भोलि कुनचाहिँ पत्रिकामा आऊँदैछ रे
June 26, 2018
देशभक्त
भोलि कुनचाहिँ पत्रिकामा आऊँदैछ रे
March 24, 2013
रोगहरु र 'भूपीकरण'को नयाँ रोग
साहित्यिक रचना छाप्ने कुरामा कोसेली र नेपालका अरु धेरै पत्रिकाहरु रचनाभन्दा पनि रचनाकारको अनुहार र पहुँच-चिनजान हेरेर निर्णय लिने हुँदा कोसेलीमा कविता छापिनुपनि अर्को अनौठो भएन।
February 24, 2011
पोखराका 'लगौंटी' बाटाहरु
June 20, 2010
'खत्तम' खेल अफ दि सेञ्चुरी
समय: सधैं; हप्तामा आठै दिन, दिनमा पच्चीसै घण्टा
खेलाडीहरु: जबर्जण्ड, माकुने, झामचन्द्र, हुचीलदा, काबुराम, केपीगोली, कोहुन् वैद्य, झल्लु, बामहल्लु, लेऊबा, गच्छेजाल, लुजाता र अरु गरी चानचुन १००० जति।
कोच: नारत, छिन, चम्रिका, ब्युरोप आदि।
रेफ्री: नामवरण, अहिलेसम्मको प्रमुख कदम: एउटा कटवाल कार्ड। कटवाल कार्ड खानेले तिनलाई 'निदहरण' पनि भन्छन्:)
निरीह दर्शक: तीन करोड भन्दा बढी
खेलको स्थिति:
April 01, 2010
संविधान त लेख्छन्, लेख्छन्-----
संविधान त लेख्छन्, लेख्छन्!
संविधान त लेख्छन्, लेख्छन्!
December 15, 2008
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो!
हात्तीलाई गोही र गैंडालाई खरायो भन्दिनुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो!
अरुले दौरा-सुरुवाल-कोट-टोपी लगाऊँथे
कमरेडले सूट-टोपी लगाउनुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो!
पहिला नाताबादमात्रै थियो देशमा
कमरेडले ‘क्रान्तिकारी नाताबाद’को आविष्कार गर्नुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो!
अरुले साली लान्थे र ‘टाइप’ गराउँथे
कमरेडले छोरो लानुभयो र ‘टाइप’ गराउनुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो!
पहिला अरु हुन्थे मालपोत-यातायात-अदालतमा
अहिले कमरेडले आफ्नापनि हुल्दिनुभयो
र कमरेडले क्रमभंग गर्नुभयो!
जनयुध्द हुँदा ‘सफाया’ गर्नुहुन्थ्यो कमरेडले
आज जनयुध्द नभएपनि ‘सफाया’ गर्दिनुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो!
कमरेडले हिजो पत्रिका जलाउनुहुन्थ्यो
कमरेडले आजपनि पत्रिका जलाउनुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो!
पहिला बाढी आऊँदा अरुले हेलिकप्टर चढ्थे
अहिले कमरेड आफैंले चढ्नुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो!
कमरेड विदेश गएर "पूच्छर झिक्छु!" भन्नुभयो
र स्वदेश आएर "पूच्छर थप्छु!" भन्नुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो!
पहिला अरुलाई ‘हुतीहारा’, ‘भातमारा’ भन्नुहुन्थ्यो
आज “यो कुर्सी टेढो छ!” भन्दिनुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो!
बन्दुक कहिले पो छोड्नुभएको छ र कमरेडले!?
तर आज “फेरि बन्दूक बोक्छु!” भन्दिनुभयो
र कमरेडले ‘क्रमभंग’ गर्नुभयो!
।
।
।
।
।
आज बिहान शब्दकोष हेर्दा ‘क्रमभंग’ शब्द कतैपनि देखिएन। कतै ‘क्रमभंग’ले आत्महत्या त गरेन?!
