December 30, 2012

तीन चोइटा


प्रकृति संगको नाता अब फेरि जोडिनुपर्छ
जो जहाँको हो, उसलाई त्यहीँ छोडिनुपर्छ
हरेक जीवन मुक्त हुनुपर्छ, यसैले अब
चिडियाखाना तोडिनुपर्छ, पिँजडा फोडिनुपर्छ।

(असोज २९, २०६९; पोखरा)

प्रत्येक दिन देशको जीवनमा एउटा धराप थपिन्छ
र लेण्डुप दोर्जेहरुको काँधमा एउटा धाप थपिन्छ
खै कसरी सोचौं उज्यालो भोलि? जब प्रत्येक दिन-
एउटा भिम मल्ल काटिन्छ र एउटा सराप थपिन्छ

(मंसिर २३, २०६९; पोखरा)


कामै चलाउन नसक्ने-काम चलाऊ सरकार
लखनौ लूट जारी छ-दाम चलाऊ सरकार
भाँचिनेछन् विदेशी वैशाखी-इतिहास साक्षी छ
कतिञ्जेल चल्ला तिम्रो-छलछाम चलाऊ सरकार!

 (पुस ११, २०६९; पोखरा)

December 23, 2012

चार सय डलर


सन् १९९१ को डिसेम्बर २०-२१ तिरबाट कुरा शुरु भएको थियो।

पेइचिङ्ग भाषा अध्ययन संस्थान (पेइचिङ्ग यूयान स्युए युआन)मा चिनियाँ भाषा पढ्न थालेको साढे तीन महिना भईसकेको थियो। त्यतिखेर उक्त अध्ययन संस्थानमा हामी नेपालीहरु २७ जना थियौं। पछि चीनका बिभिन्न विश्वविद्यालयहरुमा ईञ्जिनियरिङ्ग, चिकित्साशास्त्र आदिमा स्नातक तह पढ्न छरिनुअघि एक वर्ष चिनियाँ भाषा सिक्दै थियौं हामी। यसपछि त्यहि भाषामै (विषय हेरी) ४ या ५ वर्षे अध्ययन सक्नुथियो। चिनियाँ परम्परागत औषधीशास्त्र पढ्न चाहनेले चाहिँ चिनियाँ भाषा दुई वर्ष पढ्नुपर्ने रहेछ, दोश्रो वर्षमा चिनियाँ पढ्दै गरेका त्यस्ता सिनियर पनि दुईजना थिए। एकजना सिनियर चाहिँ चिनियाँ भाषा-संस्कृतिनै अध्ययन गरीरहेका थिए स्नातक तहमा।

चिनियाँ भाषा गाह्रो भएपनि पढाईको भार भने खासै थिएन। यसैपनि भाषा भन्ने कुरो पढेर भन्दा परेर जानिने हो, त्यो पनि विशेष गरी सिकाईका प्रारम्भिक क्षणहरुमा। त्यहि भएर होला, धेरै चिनियाँहरुलाई साथी बनाउन र सकेसम्म बढी बोल्न प्रोत्साहित गरिन्थ्यो हामीलाई। थोरै साथीहरुले त्यो ‘प्रोत्साहन’लाई गम्भिरतापूर्वक लिन थालीसकेका थिए, तर धेरैजसोलाई सल्लाहले अझै छोईसकेको थिएन। २७ जना नेपालीको समूह एकै ठाऊँमा भएकाले धेरैजसो भेटघाट, जमघटले नेपालीकै झुण्डको रुप लिन्थ्यो। अब नेपाली-नेपाली भेला भएपछि पनि चिनियाँ बोल्ने कुरो भएन। फेरि बेला-बेलामा, र विशेष गरी सप्ताहान्तहरुमा पेइचिङ्गका अरु विश्वविद्यालयहरुबाट सिनियरहरु पनि आईरहन्थे, कहिले हामी पनि झुण्ड बनाएर कतै पुगिदिन्थ्यौं। यसैले हामी कक्षामा मात्रै चिनियाँ पढीरहेका थियौं, कक्षा बाहिर भने आफ्नो नेपाली भाषालाई नै ‘माझीरहेका’ थियौं।

त्यहि डिसेम्बर २०-२१ तिर एउटा ‘सल्लाह’ पस्यो हाम्रो माझमा, ‘सुविधा’ बेचेर पैसा हात पार्ने।

१९७८ तिरबाट क्रमिक रुपमा खुलापन अँगालेको चीनमा त्यतिखेरसम्म पनि चिनियाँ जनताले विदेशी उत्पादनका सामानहरु सहजै किन्न पाऊँदैनथे। चीनमा विदेशीहरुको संख्या बढीरहेको थियो र चिनियाँ सरकारले विदेशीलाई भने थोरै छुट दिएको थियो, विदेशी उत्पादनका सामान किन्ने। चीनमा बसीरहेका विदेशीले आफ्नो पासपोर्टको प्रयोग गरेर हङकङ र मकाऊबाट विदेशी उत्पादनका टिभी, फ्रिज, वाशिङ्ग मेशीन लगायतका घरायसी उपकरणहरु र मोटरसाईकल आदि किनेर ल्याउन पाऊँथे। हङकङ र मकाओ त्यतिखेरसम्म चीनको अधीनमा फिर्ता आईसकेका थिएनन्। धेरैजसो विदेशीले आफूलाई दिईएको यस्तो ‘सुविधा’लाई केहि सय डलरमा बेचिदिन्थे।

