December 28, 2013

बोक्न लायक 'झोला'

गत बुधबार (२०७०, पुस १०) बिहान कृष्ण धरावासीको कथा 'झोला'मा आधारित भएर बनेको सोहि नामको चलचित्र हेरियो। सर्वप्रथम त यो मौका जुटाईदिएकोमा र्याण्डम रिडर्स सोसाइटी अफ नेपाललाई हार्दिक धन्यबाद दिन चाहन्छु।

लाज नमानी भन्नुपर्दा मैले 'झोला' पढेको छैन, मेरो खत्तम समय ब्यवश्थापनले मेरो साहित्य पढाईलाई नराम्ररी बिथोलेको छ। धेरै साथीहरुलेझैं सुन्ने मौका ( 'बुलबुल' लगायतका कार्यक्रमबाट) पनि पाएको छैन। यसैले मैले एकैचोटि कृष्ण धरावासीको कथा पढ्ने र यादव भट्टराईको निर्देशन कला हेर्ने काम गरें हिजोको चलचित्रबाट।

सतीप्रथालाई मूल विषय बनाएको कथाले सय वर्ष अगाडिको नेपाली पहाडी समाजलाई चित्रण गरेको छ। नेपाली चलचित्रहरु सकेसम्म यस्ता सामाजिक-ऐतिहासिक विषयवस्तुमा पस्दै-पस्दैनन् र पसिहाले भने पनि तिनले सामजिक यथार्थलाई राम्रोसंग पस्कनै जान्दैनन्/चाहँदैनन्। यस्ता विषयवस्तुलाई साहित्यले धेरै समाएपनि कथित ‘मूलधार’ नेपाली चलचित्रले समाउने आँट अझै गर्न सकेको छैन् बलिउडको मसला शैलीबाट प्रभावित यो कथित ‘मूलधार’ले आजसम्म गीत, जोकर, फाईट आदि मिसाएर बन्ने ‘ऊँट’ शैलीलाईमात्रै पछ्याऊँदै आएको छ। बेला-बेला फरक धारका चलचित्रले केहि शिक्षा दिन्छन् तर यो कथित मूलधारले ती शिक्षा पटक्कै लिएको देखिँदैन।

‘झोला’ले १०० वर्ष अगाडिको पहाडी नेपाली समाजको चित्रण गर्ने राम्रो प्रयास गरेको छ। प्रदर्शनपछिको अन्तर्कृयामा निर्देशकज्यूले भन्नुभए अनुसार त्यो बेलाको जस्ता घरहरु भएको गाऊँ भेट्न साह्रै मुश्किल पर्यो रे, थुप्रै ठाऊँ चहार्नु पर्यो रे। फिल्म सिटीले यस्तै अप्ठेरोमा साथ दिन्थ्यो शायद। तत्कालीन समाजको प्रतिलिपि तयार पार्न सकिने फिल्म सिटी भैदिएको भए यो ‘झोला’ हामीले अझ चाँडै हेर्न पाऊँथ्यौं होला। त्यस्तै पात्रहरुको संवादको भाषा र शैलीलाई पनि यतिखेरको सट्टा त्यहि बेलामा पुर्याउन सकेको भए अझ राम्रो हुनेथियो। पछि अन्तर्कृयामा पनि अरु केहि सानातिना कमजोरीहरुका कुरा उठेका थिए। सती प्रथाको अन्त्यका लागि चन्द्र शमशेरलाई मात्रै जस नदिई त्यसलाई त्यतिखेरको समाजमा बढेको जागरुकता र विद्रोही भावसंग पनि जोडेको भए पनि हुन्थ्यो जस्तो मलाई पनि लागेको हो, तर अहिले सोच्छु त्यतिखेरको अत्यन्त आतंकित र दमित हाम्रो समाजमा विद्रोह भन्न सकिने विद्रोहनै कति थियो होला र? सतीप्रथाको अन्त्यमा शायद चन्द्रशमशेरकै ‘विवेक’ बढी जिम्मेवार हो कि?

औसत नेपाली चलचित्रहरुभन्दा कलात्मक प्रस्तुतिमा पनि उच्चकोटिको रहेको छ ‘झोला’। तर यस्तै विषयवस्तुमा चीनका निर्देशक चाङ्ग यी मोऊले सन् १९९० को दशकमा बनाएका थुप्रै चलचित्रहरु हेरेर तिनको ‘फ्यान’ बनेको मलाई कलात्मक प्रस्तुतिमा अझ मेहेनत गर्न सकिन्थ्यो जस्तो लाग्यो। चलचित्रले कता-कता डकुमेण्टरीको झल्कोचाहिँ दिन्छ। हुनत यस विषयमा मेरो आफ्नो ज्ञान केहि छैन, म एउटा आम दर्शकको रुपमा यी कुराहरु बोलीरहेछु र निर्माण-निर्देशक समूहका आफ्नै धेरै बाध्यता र सीमाहरु पनि थिए होलान्। अन्त्यमा पृष्ठभूमिबाट बोलिएको “अरु धेरै खाले सतीप्रथाहरु अझै जिऊँदै छन्---“ भन्ने आशयको भनाईलाई अलिक कलात्मक प्रस्तुति पनि दिन सकिन्थ्यो कि?

सबै कलाकारले राम्रो अभिनय पस्केका छन्। समग्रमा, ‘झोला’को दर्शनले मलाई खुशी र गौरवान्वित बनाएको छ। ‘झोला’ को पूरै टिमलाई हार्दिक बधाई! विविधतापूर्ण नेपाली समाजका थुप्रै कालखण्डहरु यस्तै कलात्मक चलचित्रको प्रतिनिधित्व पर्खेर बसीरहेछन्।  ‘झोला’को टिमले अरु धेरै सुन्दर ‘झोला’हरु निर्माण गर्न सकोस्, मेरो हार्दिक शुभकामना! 

December 18, 2013

कसैलाई विपत्ति, कसैलाई रमिता!

प्रसंग अर्मलाको हो, जहाँ एक महिना यता जारी जमीन भासिने क्रम अझै रोकिएको छैन। झण्डै दैनिकजसो नयाँ ठाऊँमा भासिने गरेको छ र जमीन भासिएर बनेका खाल्डाहरुको संख्या यतिखेर १०० नाघिसकेको खबर छ।

नजिकै बसेर पनि म हेर्न पुगेको थिईन अहिलेसम्म। हिजो दिऊँसो एकछिन घुमेर आएँ। अर्मलाको यो जमीन भासिने प्रकृयाका बारेमा विश्लेषण गर्नसक्ने विज्ञ नभएकाले म यहाँ मेरो विचार केहि नराखी केहि समय यता ब्लग र छापामा आएका लेखहरुको सूत्र राख्न चाहन्छु। तपाईँहरुले पढीपनि  सक्नु भयो होला यी लेखहरु। 

पूजाआजा गरेर अर्मलाको सिङ्कहोल रोकिन्न

     

अर्मलामा जमिन भासिनुको भौगर्भिक कारण



हिजोको माहौल हेर्दा भने पूरा रमिता थियो। पोखरा र वरपरका मान्छेहरुका लागि नयाँ घुम्ने ठाऊँ, कुनै नयाँ उद्यान बनेजस्तो वा कुनै भव्य मेला लागेजस्तो थियो। चना-चटपट, बदाम र सुन्तलाका ठेलाहरुका ब्यापार खुब फष्टाएको थियो। मैले सुने अनुसार, हरेक बिदाको दिन यस्तै हुन्छ। स्थानीय मान्छेहरुको पिडा र सुस्केरा 'मेला' हेर्न आउनेहरुको हाँसो-ठट्टा र 'अजासु' विश्लेषणमा हराईरहेको हुन्छ। आफैं रमिते बनियो हिजो, पछि लाज लाग्यो। धेरै रमिते हुन भने मन लागेन, आधा जति 'सिंकहोल' हेरेर फर्किईयो। मलाई लाग्छ स्थानीय जनता, विशेषज्ञ र अरु सरोकारवालाहरु बाहेक अरुलाई त्यहाँ जान-घुम्ननै प्रतिबन्ध लगाऊनुपर्छ। अनावश्यक सन्त्रास र नचाहिँदा हल्लामात्रै फिँजिन्छन् रमितेहरुबाट।

त्यहाँ खिचेका केहि तस्बीरहरु भने राख्ने अनुमति चाहन्छु। 











केहि दशक यता मिचिएको दुहुनी खोलाको पानीले आफ्नो प्राकृतिक निकास नपाएर वरिपरिको जमीनमा छिर्नु र त्यो भेगको भौगर्भिक संरचना कमजोर हुनुको संयोगले अहिलेको स्थिति सृजना भएको ब्याख्या गरिएको छ। दुहुनी खोलालाई प्राकृतिक बहावमा फर्काउन यसरी डोजर लगाएर खोलालाई फराकिलो र गहिरो पार्ने कोशिश गरिएको छ, तर यसले स्थितिमा कुनै सुधार आएको छैन। हिजो हामी पुग्दा खोलाको किनारभन्दा धेरै पर डाँडाको फेदीमा पनि मान्छेहरुको भिड थियो। त्यहाँ दुई ताजा खाल्डाहरु थिए। यसले खोलाको नजिकमात्र नभएर अर्मला समग्र क्षेत्रकै भू-संरचना जोखिमयुक्त देखाऊँछ। तलका दुई तस्बीरहरु त्यहि नयाँ भागको हो। 




   

November 10, 2013

मौसम

दशैं पूरै हिले बन्यो। दशैंजत्तिकै हिले नभएपनि तिहारको मौसम पनि खासै राम्रो भएन। 

मौसम बल्ल रमाईलो भएको छ, पोखराको मौसमजस्तो भएको छ। जाडो बढेको छ, तर सफा दिनको न्यानो र प्यारो घामले आनन्द दिन्छ।

देशको राजनीतिक मौसमपनि तातीरहेछ। अबको नौ दिनमा चुनाव छ। चुनावमा भाग लिनेहरुको सकृयता त बढेकै छ, चुनावको विरोध गरीरहेकाहरुको सकृयतापनि बढेको छ यतिखेर। चुनाव बहिष्कारको नारा दिएको ड्याश माओवादी नेतृत्वको मोर्चाले भोलि 'नेपाल बन्द' गर्दैछ। पहिले लगातार दश दिनको बन्दको घोषणा गरेको उसले अहिले भोलि ( र हल्ला चलेअनुसार पर्सीपनि) को बन्दपछि थप कार्यक्रम घोषणा गर्ने रे! आगामी हिऊँदभरिपनि अन्यौल र अनिश्चितताले देश र जनतालाई सताउने पक्का-पक्की देखिएको छ अब।

मंसिर चारमा चुनाव हुने सम्भावना धेरै देखिएको छ। चुनाव हुनुपनि पर्छ। राज्यको अरबौं खर्च भईसकेको छ, र दलहरु र उम्मेदवारहरुलाई हेरेर खासै उत्साहित नदेखिएपनि जनता चुनाव हुनुपर्छ भन्नेमा देखिएका छन्। आफूले भनेजस्तो विकल्प नभेटेपनि उपलब्ध विकल्पहरुमध्येबाट एउटालाई रोज्ने मनस्थितिमा देश गईसकेको छ।

ड्याश माओवादीको मोर्चाले केहि स्थानमा भाँड्न सक्ला तर देशभरिकै चुनावलाई पर सार्न सक्दैन भने विश्लेषण गरिएको छ। मेरो आफ्नो बुझाई पनि त्यहि हो। तर भोलि-पर्सीका घटनाक्रमहरुले फरक बाटो लिन पनि सक्छन्। कामना गरौं, त्यसो नहोस् र यो देशमा चुनाव होस्। चुनाव भएमात्रै देशले एउटा दिशा समात्ने सम्भावना रहन्छ। 

 
 

October 27, 2013

अझै अनिर्णित!

