September 19, 2012

एउटा पूरानो गजल


एक जमानामा साझा डट कम मा गजलको अभ्यास गरिन्थ्यो, त्यहि 'जमाना' को 'ब्याज' आजः)

आँशुको तालमा अझ सर्प पसी डस्दैछन्
थोरै अँध्यारो के आयो, ढुकी ब्वाँसा बस्दैछन्

मान्छे हो सावधान, रगतको त्यो इन्द्रेणी!
झूटो नाच्दै कागजी मुजूर बस्ती पस्दैछन्

वासी युग गन्हाऊँछ पिशाची अट्टहास
तैपनि बजारको नयाँ अत्तर घस्दैछन्

जग भास्सि'सक्यो मालिकको शालीकको
दासहरु अझै गजूरको पेच कस्दैछन्!

बोकिएछ बित्थामा अरुकै पापको भारी
आँखाका काला पर्दा आज च्यातिँदै खस्दैछन्।


(नोभेम्बर १, २००५; नागोया, जापान)

September 11, 2012

दिवास्वप्न

अघिल्लो शताब्दीका प्रसिद्ध भारतीय बालशिक्षाशास्त्री गिजुभाईद्वारा रचित 'दिवास्वप्न' पढ्ने मेसो मिल्यो केहि दिन अघि। साँच्चैनै कुनै सुन्दर स्वप्न देखेजस्तै लाग्यो पढीसकेपछि। बालशिक्षामा कार्यरत ब्यक्तिहरु र  घरमा हुर्कँदा बच्चा भएका बाऊआमाले साथै राख्न र गम्भिरतापूर्वक बेला-बेलामा पढीरहनुपर्ने पुस्तक रहेछ यो। यो सानो र सरल पुस्तकले समग्र शिक्षणकर्मप्रतिकै हाम्रो धारणालई निकै फराकिलो बनाऊँछ।

अत्यन्त जीवनोपयोगी, समाजोपयोगी यो पुस्तकको नेपाली संस्करण 'शिक्षक' मासिकले प्रकाशन गरेको हो ।