(सूचना:यो 'क्रमभंग' महिमाको प्रतिलिपि अधिकार खुल्ला छ। जोसुकैले कमरेडहरुका 'क्रमभंग'का उदाहरणहरु थप्न, अरुलाई पठाउन वा जे सकिन्छ त्यहि गरेर 'क्रमभंग' गर्न सक्नेछ:)
December 03, 2008
जनपार्टी, जनकमरेड, जनसिण्डिकेट
कमरेडहरुको टोलमा हानाहान भयो। उसो त कमरेडहरु भएको ठाऊँमा ठोकाठोक-हानाहान नहुने कुरो पनि भएन। कमरेडहरुले सत्ता हान्नैका लागि यत्रो क्रान्ति गर्नुभएको हो, आधाजति त हानिपनि सक्नुभयो। पूरै सत्ता अझै हानिसक्नुभएकै छैन कमरेडहरुले, त्यसैले हानाहानको अभ्यास जारी राख्नै प-यो। जनवाद भनेकै हानवाद हो वास्तवमा, त्यसैले कमरेडहरुलाई 'हानवादी' भनेपनि खासै फरक पर्दैन।
तर कमरेडहरुको टोलको यसपालीको हानहानभने अलि विशेषै भयो भनौं न अब। सधैं अरुलाई हान्ने कमरेडहरु आफू-आफूमै हानाहान गर्न थाले। हानाहानको खास विषय भने पार्टीको नयाँ लोगो के राख्ने भन्ने थियो। विद्वान कमरेडले पार्टीको नयाँ लोगो बाघ राखौं भन्ने देऊसी शुरु गर्नुभयो। उता मूली कमरेडले 'अहिलेलाई ब्वाँसो राखौं, पछि देखा जाला' भन्ने भैलो जारी गरिसक्नुभएको थियो।
प्रतिकृयावादीहरुले आफ्नो महान गौरवमयी अग्रगामी क्रान्तिकारी पार्टीलाई घेराबन्दीमा पारेकोले बडे-छोटे सबै कमरेडहरुको हप्तादिनबाटै मूड-अफ थियो। यी प्रतिकृयावादी भन्ने जिनिस पनि गज्जब छन् बा! दुईटा होनहार कमरेडहरुको हानाहानमा कसरी पस्न सक्या होला लुसुक्क, त्यो पनि 'क्रान्तिकारी' कमरेडहरुले मात्र देख्ने रुप लिएर!
तर प्रतिकृयावादीहरुको चौतर्फी घेराबन्दीलाई चिर्दै महान गौरवमयी अग्रगामी क्रान्तिकारी पार्टीभित्रको हानाहान साम्य भएरै छाड्यो आखिर। कार्यकर्तालाई हानाहान साम्य भएको जानकारी दिन आयोजना गरिएको आमसभामा मूली कमरेड अत्यन्त भावुक देखिन्थे।
"कमरेडहरु, देशी-विदेशी प्रतिकृयावादीहरुका तमाम षडयन्त्रहरुलाई चिर्दै हाम्रो महान गौरवमयी अग्रगामी क्रान्तिकारी पार्टी फेरि एक भएरै छाड्यो। हाम्रो पार्टीले सरकार हाँकेको सय दिनको महान गौरवमय उपलब्धि हो यो। यो उपलक्ष्यमा तपाईँहरु सबैमा लाल-सलाम र बधाई प्रकट गर्न चाहन्छु। " कमरेडले जोडले मुठ्ठी उचाले, हावा दुई फ्याक भयो, कमरेडले हात तल ल्याए, चिरा परेको हावा एक भयो। हो र'छ! देशी-विदेशी प्रतिकृयावादीहरु छिरेर दलै चिरा पार्न आँटेको हो र'छ! र तमाम षडयन्त्र र दाऊपेचहरुलाई परास्त गरेर महान गौरवमयी अग्रगामी क्रान्तिकारी पार्टी एक ढिक्का भएकै हो र'छ! तब न महान! तब न गौरवमयी! तब न अग्रगामी! तब न क्रान्तिकारी!
