Showing posts with label नेपाली ब्लगर. Show all posts
Showing posts with label नेपाली ब्लगर. Show all posts

December 24, 2009

नेपाली ब्लगरहरु:'सन्तान थरि-थरिका'!

चरो पनि उड्न नपाउने बन्दको दिन, तर केयू नफर्की नहुने! हिजो बेलुका काठमाण्डु पस्दासम्म बन्द हुने सूईँको सम्म थिएन। आकार भाइ असीनपसीन हुँदै हिँडिरहेका थिए। भोक र थकाईले लखतरान भएकोले कतिखेर होष्टेल पुगौंला भन्ने मात्रै ध्याउन्न थियो।

केयू पुग्ने-पुग्ने बेलामा तालुमा चिसो-चिसो केहि खस्यो र अलिकति बग्दै निधारसम्मै पुग्यो। यस्सो छोएर हेरेको, भर्खर भुर्र उडेको परेवाले 'घात' गरेर गएको रहेछ:) आकार भाइलाई साफ रिस् उठ्यो, तर अब रिस कसलाई पोख्ने????

परेवाको बिष्टा पुछ्दै आकार ब्रो सम्हालिएछन् र आफैसंग बोल्दै बाटो लागेछन्, "धन्न भगवान! गाई-भैंसी भने उड्दैनन्!"।
************************************************

"मलाई फेरि पियानो सिक्न मन लाग्यो यार।" राजेश भाइले आफ्नो साथीलाई गफ दिएछन्।
"गफ दिन्छ मुला! तैंले पहिला कहिले पियानो सिक्या' थिस् र?" साथीले समायो।
"होईन, दुई वर्ष पहिला पनि मन लाग्या' थ्यो। अहिले फेरि मन लाग्यो।"
************************************************

सोमबारे औंशीको बिहान थियो। सोमबारे औंशीको दिन एक पटक पनि नबोल्दै नुहाउनु भन्छन्।
अञ्जली, श्वेताअर्चना पनि नबोल्दै नुहाउन भनेर पँधेरातिर जाँदै थिए।
बाँसघारीतिर केहि छ्यास्स ग-यो।
अञ्जली: ऊ--- स्याल---!
श्वेता: लौ, यो त बोली!
अर्चना (एकछिनपछि): तँ पनि बोलिस् नि!
************************************************

सिकारु ब्रो, टाउकोमा पट्टी बाँधेर आईरहेका थिए।
"के भयो ओ सिकारु ब्रो? साथीले सोध्यो।
"के हुनु यार! सधैं बाटोको घरको कौसीमा एउटी च्वाँक देखिन्थी। हिजो मैले आँखा सन्काएँ---।"
"अनि के भो त?"
"मैले आँखा सन्काएँ, उसले पनि आँखा तन्काई।"
"अनि--?"
"त्यसपछि मैले 'आइ लप यू!' भन्दिएँ।"
"अनि, अनि---?" साथीको चासो बढ्दै थियो।
"त्यसपछि उसले फूलले हानी मलाई।"
"अनि---?"
"अनि टाउकोमा घाऊ भयो यी, पट्टी बाँध्नु प-यो---"
"धत्! फूलले लागेर पनि काहीँ घाऊ हुन्छ?" साथी जंगियो।
"पहिला पूरा कुरा त सुन् न यार!" सिकारु ब्रो बोले, "गमलैसहितको फूल भएपछि घाऊ हुन्न त?"
*****************************************************

"ब्लग गर्नु र हावा गफ दिनु बाहेक अरु के के रुचि छन् तपाईँका?" एउटा अलपत्रकारले हावा ब्रोलाई सोधेछ।
"धेरै छन् नि! जस्तो म्युजिकमा पनि विशेष रुचि छ मेरो।" हावा ब्रोले छाती तन्काएर जवाफ दिएछन्।
"ए हो र? अनि बाजागाजा पनि बजाउनुहुन्छ होला है। के के बजाउनुहुन्छ?"
"बजाउँछु नि तीन-चारवटा।" हावा ब्रोले जवाफ दिए, "रेडियो, क्यासेट, आइपोड---।"
हावा ब्रोको जवाफ सुनेर अलपत्रकार अलप भएछ:)
*******************************************************

नविनजी, दीपेन्द्रजी  र दूर्जेयजी पहाड घुम्दै रहेछन्। तल नजिकै एउटा खोला देखिएछ।

"म यो खोलाको गहिराई नापेर आउँछु।" नविनजीले खोलातिर एक 'डाइभ' दिएछन् र कता हराएछन्।

"म यो खोलाको Hydro-power potential चेक गरेर आऊँछु।" दीपेन्द्रजीले पनि खोलातिर एक 'डाइभ' दिएछन्।

धेरै बेर कुर्दा पनि दुईजना नफर्किएपछि दूर्जेयजी आफ्नो Conclusion भट्भट्याऊँदै बाटो लागेछन्; "I think both of them are soluble in water."

