April 29, 2009

'तिम्रो ठेगाना'- एउटा अधूरो गजल दुई रुपमा

अब आज फेरि 'इतिहासको ब्याज'। 'इतिहासको ब्याज' अब त धेरै बाँकी पनि छैन, सावाँनै सिद्धेर ऋण लाग्ने स्थिति आउला जस्तो पो छ:)

कुरो चाहिँ मेरो छोटो गजल-लेखन यात्रा बाट हो। नेपालमा दोश्रो जन-आन्दोलन सकिएको केहि महिनापछिको समय थियो। त्यतिखेरको वातावरणमा तीन शेर फुरे। अलिक निराशावादी लागे यी र समयलाई 'न्याय' दिन भनेर एउटा सकारात्मक संस्करण पनि तयार पारें। यहि स्वरुपमा दुबैलाई साझाको गजलको धागोमा राखें। कुनैदिन दुबैलाई पूरा गरौंला/सपारौंला भन्ने थियो तर बिस्तारै मन मर्दै गयो। अब यतिखेर आएर पूरा गर्न खोज्दा त झन् त्यो समयको मनोदशा माथि घोर अन्याय हुने पक्का छ।

आज तपाईँलाई पनि तिनै दुई 'अधूरा' घरहरुमा स्वागत गर्दैछु। कताको बसाई राम्रो भयो, भन्न नभुल्नुहोला।

यो ,पहिला जन्मेको अलिक 'निराशावादी';

कि गलत केरियो तिम्रो ठेगाना!?
न साँच्चै फेरियो तिम्रो ठेगाना!?

दागै-दाग देख्छु फिर्ता चिठ्ठीमा
कहाँ-कहाँ हेरियो तिम्रो ठेगाना!

आगतसम्म तन्किने फाँट भएन
बिगतमै बेरियो तिम्रो ठेगाना


(‘केरियो’ लाई ‘लेखियो’को अर्थमा प्रयोग गरिएको हो!)

अनि यो चाहिँ, 'निराशावादी' लाई ठेगान लगाउन जन्माइएको 'आशावादी';

वर्षौं मैले लेखें खाममा तिम्रो ठेगाना
आज बल्ल देखें खाममा तिम्रो ठेगाना

थाहा छ बजारमै खोसाखोस भएको
दाग थोरै भेटें खाममा तिम्रो ठेगाना

रोईरहें धेरैबेर छातीमा टाँसी
दाग मैले मेटें, खाममा तिम्रो ठेगाना

थाहा छैन के छ भित्र, तर ढुक्क छु
मैले आगत टेकें खाममा तिम्रो ठेगाना

April 24, 2009

माओवादी-अराजकता र दण्डहीनताको स्रोत

Image Source:Blogdai

देश अचेल झन जटिल परिश्थितिमा फसेको छ। नयाँ संविधान निर्माण र राज्य पुनर्संरचनाको वहस र कार्यक्रमलाई सात पत्र भित्र धकेलिएको छ र अर्थ न बर्थका अनाबश्यक विवादहरुमा पूरै देशको उर्जालाई दुरुपयोग गरिएको छ। अर्कोतिर जनताको ध्यान आफ्ना असफलताहरुबाट अन्तै मोड्न माओवादी सफल भएको छ। माओवादी संविधान बनाउन वा समयमै बनाउननै चाहँदैन र सकेसम्म अराजकता फैलाएर सत्ता कब्जा गर्न र आफनो अधिनायकवादी शाशन लाद्न चाहन्छ भन्ने शंकालाई झन बल मिलेको छ।

प्रधानसेनापति कटवाललाई हटाउने माओवादी अभियान यो शंकालाई मलजल गर्ने सबैभन्दा ठूलो कारण हो। प्रधानसेनापतिले सरकारलाई अटेर गरेका तीन प्रकरणमध्ये दुई नयाँ भर्ती र जनरलहरुको पदावधि संबन्धी विवादहरुको कुरा गरौं पहिले। नयाँ भर्तीलाई अनमिन र माओवादीले शान्ति-सम्झौता विपरीत भनेका छन् भने अरु दलहरुले सही भनेका छन्। दोश्रो प्रकरणमा पनि माओवादी एकातिर र अरु एकातिर छन्। सबै पक्षहरु शान्ति-सम्झौताका भाग भएकाले यी प्रकरण विषयको समाधानका लागि ब्यापक छलफल गरेर साझा धारणा बनाइनु पर्थ्यो। सरकारको नेतृत्वमा रहेको र सबैभन्दा ठूलो दलको आधारमा पनि त्यो समन्वयकारी भूमिका माओवादीले निर्वाह गर्न सक्नुपर्थ्यो। सरकार नेतृत्व नगरेकै बेलामा पनि यस्ता कुरामा माओवादीको बिशेष भूमिकाको आवश्यकता हुने थियो किनभने देशमा विद्यमान दुई सेनामध्ये एउटा उसकै सेना हो। तर माओवादीले यी प्रकरणहरुमा समन्वयकारी भूमिका खेल्ने र सर्वसम्मत धारणाको विकास गर्नेभन्दा पनि यसलाई सेनासंग आरोप-प्रत्यारोपमा उत्रने र त्यहाँभित्र आफनो राजनीति छिराउने सुनौलो मौकाको रुपमा लियो।

लोकतन्त्र वा नागरिक सर्वोच्चता जे को दुहाई दिएपनि माओवादीको अभीष्ट नेपाली सेनाभित्र आफ्नो पहुँच बढाउनु, त्यसको नेतृत्वको मनोबल गिराउनु र 'आफनै' सेना बनाउनु हो। संसदमा र विदेशीका सामु प्रचण्डले बहुदलीय शाशन र कानूनी राजको जति प्रतिबद्धता दोहो-याए पनि तलदेखि माथिसम्मका माओवादीले सत्ता कब्जा र कथित जनवादी शाशनको राग भट्याउन छाडेका छैनन्। यो अवश्थामा माओवादीले सेनामाथि गर्ने कुनै पनि ब्यबहारले हाम्रो शंकालाई अझ गाढा बनाउनु अस्वाभाविक होईन।

