October 30, 2010

शाकाहारतिरको यात्रा-३


भाग १ यता
भाग २ यता

मानव जाति कहिलेदेखि मांसाहारी भयो अथवा यो मानवको रुपमा उभिएको शुरुवाती दिनदेखिनै मांसाहारी थियो वा थिएन भन्ने बारेमा मेरो सीमित ज्ञानले कुनै निर्णय दिन सक्ने कुरो भएन। तर मानवजाति विगत केहि हजार वर्ष देखिनै अत्यन्त हिंस्रक देखिन्छ। उसको त्यो हिँस्रक जीवनशैली र स्वभावसंगै मांसाहारपनि आईरहेको देखिन्छ। मान्छेले मान्छे खाने कुरा इतिहासको पानामा सीमित भईसकेको कुरा हो, (भलै हालै साउदी अरेबियामा फिलिपिनोहरुले पाकिस्तानीलाई खाएको कुराले यो तथ्यमा पनि पुनर्विचार गर्नुपर्ने देखाउँछ) तर सूधा र कमजोर जनावहरुप्रतिको मानव ब्यबहार भने अझै जस्ताको तस्तै र दानवीय छ। केहि समय अगाडिसम्म कुनै-कुनै समाजमा बच्चाको सालनालसमेत खाने कुराको उल्लेख गर्नुभएको छ कृष्ण पौडेलजीले यहि लेखकै भाग-१ माथिको आफ्नो प्रतिकृयामा। उहाँले चिनियाँहरुले बाँदर खाने अति क्रुर तरिकाको पनि चर्चा गर्नुभएको छ। मान्छेले मान्छे खाने कुरा अपवादबाहेक नदेखिएपनि, नसुनिएपनि मान्छेले मान्छेसंग गर्ने ब्यबहार भने अझै पनि अत्यन्त हिंसात्मक छ। चेतना माथिल्लो स्तरको हुँदै जाँदा र बुद्धिको विकास हुँदै जाँदा त समग्र मानवजाति बिस्तारै अहिंस्रक र कोमल हुँदै जानुपर्ने हो तर त्यो हुन सकेको छैन। मान्छेलाई मान्छे हुनबाट रोक्ने एउटा प्रमुख कारण मांसाहारनै हुनसक्छ। हत्या गरिँदाको क्षण पशुपञ्छीमा उब्जने भय र क्रोधभावका कारण तिनका शरीरमा थुप्रै विषाक्त रसायन निर्माण हुन्छन्। ती विषाक्त रसायन मासु हुँदै मान्छेको शरीरमा पनि प्रवेश गर्छन्। मासुले मान्छेमा तनाव र चिन्ता बढ्ने कुरा प्रमाणित भईसकेको छ। संसारमा मासुकै कारण र मासुको माध्यम हुँदै धेरै रोगहरु फैलिरहेका छन्। 

मानवीय संवेदनाले मांसाहारलाई कदापि स्विकार्न सक्दैन। यो भन्दा तल्लो, शारीरिक तहमा उभिएर पनि,मानव शरीरलाई मांसाहार आवश्यक पर्छ कि पर्दैन वा मानव शरीरको बनौट, विशेषत यसको पाचन प्रणाली मांसाहारलाई मिल्ने गरी बनेको छ कि छैन भन्ने बारेमा विवादहरु चलिरहेका छन्। मानिसले मासु खानुपर्ने कुरामा दिइने एउटा तर्क यसको पौष्टिकताको हो। मासु यदि पौष्टिकनै हो भनेपनि यत्तिकै पौष्टिक शाकाहारी खानेकुराहरु पनि जति पनि भेटिन्छन्। त्यसैले पौष्टिकताकै लागि मासु खानुपर्ने र निर्दोष जनावरहरु मार्नु पर्ने कुरामा खासै दम देखिँदैन। मानिसको पाचन प्रणाली, मुख-दाँत-भोजन नली-आन्द्राहरुको बनौट पनि मांसाहारी जनवारहरुसंग बिल्कूलै नमिल्ने तर शाकाहारी जनावरहरुसंग मिल्ने कुरामा विज्ञहरु एकमत देखिन्छन्। यसैले प्रकृतिले मानिसलाई शाकाहारी जीवनको लागि तयार पारेको हो, मांसाहारी जीवनको लागि होईन।

