December 08, 2009

एमालेको सातपुस्ते श्राद्ध

नेपालीमा एउटा Politically incorrect उखान छ; "लूटको धन, फुपुको श्राद्ध" भन्ने (आईमाई भएकै कारण फुपुलाई हेपिएको हो, नत्र फुपु र काका-ठूलाबामा केहि फरक छैन।)। यसलाई अलि मिलाएर "अपुतालीको धन, सात पुस्ताको श्राद्ध" बनाउने अनुमति चाहन्छु। "अपुतालीको धन, सात पुस्ताको श्राद्ध" अहिलेको माकुने सरकारलाई सबैभन्दा सुहाउने विशेषण र यसको समग्र मूल्यांकन हो।

दिल्ली, न्यू योर्क आदि पछि यस्तै सात पुस्ते श्राद्धहरुको अर्को चरण पूरा गर्न अहिले माकुने जम्बो-टोली लिएर कोपनहेगन पुगेका छन्। प्रधानमन्त्रीले जम्मा तीन मिनेट मात्र सम्बोधन गर्न पाउने 'जलवायु सम्मेलन' मा नेपालका धेरै भ्रष्ट नेता र कर्मचारीले देशको धनको श्राद्ध खाएर डकारेर र पाधेर 'वायु' फाल्न पाउने भए। मन्त्रीपरिषद सचिवालयकै एक वरिष्ठ अधिकारीले प्रम र पाँचजना सरकारी अधिकारी बाहेक अरुको काम छैन भनेर सल्लाह दिँदा-दिँदै पनि पाँच दर्जनभन्दा बढीको जन्ती लिएर कोपनहेगनमा के गर्ने हो कुन्नि? नेपालमा जस्तो नारा-जुलुश गर्न र टायर बाल्न त पाईन्न होला त्यहाँ! थुक्क माकुने सरकार!

तर्क पनि कस्तो काईते! जानु-नपर्ने जो-जो अन्मरिएका छन् तिनको खर्च दाताले हाल्दिने रे! 'हामीले हाल्दिने भनेको नेपाललाई सहयोग दिन भनेर छुट्याएको पैसाबाटै हो' भनेर दाताले भनिसकेका छन्। त्यो  त देशलाईनै दुहेको भएन र? त्यसमा पनि अनेक सुबिधाका नाममा चालू बजेटबाटै पनि कति पैसा निकाल्ने होलान्।

माकुने सरकारको चाला ससुरालीको अकूत सम्पत्ति अपुतालीमा आईलागेको कुनै निकम्मा स्वाँठको जस्तो छ, अपुतालीमै आईलागेको सरकार भएर होला।

गाऊँघरमा यस्तै अपुतालीमा आईलागेको सम्पत्तिका कारण मात्तिएर भैंमा न भाँडामा भएका मान्छे देखिन्छन् धेरै। कहिलेकाहीँ चाहिँ अपुतालीमै सम्पत्ति आईलागेपनि नमात्तिई त्यो सम्पत्तिको सदुपयोग गर्ने र अरु थप्ने पनि देखिन्छन्। सोझा एमाले समर्थक मित्रहरुले आफ्नो दलको नेतृत्वको सरकारले पछिल्लो बाटो लिने आशा गरेका थिए होलान्, तिनीहरुसंग अब आत्महत्याभन्दा राम्रो विकल्प छैन शायद।

आफूलाई जम्बो-जेटभन्दा घटी नठान्ने एमालेलाई संविधान-सभाको चुनावले तीस सिटे मिनिबस बनाईदियो। माओवादीले हतारिएर सरकार छोड्नाले र कांग्रेसले अप्रत्याशित रुपमा कथित 'उदारता'  देखाएर 'निगाह बक्स' गर्दिनाले एमालेको तालुमा आलु फल्यो। अवसर जसरी आएको भए पनि एमालेका लागि यो सुनौलो अवसर थियो, नेपाली समाजमा तिब्र गतिले स्खलित भईरहेको आफ्नो छविलाई सुधार्ने र भावी दिनका प्रतिष्पर्धाहरुमा आफ्ना लागि अलिक ठूलो आकारको निश्चितता गर्ने।

तर एमालेको सरकार लाग्यो सातपुस्ते श्राद्ध गर्न!