हामीलाई पनि त्यहि गर्ने र चार सय डलर हात पार्ने सल्लाह आयो। त्यतिखेर हामीलाई चिनियाँ सरकारले दिने छात्रवृत्ति प्रति महिना त्यस्तै ६५-७० डलर बराबरको हुँदो हो, नेपाली राजदूतावासले त्यसमै थपिदिन्थ्यो मासिक २५ डलर। यसैले चारसय डलर हाम्रा लागि थोरै थिएन। केहि साथीहरु ‘यस्तो काम नगर्ने!’ भए। १५-१६ जना केटाहरु भने जाने भयौं। यसैपनि हङकङ वा मकाओ पुगी आफ्नो सुविधालाई उपयोग गरेर ‘ब्राण्डेड’ सामानहरु किन्न सक्ने हैसियतमा हामी छँदै थिएनौं, यसैले अलि-अलि दाम पनि हुने र यहि निहुँमा घुमिने पनि हुनाले मलाई पनि जाने रोजाईनै ठिक लागेको थियो। डिसेम्बरको अन्तिम साता पढाई पनि विदा थियो।

यसका लागि हामी मकाओसंग जोडिएको बन्दरगाह शहर चुहाई पुग्नुपर्ने थियो। यो चुहाई शन्चन् पछिको दोश्रो ‘विशेष आर्थिक क्षेत्र’ थियो। त्यतिखेरसम्म मकाओ पोर्चुगलकै अधीनमा थियो। चुहाई पुगेपछि हाम्रो काम पासपोर्ट बोकेर मकाओपट्टिबाट सामान आयात हुने भन्सार छिर्ने, पासपोर्ट कसैको जिम्मा लगाउने र भंसारमा कुरेर बस्ने अनि ‘आफ्नो नाम’का सामानले भरिएका ट्रलीहरुको पछाडि बसेर तिनलाई भंसार कटाएर चीन छिराउने थियो। 

फेरि १९९२को जनवरी १ बाट लागू हुनेगरी चिनियाँ सरकारले यो सुविधा खारेज गरीसकेको रहेछ, यसैले हामीले अर्को महिना वा अर्को वर्ष जाऊँला भनेर बस्ने संभावना पनि रहेन। ‘काम’ डिसेम्बरभित्रै गर्नु थियो।   

हामी पहिलेका नेपाली विद्यार्थीमध्ये पनि यस्तो गरीसकेका धेरै रहेछन्। क्वाङ्चौतिर बसेर यो काम दक्षतापूर्वक गराऊँदै आएका बंगालीहरुको समूहसंग एकजना सिनियरको राम्रो चिनजान रहेछ। हामीले पेईचिङ्ग छोड्नुअघि उनले ती बंगाली बन्धुहरुलाई फोन गर्दिने, बंगालीहरुले हामीलाई क्वाङ्चौको रेल स्टेशनमा पर्खिने कुराको निधो भयो। हामीमध्येका एक-दुई बाठा-पाकाले पनि ती बंगालीका नाम, हुलिया आदि कण्ठ पारे।

२८ गते अपरान्हतिर हामीले पेईचिङ्ग रेल स्टेशनबाट रेल समात्यौं, हार्ड स्लीपरको टिकट काटेर। त्यतिखेरसम्म पेइचिङ्ग्को मेट्रो धेरैपटक चढीसकेको भएनि पनि रेलका हकमा भने यो मेरो जिन्दगीकै पहिलो रेलयात्रा हुँदै थियो, अरु कति साथीहरुको पनि पहिलै थियो शायद। पहिलो रेल यात्राको रोमाञ्चकता थियो र नेपाली-नेपालीको ठूलो ‘ग्याङ्ग’ पनि। हामीले समूह-समूहमा बाँडिएर तास खेल्ने, बियर पिउने गरेर बितायौं २४ घण्टा भन्दा बढीको रेलयात्रा। केहि साथी आफ्नो चिनियाँ भाषाको अभ्यास पनि गर्न थाले। राती तीन घण्टा पनि सुतिएन होला।

भोलिपल्ट साँझ पर्दा क्वाङ्चौ पुगियो। स्टेशनबाट निक्लने मुखैमा दुई दक्षिण एशियाली अनुहार हामीलाई छोप्न आईपुगे। तिनै रहेछन् हामीलाई ‘डलर कमाईदिने’ बंगाली बन्धुहरु। तिनले हामीलाई एउटा गाडीमा राखेर हुईँकाए। एक ठाऊँमा खाना खान रोकिए बाहेक गाडी रातभरि कुदिरह्यो र ३० तारीखको बिहानै हामी चुहाई पुग्यौं।

रातभरि केहि देखिएको थिएन, बिहानीपख खेतीपातीसहितको उष्ण प्रदेशीय फाँट देखिएको थियो। चुहाई पुगेपछि भने अग्ला-अग्ला घर देखियो, त्यत्ति हो।

