January 26, 2012

मेरा बीपीमय दिनहरु-२


बीपीको 'जेल जर्नल' पढेपछिका कुरा लेखेको थिएँ अलि पहिलेनै यहि ब्लगको कतै। धेरै दिन लगाएर पढेको थिएँ त्यो पुस्तक। बीपीकै अर्को पुस्तक 'फेरि सुन्दरीजल' पढ्न झन् बढी समय लाग्यो। 

मलाई कुनै पनि किताब 'एक बसाई'मै पढ्न मन लाग्छ एउटा किताबै पढीभ्याउने 'एक बसाई'लाई बाल्यकाल र कैशोर्यले आफैंसंग लिएर गईसकेका छन् शायद। 'फेरि सुन्दरीजल' पनि अलि-अलि गर्दै पढियो, दैनिकीलाई दिनको एक-दुई पृष्ठका दरले या भनौं दैनिकीकै रुपमा पढियो:) फेरि चाँडै सकिएला भन्ने डरले मैले लगभग हरेक पृष्ठ दोहोराएर पढें।

२०१७ सालको काण्डपछिको लगत्तैको जेल बसाईलाई 'जेल जर्नल'ले समेटेको छ भने 'फेरि सुन्दरीजल'ले बीपी आफ्नो आठ वर्ष लामो प्रवास त्याग गरेर २०३३ सालको पुस १६ मा देश फर्केपछिको जेल जीवनको एक भागलाई समेटेको छ। नेपालीको भूमिमा टेक्नासाथ पंचायती सरकारले उहाँ र नेता गणेशमान (जीएम)लाई समातेर फेरि सुन्दरीजल जेलमै लैजान्छन्। यसैले किताबको नाम 'फेरि सुन्दरीजल' बन्न पुगेको निश्चित छ। बीपीले अंग्रेजीमा लेख्नुभएको दैनिकीको नेपाली अनुवाद हो यो किताब। अनुवादले बीपीको शैलीमाथि पूरा न्याय गरेको लागेको छ मलाई, किनभने 'फेरि सुन्दरीजल' पढ्दा 'जेल जर्नल'कै निरन्तरताको अनुभूति हुन्छ। 

ईन्दिरा गान्धीको कपटलाई आफूहरु नेपाल फर्किनुका कारणहरु मध्ये एक मानेर आलोचना गर्दै शुरु भएको छ दैनिकी। देश र राजनीतिका कुरा त बीपीको दैनिकीमा नपर्ने कुरै भएन, यस बाहेक बीपीलाई आफ्नो अनुपश्थितिमा आफ्नो परिवार कसरी चल्ला, 'गिरिजाले स्थिति कसरी सम्हाल्ला--?' भन्ने चिन्ताले गाँजरिहन्छ बेलाबेलामा। परिवारका सदस्यहरुको यादमा, प्रशंशामा उहाँ धेरै घोत्लिनुभएको छ, विशेष गरी सुशीलाजीप्रतिको अनुराग, प्रेम र आत्मीयतामा। सुशीलाजीको सम्झनामा धेरै भावुक बनेर, उहाँको फोटो हेरेर घोत्लिनुहुन्छ बीपी। आफ्नी मृत आमाको सम्झना र त्यो सम्झनाले उहाँलाई उर्जा दिने प्रसंगले पनि साह्रै प्रभावित पार्छ हामीलाई। 'जेल जर्नल'मा जस्तै उहाँको शैलजाजीसंगको आत्मीयता पनि ब्यक्त भएको देखिन्छ धेरै ठाऊँमा। शैलजालाई उहाँ अत्यन्त प्रशंशा गर्नुहुन्छ र 'उनी' पनि आफूसंगै भैदिएको भए जेल जीवन कठिन हुने थिएन भन्नुहुन्छ।  

