Showing posts with label खेलकूद. Show all posts
Showing posts with label खेलकूद. Show all posts

July 07, 2010

विश्वकपमा ब्यस्त:)

जिन्दगीको नीजि दौडधूप र फुटबलको विश्वकप मिसियो भने के हुन्छ? धेरै थोक हुन्छ। हुँदा-हुँदा ब्लगमा लेख्न समेत ढिला हुँदो रहेछ:)

सधैंजस्तो यसपालिको वर्ल्डकप पनि लागेको छ बेस्सरी, लागिराख्या' छ। निद्रा मारिएको छ एक महिना यता र जीऊ खुब बिगारिएको छ। दक्षिण अफ्रिका र जापानको समयको फरकले गर्दा सबै खेल हुँदा यता रात परीसकेको हुन्छ। लिग चरणका केहि खेल साँझको ८ बजेबाट हेर्ने मौका मिलेको थियो। त्यसपछि रातको ११ बजे शुरु हुने खेलहरु पनि हेर्न त्यति अप्ठेरो लाग्दैन तर बिहान ३ बजेबाट शुरु हुने हेर्नचाहिँ साह्रै गाह्रो हुँदो रहेछ। लिग चरणका त्यो समयका खेलहरु थोरै हेरियो, 'चुनिएका' मात्रै। कुनै टिम विशेषसंग खासै लगाव नभएपनि फुटबलमा बलिया मानिएका देशहरुको खेल छानेर हेरियो।  तर खेल भनेको खेल हो, आफूले चुनेको खेल 'झुर' भैदिने र नचुनेको खेल 'रमाईलो' भईदिने हुन्छ धेरैजसो। नपत्याईएका टिमहरुले अप्रत्याशित राम्रो खेल्दिन्छन्, 'बादशाह' मानिएकाहरु लज्जास्पद हार बोकेर फर्किन्छन्; ब्राजिल, अर्जेण्टिना, इङ्ग्ल्याण्ड, फ्रान्स, इटाली आदिजस्तै।

सेमिफाईनलबाट त सबै राति ३ बजेपछिका छन्, तर यिनलाई भने छोडिन्न:)

फुटबल र फेसबुकको 'फ्युजन' गरेर चाहिँ खुब रमाईलो भएको छ। प्राय: कोठामा एक्लै बसेर फुटबल हेरेपनि फेसबुकका माध्यमबाट नेपाली फुटबलप्रेमीहरुको भिडमै बसिएको भान भईरहेको छ। अनि लेख्न पनि फेसबुकमा त लेखिएको छ, हल्काफुल्का गफै भएपनि:))

तलको यो 'मुक्तक' फुटबल हेर्दाहेर्दै फुरेको।

'फुटबल'

खेल नहेरे जगतै खल्लो
साथीभाइका गफमा आफू झल्लो
निद्रा मारी-ज्यान बिगारी पनि हेर्नुपर्ने
हे भगवान किन बनायौ यस्तो डल्लो!

आशा छ, तपाईँ पनि फुटबलको आनन्द लिईरहनुभएको होला, भ्याएसम्म।

अघि भर्खर सकिएको हल्याण्ड र उरुग्वेको सेमिफाईनल खेल पछि फेसबुकमा यस्तो 'स्टाटस' लेखेर बिदा भईयो; 

सुन्तला रंगको लुगा किन्नुपर्ला जस्तो छ। सुन्तला रंग लगाउनेको फलिफाप हुने छाँट छ यो पालि:)

फेसबुकमा यो लेख्दा-लेख्दै एउटा जोक सम्झिएँ। त्यो जोकचाहिँ यतामात्रै राख्दैछु।

एउटा मान्छे लुगा पसलमा पसेर पसलेसंग भनेछ; "साहुजी, सुन्तला रंगको भेष्टहरु निकाल्नुस् त हेरौं।"। पसलेले धेरैबेर खोजेपछि चार-पाँचवटा हरिया भेष्टहरु निकालेर भनेछ; "ल हेर्नुस् सुन्तला रंगका भेष्टहरु।"
"मैले सुन्तला रंग भनेको साहुजी, कहाँ हरियो निकालेको?", ग्राहक छक्क परेछ।
"यो पनि सुन्तला रंग त हो नि! यो काँचो सुन्तलाको रंग। पाकेको सुन्तला रंगको भेष्ट रहेनछ, काँचैको रंगले काम चलाउनुस्।", पसले पनि के कम:-)

सबैको जय होस्!