मांसाहारको पक्षमा दिईने अर्को एउटा तर्क हो, ‘मानवजातिले मांसाहार नगर्ने हो भने, पर्यावरणीय सन्तुलन (इकोसिष्टम) बिग्रन्छ’। यहि लेखकै पहिलो भागमा अमित भाइले पनि यस्तै प्रतिकृया लेखेका छन्। तर यो तर्कमा पनि कुनै दम छैन, किनभने जुन प्राकृतिक प्रणालीको सन्तुलनको कुरा गरिएको छ, त्यो प्राकृतिक प्रणालीबाट मानवजाति धेरै पहिले अलग भइसकेको छ। खेतीपाती गर्न जानेबाटै मानिस त्यसबाट अलग भईसकेको हो। मान्छे जंगलमै बसीरहेर अरु कुनै वैकल्पिक आहारको ब्यबश्था गर्न नसकेको भए, मासु नखाई बाँच्न नसक्ने स्थितिमा यो ‘पर्यावरणीय सन्तुलन’ को हावादारी कुरामा केहि दम हुनसक्थ्यो। बाघभालूले मासु नखाँदा तिनको अस्तित्वनै समाप्त हुन्छ, पर्यावरणीय सन्तुलन बिग्रने त्यो अवश्थामा हो। मान्छेले मासु नखाँदा पृथ्वीको पर्यावरणीय सन्तुलनको रौं पनि हल्लिँदैन। फेरि मान्छे जंगली जनावरहरुको शिकार गरेर पनि खाँदैन अचेल, ऊ त तुलनात्मक रुपमा सूधा र कमजोर जन्तुहरुलाई केहि समय पालेर, पछि ‘धोकापूर्ण’ तरिकाले मारेर खान्छ। यी जनावरहरुलाई तिनको प्राकृतिक जंगली जीवनशैलीबाट जबर्जस्ती तानेर घरपालुवा बनाएर उसले पृथ्वीको पर्यावरणीय सन्तुलनलाई पहिल्यै धेरै खल्बल्याईसकेको छ। उल्टो अब मासु खाने बहाना पनि त्यसैलाई बनाउन खोज्नु भनेको कुटिल चालबाजी मात्रै हो।

एकथरी लालबुझक्कडहरु अन्न-सागपात-फलफूल खानुपनि हिँसानै हो भन्छन्। यस्ता काईते गफ गरेरै भएपनि मासु खानुलाई न्यायसंगत ठान्नेहरुसंग कुरा गरीरहनुको तुक छैन। वनस्पतिहरु चेतनाको हिसाबले जनावरहरुभन्दा फरक आयामका हुन्। फेरि वनस्पतिहरु पाकेपछि वा तिनमा फल लागेपछि मात्रै खान्छौं हामी। हाम्रो अस्तित्वका लागि अन्न-सागपात-फलफूल जरुरी छन्। भोलि मानवजातिले आफ्नो शरीरका लागि आवश्यक पर्ने पौष्टिक तत्वहरु वनस्पतिले जस्तै सोझै सूर्यको किरणबाट र माटोबाट लिन सक्ने भयो भने हामीलाई तिनको पनि जरुरत हुने छैन। तर एउटा कुरा के स्पष्ट छ भने त्यतिखेर पनि ‘घामबाट ताकत लिनु पनि मांसाहारनै हो’ भन्ने लालबुझक्कडहरुको कमी हुनेछैन।

धेरैजसो धर्ममा देवताको नाममा पशुबली दिईन्छ, विगतमा देउताकै नाममा नरवलि पनि दिईन्थ्यो। हिन्दू धर्मका बिभिन्न सम्प्रदायहरुमा यो अझ बढी देखिन्छ। ढुंगाको मूर्ति अगाडि निर्दोष र अबोध पशुहत्या गरेर धर्म कमाईन्छ भन्ने हाम्रो संस्कार र परम्परालाई धिक्कार छ! नेपालका कतिपय मन्दिरहरुमा त त्यो निर्दोष-अबोध जनावरलाई जति धेरै यातना दिएर तड्पाई-तड्पाई मा-यो, त्यतिनै धर्म र पुण्य कमाईने विश्वाश गरिन्छ। के हिंसा धर्म हो????? हामीले आफ्नो क्रुरता र हिंसालाई छोप्न धर्म-परम्परा र कथित शास्त्रको गज्जबको खोल तयार पारेका छौं। बलीप्रथाका विरुद्ध कसैले चुईँक्क बोल्यो कि शास्त्रको दुहाई दिँदै त्यसको समर्थनमा पाखुरा खैंचिदै आउनेहरु धेरै छन्। तर विचारणीय छ, के कुनै पनि शास्त्रनै कुनै विषयको अन्तिम सत्य हुनसक्छ? के एउटा निश्चित कालखण्डमा लेखिएको त्यो कथित ‘शास्त्र’लाई सबै समयका सबै मानिसले मान्नुपर्छ भन्ने बाध्यता छ? 

