Showing posts with label श्रद्धाञ्जली. Show all posts
Showing posts with label श्रद्धाञ्जली. Show all posts

January 11, 2015

राष्ट्रनिर्माताको जन्मघरमा



 (तस्बीर साभारः Border Nepal Buddhi)

२०७१ सालको को नौरथाको षष्ठीका दिन साँझ सपरिवार गोरखा पुगियो

१५ वर्ष जति पहिलाको एउटा झरीमय दिनमा पहिलोपटक गोरखा पुगेको थिएँ। गोरखा बजारबाट हतारमा दरबार उक्लेर हतारमा झरिएको थियो। झरी परीरहेको हुनाले दरबार परिसर पनि पूरा घुमिएन। गोरखनाथको प्रसादको रुपमा रोट खाएर फर्किएका थियौं हामी केहि। त्यै सीमित गोरखा दरबार घुमाईको मेरो सम्झना पनि अत्यन्त मधूरो भईसकेको थियो। यसपालि बजारमै रहेको संग्रहालय भने घुम्न पाईएन, फूलपातीको दिनबाट दशैंका लागि बन्द हुने रहेछ।

गोरखा दरबार हामी नेपालप्रेमी नेपालीको तीर्थस्थल। यसपालि गोरखा दरबार जानु एउटा तीर्थाटन थियो मेरो लागि। उनकै जन्मघरमा उभिएर फेरि एक पटक राष्ट्रनिर्माताप्रति श्रद्धासुमन चढाउन चाहन्थें म, र त्यहीँ बसेर केहि बेर यो देशका बारेमा घोत्लिन चाहन्थें।
साँझ सात बजेतिर बस पार्कमा ओर्लिएर बास र गाँसको खोजी गर्ने र केहि खित्रिङमित्रिङ किन्ने क्रममा गोरखा बजारले त्यति राम्रो प्रभावचाहिँ दिएन। गोरखा बजार पेशेवर बनीसकेको रहेनछ अझै र यसैले ब्यावसायिक विनम्रता पनि बिल्कुलै भेटिएन। एक साँझको मेरो सीमित अनुभव पूरै सत्य नहुन पनि सक्छ, समग्र गोरखा बजारलाई अनुभूत गर्ने हो भने औसत चरित्र यस्तो नहुन पनि सक्छ।

भोलिपल्ट फूलपातीको दिन बिहानै उठेर दरबारतर्फ उकालो लाग्यौं। दरबारसम्म पुने सिँढीको अवश्था राम्रै मान्नुपर्छ तर (शायद) बलि दिनका लगिँदै गरिएका रांगा, बोका आदिलाई त्यो ठाडो सिँढीमा घिच्याएको दृश्यले भने मनलाई अशान्त पारिरहे। दरबारको नजिक पुगेपछि भने सिँढीमा जताततै रगत लतपतिएको देखिन्छ। दरबार परिसरमा रहेका मन्दिरमा दिईने बलिलाई अलिक ब्यवश्थित पार्नुपर्ने देखिन्छ। बलि ल्याउने-लाने बाटोनै फरक पार्न सके राम्रो हुन्छ। 

गोरखा दरबारबाट लगेर काठमाण्डौंमा भित्र्याइने फूलपातीको बारेमा बच्चैदेखि सुने-पढेकाले त्यो फूलपाती कसरी तयार पारिँदो रहेछ र काठमाण्डौं पठाउनुअघि के-के विधिविधान गरिँदो रहेछ भनेर हेर्ने उत्सुकता पनि थियो मनमा। दरबारको सुरक्षार्थ बसेका एकजना सैनिक भाइलाई सोध्दा अल्मलिँदो उत्तर दिए। त्यसपछि दरबार घुम्ने र तस्बीरहरु खिच्ने क्रममा अरु कसैलाई पनि सोधिएन, दरबार परिसरको अव्यवश्था देख्दा त्यहाँ फर्याकफुरुक गरीरहेका कर्मचारीजस्ता मान्छेहरुलाई केहि सोध्ने जाँगर पनि त्यसै मरेर गयो। 

दरबार परिसरमा हाम्रो पछिपछि एकजना १०-११ वर्षकी नानी आईन् र हाम्रो ‘गाइड’ बनिदिने प्रस्ताव राखिन्। त्यस्तो आवश्यकता त केहि थिएन तैपनि हामीले सहर्ष स्विकार्यौं। एकछिन उनी उनले हामीलाई पृथ्वीनारायण शाहको सिंहासन, पृथ्वीनारायण शाहलाई उनकी आमाले तेल घसिदिने ठाऊँ आदि देखाईन्। उनको ‘सहयोग’का लागि उनलाई धन्यबाद दिँदै उनलाई केहि रकम पनि दियौं र उनी खुशी हुँदै कतै लागिन्। दरबारभित्रको स्थिति झन् दयनीय रहेछ। साह्रै फोहर थियो र ती नानीले पृथ्वीनारायण शाहलाई उनकी आमाले तेल घसिदिने ठाऊँ’ भनेर देखाएको स्थानमा बोकाहरु बँधिएका थिए र तीनका अघिल्तिर स्याउला झुण्ड्याइएको थियो। ‘सिँहासन’ धूलो र माकुराको जालोले ढाकिएको थियो। एउटा राष्ट्रिय तीर्थस्थलको यो दुर्गतिले मनलाई कटक्क काटयो। दरबार पछाडिबाट देखिने मनोरम हिमशृंखलाको दर्शनले पनि दुखेको मनलाई निको पार्न सकेन। 

हामी नेपाली आफ्नो इतिहासको जगेर्ना गर्ने कुरामा बिल्कुलै ध्यान दिँदैनौं। इतिहासको जगेर्ना गर्न नजान्नाले नै वर्तमानमा हाम्रो यो दुर्गति भएको हो। इतिहासको जगेर्ना गर्नु, त्यसलाई वस्तुनिष्ठ ढंगले केलाउनु र त्यसबाट पाठ सिकेर अघि बढ्नु सभ्य राष्ट्रको विशेषता हो। हामी त्यो सभ्य स्वभावबाट अझै टाढै छौं। हामी हरेक कुरालाई भत्काउन, बिगार्न र माटोमुनि पुर्न उद्यत छौं। राष्ट्रनिर्माताको जन्मघरलाई त यस्तो वेवास्ता गरेका छौं हामीले भने अरु धरोहरलाई झन् सम्झिने कुरै भएन।