देशको दुर्भाग्यले गर्दा अघिल्लो संविधानसभा संविधान नबनाई बित्यो। त्यो संविधानसभाको चुनावमा जापानमै थिएँ, यो 'दोश्रो' हुनेबेला देशमै छु। मत प्रयोग गर्न पाऊँदाको उत्साह त्यति धेरै छैन। आशालाग्दा विकल्प छँदै-छैनन् भन्दा हुन्छ। यो मेरो दृष्टिदोष पनि हुनसक्छ तर पूरै देशको मनस्थिति यस्तै देखिन्छ। देश उत्साहित छैन, अझ भनौं आशावादी छैनन्। हामी नेपालीहरुले यति धेरै धोका पाईसकेका छौं राजनीतिबाट कि हामी कसैबाट पनि आशावादी हुन सक्दैनौं यतिखेर।

तर निराशाले मात्रै कतै पुर्याऊँदैन। निराशै-निराशाको माझबाटै सही, आशा खोज्नुछ र उज्यालोको संकेत खोज्नुछ। 

चुनावी प्रचारप्रसारले गति लिँदै गरेको देखिएको छ। अघिल्ला चुनावहरुमा भन्दा पागलपन कम देखिएको छ अहिलेसम्म। हुनत, त्यो पागलपनले पनि गति लिने खबरहरु पनि ह्वात्तै बढेका छन् आज। वैद्य माओवादीले चुनाव बहिष्कारको पारालाई आक्रामक पार्दै लगेको छ चुनावमा भाग लिएका दलहरुबीचपनि ठाऊँ-ठाऊँमा भिडन्त हुन थालेका छन्।

तर दशैं, तिहार, छठ र मंसिरको चटारोलाई धन्यबाद; जनताले यी 'पागलपन'भन्दा अन्तै ब्यस्त हुने बहाना पाएका छनः)

ब्यक्तिगत रुपमा म अझै अनिर्णित छु। यतिखेर देशमा कस्तो खालको संघीयता भन्ने बहस चलेको छ तर म संघीयतानै गलत ठान्छु यो देशका लागि। अहिलेकै राजनीतिक संरचनालाई केहि फेरबदल गरेर ब्यापक विकेन्द्रीकरण गर्ने हो र स्थानीय निकायलाई अधिकारसम्पन्न बनाउने हो भने हामीले अनेक थरी प्रयोगका झमेला र जटिलताहरुमा आफ्नो राष्ट्रिय उर्जालाई खेर फाल्नै पर्ने थिएन। राजनीतिका पात्रहरु ईमान्दार भैदिने हो भने अहिलेको संरचना त्यति ठूलो बाधा बन्ने देखिँदैन। यसभित्रैबाट ब्यापक प्रगतिशील आर्थिक-सामाजिक नीति लागू गर्न सकिन्छ। तर संघीयताका बारेमा यस्तो चिन्तनलाई केहि प्रतिगामी पात्र र दलहरु बाहेक कसैले बोकेको छैन। तिनका अरु विचारका कारण त्यस्ता दलहरुसंग म नजिक हुनै सक्दिन। यसैले म यतिखेर एउटा असमञ्जसमा उभिएको छु।

मैले दलहरुका चुनावी घोषणापत्र पढ्न पाएको छैन, चासो दिएर खोजेको पनि छैन। सञ्चारमाध्यमहरुबाट थाहा पाए अनुसार सबैमा मूल मुद्दाका कुरा कम र विकासे 'ललीपप' बढी छन्। तैपनि यतिखेर चुनावमा भिडिरहेका दलहरुलाई दुई कित्तामा उभ्याएर हेर्न सकिन्छ; राज्यहरु एकल पहिचानका हुने कि बहुपहिचानका हुने वा कार्यकारी प्रधानमन्त्री हुने कि राष्ट्रपति हुने आदि विषयहरुका कोणबाट हेर्दा। विकासे 'ललीपप'मा मुख मिठ्याएर त केहि हुनेवाला छैन।

दललाई नरोजेर ब्यक्तिलाई रोजौं कि भन्ने सोचाई पनि थियो अलिक अघिसम्म तर ब्यक्ति साह्रै खराब (वा साह्रै असल) भएका बेला बाहेक यो तरिका पनि त्यति उपयुक्त हुँदैन जस्तो लाग्दैछ। उसैपनि दलीय प्रणालीमा दल शक्तिशाली हुनेगर्छ, ब्यक्तिको योग्यताको एउटा प्रभाव र महत्व अवश्य हुन्छ तर अन्तिम निर्णय दलीय हुन्छ र हुनुपर्छ। हाम्रा कतिपय दलहरुमा नेता विशेष हावी भएको देखिन्छ तर यतिखेर कांग्रेस (गिरिजापछि) र एमाले यहि मान्यतामै चलीरहेको देखिन्छ। फेरि विगत संविधानसभामा शाशकीय स्वरुप, पहिचानको आधार, बहुलवाद कि एकलवाद, न्यायालयको स्वतन्त्रता आदिजस्ता धेरै संवेदनशील मुद्दाहरुमा स्पष्ट दलीय विभाजन देखियो। ब्यक्तिनै छान्नुपर्ने अपवाद मैले देखेको छैन, कम्तिमा म मतदाता भएको चुनावी क्षेत्रमा।

यतिखेर कतिपय पिंध नभएका 'बुद्धिजीवि'हरु प्रत्यक्ष र समानुपातिकमध्ये एउटा कांग्रेस र एउटा माओवादीलाई दिने कुरा पनि गर्दैछन् तर मलाई लाग्छ एउटा भोट कांग्रेसलाई दिन्छु र अर्को भोट माओवादीलाई दिन्छु भन्नु एउटा खुट्टाले काशी जान्छु र अर्को खुट्टाले ल्हासा जान्छु भन्नुजस्तै हो। बिल्कूल विपरीत मति भएका दलहरुलाई 'बाँडेर' भोट दिने नेपाली 'बुद्धिजीवि' काईदाकै कारण हाम्रो संक्रमणकाल यस्तरी लम्बिएको हो। प्रत्यक्ष र समानुपातिक दुबैको भोट एउटैलाई दिन मन लाग्दैन भने कम्तिमा नीतिगत सामीप्यता भएका दलहरुलाई बाँडेर दिन त सकिन्छ नि! देशबाट दोधारे राजनीति र छेपारे नेताहरुलाई बिदा गर्ने हो भने पहिला हामी नेपाली जनता भनाऊँदाहरुले आफूलाई पिँध नभएको दोहरो मानसिकताबाट मुक्त पार्न सक्नुपर्छ।

एमाओवादीको हिंसात्मक विगत र राष्ट्रघाती-भ्रष्ट वर्तमान देखिसकेपछि उसलाई त मैले शुरुमै आफ्नो सूचिबाट हटाईसकेको छु। माथिनै भनें राप्रपा नेपाललाई पनि हटाईसकेको छु। यी बाहेककाबाट छान्नुपर्नेछ।

जोडघटाऊ चल्दैछ। सकेसम्म प्रत्यक्ष र समानुपातिक दुबैका लागि एउटै दल रोज्नेछु, नत्र कम्तिमा वैचारिक-नीतिगत सामीप्यता भएका दलहरुलाई बाँड्नेछु।

 

October 14, 2013

शुभकामना, धम्पुसबाट ल्याएकोः)

आज विजयादशमीको दिन। 

गत जेठमा बुबा (काका)को निधन भएकाले यो साल घरमा टिका लगाउने कार्यक्रम छैन। यसैले हामी पोखरामै छौ।

झमझम पानी परिरहेको छ हिजो बेलुकैबाट। जाडो पनि छ। दशैं भन्नासाथ घमाईलो, न्यानो दिनको सम्झना आऊँछ। आजको दिन त्यो सम्झनाभन्दा ठिक विपरीत छ। एउटा फरक अनुभूति दिएको छ आजको दिनले।

अस्ति अष्टमीको दिन दिऊँसो हामी धम्पुस पुग्यौं। आर्या र मेरा लागि यो पहिलो धम्पुस बसाई थियो, सोविताका लागि दोश्रो। साथीहरुले बाटो राम्रो छ भनेकाले मोटरसाईकलमा गईयो। बाटो त्यति राम्रो बनीसकेको रहेनछ। जाँदा त्यति गाह्रो नभएपनि भोलिपल्ट बिहान फर्कँदा ओरालोमा साह्रै गाह्रो भयो, सोविता र आर्या पूरै बाटो हिँडेरै झरे। ओरालो, कच्ची बाटोका लागि मोटरसाईकल ठिक साधन होईन रहेछ। पदयात्रा मार्गबाट गएकै भएपनि धेरै समय नलाग्ने ठाऊँ हो धम्पुस।

हामी दिऊँसो पुग्दा हिमालहरु बादलले ढाकिएका थिए। घरिघरी माछापूच्छ्रे बादलको पर्दाबाट अलिअलि चियाऊँथ्यो पनि। समुद्री सतहबाट १,६५० मी. भन्दा माथि रहेको सुन्दर, शान्त गाऊँ हो धम्पुस।

भोलिपल्ट बिहान हिमालहरु झल्झलाकार भएर उभिएका थिए हाम्रो सामुन्ने। मधुरो चिसो बतासमा सास फेर्दै यी अजंगका हिमालहरुको शुभ्र सौन्दर्यले थिचिएर आनन्दित, चकित र विस्मित भएर उभिँदाका यस्ता क्षणहरुमा लाग्छ, कैयन जुनीको तपस्यापछि मात्रै मैले यति सुन्दर देशमा जन्मिन पाएको हुनुपर्छ। 

यो यात्रालाई अरु दुई हप्ता ढिला गरेको भए अझ राम्रो हुनेथियो जस्तो लाग्दैछ अहिले, किनभने पोखराको वर्षायाम अझै सकिएको छैन। अबको दुई हप्तापछि धम्पुस र यो पूरै गण्डकी, धवलागिरि क्षेत्रको सुनौलो याम शुरु हुनेछ। 

आज त्यहि धम्पुसबाट खिचिएका केहि झलकहरु राख्दैछु।








धम्पुस गाऊँको एक भाग। हामी यो तस्बीरको बीचतिर देखिने एउटा होटेलमा बसेका थियौं।


यहाँहरु सबैलाई विजयादशमीको मंगलमय शुभकामना! यहाँहरुको जीवन सदैव शान्त, आनन्दित, सुखी र समृद्ध रहोस्।
    

