February 24, 2011

पोखराका 'लगौंटी' बाटाहरु

पोखराका 'लगौंटी' बाटाहरु चरम अराजक छन्! पोखराका 'लगौंटी' बाटाहरु ज्यानमारा छन्!

यी लगौंटी बाटाहरु कतै माझैमा र कतै छेऊ-छेऊतिर भत्किएर 'मिनी लगौंटी' बनिदिन्छन्। अनि शुरु हुन्छ विपरीत दिशाबाट आईरहेका दुई सवारीको त्यै 'मिनी लगौंटी'मा कब्जा जमाउने प्रतिस्पर्धा! जित्ने शानले 'मिनी लगौंटी' माथिबाट गुड्छ, हार्ने छेऊको खाल्डोबाट आफ्नो बाटो लाग्छ, जित्नेलाई आमाचकारी गाली गर्दै। हार्नेले कहिलेकाहीँ पैदल यात्रीलाई 'माया' गर्न पनि पुग्छ। सग्लै उम्कियो पैदलयात्री भने ऊ पनि एक 'जोडदार' गाली ओकल्दै आफ्नो यात्रा जारी राख्छ।

तिनै 'लगौंटी' बाटामा पनि धेरै ठाऊँमा दुबै साईडमा माईक्रोबसहरुले लामो 'विश्राम' गर्दिनाले 'लगौंटी सुरुङ्ग' को सृजना हुन्छ! यसरी खन्दै-नखनी सुरुङ्ग बनाउन यो पृथ्वीमा अन्त कतै पनि नसकिएकाले पोखराका माईक्रोहरुलाई जति बधाई दिए पनि कम हुन्छ।   

पोखराका अलि ठूला बाटाहरु पनि, सडक-ब्यापारले मिचेर, लगौंटीभन्दा ठूलो कदका छैनन्! चिप्लेढुंगाको ठूलो सडकको दुई तिहाईमा ब्यापार हुन्छ र एक तिहाईमा सवारी चल्छन्। ब्यापार गर्ने ठाऊँको रुपमा सडक निर्माण गर्ने कार्य अन्त होला-नहोला, तर मेरो विचारमा यो पनि पोखराले गर्व गर्न सक्ने एउटा ठूलो 'निधि' हो।

पोखरामा सवारीको चाप नराम्रो संग बढेको छ, त्यसैगरी बढेको छ फोहरको डंगुर पनि। पोखराले काठमाण्डौंको अनुभवबाट केहि पनि सिकेको छैन जस्तो छ। हुन पनि, अर्काको अनुभवबाट के सिक्नु?

देशको दोश्रो ठूलो शहर र प्रमुख पर्यटकीय स्थलले कतिञ्जेल लगौंटीका भरमा आफ्नो लाज छोपिराख्ने होला???

February 20, 2011

बिजुलीको कार्यक्रम र रातभरि बिजुली

नेपाल बसाईले मेरो ब्लगलाई 'शहीद' बनाईदेला जस्तो पो भयो बा:)  यस पटक त दश दिन पो कटीसकेछ!
----------------------------------------------------
हिजोको शनिवारको अघिल्लो शनिवार 'नेपाल विद्युत निर्माण व्यवशायी संघ, कास्की' को एउटा कार्यक्रममा सहभागी हुने अवसर मिलेको थियो। धेरै नयाँ कुरा जान्ने मौका मिल्यो। प्रविधिको एउटा पाटो-प्राविधिक विषयको प्राध्यापन-मा संलग्न मेरा लागि प्रविधिको अर्को पाटो-बजारमा 'चलिरहेका' प्रविधिहरुका बारेमा जान्ने अवसर थियो यो। 'नेपाल विद्युत निर्माण व्यवशायी संघ' केहि समय पहिला मात्रै गठन भएको रहेछ र देशका बिभिन्न जिल्लाहरुमा आफ्नो संगठन विस्तार गर्ने चरणमा रहेछ। 

विद्युत निर्माण व्यवशायलाई हाम्रो समाज र राज्यले अझै पनि सम्मानजनक ब्यबहार गरेको छैन। यसलाई सिभिल निर्माणको एउटा सानो भागको रुपमा मात्रै लिईन्छ। विद्युत निर्माण व्यवशायलाई गुणस्तरीय र प्रतिस्पर्धात्मक बनाउन आवश्यक पर्ने नीति-नियमहरु पनि बनेका छैनन् अझै। यो स्थितिलाई बदल्न र समाज र राज्यको नीतिगत तहमा विद्युत निर्माण व्यवशायलाई उचित र सम्मानजनक स्थिति दिलाउने दिशामा काम गर्न यो संस्थाको परिकल्पना गरिएको रहेछ। यो जान्न पाऊँदा साह्रै खुशी लाग्यो मलाई। कार्यक्रमको अन्ततिर आफूलाई दिईएको बोल्ने मौकामा मैले यसलाई आफ्नो पूर्ण समर्थन दिँदै जापानमा यस बारेमा देखेका/बुझेका केहि कुराहरु पनि राखेको थिएँ। 

