Showing posts with label पाहुनाको कोसेली. Show all posts
Showing posts with label पाहुनाको कोसेली. Show all posts

July 22, 2013

'असमय' कविता सङ्ग्रबाट 'दिदी'

हिजो साउन ५ गते सहकर्मी साथी शरण आँसुजीको कविता सङ्ग्रह "असमय" को विमोचन भयो। पोखरा उद्योग वाणिज्य संघको अमृत शेरचन कक्षमा। पोखरेली युवा सांस्कृतिक परिवारद्वारा प्रकाशित उक्त कविता संग्रहमा ४८ कविताहरु संग्रहीत छन्। आँसुजीका कविता पाठकका मनमा विशिष्ट भाव छोड्न सफल छन्। आज उक्त सङ्ग्रहको एक कविता साभार गर्न चाहन्छु। हिजोको विमोचन कार्यक्रममा आँसुजीको आग्रहमा यहि कविता वाचन पनि गरेको थिएँ मैले।

दिदी 
- शरण आँसु

डोको र नाम्लो यहीं छ
आँसी उद्याउने ढुङ्गो यहीं छ
मझेरी र भान्छामा रारन्न छ।
जूठो कसौंडी र ताप्केसित रित्तिएको
तिम्रो सपना यहीं छ।
तिमीसितै
बेसी झरेको
तिम्रो रहरको खेत यहीं छ।
दिदी!
तिमी कहाँ छौ?
तिम्रो आँखामा धान झुलेको छ कि छैन?
तिम्रो आँखामा रहर फुलेको छ कि छैन?

यहाँ त
बारीको डिलमुनि
गल्लीको छेउमा
लालुपाते फुलेको छ,
कान्ला, खोल्सामा
टाँकी फुल्दो छ र
तल्लाघरे कान्छा बाको कपाल पनि
सेतै टाँकी भएर फुलेको छ।
दिदी!
तिम्रो आँखामा
लालुपाते र टाँकी फुलेको छ कि छैन?

कोही भन्छन्
तिमी सहरमा छौ
कोही भन्छन्
तिमी सहरभन्दा बाहिर
रहरहरुको जहर पिएर बसेकी छौ।
कोहि भन्छन्
तिमी
सभ्यताको चुलीबाट पछारिएको
समयको आखेट भएर
निर्लज्ज/निर्बस्त्र
विज्ञप्त भएकी छौ।
दिदी!
तिमी कहाँ छौ?

यहाँ त पर्म छ
मर्मै मर्म छ
मर्महरुको पहाड छ।

सबै सबैको आँखामा
तिम्रो सम्झनाको पहाड छ।
दिदी!
तिमी कहाँ छौ??

March 22, 2012

राष्ट्र प्रेम अनि प्रतिफल

- रिषभ आत्रेय
 
एक हुल नेपाली टुइटर प्रयोग कर्ता नेपालीले 'नेपाल' लाई टुइटरको ट्रेन्डमा ल्याउन गत हप्ता निकै प्रयत्न गरे तर सफल भएनन । यो प्रसङगबाट कम्तिमा दुई ओटा शिक्षा लिनु पर्दछ । एउटा कथा छ, बाँदरले आफ्नो सुतिरहेको प्रिय मालिकको अनुहारमा माखा नाचेको देख्न नसकी झम्टन्छ। परिणाम माखा होइन मालिकको अनुहारनै चिथोरिन पुग्छ। प्रेमको त्यो तितो प्रतिफलको अर्को कथा नेपाल अनी नेपाली बनिरहेका छौ।
 
टुइटरको यो प्रसँगले सिकाएको एउटा पाठ, हामी नेपाली कुनै काम गर्नु अघी कती अध्ययन गर्दारहेछौ त ? भन्ने हो। टुइटरमा कुनै पनि शब्द वा वाक्य ट्रेन्ड गर्न हुल्का हुल टुइट गर्नु अघि टुइटर ट्रेन्ड भनेको केहो बुझ्नु जरुरी छ। ट्रेन्डको नेपाली अर्थ हुन्छ, प्रब्रिती। टुइटर प्रब्रिती के हो त ? टुइटरको नियम अनुसार, कसैले आफ्नो बिषय ट्रेन्ड मा पार्न जबर्जस्त प्रयत्न गर्नु हुँदैन। संसारले हेर्ने बिषयमा देश प्रेमको नाममा नियम मिचाइ गर्नु कतीको उपयुक्त होला ? नेपाली यूवाहरुले माथिको बाँदरको कथा मनन गर्नु आवश्यक छ । टुइटरले ट्रेन्डमा आउने बिषय छान्न बिशेष गणितिय बिधी ( algorthm) प्रयोग गर्दछ। सो बिधी अनुसार सबैभन्दा छोटो समयमा धेरैले चर्चा गरेको बिषय मात्र ट्रेन्डमा पर्न सक्दछ। उहि  प्रयोग कर्ताले बारम्बार टुइट गरेर हुनेहोइन। अझ एउटै टुइटमा एक भन्दा बढी ह्यास राखी एउटै  शब्द टुइट गर्दा प्रयोग कर्ताको एकाउन्टनै कालो सुचिमा पर्ने (बन्द हुने ) सम्भावना हुन्छ। नेपाली प्रयोगकर्ता त्यो पनि एउटै समयमा एउटै बिषयमा टुइट गर्ने को सँख्याले सो गणितिय बिधी पार गर्न जटिल नै  छ । नेपाली टुइटर प्रयोग कर्ताको आफ्नै ट्रेन्ड के छ भने सकेसम्म रिटुइट नगरि  RT प्रयोग गरी पुन: टुइट गर्ने प्रचलन छ। कसैलाई प्रतिउत्तर गर्दा पनि RT नै प्रयोग गरेर पुन: टुइट गर्ने त नेपाली फेसननै बनेको छ। रिटुइट नै नगरि कसरी एउटै बिषय छिटो चर्चामा आयो भन्ने होला? सफल हुन उदारता चाहिन्छ, एउटा रिटुइटमा पनि चुत्थो गर्नु आवश्यक छैन।
 
