March 31, 2009

मेरी आमा

कहिले बादलका फूलहरु सिउरेर चुल्ठोमा-
ताराबुट्टे घुम्टो अलिक उघारेर
गीत गुन्गुनाइरहेकी

सयपत्रीका पत्रहरु चुँडेर
हावामा उडाइरहेकी,

कहिले चियाको बुट्टाको आड लागेर
आफ्ना कोमल औँलाहरुले
आकाश छोइरहेकी

इन्द्रेणीको माला लगाएर
नाचीरहेकी, हाँसीरहेकी,

कहिले मसंगै
पुतलीहरुको पछि पछि दौडिरहेकी
र कहिले
बाक्लो हुस्सूमा लुकेर कतै
मलाई अत्याएझैँ जिस्काइरहेकी
तर सधैं सधैं
छातीबाट अनन्त जीवन
र काखबाट अपार ममताले
मलाई सिँचिरहेकी,

नदीहरुका मेंहदी
र तालहरुका चुराले सजिएका
हातहरुले घुँडा बेरेर
सारीको पहेँलो किनार
पछिल्तिर अलिक लतारेर
जुनले पखालेका सुन्दर सेता पाउहरु
कलिलो घामले सेकिरहेकी,

रंगीन बतासमा हल्का झुलेर
शान्त लज्जालु आँखाले मुस्कुराइरहेकी
सदा यौवना अमर सुन्दरी मेरी आमा
सदा यौवना अमर सुन्दरी मेरी आमा।

(लेख्नका लागि नयाँ कुराहरु धेरै भएपनि समय निकाल्नै नसकेकाले आज फेरि 'इतिहासको ब्याज' खाँदैछु। चाँडै नयाँ 'गफ'का साथ हाजिर हुने कोशिश भने जारीनै रहनेछ।)

March 26, 2009

कांग्रेस नेता रामचन्द्र पौडेलसंग अन्तर्कृया

गएको आइतबार साँझ नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसंगको एउटा अन्तर्कृया कार्यक्रममा भाग लिने मौका मिल्यो। नागोयामा दुई वर्ष पहिला पनि उनीसंग अन्तर्कृयाको मेसो परेको थियो। त्यतिखेर अर्का कांग्रेस नेता डा. नारायण खडका पनि उपश्थित थिए।

केहि दिन नेपाली नेताहरुको भिड लागेको थियो टोकियोमा। कांग्रेसको भातृसंस्था नेपाली जनसम्पर्क समितिको अधिवेशनका लागि चारजना नेताहरु आएका थिए भने माओवादीको भातृसंस्था लोकतान्त्रिक गणतान्त्रिक मोर्चाको अधिवेशनका लागि पनि तीन-चार नेताहरु आएका थिए।

नेता पौडेल जिनर्यो आवास क्षेत्रको हलमा आईपुग्दा साँझको सातभन्दा बढी भईसकेको हुँदो हो। कार्यक्रम अनौपचारिक थियो। परिचय आदानप्रदान पछि नेताज्यूबाट एउटा सानो मन्तब्य राखियो। मन्तब्यमा माओवादीका यावत कृयाकलापहरुको विरोध हुनु स्वाभाविक भयो, एउटा कांग्रेस नेताको लागि। साथमा 'हाम्ले त माओवादीलाई तह लगाउन खोजेको हो तर एमालेले खुट्टा कमाउनाले गाह्रो भएको छ' भन्ने आशयका कुरा पनि थिए। अचेल सबै कांग्रेस नेताहरु त्यस्तै भाषण बढी गर्छन्। खासमा अचेल कांग्रेस छिटपुट भाषणमै सीमित भएको छ, माओवादीलाई कुनै रचनात्मक दबाब दिन कांग्रेसले सकेकै छैन। कांग्रेस नीतिविहिन-नेताप्रधान भएको धेरै भईसक्यो, अब त यसमा अलिकति पनि उर्जा नभएजस्तो देखिएको छ। लोकतन्त्र र देशका लागि सोच्नेहरुका लागि यो चिन्ताको विषय हो। देशलाई एउटा सशक्त र रचनात्मक कांग्रेस आवश्यक छ अझै, तर एउटै शर्त, कांग्रेसले आफूमा आमूल सुधार गर्न सक्नुपर्छ।

देशमा धमाधम स्ववियू चुनावको नतिजा आइरहेको बेला परेकोले स्ववियू चुनावकै कुरा पनि आउनेनै भयो। नेविसंघ दोश्रो भएकोमा नेताज्यूको असन्तुष्टि देख्न सकिन्थ्यो। अखिलहरुको गुण्डागर्दी, विशेष गरी क्रान्तिकारीको गुण्डागर्दीलाई दोष दिईयो यस्तो परिणामको लागि। गुण्डागर्दी नेविसंघले पनि नगर्ने भने होइन, आफू बलियो भएको ठाऊँमा उ पनि के कम देखिएको छ र? विद्यार्थी राजनीति भनेको 'गुण्डागर्दी ब्यबष्थापन' मात्रै हो भनेर यो गोतामेले त्यसै भनेको हैन:)

चितवनको बालकुमारी कलेजको कुरा निक्लियो यसै प्रसंगमा। "बालकुमारी जस्तो विद्यार्थी, शिक्षक र कर्मचारी सबैमा हाम्रो अत्यधिक बहुमत भएको ठाऊँमा समेत क्रान्तिकारीले गुण्डागर्दी गरेर नेविसंघलाई हराए" भन्ने नेताज्यूको भनाइमा एकजना साथीको सटीक प्रतिकृया थियो "बालकुमारीमा पहिला त बहुमत मात्र हैन, नेविसंघको एकछत्र गुण्डागर्दी चल्थ्यो, अहिले कसरी अरुको चलेछ!"

"पहिला गुण्डागर्दीमा भर परेकैले अहिले आफूभन्दा ठूलो गुण्डा आएपछि केहि नचलेको हो----" नेताज्यूको भनाइमा अनिच्छितनै सही, अलिकति स्विकारोक्ति थियो।

केहि बेरको कुराकानीपछि सामूहिक तस्वीर खिचेर कार्यक्रम अन्त्य भयो।

अहिलेको कांग्रेसको समस्याहरु के के हुन्? धेरै छन् तर मूल समस्या भनेको 'गिरिजा, गिरिजा र गिरिजा' नै हो। गिरिजा ब्यक्तिका रुपमा त समस्या हुन् नै, कांग्रेसभित्र माथिदेखि तलैसम्म गिरिजाप्रवृत्ति हावी छ। लोकतन्त्रको डम्फू सबैभन्दा बढी बजाउने कांग्रेस आफैंभित्र भने लोकतन्त्रको 'ल' पनि छैन। केन्द्रदेखि गाऊँसम्मका समितिहरु अझै टिकेप्रथाले छानिन्छन्। केन्द्रमा सभापतिको चुनाव हुने प्रावधान त छ तर गिरिजाको विकल्प सिच्ने कुराले पनि कांग्रेसीहरु मूर्च्छा पर्छन्। एउटा लोकतान्त्रिक दल भएर पनि किन सबै कांग्रेसीहरु गिरिजाको कुरा हुनासाथ गरुडको अगाडि परेको नागजस्तो हुन्छन्, अचम्म लाग्छ।

