सिध्दियो र म ओशोका प्रवचनहरु खोजी-खोजी पढ्न र सुन्न थालें। प्रवचनहरुका साथ-साथै ध्यान-संगीत पनि खोजी-खोजी सुन्ने बानी लाग्यो। क्रमैसंग ओशोका बारेमा रहेका भ्रमहरु एक-एक गर्दै टुट्न थाले। केहि वर्ष ओशो टाइम्स (हिन्दी)को नियमित ग्राहक थिएँ म। यो ओशो टाइम्सको पढ्ने सामाग्री मात्र हैन यसको साजसज्जा, यसमा भएका हरेक तस्बीरहरु अत्यन्त सुन्दर, कलात्मक र मनलाई शान्त बनाउने क्षमता भएका हुन्छन्। मलाई के लाग्छ भने ओशोका विचारसंग असहमत हुनेलाई पनि ओशो टाइम्सको सौन्दर्यले सजिलै पगाल्नसक्छ।

ध्यान गर्ने वा त्यसभन्दा 'माथि'का कुरालाई अलि टाढै राखेर सोच्दा पनि ओशोको संगतमा आएपछि चलचित्र, गीत, संगीत आदिको चयन र विश्लेषणसम्बन्धी मेरो दृष्टिकोणमा ब्यापक रुपमा सकारात्मक परीवर्तन आएको जस्तो लाग्छ मलाई। सौन्दर्यचेत/कलाचेतमाथिको मेरो यो अनुभव नितान्त भ्रममात्रै पनि हुनसक्छ, म स्विकार गर्छु तर यी सबैबाहेक पनि ओशोका प्रवचन-संग्रहहरुले मेरो सामान्य ज्ञानको स्तरलाई पनि धेरै माथि उठाईदिएको भने भ्रम होईन। पूर्वीय दर्शनको महत्तालाई पनि उनैबाट बुझेको हुँ मैले।

दुई पटक ओशो तपोवन पनि पुगें। केहि महिनापछि शुरु भएको ६ वर्षजति लामो पोखरा बसाईका क्रममा पनि तेर्सापट्टीमा रहेको एउटा ध्यानकेन्द्रमा धेरै पटक गएँ, केहि समय हरेक शुक्रबार पुग्थें। पृथ्वी चोकमा रहेको अर्को एउटामा पनि एकपटक पुगेको थिए। कुनै ध्यान शिविरमा भाग लिने चाहना भने अझै पूरा भएको छैन।

मेरो बुझाईमा ओशोका सम्पूर्ण प्रवचनहरुको मूल सन्देश भनेकै 'ध्यान, ध्यान र ध्यान' हो। उनले ध्यानलाईनै मानव जीवनको सौन्दर्य र ऐश्वर्य मानेका छन्, ध्यानलाईनै मानवमुक्तिको एउटै बाटो मानेका छन्। ओशोले धेरै ध्यान विधिहरुका बारेमा चर्चा गरेका छन् र ईर्ष्या र तनावले हरदम भरिएको 'कोलाहलयुक्त मन' भएको आधुनिक मान्छे ध्यानको दुनियाँमा कसरी पस्न सक्छ भनेर प्रारम्भिक चरणहरु/पूर्व तयारीहरुको बारेमा पनि धेरै बोलेका छन्। पहिला यथेष्ट मानसिक विरेचन (catharsis) गरेर मानसिक कूडा-कर्कट हटाएपछि मात्रै विपश्यना वा यस्तै अरु ध्यानविधिहरुमा सहज प्रवेश गर्न सकिन्छ भन्ने उनको भनाई असाध्यै सही लाग्छ मलाई। उनले मानसिक विरेचनका लागि 'सकृय ध्यान' (Dynamic Meditation) सुझाएका छन्।

एक हिसाबले हेर्दा ओशोका प्रमुख देनहरुमध्ये एक यसैलाई मान्न सकिन्छ कि उनले पूरातन समयदेखिका ध्यानविधिहरुलाई समसामयिक बनाईदिएका छन्। हाम्रो समाजमा गडेर रहेको 'ध्यान भनेको घरबार छोडी जंगल पसेपछिमात्रै गर्ने चीज हो' भन्ने मान्यतालाई सशक्त खण्डन गरेका छन् र जो जहाँ छ, जे गरिरहेको छ त्यहि अवश्थामै पनि ध्यान गर्न सकिन्छ भनेर ध्यानलाई कथित साधु-सन्तहरुको कब्जाबाट मुक्त गरिदिएका छन्।

मलाई प्रभावित पार्ने अर्को पक्ष भनेको ओशो अरु 'बाबा', 'महाराजजी', 'साधु-सन्त' जस्तो कुनै पनि मान्छेको जिज्ञासाको समाधानको रुपमा बिगुत, बुटी, वा कुनै अमूक चीज दिँदैनन्, उनी एउटा जीवन दर्शन र बाँच्ने कला दिन्छन्। अरु 'बाबा', 'महाराजजी', 'साधु-सन्त' हरु आफैंलाई साधकको साधनाको लक्ष्यको रुपमा पेश गर्छन् भने ओशो बाटो देखाईदिन्छन् र आफैं हिँडेर लक्ष्यसम्म जान प्रेरित गर्छन्।

ओशोका आलोचकहरुले सामान्यतया उनका यौन सम्बन्धी प्रवचनहरुकै आधारमा मात्र उनको आलोचना गर्छन्, त्यो पनि पढेर मात्रै आलोचना गर्ने कति छन् भन्न सकिन्न। खासमा ओशोले खुल्ला यौन-सम्बन्धको पक्षमा भन्दा पनि यौन सम्बन्धी Taboo हरुलाई जति निरन्तरता दियो उति मानवसमाज कुण्ठितनै रहिरहन्छ, त्यसैले यसको स्विकार र यसको महत्ता, यसको शक्तिको सही उपयोगनै मानवताको हितमा छ भन्ने दर्शाउन खोजेका छन्। उज्यालोमा 'महात्मा' बनेर यौनका बारेमा अरुलाई निषेधात्मक उपदेश दिँदै हिँड्ने तर ओल्टोकोल्टो पर्नासाथ आफैं त्यसमै लिप्त हुने साधु-सन्त-बाबाहरु र तिनैलाई पूज्ने समाजलाई यस्तो खुल्लापन मन नपर्नु स्वाभाविक हो। ओशोका आलोचकहरु उनले यौनबाहेक मानवजीवनसंग सम्बन्धित लगभग सबैजसो अरु विषयमा पनि बोलेका छन् र गहन अन्तर्दृष्टि दिएका छन् भन्ने कुरालाई चटक्कै बिर्सिदिन्छन्।
------
विगत केहि वर्ष यता भने ओशोका प्रवचनहरु पढ्ने-सुन्ने काम एकदम भएको छ। ओशोले अत्यन्त प्रेमसाथ चर्चा गर्ने जेन परम्पराको जननी मुलुकमा बसेको छु तर त्यसको बारेमा अझ बढी बुझ्नेतिर एक पाईला पनि सारेको छैन! यो मेरो वर्तमान जीवनको एउटा ठूलो बिडम्बना हो!

मलाई के थाहा छ भने ध्यान र स्वयं ओशोकै बारेको मेरो जानकारी एकदमै कम छ। आज हल्का र सतही रुपमै भएपनि ओशोका बारेमा यी केहि शब्दहरु लेख्नुको उद्देश्य भनेको एकदमै थोरैमात्र अघि बढेर रोकिएका मेरा पाईलाहरुमा अलिकति भएपनि फेरि गति ल्याउनका लागि हो। काम, पारिवारिक दायित्व आदिलाई दोष दिएर उम्कने सजिलो बाटो नखोजी आफ्नो समयको अलि राम्रो ब्यबश्थापन गरी ध्यान र ध्यान साहित्यको अध्ययनका लागि समय ननिकाली भएको छैन।

यो ब्रम्हाण्डको अनन्त विस्तार, त्यो अनन्तभित्रका हरेक कण-कणको अत्यन्त कलात्मक सन्तुलन, यो जीव-जगत, हामी मानवको अस्तित्व- यी सबै कुराहरु अत्यन्त रहस्यमय र भयानक रोमाचंकताले भरिपूर्ण छन्। आफ्नो उन्नत चेतनशीलताका कारण त्यो रहस्यलाई आत्मसात गर्नसक्छ मानवले र उसले गर्नैपर्छ, नत्र उसको चेतनशीलताको कुनै उपयोग छैन। त्यही रहस्यलाई आत्मसात गर्नुलाईनै ओशोले जिन्दगीको सार अथवा 'आफैंलाई जान्नु' भन्ने मानेका छन्। आउनुस् उनै ओशोको एउटा प्रवचन पढौं र उनको चुनौती स्विकारौं कि "--बिना अपने को जाने अर्थी को उठने नहीं दोगे-- "

मनुष्य की मूलभूत समस्या
ओशो


मनुष्य के कृत्यों को देखो। तीन हजार वर्षों में पाँच हजार युद्ध आदमी ने लड़े हैं। उसकी पूरी कहानी हत्याओं की कहानी है, लोगों को जिंदा जला देने की कहानी है और एक को नहीं, हजारों को। और यह कहानी खत्म नहीं हो गई है।

तुम सोचते हो आदमी बंदर से विकसित हो गया? किसी बंदर ने अब तक किसी दूसरे बंदर को जिंदा नहीं जलाया। कोई बंदर न तो हिंदू है, न मुसलमान है, न ईसाई है; बंदर सिर्फ बंदर है।

और अगर यही विकास है, तो ऐसे विकास का कोई मतलब नहीं। सच तो यह है कि आदमी विकसित नहीं हुआ है, केवल वृक्षों से नीचे गिर गया है। अब तुम बंदर के साथ भी मुकाबला नहीं कर सकते हो। अब तुममें वह बल भी नहीं है कि तुम एक वृक्ष से दूसरे वृक्ष पर छलाँग लगा जाओ। अब वह जान भी न रही, वह यौवन भी न रहा, वह ऊर्जा भी न रही और तुम्हारे कृत्यों की पूरी कहानी इस बात का सबूत है कि तुम आदमी नहीं बने, राक्षस बन गए।

हाँ राक्षस, लेकिन अच्छे-अच्छे नामों की आड़ में। हिंदू की आड़ में। हिंदू की आड़ में तुम मुसलमान की छाती में छुरा भोंक सकते हो, बिना किसी परेशानी के। मुसलमान की आड़ में तुम हिंदू के मंदिर को जला सकते हो, जिसने तुम्हारा कुछ भी नहीं बिगाड़ा, बिना किसी चिंता के।

दूसरे महायुद्ध में अकेले हिटलर ने साठ लाख लोगों की हत्या की- एक आदमी ने। इसको तुम विकास कहोगे? दूसरा महायुद्ध खत्म होने को है, जर्मनी ने हथियार डाल दिए हैं और अमेरिका के प्रेसीडेंट ने जापान के ऊपर, हिरोशिमा और नागासाकी पर एटम बम गिरवाए। खुद अमेरिकी सेनापतियों का कहना है कि यह बिलकुल बेकार बात थी, क्योंकि जर्मनी के हार जाने के बाद जापान का हार जाना ज्यादा से ज्यादा दो सप्ताह की बात थी।

पाँच साल की लड़ाई अगर दो सप्ताह और चल जाती तो कुछ बिगड़ न जाता। लेकिन हिरोशिमा और नागासाकी जैसे बड़े नगरों पर जिनके निवासियों का युद्धों से कोई संबंध नहीं; छोटे बच्चे और बूढ़े और स्त्रियाँ- दस मिनट के भीतर दो लाख व्यक्ति राख हो गए। और अमेरिका के जिस प्रेसीडेंट ने यह आज्ञा दी, उसका नाम भी हमने अभी तक नहीं बदला।

उस प्रेसीडेंट का नाम था, ट्रूमैन; सच्चा आदमी। अब तो कम से कम उसे अनट्रूमैन कहना शुरू कर दो और दूसरे दिन सुबह जब अखबारों ने, अखबारों के प्रतिनिधियों ने प्रेसीडेंट से पूछा- क्या आप रात आराम से सो तो सके, तो टूरूमैन ने कहा कि मैं इतने आराम से कभी नहीं सोया, जितना कल रात सोया, जब मुझे खबर मिली कि एटम बम सफल हो गया है। एटम बम की सफलता महत्वपूर्ण है। दो लाख निहत्थे, निर्दोष आदमियों की हत्या कोई चिंता पैदा नहीं करती। इसको तुम आदमी कहते हो?