October 06, 2013

र्याण्डम रिडर्स सोसाइटीको 'शुभकामना र पुस्तक आदानप्रदान कार्यक्रम'

हिजो बेलुका एउटा नयाँ नम्बरबाट फोन आयो। फोन गर्ने हुनुहुँदोरहेछ र्याण्डम रिडर्स सोसाइटी, पोखराका नवनिर्वाचित अध्यक्ष गणेश पौडेलजी। उहाँबाट र्याण्डम रिडर्स सोसाइटीको 'शुभकामना र पुस्तक आदानप्रदान कार्यक्रम' मा कुनै एक पुस्तकसहित उपश्थित हुने निम्तो मिल्यो।

र्याण्डम रिडर्स सोसाइटी पोखराको पठन संस्कृतिलाई अझ गति दिन सकृय संस्था हो। अरु गतिविधिका साथसाथै यसले हरेक महिना गर्ने पुस्तक परिचर्चा कार्यक्रम चर्चित छ। दशैं-तहारको उपलक्षमा आयोजित र्याण्डम रिडर्स सोसाइटीको आजको कार्यक्रमको सहभागिता मेरो निम्ति पहिलो हो, विविध कारणवश यसअघिका कुनै पनि कार्यक्रममा पुग्न सकेको थिईँन।  

आज बिहान पौने आठ बजे पुगें म 'ढिला' भएकोमा अलि लज्जित हुँदै (साढे सात बजे कार्यक्रम शुरु हुने कुरो थियो), तर कार्यक्रम शुरु भईसकेको थिएन। सहभागीहरु जम्मा हुने र आदानप्रदान गर्न भनेर आफूले ल्याएका  पुस्तकहरु पोको पार्ने ('र्याप' गर्ने) काम हुँदै थियो।

आठ बजेतिरबाट कार्यक्रम शुरु भयो। पोखराका कार्यक्रमहरुको 'चिनारी' जस्तो बनीसकेको लामो र पट्यारलाग्दो 'आसन ग्रहण'बाट कार्यक्रम अघि बढ्यो। कार्यक्रमस्थलमा उपश्थितहरुमध्ये झण्डै सबैको नाम लिएर 'आसन ग्रहण' गराऊँदा धेरै समय लाग्छ, मञ्चमा बोलाईने केहि अतिथिहरुको मात्रै नाम लिएर 'आसन ग्रहण' गराउने र बाँकी सबैको एकमुष्ट गराए समय बचत हुने कुरा सबैलाई थाहा छ तर गर्न कसैले चाहेको देखिन्न। 

'आसन ग्रहण'को औपचारिकतापछिको कार्यक्रमभने छरितो थियो आज। सबैले बुझाएका किताबहरुको नाम उपश्थिति संगै हाजिरकापीमा टिपिएको थियो र उपश्थितिको क्रम अनुसार नम्बर दिईएको थियो। नम्बरहरु टिपिएका कागतका स-साना टुक्राहरु पोका पारेर राखिएको थियो अतिथिहरुका अगाडि। अगाडि जाने, कुनै एक टुक्रा तान्ने र त्यसमा लेखिएको नम्बरको ब्यक्तिलाई बोलाएर आफूले ल्याएको पुस्तक शुभकामना सहित उपहार दिने, उपहार दिने ब्यक्ति फर्केर आउने र भर्खर उपहार पाउनेले भने टुक्रा थुत्ने र त्यसमा लेखिएको नम्बरको ब्यक्तिलाई बोलाउने र उपहार दिने प्रकृया थियो। प्रमुख अतिथि कवि-संस्कृतिकर्मी-प्राज्ञ तीर्थ श्रेष्ठले नम्बर तानेर र उपहार दिएर शुरु भएको कार्यक्रम निकै रमाईलो भयो। पोखराका कवि, सञ्चारकर्मी अमित रिजालजीले तान्दा मेरो नम्बर (२१) पर्यो र मैले उहाँबाट शुभकामनासहित हिन्दी साहित्यकार मोहन राकेशको 'आषाढके एक दिन' भन्ने नाटक पाएँ। मैले तान्दा '६' आयो र मैले कवि तथा पोखरेली साँस्कृतिक युवा परिवारका उपाध्यक्ष सुरेश रानाभाटजीलाई बुद्धिनारायण श्रेष्ठज्यूले लेख्नुभएको 'Border Management of Nepal' भन्ने पुस्तक शुभकामनासहित उपहार दिएँ। 

कार्यक्रमले खुशी र सकारात्मक उर्जा दियो मलाई। 

र्याण्डम रिडर्स सोसाइटीको यो नौलो सोचले दशैं-तिहारको शुभकामना आदानप्रदानलाई रोचक र रचनात्मक बनायो नै, साथै दशैं-तिहारको बिदालाई पठनकर्मसंग पनि जोड्न सघाउनेछ।

साधुबाद र्याण्डम रिडर्स सोसाइटीलाई!
 

September 26, 2013

साहित्यिक यात्रा चितवनको

गत शुक्रबार र शनिबार (४ र ५ आश्विन) साहित्यमय भएर चितवनमा बिताईयो।

प्रसंग थियो, 'चितवनका कवि र कविता' नामक कविता संग्रह तथा 'चरैवेति' साहित्यिक पत्रिकाको अंक ६ को सार्वजनिकीकरण। र यसैको छेको पारेर आयोजना गरिएको 'संरक्षण' कविता आन्दोलनको ५७औं संस्करण।

शुक्रबार बिहान एउटा टयाक्सीमा श्रद्धेय सरुभक्त दाइ, सहकर्मी मित्र शरण आँसु र कवि-पत्रकार फडिन्द्र अकिञ्चन चितवनतिर लाग्यौं। कविहरु सरस्वती 'प्रतीक्षा', सुरेश रानाभाट, दीपक समीप र प्रकाश ज्ञवाली र कलाकार गौतम बिजुक्छेसंग बिजुक्छेजीको गाडीमा हुनुहुन्थ्यो। 

दिऊँसो ३ बजेबाट सार्वजनिकीकरण कार्यक्रम शुरु भयो। 'चितवनका कवि र कविता'मा चितवनका ७८ कविहरुका संक्षिप्त परिचय र ४-४ कविता समेटिएको रहेछ। 'चरैवेति' को अंक ६ मा पनि तिनै कविताहरु संकलित रहेछन्। एउटा लामो र गहन प्रयासपछि संकलित स्वरुपमा निक्लिएका यी कविताहरुले निःसन्देह चितवनको कवितालाई स्पष्ट परिभाषित गर्ने क्षमता राख्दछन् र चितवनका माध्यमबाट वर्तमान नेपाली कवितालाई नियाल्ने आँखीझ्याल पनि हो यो संग्रह।

कार्यक्रममा पोखराबाट पुगेका सबै (११ जना) र चितवनकै केहि कविहरुबाट कविता वाचन पनि भयो।  

त्यो रातको बास 'कविडाँडा' (कैलाशपुर?) मा रहेको एल बी क्षेत्री सरको घरमा भयो। एल बी सर र उहाँकी अर्धाङ्गिनीको आतिथ्यमा कवि र कविता मिसिएर निकै रमाईलो भयो। सुत्ने बेलामा साथीहरुले संरक्षण कविता यात्राका पूराना संस्करणका रमाईला संस्मरणहरु सुनाए। मेरो पहिलो सहभागिता, यसैले मसंग केहि संस्मरणहरु थिएनन्। राती सरुभक्त दाइ, एल बी क्षेत्री सर र अरु युवा कविहरुका बीच संरक्षण कविता आन्दोलनको दर्शन, यसको विगत र भविष्यका बारेमा कुराकानी हुँदै थियो धेरै बेरसम्म, अर्धनिद्रामा सुन्नेमा परें म।

बिहान नित्यकर्म, नास्ता, तस्बीर सेसन र आगन्तुक पुस्तिकामा हस्ताक्षरपछि सौराहाको लागि प्रस्थान गर्यौं सबै। सौराहाको जंगल सफारी लजमा फेरि केहि नास्ता लिएपछि डेढ घण्टाको लागि छरिए सबै स्थानीय परिवेशबाट बिम्बहरु टिपेर कविता लेख्न। यसरी निश्चित समयसीमामा बसेर कविता लेख्न बडो गाह्रो हुन्छ, तैपनि केहि कोरें।

जंगल सफारी लजमा फर्केर खाना खाएपछि कविता वाचन कार्यक्रम शुरु भयो। संरक्षण कविता आन्दोलनका सहभागीहरुका कविता सौराहाको प्रकृति र स्थानीय जनजीवनको नजिक हुने कोशिशमा थिए। अरु सहभागीहरु पनि सबैले कविता वाचन गर्नुभयो। चितवन, पोखरा र हेटौंडाबाट भेला भएका थिए कविहरु र काठमाण्डौंबाट पनि कवि-निबन्धकार रोशन शेरचन उपश्थित हुनुहुन्थ्यो।

शनिबार साँझ गौतम बिजुक्छे, दीपक समीप, सुरेश रानाभाट, प्रकाश ज्ञवाली र म पोखरा फर्कियौं।

न्यानो साहित्यिक आतिथ्यका लागि चितवनका साहित्यकार मित्रहरु, एल बी सर र जंगल सफारी लजलाई हार्दिक धन्यबाद! संरक्षण कविता आन्दोलनमा सहभागी हुने अवसरका लागि सरुभक्त दाइलाई हार्दिक धन्यबाद!

साथीहरुले खिचेका तस्वीरहरु फेसबुकतिर छरिएका छन्। मैले भने अचेल कार्यक्रमहरुमा जाँदा क्यामेरा बोक्न छोडिदिएको छु। क्यामरा एक प्रकारको बोझ र बाधा लाग्न थालेको छ :)

September 16, 2013

हाजिर जनाऊँदैछु, धेरै पछि

तीन हप्ता भएछ यो आँगनमा गएल भएको, तपाईँहरुसंग गफ नगरेको।

क्याम्पसको इण्टरनेट उपकरणहरुलाई एक दिनको खतरनाक चट्याङ्गले ध्वस्त बनाईदियो र दुई हप्ताभन्दा बढी 'अन्धकार युग' मा बसियो। द्रुत निर्णयहरु हुने ठाऊँमा हो भने यस्ता समस्या भोलिपल्टै र बढीमा दुई दिनभित्र समाधान भईसक्थे। तर यो पर्यो 'पक्का' सरकारी क्याम्पस! यो एक्काईसौं शताब्दीको त्यस्तो 'इञ्जिनियरिङ्ग' क्याम्पस हो जहाँका हरेक निर्णयहरुमा हावी हुनेहरु उन्नाईसौं शताब्दीमा बाँच्छन्। अब उन्नाईसौं शताब्दीमा बाँच्नेहरुलाई एक्काईसौं शताब्दी भनेको दन्त्यकथा र फगत दन्त्यकथा हो। उन्नाईसौं शताब्दीमा बाँच्नेहरुलाई इ-मेल नभएर के, इण्टरनेट नभएर के?  