त्यहाँ पुगेपछि एउटा रेष्टूरेण्टमा नित्यकर्म गरेर खाजा खाईयो र लागियो भन्सार गेटतिर, आफ्नो राहदानीको ‘उपयोग’ गरेर विदेशी/ब्राण्डेड सामान चीन छिराउन। नौ बजेतिर पुगिएको थियो होला भन्सार गेटमा उभिन। हाम्रा राहदानीहरु पोको पारेर बागाली बन्धुहरु हिँडेपछि एक घण्टाजति त्यसै अलमल भयो। फर्केर आएर उनीहरुले हामीलाई दुई-दुई जना भएर बस्न भने। यसरी ७-८ पटक गरेर छिर्ने भयो हाम्रो सामान।

म अन्तिम कि त्यो भन्दा अघिल्लो ‘लट’मा परेको थिएँ। हाम्रा सामान एकै पटक आएका थिएनन्, एउटा ‘लट’को आएको धेरै पछि मात्र अर्को ‘लट’को आऊँथ्यो। दिऊँसो तीन बज्ने बेला बल्ल मेरो लटको पालो आऊँदा कुर्दा-कुर्दा हैरान भईसकिएको थियो, यात्राको अनिँदोले पनि आफ्नो असर देखाईरहेकै थियो। बंगाली बन्धुका ईशारा पाएपछि सामान लादिएर आएका दुई-तीनवटा ठूला-ठूला ट्रलीका पछि लागियो। ती ट्रलीमा के छन् भन्नेतिर पनि ध्यान गएन। कसैले हामीलाई नराम्ररी फसाईरहेको पनि हुनसक्थ्यो, त्यो कुराको पनि खासै मतलब भएन त्यतिबेला। भन्सार पास गर्ने बेलामा राहदानी बुझाईयो। छाप लागेको राहदानी फिर्ता लिईयो, बाहिर आईयो र पहिल्यै निस्किसकेका साथीहरुको हूलमा मिसियो। अनि को-को सजिलै पास भए र कसलाई चाहिँ चिनियाँले अलि ‘-याक’ गरे भनेर गफ गर्न थालियो। भन्सार गेट कटेपछि ती ट्रलीहरु कता लागे थाहा भएन।

सडकमै केहि खाएर एक-डेढ घण्टा अल्मलिएपछि बंगाली बन्धुहरुसंग गाडी चढियो क्वाङ्ग्चौ फर्किनका लागि। राती दश बजेतिर बाटोको एउटा रेष्टूरेण्टमा खाना खाईयो। बंगालीहरुले पैसा दिने सूर ननिकालेकाले एकछिन उनीहरुसंग गल्फती भयो। ‘नदिने कल्ले भनेको छ र? तिमीहरुलाई आफ्नै चिन्ता छ, हामीले कत्रो खतरा मोलेर यो काम ग-यौं, तिमीहरुलाई के थाहा---?’ भनेर उनीहरु पनि गन्गनाऊँदै थिए। पछि उनीहरुले हामीले छानेका दुईजना ‘पाका’लाई पैसा दिए र आफैं बाँड्न भने। उनीहरु टिभी हेरेर बियर पिउन थाले र हामी पैसो भाग लगाउन। सबैका हातमा चारसय डलर बराबरको ‘एफइसी’ परेपछि गन्गन-किच्किच सबै सकियो।

यो ‘एफइसी’ ‘फरेन एक्सचेञ्ज सर्टिफिकेट’ को छोटकरी रुप हो। त्यतिखेर चीनमा दुईथरी पैसा प्रचलनमा थिए; चीनको औपचारिक मुद्रा ‘रेन्मिन्पी’ विदेशीले प्रयोग गर्न पाऊँदैनथे। विदेशीले ‘एफइसी’ प्रयोग गर्नुपर्थ्यो। एक ‘एफइसी’लाई पैसा भन्दा पनि ‘पैसा बराबरको कागजात’ भन्दा अझ ठिक होला, ‘ट्राभलर्स चेक’ जस्तै। त्यसको केहि समयपछि चिनियाँ सरकारले ‘एफइसी हटायो र बिदेशीले पनि ‘रेन्मिन्पी’नै प्रयोग गर्न पाउने भए।

गाडी फेरि हुईँकियो र बिहान सबेरै हामीलाई क्वाङ्ग्चौ ल्याएर छोडिदियो। पेईचिङ्ग जाने रेल साँझमा मात्रै रहेछ। टिकट काटेर हामी समूह-समूहमा बाँडिएर छरियौं।

हामी छ जना आफ्नो चिनियाँ ‘तोते बोली’को कनीकुथी प्रयोग गर्दै सोध्दै-खोज्दै सन-यात्सेन मेडिकल यूनिभर्सिटी पुग्यौं आठ बजेतिर। त्यहाँ अध्ययनरत दुईजना साथीहरु अत्तो न पत्तोसंग हामी आईपुगेको देख्दा छक्क परे। उनीहरु कक्षातिर जान निस्कँदै रहेछन्। उनीहरुकै कोठामा लम्पसार प-यौं हामी। बाह्र बजे उनीहरु फर्केर आएपछि उठेर खाना खाईयो र दिनभरि त्यहि विश्वविद्यालयभित्र घुमियो।