"कमरेडहरु, हामीले दुईटा लोगोलाई 'फ्यूजन' गरेर एउटा नयाँ लोगो बनाएका छौं। बाघ र ब्वाँसोको फ्युजन गरेर बनाईएको यो नयाँ लोगो विश्वक्रान्तिको इतिहासमै सर्वथा नवीन प्रयोग हो र हाम्रो महान गौरवमय अग्रगामी क्रान्तिकारी पार्टीले दिनदिनै गर्दै आएको महान ऐतिहासिक क्रमभंगहरुको सिलसिलामा फेरि अर्को एउटा ऐतिहासिक क्रमभंग हो। यो सर्वथा नयाँ फ्यूजनको ऐतिहासिक क्रमभंगले नेपाली क्रान्तिलाई अझ गौरवमय उचाइमा लाने छ।"
"कमरेडहरु, ब्वाँसो र बाघको फ्यूजन गरेर बनाईएको यो लोगोको नाम 'बाघे-ब्वाँसो' रहनेछ। यसैले हाम्रो पार्टीको नीति, नेपाली क्रान्तिको रणनीति-कणनीति-गणनीति पनि बाघे-ब्वाँसो नीति हुनेछ। अबदेखि तमाम देशी-विदेशी प्रतिकृयावादीहरुलाई हामी बाघले जस्तो अगाडिबाटमात्रै झम्टिने अथवा ब्वाँसाले जस्तो लुसुक्क पछाडिबाटमात्रै झम्टिने गर्नेछैनौं, जताबाट मौका मिल्छ उतैबाट झम्टिनेछौं। मौका पर्दा अगाडि-पछाडि दुबैतिरबाट एकैपटक झम्टिनेछौं।"
"कमरेडहरु!" भाषणसंगै मूली कमरेडको भावुकताको पारो पनि उकालो चढिरहेकै थियो, "तर यत्तिकैमा हाम्रो महान गौरवमयी अग्रगामी क्रान्तिकारी पार्टीको नेपाली क्रान्तिप्रतिको ऐतिहासिक जिम्मेवारी पूरा हुँदैन। जनतासंग नङ्ग र मासुको सम्बन्ध भएको हाम्रोजस्तो महान गौरवमयी अग्रगामी क्रान्तिकारी पार्टीले लिने यो नयाँ नीतिको नाम हामीले 'जनबाघे-ब्वाँसो नीति' राखेका छौं। यो नीतिको आधारमा हामीले सबैतिर 'जन' घुसाईदिनेछौं र जनताको जनक्रान्ति गर्नेछौ। अब हामी जनसरकार, जनसंसद र जनसडक सबैतिर उत्तिकै सकृय जनआन्दोलन गर्नेछौं र जनलोकतान्त्रिक जनसंघीय जनगणतन्त्र जननेपालको जनसंविधान लेख्नेछौं। हामीलाई जनलोकतान्त्रिक जनसंघीय जनगणतन्त्र जननेपालको जनसंविधान रोक्नबाट कसैले रोक्न खोज्छ भने हामी जनसरकार, जनसंसद र जनसडक सबैतिर उसको काम तमाम गर्दिनेछौं।"
"कमरेडहरु!" मूली कमरेड चिच्याए "आउनुस् हामी जताततै 'जन'घुसाईदिऊँ र इतिहासले हामीलाई दिएको महान अभिभारा पूरा गरौं। आउनुस् अबदेखि हामी एकअर्कालाई जनकमरेड शब्दले सम्बोधन गरौं, हाम्रो महान गौरवमयी अग्रगामी क्रान्तिकारी पार्टीलाई अबदेखि जनपार्टी भन्ने गरौं। आउनुस् राजालाई जनराजा बनाईदिऊँ, पंचलाई जनपंच बनाईदिऊँ, मण्डलेलाई जनमण्डले बनाईदिऊँ।--- जनलालसलाम!!"