जीएमले कोइराला परिवारको जीवन-चिन्तन शैलीको बहुतै प्रशंशा गर्नुहुँदोरहेछ भन्ने बुझिन्छ। बीपी आफैंपनि आफ्नो परिवारप्रतिको स्वाभिमानलाई खुल्ला उतार्नुहुन्छ, 'कोइराला कुनै परिवारको नाउँ होइन। यो एउटा मनोवैज्ञानिक, नैतिक र आध्यात्मिक चीज हो। यो जीवनको एउटा दृष्टिकोण हो।' भनेर। र उहाँ भन्नुहुन्छ, कोइराला परिवारसंगको लामो सहवासपछि '---जीएम---आफैं कोइरालाझैं बन्न पुग्नुभएको छ--'। बीपीले जीएमको स्वभाव र दैनिकीको पनि धेरै बयान गर्नुभएको छ आफ्ना दैनिकीका पानाहरुमा। जीएमको समय अनुसार चल्ने बानी र क्षमताको बयान बीपी यसरी गर्नुहुन्छ, 'सेकेण्ड सेकेण्डको हिसाब मिल्ने गरी चल्ने उहाँको क्रीयाकलापको आधारमा घडी समेत मिलाउन सकिन्छ।' जीएमका सबलता र कमजोरीहरुको बारेमा पनि विश्लेषण गर्नु भएको छ। विशेष गरी, बयान लिन र मुद्दा चलाउन उहाँ र जीएमलाई छुट्टाईएका दिनहरुमा उहाँले जीएमको उच्च मूल्यांकन गर्नुभएको छ। जीएमपनि नहुँदाको उहाँको एक्लोपनाले हामीलाई समेत सताऊँछ। 

आफनो जीवनको समीक्षा गर्नुभएको छ बीपीले ठाऊँ-ठाऊँमा र उहाँ आफूलाई जीवनसंग 'आत्मसन्तुष्ट' मान्नुहुन्छ। जीवनभरि कहिले राणाले र कहिले दरबारले सताएर अत्यन्त प्रतिकूल भौतिक र राजनैतिक परिश्थितिमा बस्नु परेपनि र खुल्ला राजनीतिमा आफ्नो क्षमताको पूरा उपयोग गर्न नपाएपनि परिश्थिति अनुसार आफूले गरेका धेरैजसो निर्णयहरु सही रहेको ठान्नुहुन्छ उहाँ। नैतिक रुपले आफू जहिलेपनि माथि रहेको लाग्छ उहाँलाई। टाढा पारएको परिवारप्रतिको आशक्तिको भावले अलिकति उदास र हठात् भएपनि राजनीतिक रुपमा आफू दृढ, मृत्यपर्यन्त दृढ रहने ईच्छाशक्ति देखिन्छ उहाँमा। धेरै ठाऊँमा उहाँले जीवन र मृत्युका बारेमा गम्भिर दार्शनिक चिन्तन पनि पोख्नुभएको छ। 

जेल जर्नलमा जस्तै बीपीको अध्ययनशीलता प्रचूर झल्किन्छ यसमा पनि। त्यस्तै लेख्नका लागि कागज यथेष्ट उपलब्ध नहुँदाका पीर पनि छन्। एक पटक त उहाँहरु कागत नपाएर पत्रिकाका छेऊ-छेऊका खाली भाग र ट्वाईलेट पेपरका चक्कामा समेत लेख्ने तयारीमा पुग्नु भएको रहेछ। पछि कागत उपलब्ध भएछ। 

यसमा जेल प्रशाशन, सेना, प्रहरी आदिका बारेमा कुरा त छँदैछ, तत्कालीन नेपाली राजनीतिका (राजा बाहेकका) अरु पात्रहरुका प्रसंग पनि धेरै आऊँछन्। सूर्य बहादुर थापा उहाँको विचारमा पहिले भारतीय एजेण्ट थिए र त्यतिखेर बिस्तारै राजासंग नजिक हुँदै थिए। भारतीय राजनीतिका पात्रहरुका प्रसंग पनि हुनेनै भए, भारत बाहेक अन्तका राजनीतिक पात्रहरुका कुरा पनि छन्। तत्कालीन नवनिर्वाचित अमेरिकी राष्ट्रपति जिम्मी कार्टरप्रति उहाँले निकै भरोसा राख्नुभएको देखिन्छ। 

तत्कालीन प्रशाशनले उहाँलाई उपचारका लागि अमेरिका जान दिएको थियो। अमेरिका बसाईका प्रसंग छैनन्, अमेरिकाबाट फर्केर आएपछि फेरि शुरु भएको जेल जीवनका दैनिकी भने छन्।  