Image Source: Click Here

June 10, 2010

फुटबल 'कुम्भमेला'को याम


फूटबलको चारवर्षे 'कुम्भमेला' को अर्को संस्करण विश्वकप-२०१० फूटबलप्रेमीहरुको दैलैमा आईपुगिसकेको छ। आफूलाई यो एकमहिने 'पागलपन'को ठूलै 'शिकार' बनाउने निश्चय गरेको छु मैले पनि:) मलाई थाहा छ तपाईँले पनि त्यस्तै निश्चय गरिसक्नुभएको छ, अब तपाईँ फूटबलै नभएको अर्कै ग्रहबाट भर्खर आउनुभएको हो भने चाहिँ तपाईँको ठेक्का लिन सक्दिन, हे हे हे।

यो मेलामा भाग लिन नपाउने देशहरु थुप्रै छन्। हामी पनि त्यस्तै एउटा देशका अभागी हौं। हाम्रो देशले खेल्नसक्ने दिन चाँडै आउला जस्तो छैन, कुरुप राजनीतिक खेलको सेपमा परेर अरु सबै क्षेत्रजस्तै खेलकूद पनि टाक्सिएको छ। यति हुँदा-हुँदै पनि विशुद्ध फूटबलको 'मजा' लिनैपर्छ।

खेलकूद आफैंमा एउटा सुन्दर चिज हो, स्वस्थ जीवनको आवश्यकता हो, यसमा दुई मत छैन। खेलकूदका बिभिन्न विधाहरुमध्येको 'बादशाह' भने फूटबलनै हो भन्ने कुरामा कसैको विमति छैन होला। विमति हुनेले पनि यो विश्वकपको याममा त्यस्तो कुरा गरेर 'शत्रु बढाउने, मित्र घटाउने' काम नगर्नुहोला; विश्वकप-२०१० ले सृजना गरेको गर्मी नसकिऊञ्जेल, मने २०११ को फेब्रुअरीसम्म चूप लागेरै बस्नुहोला:))

अँ, कुरो 'महाबादशाह', 'महासम्राट' फुटबलको हुँदै थियो। फूटबल एउटा समग्र र सम्पूर्ण (perfect) विधा लाग्छ मलाई खेलकूदको। फूटबलमा शारीरिक क्षमताको जति आवश्यकता पर्छ, उत्तिकै आवश्यकता मानसिक क्षमताको पनि पर्छ। फूटबलमा एउटा खेलाडीको ब्यक्तिगत क्षमता जसरी स्पष्ट देखिन्छ, उसैगरी एउटा समूहको रुपमा मानवजातिले गर्नसक्ने समन्वय र समझदारी पनि उत्तिकै झल्किन्छ। यसैले मलाई त फूटबल खेल एउटा उच्चस्तरको कला लाग्छ।

फूटबल भनेपनि बल भनेपनि यो मोरोलाई चिनेको भने सानैबाट हो, भलै मोजामा पराल, कपडाका टुक्रा कोचेर बनेको होस् वा ज्यान लिन नपाउँदै झरेको भोगटे होस्। गाऊँका चउरमा फूटबल खुब खेलिन्थे त्यो ताका, तर लिखुरे र डरपोक भएकाले खासै मौका पाईन्थेन आफूले। पछि बिस्तारै फूटबल खेल्ने सपना देख्न छोडियो र हेर्ने मात्र भईयो। मेरो अनुभव पूरै सत्य नहुनसक्छ तर मलाई के लाग्छ भने पञ्चायत कालमा फूटबल खेलहरु (र समग्र खेलकूद गतिबिधि) अहिलेभन्दा धेरै हुन्थे। टिभी मान्छेको कल्पनामा पनि पसिसकेको थिएन त्यसताका, रेडियोको 'प्रत्यक्ष प्रसारण' खुब सुनिन्थ्यो। श्रीराम रञ्जितकार, वाइ. बी. घले, रुपकराज शर्मा जस्ता त्यो बेलाका नेपाली फूटबल सिताराहरुको नाम सुन्दा पनि गज्जबको तरंग मनमा दौडिने बाल्यकाल थियो त्यो।