यो सरकारका कोहि मन्त्री त बिहारको आफ्नो सुसराली गएर आउन पनि राज्यकोषमा आँखा गाड्दा रहेछन्।

आफूलाई 'खाँट्टी' र 'कट्टर' एमाले भन्ने एक-दुई मित्रहरुसंग कुरा भएको थियो यस बीचमा। यस्तो कुरालाई आफ्ना नेताहरुजस्तै उनीहरु 'गठबन्धनको बाध्यता' भनेर टार्ने कोशिश गर्दा रहेछन्। सबैलाई थाहा छ यो गठबन्धन सरकार हो र गठबन्धनका आफ्नै सीमा हुन्छन्, तर त्यहि निहुँमा सीमाहीन ढंगले कुशाशन चलाउन पाईँदैन। अर्कोतिर, यो सरकारको नेतृत्व एमालेले गरेको छ त्यसकारण आम नेपालीको लागि यो 'एमाले सरकार' हो। अघिल्लो सरकार पनि गठबन्धन सरकार थियो र त्यसको नेतृत्व माओवादीले गरेको थियो, त्यसैले जनताको आँखामा त्यो 'माओवादी सरकार' थियो। अघिल्लो सरकारका कामहरुको जस-अपजस मूलत: माओवादीको भागमा गएजस्तै अहिलेको सरकारका कामहरुको जस-अपजस पनि मूलत: एमालेको हो। एमालेलाई आफ्नो भविष्यको चिन्ता छ भने गठबन्धनको निहुँमा थारो देशलाई दोहिरहनुभन्दा देशमा सुशाशन कायम गर्नेतिर लाग्नुपर्ने हो, तर के देखिन्छ भने भविष्यसंग एमालेवालाहरुलाई खासै चासो छैन।

गठबन्धन भन्दैमा सरकारमा सम्मिलित अरु दलले जे-जे भन्छन् त्यहि मान्नैपर्छ भन्ने छैन, तर यसका लागि नेतृत्व गर्ने दलमा पर्याप्त नैतिक बल हुनुपर्छ। कोपनहेगनकै प्रसंगमा पनि एमालेले आफ्ना हनुमानको संख्या आधा घटाएको भए अरु पनि त्यसै गर्न बाध्य हुन्थे। यसरी कोपनहेगनमा डकार्न र पाध्न जानेहरुको संख्या पाँच जनामै नझरेपनि बीस-पच्चीसमा सीमित हुन्थ्यो होला। यो कुरा मन्त्रीमण्डल बनाउने देखि लिएर सबै सरकारी कामकाजमा लागु हुन्छ, नेतृत्वले त्याग देखाउन सक्नुपर्छ पहिला, त्यसपछि अरुले पनि त्याग गर्छन्। तर विगतमा पञ्चहरुलाई टाउकामा चढाउने कुसंस्कारको शुरुवात गरेको र डलरखेतीवालाहरुको दबदबामा आफैं पूर्ण रुपमा एनजीओ बनिसकेको एमालेबाट गतिलो कुराको आशा गर्नु बेकार रहेछ।

हातका चुरा बजाएर माकुने सरकारलाई हल्लाउने सुजाता र करीमा अनि माकुने सरकारबाट 'राजकीय' सम्मान पाउने ऋषि धमलाका कुरा त मलाईभन्दा बढी तपाईँलाईनै थाहा होला:)

संविधान सभाको चुनावले के देखाईसकेको छ भने एमालेसंग टेक्ने भुईँ र समाउने हाँगा एकदम कम बाँकी  छ। माओवादीसंग नयाँ राजनीतिक शक्ति हुनुको लहर छ, मान्छेहरुमा उसप्रतिको आकर्षण अझै कम भईसकेको छैन। अर्कोतिर, कांग्रेसको आफ्नो बर्गीय आधार त्यति भत्किसकेको छैन। त्यसैले एमाले जति कुबुद्धिग्रस्त र गोल्खाडी हुँदै जान्छ, त्यति यसलाई छोडेर एकथरी माओवादीतिर लाग्नेछन्, अर्कोथरी कांग्रेसतिर।