माओवादीहरुले के हेक्का राख्नु अनिवार्य छ भने उनीहरु बहुमतमा छन् तर त्यो बहुमत जनताले उनीहरुलाई लोकतान्त्रिक संविधान बनाउनका लागि दिएका हुन्, उनीहरुकै अधिनायकवादी शाशन शुरु गर्न दिएका हैनन्। राजनीतिक यथार्थ के हो भने द्वन्द्व समाधानका लागि एमाले-कांग्रेसले संवैधानिक राजतन्त्र छोडका हुन् भने माओवादीले एकदलीय र तानाशाही सोच छोडेको घोषणा गरेको हो। र मिलन बिन्दूका रुपमा लोकतान्त्रिक गणतन्त्रलाई स्विकारेका हुन् सबैले। माओवादीले के पनि सम्झिरहे हुन्छ भने उसले एक तिहाई मत पाएको हो तर बाँकी दुई तिहाइ जनताले भने अन्तै मत दिएका हुन्।

बाँकी तेश्रो विषय, सेनाले राष्ट्रिय खेलकूदका केहि खेल बहिष्कार गरेको। यो विषयमा सेनाको केहि पनि गल्ती छैन। वास्तवमा, रातारात माओवादी सेना घुसाएपछि सेनाले मात्रै होईन अरु सबैले सबै खेलकूद वहिष्कार गर्नुपर्थ्यो। माओवादी सेनालाई खेलाउनुनै थियो भने पहिलेबाटै किन प्रकृया पुरा नगरेको? खेल अन्तर्राष्ट्रिय नियम अनुसार हुने कि माओवादीको तोक-आदेशअनुसार?

माओवादीको भ्वाङ्ग परेको राष्ट्रवादको धोती:विगत केहि समय यताका धेरै घटनाहरुले माओवादीको राष्ट्रवादको धोतीमा ठूल्ठूला भ्वाङ्ग पारिसकेका छन्। नेपालीको विरोधलाई रौं बराबर पनि नगन्नु तर विदेशी/भारतीयका अगाडि पूच्छर टांगमुनि पु-याउनु माओवादीको बानीनै रहेको देखिईसकेको छ। पशुपतिको पूजारी प्रकरणमा नेपाली जनतालाई वाइसीएल र पुलिस लगाएर तह लगाउने र अदालतको निर्णयलाई नमान्ने उसको सोच प्रष्ट थियो तर दक्षिणको एक कलले उ फनक्क फर्कियो। अहिलेको प्रकरणमा पनि कुरा त्यस्तै हुने निश्चित छ, भलै अलिक बढी समय लाग्ला। भारतले आड-भरोसा दिएर पालेकाहरुबाट यहाँ भन्दा बढी आशा के गर्न सकिन्छ र?

नेपालको राजनीति र अन्य मामिलामा भारतको हस्तक्षेपलाई सही भन्न खोजेको हैन मैले। र अरु दल पनि यो मामिलामा चोखा छैनन्। माओवादीले आफूलाई सबैभन्दा राष्ट्रवादी दल भनेर घमण्ड गर्छ तर उसको ब्यबहार अरु दलको भन्दा पनि गएगुज्रेको र भारतमुखी छ। झन् अचम्म त यो कुरामा लाग्छ कि भारतले चोर औंलो ठड्याएपछि प्रचण्ड आफ्ना निर्णय फिर्ता लिन्छन् अनि तलदेखि माथिसम्मका माओवादीहरु गिरिजालाई गाली गर्न थाल्छन्। माओवादीहरु हो, आफ्नो गालीलाई प्रचण्डतिर फर्काउ! निर्णयमा अड्न सक्ने हुती छैन भने निर्णय गर्नै हुन्न, गरिसकेपछि जनताको समर्थन छ भन्ने आत्मविश्वाश छ भने दुनियाँको जुन शक्तिले जे भनेपनि फिर्ता लिनुहुन्न। जनताको समर्थन लिनसक्ने हो भने जसले जति दबाब दिएपनि केहि नापिन्न भन्ने कुरा दोश्रो जनआन्दोलनले देखाईसक्यो।

उप-कूलपतिमाथीको माओवादी ज्यादती-मूर्दाबाद!
माओवादीका विद्यार्थी नेताहरुले अस्ति त्रिविका उप-कूलपतिमाथि देखाएको ब्यबहारको जति निन्दा र भर्त्सना गरेपनि कम हुन्छ। यो भन्दा अभद्रता र जंगली स्वभाव अरु हुनै सक्दैन। देशमा जारी अराजकता र दण्डहीनताको शृंखलामा अर्को एउटा घटना फेरि थपेका छन् माओवादीहरुले। यो वा त्यो कारण देखाएर माओवादीले दोषीहरुलाई उम्काउनेनै छ फेरि पनि, माओवादीको पार्टी संरचनाभित्र तिनको पदोन्नति पनि हुनेछ। माओवादीको मध्ययुगीन चिन्तनको प्रतिबिम्ब हो यो र अब देशका शैक्षिक संस्थानहरु ध्वस्त हुने र तीनमा लाल-आतंक कायम हुने लक्षण देखिँदैछ।

त्रिविमा परीक्षा लगायत सबै थरी शुल्क समायोजन गर्न धेरै ढिला भईसकेको छ। सरकारले अनुदान नदिने, सरकारमा बसेका दलका हनुमानहरु शुल्क बढाउन नदिने; अब त्रिवि कसरी चल्छ?! फेरि यो शुल्क बढाउने कुरामा सरकार पूरै बेखबर होला भनेर कसैले पत्याऊँदैन किनभने कूलपति स्वयं प्रचण्ड हुन्। सरकारको अनुमति नलिई त्रिविले शुल्क बढायो होला भनेर विश्वाश गर्न सकिन्न। शुल्क बढाएकै कारण कालो मोसो दल्नुपर्ने हो भने प्रचण्डलाई हो दल्नुपर्ने, उप-कूलपतिलाई होईन। थुक्क साला जंगलीहरु! प्राज्ञिक ठाऊँमा मूढे बल देखाउने? थुक्क बेइज्जतीहरु!

