Showing posts with label जापानमा नेपाली. Show all posts
Showing posts with label जापानमा नेपाली. Show all posts

February 23, 2010

नेसाजको Knowledge Transfer Symposium सम्पन्न

NESAJ Symposium on Knowledge Transfer-2010 भब्यताका साथ सम्पन्न भयो। त्यसै कार्यक्रमका केहि झलकहरु राख्ने अनुमति चाहन्छु आज।

कार्यक्रम Nagoya International Center को एउटा हलमा गरिएको थियो र उत्साहजनक सहभागिता रहेको थियो।
   आयोजक समितिका संयोजक र कार्यक्रम सञ्चालक सरोज कँडेल

 
स्वागत भाषण ठोक्दै आयोजक समितिका अध्यक्ष

 
नेसाजका पूर्व अध्यक्ष रिषभ पौडेल

  
गैर-आवासीय नेपाली संगठन (एनआरएनए)-जापानका राष्ट्रिय संयोजक डा. सुदिप अधिकारी

"Different Aspects of Federalism" शिर्षकमा विशेष आमन्त्रित प्रवचन दिँदै वरिष्ठ प्राध्यापक किनहिदे मुसाकोजी

प्रमुख अतिथि महामहिम राजदूत डा. गणेश योञ्जन तामाङ

 
नेसाजका अध्यक्ष एवं उद्घाटन सत्रका सभापति राजेन्द्र पराजुली धन्यबाद ज्ञापनका साथ सत्र समाप्तिको घोषणा गर्दै

उद्धाटन सत्रको प्रमुख आकर्षण प्राध्यापक मुसाकोजीको प्रवचन साँच्चैनै उत्कृष्ट थियो। बिभिन्न बिश्वविद्यालयहरु र राष्ट्रिय-अन्तर्राष्ट्रिय निकायहरुमा फैलिएको प्राध्यापकको पेशागत जीवनको सार भनेपनि हुन्थ्यो ३५ मिनेटको अंग्रेजीमा दिईएको प्रवचनलाई। थोरै टिपोटहरुका भरमा र अलिकति ह्वाइट बोर्डमा लेखेर आफ्ना कुरा राख्नुभएको थियो प्राध्यापकले। 'झिलिमिलि' पावर-प्वाईण्टको जमानामा पनि त्यो बिनै यति सशक्त प्रस्तुति हुन सक्दो रहेछ। मलाई लाग्छ, यो मैले धेरै पछिसम्म सम्झीरहने एउटा प्रवचन हुनेछ।

प्राध्यापकको प्रवचनमा नेपालले अपनाउन लागेको संघीयताका बारेमा उहाँका धारणाहरु थिए मूलत:। कस्तो खाले संघीयता भन्ने कुरामा पश्चिमा वा अरु कसैको पनि प्रेस्कृप्सनलाई हु-बहु पछ्याउनु गलत हुने र नेपालीहरु आफैंले विकास गर्ने मोडेलमात्रै सफल हुने धारणा थियो उहाँको। उहाँका अनुसार नेपालको भू-राजनीतिक र आन्तरिक दुबै स्थिति पूर्व यूगोस्लाभियासंग धैरै मिल्छ। 

प्रवचनबाट जापानकै सामाजिक-राजनीतिक पक्षका नयाँ कुराहरु पनि जान्न पाईयो। जापानका अल्पसंख्यक जाति/समूहहरुमाथि अझसम्म पनि हुने दुर्ब्यबहार र पक्षपातका कुराहरुको बारेमा पनि बोल्नुभएको थियो उहाँले। विगतमा नेपालका दलितजस्तै अपहेलित जापानको अल्पसंख्यक 'बुराकु' (Burakumin) भनिने जातिको हुनुहुँदोरहेछ प्रोफेसर र उहाँका अनुसार कानूनी बिभेद नदेखिएपनि जापानी समाजमा उनीहरुलाई गरिने ब्यबहार अझै पनि राम्रो छैन। रोजगारी र सामाजिक जीवनमा अझै पनि प्रशस्त बिभेद देख्न सकिने रहेछ। नेपालको दलित आन्दोलनसंग पनि सम्बद्ध हुनुहुँदोरहेछ प्राध्यापक। नेपालबारेको उहाँको जानकारी साँच्चैनै विस्तृत र गहन थियो।