August 25, 2013

रामायणमय निद्रा

भानुभक्त बाजेको 'रामायण' दुई पृष्ठ जति पढियो अघि भर्खर। हनुमान सीतालाई भेटेर, रामको औंठी चिनो बुझाएर-सन्देश सुनाएर र सीताको हालखबर बुझेर सीतासंग बिदाबादी भएका छन्। सीतासंग बिदा भएपछि हनुमान "----भन्छन् सब दुनियाँ त भेटिकन जाँ कस्तो छ रावण् पनि" भनी लंका घुम्ने विचारमा पुगेका छन्। भोलिका पृष्ठहरुमा हनुमानले लंकामा के-के गर्ने हुन् र रावणसंग के-के कुरा गर्ने हुन् भन्ने कल्पना गर्दै छोरी निदाईसकेकी छे।

सुत्नुअगाडि छोरीका लागि केहि पढिदिने पूरानो बानीकै निरन्तरताले 'रामायण'को बाटो हिँडेको हो यतिखेर।

मैले 'महाभारत'बाट शुरु गर्ने विचार गरेको थिएँ र विचार पलाउनसाथ टकटकाऊँदो 'महाभारत' किनेर ल्याएको थिएँ। मलाई लागेको थियो, सुत्नु अगाडि एक दुई पृष्ठ 'महाभारत' (वा अरु केहि) का श्लोकहरु वाचन गरेर सुत्दा 'एकै तीरमा धेरै निशाना' हुने पक्का थियो; जस्तो कि छोरीले दैनिक खोज्ने 'नयाँ' कथाको 'सहज आपूर्ती' हुने, आफैंले पनि कति पहिले नपढेका-नसुनेका कुरा पढिने हुँदा आफैंलाई पनि उपलब्धिपूर्ण हुने र लय हालेर पढ्दाको आनन्दानुभूति वर्णनातीत हुने आदि-आदि।

तर दुई-चार दिनको अनुभवले के सिकायो भने महाभारत बच्चाहरुसंग बसेर पढिने कुरो होईन। महाभारतभित्रको गहन दर्शन र जटिल राजनीति बुझ्न ठूलाले पनि धेरै सोच्नुपर्छ, बच्चाले त सक्ने कुरै भएन। अलिकति श्लोक पढ्दै- र 'कथा'का रुपमा छोरीलाई त्यसको सरल ब्याख्यान सुनाउँदै गर्ने मेरो 'प्रकृया' न त छिटो हुने भयो, न त सजिलोनै। फेरि, 'महाभारत'भित्र एकदम धेरै आईरहने प्रणयप्रसंगहरु पनि आठ वर्षकी बच्चीका लागि ठिक हुनेजस्तो लागेन।

र 'रामायण' शुरु भयो।

'रामायण' को कथा सरल रेखामा बगेको छ र यसभित्र 'महाभारत' भित्र जस्तो गहन दर्शन र जटिल राजनीतिक प्रसंगहरु पनि छैनन्। प्रणयप्रसंगहरु पनि धेरै छैनन् र र भएका पनि अलिक 'अप्रत्यक्ष' छन्। यसैले 'रामायण' को 'कथा' ठिक्क बच्चा सुहाऊँदो छ।

दिनको एक-दुई पृष्ठका दरले अबका केहि महिनाको निद्रा रामायणमय हुने पक्का छ। 


August 04, 2013

अहिले Long Walk to Freedom

यता यो मिलेको छैन, उता त्यो मिलेको छैन, ब्लगमा लेख्न समय मिलेको छैन :) मिलेको टुक्राटाक्री समयलाई ब्लगका लागि तयार पार्न मैलेनै नसकेको हो, नचाहेको त होईन।

टुक्राटाक्री निक्लने खाली समयमा केहि पढ्ने कोशिश भने गरीरहेछु। पोखरामा हुने विमोचन आदिमा किनिने, प्राप्त गरिने नयाँ पुस्तकहरु लगभग सबैजसो पढिएको छ। सरस्वती प्रतीक्षाजीको कविता संग्रह 'वागी सारङ्गी' र शरण आँशुजीको कविता संग्रह 'असमय' पछिल्ला त्यस्ता दुई कृति हुन्। सरस्वतीजी युवा पुस्ताको सशक्त हस्ताक्षर हुनुहुन्छ र उहाँको साहित्यिक उचाई राष्ट्रिय-अन्तर्राष्ट्रिय आयाममा फैलीसकेको छ। शरणजीका कविताहरुले पनि प्रशस्त संभावना बोकेका छन्। 

विकास थापाजीको 'नेपालमा जलविद्युत' पनि पढिसिध्याएँ केहि समयपहिला। नेपालको जलविद्युत क्षेत्र अपार सम्भावनायुक्त हुँदाहुँदै पनि कसरी हाम्रो देश लोडशेडिङ्गको अँध्यारो दुर्गतिमा फँस्न पुग्यो र कसरी नेपालको जलसम्पदामा देशी-विदेशी माफियाको दाह्रा-नङ्रा गाडिएको छ भन्ने बुझ्न अहिले यो सबैभन्दा उपयुक्त पुस्तक हो।

अहिले भने महान राजनेता नेल्सन मण्डेलाको आत्मवृत्तान्त "Long Walk to Freedom" पढ्न शुरु गरेको छु। आदरणीय मण्डेलाको स्वास्थ्यमा केहि सुधार आएको खबर थियो उहाँको पन्चानब्बेयौं जन्मदिनताका। उहाँको सुस्वास्थ्य र दिर्घायुको कामना गर्दछु। 




July 22, 2013

'असमय' कविता सङ्ग्रबाट 'दिदी'

हिजो साउन ५ गते सहकर्मी साथी शरण आँसुजीको कविता सङ्ग्रह "असमय" को विमोचन भयो। पोखरा उद्योग वाणिज्य संघको अमृत शेरचन कक्षमा। पोखरेली युवा सांस्कृतिक परिवारद्वारा प्रकाशित उक्त कविता संग्रहमा ४८ कविताहरु संग्रहीत छन्। आँसुजीका कविता पाठकका मनमा विशिष्ट भाव छोड्न सफल छन्। आज उक्त सङ्ग्रहको एक कविता साभार गर्न चाहन्छु। हिजोको विमोचन कार्यक्रममा आँसुजीको आग्रहमा यहि कविता वाचन पनि गरेको थिएँ मैले।

दिदी 
- शरण आँसु

डोको र नाम्लो यहीं छ
आँसी उद्याउने ढुङ्गो यहीं छ
मझेरी र भान्छामा रारन्न छ।
जूठो कसौंडी र ताप्केसित रित्तिएको
तिम्रो सपना यहीं छ।
तिमीसितै
बेसी झरेको
तिम्रो रहरको खेत यहीं छ।
दिदी!
तिमी कहाँ छौ?
तिम्रो आँखामा धान झुलेको छ कि छैन?
तिम्रो आँखामा रहर फुलेको छ कि छैन?

यहाँ त
बारीको डिलमुनि
गल्लीको छेउमा
लालुपाते फुलेको छ,
कान्ला, खोल्सामा
टाँकी फुल्दो छ र
तल्लाघरे कान्छा बाको कपाल पनि
सेतै टाँकी भएर फुलेको छ।
दिदी!
तिम्रो आँखामा
लालुपाते र टाँकी फुलेको छ कि छैन?

कोही भन्छन्
तिमी सहरमा छौ
कोही भन्छन्
तिमी सहरभन्दा बाहिर
रहरहरुको जहर पिएर बसेकी छौ।
कोहि भन्छन्
तिमी
सभ्यताको चुलीबाट पछारिएको
समयको आखेट भएर
निर्लज्ज/निर्बस्त्र
विज्ञप्त भएकी छौ।
दिदी!
तिमी कहाँ छौ?

यहाँ त पर्म छ
मर्मै मर्म छ
मर्महरुको पहाड छ।

सबै सबैको आँखामा
तिम्रो सम्झनाको पहाड छ।
दिदी!
तिमी कहाँ छौ??

July 01, 2013

शेष-अशेष-विशेष

यहि शेष छ, र मेरा लागि अशेष छ
मुटुमै छ, मेरा लागि विशेष छ
दुई नाऊमा खुट्टा कहिल्यै हाल्नेछैन-
मसंग जे छ, केवल यहि देश छ।

(असार १७, २०७०; पोखरा)

June 24, 2013

नेपालका खस जाति

डा. विपिन अधिकारीद्वारा लिखित "नेपालका खस जाति (क्षेत्री, बाहुन, कामी, ठकुरी, सार्की, सन्यासी, वादी, दमाई, घर्ती, गाइने इत्यादि)" नामको एउटा गोजिका पढिभ्याएँ केहि दिन पहिला। डा. अधिकारी संविधानविद्का रुपमा बढी चर्चित हुनुहुन्छ तर एउटा क्षमतावान इतिहासकारका रुपमा समेत उहाँको परिचय विस्तारित भएको देखाएको छ यो गोजिकाले।

यतिखेर देशमा 'पहिचान' भन्ने शब्द शायद सबैभन्दा धेरै चर्चित शब्द हो। आफ्नो 'पहिचान'को सम्मानको खोजी र त्यो पहिचानलाई समृद्ध गर्ने चाहना सबै समुदायमा रहेको हुन्छ। नेपालजस्तो विविधतायुक्त समाजमा पहिचानहरुको आपसी सम्बन्ध जटिल र पेचिलो हुनु स्वाभाविक हो। फेरि हाम्रो देशमा कुनै पनि एक जाति वा समुदायविशेष बहुमतमा रहेको छैन। नेपाल अल्पसंख्यकहरुको देश हो।

केहि ऐतिहासिक कारणहरुले गर्दा र केहि उनीहरुको आफ्नै साँस्कृतिक-सामाजिक-पेशागत रोजाईका कारण पहाडी भेगका खस जातिहरु नेपालको सत्तामा अरुभन्दा अलिक प्रभावी देखिन्छन्। अर्कोतिर, उनीहरुको खस भाषा परिमार्जित हुँदै 'नेपाली' भाषाका नाममा देशको सम्पर्क भाषा बनेका कारण पनि उनीहरुको सत्ता वा सरकारी पहुँच केहि सहज बनेको पनि हुनसक्छ। यो पृष्ठभूमिमा यतिखेर नेपालका तमाम समस्याहरुको जडका रुपमा खस (आम शब्दमा बाहुन-क्षेत्री) जातिलाई प्रस्तुत गरिएको छ। खस जातिका विरुद्ध राष्ट्रिय-अन्तर्राष्ट्रिय दुबै तवरबाट ब्यापक वैचारिक-राजनीतिक आक्रमण छेडिएको छ। आफ्नो पहिचानको खोजी गरेको दावी गर्नेहरु अतिवादी मार्ग रोज्दै खस जातिको पहिचान मेट्ने प्रयासमा समेत लागेका छन्। नेपालभित्र खस जातिको  आगमन र उनीहरुको बिस्तारका बारेमा गम्भिर भ्रमहरु सृजना गरिएका छन् र ती भ्रमहरुलाई स्थापित र अकाट्य 'सत्य'को जलप लगाउने कोशिश जारी छ।