एमाले सरकार सुशाशनभन्दा पनि यस्ता सातपुस्ते श्राद्धहरुमै रमाईरहेको देख्दा एउटा कुरा ठोकेर भन्ने स्थितिमा आईपुगेको छु म, आफूलाई जम्बोजेट ठान्ने एमालेलाई संविधान-सभाको चुनावले तीस सिटे मिनिबस बनाईदियो, अबको चुनावमा यो चार सिटे ट्याक्सी बन्नेछ।

बार-बार अवसर पाईरहने दलले सधैं उहि भ्रष्ट चाला देखाईरहने हो भने त्यो दलको पतन अनिवार्य छ। त्यस्ता दलको पतनपछिनै नयाँ राजनीतिक शक्तिको उदय हुन्छ।

एउटै चिन्ता के हो भने, दलहरुले यसरी बारम्बार आफूलाई बलात्कार गरिरहेपछि नेपाली जनतामा लोकतन्त्र, राजनीति र राजनीतिक प्रकृयाप्रतिनै मोहभंग हुनसक्छ। देश र समाजका लागि त्यो साह्रै दु:खलाग्दो सम्भावना हो। युवापुस्तामा "राजनीतिलाई घृणा गर्छु!" भन्नेहरु बढ्दै जानु त्यहि सम्भावनाको लक्षण हो।

24 comments:

  1. leknu bahyeko kura ta ekdum sahi ho! yethartha pani yehi ho! tara bhasa ko prayog chai malai man parena hai!yeslai ali ramra sabda haru prayog garera pani lekhna milthyo ki!

    ReplyDelete
  2. कोपन्हेगन सम्मेलनको निहुँ बनाएर नेकपा (एमाले)को खनिखोद्रो गर्नु भएछ। त्यो तपाईं को बिचार होला तर यस्मा मेरा केही प्रतिकृया ब्यक्त गर्ने अनुमती चाहन्छु । प्रथमत तपाईंको भाषा अतिनै क्षुद्र भयो, बाबुराम भट्टराईलाई नै माथ गर्नु भएछ । एउटा सभ्य ब्यक्तीलाई यती तुच्छ भाषा प्रयोग गरेको सुहाएन । निश्चयनै त्यत्रो टोली लिएर जानु जनताको पैसा सिध्याउनु हो , त्यसमा दुई मत हुन सक्दैन। तर यस बिषय लाई लिएर सात पुस्ता देखिको रिस पोख्नु कहाँ सम्म जायज हो ? सपरिवार बिदेश सयर गर्ने प्रचन्ड,जनताले नुन खान नपाउँदा २ करोड सिध्याउने गिरिजा र जम्बो टोलीमा पैसा सक्ने माकुनेमा मैले त केही अन्तर देखेको छैन । जहाँसम्म काँग्रेसले 'निगाह' गरेर एमाले सत्तामा पुगेको कुरा गर्नु भएको छ,त्यो निगाह हैन,प्रथमत, गिरिजाको सुजातालाई माथि ल्याउने रणनिती हो । दोश्रो, गिरिजालाई चलाऊन सक्छु भन्ने हिम्मत भएको भए साँढेले जस्तो कुर्सी ओगटेर बस्ने गिरिजाले छोड्ने थिए होलान? हो,एमालेले गर्ने जती गरेको छैन तर यसै कारण एमाले सकिन्छ भन्नु बिक्षीप्त मानसिकताको उपज मात्रै हो । झिँगाले सराप्तैमा डिँगो मर्दैन,चेतना भया !!

    ReplyDelete
  3. Theekse samajh nahee payee...lekin is bhashaka apna aakarshan hai, jo, padhtee chali gayi!

