December 28, 2010

सुइना कर्णालीका : र मेरो पहिलो गुरुकुल अनुभव

हिजो 'आरोहण गुरुकुल' मा 'सुइना कर्णालीका' भन्ने नाटक हेरेँ|

र, मुटुभरि विषाद, आँखाभरि आँसु र मनमा एउटा संकल्प लिएर फर्किएँ|
----------------------------------------------------------------------------------------------
मैले नाटक साह्रै कम हेरेको छु| हामी सानो छँदा सम्म गाउँमा नाटक देखाउने चलन थियो यदाकदा| एउटा हातका औंला भाँच्न भ्याउने गरी हेरियो होला यस्ता नाटकहरु, आफ्नै गाउँ र वारीपारी गरेर| गाउँका युवाहरुको स्वत:स्फूर्त उत्साह र लगनका परिणाम हुन्थे ती र तिनले प्राय:जसो कि वर्गीय विभेद र सामाजिक द्वन्द्वका कथा बुनेका हुन्थे कि बैंशालु प्रेमका कुरा बोकेका हुन्थे| काठमान्डौको पश्चिमी भेगको काँठ हाम्रो गाउँमा वामपन्थी राजनीति खासै पसेको थिएन, यसैले नाटकमा राजनीति कमै हुन्थ्यो| कलाकारिताका हिसाबले यस्ता नाटकको स्तरलाई उँचो भन्न सकिने कुनै आधार भने भेटिन्नथ्यो; कथा, सम्वाद, प्रस्तुति, अभिनय सबै काँचो-अधकल्चो हुन्थे, तर तिनले गाउँको स्थानीय संस्कृतिक जीवनमा अलिकति भएपनि ज्यान थपेका थिए| २०४४-४५ तिर गाउँमा टिभी 'पसेपछि' नाटकका यस्ता स्थानीय उत्पादन पनि बन्द भए|

साहित्य पढ्ने रुचि भएपनि मलाई नाटक पढ्ने बानी भने लागेन| पढ्ने हिसाबले नाटक जहिलेपनि निरसनै लागे|

काठमाडौंमा प्रज्ञा भवन, संस्कृतिक संस्थान वा सभागृहमा नाटकहरु चलिरहेका हुन्थे, तर धेरै हेर्ने मेसो मिलेन| नाटक प्रदर्शन धेरैजसो साँझमा हुने र साँझ छिप्पिएपछि काँठको आफ्नो गूँडतिर फर्कन बस नभेटिने-दुई कुराको संयोगले गर्दा नाटक धेरै हेरिएन| एउटा हातका औंलालाई नपुग्ने रहेछन् मैले यी ठाउँमा हेरेका नाटकहरु| ६ कि ७ मा पढ्दा विद्यालयले प्रज्ञा भवन लगेको थियो 'मालती मंगले' देखाउन| त्यसको केहि समयपछि 'आऊ बसौं पियारी मिर्मिरे झ्यालैमा' भन्ने हास्य-नाटक हेरेको थिएँ| आई. एस्सी. पढ्दा ताका एउटा फ्रेन्च नाटकको नेपाली अनुवाद मंचन 'स्कापांको दाउपेच' हेरेको थिएँ| मैले हेरेका नाटकहरु कुल यत्तिनै होलान्| 

यो हिसाबले, 'सुइना कर्णालीका' (सपना कर्णालीका) मैले हेरेको चौथो नाटक हुनपुग्यो| र मेरो पहिलो गुरुकुल अनुभव पनि यहि बन्यो|

यो कथा (यो यथार्थ) कर्णालीको हो| नाटकका दुई पक्ष छन्- विपना (यथार्थ) पक्ष र सपना पक्ष| विपना पक्षले  कर्णालीको आजलाई देखाएको छ, कहालीलाग्दो गरिबी, चरम जातीय विभेद र कठोर श्रमले भरिएको दु:खी जिन्दगीलाई देखाएको छ| यो त्यहि कर्णालीको कथा हो, जो मेरा लागि अहिलेसम्म यदाकदा कुनै पत्रिकाको पानाभन्दा बढी बन्न सकेको थिएन, मेरो चियापसले बुद्धिविलासभन्दा बढी बन्न सकेको थिएन| गुरुकुलको रिमाल नाट्यघरमा 'सुइना कर्णालीका' हेरेपछि मलाई अब कर्णाली आफ्नै लाग्न थालेको छ, मुटुको नजिक लाग्न थालेको छ| हिजो कर्णालीको पीडा मेरो मुटुमा पस्यो र अब यसले मलाई जीवनभरी चिमोटिरहनेछ| पूरै नाटक टिलपिल आँखाहरु लिएर हेरेँ मैले|

नाटकको  सपनाखण्डमा आफ्ना अपार प्राकृतिक र मानवीय सम्पदाको प्रयोग गरेर समृद्ध र विकसित बनेको कर्णाली राज्यको कथा छ| यस्तो कर्णाली राज्य जो संघीय नेपालका अरु राज्यहरुभंदा धेरै विकास भैसकेको छ, र यस्तो कर्णाली राज्य जससँग आर्थिक सहायता माग्न केन्द्रिय राज्य (केन्द्रिय सरकार) आईरहन्छ| यहि कर्णाली राज्यको समृद्धिबाट लोभिएर संसारका अनेक देशबाट मान्छेहरु यहाँ काम गर्न आउँछन्| कलाकारहरुको अभिनय अत्यन्त जीवन्त र स्वाभाविक लाग्छ| सबै कलाकारहरुको अभिनय उत्कृष्ट छ, त्यसमा पनि विशेष, कर्णाली राज्यको मुख्य मन्त्रीको भूमिकामा भएका साथीको अभिनय अझ अब्बल  छ| नाटकको यहि भागमा अहिलेको नेपाली राजनीतिमा मौलाएका भ्रस्टाचार, अपराधीतंत्र र नातावादमाथि गम्भिर प्रहार गरिएको छ र भाषण बढी गर्ने, कामको नाममा माखोपनि  नमार्ने नेपाली नेतागिरीको खेदो खनिएको छ|

नाटक, दलित भएकै कारण कतै बास नपाएर खुल्ला आकाशमुनी चिसो रात बिताउन बाध्य भोका र थकित पुन्नबहादुर विश्वकर्मा र उनकी अबोध सानी नातीनीको दुखद् यथार्थबाट शुरु हुन्छ र उनीहरुको सपनामा प्रवेश गर्छ| उनीहरु निद्राबाट ब्युँझेपछि, गरिबी, विभेद र दु:खका पहाडले थिचिएको कर्णालीमा ब्युँझिएपछि नाटकको अन्त्य हुन्छ| नाटकको शुरुवाती भागको सशक्तताले मनलाई यस्तरी बाँध्छ कि कुनै राजनीतिक कमेडीजस्तो लाग्ने 'सपना' खण्डमा पनि दर्शकले कर्णालीको व्यथालाई भुल्न सक्दैन, उल्टो सबै हाँसो र व्यंग्यले कर्णालीको दयनीय वर्तमान र कर्णालीवासीका पिडालाई अझ गहन रुपले दर्शकको मनमा गाडीदिन्छन् र दर्शक बाहिर हाँसेपनि भित्रभने रोईरहेकै हुन्छ| |             

यो नाटकको कथा त्यति मौलिक र नयाँ नलागेपनि प्रस्तुतिको सशक्तताले नाटकलाई बलियो बनाएको छ| कर्णालीका पिडामाथि थुप्रै कथा लेखिईसकेका छन्, यसका सम्भावनाहरुका कुरा पनि धेरैले गरिसकेका छन्, तर यो नाटकले कर्णालीको विपना (यथार्थ) र यसको सपना (सम्भावना) को खाडललाई त्यसको सम्पूर्ण भयावहताका साथ प्रस्तुत गरेको छ| यो नै यस नाटकको शक्ति, यो नाटकको मौलिकता र यो नाटकको सफलता हो|

नाटकमा  कर्णाली प्रदेशको वर्तमान दुर्गतिका लागि, त्यहाँका श्रमजीवी जनताको घोर दु:खी जीवनका लागि केन्द्र (काठमान्डौ) लाई दोषी देखाईएको छ| निसन्देह यो सत्यको एउटा पाटो हो; तर सत्यको अर्को पाटो भनेको, कर्णाली (वा यस्तै अरु भूभाग) को पीडाको अर्को पाटो भनेको त्यहींका ठूलाठालू लाउकेहरु पनि हुन्| कर्णालीमा पुन्नबहादुर विश्वकर्माहरुमात्र छैनन्, तिनलाई चुस्ने स्थानीय जूकाहरू पनि छन्| एक ठाउँमा जातिभेदको प्रसंग ल्याएर यसलाई थोरै सम्बोधन गरिएको छ, तर त्यतिमै त्यो पाटोको सम्बोधन पुगेजस्तो लाग्दैन| देशमा यतिखेर जारी, क्षेत्रीय समस्याका लागि काठमान्डौलाईमात्रै धारे हात लगाउने र जातीय समस्याका लागि बाहुनलाईमात्रै सत्तोसराप गर्ने  'फेशन'ले बढी प्रभावित गरेको छ नाटकलाई| 

श्रमको  सम्मान गर्ने र सादा जीवन-उच्च विचार राख्ने संस्कृतिले हाँकेको समृद्ध कर्णालीमा तल्लो तहको शारीरिक बलको काम गर्न कुनै पश्चिमी मुलुकको मान्छे आएको देखाईएको छ, कर्णालीको समृद्धिमा झुत्तिएर त्यहाँ काम गर्न आएका 'लाखौं' विदेशीहरुको प्रतिनिधिपात्र हो ऊ| प्रतिनिधिपात्रको यस्तो चयनले शारीरिक श्रम चाहिने काम भनेको तल्लो तहको काम हो र यस्तोमा आफूबाहेककालाई 'दलाउन' सक्नुनै 'समृद्धि'को परिचय हो भनेजस्तो लाग्छ| नाटकले दिन खोजेको मूल सन्देशसंग यो मेल खाँदैन|
----------------------------------------------------------------------------------------------
माथि पनि लेखें, यो मेरो पहिलो गुरुकुल अनुभव थियो| गुरुकुलका बारेमा मैले धेरै पढेको थिएँ, सुनेको  थिएँ तर अहिलेसम्म पुगेको थिइन| 'सुइना कर्णाली'का रुपमा मेरो यो पहिलो गुरुकुल अनुभव अत्यन्त फलदायी रह्यो| अबका हरेक पटकका काठमान्डौ बसाईमा, गुरुकुलमा नाटक मन्चन भैरहेको छ भने, नछुटाई हेर्न जाने विचारमा छु|
-----------------------------------------------------------------------------------------------
(फ्ल्याश नराखी) तस्बीर खिच्ने अनुमति दिईएको थियो| म पनि केहि फोटो र बेला-बेलाका केहि टुक्रा भिडियो खिच्ने विचारमा थिएँ तर नाटकले यस्तरी तन्मय बनायो कि हातहरु क्यामेरातिर बढ्नै मानेनन्| दोश्रो पटक हेर्न गईयो भने खिच्नुपर्ला तस्बीरहरु:)
------------------------------------------------------------------------------------------------
देशका अरु भागमा यो मन्चन पुग्ला-नपुग्ला, तर तपाईं काठमाण्डौमै हुनहुन्छ भने यो नाटक हेर्न नछुटाउनुहोला, पुस २५ सम्म मन्चन हुँदैछ|

December 22, 2010

'पाटे' र 'माटे' हरु

Image Source: Click Here

कुरा शुरु गरौँ २०५३ सालबाट|  म मेरो पाँचवर्षे पहिलो प्रवासबाट भर्खरै नेपाल फर्केको थिएँ| पाँच वर्षका घटनाक्रमहरुका बारेमा 'अपडेट' हुने क्रममा त्यो अवधिमा बनेका 'स्ल्यांग'हरुपनि सिक्दै थिएँ|
                 