अर्को पाठ यो प्रसँग ले के दिएको  छ भने, नेपाल लाई टुइटरमा ट्रेन्ड गर्नुको कारण के त ? त्यो नै प्रस्ट नहुनु । यसरी युवा पुस्तानै उद्देश्य बिहिन कार्यमा समय खेरा फालेर नेपाल संसारमा चिनिएला ? वा कस्तो रुपमा चिनिएला ? नेपाली प्रख्यात नभई नेपालमात्र प्रख्यात हुनु भनेको संसारमा ईथोपिया प्रख्यात हुनु जस्तै हो तेसैले नेपाली युवा हरु टुइटरमा नेपाल लाई प्रख्यात गराउन होइन आँफै प्रख्यात हुनको लागि अध्ययन अनुसन्धानमा समय लागाउने कि ? 

November 14, 2011

कवि अल्पबिराम पोखरेलीका मुक्तकहरु

आज म चर्चित पोखरेली कवि अल्पबिराम पोखरेलीका मुक्तकहरु राख्दैछु। उहाँका क्रान्तिकारी हिऊँका फूलहरु (कविता संग्रह), ईश्वर छन्, ईश्वर छैनन् (कविता संग्रह) र टुकीको उज्यालो (मुक्तक संग्रह) प्रकाशित छन्।

कवि अल्पबिरामसंगको मेरो चिनजान म २०५४ सालमा पोखरा पसेताका देखिकै हो हाम्रो। हामी दुबैको कार्यस्थल एकै पनि हो। 






-१-
म हुँ प्रेम यात्री मेरो गन्तब्य तिमी नै हौ
मेरो सपनाको पनि परिदृश्य तिमी नै हौ
आऊ एउटा साझा गीत गाऔं मानव प्रेमको
अरु भन्नु नै के छ र मेरो मन्तब्य तिमी नै हौ।


-२-
आफु भित्र भ्रष्टाचारको सातु पिन्न मसंग जाँतो छैन
मानवताको दुनियाँमा प्रवेश गर्न मसंग साँचो छैन
मसंग फगत प्रेम छ ,प्रेमको बदला प्रेम देऊ मलाई
आफै नीरिह बन्ने भगवानको मलाई केहि खाँचो छैन।

-३-
जो तड्पिन्छ उसैलाई तड्पाउ
जो दच्किन्छ उसैलाई दच्काउ
म त नेताको मान्छे ,पुलिस दाई
जो थर्किन्छ उसैलाई थर्काउ।

-४-
आफन्तहरुको लासको संख्या गन्दै छु म
यो देशमा लोकतन्त्र आएकै छैन भन्दै छु म
नेपाल बन्द चक्काजामको मार मुन्ग्रिमा
सीमा हराएको देशको नागरीक बन्दै छु म।

June 12, 2011

मुक्तक मञ्च-पोखराको मासिक कार्यक्रमबाट

हिजो म मुक्तक मञ्च-पोखराको नियमित मासिक मुक्तक वाचन कार्यक्रममा भाग लिन पुगेको थिएँ। कार्यक्रम नदीपुरस्थित बालमन्दिरको विद्यालय भवनको एउटा (कक्षा)कोठामा भएको थियो। यो कार्यक्रम हरेक महिनाको अन्तिम शनिबार आयोजना हुन्छ।

संयोगवश, हिजै मुक्तक मञ्चको अधिवेशन पनि परेको रहेछ। नयाँ कार्यसमिति चुन्ने प्रकृया जारी थियो म पुग्दा। मैले बुझेसम्म, बहुमतको चाहना रहेको सर्वसम्मत कार्यसमिति बन्न सकिरहेको थिएन। त्यति धेरै आर्थिक कारोबार नहुने सानो संस्था भएपनि विवादका विषयवस्तु भने निक्लिहाल्दा रहेछन भन्ने चर्चा चलिरहेको थियो। अन्त्यमा, प्राज्ञ तीर्थ श्रेष्ठ, कवि-गीतकार प्रकट पगेनी 'शिव', कवि विष्णु अल्पविराम लगायतका वरिष्ठ श्रष्टाहरुको सकारात्मक 'हस्तक्षेप' पछि नयाँ कार्यसमिति बन्यो।

नयाँ कार्यसमितिको पदस्थापन पछि मुक्तक मञ्चको ३७औं मुक्तक वाचन कार्यक्रम शुरु भयो। देशप्रम, राजनीतिक गतिहीनताप्रतिको आक्रोश र मायाप्रेमका विषय समेटिएका थुप्रै सटीक र सुरुचिपूर्ण मुक्तकहरु सुन्न पाईयो। कार्यक्रममा नियमित भाग लिने श्रष्टाहरुका ब्यक्तिगत जीवनका कुरालाई समेटेका मुक्तक समेत वाचन गरिएका थिए। 

मुक्तकका सवालमा पोखरा एउटा अग्रणी ठाऊँ हो। यहाँ पैंतीस वर्ष अगाडिनै 'टिकटमा मुक्तक' सुन्ने कार्यक्रम आयोजना भईसकेको रहेछ। प्राज्ञ तीर्थ श्रेष्ठ पैंतीस वर्ष अघि त्यस्ता कार्यक्रम गर्न गर्नुपरेको संघर्षका कुराहरु स्मरण गर्नुभएको थियो आफ्नो बक्तव्यमा। अहिले पनि बेलाबखत 'टिकटमा मुक्तक' कार्यक्रमहरु आयोजना भईरहन्छन्। आऊँदो असार १७ गते प्राज्ञ श्रेष्ठकै 'एकल मुक्तक कार्यक्रम' आयोजना हुँदै रहेछ।

मैले आफ्ना पूराना चार मुक्तकहरु वाचन गरेको थिएँ।

आज त्यसै कार्यक्रमका दुई स्रष्टाहरुका मुक्तकहरु यहाँहरु समक्ष पस्किने अनुमति चाहन्छु। मुक्तक उपलब्ध गराईदिनुभएकोमा श्रष्टाद्वयलाई हार्दिक धन्यबाद!

