Showing posts with label पोखरा. Show all posts
Showing posts with label पोखरा. Show all posts

December 23, 2019

सडक – खाल्टा छन्, पेटी छैन

साढे दुई वर्ष अघि स्थानीय चुनावको आफ्नो ‘घोषणापत्र’मा तत्कालीन एमालेले ‘पोखराका सडकका खाल्टाखुल्टी २४ घण्टाभित्र पुर्ने व्यवस्था मिलाइनेछ ।‘ भनेर वाचा गरेको थियो । एमाले चुनाव जितेर महानगरको नेतृत्वमा पनि पुग्यो । मलाई लागेको थियो महानगरको यो नेतृत्वले यत्ति एउटा काम गर्दियो भने पनि ठूलै 'क्रान्ति' हुन्छ नेतृत्व पोखराप्रति कत्तिको संवेदनशील छ भन्ने कुरा यहि एउटा 'सानो' घोषणालाई पूरा गर्छ कि गर्दैन भन्नेबाटै थाहा हुन्छ घोषणापत्रका घघडान कुराहरु गर्न समय लाग्न सक्छ तर सडकका खाल्डाखुल्डीलाई २४ घण्टाभन्दा बढी टिक्न नदिएर नेतृत्वले आफ्नो उपश्थिति देखाउन सक्छ र जनतासंग जोडिन सक्छ । चुनावी वाचामा तोकेरै २४ घण्टा किन भनियो त्यो थाहा भएन तर हप्ता दिनभित्रै गर्दिए पनि ‘क्रान्ति’नै हो । चुनाव सकिएको केहि दिनपछि २०७४, जेठ १४ गतेका दिन यहि कुरालाई व्यक्त गर्दै मैले फेसबुकमा स्टाटस लेखेको थिएँ, “ठुला-ठुला घोषणा त पूरा हुँदै गर्लान् तर ‘सडकका खाल्डाखुल्डी (pothole) २४ घण्टाभित्र टालिने’ भन्ने ‘सानो’ कुरा पनि चाँडैनै व्यवहारमा देखियो भने मात्र पोखरा महानगरपालिकाको नयाँ नेतृत्व वास्तवमै प्रतिबद्ध रहेछ भनेर विश्वाश लाग्नेछ ।“

चुनावी प्रचारका दौरान ‘स्मार्ट सिटी’ लगायतका अनेक ठूला सपनाहरु पनि देखाइएका थिए । कार्यकालको आधा समय बितिसक्दा पनि महानगरले कुनै देखाउन लायक ‘सिग्नेचर’ काम गरेको देखिँदैन । ‘स्मार्ट’ सिटीको कुरा कहाँ पुग्यो त्यो महानगरको नेतृत्वलाई थाहा होला, तर हामीले चाहिँ शहरको स्वरुप बिगारेर झुण्डिएका तारहरुको ‘इन्द्रजाल’समेत जस्ताको तस्तै रहेको तितो यथार्थ देखेका छौं र भवन निर्माणको मापदण्डलाई पहुँचवालाले ‘धोती लगाइदिएको’ र शहर झन्-झन् अव्यवश्थित हुँदै गएको देखेका छौं । पोखराको यातायात अत्यन्त अव्यवश्थित र अराजक बन्दै गएको छ । बिहान र साँझको कार्यालय समयको चापमा मात्र होइन, दिउँसै पनि भद्रगोल देखिन्छन् पोखराका मुख्य चोक र सडकहरु । ‘पोखरा अर्को काठमाण्डौं बन्ने हो कि?’ भन्ने हाम्रो चिन्ताको अब कुनै अर्थ छैन र पोखरा अर्को काठमाण्डौं बनीसक्यो जस्तो लाग्न थालीसकेको छ । काठमाण्डौंको अनुभवबाट सिकेर पोखराले आफूलाई जोगाउने र एउटा योजनाबद्ध सुन्दर शहरको रुपमा विकास गर्ने अवसर गुमिसकेकै त होइन भन्ने प्रश्नले मनलाई बारम्बार घोचिरहन्छ अचेल ।

अहिलेलाई सडकका खाल्डाखुल्डीतिरै फर्कौं । पोखराका सडक र खाल्डाखुल्डी पर्यायवाची लाग्छन् । पोखरामा सडक होस् तर खाल्डाखुल्डी नहोस् – यस्तो सम्भव लाग्दैन । तर ‘खाल्डाखुल्डी २४ घण्टाभित्र पुर्ने’ वाचा गरेकाहरु महानगरको ‘सत्ता’मा पुगेपछि केहि आशा जागेको भने हो ।

म आफू दैनिक हिँड्ने बाटोको एक भाग, के. आइ. सिंह पुलदेखि सुन्दर फिडसम्मको लगभग ४०० मी. को बाटोमा स्थानीय चुनाव हुनुभन्दा केहि महिना पहिलेबाटै धेरै खाल्डाखुल्डीहरु देख्दै आएको थिएँ मैले । स्थानीय चुनावपछिको एक वर्ष बित्यो, डेढ वर्ष बित्यो तर त्यो खण्ड जस्ताको तस्तै रहिरह्यो । यो एउटा उदाहरणमात्रै हो पोखराका सडकको स्थितिको । पोखराका अरु भेगका सडकमा पनि खाल्डाखुल्डी धेरै देखिन्छन् र कतिपय ठाउँमा सडकको पीचमा खाल्डा परेको होइन, खाल्डामा अलिअलि पीच परेको हो कि जस्तो लाग्छ ! सामान्यतया यस्ता खाल्डाहरुको टालटुल बेलैमा गरिँदैन र बजेट सिध्याउने ‘असारे विकास’नै कुरिन्छ ।

२०७५ साल, मंसिर २ गते मैले त्यो सडकखण्डका सात ठाउँको तस्बिरसहित महानगरको ’२४ घण्टे’ चुनावी वाचा सम्झाउँदै एउटा फेसबुक स्टाटस लेखें र महानगर प्रमुखका स्वकिय सचिवलाई ट्याग गरें । कुनै प्रतिकृयाको अपेक्षा गरेको थिइन, तर स्वकिय सचिवज्यूले फोनमा र भेटमा छिट्टै काम गराउने वचन दिनुभयो । केहि समयपछि ती खाल्डाहरु टालेको देखियो । यो द्रूत प्रतिकृया र कामका लागि महानगरलाई धन्यबाद दिइयो । यसरी सामाजिक संजालमा उठाइएका सबै समस्यामा महानगरले चासो दिन्छ वा स्वकिय सचिवज्यूसंगको व्यक्तिगत चिनजानका कारण यो घटनालेमात्रै चासो पाएको हो, त्यो थाहा भएन तर

तर त्यो टालटुलले एक वर्षायाम पनि धानेन । गत असार नसकिँदै फेरि खाल्डा पर्न थाले त्यो सडकखण्डमा र दशैंसम्ममा जस्ताको तस्तै भयो । दशैं अगाडि एक दिन त्यहाँका १-२ खाल्टामा हिलो हालेर पुरिएको देखिएको थियो, जुन त्यहि रातको झरीमा बग्यो । हिलो हालेर खाल्डा पुर्ने काम महानगरले पक्कै गरेन होला । तिहारताकाबाट त्यो सडक खण्डका खाल्डाखुल्डी फेरि पुर्न थालियो । संसदीय उपचुनावसम्म लामाचौर देखि बगरसम्मकै सडकखण्डमा खाल्डा टाल्ने काम नियमित भइरहेको देखिन्थ्यो, अचेल देखिएको छैन ।

नियमित रुपमा टालिरहँदा सडक सडक होइन ‘टालाटुली बटुली’ बन्न पुगेको छ। थोरै खाल्डा हुँदा टालेर काम चल्न सक्छ तर सडकैभरि खाल्डैखाल्डा हुनु भनेको हाम्रो सडक निर्माणको खत्तम गुणस्तरको प्रमाण हो । यस पटक पनि टालेको ठाउँमै फेरि प्वाल पर्ने वा नयाँ खाल्टाहरु देखिन शुरु भइसकेको छ । बारम्बारको यस्तो हविगतले हाम्रो सडक निर्माण र सम्भार प्रकृयामाथिनै गम्भिर प्रश्न उठाएको छ ।

नेपालको सार्वजनिक संरचना निर्माणको गुणस्तर खत्तम छ भन्ने दुनियाँलाई थाहा छ । तर यस्तै हो भनेर चुप लागेर बसीरहँदा सधैं यस्तै भइरहन्छ । महानगरले आफ्नो बजेटले हुने निर्माणकार्यको गुणस्तर राम्रो राख्न सक्छ, चाहेमा त्यो कुनै ठूलो कुरा होइन । महानगरका जिम्मेवार व्यक्तिहरु कमिशनको खेलबाट मुक्त हुनुबाहेक केहि गर्नुपर्देन त्यसका लागि ।

अर्कोतिर, पोखराको जमीनको बनावट खुकुलो छ र यहाँ अत्यधिक पानी पर्छ । सडकमा बढी खाल्डाखुल्डी हुनुको अर्को कारण यो पनि हुनसक्छ । यसको निराकरणका लगि हामीले अहिलेसम्म पछ्याउँदै आएको सडक निर्माण प्रविधिलाई छोडेर नयाँ प्रविधि अँगाल्नुपर्ने हुनसक्छ । काठमाण्डौं वा बिराटनगरमा पछ्याएको प्रविधि यहाँ उपयुक्त नहुनसक्छ । आधुनिक सडक र यातायात प्रणाली अँगालेको झण्डै ४ दशकको अनुभवबाट सिकेर पोखराले आफ्ना लागि उपयुक्त सडक निर्माण प्रविधि खोजीसक्नुपर्ने हो अहिलेसम्म तर दु:खको कुरा त्यो हुन सकेन । पोखराको जस्तै जमीन र हावापानी भएका अन्य ठाउँहरुमा पछ्याइएको प्रविधि हेरेर पनि सिक्न सकिन्थ्यो, त्यता पनि ध्यान गएको छैन ।

सडक पैदलयात्रीको पनि हो कि होइन ?