बिभिन्न चाडपर्वहरुमा हाम्रो समाजले बलि दिने जनावरहरु तुलनात्मक रुपले निर्धा र सोझा हुन्छन्। राँगोलाई महिषासुरको अवतार मान्ने हाम्रो समाजले अझ सम्म किन नबुझेको होला, अरुलाई मारेर मासु खाने हिसाबले बाघ वा सिंह पो बरु महिषासुरका नातेदार हुनसक्छन् (गहिरिएर हेर्ने हो भने तिनले पनि आफ्नो प्राकृतिक स्वभावलाई पछ्याएका मात्र हुन्)। तर हामी बाघ वा सिंहलाई खसी-बोका-राँगोलाई जसरी यातना दिन र मार्न सक्दैनौं; हाम्रो शारीरिक क्षमताले पुग्दैन त्यसो गर्न, अनि हामी हाम्रो कुण्ठा र हीनताबोधलाई लगेर आफूभन्दा कमजोर र सूधा जनावरहरुमाथि खन्याउँछौं। हाम्रा धेरैजसो मन्दिरहरुमा मानसिक शान्ति पाईँदैन, ती जनावरहरुका वधशाला मात्रै हुन्। र हाम्रा पेट आईन्स्टाईनले कतै भनेझैं, हत्या गरिएका अबोध जनावरहरुका चिहानमात्रै हुन्।

म शाकाहारतिरको मेरो यात्रासम्बन्धी कुराकानीलाई अहिले यत्तिमै बिट मार्ने अनुमति चाहन्छु।

यात्रा जारी छ र कुराकानी पनि बेलाबखत जारीनै रहनेछ :)

(समाप्त)

October 24, 2010

शाकाहारतिरको यात्रा-२

Image Source: Click Here
भाग १ यता

एक-दुई दिनमा ती राक्षसहरुको पापको घैंटो फुटेछ| त्यो निर्दोष पाकिस्तानीको मासु खाने मध्येका केही भोजन विषाक्तता (food poisoning) को समस्याले गर्दा अस्पताल भर्ना भएछन्| त्यसपछि एक-एक गर्दै सबै कुरा बाहिर आएछन्| साउदी सरकारले ती मध्ये केहीलाई प्राणदण्ड दिएछ, बाँकीलाई लामो समयको कारावासको सजायँ दिएछ|

आङ्गनै सिरिङ्ग गर्ने तस्बीरहरु हेरेपछि मेरो मनस्थितिनै खल्बलिएको थियो केहि समय| त्यसपछिका दिनमा मासु खाँदा जहिलेपनि तिनै दृश्यहरु झल्झली आँखामा आउन थाले| मासु नखाई पनि नहुने, तर खान थालेपछि तिनै दृश्यहरु आँखामा आएर मनस्थिति खल्बलिने, एउटा एकदम अफ्ठेरो परिश्थितिमा बाँचें म धेरै दिन| ती तस्बीरहरु छउन्जेल बेला-बेला हेरिने र आफ्नो मनस्थिति खल्बलीइरहने भएकाले केहि समयपछि सबै तस्बीरहरु मेटें मैले| कसैलाई forward पनि गरिन| तेस्ता तस्बीरहरु हेर्नु भनेकै पनि एउटा हिंसा-आहार हो| कतिपय मान्छेमा ठुलो  मानसिक विचलननै ल्याइदिन सक्छन यस्ता तस्बीरहरुले| केहि वर्ष पहिला इराकमा अन्सर-अल-सुन्नाका राक्षसहरुले नेपाली दाजुभाईहरुको हत्या गरेको भिडियो पूरा हेर्ने आँट कहिल्यै गर्न सकिन मैले, जति हेरें त्यतिलेनै पनि धेरै दिन मानसिक विचलन भोगेको थिएँ|