Image Source:ArtUkraine.com


Image Source:United We Blog

April 19, 2009

'ताक्कान्-तुक्कान् पिमान्' र 'ज्याम्बाला मुसी'

एकचोटि संयोगवश बच्चाहरुले सागपात-फलफूल आदि खान नमान्दा अपनाउन सकिने रमाईलो तरिकाको बारेमा पढ्न पुगियो। छोरीले धेरैजसो सागपात नखाईदिएर हैरान भएको बेलामा त्यो पाऊँदा साह्रै खुशी लाग्यो। अर्को ब्लगमा हु-बहु टाँसेँ त्यो Kids Prefer Veggies With Cool Names भन्ने लेखलाई। र त्यसमा भनेअनुसार सागपातलाई रमाईला/अनौठा नाम दिएर खुवाऊँदा सधैं नभएपनि धेरैजसो प्रभावकारी हुँदोरहेछ। पहिला खान मन नगर्ने तरकारीहरु खान थाली छोरीले। 'गाजर' भन्दा नखाने तर 'ड्रागन गाजर' भन्दा खाने, 'ब्रोकोली' भन्दा नखाने तर 'डाइनोसर ब्रोकोली' भन्दा खाइदिने।

एउटै नाम धेरै भनिरहेपछि पूरानो हुँदो रहेछ, त्यसकारण हप्ता-दुई हप्तामा यी तरकारीहरुको नयाँ 'न्वारान' पनि गरीरहनुपर्दोरहेछ:)

पछिल्लो पटक न्वारान भएकोचाहिँ डल्ले खुर्सानी (bell pepper, sweet pepper) हो। यसलाई जापानीमा 'पीमान्'भन्छन्। 'पीमान्' भनेपछि मुण्टो बटार्ने छोरीको बानी हटाउन 'डल्ले खुर्सानी'ले पनि सकेन। 'डल्ले खुर्सानी' शब्दचाहिँ उसलाई मन परेको हो, 'डर्रे कुरुसानी!' भनेर हाँस्छे तर खान भने न 'पिमान्' खाईदिई न 'डर्रे कुरुसानी':)

केहि दिन पहिलाको कुरा हो, 'पिमान्' खुवाउन खोज्दा परक्क मुण्टो बटारी।
"हेर छोरी, आजको यो त 'पिमान्' होईन, अर्कै 'पिमान्' हो।"
"अर्कै 'पिमान्'?!"
"अँ अर्कै हो, यो त नि--------- 'टाक्कन-टुक्कन पिमान्' हो।"
"ए---! 'ताक्कान्-तुक्कान् पिमान्'---!" उसलाई 'टाक्कन-टुक्कन' शब्द साह्रै मन परे जस्तो छ।
"हो नि, यो 'ताक्कान्-तुक्कान् पिमान्' खायो भने चाँडै ठूलो भईन्छ।"
"'ताक्कान्-तुक्कान् पिमान्' ताबेताई! 'ताक्कान्-तुक्कान् पिमान्' ताबेताई!" (ताक्कान्-तुक्कान् पिमान्' खान्छु! ताक्कान्-तुक्कान् पिमान्' खान्छु!) ऊ कराउन थाली त्यसपछि।

'ताक्कान्-तुक्कान् पिमान्' पूरानो भईसकेको छैन अझै।


यो 'टिडिक' खानेकुरामा मात्रै होईन अन्त पनि काम लाग्दो रहेछ।

एक महिना जति पहिलाको कुरा हो। बिहान हातमुख धुने बेलामा सधैंजस्तो किचकिच गरीरहेकी थिई। म यताउता कुरा गरेर मनाउन खोज्दै थिएँ।
"पापाको यहाँ के भ'को?" उसका एउटा चोर औंलो मेरो नाकको दाहिनेपट्टीको कोठीमा थियो।
"यो नि--- ,पापा सानु हुँदा मुख नधोको भ'र 'मुसी'(किरा)ले टोकेर घाऊ भ'को।"
"ए---! कुन 'मुसी'ले टोकेको नि?" ऊ किरातिर लागी, मुख धुने कुरा छोडेर। कुन किरो भन्ने अब, म सोच्दै थिएँ।
"-- ज्यानमारा 'मुसी'ले टोकेको" मेरो मुखबाट निस्कियो। यो 'ज्यानमारा' शब्द कसरी मेरो मुखमा आयो त्यतिखेर, रामजाने।
"हँ---- ज्याम्बाला मुसी? ओमोशिरोई नामाए दा ने (कस्तो रमाईलो नाम रहेछ!)" ऊ हाँस्न थाली। 'ज्याम्बाला' शब्दलाई निकै जोड दिएर उच्चारण गर्दै थिई ऊ।
"मुख धोएन भने 'ज्याम्बाला मुसी' आएर टोक्छ, घाऊ हुन्छ।" म पनि पाएको मौका किन छोड्थेँ:)
त्यसपछि उसले सजिलै मानी मुख धुन। घाऊ हुने डर कति थियो कुन्नि, उसलाई 'सपारेको' मुख्यत: 'ज्याम्बाला'ले नै हो। फोहर भए घाऊ हुन्छ वा विरामी भईन्छ भनेर त पहिला पनि भनिएको हो।

यो गरे त्यो हुन्छ, यसो गरे भूत आऊँछ वा त्यसो गरे तँलाई वाघले लान्छ जस्ता कुरा गरेर बच्चाहरुलाई डरपोक बनाउने कुरा मलाई पटक्कै मन पर्दैन। तर सरसफाई नगर्दा किराले टोक्छ वा विरामी भईन्छ भन्नेसम्मको डर भने दिन अत्यावश्यक नै छ। त्यसकारण यो 'ज्याम्बाला' ले उसमा अलि-अलि डरनै उब्जाएको भएपनि मैले पछूतो नगरे हुन्छ जस्तो लाग्छ।

