Showing posts with label संस्मरण. Show all posts
Showing posts with label संस्मरण. Show all posts

December 23, 2012

चार सय डलर


सन् १९९१ को डिसेम्बर २०-२१ तिरबाट कुरा शुरु भएको थियो।

पेइचिङ्ग भाषा अध्ययन संस्थान (पेइचिङ्ग यूयान स्युए युआन)मा चिनियाँ भाषा पढ्न थालेको साढे तीन महिना भईसकेको थियो। त्यतिखेर उक्त अध्ययन संस्थानमा हामी नेपालीहरु २७ जना थियौं। पछि चीनका बिभिन्न विश्वविद्यालयहरुमा ईञ्जिनियरिङ्ग, चिकित्साशास्त्र आदिमा स्नातक तह पढ्न छरिनुअघि एक वर्ष चिनियाँ भाषा सिक्दै थियौं हामी। यसपछि त्यहि भाषामै (विषय हेरी) ४ या ५ वर्षे अध्ययन सक्नुथियो। चिनियाँ परम्परागत औषधीशास्त्र पढ्न चाहनेले चाहिँ चिनियाँ भाषा दुई वर्ष पढ्नुपर्ने रहेछ, दोश्रो वर्षमा चिनियाँ पढ्दै गरेका त्यस्ता सिनियर पनि दुईजना थिए। एकजना सिनियर चाहिँ चिनियाँ भाषा-संस्कृतिनै अध्ययन गरीरहेका थिए स्नातक तहमा।

चिनियाँ भाषा गाह्रो भएपनि पढाईको भार भने खासै थिएन। यसैपनि भाषा भन्ने कुरो पढेर भन्दा परेर जानिने हो, त्यो पनि विशेष गरी सिकाईका प्रारम्भिक क्षणहरुमा। त्यहि भएर होला, धेरै चिनियाँहरुलाई साथी बनाउन र सकेसम्म बढी बोल्न प्रोत्साहित गरिन्थ्यो हामीलाई। थोरै साथीहरुले त्यो ‘प्रोत्साहन’लाई गम्भिरतापूर्वक लिन थालीसकेका थिए, तर धेरैजसोलाई सल्लाहले अझै छोईसकेको थिएन। २७ जना नेपालीको समूह एकै ठाऊँमा भएकाले धेरैजसो भेटघाट, जमघटले नेपालीकै झुण्डको रुप लिन्थ्यो। अब नेपाली-नेपाली भेला भएपछि पनि चिनियाँ बोल्ने कुरो भएन। फेरि बेला-बेलामा, र विशेष गरी सप्ताहान्तहरुमा पेइचिङ्गका अरु विश्वविद्यालयहरुबाट सिनियरहरु पनि आईरहन्थे, कहिले हामी पनि झुण्ड बनाएर कतै पुगिदिन्थ्यौं। यसैले हामी कक्षामा मात्रै चिनियाँ पढीरहेका थियौं, कक्षा बाहिर भने आफ्नो नेपाली भाषालाई नै ‘माझीरहेका’ थियौं।

त्यहि डिसेम्बर २०-२१ तिर एउटा ‘सल्लाह’ पस्यो हाम्रो माझमा, ‘सुविधा’ बेचेर पैसा हात पार्ने।

१९७८ तिरबाट क्रमिक रुपमा खुलापन अँगालेको चीनमा त्यतिखेरसम्म पनि चिनियाँ जनताले विदेशी उत्पादनका सामानहरु सहजै किन्न पाऊँदैनथे। चीनमा विदेशीहरुको संख्या बढीरहेको थियो र चिनियाँ सरकारले विदेशीलाई भने थोरै छुट दिएको थियो, विदेशी उत्पादनका सामान किन्ने। चीनमा बसीरहेका विदेशीले आफ्नो पासपोर्टको प्रयोग गरेर हङकङ र मकाऊबाट विदेशी उत्पादनका टिभी, फ्रिज, वाशिङ्ग मेशीन लगायतका घरायसी उपकरणहरु र मोटरसाईकल आदि किनेर ल्याउन पाऊँथे। हङकङ र मकाओ त्यतिखेरसम्म चीनको अधीनमा फिर्ता आईसकेका थिएनन्। धेरैजसो विदेशीले आफूलाई दिईएको यस्तो ‘सुविधा’लाई केहि सय डलरमा बेचिदिन्थे।

हामीलाई पनि त्यहि गर्ने र चार सय डलर हात पार्ने सल्लाह आयो। त्यतिखेर हामीलाई चिनियाँ सरकारले दिने छात्रवृत्ति प्रति महिना त्यस्तै ६५-७० डलर बराबरको हुँदो हो, नेपाली राजदूतावासले त्यसमै थपिदिन्थ्यो मासिक २५ डलर। यसैले चारसय डलर हाम्रा लागि थोरै थिएन। केहि साथीहरु ‘यस्तो काम नगर्ने!’ भए। १५-१६ जना केटाहरु भने जाने भयौं। यसैपनि हङकङ वा मकाओ पुगी आफ्नो सुविधालाई उपयोग गरेर ‘ब्राण्डेड’ सामानहरु किन्न सक्ने हैसियतमा हामी छँदै थिएनौं, यसैले अलि-अलि दाम पनि हुने र यहि निहुँमा घुमिने पनि हुनाले मलाई पनि जाने रोजाईनै ठिक लागेको थियो। डिसेम्बरको अन्तिम साता पढाई पनि विदा थियो।

