Showing posts with label प्रकृति. Show all posts
Showing posts with label प्रकृति. Show all posts

January 20, 2013

छिमेकीहरु

घरसंगै एउटा सल्लाको रुख छ। यो सल्लाको रुख हाम्रो सबैभन्दा नजिकका 'छिमेकी' मध्ये एक भएपनि खासै वास्ता गरिएको थिएन पहिला। एक‍-डेढ महिना पहिलेबाट भने यसमा खुब ध्यान जान थालेको छ, यहाँ बिहान देखिने एक बथान लाटोकोसेराहरुका कारण।

हरेक बिहान एउटा हाँगामा लाटोकोसेराहरु जम्मा हुन्छन्। जम्मा हुने क्रम घाम उदाउनुभन्दा केहि पहिलेबाट शुरु हुन्छ र उनीहरु त्यहाँ साढे आठ-नौ बजेसम्म रहन्छन्। 'सुत्नु' अगाडि घाम तापेर ज्यान तताईरहेका होलान् उनीहरु। बढीमा सातवटासम्म देखिएका छन् अहिलेसम्म। यिनीहरु त्यसरी लहर लागेर घाम ताप्न बसेको देखेपछि रुखलाई नियाल्दा के देखियो भने सबैभन्दा खुल्ला हाँगा यहि रहेछ, अरु हाँगाहरु सबै खासै घाम नपर्ने गरी छेकिएका रहेछन्। 

अचेल, यी लाटोकोसेराहरुको दर्शन गर्नु हाम्रो परिवारको नित्यकर्म बनेको छ। हरेक बिहान उठेपछि 'आज बसेका छन् कि छैनन्?' र '---- कतिवटा छन् होला?' भन्ने कौतूहलले डोर्याएर हामीलाई घरको करेसामा पुर्याउँछ। यिनीहरुले लहर लागेर घाम तापीरहेको देखेपछि नजाने किन मन ढुक्क र प्रफुल्लित हुन्छ। यदाकदा कुनै एक वा दुई छुट्टिएर अरु हाँगामा बसेको देख्दा नरमाईलो लाग्छ र 'किन झगडा पर्यो होला यिनीहरुको आज?' भन्ने प्रश्न आऊँछ मनमा। 

यिनीहरुमध्ये धेरैचाहिँ हलचल नगरी घामतिर फर्किएर 'तपस्यारत' हुन्छन्, दुईटा भने अलिक चनाखा र सकृय देखिन्छन्। मान्छे वा अरु चराचुरुंगीहरिुको आवाज आउनासाथ सतर्क र सजग बन्छन् यी। माऊ होलान् शायद यी। तपाईँपनि चिनजान गर्नुस् हाम्रा यी 'छिमेकी'हरुसंगः) 


May 09, 2010

हरियो बतास


साकुरा झरेको धेरै भईसक्यो, अब त नामनिशान पनि कतै देखिँदैन। साकुराको ठाऊँ हरियो पालुवाले लिएको छ। वसन्तमा फूल्ने फूलहरुपनि मगमगाईरहेछन् जताततै। 

वसन्तको शुरुवात केहि ढिला भयो यसपालि। अब केहि समयपछिनै फेरि प्रचण्ड गर्मी पाहुना बन्न आउनेछ। यो वर्षको छोटो वसन्तलाई छिटो-छिटो नपिई भएको छैन।

केहि दिन पहिले नागोयाको समुद्री तटमा रहेको Wild Flower Garden घुम्ने मौका मिलेको थियो। साह्रै सुन्दर र मनमोहक ठाऊँ रहेछ। जंगली फूल र अन्य वनस्पतिको माझमा आनन्दित भएर एक दिन बिताईयो। यतिका वर्षपछि बल्ल पुगियो यो ठाऊँ पनि।

तलका यी तस्बीरहरु त्यसै ठाऊँका हुन्।  





फूलहरुको सौन्दर्यको कुरा छँदैछ, मलाई पातहरुको नयाँ हरियाली, नयाँ पालुवा पनि उत्तिकै मन पर्छ, उत्तिकै सुन्दर लाग्छ। गहन हरियालीले मलाई जहिले पनि नेपाल सम्झाऊँछ। यसैले मैले नेपालको सम्झनामा लेखकेो "सपनीमा आज फेरि देश देखें" शीर्षकको गजलमा "फूलमा चढेको रंगको के कुरा? पातमा वसन्तको प्रवेश देखें" भनेर लेखेको छु। 