त्यसपछिका दुई सत्रहरुमा एकजना नेपालविज्ञ जापानी प्राध्यापक र जापानमा अध्ययन/अनुसन्धानरत छ नेपाली विद्यार्थीहरुले आफ्ना पेपरहरु प्रस्तुत गर्नुभएको थियो। 

 
Introduction to Fiber Optic Communication and Status in Nepal शिर्षकको आफ्नो प्रस्तुतिका साथ मधुसुदन कायस्थ

 
An Introduction to Early Childhood Development (ECD) Program in Japan शिर्षकमा सोविता कोइराला
  
Community Based Rehabilitation in Nepal:Challenge for Inclusive Society शिर्षकमा नेपालका अपाङ्गहरुको सामाजिक/आर्थिक स्थितिको बारेमा प्रस्तुति दिँदै Hamamatsu University-Japan Nepal Educational Cooperative Society का प्राध्यापक मासायुकी वातानाबे ( उहाँले केहि वर्ष नेपालमा काम गरिसक्नुभएको रहेछ र उहाँ सरल नेपाली बुझ्नुहुँदोरहेछ।)

Effects of FRP Reinforcements on the Buckling and Reduced Stiffness Criteria of Compressed Steel Cylinders शिर्षकमा आफ्नो अनुसन्धान परिणाम प्रस्तुत गर्दै कृष्ण कुमार भेटवाल

Possibility of Technology Transfer to Nepal शिर्षकमा आफ्नो Carbon Solar Cell बारेको अनुसन्धानमा आधारित प्रस्तुति दिँदै ईश्वर खत्री

  
Smart Contractor: A distributed Task Assignment System Based on the Simple Contact Net Protocol शिर्षकका साथ आफ्नो संलग्नतामा विकसित एक सफ्टवयेर प्रोग्रामको बारेमा जानकारी दिँदै बिपिन खनाल
 
 Potential and Problems in the Development of Micro-Hydro in Nepal विषयक प्रस्तुतिमा होम प्रसाद अधिकारी
 
कार्यक्रमको अन्त्यमा जापानमा रहेका नेपाली विद्यार्थीहरुको बारेमा बनाईएको एउटा डकुमेण्ट्री देखाउने तयारी गर्दै सरोज कँडेल 

 
ब्यबश्थापनमा ब्यस्त विमल अधिकारी

कार्यक्रम सफल बनाउन योगदान दिनुहुने पेपर प्रस्तुतकर्ताहरु, विशिष्ट अतिथिहरु र सम्पूर्ण सहभागीहरुलाई हार्दिक धन्यबाद! कार्यक्रम समापनको घोषणा गर्दै आयोजक समितिका अध्यक्ष वसन्त गौतम

र अरु तीन सामूहिक झलक;



साँझ ओजोनेको म्याग्दी नेपाली रेष्टूरेण्टमा भएको रमाईलोको कुरो त बेग्लै छँदैछ:))

February 19, 2010

'नेसाज'को Knowledge Transfer Symposium


आज आफ्नो पनि संलग्नतामा आयोजना हुन गईरहेको एउटा कार्यक्रमको प्रसंगमा छोटो कुरा गर्ने अनुमति चाहन्छु।

जापानमा रहेका नेपाली विद्यार्थीहरुको छाता संगठन छ, नेपाली विद्यार्थी समाज, जापान (Nepalese Students' Association in Japan)। छोटकरीमा यसलाई NESAJ (नेसाज) भनेर पुकार्छौं हामी। जापानमा रहेका नेपाली विद्यार्थीहरु र (मूलत: जापानमा कार्यरत) भूतपूर्व नेपाली विद्यार्थीहरुलाई एकताबद्ध पार्ने, आपसी अन्तर्कृयाका माध्यमबाट ज्ञान/सीप आदानप्रदान गर्ने र बिभिन्न माध्यमबाट नेपालको विकासमा योगदान पु-याउने उद्देश्य बोकेको यो संस्था सन् १९९७ देखि जापानमा कृयाशील छ।

