फूटबलको चारवर्षे 'कुम्भमेला' को अर्को संस्करण विश्वकप-२०१० फूटबलप्रेमीहरुको दैलैमा आईपुगिसकेको छ। आफूलाई यो एकमहिने 'पागलपन'को ठूलै 'शिकार' बनाउने निश्चय गरेको छु मैले पनि:) मलाई थाहा छ तपाईँले पनि त्यस्तै निश्चय गरिसक्नुभएको छ, अब तपाईँ फूटबलै नभएको अर्कै ग्रहबाट भर्खर आउनुभएको हो भने चाहिँ तपाईँको ठेक्का लिन सक्दिन, हे हे हे।
यो मेलामा भाग लिन नपाउने देशहरु थुप्रै छन्। हामी पनि त्यस्तै एउटा देशका अभागी हौं। हाम्रो देशले खेल्नसक्ने दिन चाँडै आउला जस्तो छैन, कुरुप राजनीतिक खेलको सेपमा परेर अरु सबै क्षेत्रजस्तै खेलकूद पनि टाक्सिएको छ। यति हुँदा-हुँदै पनि विशुद्ध फूटबलको 'मजा' लिनैपर्छ।
खेलकूद आफैंमा एउटा सुन्दर चिज हो, स्वस्थ जीवनको आवश्यकता हो, यसमा दुई मत छैन। खेलकूदका बिभिन्न विधाहरुमध्येको 'बादशाह' भने फूटबलनै हो भन्ने कुरामा कसैको विमति छैन होला। विमति हुनेले पनि यो विश्वकपको याममा त्यस्तो कुरा गरेर 'शत्रु बढाउने, मित्र घटाउने' काम नगर्नुहोला; विश्वकप-२०१० ले सृजना गरेको गर्मी नसकिऊञ्जेल, मने २०११ को फेब्रुअरीसम्म चूप लागेरै बस्नुहोला:))
अँ, कुरो 'महाबादशाह', 'महासम्राट' फुटबलको हुँदै थियो। फूटबल एउटा समग्र र सम्पूर्ण (perfect) विधा लाग्छ मलाई खेलकूदको। फूटबलमा शारीरिक क्षमताको जति आवश्यकता पर्छ, उत्तिकै आवश्यकता मानसिक क्षमताको पनि पर्छ। फूटबलमा एउटा खेलाडीको ब्यक्तिगत क्षमता जसरी स्पष्ट देखिन्छ, उसैगरी एउटा समूहको रुपमा मानवजातिले गर्नसक्ने समन्वय र समझदारी पनि उत्तिकै झल्किन्छ। यसैले मलाई त फूटबल खेल एउटा उच्चस्तरको कला लाग्छ।
फूटबल भनेपनि बल भनेपनि यो मोरोलाई चिनेको भने सानैबाट हो, भलै मोजामा पराल, कपडाका टुक्रा कोचेर बनेको होस् वा ज्यान लिन नपाउँदै झरेको भोगटे होस्। गाऊँका चउरमा फूटबल खुब खेलिन्थे त्यो ताका, तर लिखुरे र डरपोक भएकाले खासै मौका पाईन्थेन आफूले। पछि बिस्तारै फूटबल खेल्ने सपना देख्न छोडियो र हेर्ने मात्र भईयो। मेरो अनुभव पूरै सत्य नहुनसक्छ तर मलाई के लाग्छ भने पञ्चायत कालमा फूटबल खेलहरु (र समग्र खेलकूद गतिबिधि) अहिलेभन्दा धेरै हुन्थे। टिभी मान्छेको कल्पनामा पनि पसिसकेको थिएन त्यसताका, रेडियोको 'प्रत्यक्ष प्रसारण' खुब सुनिन्थ्यो। श्रीराम रञ्जितकार, वाइ. बी. घले, रुपकराज शर्मा जस्ता त्यो बेलाका नेपाली फूटबल सिताराहरुको नाम सुन्दा पनि गज्जबको तरंग मनमा दौडिने बाल्यकाल थियो त्यो।
विश्वकपको बारेमा मैले सबैभन्दा पहिला कहिले थाहा पाएँ, याद छैन तर १९८६ को विश्वकपपछि म्याराडोनाको बारेमा लेखिएको एउटा लेख पढेको याद छ, गोरखापत्रमा हो कि मधुपर्कमा हो (साहित्यिक पत्रिका भएपनि त्यो ताका मधुपर्कको अन्तिम पृष्ठहरुतिर कतै खेलकूदसम्बन्धी छोटा चर्चा हुनेगर्थे)। त्यो लेखको अन्त्यमा पेले र म्याराडोनालाई दाँजेर यस्तो निष्कर्ष दिईएको छ; "फूटबल जगतमा पेले एक कोशेढुंगा हुन् भने म्याराडोना त्यो कोशेढुंगालाई नाघ्न खोज्ने '
