February 23, 2010
नेसाजको Knowledge Transfer Symposium सम्पन्न
February 19, 2010
'नेसाज'को Knowledge Transfer Symposium
नेसाजका बारेमा थप जानकारी तपाईँ यसको गृहपृष्ठ बाट प्राप्त गर्न सक्नुहुन्छ।
नेसाजले नियमित रुपले बिभिन्न गतिबिधिहरु सञ्चालन गर्छ। यिनै विविध गतिबिधिहरुमध्ये एउटा NESAJ Symposium on Knowledge Transfer हो। यसपालिको कार्यक्रम नागोयामा हुँदैछ, पर्सि आइतबार (फेब्रुअरी २१) बिहान ११ बजेबाट। आयोजक समितिको अध्यक्षका रुपमा म पनि संलग्न छु।
September 23, 2009
ओलीको बोलीको गोली
साँझ सात बजेपछि ओलीज्यू नागोयाका मेयरद्वारा आयोजित रात्रिभोजमा जानुपर्ने हुँदा कार्यक्रम सकियो।
हाम्रो 'रात्रिभोज' चाहिँ कार्यक्रम भएकै पूजा नेपाली रेष्टूरेण्टमा 'भब्यताका साथ' सम्पन्न भयो:)
यो 'रात्रिभोज'मा मेरो राजनीतिक (दलीय) आस्थाका बारेमा पनि अलि-अलि कुरा निकाले केही हितैषी साथीहरुले। धेरै पटक यस्तै भएपछि मलाई झोंक चल्न थालेको छ अचेल:) अस्कलको विद्यार्थीको रुपमा जिन्दगीका पौने-तीन वर्ष जसको घोडा भएर हिँडेपनि विगत १७ वर्ष यता म नेपालका कुनै पनि दलको घोडा होईन र म आफ्नो विवेक र चेतनाका आधारमा विश्लेषण र कसैको समर्थन वा विरोध गर्ने एउटा सामान्य नेपाली मतदाता हुँ। मलाई के लाग्छ भने कुनै पनि ब्यक्तिमा राजनीतिक सचेतता हुनु अति जरुरी छ, तर सबै मान्छे कुनै दलको घोडै हुनुपर्छ भन्ने जरुरी छैन।
म के हुँ-किन हुँ र के होईन-किन होईन भनेर अस्कल कालदेखि हालसम्मका कुरा खोतलेर एउटा टाँसो हान्दिऊँ जस्तो झोंकले पनि जरा गाडेको छ मनमा:)
August 24, 2009
ब्लगले पनि तीज मनायो:)
अचेल सधैं पाँच दिनमा केहि न केहि टाँस्ने गरिएको यो ब्लग यस पटक हप्ते हुन पुग्यो। नयाँ कुरा लेख्न नभ्याएपनि 'अड्को-पडको तेलको धूप" गर्न भनेर राखिएका कुरा थिए, झण्डै टाँसिसकेको पनि थिएँ; तर जता हेर्यो उतै, जे पढ्यो त्यतै तीजकै कुरा मात्र। यस्तो बेलामा अरु कुरा राख्दा अप्रासंगिक होला भनेर ब्लगलाई पनि माईत पठाईदिएँ मैले, तीज मनाउन:) गफै त हो:)
यस पटकलाई नागोयाको तीज कार्यक्रमका केहि तस्बीरहरु।
July 22, 2009
ईञ्जिनियर दिवस-२००९
गत शनिवार (जुलाई १८) को दिनभरि म क्योटोमा थिएँ। यो वर्षको "ईञ्जिनियर दिवस" को उपलक्षमा नेपाल ईञ्जिनियर्स एशोसिएसन-जापान केन्द्रले आयोजना गरेको एउटा विचार गोष्ठीमा सहभागी हुन क्योटो विश्वविद्यालय पुगेको थिएँ म।
नेपाल ईञ्जिनियर्स एशोसिएसनको स्थापना भएको दिन श्रावण ३ लाई 'ईञ्जिनियर दिवस'(Engineers' Day)का रुपमा मनाईन्छ। जापानमा हामीले पोहरबाट मनाउन थालेका हौं। पोहरको कार्यक्रमको बारेमा यहाँ पढ्न सक्नुहुन्छ।
यसपाली दुई वटा कार्यक्रम भए। दोश्रो कार्यक्रम जुलाई १९ मा टोकियोमा भयो। टोकियोको कार्यक्रममा सहभागी हुने मेसो मिलेन। क्योटोको कार्यक्रमका केहि तस्बीरहरु राख्दैछु आज। "Flood Estimation Techniques and Issues in Nepal" शिर्षकको आफ्नो पेपर प्रस्तुत गर्नुहुँदै विनय कुमार मिश्रजी।
"Photochemical Oxidation of Pharmaceuticals and Personal Care Products (PPCPs) in Mixed Aqueous Solution Using Low Pressure UV Lamp and H2O2" शिर्षकमा आफ्नो अनुसन्धानका केहि परिणामहरु राख्दै रवीन्द्र राज गिरि दाइ।