-एकदत्त लम्साल

‍-१-
जस्तो रोप्यो उस्तै फल्छ भन्ने था' छैन कि
आलटाल गर्दा समय टल्छ भन्ने था' छैन कि
संविधान बनाउन अझै ग-यौ भने ढिलासुस्ती
सडकमा फेरि मशाल बल्छ भन्ने था' छैन कि ।

-२-
दिनभरि काम गर्ने ज्यामी भोको छ यो अझै
निर्धन दुखारीलाई बेदनाको पोको छ यो अझै
जसले मह काढ्छ यहाँ उसैले हात चाट्छ
गरीब जनता न्याय नपाई रो'को छ यहाँ अझै।


-मन क्षेत्री (lash_alive@yahoo.com)
सचिव-गजल सन्ध्या, पोखरा

-१-
बडो धूमधामको रमिता हुनेछ
म लाश हुनेछु र मेरो चिता हुनेछ
जलाउनुअघि एकपटक तलाशी लिनुहोला
खल्तीमा कि गजल कि कविता हुनेछ ।

-२-
खल्तीभित्रै हात हालेर चोर्नेहरु छन्
दलालीमा कालो धन जोर्नेहरु छन्
अचेल यस्तै हालखबर सुन्छु पत्रकारको
कोहि भने भोकभोकै मर्नेहरु छन् ।

-३-
दिन होस् न रात होस्
प्रियसीको साथ होस्
त्यसपछि भने केहि नहोस्
कोहि किन बर्बाद होस् ।

January 29, 2011

यस्सो पसेको मात्रै:)

यो ब्लग अचेल केहि निष्कृय देखिएपनि यसको आत्मा जिऊँदो-जाग्दोनै छ भन्ने खबर दिन पसेको मात्रै आज:)

कुरो के भने, आफू कार्यरत 'अड्डा'को ईण्टरनेट त्यति भरपर्दो छैन, अनि बत्ती नहुँदा आवास क्षेत्रमा ईण्टरनेट चल्दैन। नजिकका साईबरहरु पनि त्यति भरपर्दा छैनन् भन्ने लागेर पसेको छैन अहिलेसम्म। साईबर पस्नै भनेर बजार झर्ने जाँगर पनि छैन:)

यो लोडशेडिङ्ग भन्ने जिनिस परमधाम भएपछि भने दिनदिनै ब्लग लेखुम्ला, कि कसो:)

November 18, 2009

गौतम सर,फर्मुला छोरी र भाउजू

[आज 'पाहुनाको कोसेली' मा साथी पुरुषोत्तम गौतमजीको संस्मरण राख्न चाहन्छु। २०४५-४७ मा प्रमाणपत्र तहमा अध्ययनरत हुँदा पुरुषोत्तमजीसंग चिनजान भएको हो मेरो। प्रमाणपत्र तह सकिएपछि हाम्रो सम्पर्क टुट्यो र केहि समय पहिला यहि ब्लग र फेसबुकको माध्यमबाट फेरि भेट भयो। उहाँ अहिले पाठशाला नेपाल फाउण्डेशनमा अध्यापनरत हुनुहुन्छ।]
गौतम सर,फर्मुला छोरी र भाउजू
- पुरुषोत्तम गौतम

असफलता भन्ने शब्द मूर्खहरूको शब्दकोषमा मात्र पाइन्छ भन्ने नेपोलियनको उक्ति साह्रै मन पर्थ्यो मलाई । म पनि सोच्थेँ मान्छेले गरे नहुने के होला र दुनियाँमा । मन मेरो साह्रै उत्साही थियो । संसार बदल्ने आँट थियो होला त्यो बेला । विद्यार्थी थिएँ म साह्रै मेहेनती जुनसुकै विषयमा पनि । २०४५ सालको एस.एल.सी. पास गरेर पाटन क्याम्पस पढ्न आएँ म । मेरा गु्रूहरूमा फणिन्द्र नेपाल सरलाई अझसम्म भुलेको छैन मैले । माया गरेर सिकाउने जहिले पनि केही खोजी गर्न प्रोत्साहित गर्ने । तिमी गर है भविष्यमा गएर तिमीले नेपालीमा एम. ए . गर्नु पर्छ भनिरहनुहुन्थ्यो मलाई । सरसँग नजानेको कुरा सोधिहाल्ने बानी र नयाँ कुरा खोजी हाल्ने बानीले गर्दा पनि होला माया गरेको । म दुईतिर पढ्थेँ । ललितकलाको पनि म चित्रकला विषयको विद्यार्थी थिएँ । त्यहाँ पनि माया गरेर पढाउने गुरुहरू मनुजबाबु मिश्र, राधेश्याम मुल्मी, नवराज कार्की अरु अरु सरहरू पाएँ मैले । पढ्दा पढ्दै जीवन अलिक कष्टकर बन्यो अनि मैले बाध्यताले पनि र परिस्थितिले पनि एउटा सानो जागिर खानुपर्ने भयो । त्यसैक्रममा बाध्यताबश शिक्षण सम्बन्धी थाहै नपाइ, जान्दै नजानीकन म २०४८ सालमा ललितपुरको चापागाउँस्थित कञ्चन अंग्रेजी बोर्डिङ् स्कूलको प्राथमिक तहको स्थापनाकालको शिक्षक बनेँ थोरै समयका लागि भएपनि । पाटन क्याम्पसमा बि.ए. प्रथम वर्षमा अर्थशास्त्र र गणित मुख्य विषय लिएर पढ्थेँ म । साना केटाकेटीहरूसँग खेल्न रमाउन गाउँ जाँदा पनि मलाई हरहमेशा बाटो देखाइरहन्थे । साँच्चै भन्नुपर्दा साना नानीहरू मेरा अजश्र प्रेरणाका स्रोतहरू हुन् या नि मेरा गुरुहरू हुन् । जीवनले कोल्टे फेर्यो ।