यी घटनाहरुले मलाई मानव जीवन र अरु जनावरको जीवनको समानता र महत्वप्रति संवेदनशील बनाए| ठाडो शब्दमा भन्दा मैले मान्छेको मासु र अरु जनावरको मासुमा भेद देख्न छोडें र मैले आफुलाई शाकाहारी बनाउने निधो गरें| मेरो निर्णय केहि समय धर्मराईरह्यो; मेरो मन-चिन्तन त संवेदनशील बनेको थियो तर मेरो जिब्रो अझै जब्बरनै थियो यो मामिलामा| यही अनुभवी जिब्रोले मलाई धोका दिईरहयो धेरै समय| विगत ३ महिनाको अनुभवबाट भने मलाई आफुले आफ्नो जिब्रोलाई पनि शाकाहारमा ढाल्न सकेको अनुभूति भईरहेछ| मासु र मासुका कुनै पनि परिकारका प्रति बिल्कुलै आकर्षित महशुश गर्दिन म अचेल| एउटा सफलताको भावले मन भरिएको छ:)

October 17, 2010

मंगलमय शुभकामना!!!

केहि घण्टाको झरीपछि आजबिहान पौने ९ बजेतिर पोखरा-५, पर्स्यांगबाट
देखिएको महिमामंडित माछापूच्छ्रे हिमाल|

विजया दशमी २०६७ को पावन अवसरमा यहांहरू सबैमा हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्न चाहन्छु| यो पवित्र दिनले यहांहरू सबैको जीवनमा सुख-शान्ति, सफलता र समृद्धिको बढ़ोत्तरी गरोस|

October 15, 2010

शाकाहारतिरको यात्रा-१

Image Source: Click Here
म हुर्केको परिवार, परिवेश अलिअलि मांसाहारी थियो। जातीय कारणले खसी-बोका मात्रै खान हुने मानिन्थ्यो। कुखुराको अण्डा पनि खान नहुने मानिन्थ्यो, तर केहि आँटिलाहरुले अण्डा र कुखुराकै मासु पनि खान थालीसकेका थिए। ती आँटिलामध्येमा पर्न आफूसंग भने गाँठ र आँट दुबै थिएन:) धेरै खान सक्ने हैसियत थिएन तर मासु एउटा विशेष खानेकुरा मानिन्थ्यो र चाडबाड, विशेष गरी दशैं, चैते दशैंमा यो अनिवार्य ठानिन्थ्यो। आक्कलझुक्कल अरु बेलामा पनि यो मुखमा पर्न आईपुग्थ्यो। यसरी हेर्दा मेरो बाल्यकाललाई म ९५ प्रतिशत शाकाहारी र ५ प्रतिशत मांसाहारी मान्न सक्छु :)

शिक्षा र रोजगारीका लागि मान्छेहरु शहर पस्न थालेपछि तिनले खाने मासुको परिमाण पनि बढ्न थाल्यो। अत्यन्त स्वादिष्ट, सम्मोहनकारीशक्तिशाल म:म:लाई चिनेपछि त्यसबाट को बँच्न सकोस्! खसी-बोकामात्रै सिध्याउन पाउने भनेर तोकिएका बाहुनहरुले प्लेटका प्लेट भैंसी पनि सखाप पार्न थाले। तीन वर्षको दौरान गोटा सौ एक प्लेट भैंसी मेरा पेटमा पनि पसे हुनन्। तैपनि औसतमा मेरो मांसाहारको परिमाण खासै ढेको मान्न सकिन्न।

अध्ययनका लागि २०४८ मा चीन पुगेपछि भने मासुको परिमाण बेस्सरी बढ्यो। चीनियाँ भोजनमा मासुको अंश ज्यादै धेरै हुन्छ। सागपातपनि थरी-थरिका र धेरै पाईन्थे तर मासु धेरै सस्तो लाग्थ्यो। चिनियाँहरुले उड्नेमा हवाईजहाज र हिँड्नेमा मोटर बाहेक जे पनि खान्छन्! भन्ने सुनिन्छ यदाकदा। त्यो साँच्चै हो जस्तो लाग्थ्यो मलाई चिनियाँहरुको खानपीन हेर्दा। अहिलेको चीनमा कस्तो छ त्यति थाहा भएन तर मेरो अनुमानमा त्यहाँ शाकाहारी बढेका छैनन् बरु घटेका होलान्।