त्यतिखेर  गाउँमा भर्खर-भर्खरै मोटरसाइकल संस्कृति भित्रेको थियो| गाउँका केही केटाहरु कच्ची बाटोमा कुहिरिमंडल धूलो उडाउँदै मोटरसाइकल हुईकाउँथे| मोटरसाइकलमा सवारमध्ये धेरैजसो वेरोजगार थिए, रोजगारीको चिन्तापनि थिएन तिनलाई र तिनले बाऊ-आमालाई थर्काएर त्यो जिनिस हात परेका हुन् भन्ने सुनिन्थ्यो| मोटरसाइकल तिनका लागि आवश्यकताभन्दा पनि खोक्रो रवाफ प्रदर्शन गर्ने माध्यम थियो| ती कन्नापछाडि उडाइने पात्रपनि बन्थे धेरैजसो| बाटोमा यस्ता मोटरसाइकलवाला कुनै हुइकिरहेको देखेपछि "ऊ 'बा.अ.प' गयो!" भन्ने चलनजस्तै चलेको थियो| यदाकदा 'बा.अ.फ.' पनि प्रयोग हुन्थ्यो| केहि मोटरसाइकलको नम्बर प्लेटमा 'बा.अ.प' वा 'बा.अ.फ.' नै पनि हुन्थ्यो तर 'प' वा 'फ' को ठाँउमा अरुनै अक्षर भएका पनि हुन्थे| 'बा.अ.प' वा 'बा.अ.फ.' सबैलाई चिनाउने साझा नाम बनेका थिए, सबै ईन्जिन तेल (engine oil) लाई 'मोबिल' भनिएजस्तै:)    

एक-दुई दिनमा अर्थपनि थाहा पाईयो; 'बा.अ.प' र 'बा.अ.फ.' भनेको 'बारी अब पच्यो!' र 'बारी अब फर्केन!' रे| मोटरसाइकल चढ्ने धेरैले खेत वा बारीको टुक्रो बेचेर मोटरसाइकल किनेका हुनाले त्यसरी रमाईलो 'न्वारान' गरिएको रहेछ| हरेक हप्ताजसो "फलानोलेपनि खेत 'हानेर 'बा.अ.प' किनेछ|" भन्ने नयाँ 'समाचार' पनि सुनिन्थ्यो| 'हानेको' भनेको चाहिं 'बेचेको' रे!

पछि चितवनको एउटा साथीसंग कुरा हुँदा यस्तै प्रसङ्ग त्यहाँ पनि जन्मेको थाहा पाईयो| उसको तिर 'ना.अ.क.' र 'ना.अ.घ.' लाई क्रमशः 'नारायणी अंचल कठ्ठा' र 'नारायणी अंचल घडेरी' भनेर उडाईँदो रहेछ| देशका अरु भागमा पनि यस्ता 'कथा' बनेका थिए होलान् पक्कै पनि| 

जग्गा कारोबारले ब्यबशायको रुप लिंदैगरेको शुरुवाती दिनहरु थिए ती| पछि यो ब्यबशाय अनियन्त्रित र संक्रामक रुपले फैलँदै गयो र नेपाली संस्कृतिमा थपिएको एउटा रोगनै बन्यो| सत्तासीनहरुको भ्रष्ट शासनशैली, गाउँमा अवसर र सुविधाहरुको चरम अभाव र माओवादीहरुको विध्वंशात्मक विद्रोहले देशका गाउँ-गाउँबाट मान्छेहरु विस्थापित हुने क्रम बढ्यो| केहि नहुने गरीबहरु खाने मुख र कमाउने पाखुरीमात्रै बोकेर भएपनि शहर पसे| गाउँमा अलिकति केहि हुनेहरु त्यो बेचेर राजधानी र अरु प्रमुख शहरहरुमा घडेरी जोड्नेतिर लागे| राजधानीमा घडेरी/घर हुनुलाई गतिलो धाक र रवाफ मान्नेहरु पनि  हाम्रो समाजमा  सधैं  छंदैछन्|  यी कारणले गर्दा जग्गाको कारोबार ह्वात्तै बढ्न गयो| यसमा हुने पैसाको चलखेल, भ्रष्टाचार, गुन्डागर्दी आदि पनि त्यहि अनुपातमा बढ्दै गयो|  पहिला मान्छेका आँखामा त्यति धेरै नपर्ने 'जग्गा दलाल' हरुको जमातपनि ठूलो भयो, दलालहरु नेपाली समाजका सबैभन्दा सकृय मान्छेहरुजस्ता देखिन थाले|  
   
'दलाल' लाई अंग्रेजी शब्द 'agent' को नेपाली अनुवादका रुपमा लिईन्छ तर 'agent' शब्दको जुन ईज्जत छ, 'दलाल'ले त्यसको  एक प्रतिशत पनि पाउन सकेको छैन| यथार्थमा 'दलाल' शब्द बेईज्जतीको पर्याय पो मानिन्छ| आफूभन्दा फरक विचार राख्ने जोसुकैलाई यसको र त्यसको 'दलाल' भनी-भनीकन नेपालका साम्यवादी दल र नेताहरुले विचरो 'दलाल' शब्दको हुर्मत काढीसकेका छन्| छ दशकयता 'दलाल' लाई नकारात्मक अर्थमा मात्रै सुन्दा-सुन्दा नेपाली मानसिकताले यस्लाई त्यही अर्थमा मात्रै लिनथालेको छ| हाम्रो  मानसिकतामा 'दलाल' को आकृतिको गुणात्मक स्वरुप 'चोर', 'फटाहा' वा 'गुन्डा' भन्दा अलिकतिपनि फरक  छैन| विचरो 'दलाल' शब्द दिक्क भएर जंगल पसीसक्यो होला, सके आत्महत्यानै गरिसक्यो की:)

'दलाल' शब्द आफैंमा नराम्रो होईन, यसैले 'दलाली' आफैंमा नराम्रो काम पनि होईन र 'दलाल' नराम्रो पेशा पनि  होईन| ठण्डा दिमागले सोच्दा, सबै जागिरेहरु 'दलाल' हुन्; फरक यत्ति हो, कोई सरकार र जनताबीचका दलाल  होलान् कोहि साहू र ग्राहकबीचका दलाल होलान्| सबैले बिचमा बसेर, दुई पक्षको 'सेवा' गरेर 'कमिसन'नै खाने  हुन्| यसर्थ 'दलाल' शब्दको 'पुनरुत्थान' गरिनु, यसलाई फेरि यसको स्वाभाविक ईज्जत दिलाइनु जरुरी छ:) 

त्यसपछि नेपालमा जग्गा कारोबार, जग्गा दलाली र जग्गा दलालहरु संक्रामक रुपमा  बढे भनेर माथिपनि भनिसकेको छु| हालै साढे सात वर्षे दोस्रो प्रवासबाट फर्केपछि यी शब्दहरुले सगरमाथाको चुचुरो छोइसकेको देखियो| केहि जग्गा दलालहरुले अचम्मलाग्दो गरी दाम पनि कमाएछन् | अहिले यो पेशा समाजका चुल्ठे-मुन्द्रेहरुको सबैभन्दा राम्रो 'जागिर' भएछ| सबै दलका धेरै कार्यकर्ताहरु पनि यतै छिरेछन्  र आफ्नो पहुँचको दुरुपयोग गरेर यो पेशालाई अझ पत्रु, अझ भ्रष्ट र अझ अनुशाशनहीन बनाएछन्| दल र नेताहरुका लागि यो क्षेत्र चन्दा दुहुने  लैनो गाई बनेछ|  

यतिखेर देशमा ब्याप्त कार संस्कृति जन्माउने प्रमुख कारकहरु मध्ये एक यहि जग्गा कारोबार पनि हो| यसैले समाजमा घरका तल्ला थप्ने होडबाजीको संस्कृति पनि जन्मायो, कसैले सोझो दलाली गरेर कमाएर थपे, कति कर्मचारीले दलालसँग मिलेर कमाएर थपे, कतिले सार्वजनिक वनपाखाको 'प्लटिंग' गरेर-गराएर-बेचेर थपे; र कतिले आफ्ना मलिला जग्गा बेचेर थपे|

यहि कारोबारले देशका धेरै मलिला फाँटहरुको हत्या ग-यो| यो ब्यबशायलाई नियमन र नियन्त्रण गर्ने कुनै गतिलो निकाय नहुँदा-भएकाले पनि गतिलो काम नगर्दिंदा र  देश चलाउनेहरु यसलाई मर्यादित बनाउनेतिर लाग्नुभन्दा यसैलाई दोहेर अकूत कमाउनतिर लग्दिनाले देशका उत्कृष्ट कृषियोग्य फाँटहरुको बलात्कार जारी रह्यो| अनुत्पादक बन्जर जमीनको दाँजोमा मलिला खेतबारी टुक्राउन (कथित 'प्लटिंग' गर्न) पनि सजिलो, त्यहाँ कंक्रिट जंगल ठड्याउन पनि सजिलो| जसरी हुन्छ 'छिटो र धेरै' धन कमाउनुलाई बहादुरी मानिने संस्कृतिले समाजलाई गाँजेको बेला मलिला फाँटहरु, देशको कृषिक्षेत्रको भविष्य आदि कुराहरु कसैको मनमा पनि बस्न योग्य भएनन्|

कति ठाउँमा प्राकृतिक रुपले सुन्दर डाँडा-थुम्काहरू पनि भासेर तिनका छाती चिरेर बेच्ने काम भईरहेको छ| यसरी देशका धेरै ठाउंको स्थानीय प्राकृतिक सौन्दर्यको नाक-कान ताछिईसकेको छ|

हामीले गुमाएका हाम्रा अति उर्वर मलिला फाँटहरु, जंगलहरु र सुन्दर डाँडा-थुम्का हरुलाई एकछिन बिर्सेर हेर्ने हो भने अथवा यस्ता भूमिलाई कथित घरजग्गा कारोबारको पन्जाबाट जोगाएको स्थिति हो भने; स्वस्थ अर्थतन्त्रमा नीतिनियममा रहेर अरु वस्तु र सेवाहरुजस्तै घरजग्गाको पनि केहि कारोबार हुनु स्वाभाविक हो| हाम्रो अस्वस्थ अर्थतन्त्रको हकमा भने यस्तो स्वाभाविक प्रकृयाको आशा गर्न सकिने ठाउं थिएन र यो नीतिविहीन वातावरणमा फैलियो| अशान्ति, असुरक्षा र चन्दा आतंक आदिले गर्दा लगानीका अरु क्षेत्रहरु सुक्दै गएपछि मान्छेहरुले यसमा पैसा लगाउन थाले| माओवादीहरु शान्तिप्रक्रियामा आइसकेपछिपनि अन्य क्षेत्रको लगानी वातावरणमा खासै सुधार आउनसकेको छैन र अझै यसैमा लगानी बढी छ| देशको समग्र अर्थतन्त्रका लागि यो चिन्ताको विषय हो किनभने ठूल्ठूला मूठामा पैसाको खेल देखिएपनि घरजग्गा  कारोबार मूलतः एउटा अनुत्पादक ब्याबशायिक क्षेत्र हो| उध्योग वा पर्यटन क्षेत्रमा जस्तो लामो समयसम्म  प्रतिफल दिने क्षमता घरजग्गा ब्यबशायको हुँदैन; न त यसले सिर्जना गर्ने रोजगारीनै पनि स्वाभाविक, व्यापक र दिगो प्रकृतिको हुन्छ|

यसपटक के थाहा पाईयो भने जग्गा दलालहरुलाई 'ज.द.' भनेर छोटकरीमा पुकार्न थालिएछ| जग्गा दलालहरुले 'जग्गा मध्यस्थकर्ता' (छोटकरीमा 'ज.म.') को रुपमा आफ्नो दोश्रो न्वारान गरेर आफ्नो पेशालाई 'ईज्जतदार' बनाउने कोशिश पनि गरेछन्, तर त्यो प्रयास खासै सफल हुन भने सकेनछ|

खेत र बारीका पाटा 'प्लटिंग' गरेर बेच्ने र कमाउने काम भएकाले यो पेशालाई कसै-कसैले 'पाटो प्लटिंग' पनि भन्दा रहेछन् अचेल| अनि 'पाटो प्लटिंग' गर्नेहरु 'पाटे' भनिंदा रहेछन्| जग्गा भनेको माटो त हो भन्ने अर्थमा जग्गा दलालहरुलाई कसै-कसैले 'माटे' पनि भन्दा रहेछन्| 

'पाटे' र 'माटे' हरुको कारोबार अलि खस्केको बेला रहेछ अहिले| लगानीका नयाँ क्षेत्र खासै नदेखिएपनि बैंक र फाइनान्स कम्पनीहरुले बढी ब्याज दिन थालेकाले मान्छेका पैसा त्यतै पसेजस्तो छ अहिले| 'पाटो प्लटिंग' खस्केकै ठिक, यस्तो अनुत्पादक क्षेत्र बढी उक्सिनु भनेको देशको अर्थतन्त्र सुन्नेर मोटाउनुमात्रै हो| देशको समग्र अर्थतन्त्र सही लीकमा चलेको बेला पनि यसको आफ्नो स्वाभाविक हिस्सा भने कायम रहनेनै छ, त्यसमा कसैले कन्जुस्याईं गर्ने छैन|

म:म पसलभन्दा बढी खुलेका बैंक र फाइनान्स कम्पनीहरुले बेस्करी ब्याज दिनुपनि अर्को खाले 'पाटे-माटे' संस्कृति र देशको अर्थतन्त्रको रोग बन्दै छ| यसले देशको शेयरबजारलाई कुटुकुटु खान थालेको त देखिईसक्यो| अब बिस्तारै अरु क्षेत्रमा यसले पारेको कुप्रभावपनि सतहमा आउनेनै छन्|

December 16, 2010

पारसको नयाँ 'गोलीलीक्स'

ह्वीस्की निलेभन्दा छिटो गोली 'लीक' गर्ने खान्दानी बानी बोकिबक्सेका पारस 'सरकार' बाट फेरि अर्को 'गोलीलीक्स' अध्यायको मञ्चन भएको छ। गणतन्त्र भयो भनिएको देश अझै यस्ता पत्रु पात्रहरुका हर्कतका वरिपरि रिङ्न बाध्य छ। थुक्क यो काँचो गणतन्त्रको भाग्य!