(Physicist, Engineer, Chemist)
*******************************************************

एकदिन साँझ सुजनजी र दिलिपजीको ठाक-ठुक परेछ र बोलचालै बन्द भएछ। हुनत बूढा-बूढीको झगडा परालको आगो भन्छन् तर कहिलेकाहीँ यहि परालको आगो निभ्न पनि एक-दुई दिन लागिहाल्छ।

अब दिलिप बूढालाई फसाद परेछ। भोलिपल्ट छ बजे नै अफिस बोला'को रहेछ बोसले, छ बजे अफिस पुग्न पाँच बजे नउठी भएन। बूढा परे भुस् भएर आठ बजेसम्म सुत्ने मान्छे। अलार्म पनि छोरीले कता फाल्दिछे।

केहि उपाय नदेखेर बूढाले यामानको सूचना लेखेर टाँसेछन् सिरानीमाथि; "मलाई भोलि बिहान पाँच बजे उठाईदिनु।"

बिहान उठ्दा झलमल्ल घाम लागिसकेको, पौने आठ भईसकेको रहेछ। रिसले भुन्भुनिँदै गर्दा बूढाका आँखा सिरानीमाथि परेछन्। हिजो बेलुका उनले टाँसेको सूचनासंगै अर्को सूचना पनि रहेछ; "पाँच बज्यो, उठे हुन्छ!"
*******************************************
भूलचूक लिनेदिने!
जय होस् नेपाली ब्लगरहरु र तिनका पाठकहरुको!
सबैलाई क्रिसमसको मंगलमय शुभकामना!

November 07, 2009

संभावित ब्लगरहरुसंग


केहि दिन पहिला झापाका ओजोन सन्दीप भाइको मेल पाएँ। भाइ ब्लग-जगतमा प्रवेश गर्न उत्सुक र आतुर रहेछन् र सल्लाह/सुझावको लागि मलाई मेल गरेका रहेछन्। यसरी उत्सुक मान्छेहरुको मेल पाउनुले मलाई एकदमै खुशी बनाऊँछ। आफूसंगको जानकारी र अनुभव बाँड्न पाऊँदाको आनन्द र आत्मसन्तुष्टि बेग्लै हुन्छ। ब्लग-जगतमा पनि एकापसमा सिक्ने-सिकाउने कृया निरन्तर चलिरहेको हुन्छ, यथार्थमा ब्लग-जगतलाई जीवन्त बनाउने एउटा प्रमुख पक्ष हो यो।

सन्दीप भाइसंगको सम्पर्कले अर्को खुशीपनि थप्यो मेरो मनमा। आफूभन्दा २० वर्ष कान्छो नेपाली पुस्ताको सोचाई र आकांक्षाका बारेमा अलि-अलि जान्ने मौका मिल्यो। हुनत एउटा ब्यक्तिलाई हेरेर समग्र समूहको समग्र मूल्यांकन गर्न सकिँदैन तर सीमितनै भएपनि जान्न पाउनु राम्रै अवसर हो।

हामी बीच सात-आठ ईमेलहरु आदानप्रदान भए। सन्दीप भाइको जिज्ञासामा ब्लगमा के विषयमा कसरी लेख्दा राम्रो हुन्छ, डोमेन नेम किन लिने, कसरी लिने देखि 'ब्लग लेखेर कत्तिको शत्रु कमाउनुभएको छ?' भन्नेसम्मका जिज्ञासा थिए। 'शत्रु' वाला प्रसंग बाहेक अरु विषयमा सन्दीप भाइसंग भएका कुराकानीलाई संक्षेपमा लेख्न चाहन्छु आज। यो टाँसो मूलत: सन्दीप भाइजस्तै उत्साही संभावित ब्लगरहरुलाई लक्षित गरेर लेखिएको हो। नियमित ब्लग गरिरहेका साथीहरुलाई निरस लाग्न सक्छ, फेरि अरु ब्लगर साथीहरुले पनि यहि विषयमा लेखिसक्नुभएको छ। त्यसका लागि क्षमा चाहन्छु। नेपाली ब्लग-जगतमा सदस्यहरु बढाउनका लागि बेला-बखत यस्ता टाँसोहरु लेखिनु जरुरी छ भन्ने मेरो मान्यता हो।

सन्दीप भाइजस्तै उत्साही संभावित ब्लगरलाई मेरो सल्लाह हो यो।

१)ब्लग किन गर्ने? ब्लगमा के पस्किने?
ब्लग शुरु गर्नुभन्दा पहिले आफू किन ब्लग गर्न लाग्दैछु भन्ने कुरामा यथेष्ट चिन्तन हुनु जरुरी छ। लहडमा वा अरुले ब्लग गरेको देखेर शुरु भएका ब्लगहरु त्यति लामो समय टिक्दैनन्। यात्रा कि थाल्दै-नथाल्नु, थालिसकेपछि निरन्तरता दिनुनै राम्रो हो। त्यसकारण ब्लगको एउटा उद्देश्य, एउटा मिसन हुनैपर्छ। आफ्नैलागि मात्र लेख्ने हो भने बेग्लै कुरो।

ब्लग शुरु गरिसकेपछि निरन्तरता दिन गाह्रो छ। केहि टाँसोसम्म बास्तवमा त्यति आत्मविश्वाश पनि आऊँदैन। त्यसैले आफूले कुन विषयलाई ब्लगको प्रमुख स्रोत बनाउने हो भन्ने कुरामा स्पष्ट हुनु जरुरी छ। ब्लग धेरै विषयमा लेखिने संकलनजस्तो पनि हुनसक्छ अथवा कुनै एउटा निश्चित विषयवस्तुमा मात्रै केन्द्रित पनि हुनसक्छ। जसरी जाँदा निरन्तर हुन सकिन्छ, त्यहि बाटो रोज्नुपर्छ। आफूले लक्ष गर्न चाहेका पाठकहरुको रुचि कस्तो हुनसक्छ भन्ने विषयमा पनि चिन्तन आवश्यक छ।