    ReplyDelete
  4. म एक ताका भन्ने गर्थे कि कांग्रेस बाट कोहि एमाले जाउन कोहि माओबादी मा जाउन.. अचेल म भन्ने गर्छु एमाले बाट कोहि कांग्रेस मा जाउन कोहि माओबादी मा जाउन.. मन एउटा मा तन अर्को मा किन ? कि कसो त माकुने ज्यु ? ;)

    ReplyDelete
  5. यो अती नराम्रो कुरा हो र भ्रस्टचार हो । यो कसले गर्यो ‍भन्दा पनि सस्कार को कुरा पर्‍यो यो । बिचरा माकुने अब अरुलाई नलैजाउ पद गुम्ने डर, बरु सबैले एकचोटी मात्र पनि सहयोग गरेर मौका दिएर त हेरौ । प्रचन्ड ले पनि नौ महिना को मौका पएकै थिए । कसैले बिरोध गरेका थिएनन तर के गरे आफ्नै सेरेफेरो र नातेदार मात्रै घुमाउन लगे, हत्केलामा राखेर बचाएको ज्यान, फाईदा मा छ लुत्नु पर्छ, मोज गर्नु पर्छ जस्तो गरे। माकुने ले त एक्दिन्को पनि समर्थन पाएनन . एमाले छोडेर अरुतिर जाने हरु अवसर बादी हरु जहाँ गये पनि फाईदा को लागि जान्छन न कि कुबुद्दी देखेर छोड्छन, कुबुद्दी त आफ्नै भाईहाल्यो नि किनकी अहिले त एमाले मानै छन नि ? होइन र ?

    ReplyDelete
  6. 'सरकारको नेतृत्व गर्नु' जनमत आफ्नो पक्षमा ल्याउन सुनौलो अवसर थियो नेकपा एमालेलाई । तर त्यसलाई सदुपयोग गर्न सकेन पार्टीले यो दुर्भाग्यको कुरा हो । आगामी निर्वाचन एमालेको लागि कठिन छ यसमा दुईमत छैन । तर जुन प्रसंगको चर्चा गरेर पार्टी अस्तित्वमाथि नै शंका गरिएको छ त्यसमा थोरै चित्त नवुझेको चाहिँ पक्कै हो ।यो त परम्परा भैसक्यो नेपाली राजनितिमा । जसको सरकार आउँछ उसैले आफ्ना हनुमान खुसी पार्ने । माओवादीको सरकारमा पनि यस्ता घटनाहरू नौला भएनन् । कांग्रेको पालामा झन् कतिवटा काण्ड भए सवैलाई सर्वविधितै छ । लेखमा जुन प्रवृतिको चर्चा गरिएको छ त्यसमा हामी सवैको एकमत छ । यस्तो अभ्यासमाथि ठुलै वैचारिक लडाईको आवश्यकता पनि देख्छु म । तर यो चिन्तनको, यो परम्पराको अनि प्रवृतिको नेकपा एमाले मात्र एक्लो भागिदार चै पक्कै पनि होईन ।

    ReplyDelete
  7. वसन्त सर, खरा शब्दमा साह्रै चित्तबुझ्दो लेख पस्किनुभएको छ। हगुवालाई हगुवा र पधुवालाई पधुवा भन्दा भाषा तुच्छ भयो भन्नेहरुदेखि त मलाई एक हिसाबले टीठ नै लाग्छ। अरे बाबा, प्रचन्ड, गिरिजा, माकुने जोसुकै भए पनि गलतलाई गलत भन्न लाज नमानौँ न। एउटाको गल्ती देखाएर अर्कोलाई चोखो बनाउन कदापि सकिँदैन। झिँगाको सरापले डिँगा त मर्दैन तर हुट्टिट्याउँले आकाश थाम्न खोजेर पनि थामिँदैन शायद!

    ReplyDelete
  8. मलाई त यिनिहरुको बारेमा बोल्नै आउँदैन , बोल्ने कुरा मध्ये केहि राम्रो भए पो आउनु ? जति सोच्यो यिनिहरुको बारेमा उति आफ्नो रीसको पारो चढ्छ । क्रमश राजनीतिबाट मोहभँग हुँदै जाने सूचिमा धकेलिँदैछु म त ।

    ReplyDelete
  9. बसंतजीले खरो लेख्दा बाद/प्रतिबाद गर्दै अनौठा प्रतिक्रियाहरु आएको देख्छु | कतिपय पात्रहरु गुमनाम बनेर पौंठे-जोरी खेल्दै निस्केको देख्दा रमाइलो पनि लाग्छ| अस्तिको 'अगुल्टो' नरुचाउनेहरु अहिलेको 'श्राद्ध' पढेर मक्खै होलान | तर 'अति' भने कसैले गर्न हुन्न नि, न सरकारले न विपक्षले |

    ReplyDelete
  10. नेपालमा ३ "ठुला" पार्टी अलि बढी नै भयो जस्तो छ । दुई भए शायद अहिलेको भन्दा अलि राम्रो होला कि ?