विश्वकपको बारेमा मैले सबैभन्दा पहिला कहिले थाहा पाएँ, याद छैन तर १९८६ को विश्वकपपछि म्याराडोनाको बारेमा लेखिएको एउटा लेख पढेको याद छ, गोरखापत्रमा हो कि मधुपर्कमा हो (साहित्यिक पत्रिका भएपनि त्यो ताका मधुपर्कको अन्तिम पृष्ठहरुतिर कतै खेलकूदसम्बन्धी छोटा चर्चा हुनेगर्थे)। त्यो लेखको अन्त्यमा पेले र म्याराडोनालाई दाँजेर यस्तो निष्कर्ष दिईएको छ; "फूटबल जगतमा पेले एक कोशेढुंगा हुन् भने म्याराडोना त्यो कोशेढुंगालाई नाघ्न खोज्ने 'डार्क हर्स'"।

विश्वकपका खेलहरु हेर्ने सौभाग्य भने १९९० बाट मिल्यो। श्यामश्वेत टिभीहरु सामान्य हुन थालेका थिए गाऊँमा त्यो ताका। १९९० मा म्याराडोना विवादित हुन थालिसकेका थिए र उनमा पहिलाको जस्तो धार पनि बाँकी थिएन। च्याम्पियन अर्जेण्टिनालाई हराएर क्यामेरुन चर्चित बनेको थियो। अर्जेण्टिनाका क्यानिजिया खुब मन परेका थिए मलाई। अर्जेण्टिना र जर्मनी बीचको फाइनल भने निरस थियो, एउटा पेनाल्टी गोलले जर्मनीले जितेको थियो।

१९९४ मा नाईजेरियाले इटालीलाई झण्डै प्रि-क्वार्टरफाईनलबाटै घर फर्काईदिएको थियो, रोबर्टो बाज्जियोले खेलको नियमित समय सकिने बेलामा गरेको एउटा low angle shot गोलले समय थपेको थियो र थप समयमा पनि (जहाँसम्म लाग्छ) बाज्जियोलेनै अर्को गोल थपेका थिए। इटाली पछि फाईनलसम्म पगेर ब्राजिलसंग पेनाल्टी शूटआउटमा पराजित भयो। त्यो शूटआउटमा बाज्जियोले पनि मिस गरेका थिए। 

१९९४ मा अर्का चर्चित खेलाडी बुल्गेरियाका स्टोईच्कोभ थिए। बुल्गेरियाली टिम त्यो बेला जर्मनीलाई क्वार्टरफाईनल (?) मा हराएर चर्चित भएको थियो। पछि मैले एउटा पत्रिकामा पढेको थिएँ, त्यो जितले बुल्गेरियामा यति गौरबवोधको सृजना ग-यो रे कि बुल्गेरियामा केहि समय चोरी र अपराधनै घट्यो रे। खेलका हिसाबले सबैभन्दा रोमाञ्चक चाहिँ ब्राजिल र हल्याण्डबीचको क्वार्टरफाईनल थियो जसमा ब्राजिल ३-२ ले विजयी भएको थियो।

१९९४ पछि विश्वकपको जादूमा परेर म पनि फुटबल खेल्न थालें। त्यसपछिका केहि वर्ष निकै खेलियो फूटबल।

१९९८ जिदान, रोनाल्डो आदिको समय थियो। इङ्ग्ल्याण्ड र अर्जेण्टिनाको खेलमा माइकल ओवेन उदाएका थिए, दुनियाँलाई प्रभावित पार्ने गरी। रेड कार्ड खाएर १० कि ९ जनामा सीमित भईसकेको इङ्ग्ल्याण्डले खेल जित्न भने जितेन तर एउटा स्मरणीय खेल थियो त्यो। २००२, २००६ मा ब्राजिलका रोनाल्डिन्होको जादू देखेपछि त मलाई रोनालडिन्होको बारेमा एउटा कवितानै लेखौं जस्तो लागेको थियो:) रोनाल्डिन्होले ड्रिबल गर्दै बल अगाडि बढाईरहेको देख्दा/सम्झिँदा जहिले पनि मलाई गड्गडाऊँदै अघि बढीरहेको एउटा पहाडी खोलाको याद आऊँछ। फूटबल एउटा कला, एउटा काब्य हो भन्ने कुराको प्रमाण यहि होला शायद:)

यसपालिका नायकहरु को हुने होलान्, रोमाञ्चक प्रतीक्षा छ यो। पहिला-पहिला लिग फूटबल खुब हेरिन्थ्यो र खेलाडीहरुको बारेमा धेरै थाहा हुन्थ्यो, अचेल हेर्ने मेसो मिल्दैन त्यसैले खासै थाहा छैन। कलात्मक ल्याटिन अमेरिकी फूटबल मन पर्ने त छँदैछ, मलाई इङ्ग्ल्याण्डको 'आक्रामक' शैलीको फूटबल पनि असाध्यै मन पर्छ। 

अनि पक्ष कसको, कुन देशको लिने नि? 

