Showing posts with label यात्रा-संस्मरण. Show all posts
Showing posts with label यात्रा-संस्मरण. Show all posts

October 22, 2019

दशैं यात्रा र मनमा भ्रमण वर्ष २०२०

हरेक दशैंको बिदाभित्रमा देशको कुनै नयाँ ठाउँमा यात्रा गर्ने केहि वर्षदेखिको हाम्रो पारिवारिक परम्परालाई निरन्तरता दिने क्रममा यसपालि साथीहरुसंग बर्दिया राष्ट्रिय निकुञ्ज जाने योजना बन्यो ।

योजना मुताबिक टिकाको पर्सिपल्ट बिहान आठ जनाको हाम्रो टोली प्रस्थान गर्‍यो । हाम्रो यहि समूहले परारको दशैंमा पूर्वी नेपालको यात्रा गरेको थियो । यात्रा अवधिभरका लागि एउटा जीप भाडामा लिइएको थियो ।

नेपाल मलाई अति सुन्दर लाग्छ र यो नेपाल अघाउञ्जेल नघुमी मरौंला भन्ने ठूलो डर छ मनमा । तर ढुक्कले घुम्ने परिस्थिति बनेको छैन अझै । घुम्नका लागि परिवारका सबैको बिदाको समय कुर्नुपर्‍यो, जुन दशैंमै मात्र मिल्छ । अनि घुमघामको खर्चको कुरा पनि छ । यी सबै मेसो मिलाउनुपर्ने कारणले गर्दा चाहेजति अझै घुम्नसकेको छैन । थोरै नै सहि, मैले पूर्वी नेपाल केहि घुमेको छु तर पश्चिम नेपालको मामिलामा भने मेरो स्थिति लाजमर्दै छ । २०५७ सालको चैतमा लुम्बिनीसम्म पुगेको म त्यसपछि अहिलेको यात्रा सम्पन्न नहुञ्जेल कावासोती कटेर उता लागेको थिइन ।

उद्देश्य बर्दिया राष्ट्रिय निकुञ्ज र त्यसपछि कर्णाली-चिसापानी पुलसम्मको भएपनि हामीले पहिलो रातको बास लुम्बिनीलाई बनायौं । ठाउँ-ठाउँमा रोकिँदै आरामको यात्रामा जाँदा हामी साढे ३ बजे भैरहवा कट्यौं र लुम्बिनीतिर सोझियौं । भैरहवाबाट लुम्बिनी जान हामीले समातेका बाटो फराकिलो थियो तर बन्दै गरेकाले उबडखाबडयुक्त कष्टपूर्ण थियो । ठाउँ-ठाउँमा बाटोलाई एकतर्फी गरिएको थियो तर कतै सूचना राखिएको थिएन । यस्तोमा धेरै यात्रुहरु, विशेष गरी पर्यटक झुक्किनु स्वाभाविक छ । हामी पनि एक पटक बाटो बन्द देखेर २ किमीजति फर्केर अर्को साइडबाट जानुपर्‍यो । हाम्रो राज्यको लापरवाहीको एउटा नमूना हो यो । यस्तो लापरवाही कतैपनि क्षम्य हुँदैन, झन् लुम्बिनीजस्तो धार्मिक र पर्यटकीय धाम जाने बाटोमा त हुनैहुँदैन ।

यो बाटोको कष्टपूर्ण यात्रा पछि हामी लुम्बिनी गुरुयोजनाले समेटेको भेग प्रवेश गर्‍यौं, यहाँ पुगेपछि मन झन् खिन्न भयो । लुम्बिनी धाम अगाडिको बाटो धूलोले पूरै कुहिरीमण्डल थियो । बाटो चाक्लो बनाइएको रहेछ तर पिच नभएकोले जताततै बुङ्बुङ्ती धूलो उडीरहेको थियो । सवारी व्यवस्थापन अत्यन्त भद्रगोल थियो र हरेक प्रवेशद्वार अगाडि अराजक भिड र कोलाहल देखिन्थ्यो । राज्यले सन् २०२० लाई नेपाल भ्रमण वर्ष घोषणा गरेको छ र २० लाख पर्यटक भित्र्याउने उद्देश्य राखेको छ तर देशको एउटा प्रमुख पर्यटकीय गन्तव्य लुम्बिनीको हालत यस्तो छ ! लुम्बिनी फेरि एउटा आम पर्यटकीय गन्तव्यमात्र होइन, यो संसारका अरबौं मान्छेहरुको आस्थाको केन्द्र हो । थाइल्याण्ड, म्यान्मार, श्री लंका, कोरीया, जापान, चीन आदिजस्ता देशका धेरै मान्छेहरु जिन्दगीमा कम्तिमा एकपटक लुम्बिनी भ्रमण गर्ने धोको राख्छन् । र अहिले पश्चिम-पूर्व, संसारका अरु सबै देशमा पनि भगवान गौतम बुद्धमा आस्थावान मानिसहरुको संख्या बढीरहेको छ ।  यसैले लुम्बिनीसम्मको यात्रालाई सहज र सुविधापूर्ण बनाउने र स्वयं लुम्बिनीलाई व्यवस्थित बनाउने हो भने लुम्बिनी आफैंले २० मात्र होइन ३० लाख पर्यटक भित्र्याउन सक्छ । त्यसका लागि यी बाटाहरुको निर्माण यथाशिघ्र सम्पन्न भइसक्नुपर्छ । भ्रमण वर्ष शुरु हुन अब ३ महिनामात्र बाँकी छ, युद्धस्तरमा काम नगरी यो सम्भव छैन । साथमा होटल, गेष्ट हाउसहरुको उचित व्यवस्थापन र निरन्तर अनुगमन पनि जरुरी छ ।

साँझमा हामीले मायादेवी मन्दिर भ्रमण गर्‍यौं । मायादेवी मन्दिरको दर्शन प्रकृया र सरसफाइ पहिलेभन्दा व्यवस्थित लाग्यो । त्यसपछि त्यहाँको उद्यान, सिद्धार्थ गौतमलाई जन्माएपछि मायादेवीले नुहाएको तलाउ र आराम गरेको पीपलको वृक्ष, अशोक स्तम्भ, आदि वरिपरि टहलिँदै र तस्बीर लिँदै केहि समय बिताएपछि हामी शान्तिदीप बलिरहेको स्थानतिर गयौं र होटल फर्कियौं ।

हाम्रो जीपमा केहि प्राविधिक समस्या आएकाले मर्मत गराउनका लागि जीप लिएर चालक भाइ भैरहवा गएका थिए । हामी विद्युतीय रिक्शा (इ-रिक्शा) मा होटेल फर्कियौं । लुम्बिनीमा अहिले पहिलेका रिक्शा देखिँदा रहेनछन्, इ-रिक्शामात्रै चल्दा रहेछन् ।

रिक्शा चालकका अनुसार यी इ-रिक्शाहरु एक कोरीयन केटीको प्रयासमा प्राप्त भएका हुन् । ति केटी लुम्बिनी घुम्न आएको बेला रिक्शा चालकहरुको दु:ख देखेर कोरीया फर्केर चन्दा उठाएर रिक्शा किनेर बाँडेकी हुन् । उनका कुरा लगभग सत्यनै होलान् किनभने कोरीयाली अन्तर्राष्ट्रिय सहयोग निकाय (कोइका) ले सन् २०१६ को फेब्रुअरीमा ७० वटा इ-रिक्शा बाँडेको थियो । ती दयालु युवतीले कोइकाको माध्यमबाट काम गरेकी होलिन् । इ-रिक्शा पहिलो पटक वितरण भएको यहि बेला हुनुपर्छ, अहिले आएर एशियाली विकास बैंक आदि अरु संस्थाले पनि बाँड्ने खबर आएका छन् ।

भोलिपल्ट बिहान इ-रिक्शानै लिएर बिभिन्न देशका मन्दिरहरुहरु घुमियो । सबै देशका मन्दिरहरु आ-आफ्नै विशेषताका र भव्य छन् । नेपालको मन्दिर पनि भव्य र प्रभावशाली छ ।

मन्दिरहरु घुमेर हामी बर्दिया लाग्यौं । पहिल्यै घुमिसकेका साथीहरुवाट प्राप्त फोन नम्बरका माध्यमले बस्ने ठाउँको जोहो गर्‍यौं लुम्बिनीबाट हिँड्ने बित्तिकै ।

राष्ट्रिय निकुञ्जको क्षेत्र छिरेपछि अलिक कडाइ देखियो । सबैतिर सेनाको निगरानी थियो । जनावरहरु हिँडिरहने क्षेत्र भएकाले गाडीको गति ४० किमी प्रतिघण्टामा सीमित गरिने रहेछ र त्यसका लागि ठाउँ-ठाउँमा टाइमकार्ड लिनुपर्ने र बुझाउनुपर्ने रहेछ ।

पूर्व-पश्चिम राजमार्गको अम्बासाबाट देब्रे लाग्दानै अँध्यारो भइसकेको थियो । त्यहाँबाट पातला बस्ती र जङ्गल हुँदै झण्डै ११ किमी भित्र गएपछि मात्र हामी बस्ने थारु होम रिसोर्ट आउनेथियो । हामी रिसोर्टका सञ्चालक मोहनलाल चौधरीसंग निरन्तर फोन सम्पर्कमा थियौं तर अँध्यारोमा अपरिचित भेग हिँड्नु अलिक अप्ठेरो हुने भइहाल्यो । बीचमा एउटा खोला तर्नुपर्ने भनिएको थियो । खोलामा पुल देखिएकोले हामी उत्साहित हुँदै अगाडि बढ्यौं तर बीचबाट फर्कनुपर्‍यो, बनीसकेकै रहेनछ । यसपछि मात्रै हामीले हाम्रो पछिपछि आएको एउटा बाइक किन पुलतिर नआइ खोलातिर ओर्लिएको रहेछ भन्ने बुझ्यौं ।