केहि समयपहिला मापदण्डभन्दा धेरै साँघुरो सडकपेटी राखिएको विरोधस्वरुप काठमाण्डौंमा जनताले सडकपेटी भत्काइदिएका थिए । सडकपेटीनै नभएपछि कस्तो विरोधको शैली अपनाउनुपर्ने होला, त्यो चाहिँ पोखराका जनताले सोच्नुपर्ने भएको छ । 
पोखरामा पछिल्लो समय बनाइएका वा पीच गरेका सडकमा कतै पनि पैदलयात्री हिँड्नका लागि सडकपेटी राखिएको देखिँदैन । मैले माथि उल्लेख गरेको के. आइ. सिंह पुलदेखि सुन्दर फिडसम्मको खण्डमा बाटो फराकिलै छ तर सडकपेटी छैन । सुन्दर फिडबाट फाटेर लामाचौर र महेन्द्रगुफासम्म पुग्ने दुइ बाटामा पनि सडकपेटी छँदैछैन । बस्तीको बीच हुँदै जाने यी सडक शहरी सडक हुन्, राजमार्ग होइनन् । यी  बाटोमा पैदलयात्रीहरुको संख्या पनि उल्लेख्य देखिन्छ । पैदलयात्रीको संख्या कम नै भएपनि सुरक्षाको दृष्टिकोणले सडकपेटी अनिवार्य हुन्छ । यो भेगमा मात्र यस्तो होला भन्ने लागेको थियो तर केहि समय पहिला आँखा अस्पताल जाँदा त्यताको बाटोको पनि यस्तै हालत देखियो । रामबजार क्षेत्रतिर पनि यस्तै देखिन्छ । अमरसिंह चोकबाट रानीपौवासम्मको सडकखण्डमा पनि सडकपेटी छैन । महेन्द्रपुल, चिप्लेढुङ्गा, पृथ्वीचोक आदि मुख्य बजार क्षेत्रबाट भित्र पस्ने धेरै जसो सडकमै पनि सडकपेटी देखिँदैन।

अचेल पैदलयात्रीका लागि आवश्यक सडकपेटी साह्रै साँघुरो राख्ने वा राख्दै नराखी सडक निर्माण गर्ने प्रवृत्ति मौलाएको छ हाम्रो राज्यमा । झ्वाट्ट हेर्दा यो सामान्य लापरवाहीजस्तो लाग्नसक्छ, तर यो राज्यले गरीरहेको अत्यन्त गम्भिर अपराध हो । सडकपेटी नराख्नु भनेको आफ्नै सवारी हुने मान्छेका लागि मात्र सडक बनाउनु हो र पैदलयात्रा गर्नेहरुको नागरिकका रुपमा कुनै अधिकार र कुनै हैसियत छैन भन्नु हो । यो देशमा आफ्नै सवारी हुनेभन्दा नहुने धेरै छन् । पैदलयात्रा गर्नेहरु सामान्यतया निम्न आर्थिक स्थितिका हुन्छन्, यसैले सडकपेटी नराखी सडक बनाउनु भनेको राज्यले गरेको गम्भिर वर्गविभेद हो । दृष्टिवीहिनहरु समेत सहजै हिँड्न सक्ने गरी आवश्यक व्यबश्थासहित बनाइनुपर्नेमा सडकपेटीनै नराख्नु चरम संवेदनहीनता हो ।

सडकपेटी शहरी सडक डिजाइनको अनिवार्य भाग हो र यसका लागि निश्चित मापदण्ड तोकिएको हुन्छ । नेपालको शहरी सडक मापदण्डमा पैदलयात्रीको चाप हेरी न्यूनतम डेढ मीटर देखि अधिकतम तीन मीटर सम्मको सडकपेटी राख्नुपर्छ भनिएको छ । नेपालको कानूनले पनि यिनै मापदण्डलाई पछ्याएको छ । यसकारण सडकपेटी नराखी सडक निर्माण गर्नु भनेको कानूनको उल्लंघन हो, यो दण्डनीय छ । यो कुरामा महानगर र अन्य सरोकारवाला निकाय चाँडै ध्यान जाओस्, सडकपेटीकै लागि सडक प्रयोगकर्ता जनताले अदालतसम्म जानु नपरोस् ।

अर्को तिर, सडक पेटीले सडकलाई एक हदसम्म जोगाउने काम पनि गरेको देखिन्छ । सडक पेटी नभएको ठाउँमा सडक छेउछेउबाट पीच बिग्रने र झरीमा बग्ने गरेको धेरै देखिन्छ ।

केहि समय पहिलेमात्र चिप्लेडुङ्गा-महेन्द्रपुल वरिपरिको छँदाखाँदाको सडकपेटी भत्काएर ‘नयाँ’ बनाउने महानगर सडकपेटीनै नभएका ठाउँका लागिचाहिँ किन तात्दैन, अनौठो छ ।

(यो लेख केहि सम्पादन सहित २०७६, पुस ७ गतेको 'समाधान' राष्ट्रिय दैनिकमा प्रकाशित भएको छ।



June 29, 2019

ट्राफिक लाइट कि ‘रेड लाइट’?

देहव्यापार वा चलनचल्तीको शब्द प्रयोग गर्दा वेश्यावृत्ति – यो पुरुष सत्ताको आविष्कार हो र पुरुषका लागि पुरुषले चलाएको उद्योग हो । हुनत सीमित रुपमा यदाकदा पुरुष वेश्यावृत्ति पनि देखिएको छ तर देहव्यापार संसारभरिनै मूलत: महिलाको शरीरको व्यापार हो । देहव्यापारलाई ‘संसारको सबैभन्दा पूरानो पेशा’को विशेषण दिएको पनि पुरुष सत्तालेनै हो । यदि देहव्यापार संसारको सबैभन्दा पूरानो पेशा हुन्थ्यो भने त्यसको प्रमाणका रुपमा अझै पनि बाँकी रहेका केहि आदिवासी समाजमा व्यापक रुपमा देहव्यापार देखिनुपर्थ्यो तर त्यो देखिन्न । देहव्यापार कथित ‘सभ्य’ र ‘विकसित’ समाजको उपज हो, त्यसकारण यो संसारको सबैभन्दा पूरानो पेशा होइन । महिलाको देहव्यापार जस्तो पुरुषको देहव्यापार कहिल्यै व्यापक हुँदा पनि हुँदैन किनभने अरु कसैको शरीरप्रतिको पुरुष र महिलाको सोचाइमा आकाश जमीनको अन्तर छ । पुरुषमा आक्रामकता छ, महिलाको शरीरमाथि शक्ति (शारीरिक बल वा पैसा जे पनि हुनसक्छ) का भरमा कब्जा जमाउनुलाई आफ्नो ‘सफलता’ मान्ने मनोविज्ञान छ तर महिलाको स्वभाव ठिक उल्टो छ । यौन पुरुषका लागि विशुद्ध शारीरिक कर्म हो भने महिलाका लागि यौन मूलत: मानसिक कर्म हो । पुरुषको यौन शारीरिक भएकाले उसलाई शरीर कब्जामा रस आउनु स्वाभाविक हो । महिलाको यौन मानसिक परितृप्तिका लागि हो, त्यो परितृप्ति कसैको शरीर कब्जा गरेर मात्रै मिल्ने कुरा होइन । यसैले मानव समाज कुनै दिन फेरि मातृसत्तातिर फर्कियो भनेपनि महिला सत्ताले पुरुषको देहव्यापारलाई ‘संसारको सबैभन्दा पुरानो पेशा’को रुपमा ‘आविष्कार’ गर्ने छैन । 

र यो देहव्यापारको बहस अहिले पोखराको पर्यटन उद्योगको गन्तब्यसंग जोडिन आइपुगेको छ । पोखरामा कथित रेड लाइट एरिया चाहिन्छ भनेर प्रदेश सरकारका मुख्यमन्त्रीले आफ्नो कार्यकालको शुरुवाती दिनमै बोलेपछि यसका बारेमा विवाद शुरु भयो । विरोधको स्वर ठूलो भएका कारण यो योजनाबाट प्रदेश सरकार पछि हटेको होला भन्ने आम विश्वाशका विपरीत यसलाई कथित ‘इन्जोय जोन’को छाता ओढाएर कार्यान्वयनमै लैजान खोजिएको छ अहिले । प्रदेश सरकार र यसको नेतृत्वलाई गण्डकी र विशेष गरी पोखराको पर्यटन उद्योगलाई विकास गर्नका लागि यौन धन्दा बाहेक अरु कुनै बाटो छैन भन्ने लागेको जस्तो महसुस हुन्छ सम्बन्धितहरुका कुरा सुन्दा । यो योजनाको ब्यापक विरोध भएको छ । केहि समर्थनका स्वरहरु पनि छन् । र के स्पष्ट देखिन्छ भने रेड लाइट एरिया (इन्जोय जोन) को विरोध गर्नेहरुमा महिला र पुरुष दुबै छन् भने समर्थन गर्नेमा केहि पुरुषहरु मात्र छन् ।