नहीं, आदमी का कोई विकास नहीं हुआ। आदमी का सिर्फ एक ही विकास है और वह है कि वह अपनी अंतरात्मा को पहचान ले। उसके सिवाय आदमी का कभी कोई विकास नहीं हो सकता। जिस दिन मैं अपनी अंतरात्मा को पहचान लेता हूँ, उस दिन मैंने तुम्हारी अंतरात्मा को भी पहचान लिया।

जिस दिन मैंने अपने को जान लिया, उस दिन मैंने इस जगत में जो भी जानने योग्य है, वह सब जान लिया। और उसके बाद मेरे जीवन में जो सुगंध होगी, वह केवल मात्र विकास है; जो रोशनी होगी, वही केवल एकमात्र विकास है। जिसको हम अभी तक विकास कहते रहे हैं, वह कोई विकास नहीं है। हमारे पास बंदरों से सामान ज्यादा है, लेकिन हमारे पास बंदरों से ज्यादा आत्मा नहीं है।

आत्मिक विकास ही एकमात्र विकास : यह भी हो सकता है कि आदमी अंधा हो और अपने को जानता हो तो वह आँख वाले से बेहतर है। आखिर तुम्हारी आँख क्या देखेगी? - उसने अंधा होकर भी अपने को देख लिया। और अपने को देखते ही उसने उस केंद्र को देख लिया है, जो सारे अस्तित्व का केंद्र है। वह अनुभूति अमृत की अनुभूति है, शाश्वत नित्यता की अनुभूति है।

केवल थोड़े से लोग मनुष्य-जाति के इतिहास में आदमी बने हैं। वे ही थोड़ी से लोग, जिन्होंने अपनी आत्मा को अनुभव किया है। शेष सब नाममात्र के आदमी हैं। उनके ऊपर लेबल आदमी का है, खोखा आदमी का है। भीतर कुछ भी नहीं है। और जो कुछ भी है, वह हर तरह के जहर से भरा है, ईर्षा से भरा है, विध्वंस से भरा है, हिंसा से भरा है।

अंतिम रूप में मैं तुमसे यही कहना चाहता हूँ कि अगर तुम्हारे जीवन में जरा भी बुद्धि है, तो इस चुनौती को स्वीकार कर लेना कि बिना अपने को जाने अर्थी को उठने नहीं दोगे। हाँ, अपने को जानकर कल की उठने वाली अर्थी आज उठ जाए, तो भी कोई हर्ज नहीं, क्योंकि जिसने अपने को जान लिया, उसकी फिर कोई मृत्यु नहीं है। अमृत का अनुभव एकमात्र विकास है।

कोंपलें फिर फूट आईं, प्रवचन 2
सौजन्य ओशो इंटरनेशनल फाउंडेशन


-----------
ओशोसंबन्धी केहि वेब साइटहरु (विकिपेडिया बाहेक):
The Osho Experience
Osho World
Friends of Osho
Osho, Bhagwan Rajneesh, and the Lost Truth
OSHO®, FORMERLY KNOWN AS BHAGWAN SHREE RAJNEESH

December 08, 2008

प्रसंगवश थोरै गफ-गाफ

ब्लगले एक वर्ष कटाएपछि एउटा सानो 'समस्या' थपिँदोरहेछ, हरेक वर्ष दोहोरिइरहने कुराहरुको बारेमा हरेक वर्ष लेख्ने कि नलेख्ने भन्ने। समस्या नभनेर 'दोधार' भन्नु ठीक होला। जन्मदिनहरु, पुण्यतिथिहरु वा चाडबाडहरु पनि दोहोरिन्छन, तर ती अलग र विशेष कुरा हुँदा-हुँदै पनि 'यसपाली के लेख्ने' भन्ने प्रश्नचाहिँ उठ्दो रहेछ मनमा। हुनत दुई-चार हरफका शुभकामना वा श्रद्धाञ्जली आदि लेखेरै पनि काम नचल्ने हैन, तर मनले मान्दैन।

शैक्षिक वा पेशागत जीवनमापनि दोहोरिने दिनहरु धेरै हुन्छन्। एउटा त्यस्तै 'दहोरिएको' दिनको प्रसंग हो यो। शनिबार अड्डाको एउटा महत्वपूर्ण वार्षिक कार्यक्रम थियो। पोहरको यो दिनको बारेमा यहाँ लेखेको छु। विगत केहि दिन यता यो दिनको बारेमा लेखौं कि नलेखौं भनेर दोधारमा थिएँ, लेख्न शुरु गर्दा र अहिले यति लेखुञ्जेलसम्म पनि दोधारमै छु। यो दिन पूर्ण रुपमा पोहरको त्यै दिनको पुनरावृत्ति हुने पक्का थियो। घटनाक्रमहरु पूरै लेख्दा पोहरकै टाँसो फेरि सारेजस्तो हुनसक्थ्यो।

दिनभरिका घटनाक्रमहरु पोहरजस्तै भए। मचाहिँ पोहरभन्दा पनि उदास र एक्लै भएँ। भित्र भाषण आदिका बेलामा त आफू एक्लो भएको बोध त्यति भएन तर बेला-बेलाका 'ब्रेक'मा भने गफ गर्ने मान्छेसमेत नभेटेर धुम्धुम्ती बसिरहनुप-यो। म चुरोट नखाने भएर पनि हुनसक्छ यसरी गफ्फिने मौका नपाएको। तथ्यांक हेरेको छैन, तर धूम्रपान गर्ने जापानीको प्रतिशत एकदमै माथि हुनुपर्छ। बाहिर गएर बुङ्बुङ्ती धूवाँ उडाउन जाने गफ्फिन साथी सजिलै पाईन्थ्यो होला।

पोहर एकजना कोरीयाली साथी थिए। ती एक नम्बरका 'चुरौटे' भए पनि बेला-बेला गफ गर्न आईपुग्थे। ति जागिर छोडेर कोरीया फर्किसकेछन्। यसपालि आफ्ना हाकिम पनि देखिएनन्। 'नामासुते---' भन्दै ताकाहाशी बूढा पनि आईपुगेनन्। बेलुकाको 'भोज'मा पनि एउटै कुनामा अड्डा जमाएँ मैले।

अर्को एउटा कारण पनि छ, यो स्थिति उत्पन्न हुनुमा। यस्ता जमघटहरुमा कसैसंग कुराकानी अगाडि बढाउन उमेर र अड्डाभित्रको आफ्नो 'position' पनि अलि नजिक-नजिक हुनुपर्दो रहेछ। संगै यो अड्डा पसेकाहरु आफूभन्दा धेरै कम उमेरका छन्, आफ्नो उमेरकाहरु केहि वर्ष पहिल्यै अड्डा छिरेका हुन् र 'कर्पोरेट भ-याङ्ग' को अलिक माथि पुगिसककेका छन्। यो स्थितिमा आफू 'अप्ठेरोमा फलेको फर्सी' जस्तो भईँदोरहेछ।

जापानी भाषाको आफ्नो सीमित ज्ञानलाई दोष दिएर पनि उम्कन सक्छु म, तर धुम्धुम्ती एक्लै बस्नैपर्ने गरी कमजोर पनि छैन मेरो जापानी। जापानी भाषा 'मठ्ठै' भएका मानिसहरु त यस्ता कार्यक्रमहरुमा अलिअलि अंग्रेजी र अलिअलि हाऊभाऊका साथमा 'हिरो' बन्छन् भने अलिक खुल्ने हो भने मेरा लागि समस्या नहुनुपर्ने हो। दोष मेरो स्वभावको हो।

नयाँ मान्छेसंग खुल्न, नयाँ ठाऊँ/परिवेशमा घूलमिल हुन मलाई बहुत समय लाग्छ (यहि स्वभावको बिस्तार हुनुपर्छ कुनै ठाऊँ-विशेषतिर जाने बाटो सम्झिन पनि मलाई धेरै समय लाग्छ)। मान्छेमा पर्ने मेरो शुरुवाती प्रभाव 'अत्यन्त अन्तर्मुखी' हुन्छ। तर म अन्तर्मुखी मान्छे हैन, मेरा साथीहरु मात्रै हैन, सामान्य चिनजानको जोसुकै साक्षी बसिदिनसक्छ यो कुराको। मेरो समस्या (समस्या नहुन पनि सक्छ यो) 'आइस-ब्रेक' को हो। नयाँ मान्छेसंग वा नयाँ परिवेशमा 'आइस ब्रेक' गर्न मलाई असाध्यै गाह्रो हुन्छ। केहि साथीहरु 'आइस ब्रेक' गर्नेमात्रै हैन, तुरुन्तै पूरै 'आइस मेल्ट' गरेर दूध-चिनी-चियापत्ती मिसाएर चियानै पकाएर खाइदिन सक्छन्, तिनीहरुलाई देख्दा डाह लागेर आऊँछ:)

कार्यक्रममा जानुअगाडि एक राउण्ड विचार गरेको थिएँ, 'आजचैं अलिक खुल्छु, गफ्फिन्छु र प्रशस्त हाँस्छु' भनेर तर फेरि पनि असफल भईयो:)
----------------------
यो टाँसो लेख्नु अगाडि पोहरको टाँसो पढ्ने क्रममा पोहर यहि ताकाको एउटा अर्को टाँसोमा पनि आँखा प-यो। पोहर चार-पाँच दिनजति इन्फ्लुएञ्जाले लडाएको थियो। अस्ति शुक्रबार सूई लगाएर आएकोले यसपाला त्यो भने दोहोरिनेछैन होला:)



तपाईँ पनि यो जाडोमा शरीरको ख्याल गर्न भने नबिर्सिनुहोला।

December 03, 2008

जनपार्टी, जनकमरेड, जनसिण्डिकेट

कमरेडहरुको टोलमा हानाहान भयो। उसो त कमरेडहरु भएको ठाऊँमा ठोकाठोक-हानाहान नहुने कुरो पनि भएन। कमरेडहरुले सत्ता हान्नैका लागि यत्रो क्रान्ति गर्नुभएको हो, आधाजति त हानिपनि सक्नुभयो। पूरै सत्ता अझै हानिसक्नुभएकै छैन कमरेडहरुले, त्यसैले हानाहानको अभ्यास जारी राख्नै प-यो। जनवाद भनेकै हानवाद हो वास्तवमा, त्यसैले कमरेडहरुलाई 'हानवादी' भनेपनि खासै फरक पर्दैन।

तर कमरेडहरुको टोलको यसपालीको हानहानभने अलि विशेषै भयो भनौं न अब। सधैं अरुलाई हान्ने कमरेडहरु आफू-आफूमै हानाहान गर्न थाले। हानाहानको खास विषय भने पार्टीको नयाँ लोगो के राख्ने भन्ने थियो। विद्वान कमरेडले पार्टीको नयाँ लोगो बाघ राखौं भन्ने देऊसी शुरु गर्नुभयो। उता मूली कमरेडले 'अहिलेलाई ब्वाँसो राखौं, पछि देखा जाला' भन्ने भैलो जारी गरिसक्नुभएको थियो।

प्रतिकृयावादीहरुले आफ्नो महान गौरवमयी अग्रगामी क्रान्तिकारी पार्टीलाई घेराबन्दीमा पारेकोले बडे-छोटे सबै कमरेडहरुको हप्तादिनबाटै मूड-अफ थियो। यी प्रतिकृयावादी भन्ने जिनिस पनि गज्जब छन् बा! दुईटा होनहार कमरेडहरुको हानाहानमा कसरी पस्न सक्या होला लुसुक्क, त्यो पनि 'क्रान्तिकारी' कमरेडहरुले मात्र देख्ने रुप लिएर!

तर प्रतिकृयावादीहरुको चौतर्फी घेराबन्दीलाई चिर्दै महान गौरवमयी अग्रगामी क्रान्तिकारी पार्टीभित्रको हानाहान साम्य भएरै छाड्यो आखिर। कार्यकर्तालाई हानाहान साम्य भएको जानकारी दिन आयोजना गरिएको आमसभामा मूली कमरेड अत्यन्त भावुक देखिन्थे।

"कमरेडहरु, देशी-विदेशी प्रतिकृयावादीहरुका तमाम षडयन्त्रहरुलाई चिर्दै हाम्रो महान गौरवमयी अग्रगामी क्रान्तिकारी पार्टी फेरि एक भएरै छाड्यो। हाम्रो पार्टीले सरकार हाँकेको सय दिनको महान गौरवमय उपलब्धि हो यो। यो उपलक्ष्यमा तपाईँहरु सबैमा लाल-सलाम र बधाई प्रकट गर्न चाहन्छु। " कमरेडले जोडले मुठ्ठी उचाले, हावा दुई फ्याक भयो, कमरेडले हात तल ल्याए, चिरा परेको हावा एक भयो। हो र'छ! देशी-विदेशी प्रतिकृयावादीहरु छिरेर दलै चिरा पार्न आँटेको हो र'छ! र तमाम षडयन्त्र र दाऊपेचहरुलाई परास्त गरेर महान गौरवमयी अग्रगामी क्रान्तिकारी पार्टी एक ढिक्का भएकै हो र'छ! तब न महान! तब न गौरवमयी! तब न अग्रगामी! तब न क्रान्तिकारी!