खोलामा ओर्लिएपछि फेरि अर्को समस्या आइपर्‍यो । खोला कहाँ गहिरो छ र कहाँ छैन भन्ने कसरी पत्ता लगाउने त्यो अँध्यारोमा ! फेरि मोहनलालजीसंग सम्पर्क गर्‍यौं । ‘एकछिन पर्खने र कुनै बाइक आएपछि त्यो कहाँबाट पस्छ हेरेर त्यसैको पछिपछि आउने ।‘ भन्ने सल्लाह अनुसार गरियो । हामी थारु होम रिसोर्ट पुग्दा साँझ साढे आठभन्दा बढी भइसकेको थियो ।

थारु होम रिसोर्टको स्वादिष्ट खाना खाएर र भोलिपल्टको जीप सफारीको व्यवस्था गरेर सुत्दा मध्यरात हुन आँटीसकेको थियो ।

भोलिपल्ट बिहान बर्दियाको विशेष उत्पादन कालो चामलको भातसहितको नास्ता खाइयो । अचेल चर्चित मार्सीभात भन्दा केहि कालो यो भात उच्च पौष्टिकतायुक्त हुने जानकारी पाइयो । केहि वर्ष पहिला कोरीयाबाट बीउ ल्याएर यसको उत्पादन शुरु गरिएको रहेछ ।

हामीलाई जङ्गल सफारीमा लाने जीप रिसोर्ट अगाडि हामीलाई पर्खिरहेको थियो । हामी चढेको केहि समयपछि एकजना फूर्तिला युवा जीपमा चढे । उनी दीपक राजवंशी रहेछन् हाम्रो जीप सफारीका गाइड । अत्यन्त विनम्र दीपक भाइ जङ्गल सफारीका गाइड मात्र होइन, पेशेवर वन्यजन्तु फोटोग्राफर पनि रहेछन् । उनले खिचेका फोटाहरु नेशनल जोग्राफिकले समेत प्रयोग गरेको रहेछ । उनले भने अनुसार काठमाण्डौंको विमानस्थलमा राखिएको बाघको ठूलो तस्बीर पनि उनकै क्यामेराको कमाल हो ।

जीप सफारीमा बाघ देखियोस् भन्ने हाम्रो यात्राको शुरुवातदेखिकै प्रार्थना थियो ।

बर्दिया निकुञ्जले जङ्गली जनावर र विशेषगरी बाघको संरक्षणमा संसारभर ख्याति कमाएको छ र प्राकृतिक वासस्थानमै सहज रुपमा बाघ हेर्न सकिने थोरै ठाउँमध्ये एक मानिन्छ यसलाई । सन् २००९ मा १८ मात्रै रहेको वयष्क बाघको संख्या हाल ८७ पुगेको रहेछ । यो प्रशंशायोग्य संरक्षणका लागि बर्दिया राष्ट्रिय निकुञ्जले थुप्रै अन्तर्राष्ट्रिय पुरस्कारहरु पाएको छ । विश्व बन्यजन्तु कोषका सदभावना दूत लियोनार्डो डि काप्रियोले आफ्नी आमा र दिदीसंग सन् २०१० मा यहाँ केहि दिन बिताएका थिए । बेलायती राजकुमार ह्यारी सन् २०१६ मा आएका थिए ।

हामी बसेको होटलबाट २ किमी पर रहेछ बर्दिया राष्ट्रिय निकुञ्जको ठाकुरद्वारा प्रवेशद्वार । लामो नाम दर्ता प्रकृयापछि मात्र जङ्गल पस्न पाईने रहेछ । त्यो बिहान हामी ८ जना बाहेक अरु ३० जनाजति पनि सफारीका लागि जङ्गल प्रवेश गरेका थिए । 

न गर्मी, न जाडो, ठिक्कको एकदम राम्रो मौसम थियो । जङ्गलमा ठाउँ-ठाउँमा बाघ वा अरु कुनै विशेष जनावर देखिन सक्ने ठाउँमा चालकलाई जीप रोक्न लगाउँथे दीपक भाइ । साथै जङ्गली जनावरहरु, विशेष गरी बाघका बारेमा हामीलाई थुप्रै कुरा पनि सुनाए उनले । जङ्गल सफारीको गाइडका रुपमा उनले सँगालेका अनुभवहरु सुन्न पनि रमाइलो भयो । राजकुमार ह्यारीले १ घण्टाजति जङ्गलमा बिताउँदा उनलाई उपलब्ध गराइएका चार गाइडहरु मध्ये एक रहेछन् दीपक भाइ । लियोनार्डो डि काप्रियोले आफ्नो चश्मा निकालेर पहिराइदिएका पाका र अनुभवी गाइड राजमान चौधरी दीपक भाइका मामा रहेछन् ।

सबैको पहिलो उत्सुकता बाघ हेर्ने हुन्छ यस्ता सफारीमा । हात्ती र गैंडाका बथान देखिने पनि आशा हुन्छ । तर त्यो दिन हामीलाई भाग्यले साथ दिएन, बाघका केहि ताजा पाइला, आफ्नो क्षेत्र जनाउन उसले जमीन कोतरेर बनाएका संकेत र दिसाको थुप्रो मात्र देख्न पाइयो । चित्तल र बाँदर भने प्रशश्त देखिए । दीपक भाइका अनुसार चित्तल बाघको सबैभन्दा प्रिय शिकार हो । बाँदर र चित्तल ‘दोस्त’ हुँदा रहेछन् जङ्गलका, बाघ आएको देखेर बाँदरहरु कराएको आवाजले चित्तलहरु सतर्क बन्दा रहेछन् र सुरक्षित हुन भाग्दा रहेछन । यी बाहेक १-२ ठाउँमा जरायोहरु पनि देखियो । हात्तीको बथान हिँड्ने क्रममा माडिएका साना बिरुवाहरु पनि देखाउँदै थिए दीपक भाइ तर बथान हिँडेर कता पुगिसकेको हो केहि भेउ पाउन सकिएन । गैंडा र बँदेलहरु पनि देखिएनन् । जङ्गलको बीचमा रहेको गिर्वा खोलाको किनारमा गोहीहरु घाम ताप्दै गरेको पनि देखिएन ।

यो याममा जङ्गली जनावहरु देखिनु भाग्यकै कुरा हो रहेछ । बाघ, हात्ती, गैंडा आदि सहजै देखिने भनेको चैतदेखि असारको गर्मी बेला रहेछ । त्यो बेला बाघ तिर्खाएर पानी खान निक्लने रहेछ र कतिपय धेरै गर्मी दिनमा त घण्टौंसम्म आहाल बस्दो रहेछ । अरु जनावरहरु पनि गर्मी छल्न पानी खोज्दै आउँदा रहेछन् ।

गर्मी याममा फेरि बर्दिया आउने र त्यो बेला जीप सफारी होइन पैदल सफारी गरेर जसरी पनि बाघ हेर्ने निर्णय गर्दै हाम्रो ४ घण्टाको जीप सफारी सकियो ।

सफारीका जीपहरु डिजेलबाट चल्ने हुँदा तिनले निकुञ्जमा धूवाँ र ध्वनि दुबैथरी प्रदूषण गरीरहेका छन् । विशेष गरी चर्को ध्वनिका कारण जनावरहरु तर्सेर पनि भाग्छन् होला । यी डिजेल जीपहरुलाई धूवाँ र ध्वनि प्रदूषण दुबै नहुने इलेक्ट्रिक जीपहरुले प्रतिस्थापन गरिनुपर्छ । यसो गर्दा पर्यापर्यटकीय गन्तव्यका रुपमा बर्दिया राष्ट्रिय निकुञ्जमा एउटा आकर्षण थप हुन्छ ।

फर्केर प्रवेशद्वारमा आइसकेपछि त्यहाँ रहेको गोही प्रजनन केन्द्रको अवलोकन गरियो । यहाँ प्रजनन गरेर केहि समय हुर्काएपछि गोहीलाई कर्णाली नदीमा लगेर छोडिने रहेछ । दीपक भाइका अनुसार त्यसरी कर्णालीमा छोडिएका गोहीहरुको बाँच्ने दर भने कम रहेछ ।

राजमार्गमा गाडीले ठक्कर दिएर घाइते भएको बाघलाई उपचार गरिँदै रहेछ नजिकै । मान्छेहरुलाई देखेपछि घाइते बाघ झर्कने र रिसाएर आक्रमण गर्न खोज्ने हुँदा फलामे जालीमा कालो पर्दा लगाइएको थियो । यसरी झर्केको बाघले बाहिरकालाई आक्रमण गर्न नसकेपछि भित्ता वा फलामे जालीमा आक्रमण गरेर आफैंलाई हानि पुर्‍याउने रहेछ र उपचार प्रकृया झन् जटिल बन्ने रहेछ । संगै एउटा सानो पोखरीमा अन्धो भइसकेको एउटा बूढो गैंडा आहाल बसिरहेको थियो । यो गैँडालाई बाहिर निक्लन नदिनका लागि पोखरीको चारैतिर तारबार गरिएको छ र राति त्यसमा करेण्ट छोडिने रहेछ ।

अन्त्यमा, त्यहाँ रहेको सानो थारु संस्कृति सङ्ग्रहालय हेरेर हामी रिसोर्टतिर फर्कियौं ।

रिसोर्टमा खाना खाएर हामी कर्णाली चिसापानी पुल पुग्यौं र पुल तरेर कैलाली टेक्यौं ।

अब हाम्रो पोखरातिरको फिर्ती यात्रा शुरु भयो र हामी त्यो रातको बास बस्न नेपालगञ्जतिर लाग्यौं।

(२०७६, कार्तिक ५ गते मंगलबार https://www.parichaynetwork.com/basanta-gautam/ मा प्रकाशित )


April 16, 2018

घलेल हुँदै ल्वाङ्गतिर

बोलीचालीमा ल्वाङ्ग घलेल नामले चिनिने भेग छ कास्कीमा। ल्वाङ्ग एउटा गाऊँ, घलेल अर्को गाऊँ। दुबै झुरुप्प परेका गुरुङ्ग बस्ती। २०७४ सालको अन्त्यका दुइ दिन त्यता घुमियो
----------------------------------- 
२०७३ सालको अन्त्यमा म, सोविता र आर्याले पर्वतको चित्रेमा एक रात बसेर भोलिपल्ट पञ्चासेको लेक उक्लेका थियौं। पञ्चासेबाट झरेर कास्कीको भदौरे देउरालीमा बास बसेर तेश्रो दिन पोखरा फर्केका थियौं। यात्राको अन्त्यमा हाम्रो पारिवारिक सल्लाह के भएको थियो भने हरेक वर्षको अन्त्यमा हामी तीनजना यसैगरी कतै न कतैको पदयात्रामा हिँड्ने छौं।