चीनमा बस्दा कुखुरा र बुंगुरको मासु सबैभन्दा धेरै खाईयो। मुसलमानका भोजनालयहरुमा खसीको मासु पनि खाईयो र यदाकदा गाईकै मासु पनि खाईयो होला, जोगिन खोज्दा-खोज्दै पनि खानामा गाईको मासु छ भन्ने थाहा नभएर र कहिलेकाहीँ भुँडी भर्ने अरु कुनै उपायनै नदेखेरनेपालमा छँदा गनेर दुई-तीन पटक भन्दा बढी माछा खाने सौभाग्य मिलेको थिएन होला, चीनमा माछा खान पनि पारंगत भईयो:)

नेपाल फर्केपछि पनि कुखुरा खसीको मासुलाई निरन्तरता दिईयो। भैंसीवाला म:म: भने खान छोडियो।

दोश्रो प्रवासका लागि जापान पुगेपछि फेरि चीनकै जस्तो स्थिति दोहोरियो। त्यहाँ पनि माछा-मासु नखाई टिक्न नसकिने स्थिति छ। सुविधासम्पन्न जीवन जीऊन सक्नेहरुको कुरा बेग्लै तर सामन्यतया शाकाहारी जीवन मांसाहारीभन्दा महंगो लाग्छ जापानमा। शाकाहारी हुँ भनेर कसैले भन्दा जापानीहरु छक्क पर्छन् र सोध्छन्; अण्डा पनि खाँदैनस्? वा माछा पनि चल्दैन?कतिपय रेष्टुरेण्ट वा भोजहरुमा मासु र आलु मिसाएर पकाएको तरकारीबाट आलुका टुक्राहरुमात्रै छानेर शाकाहारी ब्यक्तिलाई दिईएका कुराहरु पनि धेरै सुनिन्छन्। परमपरागत जापानी खानामा माछा र समुद्री जीवको प्राधन्यता छ तर गत शताब्दीबाट पश्चिमा खानाको प्रभावका कारण जापानमा मासुको खपत पनि धेरै बढी छ।

जापानमा शकाहारी खानाको अस्तित्वनै छैन होला भन्ने लागेको थियो मलाई तर नेपाल फर्कने केहि महिना अघि पुगेको एउटा बौद्ध मन्दिरले भने मेरो त्यो सोचाईलाई गलत साबित गरिदियो।

एकजना शुभचिन्तक जापानी बृद्धाले लिएर गएकी थिईन् हामीलाई त्यो मन्दिरमा। आफूलाई कहाँ लगिँदैछ भन्ने बारेमा त्यति नबुझ्दा-नबुझ्दै पनि हामी उनको पछि लागेका थियौं, एउटा आईतवार बिताउनु थियो जसरी भएपनि:)

जापानी बौद्ध परम्पराका बिभिन्न सम्प्रदायहरुमध्ये कुनै एकद्वारा संचालित त्यो मन्दिर हंसमुख बुद्ध (Laughing Buddha) को रहेछप्रवचनकर्ताका अनुसार उनीहरु Laughing Buddha लाई बौद्ध धर्मशास्त्रहरुमा वर्णित गौतम बुद्ध पछिका बुद्ध, मैत्रेय बुद्ध मान्दा रहेछन्छि मैले ईण्टरनेटमा पनि खोजेको थिएँLaughing Buddha लाई मैत्रेय बुद्ध मान्नेहरु यहाँमात्रै होईन जापानकै अन्य भाग र अरु देशहरुमा पनि धेरै रहेछन्।

मन्दिरसंगै भव्य सुविधापूर्ण प्रार्थना कक्षहरु, ध्यान कक्षहरु पनि थिए। प्रवचनहरुपछि  हामीलाई पनि सामूहिक, ब्यक्तिगत प्रार्थनामा सहभागी गराईयो। त्यसपछि भोजनालायतिर लगियो। त्यहाँको भोजनालयमा पूर्ण शाकाहारी भोजन तयार हुँदो रहेछ। हामीकहाँ शाकाहारीहरु गाईभैंसीको दूध भने खान्छन् तर त्यहाँ दूधसंग सम्बन्धित भोजन पनि छँदै थिएनन्। त्यो सम्प्रदायमा दूधलाई पनि मासुजस्तै मानिने रहेछ। खाना अत्यन्त स्वादिष्ट थियो, र उनीहरुले भनेअनुसार त्यो अतयन्त पौष्टिक पनि हुन्छ रे। जीवनमा पहिलोचोटि मैले पूर्ण शाकाहारी तर माछामासुभन्दा धेरै स्वादिष्ट र पौष्टिक खानाको स्वाद पाएँ।