साँझ रेल चढियो। यस पटक ‘सफ्ट स्लीपर’का थिए हाम्रा टिकट, दाम जो कमाईसकिएको थियो। म परेको क्याबिनमा एकजना खाईलाग्दा चिनियाँ वृद्धमात्रै थिए, दुईटा स्लीपर खाली थिए। मैले आफ्नो टुटेफुटेको चिनियाँमा अलि-अलि कुरा गरें उनीसंग। छाओ (ठाओ) थरका ती बूढाबाले आफूलाई कम्युनिष्ट पार्टीको कुनै तहको अधिकारी भनेको याद छ मलाई।

‘सिन नियान ख्वाए ल!’ (नयाँ वर्षको शुभकामना!)। बिहान उठेपछि ती बूढाबा र मैले १९९२ शुरु भएको शुभकामना आदानप्रदान ग-यौं। दिऊँसो पेइचिङ्ग पुगियो।

‘त्यो फ्रिज मेरो हो।‘ पछि कुनै रेष्टुरेण्टमा खाना खान जाँदा हामीमध्येको एउटाले फ्रिज देखाएर भन्थ्यो।
‘अनि त्यो टिभीचाहिँ मेरो।‘ अर्कोले भन्थ्यो।
‘ऊ! मेरो मोटरसाईकल!’ र मोटरसाईकलहरु त्यति धेरै नदेखिने त्यतिखेरका चिनियाँ सडकहरुमा कहिलेकाहिँ मोटरसाईकल देख्दा हामीमध्येको एउटा कराऊँथ्यो।
‘त्यो कालो मोटरसाईकल तेरो होईन यार, मेरो हो,। तेरो त अलिक निलो छ-----।‘ अर्कोले गफ थप्थ्यो।

चारसय डलरसंग जोडिएका गफ चीन नछोडुञ्जेलसम्म बेला-बेलामा निक्लिरहन्थे।

(यो संस्मरण 'नेपाल' साप्ताहिकको पछिल्लो अंकमा छापिएको छ, जसलाई तपाईँ यहाँ पढ्न सक्नुहुन्छ; http://www.ekantipur.com/nepal/article/?id=4650 )

December 16, 2012

आख्यान र मुक्तकका कुरा

यो चिसो यामका दुई शनिबारका केहि घण्टा साहित्यका 'न्याना' कार्यक्रममा बिते। 

मंसिर २३ को शनिबार पोखरेली युवा साँस्कृतिक परिवारले 'अनुभव र अनुभूति' का लागि आख्यानकार नारायण ढकाललाई पोखरा उतारेको थियो। पत्रिकाहरुमा प्रकाशित नारायण ढकालका कथाहरु पढेको छु मैले, र सिंगो कृतिको कुरा गर्दा 'शोकमग्न यात्रीहरु' मात्रै हो पढेको। एमाले टुक्रिँदाका बखतका एक-दुई पूर्वाग्रही लेख र कविता बाहेक म उहाँको लेखनशैलीलाई मन पराऊँछु। 'प्रेतकल्प' किनेर राखेको पनि एक वर्ष हुन आँटिसक्यो, अझै पढ्ने समय निकाल्न सकेको छैन।

कार्यक्रम शालीन र छरितो थियो। नारायण ढकालज्यूले आफ्नो जीवनका बिभिन्न चरणलाई सबैका सामु राख्नुभयो र ती चरणका बिभिन्न घटनाक्रमहरुले आफ्नो लेखनीमा पारेको प्रभावहरुको चर्चा गर्नुभयो। सुरुचिपूर्ण थियो उहाँको 'आत्मकथा' र उहाँका धेरै ईमान्दारीपूर्ण स्पष्टोक्तिहरुले भरिएको थियो त्यो।

प्रश्नोत्तर कार्यक्रममा केहि साथीहरुले पाँच मिनेटभन्दा पनि लामा 'प्रवचन प्रश्न'हरु राखे, केहि 'कमरेड' मित्रहरुले नारायण ढकालमाथि वैचारिक विचलनको आरोप पनि लगाए र एकजनाले त 'मदन भण्डारीलाई कसले मार्यो होला?' भन्ने समेत सोध्न भ्याए। यस्ता कुरालाई निफन्दा कार्यक्रम निकैनै उपयोगी, फलदायी भयो मेरा लागि।

हिजो (मंसिर ३०) मा मुक्तक मञ्च पोखराले प्रकाशन गरेको मुक्तक संग्रह 'मुक्तक यात्रा'को लोकार्पण थियो। प्रमुख अतिथि हुनुहुन्थ्यो गीतकार-मुक्तककार राजेन्द्र थापाज्यू। कार्यक्रमको दोश्रो चरण भने हरेक महिनको अन्तिम शनिबार हुने 'नियमित मुक्तक वाचन' कार्यक्रम थियो। पहिलो चरणको लोकार्पण कार्यक्रम अलि ब्यवश्थित हुन सकेन। भेला भएका सवासय भन्दा बढी मान्छेमध्ये आधाजतिलाई आसन ग्रहण गराऊँदा धेरै समय नाश भयो। 'आसन ग्रहण' नेपालका कार्यक्रमहरुको महारोग बनेको छ अहिले।