समसामयिक घटनामाथिको टिप्पणी, आफ्नो रुचिका कुरा-साहित्य, संगीत, यात्रा आदिको चर्चा, प्राविधिक विषय, साहित्य, बालसाहित्य, फोटोग्राफी, अडियो ब्लग, भिडियो ब्लग, पारिवारिक अनुभव, पाक-कला, ---विषय अनगिन्ती छन्। नेपाली ब्लग जगत एक हिसाबले 'साहित्य रोग'ले ग्रसित छ र यसमा अझै चाहिँदो विवधता आउन सकेको छैन।

२) ब्लगको भाषा
नेपाली, अंग्रेजी वा जुन भाषामा लेखेपनि पाठक सजिलै भेटिन्छन, मुख्य कुरा ब्लगको विषयवस्तुको स्तरीयताको हो। एउटै ब्लगमा कहिले नेपाली, कहिले अंग्रेजी नगर्ने सल्लाह दिन्छु म। यसले पाठकहरुलाई झिँजो लगाएको अनुभव छ मेरो (मेरो नितान्त ब्यक्तिगत अनुभव हो यो, अरु ब्लगर साथीहरुको अनुभव फरक हुनसक्छ)। दुबैमा लेख्ने मन छ भने बरु दुईटा ब्लग बनाए हुन्छ।

३) ब्लगर, वर्डप्रेस वा अरु
सबैमा आ-आफ्ना सबल र निर्बल पक्ष छन्। जुनबाट शुरु गरेपनि हुन्छ।

४)निरन्तरता
ब्लगको नाममा समाचार पस्किने ब्लगहरु बाहेक अरु ब्लगहरु, त्यसमा पनि ब्यक्तिगत रुपले चलाईएका ब्लगहरु, दैनिक अपडेट गर्न गाह्रो हुन्छ। दिनदिनै पस्किन सक्नेगरी खुराक जम्मा पार्न सकिन्छ भने धेरै राम्रो। ब्लगका दुई टाँसोहरुको बीचको अन्तराल सकेसम्म सधैं उत्तिकै राख्नु राम्रो हुन्छ। कहिले दिनदिनै नयाँ टाँसो राख्ने, कहिले भने १५-२० दिन हराउने गर्नुभन्दा हप्ताको एउटा टाँसो राख्ने तर नियमित रुपमा राख्ने गर्नु आवश्यक छ। त्यतिले पनि भ्याईन्न भने दुई हप्ता वा तीन हप्ताको अन्तराल पनि बनाउन सकिन्छ।

आफूसंग उपलब्ध समय र ब्लगको विषय हेरेर अन्तराल तय गरेपछि ब्लगको मूलमन्त्र "निरन्तरता, निरन्तरता र निरन्तरता"नै हो। ब्लगको स्तरीयताका लागि धेरै काम गर्नुपर्छ तर निरन्तरतामात्रैले पनि धेरै सपार्छ ब्लगलाई।

५)ब्लगको प्रचार-प्रसार
- 'प्रचार-प्रसार' ले राजनीतिक गन्ध दिनसक्छ तर मेरो ध्येय त्यो होईन। एउटा नियमित ब्लगरले आफ्नो ब्लगको सकेसम्म धेरै प्रचार गरेको राम्रो। पूराना पाठकलाई अड्याईराख्न पस्किने सामग्री स्तरीय हुनु त अनिवार्य छँदैछ, नयाँ पाठकहरु थप्न प्रचार-प्रसार जरुरी छ। झन् नयाँ ब्लगरले त युद्ध स्तरमा प्रचार-प्रसार गरेको राम्रो। आफ्नो मेलिङ्ग लिष्टमा भएका सबैलाई कम्तिमा एकचोटि "मैले ब्लग शुरु गरेको छु, फुर्सद हुँदा पढेर प्रतिकृया दिनुहोला" भनेर ब्लगको ठेगाना सहित मेल गर्ने, फेसबुक वा आफू संलग्न कुनैपनि  सामजिक संजालमा उपलब्ध सबै तरिका प्रयोग गर्ने, चिनजानका मान्छेसंग टेलिफोनमा कुराकानी हुँदा वा भेटमै पनि आफ्नो ब्लगको कुरा गर्ने-----कुनैपनि तरिका अपनाए हुन्छ। नितान्त नीजि मनोवाद बाहेक कुनै पनि विषयमा लेख्नु भनेको आफूबाहेक अरुले पनि पढुन् भनेरनै हो। हो, मान्छेलाई झर्को लाग्ने सीमासम्म  भने पुग्नु हुँदैन, त्यसमा सचेत हुनै पर्छ। 

- ब्लग लिष्टहरु ब्लगको प्रचार-प्रसारको अर्का महत्वपूर्ण माध्यम हुन्। Nepali Bloggers लगायत अरु केहि साइटहरुले नेपाली ब्लग र ब्लगरहरुलाई सूचिकृत गरिरहेका छन्। नियमति रुपमा अपडेट हुने नेपाली ब्लगहरु HAMRO CIRCLEनेपाली भाषाका ब्लगहरुमा पनि सूचिकृत छन्। नविनजीले Nepali Blog Updates भन्ने Google Widget विकास गर्नुभएको छ। ईण्टरनेटमा अरु सैयौं ब्लग लिष्टहरु, डाईरेक्ट्रीहरु छन् जहाँ आफ्नो ब्लग सूचिकृत गर्न सकिन्छ।