यसपालिको पदयात्रामा क्याम्पसका सहकर्मी परिवारहरु पनि मिसिने कुरा थियो। र योजना बनेको थियो पुनहिलको। म ६ महिना पहिलामात्रै त्यहाँ पुगेको भएपनि फेरि जान तयार थिएँ, त्यहाँको जंगलमा गुराँस अझै बाँकी होला भन्ने आशा पनि थियो।

तर आर्या आफ्नो बिदा मनाउन काठमाण्डौं घरतिर लागी। "अहिले तपाईँहरु जानुस्, म पछि साथीहरुसंग जाउँला।" भन्ने आत्मविश्वाश हामीतिर फ्याँकेर उ काठमाण्डौंमा आफ्ना काका-काकी, दाजुभाइ, दिदीबहिनी, फुपूहरुसंग रम्न थाली।

हामीले यात्राको योजना त्यागेनौं, पुनहिलतिरको ४ दिने यात्रालाई २ दिनको ल्वाङ्ग घलेल यात्रामा भने बदल्यौं।

चैत्र २९ गते बिहान १० बजेतिर हाम्रो चार सदस्यीय भ्रमण दलले आफ्नो यात्रा शुरु गर्‌यो। बगरसम्म नगर बसमा गइयो, त्यहाँबाट हरिचोकसम्म हिँडियो। हरिचोकबाट हेम्जा मिलनचोकसम्म फेरि अर्को बसमा गइयो। त्यहाँबाट एउटा जीप चढेर लुम्रे पुगेर झरियो।

त्यो दिन मलाई साह्रै झुम्म भइरहेको थियो र बसमा र जीपमा झकाइरहेको थिएँ। दूध चियाको तलतल लागेको थियो र त्यो खाए निद्रा पनि भाग्ला भनेर चिया पसलतिर लागियो तर दूध छैन भन्ने जवाफ पाइयो। अर्कोमा पस्दा पनि उहि जवाफ पाइयो र थप के पनि थाहा पाइयो भने लुम्रेमा दूध पाउन गाह्रै रहेछ। हरेक पसलमा सजाएर राखिएका 'ब्राण्डेड' बोतलहरु देख्दा यो ठाउँमा दूध नपाइनु स्वाभाविकनै हो भनेर कालो चिया पिइयो।

त्यसपछि जीप चल्ने बाटै-बाटो हामी बिस्तारै उकालो लाग्यौं। घलेल पुगेर बस्न घरवास (homestay) को सम्पर्क संगै गएका साथीका मामाबाट प्राप्त भयो। मसंग पोखरा वरिपरिका होम स्टेका विवरण र सम्पर्क नम्बरहरु भएको पर्यटन बोर्डको पुस्तिका पनि छ, अचेल होम स्टेका लागि हिँड्दा म त्यसैमा रहेका टेलिफोन नम्बरहरुमा सम्पर्क गरेर व्यवश्था मिलाउँछु। यस पटक भने मामाले भनेकै ठाउँमा गइयो।

डेढ घण्टाजति हिँडेपछि मामाले दिनुभएको नाम लेखिएको सानो साइनबोर्ड बाटैको एउटा पसलमा झुण्डिएको देखियो। चिनापर्ची गरेपछि हामीलाई पसलभन्दा दुइ कान्ला माथिको एउटा घरमा लगिन् घरबेटी बाकी बुहारीले। उनकी २-३वर्षकी सानी छोरी पनि पछि लागिन्। घर होम स्टेकै लागि छुट्याइएको रहेछ तर आँगन र पिँढीमा केहि धूलो-फोहर थुप्रिएको थियो। बुहारी नानीका अनुसार 'अहिले सिजन नभएको र आक्कलझुक्कल मात्र पाहुनाहरु आउने हुँदा' सरसफाइ त्यति नगरिएको रहेछ। परिवार सडकको पसलमै खाने-बस्ने गर्दो रहेछ। होम स्टेको बाहिरै चूल्हो पनि थियो र टन्न दाउरा पनि थुपारिएको थियो। 'सिजन'मा मान्छेहरु धेरै हुँदा त्यहि चूल्होमै खाना पाक्ने होला। हाम्रा लागि भने पसलमै पकाउने कुरा भयो।

उनले पिँढी अलि-अलि बढारेर गुन्द्री ओछ्याइदिइन्। हामी झोला कोठामा फ्याँकेर बाहिर निक्लियौं।

बस्दै गर्दा अघि देखिएकी सानी नानीसंगै ६-७ वर्षका दुइ नानीहरु पनि आइपुगे। एउटी तिनै सानी बच्चीकी दिदी र अर्की फूपूकी छोरी रहिछन्, अर्थात घरबेटी बा-आमैका छोरातिरका दुइ नातीनी र छोरीतिरकी एक नातीनी।

खाजाका रुपमा कालो चिया र घरमै बनेको झिलिङ्गा तारिएर आइपुग्यो। झिलिङ्गा निकै मिठो थियो।

हामीलाई यो घरवास कता-कता आत्मीयताहीन जस्तो लागीरहेको थियो। यस अघि गएका धेरै घरवासहरुमा पाइएको आत्मीयताका बारेमा कुरा गर्दै खाजा खायौं। अन्तजस्तो टिका र मालाले स्वागत नगरिएर पनि हाम्रो मनलाई त्यस्तो लागेको हुनसक्छ।

खाजा खाएर एकछिन गाउँ डुल्ने योजना थियो हाम्रो तर दर्केर पानी पर्न थाल्यो। 'पिउने कुरा के छ?' भनेर सोध्दा 'जेन्सका लागि लोकल र लेडिजका लागि भोड्का छ।' भन्ने बुहारी नानीको जवाफले एकछिन हँसायो पनि हामीलाई। पानी परेपछिको अलमललाई स्थानीय रक्सी मगाएर समाधान गर्ने निधोमा पुगियो। कोकाकोलाको बोतलमा डेढ लिटर कोदोको रक्सी आयो र साथमा आयो साँधेको भटमास। पछि साँधेको बदाम र अम्लेट पनि थपियो। अम्लेट मैले भने खाइन। मैले माछा, मासु र अण्डा नखाएको साढे सात वर्ष भइसकेको छ।

हाम्रो 'खानपीन' भर्खर शुरु हुँदै थियो, साथीको मामा आइपुग्नुभयो। उहाँ हेम्जादेखि सिदिङ्गसम्मका भेगहरुका पसलमा सामान आपूर्ति गर्नुहुँदो रहेछ। वर्षौसम्म हरेक दिनजसो जीपमा ओहरदोहर गरीरहनुभएका अनुभवी मामाका कुरा सुनियो। उहाँहरुको आफ्नै पसल पनि छ हेम्जा मिलनचोकमा। उहाँ धेरै बेर भने बस्नु भएन।

रक्सी त्यति कडा थिएन र स्वादपनि राम्रै थियो। रक्सीले ज्यान र मन दुबै तताउँदै ल्यायो। रक्सीले 'न्यानो' बनाएको आँखाले झमझम पानीमा रुझ्दै हाम्रा लागि पसलबाट खानेकुरा ओसारीरहेकी र 'आज तपाईँहरुलाई यहि खुवाउँछु' भनेर हलहलेको साग टिपिरहेकी बुहारी नानीलाई देखेपछि 'यो ठाउँ पनि साँच्चै आत्मीय रहेछ!' भन्ने निष्कर्षमा पुग्यो मेरो मन।

साढे सातबजेतिर खाना खान पसलतिर ओर्लियौं हामी। घरबेटी बा-आमैका दुइ छोरा साउदीमा रहेछन्। एउटी छोरीको घर नजिकैको धितालमा रहेछ। यी बुहारी नानीपनि दुइ छोरीहरु पढाउन पोखरामै बस्दी रहिछन् र अहिले छोरीहरुको बिदा भएकाले गाउँ आएकी रहिछन्। अर्की बुहारी नानीपनि बजारतिरै बस्दी रहिछन्।

दालभात, आलु-प्याजको तरकारी, हलहलेको साग र टमाटरको पिरो अचार- खाना वास्तवमै स्वादिलो थियो।

खाना खाइसकेपछि पिउने पानी लिएर घरवासतिर उक्लियौं र साढे आठतिरै सुत्यौं। रक्सीले राती तिर्खाभने खुब लगायो। धेरै सपना पनि देखियो, एउटामा म हाम्रो गाउँको एकजना दलीय 'झोले'संग  नराम्रोसंग बाझ्दैथिएँ। पछि ब्यूँझेपछि हाँसो लाग्यो यो सपना सम्झेर।

बिहान उठ्दा दिन सफा थियो र माछापूच्छ्रेको शिखरमा घामले स्पर्श गरीरहेको सुन्दर दृश्य देख्न पाइयो  घरको आँगनबाटै । 


नित्यकर्म सकेर चिया-खाजा खान पसलतिर झरियो। खाजा तयार हुँदै गर्दा पसल नजिकैको बारीको पाटोमा गएर हेर्दा अझ सुन्दर दृश्य देखिँदो रहेछ हिमशृंखलाको। पर्यटन बोर्डको पुस्तिकामा घलेलको परिचयसंगै देखाईएको तस्बीर यहीँबाट खिचिएको रहेछ।


घरबेटी बाले पकाएको चामलको मिठो रोटी, चिया र उसिनेको अण्डाको खाजा खाएर हिसाबकिताब गर्‌यौं र पैसा तिर्‌यौं। यो होम स्टे सस्तै मानियो। बारीको पाटोमा गएर केहि फोटाहरु खिचियो र बिदा भएर ल्वाङ् गाऊँतिर लागियो।

