September 13, 2016

ईञ्जिनियर्स एसोसिएसनको चुनावी कर्मकाण्ड

नेपाली ईञ्जिनियरहरुको संस्था नेपाल ईञ्जिनियर्स एसोसिएसन (नेईए) मा चुनावी गर्मी छाएको छ यतिखेर। यहि भदौ ३१ मा हुने एकतीसौं कार्यकारीको चुनावका लागि पाँच समूह प्रतिष्पर्धामा छन्। चुनावबाट एसोसिएसनको कार्यसमिति र ईञ्जिनियरिङ्ग विधाको नियमनकारी सरकारी निकाय नेपाल इञ्जिनियरिङ्ग परिषदका पाँच सदस्यहरु चुनिने छन्। परिषदका बाँकी पदाधिकारीहरु सरकारद्वारा नियुक्त हुन्छन्, त्यसका लागि बिडम्बनापूर्ण राजनीतिक भागबण्डा गरिन्छ।

सबै विधाका नेपाली ईञ्जिनियरहरु र आर्किटेक्टहरुको प्रतिनिधित्व गर्ने दाबी छ नेपाल ईञ्जिनियर्स एसोसिएसनको। यो एक हिसाबले सहीनै हो तर आफ्नो यो दाबीलाई समयसापेक्ष बनाउन र समुदायको अधिकतम हिस्सालाई समेट्न कत्तिको सकेको छ नेईएले भन्ने प्रश्न उठेको पनि धेरै भईसकेको छ।

नेईए नेपाली ईञ्जिनियरहरुको ट्रेड यूनियन हो। अन्य पेशाका यस्ता संघ-संस्थाहरु आफ्ना सदस्यहरुको हकहितका सवालमा जति जागरुक र जुझारु देखिन्छन्, त्यति जुझारु नेईए छैन भन्ने आम बुझाई नेपाली ईञ्जिनियरहरुको छ। यो बुझाईलाई चिर्ने गरी नेईएले प्रभावशाली कामहरु गर्न नसकेको देखिन्छ। इञ्जिनियरहरु थोरै हुने र रोजगारीका लागि कुनै पनि समस्या झेल्नु नपर्ने जमानाका ईञ्जिनियरहरुद्वारा स्थापित संस्था अहिले पनि त्यहि जमानामै अड्किरहेको भान हुन्छ। यतिखेर ईञ्जिनियरहरुको बेरोजगारी एउटा ठूलो समस्या बनीसकेको छ। त्यो जमानाका ईञ्जिनियरहरु लगभग सबैले विदेशमा पढेका थिए भने अहिले देशभित्रै उत्पादन हुने  ईञ्जिनियरहरुको संख्या देश बाहिरबाट आउने भन्दा धेरै भईसकेको छ। समाजको जागरुकता बढेको छ, समाजले ईञ्जिनयरहरुलाई हिजोजस्तो सम्मानको आँखाले मात्र नहेरी आलोचनात्मक अध्ययन गर्न थालीसकेको छ। यो अवश्थामा नयाँ सोच, नयाँ योजना, नयाँ शैली र नयाँ सकृयताको आवश्यकता देखिन्छ। दु:खको कुरा, त्यो सम्भावना यो चुनावले पनि देखाएको छैन। कर्मकाण्डी चुनाव, कर्मकाण्डी गतिबिधिहरु र कर्मकाण्डी कार्यकालकै सम्भावना देखिन्छ।

युवा पुस्ता पूरै विकर्षित छ नेईएबाट। केहि संख्याहरु केलाऊँदा यो स्पष्ट हुन्छ। नियमनकारी निकाय नेपाल ईञ्जिनियरिङ्ग परिषदमा ३३ हजार भन्दा बढि ईञ्जिनियरहरु दर्ता भएका छन्। आफ्ना सदस्यको यकीन तथ्यांक नेईएले पनि दिन सक्दैन तर परिषदमा दर्ता भएकामध्ये आधा भन्दा केहि बढीमात्रै नेईएको सदस्य बनेको देखिन्छ। यस अघिको चुनावमा १७ हजारभन्दा बढीले आफ्नो सदस्यता नवीकरण गरेको आधारमा यो अनुमान गरिएको हो। नेईए स्रोतका अनुसार यसपालि लगभग १२ हजार सदस्यले मात्रै सदस्यता नवीकरण गरेका छन्। दुई वर्षको अन्तरालमै यति ठूलो संख्यामा मतदाता घट्नुले नेईएप्रति नेपाली ईञ्जिनियरहरु विशेष गरी युवा ईञ्जिनियरहरुको विकर्षण झन् तिब्र भएको देखिन्छ। नवीकरण भएकामा पनि कतिपय चुनावमा उठ्ने ब्यक्ति र समूहहरुले आफैंले पैसा तिरेर नवीकरण गरिदिएका समेत छन्। यो प्रवृत्ति जारी रहेमा अर्को चुनावसम्म नेईएको मतदाता संख्या ६-७ हजारसम्मै झर्न सक्छ। नेईए  यसरी ‘खातापिता’ बूढा ईञ्जिनियरहरुको क्लबमा सीमित हुनु गम्भिर विषय हो।

