November 17, 2019

--- घातक हुने रहेछ


स्वाभिमान जरूर हुनेछ तर अहंको सिँढी चढ्नेछैन, घातक हुने रहेछ
आवश्यकता पूरा हुनेछन् तर चाहनाले डढ्नेछैन, घातक हुने रहेछ
दुनियाँसंग लड्नुपर्ने लडाईँहरु कति धेरै रहेछन् जिन्दगीमा !
यसैले आफैंसंग अब कदापि लड्नेछैन, घातक हुने रहेछ ।

November 04, 2019

'प्रतिगन्ध' पढेपछि

सरुभक्तको नविनतम उपन्यास 'प्रतिगन्ध' पढिभ्याएँ । 

बिभिन्न परिबन्दले अमेरिका पुगेका मानिसहरुका जीवनकहानी समेटिएको छ उपन्यासमा। उपन्यासको मुख्य पात्रजस्तो लाग्ने अमर प्रधानको कथा छ, अमेरिकातिरको यात्रामा चिनजान भएर बनेका उसका साथीहरु महेश थापा, युवराज गिरी र रवि जोन्सनको कथा छ । अन्त्यतिर आइपुग्ने बेलामा अर्पणाको कथा छ । सुख भन्दा पनि  दु:ख र पिडाका कुरा बढी छन् । आतंकवादको छायामा परेको अमेरिकी समाजको कथालाई त्यहाँ बसीरहेका नेपालीहरुको जीवनसंग जोडेर देखाउनन खोजिएको छ। जतिसुकै बैभवशाली भएपनि अमेरिकामा शान्ति र आनन्द छैन । र जतिसुकै कमाए पनि त्यहाँ पुगेका नेपालीहरुको भित्री मन सधैं पीडित छ। नेपालमा छँदा पुस्तान्तरगत विवादका कारण आफ्ना बाबुआमासंग सम्बन्ध बिग्रेको हुनछ केहि पात्रको, तिनै पात्र अमेरिका पुगेर आफ्ना छोराछोरी हुर्काइसकेपछि छोराछोरीसंगको पुस्तान्तरगत विवादमा पनि फँस्छन्। यस पटक पुस्ता मात्र होइन देश, परिवेश र संस्कृतिसमेत फरक छ, त्यसकारण यो विवाद पहिलोभन्दा झन् बढी कुरुप देखिन्छ ।

केहि पात्रहरुको चरित्रमा आएको अचानकको ठूलो परीवर्तन अस्वाभाविक लाग्छ । अमेरिका पुगेपछि अमर मृतात्माहरुसंग कुरा गर्न थाल्छ, नेपालमा छँदाको त्यस्तो प्रसंग छैन। एउटा कारण आतंकवादी आक्रमणमा परेर उसको छोराको मृत्युको आघातले होला भन्ने अनुमान लगाउन सकिन्छ । तर उसकी स्वास्नी आरतीले उसलाई छोडेर हिँड्नुमा कुनै स्वाभाविक कारण देखिँदैन। पोखरामा घर किन्दा उसलाई थाहा नदिएकोमा उ रिसाउँछे तर उसलाई 'सर्प्राइज' दिननै अमरले त्यो घर किनेको हुन्छ । आरतीले मन नपराएपछि अमरले माफी माग्छ र त्यो घर बेच्न लगाउँछ, तैपनि आरती उसलाई छोडेर हिँडिदिन्छे। मालाको सम्झनाले गर्दा मारिया फर्नान्डाको यौन आमन्त्रण स्विकार गर्न नसकेको युवराज वेश्यागमनमा भने अति सहजतापूर्वक संलग्न हुन्छ ।  चारलोटको रिस र नेपाल, नेपाली भाषाप्रतिको उसको घृणाको कुनै पृष्ठभूमि, कुनै कारण देखिँदैन । रवि जोन्सनसंगको उसको प्रेमिल विगतका कुरा पढ्दा चारलोटमा पछि अचानक पागलपन सवार भएजस्तो लाग्छ।

उपन्यास सरस र सरल छ र अमेरिकामा बसेका नेपालीहरुको एउटा अंशको सजीव चित्रण गरेको छ, तर यो उपन्यास नभएर उपन्यासिका (novella) हरुको सङ्ग्रहजस्तो लाग्छ । छुट्टाछुट्टै कथाहरु जोडिएर कुनै छुट्टै निष्कर्ष दिँदैन। अमरको आफ्नै कथामात्रैले पनि उपन्यास पूर्ण हुन्थ्यो जस्तो लाग्छ। फेरि अमरका चार साथीहरुमध्ये तीनजनाको कथा छ तर सुवर्ण लिम्बुको कथा छैन। अरु सबैको राखिसकेपछि सुवर्ण लिम्बुको पनि राखेको भए हुन्थ्यो जस्तो लाग्छ । सुवर्ण लिम्बुको कथाको ठाउँ अर्पणालाई दिइएको छ। यो उपन्यासको सारचाहिँ अमेरिका पुगेपछि नेपालीहरु नेपालको यादमा भित्रभित्रै रोएपनि अनेक परिबन्दले फर्कन सक्दैनन् तर मरिसकेपछि भने उनीहरुको आत्मा नेपाल फर्किन्छ भन्ने लाग्छ ।

साना टङ्कण असावधानीले आँखा घोच्न आइपुग्ने ठाउँ ज्यादै धेरै छन्। समर्पण पृष्ठमै 'प्रवासी नेपाली पाठकहरुमा---' हुनुपर्नेमा 'प्रवासी नेपाली पाठकठहरुमा---' भएको छ। विभक्तिहरुमा विशेष असावधानी देखिन्छ, 'को' हुनुपर्नेमा 'मा' भएको र 'मा' हुनुपर्नेमा 'को' भएजस्ता गल्ती धेरै देखिन्छन्। पढाइको प्रवाहलाई ठेस लगाउँछन्। कतै स्त्रीका बारेमा 'गरे', 'भने' भएको छ। अर्पणाको बङ्गाली साथी कमलाको बाउको नाम शुरुमा श्यामानन्द छ, पछि रमानन्द भएको छ ।  प्रकाशकले यत सावधानी अपनाएको देख्दा दु:ख लाग्छ । 

सरुभक्तका उपन्यासबाट गहन दर्शनको अेपक्षा गर्ने बानी लागेकालाई भने यसले निराश बनाउँछ ।