Showing posts with label तस्बीर कथा. Show all posts
Showing posts with label तस्बीर कथा. Show all posts

January 20, 2013

छिमेकीहरु

घरसंगै एउटा सल्लाको रुख छ। यो सल्लाको रुख हाम्रो सबैभन्दा नजिकका 'छिमेकी' मध्ये एक भएपनि खासै वास्ता गरिएको थिएन पहिला। एक‍-डेढ महिना पहिलेबाट भने यसमा खुब ध्यान जान थालेको छ, यहाँ बिहान देखिने एक बथान लाटोकोसेराहरुका कारण।

हरेक बिहान एउटा हाँगामा लाटोकोसेराहरु जम्मा हुन्छन्। जम्मा हुने क्रम घाम उदाउनुभन्दा केहि पहिलेबाट शुरु हुन्छ र उनीहरु त्यहाँ साढे आठ-नौ बजेसम्म रहन्छन्। 'सुत्नु' अगाडि घाम तापेर ज्यान तताईरहेका होलान् उनीहरु। बढीमा सातवटासम्म देखिएका छन् अहिलेसम्म। यिनीहरु त्यसरी लहर लागेर घाम ताप्न बसेको देखेपछि रुखलाई नियाल्दा के देखियो भने सबैभन्दा खुल्ला हाँगा यहि रहेछ, अरु हाँगाहरु सबै खासै घाम नपर्ने गरी छेकिएका रहेछन्। 

अचेल, यी लाटोकोसेराहरुको दर्शन गर्नु हाम्रो परिवारको नित्यकर्म बनेको छ। हरेक बिहान उठेपछि 'आज बसेका छन् कि छैनन्?' र '---- कतिवटा छन् होला?' भन्ने कौतूहलले डोर्याएर हामीलाई घरको करेसामा पुर्याउँछ। यिनीहरुले लहर लागेर घाम तापीरहेको देखेपछि नजाने किन मन ढुक्क र प्रफुल्लित हुन्छ। यदाकदा कुनै एक वा दुई छुट्टिएर अरु हाँगामा बसेको देख्दा नरमाईलो लाग्छ र 'किन झगडा पर्यो होला यिनीहरुको आज?' भन्ने प्रश्न आऊँछ मनमा। 

यिनीहरुमध्ये धेरैचाहिँ हलचल नगरी घामतिर फर्किएर 'तपस्यारत' हुन्छन्, दुईटा भने अलिक चनाखा र सकृय देखिन्छन्। मान्छे वा अरु चराचुरुंगीहरिुको आवाज आउनासाथ सतर्क र सजग बन्छन् यी। माऊ होलान् शायद यी। तपाईँपनि चिनजान गर्नुस् हाम्रा यी 'छिमेकी'हरुसंगः) 


November 11, 2012

बन्दीपुरको वास

गएको सप्ताहान्त (शुक्रबार, कार्तिक १७) बन्दीपुर पुगियो वास बस्न।

लाज लाग्छ, एक हप्तापछि बल्ल ब्लगमा लेख्दैछु। दोषी अलिअलि फेसबुक हो र धेरैचहिँ मै हुँ।

बन्दीपुर पुगेको यो पहिलोपल्ट हो, तर आधा बाटोमा पुगेको चाहिँ दोश्रो पटक।

२०५७ को फागुनको अन्तताका हुनुपर्छ, अरु दुई जोडी साथीहरुका साथ हामी मनकामना गएका थियौं। जान पनि तालले गईएको थियो! एकजना साथीले एउटा मिनि टाटाको ब्यवश्था गरेका थिए। त्यसको पछाडिपट्टि तीनतिर टाटले बारेर, भूईँमा टाट र कुशनमाथि बसेर गईएको थियो। ब्यवश्था गर्ने साथी अगाडि ड्राइभरसंग र अरु पाँचजना पलेंटी मारेर पछिल्तिर।

मनकामनाबाट फर्कँदा बन्दीपुरपनि जाने कुरो भयो। उकालो के लागिएको थियो, बाटोमा कुईरीमण्डल धूलो उडेर हैरान। त्यतिखेरसम्म बन्दीपुर उक्लने बाटो पीच भईसकेको थिएन। अगाडि बस्ने साथीलाई त केहि भएन तर पछाडि बसेका हामी भने मान्छे नचिनिने गरी धूलोले ढाकियौं। अनि बीच बाटोबाटै फर्किईयो। अलिक यता राजमार्गको एक ठाऊँमा आएर धूलो टक्टकाईयो र हात मुख धोईयो। अचेल कहिलेकाहीँ भेटघाट हुँदा सम्झेर हाँस्ने एउटा बहाना बनेको छ यो प्रसंग।

त्यसपछि पचासौं पटक काठमाण्डौं-पोखरा ओहरदोहर गरियो होला तर बन्दीपुर पसिएको थिएन। यसपालि एकरात बिताउने योजना बनाईयो अपर्झट।