आजसम्म आफ्नो पहिचानका बारेमा खासै चासो नदेखाएको भएपनि यो वातावरणमा स्भावतः म पनि अलिक सचेत हुँदैछु र आफ्नो ऐतिहासिक-साँस्कृतिक-सामाजिक परिचयका बारेमा जान्ने-बुझ्ने कोशिश गर्दैछु। केहि समय पहिला एउटा पुस्तक पसल चहार्ने क्रममा यो गोजिकामा आँखा पर्दा खुशी लागेको थियो।

सानो गोजिकाले नेपालका खस जातिको सबै आयामका बारेमा छोटो जानकारी दिएको छ। खस हिन्दूहरु कसरी मैदानी हिन्दूहरुभन्दा फरक हुन्, कसरी यी दुईको यो उपमाहाद्वीपमा फरक ढँगले आगमन भयो र कसरी फरक विकासक्रम भयो भन्ने कुराका बारेमा पढ्दा मेरा आफ्नै धेरै भ्रमहरु च्यातिए। त्यस्तै नेपालभरी यो जातिको उपश्थितिको प्रमाणलाई कसरी वैदिक काल वा त्यो भन्दा पनि अगाडिसम्म लान सकिन्छ भन्ने कुराले मेरो परिचयलाई अझ बलियो बनाएको बुझेको छु मैले। खस जाति कसरी आफ्नो प्रकृतिपूजक बोन धर्मबाट बिस्तारै बौद्ध र हिन्दू धर्मको प्रभावमा आईपुग्यो र कसरी बोन धर्मका कतिपय संस्कार-चालचलन अझै जीवित छन् भन्ने कुरा पनि रुचिकर लाग्छन्। साथै किन यूरोपेली धर्मप्रचारकहरु विगत केहि शताब्दीदेखि निरन्तर खसहरुका विरुद्ध विषवमन गरीरहेछन् भन्ने बारेमा लेखकका धारणाहरुसंग पूर्ण सहमत भएँ म।

खस वा गैर खस, नेपालको इतिहासमा रूचि हुने जो सुकैका लागि पनि एउटा पठनीय गोजिका हो यो।   

June 16, 2013

फेरि चुनाव गर्दैछन्

प्रतिगमन कोच्याएर फेरि चुनाव गर्दैछन्
जनतालाई होच्या‍एर फेरि चुनाव गर्दैछन्
हिजोका गुलिया नारा झुटा साबित भएपछि
डनलाई पैसा ओच्छ्याएर फेरि चुनाव गर्दैछन्

June 03, 2013

कथित 'विद्यार्थी राजनीति' - राष्ट्रिय राजनीतिको धमिलो मुहान

अपार रचनात्मक संभावना बोकेका युवा विद्यार्थीको उर्जालाई एक महिनासम्म झूट, धोकाधडी, बेईमानी र हिंसामा अल्मल्याएर स्ववियु चुनाव नामक नौटंकी तत्काललाई 'स्थगित' नामको स्खलनमा टुंग्याईएको छ।

त्रिभूवन विश्वविद्यालयले आफ्ना आंगिक तथा सम्बन्धनप्राप्त क्याम्पसहरुमा गत जेठ २३ गते स्ववियु चुनाव गराउने घोषणा गरेको थियो। त्रिविको यो घोषणासंगै विद्यार्थी संगठनहरु चुनावमा जुटेका थिए र वैध-अवैध सकेजति हत्कण्डाहरु अपनाएर धेरैभन्दा धेरै क्याम्पसका स्ववियुहरु जित्ने योजना बनाएका थिए। तिनका माउ पार्टीहरु पनि स्ववियु चुनावलाई आफ्नै प्रतिष्ठाको लडाईँ बनाऊँदै आफ्ना ‘हुनमान’हरुलाई स्ववियु ‘कब्जा’ गर्न सघाउन क्याम्पस-क्याम्पस छिरेका थिए। यो स्ववियु चुनावको निहुँमा विद्यार्थी संगठनहरु र तिनका माऊहरुले जे-जस्तो ब्यवहार देखाए त्यसले उसैपनि जनताको नजरमा नराम्ररी गिरिसकेको नेपाली राजनीतिको मूल्य झन् तल झरेको छ।

यस बीचमा देशका धेरै क्याम्पसहरुमा राती २ बजेसम्म नयाँ ‘विद्यार्थी’ भर्ना गरिए। शैक्षिक क्षेत्रमा यस्तो भाँडभैलो दुनियाँमा अन्त कतै देख्न त के कल्पना गर्न पनि सकिँदैन। फर्जी विद्यार्थी भर्ना गरीसकेपछि सबै विद्यार्थी संगठनहरु अरुलाई दोषी देखाएर आफूमात्रै पानीमाथिको ओभानो बन्ने कसरत गरीरहेछन्। भर्ना र अन्य निहुँमा क्याम्पसहरुमा तालामाथि ताला पनि थपिईरहेका छन्। स्ववियु चुनावसंगै देशमा चन्दा आतंक पनि बढेको छ र गुण्डाहरुको परिचालन पनि बढेको छ। अहिलेका युवा विद्यार्थी नेताहरु आफ्ना माउ पार्टीका नेताहरुभन्दा बिल्कूलै फरक देखिँदैनन्। भविष्यको राष्ट्रिय नेतृत्वको ठूलो हिस्सामा अहिलेको विद्यार्थी नेतृत्वबाट जानेहरु हुने सम्भावना धेरै छ। साँच्चै त्यस्तो हुने हो र कुनै वैकल्पिक नेतृत्व अगाडि नआउने हो भने हामीले अर्को पचास वर्ष यो देशको राजनीतिसंग आशावादी नभए हुन्छ।

नेपालमा विद्यार्थी राजनीति पञ्चायत विरुद्धको मोर्चाका रुपमा शुरु भएको हो। पञ्चायतकालमा राजनीतिक दलहरु र तिनका भातृसंस्थाहरु प्रतिबन्धित भएका बेला एक हिसाबले यो आवश्यक पनि थियो, तर २०४६ सालपछिको खुल्ला परिवेशमा विद्यार्थी राजनीतिको ‘अन्त्य’ हुनुपर्थ्यो। विद्यार्थी संगठनहरु शैक्षिक मुद्दामा केन्द्रित हुनुपर्थ्यो र देशको भविष्यको चिन्ता हुन्थ्यो भने तिनका माऊहरुले पनि त्यहि दिशामा जान प्रेरणा दिनुपर्थ्यो। त्यसो हुन सकेन, दल र तिनका नेताहरुलाई युवा विद्यार्थीहरुको भविष्य र देशको भविष्यसंग कुने सरोकार भएको देखिएन। उनीहरुले देशका शैक्षिक संस्थाहरुलाई आफ्नो नांगो नाचको मैदान बनाईरहे र लाखौं विद्यार्थीहरुको भविष्यलाई तहसनहस पारीरहे। हाम्रा दल र नेताहरुका लागि देशभरिका गरीब युवा विद्यार्थीहरु भनेका आफ्नो सत्तास्वार्थका लागि सडक तताईदिने, लडिदिने र मरिदिने पिउसाहरुभन्दा बढी कहिल्यै हुन सकेनन्।

'दलीय' विद्यार्थी संगठनहरुले गर्ने कथित 'विद्यार्थी' राजनीतिले विद्यार्थीहरुमा उग्रता, अभद्रता, अराजकता, बेईमानी र असहिष्णुताको बाक्लो विष भर्ने काम मात्रै गरेको छ। त्यसैको विस्तारित र विकसित रुप हो हाम्रो भ्रष्ट र असभ्य राष्ट्रिय राजनीति। विद्यार्थी राजनीतिको यो उग्रता, अभद्रता, अराजकता, बेईमानी र असहिष्णुताले यो देशको राष्ट्रिय राजनीति कम्तिमा आऊँदो ५० वर्ष सम्म अहिलेकै जस्तो असभ्य र भ्रष्ट रहने ग्यारेण्टी पनि गरेको छ। दशकौंदेखि स्ववियु राजनीतिले हाम्रा विद्यार्थी नेताका पुस्ता-पुस्तालाई अनुशाशनहीनता, गैर-जिम्मेदारी, बेईमानी र जबर्जस्तीजस्ता ‘राजनीतिक’ भ्रष्टाचार त सिकाएकै छ, आर्थिक भ्रष्टाचारमा पनि पोख्त बनाएको छ। स्ववियु चुनावमा हुने लाखौंको खेलको कसैले कतै हिसाबकिताब बुझाउनुपर्दैन। स्ववियुमा विजयी हुनेले अरु दशौं लाखमा चचहुई गर्न पाऊँछन्। हरेक क्याम्पसका स्ववियुले क्याम्पसमा ‘भर्ना भएका’ विद्यार्थी संख्याको आधारमा प्रति विद्यार्थी २० रुपैयाँ पाऊँछन्। यस्तो आम्दानीको आधा स्ववियु र क्याम्पस प्रशाशनले संयुक्त रुपमा खर्च गर्ने प्रावधान छ भने आधा स्ववियुले मनलागी गर्न पाऊँछन्। संयुक्त निर्णयमा खर्च गरिनुपर्ने आधा रकममा पनि स्ववियुनै हावी हुने निश्चित छ।

अर्कोतिर, हरेक क्याम्पसमा अन्य बिभिन्न स्रोतहरुबाट हुने आम्दानीमा पनि स्ववियुले गतिलो हिस्सा जमाएका छन्। एउटा उदाहरणका रुपमा १५०० जति विद्यार्थी अध्ययनरत एक इञ्जिनियरिङ्ग क्याम्पसलाई लिन सकिन्छ। त्रिविको आंगिक उक्त क्याम्पसमा ‘पूर्ण शुल्कीय’ विद्यार्थीहरुबाट उठ्ने आम्दानीको दुई प्रतिशत स्ववियुलाई दिने सम्झौता भएको छ। ‘दुई प्रतिशत’ सुन्दा थोरै लाग्छ तर स्ववियुले पाउने वास्तविक रकम भने थोरै छैन। जस्तो आर्थिक वर्ष २०६९-७० का लगि स्ववियुले दश लाख रुपैयाँ पाएको थियो। उक्त क्याम्पसमा यस वर्ष केहि कार्यक्रमहरु थपिएकाले आगामी आर्थिक वर्षमा स्ववियुले चौध लाख रपैयाँको हाराहारीमा रकम पाउने निश्चित छ। स्ववियुले यो भन्दा धेरै रकम पाऊने क्याम्पसहरु पनि छन्। यसरी रकम पाऊनु आफैंमा नराम्रो होईन, ईमान्दारहरुको हातमा यति ठूलो रकम पर्दा थुप्रै रचनात्मक र शैक्षिक कामहरु हुनसक्छन् तर अहिलेसम्मको स्थिति हेर्दा सबैजसो स्ववियुहरुमा दुरुपयोगको श्रृंखला कहालीलाग्दोगरी धेरै छ।