    ReplyDelete
  11. सही लेख। मलाई चाहि दिक्कनै लागेर आउछ यो नेता र पार्टीको चाला देखेर। कान आखाँ तथा सम्पुर्ण ईन्द्रियहरु बन्द भएका मान्छेहरु हुदाहुन सायद नेताहरु।।।

    ReplyDelete
  12. सबैलाई हार्दिक धन्यबाद!

    अर्चनाजी, तपाईँको प्रतिकृया पाएपछि मैले पूरै दोहोराएर हेरें र एक ठाऊँमा कुनै समूह विशेषलाई हेपिएको जस्तो लाग्नसक्ने हरफलाई सच्याएँ। तितो सत्यलाई तितो शब्दमा लेख्दा अलिक बिझाउनु स्वाभाविक हो तर हाम्रा नेता र दलहरुका प्रसंगमा त यत्तिको पनि भद्रनै लाग्छ मलाई त।
    तपाईँको सुझावको लागि भने धेरै आभारी छु।

    अधिकारीजी, तितो कुरालाई तितै शब्दमा ब्यक्त गरिनुपर्छ र यसलाई तपाईँ छुद्रता भन्नुहुन्छ भने मेरो भन्नु केहि छैन। प्रचण्ड सपरिवार विदेश गएका थिए भनेर माकुनेको जन्तीको बचाऊ हुन सक्दैन। तपाईँ सबै उस्तै हुन् पनि भन्नुहुन्छ, फेरि माकुने सरकारको गलत कामको विरोध सुन्दा तपाईँको पारो पनि चढ्छ। अलिक विरोधाभाष देखें मैले यहाँ:)
    गिरिजाले दुई करोड 'उडाएको' भन्नुभयो, त्यो दुई करोड दिनेचाहिँ माकुने सरकारनै होईन र? अर्को कुरा, सुजाता वा कुजाता जसलाई माथि ल्याउन कांग्रेसले ठाऊँ छोडेको भएपनि त्यो एक हिसाबको 'निगाह' नै हो। सबैभन्दा ठूलो दल माओवादीले छोडेपछि दोश्रो ठूलो दलको हिसाबले कांग्रेसले नेतृत्वको दावी गर्दा एमालेसंग बोल्ने कुरा त्यति धेरै हुने थिएन।
    तपाईँ कुन तहको एमाले हुनुहुन्छ मलाई थाहा भएन, तर एमालेको भविष्यप्रति चिन्तित हुनुहुन्छ भने अरुले गरेको विरोधलाई सकारात्मक रुपमा लिएर आत्मचिन्तन गर्ने बानी बसाल्नुस् र मौका पर्दा आफ्ना नेताहरुलाई खबरदारी पनि गर्नुस्। माओवादीको घोषित उद्देश्यसंग गम्भिर असहमति भएका कारण यो सरकारको सफलताको कामना गरेको थिएँ मैले शुरुवाती दिनहरुमा तर एकपछि अर्को पत्रु चाला देखाउन थालेपछि यसको भूतलाई मैले वा अरु कसैले काँधमा बोकेर बसिरहनुपर्छ भन्ने छैन।
    यो प्रसंग बाहेक एमालेको नेतृत्वको सरकार दूधले नुहाएको पनि होईन, यसका कर्तुत र अकर्मण्यताको लामो फेहेरिस्त बनिसकेको छ। सरकार बने यता दिनदिनैका पत्रिकाहरु त पढिरहनुभएकै होला।
    झिंगाको सरापले डिंगा मर्ला नमर्ला त्यो बेग्लै कुरा हो तर के नभूल्नुस् भने डिंगा आधी मरिसकेको छ। एमालेवालाहरुले यस्तै ढोंग र अहं देखाईरहेभने पूरै मर्ने दिनपनि त्यति टाढा छैन। चेतना भया!