२०४८ सालमा पाटन क्याम्पस पढ्दा पढ्दै म शारीरिक अस्वस्थताका कारणले म गाउँ फर्किएँ । झापा जिल्लाको सुदूर दक्षिणी भागको जुरोपानी गा.वि.स. को ग्वालडुब्बा बजारमा एउटा सानो बोर्डिङ्ग स्कूलको प्रिन्सिपल तथा शिक्षक भएर काम गर्न थालेँ । जीवनले एकोहोरो जीवनगति पायो । साना नानीहरूसँग रमायो दिनभरि अनि घर फर्कियो । सपनामा पनि तिनै अबोध अनुहारहरू । भिन्न भिन्न प्रकृतिका नानीहरू भिन्ना भिन्नै व्यवहारहरू । नेपालको एउटा कुनाको मधेशी बाहुल्य गाउँ थियो त्यो शहरको कुनै आलिशान महल होइन । गाउँकै भलाद्मी काइँला बाजेको घरको टाँढमुनी खर र बाँसले बारेको बन्द कोठा भित्रको त्यो स्कूल गाउँका मान्छेका लागि त एउटा अंग्रेजी माध्यमको स्कूल थियो के के न गर्लान् यी दुइटा ठिटाले भन्ने थियो होला । मसँगै केशब अधिकारी भन्ने साथी पनि हुनुहुन्थ्यो त्यो बेला । जे होस् अहिले सम्झँदा २०४९ सालको पुष महिना थियो, स्थापनाको पहिलो वर्ष जस्तो लाग्छ । स्कूल गौरादहमा रहेको माउन्ट एभरेष्ट मा.वि. को शाखा स्कूलको रुपमा खोलिएको भए पनि म नै प्रिन्सिपल नियुक्त गरिएको थिएँ त्यो बेला । तर हामी दुबैको लागि त्यो क्षेत्रमा चुनौती थियो संस्था चलाउन। २०४८ सालमा नै एउटा स्कूल चलाएर बन्द भइसकेको रहेछ त्यसले गर्दा पनि हामीले धेरै सम्झायौँ अभिभावकहरूलाई । हुन त हामीलाई कसैलाई ठग्नु पनि थिएन ,अर्को स्कूलको शाखा भए पनि हामीले त्यो स्कूललाई कहिल्यै पराया ठानेनौँ, बच्चाहरू अर्काका मानेनौँ । आफ्ना नानीहरू सम्झिएर पढायौँ बढायौँ । बिना तालिमका मास्टर भएपनि धेरै कुरा थाहा पाउँदा बच्चाको भलाइको लागि गरिएछ । शिक्षाको जानकारी थिएन पनि । हामी दुबैजना मानविकी संकायका विद्यार्थी थियौँ बि.ए. पढ्दै । सिकारु थियौँ हरेक कुराका लागि । न तालिम थियो न हामीलाई कसैले सिकाएको नै थियो यसो गर्ने उसो गर्ने भनेर । मेरो कल्पनामा म कुनै दिन शिक्षक बन्छु होला भन्ने थियो होला जस्तो मलाई त्यति लाग्दैन पनि । तर पनि समय सबैको गुरु रहेछ । समयको चक्र सँगसँगै म पनि फनफनी घुमेँ अनि मेरा लक्षहरू पनि घुमे आफैँ तय भए ।

म बोर्डिङ्को एक नम्बरको मास्टर भएँ गौतम सर भएँ । बास्तवमा म कुनै दिन चित्रकलामा बि.एफ.ए. गर्छु भन्ने एउटा झिनो लक्ष भने रहेकै थियो होला जस्ते लाग्छ । तर पनि यसै गर्छु भन्ने पूर्वकिटानी केही थिएन मेरो जीवनको । सानोछँदा भोलि गएर नानी के हुन्छ ? भन्दा मेरो जवाफ म त डाक्टर हुन्छु भन्ने थियो होला अहिले सम्झँदा । तर यो सबै समयको खेला वा भाग्यको खेल म के भनूँ? पढेर ठूलो मान्छे हुनू, मन्त्री हुनू अनि धेरै पैसा कमाउनु र बुबाआमालाई सुखले पाल्नू है भनेर दशैँमा टीका थाप्ने संस्कारमै हुर्किएको मान्छे हुँ म पनि । त्यसमा पनि दशैँमा दिइने आषीक सम्झन्छु म कहिलेकाहीँ —आयूद्रोणसुते श्रीयंचदशरथे सत्यम्च कुन्तीसुते, गतिश्च पवने ..........बलम्च हलधरे ....कीर्तिश्च नारायणे यस्तै यस्तै । संस्कृतको श्लोक त्यति मजाले बुझ्ने मान्छे होइन म । तर पनि सामान्य अर्थ ठम्याउन सक्छु भन्ने लाग्छ मलाई । आषिकले भनेजस्तो न अस्वस्थमाजस्तो अजम्बरी बन्न सकूँला , न यूधिष्टिर जस्तो सत्यवादी, न बलमा बलरामको जति ताकत नै, न कीर्ति नै राख्न सकूँला नारायणको जस्तो । तर पनि म अरु भएर होइन , म आफैँ भएर जिउन बल गर्ने मान्छे हुँ जहिल्यै पनि । आषिक जे जे थापेपनि आफ्नो चाहना जे जे भएपनि सबैले सोचेको पुग्दैन सधैँ । मन्त्री बन्न नसके पनि, अरुलाई गिराएर आफू ठूलो मान्छे हुन नसकेपनि म बोर्डिङ्ग स्कूलको न्यूनबेतनभोगी जागिरे छु म ।