नेपालमै पढेका र विद्यार्थी जीवनमा कथित विद्यार्थी राजनीति गरेकाहरुमा भने एउटा आकर्षण देखिन्छ नेईएप्रति। नेईए पेशागत हक हितका रचनात्मक काम गर्ने नभई दलीय राजनीति गर्ने थलो हो भन्ने मान्यतालाई स्थापित गर्न सघाएको छ यसले। नेईएलाई प्रभावशाली नेता र मन्त्रीका नजरमा पर्नका लागि माध्यम बनाईन्छ। यसैले नेईएलाई कुनै गतिलो ‘कमाऊ’ परियोजनाको ठूलो पद वा कुनै राजनीतिक नियुक्ति पड्काउने ‘स्प्रिङबोर्ड’ भनेपनि हुन्छ।

युवा पुस्ताका ईञ्जिनियरहरु विकर्षित हुनुको कारण नेईए पेशागत गतिविधिमा न्यूनतम र राजनीतिक काममा अधिकतम लाग्नु हो। पढाई सकिने बित्तिकै युवा पुस्तालाई जागिरको चिन्ता हुन्छ। निरन्तरको राजनीतिक अस्थिरता र न्यून विकास-निर्माण गतिबिधिका कारण देशमा आवश्यक संख्यामा ईञ्जिनियरिङ्गसंग सम्बन्धित रोजगारीहरु सृजना हुन सकेका छैनन्। युवा पुस्ताका ईञ्जिनयरहरुको ठूलो संख्या यसैले विदेश पलायनको मनस्थितिमा हुन्छ। सरकारी क्षेत्र नेपालभित्र सबैभन्दा धेरै ईञ्जिनियरहरु खपत गर्ने क्षेत्र हो तर उत्पादित ईञ्जिनियरहरुको संख्याको दाँजोमा उपलब्ध अवसर ज्यादै कम छन्। देशको औद्योगिक गतिबिधि खासै बलियो हुन नसकेको हुँदा नीजि क्षेत्रले झन् सीमित संख्यामा मात्र ईञ्जिनियरहरु खपत गर्न सकेको छ।