नेसाजका बारेमा थप जानकारी तपाईँ यसको गृहपृष्ठ बाट प्राप्त गर्न सक्नुहुन्छ।

नेसाजले नियमित रुपले बिभिन्न गतिबिधिहरु सञ्चालन गर्छ। यिनै विविध गतिबिधिहरुमध्ये एउटा NESAJ Symposium on Knowledge Transfer हो। यसपालिको कार्यक्रम नागोयामा हुँदैछ, पर्सि आइतबार (फेब्रुअरी २१) बिहान ११ बजेबाट। आयोजक समितिको अध्यक्षका रुपमा म पनि संलग्न छु।

यो Symposium जापानका लागि नेपाली राजदूत महामहिम डा. गणेश योञ्जन तामाङको प्रमुख आतिथ्यमा सम्पन्न हुँदैछ। तोयोहाशी बिश्वविद्यालयका नेपालविज्ञ प्राध्यापक मासायुकी वातानाबे र जापानमा अध्ययन/अनुसन्धानरत ६ नेपाली विद्यार्थीहरुले बिभिन्न विषयमा कार्यपत्र पेश गर्ने कार्यक्रम रहेको छ। साथै विशेष आमन्त्रित बक्ताका रुपमा Osaka University of Economics and Law का वरिष्ठ प्राध्यापक किनहिदे मुसाकोजीले  "संघीयताका बिभिन्न पक्षहरु" शिर्षकमा प्रवचन दिनुहुनेछ।

कार्यक्रममा सक्दो सहभागिता जनाईदिनुहुन सबैमा हार्दिक अनूरोध र निमन्त्रण पनि गर्न चाहन्छु यो टाँसोको माध्यमबाट। जापान बाहिरका साथीहरुलाई सम्भव नहोला पक्का पनि, तर यहि निहुँमा गृहपृष्ठका माध्यमबाट नेसाज र आगामी कार्यक्रमका बारेमा केहि जानकारी भने लिनुहुनेछ भन्ने आशा गरेको छु। 

बाँकी कुरा कार्यक्रम पछिका लागि थाती राख्दैछु:)

तपाईँको सप्ताहान्त सुखद रहोस्!

September 23, 2009

ओलीको बोलीको गोली

एमाले नेता केपी ओली जापानमा थिए केहि दिन। नागोयमा पनि उनीसंग अन्तर्कृया कार्यक्रमको आयोजना भएको थियो, १९ तारीख शनिबार साँझ। त्यो कार्यक्रममा भाषणबाजी बढी र वास्तविक अन्तर्कृया (प्रश्नोत्तर) कम भयो भनेर भोलिपल्ट बिहानको कार्यक्रम (पूर्व-योजना अनुसार जुन एमाले-जापानको कार्यकर्ता-प्रशिक्षण थियो) मा पनि सबैलाई  डाकिएको थियो। आईतवार गुँड सर्ने मेसोमा थिएँ, त्यसैले जाने कुरो भएन। गुँड नसर्ने भएपनि नेताका उनै पुराना कुरा सुन्न नजानका लागि कुनै बहाना त खोज्नेनै थिएँ, निम्तो दिने साथीहरुको निम्तो टार्न, गुँडका कारण 'झूटो' बोल्न परेन:)

केपी ओलीका बारेमा मेरो जानकारी कम छ। आफ्नो सीमित बुझाईका आधारमा, केपी ओलीको तुलनात्मक स्पष्टवादिता मलाई मन पर्छ। उनको स्पष्टवादिताकै कारण माओवादी उनीमाथि खनिएर लागेको छ सधैं। एमालेभित्रका 'माओवादी केन्द्रीय नेता' वामदेवझैं माओवादीका सामु 'त्वं शरणं' नगरेका र झलनाथलेझैं जटिल र अमूर्त शैलीमा चेपारे कुरा नगर्ने हुँदा माओवादीलाई केपी ओली मन नपर्नु स्वाभाविक हो।