देहव्यापार महिलाको अस्मिता माथिको चरम अपमान हो । कुनै पनि समाजमा वेश्यावृत्ति बाध्यता हो, रहर हुनसक्दैन । हाम्रो समाजमा महिलाको स्थिति शोषित पीडित र अधिकारवीहिन छ । आफ्नै शरीरमाथि पनि उनीहरुको आफ्नो अधिकार नरहेको अवस्था छ । आर्थिक रुपले विपन्न र सामाजिक रुपले उत्पीडित समुदायमा  स्थिति अझ विकराल छ । यस्तो स्थितिमा देहव्यापारलाई कसैले जानीबुझी रहरले पेशा बनाउने कुरा हुँदैन । हरेक देहव्यापारी महिला कुनै न कुनै बाध्यताले वा कसैको धोका-धम्की-करबलका कारण यो पेशामा धकेलिएका हुन्छन्, उनीहरुलाई देहव्यापारमा धकेल्ने धेरैजसो नजिकका नातेदार पुरुषहरुनै हुन्छन् । त्यसकारण, राज्यको दायित्व भनेको ती बाध्यताहरुको पहिचान गर्नु, उनीहरुका लागि वैकल्पिक पेशाको व्यवस्था गर्नु र देहव्यापारबाट मुक्त पार्नु हो, न कि त्यहि बाध्यतालाई अझ दोहन गरेर कर उठाउनु ।

पश्चिमा विकसित देशमा देहव्यापार सहज र रहरको ‍पेशाजस्तो लाग्छ हामीलाई । ती समाजमा महिलाहरु हाम्रो समाजको दाँजोमा आफ्नो पेशाका बारेमा आफैं निर्णय गर्न सक्षम र स्वतन्त्र हुन्छन् । उनीहरुलाई देहव्यापारमा लाग्न कसैले बाध्य बनाउने सम्भावना धेरै कम हुन्छ । तर ती देशमै पनि देहव्यापारलाई कुनै इज्जतिलो कर्म मानिँदैन । कुनै देहव्यापारीसंग उभिएको तस्बीरमात्र बजारमा आयो भने ठूल्ठूला राजनीतिज्ञको सार्वजनिक जीवन समाप्त हुने गरेको देखिएको छ । यसैले हामीलाई ‘रेड लाइट’को प्रयोगको रहरै लागेको हो भने पनि कम्तिमा हाम्रो समाज एउटा निश्चित आयको तहमा पुगुञ्जेल र महिलाहरु आफ्ना बारेमा आफैं निर्णय गर्न सक्षम र स्वतन्त्र हुञ्जेलचाहिँ कुरौं ।

गण्डकी प्रदेश र पोखराको समग्र विकासका लागि पहिले गर्नुपर्ने अरु काम थुप्रै छन् । ट्राफिक लाइट समेत नभएको महानगर पोखराको प्राथमिकतालाई यसरी रेड लाइटतिर बहकाउनु गल्तीमात्र होइन गम्भिर अपराध हो ।  

पोखरामा ‘लाल बत्ती बजार’ ल्याउने तर्कमा सबैभन्दा जोडतोडले दिइने उदाहरण थाइल्याण्डको हो तर हाम्रा नीति निर्माताहरुले के बिर्सिएका छन् वा सम्झन चाहेका छैनन् भने थाइल्याण्डको पर्यटन उद्योग भनेको देहव्यापार मात्र होइन । थाइल्याण्ड ब्यापक भौगोलिक र साँस्कृतिक विशेषता र विविधता भएको देश हो । थाइल्याण्ड जाने पर्यटकहरु त्यहाँका प्राकृतिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाहरुले तानिएर जाने हुन् । थाइल्याण्डमा लामो समय बिताएका नेपालीहरु के भन्छन् भने अहिले थाइल्याण्डको रेड लाइट क्षेत्रमा सबैभन्दा धेरै जाने ग्राहक दक्षिण एशियाका पुरुषहरु हुन् । दक्षिण एशियाको पुरुष सत्ता दुई जना वयष्क व्यक्तिको आपसी सहमतिमा हुने स्वस्थ यौनसम्बन्धलाई बर्जित गर्ने तर भित्रभित्रै महिलाको शरीरको किनबेच गर्ने ढोंगी सत्ता हो । विश्वका विकसित र सभ्य देशमा त्यो ढोंग छैन र उनीहरुलाई सेक्सकै लागि नेपाल वा थाइल्याण्डजस्ता देशमा आइरहनुपर्ने बाध्यता र आवश्यकता पनि छैन ।

रेड लाइट पर्यटनका कारण थाइल्याण्ड आफैं लज्जित हुन थालेको धेरै भइसक्यो र उनीहरु यसलाई नियन्त्रण गर्दै छन् । थाइल्याण्डको केहि वर्ष यताको विकास र समृद्धि आफ्ना छोरीहरुको यौनांग बेचेर आएको होइन, त्यो उनीहरुले शिक्षा, आधुनिक प्रविधि र औद्योगिकीकरणमा गरेको ब्यापक लगानी र मेहनतको प्रतिफल हो । यसैले हाम्रा नीति निर्माताहरुले थाइल्याण्डबाट ‘रेड लाइट एरिया’ मात्र सिकेको देख्दा ताज्जुब लाग्छ । यस्तो लाग्छ, उनीहरु थाइल्याण्डका एअरपोर्टमा झर्नासाथ अन्त नगई सिधै पटाया र फुकेटका ‘रेड लाइट एरिया’तिर जान्छन् ।

पोखरामा ‘लाल बत्ती बजार’ चाहिन्छ भन्नेहरुको अर्को तर्क के हो भने ‘अहिले लुकीछिपी चलिरहेकै छ, अब चलिरहेकै कुरालाई व्यवस्थापन गर्दा के बिग्रिन्छ त?’ । यो झन् हास्यास्पद तर्क हो । चलीरहेका विकृतिलाई अन्त्य गर्ने होइन ‘व्यवस्थापन’ गर्ने तर्कमा सहमत हुने हो यस्तै अरु विकृतिलाई पनि ‘व्यवस्थापन गरे भयो !’ भन्ने तर्क गर्न सकिन्छ । नेपालबाट वर्षेनि हजारौं चेलीहरु भारतका कोठीहरुमा बेचिन्छन्, यसलाई पनि किन रोक्ने,  ‘व्यवस्थापन’ गरे भयो ! हिजोसम्म हाम्रो समाजले निश्चित जातिविशेषका महिललाई जबर्जस्ती यौनधन्दामा लगाएको थियो, यसलाई पनि ‘व्यवस्थापन’ गरे भयो ! विगतमा सतीप्रता थियो हाम्रो समाजमा त्यसलाई पनि ‘व्यवस्थापन’ गरेर चलाएको भए हुन्थ्यो ! राज्यका निकायहरुमा र राजनीति-प्रशाशन जुन चरम भ्रष्टाचार छ त्यसलाई पनि ‘व्यवस्थापन’ गरे भयो ? क्यान्सरको उपचार खोज्ने कि त्यसको ‘व्यवस्थापन’ गर्ने महाशयहरु ! ‘इन्जोय जोन’ वा अरु जुनसुकै नाममा पनि तपाईँहरुले ल्याउन खोजेको त्यो रेड लाइट एरियामा गरीब जनताका चेलीहरु मात्र होइन जो सुकैका छोरीचेलीपनि पुग्न सक्छन् भन्ने पनि हेक्का रहोस् ! यसैले यो योजनामा अघि बढ्नु अघि आफ्नै छोरीचेलीहरु पनि त्यहाँ पुगेको कल्पना गरीहेर्नुस् एकपटक !

यो कथित ‘इन्जोय जोन’ले पोखरा र गण्डकी प्रदेशलाई पार्ने घातक प्रभावहरुको लामो सूचि बनाउन सकिन्छ । सबैभन्दा पहिले जहाँ यो कथित ‘इन्जोय जोन’ खडा गरिन्छ त्यो ठाउँ र आसपासको बदनामी चुलिनेछ । उनीहरुसंगको सम्बन्धबाट अन्यत्रका मान्छेहरु तर्कनेछन् र ती ठाउँमा बिहेबारीको सम्बन्ध गाँस्न समेत राजी हुने छैनन् । यसले ती ठाउँका मानिसलाई दिने मानसिक, व्यावहारिक असरका बारेमा राज्य गम्भिर हुनुपर्छ । कुनै ठाउँविशेषमा यो कथित ‘इन्जोय जोन’ २-४ वर्ष मात्रै चलेर बन्द भयो भने पनि त्यसको असर पुस्तौंसम्म देखिइरहनेछ भने राज्यले योजनाबद्ध रुपमा स्थायी संरचना बनाएर चलायो भने झन् के हुन्छ हामी अनुमान गर्न सक्छौं ।

दोश्रो, यसले पोखराको आन्तरिक पर्यटनमा दिने अत्यन्त नकारात्मक धक्का हो । आन्तरिक पर्यटन पोखराको पर्यटन उद्योग र अर्थतन्त्रको एउटा खम्बा हो, र यसको हिस्सा दिनदिनै बढ्ने क्रममा छ । अहिले पोखरा हरेक नेपालीको लागि एउटा सुन्दर स्वप्न गन्तव्य हो । पोखरा बाहिरका हरेक नेपालीको कम्तिमा एकपटक पोखरा पुग्ने रहर हुन्छ । पोखराको सौन्दर्य र प्रदूषणमुक्त हावापानीले तानिएर वर्षैपिच्छे पटक पटक घुम्न आउने नेपालीहरु पनि लाखौं छन् । जब पोखरामा रेड लाइट एरिया शुरु गरिन्छ तब पोखराको भ्रमणलाई मान्छेहरुले सोझै रेड लाइट एरिया र देह व्यापारसंग जोड्नेछन् । त्यतिखेर पोखराको भ्रमण कुनै पनि व्यक्तिको बदनामीको कारण बन्नेछ । त्यो बदनामीबाट जोगिन पनि मान्छेहरु पोखरा आउनेछैनन् । 
  
