February 17, 2019

दास कारखाना

दिमाग खोलेर प्रोसेसर फेरिन्छ
मानवता चिन्ने चिपहटाइन्छ
संवेदनाका सर्किटहरु बिगारिन्छ
ढुंगाको मुटु जडान गरिन्छ
प्रश्न सोध्ने जिब्रो थुतिन्छ
आदेश सुन्ने कान थपिन्छ
लगाम कसेर ‘घोडा’ बनाइन्छ

झण्डाको चश्मा भिराइन्छ
कागलाई सेतो भनाइन्छ
बकुल्लालाई कालो बनाइन्छ
बुझेका कुरा बिर्साईन्छ
पढेका कुरा मिल्काईन्छ
दासत्वको प्रमाणपत्र बाहेक
अरु सबै बेकाम बनाइन्छ

पार्टीभित्र पसेर भ्रष्टाचार
सदाचार बनेर निक्लन्छ
झण्डा ओढेर बलात्कारी
क्रान्तिकारी भएर निक्लन्छ
र दासहरु रमाईरमाई थपडी मार्छन्
‘क्रान्ति सफल भयो!’ भनेर चिच्याउँछन्
‘बादशाह’ बजारमा नाङ्गै बुर्कुसी मार्छ
तर दासहरु-
आफ्नै अनुहारले बादशाहको लाज छोप्न खोज्छन्
र भजन गाउँछन्
“सुहायो, सुहायो
’बादशाह’लाई नयाँ पोशाक कस्तो सुहायो!”

यस्ता दासहरुले विद्रोह गर्दैनन्
हद्द गरे दासहरुले कोल्टे फेर्छन्
तर कोल्टे फेरेपिच्छे मालिक पनि फेर्छन्
यसरी-
दास दासै रहन्छन्
र मलिक मालिकै रहन्छन्

मान्छेहरुको प्रशोधन गरिन्छ यहाँ
जिउँदो लाश बनाएर निकालिन्छ
यो दास कारखाना हो
यहाँ दासहरुको उत्पादन गरिन्छ।

(२०७४, असोज)