कार्यक्रमका वक्ताहरुबाट मुक्तक विधाका बारेमा केहि नयाँ कुरा पनि जान्ने मौका मिल्यो। 

पश्चिमाञ्चलका सर्जकहरुका मुक्तकहरु धेरै भएपनि मुक्तक यात्राले देशका सबै भागलाई समेट्ने कोशिश गरेको चोटिला मुक्तकहरुका माध्यमबाट। मेरा पनि दुई मुक्तक परेका छन्।

December 07, 2012

यहि क्षण


यहि क्षण त्यस्तो होस्
पुनर्जन्म जस्तो होस्

घाम-जूनका त्यान्द्रा-त्यान्द्रा
उर्जापुञ्ज खस्तो होस्

आकाश हरदम नयाँ-नयाँ
ईन्द्रधनुष रच्तो होस्

अनन्त याम वसन्तको
हाम्रा मनमा बस्तो होस्।


November 26, 2012

घुम्ने मेच, राष्ट्रनिर्माता, पागल बस्ती, भुईँफूल

कति किताबमात्रै जम्मा पार्नु र यो र त्यो निहुँ पारेर नपढी बस्नु भन्ने लागेर पढ्न थालेको छु अचेलः)

भूपीको 'घुम्ने मेचमाथि अन्धो मान्छे' फेरि पनि जोडियो। साझाको यो संस्करणमा कताकति छपाई गल्ती पनि भेटिए। सानै हेरफेरले पनि कविताजस्तो संवेदनशील जिनिसलाई धेरै दुःख दिँदो रहेछ।

यहि मेसोमा 'भूपी शेरचनका कविता' भन्ने अर्को संग्रह पनि पढियो। भूपी दिवंगत भईसकेपछि संकलित र प्रकाशित यो संग्रहका कुनैपनि कविताले  'घुम्ने मेचमाथि अन्धो मान्छे'ले स्थापित गरेको भूपीको उचाईलाई छोएका छैनन्। भूपीले तत्कालीन शाशकहरुको गुणगान गाएका कविता पनि छन्। कुन बाध्यताले भूपी सामन्तवाद र निरंकुश शाशनको स्वस्तिमा ओर्लनुभयो, मलाई थाहा छैन तर यो संग्रहले मलाई एउटा मानसिक धक्का दियो र लाग्यो यो नपढेकै भए पनि ठिक हुन्थ्यो बरु।  

यहि संग्रहभित्र परेका गीतहरु भने निसन्देह राम्रा  छन् र नारायण गोपाल लगायतले गाएका ती गीतहरु आजपनि लोकप्रिय छँदैछन्।
------------------------------------------------------------
माधव घिमिरेको 'राष्ट्रनिर्माता' एउटा सुन्दर राष्ट्रवादी काव्य हो। नेपाल एकीकरणको एउटा चरणमा पृथ्वीनारायण शाह र उनका भाइ दलमर्दन शाहबीचको कुराकानीलाई काव्यको प्रमुख विषय बनाईएको छ। पुस्तकको आधा भाग 'राष्ट्रनिर्माता' काव्य हो भने आधा भागमा चाहिँ घिमिरेज्यूले पृथ्वीसुक्तका रिचाहरुको काव्यात्मक अनुवाद राख्नुभएको छ। ती रिचाहरु पनि पूरै नेपाली भाव र राष्ट्रवादले भरिएका लाग्छन्। 'राष्ट्रनिर्माता' अचेल मेरो बिहान उठेपछि र बेलुका सुत्नुअघि पाठ गर्ने 'प्रार्थना'को स्रोत बनेको छ।
------------------------------------------------------------
तिहारको गोबर्धन पूजाका दिन सरुभक्तज्यूको गहन दार्शनिक कृति 'पागल बस्ती' पढीभ्याएँ र त्यसभित्रको दर्शनले रन्थनिएँ, कति बुझेर, कति नबुझेर। दार्शनिक भावको कृति भएपनि पूरै उपन्यास कतैपनि बोझिल लाग्दैन र घटनाक्रमहरुको विकास र नयाँ-नयाँ मोडमात्रैले पनि पाठकलाई बाँधीरहन सक्छ।

पागल बस्ती पढेर एउटा नीजि 'अप्ठेरो'लाई पनि समाप्त पारें मैले। मैले सरुभक्तका फुटकर कविता र कथाहरु केहि पढेपनि उपन्यास वा कुनै सिंगो कृति पढेको थिईँन। सरुभक्त जस्ता सुप्रसिद्ध पोखरेली लेखकका कृति अझै नपढेको (र त्यो पनि आफू 'लगभग' पोखरेली बनीसकको यो स्थितिमा) यो कुराले मलाई बेला-बेला झस्काईरहन्थ्यो। 
--------------------------------------------------------------
र हिजोमात्र, शारदा शर्माज्यूको सुन्दर यात्रा संस्मरण 'भुईँफुलको देश' पढीसकें। सुन्दर देश नेपालका सौन्दर्य र पिडाहरुलाई गज्जबले शब्दचित्रमा उतार्नुभएको छ शर्माज्यूले। नेपालका कुनाकुना नघुमी यो जुनी सार्थक हुँदैन भन्ने भावलाई झन् सघन बनाईदिएको छ  'भुईँफुलको देश'ले।   