द्वन्द्व र घम्साघम्सी पुराना सरकार र नयाँ सरकारको बीचमा छ, र पो यत्रो हल्लाखल्ला छ। पारसको हावा फायरले कुनै अदना नेपालीका कानका जाली चर्किएका भए वा अझ त्यो सोझो नेपालीको ईहलिला सकिएकै भएपनि केहि हुनेवाला थिएन। त्यो नेपाली 'गुमनाम' तथ्यांकको एउटा अंकसम्म हुनसक्थ्यो बढीमा शायद। तर कानका जाली 'पवित्र' गराउने 'सौभाग्य' पाउने परे रुबेल चौधरी।

मलाई रुबेल चौधरी कुनै प्रभावशाली विदेशी र सुजाताका ज्वाईँसम्ममात्रै लाग्थे। उनीपनि कुनै गिरोहनै होलान् भन्ने लागेको थिएन, यसअघि उनका बारेमा धेरै कुरा सञ्चारमाध्यममा आएका पनि थिएनन्। आज एउटा पत्रिकामा उनका 'पवित्र' कामहरुको नालीबेली दिईएको रहेछ। पत्रिकाका कुरा पत्याउने हो भने, उनीपनि नेपाललाई तन्नम बनाउन कस्सिएर लागेका खलनायकहरुमध्येका ठूलै खलनायक पर्दारहेछन्। टाईगर टप्सको हावा गोलीकाण्ड यसैले नेपालका खलनायकहरुको द्वन्द्व हो। हाम्रो भाग्य, दुईटा खलनायकहरुको झगडाको रमिते बस्नु परेको छ हामी। पत्रुभन्दा पत्रु सिनिमामा पनि झगडा नायक र खलनायकको हुन्छ, एउटा विकल्पको रुपमा नायक सधैं उपलब्ध हुन्छ, तर हाम्रो देशको भाग्यमा नायकको विकल्प अझै देख्न पाईएको छैन।

रुबेल अरु कुरामा जस्ता भएपनि (उनका अपराधहरुको खोजीनीति गरेर दण्ड दिइनुपर्छ, त्यसमा कुनै शंका छैन), यो घटनामात्रै हेर्दा भने दोष पारसकै हो र कानूनमा चलेको देशमा हो भने पारसले केहि वर्ष खोरको हावा खानुपर्ने थियो। भर्खरै पढें, छ्वालीखुट्टे सरकारले पारस 'सरकार'लाई रिहा गरीसकेछ र पारसको जयजयकार र स्वागत भईसकेछ पोखरामा। नेपालमा राजतन्त्र फेरि फर्कन त्यति सम्भव नहोला, तर पारस नेता हुने छाँट आईसक्यो अब। एकदिन पारसको नेतृत्वमा सरकार बनेको र हाम्रा नेताहरु उनका मन्त्री बनेको पनि देख्न पाईने छ। यो अजीबको देशमा जे पनि हुन्छ!

पारस-पक्राउको विरोधमा सडकमा 'गोली हान्न पाउनैपर्छ!' भनेर नारा लगाउने राजावादीहरुको कुरो त छँदैछ, एकथरी मान्छेहरु कांग्रेस र सुजाताको रिसमा 'सौताको रिसले पोईको काख मुत्ने' काम पनि गरीरहेछन्। यो 'काख मुत्ने' काम निकै तल्लो तहका नेताहरुसम्म पनि जाँदो रहेछ। हिजो दिऊँसो मैले आफू कार्यरत क्याम्पसको स्ववियूका एक पदाधिकारीले क्याम्पसको मूलढोकामा टाँसेको प्रेस-विज्ञप्ति पढेको थिएँ। त्यहाँ 'पारससंग नेपालको राजनीतिको कुरा गर्नु रुबेल चौधरीको अपराध हो। एउटा विदेशीलाई नेपालको राजनीतिको कुरा गर्ने अधिकार कसले दियो?' भन्दै रुबेललाई त्यसै आरोपमा कारबाही गर्ने माग गरिएको थियो। यहि तर्कका आधारमा हेर्दा त अनमिनपूरैलाई कारवाही गरे भयो, नेपालको राजनीतिको कुरो त्यसले भन्दा बढी कसले गरेको छ:)

खैर, हामी अभागीको यो अभागी देशमा कुनै 'चमत्कार' नहुञ्जेल पारसले 'गोलीलीक्स' गरीरहनेछन् र रुबेलले देशका ५० करोडहरु चपाईरहेनछन्।

भगवानले हाम्रो रक्षा गरुन्!

December 09, 2010

शहर

शहर

बल्ल चिनें उनलाई!
धन्न उनको छातीमा कान लगाएछु,
र उनको तातो ढुकढुकी छामेछु!

बलात्कार गरेछन् उनलाई 
यस्तरी विरुप पारेछन् उनलाई
उनको खोजीमा भौंतारिईरहेको म
उनलाई नचिन्दा-
उनकै घर अगाडि 
उनीसंगै
उनको ठेगाना सोध्दै रहेछु ।
(डिसेम्बर २०१०, काठमाण्डौं-पोखरा)

December 03, 2010

ACED 2010, Xian - ४

फर्केर फेरि नोभेम्बर ९ को दिनमा। त्यो दिन दिऊँसो हामीलाई Xian High Voltage Apparatus Research Institute (XIHARI) भ्रमण गराईने कार्यक्रम थियो। त्यता जाँदा बाटोमा पर्ने एउटा ऐतिहासिक उद्यान (नाम बिर्सें) मा एक घण्टाजति घुम्न छोडिएको थियो। त्यहाँ म संगै हिँडिरहेका दुई जना चिनियाँ केटाहरुलाई नेपालको राजनीतिको बारेमा केहि कुरा थाहा रहेछ। उनीहरु "तिमीहरुको देशमा त माओवादी कम्युनिष्ट पार्टीपनि रहेछ, हैन?" भनेर सोध्दै थिए। मैले "हो, माओवादी अहिले हाम्रो देशका सबभन्दा ठूलो दल हो।" भन्दा "हो र? कसरी त्यस्तो भयो?" भनेर आश्चर्य मानेझैं गर्दै थिए। चीनमा यतिखेर माओ औपचारिक दस्तावेजहरुमा मात्र यदाकदा झुल्किन्छन्, चिनियाँहरुले माओको कट्टरतालाई छोडेको धेरै भईसक्यो, यो चीन र पूरै विश्वका लागि हितकर सावित भईसकेको पनि छ। माओबाट मुक्ति पाएपछिमात्रै चीन समृद्धिको बाटोमा हिँड्न थालेको हो। नेपालजस्तो देशमा भने अझै माओको धङधङी देखिएकोमा चिनियाँहरु छक्क पर्दा रहेछन्। बेलुका अर्को कार्यक्रममा हामी बसेको टेबुलका दुई प्राध्यापकहरुले पनि चासो दिँदै थिए। एकजना प्राध्यापक त "हामीकहाँ त माओ बितेको धेरै भईसक्यो, तिमीहरुकहाँ भने अझै जिऊँदै रहेछन्!" भनेर हाँस्दै थिए।

XIHARI को भ्रमण सकिएपछि साँझ conference banquette थियो, थाङ शाशनकाल (Tang Dynasty, सन् ६१८-९०७) संग सम्बन्धित सांस्कृतिक कार्यक्रमका साथ। कार्यक्रममा थाङ कालका गीतहरु, नाचहरु, प्रस्तुत गरिएको थियो, त्यहि समयका पोशाकमा सजिएका कलाकारहरुद्वारा। वाद्ययन्त्रहरु पनि त्यहि समयमा प्रयोग गरिएको मानिएका वाद्ययन्त्रहरु थिए। थाङ शाशनकाल चिनियाँ इतिहासको स्वर्ण युग मानिन्छ। थाङ अवधिको राजधानी वर्तमान सिआन भएकाले पनि यो कार्यक्रम अझ सान्दर्भिक हुने भईहाल्यो।  कार्यक्रम एकदमै आकर्षक थियो।

यो कार्यक्रमको भिडियो बनाएको छु, १४ मिनेट जति लामो। ईण्टरनेटको सुस्त गतिका कारण यहाँ अपलोड गर्न सकिन। खासमा म आज त्यहि भिडियो राख्न मात्रै चाहन्थें, तर भिडियो अपलोड हुन हप्ता दिन कुर्नुपर्ने छाँट देखियो:) पछि कुनै दिन अवश्य राख्नेछु।

अहिलेलाई यो शृंखलालाई यहिँ अन्त्य गर्न चाहन्छु।

विविध कारणवश ब्लगमा छिटो-छिटो लेख्न सकिरहेको छैन, क्षमाप्रार्थी छु।
(समाप्त)

November 26, 2010

ACED 2010, Xian - ३

नोभेम्बरको ११ को टूरका लागि बस चढ्ने बेला थाहा भयो, हामी जम्मा तीनजना रहेछौं संगै यात्रा गर्ने। बाँकी दुई सदस्यहरु पनि कन्फरेन्सकै सहभागी थिए-एकजना कोरीयाली प्राध्यापक र उनकै सुपरिवेक्षणमा पीएचडी अध्ययनरत एक विद्यार्थी। गाईडका अनुसार यतिखेर सिआनको पर्यटकीय मौसम सकिईसकेको रहेछ, त्यसैले १५ जना जति अट्ने यो सानो बसका सहभागीहरु यति थोरै भएका रहेछन्।

प्राध्यापक ली बोलेको बोल्यै गर्ने खालका थिए, हाम्रो बिचमा पेशागत र अरु थुप्रै कुराहरु भए। एकाअर्काका देशका बारेमा धेरै नयाँ जानकारीहरु पनि साट्यौं हामीले। उनका विद्यार्थी भने एकदमै कम बोल्थे। उनको अंग्रेजी पनि त्यति राम्रो रहेनछ कि किन हो, प्राध्यापक ली बेला-बेलामा हाम्रो कुराकानी उनलाई कोरीयाली भाषामा सुनाईरहेका हुन्थे।