ठाऊँ-ठाऊँमा भेटिने आफ्नो वरिपरिको प्रकृति वर्णन, चराहरुको वर्णन र मानवीय चरित्रको सुक्ष्म अवलोकनले पनि बीपीको संवेदनशील मन र कुशल साहित्य शिल्पको झलक दिन्छन्।
------------------------------------
पढीसक्नुभएको छैन भने पढिहाल्नुस्। ‘फेरि सुन्दरीजल’ एउटा छुटाउन नहुने कृति हो, नेपाली इतिहासको एउटा विशिष्ट कालखण्ड र त्यो कालखण्डका धेरै पात्रहरुको बारेमा बुझ्नका लागि यो दैनिकी अवश्य पनि सहायक सिद्ध हुनेछ। प्रजातन्त्र प्राप्तिका लागि बीपी र जीएमजस्ता नेताहरुले गरेको संघर्ष र त्यागलाई कहिल्यै नबिर्सनु र ती संघर्ष र त्यागका कथालाई आऊँदो पुस्तालाई पनि सुनाउनु हाम्रो दायित्व हो।  

January 18, 2012

शहर र देश

शहर 
जति  पस्यो उति फोहर 
जति  बस्यो उति फोहर 
यो फोहर काठमान्डौमा- 
जो फस्यो उहि फोहर


देश चलेको छ! 

सरकार गरीबीको कथा बाँडेर डलर फलाउँछ
एनजीओ गरीबको फोटो बेचेर डलर फलाउँछ
घर चलाउने-देश चलाउने जिम्मा चाहिँ सानेको-
अरबमा रगत-पसिना रोपेर डलर फलाउँछ 

January 08, 2012

शौचालयको कुरा, बानी बदल्ने कुरा

एघार दिन घर्केर गईसकेछ गाँठे पछिल्लो पोष्टपछि!

(ढिलै भएपनि) यहाँहरु सबैमा नव वर्ष २०१२ को हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु।

लेख्ने विषय कति मिलेका थिए कति, भ्याए पो! ति मध्ये पनि विशेष गरी उत्तर कोरीयाली तानाशाह किम जोङ्ग इलको मृत्यु र त्यहाँको मध्ययुगीन-सामन्ती सत्ता हस्तान्तरणका बारेमा केहि लेख्ने मन थियो। यसपछिका कुनै पोष्टमा भए पनि लेख्नेछु।

२०११ को अन्तिम दिन साँझ (पोखराको) लेकसाईडको सडक महोत्सब हेर्न पुगिएको थियो सपरिवार। सडक महोत्सब रमाईलै थियो, भिड पनि उल्कानै थियो र साँझ छिप्पिएर रातमा बदलिँदै जाँदा भिडको बाढी निरन्तर बढीरहेको थियो। पर्यटनमय पोखरा यतिखेर नि:सन्देह पर्यटकमय थियो। देशमा शान्ति-सुरक्षा बढ्दै जाँदा यो भिड बढ्ने निश्चित छ, र त्यसका लागि पर्यटन उद्योगलाई अझ सम्पन्न र व्यवश्थित बनाऊन जरुरी भईसकेको छ। पर्यटन उद्योगलाई कुनै छुट्टै चरीको नामजस्तो गरेर हेर्दा यसलाई विकसित र व्यवश्थित बनाउन सकिन्न, यसलाई प्रकृति संरक्षण, भौतिक पूर्वाधारहरुको विकास, आधुनिक सुविधाहरुको उपलब्धता र सुसंस्कृत मानवीय गुणको संयोजनका रुपमा समग्र रुपमा बुझ्नै पर्ने हुन्छ।

नेपालका शहरहरुको सबैभन्दा ठूला समस्याहरु मध्ये एक पर्याप्त सार्वजनिक शौचालयहरुको अभाव पनि हो भन्ने लाग्छ मलाई। यस्तै अभाव त्यो साँझ पनि अलि-अलि झेलियो। आफूले भए त केहि समय सहिन्थ्यो होला, तर छोरीलाई पनि त्यसै गर्न भन्न सकिएन। खाना खाने बेला भईसकेको पनि थिएन, नत्र त खान पसेकै रेष्टुरेण्टले काम चल्थ्यो होला। पिसाब गर्नकै लागि मात्रै कुनै रेष्टुरेण्ट पनि के पस्नु! 

