दुर्घटनामा परी दाहिने खुट्टा गुमाएका पत्रकार रविन थपलियाको उपचारको सहयोगार्थ आयोजित एक सांस्कृतिक कार्यक्रममा सहभागी हुने अवसर मिल्यो, गत साउन ३१ गते सोमबार। उक्त कार्यक्रममा रविन थपलियाजीको उपचारार्थ जापानमा संकलित रकमको औपचारिक हस्तान्तरण पनि गरियो।रविनजीसंग मेरो परिचय फेसबुकले गराएको हो। उहाँको उपचारका लागि र कृत्रिम खुट्टा जडानका लागि सहयोग गर्ने आह्वानका साथ फेसबुकमा चर्चा शुरु भएपछि जापानमा पनि हामीले कुराकानी र योजना शुरु ग-यौं। केहि समयपछिनै जापानमा रहेका नेपाली विद्यार्थीहरुको संगठन ‘नेपाली विद्यार्थी सामाज, जापान’ (नेसाज) को नेतृत्वमा सहयोग संकलन शुरु गरियो। यसपटकको संकलन अभियान नागोया क्षेत्रमा केन्द्रित थियो, तर नागोया बाहिरका केहि महानुभावहरुले पनि खुल्ला मनले सहयोग पठाउनुभएको थियो। नेसाजको सकृय अभियानका कारण दुई हप्ताभन्दा छोटो समयमै पनि उल्लेखनीय रकम संकलन भयो। हामी नेपाल फर्कने बेला परेकोले त्यो रकम हस्तान्तरण गर्ने कामको जिम्मा पनि हामीलाईनै दिए साथीहरुले।
रविनजीको उपचारको लागि धेरै देशमा रहेका नेपालीहरुले सहयोग संकलन जारी राखेका छन्। केहि ठाऊँको रकम उहाँले प्राप्त पनि गरीसक्नुभएको छ। सोमबारको कार्यक्रममा एनआरएन-आयरल्याण्डका प्रतिनिधिले आयरल्याण्डमा संकलित रकम पनि हस्तान्तरण गर्नुभएको थियो। देशभित्रैबाट पनि सहयोग संकलन भईरहेछ। उक्त कार्यक्रममै पनि थुप्रै संघ-संस्थाहरु र सहृदयी महानुभावहरुले सहयोगको घोषणा गर्नुभएको थियो।
यो कार्यक्रमभन्दा पहिले रविनजीकै निवासमा दुई पटक भेटघाट र आत्मीय भलाकुसारी भएको थियो मेरो। उहाँले भोग्नुपरेको बिभत्स दुर्घटना, बीएण्डबी अस्पतालको लापर्वाही, क्षतिपूर्ति पाउनका लागि गर्नुपरेको संघर्ष र दोषीहरुमाथि कारवाही गर्न सम्बन्धित निकायहरुले देखाएको उदासीनता उहाँकै मुखबाट सुनें मैले। उहाँको कुरा सुनेपछि हाम्रो देशको स्थितिको भयावहताले मलाई एकचोटि फेरि कहाली लगायो। हाम्रो देश सिण्डिकेटहरु, अपराधीहरु र भ्रष्टाचारी कर्मचारी र नेताहरुको मिलमतोका कारण विकराल दण्डवीहिनताको स्थितिमा पुगेको छ। रविनजीको समग्र अनुभव हाम्रो देशमा जारी नियमहीनता र दण्डहीनताको एकदम स्पष्ट उदाहरण हो।
करीब चौध महिना पहिले बालाजुमा घटित एक बिभत्स दुर्घटनामा पर्नुभएको थियो रविनजी। उहाँले चलाईरहनुभएको मोटरसाईकललाई गलत दिशाबाट आईरहेको ट्रकले ठक्कर दिएको थियो। सामान्य घाईतेमात्रै हुनुभएका उहाँलाई ट्रकचालकले ट्रक ब्याक गरेर मार्न खोजेको रहेछ, तर त्यहाँ उपश्थित जनसाधारणले उहाँलाई जोगाएका रहेछन्। दुर्घटनाका कारण उहाँको खुट्टामा चोट लागेको रहेछ। उक्त चोट गम्भिर भएपनि खुट्टै काट्नुपर्ने स्थितिको भने थिएन। उपचारार्थ बीएण्डबी अस्पतालमा भर्ना भएपछि अस्पतालको लापरवाहीका कारण चोटमा ईन्फेक्सन हुँदै र फैलिदैं जाँदा खुट्टा काट्नुपर्ने भएको रहेछ। आफ्ना समग्र भयावह अनुभवहरुलाई रविनजीले आफ्नो ब्लग “अग्निबाँण” मा रविनजीले विस्तृत रुपमा लेख्नुभएको छ।
फर्कौं फेरि कार्यक्रमतिरै। कार्यक्रम निर्धारितभन्दा एक घण्टा ढिला शुरु भएको थियो। कार्यक्रमका सबै वक्ताहरुले छोटो र विषयको सीमाभित्रै रहेर बोलेका थिए। यहाँसम्म कि माओवादी नेता पोष्टबहादुर बोगटी र कांग्रेस नेता अर्जुन नरसिंह केसीसमेतले राजनीतिका कुरा गरेनन्। उनीहरुले रविनजीको उपचारार्थ आर्थिक र अन्य सहयोगको प्रतिबद्धता राखेर छोटो मन्तब्यमात्रै राखे। नेपालका कार्यक्रमहरुमा यस्तो विरलै देखिन्छ। यतिखेरका हरेक कार्यक्रमहरुमा, चाहे ती राजनीतिसंग सुदूर साईनोसम्म पनि नभएका किन नहुन्, देशको राजनीति र हुन नसकेको प्रधानमन्त्रीको निर्वाचनको बाढी पस्नु स्वाभाविक देखिन्छ। यो कार्यक्रमको एउटा सकारात्मक अनुभवको रुपमा लिएको छु मैले यसलाई।
कार्यक्रममा नेसाजको प्रतिनिधित्व गर्दै नेसाजका पूर्व कार्यकारी सदस्य सोविता कोईरालाद्वारा जापानमा संकलित १११६०२ येन रकम रविनजीलाई हस्तान्तरण गरियो। नेसाजको पूर्व सदस्यको रुपमा सोविताजी र नेसाजको सल्लाहकारको रुपमा मैले छोटो मन्तब्यको अवसर पनि पाएका थियौं। टनाटन भरिएको हल र विशिष्ट ब्यक्तित्वहरुको माझमा नेसाजको चर्चा हुँदा यो कार्यक्रमका माध्यमबाट नेसाजले पनि एउटा राम्रो पहिचान बनायो भन्ने लागेको छ हामीलाई।
औपचारिक कार्यक्रपछिको रमाईलो सांस्कृतिक कार्यक्रम भने आधा भन्दा बढी हेर्न भ्याईएन।
रविनजीलाई सहयोग गर्न ईच्छुक हुनुहुन्छ भने तलको खातामा रकम जम्मा गरेर सहयोग गर्न सक्नुहुन्छ;
गोर्खा विकास वैक,
पुतलीसडकमा रहेको रविन थपलिया नामको खाता नम्वर 03823 SA
रविनजीसंग सम्पर्कको लागि;
रविन प्रसाद थपलिया
मनमैजु ५, काठमाण्डौ,
मोवाईल ९८४१६५९४९४
rabin.thapaliya@gmail.com