आयोजक साथीहरुबाट कार्यक्रमका तस्बीर पर्खेर बस्दा-बस्दै आजसम्म आएन। तस्बीर हात परेका भए अलि पहिल्यैनै यसको बारेमा लेख्थें पनि होला शायद।

दिनको १४ घण्टा लोडशेडिङ्ग खप्नुपर्ने स्थिति एकातिर, बिजुलीसम्बन्धी कार्यक्रमहरुमा सहभागिता अर्कोतिर! जिन्दगी यतिखेर यस्तै विरोधाभाषहरुको संयोग बनेको छ:)
----------------------------------------------------------
गत बुधवारको झरीमय दिन बिहानै अपर्झट काठमाण्डुतिर लाग्नुप-यो। त्यो दिन अचम्मै भयो, रातभरि बत्ती गएन! एक मनले सोच्यो, झरीले गर्दा कुलेखानी भरिएछ कि क्या हो! तर अर्को मनले भन्यो, त्यस्तो जाबो रुञ्चे झरीले पनि कुलेखानी भरिन्छ? बत्ती नगएको कारण सोच्दा-सोच्दै निद्रा भने राम्रो परेन:) पछि सुनेअनुसार त्यो दिन औद्योगिक मजदूरहरुले हडताल गरेकोले उद्योगधन्दामा बिजुली खपत नभएपछि जनताका घर-घरले उज्यालो हुने सौभाग्य पाएका रे! कुरो हो कि होईन रामजाने, नभए प्राधिकरणले जाने!

भोलिपल्ट बिहानबाट त फेरि शुरु भईहाल्यो 'तालिकाबद्ध आतंक'। चिप्ले ढुंगो, उहि टुंगो!

February 10, 2011

'भाग्यमानी' ठाऊँ पनि हुँदा रहेछन्!

अस्ति शनिवार एउटा पारिवारिक भेटघाटको क्रममा पर्वतको कुश्मा पुगिएको थियो। लोडशेडिङ्ग आतंकको डोज बढेर १४ घण्टा पुग्ने खबरले कान 'पवित्र' भईसकेको थियो, र यसैले स्वाभाविक रुपमा कुरो त्यतै मोडियो। कोठाभित्र टिभी बजिरहेको सुनेपछि मोडिएको थियो कुरो।

"आज यहाँ कति बजे बत्ती जाने हो?"
"यहाँ बत्तीनै जाँदैन।"
"ए, हो र! किन नि?"
"मोदी प्रोजेक्ट यहि जिल्लामा छ, त्यहि भएर।"
"ए, हो र!"
"-- यहाँमात्रै होईन, लगभग पूरै धौलागिरि अञ्चलमै लोडशेडिङ्ग छैन।"

हाम्रो कुरो टुंगियो। पछि अर्को ठाऊँमा अरु कोहिसंगको गफगाफमा यो कुरो उप्कियो। "स्याङ्ग्जामा पनि त्यस्तै छ, लोडशेडिङ्ग हुँदैन। कालीगण्डकी प्रोजेक्ट त्यतै भएकोले----" यस्तो तर्क सुनियो। बाँकी परियोजना रहेका जिल्लाहरुमा पनि यस्तै होला।

राज्य (वा प्राधिकरण) को घोषित नीति त्यस्तो होला-नहोला, तर हाम्रो देशको चलन भने त्यस्तै हो। 'लोकल' दादागिरि गरेर यस्ता 'सुविधा' लिने चलन छ। कुनै ठाऊँमा एउटा परियोजना शुरु हुन आँट्यो भने 'लोकल' दादागिरिका भरमा त्यो ठाऊँका 'सक्ने' हरुले रोजगारीदेखि अनेक सुविधाहरु लिन्छन् र त्यतिमात्रै नभएर चाहिने-नचाहिने, सकिने-नसकिने अनेकौं माग राखेर परियोजनाको खर्च र समय दुबैलाई रबरजस्तो तन्काईदिन्छन्।

परियोजनाको निर्माण अवधिमा केहि सुविधा लिने कुरालाई एक हदसम्म जायजै मान्न सकिएला, तर कुनै परियोजना विशेष त्यो जिल्लामा परेकै भरमा देशका अरु भेगले भोगिरहेको 'अन्धकार' त्यो जिल्लाले भने भोग्नु नपर्ने कुरो भने मेरो मनले कुनै हालतमा हजम गर्न सकेको छैन। परियोजना त्यो जिल्लामा परेपनि लगानी त पूरै देशले गरेको होईन र? त्यो परियोजनामा देशका हरेक जिल्लाका, हरेक गाऊँ-शहरका जनताको पसिनाको बराबरी अंश परेको हुन्छ। 

