November 19, 2008

"सेतो ख्याकको आख्यान": अर्को एउटा 'हाडे ओखर'

फोड्न सकिएन, त्यसैले 'चुसियो' मात्रै भनौं न अब!
--------------------------------------------
कुरो जगदीश शमशेर राणाज्यूको कृति 'सेतो ख्याकको आख्यान' हो। 'नरसिंह अवतार' पनि एकदम गाह्रो लागेको थियो,यो पनि त्यस्तै रहेछ!

मैले बुझेसम्म, नरसिंह अवतारभन्दा फरक, यो एउटा उपन्यासको रुपमा छ र काठमाण्डौं उपत्यकाको इतिहासको एउटा कालखण्डमा घटेका घटनाहरुमा केन्द्रित रहेको छ। यसमा मल्ल राज्यको अन्तिम दिनहरुमा, विशेष गरी राजा जयप्रकाश मल्लको कान्तिपुर राज्यमा, घटेका बिभिन्न घटनाहरुलाई आधार बनाएर त्यतिबेलाको राजनीति र सामाजिक जीवनको चर्चा गरिएको छ। क्षय हुँदै गएको मल्ल राज्यको कान्ति र बढ्दै आएको 'कोर्काली' गोर्खालीहरुको दबदबाले उपत्यकाका राजादेखि रंकसम्मको मनमा जन्माएको त्रास र निराशालाई अत्यन्त कठिन दार्शनिक ब्याख्यानका माध्यमबाट ब्याख्या गरिएको छ। संस्कृत शब्दावलीमा राम्रो पहुँच नभएको हुँदा राणाज्यूको लेखन शैली मेरा लागि 'हाडे ओखर' भयो फेरि पनि!

किताबको नामैले पनि जनाउँछ 'सेतो ख्याक' प्रमुख पात्र र चरित्र हो यो आख्यानको।

कठिन हुँदा-हुँदैपनि त्यतिखेरको समाज, राजनैतिक ब्यबश्था र उपत्यकाका तीन राज्यहरुको शत्रुतापूर्ण आपसी सम्बन्ध र त्यो शत्रुतालाई आफ्नो हितमा प्रयोग गर्दै विजयी हुँदै आएको गोर्खा राज्यका बारेमा धेरै नयाँ कुराहरु पनि थाहा हुन्छन् यो आख्यानबाट। साथमा, किताबभित्र धेरै ठाऊँमा उपत्यकाको समृद्ध नेवार संस्कृति झल्मलाइरहेजस्तो लाग्छ । यो किताब पढेपछि नेवार संस्कृतिको बारेमा सकेसम्म धेरै पढ्ने मेरो पूरानो इच्छा अझ प्रबल भएर आएको छ। नेपालको एकीकरणको आफ्नै अपरिहार्यता र महत्व थियो र अझै छ तर एउटा कुरा के स्पष्ट छ भने एकीकरणपछि नेपालले कुनै ठूलो साँस्कृतिक गौरव थप्न सकेको छैन आफ्नो शिरमा र काठमाण्डौं उपत्यकाको हकमा त कला-संस्कृतिको अधोगतिनै शुरु भयो त्यसपछि। शाहवंशले राज गर्न थालेदेखि यता कला-संस्कृतिलाई दिइनुपर्ने सम्मान र प्रोत्साहनमा ब्यापक ह्रास हुँदै आएको छ। अब लोकतान्त्रिक गणतन्त्र नेपालले आफ्नो आकार कोर्दा सांस्कृतिक पुनर्जागरणको लागि पनि एउटा पाटो छुट्याउँछ कि छुट्याउँदैन, हेर्न बाँकी छ।
****************************
अब 'ख्याक'को बारेबाट कुरा अगाडि बढाऔँ।

'ख्याक' उपत्यकाको नेवार समाजको मौलिक मान्यता हो। उपत्यकाको नेवार-इतर अरु कुनै समाजमा पनि यो मान्यता छ भने त्यो नेवारी संस्कृतिबाटै लिईएको होला।