र जहाँसम्म विदेशीचाहिँ यस्ता ‘इन्जोय जोन’मा ओइरिनेछन् भन्ने कुरा छ, त्यो पनि असम्भव हो । विकसित र धनी देशका मानिसहरु यौन र लागु पदार्थको खोजीमा हाम्रोजस्ता तन्नम देशमा आउँदैनन् । त्यसका लागि उनीहरुकै देशमा यथेष्ट इन्तजाम छ । हाम्रा नीति निर्माताहरु पश्चिममा लागु पदार्थ निषेधित भएको हिप्पी जमानाबाट ब्युँझिनु जरुरी छ । अहिले संसार डुल्ने पर्यटकहरु सेक्स होइन प्रकृति, संस्कृति, धर्म र अध्यात्म खोज्न हाम्रोजस्तो देशमा आउने हुन् । यसैले हामीले खोल्ने कथित ‘इन्जोय जोन’ अन्तिममा गएर नेपालकै धनी परिवारका बिग्रेका छोराहरु मडारिने ठाउँका रुपमा सीमित बन्नेछन् । यसले समाजलाई कता लान्छ भन्ने पनि सोचौं । नेपालीलाई प्रवेश निषेध गर्ने तर्क पनि आउन सक्ला तर हाम्रो जस्तो कमजोर नियमन प्रणाली भएको ठाउँमा यसको कुनै अर्थ हुँदैन भन्ने कुरा त क्यासिनोमा गरिएको नेपालीको प्रवेश निषेधको असफलताबाट छर्लङ्ग भइसकेको छ ।

‘इन्जोय जोन’ को अर्को अत्यन्त घातक असर भनेको यो नेपाली चेलीबेटी बेचबिखनको अर्को एउटा बजार बन्नेछ । भ्रष्ट राजनीति र प्रशाशनले त्यसलाई कमिसन र घूस खाने अर्को एउटा धन्दाको रुपमा विकास गर्नेछ र चेलीबेटी बेचबिखनको दर तिब्र गतिमा बढ्नेछ । बाध्यता, धम्की र आफ्नै नातेदारहरुको धोकाका कारण पोखराको रेड लाइट एरियामा आइपुग्ने छोरीचेलीहरुको कारुणिक कथा देश विदेशमा पढिँदा पोखराको कस्तो छवि निर्माण हुन्छ होला ? अर्कोतिर कथित ‘इन्जोय जोन’मा खुल्ला गरिने भनिएको लागू पदार्थको माध्यमबाट जोडिन आइपुग्ने विश्व माफियाले हाम्रो समाज र देशलाईनै तहसनहस पार्दिन सक्छ ।    

गण्डकी प्रदेश र पोखराको पर्यटन उद्योगको विकासका लागि यस्ता तुक न तालका योजनामा मन डुलाइरहनुपर्दैन । गण्डकी प्रदेश पर्यटन उद्योगका लागि स्वर्णभूमि हो । आफूसंग भएको सम्पत्तिको पहिचान गरिनुपर्यो र त्यसको प्रभावकारी परिचालन गरिनुपर्यो, समृद्धि हासिल हुने बाटो यहि हो । पोखराको पर्यटन उद्योग ‘प्रकृति, संस्कृति, धर्म र अध्यात्म’लाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ ।

सुन्दर प्रकृति गण्डकी प्रदेश र पोखराको पहिलो र सबैभन्दा महत्वपूर्ण सम्पत्ति हो । समथर तराइदेखि ८ हजार मीटरभन्दा अग्ला हिमालसम्म समेटेको यो प्रदेशका सामु अथाह सम्भावना छन् । यसैले प्राकृतिक संरक्षणसहितको पर्यटकीय गन्तव्यको विकास र प्रवर्धन पहिलो काम हुनुपर्छ । पोखरा आफैंमा एक दिनमा घुमिसकिने ठाउँ हो । विदेशीहरुका लागि यो मूलत: पदयात्रा र आरोहणमा जानु अघि र फर्केर आएपछिको विश्रामस्थल हो । यसैले नयाँ नयाँ पदयात्रा मार्गहरुको विकास गरिनुपर्छ र चलिरहेका पदयात्रा मार्गलाई डोजरले कोतरेर ध्वस्त पार्ने काम रोकिनुपर्छ । डोजरमात्रै विकास हो भन्ने घातक र भ्रष्ट मान्यताबाट प्रदेश सरकार र प्रदेशका पालिकाहरु मुक्त हुनु जरुरी छ । पोखराको बसाइ लम्ब्याउनका लागि यहाँ नयाँ नयाँ गन्तव्यहरु विकास गरिनुपर्छ । नजिकका गाउँहरुलाई पोखरासंग जोडेर बिहान हिँडेर बेलुका फर्कन सकिने छोटा पदयात्रा मार्गको खुलाउन पनि सकिन्छ । सडक यातायातका कारण कतिपय पूराना पदयात्रा मार्गहरु प्रयोगवीहिन भइसकेका छन्, तिनलाई पुनर्जागृत गरिनुपर्छ ।

सुन्दर प्रकृतिको उपयोग पदयात्रा मार्ग र आरोहरणका रुपमा मात्र होइन प्याराग्लाइडिङजस्ता साहसिक खेल गतिविधिसंग पनि जोड्न सकिन्छ । अहिले पोखरामा केन्द्रित यस्ता गतिविधिलाइ प्रदेशभरि विस्तारित गरिनुपर्छ । अर्कोतिर, प्राकृतिक सौन्दर्य र यो भेगको उत्कृष्ट हावापानीका कारण यहाँ फिल्म सिटी निर्माणको समेत धेरै सम्भावना छ । त्यो मात्रै होइन सुविधाजनक सभा-सम्मेलन केन्द्रहरु निर्माण गरेर पनि अन्तर्राष्ट्रिय समुदायलाई आकर्षण गर्न सकिन्छ । उच्च गतिको इण्टरनेट सुविधासहितका अनुसन्धान तथा विकास संस्था (टेक्नोलोजी पार्क)हरु खडा गर्ने हो भने अनुसन्धानकर्ताहरु पनि आकर्षित हुन्छन् । यति राम्रो मौसम भएको ठाउँमा बसेर अध्ययन अनुसन्धान गर्न मान्छेहरु लालायित हुन्छन् ।

जातिगत विविधताले भरिएको गण्डकी प्रदेशले आफ्नो समृद्ध संस्कृतिलाई पनि पर्यटनसंग सजिलै जोड्न सक्छ । गीतसंगीत,नाच, चाडबाड लगायतका साँस्कृतिक गतिविधिको प्रदर्शन मात्र होइन साँस्कृतिक अध्ययनका लागि समेत पर्यटकहरुलाई आकर्षित गर्न सकिन्छ । विन्ध्यवासिनी र मुक्तिनाथजस्ता पवित्र धार्मिक स्थलहरुमा यातायात, दर्शन र बसोबासको सुविधालाई स्तरोन्नति गरेर अझ धेरै पर्यटकहरु आकर्षित गर्न सकिन्छ । धार्मिक पर्यटकहरुका लगि अब हामीले भारतमात्र होइन, पाकिस्तानमा रहेका धनाढ्य हिन्दूहरु र इण्डोनेशियाको बाली टापूमा रहेका हिन्दूहरुसम्मलाई लक्ष गरेर अघि बढ्न सक्नुपर्छ ।

सांस्कृतिक र धार्मिक संगसंगै हामी आध्यात्मिक पर्यटनलाई पनि अघि बढाउन सक्छौं । अनादिकालदेखिनै ऋषिमुनिको तपोभूमि रहेको गण्डकी क्षेत्रमा अनुभूत गर्न सकिने आध्यात्मिक तरङ्गले धेरै सत्यका खोजीहरुलाई आकर्षित गर्न सक्छ । यसको पूर्वाधारका रुपमा प्रदेशका बिभिन्न स्थानमा सुविधायुक्त योग र ध्यानकेन्द्रहरुको स्थापना गरिनुपर्छ । यस्तै पूर्वीय ज्ञान र दर्शन अध्ययन गर्न चाहने विदेशीहरुलाई लामो समयसम्म संस्कृत, पाली र पूर्वीय दर्शन पढाउने सक्ने भौतिक र मानवीय पूर्वाधार शान्त हिमाली क्षेत्रमा व्यवस्था गर्न सक्ने हो भने त्यसले पनि प्रदेशको पर्यटन उद्योगलाई ठूलो टेवा दिनसक्छ ।
  
अर्थतन्त्र भनेको फेरि पर्यटन मात्र होइन । गण्डकी प्रदेशसंग जलविद्युत, कृषि, उद्योग आदिमा पनि प्रशस्त सम्भावना छन् । गण्डकी प्रदेश यतिखेर देशकै सबैभन्दा ठूलो जलविद्युत हब बनीसकेको छ, यसलाई कसरी प्रदेशको अधिकतम हितमा प्रयोग गर्न सकिन्छ भन्ने बारेमा सुविचारित योजना चाहिन्छ । बसाईँसराईका कारण प्रयोगमा नआएर बाँझिन थालेको ग्रामीण भूमिमा औद्योगिक रुपमै जडीबुटी, फलफूल र तरकारी खेतीलाइ अगाडि बढाउन सकिन्छ । प्रदेशमा रहेका जङ्गलहरुलाई काष्ठ उद्योगसंग जोड्न सकिन्छ ।