यसका लागि हामी मकाओसंग जोडिएको बन्दरगाह शहर चुहाई पुग्नुपर्ने थियो। यो चुहाई शन्चन् पछिको दोश्रो ‘विशेष आर्थिक क्षेत्र’ थियो। त्यतिखेरसम्म मकाओ पोर्चुगलकै अधीनमा थियो। चुहाई पुगेपछि हाम्रो काम पासपोर्ट बोकेर मकाओपट्टिबाट सामान आयात हुने भन्सार छिर्ने, पासपोर्ट कसैको जिम्मा लगाउने र भंसारमा कुरेर बस्ने अनि ‘आफ्नो नाम’का सामानले भरिएका ट्रलीहरुको पछाडि बसेर तिनलाई भंसार कटाएर चीन छिराउने थियो। 

फेरि १९९२को जनवरी १ बाट लागू हुनेगरी चिनियाँ सरकारले यो सुविधा खारेज गरीसकेको रहेछ, यसैले हामीले अर्को महिना वा अर्को वर्ष जाऊँला भनेर बस्ने संभावना पनि रहेन। ‘काम’ डिसेम्बरभित्रै गर्नु थियो।   

हामी पहिलेका नेपाली विद्यार्थीमध्ये पनि यस्तो गरीसकेका धेरै रहेछन्। क्वाङ्चौतिर बसेर यो काम दक्षतापूर्वक गराऊँदै आएका बंगालीहरुको समूहसंग एकजना सिनियरको राम्रो चिनजान रहेछ। हामीले पेईचिङ्ग छोड्नुअघि उनले ती बंगाली बन्धुहरुलाई फोन गर्दिने, बंगालीहरुले हामीलाई क्वाङ्चौको रेल स्टेशनमा पर्खिने कुराको निधो भयो। हामीमध्येका एक-दुई बाठा-पाकाले पनि ती बंगालीका नाम, हुलिया आदि कण्ठ पारे।

२८ गते अपरान्हतिर हामीले पेईचिङ्ग रेल स्टेशनबाट रेल समात्यौं, हार्ड स्लीपरको टिकट काटेर। त्यतिखेरसम्म पेइचिङ्ग्को मेट्रो धेरैपटक चढीसकेको भएनि पनि रेलका हकमा भने यो मेरो जिन्दगीकै पहिलो रेलयात्रा हुँदै थियो, अरु कति साथीहरुको पनि पहिलै थियो शायद। पहिलो रेल यात्राको रोमाञ्चकता थियो र नेपाली-नेपालीको ठूलो ‘ग्याङ्ग’ पनि। हामीले समूह-समूहमा बाँडिएर तास खेल्ने, बियर पिउने गरेर बितायौं २४ घण्टा भन्दा बढीको रेलयात्रा। केहि साथी आफ्नो चिनियाँ भाषाको अभ्यास पनि गर्न थाले। राती तीन घण्टा पनि सुतिएन होला।

भोलिपल्ट साँझ पर्दा क्वाङ्चौ पुगियो। स्टेशनबाट निक्लने मुखैमा दुई दक्षिण एशियाली अनुहार हामीलाई छोप्न आईपुगे। तिनै रहेछन् हामीलाई ‘डलर कमाईदिने’ बंगाली बन्धुहरु। तिनले हामीलाई एउटा गाडीमा राखेर हुईँकाए। एक ठाऊँमा खाना खान रोकिए बाहेक गाडी रातभरि कुदिरह्यो र ३० तारीखको बिहानै हामी चुहाई पुग्यौं।

रातभरि केहि देखिएको थिएन, बिहानीपख खेतीपातीसहितको उष्ण प्रदेशीय फाँट देखिएको थियो। चुहाई पुगेपछि भने अग्ला-अग्ला घर देखियो, त्यत्ति हो।

त्यहाँ पुगेपछि एउटा रेष्टूरेण्टमा नित्यकर्म गरेर खाजा खाईयो र लागियो भन्सार गेटतिर, आफ्नो राहदानीको ‘उपयोग’ गरेर विदेशी/ब्राण्डेड सामान चीन छिराउन। नौ बजेतिर पुगिएको थियो होला भन्सार गेटमा उभिन। हाम्रा राहदानीहरु पोको पारेर बागाली बन्धुहरु हिँडेपछि एक घण्टाजति त्यसै अलमल भयो। फर्केर आएर उनीहरुले हामीलाई दुई-दुई जना भएर बस्न भने। यसरी ७-८ पटक गरेर छिर्ने भयो हाम्रो सामान।

म अन्तिम कि त्यो भन्दा अघिल्लो ‘लट’मा परेको थिएँ। हाम्रा सामान एकै पटक आएका थिएनन्, एउटा ‘लट’को आएको धेरै पछि मात्र अर्को ‘लट’को आऊँथ्यो। दिऊँसो तीन बज्ने बेला बल्ल मेरो लटको पालो आऊँदा कुर्दा-कुर्दा हैरान भईसकिएको थियो, यात्राको अनिँदोले पनि आफ्नो असर देखाईरहेकै थियो। बंगाली बन्धुका ईशारा पाएपछि सामान लादिएर आएका दुई-तीनवटा ठूला-ठूला ट्रलीका पछि लागियो। ती ट्रलीमा के छन् भन्नेतिर पनि ध्यान गएन। कसैले हामीलाई नराम्ररी फसाईरहेको पनि हुनसक्थ्यो, त्यो कुराको पनि खासै मतलब भएन त्यतिबेला। भन्सार पास गर्ने बेलामा राहदानी बुझाईयो। छाप लागेको राहदानी फिर्ता लिईयो, बाहिर आईयो र पहिल्यै निस्किसकेका साथीहरुको हूलमा मिसियो। अनि को-को सजिलै पास भए र कसलाई चाहिँ चिनियाँले अलि ‘-याक’ गरे भनेर गफ गर्न थालियो। भन्सार गेट कटेपछि ती ट्रलीहरु कता लागे थाहा भएन।