ती दिनहरूतिर फर्किएर हेर्दा-खालखालका नानीहरू, खालखालका विशेषताहरू । साह्रै फोहोरी कुरा बोल्नेदेखि साहै्र भलाद्मीसम्म । कोही गाउँको दूध दही मजाले खाएका छुच्चा बच्चाहरू पनि थिए अरुलाई ठेलेर लडाइदिने खालका पनि । मैले धेरैलाई भन्नु पनि ती साना नानीहरूको बानी बेहोराका बारेमा । घरमा बोलिने भाषा र बानी बेहोराको असर परेको हो कि भन्ने लागेको थियो मलाई । गाउँमा केटाकेटीको फोहोरी बोलीले गर्दा नै बच्चाले फोहोरी बोलेको जवाफ पाएँ मैले । एउटा बच्चा साह्रै पुल्पुलिएको थियो, लुरे थियो तर ऊ साह्रै बल गथ्र्यो स्कुल छोडेर भाग्न । पहिलो दिन थियो उसलाई त्यो स्कुलमा ल्याइएको । जंगली थियो ऊ । छेउकै आँगनमा धान भरेर राखिएका धानका बोराहरू थिए । मान्छेहरूको बराम लागेको थियो हेर्ने । नयाँ नयाँ बोर्डिङ्ग स्कूल खालखालका बच्चा रुने कराउने । अनि ती बच्चाको चर्तिकला हेर्नेको ताँती । मैले सानो फुच्चेलाई आऊ सानो बाबु भनेर के भनेको मात्रै थिएँ ‘‘राँडीका छोरा किन समातिस् मलाई छोड्दे? तँलाई हरिया बाँसमा बाँधेर टुँ ऽऽ पार्दै लैजान्छु ” भन्न थाल्यो ऊ । फटाहा त्यसो भन्नुहुन्छ भन्दा ‘‘मैले तपाईंलाई भनेको होइन यसलाई भनेको ” भनेर मलाई देखाउँथ्यो । मान्छेको बराम लाग्थ्यो काईला बाजेको आँगन अघि । यस्तो लाग्थ्यो यो कुनै खालखालका जीवजन्तुहरू ल्याएर प्रदर्शनको लागि राखिएको एउटा चिडियाखाना हो । उपाय केही नलागे पछि भुईको धूलो उठाएर सबैलाई छरिदिन्थ्यो अनि आफ्नो टाउकोभरि धूलो हाल्थ्यो रिसले ।

कोही रुँदारुँदै प्राणै फुत्केलाजस्तो गर्थे बिचराहरू । जबर्दस्ती । जबर्दस्ती समाएर फुल्यायो , आँशु पुछिदियो अनि फकायो । बच्चा हो एकैछिन्मा फुल्याइहालिन्थ्यो । कोही पेन्टमै दिसा गरिदिने, कोही पेन्टमै पिशाब गरिदिने । यस्तै यस्तै बच्चाहरूको माझमा थिएँ म । साना नानीहरू कति आए कति गए मलाई सबैको ख्याल छैन पनि । सिँगाने नाकैभरि प्यात्त परेको पहेँलो सिँगान बोकेर आउनेदेखि साह्रै चिटिक्क परेर आउने सम्म । म बास्तवमा पुरुषोत्तम गौतम थिएँ कलेजको विद्यार्थी । यहाँ म भएँ गौतम सर । मेरो न्वारान भयो आफसे आफ ग्वालडुब्बाको बसाइ पछि । शायद दोस्रो वर्ष या तेस्रो वर्ष थियो होला स्कूल सुरु भएको । नर्सरीमा आउने बच्चा रुने, कराउने, लडिबुडी गर्ने नै हुन्थे प्रायजसो । आमाको काख छुटाएर , बाबुको साथ छुटाएर ल्याइएका नानीहरू थामिनसक्नुका हुन्थे धेरैजसो । आफ्नो घर र निश्चित छिमेकीको घर दलान ननाघेका नानीहरू ग्वालडुब्बा बजारको यो कुटीमा ल्याइपु-याउँदा बिचराहरूको सातै जान्थ्यो होला ।

तर एकदिन एउटी सानी नानी आई स्थानीय सरकारी स्कूलमा पढाउने शिक्षिका बिन्दु खनालसित । त्यो सानी नानी बेग्लै लाग्थी हेर्दै । बडो चंख थिई ऊ । चञ्चल, ठूलाठूला आँखा । उसको अनुहारमा निकै चमक थियो । मलाई नानीहरू हेर्ने बित्तिकै कस्तो खालको हुनसक्ला भन्ने सामान्य तबरमा थाहा हुन थालिसकेको थियो त्यो बेलासम्ममा । बिन्दु मिसले भन्नु भयो —“सर ! यो हाम्री दाइकी छोरी फर्मुला हो नर्सरीमा नाम लेखाउनु पर्ने ।” मैले फर्मुलालाई —“छोरी यता आऊ त ” भनेर बोलाएँ । ऊ सरासर म भएतिर आई । प्रायजसो पहिलो दिन स्कूल आउनेहरू रोएर, जोसँग आएका हुन्थे उनीहरूलाई नै च्याप्प समाएर छोड्दै नछोड्ने, बोलाउँदा आउँदै नआउने, जंगली स्वभावका हुन्थे । तर फर्मुला त अनौठो खालकी थिई मेरो लागि ।