November 11, 2012

बन्दीपुरको वास

गएको सप्ताहान्त (शुक्रबार, कार्तिक १७) बन्दीपुर पुगियो वास बस्न।

लाज लाग्छ, एक हप्तापछि बल्ल ब्लगमा लेख्दैछु। दोषी अलिअलि फेसबुक हो र धेरैचहिँ मै हुँ।

बन्दीपुर पुगेको यो पहिलोपल्ट हो, तर आधा बाटोमा पुगेको चाहिँ दोश्रो पटक।

२०५७ को फागुनको अन्तताका हुनुपर्छ, अरु दुई जोडी साथीहरुका साथ हामी मनकामना गएका थियौं। जान पनि तालले गईएको थियो! एकजना साथीले एउटा मिनि टाटाको ब्यवश्था गरेका थिए। त्यसको पछाडिपट्टि तीनतिर टाटले बारेर, भूईँमा टाट र कुशनमाथि बसेर गईएको थियो। ब्यवश्था गर्ने साथी अगाडि ड्राइभरसंग र अरु पाँचजना पलेंटी मारेर पछिल्तिर।

मनकामनाबाट फर्कँदा बन्दीपुरपनि जाने कुरो भयो। उकालो के लागिएको थियो, बाटोमा कुईरीमण्डल धूलो उडेर हैरान। त्यतिखेरसम्म बन्दीपुर उक्लने बाटो पीच भईसकेको थिएन। अगाडि बस्ने साथीलाई त केहि भएन तर पछाडि बसेका हामी भने मान्छे नचिनिने गरी धूलोले ढाकियौं। अनि बीच बाटोबाटै फर्किईयो। अलिक यता राजमार्गको एक ठाऊँमा आएर धूलो टक्टकाईयो र हात मुख धोईयो। अचेल कहिलेकाहीँ भेटघाट हुँदा सम्झेर हाँस्ने एउटा बहाना बनेको छ यो प्रसंग।

त्यसपछि पचासौं पटक काठमाण्डौं-पोखरा ओहरदोहर गरियो होला तर बन्दीपुर पसिएको थिएन। यसपालि एकरात बिताउने योजना बनाईयो अपर्झट।

नाम चले अनुसारकै अत्यन्त सुन्दर रहेछ बन्दीपुर। गाडी निषेधित र सफासुग्घर बन्दीपुरको पुरानो बजारमा बसेर एकैपटक इतिहास र वर्तमानसंग साक्षात्कार हुन सकिन्छ। स्थानीयबाट बुझे अनुसार काठमाण्डौं उपत्यकाबाट ११०० वर्ष पहिला नेवार ब्यापारीहरु आएर बस्ती बसाएका रहेछन्। बन्दीपुरको समृद्ध इतिहासलाई देखाऊँछ बजारले। २०२५ सालसम्म यो पश्चिम नेपालको एउटा प्रमुख ब्यापारिक र राजनीतिक केन्द्र थियो। ठूलो विवादका बीच २०२५ सालमा तनहुँको सदरमुकाम यहाँबाट दमौली सारिएपछि बन्दीपुरको स्थिति खस्किएको रहेछ। त्यसपछि त्यहाँका धेरैजसो ब्यापारीहरु नारायणगढ र राजधानीतिर भास्सिएपछि बन्दीपुर सूनसान भएछ। स्थानीयहरुको भनाई अनुसार २०३८ सालसम्म त बन्दीपुर एउटा परित्यक्त खण्डहरजस्तै लाग्थ्यो। त्यसपछि शिक्षा क्याम्पस, नोट्रडेम स्कूल आदिको आगमनसंगै बन्दीपुरले पुनर्जीवन पाउन थालेको रहेछ। अहिले यसले आन्तरिक र बाह्य दुबैथरी पर्यटकका लागि यो एउटा लोकप्रिय गन्तब्यको रुप लिँदैछ। नयाँ-नयाँ पदयात्रा मार्गहरु र प्याराग्लाईडिङ्गले पनि यसको आकर्षणमा बृद्धि गरेका छन्। बन्दीपुरले फेरि समृद्धि हासिल गर्दैछ र यसको भविष्य निश्चय पनि एकदम उज्यालो देखिन्छ।

हामी जाँदा पनि विदेशी पर्यटकहरुले भरिभराऊ थियो बन्दीपुर। नेपालीहरु पनि देखिन्थे धेरैनै। साँझ परीसकेपछि पुगेका हामी पुरानो बजारमा केहि बेर टहलिएर खाना खायौं। भोलिपल्ट बिहानै थानीमाई देवीको मन्दिरसम्म उक्लिएर फाँट-पहाड हुँदै हिमशृंखलासम्म अग्लिएको देश दर्शन ग-यौं। डुम्रे बजार र अरु बस्तीहरु बादलले छोपिएका थिए बिहान। अकाशिँदै आँखाले नभ्याउने गरी फैलिएका हिमालहरु हेरेपछि मन त्यसै-त्यसै आल्हादित हुन्छ। एउटा अतीव अवर्णनीय आनन्दले भरिन्छ मन। 