सानो 'ब्रेक'को गफगाफ।
नेत्र प्रकाश भण्डारी दाइ आफ्नो प्रस्तुति "Coupling Hazard Management and Sustainable Development:Role of Engineering Education and Engineers in Nepal" राख्दै।
"Numerical Simulation of Unsteady Storm Storage into Granular Road Sub-base for Sustainable Urban Drainage" शिर्षकमा आफ्नो अनुसन्धानको प्रगति राख्दै बिदुर घिमिरेजी।
"Sediment Disasters and their Countermeasures as Sabo Technologies in the Context of Nepal" शिर्षकमा आफ्नो अनुसन्धान बारे प्रकाश पार्दै बद्रीभक्त श्रेष्ठजी।
"संविधान लेखन र त्यसभन्दा पर:नेपाली राजनीतिका संभावनाहरु र ईञ्जिनियरहरुले खेल्न सक्ने सकारात्मक भूमिका" का बारेमा आफनो मन्तब्य राख्दै भाष्कर गौतमजी।
क्योटो विश्वविद्यालयको प्रमुख 'आइकन'का अगाडि सामूहिक तस्बीर।
साँझको खाना एउटा नेपाली रेष्टूरेण्टमा।
क्योटो र टोकियोका कार्यक्रमहरुका बारे जापानबाट संचालित नेपाली समाचार पोर्टल "समुद्रपारी"मा राखिएको समाचार यहाँ क्लिक गरेर पढ्न सक्नुहुन्छ। यी कार्यक्रमहरुमा प्रस्तुत गरिएका सामाग्रीहरु केहि समय पछि नेपाल ईञ्जिनियर्स एशोसिएसन-जापान केन्द्रको गृह-पृष्ठ http://www.neajc.org मा पनि राखिनेछन्।
July 13, 2009
भानु-जयन्ती २०६६

आदिकवि भानुभक्तमा हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्न चाहन्छु!
************************************************
भानु-जयन्ती नागोयामा, सबैको कार्यब्यस्ततालाई ध्यानमा राख्दै एक दिन पहिलेनै, हिजो मनाईयो। कार्यक्रमका आयोजक थिए अनेसास-जापान र एनआरएन-जापानको तोकाई-होकुरिकु शाखा। गीत र नृत्यहरु र कलाकार बिनोद बूढाथोकीज्यूका चित्र प्रदर्शनीसमेतले गर्दा कार्यक्रमले पूर्ण साँस्कृतिक परिवेश पाएको थियो। साथमा विगत केहि वर्षदेखि जापानमा नेपाली लोक-संगीत, लोक-बाजाहरुको प्रचार-प्रसारमा संलग्न संस्कृतिकर्मी मन बहादुर थापाज्यूलाई सम्मान पनि गरिएको थियो।
२२ वर्ष पहिला स्कूल छोडेपछि आफू प्रत्यक्ष सहभागी भएर मनाएको पहिलो भानु-जयन्ती कार्यक्रम थियो यो मेरा लागि।
यस्ता कार्यक्रमहरुको आफनो एउटा पवित्र उद्देश्य त भई नै हाल्छ, साथमा पुराना साथीहरु भेटिने र नयाँ चिनजान हुने मेसो पनि मिल्छ। कुमार सिंखडाजी र अनेसास जापानका साथीहरु दिनेश राज ज्ञवालीजी, आलोक चालिसेजी, प्रकाश पौडेल 'माइला'जी र गंगा घिमिरेजी टोकियोबाट आउनुभएको थियो। कुमारजीसंग बेलाबखत भेट भईरहन्छ, दिनेशजीसंग पोहर एक पटक टोकियोमा एनआरएनको कार्यक्रममा भेट भएको थियो, आलोकजी, 'माइला'जी र गंगाजीसंग हिजो पहिलो पटक भेट भएको हो। ब्लगको माध्यमबाट एक-डेढ वर्ष पहिलेनै चिनजान भएका र नागोयामै बस्ने भाइ फुरी शेर्पासंग पनि हिजै पहिलोचोटि भेट भयो।
कार्यक्रमको प्रमुख अतिथि हुनुहुन्थ्यो प्रसिद्ध भाषाविद्,समालोचक प्राध्यापक डा. माधव प्रसाद पोखरेल। उहाँ जापानको कोबे विश्वविद्यालयमा नेपाली र जापानी भाषाको केहि पक्षविशेषका बारेमा तुलनात्मक अध्ययन-अनुसन्धान गरिरहनु भएको रहेछ। उहाँजस्ता विद्वान र भद्र ब्यक्तित्वसंग चिनजान गर्न पाउनु पनि हाम्रो सौभाग्यनै हो।