साना साना नानीहरूलाई केही सिकाउनु ठट्टा होइन भन्ने लाग्छ मलाई । उनीहरूको शारीरिक तथा मानसिक अवस्थाको ख्याल राखेर उनीहरूसँग व्यवहार गर्नु पर्छ । म तालिम प्राप्त शिक्षक थिइँन । ललितपुर बस्दा चापागाउँमा खुलेको कन्चन अ्रग्रेजी बोर्डिङ्ग स्कुलमा केही समय काम गरेको अनुभव थियो थोरै । साना साना नानीहरूलाई पढाउने शिक्षक थिएँ म । पढाउन थालेको केही समय पछि मलाई ब्रोङ्काइटिसले समात्यो । मैले काम गर्न नै सकिँन राम्ररी । त्यही भएर झापा हानिएको थिएँ म । मलाई अरू शिक्षण सम्बन्धी केही ज्ञान नै थिएन । म जानेर वा नजानेर मेरै ढङ्गले व्यवहार गर्थेँ बच्चाहरूसँग । न मलाई शिक्षाको सिद्धान्त नै थाहा थियो न अन्य अनुभव नै । तर पनि बाल मनोविज्ञानको एउटा किताब पढ्थें भगवती बिष्टको हिन्दी भाषामा लेखिएको । आलोकाँचो थिएँ भन्ने स्वीकार्नु पर्छ मैले । तर एउटा सत्यता के थियो भने म पढाइमा अति उत्सुक थिएँ , त्यति नै उत्सुक थिएँ शिक्षण पेशामा पनि । के गर्दा नानी बाबुहरूलाई राम्ररी सिकाउन सकिन्छ भन्ने खूब चासो लाग्थ्यो अनि सकेसम्म कोशिष गर्थेँ म । हुन त त्यो बेला हाम्रोतिर स्वाध्याय सामाग्रीको प्राचुर्यता भएको बेला थिएन । जे भए पनि म लगनको साथ काम गर्थेँ । म कुनै स्कूलको तलबी शिक्षकभन्दा पनि साना साना नानीहरूको पथप्रदर्शक हुँ भन्ने लाग्थ्यो मलाई । उनीहरूका खराब आदतहरू हटाएर असल आदतहरू निर्माण गर्नु, नाकनिकेहरूलाई खाना खाने बेलामा सम्झाउनु त्यति मात्रै होइन बुबा आमाका चुरोट बिँडी, खैनी खाने तथा मद्यपान गर्ने आदि आदत हटाउन सहयोग पुर्याउनु पनि थियो । मलाई लाग्थ्यो पढाउनु भनेको मात्रै बाह्रखरी सिकाउनु र ए बी सी डी सिकाउनु मात्र होइन । बच्चालाई नैतिकवान बनाई समाजको एक दर्बिलो खम्बा बनाउनु पनि हो । किताबी ज्ञानको अथाह भण्डार भएर पनि बच्चा नैतिकवान बन्न सकेन भने उसले हासिल गरेको ज्ञानको केही अर्थ छैन भन्ने ठान्थ्यो मेरो अलिअलि पढेको दिमागले । पढाउनु भनेको बच्चाको शारीरिक,मानसिक , बौद्धिक तथा नैतिक बिकास गराउनु पनि हो भन्ने विचारले नै अघि बढ्थेँ । जीवन एक अनुभवकै रुपमा भोग्दै थिएँ म । साना साना नानीहरू तिनीहरूको आफ्नै दुनियाँ अनि मेरो पनि आफ्नै दुनियाँ थियो । तिनीहरूको माझमा समय बितेको पत्तै हुँदैनथ्यो मलाई ।

फर्मुला छोरी मेरी साह्रै मिल्ने साथी बनी, अलिदिन जति बसी । मसँग धेरै कुरा गर्थी ऊ । मलाई थाहा भइसकेको थियो उसको आदत । हँसिली थिई ऊ । रुनेहरूलाई फर्मुला देखाएर सम्झाउन थालेको थिएँ म । हेर ! फर्मुला त रोएकी छैन भनेर । फर्मुला अरुलाई पनि किन रोएको भन्थी, अनि म त रोएकी छैन त भन्दै मलाई नै सहयोग गर्थी । रुनु हुँदैन त भन्दै अरुलाई फकाइदिन्थी । रुँदा रुँदै नानीहरु हाँस्न थाल्थे आँशु झरेकै आँखाबाट पनि । मलाई आनन्द लाग्थ्यो । नाटक गर्नु पर्थ्यो केटाकेटीका खुशीका लागि । मलाई लाग्छ साना नानीहरूसँग रमाउँदाको आनन्द दुनियाँका अरु केहीले पनि दिन सक्दैन मलाई ।