उचित आम्दानी र सम्मानसहितको रोजगारीको सम्भावना देशमा नदेखेपछि नेपाली ईञ्जिनियरहरुको ठूलो संख्या विदेशिएको छ। विदेशमा नेपाली ईञ्जिनियरहरुले राम्रो छवि बनाएका छन् र तुलनात्मक रुपमा राम्रै कमाई पनि गरिरहेका छन्। यसरी देश बाहिर रहेका ईञ्जिनियरहरुको संख्या नेपालमै कार्यरत ईञ्जिनियरहरुको संख्याको हाराहारीमै पुगीसकेको वा बढी भैसकको सहजै अनुमान गर्न सकिन्छ। देशका बिभिन्न ईञ्जिनियरिङ्ग कलेजहरुबाट अब निक्लने नव ईञ्जिनियरहरुमा विदेश पलायनको दर अझ उच्च हुने देखिन्छ। विदेशमै पढेकाहरु पनि सकेसम्म फर्कने छैनन्। नेईएको अर्को बिडम्बना भनेको यसले बाहिर बसेका ईञ्जिनियरहरुलाई बिल्कूल समेट्न सकेको छैन्। केहि समय अघिसम्म कतार, थाइल्याण्ड, जापान आदिमा नेईएका शाखा समितिहरु थिए। ती देशमा बसेका सदस्यहरुले नेईएको चुनावमा मत समेत खसाल्न पाऊँथे। यसरी समितिहरु हुनु र चुनावमा समेत मत हाल्न पाउनुले विदेशमा रहेका नेपाली ईञ्जिनियरहरुलाई नेईएसंग जोडिईरहने अवसर दिएको थियो। अर्कोतिर, ती देशका ईञ्जिनियरिङ्ग पेशागत संस्थाहरुसंग नेईएलाई जोड्न पनि यस्ता समितिहरुले पुलको काम गरेका थिए। यसले नेईएको क्षितिज फराकिलो पारेको थियो र नेईएको ईज्जत बढाएको थियो। तर अहिले एउटा नियमावलीको कारण देखाऊँदै विदेशस्थित समितिहरुको अस्तित्वलाई समाप्त पारिएको छ र विदेशमा रहेका सदस्यहरुले चुनावमा मत दिन नपाउने गराईएको छ। यसले अर्को एउटा ठूलो समूहलाई नेईएसंग सम्बन्धविच्छेद गर्न भड्काएको छ। त्यो कथित नियमवालीलाई सच्याउन नसकिने थिएन, तर नेईएको संस्थापनका रुपमा रहेका ब्यक्तिहरुमा त्यो चाहना देखिएन। बरु उनीहरुको चाहना विदेशमा बसेका ईञ्जिनयरहरु सकेसम्म नेईएसंग जोडिँदै-नजोडिउन् भन्ने देखियो। यो प्रसंग उप्कायो भने त्यस्ता ‘संस्थापन’ मित्रहरु अनेक ठाडा-ठाडा हाकीमी शैलीका जवाफसमेत दिएर पन्छिन्छन्।
नेईएको चुनावमा विद्युतीय मतदान (ई-भोटिङ्ग) हुनुपर्छ भन्ने आवाज पनि उठ्यो तर नेईएका दिग्गजहरु तयार भएनन् र अनेक निहुँ पारेर ई-भोटिङ्गलाई रोकियो। सदस्यहरुको नवीकरण आफैंले गरिदिएर नवीकृत परिचयपत्र समेत आफैंले पोको पारेर राखेकाले मतदानका दिन थुप्रै चलखेल हुने स्पष्ट छ। ई-भोटिङ्गमा गएमा कतिपय चलखेल गर्न सजिलो नहुने अनुमान गरेका होलान् चुनाव जित्न कस्सिएका साथीहरुले। तर ईञ्जिनियरहरुलेनै प्रविधिलाई यसरी अस्विकार गरेपछि समाजमा के सन्देश गयो होला भनेर सोच्ने चेष्टा अलिकति पनि गरिएको छैन।

आधुनिक ईञ्जिनियरिङ्ग कोरा प्रविधिमात्र होईन, यो त प्रविधि, ब्यवश्थापन र अर्थतन्त्रको मिहिन संयोजन हो। यतिखेर नेपालका थुप्रै समस्याहरु, थुप्रै मुद्दाहरुमा ईञ्जिनियरिङ्ग प्रत्यक्ष जोडिएको देख्न सकिन्छ; चाहे त्यो भूकम्पपछिको पुनर्निर्माण होस् वा फाष्ट ट्र्याकको विवाद होस् वा उत्तरी नाकाहरुको सञ्चालन् होस् वा काठमाण्डौंको यातायात ब्यवश्थापन होस्। ईञ्जिनियरिङ्ग थिंक ट्यांकका रुपमा नेईएले यी मुद्दाहरुमा स्पष्ट विश्लेषण र समाधानमुखी दृष्टिकोण पेश गर्न सक्नुपर्छ। भूकम्प लगत्तै भूकम्पले गरेको क्षति मूल्यांकनमा नेईएको सकृयता नेपाली ईञ्जिनियरहरुले गर्व गर्न लायक थियो तर त्यसपछाडिका दिनमा नेईए निष्कृयजस्तै छ। नेईएले पुनर्निर्माणमा स्वयंसेवी अभियान अगाडि लान सक्थ्यो। पुनर्निर्माणमा सरकारको चरम सुस्तता र दलहरुको राजनीतिक खिचातानीका विरुद्ध खबरदारी गर्न सक्थ्यो। नेईएको थोरै सकृयताले पनि सरकारलाई धेरै दबाब दिन सक्थ्यो।

यो चुनावको डिलमा उभिएर विचार गर्दा पनि विगतकै चुनावझैं अर्को एक कर्मकाण्डी कार्यकाल भन्दा बढीको आशा गर्न सक्ने स्थिति छैन। तर कामना गर्छु, म गलत भएको प्रमाणित होस्।