केपी ओली र त्यो पुस्ताका नेताहरुले संघर्ष गरेका पक्कै हुन् र आफ्नो ब्यक्तिगत जीवनको एउटा लामो चरणलाई बलिदान गरेकै हुन् तर देश संघर्ष र संक्रमणको चरणबाट अझै पार हुन सकेको छैन। स्थिति उल्टो झन्-झन् गम्भिर हुँदैछ। स्पष्ट भएर भन्नुपर्दा, त्यो पुस्ताको नेतृत्व अथवा अहिलेको राजनीतिको केन्द्रमा जो-जो छन्, उनीहरुलाई सफल भन्न सकिने दिन अझै आएको छैन। भन्न त कत्रा-कत्रा क्रान्ति ग-यौं, राजा फ्याँक्यौं, यो ग-यौं र त्यो ग-यौं भन्लान् तर राजनीतिक परीवर्तन मात्रै हुँदैमा केहि हुने होईन; जनताको पेट भरिने पनि होईन, देश निर्माणको चरणमा जाने पनि होईन र जनताले सम्मानजनक जीवन बाँच्न पाउने पनि होईन। राजनीतिक परीवर्तन र कथित क्रान्तिहरुले जबसम्म शान्ति, आर्थिक विकास र निर्माणको चरणमा देशलाई लान सक्दैनन् तबसम्म तिनको केहि अर्थ हुँदैन, चाहे ती जतिसुकै चर्का र कर्णप्रिय नाराका खोल ओढेर सम्पन्न भएका किन नहुन्।    

खैर यी कुरा छोडौं र लागौं कार्यक्रमतिरै। लगभग दुई-घन्टा लामो कार्यक्रममा जापानवासी नेपालीका तर्फबाट बोल्ने केहि साथीहरुमध्ये म पनि एउटा थिएँ। बोल्नुपर्ला भन्ने मलाई लागेको थिएन, त्यसैले तयारी पनि थिएन। बढीमा तीन चार मिनेट खोकें हुँला मैले। सबै नेपालीझैं देशको बिग्रँदो स्थितिप्रतिको चिन्ता र खबरदारी सुनाउने न हो नेताहरुलाई!

केपी ओलीजीको भाषणको बारेमा म कुरा नगरौं, ईच्छा छ भने यहाँ गएर पढ्न सक्नुहुन्छ केहि विवरण। 'ईच्छा छ भने' किनभने नेताहरुका भाषण सुनी-सुनी तपाईँहरुको कान पाकिसकेको हुनसक्छ:) ब्यक्तिगत रुपमा भने मलाई यो भाषण राम्रै र तर्कपूर्ण लागेको हो।