तल झरेर खाजा खाएपछि खड्गमाईको मन्दिर परिसर घुमेर पोखरा फर्किईयो।

यति सुन्दर बन्दीपुरमा एक रात वास बस्दैमा धीत मरेको पक्कै छैन। फेरि फेरि बन्दीपुरसंगको भेटघाट चलीरहनेछ।









नेपाल भन्ने देश यसै पनि स्वर्ग हो, तर यो फोटोग्राफरका लागि भने झन् महास्वर्गनै हो। यसैले कतै घुम्न जाँदा एउटा गतिलो क्यामेरा र फोटोग्राफीको थोरबहुत सीपचाहिँ हुनैपर्ने लागेको छ अचेलः)


    

November 02, 2012

पत्रिकामा अर्थका अनर्थ

नेपाली पत्रपत्रिकाहरुमा केहि प्रचलित शब्दहरुको प्रयोगमा निरन्तर दोहोरिईरहेको गल्तीलाई लिएर एउटा यहि शीर्षकमा सानो लेख लेखेको थिएँ। 'कान्तिपुर' दैनिकको 'चौतारी' खण्डमा प्रकाशन हुने आशाले पठाएको थिएँ, अलिअलि छोट्टिएर 'पाठक मञ्च' खण्डमा आएको रहेछ आज।

मैले पठाएको यस्तो थियो; 