"कमरेडहरु, हामीले दुईटा लोगोलाई 'फ्यूजन' गरेर एउटा नयाँ लोगो बनाएका छौं। बाघ र ब्वाँसोको फ्युजन गरेर बनाईएको यो नयाँ लोगो विश्वक्रान्तिको इतिहासमै सर्वथा नवीन प्रयोग हो र हाम्रो महान गौरवमय अग्रगामी क्रान्तिकारी पार्टीले दिनदिनै गर्दै आएको महान ऐतिहासिक क्रमभंगहरुको सिलसिलामा फेरि अर्को एउटा ऐतिहासिक क्रमभंग हो। यो सर्वथा नयाँ फ्यूजनको ऐतिहासिक क्रमभंगले नेपाली क्रान्तिलाई अझ गौरवमय उचाइमा लाने छ।"

"कमरेडहरु, ब्वाँसो र बाघको फ्यूजन गरेर बनाईएको यो लोगोको नाम 'बाघे-ब्वाँसो' रहनेछ। यसैले हाम्रो पार्टीको नीति, नेपाली क्रान्तिको रणनीति-कणनीति-गणनीति पनि बाघे-ब्वाँसो नीति हुनेछ। अबदेखि तमाम देशी-विदेशी प्रतिकृयावादीहरुलाई हामी बाघले जस्तो अगाडिबाटमात्रै झम्टिने अथवा ब्वाँसाले जस्तो लुसुक्क पछाडिबाटमात्रै झम्टिने गर्नेछैनौं, जताबाट मौका मिल्छ उतैबाट झम्टिनेछौं। मौका पर्दा अगाडि-पछाडि दुबैतिरबाट एकैपटक झम्टिनेछौं।"

"कमरेडहरु!" भाषणसंगै मूली कमरेडको भावुकताको पारो पनि उकालो चढिरहेकै थियो, "तर यत्तिकैमा हाम्रो महान गौरवमयी अग्रगामी क्रान्तिकारी पार्टीको नेपाली क्रान्तिप्रतिको ऐतिहासिक जिम्मेवारी पूरा हुँदैन। जनतासंग नङ्ग र मासुको सम्बन्ध भएको हाम्रोजस्तो महान गौरवमयी अग्रगामी क्रान्तिकारी पार्टीले लिने यो नयाँ नीतिको नाम हामीले 'जनबाघे-ब्वाँसो नीति' राखेका छौं। यो नीतिको आधारमा हामीले सबैतिर 'जन' घुसाईदिनेछौं र जनताको जनक्रान्ति गर्नेछौ। अब हामी जनसरकार, जनसंसद र जनसडक सबैतिर उत्तिकै सकृय जनआन्दोलन गर्नेछौं र जनलोकतान्त्रिक जनसंघीय जनगणतन्त्र जननेपालको जनसंविधान लेख्नेछौं। हामीलाई जनलोकतान्त्रिक जनसंघीय जनगणतन्त्र जननेपालको जनसंविधान रोक्नबाट कसैले रोक्न खोज्छ भने हामी जनसरकार, जनसंसद र जनसडक सबैतिर उसको काम तमाम गर्दिनेछौं।"

"कमरेडहरु!" मूली कमरेड चिच्याए "आउनुस् हामी जताततै 'जन'घुसाईदिऊँ र इतिहासले हामीलाई दिएको महान अभिभारा पूरा गरौं। आउनुस् अबदेखि हामी एकअर्कालाई जनकमरेड शब्दले सम्बोधन गरौं, हाम्रो महान गौरवमयी अग्रगामी क्रान्तिकारी पार्टीलाई अबदेखि जनपार्टी भन्ने गरौं। आउनुस् राजालाई जनराजा बनाईदिऊँ, पंचलाई जनपंच बनाईदिऊँ, मण्डलेलाई जनमण्डले बनाईदिऊँ।--- जनलालसलाम!!"

देशी-विदेशी प्रतिकृयावादीहरुका कारण चिरा परेको महान गौरवमयी अग्रगामी क्रान्तिकारी पार्टीलाई फेरि एक ढिक्को बनाईसक्दा साँझ परिसकेको थियो। मूली कमरेड त्यताबाट एउटा बैठकतिर हान्निए। राता, नीला, पहेंला, सूट लगाउने, दौरा-सुरुवाल लगाउने, केहि पनि नलगाउने आदि थरि-थरिका सिण्डिकेटहरुले जनकमरेडको सम्मानमा संयुक्त रुपमा आयोजना गरेको बैठक र भोज थियो त्यो।

"भन्नुस् हाम्रो महान गौरवमयी अग्रगामी क्रान्तिकारी जनपार्टीले यहाँहरुको लागि के गर्नुप-यो?" मूली जनकमरेडले जिज्ञासा राखे।
एकजना सिण्डिकेटवाला बोल्न थाले, "कमरेड, यो देश-----"
"एकछिन रोकिनुस् त!" मूली जनकमरेडले बीचैमा टोके सिण्डिकेटवालालाई। "एउटा जानकारी गराउन चाहन्छु, हामीले भर्खरै 'कमरेड' शब्दलाई 'जनकमरेड' शब्दले बिष्थापित गरेर नयाँ ऐतिहासिक क्रमभंग गरेका छौं। अबदेखि यहाँहरुले हामीलाई सम्बोधन गर्दा 'जनकमरेड' शब्द प्रयोग गर्नुहोला।"
"गज्जब! महान जनपार्टीको महान जनचाला!" सिण्डिकेटवालाहरुले एक स्वरले जनपार्टीको प्रशंशा गरे र त्यसपछि अघिका महाशय फेरि बोल्न थाले।
"जनकमरेड, यो देशलाई चलाउने, गिजोल्ने,चिथोर्ने, निचोर्ने भनेकै सरकारमा बस्ने पार्टी र हामी सिण्डिकेट मिलेर हो। वास्तवमा हाम्रो नेपाल चल्ने अरु कुनै बाटै छैन। पहिले-पहिले सरकारमा बस्नेहरु सबै हाम्रो पिसाबमा बग्थे र यो देश सजिलै चल्थ्यो। अब जनकमरेडहरुपनि हाम्रो पिसाबमा बग्दिनुप-यो।"
"कुरो त ठीक गर्नुभयो सिण्डिकेट जनकमरेड" मूली जनकमरेड एकछिन घोरिए, "हाम्रो महान गौरवमयी अग्रगामी क्रान्तिकारी जनपार्टीभित्रपनि यस बारेमा ब्यापक छलफल चलाएका हौं। तर पुरानाहरु बगेकै ढंगमा हामी जनकमरेडहरुपनि बग्न अलि सुहाऊँदैन। यहाँहरुले आ-आफ्ना सिण्डिकेटलाई अबबाट जनसिण्डिकेट नामाकरण गरेर एउटा अग्रगामी छलाङ्ग मार्नुभयो भने पिसाबमा बगिदिन हामीलाई सजिलो हुन्थ्यो।"
"धन्यबाद जनकमरेड!" सबै सिण्डिकेटवालाले एक स्वरमा चाकडी बजाए, "जनकमरेडहरुलाई खुशी पार्न हामी सिण्डिकेटको अगाडि एउटा त के सयवटा 'जन' थप्न पनि तयार छौं!"

रसिलो जनरात्रिभोजका साथ बैठकको अन्त्य भयो।

साँझ पर्दै जाँदा रसिक बन्दै-बन्दै आएका जनकमरेड आफ्नो जननिवास फर्केर एकछिन जनक्रान्तिको पसलको दिनभरिको आम्दानीको हिसाब गरे र त्यसपछि जनखाटको जनबिस्तरामा पल्टिए।

जनकमरेडको त निद्रा पनि जननिद्रा हुन्छ होला!


-----------------------------------------

यो पनि पढ्नुस्, "पुराना वाम नेताको एक दिन"

November 26, 2008

कोन्दोऊको 'जन्त' गईयो

अस्ति आइतबार जन्त गईयो, अड्डाको सहकर्मी कोन्दोउ (नाम परिवर्तीत)को। कुनै जापानीको विहेमा जाने अवसर जुरेको यो पहिलो पटक हो।
------------------------------------
जापानी संस्कृतिलाई नजिकैबाट हेर्न खासै पाईएको छैन भनेपनि हुन्छ अझै। जापानीसंगका कुराकानीमा कहिलेकाहीँ सोध्दा पनि उनीहरु त्यति उत्साहपूर्वक जवाफ दिँदैनन् (मेरो ब्यक्तिगत अनुभवमात्रै हो है यो, जापान बस्ने अरु साथीहरुको अनुभव फरक हुनसक्छ)। उनीहरु अहिलेको जापानका सांस्कृतिक परम्पराहरु खासै 'जापानी' छैनन् भनेजस्तो गरेर कुरा गर्छन्।

'शिन्तो' प्रथा (जहाँसम्म लाग्छ) जापानमै जन्मेको धार्मिक मान्यता हो। चीन हुँदै बौद्ध धर्मको प्रवेश भएपछि शिन्तो र बौद्ध धर्मको समन्वयको जगमा हामीले बुझ्दै आएको जापानी संस्कृति ('पूरानो' जापानी संस्कृति भनौं एकछिनलाई) उभिएको छ। एक-डेढ शताब्दी यताबाट, विशेष गरी दोश्रो विश्वयुद्धपछि पश्चिमी मान्यताहरुको प्रभाव ब्यापक रुपमा बढ्दै गएको छ, जसको एउटा ठूलो भागको रुपमा क्रिश्चियन सांस्कृतिक मान्यताहरु रहेका छन्। अहिलेको जापानमा शिन्तो, बौद्ध र क्रिश्चियन-तीनवटै मान्यताहरुको प्रभाव रहेको सजिलै देख्न सकिन्छ। यो स्थितिलाई मैले धेरै जापानीहरुको मुखबाट सुनेको यो वाक्यले सटीक ढंगले ब्याख्या गरेको छ; "हामी जापानीहरु जन्मिँदा शिन्तोमार्गी, विहे गर्दा क्रिश्चियन र मरेपछि बौद्ध हौँ।" भनाईको मतलव, छोटकरीमा, अचेलको जापानमा जन्म-संस्कार शिन्तोमार्गका आधारमा, विवाह क्रिश्चियन तरिकाले र मृत्यु-संस्कार बौद्ध धर्मअनुसार हुन्छ। जापानी समाज खासै धार्मिक लाग्दैन, यो कुरा जापानीहरुहरु स्वयं पनि स्विकार्छन्, र म फलानो धर्म मान्छु भनेर भन्ने मान्छेहरु अत्यन्त कम भेटिन्छन्। तर चाडपर्वहरुको सवालमा भने शिन्तो, बौद्ध र कृश्चियन तीनवटै परम्पराका 'भ्याएसम्म'का चाडपर्वहरु मानिरहेका देखिन्छन्। क्रिशमश लगायतका कृश्चियन चाडपर्वहरु मनाउँदा अलिक 'जापानी शैली' पोतिएको पनि हुन्छ, धर्मको आधारमा भन्दा पनि अमेरिकी-यूरोपेलीको नक्कल गर्दै मनोरञ्जनको लागि अपनाईएको जस्तो लाग्छ।
-----------------------
कोन्दोऊको जन्त ग'को कुरो गर्न बसेको म, कता बरालिएछु! आउनुस् अब कोन्दो(ऊ)को जन्त जाऔँ:)

खासमा अस्ति बिहे नभएर WEDDING RECEPTION थियो। बिहे भएको भने जुलाईमै रहेछ।

यस्ता कार्यक्रमहरुका औपचारिकता अत्यन्तै कडाइका साथ पालन गरिन्छन्। कालो सूट, छालाको कालो जुत्ता र सेतो टाइ अनिवार्य हुँदो रहेछ वैवाहिक कार्यक्रममा। पछि कहिले प्रयोग हुने हो थाहा छैन, कोन्दो(ऊ)को बिहेमा 'जन्त' जान एउटा 'सस्तो, राम्रो, बलियो, भरपर्दो':) 'निख्खुर' सेतो टाइको जोगाड गरियो।

बोलाईएभन्दा केहि पहिलेनै पुग्दा 'बुच्योऊ'(अड्डाका आफना हाकिम, विभागिय प्रमुख) र अरु दुई जना भेटिए। एकछिन हाकिमको 'चेन-स्मोकिङ'ले सिर्जित धूवाँको यातना खप्नेमा परियो।

उपहार (नगद) बुझाएको केहि समयपछि एउटा 'चर्चजस्तो ठाऊँ' तिर लगियो सबैलाई। 'चर्च' नभनेर 'चर्चजस्तो' भन्नुको कारणचाहिँ त्यो ठाऊँ प्रार्थना गर्न, धार्मिक उद्देश्यले बनाईएको चर्च नभएर यस्तै वैवाहिक कार्यक्रम गर्नका लागिमात्रै बनाईएको ठाऊँ हो। यस्ता 'बिहे गर्ने चर्च' यत्र-तत्र धेरै देखिन्छन् जापानमा।

'विहे'पूरै कृश्चियन शैलीमा भएको थियो; दुलाहा पहिला 'पादरी'को सामुन्ने जाने, दुलहीका बाउ छोरी लिएर 'चर्च' पस्ने र दुलाहालाई दुलहीको हात दिने, पादरीले यता-उता भट्भटाउने, वर-वधु दुबैले Yes I DO! भन्ने आदि। दुलाहा-दुलही दुबै पश्चिमी विवाह-पोशाकमा थिए।

'पादरी'को रुपमा एकजना अधबैंशे गोरा थिए। 'विहे गराउने पादरी' मात्रै पनि हुनसक्छन् ती, 'विहे गर्ने चर्च'जस्तै। तिनले वैवाहिक विधिका कुरा सबै टाकन-टुकन जापानीमै भ्याएका थिए, तर 'विवाह' भनिने 'संस्था'को महत्व र यसलाई जोगाउन र दिगो बनाउन चाहिने प्रेम र त्यागको बारेमा लेखिएको, बाइबलको एक अंशभने अंग्रेजीमा पढेका थिए। तिनको अंग्रेजी सुन्दा तिनी अमेरिकी अथवा बेलायती भने होइनन् भन्ने थाहा हुन्थ्यो।

त्यो चर्चबाट फर्केपछि सामूहिक फोटो सेसन र फोटो सेसन पछि भोज थियो। भोज चल्दै गर्दा प्रोजेक्टरमा दुलाहा-दुलहीका जन्मदेखि अहिलेसम्मका फोटाहरु मिलाएर बनाईएको एउटा परिचयात्मक प्रस्तुति र आउन नसकेका साथीहरुका भिडियो सन्देश पनि देखाईएको थियो।
----------------------------------------------
कोन्दोऊ र निशिमुरा (श्रीमती कोन्दोऊ)लाई हार्दिक बधाई र सफल दाम्पत्य जीवनको शुभकामना!