ढुङ्गा छापेको सिँढीहरु हुँदै एकछिन उकालो लागेपछि गाऊँ सकियो र। जंगलको बाटो शुरु भयो। बाटोभन्दा तल भने खेत थिए, धेरैजसो बाँझै। यी खेतहरुमा बर्खामा धान रोप्ने र हिऊँदमा केहि नरोप्ने गरिएकोले अहिले बाँझै देखिएको हुनसक्छ वा गाऊँमा काम गर्ने पाखुरीको अभावका कारण सधैं यसै गरी बाँझै रहेका हुन सक्छन्। एक ठाउँमा डेढ सयजति भेडाहरु चरीरहेका थिए। बाटोभन्दा तल्लो फोगटोमा एउटा टेण्ट थियो र त्यो भन्दा तल्लो फोगटोमा एकजना दिदी केहि काम गर्दै थिइन् र आफूसंगै काम गर्नका लागि आफ्नो छोरालाई बोलाउँदै थिइन्। छोराचाहिँ 'एकैछिन् है, आइहालेँ।' भन्दै टारीरहेका थिए। टेण्टमा बसीरहेका छोराचाहिँको खुट्टा र मोबाइल चलाइरहेका हातमात्रै देखिन्थ्यो बाटोबाट।

पन्ध्र मिनेट जतिमा बाटो ओरालो लाग्यो। अघिल्लो रात बेस्सरी पानी परेकाले बाटो चिसो थियो र एक-दुई ठाऊँमा अलिअलि चिप्लो पनि, तर बाटो सजिलै थियो। ओरालोको अन्त्यमा एउटा झोलुङ्गे पुल रहेछ। त्यो तरेर गएपछि कोलेली गाऊँ शुरु हुने रहेछ, संगै गएका साथीका अनुसार।


यो झोलुङ्गे पुल तरेर कोलेली गाउँको फेदको बाटो हिँड्न थालेपछि हिमशृङ्खलाले फेरि चियाउन थाल्यो। यो मनोरम हिमशृङ्खलाले बाटोभरि पछ्याइरह्यो।



यो बाटोमा बस्ती एकदमै पातलो थियो। बाटोमा हामीले जम्मा एकजना मान्छे भेट्यौं। 'कताबाट आउनुभयो?' भन्दै दाइ आफैंले कुरा शुरु गरे। बाटो छेउकै कच्ची घर अधिकारी थरका उनै दाइको रहेछ। घरमाथिदेखि खोला किनारसम्मैको जग्गा देखाउँदै आफ्नो खेतीको बारेमा कुरा गरे उनले। उनका छोराहरु दुबै 'बजार'तिर-एकजना लाचोक र अर्का पोखरा बस्दा रहेछन्। छोराहरुकी आमा पनि एउटा छोरासंग बस्दीरहिछन्। दाइलाईचाहिँ शहरले तान्न सकेनछ र एक्लै खेतबारी, गाईबस्तु र गोबरमाटोसंग खेलेर बसेका रहेछन्।

'खेती गर्न गाह्रो छ। जे लगाएपनि तस्करले केहि बाँकी राख्दैन।----' दाइले प्रयोग गरेको 'तस्कर' शब्दले एकछिन अलमल्यायो मलाई। कुरा गर्दै जाँदा बुझियो 'तस्कर' भनेर उनले बालीनाली खाइदिने बाँदर, मृग, दुम्सी आदिलाई भनेका रहेछन्। 'तस्कर' शब्दको यस्तो प्रयोग पहिलोपटक सुनेकोले अनौठो र रमाइलो लाग्यो। ठिकै हो, अर्काको मेहेनतमा चोरी गर्नेहरु तस्करने हुन्। तर यी त चेतना नभएका जनावर भए, यहाँ मान्छेलेनै मान्छेको मेहेनतको फल चोरी गर्छन् र पो समस्या छ।

पहाडका गाउँहरुमा 'तस्कर'को यो समस्या निकै बढेको छ अचेल। पहाडमा जंगल र जंगली जनावर बढेका छन्, यो धेरै राम्रो कुरा हो तर गाऊँलेका बालीनालीलाई बाँदर, मृग, दुम्सी आदिजस्ता जनावरबाट जोगाउन गाह्रो हुँदै गएको छ। बलियो तारबार गर्न पनि महंगो पर्छ, फेरि तारबारले मृगजस्ता जनावरलाई रोक्न सकेपनि बाँदरलाई रोक्न सक्दैन। पहाडका बारीहरु भिरालो जग्गामा हुन्छन्, खेत पनि सामान्यतया स-साना फोगटाहरु हुन्छन्। यसैले खेतीपातीको शैलीलाई बदल्नुको विकल्प छैन। सुरक्षित ठाउँमा अन्न, तरकारी आदि खेती गर्ने र असुरक्षित ठाउँमा जनावरले आँखा नलगाउने अलैंची, अदुवा, चिया, जडीबूटीहरु आदि लगाउन सकिन्छ।

ती दाइले पनि आफ्नो जग्गाको केहि भागमा अलैँची खेती शुरु गरीसकेका रहेछन्। अलैंचीको बजार, मूल्य आदिका बारेमा हामीसंग पनि सोध्दै थिए। 'मूल्य राम्रै छ जस्तो लाग्छ, बजार ब्यवश्थापनका लागि गाउँपालिकालाई अनूरोध गर्नुहोस्।' हामीले भन्न सक्ने यतिनै थियो।

दाइसंग छुट्टिएर हिँडियो। बाटोमा एक-दुई ठाऊँमा ऐंसेलु पाक्न थालेको पनि भेटियो। दुई-चार टोप्रा खाइयो पनि। कतैकतै गुराँसका बोट पनि भेटिए तर गुराँस एकदम थोरै मात्र बाँकी थियो। काफलका बोट पनि देखिए बाटोमा।

एकछिनपछि संघर्ष चोक आइपुग्यो। चोक नजिकै घरका दाइलाई किन यो चोकको नाम संघर्ष चोक राखेको हो भन्दा केहि जवाफ पाइएन। सशस्त्र द्वन्द्वकालमा यो भेग माओवादीहरु लुक्ने ठाऊँ थियो, त्यसैसंग जोडिएको हुनसक्छ वा अरुनै कुनै कारण पनि हुनसक्छ, रामजाने।


यहँबाट अगाडि बढेपछि फेरि जङ्गलको बाटो शुरु भयो। घलेलबाट हिँडेबाटै मैले पर्यटन बोर्डको पुस्तिकामा दिइएका ल्वाङ्गको होम स्टेका दुइटा नम्बरमा फोन गरिरहेको थिएँ, उठेको थिएन। जंगल पसेपछि एउटाबाट फोन आयो, बोनी गुरुङ्गजीको रहेछ। मैले हामी ल्वाङ्गतिर आउँदैगरेको र क्यानोनिङ्ग गर्न चाहन्छौं भनें। 'तपाईँहरुले ढिलो गर्नुभयो, हिजोसम्म आएको भएपनि गराउँथे, आज बाट त हाम्रो मर्मत-सम्भार शुरु भयो। तीन-चार दिनपछि मात्र फेरि शुरु हुन्छ।' बोनीजीको कुराले हामीलाई अलि-अलि निराश बनायो। खानाका लागि भने उहाँले आफ्नै घरमा व्यवश्था गर्न लगाइदिन्छु भन्नुभयो। उहाँ आफैंभने क्यानोनिङ्गको मर्मतसम्भारमा ब्यस्त हुने भएकाले भेट हुन सक्ने भएन।

ल्वाङ्ग गाऊँ पस्नासाथ 'बोनी गुरुङ्गजीको घर कता हो?' भनेर सोध्दा एकजनालाई भाइलाई हाम्रो साथ लगाइयो बोनीजीको घर देखाउनका लागि। भाइ आफैं पनि क्यानोनिङ्गको मर्मतसम्भारबाट फर्केका रहेछन् र एकछिनपछि फेरि त्यतै जाँदै रहेछन्। भाइका अनुसार दश जनाको समूहमा क्यानोनिङ्ग गर्न आउने हो भने क्यानोनिङ्गको शुल्कबाटै हरिचोकबाट लाने-ल्याउने र खानाको समेत सुविधा उपलब्ध हुने रहेछ। क्यानोनिङ्गका लागि असार-साउनतिर १० जनाको समूह बनाएर आउनुपर्ला भन्ने सोच बन्यो हाम्रो त्यसपछि।

बोनीजीको घर निकै व्यवश्थित रहेछ। सुविधाजनक होम स्टे लाग्थ्यो घर। हामी त्यहाँ पुग्दा पूर्वी यूरोपीयन जस्ता लाग्ने एक जोडी थिए। पछि कुनै दिन ल्वाङ्ग बास बस्ने गरी आइयो भने यहि घरमा आउनुपर्ला भन्ने लाग्यो।

ल्वाङ्ग पूरै गाऊँ पनि घलेल भन्दा सफा र सम्पन्न लाग्थ्यो।

बोनीजीकी अर्धाङ्गिनीको विनम्र र न्यानो आतिथ्यले मन प्रफुल्ल भयो। कालो कफी पिएर पौने घण्टाजति गफ गरेर बसियो। त्यसपछि खाना आईपुग्यो, गज्जबको स्वादिलो थियो।

खाना खाएपछि झोला त्यहीँ छोडेर ल्वाङ्गको चिया बगानतिर उक्लियौं। उकालोमा एकजना गुरुङ्ग दिदी भेट हुनुभयो। दिदीको माइती ल्वाङ्ग र घर घान्द्रूक रहेछ। छोरी जन्मेको केहि समयपछि लोग्नेले सौता हालेपछि दिदी आफ्नी छोरी लिएर माइत आउनुभएछ र छोरीलाई एक्लै हुर्काउनुभएछ। छोरी अहिले १४-१५ की भइसकिछन् र उनले पढाइमा खासै मन नदिएकोमा दिदी चिन्तित हुनुहुन्थ्यो। दिदीका दाजुभाइ यूकेतिर रहेछन् र उनीहरुको जग्गाको चियाखेती सबै दिदीको रेखदेखमा रहेछ। 'जिन्दगीमा साह्रै धेरै दु:ख गरेको छु!' भन्नुहुन्थ्यो दिदी र उहाँलाई हेर्दा त्यो स्पष्ट देखिन्थ्यो। तर दिदी असाध्यै रसिली र ठट्टा गरीरहनुपर्ने हुनुहुन्थ्यो। आफ्नो जिन्दगीका सारा पिडाहरुलाई यसैगरी हाँसखेल र ठट्टाहरुका सहारामा जित्नुहुन्छ होला दिदीले।