देशी-विदेशी प्रतिकृयावादीहरुका कारण चिरा परेको महान गौरवमयी अग्रगामी क्रान्तिकारी पार्टीलाई फेरि एक ढिक्को बनाईसक्दा साँझ परिसकेको थियो। मूली कमरेड त्यताबाट एउटा बैठकतिर हान्निए। राता, नीला, पहेंला, सूट लगाउने, दौरा-सुरुवाल लगाउने, केहि पनि नलगाउने आदि थरि-थरिका सिण्डिकेटहरुले जनकमरेडको सम्मानमा संयुक्त रुपमा आयोजना गरेको बैठक र भोज थियो त्यो।
"भन्नुस् हाम्रो महान गौरवमयी अग्रगामी क्रान्तिकारी जनपार्टीले यहाँहरुको लागि के गर्नुप-यो?" मूली जनकमरेडले जिज्ञासा राखे।
एकजना सिण्डिकेटवाला बोल्न थाले, "कमरेड, यो देश-----"
"एकछिन रोकिनुस् त!" मूली जनकमरेडले बीचैमा टोके सिण्डिकेटवालालाई। "एउटा जानकारी गराउन चाहन्छु, हामीले भर्खरै 'कमरेड' शब्दलाई 'जनकमरेड' शब्दले बिष्थापित गरेर नयाँ ऐतिहासिक क्रमभंग गरेका छौं। अबदेखि यहाँहरुले हामीलाई सम्बोधन गर्दा 'जनकमरेड' शब्द प्रयोग गर्नुहोला।"
"गज्जब! महान जनपार्टीको महान जनचाला!" सिण्डिकेटवालाहरुले एक स्वरले जनपार्टीको प्रशंशा गरे र त्यसपछि अघिका महाशय फेरि बोल्न थाले।
"जनकमरेड, यो देशलाई चलाउने, गिजोल्ने,चिथोर्ने, निचोर्ने भनेकै सरकारमा बस्ने पार्टी र हामी सिण्डिकेट मिलेर हो। वास्तवमा हाम्रो नेपाल चल्ने अरु कुनै बाटै छैन। पहिले-पहिले सरकारमा बस्नेहरु सबै हाम्रो पिसाबमा बग्थे र यो देश सजिलै चल्थ्यो। अब जनकमरेडहरुपनि हाम्रो पिसाबमा बग्दिनुप-यो।"
"कुरो त ठीक गर्नुभयो सिण्डिकेट जनकमरेड" मूली जनकमरेड एकछिन घोरिए, "हाम्रो महान गौरवमयी अग्रगामी क्रान्तिकारी जनपार्टीभित्रपनि यस बारेमा ब्यापक छलफल चलाएका हौं। तर पुरानाहरु बगेकै ढंगमा हामी जनकमरेडहरुपनि बग्न अलि सुहाऊँदैन। यहाँहरुले आ-आफ्ना सिण्डिकेटलाई अबबाट जनसिण्डिकेट नामाकरण गरेर एउटा अग्रगामी छलाङ्ग मार्नुभयो भने पिसाबमा बगिदिन हामीलाई सजिलो हुन्थ्यो।"
"धन्यबाद जनकमरेड!" सबै सिण्डिकेटवालाले एक स्वरमा चाकडी बजाए, "जनकमरेडहरुलाई खुशी पार्न हामी सिण्डिकेटको अगाडि एउटा त के सयवटा 'जन' थप्न पनि तयार छौं!"
रसिलो जनरात्रिभोजका साथ बैठकको अन्त्य भयो।
साँझ पर्दै जाँदा रसिक बन्दै-बन्दै आएका जनकमरेड आफ्नो जननिवास फर्केर एकछिन जनक्रान्तिको पसलको दिनभरिको आम्दानीको हिसाब गरे र त्यसपछि जनखाटको जनबिस्तरामा पल्टिए।
जनकमरेडको त निद्रा पनि जननिद्रा हुन्छ होला!