मेरो अनुहारमा भएका अरु ३ वटा अलिक फिका कोठीहरु पनि पत्ता लगाईसकी उसले।
"पापालाई यहाँ पनि 'ज्याम्बाला मुसी' ले टोकेको?" उसको प्रश्न।
"अँ, यो चाहिँ अर्को 'ज्याम्बाला मुसी' दाहिने तिर बाट उड्दै आएर टोकेको।" शुरुमा पत्ता लागेको गाढा कोठी अगाडिबाट सोझै उड्दै आएको 'ज्याम्बाला मुसी'ले टोकेको भनेर तोकिईसकेको छ, अरुचाहिँ कहिले दाहिने बाट आएकाको भागमा पर्छन् कहिले देब्रेबाट आएकाको:)

"पापाको टाउकोमा पनि 'ज्याम्बाला मुसी'ले टोकेछ!" मेरो टाउकोमा भएको सानो कोठी कि मूसो (यो चाहिँ नेपाली शब्द हो है!) पनि पत्ता लगाई एक दिन। टाउकोमा 'वन-विनाश' हुन थालेको लामै समय भईसकेकोले पत्ता लगाउन सजिलो पनि छ।
"हो, यो पनि 'ज्याम्बाला मुसी'ले टोक्या हो।"
"'ज्याम्बाला मुसी' कताबाट आएर टोकेको?"
"यो चाहिँ---- 'ज्याम्बाला मुसी' माथिबाट आएर टोकेको।"

उसलाई दिशाको बारेमा अलि-अलि जानकारी दिन पनि काम लाग्यो यो 'ज्याम्बाला मुसी':)

April 14, 2009

फेरि आयो नयाँ वर्ष!

फेरि नयाँ वर्ष आयो! नयाँ वर्ष २०६६ ले यहाँहरु सबैलाई अझ बढी शान्ति, सुख र सफलता देओस्!

'हानामी' को कुरा लेखौंला भनेको थिएँ अलिक पहिला, तर मौसम बहुलाएको बहुलायै गर्नाले यसपालीको 'हानामी' चाहिँ गोल्खाडी भयो।

अप्रिल ३ मा 'हानामी' को योजना थियो, बिहान ११ तिर बाट पानी पर्न थाल्यो। भोलिपल्ट पनि दिन अलिक जाडै थियो, फेरि अरु काम पनि थिए। शनिबार र आइतबार फुत्किएपछि 'हानामी' पनि फुत्किएको भने भईहाल्यो। उसो त जापानमा यो मौसममा जता फर्केपनि साकुरा देखिने हुँदा साँझ-बिहानको 'लगाम लागेको घोडा'ले पनि 'हानामी' गरिरहेकै हुन्छ। त्यसैले यहाँ 'हानामी' गोल्खाडी भयो भन्नुको खास अर्थ चाहिँ रिमरिमे साँझमा, झपक्क फुलेको साकुराको बोटमुनि बसेर दुई-चार क्यान बियर घुट्क्याउन पाईएन भन्ने बाहेक अरु होइन:)

साकुरा धेरै झरिसकेको छ अब र साकुराको ठाऊँ पालुवाले लिँदैछ। जताततै हरियाली छाउँदैछ। नयाँ हरियालीको आफ्नै सौन्दर्य हुन्छ। पोखरा बस्दा यस्तै 'हरियो' दिनमा फुरेको एउटा छोटो कविताको याद आयो;

बादलहरुको जन्ती हिँडिरहेछ आकाशमा
माछापूच्छ्रे रमिता हेरिरहेछ
र म हरियो बतासमा डुबिरहेछु

-----------
बीचमा लेख्छु भनेका एक-दुई अरु कुरा पनि थिए। नागोया नजिकैको एउटा सानो शहरमा पुगिएको थियो सपरिवार। खासमा परिचितहरुसंग भेटघाट/खानपीनको कुरामात्रै थियो पहिला, पछि नेपालको बारेमा बोल्ने कार्यक्रम बन्यो। नेपालको बारेमा ज्यादै थोरै मात्र सुनेका/जानेका केहि बच्चाहरु र तिनका अभिभावकहरुलाई नेपालको बारेमा बताउनुपर्ने भयो।

५० से.मी. जतिको ब्यास भएको ग्लोब ल्याईएको रहेछ, त्यसमा नेपाल देखाउन भनियो हामीलाई। त्यसमा जोडिएको पेनले जुन देशमा छोयो, त्यो देशको नाम, राजधानी र एक-दुई प्रख्यात कुरा ओकल्दो रहेछ स्पीकरले। एक छिन 'टेन्सन' दियो पेनले पनि! नेपाल छुन खोज्यो कहिले बिहार छुन्छ, कहिले तिब्बत! देश दुब्लो भएपछि ठूलै ग्लोबमा पनि धोका खाईँदो रहेछ:) बल्लबल्ल नेपालमै पारियो। भारत छुँदा त्यहाँको प्रसिद्ध कुरामा 'संगीत' भनेको थियो, चीनको पालामा ग्रेट वाल र अरु केहि भन्दै थियो; नेपालको भागमा चाहिँ 'राजधानी काठमाडौं' मात्रै थियो। त्यसपछि आफैंले बोलेर र ह्वाइट बोर्डमा लेखेर बुझाइयो।

नेपालको नेपालको बारेमा कुरा गरी भ्याउनु, त्यो पनि छोटो समयमा सजिलो होईन। नेपालको ब्यापक सामजिक/सांस्कृतिक विविधता जापानजस्तो अत्यन्त कम विविधता भएको समाजका मान्छेलाई बुझाउन गाह्रै हुन्छ। हाम्रो आफ्नै जानकारी पनि सीमित हुन्छ। फेरि यी केही वर्षमा आएको राजनीतिक परीवर्तनको बाढीले पनि नेपालको बारेमा बताउनुपर्ने थुप्रै कुराहरु थपिदिएको छ। सकेसम्म कोशिश गरियो।