सडकमै केहि खाएर एक-डेढ घण्टा अल्मलिएपछि बंगाली बन्धुहरुसंग गाडी चढियो क्वाङ्ग्चौ फर्किनका लागि। राती दश बजेतिर बाटोको एउटा रेष्टूरेण्टमा खाना खाईयो। बंगालीहरुले पैसा दिने सूर ननिकालेकाले एकछिन उनीहरुसंग गल्फती भयो। ‘नदिने कल्ले भनेको छ र? तिमीहरुलाई आफ्नै चिन्ता छ, हामीले कत्रो खतरा मोलेर यो काम ग-यौं, तिमीहरुलाई के थाहा---?’ भनेर उनीहरु पनि गन्गनाऊँदै थिए। पछि उनीहरुले हामीले छानेका दुईजना ‘पाका’लाई पैसा दिए र आफैं बाँड्न भने। उनीहरु टिभी हेरेर बियर पिउन थाले र हामी पैसो भाग लगाउन। सबैका हातमा चारसय डलर बराबरको ‘एफइसी’ परेपछि गन्गन-किच्किच सबै सकियो।

यो ‘एफइसी’ ‘फरेन एक्सचेञ्ज सर्टिफिकेट’ को छोटकरी रुप हो। त्यतिखेर चीनमा दुईथरी पैसा प्रचलनमा थिए; चीनको औपचारिक मुद्रा ‘रेन्मिन्पी’ विदेशीले प्रयोग गर्न पाऊँदैनथे। विदेशीले ‘एफइसी’ प्रयोग गर्नुपर्थ्यो। एक ‘एफइसी’लाई पैसा भन्दा पनि ‘पैसा बराबरको कागजात’ भन्दा अझ ठिक होला, ‘ट्राभलर्स चेक’ जस्तै। त्यसको केहि समयपछि चिनियाँ सरकारले ‘एफइसी हटायो र बिदेशीले पनि ‘रेन्मिन्पी’नै प्रयोग गर्न पाउने भए।

गाडी फेरि हुईँकियो र बिहान सबेरै हामीलाई क्वाङ्ग्चौ ल्याएर छोडिदियो। पेईचिङ्ग जाने रेल साँझमा मात्रै रहेछ। टिकट काटेर हामी समूह-समूहमा बाँडिएर छरियौं।

हामी छ जना आफ्नो चिनियाँ ‘तोते बोली’को कनीकुथी प्रयोग गर्दै सोध्दै-खोज्दै सन-यात्सेन मेडिकल यूनिभर्सिटी पुग्यौं आठ बजेतिर। त्यहाँ अध्ययनरत दुईजना साथीहरु अत्तो न पत्तोसंग हामी आईपुगेको देख्दा छक्क परे। उनीहरु कक्षातिर जान निस्कँदै रहेछन्। उनीहरुकै कोठामा लम्पसार प-यौं हामी। बाह्र बजे उनीहरु फर्केर आएपछि उठेर खाना खाईयो र दिनभरि त्यहि विश्वविद्यालयभित्र घुमियो।

साँझ रेल चढियो। यस पटक ‘सफ्ट स्लीपर’का थिए हाम्रा टिकट, दाम जो कमाईसकिएको थियो। म परेको क्याबिनमा एकजना खाईलाग्दा चिनियाँ वृद्धमात्रै थिए, दुईटा स्लीपर खाली थिए। मैले आफ्नो टुटेफुटेको चिनियाँमा अलि-अलि कुरा गरें उनीसंग। छाओ (ठाओ) थरका ती बूढाबाले आफूलाई कम्युनिष्ट पार्टीको कुनै तहको अधिकारी भनेको याद छ मलाई।

‘सिन नियान ख्वाए ल!’ (नयाँ वर्षको शुभकामना!)। बिहान उठेपछि ती बूढाबा र मैले १९९२ शुरु भएको शुभकामना आदानप्रदान ग-यौं। दिऊँसो पेइचिङ्ग पुगियो।

‘त्यो फ्रिज मेरो हो।‘ पछि कुनै रेष्टुरेण्टमा खाना खान जाँदा हामीमध्येको एउटाले फ्रिज देखाएर भन्थ्यो।
‘अनि त्यो टिभीचाहिँ मेरो।‘ अर्कोले भन्थ्यो।
‘ऊ! मेरो मोटरसाईकल!’ र मोटरसाईकलहरु त्यति धेरै नदेखिने त्यतिखेरका चिनियाँ सडकहरुमा कहिलेकाहिँ मोटरसाईकल देख्दा हामीमध्येको एउटा कराऊँथ्यो।
‘त्यो कालो मोटरसाईकल तेरो होईन यार, मेरो हो,। तेरो त अलिक निलो छ-----।‘ अर्कोले गफ थप्थ्यो।

चारसय डलरसंग जोडिएका गफ चीन नछोडुञ्जेलसम्म बेला-बेलामा निक्लिरहन्थे।

(यो संस्मरण 'नेपाल' साप्ताहिकको पछिल्लो अंकमा छापिएको छ, जसलाई तपाईँ यहाँ पढ्न सक्नुहुन्छ; http://www.ekantipur.com/nepal/article/?id=4650 )