अचेल बजारमा आएका कुरा सुन्दा त गिरिजालाई कांग्रेसको भन्दा पनि सुजाताको 'क्यारीयर'को बढी चिन्ता देखिन्छ। अस्ति ताका निकै हल्लाखल्लासहित भएको 'उपचार-भ्रमण'को मूल आशय पनि यहि हो रे! अब सुजाता कांग्रेसको सर्वसम्मत सभापति भएको देख्ने दिन आऊँदैछन् जस्तो छ। के कांग्रेस डाइनोसर हुने बाटोमा पुगिसकेको हो?

कांग्रेससंग अब महाधिवेशन गर्न, खुल्ला र प्रतिष्पर्धात्मक ढंगबाट सम्पूर्ण नेतृत्व छान्न, नेतृत्वमा युवाहरु (३५-५० वर्षका)लाई बहुमतमा ल्याउन र आन्तरिक लोकतान्त्रिक प्रकृयालाई तलैसम्म बिस्तार गर्न समय धेरै बाँकी छैन।

March 22, 2009

यसपाली त अचम्मै भयो गाँठे!

यसपाली त अचम्मै भयो गाँठे!

भन्न त हरेक साल सबैले ‘यसपाली त अचम्मै भयो गाँठे!’ भन्छन् तर यसपाली त अचम्मै भयो गाँठे! डिसेम्बर, जनबरी र फेब्रुअरीमा खासै जाडो भएन। हिऊँ पनि ठ्याम्मै परेन यसपाली। उत्तरी जापानजस्तो धेरै हिऊँ नपर्ने भएपनि बर्षमा दुईचोटि, कम्तिमा एकचोटि त राम्रैसंग पर्थ्यो। मार्चको संक्रान्तिबाट भने बेस्करी जाडो भयो दुई हप्ता जति। गएको हप्ताभरि फेरि साह्रै काइदाले घाम लाग्यो, तापक्रम अप्रिलको अन्त्य वा मे को शुरुवातमा हुनेजति भयो भन्थे रेडियो-टेलिभिजनका ठाँडाहरु। ‘लौ अब गर्मी आएछ’ भनेर बाक्ला लुगा थन्काईयो। अब आफू त अलि बढी जाडो हुनेमा परियो, लुगामाथि लुगाका पत्र हुनाले ‘प्याज’ को नाम पाईएको छ घरमा:) प्याज छोडाउन थालियो भनौं न अब:)

प्याजका पत्र अलिक के घटेका थिए हिजोबाट बेस्सरी पानी पर्न थाल्यो र फेरि जाडो बढेको छ। प्याज फेरि चाँडैनै बाक्लै डल्लो हुने छाँट देखिया’ छ:)

विश्व तापमान वृद्धिलाई प्रमाणित गर्न पातलिने-बाक्लिने मेरो प्याज स्वरुपनै काफी छ शायद:)


यसपालीको बहुलाहा मौसमले गर्दा साकुरा भने चाँडै फूल्ने भएछन्। सामन्यभन्दा एक हप्ता पहिला हुने देखिएको छ रे। साकुरा फक्रिएको बेला पूरै जापान फक्रिएजस्तो लाग्छ। सेताम्मे साकुराको बोटमुनि बसेर खानपीन/हाँसो-रमाइलो गर्ने कामलाई ‘हानामी’ भनिन्छ। ‘हानामी’ जत्तिकै छोटो र सटिक तर ब्यापक अर्थ बोकेको शब्द अरु भाषामा शायदै होलजस्तो लाग्छ मलाई। ‘हानामी’ को सोझो अर्थ ‘फूल हेर्नु’ हो, संस्कृतबाट शब्द-संयोजन गर्दा ‘पुष्प-दर्शन’ धेरै नजिक पुग्छ ‘हानामी’को, तर ‘हानामी’को जस्तो दार्शनिक तौल अझै बोक्न नसकेको लाग्छ, हामीसंग यस्तै परम्परा नभएर होला।

जापानीहरुको बाँच्ने शैली अत्यन्त दार्शनिक लाग्छ मलाई। अत्यन्त तन्मयता र महत्वका साथ साकुरा फूलेको कुरालाई नियाल्छन् उनीहरु। जेन परम्पराको प्रादुर्भाव भएको मुलुक भएकाले होला, उनीहरुका सबै चाडपर्व र परम्पराहरुमा कतै न कतै जेन-दर्शनको झझल्को आऊँछ। साकुरा ढकमक्क फूल्नु शायद मान्छेले चेतनाको शिखर चुम्नु या बुद्धत्व प्राप्त गर्नुको प्रतीक हो शायद। केहि दिनमै यी फूलहरु झर्छन्, जीवनको क्षणभंगुरता हामीलाई अर्थ्याऊँदै। ढकमक्क साकुराले सेताम्मे भएको रुखमुनि बसेर आनन्द मनाउनु क्षणभंगुर जीबनमा साकुराजस्तै पूर्ण रुपमा फूलेर-फक्रेर बाँच्न र मर्न चाहने मानिसको चाहनाकै निकास हो।

जापान उत्तर-दक्षिण लमतन्न सुतेको लामो देश हो। जति दक्षिण गयो उति गर्मी, जति उत्तर गयो उति जाडो। साकुरा फूल्ने समय पनि दक्षिणबाट शुरु भएर बिस्तारै उत्तरतिर लाग्छ। त्यसकारण ‘हानामी’को समयपनि बिस्तारै उत्तर लाग्दै आऊँछ। साकुरा फक्रिँदै आउने यहि क्रम हेर्दा पनि असाध्यै रमाइलो लाग्छ मलाई।

अब दश-बाह्र दिनमै नागोयामा पनि ‘हानामी’ आइपुग्छ।

'हानामी’ मनाएपछि “यसपाली त गज्जबले मनाइयो गाँठे!” भनेर लेखुम्ला क्यारे। मेसो मिले:)