केहि दिन पहिला एउटा लहडले डोरिएर म हानामीमा हिँडेको यामाजाकी खोलाको किनारमा फेरि पुगें, एउटै ठाऊँ साकुरा हुँदाको बेला र हरियाली हुँदाको बेला कत्तिको फरक देखिँदो रहेछ भनेर हेर्न:)


दुई सुन्दरीहरु, साकुरा र हरियाली, उत्तिकै सौन्दर्य बोकेका तर फरक-फरक आयाममा बाँचिरहेकाझैं लाग्यो मलाई। झपक्क भरिएको साकुरामा बिस्तार हुन्छ, फैलावट हुन्छ र त्यो उडिरहेझैं लाग्छ। हरियालीमा भने गहनता हुन्छ, सघनता हुन्छ र त्यो कुनै रहस्यको खोजमा झन्-झन् गहिरिँदै गईरहेझैं लाग्छ। हरियालीको आनन्द पनि त्यसमै गहिरिएर, त्यसमै डुबेर र त्यसको माध्यमबाट आफैंमा गहिरिएर र डुबेर लिन सकिन्छ। यसैले हरियालीले समूहभन्दा पनि आनन्दित एक्लोपना र निजत्वलाई आमन्त्रण गर्छ।

यो चारैतिरको हरियालीले ११ वर्षभन्दा पहिलाको एउटा सानो टुक्रा सम्झायो मलाई। पोखरा बसाईको त्यो ताका म एकदम कम लेखिरहेको थिएँ, कहिलेकाहीँ कविता-निबन्ध जे लेख्थें ती पनि एकदमै छोटा लेख्थें। कुनै बिहानको हरियो बतासमा डुबेर लेखिएको यो छोटो टुक्रा कोसेलीस्वरुप यहाँहरुका माझमा राख्ने अनुमति चाहन्छु।

यो बिहान  
बादलहरुको जन्ती हिँडिरहेछ आकाशमा,
माछापूच्छ्रे मुस्काऊँदै रमिता हेरिरहेछ-
र म हरियो बतासमा डुबिरहेछु।
 


सबैको जय होस्!

August 01, 2009

गुँड

जुनको आधा-आधीतिरको कुनै घमाइलो दिन थियो, बिदाको दिन हुनाले म अलि ढिला उठेको थिएँ। बाहिर बरण्डामा एकजोडी परेवा थिए। यता परेवा धेरै देखिएपनि आफ्नै बरण्डामा अहिलेसम्म देखेको थिईँन।

एक-दुई दिनपछि अड्डा जाँदै गर्दा बाटोको एउटा घर बाहिर एकजना जापानी बृद्ध आफ्नो एक हातमा एउटा परेवा राखेर अर्को हातमा रहेको चारा खुवाईरहेका थिए। मलाई पनि त्यस्तै गर्ने रहर जाग्यो तर मलाई थाहा थियो मेरो बरण्डामा आउने परेवाहरु त्यसरी सजिलै मेरो हातमा आउनेछैनन् किनभने त्यस्तो हुनका लागि परेवासंग गहिरो आत्मीयता बनिसकेको हुनुपर्छ। भोलिपल्ट बरण्डामा अलिकति चामल छरिदिएँ मैले। त्यसपछि हरेक दिन बिहान अलिअलि चामल छरिरहेछु परेवाका लागि। चामल छरेपछि ह्वार्र्--- आउने परेवाको बथान देखेपछि मन साँच्चिनै शान्त हुन्छ।

एक दिन देखें एउटा परेवा कतैबाट ल्याएको सिन्का मुखले च्यापेर बरण्डामा बसिरहेको थियो। "गुँड बनाउँदै छ जस्तो छ!" भन्ने आयो मनमा, कता बनाऊँदैछ भनेर खोजिन । जुन २२ को बिहान परेवा बरण्डाको एक छेऊमा रहेको एअर-कण्डिशनर यूनिटमा छेलिएर बसिरहेको देखें। पहिला पनि देखेको थिएं र चारो खोजिरहेको होला भनेर त्यति वास्ता गरेको थिईँन। हेरेको, परेवाले गुँड बनाईसकेछ। बेलुका फर्केर आएपछि फेरि हेरेको, एउटा फुल थपिएछ दिऊँसो। त्यसको भोलिपल्ट हेर्दा दुईटा फुल थिए। परेवा फुल कुरेर बसिरहेको थियो र म नजिक गएपछि भुर्र--- उडेर नजिकको बिजुलीको तारमा गएर बस्यो। यो अवश्थाको परेवालाई ब्यबधान खडा गर्नु उचित नलागेर फोटो लिनेतिर लागिँन। साँझ भने नजिकै गएर हेर्दा पनि परेवा भागेन।