नाम चले अनुसारकै अत्यन्त सुन्दर रहेछ बन्दीपुर। गाडी निषेधित र सफासुग्घर बन्दीपुरको पुरानो बजारमा बसेर एकैपटक इतिहास र वर्तमानसंग साक्षात्कार हुन सकिन्छ। स्थानीयबाट बुझे अनुसार काठमाण्डौं उपत्यकाबाट ११०० वर्ष पहिला नेवार ब्यापारीहरु आएर बस्ती बसाएका रहेछन्। बन्दीपुरको समृद्ध इतिहासलाई देखाऊँछ बजारले। २०२५ सालसम्म यो पश्चिम नेपालको एउटा प्रमुख ब्यापारिक र राजनीतिक केन्द्र थियो। ठूलो विवादका बीच २०२५ सालमा तनहुँको सदरमुकाम यहाँबाट दमौली सारिएपछि बन्दीपुरको स्थिति खस्किएको रहेछ। त्यसपछि त्यहाँका धेरैजसो ब्यापारीहरु नारायणगढ र राजधानीतिर भास्सिएपछि बन्दीपुर सूनसान भएछ। स्थानीयहरुको भनाई अनुसार २०३८ सालसम्म त बन्दीपुर एउटा परित्यक्त खण्डहरजस्तै लाग्थ्यो। त्यसपछि शिक्षा क्याम्पस, नोट्रडेम स्कूल आदिको आगमनसंगै बन्दीपुरले पुनर्जीवन पाउन थालेको रहेछ। अहिले यसले आन्तरिक र बाह्य दुबैथरी पर्यटकका लागि यो एउटा लोकप्रिय गन्तब्यको रुप लिँदैछ। नयाँ-नयाँ पदयात्रा मार्गहरु र प्याराग्लाईडिङ्गले पनि यसको आकर्षणमा बृद्धि गरेका छन्। बन्दीपुरले फेरि समृद्धि हासिल गर्दैछ र यसको भविष्य निश्चय पनि एकदम उज्यालो देखिन्छ।

हामी जाँदा पनि विदेशी पर्यटकहरुले भरिभराऊ थियो बन्दीपुर। नेपालीहरु पनि देखिन्थे धेरैनै। साँझ परीसकेपछि पुगेका हामी पुरानो बजारमा केहि बेर टहलिएर खाना खायौं। भोलिपल्ट बिहानै थानीमाई देवीको मन्दिरसम्म उक्लिएर फाँट-पहाड हुँदै हिमशृंखलासम्म अग्लिएको देश दर्शन ग-यौं। डुम्रे बजार र अरु बस्तीहरु बादलले छोपिएका थिए बिहान। अकाशिँदै आँखाले नभ्याउने गरी फैलिएका हिमालहरु हेरेपछि मन त्यसै-त्यसै आल्हादित हुन्छ। एउटा अतीव अवर्णनीय आनन्दले भरिन्छ मन। 

तल झरेर खाजा खाएपछि खड्गमाईको मन्दिर परिसर घुमेर पोखरा फर्किईयो।

यति सुन्दर बन्दीपुरमा एक रात वास बस्दैमा धीत मरेको पक्कै छैन। फेरि फेरि बन्दीपुरसंगको भेटघाट चलीरहनेछ।









नेपाल भन्ने देश यसै पनि स्वर्ग हो, तर यो फोटोग्राफरका लागि भने झन् महास्वर्गनै हो। यसैले कतै घुम्न जाँदा एउटा गतिलो क्यामेरा र फोटोग्राफीको थोरबहुत सीपचाहिँ हुनैपर्ने लागेको छ अचेलः)


    

February 27, 2012

शहरका केहि क्षणहरु

पीच सडकमा दौडने शहर र पुलमुनि 'सुत्ने' शहर। 


 अघि पोलमा टाँसिएको नारा पढीरहेका पुलमुनिको शहरका एक 'नागरिक', नारा पढीभ्याएर सुत्न फर्कीएका छन्। तिनको मनमा-मुखमा नेताहरुका विरुद्ध एक आमाचकारी गालीनै छ भन्ने कुरामा म उनान्सय प्रतिशत निश्चित छु।

अर्को एक क्षणमा पुलमुनिको शहरका दुई बासिन्दा यसरी डेण्ड्राईट सुँघेर आफ्नो भोक-रोग-शोकलाई मेटिरहेका थिए।
 
आकाशे पुल छँदाछँदै त्यसको प्रयोग नगरी ब्यस्त सडकबाटै वारीपारी गर्न खोज्नेलाई ट्राफिक प्रहरीले समातेर दुई घण्टा यस्तै 'खोर'मा राख्न थालेको छ अचेल। पचास रुपियाँ जरीवाना पनि गर्छ क्यारे।


पुलमुनिको शहरको एउटा परिवारको भान्सा पनि तयार हुँदैछ अर्को एक क्षणमा। 'खोर'मा नयाँ बसिन्दा आईपुगेका छन्।

पुलमाथि हिँड्ने शहर, पीचमाथि दौड्ने शहर भने यस्तो innovative छ! कस्तो होला यो 'कम्प्युटर चूल्हो? कहिल्यै ग्याँस भर्नु नपर्ने भनिएको छ, के ले बल्ने होला? हाम्रा गाऊँघरका चूल्हामा पनि कहिल्यै ग्याँस भर्नु पर्दैन, त्यहि हो कि?


शहरमा स्कूल-कलेज गएर पढ्न महंगो छ, तर सोझै 'विशेषज्ञ' बन्न भने साह्रै सस्तो छ। यति सजिलै पाईन्छ थेसिस:)


यो शहरको पार्कमा पनि भिड पसेको छ, बजार बसेको छ। साला यो शहरले सास कसरी फेर्छ हँ???????