हाम्रो पहिलो गन्तब्य ता छ्-येन मन्दिर क्षेत्र (Da Cien Temple) थियो। यो मन्दिर विगतदेखि अहिलेसम्मनै बौद्ध अध्ययन केन्द्रको रुपमा अस्तित्वमा रहेको छ। मन्दिर परिसरभित्र थुप्रै साना-ठूला मन्दिरहरु र भिक्षुहरुका आवास आदि छन्। पूरै मन्दिर परिसर अत्यन्त सफा र ब्यवश्थित देखिन्छ। मन्दिरहरुमा बुद्धको जीवनगाथा झल्किने मूर्तिहरु धेरै छन्, बिभिन्न कालखण्डका प्रसिद्ध बौद्ध भिक्षुहरु/गुरुहरुका प्रतिमाहरु पनि धेरै देखिन्छन्। यसभित्रको सबैभन्दा प्रसिद्ध संरचना भने ता यान स्तूप (Da Yan Wild Goose Pagoda) हो। थाङ्ग वंश (Tang Dynasty) का तेस्रा सम्राट काओचोङको राज्यकाल (सन् ६२८-६३८)मा पहिलोपल्ट निर्मित यो स्तूपले धेरै पटकका भूकम्पहरु झेलेको रहेछ र यसमा बेला-बेलामा धेरै थपथाप र पुनर्निर्माण भएको रहेछ। गाईडले भनेअनुसार त २००८ को स-छ्वान महाभूकम्प (great Sichuan earthquake) को असरले गर्दा यो अलिकति ढल्किएको छ रे, हाम्रा आँखाले भने त्यो ठम्याउन सकेनन्। तलको तस्बीरमा ढल्किएको लाग्न पनि सक्छ, तर यो सन्तुलन मिलाएर खिचिएको होईन।



यो स्तूपको निर्माणको प्रमुख श्रेय स्यूआनचाङ नाम गरेका एक बौद्ध भिक्षुलाई जाँदो रहेछ। उनी बौद्ध धर्मको अध्ययनका लागि तत्कालीन चीनको राजधानी सिआनबाट पुरानो रेशम मार्ग हुँदै सन् ६२९ मा भारततिर लागेका रहेछन्। अध्ययन सकेर सन् ६४५ मा चीन फर्केपछि यो विशाल स्तूपको निर्माण कार्य शुरु गराएका रहेछन्। उनले थुप्रै बौद्ध ग्रन्थहरुलाई चिनियाँमा अनुवाद पनि गरेका रहेछन्। यो मन्दिरका बारेमा बुझ्ने क्रममै थाहा पाईयो, चीनमा बौद्ध धर्मको प्रवेश सन् २५ मा भएको रहेछ।

हाम्रो दोश्रो गन्तब्य पान्फो संग्रहालय (Xian Banpo Museum) थियो। सन् १९५३मा उत्खनन् गरिएको यो क्षेत्र ६००० वर्ष पहिलाको कुनै मानव बस्तीको अवशेष रहेछ। भग्नावशेषमा एउटा सानो गाऊँ, ग्राम प्रमुख र अरुका घरहरु, माटाका भाँडाहरु बनाउने ठाऊँ, पूजा गर्ने ठाऊँ, बलि दिईने मौलो, चिहानहरु र बाहीरी आक्रमणबाट बस्तीको सुरक्षाका लागि बस्तीको वरिपरि बनाईएको गहिरो जलाशय (Moat) आदि प्रष्टसंग ठम्याउन सकिने रहेछ। त्यो समयका मानव अवशेषहरु पनि धेरै छन् त्यहाँ। गाईडका अनुसार अवशेषहरुको अध्ययनबाट थाहा भए अनुसार त्यो बस्तीका मानवहरुको शारीरिक बनावट र अन्य आनुवांशिक विशेषताहरु आधुनिक चिनियाँहरुसंग मिल्दैन रे। त्यो बस्ती र त्यहाँका बासिन्दाहरुको बारेमा अझै धेरै कुरा जान्न सकिएको रहेनछ।

भग्नावशेष गाऊँको एक भाग

बस्तीको एउटा औसत घरको आधारभूत संरचना-भग्नावशेषको आधारमा अनुमान गरिएको

चीरनिद्रामा ६ हजार वर्ष पुरानो जोडी। दैनिक जीवनमा प्रयोग गरिने कतिपय भाँडाकुँडा पनि संगै गाड्ने चलन रहेछ।

र यहाँ एउटा सिंगो परिवारनै छ जस्तो छ।

हाम्रो तेश्रो गन्तब्य, ‘टेराकोटा योद्धा’ (Terracota Warriors) संग्रहालय शायद सिआनको सबैभन्दा प्रसिद्ध संरचना हो। प्रथम चिनियाँ सम्राट भनेर मानिने छिन शिह्वाङ्गले आफ्नो जीवनकालमै आफ्नो चिहानको निर्माण गरेका रहेछन्। एउटा विशाल मानवनिर्मित डाँडाको रुपमा उनको चिहान अझै पनि अस्तित्वमा छ, तर त्यो पर्यटकहरुका लागि अझै खुल्ला गरिएको छैन। उनको चिहानकै वरिपरि जमीनमुनि विशेष खाले माटाले निर्मित एउटा पूर्ण सेनापनि राखिएको छ। त्यो टेराकोटा सेना तत्कालीन समयको सेनाको संरचनासंग हुबहु मिल्ने रहेछ, जस्तो कि माटाका संरचनाहरुमा जनरल, सिपाही, घोडचढी, रथ हाँक्नेहरु, रथहरु, घोडाहरु आदि सबै छन्। तीनवटा उत्खनन क्षेत्रमा गरेर ८,००० भन्दा यस्ता पूर्ण कदका आकृति (मूर्तिहरु) रहेछन्। साम्राटलाई परलोकमा पनि साथ दिन र उनको सुरक्षा गर्न यो सेना राखिएको रहेछ। पछि यो टेराकोटा सेनाको माथि खेतीपाती हुन थालेछ र समयक्रममा यो टेराकोटा सेना रहेको स्थान बिर्सिईएछ, बेला-बेला यस्ता मूर्तिहरुका टुक्राटाक्री भेटिएपनि मान्छेले त्यति चासो दिँदा रहेनछन्। सन् १९७४ मा एक किसान परिवारले ईनार खन्ने क्रममा भने धेरैनै यस्ता मूर्तिहरु देखिएपछि संगठित उत्खनन् शुरु भएको रहेछ। पहिलो पटक यी मूर्तिहरु भेटने किसान आफैं बसेका थिए टेराकोटा सेनाका बारे लेखीएका किताबहरुमा अटोग्राफ दिन। किताबहरुको ‘डरलाग्दो’ मूल्यले गर्दा किन्ने आँट गरिएन :)

यो टेराकोटा सेना ईशापूर्व २१० तिरको संरचना मानिँदो रहेछ। उत्खनन् हुनेबित्तिकै यहाँका मूर्तिहरुमा ओहदा जनाउने प्रयोजनका बिभिन्न रंगहरु देखिन्थे रे तर वर्षौंको प्रदूषण, क्यामराहरुको फ्ल्याश आदिले गर्दा सम्पूर्ण रंग नष्ट भएछ। यतिखेर संरचनाहरु धूलोले ढाकिएका कालीमाटीका मूर्तिजस्ता मात्रै देखिन्छन्। उत्खनन् हुन बाँकी रहेकालाई भने यस्तो हुन नदिन उत्खननकर्ताहरु सचेत छन् रे अहिले।   

उत्खनन् क्षेत्रको वरिपरिको भागलाई शहरको रुपमा विकास गरिँदै रहेछ। नजिकै एउटा चिडियाखाना पनि बन्दै थियो। यस्तो क्षेत्रलाई पनि असीमित ढंगले ब्यापारिक प्रयोजनमा प्रयोग गरिएको देख्दा राम्रो लागेन। यो क्षेत्रलाई सकेसम्म प्राकृतिक रुपमा छोडे राम्रो हुन्थ्यो। प्राध्यापक लीको विचार पनि यस्तै रहेछ। 


मृत सम्राटका लागि सेना


केहि सग्ला टेराकोटा आकृतिहरुलाई यसरी बाहिर छुट्टै राखिएको पनि छ।

 उत्खनन जारी छ।

टेराकोटा सेनाको संग्रहालय जानु अगाडि बाटैमा पर्ने आधुनिक टेराकोटा कारखाना लागिँदो रहेछ सबैलाई। यहाँ सकेसम्म टेराकोटा सेना बनेकै समयको प्रविधिलाई प्रयोग गरेर टेराकोटा मूर्तिहरु बनाईँदो रहेछ र पर्यटकहरुलाई बेचिँदो रहेछ। यहाँ भने स-साना दुई मूर्तिहरु किनें मैले पनि।  


कारखानाभित्र
भाग १      भाग २      भाग ४
(क्रमश:)



November 19, 2010

ACED 2010, Xian - २

अरु दिन कन्फरेन्समै ब्यस्त भएर बिते। १० नोभेम्बरको दिऊँसो फुर्सद निक्लियो। ११ नोभेम्बरको पूरै  फुर्सदको दिन एउटा guided tour का लागि बुक गरेको थिएँ पहिल्यै। यो टूरमा सियानका तीन प्रसिद्ध स्थानहरु समेटिएका थिए। १० नोभेम्बरको आधा दिनका लागि ११ को टूरमा नसमेटिएको City Wall जाने विचार गरें। एक्लै जान मन लागेन। ट्याक्सीमा जाने योजना बनाएको हुँदा अरु कसैसंग मिलेर जाँदा सस्तो पनि पर्ने थियो। तर सबैजसोका आ-आफ्नै झुण्ड र योजना थिए। एकजना ईण्डोनेशियालीले 'म पनि जान्छु, मलाई १५ मिनेटजति लबीमा कुर्दै गर्' भने। तिनले मलाई ४५ मिनेटभन्दा बढी कुराएपछि म एक्लै निक्लिएँ र City Wall पु-याउने एउटा स्थानीय बस समातें।

१९९१ देखी १९९६ सम्म म चीनमा थिएँ। चिनियाँ भाषामै स्नातक तह अध्ययन गरेकाले मेरो चिनियाँ भाषिक क्षमता राम्रै थियो भन्ने मान्छु म। त्यसपछि नेपालमा पनि कहिले चिनियाँ ठेकेदार कम्पनीहरुसंग काम गर्ने, कहिले चिनियाँ भाषा पढाउने र कहिले अनुवादको पनि काम गर्ने गरेर आफ्नो चिनियाँ क्षमतालाई जोगाएकै थिएँ। २००३ मा जापान गएपछि केहि महिनाको जापानी भाषाकक्षाका सहपाठीहरु धेरैजसो चिनियाँ थिए र मेरो चिनियाँ भाषाको अभ्यास जारी राख्न सघाऊ पुगेको थियो। २००५ मा यस्तै एउटा कन्फरेन्समा पेईचिङ्ग (Beijing) जाँदासम्म ठिकै थियो मेरो चिनियाँ क्षमता। त्यसपछि भने चिनियाँ भाषाको अभ्यास छुट्यो। छोरी बोल्ने भएपछि त घरमा जापानी भाषाले कब्जा जमाएजस्तै भयो। यहि क्रममा मेरो चिनियाँ भाषामाथिको पकड ओरालो लागेछ। यसपालि त्यो कुरा प्रमाणित भयो:) चिनियाँ बोल्न खोज्दा मुखमा फ्याट्ट जापानी आईहाल्ने हुँदो रहेछ अचेल। छोटा-छोटा वाक्यहरु पनि बडा मुश्किलले पूरा गरियो।  लेखेको पढ्न बरु त्यति धेरै समस्या भएन।

यहि भाषामाथिको 'गुमेको' पकडका कारण मैले ७ नोभेम्बरको 'फुर्सदिलो' दिन होटलको नजिकै हल्लेर मात्रै बिताएँ, स्थानीय बस चढेर कुनै पर्यटकीय स्थल जाने मन थियो तर आँट आएन। केहि दिन चिनियाँ भाषाको bombardment मा बसिसकेकाले ११ का दिन भने अन्त्यमा मैले बसै चढ्ने आँट गरेको थिएँ:)

जुन लाईनको बस मैले समातेको थिएँ, त्यो लाईनका बसमा बस-कार्डमात्रै चल्ने भनेर लेखिएको पढेको थिएँ बस-बिसौनीमा, तर पैसा तिरेर पनि भईहाल्ला नि भनेर चढें म। हातमा ५ युआनको नोट लिएर चालकलाई देखाऊँदै 'यसले हुन्छ कि हुँदैन?' भनेर सोध्न आँट्दै थिएँ, चालकले पहिला हातको ईशाराले 'हुँदैन!' भने, फेरि लगत्तै 'चढ्! चढ्!' भनेर ईशारा गरे। यसरी म साढे दुई युआनको बस भाडा तिर्नै नपरी City Wall पुगें:)