दश-पन्ध्र मिनेट हामीले बोलेपछि उनीहरुका प्रश्नको जवाफ दिने क्रम राखिएको थियो। नजानेको विषयमा अण्टसण्ट बोलेर टार्नु एउटा नेपालघाती काम हो भन्ने मान्यता भएकोले एक-दुई कुरामा लाज नमानी 'हामीलाई पनि त्यति राम्ररी थाहा छैन' भनियो।

अन्त्यमा बूढीले एउटा नेपाली लोकगीतमा नाचेपछि त्यो छोटो कार्यक्रम सकियो।
----------
केहि समय पहिला 'तारे जमीन पर' हेरें मैले। धेरै समयपछि कुनै फिल्म पूरै हेरेको हो मैले। चर्चा पहिला धेरै सुनिसकेको थिएँ, हेर्ने ताक भने बल्ल प-यो, त्यो पनि एउटा शुक्रबारको निद्रा मारेपछि मात्रै। खुब मन प-यो, एकछिन रोएँ पनि। धेरै ईशानहरु अनाहकमा घर-परिवार र शिक्षकहरुबाट प्रताडित छन् हाम्रो समाजमा। र रामशंकर निकुम्भ जस्ता योग्य शिक्षकहरुको खडेरी छ।

धेरै कुरा नगरौं, तपाईँले पनि हेरिसक्नु भयो होला धेरै पहिले। नहेरेको भए हेर्नुहोला।
-----------
अस्ति शनिवार (अप्रिल ११) नयाँ वर्षको उपलक्षमा साथीहरुले कार्यक्रम आयोजना गरेका थिए, नागोया नजिकैको Man's Little World भन्ने एउटा खुल्ला संग्रहालय भित्रको 'नेपाल' परिसरमा। आयोजक साथीहरुलाई धन्यबाद!

उक्त कार्यक्रमका केहि तस्बीरहरुका साथ आजको यो कुराकानीलाई बिट मार्ने अनुमति चाहन्छु।



April 08, 2009

जीवनको मूल्य बुझ्दैनन् माओवादीहरु!

फोटो साभार: हिमाल खबरपत्रिका

प्रसंग एमाले कार्यकर्ता प्रचण्ड ठैवको हत्याको हो। हत्यासंग जोडिएर आएको एमालेको आन्दोलन वा संसद वहिष्कारको कुरा तिर नजाउँ। तलदेखि माथिसम्मका माओवादीहरुले अचेल दोहो-याउने गरेको एउटा वाक्यतिर लागौं, "एमालेले तीललाई पहाड बनायो!"। उनीहरुको आशय 'जाबो एउटा मान्छे मरेको त हो नि! एमाले यत्तिकैमा किन यस्तरी बहुलाएको होला?!' भन्ने हो।

अब के मान्छे मर्नु/मारिनु सानो कुरा हो? सानो कुरा कदापि होईन, कुनै एक ब्यक्तिको मृत्युले मर्नेको परिवार र सामाजिक संजालमा कति गहिरो पिडा छोड्छ त्यो हामी सबैलाई थाहा छ। तर हत्या-हिंशा-अराजकता सामान्य कुरा हो भन्ने संस्कृतिलाई स्थापित गर्न खोजिँदैछ हाम्रो समाजमा, हामीलाई संवेदनाशून्य यन्त्र-मानवमा रुपान्तरण गर्न खोजिँदैछ।

माओवादीहरुले धेरैपटक यस्तै आशय दोहोराएको देखेको छु मैले। केहि समय पहिला एमालेका अर्का कार्यकर्तालाई निर्मम यातना दिएर एउटा खुट्टा गिँडिदिए आफूलाई 'महान क्रान्तिकारी' र 'जनपक्षीय' भनाउने माओवादीहरुले। जब विरोध भयो यो कुराको, माओवादीहरु 'त्यो मरेकै त छैन नि!' भन्न थाले। एकचोटि पत्रकारहरुले पिटाइ खाए (अचेल धेरै पिटाइ खान्छन् पत्रकारहरुले, विशेष गरी माओवादीका हातबाट), पत्रकारहरुले 'फेरि' सुरक्षा माग गरे, माओवादीहरु, स्वयं प्रचण्ड समेत, 'पिटाइ मात्रै खाएका त हुन् नि, मरेका छैनन्!' भन्न थाले।

कथित जनयुद्ध कालबाटै उनीहरु यस्तै धारणा राख्छन्। जनयुद्धमा, राज्य र माओवादीका तर्फबाट 'थुप्रै निर्दोष पनि मारिए' भन्ने कुरा उठ्दा पहिला त उनीहरु सकेसम्म सबै दोष राज्यको टाउकोमा हाल्न खोज्थे, नसकेपछि, 'क्रान्तिमा दुई-चारजना निर्दोष पनि मर्नु कुनै ठूलो कुरा हैन! गहुँ पिस्दा अलि-अलि घून पनि पिसिइहाल्छ नि!' भन्थे। बीबीसी-नेपाली सेवाले लिएको अन्तर्वातामा माओवादीका नेता-कार्यकर्ताका मुखबाट धेरै चोटि यस्ता कुरा सुनेको थिएँ मैले। के सर्वसाधारण जनता भनेका घून हुन्?