त्यो ठाऊँमा फेरि पुग्ने मेसो मिलेन तर त्यो घटनाले मांसभोजनलाई निरन्तरता दिन मेरो मनले बनाएको एउटा निहुँलाई भने गतिलै धक्का दियो। केहि वर्षयता मासु खानका लागि गरिने पशुपञ्छीको बध, तीनलाई दिईने यना आदिका प्रति म संवेदनशील हुँदै गईरहेको थिएँ तर मासु छोड्न सकिरहेको थिईँन। मैले खोजेक बिभिन्न बहानाहरुमध्ये माँसाहारजत्तिको पौष्टिक शाकाहार नहुन सक्छ, अथवा कम्तिमा हामी शाकाहारी खानालाई मिलाएर बनाउन जान्दैनौं; जापानमा शाकाहारी हुनु असम्भव छदि प्रमुख थिए। तर उक्त मन्दिरमा पुग्ने संयोगले मलाई मेरो कमजोर ईच्छाशक्तिनै सबैभन्दा प्रमुख कारण हो मैले मासु छोड्न नसक्नुमा भन्ने बोध गराईदियो। त्यसयता मैले माछामासुलाई क्रमैसंग घटाऊँदै लागें र विगत दुई महिना यता लगभग पूर्ण शाकाहारी बनेको छु। त्यो लगभग किनभने दूध-दहीभने अझै बाँकीनै छ। यस्तोलाई अंग्रेजीमा lacto vegetarian (दुग्धाहारी?) भन्छन्।

केहि विशेष घटनाहरुले मान्छेको संवेदनालाई बढाईदिँदा रहेछन्। छोरीको जन्म एउटा यस्तै घटना भयो। एउटा नयाँ मानवजीवनको शुरुवात र हुर्काईलाई नजिकबाट हेर्दा-हेर्दै म सबै जीवनप्रति अझ संवेदनशील हुन थालेछु। मान्छे वा जनावर, सबैको जीवन एउटा अद्वितिय र अनुपम प्राकृतिक सौन्दर्य हो। जीवनको हत्या घोर कुरुपता हो र यस्तो कुरुप कार्य जीवनप्रति कुनै संवेदनशीलता नभएको क्रुर मान्छेले मात्र गर्न सक्छ। यो मान्यता अब मेरो मनमा गहिरो गरी बसेको छ। यो दशैंको याममा खसी-बोका-च्याङ्ग्रा-भेंडा आदि घिच्याऊँदै हिँडेका मान्छेहरु देख्दा मलाई उनीहरुले मान्छेकै बच्चालाई घिच्याऊँदै हिँडिरहेजस्तो लाग्छ।

एउटा ई-मेल प्राप्त हुनु अर्को घटना बन्यो। साउदी अरेबियामा कार्यरत भाइ उदय घिमिरेले एउटा मेल पठाएका थिए, त्यहाँको बहुचर्चित एक हत्याकाण्ड बारे। हत्याकाण्डको नृशंशता कहालीलाग्दो थियो। केहि फिलिपिनोहरुले एकजना पाकिस्तानी मान्छेलाई हत्या गरेर उसको मासु खाएका थिए र सम्पूर्ण गतिबिधिहरुलाई क्यामेरामा कैद पनि गरिररहेका थिए। पछि ती मान्छेहरु समातिएपछि ती फोटोहरु फेला परेर सबैका हातमा पुगेका रहेछन्।

भाइको ई-मेलमा धेरै फोटाहरु थिए। मृत पाकिस्तानीको लाश कुनै फलेकमा राखिएको, पहिला उसको घाँटी छिनालिएको, त्यसपछि क्रमैसंग हात खुट्टाहरु निकालिएको, उसको छाती फोरेर दुई भाग लगाईएको, भित्रका मुटु, कलेजा, फोक्सो आदि झिकिएको, आन्द्राभुँडी झिकिएको आदि अनेक फोटाहरु थिए। ती सबै राक्षसहरु अत्यन्त आनन्दित पिकनिकको मुडमा थिए, उनीहरुको अनुहारमा अलिकति पनि लज्जाबोध वा डर थिएनती मध्येका केहि उक्त अभागी मान्छेको जननेन्द्रिय हातमा लिएर क्यामेरातिर फर्केर जिस्कँदै हाँसिरहेका पनि थिए। त्यहाँ आन्द्राभुँडी सफा गरिएका तस्बीरहरु पनि थिए, अनि केहि ठूला ड्रमजस्ता भाँडाहरुमा मासु पकाएको र अन्त्यमा गोलाकार बसेर सबैले मासु खाएका फोटाहरु पनि थिए। सबै घटनाक्रम हामीकहाँ खसी-बोका काटेर गरिनेसंग उस्तै थिए।