सियानमा बस रोकिने, मान्छे चढ्ने-ओर्लिने समय एकदम छोटो लाग्यो मलाई।

सियान चिनका प्राचीन राजधानी शहरहरुमध्ये एक हो, जसको बारेमा यहाँ केहि पढ्न सक्नुहुन्छ। City Wall राजपरिवार र अरु सम्भ्रान्तहरु बस्ने क्षेत्रलाई आक्रमणकारीहरुबाट जोगाउन निर्माण गरिएको थियो। Great Wall पूरै चीनको सुरक्षाका लागि थियो भने City Wall सियानको शहरी सम्भ्रान्त वर्गको सुरक्षाका लागि। सियानको पहिलो City Wall को निर्माण कार्य १९४ ईशापू्र्वमै शुरु गरिएको थियो र चार वर्षमा सम्पन्न भएको थियो। त्यो आयताकार पर्खाल २५.७ किमी लामो र १२-१६ मीटर चौडा थियो र यसले लगभग ३६ वर्ग किमीको क्षेत्रफललाई घेरेको थियो। यसपछि पनि बिभिन्न city wall हरु निर्माण भएका रहेछन्। हाल सग्लो अस्तित्वमा रहेको city wall को निर्माण कार्य भने मिङ वंशको शाशनकालमा सन् १३७० मा शुरु भएको रहेछ। यो पर्खालले १४ वर्ग किमीको क्षेत्रफललाई घेरेको छ, यसको परिधि १३.७ किमी, उचाई १२ मीटर र चौडाइ १६-१८ मीटर रहेको छ।     

City Wall मा प्रवेश गर्ने सबैभन्दा लोकप्रिय ढोका दक्षिणी ढोका रहेछ। भित्र पसेर एकछिन हिँडेपछि भाडाको साईकल लिएँ, १०० मिनेटका लागि २० युआन लाग्ने रहेछ। City Wall को फराकिलो तालुमा साईकल कुदाऊँदा एकछिन त मजै भयो तर एक्लै भएकाले चाँडैनै दिक्क लाग्यो। डेढघण्टा जतिमा Wall पूरै फन्को लगाउन सकिन्थ्यो होला, तर म आएकै बाटो फर्किएँ र साईकल बुझाईदिएँ। 
तल Xian City Wall बाट केहि तस्बीरहरु;


 City Wall चढ्नु अघि, दक्षिणी ढोकामा।


 इतिहासका थुप्रै झरी-आँधी खपेको हुनुपर्छ यसले। City Wall को तालुमा ठाऊँ-ठाऊँमा यस्ता भब्य संरचनाहरु छन्। शहर सुरक्षाका लागि यिनको ठूलो सामरिक महत्व थियो होला।

पुरानो सियान र नयाँ सियानको 'घम्साघम्सी':)

 
 चढ्नेबित्तिकै देखिएको 'पर्खालभित्रको शहर'को एक अंश।

र 'पर्खालबाहिरको शहर'।

 'पर्खालबाहिरको शहर'को अर्को सानो अंश।

 City Wall को फराकिलो तालुको एक अंश।

 फोटो खिच्न ब्यस्त स्थानीय पर्यटकहरु।

City Wall बाट झरेर 'भित्री शहर' मै एकछिन रंगबंगिने क्रममा 'प्रवेश निषेध' लेखिएको एउटा मन्दिर/अध्ययन केन्द्र देखियो। चिनियाँहरुको बाक्लो ओहोरदोहर देखेकाले त्यो 'प्रवेश निषेध' को खासै अर्थ छैन होला भनेर पस्ने खोजेको, चौकिदारहरुले पस्न दिएनन्। विदेशीहरुका लागिमात्रै प्रवेश निषेध भएकाले कुनै संवेदनशील स्थल हुनुपर्छ। अथवा त्यससंग संबन्धित बाहेकका चिनियाँहरुका लागिनै पनि प्रवेश निषेध हुन पनि सक्छ।



होटल फर्केर आऊँदा भने कार्ड नचल्ने, बसभाडा नगदनै तिर्नुपर्ने रुटको बस खोजेर आएँ, र पैसा तिरेरै आएँ:)

भाग १      भाग ३      भाग ४
(क्रमश:)

November 14, 2010

ACED 2010, Xian - १

ब्लगमा अनुपश्थित भएको दश दिन भईसकेछ। यसपटकको अनुपश्थिति ब्लग लेख्नै नभ्याउने गरी एकदमै ब्यस्त भएर भने होईन। 

नोभेम्बर ६ देखि १२ सम्म म चीनको सियान (Xian) शहरमा थिएँ। चीनमा यतिखेर ब्लगर, फेसबुक र युट्युब सबै प्रतिबन्धित रहेछन्। प्रोक्सीको सहायताले गरिएको खोल्ने कोशिश पनि काम लागेन। अलिक धेरै समय दिन पनि सकिएन चिनियाँ सरकारको आँखा अझै नपरीसकेको प्रोक्सी खोज्न। 

ब्लग, फेसबुक र युट्युब तिन्टै चलाउन नपाएपछि त ईण्टरनेट भन्ने चिजै किन चाहियो र जस्तो पो लाग्दो रहेछ:) चीनमा यी साईटहरु प्रतिबन्धित भईरहन्छन् भनेर थाहा नभएको पनि होईन पहिला, तर हिँड्ने बेलामा दिमागमा त्यो कुरा आऊँदै-आएन। उल्टो म त "चीन छऊञ्जेल दिनदिनै ब्लग लेख्छु!" भन्ने 'जोगी-कल्पनामा पो मस्त थिएँ:)

म सियानमा Asian Conference on Electrical Discharge (ACED) नाम गरेको एउटा कन्फरेन्समा भाग लिन पुगेको थिएँ। ACED 2010, हरेक दुई वर्षमा आयोजना गरिने ACED को पन्ध्रौं संस्करण हो।  High Voltage Engineering, Dielectric Science, Insulation Diagnosis जस्ता विषयहरुमा केन्द्रित हुने ACED मा  मूलत: यी विषयमा काम गरीरहेका एशिया क्षेत्रका विश्वविद्यालयहरु, अनुसन्धान-संस्थाहरु र औद्योगिक संस्थाहरुको प्रतिनिधित्व हुन्छ। ACED, High Voltage Engineering विषयका प्रमुख एशियाली कन्फरेन्सहरुमध्ये एक मानिन्छ। जापान छँदा गरेका कामहरु समेटिएका दुई पेपरहरु प्रस्तुत गर्नु थियो मलाई।

ACED अहिलेसम्म जापान, चीन, सिंगापुर, कोरीया, ईण्डोनेशिया, थाईल्याण्डमा आयोजन भईसकेको छ, आगामी संस्करण २०१२ मा मलेशियामा हुँदैछ। कार्यक्रममा सहभागिता पनि तिनै देशहरुबाट धेरै थियो। ती देशहरु यतिखेर सम्पन्नता र विकासतिरका सहयात्री हुन्। यतिखेर शायद सबैभन्दा धेरै engineering  र निर्माण कार्यहरु तिनै देशहरुमा भईरहेका छन्। तिब्र गतिको विकासलाई साथ दिन इलेक्ट्रिकल प्रणाली र उद्योगहरुको विकास पनि तिब्र गतिमै भईरहेको छ यि देशमा। तिब्र विकाससंग जहिलेपनि गतिशील अनुसन्धान-संस्कृति जोडिएर  आउँछ। आफ्नो भिमकाय आकार र सामरिक शक्तिका कारण भिन्दै खाले राजनीतिले गर्दा बढी चर्चा चीनको हुन्छ तर यतिखेर समृद्धिकी देवी चीनमा मात्रै होईन समग्र पूर्वी र दक्षिणपूर्वी एशियालाईनै उजिल्याउने क्रममा छिन्। ACED को सहभागिताले पनि यस्तै संकेत गर्छ शायद।

माथि उल्लेख गरिएका सबैजसो देशहरुको आधुनिकता र सम्पन्नतातिरको यात्रा हामीसंगै शुरु भएको हो। यतिखेर उनीहरु कहाँ पुगिसके र हामी कहाँ छौं; तुलना गर्न पनि नसकिने भईसक्यो। दशकौंदेखिको गलत र अकर्मण्य राजनीति र सांस्कृतिक/सामाजिक चिन्तनका कारण हामी झन् पछाडि र झन् पछाडि हुँदै गईरहेका छौं। एशियातिर प्रवेश गरेको सम्पन्नताको यति ठलो लहरले पनि हामीलाई छोएन भने, यतिखेर पनि हामीले आफूलाई विकसित र सम्पन्न बनाउन सकेनौं भने हाम्रोलागि कहिल्यै अवसर आउने छैन शायद।

'तेरो देशमा कतिवटा high voltage lab, कुन-कुन क्षमतासम्मका छन्?' भन्ने प्रश्नको धेरै पटक जवाफ दिईरहनुप-यो। मैले बुझेसम्म हाम्रो देशमा high voltage क्षेत्रमा अनुसन्धान हुन अझै थालेको छैन। हाम्रो राष्ट्रिय प्रसारण लाईन (ग्रीड) को क्षमतालाई १३२ के भी बाट बढाउने कुरा भईरहेको सुनिन्छ अचेल, त्यो हुने भयो भने केहि काम शुरु हुनसक्छ यो क्षेत्रमा। तर हामी नेपाली आफ्नलागि आफ्नै खाले प्राविधिक संरचना बनाउन र त्यसका लागि अनुसन्धान गर्न त्यति चासो राख्दैनौं, अहिलेसम्मका कुनै पनि सत्ताले प्राविधिक-वैज्ञानिक अनुसन्धानलाई अलिकति पनि महत्व दिएको थाहा छैन। हामी अर्काले 'दान'मा जे दियो त्यहि र जस्तो दियो त्यस्तै प्रयोग गर्दिन्छौं। यो स्थितिमा अनुसन्धानले खासै महत्व पाऊँदैन। ग्रिड अपग्रेडको कुरामा पनि यस्तै हुनेछ शायद, सबै काम विदेशीले गर्दिनेछन् र केहि थोरै नेपालीहरुले 'कमिसन' खानेछन्। परिणाम, यो क्षेत्रको हाम्रो क्षमतामा कुनै अभिबृद्धि हुनेछैन, जहाँको तहीँ रहिरहनेछ।

चिनियाँहरुले हामी कन्फरेन्स सहभागीहरुलाई देखाएको Xian High Voltage Apparatus Research Institute जस्तो भब्य high voltage lab बनाउन हामीले अहिल्यै नसकौंला तर विश्वविद्यालयस्तरको अनुसन्धानलाई धान्न सक्ने ठिकैको lab बनाउन भने नसकिने होईन। अझ अलिक लागी पर्ने हो भने त्यस्ता lab मा हाम्रा लागि सहर्ष लगानी गर्दिनेहरु पनि भेटिन्छन्। पहल राज्यले पनि गर्नुपर्दैन, विश्वविद्यालय वा ईञ्जिनियरिङ्ग अध्ययन संस्थानलेनै गरेपनि काफी हुन्छ। तर माथिको उप-कूलपतिदेखि तलको विभागीय प्रमुखसम्म दलीय भागबण्डामा परेर छानिने देशमा यस्तो पहल गर्ने संस्कारको शुरुवात होला भन्ने कल्पना गर्न गाह्रै हुन्छ यतिखेर। सहि ढंगले ब्यबश्थापन भएका अबश्थामा विश्वविद्यालयहरुले देशको अनुसन्धान संस्कृतिलाई नेतृत्व र गति दिन सक्छन्, तर हाम्रा विश्वविद्यालयहरु यतिखेर देशको कुरुप राजनीतिलाई स्खलन गरिने रछ्यान भन्दा बढी बन्न सकेका छैनन्।

अर्को मनले भन्छ, कसैले त्यस्तो ल्याब बनाईदिईहाल्यो भनेपनि १६-१७ घण्टासम्म बत्ती नहुने अबश्थामा त्यसबाट कतिनै उपयोगिता पाउन सक्ला र देशले? आधारभूत भौतिक संरचनाहरु (यातायात, बिद्युत र पानी) को प्रणालीबद्ध र भरपर्दो ब्यबश्था नहुञ्जेल अगाडिका कुराहरु नसोचेपनि हुनेरहेछ। यथार्थमा यातायात, बिजुली र पानीको भरपर्दो ब्यबश्था हुने हो भने बाँकी विकास आफैं आऊँदो रहेछ। १९८० को दशकपछि चीनमा विदेशी लगानीको ओईरो लाग्नुको एउटा मूल कारण उनीहरुका भरपर्दा र प्रणालीबद्ध आधारभूत भौतिक संरचनाहरु हुन्। हामीले पनि भौतिक संरचनालाई त्यसैगरी पक्का बनाउन सकेको भए लगानीले हामीलाई पनि छल्ने थिएन।