March 17, 2009

विद्यार्थी राजनीति-राजनीतिक अपराधीकरणको पहिलो पाठशाला

कलेजहरुमा आजभोलि जारी पागलपनको उत्कर्षको रुपमा भोलि कि पर्सि कहिले नेपालमा 'स्ववियु चुनाव' हुँदैछ। कुरालाई अगाडि बढाउनुभन्दा पहिले एउटा खरो सत्यलाई ओकलिहालौं, अपराधीकरणले ग्रस्त नेपाली राजनीतिको मूहान भनेको विद्यार्थी राजनीतिनै हो, राजनीतिक अपराधहरु सिक्ने र तिनलाई 'लोकप्रिय', 'जनप्रिय' आवरण दिने कामको पहिलो पाठशाला विद्यार्थी राजनीति हो। नेपालको शैक्षिक क्षेत्र भनेको सबैभन्दा बढी राजनीतिक बलात्कार गरिएको गैर-राजनीतिक क्षेत्र हो।

विद्यार्थीहरुले आफ्नो हकका लागि संगठित हुनु र युनियन बनाउनु स्वाभाविक हो, त्यसका लागि चुनाव हुनुपनि स्वाभाविक हो तर राजनीतिक दलहरु केन्द्रीय स्तरबाटै बाहुला सारेर आफैं विद्यार्थी राजनीतिमा होमिनु अत्यन्त अस्वाभाविक हो। हो, यो अत्यन्त अस्वाभाविक र निन्दनीय हो तर हाम्रो देशमा यसलाई सबैभन्दा स्वाभाविक र आवश्यक तथ्यको रुपमा स्थापित गरिसकिएको छ र कथित 'विद्यार्थी राजनीति' को विपक्षमा बोल्नु सजिलै 'प्रतिगामी' वा 'मण्डले' ठहरिन सक्छ।

आई.एस्सी. पढ्दाका २ वर्ष (जो २०४६को आन्दोलनले गर्दा तन्किएर तीन वर्ष बनेको थियो) म पनि एउटा विद्यार्थी संगठनको 'घोडा' बनेर हिँडेको थिएँ। केहि सकारात्मक अनुभवहरु नभएका हैनन् त्यो अवधिका, तर समग्रमा मैले धेरै मूल्यवान समय त्यता लगाएर गल्ती गरेजस्तो लाग्छ अहिले। त्यो बेला बिभिन्न कारणवश स्ववियु चुनाव हुन पाएन र पागलपनको उत्कर्षलाई विद्यार्थीकै रुपमा भोग्न पाईएन। पछि एउटा कलेजमा माष्टरी गर्दा दुई-तीन स्ववियु चुनाव र ब्यावसायिक गुण्डागर्दीको राजनीतिकरण राम्रैसंग देखियो। विद्यार्थी राजनीतिलाई गुण्डागर्दी परिचालन भनेपनि हुन्छ, जो यसको ब्यबस्थापनमा दह्रो हुन्छ, उहि सफल हुन्छ।

हाम्रो देशको दुरावष्थाको एउटा प्रमुख कारण देशको दयनीय शैक्षिक गुणस्तर हो। विद्यार्थी संगठनहरुले यो दयनीय शैक्षिक गुणस्तरलाई अलिअलि भएपनि गौरव गर्न लायक बनाउने दिशामा एउटा सिन्कोपनि भाँचेका छैनन् किनभने यो दयनीय स्थितिको एउटा प्रमुख कारण उनीहरुनै हुन्। अहिले अस्तित्वमा रहेका विद्यार्थी संगठनहरुका चिन्तनमा आधारभूत परीवर्तन नआएसम्म अथवा यी संगठनहरुलाई अरु गतिला विकल्पले बिष्थापित नगरेसम्म देशको शैक्षिक दयनीयतामा तात्विक फरक आउने देखिँदैन।

सबैलाई थाहा भएकै कुरा हो, नेपालका विद्यार्थी संगठनहरु भनेका 'विद्यार्थी संगठन' होईनन् र राजनीतिक दलहरुका छाया हुन्। नेपालका राजनीतिक दलहरुले शैक्षिक संस्थाहरुलाई आफ्ना कार्यकर्ता उत्पादन गर्ने प्रमुख कारखानाभन्दा बढीको रुपमा कहिल्यै सोचेका छैनन्। त्यसैले स्ववियु चुनावमा पनि शैक्षिक गुणस्तर वा विद्यार्थीहरुका समस्याहरु ठूला मुद्दा कहिल्यै बन्दैनन्, यदाकदा सतहमा ती देखिएपनि प्रतिष्पर्धा आ-आफ्ना माउ राजनीतिक दलहरुका नीति र कार्यक्रमहरुको बीचमा हुन्छ। त्यसैले, साँचो अर्थमा शैक्षिक गुणस्तर र विद्यार्थी हकहितका लागि विद्यार्थी युनियन बनुन् भनेर हाम्रा राजनीतिक दलहरु कहिल्यै चाहँदैनन् किनकि विद्यार्थी युनियनहरु र समग्र विद्यार्थी जगत परिपक्व बन्यो भने नेता र दलहरुका खेताला को बन्छ?

विद्यार्थी राजनीति नभएको भए यत्रा-यत्रा राजनीतिक परीवर्तनहरु कसरी हुन्थे भनेर यसलाई पवित्र बनाउने कसरत हुन्छ, तर यो कुनै गतिलो तर्क होईन। अपरिपक्व र अविवेकी विद्यार्थी राजनीतिले गर्दा लाखौंको भविष्य अन्धकार भएको छ, देशको शैक्षिक गुणस्तर झन-झन ओरालो लाग्दैछ र यो गुणस्तरको ह्रासका कारण देशको अरबौंको पूँजी निरन्तर विदेश पस्दै छ। राजनीतिक परीवर्तनका लागि विद्यार्थी जगतलाई परिचालननै गर्नुपर्ने स्थितिमा पनि शैक्षिक गुणस्तरलाई नभत्काई रचनात्मक ढंगले परिचालन गरिनुपर्थ्यो, तर रचनात्मकता हामी नेपालीको जिनमा अझै नपसिसकेको हुनाले यस्ता कुरा आशा गर्नुपनि बेकारै हो।

पंचायत कालसम्म विद्यार्थी राजनीतिको जारी पारालाई एक हदसम्म स्विकार्न सकिन्थ्यो किनभने अन्य बाटोबाट राजनीति अघि बढाउन गाह्रो थियो। पञ्चायतको अवसानपछि युनियनहरुबाट 'राजनीति' लाई डाँडा कटाइनुपर्थ्यो र विशुद्ध शैक्षिक अभियानको रुपमा लगिनुपर्थ्यो किनभने जुलुश उत्पादन गर्ने कारखानाहरु अरुपनि धेरै खुलिसकेका थिए। तर विद्यार्थी युनियनहरुले राजनीति गर्ने र दलको घोडा हुने काम रोकिएन, उल्टो झन्-झन् बढ्दै गयो, अहिलेसम्म पनि बढ्दै छ।