नेपाली ब्लगरहरुको एकापसी सम्पर्कलाई संगठित रुप दिनका लागि Nepali Bloggers भन्ने गुगल-ग्रुप पनि सकृय छ।

- ब्लगलाई परिचित र लोकप्रिय बनाउने अर्को महत्वपूर्ण माध्यम ब्लग आफैं हो, त्यसभित्रको अन्तर्कृया हो। अरुको ब्लग 'फलो' गर्ने, अरुको ब्लग पढेर प्रतिकृया दिने र लिंकहरु आदानप्रदान गर्ने काम साह्रै महत्वपूर्ण हुन्छ ब्लगलाई अगाडि बढाउन। अरुले आफ्नो ब्लग पढिदिउन् भन्ने चाहनेले आफूले पनि अरुको ब्लग पढ्नुपर्छ।

६)टेम्प्लेट
एउटा राम्रो टेम्प्लेटले निश्चयपनि ब्लगको सौन्दर्य बढाऊँछ तर टेम्प्लेटको झिलिमिलीका भरमै पाठकहरु बटुल्न र बाँधेर राख्न सकिन्न। ब्लगले पस्किने विषयवस्तुको स्तरीयतानै ब्लगको सबैभन्दा महत्वपूर्ण सम्पत्ति हो, टेम्प्लेटको साज-सज्जा त्यसपछिको कुरा हो।

बनिबनाऊ टेम्पलेटहरु पनि जतिपनि भेटिन्छन्, रुचि छ भने कुनै आधारभूत टेम्प्लेटबाट शुरु गरेर आफैं सिक्दै-त्यसलाई परिमार्जन गर्दै गएपनि हुन्छ।

७) डोमेन नेम
आफ्नै डोमेन नेममा ब्लग चलाऊँदा निश्चय पनि आनन्द आऊँछ। सबैभन्दा सजिलो बाटो भनेको Yahoo! Small Business वा Google बाट डोमेन नेम किनेर Blogger को Custom Domain Publishing सुविधा प्रयोग  गर्नु हो (Wordpress मा पनि यस्तै सुविधा छ होला पक्का पनि।)
-------------------------------------------------------

"हजारौं माईलको यात्रा एक पाईलोबाट शुरु हुन्छ।" भनेजस्तै शुरुवात आफैं महत्वपूर्ण कुरा हो, र निरन्तरता दिएका खण्डमा सिक्दै र सप्रिईँदै जानेमा कुनै शंका छैन।

आफ्नो ब्लग अनुभवका बारेमा अरु टाँसोहरुमा पनि केहि कुरा गरेको छु;
संगठन कि ई-मेल समूह
'कतै नजाने बाटो'को मेरो यात्रा
नेपाली ब्लगको वर्तमान र भविष्य
दोश्रो खोला तरेपछि
केहि कुरा, ब्लगकै
Some points from my-----
जन्मदिन

यस विषयमा दिलिपजीले "के तपाईँ पनि ब्लग चलाउन चाहनुहुन्छ?" भन्ने शिर्षकमा एउटा बिस्तृत टाँसो लेख्नुभएको छ र अरु सहयात्री ब्लगर साथीहरुले पनि धेरै कुरा लेख्नुभएको छ बेला-बेलामा। यहाँ प्राप्त हुने प्रतिकृयाहरुमा पनि अरु नयाँ जानकारी आउनेनै छ।
----------------------------------------------
सन्दीप भाइको ब्लग वर्षात बीचको सूर्योदय को सफलताको शुभकामना!

र अन्त्यमा, नेपाली ब्लग जगतमा नयाँ पुस्ताको उपस्थिति अझ सशक्त हुँदै जानेछ भन्ने आशा र शुभकामनाका साथ यो टाँसोको बिट मार्न चाहन्छु

तपाईँको सप्ताहान्त सुखद् रहोस्।

August 17, 2009

'संगठन' कि 'ई-मेल समूह'?

(यो टाँसोमा 'नेपाली ब्लगरहरु' भनेर नेपाल अथवा विदेशमा रहेर नेपाली वा अरु कुनै पनि भाषामा ब्लग चलाऊँदै आएका नेपालीहरुलाई जनाउन खोजिएको हो।)

नेपाली ब्लगरहरुको कुनै प्रतिनिधि समूह/संगठन बनाउने अथवा अरु कुनै हिसाबले संगठित हुने भन्ने बारेमा विगत केहि समयबाट हामीबीच छलफल चल्दै आएको छ। यस प्रसंगमा, केहि वर्ष पहिलानै एउटा Bloggers Association of Nepal (BLOGAN) नाम गरेको समूह बनिसकेको पनि देखिन्छ। तर BLOGAN यसको निर्माणको केहि समय पछिबाट हालसम्म पूर्ण रुपमा निष्कृय देखिन्छ। ब्लग शुरु गरिसकेपछि सम्पर्क गर्न खोज्दा BLOGAN बाट कुनै उत्तर/प्रतिकृया नआएको कुरा हामी सबैको अनुभव हो। यो अवश्थामा, देश-विदेश सबैतिर बढिरहेका नेपाली ब्लगरहरुको एकापसी सम्पर्क र ब्लगिङ्ग सम्बन्धी ज्ञान आदानप्रदानका लागि एउटा साझा सम्पर्क सूत्रको आवश्यकता निश्चय पनि छ। त्यो सम्पर्क सूत्रको संरचना कुन रुपको हुने भन्ने बारेमा भने सबैको एउटै विचार नहुन सक्छ।