स्ववियुहरुको आर्थिक हिसाबकिताबमाथि कुनै लेखापरीक्षण गराउनै नपर्ने प्रावधानले आर्थिक अनुशाशनहीनता र चलखेललाई सजिलो बनाईदिएको छ। स्ववियुले आफ्नो हिसाबकिताब क्याम्पसलाई बुझाए पुग्छ। चुनिएको केहि समयमै स्ववियुका पदाधिकारीहरुको जीवनशैलीमा देखिने द्रूत ‘अग्रगमन’ सबै क्याम्पसमा चर्चाका विषय बन्ने गरेका छन्। देशका कुनैपनि क्याम्पसका प्रशाशनसंग स्ववियुले बुझाएको हिसाबकिताब गहिरिएर हेर्ने र अस्वाभाविक देखिए प्रश्न उठाउने हिम्मत छैन। विद्यार्थी नेताहरुको हरामी उग्रतासंग सबै डराऊँछन् नै, त्यसमाथि तिनैको चाकडी गरेर र तिनैको सिफारिशमा पदीय भागबण्डामा परेका पदाधिकारीहरुसंग विद्यार्थी नेताहरुलाई औंला ठड्याउने नैतिक बल पनि हुँदैन।

कतिपय 'ठूला' क्याम्पसका स्ववियुहरु स्थानीय प्रशाशन र राज्यलाई समेत अटेर गर्ने 'हैसियत'का मानिन्छन्। क्याम्पसको आर्थिक स्रोतको दुरुपयोगले नअघाएर स्थानीय ठेक्कापट्टामा कसैका पक्षमा दादागिरि गरेर आफ्नो 'भाग' लिने काम समेत गरेका छन् स्ववियुहरुले। 

यो देशको एउटा ठूलो दुर्भाग्य यहि हो कि यहाँ युवा विद्यार्थीका पुस्तौं-पुस्ताको उर्जालाई यसैगरी अल्मल्याएर स्खलित पारिएको छ र तिनलाई वस्तुनिष्ठ र ईमान्दार भएर खुल्ला आँखाले देशका लागि, समाजका लागि केहि सोच्न सक्ने, केहि गर्न सक्ने अवसरबाट वञ्चित गरिएको छ। जसले जुन तर्क दिएर उचित ठहर्याउन खोजेपनि कथित विद्यार्थी राजनीति देशको शैक्षिक दुरावश्थाको प्रमुख कारणमध्ये एक हो र यसको वर्तमान संरचनाको अन्त्य हुनैपर्छ। अब विद्यार्थी गतिबिधि 'राजनीति' बाट मुक्त हुनुपर्छ र नेपालका विद्यार्थिले पनि विश्वका अरु देशका विद्यार्थीहरुसंग जीवनका हरेक आयाममा प्रतिष्पर्धी हुन सक्ने ढंगले आफूलाई विकास गर्न पाउनुपर्छ।

बिहानीले दिनको संकेत गर्छ र त्यो संकेत अहिले गतिलो देखिएको छैन। भविष्यको राजनीतिको नदीलाई संग्लो बनाउन त्यसको मुहानको रुपमा रहेको अहिलेको विद्यार्थी राजनीतिलाई संग्लो बनाउनै पर्छ। अबको विद्यार्थी राजनीति शैक्षिक मुद्दा केन्द्रित हुनुपर्छ, त्यसमा राजनीतिक चेत हुनुपर्छ तर नांगो दलीय राजनीति हुनुहुँदैन। एउटा ब्यक्तिको रुपमा हरेक विद्यार्थीको आफ्ना राजनीतिक मान्यता हुन्छन्, उनीहरुलाई मन पर्ने कुनै दल पनि हुनसक्छ, त्यसमा कुनै बन्देज हुनुहुँदैन र हुनपनि सक्दैन तर शैक्षिक संस्थाभित्रका गतिबिधि त्यो वैचारिक आष्था र दलीय आग्रहबाट प्रदूषित हुनुहुँदैन। स्ववियु चुनाव प्रणालीमा आमूल सुधार गरेर यसलाई दलीय छायाबाट मुक्त पारीनुपर्छ, सांगठनिक प्यानल बनाएर उम्मेदवारी दिन नपाउने गरीनुपर्छ। त्यस्तै, स्ववियु चुनावलाई केहि महिनाको राष्ट्रिय उर्जालाई अलमल्याएर स्खलित पार्ने मेलोको रुपमा नभई क्याम्पस-क्याम्पसको स्थानीय गतिबिधिका रुपमा सीमित गरिनुपर्छ। यहि कुरा कथित प्राध्यापक राजनीति र कथित कर्मचारी राजनितिमा पनि लागू हुन्छ। जबसम्म हाम्रा विश्वविद्यालयहरु नांगो दलीय नाचबाट मुक्त हुँदैनन् तबसम्म हामीले यो देशको उज्यालो भविष्यको कामना नगरे हुन्छ।




May 23, 2013

आज कति नम्बर आयो??

आर्यालाई हेर्ने कामको भाग लगाएका छौं हामीले। बच्चा एउटै भएपनि एकात्मक परिवारमा बसीरहेको र दुबैको आ-आफ्नो ब्यस्त 'क्यारीयर' भएकाले समय ब्यवश्थापन अलिक जटिल भईदिँदोरहेछ। यो जटिलताले हामीलाई दुःख भने कत्तिपनि लागेको छैन, एउटा सुखद् चुनौतीका रुपमा लिँदै छोरीलाई केन्द्रमा राखेर आफ्नो समयको ब्यवश्थापन गरीरहेका छौं हामी।

छोरी स्कूलबाट घर फर्कने बेलामा म हुन्छु घरमा। 'लचिलो' प्राध्यापन पेशामा भएकाले यतिखेर समय निकाल्न सक्छु म। मेरो त्यसपछिको पहिलो काम ऊसंग दश-पन्ध्र मिनेट बसेर स्कूलका कुरा सोध्नुहुन्छ। उसले हातमुख धुने, लुगा फेर्ने काम सकेपछि खाजा बनाएर बाऊ-छोरी गफ गर्दै खानुमा कम्ति मजा छैनः)

स्कूलको पोशाकको सेतो शर्टको भने बिजोग भैसकेको हुन्छ ऊ फर्केर आऊँदासम्म। बाहुलाको नाडीमुनिको भाग त रंगीचंगी बनीसकेको हुन्छ। खेल्दा-खेल्दै अलिअलि धूलोमैलो अनुहारतिरपनि पुगीसकेको हुन्छ। बच्चा हुनाले यो स्वाभाविक हो, तर यसैलाई एउटा रमाईलोमा बदल्न मन लाग्यो मलाई र दुई हप्ताजति पहिलाबाट 'नम्बर' दिन शुरु भयो। 

नम्बर दुईटा कुरामा। पहिलो, यहि शर्ट र अनुहारको फोहरलाई हेरेर दिने। कत्ति पनि फोहर नभए १०० हुने अनि फोहर देखिए अनुसार एक-एक नम्बर घटाऊँदै जाने। रमाईलोकै लागि यो 'सम्झौता' गरिएपनि यसले केहि न केहि असर भने देखाउन थालेको छ। सरसफाईमा आर्याले अझ बढी ध्यान दिन थालेको देखिईसकेको छ। नम्बर त ९८ भन्दा घटेको पनि छैन। रमाईलोको लागि गरेको कामलाई मैले पनि रमाईलै पाराले नम्बर दिन्छु, अस्ति एकदिन त १०० नै दिएँ, १-२ नम्बर घटाउन सक्ने ठाऊँ हुँदाहुँदै पनिः)

दोश्रोचाहिँ, लुगा फेर्ने, लुगा र जुत्ता मिलाएर राख्ने कुरा हेरेर नम्बर दिने। पहिलोमा भन्दा पनि धेरै सुधार आएको छ यसमा। पहिला 'लुगा फेर' भनेर पाँच-सातचोटि कराऊँदा पनि 'एकछिन क्या एकछिन! कस्तो थकाई लागीरा'छ आफ्लाई!' भनेर धेरै बेरसम्म अलमल गरीरहन्थी, उसका साथीहरु खाजा खाईवरी आईसक्दापनि उसले लुगा फेर्न थालेकै हुँदैनथ्यो। अहिलेचाहिँ दश-पन्ध्र मिनेटको 'भलाकुसारी'पछि "कौन बनेगा करोडपति"को स्टाईलमा "आर्या, तिम्रो समय शुरु भयो अब!" भनेर मैले भन्ने र उसले त्यसपछि फटाफट लुगा फेर्ने र आफ्ना सामान मिलाउने 'भद्र सहमति' पनि भएको छः)

दुबै 'विषय'का नम्बर घरको सेतो पाटीमा चढ्छन् हरेक दिन।

अब हामीलाई पनि नम्बर दिन थालेकी छे उसले, ऊ पनि के कम! ऊ भन्दा ढिला आउँदा दुबै विषयमा हाम्रो जाँच-पड्ताल हुन्छ र नम्बर चढ्छ सेतोपाटीमा।


May 16, 2013

कवि सम्मेलन

मोबाईल टोनहरुको नौमती बजीरहेछ 
झुण्ड-झुण्ड जन्ती गफ चालू छन्
सभाध्यक्ष ऊँघिरहेछ
प्रमुख अतिथि घुँडामा मुन्टो जोतेर-
शायद कुनै मोबाईलमन्त्र फुस्फुसाईरहेछ
कवि कविता पढीरहेछ
अजीर्ण हुने गरी अंग्रेजी शब्द खुवाईएको
उसको ‘छोटो’ ‘नेपाली’ कविताको पाँचौ पृष्ठ
कवि सम्मेलन जारी छ
कवि सम्मेलन जारी छ
र एउटा प्रश्न पनि जारी छ,
कविताचाहिँ कसले सुनिरहेछ?
(साँझ ५ बजे, बैशाख ७, २०७०; पोखरा)

May 06, 2013

कवि राजेन्द्र भण्डारीसंग एक साँझ

अस्ति (वैशाख २१गते) साँझ पोखरेली युवा साँस्कृतिक परिवार (पोयुसाँप) को 'अनुभव र अनुभूति' मा सिक्किमका कवि राजेन्द्र भण्डारीका कुराहरु-कविताहरु सुन्ने सौभाग्य मिल्यो।

 कवि भण्डारी गत वर्ष साहित्यतर्फको नोबेल पुरस्कारका १० संभावित बिजेताको सूचिमा परेर चर्चित हुनुभएको थियो। 

उहाँको आगमन एउटा अर्को प्रसंगमा पनि स्मरणयोग्य बन्यो। उहाँलाई कालिम्पोङ्गमा नेपाली साहित्य पढाउने गुरुआमा प्रा.डा. चन्द्रा पाण्डे र उहाँको चालीस वर्षपछिको भेटले हामी सबैपनि भावुक र आनन्दित बन्यौं। आफ्नी गुरुआमासंगको परिचयको नवीकरण हुनासाथ कवि भण्डारीले शिर झुकाएर गुरुआमालाई प्रणाम गर्नुभयो। त्यहाँ गुरु-शिष्यको चारपुस्ता उपश्थित थियो। गुरुआमा, कवि भण्डारी, कवि भण्डारीका शिष्य साहित्यकार पारसमणी दंगाल र साहित्यकार दंगालका युवा शिष्यहरु। 