मैले ख्याकको बारेमा सुनेको विद्यालय जान थालेबाटै हो। मैले दश वर्ष पढेको विद्यालय विद्यामन्दिर मा. वि.(जो हाल पुरानो नैकाप गा. वि. स., मा पर्छ) को वरिपरि नेवार बस्ती छ। एउटा पूरानो कलात्मक पाटीबाट विद्यालयको शुरुवात गरिएको रहेछ। म एक कक्षामा भर्ना हुँदा पाटीको पछिल्तिर नयाँ विद्यालय भवन बनिसकेको थियो र धेरैजसो कक्षाहरु त्यतै हुन्थे, एक कक्षालाई मात्रै त्यहि पाटीको फलैंचामा राखेर पढाईन्थ्यो।

हामीले त्यो पाटीमा ख्याक बस्छ भन्ने सुनेका थियौं, त्यसैले भित्र जान डराउँथ्यौँ। बच्चाहरु धेरै गएर फोहर गर्देलान्, बिगार गर्देलान् भनेर त्यसो भनेको हुनसक्छ किनभने त्यो पाटीमा बेलाबखत स्थानीय नेवार समुदायको भोज पनि हुन्थ्यो रे। तर भोजहरु सधैं विद्यालय बिदाको बेलामा पर्ने हुनाले, हाम्रो मनमा परेको त्यो पाटीको एउटै छापभने सूनसान, भित्र सधैँ अँध्यारो र डरलाग्दो "ख्याकको वासस्थान" नै थियो। सुनेको भरमा 'ख्याक' भनेको भूत-प्रेतजस्तै हो भन्ने धारणा बसेको थियो मेरो, 'भूत'को नेवारी शब्दनै 'ख्याक' हो भन्ने सोचेको थिएँ मैले आजसम्म।

जगदीश शमशेर राणाज्यूको यो आख्यान पढेपछि भने कूरो अलि अष्पष्ट हुन थालेको छ। यो किताबबाट मैले बुझेसम्म, सेतो ख्याक मानव, देवता र भूत-तीनटैभन्दा फरक अस्तित्व हो र (कतिपय भूतहरुजस्तो आकार बदलिरहने नभैकन) यसको आफ्नै मौलिक भौतिक शरीर पनि हुन्छ। यो ख्याकको मृत्युसम्मको पनि चर्चा छ। यति बुझिएपनि यो ख्याकको उत्पत्ति कसरी हुन्छ भन्ने बारेमा आख्यानमा कतै पनि चर्चा छैन। यो आख्यानलाई त्यो चर्चाको आवश्यकता नभएर (छैन पनि) जगदीश शमशेर राणाज्यूले नराख्नुभएको हुनसक्छ अथवा उहाँले आख्यानभित्र कतै सूक्ष्म ढंगले चर्चा गर्नुभएपनि मैले नबुझेको हुनसक्छ।

तेसो त, यो आख्यानको मेरो (अत्यन्त सीमित) बुझाईनैपनि पूरै गलत हुनसक्छ।

संयोगवश, एकजना साथीबाट प्राप्त, जनकलाल शर्माज्यूले लेख्नुभएको "हाम्रो समाज:एक अध्ययन" पढ्न थालेको छु भर्खरै (कुमारजी, किताब फिर्ता हुन अझै केहि समय लाग्ला:))। यसमा पनि चार पृष्ठ 'ख्याक'को बारेमा लेखिएको रहेछ । विषय-सूचिबाट 'जम्प' गरेर सोझै "काठमाण्डूका ख्या वा ख्याक" मा पुगें केहि स्पष्ट भईहालिन्छ कि भनेर। त्यहाँ भने ख्याक (ख्या)लाई भूतकै नेवारी शब्दको रुपमा बयान गरिएको छ। तीन हरफको चर्चा छ यो सेतो ख्याकको बारेमा, यसरी;
तुयुह्म ख्या:तुयुह्म ख्याको अर्थ हो सेतो ढेडुवा वानरजस्तो भूत। यो भूत हानिकारक नभएर लाभदायक मानिन्छ। नेवारी भाषामा तुयुको मतलब सेतो भन्ने हुन्छ। त्यसैकारण यस भूतको नाम तुयुह्म ख्या रहन गएको हो।-पृष्ठ ११७