चियाका बुट्यानहरुको माझमा बसेर दिदीसंग केहि तस्बीर पनि लियौं हामीले।




चिया बगानबाट लाचोक, घाचोक भेग स्पष्ट देखिन्छ।


चिया बगानबाट झरेर खानाको पैसा तिरेर हामी बिदा भयौं।

अलिकति तल आइसकेपछि फर्केर हेर्दा ल्वाङ्ग यस्तो देखियो।


हिँडेर खोरामुख आएर चिया खाइयो। लुम्रे, घलेल र ल्वाङ्गमा नपाएको दूध यहाँचाहिँ पाइयो र दूधचियाको तलतल मेटियो :)

साथीको मामा जिप लिएर पोखरातिरै जानुहुँदै रहेछ, एकछिनमै त्यतै आइपुग्नुभयो।
--------------------
यस्तै रह्यो यसपालिको नयाँ वर्षे यात्रा।


March 20, 2018

बन्दीपुरमा, दोश्रो पटक

गत शुक्रबार (चैत २ गते) तीनजना साथीहरुसंग बन्दीपुर गएँ। म बन्दीपुर गएको यो दोश्रो पटक हो। २०६८ सालको कार्तिकमा पहिलो पटक गएको थिएँ सोविता र आर्यासंग।

बिहान पौने ११ बजे एकजना साथीको गाडीमा तीन जना क्याम्पसबाट प्रस्थान गर्‌यौँ। बिन्दवासिनीबाट एकजना साथी थपिनुभयो। केहि किनमेल गरेर बन्दीपुरतिरको बाटो समात्यौं। डुम्रे पुगेर थप केहि सामान किनेर उकालो लाग्यौं। ठाउँ-ठाउँमा रोकिँदै बिस्तारै जाँदा साढे २ तिरै बन्दीपुर पुगियो। बजार नपुग्दैको पार्किङ्गमा गाडी राखेर टुँडिखेल तिर लाग्यौं। त्यहाँको एक विद्यालयमा कार्यरत कृष्णशरणज्यू, जो शिवको आत्मीय साथी हुनुहुन्छ, उहाँ विद्यालयबाट आउन नपाउञ्जेलको समय बिताउनु थियो हामीलाई।

बजारबाट अलिकति ओरालो-उकालो गरेर पुग्नुपर्दो रहेछ टुँडिखेल। अघिल्लो पटक आउँदा त्यता गइएको थिएन, चाँडै पोखरा फर्कने हतारो थियो कि कुन्नि। टुँडिखेल एक छिन सुस्ताउनका लागि राम्रै ठाउँ रहेछ। हामी पुग्दा बदाम, चटपटे, चिया-चुरोट आदिका डाले-नाङ्गले पसले, प्रेमालापमा मग्न २ जोडी र केहि स्थानीय बालबालिकाहरु थिए त्यहाँ। हिमालको दृश्यावलोकनका लागि उपयुक्त ठाउँ भएकाले पर्यटकीय याममा ठूलै भिडभाड हुन्छ होला। सरसफाई चाहिँ थिएन टुँडिखेलमा, 'फोहर' नामको राष्ट्रिय रोग राम्रैसंग सल्केको थियो बन्दीपुरको टुँडिखेलमा पनि।

टुँडिखेल एकछिन घुमेर हामी कृष्णशरणज्यूको कोठातिर लाग्यौं। मुख्य बजारबाट थोरै माथिको एक घरमा बस्नु हुँदो रहेछ उहाँ। उहाँको 'श्रीकृष्ण शतक' भक्ति कविता संङ्ग्रहको  पोखरामा भएको लोकार्पण कार्यक्रममा सामान्य चिनजान भएको थियो मेरो। विगत २७ वर्षदेखि बन्दीपुरको नोट्र डेम स्कूलमा नेपाली अध्यापन गरीरहनुभएका उहाँ एक प्रतिभाशाली शास्त्रीय कवि हुनुहुन्छ। छन्दमाथिको उहाँको पकड बेजोड छ र उहाँका तीन कविता सङ्ग्रह प्रकाशित भैसकेका छन्। उहाँको कोठामा एकछिन बसेर हामी निक्लियौं र थानीमाईतिर उकालो लाग्यौं। 

थानीमाई मन्दिर रहेको टुप्पामा पुगेर कुराकानी गर्दै वरिपरिको दृश्य हेर्न थाल्यौं। हाम्रा गफका विषयवस्तु स्थानीयदेखि राष्ट्रिय-अनर्राष्ट्रिय हुँदै स्टेफन हकिङ्ग र ब्रम्हाण्डसम्मै तन्किए एकैछिन भएपनि। थनाीमाईमा कुने मूर्ति छैन, एउटा शिलामात्र छ। ईँट्टाको मन्दिर बनेको रहेछ, २०६८ सालमा आउँदा यो थिएन जस्तो लाग्छ। मेरो सम्झना ठिक छ भने, त्यो बेला उक्त शिलाको वरिपरि बारबेरमात्र गरेर राखिएको थियो। दृश्यावलोकनको लागि गर्न आवश्यक-गर्न सकिने केहि काम भएका रहेनछन् अहिलेसम्म पनि। त्यहाँ सरसफाइ गर्ने, नजिकका रुखहरु काँटछाँट गर्ने वा दृश्यावलोकनका लागि टावर बनाउने आदि केहि काम पनि भएका रहेनछन्। आकाश खुलेको समयमा त्यहाँबाट हिमशृंखलाको मनमोहक दृश्य देखिन्छ। पश्चिम र पूर्वी नेपालका थुप्रै हिमालहरु खुट्याउन सकिन्छ। यस्तो ठाउँको व्यवश्थापनमा राज्य र स्वयं त्यहाँको स्थनाीय समुदायले पनि देखाएको वेवास्ताले खिन्न बनाउँछ। 

बन्दीपुरको मूल बजार वरिपरिको बस्ती घना हुँदै गएछ, तर योजनावीहिन ढंगले। खासमा बन्दीपुरको मूल बजारमाथिको भागलाई एउटा सानो आधुनिक आवासीय शहरको रुपमा विकास गर्न सकिन्छ। डुम्रे वा अझ दमौली वरिपरिकै मलिला फाँट मासेर शहर बढाउनुभन्दा बन्दीपुरजस्ता ठाउँको नजिकै साना (१ लाखसम्मको जनसंख्या हुने) खालका शहरहरु विकास गर्नु सबै हिसाबले राम्रो हुनेथियो। बन्दीपुरसम्म राम्रै बाटो पुगीसकेको छ, राम्रा विद्यालय-कलेजहरु पनि छन् र जिल्ला अस्पताल पनि यहीँ छ। सार्वजनिक यातायातको राम्रो व्यवश्था हुने हो भने डुम्रे वा दमौलीसम्म काम-ब्यापारका लागि झर्नेहरुका लागि पनि आउने-जाने समय धेरै लाग्दैन। आफ्नै साधन हुनेहरुलाई त झन् सजिलो हुने भइहाल्यो। बन्दीपुरजस्तो प्रदूषणमुक्त सुन्दर ठाउँमा बसेर बच्चाहरु हुर्काउनु र उनीहरुलाई शिक्षादीक्षा दिन पाउनुको आनन्दनै अर्कै हुन्छ।

बस्ती योजनावीहिन त छँदैछ, ठाउँ-ठाउँमा अत्यन्त अप्ठेरा ठाडा सडकहरु पनि खनिएछन् पहाडी छाती चिर्दै। एउटा उदाहरण तलको तस्बीर हो। अरुको फोटो खोच्न बिर्सिएछ। जग्गा दलालहरुको बुद्धि त होला यो! जग्गा दलालहरु  हावी भएपछि इञ्जिनियरिङ्गको के काम, योजनाको के काम!


थानीमाईबाट झरेर अघि गाडी राखीएको ठाउँमा गइयो। कृष्णशरणजीले हाम्रा लागि जुन होमस्टेमा व्यवश्था मिलाउनुभएको थियो, गाडी पार्किङ्गको जग्गा त्यहि होमस्टे ‍चलाउने परिवारकै रहेछ। होमस्टेको सानो रेष्टुरेण्टमा उमालेको चाउचाउ र चिया खाएर आफ्ना झोलाहरु कोठामा लेगेर राख्यौं।

साँझ 'खानपीन'संगै धेरै कुराकानी भए। राजनीति, शाकाहार-मांसाहार लगायतका अनेक विषयमा कुरा भए। कृष्णशरणजीको साहित्यिक यात्राको कुरा पनि धेरै भयो। ६ वर्ष अघिबाट मात्र कविता लेख्न थाल्नुभएको रहेछ उहाँले, आफ्ना पिताजीको स्वर्गवासपश्चात। दश हजार छन्द कविता लेख्ने उद्देश्य रहेछ उहाँको र तीन हजार लेखीसकेको छु भन्दै हुनुहुन्थ्यो। उहाँले आफ्ना केहि कविता पाठ गरेर पनि सुनाउनुभयो। त्यसपछि शिव त्रिपाठीज्यूको अति मिठो गायनमा कृष्णशरणज्यूका कविताहरु सुन्न पाउँदा मन आनन्दित भयो। मैले पनि मेरा २-३ मुक्तकहरु र एउटा कविता सुनाएँ।

भोलिपल्ट बिहानको नित्यकर्मपछि बजारहुँदै तीनधारासम्म पुगियो। शुरुमा तीनवटा मात्रै धारा भएर 'तीनधारा' नाम रहेको होला, अहिले भने पाँचवटा धारा रहेछन्। तीनधारामाथिको डाँडोमा घना जङ्गल रहेछ। कृष्णशरणज्यूका अनुसार डेढ दशक अघिसम्म त्यो डाँडो नाङ्गै रहेछ। वृक्षारोपण र संरक्षणको सफल उहदाहरण रहेछ त्यो नयाँ जङ्गल।