मैले ग्वालडुब्बामा पैसा कमाएर ठूलो मान्छे बनौँला, धनी बनौँल भनेर पनि पढाउन सुरु गरको थिईन मैले । कञ्चन अंग्रेजी बोर्डिङ्गमा पढाउँदा रमाइलै लागेको थियो साना साना नानीहरूको साथ त्यसैले ग्वालडुब्बामा स्कूल चलाउने कुरालाई स्वीकारेर म झरेको थिएँ । काम अरुले के भन्ला र केही पाइएला भनेर गर्ने पनि होइन भन्ने लाग्थ्यो मलाई । आफूलाई के सही लाग्थ्यो त्यही गर्थेँ म । एकदिन नर्सरीलाई पढाउँदै गर्दा फर्मुला छोरीलाई छोरी राम्रो लेख है भनेको थिएँ मैले । उसले त उल्टै पेन्सिल डेस्कमा पो राखिदिई । छोरी पेन्सिल समात लेख्नु पर्छ भन्थेँ म । ऊ गफ गर्न थाली मसँग उल्टै । मलाई थाहा छ साना नानीहरू साह्रै जिज्ञासु हुन्छन् । यस्ता यस्ता अनौठा प्रश्नहरू गर्छन् म ती सबै प्रश्नहरूको जवाफ दिने सामर्थ्य राख्दिन । तिनीहरूको उत्सुकताको सीमै हुन्न जस्तो लाग्छ । म ठूला मान्छेको प्रश्नको जवाफ दिएर सन्तुष्ट पार्न सकूँला तर साना नानीहरूलाई सन्तुष्ट बनाउने ममा क्षमता, ताकत वा सामथ्र्य जे भनौ ममा छैन । एउटा पछि अर्को प्रश्नको ओइरो लगाउँछन् उनीहरू । त्यसैले मैले भनेको छु —“साना नानीहरूलाई सम्हाल्ने काम, पढाउने काम साह्रै कठिन हुन्छ । भविष्यमा जे जे बने पनि उसको यो बेला नै जग बस्ने बेला हो।“सर म त राम्रो लेख्छु । मैले राम्रो लेखेँ भनेँ नि मेरी आमा आउनुहुन्छ फर्केर । मेरी आमा ऊ माथि जानु भाको छ ” हातले इशारा गरेर उसले मलाई आकाशतिर देखाई । “अनि कि मेरी आमा त देउतीमाताको घर पो जानु भाको छ त थाहा छ तपाईंलाई? माथिबाट आमाले हेरिरहनु पो हुन्छ त मलाई सधैँ । मैले राम्रोसँग लेखेँ भने, पढेँ भने मेरी आमा खुशी भएर यहीँ आउनु हुन्छ रे ।"

मलाई थाहा भइसकेको छ फर्मुलाकी आमा यो दुनियाँमा हुनुहुन्न भनेर तर पनि कति अबोध छे फर्मुला छोरी । उसले मलाई भनिसकेकी छे आमा देउतीमाताको घर जानु भएको छ भनेर । म त ट्वाल्ल परेँछु । उसलाई हेरेको हेर्यै भएँछु । जब उसले भनी आमा फेरि फर्केर आउनुहुन्छ यहाँ, तब मैले सोधेको थिएँ फर्मुलालाई — “छोरी तिमीलाई कसले भनेको भनेर ?” “हाम्री हजुरआमाले सधैँ भन्नु हुन्छ सुत्नेबेलामा मलाई, थाहा छ सर?” कति अबोध छे ऊ!। आमा आउनुहोला भन्ने सम्झन्छे ऊ, उसले मतिर फर्किएर सोधीहाली, "आमा साँच्चै आउनु हन्छ सर?" भनेर।

म अक्क न बक्क भएँ । भक्कानो फुटेर आयो मेरो । मलाई तत्कालै डाँको छोडेर रुँ रुँ लाग्यो उसलाई अँगालेर । कति सरल छे ऊ । मानौँ उसले आफ्नी आमा गुमाएको महशुस नै छैन । मलाई खपिनसक्नु भयो । म अति भावुक बनेँछु । मेरा आँखा रसाएछन् फर्मुलाको अबोध चेहरा हेरेर अनि उसको कुरा सुनेर । मैले अर्कोतिर फर्किएर आँशु झारेँ अनि फेरि फर्किएँ फर्मुलातिर र हाँस्दै भनेँ —‘‘छोरी धेरै पढ्यौ , ज्ञानी बन्यौ भने तिम्री आमा पक्कै आउनुहुन्छ एकदिन फर्किएर । ” मैले फर्मुलालाई यसो भनिरहँदा आफैँलाई नराम्रो लाग्यो । मैले जानाजान झूटो बोल्नु प-यो उसको लागि । न म उसलाई सत्य भनेर उसको चित्त दुखाउन नै सक्थेँ, न चूप लागेर उसको चित्त बुझाउन नै सक्थेँ ।

ऊ कति खुशी थिई, उसको चेहराले बताइरहेको थियो । उसको अनुहारको त्यो प्राकृतिक खुशी सधै कायम रहोस् ,म चाहन्थेँ । तर फेरि म सम्झन्थेँ —एकदिन यस्तो पनि त आउला उसले आफैँले आमाको बारेमा बुझ्ली । आमा त कहिल्यै नफर्कने गरी सधैँका लागि उसलाई यहीँ छोडेर अर्कै लोकमा जानु भएको रहेछ भन्ने यथार्थ थाहा पाउली । त्यो दिन ऊ भन्ली—सारा संसार झुटैझुट रहेछ, सबै मान्छेहरू झुटा कुरामात्र गर्दारहेछन् । अनि उसको सम्झनामा रहेछ भने अझ भन्ली- अरु त अरु, त्यो बोर्डिङ्गको गौतम सर पनि एक नम्बरको झुट रहेछ । त्यसले त मैले राम्रो पढेर ज्ञानी भएँ भने फेरि आमा फर्किएर आउनुहुन्छ भनेको थियो नि भन्ली । अनि मलाई देखेर कसैले गौतम सर भनेको यही हो भनेर चिनाइदिएछ भने मलाई झुटो बोलेकोमा गर्नु गाली गर्ली ।