लेकसाईडमा सार्वजनिक शौचालय (तालबाराही मन्दिरतिर जान) डुंगा चढ्ने घाटमा मात्रै छ। सडक महोत्सबमा लेकसाईडमा लोड शेडिङ्ग हुँदैन तर त्यो घाट भने अँध्यारै थियो, दुई-तीन मधुरा सडकबत्तीहरु मात्रै टिल्पिलाईरहेका थिए। त्यहाँ पुग्दा पुरुष शौचालयमात्रै खुला थियो र त्यहाँ बसेका भाइहरुले आफ्नै हिसाबले महिला र पुरुष दुबैका लागि त्यसको व्यवश्थापन गरिरहेका थिए। उनीहरु एकचोटि पुरुषहरुको मात्र समूहलाई भित्र पठाऊँथे, अर्को चोटि महिलाहरुको मात्र समूहलाई। यसरी 'पालो प्रथा' थियो शौचालय जाने:)

पछि घर फर्कने बेला फेरि छोरीले पिसाब गर्छु भनी। त्यतिखेर अलि परै पुगिसकिएकोले फरि भिड छिचोलेर घाटमै जाने आँट गर्न सकिएन र पछिल्तिरको चउरलाईनै बनाईयो शौचालय। यो 'खुल्ला आकाशमुनिको शौचालय' प्रयोग गर्ने भिड ठूलै थियो र त्यो भिडको आकार पनि बढीरहेकै थियो।

सडक महोत्सवले सडकमै प्रशश्त फोहरपनि उत्पादन गरीरहेको थियो। फोहरहरु फ्याँक्नका लागि ढ्वाङ्गको व्यवश्था भने एकदम कम थियो। पोहरको सडक महोत्सव र  पोखराका अरु केहि महोत्सवहरु पनि हेरेको छु मैले तर यो फोहर फाल्ने ढ्वाङ्गहरुको अभाव भने जहाँ पनि देखिन्छ। यो 'सानो' कुरामा ध्यान दिन सके यस्ता रमाईला महोत्सवहरु सुन्दर पनि हुने थिए।
-------------------------------------------
शौचालयकै कुरा अर्को एक प्रसंगमा पनि। जापानबाट केहि पारिवारिक मित्रहरुको समूह आएको थियो। उनीहरुसंग भेटघाटका लागि ५ तारीख साँझ फेरि पुगियो लेक साईड। खानपीनको कार्यक्रम थियो एउटा नाम चलेको रेष्टुरेण्टमा। गान बजान सहितको रेष्टुरेण्ट, त्यहाँको खाना आदि कुरा सबै स्तरीय थिए, तर शौचालय भने खत्तम! कुन्नि कता हो पढेजस्तो लाग्थ्यो, समाजको सभ्यताको स्तर त्यहाँका शौचालयहरुले देखाऊँछन् भनेर।  यदि यस्तै हो भने, हामीचाहिँ ढुंगेयुगकै स्तरमा रहेको मान्नुपर्ने हुन्छ।
-------------------------------------------
अनि अस्ति शुक्रवार कोरीयाको पुसान विश्वविद्यालयका प्रोफेसरहरुको टोलीसंग एउटा अन्तर्कृया कार्यक्रम थियो। आयोजक थिए पोखरा विश्वविद्यालय र नेपाल ईञ्जिनियर्स एशोशिएसनको पोखरा केन्द्र। एकजना प्रोफेसरले आफ्नो वक्तव्यमा विकासको कोरीयाली अनुभवलाई समेट्दै 'पैसा नहुँदैमा केहि पनि गर्न नसकिने होईन, आफ्नो चिन्तनशैली र बानीलाई बदलेमात्रै पनि धेरै गर्न सकिन्छ।' भनेर भनेका थिए। पछि एकजना नेपाली श्रोता मित्रले 'ल मैले बानी त बदलें रे, देशभक्त र ईमान्दार त भएँ रे, तर पैसा नभई मैले के गर्न सक्छु त?' भन्ने सारको आफ्नो लम्बेतान प्रश्न राखे।

'अवश्य धेरै गर्न सक्नुहुन्छ। उदाहरणका लागि, सडकमा फोहर नफाल्न वा सडक मिचेर घर नबनाऊन तपाईँलाई पैसा आवश्यक पर्छ? अवश्य पर्दैन। त्यहि हो विकासको शुरुवात---।' आत्मविश्वाशी कोरियाली प्रोफेसरको जवाफ पछि ति मित्र र हामी सबै नाजवाफ भएर शिर निहुरायौं।
-------------------------------------------
२०११ र १०१२ को दोसाँधले मलाई सिकाएका पाठ यिनै हुन्। तपाईँलाई नि?