गोरखा दरबारलाई ऐतिहासिक पर्यटन गन्तब्यका रुपमा विकास गरिनुपर्छ। पर्यटक, विशेषगरी ऐतिहासिक रुपमा सचेत आन्तरिक पर्यटकहरु प्रशश्त तान्न सक्ने क्षमता छ यहाँ। अहिले कामै परेर बाहेक कोहि पनि गोरखा जाँदैन। पोखरा, चितवन वा लुम्बिनी जाने पर्यटकहरुको एकदम सानो अंशमात्रै गोरखा पस्छ, त्यो पनि चार-पाँच घण्टाभन्दा बढी समय नबिताई फर्कन्छ। पर्यटकहरुलाई एक दिन एक रात राख्न सक्ने पूर्वाधार र योजना पनि गोरखाले अझै बनाएको छैन। पर्यटकलाई पहिलो गन्तब्यकै रुपमा गोरखा तान्न सक्ने पूर्वाधार, योजना र पेशागत दक्षताको विकासमा गोरखा लाग्नुपर्छ।

गोरखा दरबारलाई सफा र ब्यवश्थित पार्ने काम पहिलो कदम हुनेछ त्यसका लागि। तत्पश्चात गोरखा दरबारमा राष्ट्रनिर्माताकै समयका पोशाकहरु लगाएर फोटो खिच्न सकिने सशुल्क ब्यवश्था गर्न सकिन्छ। राष्ट्रनिर्माताको जीवन, एकीकरण अभियान र तत्कालीन परिवेशसम्बन्धी केहि ऐतिहासिक चलचित्र र डकुमेण्ट्रीहरु दरबार परिसरमै देखाईने ब्यवश्था गर्न सकिन्छ। अर्को कदममा, गोरखा दरबार र वरिपरिका अरु ऐतिहासिक र धार्मिक स्थलहरु र प्राकृतिक सम्पदालाई जोडेर २-३ दिनको पर्यटन प्याकेज निर्माण गरिनुपर्छ।

अलिक ठूलो योजनाका रुपमा राष्ट्रनिर्माताको एकीकरण अभियानका बिभिन्न दिशाहरु पछ्याऊँदै अघि बढ्ने गरी गोरखा बजार-गोरखा दरबारबाट शुरु हुने (वा त्यहाँ आएर अन्त्य हुने) पदयात्रा मार्गहरुको पहिचान गर्न सकिन्छ। त्यस्ता पदयात्रा मार्गहरुमा थुप्रै ऐतिहासिक र प्राकृतिक सम्पदाहरु पर्ने कुरामा कुनै विवाद छैन र शुरु गर्न र ब्यवश्थित रुपमा सञ्चालन गर्न सकियो भने यस्ता पदयात्रा मार्गहरुले देशको ठूलो भूभागको आर्थिक गतिबिधिलाई गति दिन सक्नेछन्। अर्कोतिर लमजुङ, कास्की आदि ठाऊँमा रहेका शाहवंशीय वा त्यस अघिका दरबार र अन्य ऐतिहासिक संरचनाहरुलाई गोरखा दरबारसंग जोड्ने गरी एउटा परिपथ (सर्किट)को परिकल्पना पनि गर्न सकिन्छ। यी ठाऊँमा रहेका गोरखा दरबारभन्दापनि प्राचीन संरचनाहरु झन् संरक्षणवीहिन र बिजोग अवश्थामा छन्। यस्तो परिपथ बन्न सके ती संरचनाहरुको संरक्षणमा पनि केहि काम हुन सक्ने थियो। 

यिनै चिन्तनका साथ यो सानो लेखोटको बिट मार्न चाहन्छु।

राष्ट्रनिर्माता पृथ्वीनारायण शाहमा हार्दिक श्रद्धासुमन!

October 11, 2011

अल बिदा गजल सम्राट!



आफ्नो स्वर र संगीतको जादूले हामीलाई एउटा अलग्गै दुनियाँमा लैजाने गजल सम्राट जगजीत सिंह अब हामीमाझ रहनुभएन।

जगजीत, अझ समग्रमा भन्दा जगजीत-चित्राको जादूको मोहनीजालमा कहिलेबाट परें, यकिन तिथिको याद छैन मलाई, तर जब परें सधैंका लागि परें। उहाँका गजलहरु जिन्दगीको एउटा ठूलो हिस्सा बनेर रहेका छन्, मेरा सुखी-दु:खी अनगिन्ती पलहरुका साथी बनेका छन्। जिन्दगीका दर्दपूर्ण क्षणहरुमा त उहाँको गम्भिर आवाज मेरो मनका लागि मल्हम हो। फेरि संयोग भनौं या एउटा स्वाभाविकता, मेरा घनिष्ट मित्रहरुमध्ये सबैजसो जगजीत-चित्राप्रेमी छन्।

सन् १९९१-१९९६ सम्मको आधा दशक चीनमा विद्यार्थीको रुपमा बस्दा उहाँका 'हम तो हैं परदेशमें---', 'वो कागजकी कस्ती---', 'सारे पिण्ड चुपवाडे---' जस्ता गजलहरु दिनदिनै जसो सुनिन्थ्यो। संगीतले भाषा र राष्ट्रियताको सिमानालाई अस्विकार गर्छ, यो मानवजातिलाई एककार बनाउन सक्षम हुन्छ। जगजीत सिंह संगीतको त्यहि शक्तिको एउटा शक्तिशाली प्रतीक हुनुहुन्छ।