गण्डकी प्रदेश र पोखरासंग यस्ता निधिहरु अनगिन्ती छन् जसमा टेकेर केहि वर्षभित्रै समृद्धिको फड्को मार्न सकिन्छ । यति धेरै सम्पत्ति र सम्भावना भएको प्रदेशले कुनै उपाय नभएझैं देहव्यापार र लागु पदार्थ बेचबिखनको घृणित बाटो हिँड्न खोज्नु हास्यास्पद लाग्छ ।

गण्डकी प्रदेश र पोखराको अहिलेको प्राथमिकता ट्राफिक लाइट हो कि रेड लाइट एरिया ? अहिले यो प्रश्नको उत्तर सोचौं हामी सबैले । प्रदेशको आर्थिक सामाजिक विकास अलिक माथिल्लो चरणमा पुगेपछि आवश्यक परेछ भने रेड लाइट एरियासंगै जोडेर फेरि अर्को प्रश्नमाथि छलफल गरौंला ।



(२०७६, जेठ १५ गते बुधबार 'समाधान' राष्ट्रिय दैनिकमा प्रकाशित)

January 03, 2018

प्रादेशिक 'राजधानी' को कोलाहल

देशमा नयाँ संविधान अनुसारका ३ नै तहका चुनावहरु सम्पन्न भइसकेका छन् । नयाँ संविधान अनुरुपका राजनीतिक संरचनाहरु बनेर आइसकेपछि तिनीहरुका लागि आवश्यक विभिन्न भौतिक पूर्वाधारहरु मध्ये ७ प्रदेशका राजनीतिक प्रशासनिक केन्द्रहरु सबैभन्दा प्रमुख मध्येका हुन् । यी केन्द्रलाई प्रादेशिक राजधानी पनि भनिएको छ । अहिले देशका विभिन्न भागहरु यही प्रादेशिक राजधानीको कोलाहलले गुञ्जायमान भएका छन् । कथित प्रादेशिक राजधानी आफ्नै सहरमा हुनुपर्ने मागका साथ बन्द हड्ताल समेत हुन थालेका छन् । भर्खरै सम्पन्न चुनावमा नेताहरुले ठूला भोट बैंक भएका ठाउँ जति सबैमा प्रदेश राजधानी ल्याइदिने आश्वाशन बाँडेका थिए । र अहिले पनि कतिपय नेताहरु ‘फलानो ठाउँमा प्रदेश राजधानी नभए जे पनि हुन सक्छ !’ भन्ने शैलीको गैरजिम्मेवार भाषणबाजीमा व्यस्त छन् ।
प्रदेश राजधानीको माग प्रदेशका सबै भागबाट सकेसम्म समदूरीमा पर्ने, राम्रो सडक सुविधा भएको, नवनिर्माणका लागि पर्याप्त खाली जग्गा भएको आदि मापदण्डहरुका आधारमा तुलना गरेर आएको भन्दा पनि मनोगत रुपमा मात्रै आएको धेरै देखिन्छ । यो कोलाहलमा आवाज मिसाउनेहरु मूलत २ थरी छन् । एक थरी, प्रदेश राजधानी आयो भने आफ्नो ठाउँमा अन्यत्रभन्दा धेरै सेवासुविधा आउँला भन्ने विचारले प्रेरित छन् । बजार क्षेत्रका केहीलाई आफ्ना जग्गाको भाउ बढ्ला वा आफ्ना घरभाडामा जालान् भन्ने आशा पनि होला तर आफ्नो ठाउँप्रतिको भावुकता प्रमुख देखिन्छ यो समूहमा । अर्काथरी प्रदेश राजधानीको हल्ला चलाएर बजार छेउछाउको जग्गाको भाउ बढाउनेर त्यसमा तर मार्न चाहने ‘व्यवसायी’ हरु छन् । प्रदेश राजधानी आउनु–नआउनुभन्दा पनि तिनलाई त्यसको हल्लाले दिने फाइदानै पनि काफी छ । प्रदेश राजधानी भनेर हल्ला चलाइएका केही ठाउँहरुमा हप्ता दिनमै जग्गाको भाउ ३ गुणाले बढेका समाचारहरु आइरहेका छन् ।
कथित प्रदेश राजधानीको लागि मान्छेहरु यति धेरै उत्साहित हुनुमा कुनै भरपर्दो कारण भने देखिँदैन । नयाँ संवैधानिक संरचना अनुसार नीतिनिर्माणको धेरै काम केन्द्रीय संसदले गर्ने र विकास निर्माणका धेरै काम स्थानीय तहले गर्ने भएकाले प्रादेशिक तह सामान्यतया समन्वयकारी भूमिकामै सीमित हुने देखिन्छ । शक्तिशाली स्वायत्त स्थानीय तहहरु भइसकेपछि हाम्रो जस्तो सानो देशमा प्रादेशिक संरचना आवश्यकनै देखिँदैन । यो संरचना देशको ‘राजनीति उद्योग’ का मध्यम तहका खेलाडीहरुलाई ‘ठाउँ दिन’ र ‘अल्मल्याउन’ भने काममा आउने देखिन्छ । तर, यो ‘ठाउँ दिने’ खेलले देशलाई धेरै ठूलो आर्थिक बोझ थप्ने निश्चित छ ।
संघीयता कार्यान्वयन गर्न आवश्यक केन्द्रीय, प्रादेशिक र स्थानीय संरचनाहरु निर्माण गर्न सवा ८ खर्ब रुपैयाँजति चाहिने प्रक्षेपण गरिएको छ । यो खर्चको सबैभन्दा ठूलोे अंश प्रादेशिक संरचना निर्माणमै जानेछ किनभने यो हाम्रो लागि बिल्कुलै नयाँ संरचना हो । योजना गरिए अनुसार ३ वर्षभित्रमा खर्च हुने गरी यति ठूलो रकम निकाल्ने क्षमता देशसँग छैन । यो खर्च कसरी जुटाउने भन्ने बारेमा न राजनीतिक नेतृत्व न प्रशासनिक संयन्त्र, कसैसँग पनि ‘दाता गुहार्ने’ भन्ने बाहेक अरु कुनै स्पष्ट दृष्टिकोण छैन । दाता गुहार्दा पनि यति ठूलो रकम उठ्न सक्ने सम्भावना कम छ, यसैले आन्तरिक स्रोत पनि व्यापक रुपमा परिचालन गर्नुपर्ने हुन्छ । अर्को तर्फ, कुनै पनि निर्माण कार्यमा देखिने हाम्रो चरम ढिलासुस्ती हेर्दा ३ वर्षमा यति धेरै संरचनाहरु बन्छन् भनेर विश्वास गर्न सकिने आधार पनि कतै देखिँदैन ।
पौडिन नजानेका हामीहरुलाई एकै पटक समुद्रमा फ्याँकिएको छ, अब हामीसँग कि पौडिन सिकेर तैरिनु, नभए डुब्नुको विकल्प छैन । यो संघीयताको अभ्यास गर्ने, यसको सम्भव भएसम्म सदुपयोग गर्ने, संरचनाका कमीकमजोरीहरुलाई समाधान गर्दै जाने र एक दशकपछि गम्भीर समीक्षा गर्नुपर्ने स्थिति छ ।
हाम्रो देश विगतमा चरम काठमाडौं केन्द्रित राजनीतिले निर्देशित रह्यो । मोफसलमा आवश्यक संख्यामा गतिला सभासम्मेलन हलहरु समेत बनेनन् । केही प्रदेशमा प्रादेशिक संसदनै पार्टी प्यालेस र सिनेमा हलहरु भाडामा लिएर राख्नु पर्ने सम्भावना समेतको कुरा भयो । संसदपछि गभर्नरका निवास, मन्त्रालयहरु, मन्त्रीहरुका निवास आदि थुप्रै संरचनाहरु आवश्यक पर्छन् । यी सबैका लागि अहिले सम्बन्धित प्रदेशको कुनै एक ठूलो सहरलाई कथित राजधानी तोकेर त्यहाँ रहेका सरकारी भवनहरुलाई उपयोग गर्ने कामचलाउ निर्णय गरिएको छ ।