November 18, 2009

गौतम सर,फर्मुला छोरी र भाउजू

[आज 'पाहुनाको कोसेली' मा साथी पुरुषोत्तम गौतमजीको संस्मरण राख्न चाहन्छु। २०४५-४७ मा प्रमाणपत्र तहमा अध्ययनरत हुँदा पुरुषोत्तमजीसंग चिनजान भएको हो मेरो। प्रमाणपत्र तह सकिएपछि हाम्रो सम्पर्क टुट्यो र केहि समय पहिला यहि ब्लग र फेसबुकको माध्यमबाट फेरि भेट भयो। उहाँ अहिले पाठशाला नेपाल फाउण्डेशनमा अध्यापनरत हुनुहुन्छ।]
गौतम सर,फर्मुला छोरी र भाउजू
- पुरुषोत्तम गौतम

असफलता भन्ने शब्द मूर्खहरूको शब्दकोषमा मात्र पाइन्छ भन्ने नेपोलियनको उक्ति साह्रै मन पर्थ्यो मलाई । म पनि सोच्थेँ मान्छेले गरे नहुने के होला र दुनियाँमा । मन मेरो साह्रै उत्साही थियो । संसार बदल्ने आँट थियो होला त्यो बेला । विद्यार्थी थिएँ म साह्रै मेहेनती जुनसुकै विषयमा पनि । २०४५ सालको एस.एल.सी. पास गरेर पाटन क्याम्पस पढ्न आएँ म । मेरा गु्रूहरूमा फणिन्द्र नेपाल सरलाई अझसम्म भुलेको छैन मैले । माया गरेर सिकाउने जहिले पनि केही खोजी गर्न प्रोत्साहित गर्ने । तिमी गर है भविष्यमा गएर तिमीले नेपालीमा एम. ए . गर्नु पर्छ भनिरहनुहुन्थ्यो मलाई । सरसँग नजानेको कुरा सोधिहाल्ने बानी र नयाँ कुरा खोजी हाल्ने बानीले गर्दा पनि होला माया गरेको । म दुईतिर पढ्थेँ । ललितकलाको पनि म चित्रकला विषयको विद्यार्थी थिएँ । त्यहाँ पनि माया गरेर पढाउने गुरुहरू मनुजबाबु मिश्र, राधेश्याम मुल्मी, नवराज कार्की अरु अरु सरहरू पाएँ मैले । पढ्दा पढ्दै जीवन अलिक कष्टकर बन्यो अनि मैले बाध्यताले पनि र परिस्थितिले पनि एउटा सानो जागिर खानुपर्ने भयो । त्यसैक्रममा बाध्यताबश शिक्षण सम्बन्धी थाहै नपाइ, जान्दै नजानीकन म २०४८ सालमा ललितपुरको चापागाउँस्थित कञ्चन अंग्रेजी बोर्डिङ् स्कूलको प्राथमिक तहको स्थापनाकालको शिक्षक बनेँ थोरै समयका लागि भएपनि । पाटन क्याम्पसमा बि.ए. प्रथम वर्षमा अर्थशास्त्र र गणित मुख्य विषय लिएर पढ्थेँ म । साना केटाकेटीहरूसँग खेल्न रमाउन गाउँ जाँदा पनि मलाई हरहमेशा बाटो देखाइरहन्थे । साँच्चै भन्नुपर्दा साना नानीहरू मेरा अजश्र प्रेरणाका स्रोतहरू हुन् या नि मेरा गुरुहरू हुन् । जीवनले कोल्टे फेर्यो ।

२०४८ सालमा पाटन क्याम्पस पढ्दा पढ्दै म शारीरिक अस्वस्थताका कारणले म गाउँ फर्किएँ । झापा जिल्लाको सुदूर दक्षिणी भागको जुरोपानी गा.वि.स. को ग्वालडुब्बा बजारमा एउटा सानो बोर्डिङ्ग स्कूलको प्रिन्सिपल तथा शिक्षक भएर काम गर्न थालेँ । जीवनले एकोहोरो जीवनगति पायो । साना नानीहरूसँग रमायो दिनभरि अनि घर फर्कियो । सपनामा पनि तिनै अबोध अनुहारहरू । भिन्न भिन्न प्रकृतिका नानीहरू भिन्ना भिन्नै व्यवहारहरू । नेपालको एउटा कुनाको मधेशी बाहुल्य गाउँ थियो त्यो शहरको कुनै आलिशान महल होइन । गाउँकै भलाद्मी काइँला बाजेको घरको टाँढमुनी खर र बाँसले बारेको बन्द कोठा भित्रको त्यो स्कूल गाउँका मान्छेका लागि त एउटा अंग्रेजी माध्यमको स्कूल थियो के के न गर्लान् यी दुइटा ठिटाले भन्ने थियो होला । मसँगै केशब अधिकारी भन्ने साथी पनि हुनुहुन्थ्यो त्यो बेला । जे होस् अहिले सम्झँदा २०४९ सालको पुष महिना थियो, स्थापनाको पहिलो वर्ष जस्तो लाग्छ । स्कूल गौरादहमा रहेको माउन्ट एभरेष्ट मा.वि. को शाखा स्कूलको रुपमा खोलिएको भए पनि म नै प्रिन्सिपल नियुक्त गरिएको थिएँ त्यो बेला । तर हामी दुबैको लागि त्यो क्षेत्रमा चुनौती थियो संस्था चलाउन। २०४८ सालमा नै एउटा स्कूल चलाएर बन्द भइसकेको रहेछ त्यसले गर्दा पनि हामीले धेरै सम्झायौँ अभिभावकहरूलाई । हुन त हामीलाई कसैलाई ठग्नु पनि थिएन ,अर्को स्कूलको शाखा भए पनि हामीले त्यो स्कूललाई कहिल्यै पराया ठानेनौँ, बच्चाहरू अर्काका मानेनौँ । आफ्ना नानीहरू सम्झिएर पढायौँ बढायौँ । बिना तालिमका मास्टर भएपनि धेरै कुरा थाहा पाउँदा बच्चाको भलाइको लागि गरिएछ । शिक्षाको जानकारी थिएन पनि । हामी दुबैजना मानविकी संकायका विद्यार्थी थियौँ बि.ए. पढ्दै । सिकारु थियौँ हरेक कुराका लागि । न तालिम थियो न हामीलाई कसैले सिकाएको नै थियो यसो गर्ने उसो गर्ने भनेर । मेरो कल्पनामा म कुनै दिन शिक्षक बन्छु होला भन्ने थियो होला जस्तो मलाई त्यति लाग्दैन पनि । तर पनि समय सबैको गुरु रहेछ । समयको चक्र सँगसँगै म पनि फनफनी घुमेँ अनि मेरा लक्षहरू पनि घुमे आफैँ तय भए ।