जनकलाल शर्माज्यूले अरु ख्याकहरुको उत्पत्तिका संबन्धमा छोटै भएपनि केहि लेख्नुभएको छ, तर यो सेतो ख्याक(तुयुह्म ख्या)को उत्पत्तिको बारेमा भने केहि पनि उल्लेख गर्नुभएको छैन। त्यति साधारण र प्रचलित ख्याक हैन कि यो?! जगदीश शमशेर राणाज्यूले आफ्नो पुस्तकमा कतै सेतो ख्याक अहिलेसम्म पनि रहेको मानिने घरको पनि चर्चा गर्नुभएको छ। अरु ख्याकभन्दा अलि बढी दार्शनिक मान्यता बोकेको ख्याक हुनसक्छ यो। खैर, नजानी-नजानी धेरै कुरा नगरौं। नेवारी संस्कृतिको राम्रो जानकारी राख्ने साथीहरुलाई सोध्नुपर्ला, भेट हुँदा।
****************************
मैले हाडे ओखर भनेपनि यहाँलेपनि पढ्न भने नछोड्नुहोला। 'हाडे ओखर' चुस्दा मात्रै त यति मिठो छ भने फोडेर भित्रको गुदी खाँदा झन् कस्तो होला! तपाईँले बुझ्नुहुन्छ, मलाई पक्का विश्वास छ।

11 comments:

  1. ख्याकको बारेमा त मैले पनि जनकलाल शर्माको त्यो किताबमा पढ्नमा पाएको थिएँ।
    आख्यानहरु मलाई पनि पढ्नु मन थियो। खै अबसर पनि समय पनि मिल्या छैन। ध्रुवचन्द्र गौतमका केही कृतिहरु छन् भन्ने सुन्या त छु, किन्ने, पढ्ने मेसो मिल्या हैन!

    ReplyDelete
  2. के के लेख्‍छन् लेख्छन् यी साहित्यकार पनि !! समस्यै समस्यामा पार्छन् पढ्नेलाई पनि !!!

    ReplyDelete
  3. पुस्तक को कुरा गरे पछि कुरा त ठीकै लाग्छ !
    उजेली जी ले भने झै उनी हरु लेख्छन अनि पाठक लाइ कत्रो बिजोग ! कुरो एक तरिकाले ठीकै हो तर उजेली जी समस्या साबधान र उपाएहरु पनी हुन्छन् नि त्यो चाहि बिर्सनु भएन नि !

    ReplyDelete
  4. manu_thada@yahoo.comNovember 20, 2008 at 6:43 PM

    मैले पनि यो ख्याक भनेको चै भुत नै होला भन्ने ठानेकि थिए तर अलि फरक चिज रहेछ।
    यो खासमा एक प्रकारको तर्साउन लाइ प्रयोग गरिने बस्तु रे भनेर मलाई एक जना नेवार समुदाँयाको साथीले भनेको थियो बसन्त जी को कुराले होला भन्ने सम्म भय म पनि। उजेली जी ले भने झै साच्चै समस्या मा परेका त हुन् हाम्र स्रद्देय लेखक् ज्यु हरुले तर अझ हम्रो बसन्त जी ले त झनै पढौ पढौ बनाइ दिनु भयो अब यो हाडे ओखर खाने बानि त छैन तर पनि चुस्दा मै येति मिठो चिज भेट्नु भयछ पक्कै पनि गुदि खोतल्दा रमाइलो होला जस्तो छ

    ReplyDelete
  5. नेवार साथिहरु धेरै भएको र नेवार टोलमै जन्मेकोले यो "तुयुह्म ख्या:" को बारेमा अलि अलि जानकारि मलाई छ। हामि सानो हुने बेलामा "यो सेतो ख्याक खुशि भयो भने धन सम्पति दिन्छ" भन्थे।