तीनधारा जाने बाटैमा छ नोट्र डेम स्कूल। जापानी मिसनरीद्वारा सञ्चालित यो स्कूल सुन्दर र सफा देखिन्छ। गुणस्तरीय शिक्षाका कारण यो स्कूलको नाम धेरै चलेको छ। २०५७ सालतिर तत्कालीन माओवादीले यो स्कूल बन्द गराए। देवेन्द्र पौडेल भनिने एकजना नेताका भाञ्जा यो स्कूलको प्रवेश परीक्षामा अनुत्तीर्ण भएपछि त्यहि रिसले अनेक निहुँ निकालेर विद्यालय बन्द गराइएको थियो। यो स्कूल बन्द हुँदाका १५ महिना बन्दीपुरको इतिहासको एक अन्धकारमय समय थियो किनभने यहि स्कूलले बन्दीपुरको पुनर्जागरण शुरु गरको थियो।

बन्दीपुर राणाकालबाटै सम्पन्न थियो र यो तनहुँ जिल्लाको सदरमुकाम पनि थियो। २०२५ सालमा सदरमुकाम दमौली सारियो। सदरमुकाम सार्ने क्रममा बन्दीपुरनै राख्नुपर्छ भन्ने पक्ष र दमौली सार्नुपर्छ भन्ने पक्षका बीचमा ठूलो भिडन्त भएर केहि मान्छे हताहत समेत भएका थिए भनिन्छ। तर तत्कालीन राज्यसत्ता दमौलीको पक्षमा रहेका हुनाले बन्दीपुरेको केहि जोड चलेन। त्यसपछि धेरै बन्दीपुरेहरु बसाईँ सरे, धेरैजसो नारायणगढ झरे र केहि काठमाण्डौं, पोखरातिर लागे। बिस्तारै बन्दीपुर निर्जनजस्तै भयो र अघिल्लो पटक बन्दीपुर जाँदा हामीले सबैभन्दा पहिला भेटेका एकजना बुबाका शब्दमा  बन्दीपुर 'दिउँसै हिँड्न पनि डर लाग्ने गरी सूनसान भयो!'

सन् १९८५ मा नोट्र डेम स्कूल स्थापना भएपछि बन्दीपुरले नयाँ जीवन पायो। गुणस्तरीय शिक्षाका कारण उक्त स्कूलको नाम चल्न थाल्यो र देशभरिबाट विद्यार्थीहरु आउन थाले। केहि बन्दीपुरेहरु फर्किए, नफर्कनेहरुले पनि बन्दीपुरलाई फेरि जीवन्त बनाउने अभियानमा साथ दिए। बिस्तारै  बन्दीपुरको पर्यटन उद्योग पनि शुरु भयो। नोट्र डेम स्कूलको प्रगति लोभलाग्दो थियो। आफूलाई एउटा विश्वविद्यालयको रुपमा विकास गर्ने लक्षयका साथ अघि बढीरहेको थियो यो।  तर बन्दीपुरको नयाँ जीवन माओवादीलाई मन परेन र उसले यो विद्यालय बन्द गरायो। एउटा उत्कृष्ट विद्यालयको सम्पूर्ण प्रगति शून्यमा पुग्यो। १५ महिना प‍छि फेरि शुरु भएता पनि धेरै कुरा बिग्रिसकेको थियो। सबै कुरा शून्यबाट फेरि शुरु गर्नुपर्ने स्थिति बन्यो। जापानीहरुको मनमा गडेकोको डरले गर्दा यतिका वर्षपछिपनि उनीहरु पहिलजस्तो खुलेर अझै लाग्न सकेका छैनन् कृष्णशरणज्यूका अनुसार। 'के हुने हो, के हुने हो?' खालको असुरक्षाको भावना अझै छ। विद्यालय अहिले राम्रो हुँदैछ तर त्यो बेला माओवादीले बन्द नगराइदिएको भए यो शायद विश्वविद्यालयको रुपमा विकसित भइसक्नेथियो अहिलेसम्म। कति ठूलो योगदान हुने थियो त्यो बन्दीपुर र पूरै देशका लागि! माओवादीले देशलाई ४० वर्ष पछाडि धकेल्यो बन्दीपुरमा!

तीनधाराबाट फर्केर खाजा खाएपछि हामी पोखरातिर लाग्यौं।

January 11, 2015

राष्ट्रनिर्माताको जन्मघरमा



 (तस्बीर साभारः Border Nepal Buddhi)

२०७१ सालको को नौरथाको षष्ठीका दिन साँझ सपरिवार गोरखा पुगियो

१५ वर्ष जति पहिलाको एउटा झरीमय दिनमा पहिलोपटक गोरखा पुगेको थिएँ। गोरखा बजारबाट हतारमा दरबार उक्लेर हतारमा झरिएको थियो। झरी परीरहेको हुनाले दरबार परिसर पनि पूरा घुमिएन। गोरखनाथको प्रसादको रुपमा रोट खाएर फर्किएका थियौं हामी केहि। त्यै सीमित गोरखा दरबार घुमाईको मेरो सम्झना पनि अत्यन्त मधूरो भईसकेको थियो। यसपालि बजारमै रहेको संग्रहालय भने घुम्न पाईएन, फूलपातीको दिनबाट दशैंका लागि बन्द हुने रहेछ।

गोरखा दरबार हामी नेपालप्रेमी नेपालीको तीर्थस्थल। यसपालि गोरखा दरबार जानु एउटा तीर्थाटन थियो मेरो लागि। उनकै जन्मघरमा उभिएर फेरि एक पटक राष्ट्रनिर्माताप्रति श्रद्धासुमन चढाउन चाहन्थें म, र त्यहीँ बसेर केहि बेर यो देशका बारेमा घोत्लिन चाहन्थें।
साँझ सात बजेतिर बस पार्कमा ओर्लिएर बास र गाँसको खोजी गर्ने र केहि खित्रिङमित्रिङ किन्ने क्रममा गोरखा बजारले त्यति राम्रो प्रभावचाहिँ दिएन। गोरखा बजार पेशेवर बनीसकेको रहेनछ अझै र यसैले ब्यावसायिक विनम्रता पनि बिल्कुलै भेटिएन। एक साँझको मेरो सीमित अनुभव पूरै सत्य नहुन पनि सक्छ, समग्र गोरखा बजारलाई अनुभूत गर्ने हो भने औसत चरित्र यस्तो नहुन पनि सक्छ।

भोलिपल्ट फूलपातीको दिन बिहानै उठेर दरबारतर्फ उकालो लाग्यौं। दरबारसम्म पुने सिँढीको अवश्था राम्रै मान्नुपर्छ तर (शायद) बलि दिनका लगिँदै गरिएका रांगा, बोका आदिलाई त्यो ठाडो सिँढीमा घिच्याएको दृश्यले भने मनलाई अशान्त पारिरहे। दरबारको नजिक पुगेपछि भने सिँढीमा जताततै रगत लतपतिएको देखिन्छ। दरबार परिसरमा रहेका मन्दिरमा दिईने बलिलाई अलिक ब्यवश्थित पार्नुपर्ने देखिन्छ। बलि ल्याउने-लाने बाटोनै फरक पार्न सके राम्रो हुन्छ। 

गोरखा दरबारबाट लगेर काठमाण्डौंमा भित्र्याइने फूलपातीको बारेमा बच्चैदेखि सुने-पढेकाले त्यो फूलपाती कसरी तयार पारिँदो रहेछ र काठमाण्डौं पठाउनुअघि के-के विधिविधान गरिँदो रहेछ भनेर हेर्ने उत्सुकता पनि थियो मनमा। दरबारको सुरक्षार्थ बसेका एकजना सैनिक भाइलाई सोध्दा अल्मलिँदो उत्तर दिए। त्यसपछि दरबार घुम्ने र तस्बीरहरु खिच्ने क्रममा अरु कसैलाई पनि सोधिएन, दरबार परिसरको अव्यवश्था देख्दा त्यहाँ फर्याकफुरुक गरीरहेका कर्मचारीजस्ता मान्छेहरुलाई केहि सोध्ने जाँगर पनि त्यसै मरेर गयो। 

दरबार परिसरमा हाम्रो पछिपछि एकजना १०-११ वर्षकी नानी आईन् र हाम्रो ‘गाइड’ बनिदिने प्रस्ताव राखिन्। त्यस्तो आवश्यकता त केहि थिएन तैपनि हामीले सहर्ष स्विकार्यौं। एकछिन उनी उनले हामीलाई पृथ्वीनारायण शाहको सिंहासन, पृथ्वीनारायण शाहलाई उनकी आमाले तेल घसिदिने ठाऊँ आदि देखाईन्। उनको ‘सहयोग’का लागि उनलाई धन्यबाद दिँदै उनलाई केहि रकम पनि दियौं र उनी खुशी हुँदै कतै लागिन्। दरबारभित्रको स्थिति झन् दयनीय रहेछ। साह्रै फोहर थियो र ती नानीले पृथ्वीनारायण शाहलाई उनकी आमाले तेल घसिदिने ठाऊँ’ भनेर देखाएको स्थानमा बोकाहरु बँधिएका थिए र तीनका अघिल्तिर स्याउला झुण्ड्याइएको थियो। ‘सिँहासन’ धूलो र माकुराको जालोले ढाकिएको थियो। एउटा राष्ट्रिय तीर्थस्थलको यो दुर्गतिले मनलाई कटक्क काटयो। दरबार पछाडिबाट देखिने मनोरम हिमशृंखलाको दर्शनले पनि दुखेको मनलाई निको पार्न सकेन। 

हामी नेपाली आफ्नो इतिहासको जगेर्ना गर्ने कुरामा बिल्कुलै ध्यान दिँदैनौं। इतिहासको जगेर्ना गर्न नजान्नाले नै वर्तमानमा हाम्रो यो दुर्गति भएको हो। इतिहासको जगेर्ना गर्नु, त्यसलाई वस्तुनिष्ठ ढंगले केलाउनु र त्यसबाट पाठ सिकेर अघि बढ्नु सभ्य राष्ट्रको विशेषता हो। हामी त्यो सभ्य स्वभावबाट अझै टाढै छौं। हामी हरेक कुरालाई भत्काउन, बिगार्न र माटोमुनि पुर्न उद्यत छौं। राष्ट्रनिर्माताको जन्मघरलाई त यस्तो वेवास्ता गरेका छौं हामीले भने अरु धरोहरलाई झन् सम्झिने कुरै भएन।