म बोर्डिङ्को एक नम्बरको मास्टर भएँ गौतम सर भएँ । बास्तवमा म कुनै दिन चित्रकलामा बि.एफ.ए. गर्छु भन्ने एउटा झिनो लक्ष भने रहेकै थियो होला जस्ते लाग्छ । तर पनि यसै गर्छु भन्ने पूर्वकिटानी केही थिएन मेरो जीवनको । सानोछँदा भोलि गएर नानी के हुन्छ ? भन्दा मेरो जवाफ म त डाक्टर हुन्छु भन्ने थियो होला अहिले सम्झँदा । तर यो सबै समयको खेला वा भाग्यको खेल म के भनूँ? पढेर ठूलो मान्छे हुनू, मन्त्री हुनू अनि धेरै पैसा कमाउनु र बुबाआमालाई सुखले पाल्नू है भनेर दशैँमा टीका थाप्ने संस्कारमै हुर्किएको मान्छे हुँ म पनि । त्यसमा पनि दशैँमा दिइने आषीक सम्झन्छु म कहिलेकाहीँ —आयूद्रोणसुते श्रीयंचदशरथे सत्यम्च कुन्तीसुते, गतिश्च पवने ..........बलम्च हलधरे ....कीर्तिश्च नारायणे यस्तै यस्तै । संस्कृतको श्लोक त्यति मजाले बुझ्ने मान्छे होइन म । तर पनि सामान्य अर्थ ठम्याउन सक्छु भन्ने लाग्छ मलाई । आषिकले भनेजस्तो न अस्वस्थमाजस्तो अजम्बरी बन्न सकूँला , न यूधिष्टिर जस्तो सत्यवादी, न बलमा बलरामको जति ताकत नै, न कीर्ति नै राख्न सकूँला नारायणको जस्तो । तर पनि म अरु भएर होइन , म आफैँ भएर जिउन बल गर्ने मान्छे हुँ जहिल्यै पनि । आषिक जे जे थापेपनि आफ्नो चाहना जे जे भएपनि सबैले सोचेको पुग्दैन सधैँ । मन्त्री बन्न नसके पनि, अरुलाई गिराएर आफू ठूलो मान्छे हुन नसकेपनि म बोर्डिङ्ग स्कूलको न्यूनबेतनभोगी जागिरे छु म ।

ती दिनहरूतिर फर्किएर हेर्दा-खालखालका नानीहरू, खालखालका विशेषताहरू । साह्रै फोहोरी कुरा बोल्नेदेखि साहै्र भलाद्मीसम्म । कोही गाउँको दूध दही मजाले खाएका छुच्चा बच्चाहरू पनि थिए अरुलाई ठेलेर लडाइदिने खालका पनि । मैले धेरैलाई भन्नु पनि ती साना नानीहरूको बानी बेहोराका बारेमा । घरमा बोलिने भाषा र बानी बेहोराको असर परेको हो कि भन्ने लागेको थियो मलाई । गाउँमा केटाकेटीको फोहोरी बोलीले गर्दा नै बच्चाले फोहोरी बोलेको जवाफ पाएँ मैले । एउटा बच्चा साह्रै पुल्पुलिएको थियो, लुरे थियो तर ऊ साह्रै बल गथ्र्यो स्कुल छोडेर भाग्न । पहिलो दिन थियो उसलाई त्यो स्कुलमा ल्याइएको । जंगली थियो ऊ । छेउकै आँगनमा धान भरेर राखिएका धानका बोराहरू थिए । मान्छेहरूको बराम लागेको थियो हेर्ने । नयाँ नयाँ बोर्डिङ्ग स्कूल खालखालका बच्चा रुने कराउने । अनि ती बच्चाको चर्तिकला हेर्नेको ताँती । मैले सानो फुच्चेलाई आऊ सानो बाबु भनेर के भनेको मात्रै थिएँ ‘‘राँडीका छोरा किन समातिस् मलाई छोड्दे? तँलाई हरिया बाँसमा बाँधेर टुँ ऽऽ पार्दै लैजान्छु ” भन्न थाल्यो ऊ । फटाहा त्यसो भन्नुहुन्छ भन्दा ‘‘मैले तपाईंलाई भनेको होइन यसलाई भनेको ” भनेर मलाई देखाउँथ्यो । मान्छेको बराम लाग्थ्यो काईला बाजेको आँगन अघि । यस्तो लाग्थ्यो यो कुनै खालखालका जीवजन्तुहरू ल्याएर प्रदर्शनको लागि राखिएको एउटा चिडियाखाना हो । उपाय केही नलागे पछि भुईको धूलो उठाएर सबैलाई छरिदिन्थ्यो अनि आफ्नो टाउकोभरि धूलो हाल्थ्यो रिसले ।