गरीबको दुहाई दिएर र सामन्तवादी अन्यायको विरोधमा जनयुद्ध गरेको भनेपनि जनयुद्धकालको एउटा आम सत्य के हो भने माओवादीद्वारा निचोरिने भनेका धेरैजसो गरीब जनताहरु नै थिए। अलिक हुनेखानेहरु त चन्दा दिएर उम्किन्थे, अझ माओवादीको संरक्षणनै पाऊँथे। ब्यक्तिगत प्रतिशोधका लागि माओवादी आन्दोलनमा लागेकाहरु धेरै थिए, अहिले पनि ब्यक्तिगत रिसइबी साध्न माओवादी वा वाइसीएल बन्ने प्रवृत्ति कायम छ। प्रतिशोधको राजनीति हावी भएपछि अपराधीकरण झाँगिनु कुनै नौलो कुरो भएन।

२०५५ सालतिरको कुरा हो, कान्तिपुरको पहिलो पृष्ठमा एउटा फोटो छापिएको थियो। त्रिवि किर्तिपुरको अडिटोरियम बाहिर अखिल क्रान्तिकारीका विद्यार्थीहरु कुनै एक ब्यक्तिलाई निर्घात कुटपीट गरिरहेका थिए। अखिल क्रान्तिकारीको कुनै सम्मेलन हुँदै थियो र कसैले त्यो मान्छे जासूस हो भन्ने हल्ला चलाईदिएछ। बस काम पाए माओवादीहरुले!त्यो मान्छे कुटाइको चोटले गर्दा अर्धचेत देखिइसकेको थियो, टाउकोबाट बगेको रगतले गर्दा अनुहार नचिनिने भईसकेको थियो। फोटोमा उक्त ब्यक्ति घोप्टे परेर सुतेको थियो र आफ्नो रगतिच्छे टाउको उठाउने कोशिश गर्दै थियो, माओवादीहरुको समूह उसको टाउकोमा लात्ती प्रहार गर्न खुट्टा उचालिरहेको थियो। त्यो फोटो सम्झिँदा अहिलेपनि आङ्ग सिरिङ्ग हुन्छ मेरो।

माओवादी कार्यकर्ता वा शुभचिन्तकहरुसंग यसबारेमा कुरा गर्दा 'हाम्लाई पनि सेनाले कम यातना दिएको छ र?!' भन्थे। आफूलाई यातना र अन्यायको विरुद्ध क्रान्ति गर्न हिँडेको भन्नेहरुले पनि ठ्याक्कै उही ब्यबहार देखाएपछि कसरी फरक भयो उनीहरु र तत्कालीन शाही सेनामा? यो कुराको जवाफ माओवादीहरुले कहिल्यै दिएनन्, अझै दिएका छैनन्। त्यो ब्यक्ति जासूस नभईकन भिडभाडको रमिता हेर्न पसेको कुनै रामे वा श्यामे हुन सक्दैन भन्ने के ग्यारेण्टी छ? यदि जासूसनै हो भनेपनि आफूलाई 'न्यायपूर्ण समाज निर्माण गर्न क्रान्तिमा होमिएका' भन्ने र भनाउन चाहनेहरुले देखाउने ब्यबहार त्यहि हो?

माओवादीले कथित जनयुद्धकालभरि आफूप्रति थोरैमात्र पनि विमति राख्नेप्रति देखाएको वर्वरताको कुनै सीमा छैन। वर्वरताको कुरा गर्ने हो भने उनीहरु अल-कायदा र इराकमा हाम्रा नेपाली दाजुभाइहरुलाई निर्मम यातना दिएर मार्ने अन्सर-अल-सुन्नाभन्दा केहि कम छैनन्। शिक्षकलाई उसकै विद्यार्थीहरुको अगाडि रूखमा बाँधेर मार्ने, ठूलो ढुंगाले किचेर टाउको छ्याल्लब्याल्ल पारेर मार्ने, मान्छे भित्र हुँदाहुँदै बसमा आगो लगाउने--- के गरेनन् उनीहरुले?!

यी सबैलाई युद्धकालको बाध्यता भनेर आँखा चिम्लिने हो भनेपनि शान्ति-प्रकृयामा पसेपछिका यी दुई-तीन वर्षमा पनि उनीहरुको हिँसाप्रियतामा कत्ति कमी आएको छैन। दोश्रो जनआन्दोलन सकिएको केहि महिनापछि एउटा दलित युवालाई उनीहरुले कुखुरा चोरेको (पछि त्यो पनि असत्य भन्ने प्रमणित भयो) सानो निहुँमा रातभरि कुटेर मारेका थिए। यहि एउटा घटनाले उनीहरुको नियत नसप्रिने देखाईसकेको थियो। लोकतन्त्र पुनर्वहालीपछिका एक वर्षमा उनीहरुले एक दर्जनभन्दा बढी निर्दोष नागरिकको हत्या गरिसकेका थिए। त्यसयताका वीरेन्द्र साह, रामहरि श्रेष्ठ लगायतका यावत हत्याकण्ड/घटनाहरु त यहाँहरुका आँखामा छर्लङ्गै छन्।

कोहि मान्छे किन यति साह्रै हिँसक र हत्याप्रिय हुन्छन्?!

भगवान बुद्धसंग सम्बन्धित एउटा प्रसंग छ। एक दिन कुनै भयंकर हत्यारासंग भगवानको जम्काभेट भयो। ऊ आफुलाई अत्यन्त बहादुर सम्झिन्थ्यो। आफुले गरेका सम्पूर्ण हत्या-हिंसामाथि गर्व गर्दै उसले भगवान बुद्धलाई पनि मार्छु भन्यो। भगवानले शान्त भएर 'मलाई मार्न त मार, तर त्यसभन्दा पहिला मैले भनेको एउटा सानो काम गर' भन्नुभयो। हत्याराले यो शर्त स्विकार ग-यो।

"उ त्यो रुखको एउटा पात चुँडेर मलाई देऊ।" भगवानले भन्नुभयो। हत्याराले तुरुन्तै दियो।
"ल अब यो पातलाई फेरि रुखमा जस्ताको तस्तै गरेर जोड।" भगवानले पात उसैलाई फिर्ता दिँदै भन्नुभयो।
"यो कसरी हुन्छ? चुँडिईसकेको पात फेरि कसरी रुखमा जोड्न सकिन्छ? कस्तो बहुलाहा कुरा गर्छस् तँ?!" हत्यारा रिसाएर करायो।
"ठिक भन्यौ तिमीले" भगवानले भन्नुभयो, "यो पात चुँड्न एकदम सजिलो छ तर फेरि जोड्न असम्भव छ। मान्छेको जीवन पनि त्यस्तै हो, चुँड्न अति सजिलो छ तर जोगाउन साह्रै गाह्रो छ। त्यसकारण, हत्या गर्नेहरु बहादुर होइनन्, ती त अत्यन्त कातर हुन्। बहादुर र साहसी त ती हुन् जो अरुको जीवनको रक्षा गर्छन्।"
महिमामण्डित भगवानका मुखबाट निस्केका यी वचनले हत्यारालाई जीवनको महत्ताको बोध भयो। ऊ बदलियो र हत्याहिंसाको मार्ग छोडेर भगवानको संघमा सामेल भयो।

भगवान बुद्धको यो शाश्वत वचन माओवादीलाई बुझाइदिने कसले?