त्यसकारण लोडशेडिङ्ग ती जिल्लाहरुमा पनि हुनुपर्छ। यसरी भाग लाग्दा देशभरिको लोडशेडिङ्गको अवधिमा आधा घण्टा-एक घण्टाजतिको कमी आउन सक्छ। पाँचै मिनेटको कमी पनि ठूलो हुनेछ।

देशका कुनै पनि भागले कहिल्यै लोडशेडिङ्गको मार खप्नु नपरोस्, तर पर्दा सबै भागले बराबरी अंश लिनैपर्छ। यस्ता जिल्ला विशेषमा प्राकृतिक संयोगवश परियोजनास्थल परेका हुन्। यसैलाई ती जिल्लावासीको कुनै 'महान त्याग' र योगदान मान्न मिल्दैन। मान्नेनै हो भने पनि, देशका अरु भागले पनि अरु कैयन क्षेत्रमा धेरै योगदान दिएका हुन्छन्, तिनलाई चाहिँ किन अन्धकार आतंकको बन्दी बनाउने??

February 04, 2011

TALKING MINDS - एउटा सानो चाँदीको घेरो

गत सोमबार एउटा कार्यक्रममा सानो प्रस्तुति दिने अवसर मिल्यो। म कार्यरत क्याम्पसमा अध्ययनरत केहि विद्यार्थीहरुको समूह TALKING MINDS ले "Future of Computing and Power Engineering" नाम दिएर एउटा कार्यक्रमको आयोजना गरेको थियो र सहकर्मी प्राध्यापक साथी शालीक राम सुबेदीले "Future of Computing" र मैले "An Overview of Power Engineering" शीर्षकमा प्रस्तुति दिएका थियौं। विद्यार्थीहरुको सहभागिता उत्साहजनक थियो र हरेक प्रस्तुतिपछि उनीहरुले अत्यन्त सामयिक र स्तरीय प्रश्नहरु पनि उठाएका थिए। TALKING MINDS को यो कार्यक्रमका माध्यमबाट जिज्ञासु विद्यार्थीहरुसंग एउटा गतिलो सम्बाद गर्न सकेकोमा ज्यादै खुशी लागेको छ। 

TALKING MINDS लाई मेरो हार्दिक धन्यबाद! 
 
TALKING MINDS; म नेपाल फर्केपछि-आफ्नो पूरानो अड्डामा प्राध्यापनमा फर्किएपछि साक्षात्कार हुन पाएको एउटा फरक संरचना हो। यो मैले यी केहि महिनामा झेलेको निरन्तरको नाकारात्मकताको बाढीभन्दा बिल्कुलै फरक एउटा सकारात्मक संरचना हो। म यसलाई यतिखेर आफ्नो वरिपरि देखिरहेको घोर कालो बादलको छेऊमा रहेको एउटा सानो चाँदीको घेराको रुपमा लिन्छु। यतिखेर देशका हरेक संरचना र तिनका गतिबिधिलाई देशमा जारी कुराजनीतिले गाँजेको छ, तर TALKING MINDS त्यो कुराजनीतिको प्रभावबाट मुक्त रहेछ। यो विशुद्ध रचनात्मक कामहरुमा समर्पित रहेछ।

११ जना रचनात्मक सोच र उर्जा बोकेका विद्यार्थीहरुद्वारा २०६५ सालमा स्थापित TALKING MINDS हालसम्म क्याम्पसमा थुप्रै पटक यस्ता कार्यक्रमहरु र अन्य गतिबिधिहरु सञ्चालन गरीसकेको रहेछ। 

TALKING MINDS जस्ता समूह/संरचनाहरुको महत्व हाम्रो समाज र युवा-समुदायका लागि झन्-झन् बढ्दैछ। लामो समयदेखि हाम्रो देश युवाहरुको उर्जालाई मूढे बल र हिँसामा परिणत गरी त्यसको भरमा सत्ता र सडकमा आफ्नो राज बनाउने सोचबाट परिचालीत नेता र दलहरुको हातमा परीरहेको छ। युवाहरुको उर्जालाई सकारात्मक दिशातिर लान राज्य र दलहरुले माखो पनि नमारेको अवश्था छ। यो स्थितिमा देशका युवाहरु आफैंले आफ्नो उर्जा र क्षमतालाई बुझी आफूलाई यसैगरी सकारात्मक सोचयुक्त संरचनामा बदल्नु जरुरी छ। 

TALKING MINDS का सबै CREATIVE MIND हरुलाई ब्यक्तिगत र पेशागत जीवनमा सफलताको लागि मेरो शुभेच्छा!