Image Source: Click Here


October 11, 2010

कति दिन बस्ने?

'कति दिन बस्ने' शीर्षकमा मेरो एउटा छोटो लेख छापिएको छ 'हिमाल खबरपत्रिका' को यसपालिको दशैं डबल अंकमा (वर्ष २०, अंक १२-१३, पूर्णांक २७३)। त्यसलाई यहाँ गएर हेर्न सक्नुहुन्छ। 

मैले केहि समय अगाडि यसै ब्लगमा राखेको लेख "तँ किन घर फर्किस्?" मा आधारित भएर, ब्लगमा प्राप्त प्रतिकृयाहरुलाई पनि मिलाएर लेख तयार पारेको थिएँ र त्यहि मूल शीर्षकनै राखेर पठाएको थिएँ। सम्पादनका क्रममा शीर्षक बद्लिएको हो। लेख पनि मूल कदभन्दा धेरै सानो आकारमा पुगेको रहेछ। यस्तो massive सम्पादनपछि मेरो लेखको मूल आशय फरक परेको त छैन तर कुराहरु हतारमा ओकलीरहेजस्तो देखिन्छ र ममा मेरा आफ्नै कुरामा त्यति धेरै आत्मविश्वाश नभएको छनक पनि देखिन्छ। गाऊँघरतिरको शब्द प्रयोग गर्दा लेख एक हिसाबले छेऊ-कुना कताकति नमिलेको 'टुकुने' बनेको छ। 

'हिमाल खबरपत्रिका' जस्तो प्रतिष्ठित पत्रिकामा लेख प्रकाशित हुनु गर्वको कुरा हो र यसका लागि मलाई हौस्याउनुहुने आदरणीय मित्र र प्रकाशित गरिदिने 'हिमाल' लाई हार्दिक धन्यबाद दिन चाहन्छु।

तर भविष्यमा पत्रिकाहरुमा लेख पठाऊँदा भने लेखले पाउने 'कद' पहिल्यै सोधेर आफैंले त्यहि सीमा अनुसार सम्पादन गरेर पठाउनेछु।

मैले तयार पारेर पठाएको लेखनै यहाँ राख्न भने लेखकीय नैतिकताले नदेला तर तपाईँलाई पढ्न मन लाग्छ भने म बिजुली-चिठ्ठीबाट पठाउन तयार छु, बिजुली-ठेगाना पाम्:)

October 07, 2010

बा अब हुनुहुन्न---

बा अब हुनुहुन्न। हामीलाई पूरै टुहुरा बनाएर उहाँ जानुभएको आज १८ दिन भइसकेछ। हाम्रो घर अब अभिभावकवीहिन भएको छ। एउटा गहन पिडादायी रिक्तता छाएको घरको जीवनमा-हाम्रो जीवनमा। एउटा नपुरिने घाऊ बनेको मनमा, तर फेरि जीवनलाई सकेसम्म सामान्य बनाए बाँच्ने कोशिशको अर्को विकल्प छैन।

एउटा संघर्षशील जीवनको अन्त्य भएको छ। उहाँले भोगेका दु:खका पहाडहरुका कुरा सुन्दा जहिलेपनि हाम्रो आङ्ग जिरिङ्ग हुन्थ्यो। हाम्रो पालनपोषण शिक्षादिक्षा उहाँको तपस्या थियो। चरम अभावको क्षणमा पनि उहाँले हामीलाई त्यसको सकेसम्म अनुभव हुन नदिने कोशिश गर्नुभयो।