    क्षमाजी, यो नेपाली कुराकानी प-यो। क्षमा चाहन्छु।

    हावा ब्रो, माथि लेखमा राखेको छैन मैले तर एमाले, कांग्रेस वा माओवादीको फर्म्याटमा आफूलाई राख्न नचाहने र सबैलाई गुणदोषका आधारमा विश्लेषण गर्ने मान्छेहरुको जमात पनि छ। त्यो जमात सानो होला अझै, त्यो बेग्लै कुरा हो।
    ब्रोको प्रश्नको जवाफ दिन कुनै दिन माकुनेनै आउलान् यो ब्लगमा भन्ने आशा पनि गरेको छु:)

    मरासिनीजी, मौका दिने भनेको राम्रो काम गर्नको लागि हो। देशको सत्ता कुनै प्रयोगशाला त होईन नि, दुई-तीन वर्षमा राम्रो परिणाम आईहाल्ला नि भनेर कुर्नलाई। सरकारका हरेक निर्णयले लाखौं जनताको जीवनमा धेरै असर परिरहेको हुन्छ, त्यसकारण यहाँ 'पर्खौं र हेरौं' को अवधि लामो हुनै सक्दैन।

    अशेष भाइ, प्रसंग यो मात्रै होईन, लामै सूचि तयार हुनसक्छ, एउटैमा सबैलाई खाँद्नुपर्छ भन्ने छैन। जन्ती टोलीहरु नियमितता बनिसके, सुजाताको दासजस्तो बनेको छ सरकार, मन्त्रीहरु कर्मचारी कुट्दै हिँड्छन तर कारवाही हुँदैन, भारतीय ठकेदारहरुले ढुंगा ओसारेर जिल्लाका जिल्ला रित्याईसके, एमाले कार्यकर्ताहरु सार्वजनिक जग्गा र वन देख्नै हुँदैन पार्टीलाई चन्दा दिन्छन्, महंगी, भ्रष्टाचार र अपराधले झन् गति लिँदैछ-----। सूचि लामो छ भाइ!
    वैचारिक अभियानको आवश्यकता जरुर छ र यो अभियानमा भाइहरुजस्ता नवयुवाहरुको ठूलो भूमिका हुनसक्छ तर त्यो अभियान कुने पनि दल वा वादभन्दा माथि उठेको र पूर्वाग्रहरहित हुनुपर्छ।

    पन्थीजी, जस्तालाई तस्तै राखिदिँदा केहि साथीहरुलाई अभद्र लागेछ, यसमा हामीले गर्न सक्ने केहि छैन। तपाईँले एकदम ठिक कुरा गर्नुभयो, हुटिट्याऊँले थामेर पनि आकाश थामिँदैन।

    जडितजी, राजनीतिबाट मोहभंग हुने बाटोमा धेरैलाई हिँडाईसक्यो हाम्रो देशको राजनीतिले। देशको भविष्य सोच्दा यो राम्रो लक्षण होईन।

    चैतन्यजी, मलाई हाम्रो देश-समाजको एउटा ठूलो समस्या के लाग्छ भने स्वतन्त्र चिन्तन बोक्नेहरु र गुण-दोषका आधारमा दल र सरकारको मूल्यांकन गर्ने धेरै कम छन्। दलका समर्थकहरु आफ्नो दलको विरोध सुन्ने नसक्ने र अरुको खेदोमात्रै गर्ने मूढे छन्। कांग्रेसको कर्तुत औंल्याए माओवादी भनिईन्छ, माओवादीको कर्तुतको विरोध गरे एमाले बनिन्छ र एमालेको कर्तुतको विरोध गरे कांग्रेस भनिईन्छ। यो एउटा बिडम्बनानै हो।

    प्रज्वलजी, हाम्रो समाजको बिशेष गरी नेता-कार्यकर्ताहरुको चिन्तनमा सुधार नआऊञ्जेल दलको संख्या जति भएपनि यस्तै हो।

    दूर्जेयजी, जर्ज बर्नाडशाले कुनै प्रसंगमा भनेका छन्; "ऊ केहि पनि जान्दैन तर सबै कुरा जानेझैं हल्ला गर्दैछ; राजनीतिमा उसको भविष्य राम्रो छ।" मलाई ती बूढाले हाम्रै राजनीतिको यति सटीक अनुमान कसरी गरे होलान् भनेर आश्चर्य लाग्छ:)

    ReplyDelete
  13. समग्रमा लेख राम्रो छ दलिय चस्मा नलगाई पढने हो भने चस्मा लाउने लाई के पो भन्न सकिन्छ र ?