कोही रुँदारुँदै प्राणै फुत्केलाजस्तो गर्थे बिचराहरू । जबर्दस्ती । जबर्दस्ती समाएर फुल्यायो , आँशु पुछिदियो अनि फकायो । बच्चा हो एकैछिन्मा फुल्याइहालिन्थ्यो । कोही पेन्टमै दिसा गरिदिने, कोही पेन्टमै पिशाब गरिदिने । यस्तै यस्तै बच्चाहरूको माझमा थिएँ म । साना नानीहरू कति आए कति गए मलाई सबैको ख्याल छैन पनि । सिँगाने नाकैभरि प्यात्त परेको पहेँलो सिँगान बोकेर आउनेदेखि साह्रै चिटिक्क परेर आउने सम्म । म बास्तवमा पुरुषोत्तम गौतम थिएँ कलेजको विद्यार्थी । यहाँ म भएँ गौतम सर । मेरो न्वारान भयो आफसे आफ ग्वालडुब्बाको बसाइ पछि । शायद दोस्रो वर्ष या तेस्रो वर्ष थियो होला स्कूल सुरु भएको । नर्सरीमा आउने बच्चा रुने, कराउने, लडिबुडी गर्ने नै हुन्थे प्रायजसो । आमाको काख छुटाएर , बाबुको साथ छुटाएर ल्याइएका नानीहरू थामिनसक्नुका हुन्थे धेरैजसो । आफ्नो घर र निश्चित छिमेकीको घर दलान ननाघेका नानीहरू ग्वालडुब्बा बजारको यो कुटीमा ल्याइपु-याउँदा बिचराहरूको सातै जान्थ्यो होला ।

तर एकदिन एउटी सानी नानी आई स्थानीय सरकारी स्कूलमा पढाउने शिक्षिका बिन्दु खनालसित । त्यो सानी नानी बेग्लै लाग्थी हेर्दै । बडो चंख थिई ऊ । चञ्चल, ठूलाठूला आँखा । उसको अनुहारमा निकै चमक थियो । मलाई नानीहरू हेर्ने बित्तिकै कस्तो खालको हुनसक्ला भन्ने सामान्य तबरमा थाहा हुन थालिसकेको थियो त्यो बेलासम्ममा । बिन्दु मिसले भन्नु भयो —“सर ! यो हाम्री दाइकी छोरी फर्मुला हो नर्सरीमा नाम लेखाउनु पर्ने ।” मैले फर्मुलालाई —“छोरी यता आऊ त ” भनेर बोलाएँ । ऊ सरासर म भएतिर आई । प्रायजसो पहिलो दिन स्कूल आउनेहरू रोएर, जोसँग आएका हुन्थे उनीहरूलाई नै च्याप्प समाएर छोड्दै नछोड्ने, बोलाउँदा आउँदै नआउने, जंगली स्वभावका हुन्थे । तर फर्मुला त अनौठो खालकी थिई मेरो लागि ।

साना साना नानीहरूलाई केही सिकाउनु ठट्टा होइन भन्ने लाग्छ मलाई । उनीहरूको शारीरिक तथा मानसिक अवस्थाको ख्याल राखेर उनीहरूसँग व्यवहार गर्नु पर्छ । म तालिम प्राप्त शिक्षक थिइँन । ललितपुर बस्दा चापागाउँमा खुलेको कन्चन अ्रग्रेजी बोर्डिङ्ग स्कुलमा केही समय काम गरेको अनुभव थियो थोरै । साना साना नानीहरूलाई पढाउने शिक्षक थिएँ म । पढाउन थालेको केही समय पछि मलाई ब्रोङ्काइटिसले समात्यो । मैले काम गर्न नै सकिँन राम्ररी । त्यही भएर झापा हानिएको थिएँ म । मलाई अरू शिक्षण सम्बन्धी केही ज्ञान नै थिएन । म जानेर वा नजानेर मेरै ढङ्गले व्यवहार गर्थेँ बच्चाहरूसँग । न मलाई शिक्षाको सिद्धान्त नै थाहा थियो न अन्य अनुभव नै । तर पनि बाल मनोविज्ञानको एउटा किताब पढ्थें भगवती बिष्टको हिन्दी भाषामा लेखिएको । आलोकाँचो थिएँ भन्ने स्वीकार्नु पर्छ मैले । तर एउटा सत्यता के थियो भने म पढाइमा अति उत्सुक थिएँ , त्यति नै उत्सुक थिएँ शिक्षण पेशामा पनि । के गर्दा नानी बाबुहरूलाई राम्ररी सिकाउन सकिन्छ भन्ने खूब चासो लाग्थ्यो अनि सकेसम्म कोशिष गर्थेँ म । हुन त त्यो बेला हाम्रोतिर स्वाध्याय सामाग्रीको प्राचुर्यता भएको बेला थिएन । जे भए पनि म लगनको साथ काम गर्थेँ । म कुनै स्कूलको तलबी शिक्षकभन्दा पनि साना साना नानीहरूको पथप्रदर्शक हुँ भन्ने लाग्थ्यो मलाई । उनीहरूका खराब आदतहरू हटाएर असल आदतहरू निर्माण गर्नु, नाकनिकेहरूलाई खाना खाने बेलामा सम्झाउनु त्यति मात्रै होइन बुबा आमाका चुरोट बिँडी, खैनी खाने तथा मद्यपान गर्ने आदि आदत हटाउन सहयोग पुर्याउनु पनि थियो । मलाई लाग्थ्यो पढाउनु भनेको मात्रै बाह्रखरी सिकाउनु र ए बी सी डी सिकाउनु मात्र होइन । बच्चालाई नैतिकवान बनाई समाजको एक दर्बिलो खम्बा बनाउनु पनि हो । किताबी ज्ञानको अथाह भण्डार भएर पनि बच्चा नैतिकवान बन्न सकेन भने उसले हासिल गरेको ज्ञानको केही अर्थ छैन भन्ने ठान्थ्यो मेरो अलिअलि पढेको दिमागले । पढाउनु भनेको बच्चाको शारीरिक,मानसिक , बौद्धिक तथा नैतिक बिकास गराउनु पनि हो भन्ने विचारले नै अघि बढ्थेँ । जीवन एक अनुभवकै रुपमा भोग्दै थिएँ म । साना साना नानीहरू तिनीहरूको आफ्नै दुनियाँ अनि मेरो पनि आफ्नै दुनियाँ थियो । तिनीहरूको माझमा समय बितेको पत्तै हुँदैनथ्यो मलाई ।