भाषणबाजीपछि सहभागीबाट आएका दुईटा प्रश्नको उत्तर पनि दिएका थिए ओलीले। पहिलो प्रश्न नेता  ओलीले आफ्नो भाषणमा ब्यक्त गरेको "बन्द-हड्तालजस्ता कुरालाई प्रतिबन्धनै नलगाई नेपाल बन्दैन" भन्ने बिचारसंग सम्बन्धित थियो। प्रश्नकर्ता साथीको प्रश्न एकदम सटीक र आवश्यक थियो; "त्यसो हो भने एमालेले आफूले अब बाट बन्द-हड्ताल नगर्ने प्रतिबद्धता देखाऊँछ त? र आफ्ना कार्यकर्ताहरुलाई त्यसै अनुसारको कडा निर्देशन दिन्छ त?"। यो प्रश्नको अत्यन्त अमूर्त र दार्शनिक जवाफ मात्र पाईयो-चीन-भियतनामको प्रसंग मिसिएको एउटा लामै ब्याख्यान। नेताज्यूको उत्तर सकिएपछि मैले फेरि मूल प्रश्न  "त्यसो हो भने एमालेले आफूले अब बाट बन्द-हड्ताल नगर्ने प्रतिबद्धता देखाऊँछ त? र आफ्ना कार्यकर्ताहरुलाई त्यसै अनुसारको कडा निर्देशन दिन्छ त?" नेताज्यूलाई सम्झाएँ र एमालेले विगतमा गरेको बन्द-हड्ताल-तोडफोड, अझ अस्तिमात्रैको त्रि-चन्द्रको गोली-काण्ड पनि सम्झाएँ। नेताज्यूको जवाफ अनुसार विगतमा एमालेले गरेका बन्द-तोडफोड आदि, शान्तिपूर्ण आन्दोलनलाई सरकारले नसुनेपछि र दमनमा उत्रिएपछि बाध्य भएर अन्तिम विकल्पको रुपमा गरिएका हुन् रे! यस्तो तर्क सबै नेता र दलले - छुट्टै देश माग्ने गोईत र ज्वाला सिंहसमेतले दिन्छन्। यो सबैलाई थाहा भएकै कुरो हो कि आफू बलियो भएको बेला ताण्डव-नृत्य देखाउन एमाले कोहिभन्दा कम छैन र बन्द-तोडफोड गर्न र आन्दोलनको शुरुवातनै रेलिङ्ग भाँचेर गर्न एमाले कार्यकर्ताहरु पोख्त छन्। त्रि-चन्द्रको गोलीकाण्डको बारेमा भने नेताज्यूको यस्तो प्रतिकृया थियो, "अचेल सबै नेपालीले कुनै न कुनै दलसंग आफूलाई जोडेका हुन्छन्, कोहि माओवादी, कोहि कांग्रेस, कोहि एमाले, कोहि फोरम आदि। त्रि-चन्द्रमा गोली काण्ड मच्चाउने मध्येको कोहिले आफूलाई एमाले भन्यो होला, तर एमाले कार्यकर्ताले त्यो काण्ड मच्चाएको होईन।" यो पनि हामी झुक्किन्छौं भनेर फ्याँकिएको एउटा अर्को 'बाठो' तर्क बाहेक केहि पनि होईन। बन्द-हड्ताल नगर्ने एमालेको भावी 'नीति(?)' को बारेमा एउटा झिनो प्रतिबद्धता भने झ-यो यस पटक। तर ब्यबहारमै नदेखी कसले पत्याऊँछ?!

अर्को एउटा प्रश्नमा माओवादीले शुरु गरेको 'झण्डा फेर्ने राग' को बारेमा नेताज्यूको ब्यक्तिगत धारणा सोधिएको थियो; स्पष्ट असमहतिको जवाफ आयो।

साँझ सात बजेपछि ओलीज्यू नागोयाका मेयरद्वारा आयोजित रात्रिभोजमा जानुपर्ने हुँदा कार्यक्रम सकियो।

हाम्रो 'रात्रिभोज' चाहिँ कार्यक्रम भएकै पूजा नेपाली रेष्टूरेण्टमा 'भब्यताका साथ' सम्पन्न भयो:)

यो 'रात्रिभोज'मा मेरो राजनीतिक (दलीय) आस्थाका बारेमा पनि अलि-अलि कुरा निकाले केही हितैषी साथीहरुले। धेरै पटक यस्तै भएपछि मलाई झोंक चल्न थालेको छ अचेल:) अस्कलको विद्यार्थीको रुपमा जिन्दगीका पौने-तीन वर्ष जसको घोडा भएर हिँडेपनि विगत १७ वर्ष यता म नेपालका कुनै पनि दलको घोडा होईन र म आफ्नो विवेक र चेतनाका आधारमा विश्लेषण र कसैको समर्थन वा विरोध गर्ने एउटा सामान्य नेपाली मतदाता हुँ। मलाई के लाग्छ भने कुनै पनि ब्यक्तिमा राजनीतिक सचेतता हुनु अति जरुरी छ, तर सबै मान्छे कुनै दलको घोडै हुनुपर्छ भन्ने जरुरी छैन।

म के हुँ-किन हुँ र के होईन-किन होईन भनेर अस्कल कालदेखि हालसम्मका कुरा खोतलेर एउटा टाँसो हान्दिऊँ जस्तो झोंकले पनि जरा गाडेको छ मनमा:)
 