परेवा र परेवाको गुँडले बाल्यकालको एउटा घटनाको याद गाढा भएर आयो। हाम्रो घरको बाँसको दलिनमा कुमालकोटीले गुँड बनाएको थियो। म त्यतिखेर २ कि ३ मा पढ्थें। एक दिन दिऊँसो मैले कुमालकोटीको गुँड लठ्ठीले घोचेर भत्काईदिएँ। राती धेरै बेरसम्म कुमालकोटी भुन्भुनाएर आफ्नो घर भएको ठाऊँमा रोईरहेको थियो। मलाई साह्रै पछुतो लागेको थियो त्यतिबेलै। तर म कुमालकोटीलाई तुरुन्तै घर बनाएर दिन सक्दिंनथे! कुमालकोटीको कति समयदेखिको श्रम र सपनालाई मैले एक निमेषमा ध्वस्त बनाईदिएको थिएँ। मेरो छुकछुके बाल्यकालमा घटेको त्यो घटनाको लागि म आजसम्म पनि पछुताईरहेछु। तपाईँलाई पत्यार नलाग्न सक्छ तर हरेक दिन एक पटक र कहिलेकाहीँ त धेरै पटक त्यो घटना मेरो मनमा आएकै हुन्छ, मलाई पश्चातापले गलाएकै हुन्छ।

सानो होस् या ठूलो, हरेक जीवको गुँड उसका सपनाहरुले बनेको हुन्छ, उसले तिनै सपनाहरुका भित्तामा अडेस लगाएर, सपनाहरुमाथि सुतेर र सपनाहरुमाथि नाचेर आफूलाई सुरक्षित ठानेको हुन्छ। आफ्नो जीवनलाई भविष्यसम्म तन्काउन र आफ्ना अधूरा सपनाहरु प्रक्षेपण गर्नका लागि नयाँ पुस्ता पनि उसले त्यहि गुँडमा हुर्काऊँछ। त्यस्तो त्यो गुँड भत्कँदा कोहि किन नरोओस्!

हाम्रो मनमा कुमालकोटीको छवि कुनै हानी नगर्ने सुधो जीवको भएर पनि होला, त्यो घटनाले ममा यस्तरी छाप छोडेको। नत्र त जानीजानी घर नजिकका अरिंगाल वा बारुलाका गोलामा आगो लगाऊँदा वा स्प्रे हानेर साङ्गला संहार गर्दा कहिल्यै पछुतो लागेन। जिन्दगीमा जानी-नजानी अरु कति स-साना जीवको पनि गुँड भत्काईन्छ होला।

अब लागौं परेवातिरै। परेवा धेरै दिनसम्म फुललाई ढाकेर बसेको देखिन्थ्यो। हामी परेवाको नजिकै पर्नेगरी चारा छर्दिन्थ्यौं। हामीले छोरीलाई भने देखाएनौं, लठ्ठीले घोचेर परेवालाई सास्ती देली फेरि भनेर। जुलाई ८ सम्म पनि परेवा फुललाई ढाकेर बसिरहेको थियो, त्यसपछि केहि दिन त्यति ध्यान गएन।

जुलाई १४ को साँझ परेवा नभएको मौकामा हेर्दा भने एउटा बच्चा र एउटा फुल देखियो। बच्चा झुसिलो देखिन्थ्यो, एक-दुई दिनको भईसकेको हुनुपर्छ। एउटा मात्रै बच्चा कोरलिएको (?) देख्दा अचम्म लाग्यो। परेवाको जीवन-चक्र/प्रजनन चक्रका बरेमा मसंग खासै ज्ञान छैन। समय निकालेर अलि-अलि यसबारेमा पढ्नुपर्ला जस्तो लागेको थियो, त्यो 'समय' खासै धेरै जुरेन। जति पढियो तिनको आधारमा बुझ्दा, परेवाले सामन्यतया दुईटा फुल पार्ने रहेछ। दुईटा फुलबाट केहि दिनको अन्तरमा चल्ला निक्लने रहेछन् कि कुन्नि, त्यो कुरो भने बुझिएन।