डार्क हर्स'"।
विश्वकपका खेलहरु हेर्ने सौभाग्य भने १९९० बाट मिल्यो। श्यामश्वेत टिभीहरु सामान्य हुन थालेका थिए गाऊँमा त्यो ताका। १९९० मा म्याराडोना विवादित हुन थालिसकेका थिए र उनमा पहिलाको जस्तो धार पनि बाँकी थिएन। च्याम्पियन अर्जेण्टिनालाई हराएर क्यामेरुन चर्चित बनेको थियो। अर्जेण्टिनाका क्यानिजिया खुब मन परेका थिए मलाई। अर्जेण्टिना र जर्मनी बीचको फाइनल भने निरस थियो, एउटा पेनाल्टी गोलले जर्मनीले जितेको थियो।
१९९४ मा नाईजेरियाले इटालीलाई झण्डै प्रि-क्वार्टरफाईनलबाटै घर फर्काईदिएको थियो, रोबर्टो बाज्जियोले खेलको नियमित समय सकिने बेलामा गरेको एउटा low angle shot गोलले समय थपेको थियो र थप समयमा पनि (जहाँसम्म लाग्छ) बाज्जियोलेनै अर्को गोल थपेका थिए। इटाली पछि फाईनलसम्म पगेर ब्राजिलसंग पेनाल्टी शूटआउटमा पराजित भयो। त्यो शूटआउटमा बाज्जियोले पनि मिस गरेका थिए।
१९९४ मा अर्का चर्चित खेलाडी बुल्गेरियाका स्टोईच्कोभ थिए। बुल्गेरियाली टिम त्यो बेला जर्मनीलाई क्वार्टरफाईनल (?) मा हराएर चर्चित भएको थियो। पछि मैले एउटा पत्रिकामा पढेको थिएँ, त्यो जितले बुल्गेरियामा यति गौरबवोधको सृजना ग-यो रे कि बुल्गेरियामा केहि समय चोरी र अपराधनै घट्यो रे। खेलका हिसाबले सबैभन्दा रोमाञ्चक चाहिँ ब्राजिल र हल्याण्डबीचको क्वार्टरफाईनल थियो जसमा ब्राजिल ३-२ ले विजयी भएको थियो।
१९९४ पछि विश्वकपको जादूमा परेर म पनि फुटबल खेल्न थालें। त्यसपछिका केहि वर्ष निकै खेलियो फूटबल।
१९९८ जिदान, रोनाल्डो आदिको समय थियो। इङ्ग्ल्याण्ड र अर्जेण्टिनाको खेलमा माइकल ओवेन उदाएका थिए, दुनियाँलाई प्रभावित पार्ने गरी। रेड कार्ड खाएर १० कि ९ जनामा सीमित भईसकेको इङ्ग्ल्याण्डले खेल जित्न भने जितेन तर एउटा स्मरणीय खेल थियो त्यो। २००२, २००६ मा ब्राजिलका रोनाल्डिन्होको जादू देखेपछि त मलाई रोनालडिन्होको बारेमा एउटा कवितानै लेखौं जस्तो लागेको थियो:) रोनाल्डिन्होले ड्रिबल गर्दै बल अगाडि बढाईरहेको देख्दा/सम्झिँदा जहिले पनि मलाई गड्गडाऊँदै अघि बढीरहेको एउटा पहाडी खोलाको याद आऊँछ। फूटबल एउटा कला, एउटा काब्य हो भन्ने कुराको प्रमाण यहि होला शायद:)
यसपालिका नायकहरु को हुने होलान्, रोमाञ्चक प्रतीक्षा छ यो। पहिला-पहिला लिग फूटबल खुब हेरिन्थ्यो र खेलाडीहरुको बारेमा धेरै थाहा हुन्थ्यो, अचेल हेर्ने मेसो मिल्दैन त्यसैले खासै थाहा छैन। कलात्मक ल्याटिन अमेरिकी फूटबल मन पर्ने त छँदैछ, मलाई इङ्ग्ल्याण्डको 'आक्रामक' शैलीको फूटबल पनि असाध्यै मन पर्छ।
अनि पक्ष कसको, कुन देशको लिने नि?
फूटबल भनेको "जल्ले गोल हान्यो, उसैले जान्यो-कप तान्यो!" भन्ने सिद्धान्तको खेल भएकाले म चाहिँ जित्नेकै पक्षमा हात धोएर लाग्ने भएँ:)) तपाईँ नि?