-----------------------------------------
यो पनि पढ्नुस्, "पुराना वाम नेताको एक दिन"।
August 29, 2007
‘गाइजात्रा विशेष’: ‘विक्रम संवत २०७४ साल’
दश वर्षमा देश अचम्मसंग माथि पुग्यो नि गाँठे! विकास पनि अलि अलि भ'को हो र!
लोकतन्त्र के आ'को थ्यो, सडकजति त आफैं तन्किन थालिहाले नि! पहिरोले गर्दा त हो नि, नत्र बर्षैभरि हिँड्न हुनी बाटा थिए के रे। तैपनि छ महिना त मज्जाले गाडी कुद्छन् के रे सप्पै बाटाँ! गाडीपनि दश गुनै बढे नि दश वर्षाँ! थोत्रा गाडी भएर के भो त नि, देशमा जनसंख्या नियन्त्रण सजिलै भईराख्या छ, ति लडेर, तिनले हानेर र नतानुँ भन्दाभन्दैपनि जनताका नाकले तिनका धूवाँ तानेर! परिवार नियोजनका क्लिनिकै नचाहिने भएर सरकारको कति खर्च जोगिया छ तिनले गर्दा!
सरकारले गज्जब ग-यो नि! कुहिरेसंग मागेर फुच्चे कम्प्युटर गाउँ-गाउँमा, स्कूल-स्कूलाँ पु-यायो नि गाँठे! सबै ठाममा बिजुली पुग्या' भे, पुग्या ठाममा पनि दिनको दश बाह्र घण्टा नजानी भे कति चलाउँदा हुन् हाम्रा बच्चाहरुले। अब सरकार त के गरोस् बरा! उसले त गर्न खोजेकै हो नि, बिजुलीले धोका दिया-दियै छ। यो बिजुलीले हाम्रो सरकारलाई धोका नदिया भे हेर, हाम्रा देशाँ पनि कत्ति बिल गेट्स निस्किसक्थे। लोकतन्त्र हो यो बाबै! बिजुलीले गु' खाइदेर त हो नि, नत्र---!
स्वत: बढुवा हुन पाउनी भएपछि मान्छे वीसै वर्षाँ खरदारको जागिराँ छिरेर तीस वर्षाँ शाखा अधिकृत, चालीस वर्षाँ सचिव हुन थाले। अन्त काहिँ हुन्छ यस्तो राम्रो?! पढेर कोहि ठूलो हुन्छ?! बेलैमा जागिर खाए पो ठूलो हुन्छ!
अनि देशका कम्पाउण्डरजति सबै बढुवा भएर डाक्टर भए, ओभरसियर जति सबै इञ्जिनीयर भए। उता दश वर्ष एअर होस्टेसको काम गरेपछि अनुभवका आधाराँ स्वत: पाइलट हुन पाउनुपर्छ भनेर हडताल भएपछि, त्यो माग पनि पूरा गर्दियो सरकारले। तब न लोकतान्त्रिक सरकार!
देशको शैक्षिक स्तर पनि खुब अगाडि पुग्या हो यो दश वर्षमा ल जल्ले जे भनेपनि। एस .एल.सी र क्याम्पसमा तिनचोटिसम्म फेल भएकाले अनुभवका आधारमा स्वत: पास हुने गराइदियो नि सरकारले, फेल हुनेहरुको आन्दोलनको मागबमोजिम! अब क्या काइदा! गुरुबा, गुरुआमा पनि खुशी; नपढाए पनि भो, तलब आईहाल्छ। विद्यार्थी पास गराउन पो पढाउनु पर्छ, अब तीन वर्षमा यसै-उसै पास हुने भएपछि किन हतार? उता विद्यार्थी झन मख्ख, जूलूशमा जति हिँडे पनि भो!