त्रिविको शैक्षिक क्यालेण्डरलाई नियमित गराउने वा भिमकाय र भद्दा स्वरुपको राक्षसजस्तो त्रिविलाई केहि विश्वविद्यालयहरुको रुपमा टुक्राएर हुन्छ वा प्रशाशनिक संरचनामा आमूल परीवर्तन गरेर हुन्छ, छरितो र गुणस्तरीय बनाउने जस्ता कुरा विद्यार्थी संगठनहरुका प्राथमिकतामा कहिल्यै पर्दैनन्। कहिलेकाहीं अत्यन्त आवश्यक र समयसापेक्ष निर्णयको पनि विरोध गरेको देख्दा हाँसो उठ्छ। विद्यार्थी संगठनहरु सबै विधामा स्नातकलाई चार वर्षे बनाउने कुराको विरोध गर्छन्। यथार्थमा यो काम गर्न अत्यन्त ढिलो भईसक्यो। प्रमाणपत्र तहको कुरा छ अर्को। प्रमाणपत्र तह भनेको विश्वविद्यालयले चलाउने होईन, दुनियाँभरि विद्यालय तहमै राखिन्छ यसलाई। अहिले प्रमाणपत्र तह हटाउने कुरा नीतिगत रुपमा र ब्याबहारिक रुपमा कहाँ पुग्यो कुन्नि, तर यो धारणाको धुवाँधार विरोध गरेका थिए विद्यार्थी संगठनहरुले। प्रमाणपत्र तह हटाउने काममा जति पनि ढिलासुस्ती भएको छ, त्यसको जिम्मेवारीको प्रमुख हिस्सा विद्यार्थी संगठनहरुकै भागमा जान्छ। अझ हाँसो उठ्दो कुरो त, विद्यार्थी संगठनहरु कलेजमा लिईने प्रवेश परीक्षाकै विरोध गर्छन्।

प्रवेश परीक्षाकै विरोध गर्ने विद्यार्थी संगठनहरुले ल्याउने 'शैक्षिक गुणस्तर' कस्तो होला भनेर अनुमान गर्न खासै गाह्रो छैन!

March 13, 2009

केहि कुरा, ब्लगकै

१)ब्लगको पूर्ण नेपालीकरण तिर:
यो ब्लग शुरु गर्दा यसको स्वरुप नेपाङ्रेजी हुने कल्पना गरेको थिएँ मैले। केहि समय त्यस्तै पनि भयो, कहिले नेपालीमा-कहिले अंग्रेजीमा लेखियो। यस्तो नेपाङ्रेजी ब्लग चलाउन आफैंलाई अप्ठेरो लाग्न थाल्यो। फेरि मेरो उद्देश्य नेपाली राजनीति र नेपालमा घटेका बिभिन्न घटनाहरुको बारेमा आफ्नो आफ्नो विचार राख्नुपनि थियो। नेपालको बारेमा, नेपालीलाईनै लक्ष्य गरेर लेख्ने तर अंग्रेजीमा लेख्ने- यो अलि सुहाऊँदो लागेन र म पूरै नेपालीतिर मोडिएँ। भविष्यमा समय मिल्यो भने नेपालको राजनीति, दक्षिण एशियाको राजनीति (विशेष गरी नेपाल-भारत सम्बन्ध) आदि विषयमा केन्द्रीत हुनेगरी ब्यक्तिगत वा समूहगत रुपमा अंग्रेजीमा ब्लग चलाउने योजना छ। योजना कहिले साकार हुन्छ, टुंगो छैन।

अर्को कुरो, यो ब्लगमा मैले आफ्ना साहित्यिक रचनाहरुलाई पनि राख्दै आएको छु। अंग्रेजीमा साहित्य रचना गर्ने मन छैन; त्यसो त हुती पनि छैन:)

२)ब्लगको नाप-नक्शा:
साधारण टेम्प्लेटबाट शुरु भएर कहिले यता केहि जोडिएर, कहिले त्यता भाँचिएर, कहिले उता तन्किएर अहिलेको यो स्वरुपमा आइपुगेको छ यो ब्लग। कोडहरुको सिपालु खेलाडी हैन म र समय पनि धेरै दिन सकेको छैन यसमा, तर यताउताबाट खोजेर भएपनि यसरी चल्न रमाईलै हुँदो रहेछ। हिजो एकछिन घच्याकघुचुक चलाएको थिएँ, अलि अडबांगे बनेको छ। यो 'बाँदर खेलाइ'ले गर्दा ब्लगै ऊँट बनेको हो कि जस्तो पनि लाग्छ बेला-बेलामा:)

यो ब्लग खुल्दा समस्या देखिएका छन् भने खबर पाए आभारी हुनेथिएँ।

३)ब्लगको शिर्षक:
भनेजस्तो ब्लगको शिर्षक अझै जुटाउन सकेको छैन। एउटा त्यस्तो शिर्षकको खोजीमा छु, जो ब्याबहारिक पनि होस् र आध्यात्मिक पनि होस्; जो साधारण पनि होस् तर आफूभित्र गहन रहस्य लुकाएको पनि होस्। दिमागमा केही कथाहरु, बिम्बहरु छन्; म चाहन्छु ब्लगको शिर्षकले ती बिम्बहरुलाई, कथाहरुलाई सटीक आकार देओस्। अहिलेको शिर्षक The Road to Nowhere Goes Everywhere---ले धेरै अर्थसम्म न्याय गर्छ ती कथाहरुलाई, बिम्बहरुलाई; तर यो लामो र भद्दा लागेको छ। केहि समयभित्रै एउटा टाँसो यसकै बारेमा लेखेर यो शिर्षकलाई सेलाउने बिचारमा पुगेको छु।

४)अर्को ब्लग:
माथि अर्को ब्लग पछि चलाऊँला भनेको थिएँ, यहाँचाहीँ अहिलेनै चलाउने कुरा गर्दैछु:) कुरो के हो भने, छोरीको दोश्रो जन्मदिन पारेर एउटा ब्लग शुरु गरेको थिएँ। दुई लुरे टाँसोपछि त्यसै रह्यो त्यो। केहि समय यता फेरि गति दिन थालेको छु त्यसलाई। शुरुमा त्यसलाई पनि नेपालीमा चलाउने विचार थियो, अहिले आएर अंग्रेजीमा लेख्ने निर्णयमा पुगेको छु। विषयवस्तु केहि छोरीका दैनिकी/गतिबिधिहरुबाट, केहि उसलाई हुर्काऊँदाका आफ्नै अनुभवहरुबाट लिइनेछ। Parenting Tips को रुपमा यताउताका जानकारीहरु पनि संकलन गर्ने सूर छ।

के-कति लेख्न भ्याईन्छ कुन्नि, आफैँलाई अर्को एउटा बोझ थपेको थाहा छ, तर थाहा हुँदा-हुँदै पनि थपियो। पिउन बस्दा पनि यस्तै हुन्छ; लागिसक्यो, यहाँभन्दा बढी पिउनुहुन्न अब भन्ने थाहा हुन्छ तर थाहा हुँदा-हुँदै पनि नयाँ बोतल खोलिहालिन्छ:)

समय हुँदा यस्सो चियाउन नबिर्सनुहोला; HER WORLD, OUR WORDS, अड्डाको ठेगाना (http://babyaryaa.blogspot.com/) हो। यहि ब्लगको टाउकामा राखिएको PARENTING भन्ने सूत्रले पनि त्यतै पु-याउनेछ यहाँलाई।

March 09, 2009

आर्याको संसारमा डुल्दै


आर्याको ६ महिने स्वास्थ्य-परिक्षणको लागि पालो कुरिरहेका थियौं हामी, दुईजना ६०-६५का महिलाहरु हाम्रो नजिक आए। चिनजानका दुई-चार औपचारिकताहरु पूरा गरियो एक छिन। त्यो शहरको कुनै एउटा 'बुक क्लब'का स्वयंसेविकाहरु रहेछन् उनीहरु।

"छोरीलाई ये-होन (चित्र-पुस्तक) पढाउने गरेको छ?" उनीहरुले सोधे।
"हँ--?! ६ महिनाकी बच्चीलाई पढाउने--?!" हामी छक्क प-यौं। सानै उमेरबाट पढ्ने बानी लगाउनुपर्छ भन्ने मान्यता त हाम्रो पनि हो, तर हाम्रो त्यो 'सानै उमेर' दुई-साढे दुईबाट शुरु हुन्थ्यो; ६ महिनाबाटै होइन।
"पढाउने भनेर अक्षरै चिनाउन थाल्ने होईन।" उनीहरुले भने, "किताबका चित्रहरु देखाएर उनीहरुसंग कुरा गर्ने मात्रै हो अहिले त। त्यसो गर्दा पछि सजिलै पढ्ने बानी लाग्छ।" उनीहरुले हामीलाई बाक्ला पृष्ठ भएका दुई साना रंगीचंगी किताबहरु दिए र "समय हुँदा हाम्रो 'बुक क्लब' पनि आउँदै गर्नु" भन्ने अनुरोध गरेर अरुतिर लागे।

ती किताबमा चित्रहरु धेरै थिए र अक्षरहरु अत्यन्त कम थिए। धाराबाट पानी खसिरहेको चित्रसंगै 'ज्या--! ज्या---!ज्या---!' लेखिएको थियो भने भ्याकुम क्लिनरको चित्रसंगै 'हु--ईँ----!' लेखिएको थियो, चित्रहरुसंग यसरीनै सम्बन्धित अनुकरणात्मक शब्द (ध्वनि) लेखिएका थिए। हाम्रो काम आर्यालाई ती चित्रहरु देखाएर आफुले त्यस्तो आवाज निकाल्नु थियो। उसले असाध्यै मन पराई पनि।

यसबीचमा थुप्रै कृतिहरु लेखिएपनि नेपाली बाल-साहित्यको भण्डार अझै गरीबनै छ। जति लेखिएका छन् ती कम्तिमा पनि चार-पाँच वर्ष माथिका बच्चाहरुका लागि छन्। सबैभन्दा प्रारम्भिक बाल-साहित्य भनेको चित्रनै हो रहेछ। यस्ता चित्र पुस्तक बच्चाहरुले हतपति च्यात्न नसक्ने गरी बनाउनुपर्ने हुँदा प्रकाशन अलि महंगै हुन्छ र हामीकहाँ अलिक सम्पन्नले मात्रै आँट्न सक्लान्। तर सबै बच्चाहरुको पहुँचमा यस्ता किताबहरु पुग्नु जरुरी छ। मलाई लाग्छ केहि ठाऊँविशेषमा 'एक बच्चा-एक ल्यापटप' कार्यक्रम चलाउनुभन्दा देशैभरि 'एक बच्चा-धेरै किताब' कार्यक्रम चलाउनु हाम्रो जस्तो देशको लागि लाभदायक छ। यस्तो कार्यक्रममा ती साना-साना बच्चाहरुका लागि पनि चित्र-पुस्तकको परिकल्पना हुनुपर्छ र राज्यले सघाउनुपर्छ।

(एक वर्षकी भएपछि) आर्या किण्डरगार्टेन जान थालेपछि यस्ता चित्र-पुस्तकहरु थपिन थाले। हरेक महिनामा एउटा किण्डरगार्टेनले पठाऊँछ, कहिलेकाहीँ हामी पनि किनिदिन्छौं। उमेर अनुसारका किताब हुन्छन्, उमेर बढ्दै जाँदा चित्रहरुसंगै साना कथाहरु पनि जोड्दै लगेको हुन्छ। यी किताबहरुमा कि सम्बन्धित महिनाको मौसमसंग सम्बन्धित कुराहरु हुन्छन्, जस्तै गर्मीमा शीतल ठाऊँ खोज्दा-खोज्दै समुद्रमा पौडी खेल्न पुगेको वा हिऊँदमा हिऊँको मान्छे बनाएको आदि; अथवा खानेकुरासंग सम्बन्धित हुन्छन्, बच्चाहरुलाई सागपात खान प्रत्साहित गर्ने खालका। कथाहरुमा मानव पात्रहरु थोरै र जनाबर-चराचुरुङगी पात्रहरु धेरै हुन्छन्। कुनै पनि जनावरको बारेमा नराम्रो लेखिएको हुँदैन। अनि अर्को कुरा यी जनावरहरु एकआपसमा झगडा पनि गर्दैनन्।

जापानमा यस्ता चित्र-पुस्तकका प्रकाशन-संस्थाहरु धेरै रहेछन् र तीनका बीचमा निकै ठूलो प्रतिस्पर्धा पनि रहेछ।

हरेक दिन किण्डरगार्टेनमा यी किताबहरु देखाउने र त्यहाँका कथाहरु सुनाउने र हामीले पनि सुत्नुअगाडि त्यसै गर्नाले उसलाई पढ्ने बानी लाग्यो। यो 'पढ्ने बानी' लाग्यो भन्नु अलिक बढी हुनसक्छ, किनकि उसले अक्षर त अझै चिनेकी छैन, कथा सुन्ने बानी लाग्यो भन्दा ठिक होला। ऊ आफू जतिसुकै निद्राले चूर भएकी भएपनि कुनै किताबका चित्रहरु नहेरी र कथा नसुनी सुत्ने छाँट देखाऊँदिन। कहिलेकाहीं आफैं पनि थकाई र निद्राले चूर भईसकिएको हुन्छ, तर पढिदिनै पर्छ।