फूटबल भनेको "जल्ले गोल हान्यो, उसैले जान्यो-कप तान्यो!" भन्ने सिद्धान्तको खेल भएकाले म चाहिँ जित्नेकै पक्षमा हात धोएर लाग्ने भएँ:)) तपाईँ नि?

February 08, 2010

नेपाली खेलकूदको स्वर्णकाल =------पञ्चायत??????

स्वर्ण पदक विजेता विनिता महर्जनजी (तस्बीर साभार:नागरिक दैनिक)

पहिला, ढाकामा जारी एघारौं दक्षिण एशियाली खेलकूद (साग) मा नेपाललाई पदक दिलाउने खेलाडीहरुलाई हार्दिक बधाई र धन्यबाद! पदक पाएपनि-नपाएपनि देशका लागि मेहेनत गर्ने सम्पूर्ण खेलाडीहरुलाई हार्दिक धन्यबाद!

खेलकूद पदाधिकारीहरुले गरेको देशको घोर बेईज्जतीको लागि तिनलाई धिक्कार र 'थुक्क!'!
 
यो टाँसो अहिले लेख्न थाल्नुअगाडि पढेका एक दुई समाचारले मेरो मनको तितो अलिक कम गरिदिएका छन् तर सरोकारवालाहरुसंगको आक्रोश भने ज्यूँका त्यूँ छ।

अघि भर्खर पदक तालिका हेर्दा  (11th South Asian Games) नेपाल छैठौं स्थानमा छ। दशकौंको बिदेशी हस्तक्षेप, गृहयुद्ध र आतंकवादले जर्जर भएको अफगानिस्तान समेत हामीभन्दा माथि छ। मार्शल आर्ट्सले अलि-अलि पदक थपेपनि माथि उक्लन अब त्यति सम्भव छैन नेपाललाई। हाम्रा खेलकूद पदाधिकारी र सरकारले त अब 'भुटान र मालद्विभ्सभन्दा त माथिनै छौं नि!' भन्दिन पनि बेर लगाऊँदैनन्, लाज नभएका नकचरा र हरामहरु हुन् यी!

क्रिकेटलाई छोडेर पूरै दक्षिण एशिया आफैं खेलकूदमा धेरै तल छ। त्यसको पनि पिँधमा पुगेपछि बिश्व‍-खेलकूदमा हाम्रो ठाऊँ कुन रसातलमा होला, अनुमान गर्नुहोस्। 

खेलाडीभन्दा दश गुणा बढी पदाधिकारीहरुको जन्ती, देशको झण्डाको अपमान, पुरानो राष्ट्रिय गान, खेलाडीहरुलाई निम्नस्तरीय बसोबास, दुर्घटनामा घाइते खेलाडीहरुको बेवास्ता र दुनियाँको अगाडि आफू-आफूमै हात हालाहाल! अब देशको बेईज्जत हुन केहि बाँकी रह्यो र?????

कालो झण्डा देखाउनुपर्ने हुन् यी खेलकूद पदाधिकारीहरु! साग सकिएपछि फर्किँदा बिमानस्थलमै यी मध्ये केहिलाई कालोमोसो दल्नुपर्छ र जुत्ताको माला लगाएर काठमाण्डु पूरै घुमाउनुपर्छ। र सत्ता टिकाउन मनपरी जन्ती लान दिने र गतिलो ब्यबश्थापनको निर्देशन दिन नसक्ने लाचार सरकारलाई धिक्कार छ!!!! देशको इतिहासमा कालो नाम लेखाउन यो सरकारका लागि ११औं सागनै काफी भयो!