ACED को प्रसंगमा अलिक बहकिएछु, क्षमाप्रार्थी छु। सियान शहरमा गरिएको थोरै घुमघामका तस्बीरहरु र तिनका कुरा आगामी भेटमा पस्किने छु। अहिलेलाई यत्तिनै।

तपाईँका दिनहरु शुभ रहुन्।

(क्रमश:)

November 04, 2010

ब्लगर भेलाबाट

लामो समयदेखि प्रतिक्षित ब्लगर भेला आज सम्पन्न भयो। 

नेपाली ब्लग जगतले केहि वर्ष लामो बाटो तय गरिसकेको छ। नेपाली ब्लग जगत संख्यात्मक र गुणात्मक दुबै हिसाबले समृद्ध पनि हुँदै गईरहेको छ। नेपाल भित्र र बाहिरबाट नेपाली, अंग्रेजी र अरु बिभिन्न भाषाहरुमा धेरै ब्लगहरु नियमित रुपमा सञ्चालित भईरहेका छन्। नेपाली ब्लग जगतको आगामी बाटो सकारात्मक संकेतहरुले भरिएको देखिन्छ, तर हामी सन्तुष्ट भएर नीच मारेर बस्ने स्थितिमा भने कदापि पनि छैनौं।

ब्लगकर्म आफैं एउटा अनलाईन गतिबिधि भएकाले ब्लगजगतमा आफ्नै खाले अन्तर्कृया र सम्वाद निरन्तर चलिरहेको हुन्छ। ब्लगपोष्ट र प्रतिकृयाका माध्यमबाट विचार आदानप्रदान र छलफल चलिरहेका हुन्छन्। अहिले आएर फेसबुक र ट्विटरजस्ता सामाजिक संजालका माध्यमबाट पनि ब्लगरहरु अन्तर्कृयारत छन्। ब्लग र सामाजिक संजालको संयोजनले एउटा नयाँ संचार-संस्कृतिलाई जन्म दिँदै गरेको भान हुन्छ। 

ब्लग र सामाजिक संजालको मात्रै भर पर्दा सम्वाद पूर्ण नहुन सक्छ। ब्लगरहरुका अनुभव साट्न, कुनै विषयविशेषमा छलफल गर्न भने औपचारिक भेलाहरुकै जरुरत पर्नसक्छ, यो नै बढी प्रभावी हुनसक्छ।  'दौंतरी' ले संसारभरि रहेका नेपाली ब्लगरहरुबीच अनलाईन भेला गर्दै आईरहेको छ केहि समय यता। तर नेपाली ब्लगरहरुबीचको प्रत्यक्ष भेटघाट र अन्तर्कृया भने त्यति धेरै भएको छैन। निकट भूगोलमा बस्ने ब्लगरहरुबीच प्रत्यक्ष भेला सहजै सम्भव पनि हुन्छन्। काठमाण्डौंमा विगतमा हुने गरेका यस्तै प्रत्यक्ष भेटघाट, भेलाको क्रम टुटेको पनि तीन वर्षभन्दा बढी भईसकेको थियो। यिनै पृष्ठभूमिमा आजको यो ब्लगर भेलाको परिकल्पना गरिएको थियो।

कार्यक्रमको शुरुवाती परिकल्पना यसलाई अनौपचारिक राख्ने र प्रत्यक्ष चिनजान र केहि भलाकुसारीका माध्यमबाट सम्पन्न गर्ने थियो। सहभागी संख्या पनि त्यति धेरै अनुमान गरिएको थिएन। यस बारेमा Event बनाएर फेसबुकमा राख्दा र धेरै साथीहरुलाई सहभागिताको लागि निम्तो पठाईसक्दा पनि सम्भाव्य सहभागिता कमै देखिन्थ्यो। आज बिहानसम्म फेसबुकमा सहभागिता निश्चित गर्ने साथीहरुको संख्या ४४ पुगेको थियो, यो आधारमा हामीले कम्तिमा २५ जनाभने पक्का सहभागी हुने अनुमान गरेका थियौं।

कार्यक्रम क्यापिटल एफएमको प्रशिक्षण कक्षमा भएको थियो र सहभागी संख्या थियो २०। छोटो समयको तयारी र सूचनाको आधारमा भएको यो सहभागितालाई उत्साहजनकनै मान्नुपर्छ।


सहभागी ब्लगरहरु :

  1. Aakar Anil (www.aakarpost.com)
  2. Alankar Aryal (www.gharaagan.blogspot.com)
  3. Bhoj Raj Dahal (www.nepaldiary.wordpress.com)
  4. Surath Giri (www.surathgiri.com)
  5. Rupesh Shrestha (www.blogstreet.wordpress.com)
  6. Ujjwal Acharya (www.nepalivoices.com)
  7. Saurav Dhakal (www.storycycle.com)
  8. Kamal Kumar (www.kamalkumar.com.np)
  9. Dilip Acharya (www.dacharya.blogspot.com)
  10. Kailash Rai (www.kailashkokuti.blogspot.com)
  11. Jotare Dhaiba (www.dhaiba.blogspot.com)
  12. Sweta Baniya (www.swetabaniya.wordpress.com)
  13. Prabesh Poudel (www.gufgaf.com)
  14. Manoj K.C (www.blogsamaya.wordpress.com)
  15. Saroj Koirala (www.sarojkoirala.com.np)
  16. Basanta Gautam (www.basantagautam.com)
  17. Sujan Sharma (www.sujanacharya.blogspot.com)
  18. Pushpa Raj Acharya (www.pushparajacharya.blogspot.com)
  19. Sabin Gyanwali (www.nepaliblogger.com)
  20. Pradeep Bashyal (www.pradeepbasyal.com.np)

कार्यक्रम परिचयको आदानप्रदानबाट शुरु भएको थियो। कार्यक्रममा सहभागी साथीहरुमध्ये दुईजनासंगमात्र मेरो प्रत्यक्ष चिनजान थियो। बाँकी सबैसंग आज पहिलोचोटि भेटघाट भएको भएपनि ब्लग र फेसबुकको सम्बन्धका कारण चीरपरिचितझैं लाग्नुभएको थियो:) 

कार्यक्रममा नेपाली ब्लगजगतको वर्तमान स्थिति र समस्याहरुका बारेमा छलफल भएको थियो। हालै, अश्लील साईटहरुमाथि प्रतिबन्ध लगाउने नेपाल सरकारको एउटा निर्णयमा आधारित भएर केहि इण्टरनेट सेवा प्रदायक कम्पनीहरुले ब्लगस्पट डोमेनलाईनै ब्लक गरेको घटनामाथि विशेष चर्चा भएको थियो। यस्तो स्थिति फेरि दोहोरिएमा, वा ब्लगरहरुलाई अरु बिभिन्न अवरोध र समस्याहरु  आईलागेको बेलामा एकीकृत  र सशक्त ब्लगर आवाज कसरी सृजना गर्न सकिन्छ भन्ने बारेमा पनि साथीहरुले आ-आफ्ना धारणा राख्नुभएको थियो। सबै धारणाहरुको सारको रुपमा, ब्लगरहरुको आपसी संजाललाई इमेल समूहजस्ता  संरचनाका माध्यमबाट नियमित राख्ने र कुनै समस्या र अवरोध आईपर्दा सम्पूर्ण ब्लग जगतले एउटै आवाज उठाउने बानी बसाल्नुपर्ने आवश्यकता बोध गरियो। देशको तरल राजनीतिक परिश्थितिका कारण कुनैपनि बेला अभिब्यक्ति स्वतन्त्रतामाथि कैंची चल्नसक्ने सम्भावना टड्कारो छ। त्यो स्थितिमा केहि ब्लगरहरु वा पूरै ब्लग जगतमाथि वैचारिक/भौतिक दबाब  पर्नसक्छ। यसैले आवश्यक पर्दा तुरुन्त आन्दोलित हुन सक्ने गरी ब्लगजगत संगठित हुनुपर्छ। यो 'संगठित' हुने कामका लागि एउटा खुकुलो तर नियमित संरचना पर्याप्त हुन्छ, कुनै 'औपचारिक' र 'दर्तावाल' संगठनको आवश्यकता छैन। मुख्य कुरो, सामान्य स्थितिमा आफ्नै हिसाबले ब्लगलेखनलाई निरन्तरता दिने तर आवश्यकता पर्दा सबै एकै भएर लाग्ने गरी हामी ब्लगरहरुले आफैंलाई दिक्षित गर्ने, आत्मानुशाशित पार्ने हो। 

सामाजिक मानसिकतामा नेपाली ब्लगजगतलाई सशक्त रुपले स्थापित गर्नका लागि मूलधारका संचारमाध्यमहरुबाट लिन सकिने सहयोगका बारेमा कुराकानी भएको थियो। मूलधारका मिडियामा कार्यरत केहि साथीहरुनै सकृय ब्लगरपनि रहनुभएकाले उहाँहरुले केहि बाटो निकाल्नुहुनेछ भन्न्ने कुरामा हामी विश्वस्त छौं। साथै, भेलामा विगतका भेलाहरुमा गरिएका छलफलहरुको बारेमा पनि चर्चा गरिएको थियो।

यस्ता ब्लगर भेला नियमित गर्नुपर्ने कुरामा सबैको सहमति रहेको थियो। यसै क्रममा अर्को ब्लगर भेला आजको भन्दा वृहद् र योजनाबद्ध रुपमा गर्ने निर्णय गरिएको छ। उक्त भेला आगामी पुस ३ गते शनिवार सम्पन्न गर्ने योजना रहेको छ।

आजको भेलाका सम्पूर्ण सहभागीहरुलाई हार्दिक धन्यबाद! र कार्यक्रमस्थलको ब्यबश्थाका लागि गर्नुभएको प्रयासका लागि रुपेशजीलाई विशेष धन्यबाद!
ब्लगर भेलाका सहभागीहरु

ब्लगर भेलाका बारेमा आज सहभागी सबै साथीहरुबाट पनि लेखिनेनै छ, नेपाली ब्लगहरु हेर्दै गर्नुहोला।
----------------
अन्त्यमा, यहाँहरु सबैमा तिहारको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छु। तपाईँहरुको जीवन उज्यालो र समृद्ध रहिरहोस् सधैंभरी।

October 30, 2010

शाकाहारतिरको यात्रा-३


भाग १ यता
भाग २ यता

मानव जाति कहिलेदेखि मांसाहारी भयो अथवा यो मानवको रुपमा उभिएको शुरुवाती दिनदेखिनै मांसाहारी थियो वा थिएन भन्ने बारेमा मेरो सीमित ज्ञानले कुनै निर्णय दिन सक्ने कुरो भएन। तर मानवजाति विगत केहि हजार वर्ष देखिनै अत्यन्त हिंस्रक देखिन्छ। उसको त्यो हिँस्रक जीवनशैली र स्वभावसंगै मांसाहारपनि आईरहेको देखिन्छ। मान्छेले मान्छे खाने कुरा इतिहासको पानामा सीमित भईसकेको कुरा हो, (भलै हालै साउदी अरेबियामा फिलिपिनोहरुले पाकिस्तानीलाई खाएको कुराले यो तथ्यमा पनि पुनर्विचार गर्नुपर्ने देखाउँछ) तर सूधा र कमजोर जनावहरुप्रतिको मानव ब्यबहार भने अझै जस्ताको तस्तै र दानवीय छ। केहि समय अगाडिसम्म कुनै-कुनै समाजमा बच्चाको सालनालसमेत खाने कुराको उल्लेख गर्नुभएको छ कृष्ण पौडेलजीले यहि लेखकै भाग-१ माथिको आफ्नो प्रतिकृयामा। उहाँले चिनियाँहरुले बाँदर खाने अति क्रुर तरिकाको पनि चर्चा गर्नुभएको छ। मान्छेले मान्छे खाने कुरा अपवादबाहेक नदेखिएपनि, नसुनिएपनि मान्छेले मान्छेसंग गर्ने ब्यबहार भने अझै पनि अत्यन्त हिंसात्मक छ। चेतना माथिल्लो स्तरको हुँदै जाँदा र बुद्धिको विकास हुँदै जाँदा त समग्र मानवजाति बिस्तारै अहिंस्रक र कोमल हुँदै जानुपर्ने हो तर त्यो हुन सकेको छैन। मान्छेलाई मान्छे हुनबाट रोक्ने एउटा प्रमुख कारण मांसाहारनै हुनसक्छ। हत्या गरिँदाको क्षण पशुपञ्छीमा उब्जने भय र क्रोधभावका कारण तिनका शरीरमा थुप्रै विषाक्त रसायन निर्माण हुन्छन्। ती विषाक्त रसायन मासु हुँदै मान्छेको शरीरमा पनि प्रवेश गर्छन्। मासुले मान्छेमा तनाव र चिन्ता बढ्ने कुरा प्रमाणित भईसकेको छ। संसारमा मासुकै कारण र मासुको माध्यम हुँदै धेरै रोगहरु फैलिरहेका छन्। 