November 19, 2008

"सेतो ख्याकको आख्यान": अर्को एउटा 'हाडे ओखर'

फोड्न सकिएन, त्यसैले 'चुसियो' मात्रै भनौं न अब!
--------------------------------------------
कुरो जगदीश शमशेर राणाज्यूको कृति 'सेतो ख्याकको आख्यान' हो। 'नरसिंह अवतार' पनि एकदम गाह्रो लागेको थियो,यो पनि त्यस्तै रहेछ!

मैले बुझेसम्म, नरसिंह अवतारभन्दा फरक, यो एउटा उपन्यासको रुपमा छ र काठमाण्डौं उपत्यकाको इतिहासको एउटा कालखण्डमा घटेका घटनाहरुमा केन्द्रित रहेको छ। यसमा मल्ल राज्यको अन्तिम दिनहरुमा, विशेष गरी राजा जयप्रकाश मल्लको कान्तिपुर राज्यमा, घटेका बिभिन्न घटनाहरुलाई आधार बनाएर त्यतिबेलाको राजनीति र सामाजिक जीवनको चर्चा गरिएको छ। क्षय हुँदै गएको मल्ल राज्यको कान्ति र बढ्दै आएको 'कोर्काली' गोर्खालीहरुको दबदबाले उपत्यकाका राजादेखि रंकसम्मको मनमा जन्माएको त्रास र निराशालाई अत्यन्त कठिन दार्शनिक ब्याख्यानका माध्यमबाट ब्याख्या गरिएको छ। संस्कृत शब्दावलीमा राम्रो पहुँच नभएको हुँदा राणाज्यूको लेखन शैली मेरा लागि 'हाडे ओखर' भयो फेरि पनि!

किताबको नामैले पनि जनाउँछ 'सेतो ख्याक' प्रमुख पात्र र चरित्र हो यो आख्यानको।

कठिन हुँदा-हुँदैपनि त्यतिखेरको समाज, राजनैतिक ब्यबश्था र उपत्यकाका तीन राज्यहरुको शत्रुतापूर्ण आपसी सम्बन्ध र त्यो शत्रुतालाई आफ्नो हितमा प्रयोग गर्दै विजयी हुँदै आएको गोर्खा राज्यका बारेमा धेरै नयाँ कुराहरु पनि थाहा हुन्छन् यो आख्यानबाट। साथमा, किताबभित्र धेरै ठाऊँमा उपत्यकाको समृद्ध नेवार संस्कृति झल्मलाइरहेजस्तो लाग्छ । यो किताब पढेपछि नेवार संस्कृतिको बारेमा सकेसम्म धेरै पढ्ने मेरो पूरानो इच्छा अझ प्रबल भएर आएको छ। नेपालको एकीकरणको आफ्नै अपरिहार्यता र महत्व थियो र अझै छ तर एउटा कुरा के स्पष्ट छ भने एकीकरणपछि नेपालले कुनै ठूलो साँस्कृतिक गौरव थप्न सकेको छैन आफ्नो शिरमा र काठमाण्डौं उपत्यकाको हकमा त कला-संस्कृतिको अधोगतिनै शुरु भयो त्यसपछि। शाहवंशले राज गर्न थालेदेखि यता कला-संस्कृतिलाई दिइनुपर्ने सम्मान र प्रोत्साहनमा ब्यापक ह्रास हुँदै आएको छ। अब लोकतान्त्रिक गणतन्त्र नेपालले आफ्नो आकार कोर्दा सांस्कृतिक पुनर्जागरणको लागि पनि एउटा पाटो छुट्याउँछ कि छुट्याउँदैन, हेर्न बाँकी छ।
****************************
अब 'ख्याक'को बारेबाट कुरा अगाडि बढाऔँ।

'ख्याक' उपत्यकाको नेवार समाजको मौलिक मान्यता हो। उपत्यकाको नेवार-इतर अरु कुनै समाजमा पनि यो मान्यता छ भने त्यो नेवारी संस्कृतिबाटै लिईएको होला।

मैले ख्याकको बारेमा सुनेको विद्यालय जान थालेबाटै हो। मैले दश वर्ष पढेको विद्यालय विद्यामन्दिर मा. वि.(जो हाल पुरानो नैकाप गा. वि. स., मा पर्छ) को वरिपरि नेवार बस्ती छ। एउटा पूरानो कलात्मक पाटीबाट विद्यालयको शुरुवात गरिएको रहेछ। म एक कक्षामा भर्ना हुँदा पाटीको पछिल्तिर नयाँ विद्यालय भवन बनिसकेको थियो र धेरैजसो कक्षाहरु त्यतै हुन्थे, एक कक्षालाई मात्रै त्यहि पाटीको फलैंचामा राखेर पढाईन्थ्यो।

हामीले त्यो पाटीमा ख्याक बस्छ भन्ने सुनेका थियौं, त्यसैले भित्र जान डराउँथ्यौँ। बच्चाहरु धेरै गएर फोहर गर्देलान्, बिगार गर्देलान् भनेर त्यसो भनेको हुनसक्छ किनभने त्यो पाटीमा बेलाबखत स्थानीय नेवार समुदायको भोज पनि हुन्थ्यो रे। तर भोजहरु सधैं विद्यालय बिदाको बेलामा पर्ने हुनाले, हाम्रो मनमा परेको त्यो पाटीको एउटै छापभने सूनसान, भित्र सधैँ अँध्यारो र डरलाग्दो "ख्याकको वासस्थान" नै थियो। सुनेको भरमा 'ख्याक' भनेको भूत-प्रेतजस्तै हो भन्ने धारणा बसेको थियो मेरो, 'भूत'को नेवारी शब्दनै 'ख्याक' हो भन्ने सोचेको थिएँ मैले आजसम्म।

जगदीश शमशेर राणाज्यूको यो आख्यान पढेपछि भने कूरो अलि अष्पष्ट हुन थालेको छ। यो किताबबाट मैले बुझेसम्म, सेतो ख्याक मानव, देवता र भूत-तीनटैभन्दा फरक अस्तित्व हो र (कतिपय भूतहरुजस्तो आकार बदलिरहने नभैकन) यसको आफ्नै मौलिक भौतिक शरीर पनि हुन्छ। यो ख्याकको मृत्युसम्मको पनि चर्चा छ। यति बुझिएपनि यो ख्याकको उत्पत्ति कसरी हुन्छ भन्ने बारेमा आख्यानमा कतै पनि चर्चा छैन। यो आख्यानलाई त्यो चर्चाको आवश्यकता नभएर (छैन पनि) जगदीश शमशेर राणाज्यूले नराख्नुभएको हुनसक्छ अथवा उहाँले आख्यानभित्र कतै सूक्ष्म ढंगले चर्चा गर्नुभएपनि मैले नबुझेको हुनसक्छ।

तेसो त, यो आख्यानको मेरो (अत्यन्त सीमित) बुझाईनैपनि पूरै गलत हुनसक्छ।

संयोगवश, एकजना साथीबाट प्राप्त, जनकलाल शर्माज्यूले लेख्नुभएको "हाम्रो समाज:एक अध्ययन" पढ्न थालेको छु भर्खरै (कुमारजी, किताब फिर्ता हुन अझै केहि समय लाग्ला:))। यसमा पनि चार पृष्ठ 'ख्याक'को बारेमा लेखिएको रहेछ । विषय-सूचिबाट 'जम्प' गरेर सोझै "काठमाण्डूका ख्या वा ख्याक" मा पुगें केहि स्पष्ट भईहालिन्छ कि भनेर। त्यहाँ भने ख्याक (ख्या)लाई भूतकै नेवारी शब्दको रुपमा बयान गरिएको छ। तीन हरफको चर्चा छ यो सेतो ख्याकको बारेमा, यसरी;
तुयुह्म ख्या:तुयुह्म ख्याको अर्थ हो सेतो ढेडुवा वानरजस्तो भूत। यो भूत हानिकारक नभएर लाभदायक मानिन्छ। नेवारी भाषामा तुयुको मतलब सेतो भन्ने हुन्छ। त्यसैकारण यस भूतको नाम तुयुह्म ख्या रहन गएको हो।-पृष्ठ ११७

जनकलाल शर्माज्यूले अरु ख्याकहरुको उत्पत्तिका संबन्धमा छोटै भएपनि केहि लेख्नुभएको छ, तर यो सेतो ख्याक(तुयुह्म ख्या)को उत्पत्तिको बारेमा भने केहि पनि उल्लेख गर्नुभएको छैन। त्यति साधारण र प्रचलित ख्याक हैन कि यो?! जगदीश शमशेर राणाज्यूले आफ्नो पुस्तकमा कतै सेतो ख्याक अहिलेसम्म पनि रहेको मानिने घरको पनि चर्चा गर्नुभएको छ। अरु ख्याकभन्दा अलि बढी दार्शनिक मान्यता बोकेको ख्याक हुनसक्छ यो। खैर, नजानी-नजानी धेरै कुरा नगरौं। नेवारी संस्कृतिको राम्रो जानकारी राख्ने साथीहरुलाई सोध्नुपर्ला, भेट हुँदा।
****************************
मैले हाडे ओखर भनेपनि यहाँलेपनि पढ्न भने नछोड्नुहोला। 'हाडे ओखर' चुस्दा मात्रै त यति मिठो छ भने फोडेर भित्रको गुदी खाँदा झन् कस्तो होला! तपाईँले बुझ्नुहुन्छ, मलाई पक्का विश्वास छ।

November 16, 2008

गजल- 'बादलमा लुकी घाम आयो'


                            फेरि कालो वर्षातको याम आयो
                            लाग्छ बादलमा लुकी घाम आयो!

                            खोटा सिक्काले भरेर खल्तीहरु
                            नया 'दण्ड, दान,भेद, साम' आयो!

                            बस्ती कसरी पसे कंकालहरु?
                            प्रेतहरुको तामझाम आयो!

                            प्वाँख पलाए जस्तो छ कमिलाको
                            पुतली हुँ भन्दै छलछाम आयो!

                            अधूरै नराख्नु अब इतिहास!
                            अवसरको अन्तिम खाम आयो!


-नोभेम्बर १४, २००५

November 10, 2008

पढन्ते जापानीहरु


केहि वर्ष जापान बसिसकेपछि जापानले असाध्यै राम्रो प्रभाव पारेका धेरै कुराहरुमध्ये एउटा, जापानीहरुको धेरै पढ्ने बानी पनि हो।

यहाँ आएपछि मेट्रो, रेल र बसमा रहेका अधिकांश मान्छेहरुले पढिरहेको देख्दा अनौठो लागेको थियो केहि समयसम्म त। भिडभाड भएर उभिनुपरेको बेलासमेत कतिपय मान्छेहरु पढिरहेका हुन्छन्। धेरैजसोले यसरी पढेर बस्दिएपछि रेलमा हल्ला कमै हुन्छ। (हाईस्कूल पढ्ने केटीहरुको ग्याङ पनि छ भने कुरो बेग्लै हो, गोलाकार भएर ढोका अगाडि बसेर अरु-अरुको भागको पनि हल्ला गर्दिन्छन् तिनीहरुले:)) लामो-छोटो जुनसुकै यात्रामा निस्कनुपरे पनि केहि पढ्ने सामाग्री नबोकी निस्कँदैनन् जापानीहरु। अत्यन्त सस्तो र तिब्र गतिको इण्टरनेट सुबिधा भएपनि सबैजसो मानिसहरु कुनै न कुनै एउटा पत्रिकाको ग्राहक पनि बनेकै हुन्छन्। आफूले राम्ररी नबुझेको विषयमा प्याच्च बोलिपनिहाल्दैनन्, त्यसबारेमा पढ्न सामाग्री खोज्न थाल्छन् बरु। मबाट नेपालको बारेमा पहिलोपटक सुनेका मान्छेहरु केहि दिनपछि नेपालको बारेमा मभन्दा धेरै कुरा जान्ने भएको देखेको छु मैले।

यूरोप, अमेरिकातिर बस्ने साथीहरुको कुरा सुन्दापनि यस्तै हो भन्छन् उनीहरु। विकसित समाजका मान्छेहरु बढी पढ्छन्। विकसित र अविकसित देशहरुको चरित्रगत फरक छुट्याउनुप-यो भने 'पढ्ने बानी' सूचिको माथितिरै आउँछ होला।

'पढ्नु' भनेर यहाँ विद्यालय-कलेजमा गरिने 'औपचारिक' अध्ययनलाई भनिएको होइन, यस्तो अध्ययनको आफनै ठूलो महत्व छ। तर यसले मात्रै मानिसको र समाजको समष्टिगत चरित्र र ब्यक्तित्व निर्माण गर्न सक्दैन। आफ्नो पेशासंग सम्बन्धित अथवा असम्बन्धित नयाँ-नयाँ कुराहरु खोजेर पढ्ने बानीलाई 'पढ्नु' भन्न खोजिएको हो।

हो, हाम्रो देशमा अझै स्तरीय औपचारिक शिक्षा सबैको पहुँचमा पुगिसकेको छैन। यो अभावको केहि अंशलाई पनि अनौपचारिक शिक्षा अथवा पढ्ने बानीले पुर्नसक्छ।