खेलकूद केवल खेलकूद होईन, यो एउटा सभ्य देश र समाजको चिनारी हो। खेलकूद प्रतिष्पर्धा त हुँदै हो, त्यसमाथि यो एउटा उद्योग, एउटा ब्यापार र एउटा सफल कूटनीति पनि हो। वर्तमान बिश्वमा खेलकूद राष्ट्रिय गौरव बृद्धि गर्ने, नयाँ पुस्ताका लागि 'हिरो'हरु र 'आइडल'हरु दिने एउटा सशक्त र भरपर्दो माध्यम हो। हाम्रो खेलकूदको यो घोर बेईज्जतीले फेरि एकपटक हामी खेलकूदले प्रतिनिधित्व गर्ने यी सबै पक्षमा चरम रुपमा असफल छौं भन्ने देखाएको छ। हरेक प्रतियोगिताहरुले यहि सन्देश दिन थालेको धेरै भईसक्यो तर कान नभएका 'सर्प' हाम्रा दलहरुले अहिलेसम्म एकैछिन पनि यतातिर सोच्ने कोशिश गरेका छैनन्।

यो स्थिति आईपुग्नुमा खेलाडीहरुको भने अलिकति पनि दोष छैन। तालीम र प्रशिक्षणको अभाव, अवसरहरुमा पक्षपात र चरम अब्यबष्थापनको माझबाट पनि जति उपलब्धि उनीहरुले देशलाई दिएका छन्, त्यसका लागि उनीहरु धन्य छन्।

साग-११ मा नेपालको घोर बेईज्जतले मलाई २०४६ साल अघिका पञ्चायती दिनहरुमा पु-यायो। पञ्चायतपछिका दिनहरुमा देशले केहि पक्षमा राम्रा कुराहरु पायो होला तर खेलकूदको क्षेत्रमा भने देश दशकौंपछाडि धकेलिएको छ। त्यो बेला नियमित रुपमा राष्ट्रिय-क्षेत्रीय खेलकूद प्रतियोगिताहरु भईरहन्थे।  राजाको नामनै जोडिएको सही, बीरेन्द्र शील्ड भनिने वार्षिक राष्ट्रब्यापी खेलकूदका कारण स्कूल-स्कूलका, गाऊँ-गाऊँका प्रतिभाशाली खेलाडीहरु सबैका नजरमा पर्थे र तिनले प्रशिक्षण र थप प्रतियोगिताहरुको अवसर पाऊँथे। खेलकूदका हकमा अहिलेको दाँजोमा पञ्चायतसंग एउटा समग्र राष्ट्रिय दृष्टिकोण र योजना थियो। त्यतिखेर नेपाल यस्ता साग गेममा भारतको प्रतिष्पर्धी मानिन्थ्यो। फुटबलमा हामी स्वर्णकै दावेदार मानिन्थ्यौं। हामी बिस्तारै दक्षिण एशियाली मापदण्डलाई नाघ्नसक्ने हैसियतमा पुग्दै थियौं जस्तो लाग्छ मलाई त।

अहिले 'खुट्टा तान्ने' राजनीतिक प्रतियोगितामा मात्रै राज्यको ध्यान छ। नीजि क्षेत्रले केहि गर्न नसक्ने होईन तर त्यसको प्रभाव कम हुन्छ। हाम्रो जस्तो आर्थिक/राजनितिक अबष्था भएको देशमा जबसम्म खेलकूदको विकासका लागि राज्य आफैंले एउटा स्पष्ट खाका ल्याउँदैन र प्रणालीबद्ध र संयोजनकारी काम गर्दैन तबसम्म नीजि क्षेत्रको लगानी पनि बालुवामा पानी हालेभन्दा बढी हुँदैन।

पञ्चायतको गुणगान गाउनु मेरो उद्देश्य होईन यहाँ। पञ्चायतले आफू र निरकुंश राजतन्त्रलाई जोगाउन खेलकूद र खेलाडीहरुको दुरुपयोग पनि गरेको थियो। र जुन उपलब्धि पञ्चायत कालमा नेपालले खेलकूदमा प्राप्त गरेको थियो, नेपाली जनताको खेलकूदप्रतिको आकर्षण र नेपाली खेलाडीको सम्भावित क्षमताको दाँजोमा अझै कम हो।

तर अहिलेको दुर्दशा देख्दा र निकट क्षितिजमा सुधारको कुनै किरण नदेख्दा म पञ्चायतकाललाई नेपाली खेलकूदको स्वर्णकालका रुपमा स्विकार्न बाध्य छु, विवश छु।

August 20, 2008

प्रसंग ओलम्पिक-२ “हाम्रा ‘स्वर्ण’ सपनाहरुको पालो कहिले?”

अरुका सपनाहरु धमाधम साकार भईरहँदा मनमा प्रश्न आउँछ घरी-घरी, हाम्रा सपनाहरुको पालो कहिले? हामीले ओलम्पिक आयोजना गर्न सक्ने कहिले? हामीले पदक जित्ने कहिले?