    किताव पक्कै पनि रोचक हुनुपर्छ तर आजकल नेपाली किताब दुर्लभ हुने स्थानमा रहेकोले पढन भने सायद केहि समय कुर्नै पर्ला ।

    ReplyDelete
  6. खै हौ हाम्रो तिर चैं सेतो जीन भन्थे त्यै हो क्यार सेतो ख्याक भनेको पनि । सेतो घोडामा हिंड्छ रे त्यसले मान्छेलाई भेट्यो भने सम्पती दिन्छ रे भन्थे । दार्जीलिङको कुनै एक बंगला ( जोर बँगला जस्तो लाग्छ ठ्याक्कै भन्न सकिनं ) पनि सेतो जीनले कुनै मान्छेलाई भेटेर सम्पति दिँदा बनाको रे भन्ने सुन्थ्यौं हामी सानोमा छँदा तर पछि अलि बुझ्ने भएपछि अंग्रेजहरुले बनाएको भन्ने थाहा भयो । यता झापातिर पनि सेतो जीनको कुरा गर्थे मान्छेहरु । अझ कृष्ण प्रसाद कोइरालाले सेतो जीन भेटेर नै जहाँ हातहाले पैसा बनाउथ्यो भन्ने खालका मान्छे पनि थिए ।

    जे होस अब त्यो किताब चैं पढ्नलाई खोज्नै पर्यो ।

    ReplyDelete
  7. धन्यबाद सबै साथीहरुलाई! किताब पढिसकेपछि स्वाद बाँड्न भने नभुल्नुहोला।

    ReplyDelete
  8. गत अगस्ट २८ को पोस्टमा जगदीशशमसेरको 'नरसिंह अवतार'बारे चर्चा गरेर कुतकुत्याउनुभएको थियो । त्यसै बेला उनको अर्को चर्चित कृति 'सेतो ख्याकको आख्यान' पढ्ने योजना बुन्नुभएको थियो । आखिर वाचा पूरा गर्नुभएछ । अन्तर्वार्ता पढ्दा गाह्रो लागे पनि कृति छिचोलिसकेर अनुभव बाँड्न पनि कति छिटो आइपुग्नुभयो ।
    तपाईँले सुझाएअनुरूप यो हाडे ओखर चुस्ने, सके चपाउने नै ताउरमाउरमा छु । तर कृतिबारे छिचोलिएको विश्लेषण अझै आउन नसकेजस्तो लाग्यो यस पोस्टमा । कृतिसम्बद्ध नेवारी संस्कृतिमा ख्याक महिमाका साथै ख्याकबारे आफ्नो अनुभव पनि बाँडिएको पाउँदा आफू कुवाको भ्यागुतालाई झलमल्ल घामझैँ भयो ।

    ReplyDelete
  9. धाइबाजी, धन्यबाद!
    तपाईँले छिचोलेको स्वाद हामीसंग पनि बाँड्न भने नभुल्नुहोला। जहाँसम्म विश्लेषण कमजोर भएको कुरा छ, त्यो स्विकार्छु। यो आख्यानको मेरो बुझाईनै अत्यन्त सीमित भएकोले विश्लेषण पनि त्यस्तै हुन गयो। यस्ता गहन कृतिहरु बुझ्न पूर्वीय दर्शनको राम्रै जानकारी चाहिने रहेछ।

    ReplyDelete
  10. सेतो ख्याकको बारेमा श्रीपुरुष ढकालले त कवितै लेख्या र'चन्।

    http://www.majheri.com/?q=node/349

    ReplyDelete
  11. धन्यबाद कुमारजी! मझेरीमा गएर पढें त्यो 'कविता'। विषयवस्तुको कुरो अलग हो तर शैलीका हिसाबले त्यो 'कविता' बिल्कूल कविताजस्तो लाग्दैन। छोटो निबन्धको रुप दिएको भए धेरै राम्रो हुन्थ्यो।

    हाम्रो नेपालमा पहुँच हुनेले खोके पनि कविता बन्छ र छापिन्छ।

    ReplyDelete