यो काम चलाउ संरचनामा भुलेर बस्नु घातक हुनेछ । राज्यले प्रादेशिक संरचनाको लागि दीर्घकालीन योजना बनाएर तुरुन्त काम सुरु गर्नुपर्छ । पहिलो काम भनेको स्थायी रुपमा प्रदेशको केन्द्र राख्ने ठाउँ तोक्नका लागि आवश्यक मापदण्ड निर्धारण गर्नु हो । हचुवाका भरमा मनोगत रुपले केन्द्र कहाँ राख्ने भनेर निर्णय गर्नु हुँदैन । हामीसँग अहिले भएका कुनै पनि सहररुहरु योजनाबद्ध विकास भएका हैनन् र तिनलाई अब चाहे जसरी योजनाबद्ध बनाउने वा विस्तार गर्न सकिने सम्भावना पनि खासै छैन । यसैले नयाँ योजनाबद्ध आधुनिक सहरहरु निर्माण गरेर तिनलाई स्थायी प्रादेशिक केन्द्रहरुको रुपमा अघि बढाउनु सबैभन्दा राम्रो हुन्छ ।
यसरी जगैबाट नयाँ सिर्जना गरिने सहरलाई आवश्यकता अनुसार योजनाबद्ध बनाउन र अत्याधुनिक सुविधाहरुद्वारा सुसज्जित गर्न सकिन्छ । सहरका हरेक सडक, भवन र सार्वजनिक संरचनालाई पूर्ण अपांगमैत्री बनाउन सकिन्छ । यी सहरका हरेक भवनमा बिजुली र टेलिफोन लाइन मात्र होइन पानी, ग्याँस आदि समेत केन्द्रीय प्रणालीबाट वितरण गर्न सकिने हुनेछ । साथै सहरका हरेक कुना र हरेक भवनका हरेक कोठामा अप्टिकल फाइबर लान सक्ने गरी निर्माण गर्न सकिन्छ । यसरी सहर निर्माण गर्ने हो भने प्रशासनिक कामकाज र यातायात लगायतका अरु सेवाहरुलाई अधिकतम हिजिटलाइज्ड गर्न पनि गाह्रो हुँदैन । यस्ता सहरहरु नै वास्तविक अर्थका स्मार्ट सिटी बन्न सक्छन् । यसरी नयाँ सहर निर्माण गर्दा यिनले प्रदेशको अर्थतन्त्रलाई गतिशील बनाउन र थुप्रै नयाँ रोजगारी र व्यवसाय सिर्जना गर्न पनि योगदान दिनेछन् ।
७ प्रदेशहरु मध्ये प्रदेश नं ४ लाई ‘राजधानी तोक्नका लागि कुनै समस्या नभएको’ प्रदेशका रुपमा चर्चा गरिएको छ र पोखरालाई यसको निर्विवाद राजधानी मानिएको छ । पोखरा निश्चित रुपमा प्रदेश ४ मा सबैभन्दा सुविधा सम्पन्न सहर हो र प्रदेश केन्द्रको तत्काल व्यवस्थापन गर्न योभन्दा उपयुक्त अर्को विकल्प नदेखिएला । तर, प्रदेश केन्द्र स्थायी रुपमै यहाँ राख्नु पोखराको लागि कति घातक हुन सक्छ भनेर छलफल गरिएको छैन ।
पोखराको कमजोर भौगोलिक बनावटलाई हेर्दा यहाँ अझै बस्ती विस्तार गर्नु र जनसंख्या थप्नु सुरक्षित छैन । पोखराको अहिलेको जनसंख्यानै बढी भइसकेको छ । प्रादेशिक संरचना पनि यहीं थोपर्दा पोखरा भिडभाड र प्रदूषणको मापदण्डमा अर्को ‘काठमाडौं’ बन्ने जोखिम पनि छ । पोखराको पहिचान प्रकृति र पर्यटन हो, देशको पर्यटकीय राजधानीको रुपमा यसको बलियो पहिचान अहिल्यै छ । राजनीतिक हिसाबमा पनि पोखरा महानगर आफैं एउटा सम्पन्न र बलियो तह हो । यसकारण, पोखरालाई प्रादेशिक केन्द्रको बैशाखी चाहिने बिल्कुलै देखिँदैन । प्रादेशिक केन्द्र बनाउने हठले बरु पोखराको पर्यटकीय पहिचान नष्ट गर्न सक्छ ।
प्रादेशिक संरचनाहरु राख्दा आर्थिक गतिविधि बढ्छ भनेर मान्ने हो भने पनि पोखराभरि छरेर राखिने विभिन्न ‘मन्त्रालय’ र कार्यालयहरु वरपर फष्टाउने भनेको ‘कोठाभाडा’ र ‘चिया चुरोट’ अर्थतन्त्रमात्र हो र त्यस्तो टुक्रे आर्थिक गतिविधिले पोखराको अर्थतन्त्रमा उल्लेख्य योगदान दिन पनि सक्दैन । अब प्रयोगमा नआउने भनेर मानिएका नेपाल सरकारका साबिकका क्षेत्रीय कार्यालय र अन्य संरचनाहरुलाई महानगरलेनै ग्यालरी, म्युजियम, सुविधासम्पन्न पुस्तकालय जस्ता रचनात्मक प्रयोगमा लगाउन सक्छ । संरचना रहेको ठाउँ हेरी व्यापारिक गतिविधिमै पनि लगाउन सकिन्छ । यसरी निर्माण हुने अर्थतन्त्र प्रादेशिक संरचना राख्दा सिर्जना हुने अर्थतन्त्रभन्दा सानो हुनेछैन ।

पोखरामा प्रादेशिक संरचना राख्दा पोखरा र अन्य भेग बीचमा अहिल्यै रहेको विकास असन्तुलन अझ बढ्ने अर्को पाटो पनि छँदैछ । लेखनाथ क्षेत्रबाट त विरोधको स्वर पनि उठीसकेको छ । एउटै महानगरमा रहेर पनि विकास र सुविधाका दृष्टिमा लेखनाथ क्षेत्रनै पोखराभन्दा पछि परेको स्थिति छ भने महानगर बाहिरका अरु क्षेत्र झन् पछि पर्नु अस्वाभाविक भएन । तर, प्रादेशिक संरचनाहरु लेखनाथमा राख्नुपर्छ भनेर उठेकोे आवाजलाई नेतृत्व दिइरहेकाहरुले पनि फराकिलो दृष्टिकोण प्रस्तुत गरेको भने देखिएको छैन । प्रादेशिक संरचनालाई नयाँ सहरको रुपमा विकास गर्ने भन्दा पनि केहि ‘मन्त्रालय’ हरु सम्म लेखनाथमा लैजान बार्गेनिङ गर्ने मनशायमात्र देखिन्छ ।
लेखनाथमा प्रादेशिक संरचना राख्दा पोखरा महानगरको विकास असन्तुलन निश्चित रुपमा कम हुन्छ तर यो संरचनालाई योजनाबद्ध नयाँ सहरको रुपमा विकास गर्न चाहिने एकै ठाउँमा रहेको हजारौं रोपनी खाली जग्गा लेखनाथमै पनि सायद बाँकी छैन । कृषियोग्य फाँट मासेर सहर बसाउनु गर्न हुने काम होइन, फेरि यसमा अधिग्रहण र मुआब्जा वितरणको झमेलालेनै वर्षौं खाइदिन सक्छ । सरकारी स्वामित्वको जग्गा धेरै भएको ठाउँ रोज्दा यस्ता जटिलताहरुको सामना गर्नु पर्दैन । अर्कोतिर, लेखनाथ आफैं पनि पोखराकै प्रतिस्पर्धी पर्यटन उद्योग विकास गर्न सकिने ठाउँ हो । यसैले प्रदेशको केन्द्रका लगि पोखरा र लेखनाथ बाहेकका विकल्पहरुका बारेमा छलफल चलाउनु उपयुक्त हुने देखिन्छ । पर्याप्त खाली ठाउँ भएको, राजमार्गसँग जोडिएको, भविष्यमा विस्तार भएर अरु साना सहरहरुसँग जोडिन सक्ने, उत्तर दक्षिण दुवैतिरबाट पायक पर्ने आदि कारणहरुले गर्दा तनहुँ जिल्लाको भिमादक्षेत्र प्रादेशिक केन्द्रका रुपमा उपयुक्त हुन सक्छ भनेर पनि चर्चा सुरु भएको छ । यो लगायत प्रदेश नं ४ को विशाल भूगोलभित्र सम्भाव्य अरु ठाउँहरुको पनि अध्ययन गरेर छिटो निष्कर्षमा पुग्नु आवश्यक छ ।
(गौतम काश्यपी रिसर्च, कन्सल्टेन्सी एन्ड ट्रेनिङ कं. लिमिटेडमा आवद्ध छन् ।)
- २०७४, पौष १७ गते तदनुसार् ईस्वी सम्वत २०१८, जनवरी १ मा 'समाधान राष्ट्रिय दैनिक'मा प्रकाशित

July 24, 2017

पोखराको महानगर यात्रा

तीन दशक अघिसम्म काठमाण्डौंमा जता हेरेपनि फाँट देखिन्थ्यो । चक्रपथ बाहिर मात्र होइन, चक्रपथभित्रै पनि ठूल्ठूला फाँटहरु थिए ।  तीनवटा ‘कोर’ सहर, त्यसपछि खुला फाँट अनि ग्रामीण बस्तीहरुको एउटा योजनाबद्धता र लय थियो । ग्रामीण बस्तीहरु कम उब्जाऊ जग्गामा थिए, फाँटमा घर विरलै बन्थे ।

काठमाण्डौं एउटा अत्यन्त उर्बर उपत्यका हो । यहाँको कृषिले विगतमा सृजना  गरेको समृद्ध सभ्यताको झलक अझै छँदैछ । पञ्चायतकालसम्म त्यहाँ जनसंख्याको चाप धेरै थिएन । २०४६-४७ साल पछिको खुला राजनीतिक र आर्थिक वातावरणमा काठमाण्डौंमा जनसंख्याको चाप बढ्न थाल्यो । राज्यको काठमाण्डौंकेन्द्रित सोचका कारण देशका अरु भागमा विकासको साह्रै सुस्त भएकाले शिक्षा, स्वास्थ्य उपचार र रोजगारीका लागि काठमाण्डौं सबैको गन्तब्य बन्यो । २०५१ सालदेखिको हिँसात्मक द्वन्द्वले विष्थापित गरेको जनसंख्याको ठूलो भाग राजधानीतिरै गयो । पहिलो मधेश आन्दोलनमा आन्दोलनकारीद्वारा लेखेटिएका पहाडियाहरुको गन्तब्य पनि काठमाण्डौंनै बन्यो ।