के उनीहरुमा बोधिकथाको त्यो हत्यारो जत्तिपनि संवेदना बाँकी छैन?


Image Source: TIME SPECIFIC


April 02, 2009

जापानमा उत्तर कोरीया आतंक


Image source:Provide for the Common Defense

केहि हप्ता यताबाट हरेक दिनको जापानी समाचारमा नछुट्ने कुरा बनेको छ, अब एक-दुई दिनमै उत्तर कोरीयाले गर्ने कथित ‘भू-उपग्रह प्रक्षेपण’। जापान, दक्षिण कोरीया र अमेरिकाले यसलाई ‘भू-उपग्रहको खोल ओढाएर उत्तर कोरीयाले आणविक क्षेप्यास्त्र परीक्षण गर्न लागेको’ भनेर दोषारोपण गरेका छन् भने उत्तर कोरीयाले भने ‘संचार-प्रयोजनका लगि भू-उपग्रह प्रक्षेपण गर्न लागेको’ भनेर स्पष्टीकरण दिँदै पछि नहट्ने संकेत दिईसकेको छ। उत्तर कोरीयाजस्तो निर्मम तानाशाही भएको, बन्द र विश्व-समुदायबाट अलगथलग देशभित्रका गतिबिधिबारे पूरा र स्पष्ट जानकारी आउने सम्भावना एकदमै कम हुन्छ, त्यसैले यो प्रकरणभित्रको यथार्थ पनि उत्तर कोरीयाली शाशकहरुको एक तप्कालाई मात्रै थाहा होला। बाँकी विश्वमा भने अमेरिकी जासूसी भू-उपग्रहहरुले खिचेका तस्बीरहरुका आधारमा संभावित प्रक्षेपणको प्रकृति र क्षमता आदिका बारेमा अडकलबाजी मात्रै चलिरहेका छन्।

अनगिन्ती वार्ता र 'मोलतोल'हरुपछि उत्तर कोरीयाले आफनो आणविक हतियार कार्यक्रमलाई स्थगित गरेको धेरै भएको छैन। केहि पश्चिमा संचारमाध्यमहरुले अहिलेको यो प्रकरणलाई नयाँ अमेरिकी राष्ठ्रपतिको ‘नाडी छाम्ने उत्तर कोरीयाली प्रयास’को रुपमा पनि चित्रित गरेका छन्। त्यो पनि यो प्रकरणबाट पूरा गर्ने उत्तर कोरीयाका केहि उद्देश्यहरुमध्ये एक हुन सक्ने सम्भावना प्रबल छ। अमेरिका लगायतका विश्वशक्तिहरुसंग सिंगौरी खेल्नका लागि आर्थिक मन्दीले सबैको ‘नींद हराम’ गरिरहेको यो समय एकदम उपयुक्त लागेको हुनसक्छ उत्तर कोरीयालाई।


अडकलबाजीको स्रोत
विस्तृत जानकारी Global Security.org मा भेट्न सक्नुहुन्छ।

जापानले आफ्नो सुरक्षा-संयन्त्रलाई एकदमै सजग बनाएको छ। प्रक्षेपणका क्रममा केहि गल्ती भएर मिसाइल जापानतिर सोझिन सक्छ भन्ने डर छ जापानलाई। जापानी वायु सीमा (air space) भित्र पसेमा त्यसलाई ध्वस्त पारीने घोषणा गरीसकेको छ जापानले। क्षति पुग्नसक्ने सम्भाबित ठाऊँका जनतालाई तुरुन्त सूचित र उद्धार गर्न सकिने तयारी पनि भइरहेको छ। उता उत्तर कोरीयाले आफ्नो क्षेप्यास्त्रलाई 'छोइएमा' जापानमाथि धावा बोल्ने र जापानलाई तहसनहस पार्ने घोषणा गरेको छ। यसरी यतिखेर सुन्दर हानामीको मौसमभित्र युद्धको बादल लुकिरहेको छ र परिष्थितिले जस्तो मोड पनि लिनसक्ने संभावना छ।

उत्तर कोरीया जापानको लागि आतंकको स्रोत हो। आनुवांशिक र सांस्कृतिक हिसाबले दुबै जाति निकट लागेपनि धेरै ऐतिहासिक कारणहरुले गर्दा यी दुई देशको सम्बन्ध अत्यन्त जटिल र एकापसमा शंकालु रहेको छ। निकट इतिहास हेर्दा, गत शताब्दीको शुरुवातमा जापानले पूरै कोरीयाली प्रायद्वीपमाथि कब्जा जमायो र चरम दमनकारी औपनिवेशक शाशन ग-यो। दोश्रो विश्वयुद्धमा जापानको हारपछि जापान त फर्कियो तर शीतयुद्धको मारमा परेर कोरीया विभाजित भयो। उत्तर कोरीयामा सोभियत संघ समर्थित साम्यवादी तानाशाही शुरु भयो भने दक्षिण कोरीया अमेरिका समर्थित सरकारको नियन्त्रणमा पुग्यो। दक्षिण कोरीया कहिले सैनिक शाशन कहिले प्रजातन्त्र हुँदै अहिलेको प्रजातान्त्रिक राजनीतिक स्थायित्व र आर्थिक समृद्धिमा आईपुगेको छ भने उत्तर कोरीया ठीक उल्टो झन्-झन् कठोर दमनकारी राज्य बन्दै गएको छ। शीतयुद्धको समाप्तिपछि उत्तर कोरीयाको निकटतम बाह्य सम्पर्क झन् खुम्चिएर चीनमा सीमित भएको छ।