ओलम्पिक खेलकूद आयोजना गर्ने कुरालाई अलि परै राखौं, हाम्रो अर्थतन्त्र (र विश्व समुदायभित्रको हाम्रो कूटनीतिक/सामरिक उचाई) मा आजैबाट प्रगति हुन थालेपनि हाम्रो बुताले त्यो भ्याउन अलि लामै समय लाग्ला। तर ओलम्पिकमा केहि पदकहरु जित्न हामीलाई के ले छेकेको छ? एउटा आधुनिक राष्ट्रको रुपमा झण्डै छ दशक बिताईसक्दा पनि ओलम्पिकमा हाम्रो उपलब्धि शून्य रहनु लाजमर्दो कुरा हो। (सोल ओलम्पिकमा बिधान लामाले कास्य पदक जितेका थिए तेक्वान्दोमा, तर त्यो प्रदर्शन खेलको रुपमा राखिएको थियो। प्रदर्शन खेलको पदकलाई औपचारिक मानिँदो रहेनछ।)

किन यति दयनीय छ हाम्रो खेलकूद स्तर?

बच्चामा, फुटबल आदि खेल्न गयो भने ‘राम्रैसंग’ गाली खाइन्थ्यो। मुख्यत: दुइ आशय हुन्थ्यो गालीको, एउटा ‘अब हात-खुट्टा भाँच्ने भयो यल्ले, अपाङ्ग हुने भयो’ र अर्को ‘पढ्न छोडेर खेल्छ, बिग्रियो यो।‘ यो प्रसंग ल्याउनुको कारण के हो भने कुनैपनि समाज-देशले खेलकूदमा प्रगति गर्नको लागि सबैभन्दा पहिला समाज र देशमा बलियो खेलकूद संस्कृतिको आवश्यकता हुन्छ। परम्परागत रुपमा हाम्रो समाजमा खेलकूद संस्कृतिको अंश अत्यन्त न्यून छ। केहि अत्यन्त सीमित अवसरमा बाहेक खेलकूदलाइ त्यति महत्व दिईँदैन र हाम्रो समाजमा खेलाडीहरुको बिल्कूलै सम्मान हुँदैन। छोराछोरी खेलकूदतिर आकर्षित होलान् भन्ने डरले बाउ-आमा त्राही-त्राही हुन्छन् हरबखत। हो, खेललाईनै पेशा बनाएर बाँच्न सकिने अवश्था अझै राम्ररी बनिसकेको छैन हाम्रो देशमा, तर समाजमा खेलकूद संस्कृतिले जरा नगाडेसम्म, खेलाडीहरुले समाजमा सम्मानजनक स्थान नपाएसम्म त्यो अवश्था आउन पनि सक्ने छैन। दुबै कुरा एकापसमा राम्रैसंग निर्भर छन्।

भुँडी लाग्नुलाई ‘ब्यक्तित्व’ मानिने हाम्रो समाजमा खेलकूदको अवश्था कहाँ छ भनेर लामो ब्याख्या गरिरहनु आबश्यक पनि छैन।

सीमित रुपमा रहेका हाम्रा परम्परागत खेलकूदहरु पनि धेरैजसो मासिईसकेका छन्। हो, हाम्रा परम्परागत खेलकूदहरु धेरैजसो ‘खेलकूद’ भन्न पनि नसुहाउने खालका छन्, तर एक-दुईलाई विकास गरेर अन्तरराष्ट्रिय मञ्चहरुमा लैजान सकिन्थ्यो। नेपालको तराइमा पहिलेदेखिनै कुस्ती अत्यन्त लोकप्रिय छ। हामीले यसलाई विकास गरेर हाम्रो मौलिक शैलीको कुस्तीको रुपमा दुनियाँसामु पेश गर्नसक्ने सम्भावना थियो। छुट्टै शैलीको कुस्तीको रुपमा विकास गर्न सकिदैंन भनेपनि तराइका जनताको कुस्तीप्रतिको आकर्षणलाई सफल कुस्ती खेलाडीहरु जन्माउने आधारको रुपमा लिन सकिन्छ। मैले हालसालै कतै पढेको थिएँ, यो पनि लोप हुने क्रममा छ। पहिलो कारण, कुस्तीबाजहरुलाई प्रोत्साहन, तालीम रोजगारी आदिको अभाव छ। दोश्रो, यति हुँदाहुँदै पनि संघर्ष गरेर बाँचिरहेको तराइको कुस्ती-परम्पराको सबैभन्दा ठूला दुश्मनका रुपमा तराइका जमीन्दारहरु निक्लेका रहेछन्। उनीहरु कुस्तीबाजहरुलाई झूटा डाँका-मुद्दा लगाइदिँदा रहेछन्। अब यस्तो अबश्थामा कसरी निरन्तर हुनसक्छ त्यो परम्परा?!