फर्मुला छोरी मेरी साह्रै मिल्ने साथी बनी, अलिदिन जति बसी । मसँग धेरै कुरा गर्थी ऊ । मलाई थाहा भइसकेको थियो उसको आदत । हँसिली थिई ऊ । रुनेहरूलाई फर्मुला देखाएर सम्झाउन थालेको थिएँ म । हेर ! फर्मुला त रोएकी छैन भनेर । फर्मुला अरुलाई पनि किन रोएको भन्थी, अनि म त रोएकी छैन त भन्दै मलाई नै सहयोग गर्थी । रुनु हुँदैन त भन्दै अरुलाई फकाइदिन्थी । रुँदा रुँदै नानीहरु हाँस्न थाल्थे आँशु झरेकै आँखाबाट पनि । मलाई आनन्द लाग्थ्यो । नाटक गर्नु पर्थ्यो केटाकेटीका खुशीका लागि । मलाई लाग्छ साना नानीहरूसँग रमाउँदाको आनन्द दुनियाँका अरु केहीले पनि दिन सक्दैन मलाई ।

मैले ग्वालडुब्बामा पैसा कमाएर ठूलो मान्छे बनौँला, धनी बनौँल भनेर पनि पढाउन सुरु गरको थिईन मैले । कञ्चन अंग्रेजी बोर्डिङ्गमा पढाउँदा रमाइलै लागेको थियो साना साना नानीहरूको साथ त्यसैले ग्वालडुब्बामा स्कूल चलाउने कुरालाई स्वीकारेर म झरेको थिएँ । काम अरुले के भन्ला र केही पाइएला भनेर गर्ने पनि होइन भन्ने लाग्थ्यो मलाई । आफूलाई के सही लाग्थ्यो त्यही गर्थेँ म । एकदिन नर्सरीलाई पढाउँदै गर्दा फर्मुला छोरीलाई छोरी राम्रो लेख है भनेको थिएँ मैले । उसले त उल्टै पेन्सिल डेस्कमा पो राखिदिई । छोरी पेन्सिल समात लेख्नु पर्छ भन्थेँ म । ऊ गफ गर्न थाली मसँग उल्टै । मलाई थाहा छ साना नानीहरू साह्रै जिज्ञासु हुन्छन् । यस्ता यस्ता अनौठा प्रश्नहरू गर्छन् म ती सबै प्रश्नहरूको जवाफ दिने सामर्थ्य राख्दिन । तिनीहरूको उत्सुकताको सीमै हुन्न जस्तो लाग्छ । म ठूला मान्छेको प्रश्नको जवाफ दिएर सन्तुष्ट पार्न सकूँला तर साना नानीहरूलाई सन्तुष्ट बनाउने ममा क्षमता, ताकत वा सामथ्र्य जे भनौ ममा छैन । एउटा पछि अर्को प्रश्नको ओइरो लगाउँछन् उनीहरू । त्यसैले मैले भनेको छु —“साना नानीहरूलाई सम्हाल्ने काम, पढाउने काम साह्रै कठिन हुन्छ । भविष्यमा जे जे बने पनि उसको यो बेला नै जग बस्ने बेला हो।“सर म त राम्रो लेख्छु । मैले राम्रो लेखेँ भनेँ नि मेरी आमा आउनुहुन्छ फर्केर । मेरी आमा ऊ माथि जानु भाको छ ” हातले इशारा गरेर उसले मलाई आकाशतिर देखाई । “अनि कि मेरी आमा त देउतीमाताको घर पो जानु भाको छ त थाहा छ तपाईंलाई? माथिबाट आमाले हेरिरहनु पो हुन्छ त मलाई सधैँ । मैले राम्रोसँग लेखेँ भने, पढेँ भने मेरी आमा खुशी भएर यहीँ आउनु हुन्छ रे ।"