तर मुख्य समस्या के छ भने हाम्रो समाजमा ‘पढ्नु’लाई त्यति ‘सम्मानजनक’ मानिँदैन। यसो भन्दा धेरैलाई अनौठो लाग्न सक्छ तर ‘पढ्ने’ बानी भएका मानिस हाम्रो समाजमा ‘अनौठा’ जन्तु ठानिन्छन् र ‘पडन्ते’ वा ‘किताबको किरो’ भनेर गिज्याईन्छन्। त्यस्ता मान्छेले चाड-बाड, बिहे-भोज आदिमा गफ गर्ने साथी समेत भेट्टाउँदैनन् तर तास खेल्नेहरुको लागि भने‘संसारै’आफ्नै हुन्छ। ‘यो मान्छेले पढ्न मात्र जानेको छ, अरु केहि पनि जानेको छैन’ भनिनु सामन्य हो हाम्रो समाजमा, जबकि मौका पाउँदा किताबी ज्ञानले ब्याबहारिक जीबनलाई राम्रैसंग नसघाउने होइन। यहाँसम्म कि औपचारिक शिक्षालाई समेत खासै भित्री मनदेखि सम्मान दिँदैन हाम्रो समाजले। त्यसलाई कुनै पेशा समात्ने भ-याङजस्तो मात्रै मानिन्छ। समाजको यस्तै चिन्तनको असरले गर्दा औपचारिक शिक्षा पूरा गरेर कुनै पेशा समातेपछि धेरैजसोले पढ्नै छोडिदिन्छन्, पत्र-पत्रिका वा साहित्यमात्रै होइन आफ्नै पेशासंग सम्बन्धित सामाग्रीहरु समेत छुँदैनन्। अनि विस्तारै ती मान्छेहरुको चिन्तन शैली र क्षमता एकदम भुत्ते हुँदै जान्छ। भुत्ते चिन्तन शैली र क्षमताको बहुमतले सरकार र ब्यूरोक्रेसी सञ्चालन गरेपछि देश कस्तो बन्छ भन्ने कुरा हामी सबैलाई थाहा भैसकेकै छ।

यहाँ देखेजस्तै, पढ्ने बानी हाम्रो राष्ट्रिय संस्कृतिको पनि एउटा अभिन्न र सम्मानजनक भागको रुपमा कहिले स्थापित होला?

नयाँ नेपालको हल्ला चलेको बेला यस्तो पहलले पनि ठाऊँ पाउनेछ भन्ने आशा गरौं। र हामीले आ-आफ्नो ठाऊँबाट पनि सक्दो बल गर्नुपर्ने दायित्व त छँदैछ।


November 05, 2008

बधाई बाराक ओबामा!!!!


बधाई बाराक ओबामा!!! बधाई जो बाइडेन!

आज दिनभरि अमेरिकी चुनावको नतिजा हेरेर बित्यो भनेपनि हुन्छ। प्राइमरीबाटै मैले धेरै समय बिताएँ, अमेरिकी चुनावको बारेमा पढेर। रिपब्लिकनभन्दा डेमोक्रेट मन पर्ने हुनाले बाराकको जीतको कामना र प्रार्थना गरेको थिएँ मैले पनि। प्राइमरीमा भने म 'हल्का' हिलारीपट्टि ढल्किएको थिएँ:)

भोट हाल्न नपाएपनि संसारको सबैभन्दा शक्तिशाली देशको सर्वोच्च पदको लागि हुने चुनावप्रति सबै देशका सबैजसो मान्छेको चासो हुन्छ। अमेरिका अझै विश्वको एक्लो महाशक्ति हो (अबका केहि वर्ष अथवा एक-दुई दशकभित्रै यो स्थिति फेरिने छाँटपनि नदेखिएको होईन) र यसका हरेक गतिबिधिले समग्र विश्वलाई धेरै प्रभाव पार्छन्। अमेरिकाको राष्ट्रपतिले गलत निर्णय लिँदा दुनियाँले दु:ख भोग्नुपरेका धेरै उदाहरण छन्। त्यस्ता उदाहरणहरु खोज्न इतिहासमा पस्नुपनि पर्दैन, हाम्रो आँखै अगाडि अझै जर्ज डब्लु. बुश खडा छन्। त्यसैले अमेरिकाले कस्तो राष्ट्रपति छान्छ भनेर सारा दुनियाँ उत्सुक भएर हेर्छ, हरेक चार वर्ष।

फेरि विश्वको माध्यम भाषाको रुपमा रहेको अंग्रेजी भाषा, इण्टरनेटको बढ्दो उपस्थिति र सशक्त अमेरिकी संचार माध्यमहरुका कारणले अमेरिकी चुनाव सबैको पहुँचमै पनि छ। अमेरिका मन परेपनि, नपरेपनि यो राजनीतिक 'नाटक'बाट अछूतो रहने को होला?!

ओबामाको ऐतिहासिक उम्मेदवारी र ऐतिहासिक जीतको कुराले संसारभरिका संचार-माध्यम रंगिएका छन्। उनको जीत अमेरिका र समस्त विश्वमै रंगभेदको अन्त्य पक्कै होईन तर रंगभेदको अन्त्य र समानताको दिशामा एउटा ठूलो किर्तिमान भने पक्कै हो। उनको जीतले वर्तमान विश्वका थुप्रै राजनीतिक-साँस्कृतिक-सामाजिक विभेदहरुको अन्त्य गर्ने अभियानमा अत्यन्त सकारात्मक सन्देश दिएको छ।

म्याराथनजस्तो चुनाव सकियो, बाराकले जिते। हार्ने जोन मक्केनले सहज हार स्विकारे र जित्नेलाई बधाई दिए। जित्नेले हार्नेसंग विनम्रतापूर्वक देश चलाउन उनको पनि सहयोग मागे। एउटा परिपक्व लोकतन्त्रको सौन्दर्य देखियो। हाम्रा लागि यस्ता कुरा अझै 'आकाशको फल---' जस्तो हो।

ओबामाको वास्तविक परीक्षा अब शुरु हुनेछ। उनको नीतिले अमेरिका र समग्र विश्वको आसन्न आर्थिक संकट चाँडै टार्ने छ कि छैन, विश्व शान्तिको दिशामा जाने छ कि छैन---दुनियाँले त्यतातिर आँखा सोझ्याईसकेको छ। उनको ब्यक्तित्व र ब्यक्तिगत क्षमताको ठूलो असर हुनेनै छ, त्यतिनै महत्व उनले अब जम्मा पार्ने 'टिम'को पनि हुनेछ।

बाराक ओबामा र जो बाइडेनलाई सफल कार्यकालको शुभकामना!

November 03, 2008

गोर्खापत्रको कथा

गोर्खापत्रको यो रुप फेरिने छाँट देखिएको छैन अझै। उल्टो झन घघडान 'गोर्खापत्र' बन्ला जस्तो पो छ! पात्रहरु फेरिएका जरूर हुन्, तर कथा उस्तै छ।

"गोर्खापत्र- कल्ले कतिपटक?"

पोहर एस.एल.सी मा गुल्टेको कालेले
यसपाली दोश्रोपटक छोला गोर्खापत्र,

सचिव हुँदासम्म शा.अ. डम्बरनारायणले
दशचोटि जति पढ्ला गोर्खापत्र,

अबला एकल धनमाया-
जाली जेठाजूले जग्गा हडप्न खोजेछ
माईती झिकाएर सुनी मात्र एक पाना गोर्खापत्र,

'विक्रम' र 'शमशेर' हरु ठान्छन्-
अरुलाई गोर्खापत्र कोच्याउनु तीनको अधिकार हो
आफू त किन घिच्थे र गोर्खापत्र?

यस्तै हो साथी!
गजब छ यो गोर्खापत्र
एक बाजी मैले पनि पढेथें
तिमीले कतिचोटि पढेका छौ गोर्खापत्र?

-५ अप्रिल, २००६

October 28, 2008

तिहारको शुभकामना!!

यो ब्लगमा पाल्नुहुने समस्त महानुभावहरुमा शुभ दीपावलीको मंगलमय शुभकामना!!! यहाँको जीवनमा सधैं सुख, सफलता र समृद्धिको उज्यालो छाइरहोस्!



-----------
चाडबाड आयो, घर-गाऊँको याद झन्-झन् गाढा भएर आऊँछ र रुनै मन लाग्छ। अघि भर्खर किशोर भतिजाहरुको मेल पढ्दै थिएँ। उनीहरुको देउसी-भैलोको तयारीको बारेमा लेखेका छन्। उनीहरुको मेलले झन् भँड्क्यायो मलाई र केहि पनि गर्न मन लागिरहेको छैन। आफ्नो बाल्यकालका देउसी-भैलोको रमाईलो र घमाईलो दिनको भाइटिका आँखै अगाडि झल्झली आएको छ।

बच्चामा हामी दशैं रमाईलो कि तिहार रमाईलो भनेर एकापसमा कुरा गर्थ्यौं। दशैं सकिएर तिहारको प्रतीक्षा हुन थालेपछि यो कुरा हुन्थ्यो। बितिसकेको दशैंभन्दा तिहारको कल्पनाले जित्थ्यो र हामी सबै तिहारलाई बढी रमाईलो भन्थ्यौं। मलाई अहिले पनि तिहारै रमाईलो लाग्छ।

एउटा उमेरसम्म देउसी-भैलो पनि खेलियो। भैलो केटीहरुका लागि हो भन्ने गरिएको थियो हामीलाई, त्यसैले हाम्रो जोड देउसीतिरै हुन्थ्यो, अलि‍-अलि भैलो पनि नखेलिएको भने हैन। देउसी खेल्ने दिनको लागि लालटीन खोज्ने र मट्टीतेल किन्नको लागि एकापसमा पैसा उठाउने काम एक-डेढ हप्ता पहिलेबाटै शुरु हुन्थ्यो। हुनत पछि एक-दुई ठूला र 'आयोजित' देउसी-भैलो कार्यक्रममा पनि हिँडियो, तर बाल्यकालको हाम्रो 'रफ' देउसी-भैलोनै गडेको छ दिमागमा।

भाइटिकाको दिन सबैभन्दा प्यारो दिन, यो दिनको बयान गर्ने सामर्थ्य छैन ममा। मेरो स्मृतिमा रहेका हरेक वर्षका भाइटिकाका दिनहरु घमाईला र सुन्दर छन्। (हुनपनि, वर्षभरिमा सबैभन्दा राम्रो मौसम तिहारकै बेलामा हुन्छ। दशैंमा वर्षायामको अंश अझै बाँकी हुन्छ।) तर यो वर्षपनि बहिनीहरुलाई फोन गर्नु र टिका लगाउन लहरै बसिरहेका दाइ-भाइहरु र उनीहरुका निधारमा टिका लगाईदिईरहेका बहिनीहरुलाई मनको आँखाले सम्झिनुबाहेक केहि गर्न सकिने छैन। घमाईलो आँगनमा बसेर गफिन पाईने छैन।

बारीका डिल-डिलमा फुलेका सयपत्री र मखमली यो पाली पनि मेरो भागमा पर्नेछैनन्-----!

October 25, 2008

के भुटानी-नेपालीहरुको नियति यहि हो त?

केहि दिन यतादेखिका, भुटानी-नेपाली शरणार्थी नेपालीहरुसंग सम्बन्धित समाचारहरुमा गएर मेरो ध्यान अड्किरहेको छ। दशैंताका होला, तेस्रो देशमा पुनर्वासका लागि जान लागेका नेपालीहरुको तस्बीर देखेको थिएँ (कान्तिपुरमै होला)। केहि दिन पहिला भुटानी सरकारका एक अधिकारीका भनाईहरु पढेको थिएँ। नेपालमा रहेका भुटानी-नेपाली शरणार्थीहरुको तेश्रो देशमा भईरहेको पुनर्वासले उनलाई र भुटानी सरकारलाई निकै 'खुशी' बनाएको रहेछ। यो समस्या यसरी 'सुल्झिएपछि' नेपाल-भुटान सम्बन्धमा कुनै पनि समस्या नरहने उनको दावी थियो। अझ यस्ता 'सानातिना' कुरालाई उनले समस्यानै ठानेका रहेनछन्। (कहाँ पढेको भन्ने याद भएन, माफी चाहन्छु। अबदेखि यस्ता कुराहरुको लिंक संकलन गर्ने बानी बसाउनेछु।) आफनो जीऊको काँडो झिकेजस्तो भईरहेको होला भुटानी सरकारलाई। एक-दुई दिन पहिलानै हो, भुटानी सरकारका जासूस/दलालहरु आएर झापाका शरणार्थी क्याम्पहरुबाट राजनीतिक रुपमा सकृय ब्यक्तिहरुलाई अपहरण गरेर भुटान पु-याउने काम नियमितजस्तै हुन्छ भनेर पनि पढेको थिएँ। मध्ययुगीन भुटानका जेलमा पुगेपछि ती ब्यक्तिहरुको के हालत होला, हामी सजिलै अनुमान गर्न सक्छौं।

आजको कान्तिपुर अनलाईनमा फेरि अर्को खाले खबर छ, यहाँ पढ्नुहोस् Not all Bhutanese can get resettled कथित 'तेश्रो देशमा पुनर्वास'को तेश्रो देशको लाल-बुझक्कडपनले पारिवारिक विखन्डन ल्याएको उदाहरण हो यो।