अनि सांसद पनि के कम! दश वर्ष लगातार सांसद भएपछि स्वत: मन्त्री हुने कानून ल्याए २०७० सालतिर। मन्त्रीहरुले पनि त्यस्तै सुबिधा मागे, तर पन्ध्र वीसजना मन्त्री स्वत: बढुवा भएर एकैचोटि प्रधानमन्त्री बनेभने के गर्नु भनेर मन्त्रीका हकमा पन्ध्र वर्षे नियम बनाइयो। तर हाम्रा बाठा मन्त्रीहरु पनि के कम?! ४६ सालदेखिकै, अझ कसै-कसैले त पञ्चायतकालदेखिकै ‘अनुभव’ जोडेर १५ वर्ष सजिलै पु-याइहाले नि। एक-दुई जनाले त वीस वर्षै पु-याए रे भन्ने पनि सुनिएको छ!
प्रधानमन्त्री त दशजनै भए, तर को सबैभन्दा ठूलो प्रधानमन्त्री? प्रधानमन्त्रीभन्दा माथि ‘राजा’ पद राखौं भने देशै गणतन्त्र बनाउने भनेर लाग्या छन् (बनाइसक्याचाहिँ छैनन् नि है हेर्नुस्!), कुरै मिलेन। त्यै भएर ‘मुख्य प्रधानमन्त्री’ को पद सृजना भयो हाम्रो नेपालाँ। प्रधानमन्त्रीमध्येका सबैभन्दा बूढालाई यो पद दिने भनेर सबैले सहमति जनाए। सहमति त जनाए के रे, तर पहिलो ‘मुख्य प्रधानमन्त्री’ बनेका बूढा बडा चाम्रा रहेछन्, ‘उपर’ जाने त नामै लिन्नन्! अब तिनी ‘उपर’ नगई अरुको‘मुख्य प्रधानमन्त्री’ हुने पालो आउने कुरो भएन। अर्को चुनाव भए केहि फेरबदल भईहाल्थ्यो कि, तर नेपालाँ अब फेरि चुनाव हुनु र स्यालको सिङ् देखिनु उस्तै-उस्तै हो भन्छन् ज्योतिषीहरु। यसैले दुई-चारजना प्रधानमन्त्रीहरुलाई भने ‘मुख्य प्रधानमन्त्री’ नभै मरिएला भन्ने पिर प-या छ खुब! अस्तिहुँदी गोप्य बैठक पनि गरे रे तिनले। दुई वर्षसम्म ‘मुख्य प्रधानमन्त्री’ भएपछि पनि कोहि ‘उपर’ गएन भने त्यल्लाई सुटुक्क सुईँक्याइदिएर भएपनि पालो कुरेर बसेकोलाई ‘मुख्य प्रधानमन्त्री’ बनाउने प्रस्ताव पेश गर्दै छन् रे तिनले संसदमा।
June 17, 2007
पुराना वाम नेताको एक दिन
(मेरो विश्वविद्यालय जीवनको एउटा मिल्ने साथीले आफ्ना पितालाई "पुराना वाम नेता" भन्थ्यो र हाम्रो अगाडि उनको राजनीतिक जीवनको बारेमा जोक गर्थ्यो । एक पटक त्यो साथीको घरमा बास बसेको थिएँ, कुनै नेपाली नयाँ वर्षको दिन । उस्को पितासंग त भेट र कुराकानी भईनै हाल्यो, भोलिपल्ट बिहान बर्मा थर गरेका अर्का "पुराना वाम नेता" पनि आए त्यहाँ । त्यसपछि, पाँच सात जनाको दल चलाएर अथवा निष्कृय बसेका यस्ता वाम नेताहरुको बारेमा एउटा यो छोटो (ब्यङ्ग?) निबन्ध बन्यो, अलि अलि यथार्थ र अलि अलि कल्पना मिसिएर। केहि वर्ष पहिले लेखेकाले कुनै कुनै प्रसंगहरु पुराना पनि हुन सक्छन्। )