Nepali Bloggers लगायत अरु केहि साइटहरुले नेपाली ब्लग र ब्लगरहरुलाई सूचिकृत गरिरहेका छन्। नियमति रुपमा अपडेट हुने नेपाली ब्लगहरु HAMRO CIRCLEनेपाली भाषाका ब्लगहरुमा पनि सूचिकृत छन्। नविनजीले Nepali Blog Updates भन्ने Google Widget विकास गर्नुभएको छ। नेपाली ब्लग जगतका लागि गर्नुभएको योगदानका लागि उहाँहरु सबैलाई हार्दिक धन्यबाद!

नेपाली ब्लगरहरुको एउटा अन्तर्कृयात्मक मञ्च बन्न भने बाँकी थियो। हुनत, फेसबुकमा Nepali Bloggers नामको एउटा समूह पनि छ तर त्यो त्यति अन्तर्कृयात्मक हुन सकेको छैन। फेरि धेरै ब्लगर साथीहरुमा फेसबुकप्रति त्यति लगाव नहुन पनि सक्छ।

केहि समय पहिला 'दौंतरी'को पहलमा भएको नेपाली ब्लगरहरुको प्रथम अन्तर्राष्ट्रिय (अनलाईन) नेपाली ब्लगर भेलामा पनि यस विषयमा धेरै छलफल भयो। त्यतिखेर ब्यक्त विचारहरुलाई मूलत: तीन समूहमा राखेर हेर्न सकिन्छ;

१) नेपाली ब्लगरहरुको ई-मेल समूहलाई सम्पर्क सूत्रको रुपमा विकास गर्ने।
२) कुनै औपचारिक सांगठनिक संरचनाको शुरुवात गर्ने।
३) BLOGAN लाई नै पुन: सकृय गराउने।

दोश्रो र तेश्रो विचार सारमा उस्तै हुन्, सबै नेपाली ब्लगरहरुको एउटा प्रतिनिधि संगठन बनाउने। यस बारेमा केहि कुरा गरौं पहिला।

सामान्यतया प्रतिनिधि संगठन दुई अवश्थामा खडा हुन सक्छन्; पहिलो, उहि वा उस्तै पेशा हुनेहरु पेशागत हकहितको सुरक्षा आदिका लागि प्रतिनिधि संगठनमा आबद्ध हुन चाहन्छन्। दोश्रो, समान विचार र उद्देश्य हुनेहरु कुनै प्रतिनिधि संगठनका माध्यमले संगठित हुन्छन्। ब्लगरहरु यी दुबै स्थितिभन्दा बाहिर छन्। विकसित समाजमा ब्लग गरेकै भरमा बाँच्न सक्नेहरु होलान् केहि, तर अझै पनि ब्लगिङ्ग पेशा बनिसकेको छैन। ब्लगलाई नै पेशा बनाएका नेपाली ब्लगरहरु, जहाँसम्म लाग्छ, छैनन्। ब्लगिङ्गको चरित्रनै यस्तो छ कि भविष्यसम्म पनि यो एउटा औपचारिक पेशा बन्ने सम्भावना अत्यन्त न्यून छ। अर्कोतिर ब्लगरहरु, नेपाली ब्लगरहरु, न एउटै विचारका हुन्छन् न त एउटै साझा उद्देश्य बोकेका हुन्छन्। आफ्नो नीजि जिन्दगीका घटनाहरुका बारेमा लेख्नेहरु, राजनीतिको बारेमा लेख्नेहरु, साहित्य लेख्नेहरु, प्राविधिक विषयमा लेख्नेहरु, तस्बीर ब्लग संचालन गरिरहेकाहरु,स्वास्थ्य सम्बन्धी लेख्नेहरु, अर्थतन्त्र बारे लेख्नेहरु, नेपालीमा लेख्नेहरु, अंग्रेजी र अरु भाषामा लेख्नेहरु---------- ब्लगिङ्गको विविधताको कुनै सीमा छैन र सबै ब्लगरहरुका आ-आफ्नै उद्देश्य छन्। यो अवश्थामा एउटा संगठनले कसरी सबैलाई समेट्न सक्छ? र त्यो कसरी प्रतिनिधि हुनसक्छ? नेपाली ब्लगरहरुको कति संख्यासम्मलाई समेटे 'सबै'लाई समेटेको मान्ने? अझ, नेपाली ब्लगरहरुको यकीन संख्या कति छ भन्ने कसलाई थाहा छ?

यदि त्यस्तो संगठन खडानै भयो भनेपनि संरचनाको कुरा गर्दा-गर्दै त्यसै अल्मलिनेछ र कुनै सानो भूगोलमा सीमित हुनेछ। संसारभरि छरिएर रहेका नेपाली ब्लगरहरुको एउटा सानो अंशलाई पनि समेट्न सक्ने छैन त्यसले। देखाउनका लागि फलानो ठाऊँको प्रतिनिधि फलानो भनेर राख्न सकिन्छ, तर उसलाई सम्बन्धित ठाऊँका अरु नेपाली ब्लगरहरुले प्रतिनिधि मान्नैपर्छ भन्ने के कर छ?