घर फिरेँ म स्कुल छुट्टी भएपछि । तर मेरो मन त्यसै त्यसै पोलिरह्यो । सबै आफ्ना धूनमा थिए अरु । तर म हराएको थिएँ कता कता । उही अबोध छोरी फर्मुलाको अबोध चेहरा, बिचित्र बिचित्रका प्रश्नहरू, अनौठा अनौठा कुराहरू, बोलिरहने उसको मृदु मुस्कान सहितको सजीव चेहरा आयो आँखा अघि बारबार । फर्मुला छोरीकी आमाको न अनुहार थाहा थियो मलाई न म चिन्थेँ नै । बस् वहाँको छोरीको एक समयको शिक्षकको नाताले फर्मुला छोरीको सफलताको कामना गर्न सक्छु अनि अपरिचित भाउजूको सम्झनामा श्रद्धाका दुईथोपा आँशु झार्दै वहाँको मृत आत्माले स्वर्गमा बास पाओस् भन्ने कामना गर्न सक्दछु ।

अनि अन्त्यमा फर्मुला छोरी ! जीवन यात्रामा तिमी कहाँ छ्यौ म भन्न सक्दिन । म जीवन यात्रा गर्दा गर्दै आज काठमाण्डूको पाठशाला नेपाल फाउण्डेशन भन्ने स्कुलमा दादा दिदीहरूलाई पढाइरहेको छु अझै पनि । छोरी, मान्छेको मन तिम्रो जस्तै कोमल, भावना तिम्रो जस्तै पवित्र, सोचाइ तिम्रो जस्तै निश्च्छल भए कस्तो हुन्थ्यो होला यो संसार ? मलाई त बाबा तिमी जस्तै नानीहरू मात्रै मन पर्छ । ठूलाहरूको स्वार्थीहरूको संगतबाट म अघाएँ बाबा । तिमी धेरै पढ है छोरी स्वर्ग जानु भएकी आमालाई खुशी राख्न पनि । आमा जतिखेरै चम्किलो तारा बनेर तिमीलाई नै हेरिरहनु भएको छ । देउताको घरबाट सबै स्पष्ट देख्न सकिन्छ छोरी । स्वार्थी मान्छेको धमिलो मनले मात्र केही छुट्याउन सक्दैन । म तिम्रो गौतम सर, तिमी नर्सरी पढ्दाको, सधैँ ईश्वरसँग प्रार्थना गरिरहन्छु तिम्रो खुशीका लागि, तिम्रो उत्तरोत्तर प्रगतिका लागि।


Image Source: Click Here

July 18, 2009

चैतन्य अधिकारीज्यूको कोसेली

[पहिलो पाहुना लेखकको रुपमा साथी चैतन्य अधिकारीज्यूलाई यो ब्लगमा स्वागत गर्दैछु आज, उहाँका दुई कविताका साथमा। चैतन्यजी संगको मेरो चिनजान लगभग एक दशक पुरानो भईसकेको छ। म उहाँका सुन्दर कविताहरुको प्रशंशक हुँ। परिचयको केहि समयपछि "पोखरेली युवा साँस्कृतिक परिवार" को मासिक काव्य-सन्ध्यामा भेटिएपछि हाम्रो साझा रुचि-साहित्यका बारेमा एक-अर्कालाई थाहा भएको हो।]


हामी

देश तड्पिई रह्यो
देश भड्किई रह्यो
अन्तहीन बन्दहरुमा
देश अड्किई रह्यो

हामी डराए झैं भयौं
हामी हराए झैं भयौं
मैदान भन्दा धेरै पर
गुन गुन कराए झैं भयौं

हत्या अपहरण भए
त्राषद प्रकरण भए
हामी स्तब्ध भयौं
तैपनि हामी मौन रह्यौं

कुट्ने मार्ने बिजेता भए
ठग्ने लुट्ने नेता भए
हामी हेरिरहे झैं भयौं
सधैं टेरिरहे झैं भयौं

देशले पर्खीइरह्यो
समय घर्कीइरह्यो
हामी विदेशकै भयौं
देश भुले झैं भयौं

खासमा,
केही कुरी रहेझैं भयौं
फर्कने त हो भन्दै रह्यौं
हामी बिरानो झैं भयौं
अब पुरानो झैं भयौं

अरु पनि कति विदेशिए
सबै यतै उतै भेटिए
मानिसहरु यसरी बिरक्तिए
शायद गाउँ शहर रित्तिए

कसरी कसरी,
हामी नभए झैं भयौं
हामी नरहे झैं भयौं
मुटू आफ्नो दुखे पनि
हामी पराय झैं भयौं।


अँध्यारो / उज्यालो

तिमीले भन्यौ
म अँध्यारोमा छु
मैले चियाएर हेरें
तिमीलाई देखिन र
ढुक्क भएर फर्कें
तिमी पक्कै पनि त्यहीं हुनुपर्छ
अँध्यारोमै |

मैले बोलाईन तिमीलाई
अर्थात् बोलाउन उचित सम्झिन
आफु अँध्यारोमा भएको बुझ्नेले
या त अँध्यारोमै रम्छु भन्नुपर्यो
या त अँध्यारो छिचोल्नु पर्यो
बाहिर निस्कनुपर्यो
कम्तिमा दोसाँध त भेट्नुपर्यो
तिमी निस्की आयौ भने
अब त उज्यालो भेटें भन्नेछौ
अँध्यारो उज्यालोको विभेद चिन्नेछौ

हँ, कतै तिमी बाहिर उज्यालोमै हिंडिरहेका त छैनौ ?
-चैतन्य अधिकारी