गोरखा दरबारलाई ऐतिहासिक पर्यटन गन्तब्यका रुपमा विकास गरिनुपर्छ। पर्यटक, विशेषगरी ऐतिहासिक रुपमा सचेत आन्तरिक पर्यटकहरु प्रशश्त तान्न सक्ने क्षमता छ यहाँ। अहिले कामै परेर बाहेक कोहि पनि गोरखा जाँदैन। पोखरा, चितवन वा लुम्बिनी जाने पर्यटकहरुको एकदम सानो अंशमात्रै गोरखा पस्छ, त्यो पनि चार-पाँच घण्टाभन्दा बढी समय नबिताई फर्कन्छ। पर्यटकहरुलाई एक दिन एक रात राख्न सक्ने पूर्वाधार र योजना पनि गोरखाले अझै बनाएको छैन। पर्यटकलाई पहिलो गन्तब्यकै रुपमा गोरखा तान्न सक्ने पूर्वाधार, योजना र पेशागत दक्षताको विकासमा गोरखा लाग्नुपर्छ।

गोरखा दरबारलाई सफा र ब्यवश्थित पार्ने काम पहिलो कदम हुनेछ त्यसका लागि। तत्पश्चात गोरखा दरबारमा राष्ट्रनिर्माताकै समयका पोशाकहरु लगाएर फोटो खिच्न सकिने सशुल्क ब्यवश्था गर्न सकिन्छ। राष्ट्रनिर्माताको जीवन, एकीकरण अभियान र तत्कालीन परिवेशसम्बन्धी केहि ऐतिहासिक चलचित्र र डकुमेण्ट्रीहरु दरबार परिसरमै देखाईने ब्यवश्था गर्न सकिन्छ। अर्को कदममा, गोरखा दरबार र वरिपरिका अरु ऐतिहासिक र धार्मिक स्थलहरु र प्राकृतिक सम्पदालाई जोडेर २-३ दिनको पर्यटन प्याकेज निर्माण गरिनुपर्छ।

अलिक ठूलो योजनाका रुपमा राष्ट्रनिर्माताको एकीकरण अभियानका बिभिन्न दिशाहरु पछ्याऊँदै अघि बढ्ने गरी गोरखा बजार-गोरखा दरबारबाट शुरु हुने (वा त्यहाँ आएर अन्त्य हुने) पदयात्रा मार्गहरुको पहिचान गर्न सकिन्छ। त्यस्ता पदयात्रा मार्गहरुमा थुप्रै ऐतिहासिक र प्राकृतिक सम्पदाहरु पर्ने कुरामा कुनै विवाद छैन र शुरु गर्न र ब्यवश्थित रुपमा सञ्चालन गर्न सकियो भने यस्ता पदयात्रा मार्गहरुले देशको ठूलो भूभागको आर्थिक गतिबिधिलाई गति दिन सक्नेछन्। अर्कोतिर लमजुङ, कास्की आदि ठाऊँमा रहेका शाहवंशीय वा त्यस अघिका दरबार र अन्य ऐतिहासिक संरचनाहरुलाई गोरखा दरबारसंग जोड्ने गरी एउटा परिपथ (सर्किट)को परिकल्पना पनि गर्न सकिन्छ। यी ठाऊँमा रहेका गोरखा दरबारभन्दापनि प्राचीन संरचनाहरु झन् संरक्षणवीहिन र बिजोग अवश्थामा छन्। यस्तो परिपथ बन्न सके ती संरचनाहरुको संरक्षणमा पनि केहि काम हुन सक्ने थियो। 

यिनै चिन्तनका साथ यो सानो लेखोटको बिट मार्न चाहन्छु।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहमा हार्दिक श्रद्धासुमन!

October 14, 2013

शुभकामना, धम्पुसबाट ल्याएकोः)

आज विजयादशमीको दिन। 

गत जेठमा बुबा (काका)को निधन भएकाले यो साल घरमा टिका लगाउने कार्यक्रम छैन। यसैले हामी पोखरामै छौ।

झमझम पानी परिरहेको छ हिजो बेलुकैबाट। जाडो पनि छ। दशैं भन्नासाथ घमाईलो, न्यानो दिनको सम्झना आऊँछ। आजको दिन त्यो सम्झनाभन्दा ठिक विपरीत छ। एउटा फरक अनुभूति दिएको छ आजको दिनले।

अस्ति अष्टमीको दिन दिऊँसो हामी धम्पुस पुग्यौं। आर्या र मेरा लागि यो पहिलो धम्पुस बसाई थियो, सोविताका लागि दोश्रो। साथीहरुले बाटो राम्रो छ भनेकाले मोटरसाईकलमा गईयो। बाटो त्यति राम्रो बनीसकेको रहेनछ। जाँदा त्यति गाह्रो नभएपनि भोलिपल्ट बिहान फर्कँदा ओरालोमा साह्रै गाह्रो भयो, सोविता र आर्या पूरै बाटो हिँडेरै झरे। ओरालो, कच्ची बाटोका लागि मोटरसाईकल ठिक साधन होईन रहेछ। पदयात्रा मार्गबाट गएकै भएपनि धेरै समय नलाग्ने ठाऊँ हो धम्पुस।

हामी दिऊँसो पुग्दा हिमालहरु बादलले ढाकिएका थिए। घरिघरी माछापूच्छ्रे बादलको पर्दाबाट अलिअलि चियाऊँथ्यो पनि। समुद्री सतहबाट १,६५० मी. भन्दा माथि रहेको सुन्दर, शान्त गाऊँ हो धम्पुस।

भोलिपल्ट बिहान हिमालहरु झल्झलाकार भएर उभिएका थिए हाम्रो सामुन्ने। मधुरो चिसो बतासमा सास फेर्दै यी अजंगका हिमालहरुको शुभ्र सौन्दर्यले थिचिएर आनन्दित, चकित र विस्मित भएर उभिँदाका यस्ता क्षणहरुमा लाग्छ, कैयन जुनीको तपस्यापछि मात्रै मैले यति सुन्दर देशमा जन्मिन पाएको हुनुपर्छ। 

यो यात्रालाई अरु दुई हप्ता ढिला गरेको भए अझ राम्रो हुनेथियो जस्तो लाग्दैछ अहिले, किनभने पोखराको वर्षायाम अझै सकिएको छैन। अबको दुई हप्तापछि धम्पुस र यो पूरै गण्डकी, धवलागिरि क्षेत्रको सुनौलो याम शुरु हुनेछ। 

आज त्यहि धम्पुसबाट खिचिएका केहि झलकहरु राख्दैछु।








धम्पुस गाऊँको एक भाग। हामी यो तस्बीरको बीचतिर देखिने एउटा होटेलमा बसेका थियौं।


यहाँहरु सबैलाई विजयादशमीको मंगलमय शुभकामना! यहाँहरुको जीवन सदैव शान्त, आनन्दित, सुखी र समृद्ध रहोस्।
    

September 26, 2013

साहित्यिक यात्रा चितवनको

गत शुक्रबार र शनिबार (४ र ५ आश्विन) साहित्यमय भएर चितवनमा बिताईयो।

प्रसंग थियो, 'चितवनका कवि र कविता' नामक कविता संग्रह तथा 'चरैवेति' साहित्यिक पत्रिकाको अंक ६ को सार्वजनिकीकरण। र यसैको छेको पारेर आयोजना गरिएको 'संरक्षण' कविता आन्दोलनको ५७औं संस्करण।

शुक्रबार बिहान एउटा टयाक्सीमा श्रद्धेय सरुभक्त दाइ, सहकर्मी मित्र शरण आँसु र कवि-पत्रकार फडिन्द्र अकिञ्चन चितवनतिर लाग्यौं। कविहरु सरस्वती 'प्रतीक्षा', सुरेश रानाभाट, दीपक समीप र प्रकाश ज्ञवाली र कलाकार गौतम बिजुक्छेसंग बिजुक्छेजीको गाडीमा हुनुहुन्थ्यो। 

दिऊँसो ३ बजेबाट सार्वजनिकीकरण कार्यक्रम शुरु भयो। 'चितवनका कवि र कविता'मा चितवनका ७८ कविहरुका संक्षिप्त परिचय र ४-४ कविता समेटिएको रहेछ। 'चरैवेति' को अंक ६ मा पनि तिनै कविताहरु संकलित रहेछन्। एउटा लामो र गहन प्रयासपछि संकलित स्वरुपमा निक्लिएका यी कविताहरुले निःसन्देह चितवनको कवितालाई स्पष्ट परिभाषित गर्ने क्षमता राख्दछन् र चितवनका माध्यमबाट वर्तमान नेपाली कवितालाई नियाल्ने आँखीझ्याल पनि हो यो संग्रह।

कार्यक्रममा पोखराबाट पुगेका सबै (११ जना) र चितवनकै केहि कविहरुबाट कविता वाचन पनि भयो।  

त्यो रातको बास 'कविडाँडा' (कैलाशपुर?) मा रहेको एल बी क्षेत्री सरको घरमा भयो। एल बी सर र उहाँकी अर्धाङ्गिनीको आतिथ्यमा कवि र कविता मिसिएर निकै रमाईलो भयो। सुत्ने बेलामा साथीहरुले संरक्षण कविता यात्राका पूराना संस्करणका रमाईला संस्मरणहरु सुनाए। मेरो पहिलो सहभागिता, यसैले मसंग केहि संस्मरणहरु थिएनन्। राती सरुभक्त दाइ, एल बी क्षेत्री सर र अरु युवा कविहरुका बीच संरक्षण कविता आन्दोलनको दर्शन, यसको विगत र भविष्यका बारेमा कुराकानी हुँदै थियो धेरै बेरसम्म, अर्धनिद्रामा सुन्नेमा परें म।

बिहान नित्यकर्म, नास्ता, तस्बीर सेसन र आगन्तुक पुस्तिकामा हस्ताक्षरपछि सौराहाको लागि प्रस्थान गर्यौं सबै। सौराहाको जंगल सफारी लजमा फेरि केहि नास्ता लिएपछि डेढ घण्टाको लागि छरिए सबै स्थानीय परिवेशबाट बिम्बहरु टिपेर कविता लेख्न। यसरी निश्चित समयसीमामा बसेर कविता लेख्न बडो गाह्रो हुन्छ, तैपनि केहि कोरें।

जंगल सफारी लजमा फर्केर खाना खाएपछि कविता वाचन कार्यक्रम शुरु भयो। संरक्षण कविता आन्दोलनका सहभागीहरुका कविता सौराहाको प्रकृति र स्थानीय जनजीवनको नजिक हुने कोशिशमा थिए। अरु सहभागीहरु पनि सबैले कविता वाचन गर्नुभयो। चितवन, पोखरा र हेटौंडाबाट भेला भएका थिए कविहरु र काठमाण्डौंबाट पनि कवि-निबन्धकार रोशन शेरचन उपश्थित हुनुहुन्थ्यो।

शनिबार साँझ गौतम बिजुक्छे, दीपक समीप, सुरेश रानाभाट, प्रकाश ज्ञवाली र म पोखरा फर्कियौं।

न्यानो साहित्यिक आतिथ्यका लागि चितवनका साहित्यकार मित्रहरु, एल बी सर र जंगल सफारी लजलाई हार्दिक धन्यबाद! संरक्षण कविता आन्दोलनमा सहभागी हुने अवसरका लागि सरुभक्त दाइलाई हार्दिक धन्यबाद!