यस्तै फुलको सुरक्षा गर्न र चल्ला (?)हुर्काउन भाले-पोथी दुबै लाग्छन् रे। त्यसकारण मैले हरेक दिन देख्ने फुल छोपेर बसेको परेवा पोथिमात्रै नभएर भाले वा पोथी कुनै पनि हुन सक्थ्यो। भाले र पोथीको शारीरिक बनौटमा हुने फरक पनि अलि-अलि पढेको हुँ तर त्यतिका भरमा खुट्याउन सकिँन।

जुलाई १९ मा यस्तो भएको छ परेवाको त्यो बच्चा वा चल्ला, जे भनिन्छ। माउको रंगमा ढल्दै आएको देखिन्छ। साँझ-बिहान हामीले हेर्दा माऊ भने देखिएको थिएन।



एउटा फुल भने अझै जस्ताको तस्तै छ। त्यो फुल पूरै विकसित नभएकोले बच्चा ननिक्लिएको होला शायद।

त्यसपछि पनि हरेक दिन बिहान र साँझ घर फर्केपछि परेवाको बच्चा हेर्ने काम नियमितनै रह्यो। हामीले हेर्दा माऊ नदेखिएपनि बिहान सबेरै भने पखेटा फडफडाएको आवाज सुनिन्थ्यो, त्यस्तै रात परेपछि परेवा घुरेको र बच्चो चीं--चीं गरेको सुनिन्थ्यो। त्यसैले रातभरि पक्का पनि माऊ पनि हुन्थ्यो होला। दिऊँसो हामी नहुँदा पनि चारा बोकेर आऊँथ्यो होला।

जुलाई २५को यो फोटोमा त वयस्क परेवाजस्तै देखिएको छ र गुँडभित्रै ठाऊँ सरेर बस्न थालेको देखिन्छ।



जुलाई २९ मा नजिकैको ब्लकमाथि चढेर बसेको छ। साहसिक यात्राको पहिलो प्रयास होला यो उस्को! जुलाई ३१ मा हेर्दा फेरि पहिलेकै ठाऊँमा देखिन्छ। अब त टाउको पनि पूरै कालो भईसकेछ।




यो लेखिरहँदा, एक छिन पहिला एक पटक हेर्न पुगेको थिएँ। माऊ-बच्चा भलाकुसारी गर्दै थिए। मैले झ्याल खोल्दाको आवाजले गर्दा माऊ भुर्र्---- उड्यो। बच्चो अँध्यारो ठाऊँमा थियो, राम्रो फोटो खिच्न सकिएन। रंग-ढंग र बसाई पूरै माऊको जस्तो थियो र तुरुन्तै उड्ला जस्तो लाग्थ्यो।

आजभोलिनै उड्ला शायद। यसरी परेवाको एउटा पुस्ता हुर्काउने काम सफलतापूर्वक सम्पन्न हुनेछ।

परेवाले एकचोटि बनाएको आफ्नो गुँडलाई के गर्छ, मलाई थाहा छैन; तर हाम्रो गुँडको एक छेऊमा खडा यो गुँडको भविष्य भने अब उसको वशमा छैन।

'भत्काईने हुँदा यो घर छोड्न' भनेर हामीलाई धेरै पहिला सूचना आईसकेको छ। यो घर केहि वर्षभित्र भत्काईनेछ भन्ने कुरा हामीलाई यहाँ पस्नुभन्दा पहिल्यै भनिएको थियो। हामीले सोचेका थियौं हामी जापान बसुञ्जेल भने नभत्काईएला। यो स्थितिमा पाउनुपर्ने सुविधा, निश्चित अवधिको पैसा फिर्ता आदिको कुरा भईसकेको छ, त्यता समस्या छैन। तर नयाँ घर-नयाँ गुँड खोज्नु एउटा झञ्झट हो र पोका-पन्तरा सार्नु झन् महाझञ्झट! तर गुँडविना जिन्दगी चल्दैन!

हामी नयाँ गुँडमा जाऊँला, परेवाले नयाँ गुँड बनाऊलान्।

आ-आफ्ना गुँडमा हामी आ-आफ्ना सपनाहरुमा अडेस लगाएर र आ-आफ्ना सपनाहरुसंग नाचेर आ-आफ्ना जिन्दगी बिताऊनेछौं।

कसैले एउटैमा जिन्दगी कटाऊलान्, कसैको जिन्दगी धेरैमा बाँडिएर कट्ला; तर जिन्दगी भनेको गुँड हो, सिर्फ गुँड, टाउको लुकाउने गुँड।