पछि कवि भण्डारीको 'अनुभव र अनुभूति' सुन्दा र उहाँसंग कुराकानी गर्दा पनि कवि भण्डारीलाई अत्यन्त भद्र र शालीन ब्यक्तिको रुपमा पायौं हामी सबैले।

कार्यक्रममा साहित्यकार दंगाल (उहाँले आफ्नो साहित्यिक नाम 'पारसमणी शम' बताउनुभएको थियो।)ले आफ्नो परिचयका साथमा सिक्किमको नेपाली साहित्यको विगत र वर्तमानको बारेमा चर्चा गर्नुभयो। हाल उहाँ नेपाली साहित्य परिषद, सिक्किमको सचिव (साहित्य) हुनुहुन्छ। आफ्नो बक्तव्य र पछि कुराकानीका क्रममा उहाँले सिक्किममा नेपालबाट प्रकाशित हुने पत्रपत्रिका र पुस्तकहरुको अप्राप्यताका बारेमा पनि गुनासो गर्नुभयो। यसका लागि उहाँका विचारमा दुबै तिरको ब्यवस्थापकीय कमजोरी दोषी छन् र अलिकति ध्यान दिनासाथ यो समस्या समाधान हुनसक्छ। उहाँ एउटा ब्लगर पनि हुनुहुँदो रहेछ। उहाँ सिक्किम फर्केपछि एकापसका ब्लगहरुलाई जोड्ने कुरो भयो। 

त्यसपछि कवि राजेन्द्र भण्डारीले आफ्नो साहित्यिक यात्रामा लानुभयो हामी सबैलाई। आफ्नो वाल्यकाल, युवाकालबाट शुरु गरेर आफ्नो साहित्यिक रचनाकर्मको शुरुवात, आफूले गरेका प्रयोगहरु र आफूले जीवनका बिभिन्न कालखण्डमा पछ्याएका बिभिन्न दर्शनहरु आदिको सरस-सरल चर्चा गर्नुभयो उहाँले। र अन्त्यमा केहि 'स्याम्पल' कवितापनि सुनाउनुभयो। उहाँका अनुसार हाल उहाँ कवितामा जीवनको अर्थ खोज्नुहुन्छ र यसैले अचेलका कविता बढी आध्यात्मिक छन्। बिभिन्न दर्शनमा भौंतारिने क्रममा उहाँलाई बौद्ध दर्शन जीवनको सबैभन्दा नजिक र जीवनका धेरै प्रश्नहरुको जवाफ दिनसक्ने लागेको रहेछ।

अरु वक्ताले नोबेल पुरस्कारको प्रसंग उप्काएपनि उहाँले भने आफ्नो 'अनुभव र अनुभूति'मा त्यसबारेमा केहि कुरा गर्नुभएन। पछि प्रश्नोत्तरका क्रममा उहाँले केहि बोल्नुभयो यस बारेमा। २०११ र २०१२ दुबैमा उहाँको नाम चर्चामा रहेछ तर त्यो सूचि नोबेल पुरस्कार कमिटिको नभएर कुनै सट्टेबाजी (betting) कम्पनीको रहेछ। नोबेल पुरस्कार कमिटिले कहिल्यै पनि त्यस्तो सूचि सार्वजनिक गर्दैन रे।

प्रश्नोत्तरका क्रममा नेपालमा अति प्रयोग हुने 'लेण्डुप दोर्जे' र 'सिक्किमीकरण' को पनि चर्चा निक्लियो। नेपालमा अत्यन्त नकारात्मक बिम्बका रुपमा प्रयोग हुने यी छविहरुलाई सिक्किमकै जनताले भने कसरी लिन्छन् भनेर सोधियो उहाँलाई र यो पनि सोधियो कि लेण्डुप दोर्जे सिक्किमेलीका मनमा 'हिरो' का रुपमा छन् कि 'भिलेन'का रुपमा। कवि भण्डारी र सिक्किमबाट आएका सम्पूर्णले एक स्वरले गर्वका साथ 'हिरो' भने लेण्डुप दोर्जेलाई। कवि भण्डारीले अरु अर्थ्याउने क्रममा के पनि बुझियो भने सिक्किम कहिल्यै पनि नेपालजस्तो सार्वभौम-स्वतन्त्र राष्ट्र थिएन, १९७५ मा भारतमा 'गाभिनु' अघि पनि यो भारतको एउटा protectorate राज्यमात्रै थियो। त्यतिखेरको सिक्किममा सामाजिक-आर्थिक विभेद र नामग्याल वंशको अत्याचार सहिनसक्नु रहेछ। सिक्किमका आम जनताले सिक्किमको भारतमा विलयलाई मुक्तिको रुपमा लिएका छन् कवि भण्डारीका अनुसार। त्यसपछिको सिक्किमको उन्नतिले पनि यो कुरा प्रमाणित गर्छ। झन् त्यहाँका नेपालीका लागि त त्यो विलयले उन्मुक्ति, समानता र पहिचानको इज्जत दिलाएछ। 

साहित्यको सत्संगका साथमा नेपाली नेताहरुले नेपालमा निरन्तर फुकीरहने एउटा ऐतिहासिक-राजनितिक भ्रमबाट आंशिक रुपमै भएपनि मुक्त भएको भान भयो मलाई, यो कार्यक्रम सकेर घर फर्कँदै गर्दा।      

April 23, 2013

किताबमा गाता

छोरीका किताबहरुमा गाता हाल्दिँदै थिएँ।

दुई कक्षाको अंग्रेजी किताब देख्दा मलाई डर लाग्यो। झण्डै मैले आईएस्सीमा पुगेपछि पढेको स्तरको अंग्रेजी छ। कुरो फेरि एउटा विषयको मात्रै होईन। Science, Social Studies र Math नामका जिनिसहरु पनि अंग्रेजीमै पढाईने हुँदा भाषिक कठिनाई मैले १७-१८ वर्षको उमेरमा भोगेको कठिनाई छोरीले अहिल्यै भोग्नुपर्ने भयो। पोहर एक कक्षाका किताबहरुमा गाता हाल्ने क्रममा पनि यहि 'डर'बाट गुज्रेको थिएँ।  फेरि यी किताबहरु कदका साना पनि छैनन्।

म सोच्छु, स्कूलमा यी किताबहरुबाट के-के कुरा कसरी निकालेर पढाईएला? किनभने यी किताबहरु पूरै त के आधा पनि पढाउन गाह्रो होला हरेक पाठ पढाऊँदै जाने हो भने। फेरि एउटा बालमष्तिष्कले एक वर्षमा सिक्नसक्ने कुराको आफ्नै सीमा त हुन्छ नै। यसो भएपछि बालबालिकालाई चाहिने-चाहिने कुरामात्रै राखेर अलिक मसिना कदका किताब निकालेका भएपनि हुँदो हो प्रकाशक-विद्यालय सिण्डिकेडटले। त्यो कुरो कलिला नानीहरुका लागि शारीरिक र मानसिक दुबै तवरले राम्रो हुन्थ्यो।  कद घटाऊँदा मोल घटाउनुपर्ने र त्यसो गर्दा सबैतिरको नाफा-कमिशन घट्ने हुनाले किताब मोटै राखिएको बुझ्न गाह्रो छैन। 

बच्चाहरुको शिक्षामा उनीहरुलाई धेरै कुरा रटाउनेभन्दा पनि रचनात्मक-सृजनात्मक बनाउने र उनीहरुको सम्वाद कला निखार्ने उद्देश्य हुनुपर्छ।

हरेक वर्षको यो याममा प्रकाशक-विद्यालय सिण्डिकेटका बिभिन्न तमाशाहरु देख्न पाईन्छ, यी तमाशाहरुको आलोचना र विरोध पनि सुनिन्छन् तर तिनको सुनुवाई खासै हुँदैन, नेपाल न पर्यो। छोरी पढ्ने विद्यालयले विद्यालय प्रांगणबाटै किताब बेचेको भने थिएन (पोहर पनि थिएन)। किताबको सूचि उपलब्ध गराईएको थियो र किताब पाईने केहि पुस्तक पसलहरुको नाम पनि थियो सूचिमा। केहि 'छुट' पनि मिलेकाले किताब मैले पनि तिनै मध्येको एक पसलबाट किनें। बजार डुलेर किन्ने विचार पनि आएको थियो तर किताबहरु फरक-फरक प्रकाशनका हुनाले एउटा झ्याउलोनै हुने थियो त्यो, किनभने बजारका पसलेहरुले निश्चित प्रकाशकका किताबहरुमात्रै राख्छन् धेरैजसो। 

धेरै ठाऊँमा त अझै पनि विद्यालय प्रांगणबाटै किताबहरु भिडाईएका समाचारहरु आईरहेकै छन। केहि दिनमै हामीले ती कुराहरु पनि बिर्सिहाल्छौं अर्को चैतको अन्त्यसम्मका लागि। जनक शिक्षाले छाप्न ढिला गरेर कर्णालीमा पुस्तक नपुगेको समाचार भने वर्षैभरि आईनैरहनेछन् बेला-बेला। कतिपय विद्यार्थीहरु पाठ्यपुस्तकको मुखै नदेखी अन्तिम परीक्षासम्म पुग्ने छन्। 

यो देशमा धेरै बच्चाहरुले किताब पाऊँदैनन्, किताब पाएका बच्चाहरुका किताब पनि उनीहरुका उमेर सुहाऊँदा छैनन्। देशको भविष्य बच्चाहरुले पाउने शिक्षामा निर्भर हुन्छ। बच्चाहरुको शिक्षाको एउटा प्रमुख साधन किताब हो, जब किताब भेटिन्न वा गतिलो भेटिन्न तब असर पर्ने भनेको देशको भविष्यलाई हो। 

April 09, 2013

प्याराग्लाईडिङ्ग अनुभव

पोखरा देशको पर्यटकीय राजधानी। यहि परिचयमा हवाई खेलकूदको राजधानीरुपी परिचय थपिएको पनि धेरै भइसक्यो। प्याराग्लाइडिङ्ग, अल्ट्रालाईट, जिप फ्लाएर आदिमध्ये पनि प्याराग्लाइडिङ्गले लोभ्याएको धेरै भईसकेको थियो। हरेक दिन बिहान नौ-दश बजेबाट पोखराको आकाशमा तैरिने रंगीचंगी ग्लाईडरहरु हेरेर धेरै बसियो, जाने मेसो अस्ति शनिबार बल्ल जुर्यो। पोखरा वरिपरिका अरु डाँडाहरु र पर्वत जिल्लाका डाँडाहरुमा पनि शुरु भईसकेको छ यो खेल अहिले।      