काठमाण्डौंमा यसपछि मनपरी बस्तीहरु बस्न थाले । राज्यले बस्ती विकासको गतिलो मापदण्ड बनाउन नसक्दा र  भएकै मापदण्ड पनि लागू गर्ने इच्छाशक्ति नदेखाऊँदा काठमाण्डौं अनियन्त्रित र अराजक शहरीकरणमा फँस्यो । यो अनियन्त्रित र अराजक शहरीकरणले काठमाण्डौंका फाँटहरु मासेर एउटा कुरुप कंक्रिट जंगलमात्रै सृजना गर्यो । कुरुप कंक्रिट जंगल फैलिएर चक्रपथबाहिर निक्लिएर अहिले त्यसले काँठका फाँटहरुलाई पनि एक-एक गरी निल्दैछ ।  ठूलो जनसंख्या र योजनावीहिन बस्ती र पूर्वाधार निर्माणका कारण काठमाण्डौंको यातायात, खानेपानी, फोहरमैला लगायतको व्यवश्थापन अतिनै जटिल भएको छ । काठमाण्डौंको जमीन, पानी र हावा चरम प्रदूषित भएको छ ।  त्यहाँ उद्यान लगायतका खुल्ला स्थानहरु एकदमै कम छन्, परम्परागत रुपमा रहेका सार्वजनिक चौरहरु पनि मासिईसकेका छन् । समुदाय वा राज्यले ठूला उद्यान बनाउन चाहेपनि अब जग्गा बाँकी छैन । कुनै ठूलो बिपत्तिमा उद्धार कार्य समेत राम्ररी गर्न नसकिने स्थिति २०७२ बैशाखको भूकम्पमै देखिईसकेको छ । अनियन्त्रित शहरीकरणका कारण मठ-मन्दिर लगायतका साँस्कृतिक सम्पदाहरुको संरक्षण हुन सकेको छैन, चाडपर्व र जात्राहरु समेत अतिक्रमित भएका छन् । काठमाण्डौंलाई ब्यबश्थित गर्न असम्भवजस्तै भईसकेको छ ।

पोखराको बारेमा लेख्न खोजिएको लेखमा काठमाण्डौंको दुर्गतिलाई शुरुमै उल्लेख गर्नुको कारण पोखराका लगि काठमाण्डौंको अनुभव सर्वाधिक महत्वको सन्दर्भ सामाग्री भएकाले हो । काठमाण्डौंको गल्तीबाट पोखराले सिक्नैपर्छ । एउटा सहरको रुपमा आफ्नै अनुभव र गल्तीबाट मात्र सिक्ने सुविधा, अवसर र समय पोखरासंग छैन न त देशका अरु सहरसंग नै  छ । त्यसो गर्ने सोच हामीमा आयो भने पोखरा पनि काठमाण्डौंजस्तै point of no return मा पुग्नेमा कुनै सन्देह छैन । पोखराले अनियन्त्रित जनसंख्याको चाप र योजनावीहिन सहरीकरणबाट आफूलाई बचाउनै पर्छ ।

फाँट मासिने कुरा नै हेर्ने हो भने पोखरामा पनि तिब्र गतिमा भईरहेको देखिन्छ । कुँडहर-चाउथे, बिरौटा लगायतका फाँटहरु कंक्रिट जंगलले भरिईसके । लेखनाथ क्षेत्रका फाँटहरु पनि तिब्र गतिमा मासिने क्रममा छन् । पोखराको जनसंख्या बृद्धिदर र नयाँ घर निर्माण हुने दर देशमै सबैभन्दा धेरै मध्ये पर्छ । सन् २०१० देखि २०१५ को अवधिमा समग्र कास्की जिल्लाको जनसंख्या वृद्धिदर १.३५ प्रतिशत थियो भने तत्कालीन पोखरा उप-महानगरको जनसंख्या बृद्धिदर ५.२१ प्रतिशत थियो । यसरी बढ्न सक्ने जनसंख्यालाई योजनाबद्ध तरिकाले ब्यवश्थापन नगर्ने हो भने यी र अरु फाँटहरु पूरै मासिने अवश्था आउन धेरै समय लाग्दैन ।

उब्जाउ जमीन कुनै पनि देश वा क्षेत्रको महत्वपूर्ण सम्पत्ति हो र खाद्य आत्मनिर्भरता आत्मविश्वाशको स्रोत हो । महानगरमात्रैको तथ्यांक उपलब्ध हुन सकेन तर महानगरको अर्थतन्त्र कास्की जिल्लाको अर्थतन्त्रको प्रमुख हिस्सा भएकाले  समग्र कास्की जिल्लाको तथ्यांककै आधारमा पनि एउटा चित्र बनाउन सकिन्छ । हालैका तथ्यांक हेर्दा कास्की जिल्ला आलुमा मात्र आत्मनिर्भर देखिन्छ, अरु खाद्य उत्पादन आवश्यकतभन्दा उल्लेख्य कम छ । अन्न बालीमा आत्मनिर्भरता ७४ प्रतिशतमात्रै छ भने तरकारी बालीमा ९० प्रतिशत छ । तेलहन र दलहनमा आत्मनिर्भरताको स्थिति अत्यन्त कम क्रमश: ३ र ४ प्रतिशत मात्रै देखिन्छ । पशुजन्य उत्पादनका हकमा पनि यो भन्दा राम्रो स्थिति छ भन्ने लाग्दैन ।

पंक्तिकारको आशय सबै कुरामा आत्मनिर्भर हुनैपर्छ, हुनसक्छ भन्ने भने होइन । कुनै पनि ठाउँ सबै थरी कृषि उत्पादनमा पूर्ण आत्मनिर्भर हुन सम्भव छैन, तर आत्मनिर्भरताको स्थिति जति धेरै भयो उति राम्रो हो । खेतीयोग्य फाँटहरु मासिँदै जाँदा स्वाभाविक रुपमा यो आत्मनिर्भरता कम हुँदै जान्छ र सहर खाद्य सामाग्रीमा बढी परनिर्भर हुँदैजान्छ । खाद्य सामाग्रीको ठूलो अंश बाहिरबाट आयात गर्नुपर्ने अवश्थाले महानगरको समृद्धियात्रालाई बाधा त दिन्छ नै, कुनै प्राकृतिक वा भू-राजनीतिक संकटका बेला सजिलै खाद्य संकट पनि सृजना हुन सक्छ ।

पोखराको परिचयको आयाम बिस्तार हुँदै छ । देशका सर्वाधिक संभावनायुक्त प्रदेशहरु मध्येको एक प्रदेश नं ४ को क्षेत्रीय राजधानी यहीँ रहने लगभग निश्चित छ, यहाँ क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पनि बन्दै छ र भविष्यमा कोरला नाका हुँदै चीन र नेपाल बीचको सम्पर्क बढ्ने क्रमको केन्द्रमा पनि पोखरा नै हुनेछ । यसरी पोखरा एउटा गतिशील पर्यटकीय र ब्यापारिक राष्ट्रिय-अन्तर्राष्ट्रिय ‘हब’ बन्ने छ । यसैले पोखराको भावी योजना बनाउँदा यी तीनै कुराहरुलाई केन्द्रमा राख्नुपर्ने हुन्छ । पोखराको स्वरुप यी तीन कुराका माध्यमबाट बिस्तारित हुने गतिबिधिहरुलाई धान्न सक्ने गरी आधुनिक र सुविधासम्पन्न हुनुपर्छ, अर्कोतिर यसको सौन्दर्य पनि मासिनु हुँदैन ।

पोखरालाई कस्तो बनाउने भन्ने कुराको प्रस्थानबिन्दू ‘पोखराले के के गर्ने?’ भन्ने हो । पर्यटन, औद्योगीकृत कृषि-पशुपालन, सेवामूलक उद्योग, उत्पादनमूलक उद्योग, वित्तीय सेवा, शिक्षा, स्वास्थ्य सेवा आदि मध्ये कुन-कुन आर्थिक गतिविधि र उद्योगलाई पोखराले आफ्ना केन्द्रीय वा मुख्य उद्योगका रुपमा लिने र ती मुख्य उद्योगलाई सघाउन आवश्यक पर्ने अरु कुन-कुन उद्योगलाई कुन तहसम्म अपनाउने भन्ने बारेमा एउटा स्पष्ट अवधारणा बन्नुपर्छ । यसले अल्पकालीन र दिर्घकालीन दुबै थरी योजना निर्माणमा सहजता दिनेछ ।