भुटानी-नेपालीहरुको यो बिजोगको बारेमा यहाँ मैले केहि लेखिरहनुपर्दैन। एक लाखभन्दा धेरै मानिसहरुलाई जातीय दमन गर्दै अमानवीय ढंगले लखेटिएको थियो। भुटानी-नेपालीहरुको एउटा पुस्ता शरणार्थी शिविरमै जन्मेर युवा भईसक्यो। दुई दशक बितिसक्दा पनि भुटानी-नेपालीहरुको यो समस्याले किन अरु शरणार्थी समस्याजस्तो अन्तर्राष्ट्रिय चर्चा पाउन सकेन अथवा अन्तर्राष्ट्रिय शक्तिकेन्द्रहरु किन तीनलाई भुटानतिरै सम्मानजनक रुपमा फिर्ता पठाउनेतिर लागेनन् र कथित 'तेश्रो देश'को विकल्पमा लागे, यो बुझिनसक्नु छ।

भुटानतिरै जान संघर्ष गरेर बसिरहने या विकसित देशको भौतिक सुख रोज्ने भन्ने कुरा भुटानी-नेपालीहरुको आफ्नो चासोको विषय हो। यसमा म आफ्नो धारणा राख्न चाहन्न। आफ्नै देशमा सम्मानजनक रुपमा बस्न पाएका र कतिपय आर्थिक रुपले सम्पन्न मानिसहरु त पश्चिम र अमेरिका भनेपछि हुरुक्कै ज्यान फालेर उडिरहेको बेलामा घरको न घाटको ताल भएका भुटानी शरणार्थीहरुमध्ये धेरैले अलिक स्थायित्वयुक्त जीबन र सन्ततिहरुको सुरक्षित भविष्यको आशा गर्दै पश्चिम जाने बाटो रोज्नु अत्यन्त स्वाभाविक छ।

तर मेरो मनमा खेलिरहेको प्रश्न भने के यो नै सही र एकमात्र उपाय थियो त? अनि मलाई के लाग्छ भने यो निर्णय, यो प्रकृयाले दुनियाँको बिभिन्न ठाऊँमा बसिरहेका नेपाली मूलका नागरिकलाई दूरगामी असर पार्नेछ र नेपाल आफैं पनि लामो समयसम्म प्रभावित भईरहनेछ।

भुटानी शरणार्थी समस्याको सही निकास भनेको शरणार्थीहरुको सम्मानजनक भुटान-फिर्तीनै हो। त्यो निकास ननिक्लनु हाम्रो कूटनीतिको चरम असफलता हो। हाम्रा सरकार, दलहरु र नेताहरु शरणार्थी वर्गीकरण जस्ता भुटानी कूटनीतिक जालमा सजिलै बल्झिए र लामो समयसम्म त्यसैमा अल्मलिईरहे। अर्कोतिर, भुटानी-नेपाली शरणार्थी समस्यालाई नेपाल र भुटानको द्विपक्षीय मु्द्दाबाट भारतसहितको त्रिपक्षीय मुद्दा बनाउन नेपाल पूरै असफल भयो। यो समस्याको मूल कारण भुटानमात्रै होईन, भारत पनि हो। भुटानी-नेपालीहरु लखेट्ने काम भुटानी सरकारले भारतकै संरक्षणमा गरेको हो भन्ने कुरा सबैलाई स्पष्ट छ। एक त भारतले चाहेको भए भुटानका नेपालीलाई लखेटिनबाट रोक्ननै हस्तक्षेप गर्न सक्थ्यो। आफूलाई 'संसारको सबैभन्दा ठूलो लोकतन्त्र' भन्ने एउटा प्रभावशाली क्षेत्रीय शक्तिको धर्म हुन आउँछ त्यो। भारतले यो आफ्नो दायित्व त पूरा गरेन-गरेन, ती शरणार्थीलाई आफ्नो भूमिमा बस्न समेत दिएन र सीमा कटाएर नेपालतिर फ्याँकिदियो। यो मुद्दामा भारतले खेलेको अत्यन्त नकारात्मक भूमिकाको अन्तरराष्ट्रिय मञ्चमा र यहाँसम्म कि भारतकै नागरिक समाजमा समेत खासै चर्चा भएको छैन। हामीले अलिक बढी चर्चा उब्जाउन सकेको भए स्थिति फरक हुनेथियो शायद।

भारतलाई नेपाली राजनितिको सबैभन्दा बलियो 'किङमेकर' को रुपमा पूरै नेपाल र विशेष गरी राजनितिक दलहरुले सामान्य रुपले स्विकार गरिरहेका छन् र निकट भविष्यमै यो स्थितिमा परीवर्तन आउने छाँट छैन। सरकार पछि सरकार झन् जन् भारतपरस्त बन्दै गईरहेका छन्। यसैले हाम्रो कूटनीतिक प्रयास अलि सशक्त होला भनेर आश गर्ने ठाऊँ पनि छैन, उल्टो हाम्रा राजनीतिज्ञ र कूटनीतिज्ञहरु अब ढुक्कले यो मुद्दाबाट हात धोएर बस्न बेर छैन।

अब त झन तेश्रो देशतिरको पुनर्वासले भुटान-फिर्तीको सवाललाई कमजोर बनाईदिएको छ। यो धारणाले भुटानी-नेपाली शरणार्थीहरुमा फुटनै पैदा गरिसकेको छ र समयक्रममा भुटानी-नेपाली शरणार्थीहरुको स्वदेश-फिर्तीको आन्दोलन पूरै सेलाएर जाने लक्षण देखिएको छ।

तेश्रो देशमा पुनर्वासको यो प्रकृयापछि पनि भुटानमै बाँकी रहेका अरु नेपाली मूलका जनताप्रति भुटानी राज्ययन्त्रको भविष्यको ब्यबहार कस्तो हुनेछ भनेर कसैले पनि सोचेका छैनन्। हामीले भुटान विरुद्ध खासै कुनै दबाब सृजना गर्न नसकेकोले भुटान हौसिएको हुनुपर्छ र बाँकी रहेका नेपालीलाई पनि कुनै दिन कुनै बहानामा लखेट्ने उसको योजना हुनसक्छ। भारतको नियत पनि उस्तै छँदैछ।

अर्कोतिर यस्तै घटना भारतका बिभिन्न राज्य र बर्मामा रहेका नेपालीहरुका हकमा पनि दोहरियो भने के गर्ने? आसाम र मेघालयका 'आदिवासी' हरुले धेरैचोटि नेपाली मूलका मानिसलाई लखेटिसकेका छन् र अझै पनि बेलाबेलामा धम्की दिईरहेका छन्। के त्यतिखेर पनि पश्चिमीहरुलाई गुहार्ने लगिदेऊ भनेर?

नेपालभित्र रहेका सबै नेपालीहरुको गाँस-बास-कपास-सुरक्षा आदिको जिम्मेवारी नेपाल सरकारको हो। तर नेपाल सरकारको जिम्मेवारी यत्तिमै सीमित भने होईन। संसारभरि छरिएर रहेका नेपालीहरुको हक-अधिकारको सुरक्षाको लागि कूटनीतिक पहल गर्नु, अन्तर्राष्ट्रिय मञ्चहरुमा तिनका लागि सशक्त आवाज सृजना गर्नु पनि नेपाल राज्यको जिम्मेवारी हो। हो, भौगोलिक नेपाल मेची-महाकालीमा सीमित छ तर सांस्कृतिक नेपाल धेरै फैलिईसकेको छ। त्यो सांस्कृतिक नेपालको सुरक्षाको जिम्मेवारी पनि नेपालकै हो।

भुटानी-नेपाली शरणार्थीहरुको मामलामा हामी नेपाली आफ्नो जिम्मेवारी निभाउन गम्भिर रुपमा असफल भएका छौं।
******************
Is the tide turning----

Shame on India! Shame on Bhutan!

October 22, 2008

'वर्कशप' बाटै थप केहि कुरा

वर्कशप पछिका दिनहरुमा बेस्सरी बेफूर्सदी भईयो, अस्तिको टाँसो पनि त्यस्तै ‘हतारको काम लतार’ भनेजस्तो भयो। थप केहि टुक्रा-टाक्री कुराहरु आज लेख्दैछु।
----------------
कार्यक्रम गरिएको जाइकाको हल नेवा: ईण्टरनेशनलको नाममा लिईएको थियो। NEA-JC जापानमा दर्ता नभएको हुनाले यसको नाममा हल लिन नमिलेको रहेछ। उक्त सहयोगका लागि नेवा: ईण्टरनेशनललाई फेरि एक पटक धन्यबाद!
---------------
कार्यक्रममा 'मास' कम हुने कुरा अलिक पहिलेबाटै उठेको हो। कार्यक्रमको अघिल्लो दिन र कार्यक्रमकै दिन पनि फेरि उठ्यो। 'ईञ्जिनियरकै लागि मात्र' भनेर कार्यक्रम आयोजना गरिएको निश्चय पनि होइन। कार्यक्रमलाई सहभागितामूलक बनाउन नेसाज र एनआरएनमा पनि जानकारी पठाइएको थियो र ईञ्जिनियर बाहेकका साथीहरुसंग पनि पेपरका लागि अनूरोध गरिएको थियो।

हाम्रो तर्फबाट केहि कमजोरीहरु पक्कै पनि रहे होलान् यस मामिलामा, तर अचेल जापानमा हुने नेपाली कार्यक्रमहरुमा 'मास' जम्मा हुने कारण अलि फरक छ। ती कार्यक्रमहरु कि राजनीतिक हुन्छन् कि जातीय संस्थाका हुन्छन्। तीनमा स्वभावत: 'मास' ठूलो हुननै भयो। त्यस्ता कार्यक्रमहरु 'गज्जब' हुन्छन्, हरेक कार्यक्रममा कांग्रेस, एमाले, माओवादी, राजदूतावास र बिभिन्न संस्थाका प्रतिनिधिहरुलाई 'आसन ग्रहण' गराईन्छ। यो आसन ग्रहण गराईले उस्तै परे आधा घण्टा खाईदिन्छ। अनि सबैलाई 'छोटो मन्तब्य' दिन पनि आग्रह गरिन्छ, जुन 'छोटो मन्तब्य' औसतमा पनि ४०-५० मिनेटको हुन्छ। कार्यक्रमको मूल विषयलाई अत्यन्त कम समयमात्र बाँकी रहन्छ, उस्तै परे मूल विषयमा प्रवेशै नगरी कार्यक्रम सकिन्छ। यस्तो कार्यक्रम गर्ने समय NEA-JC संग छैन।

आफ्नो तर्फबाट प्रचारमा भएका कमी-कमजोरीलाई भने NEA-JC ले अबका कार्यक्रमहरुमा सच्याउनेनै छ।
----------------
वर्कशपमा राजदूतावासको प्रतिनिधिको रुपमा डेपुटी चिफ अफ द मिसन डा. दुर्गा बहादुर सुबेदी क्षेत्रीजी (जसको साहित्यिक नाम दुबसु क्षेत्री हो)को उपस्थिति थियो भने एनआरएनको तर्फबाट एनआरएन-जापानका केन्द्रीय सदस्य सफला धितालजीको उपस्थिति थियो।
----------------
दुर्गा बहादुर सुबेदी क्षेत्रीजीको चार-पाँच पृष्ठ लामो लिखित बक्तब्य अंग्रेजीमा थियो। बक्तब्यमा 'नयाँ नेपाल' यथेष्ट दोहोरिएको थियो।
----------------
पूरै कार्यक्रम 'नेपाङ्रेजी' भाषामा चलेको थियो। नेपालीहरुमात्रै भेला भएको कार्यक्रम पूरै अंग्रेजीमा गर्नुमा कुनै तुक छँदा पनि छैन तर नेपाली भाषाको प्राविधिक शब्दाभाव (र भएका पनि प्रयोग नगरिने चलन)ले गर्दा प्राविधिक शब्दावली भने अंग्रेजीकै हुनु स्वाभाविकै भयो।
---------------
दिउँसो खाना खाँदा सूर्य दाइको एउटा खेलले रमाईलो गरायो एकछिन। सय येनको सिक्कालाई बढाबढमा किन्ने खेल थियो। शर्त चाहिँ, १) सबैभन्दा बढी कबोल्ने दुई जना (टप टू)ले पैसा सूर्य दाइलाई दिनुपर्ने र २)त्यो सिक्का सबैभन्दा बढी कबोल्नेले पाउने। सयको सिक्कामाथि असीजतिको बोली परिसकेको थियो र खेल चालू रहे सय सजिलै नाघ्ने लक्षण देखिएको थियो, सूर्य दाइले खेल रोक्दासम्म। सूक्ष्म अहं र जूवाडे मनस्थिति जन्मिदो रहेछ बोली लगाउन थालेपछि। नेपालको राजनीतिलाई यो खेलले राम्ररी प्रतिनिधित्व गर्ने धारणा थियो सूर्य दाइको।

दुई तरिकाले हेर्न सकिन्छ यो खेललाई। पहिलो हेराईमा नेता र दललाई सय येनको सिक्काको रुपमा हेर्ने हो भने हामी जनताहरु सय येनको सिक्कालाई हजार येन तिरेर किनिरहेका छौं।