    ReplyDelete
  14. गरिब देशको पैसा यीनीहरुले पनि यसै गरेर सक्ने हो भने त्यतिबेला युबराज "गैंडा उपहार बक्सन" विदेश जानु र अहिले लुटको धनको मजा लिन यिनिहरु विदेश जानुमा म त केही फरक देख्दिन।

    मलाई भने यो पोस्टमा प्रयोक्त कुनै शब्दप्रति गुनासो छैन। यि भातमाराहरुको कुरा गर्दा त हाम्रो हावाब्रोले प्रयोग गर्ने केही 'स्ल्याङ'राख्दा पनि ठिकै लाग्छ मलाई त !।

    'काले' र 'खैरे'ले बदमाशी गरेका थिए भनेर 'पाङ्रे' सित्तैमा चोखो हुनुपर्छ भन्ने तर्क मलाई पनि ठीक लाग्दैन । विगतकाले लुटे तिनिहरु चोर हुन अहिलेकोले लुट्छ भने यो पनि चोर हो यत्ति भन्नलाई न सोच्नु जरुरी छ, न अकमक्किनु ।

    यो लेखमा मेरो २००% समर्थन !

    ReplyDelete
  15. basanta ji, lekh ekdamnai tagada cha. comments haru must be welcomed. The conclusion is: over 15,000 innocent neaplese were forcefully tranformed into "sahids" by so called nepal communist party (no matter if it is maoist or else). Now it is the right time that we nepali declare a maximum of 10 leaders from each political parties as "sahids" in real sense (to be executed with out prejudice). Let us start nominating the right candidates.

    ReplyDelete
  16. I used to think UML as a BICHARA party since it didn't get the full chance to prove itself while seeing the past of 9 month SARKAR of it. It got only 9 month to prove itself. SO, i voted it so that it could get another chance but seeing the current activities i am thinking i just wasted my vote in election.

    ReplyDelete
  17. बसन्त दाई, माकुने सरकारको यो झटारो एकदमै रोचक लाग्यो । टाँसोमा भनेझैँ यस्तै चालाहरुले हामी युवाहरुको मन नराम्रोसँग कुडिँएको छ । जसले गर्दा राजनीतिमा लाग्ने मानिसलाईमा पनि गन्नै छाडिसके युवाहरुले ।

    टाँसोमा प्रयुक्त सम्पूर्ण शब्दहरु एकदम ठिक छन् । ‘जस्तालाई त्यस्तै ढिलाई निस्तै’ गर्न किन लाज मान्नु दाई । टाँसोमा म पूर्ण सहमत छु ।

    ReplyDelete
  18. Is baar thoda aur adhik samajh payee...'run' ko leke manaye gaye tyohar ke sambandhit ek kahawat Marathi( Maharashtr kee bhasha) me bhee hai!

    ReplyDelete
  19. मोक्तानजी, दिलिप दाइ, Anonymousजी, निजगढ भाइ, अमेत्य भाइ र राजेश भाइलाई प्रतिकृयाका लागि हार्दिक धन्यबाद!
    स्वतन्त्र चिन्तन राख्न सक्नेहरुको जमातलाई ठूलो बनाउन हामी सबै लागौं।

    ReplyDelete
  20. Thank you Kshamajee!
    I am not sure about Marathi but I have seen a lot of similarity between Rajasthani and Nepali. Bhojpuri too has some similarity. Nepali originally got developed from Sanskrit with distinct characteristics in ancient kingdoms of Western Nepal. It is now spoken in Nepal, some parts of India, Bhutan, Burma etc.

    ReplyDelete
  21. बसन्त दाइले सहि विश्लेषण गर्नु भएको छ |

    बिस्तारै म नि दिपक दाइको लिष्टमा पर्दैछु |

    ReplyDelete
  22. मिलन भाइ र मुक्ताजीलाई हार्दिक धन्यबाद!

    ReplyDelete