पोखरा भरतपुर महानगर जस्तो एउटै समथर भौगोलिक निरन्तरतामा अवश्थित छैन । समथर भौगोलिक निरन्तरता हुँदा एउटा केन्द्रीय (कोर) भागको वरिपरि सहर विस्तारित हुँदै जान्छ जुन सम्भावना यहाँ छैन । साबिकका पोखरा उप-महानगर, लेखनाथ नगर र गाभिएका गाविसहरु-सबै फरक-फरक भौगोलिक विशेषताका छन् । यसैले पोखराको विकास योजना केहि जटिल हुनजाने निश्चित छ । पोखरा पहिलदेखिनै बढी विकसित भएको र महानगर स्तरीय संरचनाहरु पनि यहीँ रहने भएकाले यो स्वाभाविक रुपमा महानगरको केन्द्रका रुपमा रहन्छ । तर बढी केन्द्रीकरणले  साबिकका गाविसहरु मात्र होइन लेखनाथ क्षेत्रसमेत छायामा पर्न जाने खतरा देखिन्छ । यस्तो हुनु स्वयं पोखराकै लागि समेत लाभदायक हुन सक्दैन । यसैले प्रादेशिक संसद, प्रदेशका प्रशाशनिक पूर्वाधार र प्रदेश तहका सांगठनिक संरचनाहरुलाई लेखनाथमा राखेर लेखनाथलाई महानगरको अर्को केन्द्रका रुपमा विकास गरिनुपर्छ । ठूला सहरहरुका केन्द्रीय (कोर) भाग सामान्यतया प्रशाशनिक र ब्यापारिक-आर्थिक केन्द्रका रुपमा रहेका  हुन्छन्, बसोबासका केन्द्रका रुपमा भने सुविधासम्पन्न ‘स्याटेलाइट सिटी’हरु विकास गरिएका हुन्छन् ।  सहरी जनसंख्याको उल्लेख्य भाग दिनभरि सहरमा काम गर्छ र रातको समय बिताउन यस्ता ‘स्याटेलाइट’ तिर फर्कन्छ ।  यसो गर्दा सहरको केन्द्रीय भागको व्यवश्थापन जटिलताहरु कम हुन्छन् । यसैले पोखरा महानगरको विकासका लागि  दुइ केन्द्र र धेरै उपकेन्द्र (स्याटेलाइट)को अवधारणा आवश्यक पर्छ ।

साबिकको पोखरा भित्रै पनि महानगरपालिकाको  वडा नं १ देखि १२ ‘कोर’ पोखराको रुपमा रहने देखिन्छ । यी वडाहरु वरिपरिका सहरीकरण हुन थालेका भागहरुलाई ‘कोर’ पोखराको बाहिरी वृत्तका रुपमा योजनाबद्ध विकास गर्न सकिन्छ ।  निर्माणाधीन क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको अत्यन्त निकटतका कारण कोर पोखरामा अग्ला भवनहरु बनाएर बढ्दो जनसंख्या र बढ्दो ब्यापारिक गतिबिधिहरुको व्यवश्थापन गर्न सक्ने सम्भावना देखिँदैन । यसैले भएको सीमित जमीनलाई अत्यन्त सावधानीसाथ प्रयोग गर्नु पर्ने हुन्छ । फेरि एउटा आधुनिक महानगर बन्ने महत्वाकांक्षा राखिसकेपछि पोखरासंग फराकिला सडकहरु र व्यवश्थित सार्वजनिक यातायात त हुनुपर्छ नै, साथमा प्रशश्त उद्यानहरु, संग्रहालयहरु, ग्यालरीहरु, थिएटरहरु आदि पनि हुनुपर्छ । पोखराको प्राकृतिक सौन्दर्यसंग सामञ्जस्य हुने गरी यस्ता संरचनाहरुको स्वरुपमा पनि सौन्दर्य चेत झल्किएको हुनुपर्छ । यी जटिलता र सीमितताहरुको माझबाट पोखरा निर्माणका उचित योजना निकाल्न निश्चयपनि ब्यापक अध्ययन र विमर्श आवश्यक पर्छ।

महानगरभित्रका पुरुन्चौर, भरतपोखरी आदि जस्ता क्षेत्रमा छरिएर रहेका बस्तीलाई एकत्रित गरेर योजनाबद्ध र सुविधासम्पन्न साना सहरहरुको निर्माण गर्न सकिन्छ । यस्ता सहरहरु महानगरका उपकेन्द्रहरु हुनेछन् । यी उपकेन्द्रहरु कृषि, कृषिमा आधारित उद्योगहरु र पर्यटनका माध्यमबाट गतिशील हुन सक्छन् । यी सहरहरु कोर पोखराको जनसंख्याको एक अंशको आवासीय प्रयोजनका लागि पनि उपयुक्त हुन्छन् ।  आवश्यकता हेरी यस्ता सिटीहरुको निर्माण पोखरा महानगर नजिकका गाउँपालिकाहरुमा समेत गर्न सकिन्छ । यसका लागि सम्भाव्य ठाउँहरुको बृहत् भौगर्भिक अध्ययन गरी उपयुक्त निर्माण योजना तयार पारिनुपर्छ ।

बृहत् भौगर्भिक अध्ययन, वर्गीकरण र अभिलेखीकरण कोर पोखराकै पनि आवश्यक छ ।  चर्चामा आएजस्तो पर्वत वा तनहुँका भाग समेतलाई गाभेर ‘बृहत् पोखरा’ बनाउन शुरु गर्नका लागि प्रादेशिक र केन्द्रीय तहकै योजनाहरु आवश्यक पर्छ, जसका लागि चाहिने स्थायित्व र इच्छाशक्ति हाम्रो देशको राजनीतिमा सृजना भइसकेको देखिँदैन । पोखरा-लेखनाथ महानगरले आफ्नै सीमा र बढीमा कास्की जिल्लालाई आधार मानेर योजना बनाउन शुरु गरिहाल्नुपर्छ र यहि भौगोलिक सीमालाई उपयोग गरेर पनि यसले एउटा व्यवश्थित महानगरको स्वरुप लिनसक्छ ।

नयाँ प्रशाशनिक संरचना अनुसार पोखरा-लेखनाथ महानगरपालिकाले कास्की जिल्लाको २३ प्रतिशत भूभाग ओगटेको छ भने यहाँको जनसंख्या कास्कीको कूल जनसंख्याको ८४ प्रतिशत छ गाउँबाट सहरतिरको बसाइँ सराइको तिब्रताका कारण जमीन र जनसंख्याको वितरणमा रहेको यो असन्तुलन भविष्यमा अझ बढ्ने निश्चित छ । पोखरा-लेखनाथ महानगरभित्रै पनि यो असन्तुलन छ । वि.सं. २०६८ सालको जनगणनामा पोखरा उप-महानगरको सहरी क्षेत्रको जनघनत्व २,८३०.७९ प्रति वर्ग कि.मी. थियो भने लेखनाथ नगरको सहरी क्षेत्रमा ५३४.१४ प्रति वर्ग कि.मी. मात्रै थियो । पोखरा र लेखनाथका ग्रामीण भेगहरु र महानगर बनाउने क्रममा गाभिएका गाविसहरुको जनघनत्व यो भन्दा धेरै कम छ । कास्कीका गाउँपालिकाहरुमध्ये रुपा गाउँपालिकाको जनघनत्व १५३ छ भने बाँकी अरु तीनको ६८, ४० र ३२ प्रति वर्ग कि.मी. मात्रै छ । यो असन्तुलित वितरणले गर्दा एकातिर महानगरको व्यवश्थापन जटिल हुन जान्छ भने अर्को तिर ग्रामीण भूभागमा रहेका जमीन र जंगलजस्ता स्रोतको उपयोग हुन नसकी खेर जान्छ । यसरी खाली रहेको पहाडी भूभागलाई महानगरले औद्योगिक रुपले उपयोग गर्न सक्छ । पोखरा वरिपरिको पहाडी भूभाग पर्यटन मात्र होइन काष्ठ उद्योग, जडीबुटी, फलफूल, औद्योगीकृत पशुपालन आदिका लगि धेरै सम्भावना बोकेको क्षेत्र हो । अहिलेसम्म पर्यटनमा बाहेक अन्य क्षेत्रमा काम हुन सकेको छैन । पर्यटनमै पनि सम्भावनाको केहि अंशको मात्रै काम भएको छ ।  यी सबै सम्भावनाहरुको उचित दोहन गर्न सक्ने हो भने महानगरको समृद्धिमा ठूलो टेवा पुग्नेछ ।

आवश्यक सम्पूर्ण पूर्वाधारहरु निर्माण गर्न र एउटा गतिशील, जीवन्त सहरका रुपमा समृद्धिको यात्रा अघि बढाउन पोखरालाई उर्जाको निश्चिन्तता चाहिन्छ । यसमा पनि विशेष गरी भरपर्दो विद्युत प्रणाली अपरिहार्य छ । पोखरामा बायोग्यास, सौर्य उर्जा आदि जस्ता नवीकरणीय स्रोतको विकास र प्रयोगको सम्भावना पनि धेरै छन् । अहिले आवश्यक उर्जा, भविष्यमा बढ्ने माग, उपलब्ध हुन सक्ने स्रोतहरु र तिनको विकासका बारेमा महानगरले आफ्नो एउटा स्पष्ट अवधारणा र योजना बनाउनु पर्छ ।

पोखराजस्तो संभावनायुक्त महानगरको विकासका लागि योजना बनाउँदा तत्कालका लागि मात्र नभै दिर्घकालीन दृष्टिकोण हुनुपर्छ । पूर्वाधार निर्माणका योजनाहरुले कम्तिमा आगामी ५० वर्षसम्मको पोखरालाई ध्यानमा राखेको हुनुपर्छ । महानगरसंग स्पष्ट र व्यवश्थित संस्थागत निरन्तरता हुनुपर्छ र एउटा नेतृत्वले शुरु गरेको योजनालाई अर्को नेतृत्वले निरन्तरता दिन सक्नुपर्छ । एउटा नेतृत्वले एउटा घोषणा गर्ने, पछि आउने नेतृत्वले अघिल्लोले शुरु गरेका कामलाई छोडेर अर्को घोषणा गर्ने कार्यशैलीमा अल्झिने हो भने विकसित र व्यवश्थित पोखराले मूर्त रुप लिन सक्ने छैन ।

(यो लेख केहि सम्पादन सहित पोखराबाट प्रकाशित हुने राष्ट्रिय दैनिक 'समाधान'मा मिति २०७४/०३/०६ मा छापिएको थियो)