केहि मित्रहरु त्यस्तो संगठन बनाएपछि त्यसले नीति-नियम बनाउने र नेपाली ब्लग जगतलाई अनुशाशित बनाउने खुस्केट कुरा समेत गर्छन्। त्यस्तो संगठनले बनाएको नीति-नियम सबैले मान्नुपर्छ भन्ने के छ? संगठनमा बसेकाहरुले त मान्लान् रे लौ (त्यो पनि के भर छ र!), नबस्नेले किन मान्ने?

हाम्रो नेपाली चरित्रको खोईरो खन्न पनि मन लाग्यो यहि प्रसंगमा। हामी नेपालीहरु जुट्न जति छिटो छौं, जुटेपछि फुट्न त्यसको तीन गुना छिटो छौं। यो कथित प्रतिनिधि संगठनको शुरुवात फुटको शुरुवात पनि हुनेछ। नेपालको काईते दलीय राजनिति यसमा पसेर यसलाई टुक्रा-टुक्रा बनाईदिनेछ।

तर ब्लगिङ्गसम्बन्धी अनुभव र ज्ञान एकापसमा बाँड्न र प्राविधिक कुराहरुका बारेमा छलफल गर्न एउटा अन्तर्कृयात्मक मञ्च भने अत्यन्त जरुरी छ भनेर माथि पनि लेखिसकेको छु मैले।

यिनै कुराहरुको पृष्ठभूमिमानै कथित प्रतिनिधि संगठनको सट्टा एउटा खुकुलो सामूहिक संरचनाको पक्षमा धेरै साथीहरु पुगेका हुन्। ई-मेल समूह (e-mail group) त्यस्तै एउटा संरचना हो र अहिलेका लागि सबैभन्दा भरपर्दो पनि। यो अन्तर्कृयात्मक छ, अन्तर्कृयामा कतिसम्म भाग लिने भन्ने कुराको निर्णय गर्न सदस्यहरु स्वतन्त्र छन् र यसमा कुनै सांगठनिक झमेला र दाउपेच पनि छैन।

Nepali Bloggers नामको त्यो गुगल ग्रुप सकृय गराईसकिएको छ र ब्लगर साथीहरु यसमा सम्मिलित हुने क्रम जारी छ।

अनलाईन भेलामा नेपाली ब्लगरका नामबाट नेपाल भित्र कुनै सामाजिक काम आदि गर्न संगठनको आवश्यकता छ भन्ने आवाज पनि उठेको थियो। त्यस्तो कामको लागि छुट्टै संगठननै चाहिन्छ भन्ने छैन। समाजसेवाको पसल खोलेर बसेका अनगिन्ती संस्थाहरु छन् जसमध्ये केहिले अलि-अलि समाजसेवा पनि गर्छन् (र थोरैले साँच्चै समाजसेवा र समाजसेवामात्रै गर्छन्)। तिनै असल संस्थाहरुमध्ये कुनै एकलाई माध्यम बनाउन सकिन्छ। यथेष्ट आर्थिक क्षमता छ भने ब्यक्तिगत हिसाबबाटै पनि गर्न सकिन्छ। 'नेपाली ब्लगर'कै रुपमा गर्ने मन छ भने भौगोलिक रुपमा नजिक नेपाली ब्लगरहरुको एउटा अस्थायी संरचना बनाउन सकिन्छ। नेपालभित्र भरपर्दो र ईमान्दार सम्पर्क सूत्र भएको खण्डमा भविष्यमा यहि ई-मेल ग्रुपको माध्यमबाट अर्थ संकलन गर्न र पठाउन पनि सकिन्छ।

माथि ब्यक्त गरिएका कुराहरुलाई गलत अर्थमा नलिईयोस् भन्ने आशयले केहि कुरा अब। नेपाली ब्लगरहरुको संगठन हुनु निरपेक्ष रुपले गलत हो भन्ने मेरो विचार होईन। भौगोलिक रुपमा नजिक हुनेहरु अथवा समान विचार हुनेहरुले संगठन बनाउन सक्छन्, त्यो सबैको अधिकारको कुरा हो। मेरो भनाई कुनै पनि यस्तो संगठन सबै नेपाली ब्लगरहरुको प्रतिनिधि संगठन भने हुन सक्दैन भन्ने हो।

छलफलको निरन्तरताको लागि यो टाँसोले केहि योगदान दिनेछ भन्ने मेरो आशा छ। सबै साथीहरुबाट प्रतिकृया र नयाँ विचारहरुको आशा गरेको छु।

June 21, 2008

"BORDER NEPAL"- A blog for Nepal

[विक्षिप्त मन्त्रीको जंगली शैली, माओवादी सरकारबाट बाहिरिएपछि बढेको राजनीतिक अन्यौल, नरोकिएको अराजकता--------! कति धेरै काला बादलहरु! सधैं काला बादलहरुको बारेमा मात्रै कति लेख्ने? कहिलेकाहीं त ती काला बादलहरुमा यदाकदा देखिने चाँदीका घेराहरुका बारेमा पनि त लेख्नुप-यो। आजको 'टाँसो' यस्तै एउटा चाँदीका घेराको बारेमा समर्पित छ।]