दोश्रो हेराईमा, हामी जनता आफैं सय येनको सिक्का हौं। र नेता र दलहरुको सिण्डिकेट यस्तो छ कि धेरै कम मोलमा हामी 'बेचिईरहेका' छौं। बढाबढमा बोली लगाउनेहरुको सिण्डिकेट हुने हो भने १० येनमै बोलीलाई सीमित गर्न सकिन्छ। सबैभन्दा माथिका दुई जनामध्ये एउटाले १० र अर्कोले ९ येन बोलेर १९ येन तिरेको भरमा सय येनको सिक्का हात पार्न सक्छन्।
--------------------
खाना खाएर हलतिर फर्कँदै गर्दा एउटा भित्री बाटोमा रातो ट्राफिक लाइटमा परियो। बटन थिचेर हरियो बल्ने प्रतीक्षा गरिरहेका थियौं हामी, तर धेरै बेरसम्म बल्दै-बलेन। रातैमा भएपनि बाटो काट्ने सूर गर्दै थियौं हामी (त्यति चल्तीको बाटो थिएन त्यो), एउटी कुइरीले हामीभन्दा पहिल्यै दौडिँदै बाटो काटी।
"जापानीले यो कुइरीलाई हेरेर चाहिँ 'इसोगासीइ ने!' (कति हतार छ विचरीलाई!) भन्छन्, हामीलाई भने आँखा तर्दै 'वारुइ गाइजीन' (खराब बिदेशीहरु!) भन्छन्।" एकजना साथीले हाँसो गर्नुभयो। कुरोमा हाँसो भएपनि भित्री यथार्थ भने त्यस्तै हो।

October 17, 2008

2nd NEA-JC Workshop on Present and Future Technology

नेपाल ईञ्जिनियर्स एशोसिएसन-जापान केन्द्र (Nepal Engineers' Association-Japan Center, NEA-JC in short) को आयोजनामा गएको आइतबार (अक्टोबर १२) टोकियोमा एक वर्कशप सम्पन्न भयो। "2nd NEA-JC Workshop on Present and Future Technology" भन्ने थिममा आयोजित यो वर्कशपमा जापानमा कार्यरत/अध्ययनरत नेपाली ईञ्जिनियरहरुले आफ्ना कार्यपत्रहरु पेश गरेका थिए। नेपाल ईञ्जिनियर्स एशोसिएसन-जापान केन्द्रको एउटा प्रमुख गतिबिधिको रुपमा गत वर्षबाट यो कार्यक्रमको थालनी गरिएको हो। गत वर्ष यो कार्यक्रम हामीले ओसाकाको दाइतो शहरमा आयोजना गरेका थियौं, यहाँ क्लिक गरेर हेर्नसक्नुहुन्छ त्यस बारेमा।

नेपाल ईञ्जिनियर्स एशोसिएसन सबै विधाका ईञ्जिनियरहरुको साझा संस्था भएकोले यो कार्यक्रममा स्वभावत: धेरै विषयका पेपरहरु प्रस्तुत भए। फरक क्षेत्रका कुराहरुका बारेमा साथीहरुबाट सुन्न पाउँदा अलिकति सामान्य ज्ञान बढ्ने त छँदैछ, त्यो भन्दा पनि महत्वपूर्ण चाहिँ ईञ्जिनियरिङ पेशा द्रूत गतिमा cross-disciplinary हुँदै गएको यो जमानामा यसले पेशागत जीबनमै पनि सकारात्मक असर दिने पक्का छ।

यो सन्दर्भमा पोहरको कार्यक्रममा एकजना साथीले भनेको याद आउँछ; "आफनो क्षेत्रबाहेकका विषयमा पनि अलि-अलि गफ दिन जान्ने भइयो। यो 'गफ दिन जान्नु' वा 'गफ दिन सक्नु' पनि ठूलो कुरो हो।"

उक्त वर्कशपका बारेमा थप NEA-JC को गृहपृष्ठमा गएर हेर्न सक्नुहुन्छ। तल केहि फोटोहरु राखेको छु।

कार्यक्रमको सिलसिलामा टोकियो पुग्ने क्रममा ११ तारीख बेलुकी म साइतामा मिसातोमा पुगेको थिएँ अखिलेश दाइ र वेदजीको निम्तोमा। वेदजीसंग पोहर ओसाकामा भेट भएको थियो। अखिलेश दाइसंग भने अहिलेसम्म प्रत्यक्ष भेट भएको थिएन। त्यो साँझ, मिसातो दान्ची (आवास क्षेत्रमा) रहेका नेपालीहरुको रमाइलो दशैं कार्यक्रममा सहभागी हुने मौका मिल्यो। यो मौका दिनुभएकोमा वेदजी, अखिलेश दाइ र मिसातोका सबै नेपाली साथीहरु र भाउज्यूहरुलाई हार्दिक धन्यबाद! अहिलेसम्म फोनमा मात्रै कुराकानी भएका ब्लगर मित्र सुरेश परीवर्तनजी र अरु धेरै साथीहरुसंग पनि चिनजान भयो।

कार्यक्रम सकिएपछिको साँझ नेपाली रेष्टूरेण्ट तिहारमा भएको सानो जमघट पनि निकै रमाईलो भयो। उक्त जमघटमा मझेरीका कुमारजी, अखिलेश दाइ, अमनजी, विदुरजी, लताजी, रिपेन्द्रजी र म थियौं। त्यहाँ पक्का नेवारी स्वादका खानेकुराहरु धेरै थिए। नेपाली राष्टूरेण्ट भनेपछि यस्तो पो हुनुपर्छ जस्तो लागेको छ। अरु धेरै रेष्टूरेण्टले नेपाली खानाको नाममा नान-करी मात्रै बेचेर बसेका छन्।

१२ तारीखको रात कुमारजीको कोठामा बसियो।

तल कार्यक्रमका केहि फोटोहरु;


















Presented Papers:

1) Special presentation: Technology transfer for infrastructure development in Nepal -- Er. Surya Raj Acharya

2) History, current status and future development of the Internet -- Er. Ved Pd. Kafle

3) Information sharing on the social semantic web -- Er. Aman Shakya

4) Experimental investigation of damping for stone masonry -- Er. Hari Parajulee

5) Greater need of pre-disaster management for infrastructure development and
resource generation in Nepal -- Er. Netra Prakash Bhandari

6) Three dimensional transient slope stability analysis of landslide dam failure
-- Er. Ripendra Awal

7) Numerical solution of the Navier-Stokes equations for incompressible free surface
flow in porous media under forced drainage conditions -- Er. Bidur Ghimire

8) नेपालको विद्युत विकास : अहिलेको वास्तविकता र अबको बाटो -- Er. Netra Gyawali

9) Role of Nepalese engineers abroad in infrastructure development of Nepal
-- Er. Dinesh Manandhar

10) About living space of Buddhist monastery in Patan-a research on living
environment management for elderly of traditional city -- Er. Lata Shakya

11) Modeling lung deformation during breathing -- Er. Subas Chhatkuli

Panel Discussion

Topic: Saptakoshi flooding - Could it be prevented?
Chair : Er. Surya Raj Acharya

Panelists: Er. Netra Prakash Bhandari, Er. Dinesh Manandhar, Er. Basanta K Gautam

October 09, 2008

विजयादशमीको हार्दिक मंगलमय शुभकामना


यो ब्लगमा पाल्नुहुने समस्त महानुभावहरुमा विजयादशमी-२०६५को हार्दिक मंगलमय शुभकामना!!! यो पवित्र दिनले यहाँको जीवनमा अझ धेरै खुशी, अझ धेरै सफलता र अझ धेरै सम्पन्नता ल्याओस्।




**मेरो मनको दशैं**

October 08, 2008

यो पनि 'बलि'नै हो

देश बाहिर बसिएको छ मन उदास हुनेनै भयो, त्यो पनि यो दशैंको बेलामा।

अचेल सधैंभरि मलाई आफू शाकाहारी हुन नसकेको पछुतोले पनि टोकिरहन्छ। नेपालमा दशैं पशुपंक्षी-हत्याको पर्याय बनेकोले दशैंको यो बेलामा झन बढी टोक्छ मलाई मेरो पछुतोले। हो मलाई थाहा छ, मासु खान नछोडुञ्जेल जनावरमाथि हुने हिंसाको मैले विरोध गर्नुमा कुनै दम छैन।

आज कान्तिपुर अनलाईन हेरेपछि झन नरमाइलो लागेको छ। काठमाण्डौंकी नयाँ कुमारीको रुपमा चुनिएकी बालिकालाई उनका अभिभावकले बोकेर कुमारीघरतिर लाँदै गरेको तस्वीर छ त्यहाँ। यो तस्वीरले मलाई पर्सिएर गिँड्न तयार गरिएका खसी-बोकाको याद आयो अचानक। कथित संस्कृति र परम्पराको जसले जतिसुकै दुहाई दिउन्, ती निर्दोष वालिकाको सुन्दर बाल्यकाललाई बलि दिइएको नै हो यो।

विगतमा परम्पराको नाममा मरेको लोग्नेसंगै जिउँदै जलाईन्थ्यो नारीलाई। त्यस्ता परम्परालाई जोगाउन पनि विगतका 'सांस्कृतिक ठेकेदार'हरु यसरीनै संस्कृति र परम्पराको दुहाइ दिन्थे होलान्, तर ती जोगिन सकेनन् किनभने तिनले मानव अधिकारको चरम हनन् गरेका थिए, ती क्रूर सामन्ती समाजका उपज थिए। हाम्रो उपत्यकाको कुमारी प्रथा पनि सामन्ती समाजको अवशेषमात्रै हो। विगतका केहि सामन्ती शाशकहरुको लहडका कारण युगौं-युगदेखिका बालिकाहरुलाई दास बनाएर राखिएको छ, देवी बनाउने निहुँमा। कथित अभिभावकहरुको कुनैपनि निर्णयको विरोध गर्न नसक्ने यस्ता कलिला बालिकाहरुको बाल्यकाल खोस्ने कस्तो 'महान' संस्कृति बनाएको र मनाएको हो हाम्रो समाजले?!

यो प्रथा सामन्ती राजतन्त्रसंग जोडिएर आएको प्रथा हो। देशबाट राजतन्त्र गयो तर यस्ता कुप्रथामाथि अझै सशक्त आवाज उठेको छैन। हात्तीहरु एक-एक गरी 'छिर्दैछन्' तर पूच्छरहरुले अझै हामीलाई विगतमै 'अड्काइरहेका' छन्। के प्रमाणित हुँदैछ भने राजनीतिक मौसम जति फेरिएपनि साँस्कृतिक रुपमा हामी अझै ४०० वर्ष पहिलेकै निद्रामा छौं।

गणतान्त्रिक नेपालको पहिलो राष्ट्रपतिले, पहिलो सरकारले यसबारेमा अलिक आँट लिन सक्नुपर्थ्यो। कमसेकम वहसमा यसको विपक्षमा आफूलाई उभ्याउनुपर्थ्यो र राज्यलाई यो निर्दयी प्रथाबाट अलग बनाउन सक्नुपर्थ्यो।

अनि, संविधानमा देशलाई धर्मनिरपेक्ष भनिएको छ तर हिजो राजाले गर्ने सबै काम राष्ट्रपतिले गरेका छन्। देश कसरी धर्मनिरपेक्ष भयो?!

हेर्नुस् बलि चढाईँदै गरेको एउटा निर्दोष सुन्दर बाल्यकाल!

(साभार:कान्तिपुर अनलाईन)

थाहा छैन अझै कतिञ्जेल टिक्ने हो यो बलिप्रथा????

October 04, 2008

गुहार! गुहार!! बजारबाट केरा गायब भयो!


आफूले नभेटेपछि गायब भएको त भन्नु प-यो!

शारीरिक चुस्ती (फिटनेस)मा ध्यान दिने कुरामा जापानीलाई कसैले भेट्दैन। जापान एउटा फिटनेस-क्रेजी देश हो। कोहि जन्मजात कारणले मोटो हुनु बेग्लै कुरो, नत्र मोटा मान्छे देख्न पाउनु साह्रै गाह्रो कुरा हो यहाँ। सुमो- कुस्तीबाजहरुको अखाडामै पुग्नुपर्छ होला अघाउँञ्जेल मोटा मान्छे हेर्न!) 'जति ठूलो भुँडी भयो, उति प्रभावशाली ब्यक्तित्व' मानिने समाजबाट आएका हामीलाई अचम्म लाग्नेनै भयो यो देखेपछि।

(भनीरहनु नपर्ला) फिटनेस-क्रेजले जापानी महिलाहरुलाई सबैभन्दा बढी गाँजेको छ, विशेष गरी १५-१६ देखि २५-३० को उमेरकालाई। 'दयानै लाग्ने गरी दुब्लाएका' केटीहरु जतिपनि देखिन्छन्। तर पनि कसैले 'म दुब्लाएँ' भन्दैनन्, उल्टो 'मोटै छु अझ!' भन्छन् र अझै 'घट्ने' उपाय खोजिरहेका हुन्छन्। गजब छ यो दुनियाँ, करोडौं मान्छेहरु खान नपाएर मरिरहेछन् कति ठाउँमा, यहाँ भने मान्छेहरु रहरले नखाई-नखाई दुब्लाएका छन्!