त्यतिखेरको जापानी अत्याचारका कारण उत्तर-दक्षिण दुबैतिर जापानलाई मन नपराउने कोरीयालीहरुको संख्या ठूलो छ। त्यतिखेरको औपनिवेशिक अत्याचारलाई छोप्न खोजेको, कहिल्यै खुल्ला मनले स्विकार र पश्चाताप नगरेको आदि आरोप लाग्ने गरेको छ जापानमाथि। त्यति हुँदाहुँदै पनि दक्षिण कोरीयाको जापानी नीति धेरै हदसम्म ब्याबहारिक र भविष्यमुखी भईसकेको छ। दक्षिण कोरीया आर्थिक रुपमा पनि जापानको समकक्षी र प्रतिष्पर्धी भईसकेको छ र जापानसंग उस्का ब्यापारिक लगायतका धेरै स्वार्थहरु जोडिएका छन्। यो अबश्थामा जापानसंगको सम्बन्ध अस्थिर हुँदा जापान र दक्षिण कोरीया दुबैलाई हानी हुने निश्चित छ। त्यसैले यी दुई देश आफूबीचका समस्यालाई कूटनीतिक प्रयासबाट हल गर्नेतिर लागेका छन्।

उत्तर कोरीया आर्थिक रुपले टाट उल्टेको धेरै भईसकेको छ। यसको अहिलेको एउटा प्रमुख 'खेती' दक्षिण कोरीया, जापान र अमेरिकाका विरोधमा निरन्तर विषवमन गर्नु, धम्क्याउनु र 'मोलतोल' गरेर आर्थिक सहयोग पाउनु रहेको छ। देशभित्र जनतालाई मौलिक ब्यक्तिगत अधिकार र राजनीतिक-सांस्कृतिक स्वतन्त्रता बिल्कूलै दिईएको छैन। साम्यवाद र सर्वहारावर्गको अधिनायकत्वको नाम दिँदै चरम दमनकारी र सैन्यप्रधान राज्यब्यबश्था खडा गरिएको छ। आफूलाई सबैभन्दा आधुनिक र प्रगतिशील विचारधारको अनुयायी भन्न रुचाउनेहरुले सामन्ती शाशनमा झैं किम 'राजवंश' खडा गरेका छन्। अहिलेका 'सुप्रिमो' किम जोङ इलको सन्की पारासंग पूरै विश्व सशंकित छ।

जापानीहरुलाई आतंकित बनाउने अर्को प्रसंग अपहरण हो। १९७७ देखि १९८३ को अवधिमा थुप्रै जापानीहरु, धेरैजसो तन्नेरीहरु रहस्यमय ढंगले हराए। पछि थाहा भयो, आफ्ना जासूसहरुलाई जापानी सिकाउने प्रयोजनका लागि अथवा हत्या गरेर ब्यक्तिगत पहिचान (personal information) 'चोरी' गर्नका लागि उत्तर कोरीयाले अपहरण गरेको रहेछ। उत्तर कोरीया आफैंले पनि स्विकारिसकेको छ, यो कुरा तर केहि ब्यक्तिहरुको 'दुस्साहस'लाई दोषी देखाएर आफू भने पन्छिएको छ। अपहरण गरिएको संख्यामा पनि विवाद छ। उत्तर कोरीयाले १३ जनाको मात्रै जिम्मेवारी लिएको छ भने जापानी सरकारले औपचारिक रुपमा १६ जनाको नाम पेश गरेको छ। सरकारले १६ जना मात्रै भनेपनि जापानी जनमानसमा भने यो संख्या ७०-८० हुनुपर्ने धारणा ब्याप्त छ। केहि वर्ष पहिला जापान-उत्तर कोरीया वार्तापछि अपहरितमध्येका ५ जना आफ्ना परिवारसहित जापान फर्केका छन्। बाँकी आठजना मरिसकेकोले अब यो समस्या बाँकी नरहेको उत्तर कोरीयाको जिद्दी छ भने जापानले त्यसलाई स्विकारेको छैन।

यसरी अपहरणमा पर्ने दक्षिण कोरीयालीहरुको संख्या झन् ठूलो, ५०० को हाराहारीमा छ। दक्षिण कोरीया र जापान बाहेक चीन, थाइल्याण्ड, लेबनान, जोर्डान, रुमानिया आदि देशका थुप्रै मान्छेहरु पनि उत्तर कोरीयाको अपहरणमा परेको प्रमाणित भईसकेको छ। यी मध्येका केहिलाई वार्ताका 'गोटी'का रुपमा प्रयोग गर्दै पनि आएको छ उत्तर कोरीयाले। पाँच जापानीजस्तै अरु कतिको स्वतन्त्रता पनि आर्थिक सहयोग र बिभिन्न कूटनीतिक छुटसंग 'साटिएको' हुनसक्छ।

अहिलेको यो प्रकरण पनि उत्तर कोरीयाको 'बाली' उठाउने मौसम हुनसक्छ। विश्वसमुदाय- विशेष गरी दक्षिण कोरीया, जापान र अमेरिकालाई धम्काएर आर्थिक सहयोग र कूटनीतिक छुट लिने र त्यसपछि यो कार्यक्रमलाई रद्द वा स्थगित गर्ने रणनीति हुनसक्छ उसको। चीन र रुस, विशेष गरी चीन 'दाहिना' हुञ्जेल संयुक्त राष्ट्रसंघ वा विश्व-समुदायले उसलाई खासै नियन्त्रणमा लिन पनि सक्दैन। त्यसैले भित्रभित्रै कुनै 'मोलतोल' चल्दै गरेको हुनसक्ने सम्भावना पनि छ ।

Image source: Associated Content