यी जमीन्दारहरु हाम्रो राज्यका प्रभावशाली हिस्सा हुन् र यीनको सोचले हाम्रो समग्र राज्यको खेलकूदप्रतिको सोचलाई प्रष्ट पार्छ। यो ओलम्पिकलाई नै हेरौं न। अरु देशका राष्ट्रपतिहरु खेलाडीले अभ्यास गरिरहेको ठाउँ र खेलाडीले लुगा फेर्ने ठाउँमा पुगेर खेलाडीहरुलाइ धाप मारिरहेका हुन्छन्, प्रोत्साहन गरिरहेका हुन्छन्, हाम्रो देशबाट भने राजीनामा दिईसकेका मन्त्री ‘चोरबाटो’ हुँदै पेइचिङ जान्छन्। खेलाडीको संख्याको चार गुना पदाधिकारीहरुको जन्ती हुन्छ। खेलाडीले पदाधिकारीले भन्दा ज्यादै कम भत्ता पाउँछन्। केहि समय पहिलाको एउटा साफ खेलकूदमा त पदाधिकारीहरु आफू प्लेनमा गएर खेलाडिहरुलाई रेलमा पठाएका थिए! देशभित्र अभ्यास स्थल र अवसरहरु दुबै कम छन्, त्यसमाथि राज्यले गर्ने ब्यबहार यस्तो भएपछि हाम्रा खेलाडीहरुले कसरी गतिलो परिणाम ल्याउँछन्!

खेलकूद प्रबर्धन र विकासमा राज्यको अहं भूमिका हुन्छ। सरकारले खेल-जगतलाई निरन्तर प्रोत्साहन गरिरहन सक्नुपर्छ। हाम्रो जस्तो अवश्थामा त खेलकूद विकासलाई एउटा प्रमुख योजनाकै रुपमा अगाडि लगिनुपर्छ। देशको नाम-प्रतिष्ठा अभिवृद्धि गर्न खेलजगत पनि एउटा भरपर्दो माध्यम हो भन्ने कुराको वोध सरकार हाँक्नेहरुलाई हुनुपर्छ। खेलेर बाँच्न सकिने आत्मविश्वाश खेलाडीहरुमा पलाउन सक्यो भनेमात्रै देशको खेलजगतले गति लिनसक्छ। त्यसकारण उत्कृष्ट खेलाडीहरुलाई सकृय खेलजीबनपछिको रोजगारीको सुनिश्चितता दिनुपर्छ सरकारले। त्यो मात्रै हैन, अमेरिका, यूरोप, चीन आदि ठाउँहरुमा जस्तै विद्यालय, कलेजहरुमा खेलाडीहरुको लागि छात्रवृत्तिको ब्यबश्था गरिनुपर्छ।

नीजि क्षेत्रले पनि धेरै गर्नसक्छ यसमा, त्यो साँचो हो तर बलियो राजनितिक इच्छाशक्तिका साथ सरकार आफैं पनि अगाडि सरेन भने प्रभावकारी केहि पनि हुनसक्दैन। अहिलेको अवश्थामा नीजि क्षेत्र पूरकमात्र हुनसक्छ।,

साथमा खेलजगतका लागि आवश्यक हुने भौतिक पूर्वाधारहरुको विकास र संरक्षणको पनि उत्तिकै महत्व छँदैछ।

यसरी कस्सिएर नलागी हाम्रा खेलाडीहरुले ओलम्पिकमा पदक जित्ने हाम्रा स्वर्ण सपनाहरु पूरा हुनेछैनन्। ,

(समाप्त)

August 11, 2008

प्रसंग ओलम्पिक-१ "चीनको साकार सपना"


अस्ति राती ढिलोसम्म ओलम्पिकको उद्घघाटन हेरेर बसें। जीऊ अलिक ठीक थिएन, थकाई त सधैं हुनेनै भयो, तैपनि अन्तिमसम्म हेरेर बसेको एउटै कारणचाहिँ कार्यक्रमको अन्त्यमा ओलम्पिक स्तम्भको ज्योति कसरी बाल्दा रहेछन् भनेर हेर्न हो।