August 24, 2009

ब्लगले पनि तीज मनायो:)

अचेल सधैं पाँच दिनमा केहि न केहि टाँस्ने गरिएको यो ब्लग यस पटक हप्ते हुन पुग्यो। नयाँ कुरा लेख्न नभ्याएपनि 'अड्को-पडको तेलको धूप" गर्न भनेर राखिएका कुरा थिए, झण्डै टाँसिसकेको पनि थिएँ; तर जता हेर्यो उतै, जे पढ्यो त्यतै तीजकै कुरा मात्र। यस्तो बेलामा अरु कुरा राख्दा अप्रासंगिक होला भनेर ब्लगलाई पनि माईत पठाईदिएँ मैले, तीज मनाउन:) गफै त हो:)

यस पटकलाई नागोयाको तीज कार्यक्रमका केहि तस्बीरहरु।






July 22, 2009

ईञ्जिनियर दिवस-२००९

गत शनिवार (जुलाई १८) को दिनभरि म क्योटोमा थिएँ। यो वर्षको "ईञ्जिनियर दिवस" को उपलक्षमा नेपाल ईञ्जिनियर्स एशोसिएसन-जापान केन्द्रले आयोजना गरेको एउटा विचार गोष्ठीमा सहभागी हुन क्योटो विश्वविद्यालय पुगेको थिएँ म।

नेपाल ईञ्जिनियर्स एशोसिएसनको स्थापना भएको दिन श्रावण ३ लाई 'ईञ्जिनियर दिवस'(Engineers' Day)का रुपमा मनाईन्छ। जापानमा हामीले पोहरबाट मनाउन थालेका हौं। पोहरको कार्यक्रमको बारेमा यहाँ पढ्न सक्नुहुन्छ

यसपाली दुई वटा कार्यक्रम भए। दोश्रो कार्यक्रम जुलाई १९ मा टोकियोमा भयो। टोकियोको कार्यक्रममा सहभागी हुने मेसो मिलेन। क्योटोको कार्यक्रमका केहि तस्बीरहरु राख्दैछु आज।

"Flood Estimation Techniques and Issues in Nepal" शिर्षकको आफ्नो पेपर प्रस्तुत गर्नुहुँदै विनय कुमार मिश्रजी।









"Photochemical Oxidation of Pharmaceuticals and Personal Care Products (PPCPs) in Mixed Aqueous Solution Using Low Pressure UV Lamp and H2O2" शिर्षकमा आफ्नो अनुसन्धानका केहि परिणामहरु राख्दै रवीन्द्र राज गिरि दाइ।



सानो 'ब्रेक'को गफगाफ।














नेत्र प्रकाश भण्डारी दाइ आफ्नो प्रस्तुति "Coupling Hazard Management and Sustainable Development:Role of Engineering Education and Engineers in Nepal" राख्दै।






"Numerical Simulation of Unsteady Storm Storage into Granular Road Sub-base for Sustainable Urban Drainage" शिर्षकमा आफ्नो अनुसन्धानको प्रगति राख्दै बिदुर घिमिरेजी।




"Sediment Disasters and their Countermeasures as Sabo Technologies in the Context of Nepal" शिर्षकमा आफ्नो अनुसन्धान बारे प्रकाश पार्दै बद्रीभक्त श्रेष्ठजी।






"संविधान लेखन र त्यसभन्दा पर:नेपाली राजनीतिका संभावनाहरु र ईञ्जिनियरहरुले खेल्न सक्ने सकारात्मक भूमिका" का बारेमा आफनो मन्तब्य राख्दै भाष्कर गौतमजी।







क्योटो विश्वविद्यालयको प्रमुख 'आइकन'का अगाडि सामूहिक तस्बीर।












साँझको खाना एउटा नेपाली रेष्टूरेण्टमा।













क्योटो र टोकियोका कार्यक्रमहरुका बारे जापानबाट संचालित नेपाली समाचार पोर्टल "समुद्रपारी"मा राखिएको समाचार यहाँ क्लिक गरेर पढ्न सक्नुहुन्छ। यी कार्यक्रमहरुमा प्रस्तुत गरिएका सामाग्रीहरु केहि समय पछि नेपाल ईञ्जिनियर्स एशोसिएसन-जापान केन्द्रको गृह-पृष्ठ http://www.neajc.org मा पनि राखिनेछन्।

July 13, 2009

भानु-जयन्ती २०६६


आदिकवि भानुभक्तमा हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्न चाहन्छु!
************************************************

भानु-जयन्ती नागोयामा, सबैको कार्यब्यस्ततालाई ध्यानमा राख्दै एक दिन पहिलेनै, हिजो मनाईयो। कार्यक्रमका आयोजक थिए अनेसास-जापान र एनआरएन-जापानको तोकाई-होकुरिकु शाखा। गीत र नृत्यहरु र कलाकार बिनोद बूढाथोकीज्यूका चित्र प्रदर्शनीसमेतले गर्दा कार्यक्रमले पूर्ण साँस्कृतिक परिवेश पाएको थियो। साथमा विगत केहि वर्षदेखि जापानमा नेपाली लोक-संगीत, लोक-बाजाहरुको प्रचार-प्रसारमा संलग्न संस्कृतिकर्मी मन बहादुर थापाज्यूलाई सम्मान पनि गरिएको थियो।

२२ वर्ष पहिला स्कूल छोडेपछि आफू प्रत्यक्ष सहभागी भएर मनाएको पहिलो भानु-जयन्ती कार्यक्रम थियो यो मेरा लागि।

यस्ता कार्यक्रमहरुको आफनो एउटा पवित्र उद्देश्य त भई नै हाल्छ, साथमा पुराना साथीहरु भेटिने र नयाँ चिनजान हुने मेसो पनि मिल्छ। कुमार सिंखडाजी र अनेसास जापानका साथीहरु दिनेश राज ज्ञवालीजी, आलोक चालिसेजी, प्रकाश पौडेल 'माइला'जी र गंगा घिमिरेजी टोकियोबाट आउनुभएको थियो। कुमारजीसंग बेलाबखत भेट भईरहन्छ, दिनेशजीसंग पोहर एक पटक टोकियोमा एनआरएनको कार्यक्रममा भेट भएको थियो, आलोकजी, 'माइला'जी र गंगाजीसंग हिजो पहिलो पटक भेट भएको हो। ब्लगको माध्यमबाट एक-डेढ वर्ष पहिलेनै चिनजान भएका र नागोयामै बस्ने भाइ फुरी शेर्पासंग पनि हिजै पहिलोचोटि भेट भयो।

कार्यक्रमको प्रमुख अतिथि हुनुहुन्थ्यो प्रसिद्ध भाषाविद्,समालोचक प्राध्यापक डा. माधव प्रसाद पोखरेल। उहाँ जापानको कोबे विश्वविद्यालयमा नेपाली र जापानी भाषाको केहि पक्षविशेषका बारेमा तुलनात्मक अध्ययन-अनुसन्धान गरिरहनु भएको रहेछ। उहाँजस्ता विद्वान र भद्र ब्यक्तित्वसंग चिनजान गर्न पाउनु पनि हाम्रो सौभाग्यनै हो।

कार्यक्रमलाई साहित्यिक र सांगीतिक दुई भाग गरेर संचालन गर्ने योजना थियो। साहित्यिक कार्यक्रम रचना-वाचनको बीच-बीचमा अतिथिका मन्तब्यहरु राखेर संचालन गरिएको थियो। गायक साथीहरु चाँडै फर्किनुपर्ने कारण रचना-वाचनकै बीचैमा दुई गीतहरु पनि प्रस्तुत गरिए।

वाचन गरिएका रचनाहरु सबै एक से एक सुन्दर र उत्कृष्ट थिए। नागोयमा एउटा गतिलो नेपाली साहित्यिक माहौल बन्न आवश्यक 'पूर्वाधार' सबै रहेछन्, यस्तै कार्यक्रमहरुको मात्रै अभाव रहेछ। एक-दुई महिनाको अन्तर राखेर नियमित साहित्यिक जमघट गर्न सकिने संभावना देखायो हिजोको कार्यक्रमले।