केहि समय पहिला एनसेलले प्रायोजन गरेको साहित्यिक महोत्सवमा मेडियासम्बन्धी एउटा छलफल सत्र पनि थियो। उक्त सत्रमा वरिष्ठ पत्रकार किशोर नेपालले सम्पादकीय कमजोरीहरुको चर्चा गर्ने क्रममा एउटा उदाहरणको रुपमा ‘कान्तिपुर’ दैनिक र यसका नेपाली भातृ प्रकाशनहरुमा महोत्सवकी अतिथि एक भारतीय लेखिकाको नामलाई ‘अद्भैता कला’ लेखिएकोलाई औंल्याएका थिए। त्यसपछि पनि कान्तिपुर र अरु प्रकाशनहरुमा ‘अद्भैता कला’ लेखिन छोडेन। कुनै प्रकाशनहरुले ‘अद्वैता कला’ लेखे, जुन सही उच्चारणको नजिक लाग्छ। किशोर नेपालकै सम्पादनको ‘नागरिक’ दैनिकको शनिबारे ‘अक्षर’मा पनि ‘अद्भैता’ नै लेख्दिए साथीहरुले। ती लेखिकाको नामको सही उच्चारण के हो भनेर आयोजकहरुलेनै पहिले भन्दिएको भए राम्रो हुन्थ्यो होला। विदेशतिर यस्तो चलन देखिन्छ पनि, किनभने सबै भाषामा रोमन वर्णहरुको ‘स्थानीय’ प्रयोग ठ्याक्कै उस्तै हुँदैन। हामीले पढेको “के ए-क, के एच ए-ख, जी ए-ग-----“ रोमन वर्णको हाम्रो स्थानीय प्रयोग हो। यो प्रयोगको कतिपय अंश भारतकै प्रयोगसंग पनि मिल्दैन। यस प्रसंगमा पनि लेखिकाको नाम रोमनमा लेख्दा देखिएको अंग्रेजी ‘भी’ अक्षर ‘भ’का लागि भन्दा ‘व’का लागि प्रयोग गरिएको बुझ्न गाह्रो छैन।
भाषिक दूरीका कारण चिनियाँ र जापानी जस्ता भाषाका शब्दका देवनागरी लेखाईमामा हुने अनगिन्ती गल्तीलाई क्षम्य मान्न सकिएला तर यो प्रसंगकी ती लेखिकाको नामको स्रोत संस्कृत भएको स्पष्ट छ र संस्कृत वा हिन्दीमा ‘अद्भैता’ भन्ने शब्द छैन। हाम्रा सञ्चारकर्मीहरुले यत्ति पनि ध्यान नदिएको देख्दा आश्चर्य लाग्छ।
विदेशी स्थान र ब्यक्तिका नाममा मात्र यस्तरी हेल्चेक्राईँ भईरहेको छैन। हाम्रा सञ्चारकर्मीहरु लामो समयदेखि कतिपय प्रचलित अंग्रेजी शब्दलाई देवनागरीमा लेख्ने क्रममा अर्कै शब्द लेखेर ‘अर्थको अनर्थ’ गरीरहेछन्। आधुनिक जीवनपद्धति र प्रविधिसंग जोडिएका यी अंग्रेजी शब्दहरु अचेल समाचार र लेखहरुमा प्रशश्त देखिन्छन् र पनि यिनको प्रयोगमा भईरहेको गल्तीमा ध्यान गएको देखिँदैन। सञ्चारकर्मी, सम्पादनकर्मी र हामी पाठकहरु सबै उत्तिकै जिम्मेवार छौं यसका लागि।
एउटा अंग्रेजी शब्द छ ‘होस्टेस’ भन्ने। यो शब्द विमानसंग जोडिएपछि बन्छ ‘एअर होस्टेस’, जसको अर्थ ‘विमान परिचारिका’ हो। तर हाम्रा सुन्दरीहरु आफ्नो लक्ष्य ‘एअर होस्टेज’ बन्नु हो भनिदिन्छन् र पत्रिकाले पनि त्यस्तै छापिदिन्छन्। ‘होस्टेस’ र ‘होस्टेज’ (अपहरणमा परेको मानिस) बीचको फरक छुट्टयाउन कुनै भाषाविद्नै हुनुपर्दैन। त्यस्तै अर्को प्रयोग छ ‘वेभ साइट’, ‘वेभ पेज’ आदि लेख्ने। इण्टरनेटसंग सम्बन्धित यी शब्दहरुका शुद्ध रुप ‘वेब साइट’ र ‘वेब पेज’ आदि हुनुपर्ने हो।  ‘वेब’ले जालोको अर्थ दिन्छ भने ‘वेभ’ले तरंग बुझाऊँछ।
दशैंभन्दा केहि अगाडि कान्तिपुरको ‘हेल्लो शुक्रबार’मा छापिएको अर्को ‘अनर्थ’मा पनि आँखा पर्यो। त्यहाँ कुनै युवा वैज्ञानिकको कार्यको चर्चा गर्ने क्रममा उनका ‘रोबर्ट’ सम्बन्धी योजना र शोधको कुरा गरिएको थियो। त्यो लेखमा प्रयुक्त ‘रोबर्ट’ यन्त्रमानवलाई जनाउन प्रयोग गरिएको थियो। यन्त्रमानवलाई त ‘रोबोट’ लेखिनु पर्ने होईन र? उच्चारणका भेदले ‘रोबट’ सम्मलाई ठिकै मान्न सकिएपनि यन्त्रमानवका लागि ‘रोबर्ट’ भने अंग्रेजीमा कतै पनि प्रयोग हुँदैन, यो त पश्चिममा प्रचलित एउटा ब्यक्तिवाचक नाम हो।
शुक्रवारमा पहिलो चोटि मेरो आँखा लागेपनि ‘रोबर्ट’को प्रयोग अरु पत्रिकाहरुमा पनि भईरहेको देखियो, एउटा छोटो खोजमा। ‘नेपाल’ साप्ताहिकले आफ्नो केहि पहिलाको एउटा अंकमा ‘रोग पत्ता लगाउन सूक्ष्म रोबर्ट’ छापेको रहेछ, एउटा राष्ट्रिय दैनिकमा ‘टोकियोको रेडलाइट एरियामा रोबर्ट नर्तकी‘ छापिएको छ। अनलाइन सञ्चारमाध्यमहरुमा यो गल्ती अझ धेरै देखिन्छ। केहि साहित्यकारहरुले पनि आफ्ना कथा, निबन्ध आदिमा यन्त्रमानवलाई संकेत गर्दै ‘रोबर्ट’ प्रयोग गरेका छन्।
यही क्रममा अस्ति शनिबार (कार्तिक ११) मा कान्तिपुरमै प्रकाशित एउटा समाचारभित्रको अर्को यस्तै गलत शब्द प्रयोगमा आँखा पुग्यो। समाचारका अरु भाषिक गल्ती नहेरी अहिलेको प्रसंगमै केन्द्रित हुन्छु। उक्त लेखमा ‘चालक र कन्ट्रक्टर‘ भनेर दुई ठाऊँमा लेखिएको छ भने एक ठाऊँमा ‘चालक एवं कन्ट्रक्टर’ लेखिएको छ। यात्रु बटुल्ने, उनीहरुसंग भाडा उठाउने लगायत अरु बिभिन्न कार्यमा गाडी चालकलाई सघाउने ब्यक्तिलाई ‘कण्डक्टर’ भनिन्छ र यो शब्द नेपालीमा सबैभन्दा धेरै प्रयोग हुने शब्दहरुमध्येको एक भईसकेको छ। समाचारले संकेत गरेको पनि यहि अर्थलाई हो, तर ‘कन्ट्रक्टर’ भन्ने शब्द कतैबाट पनि मिल्न आउने देखिँदैन। यसले समाचार लेख्नेको अज्ञानता र लापरवाहीमात्रै झल्काऊँछ। तीन ठाऊँमा उही लेखाई देखिएपछि यसलाई हतारको गल्तीमात्रै मान्न सकिँदैन।
यसरी गलत शब्दहरुले ‘अनर्थ’ गरीरहँदा पत्रकारहरुको भाषिक क्षमता र समान्य ज्ञानको स्तरमाथि त प्रश्न उठ्छ नै, पत्रिकाहरुमा जे आयो त्यहि छापिन्छ र सम्पादन भन्ने कर्म हुँदैहुँदैन कि जस्तो पनि देखिन्छ।
-------------------------------------------------------------------------------------------------- 

छापिएकोचाहिँ तलको तस्बीरमा पढ्न सक्नुहुन्छ;