"पुराना वाम नेताको एक दिन"
'पुराना वाम नेता' बिहान साढे आठ बजे उठ्छन् र चूरोट च्यापेर शौचालयतिरको यात्रामा निस्कन्छन्। एकछिनपछि प्रतिकृयावादीहरुलाई बगाएर (फ्लश गरेर) आऊँछन्, दाँत मल्छन्, मुख धुन्छन् र अचानक चाल पाऊँछन् धङ्धङे छ र टाउको दुखिरहेछ ।
बगैँचाको कुर्सीमा बसेर कालो कफीको चुस्की लिँदै अखवारहरु पढ्छन। सबैको पहिलो पाना ध्यान दिएर हेर्छन्, केहि नपाएर रिसाएजस्तो देखिन्छन् र मुर्मुरिन्छन् । अनि फेरि भित्री पानाहरु हेर्न थाल्छन्। एउटा पत्रिकाको एउटा कुनामा देख्छन् "--------'पुराना वाम नेता' श्री रुसभक्त-चीनमित्र दिल्लीमा उपचार गराई फर्कनुभएको छ।----" भन्ने चार लाइनको समाचार छ। फर्केको एक हप्ता भइसक्यो, बल्ल पत्रिकाले लेख्यो, फेरि त्यो पनि भित्री पानामा यति थोरै छुस्स! कालो निलो हुन्छन् 'पुराना वाम नेता', आफूलाई आजभोलिका "गुलेली बोकेर चरा मार्न हिँड्ने जस्ता" (उहाँलेनै आविष्कार गर्नु भएको विशेषण) पत्रकारले भुत्ला समान पनि नगनेको देखेर ।
पुराना वाम नेता पत्रिकाहरु एकातिर हुर्र्याऊँछन् र एकछिन त्यत्तिकै टोलाऊँछन्। 'श्रीमती पुराना वाम नेता' मन्दिरबाट आईपुग्छिन्, श्रीमानलाई टिका लगाईदिन्छिन्,टाउकोमा फूल राखिदिन्छन्।
एघारबजे 'पुराना वाम नेता' "भूजा" ज्यूनार गर्छन्; कान्छाले किनेर ल्याएको, बाहुनी बज्यैले पकाएको र बुहारीले पस्केको भूजा। उनी अघाऊँछन्, डकार्छन्, चूठ्छन् र सुत्न जान्छन्। 'श्रीमती पुराना वाम नेता' उनको पुरासंग खान थाल्छिन्।
सुत्नै आँटेका थिए 'पुराना वाम नेता', फोन आऊँछ एक जना साथीको। उनकी कान्छी छोरी माग्दैछ साथीले आफ्नो भाञ्जाको लागि। "छोरी नआइ के कुरा गर्नु र खै! आजभोलिका पढेलेखेका छोरीहरु-----।" आदि अण्टसण्ट बोलेर अल्मल्याऊँछन् साथीलाई र फोन राखिदिन्छन्।
जबकि केहि दिन अघिमात्रै छोरीले चीनबाट फोन गरेकी थिई उतै संगै पढ्ने एउटा नेपाली केटासंग बिहे गरें र दुबै जागिर खाँदैछौँ कुनै बिदेशी कम्पनीमा भनेर। जर्मनीमा पढ्दै गरेकी जेठी छोरी कुइरेसंग बिहे गरेर अमेरिका पसेकी उताको उतै छे। तै यल्ले त नेपालीसंगै गरिछे, ठिकै भो। बरु बेलाबेलामा आफ्नी बूढीलाई सम्झाउन भने उनलाई साह्रै गाह्रो हुन्छ। जोरिपारीको अगाडि टन्न दाइजो दिएर छोरीहरुको बिहे गर्दिन नपाएको पीरले सुकेकी छिन् "श्रीमती पुराना वाम नेता" ।