यो बानीले गर्दा ऊ टेलिभिजनबाट टाढै छे।

खासमा अचेल मेरो आफ्नै पढाइ पनि उसकै किताबहरुमा सीमित छ:) मपनि उसको दुनियाँका रमाईला-रमाईला पात्रहरुसंग रमाइरहेछु। म कहिले पेन्गुईन, Sea Lion, हिप्पोपोटामस र हात्तीसंग समुन्द्रमा पौडी खेल्न जान्छु; कहिले गाजर, मुला र 'गोबो'(burdock root) संग हिलोमा खेलेर हिलाम्य हुन्छु। कहिले झगडा गरिरहेका दुईदा ह्यामबर्गर मध्ये एउटा बन्छु; कहिले सागपातहरुको म्याराथनमा कुनै एउटा बनेर भाग लिन्छु, कहिले आफ्नी आमालाई खोज्दै हिँडेको सानो कछुवा बन्छु, कहिले ----।

बच्चाहरुलाई कथा सुनाउन साह्रै मनपर्छ मलाई। आफ्नो बच्चालाई आफैंले कल्पना गरेका कथाहरु सुनाऊँला भन्ने रहर थियो। अहिले समस्यामा परेको छु; आफ्नो कल्पनालाई जापानी भाषामा उतारेर सररर--- दौडाउने हुती छैन, नेपाली आर्याले खासै बुझ्दिन। सोझो कथा बुनेर जापानीमै सुनाएपनि बीच-बीचका उसका अनौठा बालसुलभ प्रश्नहरुको जवाफ दिन भने गाह्रै पर्छ। नेपाल फर्केपछिलाई साँचेर राख्नुपरेको छ यो रहरलाई। तर त्यतिखेरसम्म छोरी "पापाको story त क्या झुर्---!" भन्ने भैसक्ली कि भन्ने पिर:) एउटा कुरो क्या:)

March 05, 2009

शहीद खेती

"शहीद खेती"

नाङ्गले पसलमा शहीद
किराना पसलमा शहीद
र सुपरमार्केटमा शहीद;
थोकमा शहीद, खुद्रामा शहीद
छुटमा शहीद, भारी छुटमा शहीद
र एकको भाउमा दुई शहिद;
अनुहार नभएको शहीद
अनुहार भएको शहीद
र धेरै अनुहार भएको शहीद;
यो शहीद खेती मौलाएको देशमा-
परीणामको मन्दी छ राजनीतिको बजारमा
शब्दमुद्राको द्रूत अवमूल्यन छ
र भाग्य हेर्नेको सुगाले पनि थुतिरहेछ
दिनमा पाँच-सात शहीद;
यो शहीद खेती मौलाएको देशमा-
बिना ज्याला घोटिईरहेका
शहीद खेतीका खेताला हामी
यो शहीद खेती मात्रै मौलाएको देशका-
खेत हामी, मल-जल हामी
बीऊ हामी, फल हामी
मात्र अदली-बदली छ जमीन्दारहरुको
र शहीद खेती जारी छ
यो शहीद खेती मौलाएको देशमा
शहीद खेती जारी छ!

March 02, 2009

बाँसको पैसा

"नमस्कार हाकीम सा’प!” कमीज-सुरुवाल-इष्टकोटको परिधानमा आएका एकजना बूढा बा भित्र पसे।
“नमस्कार!” गर्मीमा उँघिरहेको हुनाले बूढाको बोलीले नगरपालिकाको हाकीम अलि झस्किएझैं भयो। “भन्नुस् के कुरा हो?” आँखा पनि नऊघारी हाकिम बोल्यो।
“हजुर म---- !“ बूढा अलि अक्मकाए, “मेरो बाँस---!”
“ए तपाईँ फेरि आउनु भो!?” त्यतिखेरसम्म हाकीमले आँखा खोलिसकेको थियो। “कति चोटि भन्ने मैले तपाईँलाई, दिन मिल्दैन भनेर? तपाईँका बाँस कल्ले ल्यायो, हाम्लाई के थाहा? लानेसंग केहि कागत-सागत मागेर राख्नुपर्दैन? त्यसै पैसो पाईन्छ? जानुस्, अब फेरि आउने हैन यहाँ----“ हाकिम झर्कियो र टेबुलको पत्रिका तानेर पढ्न थाल्यो।
“हैन हजुर, नगरपालिकाले दिन्छ भनेका थे लानेले।“
“फेरि त्यहि कुरा! ‘भनेका थे’ भन्दैमा हुन्छ? जिविसमा जानुस्, उनीहरुले दिन्छन् कि?”
“ग’को हो हजुर, त्याँ त झन अफिसै बन्द-----“
“अब के गर्ने त?” बूढाको कुरालाई बीचमै काटेर हाकीम करायो अलि ठूलै स्वरले। “यहाँ बाट दिन मिल्दैन, जल्ले लगेको हो, उसैकाँ जानुस्।“ हाकीम कुर्सीबाट जुरुक्क उठ्यो, कोट तन्याकतुनुक पा-यो, कुर्सीमा राखेको चकटी मिलायो र फेरि पत्रिका तानेर बस्यो। अँध्यारो मुख लगाएर ‍‍‍धुर्वलाल बूढा बाहिर निक्ले।
“दिएन बाजे?” नगरपालिकाको गेटनीर पीउनले सोध्यो।
“दिएन, दिएन। गरीबको पैसो खाए पापीले--- !” बूढालाई कुरा गर्ने मन पटक्कै नभएको थाहा हुन्थ्यो, उनको बोलीबाट। अलिक मास्तिर एउटा चिया पसल थियो, बूढा पसलको एउटा कुनामा गएर बसे र गम्दै चिया पिउन थाले।