साथीहरुले खिचेका तस्वीरहरु फेसबुकतिर छरिएका छन्। मैले भने अचेल कार्यक्रमहरुमा जाँदा क्यामेरा बोक्न छोडिदिएको छु। क्यामरा एक प्रकारको बोझ र बाधा लाग्न थालेको छ :)

November 11, 2012

बन्दीपुरको वास

गएको सप्ताहान्त (शुक्रबार, कार्तिक १७) बन्दीपुर पुगियो वास बस्न।

लाज लाग्छ, एक हप्तापछि बल्ल ब्लगमा लेख्दैछु। दोषी अलिअलि फेसबुक हो र धेरैचहिँ मै हुँ।

बन्दीपुर पुगेको यो पहिलोपल्ट हो, तर आधा बाटोमा पुगेको चाहिँ दोश्रो पटक।

२०५७ को फागुनको अन्तताका हुनुपर्छ, अरु दुई जोडी साथीहरुका साथ हामी मनकामना गएका थियौं। जान पनि तालले गईएको थियो! एकजना साथीले एउटा मिनि टाटाको ब्यवश्था गरेका थिए। त्यसको पछाडिपट्टि तीनतिर टाटले बारेर, भूईँमा टाट र कुशनमाथि बसेर गईएको थियो। ब्यवश्था गर्ने साथी अगाडि ड्राइभरसंग र अरु पाँचजना पलेंटी मारेर पछिल्तिर।

मनकामनाबाट फर्कँदा बन्दीपुरपनि जाने कुरो भयो। उकालो के लागिएको थियो, बाटोमा कुईरीमण्डल धूलो उडेर हैरान। त्यतिखेरसम्म बन्दीपुर उक्लने बाटो पीच भईसकेको थिएन। अगाडि बस्ने साथीलाई त केहि भएन तर पछाडि बसेका हामी भने मान्छे नचिनिने गरी धूलोले ढाकियौं। अनि बीच बाटोबाटै फर्किईयो। अलिक यता राजमार्गको एक ठाऊँमा आएर धूलो टक्टकाईयो र हात मुख धोईयो। अचेल कहिलेकाहीँ भेटघाट हुँदा सम्झेर हाँस्ने एउटा बहाना बनेको छ यो प्रसंग।

त्यसपछि पचासौं पटक काठमाण्डौं-पोखरा ओहरदोहर गरियो होला तर बन्दीपुर पसिएको थिएन। यसपालि एकरात बिताउने योजना बनाईयो अपर्झट।

नाम चले अनुसारकै अत्यन्त सुन्दर रहेछ बन्दीपुर। गाडी निषेधित र सफासुग्घर बन्दीपुरको पुरानो बजारमा बसेर एकैपटक इतिहास र वर्तमानसंग साक्षात्कार हुन सकिन्छ। स्थानीयबाट बुझे अनुसार काठमाण्डौं उपत्यकाबाट ११०० वर्ष पहिला नेवार ब्यापारीहरु आएर बस्ती बसाएका रहेछन्। बन्दीपुरको समृद्ध इतिहासलाई देखाऊँछ बजारले। २०२५ सालसम्म यो पश्चिम नेपालको एउटा प्रमुख ब्यापारिक र राजनीतिक केन्द्र थियो। ठूलो विवादका बीच २०२५ सालमा तनहुँको सदरमुकाम यहाँबाट दमौली सारिएपछि बन्दीपुरको स्थिति खस्किएको रहेछ। त्यसपछि त्यहाँका धेरैजसो ब्यापारीहरु नारायणगढ र राजधानीतिर भास्सिएपछि बन्दीपुर सूनसान भएछ। स्थानीयहरुको भनाई अनुसार २०३८ सालसम्म त बन्दीपुर एउटा परित्यक्त खण्डहरजस्तै लाग्थ्यो। त्यसपछि शिक्षा क्याम्पस, नोट्रडेम स्कूल आदिको आगमनसंगै बन्दीपुरले पुनर्जीवन पाउन थालेको रहेछ। अहिले यसले आन्तरिक र बाह्य दुबैथरी पर्यटकका लागि यो एउटा लोकप्रिय गन्तब्यको रुप लिँदैछ। नयाँ-नयाँ पदयात्रा मार्गहरु र प्याराग्लाईडिङ्गले पनि यसको आकर्षणमा बृद्धि गरेका छन्। बन्दीपुरले फेरि समृद्धि हासिल गर्दैछ र यसको भविष्य निश्चय पनि एकदम उज्यालो देखिन्छ।

हामी जाँदा पनि विदेशी पर्यटकहरुले भरिभराऊ थियो बन्दीपुर। नेपालीहरु पनि देखिन्थे धेरैनै। साँझ परीसकेपछि पुगेका हामी पुरानो बजारमा केहि बेर टहलिएर खाना खायौं। भोलिपल्ट बिहानै थानीमाई देवीको मन्दिरसम्म उक्लिएर फाँट-पहाड हुँदै हिमशृंखलासम्म अग्लिएको देश दर्शन ग-यौं। डुम्रे बजार र अरु बस्तीहरु बादलले छोपिएका थिए बिहान। अकाशिँदै आँखाले नभ्याउने गरी फैलिएका हिमालहरु हेरेपछि मन त्यसै-त्यसै आल्हादित हुन्छ। एउटा अतीव अवर्णनीय आनन्दले भरिन्छ मन। 

तल झरेर खाजा खाएपछि खड्गमाईको मन्दिर परिसर घुमेर पोखरा फर्किईयो।

यति सुन्दर बन्दीपुरमा एक रात वास बस्दैमा धीत मरेको पक्कै छैन। फेरि फेरि बन्दीपुरसंगको भेटघाट चलीरहनेछ।









नेपाल भन्ने देश यसै पनि स्वर्ग हो, तर यो फोटोग्राफरका लागि भने झन् महास्वर्गनै हो। यसैले कतै घुम्न जाँदा एउटा गतिलो क्यामेरा र फोटोग्राफीको थोरबहुत सीपचाहिँ हुनैपर्ने लागेको छ अचेलः)


    

April 30, 2012

भरतपोखरीको 'अक्षरयात्रा'

गजल सन्ध्या पोखरा र नवनीत साहित्य सागर पोखराले आयोजना गरेको 'अक्षरयात्रा' कार्यक्रममा भाग लिएर भरतपोखरी पुगियो अस्ति शनिवार। बडो सुन्दर ठाऊँ रहेछ भरतपोखरी। अक्षरयात्रा र भरतपोखरी-दुबै मेरा लागि पहिलोचोटि थिए। अक्षरयात्रामा कुनै ग्रामीण भेगमा पुगेर त्यहीँ कविता-गीत-गजल आदि सृजना गरेर त्यहीँका स्थानीयहरुसंग कार्यक्रम गरेर सुन्ने-सुनाउने गरिँदो रहेछ। अस्तिको कार्यक्रम 'अक्षरयात्रा' शृंखलाको ८७औं भाग रहेछ। कार्यक्रममा भरतपोखरीकै नवोदित साहित्य समाजको प्रकाशन 'सृजना लहर'को तेश्रो अंकको विमोचन पनि भएको थियो। प्रमुख अतिथिका रुपमा प्रख्यात गीतकार, गजलकार  प्रकट पगेनी 'शिव' हुनुहुन्थ्यो।

भरतपोखरीको यो अक्षरयात्रामा २५ जनाजति यात्रीहरु थियौं पोखराबाट। सहयात्री ब्लगर चैतन्यजीपनि हुनुहुन्थ्यो।

त्यहि कार्यक्रममा सुनाउनका लागि सुन्दर भरतपोखरीलाई हेरेर मैले लेखेका केहि टुक्राहरु राख्न चाहन्छु आज।

भरतपोखरी

पाईला-पाईलामा सौन्दर्य पस्किन्छ
गह्रा, पाटा र बाटाबाट पौरख मस्किन्छ
हाम्रो चिनारी पूरानै हो शायद-
हाँगा-हाँगाबाट कोईली मैसंग जिस्किन्छ।

भाग्यले जुराएछ आज लगन यस्तो
सधैं यतै बसुँ झैं मन मगन यस्तो
आकाश छुने पहाडहरुको काखमा-
भरतपोखरी-स्वर्गको आँगन जस्तो।

तिम्रा हस्तरेखाजस्ता बाटाहरु पछ्याउन
तिम्रो हरियो देहमा पूरै मन बिछ्याउन
तिमीसंग लामो मितेरीको मन छ अब-
तिमीसंग गाँसिएर आफैंलाई सच्याउन।

र अन्त्यमा एउटा कामना;

फाँटहरु निल्ने रहर नपसोस्
अमृत बसोस्-जहर नपसोस्
यो सुन्दर भरतपोखरीमा-
विकास पसोस्-शहर नपसोस्।