मानवीय संवेदनाले मांसाहारलाई कदापि स्विकार्न सक्दैन। यो भन्दा तल्लो, शारीरिक तहमा उभिएर पनि,मानव शरीरलाई मांसाहार आवश्यक पर्छ कि पर्दैन वा मानव शरीरको बनौट, विशेषत यसको पाचन प्रणाली मांसाहारलाई मिल्ने गरी बनेको छ कि छैन भन्ने बारेमा विवादहरु चलिरहेका छन्। मानिसले मासु खानुपर्ने कुरामा दिइने एउटा तर्क यसको पौष्टिकताको हो। मासु यदि पौष्टिकनै हो भनेपनि यत्तिकै पौष्टिक शाकाहारी खानेकुराहरु पनि जति पनि भेटिन्छन्। त्यसैले पौष्टिकताकै लागि मासु खानुपर्ने र निर्दोष जनावरहरु मार्नु पर्ने कुरामा खासै दम देखिँदैन। मानिसको पाचन प्रणाली, मुख-दाँत-भोजन नली-आन्द्राहरुको बनौट पनि मांसाहारी जनवारहरुसंग बिल्कूलै नमिल्ने तर शाकाहारी जनावरहरुसंग मिल्ने कुरामा विज्ञहरु एकमत देखिन्छन्। यसैले प्रकृतिले मानिसलाई शाकाहारी जीवनको लागि तयार पारेको हो, मांसाहारी जीवनको लागि होईन।

मांसाहारको पक्षमा दिईने अर्को एउटा तर्क हो, ‘मानवजातिले मांसाहार नगर्ने हो भने, पर्यावरणीय सन्तुलन (इकोसिष्टम) बिग्रन्छ’। यहि लेखकै पहिलो भागमा अमित भाइले पनि यस्तै प्रतिकृया लेखेका छन्। तर यो तर्कमा पनि कुनै दम छैन, किनभने जुन प्राकृतिक प्रणालीको सन्तुलनको कुरा गरिएको छ, त्यो प्राकृतिक प्रणालीबाट मानवजाति धेरै पहिले अलग भइसकेको छ। खेतीपाती गर्न जानेबाटै मानिस त्यसबाट अलग भईसकेको हो। मान्छे जंगलमै बसीरहेर अरु कुनै वैकल्पिक आहारको ब्यबश्था गर्न नसकेको भए, मासु नखाई बाँच्न नसक्ने स्थितिमा यो ‘पर्यावरणीय सन्तुलन’ को हावादारी कुरामा केहि दम हुनसक्थ्यो। बाघभालूले मासु नखाँदा तिनको अस्तित्वनै समाप्त हुन्छ, पर्यावरणीय सन्तुलन बिग्रने त्यो अवश्थामा हो। मान्छेले मासु नखाँदा पृथ्वीको पर्यावरणीय सन्तुलनको रौं पनि हल्लिँदैन। फेरि मान्छे जंगली जनावरहरुको शिकार गरेर पनि खाँदैन अचेल, ऊ त तुलनात्मक रुपमा सूधा र कमजोर जन्तुहरुलाई केहि समय पालेर, पछि ‘धोकापूर्ण’ तरिकाले मारेर खान्छ। यी जनावरहरुलाई तिनको प्राकृतिक जंगली जीवनशैलीबाट जबर्जस्ती तानेर घरपालुवा बनाएर उसले पृथ्वीको पर्यावरणीय सन्तुलनलाई पहिल्यै धेरै खल्बल्याईसकेको छ। उल्टो अब मासु खाने बहाना पनि त्यसैलाई बनाउन खोज्नु भनेको कुटिल चालबाजी मात्रै हो।

एकथरी लालबुझक्कडहरु अन्न-सागपात-फलफूल खानुपनि हिँसानै हो भन्छन्। यस्ता काईते गफ गरेरै भएपनि मासु खानुलाई न्यायसंगत ठान्नेहरुसंग कुरा गरीरहनुको तुक छैन। वनस्पतिहरु चेतनाको हिसाबले जनावरहरुभन्दा फरक आयामका हुन्। फेरि वनस्पतिहरु पाकेपछि वा तिनमा फल लागेपछि मात्रै खान्छौं हामी। हाम्रो अस्तित्वका लागि अन्न-सागपात-फलफूल जरुरी छन्। भोलि मानवजातिले आफ्नो शरीरका लागि आवश्यक पर्ने पौष्टिक तत्वहरु वनस्पतिले जस्तै सोझै सूर्यको किरणबाट र माटोबाट लिन सक्ने भयो भने हामीलाई तिनको पनि जरुरत हुने छैन। तर एउटा कुरा के स्पष्ट छ भने त्यतिखेर पनि ‘घामबाट ताकत लिनु पनि मांसाहारनै हो’ भन्ने लालबुझक्कडहरुको कमी हुनेछैन।

धेरैजसो धर्ममा देवताको नाममा पशुबली दिईन्छ, विगतमा देउताकै नाममा नरवलि पनि दिईन्थ्यो। हिन्दू धर्मका बिभिन्न सम्प्रदायहरुमा यो अझ बढी देखिन्छ। ढुंगाको मूर्ति अगाडि निर्दोष र अबोध पशुहत्या गरेर धर्म कमाईन्छ भन्ने हाम्रो संस्कार र परम्परालाई धिक्कार छ! नेपालका कतिपय मन्दिरहरुमा त त्यो निर्दोष-अबोध जनावरलाई जति धेरै यातना दिएर तड्पाई-तड्पाई मा-यो, त्यतिनै धर्म र पुण्य कमाईने विश्वाश गरिन्छ। के हिंसा धर्म हो????? हामीले आफ्नो क्रुरता र हिंसालाई छोप्न धर्म-परम्परा र कथित शास्त्रको गज्जबको खोल तयार पारेका छौं। बलीप्रथाका विरुद्ध कसैले चुईँक्क बोल्यो कि शास्त्रको दुहाई दिँदै त्यसको समर्थनमा पाखुरा खैंचिदै आउनेहरु धेरै छन्। तर विचारणीय छ, के कुनै पनि शास्त्रनै कुनै विषयको अन्तिम सत्य हुनसक्छ? के एउटा निश्चित कालखण्डमा लेखिएको त्यो कथित ‘शास्त्र’लाई सबै समयका सबै मानिसले मान्नुपर्छ भन्ने बाध्यता छ? 

बिभिन्न चाडपर्वहरुमा हाम्रो समाजले बलि दिने जनावरहरु तुलनात्मक रुपले निर्धा र सोझा हुन्छन्। राँगोलाई महिषासुरको अवतार मान्ने हाम्रो समाजले अझ सम्म किन नबुझेको होला, अरुलाई मारेर मासु खाने हिसाबले बाघ वा सिंह पो बरु महिषासुरका नातेदार हुनसक्छन् (गहिरिएर हेर्ने हो भने तिनले पनि आफ्नो प्राकृतिक स्वभावलाई पछ्याएका मात्र हुन्)। तर हामी बाघ वा सिंहलाई खसी-बोका-राँगोलाई जसरी यातना दिन र मार्न सक्दैनौं; हाम्रो शारीरिक क्षमताले पुग्दैन त्यसो गर्न, अनि हामी हाम्रो कुण्ठा र हीनताबोधलाई लगेर आफूभन्दा कमजोर र सूधा जनावरहरुमाथि खन्याउँछौं। हाम्रा धेरैजसो मन्दिरहरुमा मानसिक शान्ति पाईँदैन, ती जनावरहरुका वधशाला मात्रै हुन्। र हाम्रा पेट आईन्स्टाईनले कतै भनेझैं, हत्या गरिएका अबोध जनावरहरुका चिहानमात्रै हुन्।

म शाकाहारतिरको मेरो यात्रासम्बन्धी कुराकानीलाई अहिले यत्तिमै बिट मार्ने अनुमति चाहन्छु।

यात्रा जारी छ र कुराकानी पनि बेलाबखत जारीनै रहनेछ :)

(समाप्त)

October 24, 2010

शाकाहारतिरको यात्रा-२

Image Source: Click Here
भाग १ यता

एक-दुई दिनमा ती राक्षसहरुको पापको घैंटो फुटेछ| त्यो निर्दोष पाकिस्तानीको मासु खाने मध्येका केही भोजन विषाक्तता (food poisoning) को समस्याले गर्दा अस्पताल भर्ना भएछन्| त्यसपछि एक-एक गर्दै सबै कुरा बाहिर आएछन्| साउदी सरकारले ती मध्ये केहीलाई प्राणदण्ड दिएछ, बाँकीलाई लामो समयको कारावासको सजायँ दिएछ|

आङ्गनै सिरिङ्ग गर्ने तस्बीरहरु हेरेपछि मेरो मनस्थितिनै खल्बलिएको थियो केहि समय| त्यसपछिका दिनमा मासु खाँदा जहिलेपनि तिनै दृश्यहरु झल्झली आँखामा आउन थाले| मासु नखाई पनि नहुने, तर खान थालेपछि तिनै दृश्यहरु आँखामा आएर मनस्थिति खल्बलिने, एउटा एकदम अफ्ठेरो परिश्थितिमा बाँचें म धेरै दिन| ती तस्बीरहरु छउन्जेल बेला-बेला हेरिने र आफ्नो मनस्थिति खल्बलीइरहने भएकाले केहि समयपछि सबै तस्बीरहरु मेटें मैले| कसैलाई forward पनि गरिन| तेस्ता तस्बीरहरु हेर्नु भनेकै पनि एउटा हिंसा-आहार हो| कतिपय मान्छेमा ठुलो  मानसिक विचलननै ल्याइदिन सक्छन यस्ता तस्बीरहरुले| केहि वर्ष पहिला इराकमा अन्सर-अल-सुन्नाका राक्षसहरुले नेपाली दाजुभाईहरुको हत्या गरेको भिडियो पूरा हेर्ने आँट कहिल्यै गर्न सकिन मैले, जति हेरें त्यतिलेनै पनि धेरै दिन मानसिक विचलन भोगेको थिएँ|

यी घटनाहरुले मलाई मानव जीवन र अरु जनावरको जीवनको समानता र महत्वप्रति संवेदनशील बनाए| ठाडो शब्दमा भन्दा मैले मान्छेको मासु र अरु जनावरको मासुमा भेद देख्न छोडें र मैले आफुलाई शाकाहारी बनाउने निधो गरें| मेरो निर्णय केहि समय धर्मराईरह्यो; मेरो मन-चिन्तन त संवेदनशील बनेको थियो तर मेरो जिब्रो अझै जब्बरनै थियो यो मामिलामा| यही अनुभवी जिब्रोले मलाई धोका दिईरहयो धेरै समय| विगत ३ महिनाको अनुभवबाट भने मलाई आफुले आफ्नो जिब्रोलाई पनि शाकाहारमा ढाल्न सकेको अनुभूति भईरहेछ| मासु र मासुका कुनै पनि परिकारका प्रति बिल्कुलै आकर्षित महशुश गर्दिन म अचेल| एउटा सफलताको भावले मन भरिएको छ:)

October 17, 2010

मंगलमय शुभकामना!!!