बूढाको घर नगरपालिकाको छिमेकी गाऊँमा पर्छ। अब नगरपालिका पनि भन्नुमात्रै हो, उनको गाऊँ जत्तिको पनि छैन। उनकी जेठी छोरीको बिहे भो, तीन भाइ छोरा छुट्टिएर अलग बसे, उनी र बूढी बसेका छन्। बूढीलाई मुटुले दुख दिन थालेको दुई बर्खजति भो। छ-छ महिनामा काठमाडौँ लगेर निकै महँगो ओखती गर्नु पर्छ। त्यसकै भरमा धानिएकी छिन् रे अहिलेसम्म बूढी, डाक्टरले त्यसै भन्थे। बैशाख सकिँदा लानु पर्ने हो यस पालि, पैसाको ब्यबश्था हुन नसक्दा जेठको पनि आधी हुन आँटी सक्यो लान सकेका छैनन्।
चैत लाग्दा-लाग्दाको कुरो हो। बूढा-बूढी खाना खाईसकेर पीँढीमा बसेका थिए।
“क्या हो काका, बाँस कतिमा बेचियो त?” माथ्ला गाऊँको हरिनारान कता जाँदै रहेछ, बाटैबाट करायो।
“के कुरा गर्छ यो? गाहकी भेटिएकै छैनन्, काँ’ट बाँस बेच्नु नि!”
“बाँस काटिराख्या आवाज जस्तो लाग्या थ्यो त मलाई! मान्छेको हल्लाखल्ला पनि सुनेजस्तो लाग्यो। म त तिम्ले बाँस बेचिसकेछौ भन्ठानेर हेर्दै नहेरी आएँ। गईहाल, फेरि सप्पै लगिसक्लान्”। बोल्दा बोल्दै हरिनारान धुर्बलाल बूढाको आँगन कटेर बाटो लाग्यो।
“हे दैव, को चोर पस्यो फेरि?-----“ थामको किलामा झुण्ड्याएको टोपी टाउकोमा हालेर बूढा निक्ले। “तँ नआईज, -----“ बूढी पनि पछि लाग्न खोज्दै थिन् बूढाले रोके।
मज्जाले सप्रेको बाँसघारी थियो बूढाको। धेरै दु:ख गरेर हुर्काएका थिए यो बाँसघारी बूढा-बूढीले।। ‘सात हजार त नाची नाची मोलेर दिन्छ गाहकीले’, भन्थे सबैले। सात हजार नआएर छ हजारमात्रै आईदिए पनि बूढाको धेरै ब्यबहार मिल्ने थियो। सबभन्दा ठूलो त डाक्टरले बोलाएकै बेलामा बूढीलाई काठमाण्डु लगेर उपचार गर्न सकिन्थ्यो। बाँकी बचेकोले पाँच-सात महिनैको नून-तेलमा भरथेग हुन्थ्यो। तर ऐले बाँस चोरी हुन लागेको सुनेपछि बूढाका जीउबाट पसिना छुट्न थालेका थिए।

"हैन त्याँ बाँस काट्नी को हँ?----- तिम्लाई साईँध्वा हो, मैले जान्या छु!” बूढा कराऊँदै डिलबाट बाँसघारीतिर ओरालो हान्निए। पहिला त बूढाले ठम्याइहाल्न सकेनन्, नजिकै पुग्दा देखे उनको बाँसघारीमा हरिया बर्दी लगाएका सिपाहीहरु थिए, दश बाह्र जना। तीमध्ये आधा जसो भकाभक बाँस ढालिरहेका थिए, आधा बन्दूके भने पल्याक-पुलुक वरिपरि हेर्दै घुमिरहेका थिए।
“सवारीमा लान काट्या हो बाँस बाजे, तिम्रा बाँसका’ नी दिन आए---!” यौटा रिकुटेले बूढालाई हियाएजस्तो गरेर बोल्यो। खोलापारी टुँडिखेलमा राजाको सवारी हुने कुरो हिजो माईकले फुक्दै हिँडेको सुनेका थिए उनले पनि।
“सोधखोज मोलतोलै नगरी यसरी अर्काको बाँस काट्दिनु त भएन नी हजुर!” बन्दूके धेरै देखेर बूढा अलि हच्किएर नरम स्वरमा कुरा गर्न थाले।
“बजारभरि राजाको सवारीको गेट बनाउन, मञ्च बनाउन लानी हो, किन सोध्नु प-यो?” अर्को रिकुटे कड्कियो।
बूढालाई झनक्क रिस उठ्यो।
“बरु मलाई मार, तर म यो बाँस लान दिन्न! -----“ बूढा लडाएर थुपारेको बाँसको चाङमाथि गएर पसारो परे। बूढा ठूलो स्वरले कराएको सुनेपछि हातमा एउटा रेडियोजस्तो भाँडो लिएर एक्लै बोल्दै गरेको, हाकिमजस्तो देखिने अर्को बर्दिवाला त्यता आयो।
“के भयो? यो बूढो को नि?”
“यो बाँस यी बाजेको रे साप!” शुरुमा उनीसंग ठट्टा गर्नेले तिनिक्क तन्किएर बोल्यो। “पैसा नदिई लान दिन्न भन्छन्।“
“बाजे, यो बाँस सवारीमा लाने हो। पैसा नगरपालिकाले दिन्छ, पर्सि आइतवार गएर माग्नु, म भन्दिराखौँला।“ हाकिमजस्तोले बूढातिर हेरेर बोल्यो।
“मुखका भरमै पैसा देलान् र हजुर----?“ बूढा बाँसको चाङबाट उठे।
“दिन्छ दिन्छ, किन दिन्न? त्यो लेखेलाई म भन्दिउँला। यताउता सोध्यो भने विक्रम क्याप्टेन सा’पले भन्या भन्नु।“ बूढालाई यति भनेर हाकिम सिपाहीहरुलाई आदेश दिन थाल्यो। “----- ल बाँस उठाएर ले’ र हिँडो। ------।“

बूढाले हेर्दा हेर्दै रिकुटेहरुले एकैछिनमा बाँस ओसारेर सिध्याए। सिपाहीहरु सबै गईसकेपछि हेर्दा हेर्दै नाँगिएको आफ्नो बाँसघारी हेरेर बूढा धेरै बेर टोलाईरहे। ‘सवारी यहि बेला हुनु पर्नी! अनि मर्न नसकेका रिकुटेका आँखा पनि मेरै बाँसमा पर्नु पर्नी!’ तर आफ्नो निधारको पसिना आफ्नै टोपीले पुछेर घर फर्किनु बाहेक बूढासंग कुनै बिकल्प थिएन।
भोलिपल्ट बिहानैबाट टुँडिखेलमा ठूलो रमझम शुरु भयो। दश बजेतिर हेलिकउटर आयो जिल्लै हल्लाउँला जस्तो गरेर र बेस्मारी धूलो उडाऊँदै। अनि बेलून पनि खुब उडाए। माईकको आवाज बूढाको घरसम्म पनि टड्कारै सुनिन्थ्यो। सवारीले टुँडिखेल माथिको बजार पनि घुमेको कुरा पनि बूढाले त्यै माईकबाट सुनेका हुन्।अरु बेला भए बूढा रमिता हेर्न भएपनि पुग्दा हुन्, तर पैसो हातमा नपरीकनै आफ्ना बाँस गायब भएकाले बूढाको मन ठेगानमा थिएन। बरु बूढीले त्यति पिर गरेकी थिईनन्।‘बाँस लानी राजा हुन्, राजाले लगेपछि पनि पैसा नपाउनी हुन्छ, पिर नगर बूढा।‘ भनेर बूढालाई सम्झाइरहन्थिन्।
आईतवारबाट त आन्दोलन पो चर्कियो ए! दिन रात जूलूशै जूलूश! गोलीनै चलेर मान्छे मरेको खवर पनि आयो। नगरपालिकासम्म जाने आँटै गर्न सकेनन् बूढाले।
आन्दोलन सकियो, तर नगरपालिकाको मेयर लेखराम कता भाग्यो कता। राजाको पालाँ निकै चुरीफुरी गरेर धेरै मान्छे थुनाएको थियो, अहिले डराएर भागेछ। मालपोतको हाकिम नगरपालिकाको नया हाकिम भएर आयो भन्ने सुनेपछि बूढा पैसा लिन धाउन थालेका हुन्। पाँचचोटि भयो आजसम्म, दिने नामै लिँदैनन्। बूढा ब्यारेक पनि पुगेका थिए एकचोटि, तर त्यो क्याप्टेनसंग भेट हुनै पाएन। पैसा मिलिहाल्छ कि भनेर बूढा जिविस पनि पुगे। आज पनि पहिला त्यता गएर आएका हुन्। जहिले गएपनि ताल्चा झुण्डेको मात्रै देखिने त्यहाँ त झन्!