कल्चर सीटमा पढाए उनले छोरीहरुलाई र कान्छो छोरोलाई भने आफ्नै खर्च भरेर अमेरिका पढ्न पठाएका हुन तर छोराले पढ्छ कि काम गर्छ उनलाई थाहा छैन। जेठो छोरो एउटा ठूलै एनजीओ चलाऊँछ र पजेरो चढेर हिँड्छ। बच्चैदेखिको एक नम्बरको स्वाँठले यति गर्नसक्यो, दंग छन् उनि।
नेपालमा क्रान्ति भएको र आफूलाई गद्दार भनेर चौबाटोमा झुण्डाएको सपना देखेपछि आत्तिएर ब्युँझन्छन् "पुराना वाम नेता" । जीऊ पसिना-पसिना भएको रहेछ। आधा घण्टा लगाएर नुहाऊँछन् गीतविनाको धून सुसेल्दै र सपना बिर्सन्छन्।
साढे तीन बज्छ। पेण्ट, शर्ट, स्पोर्टस् जुत्ता र कालो चश्माले सजिएर उनी निस्कन्छन्। घुम्दै घुम्दै नया सडक पुग्छन्,एक ठाऊँमा पान खान्छन् र विस्तारै रत्नपार्कतिर लाग्छन् 'पुराना वाम नेता'। सोह्रहाते गणेशको मन्दिरनेर एउटा अर्को पुरानो वाम नेता भेट हुन्छ, पहिले उनको विरोधी खेमाको, अहिले उनकै खेमाको (याने 'पुराना' खेमाको!) दुई जनाको गफ शुरु हुन्छ, दलको स्थापनादेखि आजसम्मको र मार्क्सदेखि किम जोङ इल सम्मको। कहिले चश्मा मिलाऊँदै र कहिले एक हात पेण्टको खल्तीमा राखेर, दाहिने हातको चोर औँलो ठड्याई, उभिई उभिइ पालै पालो ठूलो ठूलो स्वरमा गफ गरेको देखेर टाढाबाट देख्ने कसैले ठान्दो हो, घोर घमासान वाक्युध्द भइरहेछ।
एकछिन पछि दुबै थाक्छन् र भोटाहिटीभित्रको एउटा नेवारी रेष्टूरां पुग्छन्। 'पुराना वाम नेता' र 'साथी पुराना वाम नेता' आजभोलि बियर मात्र पिऊँछन्। बियर र छोइला-सेकुवा आदिका साथ गाली रामायण शुरु हुन्छ।
"फलानो, फलानो, फलानो जाँठाहरु सब दरबारका हुन्!" जबकि दुबैलाई भित्री मनमा विश्वाश छ, आऊँदो राष्ट्रिय सभामा आफू दरबारबाटै छानिने।
"फलानोले फलानो किताब चोरेर लेखेको हो, त्यल्ले लेख्नै जान्दैन।" जबकि किताब प्रकाशन गर्न त उनीहरुलाई पनि मन छ (काश लेख्न सकेको भए!)
यसैगरी रातको एघार बज्छ, 'पुराना वाम नेता'को छोरो आइपुग्छ गाडी लिएर। 'साथी पुराना वाम नेता'लाई डिल्लीबजार छोडेर गाडी टंगालतिर लाग्छ।
घर पुगेर सुत्दा 'पुराना वाम नेता'को मन खुशीले फूलिरहेको हुन्छ। आफ्नो जीवनको बारेमा सोच्छन् उनी। धन-सम्पत्ति जोडिएछ र छोराछोरीलाई मान्छे बनाइएछ; जीवन खेर गएनछ। आफू युवा हुँदा गरेको प्रण, विद्यार्थी जीवनको जोश र आकांक्षा आदि पनि उनको दिमागमा अष्पष्ट रुपले आउन थाल्छन्। तर त्यतिखेरसम्म 'पुराना वाम नेता' निदाइसक्छन्।