उहाँको आत्माले चीर शान्ति पाओस्।

७३ वर्षको उमेरलाई वृद्धावश्था निश्चय पनि मान् सकिन्छ तर यति वृद्ध पनि होईन कि निधनलाई स्वाभाविक र कालगतिको मान्न सकियोस्। उहाँलाई केहि महिना पहिलासम्म देख्ने जो कोहिले पनि उहाँ अझै १२-१५ वर्ष स्वस्थ र पूरै सकृय बाँच्ने कुरामा अलिकति पनि शंका गर्ने थिएन। हामीलाई त्यस्तै लाग्थ्यो तर नियतिका अगाडि हाम्रा चाहना र प्रार्थनाहरुको कुनै जोड चलेन।

गएको हिऊँदबाट उहाँको फोक्सोमा क्षयरोग देखिएको थियो। लगभग साठी वर्षको धूम्रपानका कारण थियो त्यो। केहि महिनाको सघन उपचार र धूम्रपान त्यागपछि स्थिति सप्रिएको थियो र उहाँ फेरि सामान्य र स्वस्थ जीवनमा फर्किनुभएको थियो। तर त्यसको केहि समयपछि धेरै समस्याहरु देखापर्न थाले। उहाँले दृष्टिशक्ति गुमाउन थाल्नुभयो, बेसूरका कुराहरु गर्न थाल्नुभयो र शारीरिक रुपमा गल्दै जानुभयो। उहाँको समय र स्थानको चेत तिब्र गतिमा घट्न थाल्यो, उहाँ धेरैजसो वर्तमानसंग अप्रासंगिक र धेरै पूराना कुराहरु गर्न थाल्नुभयो, धेरै मान्छेलाई नचिन्ने समस्या पनि देखिन थाल्यो। बिस्तारै बोली पनि लर्बरिँदै गयो, हातखुट्टाको नियन्त्रण पनि गुम्दै गयो।

निधनको दुई महिनाअघि गरिएको जाँचले उहाँमा ब्रेन ट्युमर देखियो। चिकित्सकहरुका अनुसार ब्रेन ट्युमरले मष्तिष्कको १/६ भाग ढाकिसकेको थियो र त्यो फैलिने क्रममा थियो। उनीहरुका अनुसार, त्यसलाई हटाउनका लागि शल्यचिकित्सा गर्न सकिने सम्भावना पनि थिएन, विशेष गरी उहाँको उमेर र शाररिक कमजोरीका कारण। हामीसंग उहाँको सकेसम्म राम्रो स्याहार गर्ने र कुनै दैवी ‘चमत्कार’ को आशा गर्ने बाहेक अरु राम्रो विकल्प थिएन।

आफ्नो जीवनका ती अन्तिम दुई महिना बा धेरैजसो पूरै अचेत, कहिलेकाहीँ अर्धचेत अवश्थामा रहनुभयो। अर्धचेत अवश्थामा शरीरका बिभिन्न भागमा आफूलाई अत्यन्तै पिडा भईरहेको कुरा भन्नुहुन्थ्यो। कहिलेकाहीँ केहि पारीवारिक कुराहरु पनि गर्नुहुन्थ्यो। झोल कुराहरु अलिअलिमात्रै खुवाउन सकिन्थ्यो, त्यो पनि साह्रै मुश्किलले। दिशा-पिसाबका लागि डायपर प्रयोग गरिएको थियो।

हाम्रो भागमा कुनै दैवी चमत्कार परेन। बालाई निको भएन। र बा अब हुनहुन्न।

मेरो बाल्यकालमा फर्किएको छु म यतिखेर। बाको काखमा, बासंग म आफूलाई कति सुरक्षित र आनन्दित ठान्थें। हिजोसम्म, अचेत भएर लडिरहेकै भएपनि बाको उपश्थितिमात्रैले पनि कति सुरक्षित र निश्चिन्त बनाऊँथ्यो मलाई।

उहाँले एउटा गम्भिर रोगको पिडाबाट मुक्ति पाउनुभयो भनेर मनलाई ढाडस दिने कोशिश गर्न खोज्छौं हामी तर----

आज, आफू जिन्दगीको लडाईँको सबैभन्दा अग्र मोर्चामा बलजफ्ती घचेटिएझैं लागीरहेछ मलाई। यो जिन्दगीका घाम, पानी, हुरीले मेरो छातीमा सोझै हान्नेछन् अब। म लुक्ने काख हुनेछैन अब। म छेलिने ओत हुनेछैन अब। म सुस्ताउने छहारी हुनेछैन अब।

बा अब हुनहुन्न---