मलाई थाहा भइसकेको छ फर्मुलाकी आमा यो दुनियाँमा हुनुहुन्न भनेर तर पनि कति अबोध छे फर्मुला छोरी । उसले मलाई भनिसकेकी छे आमा देउतीमाताको घर जानु भएको छ भनेर । म त ट्वाल्ल परेँछु । उसलाई हेरेको हेर्यै भएँछु । जब उसले भनी आमा फेरि फर्केर आउनुहुन्छ यहाँ, तब मैले सोधेको थिएँ फर्मुलालाई — “छोरी तिमीलाई कसले भनेको भनेर ?” “हाम्री हजुरआमाले सधैँ भन्नु हुन्छ सुत्नेबेलामा मलाई, थाहा छ सर?” कति अबोध छे ऊ!। आमा आउनुहोला भन्ने सम्झन्छे ऊ, उसले मतिर फर्किएर सोधीहाली, "आमा साँच्चै आउनु हन्छ सर?" भनेर।

म अक्क न बक्क भएँ । भक्कानो फुटेर आयो मेरो । मलाई तत्कालै डाँको छोडेर रुँ रुँ लाग्यो उसलाई अँगालेर । कति सरल छे ऊ । मानौँ उसले आफ्नी आमा गुमाएको महशुस नै छैन । मलाई खपिनसक्नु भयो । म अति भावुक बनेँछु । मेरा आँखा रसाएछन् फर्मुलाको अबोध चेहरा हेरेर अनि उसको कुरा सुनेर । मैले अर्कोतिर फर्किएर आँशु झारेँ अनि फेरि फर्किएँ फर्मुलातिर र हाँस्दै भनेँ —‘‘छोरी धेरै पढ्यौ , ज्ञानी बन्यौ भने तिम्री आमा पक्कै आउनुहुन्छ एकदिन फर्किएर । ” मैले फर्मुलालाई यसो भनिरहँदा आफैँलाई नराम्रो लाग्यो । मैले जानाजान झूटो बोल्नु प-यो उसको लागि । न म उसलाई सत्य भनेर उसको चित्त दुखाउन नै सक्थेँ, न चूप लागेर उसको चित्त बुझाउन नै सक्थेँ ।

ऊ कति खुशी थिई, उसको चेहराले बताइरहेको थियो । उसको अनुहारको त्यो प्राकृतिक खुशी सधै कायम रहोस् ,म चाहन्थेँ । तर फेरि म सम्झन्थेँ —एकदिन यस्तो पनि त आउला उसले आफैँले आमाको बारेमा बुझ्ली । आमा त कहिल्यै नफर्कने गरी सधैँका लागि उसलाई यहीँ छोडेर अर्कै लोकमा जानु भएको रहेछ भन्ने यथार्थ थाहा पाउली । त्यो दिन ऊ भन्ली—सारा संसार झुटैझुट रहेछ, सबै मान्छेहरू झुटा कुरामात्र गर्दारहेछन् । अनि उसको सम्झनामा रहेछ भने अझ भन्ली- अरु त अरु, त्यो बोर्डिङ्गको गौतम सर पनि एक नम्बरको झुट रहेछ । त्यसले त मैले राम्रो पढेर ज्ञानी भएँ भने फेरि आमा फर्किएर आउनुहुन्छ भनेको थियो नि भन्ली । अनि मलाई देखेर कसैले गौतम सर भनेको यही हो भनेर चिनाइदिएछ भने मलाई झुटो बोलेकोमा गर्नु गाली गर्ली ।

घर फिरेँ म स्कुल छुट्टी भएपछि । तर मेरो मन त्यसै त्यसै पोलिरह्यो । सबै आफ्ना धूनमा थिए अरु । तर म हराएको थिएँ कता कता । उही अबोध छोरी फर्मुलाको अबोध चेहरा, बिचित्र बिचित्रका प्रश्नहरू, अनौठा अनौठा कुराहरू, बोलिरहने उसको मृदु मुस्कान सहितको सजीव चेहरा आयो आँखा अघि बारबार । फर्मुला छोरीकी आमाको न अनुहार थाहा थियो मलाई न म चिन्थेँ नै । बस् वहाँको छोरीको एक समयको शिक्षकको नाताले फर्मुला छोरीको सफलताको कामना गर्न सक्छु अनि अपरिचित भाउजूको सम्झनामा श्रद्धाका दुईथोपा आँशु झार्दै वहाँको मृत आत्माले स्वर्गमा बास पाओस् भन्ने कामना गर्न सक्दछु ।

अनि अन्त्यमा फर्मुला छोरी ! जीवन यात्रामा तिमी कहाँ छ्यौ म भन्न सक्दिन । म जीवन यात्रा गर्दा गर्दै आज काठमाण्डूको पाठशाला नेपाल फाउण्डेशन भन्ने स्कुलमा दादा दिदीहरूलाई पढाइरहेको छु अझै पनि । छोरी, मान्छेको मन तिम्रो जस्तै कोमल, भावना तिम्रो जस्तै पवित्र, सोचाइ तिम्रो जस्तै निश्च्छल भए कस्तो हुन्थ्यो होला यो संसार ? मलाई त बाबा तिमी जस्तै नानीहरू मात्रै मन पर्छ । ठूलाहरूको स्वार्थीहरूको संगतबाट म अघाएँ बाबा । तिमी धेरै पढ है छोरी स्वर्ग जानु भएकी आमालाई खुशी राख्न पनि । आमा जतिखेरै चम्किलो तारा बनेर तिमीलाई नै हेरिरहनु भएको छ । देउताको घरबाट सबै स्पष्ट देख्न सकिन्छ छोरी । स्वार्थी मान्छेको धमिलो मनले मात्र केही छुट्याउन सक्दैन । म तिम्रो गौतम सर, तिमी नर्सरी पढ्दाको, सधैँ ईश्वरसँग प्रार्थना गरिरहन्छु तिम्रो खुशीका लागि, तिम्रो उत्तरोत्तर प्रगतिका लागि।


Image Source: Click Here