सूर्योदय हेर्नका लागि लोकप्रिय गन्तब्य सराङकोटको टुप्पो अलिक नपुग्दैको एउटा पाखोमा रहेछ मलाई उडाउन लाने 'सराङकोट प्याराग्लाइडिङ्ग कम्पनी'को 'साइट'। फेवातालतिर फर्केको पाखोमा रहेछ यो साइट। १२ वर्ष अघि एकजना बेलायतीले भित्र्याएको प्याराग्लाईडिङ्गका लागि अहिले पोखरामा १२-१३ कम्पनीहरु तयार भईसकेछन्, प्याराग्लाइडिङ्ग लोकप्रिय हुँदै जाने क्रममा यी सबै कम्पनीहरु वर्षैभरि जसो ब्यस्त हुन्छन् रे मलाई उडाउने पाइलटका अनुसार। उनीचाहिँ एउटा बोर्डिङ्ग स्कूलको जागिर छोडेर त्यहि बेलायतीको कम्पनीमा काम गरेर यताको यात्रा शुरु गरेका छन्। अहिले उनी र अरु दुई साझेदार मिलेर यो कम्पनी चलाऊँदा रहेछन्। पाइलटहरुचाहिँ विदेशी र नेपाली दुबै रहेछन्। उनका अनुसार प्याराग्लाइडिङ्गमा झण्डै हवाइजहाजकै स्तरका नीति-नियमहरु छन् र नागरिक उड्डयन प्राधिकरणको अनुमति चाहिन्छ। पाइलटको रुपमा काम गर्न चाहनेले ग्लाइडरलाई उडाउन र नियन्त्रण गर्न जानेर मात्र पुग्दैन। ऊ शारीरिक रुपले स्वस्थ र 'फिट' हुनुपर्ने त छँदैछ, पौडीमा पनि पोख्त हुनुपर्दोरहेछ।

उड्ने बेलामा यात्रु अगाडि र पाइलट पछाडि बस्छन्। "मैले 'वाक्' भन्दा हिँड्न थाल्नुस् र 'रन्' भन्दा दौडन थाल्नुस्। 'टेक अफ'को बेलामा अलिक बल लगाएर मलाई तान्नुहोला।" भन्ने निर्देशन थियो मलाई। अलिक बढीनै बल लगाएछु, त्यसैले केहि सेकेण्डका लागि अघिल्तिर बढी झुकेछु तर त्यसले खासै फरक पारेन। ग्लाइडरले एकछिनमै उचाई लियो र म चरा बनेर पोखराको सौन्दर्यपान गर्न थालें।

उचाई लाग्नेहरुलाई वाकवाकी र बान्ता हुने पनि हुन्छ रे कहिलेकाहिँ।

आकाशमा ६०-७० को संख्यामा उडिरहेका थिए ग्लाइडरहरु, एकापसमा ठोक्किएलान् जस्तो गरी। फेरि गिद्धहरु पनि प्रशस्त उड्नेरहेछन्। पाइलटका अनुसार जहाँ गिद्धहरु कावा खाईरहेका हुन्छन्, त्यहाँ हावाको उर्ध्वगामी दबाब बढी हुने रहेछ र त्यहाँ ग्लाइडरलाई लगेपछि त्यसले थप उचाई लिँदो रहेछ। दुई हातले समातिएका दुई डोरीको भरमा पूरै नियन्त्रण गरिँदो रहेछ। फोटो र भिडियो खिच्ने ब्यवश्था पनि हुने रहेछ ग्लाइडरमै, एउटा लामो 'अंकुशे'को टुप्पामा फिट गरिएको क्यामेरको मद्दतले। 

३० मिनेटजतिको 'उडान'पछि फेवाको शिरतिर 'ल्याण्डिङ्ग' गरियो।

उड्नलाई रु.५,६५० र फोटो-भिडियोको लागि रु. १,७०० को रकम भने 'नेपाली खल्ती' का लागि 'डरलाग्दै' मान्नुपर्छ, तर यो 'चरा अनुभव' पनि कम मोलको चाहिँ अवश्य लाग्दैन।

March 31, 2013

चार दलीय सिण्डिकेटको लोकमान एजेण्डा

देशलाई चार दलीय सिण्डिकेटको आधिनायकवादमा लगिँदै गरेको प्रष्ट देखिँदैछ यतिखेर।

देशमा देखाउनलाई खिलराज रेग्मीको अध्यक्षता (प्रधानमन्त्रीत्व)को काम चलाऊ माथिको कामचलाऊ सरकार छ, पूर्व प्रशाशकहरुले भरिएको। काम गराई यो सरकारको पनि पहिलाका सरकारको भन्दा फरक छैन। यी पनि उद्घाटन र रिबन कटाईमा ब्यस्त भएर रमाउन थालेका छन्। यो सरकार बन्ने बेलामा चलाईएको 'असारे हल्ला' कसैले पत्याएकै थिएन, असारमा त के मंसिरमे पनि चुनाव होला भनेर धेरै नेपालीलाई विश्वाश छैन। अब बिस्तारै, नेताहरु आफैं 'सके असार, नसके मंसिर' भनेर 'मंसिरे' हल्ला चलाउन थालीसकेका छन्। 

यो सरकार चलेको पारा हेर्दा र यसले गरेका निर्णयहरु हेर्दा यो क्याश माओवादी, कांग्रेस, एमाले र मधेशी मोर्चाको मोहरा जस्तो मात्र देखिन्छ। आफैं सामुन्ने देखिएर अनेकथरी कुकर्महरु गरेर गाली धेरै खाईसकेपछि अब यिनीहरु खिलराज एण्ड कम्पनीको पछिल्तिर लुकेर बन्दूक चलाउन चाहन्छन्। खिलराज एण्ड कम्पनीको काँधले कतिञ्जेल यिनीहरुको बन्दूक थाम्न सक्ने हो थाहा छैन! अब देश खेतीपाती र वर्षातको यामतिर जाँदै गरेकोले आऊँदो तिहारसम्म त 'खिलराज्य' रहने कुरामा कुनै शंका रहेन।    

यिनीहरु सबैभन्दा ठूला चार दल (शक्ति) ठान्छन् आफूलाई, तर यतिखेर कसको हैसियत के छ त्यो कुरा चुनावले मात्र बताउन सक्छ, त्यो पनि निष्पक्ष र भयमुक्त वातावरणमा हुने चुनावले मात्र। त्यसैले यिनीहरुले अरु दललाई अहिलेसम्म गरिआएको 'उपेक्षा'को कुनै तुक छैन। यदि यिनीहरु, राष्ट्रपति र स्वयं खिलराज देशको राजनितिक अन्यौलका प्रति साँच्चै गम्भिर थिए र उनीहरुले साँच्चै सही समाधान चाहेका थिए भने अरु सबैलाई पनि यो प्रकृयाको शुरुदेखिनै संलग्न गराऊँदै लान सक्थे। तर त्यस्तो आशय अलिकति पनि देखिएन।

र यो सरकार 'चुनाव र एकमात्र एजेण्डा चुनाव'का लागि बनेको हो भने यसले चुनावसंग असम्बन्धित राजनीतिक नियुक्तिमा किन हतार गर्नुप-यो। अहिलेसम्म खाली राखिएका अख्तियार, लोकसेवा र महालेखा आदि अरु दुई-चार महिना खाली राखेर के हुन्छ? चुनावपछि आउने जनादेशप्राप्त 'वास्तविक' सरकारले भर्छ ती ठाऊँहरु। अहिले त चुनावका लागि नभईनहुने नियुक्तिहरु मात्रै गरे हुन्न?

यो नियुक्तिका खेलहरुमध्ये अख्तियारभित्र लोकमानलाई लाने खेल त अत्यन्त दुराशययुक्त छ। तीन करोड नेपालीमा हाम्रा नेताहरुले अख्तियार आफैंले डामेको लोकमानजस्तो भ्रष्ट र दमनकारी सामन्तीलाईनै सर्वश्रेष्ठ देखेका छन्। कति लाजमर्दो नियति हामी नेपाली र नेपालको! 

शुरुमा लोकमानलाई क्याश माओवादी र विशेष गरी प्रचण्डलेमात्र बोकेको जस्तो देखिन्थ्यो तर लोकमानको खुट्टाको पानी सबैले खाईसकेका रहेछन्। एमालेभित्र वामदेव एण्ड कम्पनीले लोकमानको पक्षमा दह्रो वकालत गरे। आजको कान्तिपुरमा विमलेन्द्र निधिसंगको अन्तर्वार्ता पढेपछि यस्तो काईते नियुक्ति रोक्न कांग्रेसले चाहिँ केहि गर्ला कि भन्ने मेरो आशाको पनि मैले दाहसंस्कार गर्दिएँ। मधेशी मोर्चाबाट त झन् केहि आशै नगरे हुन्छ यस्ता कुरामा।

यी चारै दलभित्र भ्रष्टहरुको हालीमुहाली छ र यिनीहरुलाई लाग्दैछ कि कोही ईमान्दार र साहसी मान्छे अख्तियारको नेतृत्वमा पुग्यो भने आफूले जोडेको अकूत सम्पत्तिको छानबीन हुनेछ, आफ्ना अनगिन्ती कर्तूतहरुको छानबीन हुनेछ, र चिरञ्जीवि वाग्ले, खुमबहादुर खड्का र जे. पी. गुप्ताको हालतमा पुगिनेछ। यसैले यिनीहरु चुनावअघिनै अख्तियारमा आगो लगाईहाल्न चाहन्छन्, के थाहा अर्को सरकार कस्को र कस्तो बन्छ? अख्तियारमा आगो लगाउन र नेपाली चेतनाको बेईज्जत गर्नका लागि लोकमान सिं कार्कीभन्दा 'सुयोग्य' अरु को?

त्यसैले हुने भनिएको आगामी चुनावले ममा कुनै उत्साह जगाउन सकेको छैन। ममात्र होईन, मेरो वरिपरिका हरेक मान्छेलाई यस्तै मनस्थितिमा देखिरहेको छु म, यो देशले नेता, दल र राजनीतिको विश्वाश गर्न छोडिसकेको छ। अहिलेको 'अराजनीतिक' र 'प्रशाशक' सरकारप्रतिपनि जनतामा एकदमै झिनो भरोसामात्रै थियो र यसमाथि दलहरु हावी हुनथालेपछि त्यो झिनो भरोसाले पनि परमधामको बाटो लिँदैछ चाँडैनै।  फेरि नेपालको प्रशाशनयन्त्र पनि कुनचाहिँ गतिलो छविको हो र?

मैले फोटो सहितको परिचयपत्र अझै बनाएको छैन, चुनावप्रतिको अनुत्साहले पनि रोकिरहेको छ अलि-अलि। मलाई थाहा छ, त्यो मेरो अधिकार हो र मैले मेरो अधिकारको उपभोग गर्नैपर्छ। फेरि त्यो चुनाव र मतदानभन्दा परको राष्ट्रिय परिचयपत्र पनि हो र अवश्य बनाउने छु। तर आगामी चुनाव (भईहाल्यो भने!) मा मैले कसका लागि त्यो मेरो हकको सदुपयोग गर्ने? जसलाई मत दिए पनि त्यो 'दुरुपयोग'भन्दा बढी केहि नहुने देख्दैछु! 'लोकमान एजेण्डा' बोकेको चार दलीय सिण्डिकेटलाई त मैले ९९ प्रतिशत माईनस गरीसकें।

यो सिण्डिकेट बाहिर छ कोहि योग्य?????????