स्थानीय प्रतिभा बाहेक ई-मेलबाट प्राप्त दुई-तीन रचनाहरु र एउटा प्रकाशित कृतिका केहि हाईकूहरु पनि पढेर सुनाईएका थिए।

मैले अचेल सुन्दै आएको छु, 'नेपाली साहित्यमा आजभोलि गजलको बाढीनै आएको छ।'। हिजोको कार्यक्रमले पनि ठ्याक्कै त्यहि बताऊँथ्यो। पाठ गरिएका रचनाहरुको तीन चौथाई भन्दा बढी गजलहरुनै थिए। नेपाली भाषामा गजल विधाका कृतिहरु अझै कमै भएकोले यो राम्रै कुरा हो। यो 'बाढी'ले नेपाली भाषामा अझ मिठास थप्नेछ र हाम्रो भाषाको गेयात्मक सौन्दर्यको अझ परिष्कार गर्नेछ भन्ने लाग्छ मलाई। तर यो 'बाढी'ले साहित्यका अरु विधामा खडेरी नल्याओस् भनेर चाहिँ सचेत हुनैपर्छ।

श्रोता/दर्शकको उपस्थिति राम्रो थियो तर साहित्यिक रचना पाठ भईरहेका बेलामा भने हल्ला पनि अलि बढीनै हुन्थ्यो र बिहेभोजको झलक आऊँथ्यो कहिलेकाहिँ। गीत अथवा नाचको बेलामा भने हल्ला लगभग हुँदै-हुँदैनथ्यो। यो कुरालाई प्रमुख अतिथिज्यूले पनि आफ्नो मन्तब्यमा निकै ब्यंग्यात्मक शैलीमा औंल्याउनुभएको थियो।

मलाई एउटा सहभागीका रुपमा रचना पाठ गर्ने वा बढीमा एउटा मन्तब्यसम्म दिने मन थियो तर कार्यक्रमको सभापति बन्ने अनूरोध प्राप्त भयो। सभापतिका रुपमा औपचारिक कार्यक्रमको अन्त्य गर्नुपर्ने बेलामा त्यति बोल्न मन लागेन, ढिलो भईसकेको थियो। धेरै बोल्नु भनेको आफैंलाई र अरु सबैलाई पनि यातना दिए जस्तो हुने थियो। नेपाली भाषाको ब्लगहरुको स्थितिका बारेमा मन्तब्य दिन र रचना पाठ गर्न अनूरोध गर्नुभएको थियो कार्यक्रमका उद्घोषकले। नेपाली भाषाका ब्लगहरुको स्थितिलाई एकदमै छोटकरीमा भ्याएर आफ्ना दुई गजल पाठ गरें मैले; "तिम्रो ठेगाना" र "आज फेरि सपनीमा देश देखें"।
******************************************************
जापानबाट सञ्चालित एक समाचार पोर्टल 'समुद्रपारी'मा यस बारेमा समाचार आईसकेको रहेछ। समाचार कसले लेख्यो कुन्नि, ब्यापक अशुद्धि भएको त्यो समाचारमा मलाई कार्यक्रम आयोजक समितिको संयोजक पनि भनिएको रहेछ। संयोजक म थिईँन, सल्लाहकारमात्रै थिएँ। अर्कोतिर, मलाई साहित्यिक गतिबिधिका कुरामा आफ्नो नामको अगाडि 'डा.' जोडिएको बिल्कूलै चित्त बुझ्दैन। गुनासो गरौं भने पनि "यति सानो कुरामा---" भन्लान् साथीहरुले भन्ने डर।

कार्यक्रममा वाचित रचनाहरु अनेसास-जापान वा अन्य कुनै माध्यमबाट अनलाईन भएपछि यहाँ पनि लिंक राख्नेनैछु, अहिलेलाई यतिनै।