यो फिटनेस-क्रेजले गर्दा जापानमा Anorexia NervosaBulimiya Nervosa जस्ता शारीरिक/मानसिक रोगहरु पनि बढीरहेछन्। तर पनि फिटनेस-क्रेजमा कुनै कमी आएको छैन। तन्दुरुस्त र छरितो शरीर हुनु ज्यादै राम्रो कुरा हो, यसमा सबै सचेत हुनैपर्छ तर यो सचेतताले विकृतिकै रुप लियो भनेचाहिँ झन् धेरै समस्याहरु आऊँदा रहेछन्।

जापानी महिलाहरु 'डाइटिङ'को बारेका सामाग्रीहरु केहि पनि छुटाउन चाहँदैनन्, किताबहरु, पत्रिकाहरु, टेलिभिजन कार्यक्रमहरु-----डाइटिङका नयाँ तरिकाहरुको चर्चा चल्यो भने आफूले पनि अपनाईहाल्छन अथवा नयाँ खाले कुनै 'बोसो घटाउन सघाउने खानेकुरा' आयो बजारमा भने खान थालिहाल्छन् ।

जापानी महिलाको यो फिटनेस-क्रेजमा परेर अचेल बजारबाट केरा गायब भएको छ।

केरा मनपर्ने खानेकुरामै पर्छ हाम्रो। छोरीले पनि खुब मन पराउँछे।

एक-दुई दिनसम्म नदेख्दा त केहि लागेको थिएन, तर हप्तादिनभन्दा बढी नदेखेपछि भने अलि चासो लाग्न थाल्यो भएको के रहेछ भनेर। केराको लोकप्रियता बढेको त धेरै महिनै भईसकेको रहेछ तर अचाक्लीसंग बढेको भने सेप्टेम्बर १९ को एउटा टिभी कार्यक्रमले गर्दा रहेछ। उक्त कार्यक्रममा एउटी मोटी महिलाले डेढ महिनासम्म ब्रेकफाष्टमा केरा र पानीमात्रै खाएपछि उनको तौल ७ किलो घटेको देखाईएको रहेछ। र के भनिएको रहेछ भने बिहानको खाजाको रुपमा केरा र पानीमात्र खाने हो भने बोसो लाग्दैन, मोटाईँदैन। बस् के चाहियो अब? कहिल्यै केरा खान मन नपराउनेहरुले पनि खानथाले, केरा हारालुछ हुनथाल्यो। सुपरमार्केटका केरा गृहिणीहरुले बिहानै सफाचट गर्दिन थाले। साँझतिरमात्रै किनमेल गर्न भ्याउनेले अब दुई-चार महिना केराको मुख देख्न पाउलान् जस्तो छैन।

औसतभन्दा ७०% सम्म बढी बिक्री हुन थालेको छ रे केरा अहिले जापानमा। फिलिपिन्सजस्ता केरा बढी उत्पादन हुने ठाउँबाट मध्यपूर्बतिर जाने केरा समेत अहिले जापानतिर ल्याईँदै छ रे। र स्वाभाविक रुपमा केराको भाऊ पनि बढेको छ। केरा-साहूहरु मालामाल भ'का छन् होला:)

टिभी कार्यक्रमभन्दा पहिले केहि किताबहरु लेखिईसकेका रहेछन् यसबारेमा र यो धारणाले बिस्तारै बजार लिँदै रहेछ। तर एउटा टिभी कार्यक्रमले बजारलाई यति छिटै प्रभावित पार्न सक्दो रहेछ। गज्जब छ टेलिभिजनको शक्ति!

किताबहरु लेखिनुभन्दा पहिले mixi भनिने एउटा जापानी सामाजिक सञ्जाल (Social Networking Site) मा यसबारेमा थुप्रै चर्चा-परिचर्चाहरु भईसकेको रहेछ। mixiमा 'केरा-ग्रुप'हरु धेरै छन् रे अहिलेपनि।

के बिहान-बिहान केरा र पानीमात्रै खाएपछि दिनभरि अरु जे-जे घिचेपनि बोसो लाग्दै-लाग्दैन त? केरा मा त्यस्ता के गुणहरु होलान्? साँच्चै यस्तो हो कि क्षणिक लहरमात्रै हो यो? यसबारेमा पढ्न मन छ भने तलका केहि सूत्रहरुका भित्र पस्नुस् र पत्यार लाग्यो भने तपाईँपनि बिहान-बिहान केरा र पानीमात्रै खान थाल्नुस्। केरा उसैपनि राम्रै कुरा हो, कुनै बेफाइदा गर्दैन बोसो घटेपनि-नघटेपनि।
अलिक पहिला 'नात्तो' भनिने अर्को खानेकुराको बारेमा पनि यस्तै 'क्रेज' बढेको रहेछ जापानमा, एकथरी 'नात्तो'ले शरीरको पाचन प्रणाली बलियो बनाउँछ भन्ने हल्लाले केहि समय बजार पिटेछ। यो 'नात्तो' भनेको सिमीलाई, परम्परागत प्रविधिमा, परालभित्र केहि समय गुम्स्याएर बनाइने खानेकुरा हो, जो बिहानको खानाको रुपमा बढी प्रयोग गरिन्छ। यो अत्यन्त पौष्टिक खानेकुरा मानिन्छ। अचेल बिभिन्न आधुनिक तरिकाहरु अपनाएर औद्योगिक उत्पादन हुन्छ यसको। त्यतिधेरै नखाईने हुनाले यो क्रेजको बारेमा बेखबरनै भईयो आफू।

तर 'नात्तो'को यो बजारु-हल्ला 'नात्तो' बनाउने केहि उद्योगहरुले बनावटी तथ्यांकका आधारमा चलाएको हल्ला रहेछ, 'नात्तो' बिकाउनको लागि। यथार्थ खुल्न समय लागेन। अचेल ती उद्योगका 'नात्तो'कसैले पनि किन्दैन होला।

केराको कुरो पनि त्यस्तै हो कि?
**************************
यो तलको फोटो, हामी जाने गरेको सुपरमार्केटमा सधैं केरा राखिने ठाऊँको हो। यसरी यो ठाऊँ रित्तै भएको धेरै दिन भईसक्यो।



यो त्यहाँ पछिल्तिर भएको सूचना। ठूला-ठूला अक्षरमा लेखिएको छ; "बिहान केरा खानुको फाइदा टेलिभिजनमा देखाइएको थियो।" र सानासाना अक्षरमा केरा खाने 'सही' तरिका पनि लेखिएको छ; "बोक्रामा हल्का खैरो थोप्ला देखिन थालेपछि केरा खानु राम्रो हुन्छ।" एक-दुई दिन त्यसै राखेपछि त्यस्ता थोप्ला सजिलै देखिईहाल्छन्। यै बेलामा किन सबभन्दा राम्रो हुने रहेछ केरा कुन्नि?! मेरो कमजोर जापानीले गर्दा यस्तो अर्थ लागेको पनि हुनसक्छ, त्यस्ता थोप्ला देखिएपछि सकेसम्म चाँडै खानुपर्छ भनेर लेखेको पो हो कि?



अनि अर्को सूचना छ; "'जानकारी'-टिभी कार्यक्रमको प्रभावले केरा चाँडै सकियो।"



कति दिन यो 'क्रेज' चल्ने हो थाहा छैन।

भोलि बिहानै गएर लाईन लाग्नुपर्छ कि क्या हो:)

अपडेट:अक्टोबर ५, दिउँसो १४:४५

साँच्चिकै केरै किन्न भनेर लाईन लागिएला जस्तो लागेको थिएन बिहान नौ बजेसम्म।

छोरीसंग "घुमाउन लैजाने र बाहिरै खुवाउने" भनेर गरेको वाचा पूरा गर्नु थियो। नौ बजेतिर बाहिर निक्लिँदा पानी पर्न थाल्यो। घुम्न अलिक टाढै जाने योजना सेलायो अब। तर घरबाट बाहिर निस्किसकेपछि, सुपरमार्केटभित्रकै बच्चाहरु खेल्ने ठाऊँ र यताउति गरेर साढे दुई घण्टाजति छोरीलाई अल्मलाएर, त्यतै कतै खाना खाएर फर्किनुपर्ला भन्ने विचारले हिँडे छोरी लिएर। छोरीको सारमा हिँड्दा १० मिनेटको बाटो आधा घण्टा लाग्यो। साढे नौ मा सुपर मार्केट खुल्नु अगाडिको लाईन खासै ठूलो भने थिएन। म पनि लाईनको पूच्छर हुँदै छिरें र केरा राख्नेतिरै लागें। साँच्चैनै केराको वरिपरि टन्न मान्छेहरु झुम्मिरहेका थिए, बाहिर लाईन लागेकाहरुको ठूलो भाग यतै थियो। सामान्य अबश्थामा कदापि यस्तो हुँदैन थियो। दुईटा फोटा छन् तल, त्यतिखेर खिचेको। हात तन्काएर साना दुई झुप्पा केरा तान्न भ्याईयो आफूले पनि:)

तीन हप्ताजतिपछि फेरि केरा देख्न पाईयो:)

September 29, 2008

अर्को एउटा राजनीतिक जमघटमा

नेपाली कांग्रेसका यूवा नेता नविन्द्र राज जोशी र कान्तिपुरका पत्रकार राजाराम गौतम जापानमा छन् यतिखेर। हिजो नागोयामा उनीहरुको स्वागतमा एउटा कार्यक्रम राखिएको थियो नेपाली जन-सम्पर्क समितिको तर्फबाट।

कार्यक्रममा जाने योजना बनाएको थिएँ। आफ्नै पुस्ताका नेताहरुसंग अन्तर्कृया झन बढी हुनुपर्छ जस्तो लाग्छ मलाई किनभने हामी तिनै यूवा नेताहरुसंग नेपालको ‘भविष्य’का साझेदार हौं। अर्कोतिर, नेपालको बारेमा नेताहरुभन्दा पत्रकारहरुबाट समग्र जानकारी पाइने हुँदा पत्रकार गौतमसंगको कुराकानी पनि फलदायकै हुने लागेको थियो। नेताहरुमा जानकारी नहुने होइन, तर सामान्यतया उनीहरुको प्रस्तुति एकोहोरो र आफ्नो दल विशेषलाइ उच्च देखाउने उद्देश्यबाट प्रेरित हुन्छ।

राजाराम भाइ र म फेरि एउटै गाउँका दाजुभाइ प-यौं। इ-मेलमा यदाकदा सम्पर्क भईरहेपनि नभेटेको तीन-चार वर्षै भइसकेको थियो। त्यो पछिल्लो भेट पनि छोटो थियो। यसैले गाऊँको बारेमा, गाऊँका साथीहरुको बारेमा ‘अपडेट’ हुने मौका पनि मिल्नेभयो।

विशेष कारणवश म ज्यादै ढिला पुगें। कार्यक्रम लगभग सकिईसकेको थियो। अन्तिममा, नविन्द्रराज जोशीज्यूबाट सहभागीहरुका केहि प्रश्नहरुको उत्तर दिईँदै थियो। उनको प्रस्तुति स्पष्ट र तर्कपूर्ण थियो। तर सहभागीहरुमा ‘खानपीन’ भित्रको ‘पीन’ले असर देखाउन थालेको थियो। धेरै-जसो साथीहरुको कुरा एकदम incoherent हुन थालिसकेको थियो। हामीलाई ‘पीन’ पछिमात्रै ‘सिरियस’ कुरा गर्ने जंग चल्छ, त्यतिखेरको कुराको अदि, मध्य र अन्त्यमा कुनै सम्बन्ध नहुने हामी सबैलाई थाहा हुँदाहुँदै पनि।

पछि नेपालका सभासदहरुले साइकल चढेर संविधानसभा भवन जाने कुराको समर्थनमा जोडदार कुरा भयो र तुरुन्तै चन्दा पनि उठाउन थालियो, जापानमा बसेका नेपालीहरुको तर्फबाट केहि साइकलहरु उपहार दिई अभियानको शुरुवात गर्न। कुरो राम्रै हो, सबै सभासदले मानेर चढिदिए झन राम्रो हुने थियो।

कार्यक्रम सकिएपछि गाऊँको बारेमा, साथीहरुको बारेमा ‘अपडेट’ भइयो राजाराम भाइबाट। पत्रकारिताको आँखाबाट देखिने नेपालको समसामयिक राजनीतिलाई पनि अलिअलि बुझ्न पाइयो।

September 26, 2008

जब लुकीलुकी चियाऊँछ रंगीन शरद


कविताः जब लुकीलुकी चियाउँछ रंगीन शरद 

लाग्छ हरपल तिमीले-
काँध कोट्याएर बोलाइरहेजस्तो
पछाडिबाट सुटुक्क-
आँखा छोपेर झुक्याएजस्तो
जब लुकीलुकी चियाउँछ रंगीन शरद
दोबाटोमा अलिक छेलिएर-
तिमी मलाई कुरिरहेजस्तो
र हरेक घुम्तीमा म मोडिँदा-
तिमी मेरो छातीमा ठोक्किएजस्तो
जब लुकीलुकी चियाउँछ रंगीन शरद
हेर, मभित्र बगेको तिम्रो याद
झन् झन् गाढा भईरहेको
जब लुकीलुकी चियाउँछ रंगीन शरद
ए मेरो देश!
हेर, तिम्रो मिहिन स्पर्शले मात्तिएको म
तिमीसंगको मेरो प्रेमकथा
निष्फिक्री, बेपर्वाह
यी घुम्ती-घुम्तीलाई सुनाइरहेको
घुम्ती कुरेर बसेका
यी बस्ती-बस्तीलाई सुनाइरहेको ।


-सेप्टम्बर २००८
नागोया, जापान