उहाँका सबै गजलहरु प्रिय लाग्छन् मलाई। कहिलेकाहीँ कुनै अलि बढी प्रिय लाग्छन्, अलि बढी सुनिन्छन्। २००३ मा जापान पसेपछिको केहि समय "Someone, Somewhere" संग्रह एकदम सुनें। आफ्नो छोराको असामयिक मृत्युको पिडामा जगजीत-चित्राले गाउनुभएको यो संग्रहले जीवनका गहन दार्शनिक प्रश्नहरुलाई केलाएको छ। यो एल्बम आफैंमा एउटा उत्कृष्ट एल्बम हो, यसभित्र पनि मलाई 'आदमी आदमीको क्या देगा---' र 'मेरी जिन्दगी किसी औरकी---' अति प्रिय लाग्छन्।

उहाँका गजलहरुबाट सबैभन्दा मनपर्ने वा उत्कृष्ट छान्न खोज्नु एउटा दुस्साहस हो भन्ने जान्दा-जान्दै पनि अर्को एक गजल 'शायद मैं जिन्दगीकी----' पनि विशेष लाग्छ मलाई भन्ने लोभ त्याग्न सकिन। अचेल मैले सबैभन्दा बढी सुन्ने गजल यहि बनेको छ। उहाँका भजनहरुपनि सशक्त र आध्यात्मिक शक्तिले भरिएका लाग्छन् मलाई।

गजल सम्राटमा हार्दिक श्रद्धाञ्जली! वहाँको आत्माले चीरशान्ति पाओस्!

March 06, 2011

हार्दिक श्रद्धाञ्जली!

देशले हालै दुई महान सपूत गुमाएको छ; मूर्धन्य साहित्यकार डायमण्ड शमशेर र लोकतन्त्रवादी नेता कृष्णप्रसाद भट्टराई।

उहाँहरुका आत्माले चीरशान्ति पाओस्!

उहाँहरुमा हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछु।

March 21, 2010

आगो र खरानी

नेपाली कांग्रेसका सभापति एवं देशका पूर्व प्रधानमन्त्री गिरिजा प्रसाद कोईरालाको निधनसंगै हाम्रो राजनीतिको एउटा कालखण्ड सकिएको छ। हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै उनको आत्माको चीरशान्तिको कामना गर्दछु।

प्रख्यात बेलायती लेखक H.G. Wells ले कतै भनेका छन्; Leaders should lead as far as they can and then vanish. Their ashes should not choke the fire they have lit (नेताहरुले आफूले सकेजति मात्रै नेतृत्व गर्नुपर्छ र त्यसपछि विश्राम लिनुपर्छ। तिनीहरुले बालेको आगो तिनीहरुकै खरानीले पुरिएर निभ्नु हुन्न।) यो उक्ति धेरै हिसाबले गिरिजाको जीवनमा लागू हुन्छ। गिरिजा प्रसाद कोईरालाको योगदानको, उनका महानता र कमजोरीहरुको लेखाजोखा भईरहेको छ र ईतिहासले गरिरहनेछ; तर एउटा कुरा के स्पष्ट छ भने गिरिजाले बालेको 'आगो' लाई उनकै 'खरानी'ले निभाएको छ र त्यो पनि पटक-पटक।

पटक-पटक अवसर पाउने भाग्यमानी नेताहरु कमै हुन्छन् र गिरिजाप्रसाद तिनै भाग्यमानीमध्येका एक थिए। तर हरेक पटक उनी इतिहालसे उनका लागि छुट्याईदिएको उचाईसम्म उठ्न सकेनन्। उनको निधनपछि महशूश भएको रिक्तता उनको राजनीतिक योगदानको उचाईले भन्दा पनि नेपाली राजनीतिमा छ  दशक भन्दा बढीको उनको उपश्थिति र सत्ता-राजनीतिको दुई दशक लामो हालीमुहालीले गर्दा बढी हो। हामी नेपाली यी दुबैको भेद ठम्याउन सक्दैनौं/चाहँदैनौ; त्यो बेग्लै कुरो हो। मेरा कुरा कसैलाई चित्त नबुझ्न सक्छ, कृपया यसलाई मेरो नितान्त नीजि विचार मानेर पढिदिनुहोला।

२०४२ सालको कुरो हो, नेपाली कांग्रेसको सत्याग्रहलाई रामाराजा प्रसाद सिंहको बमले 'उडाएको' थियो भर्खरै। त्यसकै केहि समय पहिलेबाट कांग्रेसी हस्तीहरु पञ्चायत पस्ने लहर पनि छलेको थियो। मेरो वरपरका केहि पुस्तैनी/खाँट्टी कांग्रेसीहरु "अब मन्त्री पायो भने गिरिजा पनि पञ्चायत पस्छ!" भन्थे। ती 'कांग्रेसी'हरुले किन त्यसो भने, यो कुरामा कत्तिको सत्यता थियो मलाई थाहा छैन। त्यसको चार वर्ष पछि पञ्चायतले हावा खायो र शुरु भयो नेपाली सत्ता-राजनीतिको गिरिजा-युग।

२०४६ सालपछिको संसदीय प्रजातन्त्र संस्थागत र सफल हुन नसक्नुमा धेरै कारणहरु खोज्न सकिन्छ तर एउटा प्रमुख कारणचाहिँ गिरिजाकै सत्तालिप्सा, जाल-झेल र कपटनै हो। गणेशमान र कृष्णप्रसाद भट्टराईबाट शुरु गरेर उनले कांग्रेसभित्र आफूभन्दा फरक विचार राख्नेहरुलाई एक-एक गरी अपमान गर्दै र पन्छाऊँदै गए। प्रजातन्त्रको नारा बोकेको कांग्रेसलाई देशकै सबैभन्दा ठूलो सामन्ती संस्था बनाए उनले र आफू त्यसको महासामन्त बने। नेपाली कांग्रेसको केन्द्रीय समितिमात्र उनको पञ्जामा थिएन, उनी कांग्रेसका जिल्ला र गाऊँ समिति देखि लिएर नेविसंघका इकाइ समितिसम्म हस्तक्षेप गरेर आफ्ना 'हनुमान'हरु लाई स्थापित गर्थे। उनले नयाँ पुस्ताबाट नेतृत्व उदाउने मुहानलाईनै थुन्ने कोशिश गरेका थिए धेरै पटक। उनको नेतृत्वको नेपाली कांग्रेसमा कहिल्यै पनि आन्तरिक लोकतन्त्रको हावा चलेन, त्यहाँ कहिल्यै वैचारिक मन्थन भएन। यसैले हामी अहिले दयालाग्दो स्थितिमा पुगेको, लगभग मेरुदण्डवीहिन भईसकेको कांग्रेस देखिरहेछौं।

सरकार चलाउने कुरामा पनि उनको र उनका आसेपासेहरुको पर्याप्त मनोमानी थियो। बहुदलीय प्रणालीको खुल्लापनमा देशले आर्थिक-सामाजिक गति लिईरहेको बेला उनले आफ्नै दलको बहुमतको सरकार  भंग गरेर मध्यावधि चुनाव आह्वान गरे। त्यो चुनावबाट शुरु भएको त्रिशंकु संसदहरु र एकपछि अर्का अझ नालायक सरकारहरुको लहरले देशलाई छिया-छिया बनायो। त्यतिखेर निर्माण गर्न नसकिएको राजनीतिक संस्कार देशले अझै पाएको छैन। उनी जति पटक प्रधानमन्त्री भएपनि उनको शाशनकाल पनि भ्रष्टाचार र बेथितिका चाङ्गले भरिएको छ। देशका नीति-नियमलाई उनले जहिले पनि धोती लगाईदिए र आफू र आफ्ना आसेपासेलाई जहिले पनि देशका नीति-नियमभन्दा माथि राखे। आफ्नी छोरीका हरेक नाजायज हठ, जिद्दी र कर्तुतलाई देशभन्दा माथि राख्ने उनको धृतराष्ट्र प्रवृत्तिले देशलाई अझै कति डस्ने हो, थाहा छैन।

२०४६ सालको गिरिजाको आगोलाई उनको सत्तालिप्साको खरानीले निभाईसकेको थियो। तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता हातमा लिईदिनाले गिरिजा र नेपालका सबै दलका सबै नेताहरुले राजनीतिक 'पुनर्जन्म' लिने मौका पाए। प्रतिनिधिसभा पुनर्स्थापनको अडान लिनु र २०६३ को जनआन्दोलनलाई सफलतापूर्वक नेतृत्व दिनुले उनको राजनीतिक उचाई बढ्यो र जनताले पूराना कुरा पनि बिर्सिए। माओवादीलाई मूलधारको राजनीतिमा ल्याउन उनले गरेको मेहेनत पनि ज्यादै प्रशंशायोग्य छँदैछ। 

गिरिजाले आफूले बालेको २०६३ सालको त्यो आगोलाई जीवन्त राख्न सक्थे। आन्दोलनको समाप्तिपछिनै उनी अभिभावकको भूमिकमा सर्न सक्थे र सकृय नेतृत्वको जिम्मा नयाँ पुस्तालाई दिन सक्थे। त्यतिखेरको उनको नैतिक बलका कारण बाहिर बसेरै पनि उनी वैचारिक नेतृत्व दिनसक्थे देशको राजनीतिलाई। त्यसपछि पनि कम्तिमा संविधान-सभाको चुनाव सकिएको भोलिपल्टबाट अभिभावकको भूमिकामा बस्नसक्थे उनी। तर समयक्रमले उनमा सत्तालिप्सा झन्-झन् बढेको देखायो। माओवादीलाई सरकारको नेतृत्व सुम्पन उनले गरेको दीर्घ आनाकानी हामीले देखेकै छौं। केहि समययता उनको सत्तालिप्सा उनकी छोरी सुजाताका माध्यमबाट केन्द्रीकृत रुपले प्रक्षेपण भईरहेको थियो।

गिरिजाको निधनपछि देशको शान्ति-प्रकृयाले मियो गुमाएको विचार छ धेरैको। एक हिसाबले त्यो ठिकै पनि हो किनभने प्रचण्ड र माओवादीसंग भएका कतिपय कुराकानी र कथित 'मौखिक सहमति' आफूसंगै लिएर गएका छन् उनले। त्यस्ता मौखिक सहमतिलाई 'लिखित सहमति'मा उतार्न नसक्नु उनको  बेईमानी र कमजोरी दुबै हो। उनले चाहेका भए त्यो अवश्य पनि सक्थे होलान्। त्यस्ता 'मौखिक सहमति' के कति भएका छन्, त्यस बारेमा माओवादीले आत्मा साक्षी राखेर जनतालाई बताईदिए देशको भलो हुनेथियो तर माओवादीबाट त्यस्तो कुराको कमै आशा गर्न सकिन्छ। त्यस्ता मौखिक सहमति हुँदै नभएको पनि हुनसक्छ। 'नेपाल' साप्ताहिकमा केहि समय पहिला एउटा लेख पढेको थिएँ मैले, नेपाली राजनीतिमा गिरिजाको शक्तिलाई नेपाल टेलिभिजनको पुरानो टेलिफिल्म "जनैको साँचो" को पर्याय देखाईएको थियो।  स्थिति त्यस्तै पनि हुनसक्छ। गिरिजा हुँदा-हुँदै पनि गत एक वर्ष देखि देशको शान्ति-प्रकृया जहीँको तहीँ छँदैथियो, अझ ओरालो लागेको हुनसक्छ। 

समस्या गिरिजा बाहेकका हाम्रा अरु नेताहरु पनि हुन्। आफ्ना तुच्छ आग्रह र अहंलाई त्यागेर, देश र जनतालाई सबैभन्दा माथि राखेर खुल्ला दिलले छलफल गर्न सक्दैनन् र उनीहरुलाई सधैं कोहि न कोहि 'मनिटर' चाहिन्छ। गिरिजाको उमेर र स्वास्थ्यका कारण उनको निधन अवश्यंभावी भईसकेको थियो र यो स्थितिमा शान्ति-प्रकृयालाई टुंगोमा पु-याउन उनीबाहेकको संयन्त्रको निर्माण र सशक्तीकरण भईसकेको हुनुपर्थ्यो। कांग्रेसका अरु नेता र माओवादी-एमालेले त्यो 'आँट' देखाउन सकेनन्। 

एक राष्ट्रिय सार्वजनिक ब्यक्तित्व भएका कारण उनका बारेमा यति कुरा, यो बेलामा पनि, गर्ने हक म र सबै नेपाली जनतासंग छ भन्ने ठान्छु म।

फेरि एक पटक हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दै उनको आत्माको चीर शान्तिको कामना गर्दछु।
*************************************************
गिरिजाबाट हामीले र विशेष गरी हाम्रा नेताहरुले सिक्नसक्ने कुरा धेरै छन्, जसमा सबैभन्दा प्रमुख वैचारिक-राजनैतिक अडान हुनसक्छ। उनको जस्तो दृढनिश्चय र ईच्छाशक्ति हरेक नेतामा हुनु अनिवार्य छ।

उनको जीवनको नकारात्मक पाटोबाट पनि सिक्न सकिने कुरा धेरै छन्। पहिलो त हरेक नेतामा 'म पनि एकदिन मर्नेछु र मेरा आजका तुच्छ आग्रह र स्वार्थहरु मसंगै एकदिन बाग्मतीमा बग्नेछन्।' भन्ने बोध हुनु अति आवश्यक छ। हाम्रो राजनीति यस्तरी कुरुप हुनुको कारण त्यसमा यो आध्यामिकताको अंश नभएर हो।

अर्को, हरेक दलको नेतृत्वले सधैंभरि 'बूढो गोरुले गाई ओगट्ने' नगरी नयाँ नेतृत्वको, युवा नेतृत्वको विकासमा सघाउनुपर्छ र उसलाई अवसर र चुनौतीहरुले खारिन दिनुपर्छ। एउटा ब्यक्ति या समूहको नेतृत्व क्षमताको परख गर्न बढीमा दुई पूर्ण कार्यकाल हेरेपुग्छ, मृत्युनै कुरिरहनुपर्दैन। हरेक नेताले,  हरेक पुस्ताले एउटा निश्चित बिन्दूमा पुगेपछि सत्ताको दौडबाट आफूलाई अलग गर्ने आँट देखाउन सक्नुपर्छ।

गिरिजापछिको कांग्रेसले यो मामिलामा कुन बाटो लिने हो, समयले देखाउला तर कांग्रेसबाहेकका दलहरुमा पनि स्थिति खासै उत्साहजनक छैन। माओवादी विगत दुई दशकदेखि विना महाधिवेशन तदर्थ चलिरहेछ। युद्ध हाँक्न प्रचण्ड सबैभन्दा सक्षम थिए होलान् तर खुल्ला राजनीतिका लागि उनी चरम रुपले असफल देखिईसकेका छन्। एक हिसाबले 'जनयुद्ध' ताकाको प्रचण्डको आगोलाई त्यसपछिको खरानीले निभाईसकेको छ। माओवादीलाई नयाँ नेतृत्वको आवश्यकता छ, तर माओवादीभित्र प्रचण्डको स्थिति शायद कांग्रेसभित्र गिरिजाको जस्तै गरी स्थापित गरिसकिएको छ र सहजै नेतृत्व परीवर्तन नहुने सम्भावना छ। त्यो एउटा दुखद सम्भावना हो।

आन्तरिक लोकतन्त्र अलिक जीवन्त भएको एमाले (तत्कालीन माले) मा पनि रहस्यमय मदन-आश्रित हत्याकण्डपछि माकुनेको एकछत्र राज भयो। आफ्नै समकक्षी नेताहरु र कार्यकर्तलाई जुधाई-जुधाई माकुनेले १५ वर्ष बिताईदिए र एमालेलाई पत्रु बनाईदिए। संविधानसभाले एमालेलाई तीस सिटे मिनिबसको औकातमा नझारिदिएको भए उनी गिरिजाकै पारामा जीवनभरी एमालेका सर्वेसर्वा बन्थे होलान्। गत बुटवल महाधिवेशनले गरेका वाचा पूरा भए भने केहि आशा गर्न सकिएला एमालेबाट।

December 04, 2009

एउटा अजम्बरी त्रिवेणी

यो गीत मलाई पहिलो पटक सुनेबाटै साह्रै मनपर्ने हो। त्यसो त एकचोटि सुनेपछि यो गीत मन नपराउने नेपाली को नै होला र!

भट्टजी जापानमै हुँदासम्म नागोयाका दशैं र नयाँ वर्षका कार्यक्रमहरु र अन्य केहि अवसरमा उहाँले गाउनुहुन्थ्यो यो गीत; हरेक पटकका भेलाहरुमा "अल्झेछ क्यारे पछ्यौरी----" हाम्रो फर्माईश र "वन्स मोर!" मा पर्थ्यो।

तर नेपाल छोडेपछिको यति लामो समयसम्म स्वर-सम्राटकै स्वरमा सुन्न भने मेसो परेन। हात परेका कुनै पनि संग्रहहरुमा यो गीत छैन, आफू पुगेका नेपाली गीतहरुको अनलाईन संग्रहमा पनि यो भेटिएन।

विगत डेढ महिना यता झन् यो गीत बिहान उठेदेखिनै मेरो मनमा गुञ्जिन थालेको छ, अनि दिनभरि गुञ्जिरहन्छ। यो गीतका पछिल्ला शब्दहरु बिर्सिसकेको थिए र मेरो मनको गुनगुनाहट 'सल्लाझैं आमा----' मा पुगेर रोकिन्थ्यो।

थाहा छैन किन हो, यो गीत सम्झेपछि मलाई एउटा अत्यासलाग्दो उदासी र बेचैनीले घेर्न थाल्यो र मेरा आँखाहरु डिलसम्मै भरिन थाले। मेरा जनम-जनमका पिडाबोध र उदासी खप्टिएर अचानक एकमुष्ठ ममा पसेजस्तो!

र मैले यो गीत खोज्न थालें गुगलमा, तर एम रानाजीको Imeem मा बाहेक अन्त भेट्न सकिन। धन्यबाद एम रानाजीलाई!






पूरा गीत यहाँ सुन्न सक्नुहुन्छ; aljhechha kyare pachhe.mp3 - narayen gopal

इण्टरनेटमा यो गीत खोज्ने क्रममानै थाहा पाएँ यो गीतका रचनाकार मेरा प्रिय कवि भूपि शेरचनज्यू हुनुहुँदोरहेछ, पहिला रचनाकारमा ध्याननै दिएको रहेनछु मैले।

कति भाग्यमानी यो गीत, जसले भूपिको कलमबाट जन्मिने, गोपाल योञ्जनको शिल्पमा सजिने र नारायण गोपालको स्वरमा आकाशमा उडने सौभाग्य पायो! तीन अमर नदीहरु! र तीनको संगम-एउटा अजम्मरी त्रिवेणी!

अचेल घरमा यो गीत धेरै-धेरै बज्न थालेको छ र मेरा आँखाहरु झन्-झन् भरिन थालेका छन्।

लाग्छ, एक दिन यो गीत सुन्दै म डाँको छोडेर रुनेछु धेरै बेरसम्म। धेरै कुरा आफूले चाहेर पनि गर्न नसक्दाको नीरिहतामाथि, कति कुरा गर्न सक्ने हुँदा-हुँदै पनि नगर्दाको पश्चात्तापमाथि र धेरै-धेरै आफ्ना विवशताहरुमाथि!
*********************************************************
आज स्वरसम्राटको पुण्यतिथि! उन्नाईस वर्ष अघि पूरै नेपाल रोएको दिन!

स्वरसम्राटमा हार्दिक श्रद्धाञ्जली!





*********************************************************
र यस्तै अजम्बरी कृतिहरु दिएर, हामीलाई नेपाली हुनुको अस्तित्वबोध-नेपाली हुनुको गर्वबोध दिनुहुने हिजो, आज र भोलिका समस्त श्रष्टाहरुमा सादर धन्यबाद!

October 17, 2009

महाकवि देवकोटामा हार्दिक श्रद्धाञ्जली!!!


आज नेपालमाताका एक महान सुपुत्र लक्ष्मी प्रसाद देवकोटाको सैयौं जन्मतिथि हो। नेपाली साहित्यको लागि उहाँको योगदानको जति चर्चा गरेपनि कमै हुन्छ। नेपालमा उहाँको जन्म शतवार्षिकीका उपलक्षमा धेरै कार्यक्रमहरु भईरहेको हुनुपर्छ।

नागोयामा केहि उत्साही भाइबहिनीहरुले भोलि एउटा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गर्दैछन्।

महाकवि देवकोटामा हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछु!!

यसै प्रसंगमा यूट्युबको यो भिडियो यहाँ राख्न चाहन्छु, आफनो जीवनको अन्तिम घडीमा रहनुभएका महाकविको स्वर सुन्न सकिन्छ यसमा। बिबिसी नेपाली सेवा र भिडियो तयार पार्नुहुने महानुभावलाई धेरै-धेरै धन्यबाद!



हस् त, तपाईँ र परिवारमा दिपावली, नयाँ वर्ष (नेपाल सम्बत ) ११३० र छठको हार्दिक मंगलमय शुभकामना सहित बिदा हुन चाहन्छु। तपाईँका दिनहरु शुभ रहुन्!

January 12, 2009

पत्रकार उमा सिंहमा हार्दिक श्रद्धाञ्जली!!!!


हतियार बोकेका कातरहरुको जत्थाद्वारा निर्मम हत्या गरिएकी पत्रकार उमा सिंहप्रति हार्दिक श्रद्धाञ्जली र परिवारजनमा हार्दिक समवेदना ब्यक्त गर्न चाहन्छु!
-------------------------------------------------------------------------------
अरु कुनै विषयमा लेखौंला भन्ने विचार थियो तर एउटा उदाउँदो प्रतिभालाई यसरी पाशविक ढंगले निमोठिएको खबर पढेपछि मन नराम्ररी भाँडिएको छ। निर्दोषहरुको रगत बगिरहने र अपराधीहरुले उन्मिक्ति पाइरहने यो अन्तहीन शृंखलाबाट देशले कहिले मुक्ति पाउला? स्वतन्त्र र निष्पक्ष चिन्तन राख्ने मान्छेहरुले नडराई बाँच्न सक्ने दिन कहिले आउला?

उमा सिंहले भोगेका चुनौती र पिडाहरुको पहाडको कल्पना पनि डरलाग्दो छ। अहिले हाम्रो देशमा निष्पक्ष पत्रकारहरुको जिन्दगी सबैभन्दा कठिन छ। र सामन्ती सामाजिक-सांस्कृतिक संरचना भएको हाम्रो देशमा जहाँसुकैपनि एउटा महिला पत्रकारको जिन्दगी अझ असहज छ। त्यसमाथि पनि नेपालको तराई क्षेत्रको समाज महिलाहरुप्रति हदैसम्म अनुदार छ। त्यस्तो कट्टर समाजबाट माथि उठेर पत्रकारिता पेशा अंगाल्नुनै पनि कम्ता साहसको विषय होईन, त्यो पनि आफ्ना पिता र दाइलाई अपहरण र बेपत्ता पारिएको कठोर पिडासंग बाँच्दै। त्यसमाथि निरन्तर रुपमा तराईका सामाजिक-सांस्कृतिक विकृतिहरु र अपराधीकरणका विरोधमा सकृय हुनु कति गाह्रो थियो होला?! उनले कति धम्की बेहोरिन् होला?! यो मजस्ता विरोध, समर्थन, रिस, खुशी जे का लागि पनि कि-बोर्ड ठोकेर आफ्नो 'देशभक्ति' देखाउने मान्छेका लागि महशूश त के कल्पना भन्दा बाहिरको कुरो हो, तैपनि कोशिश गरिरहेछु, कि-बोर्ड ठोकेरै सही------

देशलाई उमा सिंहजस्ता निडर र चिन्तनशील, अनगिन्ती युवाहरुको आवश्यकता छ, तर प्रहार उनीहरुमाथिनै भइरहेछ, धम्की उनीहरुलेनै झेलिरहेछन् र नरपशुहरुले उनीहरुकै हत्या गरिरहेछन्----

हत्यारा नरपशुहरुलाई यथाशिघ्र कठघरामा उभ्याउन र फेरि यस्तो घटना नदोहोरिने प्रत्याभूति दिन सरकारसंग माग गर्दछु!

उमा बहिनी, तिम्रो आत्माले चीर शान्ति पाओस्! र भगवानले तिम्रो परिवारलाई एउटा अर्को कठोर बज्रपातको पिडा खप्ने र सम्हालिने शक्ति देओस्!


(फोटो साभार:दैनिकि डट कम)

December 18, 2008

रमेश विकलज्यूमा हार्दिक श्रध्दाञ्जली!!!


नेपाली साहित्यका एक अथक सेवक महान कथा-शिल्पी रमेश विकलज्यूको निधनको खबरले अत्यन्त दु:खी बनाएको छ। उहाँको आत्माको चीर शान्तिको कामना गर्दै शोकाकूल परिवारजनमा हार्दिक समवेदना ब्यक्त गर्न चाहन्छु।
-------------------------------------------------------------------------------------
रमेश विकलज्यू केहि समय यताबाट थलिनु भएको छ भन्ने कुरा अस्तिमात्रै नरेन्द्र रौलेजीले उहाँसंग गर्नुभएको कुराकानी पढेर पनि थाहा भएको थियो तर यति चाँडै यो दुखद खबर सुनिएला जस्तो लागेको थिएन। नेपाली भाषा-साहित्य र समग्र नेपालले एक मूर्धन्य प्रतिभा र एउटा सपूत गुमाएको छ।

रमेश विकलज्यूका कथाहरु धेरै पढियो। तीमध्ये म सबैभन्दा बढी प्रभावित भएको कथा (र सम्भवत: मैले सबैभन्दा पहिला पढेको उहाँको कथापनि यहिनै हुनुपर्छ) 'मेरी सानी भतिजी प्रतिमा' हो। वि. सं. २०३९ सालतिरको कुरा हो, त्यतिखेरको १० कक्षाको 'महेन्द्रमाला'मा यो कथा थियो, दाइहरुका नेपाली किताबहरु पढ्ने क्रममा यो कथा पनि पढेको थिएँ। यो कथा, चिन्तनमा कहिल्यै आधुनिक हुन नसकेको कथित 'आधुनिक' नेपाली समाजको भयंकर शल्यकृया हो। छोरो जन्मेपछि छोरीलाई कसरी दुर्ब्यबहार गर्न थाल्छन् 'आधुनिक', 'शिक्षित' बाबु-आमाहरुले र आफूपनि एउटी नारीनै भएको बोधलाई गुमाएर, अबोध र निर्दोष छोरीलाई शारीरिक-मानसिक यातना दिन कसरी आमा स्वयं झन एक कदम अघि हुन्छिन् भन्ने कुराको सशक्त र यथार्थ चित्रण गर्नुभएको छ विकलज्यूले। कुनैपनि समस्याको 'दार्शनिक' समाधान दिनसक्ने तर ब्याबहारिक समाधानको दिशामा एउटा खुट्टो पनि उचाल्न नसक्ने/नचाहने हामीजस्ता 'नेपाली बुद्धिजीवी'हरुको प्रतिनिधिको रुपमा प्रतिमाको 'अंकल'को चित्रण पनि उत्तिकै सशक्त छ।

हाम्रो नेपाली समाजमा आजसम्म प्रतिमाका 'बाबु-आमा', 'भाइ' र 'अंकल'नै प्रचण्ड बहुमतमा छन् र अरु कुनै पात्रको सशक्त उदय हुनसकेकै छैन। त्यसैले अझैपनि 'बाबु-आमा'हरु 'भाइ'हरुलाई पुल्पुल्याईरहेका छन् र उद्दण्ड, घमण्डी र जिम्मेवारीवोधवीहिन 'पुरुष' मान्छेहरुको 'खेती' गरिरहेका छन्, दुई-चार 'दार्शनिक' 'महावाणी'हरुको वर्षा गराएर 'अंकल'हरु पलायन हुन्छन्, यो संसारका अन्यायका विरुद्ध लड्न 'प्रतिमा'हरुलाई एक्लै छाडेर, यो थाहा हुँदा-हुँदैपनि कि आफ्नो रक्षाको लागि निर्दोष-अबोध 'प्रतिमा'हरुसंग रुनुबाहेक अरु कुनै उपाय छैन। यो समस्याको अझ भयंकर पक्ष के हो भने ताडना पाऊँदा-पाऊँदै 'प्रतिमा'हरु यसैमा अभ्यस्त हुन्छन् र यसैलाई जिन्दगीको सत्यको रुपमा स्विकार गर्छन्। अनि भविष्यमा आफूले जन्माउने 'प्रतिमाहरु'माथि पनि त्यस्तै ब्यबहार गर्छन् र यो दुष्चक्रलाई निरन्तरता दिन्छन्।

यो मेरो मनगढन्ते मनोवाद होईन। छोरा र छोरीमा भेद र छोरीहरुमाथि माथि दुर्ब्यबहार गरिएका घटनाहरु मैले सैयौं देखेको छु, कति नजिकका नातेदारहरुमै। नेपाली समाजको सबै तहमा यो प्रवृत्ति कायमै छ अझै। मात्रामा घटबढ होला तर चूरो कत्ति फरक छैन। देशमा त देखियो-देखियो, विदेश आएपछि पनि वर्षौंदेखि यहीं बसिरहेका मान्छेहरुले पनि छोरा र छोरीलाई उस्तै भेदपूर्बक ब्यबहार गरेको देखेको छु। खैर, अहिलेलाई यी कुराहरु नकोट्याऊँ, यी सबैको बारेमा कुनै दिन एउटा छुट्टै लेख लेखौंला।

त्यसपछि मैले पढेको "नयाँ सडकको गीत" भन्ने कथा संग्रह हो। यो पनि एउटा सशक्त कृति हो। यसभित्रका केहि कथाहरु शहरको परिवेशमा पनि लेखिएका छन् तर समग्रमा यसलाई पहाडी ग्रामीण जीवनको एउटा जीवन्त चित्र भन्नुमा कुनै अत्युक्ति हुँदैन। त्यसपछि बिभिन्न तहका नेपाली पाठ्यक्रममा राखिएका र बिभिन्न साहित्यिक पत्रिकाहरुमा छापिएका उहाँका केहि कथाहरु पढियो। "अविरल बग्दछ ईन्द्रावती" नामक टेलि-सिरियलको केहि भागहरु हेरपनि कृतिनै भने पढेको छैन।

काठमाण्डौंको शहरी परिवेशमा लेखिएका उहाँका कथाहरुको अर्को संग्रह "शव, सालिक र सहस्र बुद्ध" (रचनाको हिसाबले "नयाँ सडकको गीत" कै समसामयिक हुनुपर्छ यो) पनि पढेको थिएँ केहि वर्ष पहिला। उहाँका विगत केहि वर्ष यताका कथा वा अरु कुनै पनि रचना भने पढ्न पाएको छैन।

रमेश विकलको नामसंग वामपन्थी राजनीति र यदाकदा एउटा निश्चित राजनीतिक दलको नामपनि जोडिएर आऊँछ। एउटा सचेत र संवेदनशील साहित्यकार/कलाकार समाजका अँध्यारा पक्षहरुलाई नदेखेको अभिनय गर्न सक्दैन, त्यसैले उसको रचना/कलामा समाजको सहि चित्रण र निमुखाहरुका पक्षमा आवाज हुनु अस्वाभाविक होईन। रमेश विकलज्यूले नेपाली समाजका निमुखाहरुका पक्षमा आफूलाई उभ्याउनुभएको छ, यसमा कुनै विवाद छैन। प्रगतिवादी साहित्यको नाममा साम्यवादी दलहरुका कोरा नाराहरुको विस्तारको 'खेती' गर्ने अरु धेरै 'प्रगतिवादी' साहित्यकारहरुभन्दा उहाँ धेरै फरक हुनुहुन्छ र उहाँका रचनाहरुले उच्च कलाचेत र सौन्दर्यबोधलाई कतै पनि मर्न दिएका छैनन्। तर उहाँले आफूलाई कुनै निश्चित राजनीतिक दर्शनसंग नजोडिदिएको भए अझ राम्रो हुन्थ्यो भन्नेचाहिँ लागिरहन्छ मलाई।

उहाँलाई एकपटक भेट्ने सौभाग्य मिलेको थियो। सन् १९९५ तिर होला, मदनमणि दिक्षितज्यूको नेतृत्वमा प्राज्ञहरुको एउटा टोली चीन भ्रमणमा गएको थियो, त्यतिखेर प्रज्ञा-प्रतिष्ठानको उप-कूलपति दिक्षितज्यूनै हुनुहुन्थ्यो शायद। उहाँहरु हामी बसिरहेको शहरमा पनि आउनुभएको थियो। त्यो शहरको स्थानीय संचार-माध्यमले उहाँहरुको भ्रमणलाई निकै महत्व दिएका थिए। हामी एकदिन साँझ उहाँहरुलाई भेट्न उहाँहरु बसिरहनुभएको होटेलमा पुगेका थियौं। दिक्षितज्यू, विकलज्यू, धुस्वाँ सायमीज्यू र ज्ञानमणि नेपालज्यूसंग तीन घण्टाजति कुरा गरेर बसेका थियौं हामी। उहाँहरुबाट नेपाली साहित्यका थुप्रै नवप्रकाशित किताबहरु पनि मिलेको थियो। भ्रमणदलमा कथाकार पद्मावती सिंह पनि हुनुहुन्थ्यो, तर चाँडै सुतिसक्नुभएकोले उहाँसंग भने भेट हुन पाएन।

हाम्रो नेपाली साहित्यमा कविता लेख्नेहरुको भिड छ, साहित्यका अरु विधाहरुमा बाँझो जमीन अझै धेरै बाँकी छ। कथाको एउटा पाटोलाई खनजोत गरेर नेपाली साहित्यको लागि धेरै बाली भित्र्याईदिएर रमेश विकलज्यू बिदा हुनुभएको छ। हामीले त्यो पाटोलाई जोगाऊँदै अरु पाटाहरु थप्दै जानसक्नुनै उहाँप्रति सच्चा श्रद्धाञ्जली हुनेछ।

July 12, 2008

आदिकवि भानुभक्तमा श्रद्धाञ्जली

भानु-जयन्ती विशेष। तल 'स्पीकर'मा क्लिक गरेर सुन्न सक्नुहुन्छ।



(I started this with imeem.com. But I couldn't solve this '30second preview only' in imeem.com, so using box.net now. If you are an experienced imeem.com user, please share your ideas in this regard. I am using the free account.)

November 06, 2007

वीरेन्द्र साहप्रति हार्दिक श्रद्धाञ्जली!

पत्रकात वीरेन्द्र साहको आत्माले चीरशान्ति पाओस्, उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु।
साथै शोकसंतप्त परिवारप्रति हार्दिक समवेदना व्यक्त गर्न चाहन्छु।

आततायी माओवादी आतंकवादीहरुद्वारा कायरतापूर्वक हत्या गरिएका होनहार पत्रकार वीरेन्द्र साहको हत्याको बदला नेपाली जनताले एकदिन अवश्य लिनेछन्। माओवादीहरुको अन्त्य नजिकै आईसकेको छ। उनीहरुको अन्त्य उनीहरुप्रति लागि अत्यन्त निर्मम हुनुपर्छ र हुनेछ!

अति भयो अब, माओवादी आतंकवादीहरुको अत्याचारले पराकाष्ठा नाघेको छ!