कार्यक्रमलाई साहित्यिक र सांगीतिक दुई भाग गरेर संचालन गर्ने योजना थियो। साहित्यिक कार्यक्रम रचना-वाचनको बीच-बीचमा अतिथिका मन्तब्यहरु राखेर संचालन गरिएको थियो। गायक साथीहरु चाँडै फर्किनुपर्ने कारण रचना-वाचनकै बीचैमा दुई गीतहरु पनि प्रस्तुत गरिए।
वाचन गरिएका रचनाहरु सबै एक से एक सुन्दर र उत्कृष्ट थिए। नागोयमा एउटा गतिलो नेपाली साहित्यिक माहौल बन्न आवश्यक 'पूर्वाधार' सबै रहेछन्, यस्तै कार्यक्रमहरुको मात्रै अभाव रहेछ। एक-दुई महिनाको अन्तर राखेर नियमित साहित्यिक जमघट गर्न सकिने संभावना देखायो हिजोको कार्यक्रमले।
स्थानीय प्रतिभा बाहेक ई-मेलबाट प्राप्त दुई-तीन रचनाहरु र एउटा प्रकाशित कृतिका केहि हाईकूहरु पनि पढेर सुनाईएका थिए।
मैले अचेल सुन्दै आएको छु, 'नेपाली साहित्यमा आजभोलि गजलको बाढीनै आएको छ।'। हिजोको कार्यक्रमले पनि ठ्याक्कै त्यहि बताऊँथ्यो। पाठ गरिएका रचनाहरुको तीन चौथाई भन्दा बढी गजलहरुनै थिए। नेपाली भाषामा गजल विधाका कृतिहरु अझै कमै भएकोले यो राम्रै कुरा हो। यो 'बाढी'ले नेपाली भाषामा अझ मिठास थप्नेछ र हाम्रो भाषाको गेयात्मक सौन्दर्यको अझ परिष्कार गर्नेछ भन्ने लाग्छ मलाई। तर यो 'बाढी'ले साहित्यका अरु विधामा खडेरी नल्याओस् भनेर चाहिँ सचेत हुनैपर्छ।
श्रोता/दर्शकको उपस्थिति राम्रो थियो तर साहित्यिक रचना पाठ भईरहेका बेलामा भने हल्ला पनि अलि बढीनै हुन्थ्यो र बिहेभोजको झलक आऊँथ्यो कहिलेकाहिँ। गीत अथवा नाचको बेलामा भने हल्ला लगभग हुँदै-हुँदैनथ्यो। यो कुरालाई प्रमुख अतिथिज्यूले पनि आफ्नो मन्तब्यमा निकै ब्यंग्यात्मक शैलीमा औंल्याउनुभएको थियो।
मलाई एउटा सहभागीका रुपमा रचना पाठ गर्ने वा बढीमा एउटा मन्तब्यसम्म दिने मन थियो तर कार्यक्रमको सभापति बन्ने अनूरोध प्राप्त भयो। सभापतिका रुपमा औपचारिक कार्यक्रमको अन्त्य गर्नुपर्ने बेलामा त्यति बोल्न मन लागेन, ढिलो भईसकेको थियो। धेरै बोल्नु भनेको आफैंलाई र अरु सबैलाई पनि यातना दिए जस्तो हुने थियो। नेपाली भाषाको ब्लगहरुको स्थितिका बारेमा मन्तब्य दिन र रचना पाठ गर्न अनूरोध गर्नुभएको थियो कार्यक्रमका उद्घोषकले। नेपाली भाषाका ब्लगहरुको स्थितिलाई एकदमै छोटकरीमा भ्याएर आफ्ना दुई गजल पाठ गरें मैले; "तिम्रो ठेगाना" र "आज फेरि सपनीमा देश देखें"।
******************************************************
जापानबाट सञ्चालित एक समाचार पोर्टल 'समुद्रपारी'मा यस बारेमा समाचार आईसकेको रहेछ। समाचार कसले लेख्यो कुन्नि, ब्यापक अशुद्धि भएको त्यो समाचारमा मलाई कार्यक्रम आयोजक समितिको संयोजक पनि भनिएको रहेछ। संयोजक म थिईँन, सल्लाहकारमात्रै थिएँ। अर्कोतिर, मलाई साहित्यिक गतिबिधिका कुरामा आफ्नो नामको अगाडि 'डा.' जोडिएको बिल्कूलै चित्त बुझ्दैन। गुनासो गरौं भने पनि "यति सानो कुरामा---" भन्लान् साथीहरुले भन्ने डर।
कार्यक्रममा वाचित रचनाहरु अनेसास-जापान वा अन्य कुनै माध्यमबाट अनलाईन भएपछि यहाँ पनि लिंक राख्नेनैछु, अहिलेलाई यतिनै।



