चियाको पैसा तिरेर बूढा गाऊँतिरको बाटो उकालो लागे। बाटोमा ब्यारेक पर्थ्यो। ब्यारेक अगाडि बूढी उनलाई कुरेर बसिरहेकी थिइन्।
“क्या’र्न तँ याँ?”
“तिनले पैसा दिँदैनन् भन्नी था’ थ्यो मलाई।“ बूढाले नभनेपनि उनको मलिनो अनुहारबाट बूढीले चाल पाईसकेकी थिईन्। “बरु हिँड एकबाजी फेरि ब्यारेकमा गएर त्यो क्याउटेन हो कि स्याउटेन के जातिलाई भेटौँ।“
बूढा-बूढी ब्यारेकको मूल ढोका तिर लागे। भित्र पस्न नपाईने रहेछ। एकछिन त्यतिकै अल्मलिएपछि त्यो बेलाँ बाँस काट्नेमध्येको एउटा सिपाहीलाई भित्र ढोकाको छेवैमा देखे उनले।
“हजुर यता----, एउटा सानो बिन्ती थ्यो हजुर।“
“के हो? के भयो?” त्यो सिपाहीले आँखीझ्याल जस्तोमा आएर सोध्यो।
“हजुरहरुले हाम्रो वाँस ल्याउनु भ’ थ्यो, पैसा कतैबाट पनि पाइएन। विक्रम क्याउटेन साप हुनुहुन्छ हजुर? क्याउटेन सापले-----“
“ए बाजे तिमी पो! क्याप्टेन साप त काठमाण्डु गइसक्नु भो, अब आउनुहुन्न।“ बूढाको बोली बीचैमा काटेर सिपाही बोल्यो।
“हो र हजुर ----!?” बूढा बिलखबन्दमा परे। “हजुरहरुले भन्दे पनि हुन्थ्यो कि हजुर? हाम्रो त बिचल्लीनै-----“
“खोइ हाम्ले गरेर हुन्न बाजे।–“ भनेर सिपाही ब्यारेकभित्रतिर लाग्यो।
“के को हुन्न? अर्काको बाँस ल्याए’सी पैसा तिर्नुपर्दैन?” बूढि रन्किन थालिन्। “अर्काको बाँस सिँत्तैमा त लाश पर्दा मात्तै लान्छन्। हे पर्भु, हे पर्मेस्सोरी, मेरा बाँस लगेर पैसा नतिर्नीको पनि लाश परोस्, भष्म खरानी होस्---“ बूढीले सरापेको ब्यारेकभित्र कसैले सुन्यो कि सुनेन, तर ब्यारेकको अघिल्तिरका चिया पसलमा बस्ने सबैले अचम्म मानेर हेर्न थाले।
“नकरा, नकरा, हिँड। ---“ बूढीलाई तान्दै घरतिरको बाटो सोझ्याए बूढाले।

“यसै भएन, उसै भएन, माउवादीलाई भन्नी हो कि क्या हो?” एकछिन पछि बूढा आफ्नै सूरमा बोले।
“हुन्न हुन्न हुन्न!” बूढी च्याँठ्ठीइन्। “ती पनि उस्तै हुन्। फेरि औँला दिँदा डुडुल्कै निल्न खोज्छन् ती। लोकेको हाल हेर न वाँ, उठिबास लागो तीनका संगतले गर्दा।”
“हो ठीक भनिस्। उल्टो सवारीमा बाँस दिने राजाको मान्छे हो भनेर खेदो गर्लान् भन्नी डर! काउरेस-झालेमालेलाई भने पनि उहि हो। मनको वह, कसैलाई नकह। पैसा के गर्नी त राजारामकी आमा?”
“छोराहरुसंग मागौँ एकबाजी। म मर्छु नत्र भनेर माग्दा त देलान् नि अलि अलि।“
“के देलान् र? तैपनि भनौँ के रे एकबाजी। आमा होस् तँ। देनन् भने रिनै काटेर भएपनि जाउँला तेरो ओखती गर्न।“
बूढा-बूढी गन्थन गर्दै विस्तारै घरतिर लागे।

अगष्ट २१, २००६
खासुगाई, जापान


******************************************************************************

अब यो कथाकै कथा एकछिन। लेख्नासाथ साझामा टाँसेको थिएँ। त्यसको एक हप्ता पछि WNSO चौतारीमा राखियो यो। अनेसास-जापानले प्रकाशित गर्ने भनिएको "छहारी" कथा-संग्रहका लागि पनि पेश गरिएको थियो, त्यो कथा-संग्रह प्रकाशित भएको छैन अझै। केहि समय पहिला मझेरीपनि गफ दिन पुग्यो यो। अस्तिमात्रै, जापानमा बस्ने नेपाली विद्यार्थीहरुको संगठन नेसाजको नियमित प्रकाशन "नेसाजपत्र" को नयाँ अंकमा पनि संग्रहित छ यो। यो ब्लगमा आज 'इतिहासको ब्याज'को रुपमा झुल्किएको छ यो। शुरु गरिएका विषयहरु अगाडि बढ्नै नसकेपछि यसले काम चलाउँदै छु यसपटकलाई।

कुनै पनि कुरा लेखिसकेपछि तु. टाँस्ने र पछि सच्याउन अल्छी गर्ने मेरो बानी छ। यो कथालाई पनि अझ धेरै राम्रो गर्न सकिन्थ्यो जस्तो लाग्छ अहिले। धेरै अगाडि बढिसक्यो यो, भाषिक त्रुटिबाहेक अरु सच्याउने संभावना छैन अब। यसपछिका रचनाहरु भने टाँस्न हतार नगर्ने र तिनीहरुसंग यथेष्ट 'खेल्ने' प्रण गरेको छु। हेरौं के हुन्छ।