केहि घण्टाको झरीपछि आजबिहान पौने ९ बजेतिर पोखरा-५, पर्स्यांगबाट
देखिएको महिमामंडित माछापूच्छ्रे हिमाल|

विजया दशमी २०६७ को पावन अवसरमा यहांहरू सबैमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छु| यो पवित्र दिनले यहांहरू सबैको जीवनमा सुख-शान्ति, सफलता र समृद्धिको बढ़ोत्तरी गरोस|

October 15, 2010

शाकाहारतिरको यात्रा-१

Image Source: Click Here
म हुर्केको परिवार, परिवेश अलिअलि मांसाहारी थियो। जातीय कारणले खसी-बोका मात्रै खान हुने मानिन्थ्यो। कुखुराको अण्डा पनि खान नहुने मानिन्थ्यो, तर केहि आँटिलाहरुले अण्डा र कुखुराकै मासु पनि खान थालीसकेका थिए। ती आँटिलामध्येमा पर्न आफूसंग भने गाँठ र आँट दुबै थिएन:) धेरै खान सक्ने हैसियत थिएन तर मासु एउटा विशेष खानेकुरा मानिन्थ्यो र चाडबाड, विशेष गरी दशैं, चैते दशैंमा यो अनिवार्य ठानिन्थ्यो। आक्कलझुक्कल अरु बेलामा पनि यो मुखमा पर्न आईपुग्थ्यो। यसरी हेर्दा मेरो बाल्यकाललाई म ९५ प्रतिशत शाकाहारी र ५ प्रतिशत मांसाहारी मान्न सक्छु :)

शिक्षा र रोजगारीका लागि मान्छेहरु शहर पस्न थालेपछि तिनले खाने मासुको परिमाण पनि बढ्न थाल्यो। अत्यन्त स्वादिष्ट, सम्मोहनकारीशक्तिशाल म:म:लाई चिनेपछि त्यसबाट को बँच्न सकोस्! खसी-बोकामात्रै सिध्याउन पाउने भनेर तोकिएका बाहुनहरुले प्लेटका प्लेट भैंसी पनि सखाप पार्न थाले। तीन वर्षको दौरान गोटा सौ एक प्लेट भैंसी मेरा पेटमा पनि पसे हुनन्। तैपनि औसतमा मेरो मांसाहारको परिमाण खासै ढेको मान्न सकिन्न।

अध्ययनका लागि २०४८ मा चीन पुगेपछि भने मासुको परिमाण बेस्सरी बढ्यो। चीनियाँ भोजनमा मासुको अंश ज्यादै धेरै हुन्छ। सागपातपनि थरी-थरिका र धेरै पाईन्थे तर मासु धेरै सस्तो लाग्थ्यो। चिनियाँहरुले उड्नेमा हवाईजहाज र हिँड्नेमा मोटर बाहेक जे पनि खान्छन्! भन्ने सुनिन्छ यदाकदा। त्यो साँच्चै हो जस्तो लाग्थ्यो मलाई चिनियाँहरुको खानपीन हेर्दा। अहिलेको चीनमा कस्तो छ त्यति थाहा भएन तर मेरो अनुमानमा त्यहाँ शाकाहारी बढेका छैनन् बरु घटेका होलान्।

चीनमा बस्दा कुखुरा र बुंगुरको मासु सबैभन्दा धेरै खाईयो। मुसलमानका भोजनालयहरुमा खसीको मासु पनि खाईयो र यदाकदा गाईकै मासु पनि खाईयो होला, जोगिन खोज्दा-खोज्दै पनि खानामा गाईको मासु छ भन्ने थाहा नभएर र कहिलेकाहीँ भुँडी भर्ने अरु कुनै उपायनै नदेखेरनेपालमा छँदा गनेर दुई-तीन पटक भन्दा बढी माछा खाने सौभाग्य मिलेको थिएन होला, चीनमा माछा खान पनि पारंगत भईयो:)

नेपाल फर्केपछि पनि कुखुरा खसीको मासुलाई निरन्तरता दिईयो। भैंसीवाला म:म: भने खान छोडियो।

दोश्रो प्रवासका लागि जापान पुगेपछि फेरि चीनकै जस्तो स्थिति दोहोरियो। त्यहाँ पनि माछा-मासु नखाई टिक्न नसकिने स्थिति छ। सुविधासम्पन्न जीवन जीऊन सक्नेहरुको कुरा बेग्लै तर सामन्यतया शाकाहारी जीवन मांसाहारीभन्दा महंगो लाग्छ जापानमा। शाकाहारी हुँ भनेर कसैले भन्दा जापानीहरु छक्क पर्छन् र सोध्छन्; अण्डा पनि खाँदैनस्? वा माछा पनि चल्दैन?कतिपय रेष्टुरेण्ट वा भोजहरुमा मासु र आलु मिसाएर पकाएको तरकारीबाट आलुका टुक्राहरुमात्रै छानेर शाकाहारी ब्यक्तिलाई दिईएका कुराहरु पनि धेरै सुनिन्छन्। परमपरागत जापानी खानामा माछा र समुद्री जीवको प्राधन्यता छ तर गत शताब्दीबाट पश्चिमा खानाको प्रभावका कारण जापानमा मासुको खपत पनि धेरै बढी छ।

जापानमा शकाहारी खानाको अस्तित्वनै छैन होला भन्ने लागेको थियो मलाई तर नेपाल फर्कने केहि महिना अघि पुगेको एउटा बौद्ध मन्दिरले भने मेरो त्यो सोचाईलाई गलत साबित गरिदियो।

एकजना शुभचिन्तक जापानी बृद्धाले लिएर गएकी थिईन् हामीलाई त्यो मन्दिरमा। आफूलाई कहाँ लगिँदैछ भन्ने बारेमा त्यति नबुझ्दा-नबुझ्दै पनि हामी उनको पछि लागेका थियौं, एउटा आईतवार बिताउनु थियो जसरी भएपनि:)

जापानी बौद्ध परम्पराका बिभिन्न सम्प्रदायहरुमध्ये कुनै एकद्वारा संचालित त्यो मन्दिर हंसमुख बुद्ध (Laughing Buddha) को रहेछप्रवचनकर्ताका अनुसार उनीहरु Laughing Buddha लाई बौद्ध धर्मशास्त्रहरुमा वर्णित गौतम बुद्ध पछिका बुद्ध, मैत्रेय बुद्ध मान्दा रहेछन्छि मैले ईण्टरनेटमा पनि खोजेको थिएँLaughing Buddha लाई मैत्रेय बुद्ध मान्नेहरु यहाँमात्रै होईन जापानकै अन्य भाग र अरु देशहरुमा पनि धेरै रहेछन्।

मन्दिरसंगै भव्य सुविधापूर्ण प्रार्थना कक्षहरु, ध्यान कक्षहरु पनि थिए। प्रवचनहरुपछि  हामीलाई पनि सामूहिक, ब्यक्तिगत प्रार्थनामा सहभागी गराईयो। त्यसपछि भोजनालायतिर लगियो। त्यहाँको भोजनालयमा पूर्ण शाकाहारी भोजन तयार हुँदो रहेछ। हामीकहाँ शाकाहारीहरु गाईभैंसीको दूध भने खान्छन् तर त्यहाँ दूधसंग सम्बन्धित भोजन पनि छँदै थिएनन्। त्यो सम्प्रदायमा दूधलाई पनि मासुजस्तै मानिने रहेछ। खाना अत्यन्त स्वादिष्ट थियो, र उनीहरुले भनेअनुसार त्यो अतयन्त पौष्टिक पनि हुन्छ रे। जीवनमा पहिलोचोटि मैले पूर्ण शाकाहारी तर माछामासुभन्दा धेरै स्वादिष्ट र पौष्टिक खानाको स्वाद पाएँ।

त्यो ठाऊँमा फेरि पुग्ने मेसो मिलेन तर त्यो घटनाले मांसभोजनलाई निरन्तरता दिन मेरो मनले बनाएको एउटा निहुँलाई भने गतिलै धक्का दियो। केहि वर्षयता मासु खानका लागि गरिने पशुपञ्छीको बध, तीनलाई दिईने यना आदिका प्रति म संवेदनशील हुँदै गईरहेको थिएँ तर मासु छोड्न सकिरहेको थिईँन। मैले खोजेक बिभिन्न बहानाहरुमध्ये माँसाहारजत्तिको पौष्टिक शाकाहार नहुन सक्छ, अथवा कम्तिमा हामी शाकाहारी खानालाई मिलाएर बनाउन जान्दैनौं; जापानमा शाकाहारी हुनु असम्भव छदि प्रमुख थिए। तर उक्त मन्दिरमा पुग्ने संयोगले मलाई मेरो कमजोर ईच्छाशक्तिनै सबैभन्दा प्रमुख कारण हो मैले मासु छोड्न नसक्नुमा भन्ने बोध गराईदियो। त्यसयता मैले माछामासुलाई क्रमैसंग घटाऊँदै लागें र विगत दुई महिना यता लगभग पूर्ण शाकाहारी बनेको छु। त्यो लगभग किनभने दूध-दहीभने अझै बाँकीनै छ। यस्तोलाई अंग्रेजीमा lacto vegetarian (दुग्धाहारी?) भन्छन्।

केहि विशेष घटनाहरुले मान्छेको संवेदनालाई बढाईदिँदा रहेछन्। छोरीको जन्म एउटा यस्तै घटना भयो। एउटा नयाँ मानवजीवनको शुरुवात र हुर्काईलाई नजिकबाट हेर्दा-हेर्दै म सबै जीवनप्रति अझ संवेदनशील हुन थालेछु। मान्छे वा जनावर, सबैको जीवन एउटा अद्वितिय र अनुपम प्राकृतिक सौन्दर्य हो। जीवनको हत्या घोर कुरुपता हो र यस्तो कुरुप कार्य जीवनप्रति कुनै संवेदनशीलता नभएको क्रुर मान्छेले मात्र गर्न सक्छ। यो मान्यता अब मेरो मनमा गहिरो गरी बसेको छ। यो दशैंको याममा खसी-बोका-च्याङ्ग्रा-भेंडा आदि घिच्याऊँदै हिँडेका मान्छेहरु देख्दा मलाई उनीहरुले मान्छेकै बच्चालाई घिच्याऊँदै हिँडिरहेजस्तो लाग्छ।

एउटा ई-मेल प्राप्त हुनु अर्को घटना बन्यो। साउदी अरेबियामा कार्यरत भाइ उदय घिमिरेले एउटा मेल पठाएका थिए, त्यहाँको बहुचर्चित एक हत्याकाण्ड बारे। हत्याकाण्डको नृशंशता कहालीलाग्दो थियो। केहि फिलिपिनोहरुले एकजना पाकिस्तानी मान्छेलाई हत्या गरेर उसको मासु खाएका थिए र सम्पूर्ण गतिबिधिहरुलाई क्यामेरामा कैद पनि गरिररहेका थिए। पछि ती मान्छेहरु समातिएपछि ती फोटोहरु फेला परेर सबैका हातमा पुगेका रहेछन्।

भाइको ई-मेलमा धेरै फोटाहरु थिए। मृत पाकिस्तानीको लाश कुनै फलेकमा राखिएको, पहिला उसको घाँटी छिनालिएको, त्यसपछि क्रमैसंग हात खुट्टाहरु निकालिएको, उसको छाती फोरेर दुई भाग लगाईएको, भित्रका मुटु, कलेजा, फोक्सो आदि झिकिएको, आन्द्राभुँडी झिकिएको आदि अनेक फोटाहरु थिए। ती सबै राक्षसहरु अत्यन्त आनन्दित पिकनिकको मुडमा थिए, उनीहरुको अनुहारमा अलिकति पनि लज्जाबोध वा डर थिएनती मध्येका केहि उक्त अभागी मान्छेको जननेन्द्रिय हातमा लिएर क्यामेरातिर फर्केर जिस्कँदै हाँसिरहेका पनि थिए। त्यहाँ आन्द्राभुँडी सफा गरिएका तस्बीरहरु पनि थिए, अनि केहि ठूला ड्रमजस्ता भाँडाहरुमा मासु पकाएको र अन्त्यमा गोलाकार बसेर सबैले मासु खाएका फोटाहरु पनि थिए। सबै घटनाक्रम हामीकहाँ खसी-बोका काटेर गरिनेसंग उस्तै थिए।

Image Source: Click Here