प्रसंग अर्मलाको हो, जहाँ एक महिना यता जारी जमीन भासिने क्रम अझै रोकिएको छैन। झण्डै दैनिकजसो नयाँ ठाऊँमा भासिने गरेको छ र जमीन भासिएर बनेका खाल्डाहरुको संख्या यतिखेर १०० नाघिसकेको खबर छ।
नजिकै बसेर पनि म हेर्न पुगेको थिईन अहिलेसम्म। हिजो दिऊँसो एकछिन घुमेर आएँ। अर्मलाको यो जमीन भासिने प्रकृयाका बारेमा विश्लेषण गर्नसक्ने विज्ञ नभएकाले म यहाँ मेरो विचार केहि नराखी केहि समय यता ब्लग र छापामा आएका लेखहरुको सूत्र राख्न चाहन्छु। तपाईँहरुले पढीपनि सक्नु भयो होला यी लेखहरु।
पूजाआजा गरेर अर्मलाको सिङ्कहोल रोकिन्न
अर्मलामा जमिन भासिनुको भौगर्भिक कारण
हिजोको माहौल हेर्दा भने पूरा रमिता थियो। पोखरा र वरपरका मान्छेहरुका लागि नयाँ घुम्ने ठाऊँ, कुनै नयाँ उद्यान बनेजस्तो वा कुनै भव्य मेला लागेजस्तो थियो। चना-चटपट, बदाम र सुन्तलाका ठेलाहरुका ब्यापार खुब फष्टाएको थियो। मैले सुने अनुसार, हरेक बिदाको दिन यस्तै हुन्छ। स्थानीय मान्छेहरुको पिडा र सुस्केरा 'मेला' हेर्न आउनेहरुको हाँसो-ठट्टा र 'अजासु' विश्लेषणमा हराईरहेको हुन्छ। आफैं रमिते बनियो हिजो, पछि लाज लाग्यो। धेरै रमिते हुन भने मन लागेन, आधा जति 'सिंकहोल' हेरेर फर्किईयो। मलाई लाग्छ स्थानीय जनता, विशेषज्ञ र अरु सरोकारवालाहरु बाहेक अरुलाई त्यहाँ जान-घुम्ननै प्रतिबन्ध लगाऊनुपर्छ। अनावश्यक सन्त्रास र नचाहिँदा हल्लामात्रै फिँजिन्छन् रमितेहरुबाट।
त्यहाँ खिचेका केहि तस्बीरहरु भने राख्ने अनुमति चाहन्छु।
केहि दशक यता मिचिएको दुहुनी खोलाको पानीले आफ्नो प्राकृतिक निकास नपाएर वरिपरिको जमीनमा छिर्नु र त्यो भेगको भौगर्भिक संरचना कमजोर हुनुको संयोगले अहिलेको स्थिति सृजना भएको ब्याख्या गरिएको छ। दुहुनी खोलालाई प्राकृतिक बहावमा फर्काउन यसरी डोजर लगाएर खोलालाई फराकिलो र गहिरो पार्ने कोशिश गरिएको छ, तर यसले स्थितिमा कुनै सुधार आएको छैन। हिजो हामी पुग्दा खोलाको किनारभन्दा धेरै पर डाँडाको फेदीमा पनि मान्छेहरुको भिड थियो। त्यहाँ दुई ताजा खाल्डाहरु थिए। यसले खोलाको नजिकमात्र नभएर अर्मला समग्र क्षेत्रकै भू-संरचना जोखिमयुक्त देखाऊँछ। तलका दुई तस्बीरहरु त्यहि नयाँ भागको हो।