March 28, 2019

बा आमा र घरहरु


छोरा-बुहारी यूके, अमेरिका छन्
छोरी-ज्वाईँ अष्ट्रेलिया, जापान छन्
गाउँको घरमा ताल्चा लागेको छ
बजारको घर भाडामा लागेको छ
र बा आमा छतको कुनामा मिल्किएका छन्

नाती-नातिना जन्मने बेला
आमाको ‘शेयर भाउ’ अकासिन्छ
र ‘तेल भिसा’ जारी हुन्छ
यसैले बा आमा अचेल बेला-बेला
उडिरहेका पनि देखिन्छन्
घण्टौं लामा ट्रान्जिटहरुमा
उँघ्दै गरेका पनि भेटिन्छन्

प्लेनमा उड्दै गरेको अर्धनिद्रामा
ट्रान्जिटमा अड्किएको दिक्दारीमा
परदेशी भिडमा एक्लिएको बेला
बिरानो मध्यान्हमा अत्तालिएको बेला
बा आमा
कहिले चौतारीका दौंतरी सम्झन्छन्
कहिले गोठ र पँधेरा सम्झन्छन्
मन-मनै लेकबेंसी गर्छन्
खोला तर्छन् र मेला भर्छन्

तर बाको एउटा गोडा चल्न छोडिसक्यो
आमाका आँखा धमिला-धमिला भइसके
गाउँ पुग्न बाका गोडाले दिँदैनन्
शहर डुल्न आमाका आँखाले दिँदैनन्

यूके, अमेरिकाबाट चन्दा आएको छ
अष्ट्रेलिया, जापानबाट चन्दा आएको छ
शहरमा नयाँ वृद्धाश्रम बन्दैछ
बाका दुइटै गोडा नचल्ने भइसक्दा
आमाका आँखा पूरै धमिलिइसक्दा
बजारको घर पनि ‘उतै’बाट बिक्री भइसक्ने छ
र गाउँको घरलाई पनि झाडीले छोपिसक्ने छ
र त्यतिबेलासम्म,
शायद वृद्धाश्रम पनि पूरै बनीसक्ने छ

(असार ३२, २०७५; पोखरा)

March 11, 2019

मेरो पनि जमाना थियो -----

मेरो पनि जमाना थियो, जमाना क्या फुक्काफाल थियो
साथीहरु अझै डाहा गर्छन् ‘यार तेरो त मालामाल थियो!’
हरेक बिहान नराम्ररी झस्काएर सम्झाउँछ साला ऐनाले
जमानामा यो तालुमा पनि कालो बाक्लो कपाल थियो !

March 07, 2019

मैले कोरेका यी घेराहरु


मैले कोरेका यी घेराहरुको के होला ?
मलाई प्रिय चेहराहरुको के होला ?

मेरा सुस्केराहरु रहलान् नरहलान् ?
म नाचेका यी पखेराहरुको के होला ?

जब सधैंका लागि उडेर जानेछिन् आमा
गुँडमा पर्खिने बचेराहरुको के होला ?

यो यात्रापछिको यात्रा कता जाने हो ?
यहाँ सँगालेका फेराहरुको के होला ?

जब एक्लै एक्लै जानुछ, रित्तै जानुछ
हाम्रा यी ‘तेरा र मेरा’हरुको के होला ?


(फाल्गुन १५, २०७५, पोखरा)