उद्घघाटन कार्यक्रम निश्चयनै भब्य र कलात्मक थियो। कार्यक्रमका निर्देशक चाङ यी मो एक सफल चलचित्र निर्देशक हुन्। १९९०को दशकमा उनका चलचित्रहरुले ब्यापक ख्याति कमाएका थिए। त्यो ताकाका उनका धेरै चलचित्रहरु हेरेको छु मैले, एउटा 'डाइ-हार्ड फ्यान'नै थिएँ भनौं न। त्यतिखेर चिनियाँ सत्ताको कट्टरपन्थी पक्ष उनलाई त्यति मन पराउँदैनथियो। अहिले उनले ओलम्पिकको उद्घघाटन कार्यक्रमकै निर्देशक बन्ने अवसर पाए भन्ने कुराले केहि फरक स्थितिको बोध गराउँछ। चाङसंगै त्यो जिम्मेवारी पाएका हलीउडका स्पाइलबर्गले भने केहि समय पहिला राजीनामा दिएका थिए।

चाङ यी मोका अचेलका चलचित्रहरु भने हेर्ने मौका मिलेको छैन।

तारको सहाराले झुण्डिएका एक पूर्व खेलाडीले ओलम्पिक स्तम्भको ज्योति सल्काए। ओलम्पिक स्तम्भ कहाँ छ भन्नेनै देखिएको थिएन अन्तिमसम्म। ती खेलाडी स्टेडियमको माथि वरिपरि फनफनी घुम्दा संगसंगै देखिएको ओलम्पिक रिलेको फूटेजपनि भब्य र नयाँ थियो।

मैले ओलम्पिकको उद्घाटन कार्यक्रमहरु हेर्न थालेको १९९२को बार्सेलोना ओलम्पिकबाट हो। र मलाई बार्सेलोना ओलम्पिकको ओलम्पिक स्तम्भमा ज्योति सल्काइएको तरिका सबैभन्दा रचनात्मक र सटीक लागेको छ अहिलेसम्म। एक खेलाडीले बलिरहेको वाण प्रहार गरेर सल्काएका थिए।

कूरोलाई अब चीनतिरै मोडौं।

एक जमानामा "पूर्वको रोगी मान्छे" भनेर चिनिने चीन अहिले सामरिक-आर्थिक संगै खेलकूदमा पनि विश्वशक्ति बनिसकेको छ। खेलकूद उनीहरुको संस्कृति र दैनिक जीवनको एक भाग बनिसकेको छ। यो ओलम्पिकमा सबैभन्दा धेरै स्वर्ण पदक पनि उसकै पोल्टामा जाने सम्भावना छ, अमेरिकालाई उछिन्दै।

ओलम्पिक्स जस्तो महान खेल-उत्सब आयोजना गर्ने सपना हरेक देशसंग हुन्छन्। चीनको सपना आज पूरा भएको छ।

यो भन्दा पहिला पनि चीन एक पटक आफ्नो सपना साकार पार्ने क्षणको नजिकै पुगेको थियो। सन् २०००को ओलम्पिक आयोजना गर्ने उसको पहल अन्तिम क्षणमा आएर सिडनीसंग पराजित भएपछि रोकिएको थियो। १९९३को ग्रीष्मको त्यो दिन याद छ मलाई। चीनमा साँझको आठजति बजिसकेको थियो। हामी पनि छात्रावासको टिभी हेरिरहेका थियौं। तेश्रो चरणसम्मको भोटिङपछि ओलम्पिक आयोजक हुने दावी गरिरहेका अरु शहरहरु बाहिरिसकेका थिए र पेइचिङ र सिड्नीमात्रै बाँकी थिए। चौथो चरणको भोटिङपछि अन्तर्राष्ट्रीय ओलम्पिक कमिटिका तत्कालीन अध्यक्ष हुवाँ एण्टोनिओ समाराञ्च परिणाम सुनाउन भनेर मञ्चमा आएपछि पूरै चीन टक्क अडिएजस्तो लागेको थियो। समाराञ्चले "The winner is---" भनेर एक एकछिन रोकिँदा त शायद पूरै चीनको सासनै रोकिएको थियो होला!

"था' मा त----" समाराञ्चले आफ्नो घोषणालाई "Sydney" भनेर टुंग्याएपछि चीनका सडकहरुमा पोखिएको निराशा र आक्रोशको कथा बेग्लै छ।

क्रमश: