December 27, 2014

हार-जीतका कुरा

हेरेरै जितिदिन्छ्यौ तिमी, छोएरै जितिदिन्छ्यौ
कहिले नजरले समेत नछोएरै जितिदिन्छ्यौ
हारमा अभ्यस्त म, जितमा अभ्यस्त तिमी
हाँसेरै जितिदिन्छ्यौ तिमी र रोएरै जितिदिन्छ्यौ ।

October 11, 2014

ब्यापार घाटा

तन्नेरी छोराछोरीहरु सस्तोमा निर्यात गरेर-
खाई-नखाई आयात गरिएका
महंगा खसीबोका रेटेर
रित्तिएको छ दशैं,
साला यो दशैं पनि
एउटा ब्यापार घाटा रहेछ।

May 09, 2014

सजाय


सरकारले बिजुली, स्कूल, लीक बनाएन
जनतालाई यो देशको मालिक बनाएन

हार्नु र झर्नुको पनि सीमा हुन्छ नि यार!
नियतिले जीतलाई हाम्रो नजिक बनाएन

जुन अनुहार देखेपनि वाक्क-दिक्क लाग्छ
यार! भगवानले यौटै नेता ठिक बनाएन

यै तमाशा देखाएर सजाय दिनुथियो शायद
कुनै हुरीले पनि मलाई शालिक बनाएन

February 11, 2014

अराजक मुक्तक


हदैको सोझो र बाठो असाध्यै - दुबै भईदिन सक्छु
तिम्रा रहरमा म राजी र बाध्य - दुबै भईदिन सक्छु
साह्रै मन पर्छन् मलाई तिम्रा यी अराजक योजनाहरु
तिम्रो अराजकताको साधन र साध्य - दुबै भईदिन सक्छु।