नेपाल सानो छ र भूपरिवेष्ठित छ र नेपाल गरीब पनि छ, त्यसैले कमजोर पनि छ। यद्यपि सानो र भूपरिवेष्ठित हुँदैमा यो गरीब भएको भने हैन। देशभित्रैका अथाह सम्पदालाई सदुपयोग गर्न सक्ने राज्यसत्ता अहिलेसम्म नपाउनुनै नेपालको गरीबीको प्रमुख कारण हो।

गरीब र कमजोर भएका कारण अरु कुनै पनि देशसंगको सम्बन्धमा हाम्रो हात जहिले पनि तल परेको छ। एक हिसाबले हामी भारतपरिवेष्ठित छौं र भारतसंगको हाम्रो सम्बन्ध जहिले पनि असन्तुलित र हाम्रा लागि अपमानजनक छ। यसका लागि भारत र भारतीयहरुको उच्चताबोध (superiority complex) जति जिम्मेवार छ, त्यसको दश गुना बढी हाम्रो आफ्नै हीनताबोध(inferiority complex) जिम्मेवार छ। कुनै निर्णय गर्नु अगाडि दिल्लीको मुख नसुँघी नहुने नेताहरुमात्रै हैन, भारतीय विशेषज्ञलाई लाखौं तिर्न तयार हुने तर उत्तिकै अथवा अझ क्षमतायुक्त नेपालीलाई दास सरह ब्यबहार गर्ने नेपालका कथित औद्यौगिक घरानामात्रै हैन, भारतीय गायक-कलाकारलाई लाखौंको पारिश्रमिक पहिल्यै दिने तर नेपाली कलाकारलाई केहि हजार पारिश्रमिक पनि झुलाई-झुलाई खटाई-खटाई दिने र मौका परे पूरा पनि नदिने चलचित्र निर्माता देखि लिएर मौका पर्दा आफूलाई भारतीय भनेर चिनाउने विदेशवासी हामी नेपालीहरु सबै जिम्मेवार छौं। कुरा धेरै छन् गर्नुपर्ने तर आज नेपाल-भारत सीमाका विषयमै सीमित बन्दैछु।

बेईज्जतीपूर्ण सुगौली सन्धिपछि नेपाल खुम्चिएर झण्डै आजको आकारमा आईपुगेको त हामी सबैलाई थाहै होला। बेलायती साम्राज्यको 'चाकडी' गरेबापत बाँके, बर्दीया, कैलाली र कञ्चनपुर राणाकालमा फिर्ता आएपछि हाम्रो आजको सीमा निर्धारित भएको हो। नेपाल बलियो भए अंग्रेजहरुले भारत छोड्दा सुगौली सन्धिमा गुमेको आफ्नो भाग फिर्ता पाउन पनि सक्थ्यो होला किनभने सुगौली सन्धि ब्रटिश-इण्डियासंग भएको थियो। पाउने त परै जाओस्, यसको चर्चासम्म पनि गरेनन् तत्कालीन नेपाली शाशकहरुले। त्यसपछि चर्चा गर्नु र नगर्नुमा खासै फरक भएन।

तर मेची र महाकालीले बाँधिएको हाम्रो सीमानाले त्यसपछि पनि सुख पाएको छैन। हाम्रो सीमाना धेरै ठाउँमा लगातार भारतद्वारा अतिक्रमित छ। सन्धि-सम्झौताहरु पूर्णत: भारतीय स्वार्थले भरिएका छन् र हामी धेरै ठगिएका छौं। सीमाक्षेत्रका नेपालीहरु भारतीयहरु र भारतीय सीमासुरक्षा बलद्वारा निर्मम ढंगले सताइएका छन्। तर अहिलेसम्मका हाम्रा सबै राजनीतिक दल र नेताहरुले सीमा-समस्यालाई जूलूश उचाल्ने र भाषण गर्ने 'मसला'को रुपमा मात्रै प्रयोग गरिरहेका छन्। सत्ता प्राप्तिका लागि जनताको भन्दा दिल्लीको मुख ताक्ने नेताहरुबाट आशा गर्नु पनि बेकार लाग्छ अब त। अर्कोतिर माओवादी छ, जो एक जमानामा जनतालाई भारत विरुध्द सुरुङ युध्द गर्ने हावादारी गफ दिन्थ्यो। भारतीय चरित्र अझै उस्तै छ, तर माओवादी दिल्लीको शरणमा पूरै लम्पसार परिसकेको आभाष हुन्छ, सुरुङ युध्दको गफ दन्त्यकथा बनिसक्यो। हिजो १९५० को सन्धि 'खारेज' गर्नुपर्छ भन्नेहरु सत्ता पाउने बेलामा 'पुनरावलोकन' गर्नुपर्छ भन्न थालेका छन्। के थाहा, अब केहि दिनमै कांग्रेस-एमालेजस्तै बन्ने होलान् माओवादी पनि, १९५० भन्ने साललाईनै बिर्सिएर!

उग्र र दुस्साहसी कुरा गर्ने मन छैन मलाई। भारतसंग सामरिक रुपमा हाम्रो केहि जोर चल्दैन, त्यो मलाई राम्ररी थाहा छ। भविष्यको पुस्तालाई पनि सुगौली सन्धिको वास्तविकता बुझाउनु जरुरी छ तर अहिले सुगौलीमा गुमेको नेपाली भूभाग खोज्नु झन ठूलो मूर्खता हो भन्ने पनि थाहा छ। हाम्रो चुनौती अहिलेको सीमालाई जोगाउनु र १९५० पछि भारतले हडपेका-मिचेका-ओगटेका भूभागहरु फिर्ता पाउनु हो र त्यसका लागि हाम्रो हतियार भनेको 'विनम्र' तर 'चतुर' कूटनीतिमात्रै हो। यस्तो कूटनीति दलहरु र नेताहरुका 'हनुमान'हरुको वशको कुरो हैन। हामीलाई अध्ययनशील र पेशेवर कूटनीतिज्ञ र विशेषज्ञहरुको खाँचो छ ता कि वार्ताका टेबुलमा बस्दा भारतीयहरुसंग सहजै बौद्धिक, ब्यक्तित्वगत र तर्कयुक्त प्रतिस्पर्धा हुन सकोस्। मैले कतै पढेको थिएँ; नेपाल-भारत वार्ताहरुमा भारतीय पक्ष एकदम अध्ययन र गृहकार्य गरेर आएको हुन्छ, नेपाली पक्ष भने विना तयारी के को लागि वार्ता हुँदैछ भन्ने पनि राम्रोसंग नबुझी गएको हुन्छ। त्यो अवश्थामा भारतीयले जे भने त्यसमै सही थाप्नुको विकल्प हुन सक्दैन किनभने अध्ययन र तयारी गरे पो विकल्प दिन सकिन्छ। अनि हाम्रा पदाधिकारीहरु आफ्ना सन्तान अथवा आसेपासेलाई दुई-चार छात्रवृत्ति मागेर फर्कन्छन् रे! हाम्रो कूटनीतिको अहिलेसम्मको उपलब्धि यस्तै 'छात्रवृत्ति'मात्रै हुन्! राजदूत र अन्य पदहरुमा 'राजनीतिक' भागबण्डाको संस्कारको अन्त्य नहुञ्जेल हामीले अरु के नै आशा गर्न सक्छौं।



सीमा समस्यामा नेपाललाई बौद्धिक र कूटनीतिक नेतृत्व दिनसक्ने एक ब्यक्तित्व बुद्धिनारायण श्रेष्ठज्यू हुनहुन्छ।

बुद्धिनारायण श्रेष्ठज्यू नेपालका एक प्रतिष्ठित सीमा विशेषज्ञ हुनुहुन्छ। आफ्नो लामो सरकारी सेवा अवधिमा उहाँले नापी विभागको महानिर्देशकको रुपमा पनि नेपालको सेवा गर्नुभएको छ। सरकारी सेवाबाट अवकाश प्राप्त गरेपछि पनि उहाँ अझ जोश र सकृयताका साथ नेपालको सीमा समस्याको सार्वजनिकरण र समाधानका लागि तल्लीन हुनुहुन्छ। उहाँसंग मेरो ब्यक्तिगत परिचय छैन। मैले उहाँको बारेमा पहिलोपल्ट सुनेको-पढेको 'नेपालको सीमाना' भन्ने उहाँको पुस्तकले मदन पुरस्कार प्राप्त गर्दा हो। त्यसपछि नेपालका बिभिन्न पत्र-‍पत्रिकाहरुमा उहाँका लेख-रचनाहरु पढ्दै आएको छु। गत साल आफुले ब्लग शुरु गरेपछि अरु नेपाली ब्लगरहरुका ब्लगहरु पढ्ने सिलसिलामा उहाँको ब्लगपनि देखें र लगातार त्यो ब्लगको पनि पाठक बनेको छु। उहाँको ब्लगको नाम 'BORDER NEPAL' हो र ठेगाना http://bordernepal.wordpress.com हो।

यसबीचमा म थुप्रै नेपाली ब्लगरहरुको नियमित पाठक बनेको छु, थुप्रै ब्लगरहरुसंग मित्रता गाँसेको छु। तर मैले Blogroll हरुमा विरलै BORDER NEPAL लाई देखेको छु। हामी ब्लगरहरुनै यो ब्लगको बारेमा सचेत छैनौं भने सामान्य पाठकहरु झन सचेत छैनन् होला। मलाई के लाग्छ भने यो ब्लग हामी नेपालीहरुको लागि अत्यन्त महत्वपूर्ण ब्लग हो। नेपालको सीमा समस्याको बारेमा हामीले पूरा जानकारी राख्नैपर्छ र समाधानका लागि आफ्नो ठाउँबाट गर्न सकिने प्रयासहरु गर्नैपर्छ। हामीले तुरुन्त गर्न सक्ने भनेको नेपालको सीमा समस्याको सार्वजनिकरण र वहसका लागि बुद्धिनारायण सरको प्रयासलाई साथ दिने हो। त्यसैले ब्लगर साथीहरुलाई म 'BORDER NEPAL' को नियमित पाठक बन्न, यसलाई आफ्नो Blogroll मा राख्न र आफ्ना स्वदेशी-विदेशी मित्रहरुलाई यो ब्लग 'रिफर' गर्न अनुरोध गर्छु।

यो 'टाँसो'(posting) मेरो आत्माको आवाज हो। बुद्धिनारायण सरसंग पनि अनुमति नलिई लेखेको हुँ।
**************************************************************************

Other similar posts:
Celebrating a 'rare' bright spot in the Nepalese sky

माओवादीहरु 'मूलधार'मा आउँदै? तर कस्तो मूलधारमा?